Category: समाचार

  • साँखुमा टिपरको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु

    साँखुमा टिपरको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । काठमाडौंको साँखुमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बुधबार बेलुका टिपरले ठक्कर दिँदा दुई मोटरसाइकलका चालकको ज्यान गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको ज्यान गएको छ ।

    दुर्घटनामा घाइते भएका नेवा पत्रकार कोषका सहकोषाध्यक्ष पवनलाल श्रेष्ठको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा र खड्काको शङ्खरापुर अस्पतालमा ज्यान गएको हो । बा ८२ प ८३५७ नम्बरको मोटरसाइकलमा पछाडि रहेकी शङ्खरापुरकै २० वर्षकी पुनम श्रेष्ठ घाइते भएकी छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार जारी छ । ठक्कर दिने बा ५ ख २४१४ नम्बरको टिपरसहित चालकलाई पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ ।

  • आईसीसी विश्व कप क्रिकेट लिग–२ का खेल आजबाट कीर्तिपुरमा, पीएनजी र नेपाल भिड्दै

    आईसीसी विश्व कप क्रिकेट लिग–२ का खेल आजबाट कीर्तिपुरमा, पीएनजी र नेपाल भिड्दै

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । नेपालले घरेलु मैदानमा यसको फाइदा उठाउने दाउमा हुने छ ।

    नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुनरजुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २–२ खेल खेल्नेछ । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ । अन्तिम शृङ्खलाबाट तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोलीको तय हुनेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन सोझै विश्व कप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ ।

    यदि नेपाल अङ्कतालिकाको शीर्ष तीनमा पर्न नसके विश्व कप छनोटका लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । जसबाट शीर्ष दुई टोलीले विश्व कप छनोट खेल्न पाउनेछन् । त्यस्तै लिग–२ मा शीर्ष पाँचमा पर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफ क्वालिफायरमा शीर्ष पाँचमा पर्नुपर्छ ।


    शीर्ष पाँचमा पर्न अबका ४ खेलमध्ये २ खेल जिते पुग्नेछ । नेपालको ३२ खेलमा ३२ र यूएईको ३१ अङ्क छ । तालिकामा स्कटल्यान्ड ५० अङ्कका साथ शीर्ष र ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ९ अङ्कसहित पुछारमा छ । अहिले नामिबिया ३९ अङ्कसहित तेस्रो र अमेरिका ३५ अङ्कसहित चौथो स्थानमा छन् ।

  • आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति, १० बजेबाट मतदान

    आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति, १० बजेबाट मतदान

    काठमाडौं । नेपालको नयाँ तथा तेस्रो राष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार बनेका छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गरिने भएको छ ।

    बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक हुने छ । संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन् । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।

    संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ । निर्वाचनलाई लक्षित गरी संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा। रामवरण यादव हुन् । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।

    भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ ।

  • अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटिएपछि….

    अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटिएपछि….

    काठमाडौं । अमेरिकाबाट पठाइएको एक पार्सलमा गाँजा भेटिएपछि दुई जना प्रहरीको फन्दामा परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेको हो। यसमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एवं एसपी चक्रराज जोशीले जनाएका छन् । उनका अनुसार पार्सलमार्फत आएको ६.९ किलो गाँजा बरामद भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलमा प्रहरीले निगरानी राख्छ । त्यहीक्रममा गत आइतबार एउटा पार्सल आइपुगेको थियो। क्यालिफोर्नियाको लस एन्जलसबाट दुबई हुँदै उक्त पार्सल काठमाडौंमा आएको हो । जसमा चकलेट एन्ड चाइल्ड गेम आइटम लेखिएको थियो। उक्त पार्सल शंकास्पद देखिएपछि चकलेटका बट्टाभित्र ४.५ किलो गाँजा फेला परेको थियो।

    पार्सल लिन आएका भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दायानी र सर्लाही हरिहरपुर नगरपालिक (३ का २८ वर्षीय फैज आलमलाई पक्राउ गरिएको छ । उनीहरूबाट एउटा भारतीय आधार कार्ड र ८० हजार रुपैयाँ पनि बरामद गरेको छ। उनीहरू बस्ने ठमेलको होटल कोठाबाट प्रहरीले अशोकभाइको राहदानी र एक लाख ४० हजार भारू पनि बरामद गरेको छ। सोही दिन क्यालिफोर्नियाबाटै अर्को पार्सल पनि आएको थियो। होम डेकोर वाटर एन्ड चाइल्ड गेम आइटम उल्लेख गरिएको पार्सल पनि चेक गर्दा थप गाँजा बरामद भएको ब्युरोले जनाएको छ।

    उक्त पार्सलबाट भने २।४ किलो गाँजा बरामद भएको हो। उक्त पार्सल लिन आएका गोरखा गण्डकी गाउँपालिका ४ का २३ वर्षीय रूपक अर्याललाई नागार्जुन १ खरीबोटबाट पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई पनि पार्सल ‘रिसिभ’ गर्नेमात्रै जिम्मा दिइएको थियो। ‘केही रकम दिने भनेर पार्सल रिसिभ गर्नलाई भनिएको देखिन्छ,’ उनले भने,‘ उक्त पार्सल फेरि अर्कै व्यक्तिहरूलाई दिने तयारी थियो।’

    ब्युरोको प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा भारतमा लग्न लागिएको अनुमान गरिएको एसपी जोशीले बताए। तर नेपालमै प्रशस्त पाइने गाँजा अमेरिकाबाटै किन ल्याइयो भन्ने विषयमा पनि ब्युरोले अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको ब्युरोले जनाएको छ।

  • ३५ जना सगरमाथा महिला आरोही सम्मानित

    ३५ जना सगरमाथा महिला आरोही सम्मानित

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी काठमाडौंमा महिला सगरमाथा आरोहीहरुलाई सम्मान गरिएको छ । नेपाल पर्वतारोहण संघले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ३५ जना आरोहीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेत्री बीना मगर, नायिका निशा अधिकारी, पत्रकारद्वय पूर्णिमा श्रेष्ठ, कल्पना महर्जन लगायतका छन् ।

    संघका अनुसार सम्मानित हुने अन्यमा कान्छी डोल्मा ह्याल्मो, निशा भोटे, पासाङ ल्हामु शेर्पा, डाबुटी शेर्पा, भुमिरा गुरुङ, याङ्दी शेर्पा, लाक्पा थाङ्जी शेर्पा, लुक्मी स्याङदेन, पासाङ फुटी शेर्पा र कान्छीमाया तामाङ छन् । यसैगरी कल्पना महर्जन, युआन्टिका तामाङ, पासाङ ल्हामु शेर्पा, दावा याङजुन शेर्पा, माया गुरुङ, छुनु श्रेष्ठ, छोकी शेर्पा र फुरा दिकी शेर्पा सम्मानित भएका छन् ।

    यसैगरी दिक्की शेर्पा, माया शेर्पा, शाली बस्नेत, नीमा जाङ्मु शेर्पा, छिरिङ न्यामगेल शेर्पा, दावा फुटी शेर्पा, दिकी लामा शेपा, पासाङ कान्छी शेर्पा, शर्मिला लामा, कुमारी ज्ञानमाला रानपल, नानु माया गुरुङ र प्रिती भुसाल पनि सम्मानित भएका छन् ।
    नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डपमा बुधबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपालीले उनीहरुलाई प्रसंशापत्रसहित सम्मान गरेकी हुन् ।कार्यक्रममा राज्यमन्त्री सिरपालीले नेपालको पर्वतीय पर्यटन र महिला आरोहीको उन्नतीमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । विज्ञहरुको सहयोगमा पर्वतीय पर्यटनको क्षेत्रमा मन्त्रालयले काम गर्ने उनको भनाइ छ । यसका लागि योजना र कार्यक्रम ल्याउन उनले आग्रह गरेकी छिन् ।

  • राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ, कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने

    राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ, कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने

    काठमाडौं । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तटस्थ बस्ने भएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो। यो निर्णयसँगै राष्ट्रपति निर्वाचनमा राप्रपाका संघीय तथा प्रदेश सभाका सांसदहरु मतदान प्रक्रियाबाट बाहिर हुनेछन्।

    प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमसँग रुष्ट भएर राप्रपा फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।

    राष्ट्रपति मनोनयनमा समर्थक र प्रस्तावक दुवै नबसेको राप्रपाले राष्ट्रपतिको चुनाव पनि बहिस्कार गर्ने बताउँदै आएको थियो।

    राप्रपाको संघमा १४ र प्रदेशमा २८ सांसद छन्। पार्टीको जम्मा २४ सय ५० मतभार छ। राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्।

  • ‘राष्ट्रपति भण्डारीको दुवै कार्यकालको भूमिका गौरवपूर्ण’- ओली

    ‘राष्ट्रपति भण्डारीको दुवै कार्यकालको भूमिका गौरवपूर्ण’- ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको दुई कार्यकालको भूमिका गौरवपूर्ण सम्पन्न भएको बताएका छन्।

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताए ।

    ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताए।

    ‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि विद्या भण्डारी जस्तो महिला नेतृ, तपाईहरुको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियत जिम्मेवारी बहन गर्ने भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि ओलीले बताए ।

    फेरी उहाँ जिद्दि गरेर यहाँ रहनैपर्छ भनेर होइन। अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिका रह्‍यो ।

  • ‘सातै प्रदेशमा स्तन र पाठेघरको क्यान्सरको नि:शुल्क उपचारको व्‍यवस्था छिट्टै’- प्रधानमन्त्री

    ‘सातै प्रदेशमा स्तन र पाठेघरको क्यान्सरको नि:शुल्क उपचारको व्‍यवस्था छिट्टै’- प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिने बताएका छन्।

    ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।

    सम्बोधनमा प्रधानमन्त्रीले भने, ‘यसैगरी सातवटै प्रदेशमा नि सन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिनेछ।

    साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ।’

    साथै प्रधानमन्त्री प्रचण्डले करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेसमेत बताएका छन्।

    यस्तो छ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

    सर्वप्रथम, ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभ अवसरमा म सम्पूर्ण महिला, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना कामना व्यक्त गर्दछु। यस सुखद अवसरमा महिला हक, अधिकार तथा समानताको संघर्षमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरूको योगदानको उच्च प्रशंसा गर्दछु।

    यस वर्ष “Digit All: Innovation and Technology for Gender Equality” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदैछौं। नेपालमा “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ हामी यो दिवस मनाइरहेका छौँ।

    महिला अधिकारको विषय समाजको आर्थिक तथा राजनीतिक प्रणालीसँग अभिन्नरूपमा गाँसिएको छ। नेपाली समाजको रूपान्तरण तथा राजनीतिक परिवर्तनका आन्दोलनको एउटा मुख्य एजेण्डा सबैखाले लैंगिक विभेदको अन्त्य गर्दै महिलाहरूले समाजका हरेक क्षेत्रमा सम्मानपूर्वक अधिकारको प्रत्याभूतिक गर्न पाउनुपर्ने रहँदै आएको विदितै छ।

    समाजमा महिला र पुरुषबीचको विभेद र महिलामाथि हुने सबै प्रकारका शोषण र दमनको अन्त्य नहुँदासम्म समतामूलक समृद्ध समाजको निर्माण हुन सक्दैन। शारीरिक तथा सामाजिक–सांस्कृतिक रूपमा महिलालाई कमजोर ठान्ने, महिलाको सामाजिक परिवेश खुम्च्याउने, महिलाहरूले पुरुससरह सामाजिक अस्तित्व धान्न सक्दैनन् भन्ने परम्परागत मान्यतालाई नेपाली भूमिमा चलेका जनयुद्ध तथा जनआन्दोलनहरूमा महिलाहरूले देखाएका वीरता र सौर्यका गाथाले गलत साबित गरिदिएको छ।

    जनयुद्ध, जनआन्दोलन तथा बिभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा महिलाहरूले प्रदर्शन गरेको वीरता, बलिदान र संघर्षको परिणामस्वरूप नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका विभेद, असमानता एवं भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक राज्यप्रणाली स्थापना गर्न हामी सफल भएका छौं।

    राज्यका सबै तहमा, राजनीतिक दलहरूलगायत समाजका अन्य तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुन पुगेको छ। राष्ट्रपति र उपराष्ट्रपतिमा फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षसम्मका पदमा महिला अनिवार्य हुनुपर्ने उपलब्धि हामीले हासिल गरेका छौं। साथै संघीय र प्रादेशिक संसदमा ३० प्रतिशत महिला प्रतिनिधित्व, स्थानीय तहमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एक महिलासहित ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

    संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरी राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशीतालाई सुनिश्चित गरेको छ। महिलाविरूद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाई शुन्य सहनशीलताको नीति अवलम्बन गरिएको छ। संवैधानिक व्यवस्थाअनुसार संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न संयन्त्र एवं प्रक्रियामा महिलाहरूको सार्थक सहभागितालाई सुनिश्चित गर्न विभिन्न नीतिगत, कानुनी एवं संस्थागत व्यवस्था गरिएको छ।

    लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत‚ कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हक अधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति, योजना र कार्यक्रमको अपेक्षित प्रतिफल प्राप्त भएको छ।

    महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्राप्तिका सवालमा नेपालले दीगो विकास लक्ष्य हासिल गर्ने दिशा समातेको छ। प्रजनन स्वास्थ्यसँग सम्बन्धित सामग्री तथा सेवामा पहुँच बढेको छ। अहिले करिब ८० प्रतिशत महिलाहरूको संस्थागत सुत्केरीको अवस्था सिर्जना हुनु पक्कै पनि सुखद कुरा हो। सुरक्षित गर्भपतनदेखि आमा सुरक्षा कार्यले पाएको सफलता उदाहरणीय छ।

    नेपाल सरकारले महिलाविरूद्ध हुने भेदभाव र असमान व्यवहारलाई दृष्टिगत गरी समानता, न्याय र विकासका लागि लैङ्गिक विभेद तथा हिंसाका घटनाहरूलाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको छ।

    महिला सशक्तिकरण अन्तरसम्वन्धित विषय भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले सहकार्य गर्न आवश्यक छ। देशको मूल कानुनले गरेका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गरी सशक्तिकरण र मूलप्रवाहीकरणका निम्ति हामी सबै प्रतिबद्ध हुन आवश्यक छ।

    गरिब तथा विपन्न, दलित, आदिवासी, जनजाति, एकल तथा अपाङ्गता भएका, हिंसापीडित जस्ता बञ्चितिमा परेका महिला तथा किशोरीको आयआर्जन, क्षमता विकास र सशक्तिकरण गर्नेगरि आर्थिक सामाजिक विकासका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक देखिन्छ।

    महिलामाथि हुने हिंसा सामाजिक संरचना र राजनीतिक प्रणालीसँग अभिन्नरूपमा अन्तर्सम्बन्धित भएको हुँदा समग्र राजनीतिक परिवर्तन र समृद्धिको बाटोसँग यसलाई जोडेर सोहीअनुरूप कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता छ।

    अल्पकालीनरूपमा द्वन्द एवं हिंसा प्रभावित महिलाहरूको लागि राहत, उद्धार निशुल्क कानुनी सहायता र मनोसामाजिक परामर्श सेवाको व्यवस्था गरी सीपमूलक कार्यक्रम सञ्चालन गरी जीविकोपार्जन सुधार गर्न आवश्यक पहल गरिनेछ।

    पछिल्लो समयमा सूचना तथा प्रविधिमा भएको विकासले समाजका सबै तह र तप्का प्रभावित बनेका छन्। महिला अधिकारको प्रत्याभूतिका लागि सूचना तथा प्रविधिमा महिलाको पहुँच र स्वामित्व अनिवार्य मुद्दा बनेको छ।

    सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोग, निरन्तर विकास, विस्तार एवं गतिशीलताबाट प्राप्त अवसरहरूमा महिलाको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न महिलाकेन्द्रीत प्रविधि तथा उपयोगको नीतिको विकास र यसका लागि राज्यका तर्फबाट लगानीमा जोड दिइनेछ।

    डिजिटल प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी उत्पादन र उत्पादकत्व अभिबृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक समानतामूलक राष्ट्र निर्माण गर्ने कार्यमा सम्वद्ध सबैको ध्यान पुग्न जरुरी छ।

    महिला सशक्तिकरण, समानता तथा संविधानप्रदत्त अधिकारको कार्यान्वयनका लागि अझै धेरै काम गर्न बाँकी नै छ। शिशु स्याहार केन्द्रहरूको स्थापना, महिनावारी स्वास्थ्यमा सुधार, स्थानीय न्यायिक समितिहरूलाई महिलामैत्री बनाउने, महिला उद्यमशीलता प्रवद्र्धनमा देखिएका कानुनी तथा अन्य व्यवहारिक जटिलता अन्त्यका लागि महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण, हिंसापीडित महिलाहरूलाई सुरक्षा, संरक्षण तथा रोजगारी स्थापना गर्ने गरी पुनस्र्थापना तथा रोजगार केन्द्र स्थापना गर्ने जस्ता कामहरू अघि बढाइने छ।
    यसैगरी सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिनेछ। साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ। करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेछ।

    आठ मार्चको सम्झना गर्दैगर्दा आप्रवासनमा रहेका महिलाहरूले भोग्नुपरेका समस्याका बारेमा समेत सरकार सचेत छ। अहिले ठूलो संख्यामा नेपाली महिलाहरू विदेशमा श्रम गर्ने क्रम बढिरहेको छ। लैंगिक संवेदनशीलताको आधारमा सुरक्षित र मर्यादित आप्रवासनको नीति कार्यान्वयन र विदेशमा समस्यामा परेका नेपाली श्रमिक महिलाहरूका बारेमा राज्यले विशेष संयन्त्र निर्माण गर्दै उनीहरूको समस्या समाधान गरिने छ।
    योसँगै महिलाहरूले गर्ने घरेलु श्रमको गुरुत्वलाई समेत अध्ययन गर्दै लैंगिक समतामूलक समाजको निर्माणका लागि विशेष पहल गरिनेछ। योसँगै नीजि क्षेत्रमा कार्यरत महिलाहरुलाई समेत अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने नीतिलाई कडाईका साथ लागु गरिनेछ।

    मैले माथि संक्षिप्त भनेँझैं, महिला अधिकारको प्रत्याभूतिको विषय हामी कस्तो समाज, कस्तो सामाजिक संरचना र राजनीतिक प्रणाली अँगाल्छौं भन्ने कुरासँग जोडिन्छ। त्यसैले यो विषय अन्ततः समृद्ध तथा आत्मनिर्भर नेपालको निर्माणसहित समाजवादोन्मुख राज्य स्थापनासँग अभिन्नरूपमा गाँसिएकोले संविधानले परिकल्पना गरेअनुरूप सामाजिक न्यायसहितको समृद्धिको दिशामा कटिबद्ध भएर लाग्ने संकल्प तपाई हामी सबैले लिनुपर्ने देखिन्छ।

    अन्त्यमा, तीव्र गतिमा भएको सूचना प्रविधिको विकासले महिलाको जीवनयापन सहज बनाएको भएता पनि प्रविधिमा महिलाको पहुँच पहुँच अभिवृद्धि गरी महिलाको सुरक्षा, सम्मान र रोजगारीमा विशेष व्यवस्थासहित लैङ्गिक समानतामूलक राष्ट्र निर्माणको यात्रामा प्रतिवद्ध हुन सबैलाई प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

  • राष्ट्रपति उम्मेदवारको मतपत्रमा उम्मेदवारको तस्वीर

    राष्ट्रपति उम्मेदवारको मतपत्रमा उम्मेदवारको तस्वीर

    काठमाडौं । राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र राखिने भएको छ । निर्वाचन आयोगले यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेको थियो । यस पटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र राखिएको छ । मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । निर्वाचन बिहीबार हुँदैछ । राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र विपक्षी दल एमालेबाट उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिनेछ । संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जनाले राष्ट्रपति निर्वाचनमा मत दिनेछन् । संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । यस आधारमा सबै संघीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।

    संघीय संसद्का ३ सय ३४ मतदातामध्ये मनाङका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । चितवन निर्वाचन क्षेत्र २ रिक्त छ । जनता समाजवादी पार्टीका समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ मा मृत्यु भएको थियो । सुरक्षाकर्मी हत्याको मुद्दामा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार छन् । बिहीबार हुने निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ । एउटा मतदान केन्द्रमा ७ कर्मचारी खटिनेछन् । मतदान बिहीबार बिहान १० देखि ३ बजेसम्म बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

    संघीय र प्रदेश सांसदका लागि फरक रङको ९ सय ९० मतपत्र छापिएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि छापिएको मतपत्रमा सेतो पृष्ठभूमिमा गुलाबी रङको अक्षर छ । प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रमा सेतो पृष्ठभूमिमा हरियो रङको अक्षर छ । मतपत्रको पहिलो कोठामा सत्ता गठबन्धनका उम्मेदवार पौडेल र दोस्रो कोठामा एमालेका उम्मेदवार नेम्वाङको फोटो छ । मतगणना सकिएलगत्तै मत गन्ने आयोगको तयारी छ । बिहीबार नै परिणाम आउनेछ ।

  • आज देशभरको आकासमा बादल, पहाडी भेगमा वर्षा

    आज देशभरको आकासमा बादल, पहाडी भेगमा वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी भेगमा आज वर्षा सुरु भएकोछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकभर बादल लागिरहे पनि केही स्थानमा मात्र छिटपुट वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ।

    पाल्पा र पोखरालगायतका क्षेत्रमा हल्का वर्षा जारी छ । झरीको सम्भावना नदेखिए पनि बादल चै दिनभरी लाग्ने विभागको भनाई छ । काठमाडौंमा पनि धुम्म बादल लागिरहेको छ। हल्का वर्षाको सम्भावना रहेको छ। तर दिनभर जसो पानी पर्ने सम्भावना छैन। कतै कतै छिटपुट वर्षा हुन्छ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभाग चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

  • आज अन्तर्राष्ट्रिय महिला दिवस, संसारभर मनाईदै

    आज अन्तर्राष्ट्रिय महिला दिवस, संसारभर मनाईदै

    काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

    नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

    मन्त्रालयले संघीय सरकारका सबै निकाय, ७ वटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवं वडाहरु, नागरिक समाज लगायत सरोकारवाला सबैलाई दिवस मनाउन आह्वान गरेको छ । महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी दिवस मनाउन मन्त्रालयले भनेको छ ।

    दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेताहरूले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

    सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

    जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यापि कायमै छ ।

  • न्यूह्यामसायरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव, एनआरएनएमा महिला सहभागिता बढाउने उद्घोष

    न्यूह्यामसायरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव, एनआरएनएमा महिला सहभागिता बढाउने उद्घोष

    नाशुवा

    गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका एनसिसीको आयोजनामा न्यू ह्यामसायरको नाशुवा शहरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव सम्पन्न भएको छ । एनआरएनए आइसिसी अध्यक्ष रविना थापाको प्रमुख आतिथ्यमा शनिबार नारी दिवस उत्सव सम्पन्न भएको हो ।

    कार्यक्रममा न्यूह्यामसायर दिदीवहिनीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा आइसिसी अध्यक्ष थापा, एनआरएनए अमेरिका एनसिसी अध्यक्ष बुद्धी सुवेदी, नाशुवा सिटीका मेयर जिम डोनचेस, एनआरएनए अमेरिका महिला संयोजक सुन्दरी गुरुङ, न्यूह्यामसायर नेपाली समाजकी अध्यक्ष शान्ता विष्ट लगायतले सम्बोधन गरेका गरेका थिए।

    आइसिसी अध्यक्ष थापाले न्यूह्यामसायरमा रहेका दिदीवहिनीहरुले देखाएको एकता र सकृयता महिला सशक्तिकरणमा प्रेरणा बन्ने बताएकी थिइन् । एनसिसी अध्यक्ष सुवेदीले एनआरएनए अमेरिकाको विधान थप समावेशी बनाउँदै लगेको र आगामी कार्यसमितिमा कम्तिमा सात जना महिला निर्वाचित हुने व्यवस्था गरि सकिएको जानकारी दिए । साथै सल्लाहकारमा ३३ प्रतिशत महिला सिट सुनिश्चित गरिएको उनको भनाइ थियो ।

    मेयर डोनचेसले अमेरिकाभरका नेपालीहरुलाई आफ्नो सहरमा स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रम संयोजन गरेकी एनसिसी महिला संयोजक गुरुङले अमेरिका भरका प्रतिनिधीलाई न्यू ह्यामसायरमा स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् । कार्यक्रममा न्यूह्यामसायरमा रहि बिभिन्न क्षेत्रमा उन्नती गरेका महिलाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको एउटा शत्रमा नेपाली नागरिकता निरन्तरता र सम्पत्तिको हकबारे बौद्धिक छलफल पनि भएको थियो ।

    छलफलमा आइसिसी अध्यक्ष थापा, अधिवक्ता एवं एनसिसीका प्रमुख संरक्षक खगेन्द्र जिसी, एनसिसी अध्यक्ष सुवेदी आइसिसीको सिटिजनसिप एवं इमिग्रेसन कमिटी सदस्य डा रुद्र अर्याल एनसिसीका बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त नेपाल सरकारका पर्यटन दूत शिवकुमार राई सामाजीक अभियन्ताहरु सोम गुरुङ इश्वरी भट्ट रोविन थापा शम्भुकुमार गुरुङको सहभागिता रहेको थियो। एनसिसीका पूर्व बोर्ड सदस्य एवं नेपालको अन्तरिम संविधान मस्यौदा समिति सदस्य छत्रकुमारी गुरुङले सहजिकरण गरेको छलफल सत्रका सहभागिहरुले नेपाली नागरिकता निरन्तरताका लागि निरन्तर आवाज वुलन्द गर्नुपर्ने उल्लेख गरेका थिए ।

  • एमसीए नेपालले थाल्यो जग्गा प्राप्ति प्रक्रिया

    एमसीए नेपालले थाल्यो जग्गा प्राप्ति प्रक्रिया

    काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले परियोजना कार्यान्वयन गर्न जग्गा प्राप्तिको प्रक्रिया थालेको छ । एमसीएद्वारा सञ्चालित विद्युत प्रसारण आयोजना अन्तर्गत तनहुँ, पाल्पा र धादिङमा जग्गा प्राप्तिको प्रक्रिया थालेको हो । यो आयोजना अमेरिकी अनुदान सहयोगमा सञ्चालन हुँदैछ । एमसीए नेपालले मंगलबार जग्गा प्राप्तिका लागि सूचना प्रकाशित गरेको छ ।

    यी जिल्लामा पर्ने विद्युत प्रसारणलाइनको टावर निर्माण प्रयोजनका लागि आवश्यक जग्गा प्राप्त गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले २३ वैशाख २०७६ मा निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न समितिले सूचना प्रकाशित गर्दै जग्गा प्राप्तिको प्रक्रिया थालेको जनाएको छ ।

    आयोजनाका अनुसार सूचना प्रकाशित भएको तीन दिन पछि यी जिल्लाको तोकिएको क्षेत्रको जग्गा नापजाँच गर्न टोली खटिने भएको छ । जग्गाको नापजाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनाका लागि यी टोली खटिने भएका हुन् ।

    तीन वटा जिल्ला मध्येमा तनहुँमा ११ फागुनमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको पहिलो बैठकबाट प्रारम्भिक कारबाही समेत सुरु गरेको आयोजनाले जनाएको छ । तनहुँमा रातमाटेदेखि दमौली प्रसारणलाइन खण्डमा जग्गा प्राप्ति सुरु गरिएको छ । जसमा हालको आँबुखैरेनी, बन्दीपुर, व्यास, ऋषिङ र घिरिङ पर्छन् ।

    धादिङमा भने १४ फागुनमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको पहिलो बैठकबाट प्रारम्भिक काम अगाडि बढाउने निर्णय गरेको थियो । धादिङमा रातमाटेदेखि नयाँ हेटौंडा प्रसारणलाइनमा जग्गा प्राप्ति प्रक्रिया सुरु भएको हो । जसमा गल्छी, थाक्रे, नीलकण्ठ, सिद्धलेक, गजुरी, बेनीघाट रोराङमा प्रसारणलाइन बन्ने छ ।

    पाल्पा जिल्लामा १२ फागुनमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको पहिलो बैठकले काम सुरु गर्ने निर्णय गरेको थियो । यहाँ नयाँ बुटवलदेखि नयाँ दमौली प्रसारणलाइनका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको हो । जसमा रामपुर र निस्दी पर्छन् ।

  • कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    काठमाडौं । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरमा प्रदेश ३-०२-००९प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका बालाको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामंगलमा गए राति मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

    द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

    काठमाडौं । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहित २८ जनाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

    उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरेर आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन अन्तरिम आदेशको माग गरेका छन्।

    सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९ Wo-९४७ नम्बरमा दर्ता गरेको हो। रिट दर्ता भएपछि सर्वोच्च अदालतले विहीवारलाई पेसीसमेत तोकिदिएको छ।

    रिट निवेदनमा प्रधानमन्त्री प्रचण्डले गत २०७६/१०/०१ गत पाँच हजार व्यक्ति मारेको भन्ने साविति बयान निम्न तर्क, आधार र कानुनले गैरकानुनी भएकोले प्रचण्डलाई तत्काल प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने माग गरिएको छ।

    शुक्रबार न्यायाधीशहरू ईश्वर खतिवडा र हरि फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो।

  • माओवादीमा आस्था राख्ने दलका शीर्ष नेता बालुवाटारमा

    माओवादीमा आस्था राख्ने दलका शीर्ष नेता बालुवाटारमा

    काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी छन् ।

    प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नजिकिएका माओवादी नेताहरु सकेसम्म पार्टी एकता वा त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्नेबारे छलफल हुँदै आएको छ । आजको बैठकमा पनि त्यसै विषयमा छलफल हुने भएको हो ।

  • राष्ट्रपति निर्वाचन : प्रचार गर्न पाउने समय आज रातीसम्म मात्र

    राष्ट्रपति निर्वाचन : प्रचार गर्न पाउने समय आज रातीसम्म मात्र

    काठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो ।

    निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।

    निर्वाचन ९कसुर तथा सजाय० ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।

    साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित\हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन ।

    आयोगले मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

  • माओवादीमा आस्था राख्ने दलहरुको आज बैठक

    माओवादीमा आस्था राख्ने दलहरुको आज बैठक

    काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजे बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी हुने छन् ।

    यसअघि शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा सहभागी माओवादी धारका नेताहरुले माओवादीलाई हेप्न थालिएकाले एकजुट भएर प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए । माओवादी धारका नेताहरुबीच सकेसम्म पार्टी एकता र त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्ने पहल गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले आह्वान गरेको आजको बैठकमा पनि त्यसैबारे छलफल हुनेछ

  • यूएईमाथि नेपालको सानदार जित

    यूएईमाथि नेपालको सानदार जित

    काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको सानदार जित निकालेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनाएको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।

    सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका थिए । तर ओपनर आसिफ खानले आर्यन लाक्रासँग दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे । व्यक्तिगत ५० रनमा खेलिरहेका लाक्रालाई दीपेन्द्र सिंह ऐरीले एलबीडब्लू धरापमा पारे । तर आसिफले भृत्य अरभिन्दसँग २८ र सी रिजवानसँग २४ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हाले ।

    ४१औं ओभरसम्म खेलमा यूएई हावी थियो । १७४ रन बनाएको यूएईको हातमा ४ विकेट थियो । त्यसमा पनि क्रिजमा जमिरहेको आसिफले ८० रन बनाइसकेका थिए । तर ४२औं ओभरको दोस्रो बलमा आसिफ खानलाई कट एण्ड बोल्ड गर्दै पभेलियनको बाटो देखाए भने तेस्रो बलमा कार्तिक मेयप्पनलाई कट एण्ड बोल्ड गरे । उनले लगातार २ विकेट लिएपछि खेल एकाएक नेपालको पक्षमा आयो ।

    ४५औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले जोहर खानको विकेट लिएपछि घरेलु टोली १८७ रनमा अलआउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले ३÷३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र आरिफ शेखको नाममा एकएक विकेट रह्यो । यसअघि दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो । नेपालको मध्यक्रमले सम्हालिएर खेल्दा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल बनेको हो ।

    कुशल भुर्तेल ग्रोइन इन्जूरीका कारण खेल्न नसक्ने भएपछि नेपालले ओपनिङ जोडी परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र आसिफ शेखको ओपनिङ जोडी प्रभावकारी देखिएन । पावरप्ले ९१० ओभर० भित्रै नेपालले दुवै ओपनरलाई गुमाइसकेको थियो । ज्ञानेन्द्रले ११ रन बनाउँदा पपुवा न्युगिनीसँगको खेलमा ८६ रनको पारी खेल्दै टिमलाई जिताएका आशिफ ६ रनमै आउट भए ।

    तेस्रो नम्बरमा आएका कुशल मल्लले एउटा छेउबाट विकेट बचाए पनि अर्को छेउबाट कप्तान रोहितकुमार पौडेल १ रन र लिग टूमा अहिलेसम्म ब्याटिङबाट राम्रो प्रदर्शन गर्न नसकिरहेका दीपेन्द्रसिंह ऐरी ४ रनमै आउट भए । कुशलले ३२ बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाए । १७।१ ओभरमा पाँचौं विकेट गुमाउँदा नेपालले ६८ रनमात्र बनाएको थियो ।

    भीम सार्की र सन्दीप लामिछानेले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गर्दै पारी उकासेका थिए । जारी शृंखलाका अघिल्ला खेलमा राम्रो ब्याटिङ गरेपछि उपल्लो क्रममा तानिएका सन्दीप लामिछाने २७ रन बनाएर आउट भए । त्यसपछि आएका आरिफ शेखसँग मिलेर भीमले सातौं विकेटका लागि पनि ५६ रनको अर्को साझेदारी गरे । करिअरकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा भीमले ९९ बलमा ७ चौकासहित ७० रन बनाए । आरिफ ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे ।

    करण केसी १७ रन बनाएर आउट भए । प्रतिश जिसी ११ रनमा अविजित रहे । नेपालले अन्तिम चार ओभरमा ४३ रन जोडेको थियो । बलिङमा यूएईका जुनियाद सिद्धिकीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिए । रोहन मुस्तफा र आर्यन लाक्राले २–२ विकेट लिए । कार्तिक मेइयाप्पनले १ विकेट लिए ।

  • होलीमा उपत्यकामा सुरक्षा व्यवस्था कडाई

    होलीमा उपत्यकामा सुरक्षा व्यवस्था कडाई

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्थापन कडा गरेको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरिने जनाएको हो । पर्वका नाममा हुने विकृति र घटनाहरूको न्यूनीकरण गर्न होलीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिने प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

    पर्वका नाममा हुने विकृति र घटनाहरूको न्यूनीकरण गर्न होली मा होली पर्वसम्बन्धी विभिन्न कार्यक्रम हुने स्थानमा बढी प्रहरी परिचालन गरिनेछ । ‘उपत्यकाभर २,६०० बढी पोसाकका प्रहरी तैनाथ हुनेछन् । विशेष–विशेष स्थानमा सादा पोसाकमा पनि प्रहरी परिचालन गरिनेछ,’ एसपी रिजालले भने ।

    अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

    यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ । महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ ।

  • आईसीसी विश्व कप क्रिकेट लिग–२ : आज नेपाल र यूएई भिड्दै

    आईसीसी विश्व कप क्रिकेट लिग–२ : आज नेपाल र यूएई भिड्दै

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । खेल दुबई इन्टरनेशनल मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि महत्त्वपूर्ण छ ।

    लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्व कप छनोटमा स्थान पक्का गरिसकेको छ। तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया होडमा छन् ।

    ३६ खेल खेलिसकेको नामिबिया ३९ अङ्कसहित तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका पाँच वटै खेल जित्नुपर्नेछ । यदि नेपालले आज यूएईलाई पराजित गरेमा तेस्रो हुने सम्भावना कायम रहन्छ । यदि हारेमा शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउने अवसर बाँकी रहन्छ ।

    नेपालले बाँकी पाँचमध्ये तीन खेल जिते पनि शीर्ष पाँचमा स्थान पक्का हुनेछ । यूएईका लागि पनि नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा पुग्न नेपालविरुद्ध खेल जित्नै पर्ने अवस्था छ । यूएई ३१ खेलबाट ३१ अङ्कसहित पाँचौँ स्थानमा छ । समान खेलबाट नेपाल ३० अङ्कसहित छैटौँ स्थानमा छ । ३६ खेल खेलिसकेको अमेरिका ३५ अङ्कसहित चौथो स्थानमा छ ।

  • म्यानचेस्टरको पोष्टमा लिभरपुलको ७ गोल

    म्यानचेस्टरको पोष्टमा लिभरपुलको ७ गोल

    काठमाडौं । म्यानचेस्टर युनाइटेडको पोष्टमा लिभरपुलले ७ गोल हानेको छ । घरेलु मैदानमा म्यान यू ७–० ले पराजित भएको हो । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा लिभरपुलले पहिलो हाफमा १–० को मात्र अग्रता लिएको थियो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै आधा दर्जन गोल गर्न सफल भयो ।
    लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोल गरे। पहिलो हाफको ४३ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए। नुनेजले ४७ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएको तीन मिनेटपछि गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० मा पुर्‍याए।

    ६६ औं मिनेटमा सलाहले गोल गर्दै एकतर्फी अग्रतालाई ४–० मा पुर्‍याए। ७५ औं मिनेटमा नुनेजले अर्को गोल थप्दा त्यसको ८ मिनेटपछि सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ६–० मा पुर्‍याए। खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनोले बेन्चबाट आएर गोल गर्दै लिभरपुलाई सानदार जित दिलाए। खेलमा दुई गोल गरेका शालाह प्रिमियर लिगमा लिभरपुलका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले रोबी फ्लावरको १ सय २८ गोलको कीर्तिमान भंग गरे ।

    यो जितले लिभरपुल २५ खेलमा ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ। पराजित युनाइटेड २५ खेलमा ४९ अंकका साथ तेस्रो स्थानमा कायमै छ। यो लज्जास्पद हारले युनाइटेडलाई दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दूरी घटाउने मौकासमेत गुमेको छ।

  • आज होली पर्व, पहाडी भेगमा बिदा

    आज होली पर्व, पहाडी भेगमा बिदा

    काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

    असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

    होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिंदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् ।

    राष्ट्रपति भण्डारीले दिएको सन्देशमा होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन होली पर्वले योगदान पुर्याउने विश्वास उनले लिएकी छन् ।

    यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् । यस्तै सभामुख देवराज घिमिरेले होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।

  • संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरिने

    संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरिने

    काठमाडौं । सर्वोच्च अदालतको फैसलाबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संघीय संसद्‌‌मा पेस गरिने भएको छ । यसबारे आइतबार नौ दलले निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक अदातलको फैसलाबमोजिम कानुन बन्ने गरी संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

    संक्रमणकालीन न्यायसम्बन्धी विवाद संसद्को चालु अधिवेशनमा टुंगो लगाउने गरी अगाडि बढाउन दलहरु सहमत भएका छन् । बैठकमा सहभागी भएका सरकार समर्थित ९ दलका नेताहरुले संविधानको सुरक्षा र लोकतन्त्र रक्षाका लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् । नौ दलको संयुक्त विज्ञप्तिमा द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदातलको फैसलाबमोजिम कानुन बन्ने गरी संसद्को‌ यसै अधिवेशनमा प्रस्तुत गरिने उल्लेख छ । कानुन निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन गरिने छन् ।


    केही दिनयता जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म एवम् भावनाविपरीत भइरहेका केही क्रियाकलापतर्फ ध्यान गम्भीररुपले आकृष्ट भएको समेत विज्ञप्तिमा उल्लेख छ । संविधानले नचिनेका नदेखेका तथाकथित पदका नाममा गरिने संविधान विपरितका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरु लोकतन्त्र विरोधी अवान्छित हुन भन्ने विषयमा एकमत रहेको दलहरुले बताएका छन् ।

  • वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता

    वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीहरूको समाधान उच्चस्तरीय संयन्त्र बनाएर गर्ने प्रतिबद्धता जनाएका छन् । आइतवार आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा राष्ट्र बैंकका गभर्नर र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले वर्तमान अर्थतन्त्रमा देखिएका समस्यालाई उच्चस्तरीय संयन्त्र बनाएर समाधान गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको जानकारी दिए । उनले निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्रीलाई बैंकको कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएको, बैंकको उच्च ब्याजदरका कारण तरलतामा देखिएका प्रमुख समस्या समाधान सरकारले गर्नुपर्ने जानकारी गराएको बताए ।

    अध्यक्ष गोल्छाले बैंकहरूले ऋण दिएको समय र अहिलेको आर्थिक परिदृश्य फरक भइसकेको भन्दै ऋणले कर्जा तिर्न नसक्ने अवस्था रहेकाले कर्जा तिर्नै नसक्नेहरूकाको हकमा राष्ट्र बैंकले व्यवसायीको माग सम्बोधन गर्ने जानकारी गराएको पनि बताए ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देश आर्थिक रूपमा जटिल अवस्थामा रहेकाले बैंकको वेसरेट नै हटाउन आग्रह गरेको बताए । उनले बैंकहरूले व्यवसायीहरूलाई प्रवाह गरेको कर्जामा तीन महिनामा हुने ब्याजदर र प्रिमियम बढ्न नहुने माग राखेको बताए ।

  • सरकारले भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न अनुमति दिएको ओलीको दाविप्रति सरकारको आपत्ति

    सरकारले भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न अनुमति दिएको ओलीको दाविप्रति सरकारको आपत्ति

    काठमाडौं । मुस्ताङमा विश्वविद्यालय स्थापना गर्न भारतलाई अनुमति दिएको भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भ्रमपूर्ण रहेको सरकारले प्रतिक्रिया दिएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर पूर्व प्रधानमनत्री केपी शर्मा ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् ।

    ‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ,’ सरकारका प्रवक्ताको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’

    बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासलाई पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो त्यसको अध्ययन र आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने पनि सरकारले स्पष्ट पारेको छ ।

    शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको आरोप लगाएका थिए । ओलीको भनाइको खण्डन गर्दै मन्त्री शर्माले निकालेको विज्ञप्तिमा परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन भनिएको छ ।

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत पाएका छन् ।

    गत माघ २६ गते मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दल सुदूरपश्चिमका नेता शाहले आइतबार प्रदेश सभामा विश्वासको मत लिएका हुन् ।

    शाहले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको मतदानमा शाहले ४१ मत पाएका हुन्। प्रस्तावको विपक्षमा ११ मत मात्रै पर्‍यो। मतदानमा ५२ जना उपस्थित भएका थिए।

    २६ माघमा संविधानकाे धारा १६८ काे उपधारा(३) अनुसार ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जाेशीले विश्वासकाे मत दिएका हुन् ।

  • निगमकै इतिहासमा दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

    निगमकै इतिहासमा दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

    काठमाडौं । नेपाल एयरलाइन्सको इतिहासमै महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् ।

    निगमले हाल सञ्चालन गरेको एयरबस २२० (न्यारेवडी) का क्यापटेन भावना पन्त र कोपाइलट श्रृजना राउतले इतिहासमै पहिलो काठमाडौंदेखि यूएईको उडान भरेका हुन् ।

    अहिलेसम्म महिलाले अन्तर्राष्ट्रिय उडान गरेको रेकर्ड थिएन, आईतबार उडान गरेसँगै निगमको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिना पाइटल बनेका हुन् ।

    उनीहरु ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवसकै दिन नेपाल फर्कनेछन् ।

  • प्रधानमन्त्रीमाथि मुद्दा लगाएर गिरफ्तार गर्ने निहुँ खोजियो, जनयुद्ध अपराधीकरण गर्न मिल्छ ?

    प्रधानमन्त्रीमाथि मुद्दा लगाएर गिरफ्तार गर्ने निहुँ खोजियो, जनयुद्ध अपराधीकरण गर्न मिल्छ ?

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति बढेको बताएका छन् ।

    सहित तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए । उनले यसका विरुद्धमा सबै माओवादीहरु एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे ।

    ‘एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?’, उनले भने, ‘तीन वर्षअघिको एउटा सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउन मिल्छ भन्ने निर्णय गर्नु भनेको निहुँ खोजको होइन ? जिस्क्याएको होइन ?’

    यस्ता मुद्दामा कार्यगत एकता गरौँ । त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्नसक्छौँ । त्यसले परिवर्तन ल्याउँछ । हाम्रा शहीदहरुको सपना पूरा गर्छ,” उनले भने ।

  • ‘प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौता विपरीत’

    ‘प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौता विपरीत’

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले सर्वोच्च प्रशासनलाई दिएको आदेशप्रति माओवादीले आपत्ति जनाएको छ।

    नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै न्यायालयबाट भएको यस्तो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका हुन् ।

    न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले उक्त आदेश दिएको थियो। जितेन्द्र मोक्तान र ज्ञानेन्द्रराज आरणसहितले प्रचण्डमाथि ५ हजारको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै रिट लगेका छन्।

    प्रचण्डले संविधान प्रदत्त वाक स्वतन्त्रताको उपभोग गरी अमुक सार्वजनिक कार्यक्रमहरूमा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाइनु पर्छ भनी कलुषित पूर्वग्राही भावनालेरिट निवेदन दायर भएको गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    ‘रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्त विपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको सम्बद्ध निकायहरूलाई अवगत गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

    सङ्क्रमणकालीन न्यायको मूल्य मान्यता विपरीत हुने कार्यहरू र गतिविधिले मुलुकमा स्थापित शान्ति प्रक्रियामा गम्भीर चुनौती सिर्जना हुने पार्टीको भनाई छ ।