Category: समाचार

  • माओवादी धारका दलको पत्रकार सम्मेलन आज

    माओवादी धारका दलको पत्रकार सम्मेलन आज

    काठमाडौं । नेकपा माओवादी केन्द्रसहित माओवादी धारका पार्टीले आज पत्रकार सम्मेलन गर्दैछन् । आइतबार दिउँसो २ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्न लागिएको छ । ‘जनयुद्धकालीन मुद्दा’ अदालतबाट नभई सत्य निरूपण तथा मेलमिलाप आयोगलगायत आयोगबाट समाधान खोजिनुपर्नेमा उनीहरू छन्।

    माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्तिलाई लिएर सर्वोच्चमा मुद्दा परेको र १५ दिनभित्र कारण देखाउन अदालतले समय दिएको अवस्थामा माओवादी धारका पार्टीहरूले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका छन्। यसअघि माओवादी धारका पार्टीहरूले २ पटक बालुवाटारमा पनि बैठक गरेका थिए।

  • राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

    राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

    काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिने भएको छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । अब भण्डारीले शीतलनिवास छाड्नुपर्छ । उनी शीतलनिवासबाट बूढानीलकण्ठ(२ चपलीस्थित निजी निवासमा सर्ने छिन् । उनी २९ फागुनमा निजी निवास सर्ने तयारी छ । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् ।

    त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् । नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सोमबार (फागुन २९)मा हुँदैछ । प्रधानन्यायाधीश पद हाल रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउनेछन् ।

  • शपथ नखाँदै राष्ट्रपति पौडेलको ‘तामझाम’ धेरै, ‘बाटो खाली’ गराउँदै दौडधुप

    शपथ नखाँदै राष्ट्रपति पौडेलको ‘तामझाम’ धेरै, ‘बाटो खाली’ गराउँदै दौडधुप

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पनि विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । दिउँसो साढे १ बजे पुष्पलाल पार्क (चम्पादेवी) र त्यसपछि दिउँसो साढे २ बजे भट्टराई आश्रम बाडेगाउँ पुग्ने कार्यक्रम छ ।

    शुक्रबार राष्ट्रपति पौडेल गुह्वेश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नाका साथै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए ।

    उनको आगमनको क्रममा ट्राफिक जाम भएको भन्दै आलोचनासमेत भएको थियो । उनको भ्रमणमा श्रीमती, छोरा र निकटका व्यक्तिहरूसमेत सँगै हुने गरेका छन्।

    संघीय संसद् भवनबाहिर राष्ट्रपति निर्वाचन हुँदै गर्दा उम्मेदवार रहेका पौडेलले राष्ट्रपनि निर्वाचित भएमा कुनै तामझाम र जनतालाई सास्ती नदिने बताएका थिए ।’

    गणतन्त्रको राष्ट्रपति कस्तो हुन्छ म देखाउँछु’ उनले दुई दिनअघि मात्रै भनेका थिए।

    चौथो कार्यकालका लागि मुलुकको तेस्रो राष्ट्रपति बनेका पौडेलले आगामी सोमबार शपथ खाने र पद सम्हाल्ने तयारी छ ।

  • अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

    अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।शनिवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

    गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

  • गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जना उम्मेदवार

    गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जना उम्मेदवार

    काठमाडौं । सत्ता गठबन्धनको प्रधानमन्त्री निवासमा बसेको वैठकमा सहमति नजुटेपछि उपराष्ट्रपतिमा जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका छन् । जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको हो ।

    पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र जनमतले ममतालाई उम्मेदवार बनाउने तयारी गरेको हो ।

    सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ ।

    उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ ।

  • १०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने

    १०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने

    काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ ।

    हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७ दशमलव २० किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

    २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल–भारत सीमानाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, २०७७ असारमा निर्माण स्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढीपहिरो र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो ।

    प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।
    आयोजनाको अनुगमन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रूपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुयाएको जानकारी दिनुभयो । प्राकृतिक प्रकोपको चपेटामा परेर करिबकरिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको घिसिङले बताए ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोहीबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको बताए । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपियाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब तीन करोड दुई लाख ९० रुपियाँ रहेको छ ।

    आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु. ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।

  • सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो

    सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो

    काठमाडौं । नेपालमा लगानीको अवसर र सम्भावनाबारे अध्ययन गर्न सिंगापुरका युवा उद्यमीहरूको टोली काठमाडौं आएको छ। योङ प्रेजिडेन्ट अर्गनाइजेसन ९वाइपिओ०, सिंगापुर शाखाका तर्फबाट पहिलोपटक नेपाल भ्रमणमा आएको टोलीमा सिंगापुरका ४० जना युवा लगानीकर्ता तथा प्रमुख कार्यकारी सामेल छन्। उनीहरू आइतबारसम्म यहाँ बस्ने छन्।

    टोलीमा सिंगापुरको उड्डयन, वित्तीय, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, हस्पिट्यालिटी, खानी लगायत क्षेत्रमा काम गरिरहेका युवा उद्यमी सहभागी छन्। नेपालमा पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीको ठूलो सम्भावना रहेकाले त्यसबारे जानकारी लिन काठमाडौं आएको उनीहरूले बताएका छन्।

    भ्रमणको पहिलो दिन शुक्रबार नेपालका एक मात्र डलर अर्बपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उक्त प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै नेपालको लगानी सम्भाव्यताबारे जानकारी दिए। नेपालमा भएका आर्थिक सम्भाव्यता पूर्ण सदुपयोग हुने हो भने एसियाकै धनी मुलुक बन्ने क्षमता रहेको उनले बताए। ुनेपाल स्रोत(साधनमा अत्यन्तै धनी छ। तर स्रोत हुनु मात्र ठूलो कुरा होइन, व्यवस्थापन पनि राम्रो हुनुपर्छ,ु उनले भने, ुव्यवस्थापनमा समस्या हुनुले नै नेपाल गरिब भएको हो।ु

    विकास योजनालाई आफ्नो एजेन्डा बनाएर हिँड्ने दुरदर्शी नेता नभएकाले नेपाल पछि परेको उनको भनाइ थियो। ‘स्रोतको उचित व्यवस्थापनका लागि हामीलाई एक भिजनरी नेताको खाँचो छ। देशको योजनाबद्ध विकासमा नीतिगत योगदान गर्ने उद्देश्यले नै म राजनीतिमा सक्रिय भएको हुँ’ उनले भने।

    संसारकै दुई ठूला बजार भारत र चीनसँग नेपालको निकट सम्बन्धले पनि यहाँ तुलनात्मक लाभ धेरै भएको चौधरीले बताए। उनले सिंगापुरको उदाहरण दिँदै अगाडि भने, ‘ली क्वान यूको योजनाले सिंगापुर संसारकै धनी मुलुकको सूचीमा पुग्यो।

    दक्षिण कोरिया पनि पार्क चुङ हिको भिजनले धनी बन्यो। यी दुवै देश प्राकृतिक स्रोत(साधनमा कमजोर छन्। तैपनि एउटा नेताको दुरदर्शी सोचले दुवै मुलुकलाई समृद्ध बनाएको छ। हामी त स्रोत-साधनमा धनी छौं। त्यसैले हामीसँग समृद्ध हुने सम्भावना अझ धेरै छ।’


    कुनै पनि उद्यमीले आफ्नो व्यावसायिक सफलता र प्रतिफल सँगसँगै सामाजिक उत्तरदायित्व पनि भुल्न नहुने उनले बताए। सन् १९५० मा स्थापना भएको वाइपिओ संसारभरका ३० हजारभन्दा बढी सिइओहरूको संस्था हो। यसको मुख्यालय अमेरिकामा छ भने नेपाल लगायत १ सय ४२ मुलुकमा यसको सञ्जाल फैलिएको छ।

  • उपराष्ट्रपतिका उम्मेदवार टुंगो लगाउँदै दलहरु

    उपराष्ट्रपतिका उम्मेदवार टुंगो लगाउँदै दलहरु

    काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बोलाइएको छ । बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

    उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।


    उता, नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बोलाइएको छ । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।

  • उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता

    उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता

    काठमाडौं । उपराष्ट्रपति पदका लागि आज मनोनयन दर्ता हुने भएको छ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशित आइतबार हुनेछ। आजै मनोनयन दर्ता गर्नुपर्ने भएपछि सत्ता साझेदार दल र एमालेले उम्मेदवार तय गर्न बैठक बोलाएका छन् ।

    उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुनुपर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि पाँचरपाँच जना प्रस्तावक र समर्थक जुटाउनु पर्नेछ ।उपराष्ट्रपतिको निर्वाचन आगामी चेत ३ गतेका लागि तोकिएको छ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

  • पोखरामा सुरु भयो रात्रिकालिन उडान, चार विमानस्थलबाट जान सकिने

    पोखरामा सुरु भयो रात्रिकालिन उडान, चार विमानस्थलबाट जान सकिने

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको छ ।

    काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालिन उडान भरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि बिसान पोखरामा भएको छ । यी जहाज बिहानै सोही गन्तव्यका लागि उडेका छन् । कम्पनीका अनुसार बिहान पोखराबाट पुनः काठमाडौं, भैरहवा, नेपालगञ्ज तथा भद्रपुर उडान गरेका छन् ।

    यसबाटसाँझको समयमा पोखरा आई केही दिनको बसाई तथा घुमफिरबाट एकाबिहानै ती गन्तव्यमा फर्कन सहज भएको छ । यस यसले आन्तरिकका साथै बाह्य पर्यटकहरुलाई सजिलो हुने बुद्ध एयरले जनाएको छ ।

    आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो । अहिले काठमाडौंबाट ४ बजेपछि ३ उडान राखिएको छ । यसैगरी पोखराबाट काठमाडौंको उडान साँझसम्म राखिएको छ ।

    बुद्ध एयरले काठमाडौंपछि पोखराबाट देशका विभिन्न गन्तव्यलाई सिधा उडान भर्ने योजना अनुरुप अहिले नेपालगञ्ज, भैरहवा, भद्रपुर र चितवनलाई जोडेको छ । आउँदा दिनमा बजारको माग अनुसार अन्य गन्तव्यमा पनि बिस्तार गर्ने बुद्ध एयरले जनाएको छ ।

  • श्री एयरलाइन्सका जहाज शनिबारबाट उड्ने

    श्री एयरलाइन्सका जहाज शनिबारबाट उड्ने

    काठमाडौं । श्री एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः उडान अनुमति दिएको छ । कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमताको समेत अध्ययन गरेको थियो । त्यसपछि प्राधिकरणले श्रीलाई पुनः सेवा सञ्चालनको अनुमति दिएको हो । प्राधिकरणबाट पुनः उडानको अनुमति पाएसँगै शनिबारदेखि श्री एयरलाइन्सले नियमित उडान गर्ने कम्पनीले बताएको छ ।

    श्री एयरलाइन्सका जहाज उडानका लागि पूर्ण सुरक्षित रहेको समेत कम्पनीले जनाएको छ । यसअघि उडान नं ८२१ बाट काठमाडौं–भैरहवा उडानमा रहेको श्रीको जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि सो इन्जिन बन्द गरी एक इन्जिनको सहायतामा जहाज काठमाडौंमा आकस्मिक अवतरण गराइएको थियो । त्यसपछि छानविन पुरा नभएसम्म प्राधिकरणले श्रीको सबै जहाजहरु ग्राउण्डेड गरेको थियो । प्राधिकरणको यो जाँचबाट आफ्ना सबै जहाज सुरक्षित भएको पुष्टि हुने समेत कम्पनीले उल्लेख गरेको छ ।

  • पाँच रिक्त एआईजीमा बढुवा सिफारिस, वसन्त पहिलो नम्बरमा

    पाँच रिक्त एआईजीमा बढुवा सिफारिस, वसन्त पहिलो नम्बरमा

    काठमाडौं । शुक्रबार बसेको बढुवा समितिको बैठकले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको लागि सिफारिस गरेको छ। बढुवा हुनेमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राइ, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचाय रहेका छन्। पद रिक्त भएको लामो समयपछि सरकारले एआईजीमा बढुवा गरेको हो। पहिलो नम्बरमा वसन्त कुँवर छन् । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए । सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उनीहरूलाई एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा हुने यीमध्येबाट एकजनाले आगामी चैत १० गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्नेछ ।

  • राष्ट्रपतिको उम्मेदवार बन्दा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय

    राष्ट्रपतिको उम्मेदवार बन्दा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय

    काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिको उम्मेदवार बन्दा १६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। एमाले सांसद महेश बर्तौलामार्फत् नेम्वाङले आयोगलाई बुझाएको विवरणमा प्रचार प्रसार गर्दा १० हजार र मसलन्द शिर्षकमा ६ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख छ।बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

  • उपराष्ट्रपतिमा उम्मेदवारी दिन रञ्जिता श्रेष्ठ अयोग्य

    उपराष्ट्रपतिमा उम्मेदवारी दिन रञ्जिता श्रेष्ठ अयोग्य

    काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरिरहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अयोग्य देखिएकी छन् ।

    नागरिक उन्मुक्तिले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपनि उमेरका कारण पार्टीकी अध्यक्ष श्रेष्ठ अयोग्य ठहरेकी हुन् ।।

    तर, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ ।

    त्यस्तै नेपालको संविधानको धारा ६५ मा राष्ट्रपति बन्न कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ । तर उपराष्ट्रपति बन्नका लागि कति उमेर हुनुपर्ने भन्ने उल्लेख नभए पनि ‘राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने’ उल्लेख छ ।

    संसद सचिवालको रेकर्ड अनुसार उनको उमेर हाल ३९ वर्षमात्रै कायम रहेको छ ।

  • राष्ट्रपति निर्वाचनबारे  चौतर्फी आलोचना हुन थालेपछि रास्वपाले दियो स्पष्टिकरण

    राष्ट्रपति निर्वाचनबारे चौतर्फी आलोचना हुन थालेपछि रास्वपाले दियो स्पष्टिकरण

    काठमाडौं । राष्ट्रपतिको निर्वाचन सम्बन्धमा पार्टी र नेतृत्वप्रति प्रश्न तथा आलोचना चौतर्फी आलोचना हुन थालेपछि रास्वपाले आधिकारिक रूपमा मुख खोलेको छ ।

    शुक्रबार रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् । राष्ट्रपति चुनावको बारेमा उनले स्पष्ट रूपमा तीन वटा सवाल उठाएकाे छ।

    १. हाम्रो वाचापत्रमा उल्लेख गरिएको गैर दलीय राष्ट्रपतिको अर्थ राष्ट्रिय स्वतन्त्र पार्टीको पनि नहुनु हो र पार्टीले त्यस्तो उम्मेदवार पार्टी बाहिरबाट खोज्नु पर्ने थियो । जुन अनुपातमा जनताले रास्वपालाई मत दिएका छन्, त्यो मतभारले त्यसरी प्रस्तावित व्यक्ति राष्ट्रपतिमा निर्वाचित नहुने निश्चित थियो । राष्ट्रपति जस्तो गरिमामय पदमा उम्मेदवार गैर दलीय हुन जरूरी त थियो नै, सोहि अनुरूप राष्ट्रिय स्थरको व्यक्तित्व पनि हुनु आवश्यक थियो । हार्ने निश्चित भएको चुनावमा त्यस्तो गैर दलीय राष्ट्रिय व्यक्तित्व पार्टीले नपाएको कुरा सत्य हो र त्यस्ता व्यक्तित्वलाई रास्वपाको मात्र उम्मेदवार बनाएर उहाँहरूको गैर दलीय छविलाई पनि असर गर्छ कि भनेर हामी यसपटक एक स्टेप ब्याक हुन बाध्य भयौँ ।

    २. हाम्रो वाचापत्र अनुरूप उम्मेदवार नभएपछी हामीसँग दुइ उम्मेदवार विकल्पका रुपमा थिए । यससन्दर्भमा गणतन्त्रको सिद्दान्तमा अघि बढेको पार्टीले निर्वाचन बहिस्कार गर्नु उपयुक्त थिएन । स्वविवेकको निर्णय गर्ने कि भन्ने विषयमा सासंदहरुबीच भएको छलफल पछि आफ्नो विवेकको प्रयोग गरि पार्टीको दबाब विना नै मतदान गर्नु भएको हो । उहाँहरूले छलफललाई आधार बनाएर पार्टी एक ढिक्का छ भन्ने सन्देश दिनु भयो जसप्रति पार्टी आफ्ना सासंदप्रति गर्व गर्छ ।

    ३. पार्टीका सासंदहरूले कुनै एक उम्मेदवार रोज्दा पनि विवादित हुने निश्चित थियो । भिन्दा भिन्दै उम्मेदवारमा मतदान गर्दा एकता छैन कि भन्ने सन्देशसमेत जान सक्थ्यो । रास्वपालाई कुन बेला कसरी हानौँ भनेर बस्नेहरूका लागी रास्वपाले जे निर्णय लिए पनि यो उपयुक्त बेला थियो । पार्टीप्रति इमान्दार पार्टी सदस्य, पार्टीको भलो चिताउने शुभेच्छुक, सुझबुझ र अलिकति चिन्तन गर्ने जनता पार्टीले यस परिस्थितिमा चालेको कदमप्रति निराश हुनुपर्ने कुनै कारण नै छैन । बाँकी अवस्थामा मतभारका आधारमा जेजति गर्न हिँडेका छौँ, हौसला आवश्यक छ र तत् अनुसार नै मार्गदर्शन गरिरहनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।

  • उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने निर्वाचन आयोगको संकेत

    उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने निर्वाचन आयोगको संकेत

    काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा पुरुषको उम्मेदवारी नदिन निर्देशन दिएको छ ।

    आउँदो फागुन २७ गते हुने उपराष्ट्रपति पदको उम्मेदवार मनोनयनपत्र दर्ताका लागि आयोगले संविधानअनुरुप नै फरक लिंग वा फरक समुदायको मात्र मनोनयनपत्र दर्ता गर्नका लागि निर्देशन दिएको हो ।

    बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको भन्दै राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न आयोगले निर्देशन दिएको हो । निर्वाचन कार्यक्रम अनुसार फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ ।

    संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ’ भनिएको छ ।

  • उपराष्ट्रपतिमा नागरिक उन्मुक्तिको दाबी, रञ्जितालाई उम्मेदवार बनाउने

    उपराष्ट्रपतिमा नागरिक उन्मुक्तिको दाबी, रञ्जितालाई उम्मेदवार बनाउने

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

    सो पार्टीको संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता चौधरीलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो ।

    जस अनुसार जसपाले बाराबाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय गरेको थियो । आजै बिहानमात्र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि जसपालाई उपराष्ट्रपति दिने निर्णय नभएको बताएका थिए ।

  • पर्यटन मन्त्रालयले थाल्यो पशुपति सफाई अभियान

    पर्यटन मन्त्रालयले थाल्यो पशुपति सफाई अभियान

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अगुवाईमा पशुपति सफाई अभियान सुरु भएको छ । सफा पशुपति, स्वच्छ पशुपति नामक अभियानमार्फत मन्त्रालयले शनिबारबाट अभियान चलाउन थालेको हो ।

    अभियानमा मन्त्रालय मातहतका सबै कर्मचारी सहभागी हुने भएका छन् । यस अभियान अनुसार हरेक शनिबार बिहान ८ बजेबाट १० बजेसम्म तीन महिनासम्म सफाई अभियान चल्नेछ । मन्त्री किरातीले पशुपतिमा फोहोरसँगै विसंगती हटाउन समेत यो अभियान थालिएको बताएका छन् । उनले कार्यकाल सम्हालेलगत्तै यस्तो अभियान चलाउने बताएका थिए ।

  • माओवादी घटक आज पनि छलफलमा

    माओवादी घटक आज पनि छलफलमा

    काठमाडौं । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुको संयुक्त बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी छन् ।

    द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकका नेताहरु नजिकिएका छन् । यसअघि २३ फागुनमा बालुवाटारमै बसेको यी पार्टीका नेताहरुको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो । माओवादी घटकका नेताहरु संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत् टुंगो लगाउनुपर्छ भन्नेमा एकमत छन् ।

    १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले सर्वोच्चमा रिट दायर गरेका छन् । सो रिट बिहीबार ‘हेर्न नभ्याइने’मा परेपछि अर्को पेसी शुक्रबार ९आज०का लागि सारिएको छ ।

    सरकारले बिहीबारमात्रै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ ।

  • श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक

    श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक लगाएको छ । काठमाडौं–भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखिएको थियो । यो घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई अनिश्चितकालका लागि ग्राउन्डेड गरेको हो । यसबारे प्राधिकरणले कम्पनीलाई पत्र काटेको छ ।

    श्रीको आज कुनै पनि उडान भएको छैन । कम्पनीका सबै विमान उडानयोग्य रहे वा नरहेको प्राविधिक जाँच तथा निरीक्षणपछि मात्र उडान अनुमति खुला गरिने भएको छ । बिहीबार ७८ जना यात्रु बोकेर भैरहवा जाँदै गरेको श्रीको विमानको दायाँ इन्जिनमा आगलागी भएको संकेत ककपिटमा देखिएको थियो ।

  • निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहनेछु : राष्ट्रपति पौडेल

    निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहनेछु : राष्ट्रपति पौडेल

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निश्पक्षता, तटस्थता र विधिको पालनामा आफु प्रतिवद्ध रहने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार भएको निर्वाचनबाट उनी राष्ट्रपति निर्वाचित भएका हुन् । बिहीबार राती एक आभार वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिएका छन् । आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङ र उनलाई मत दिनेहरुप्रति सम्मान व्यक्त गर्ने उनले बताए ।

    राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रहेर निर्दिष्ट कार्यसम्पादन गर्दा निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध पौडेलको प्रतिवद्धता छ । उनले भनेका छन्, ‘नेपालको राष्ट्यि एकताको प्रवर्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहने छन् ।’

    राष्ट्रपतिका काम कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानमा अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्यि अभियानमा सरिक हुन सदैव तत्पर रहने उनले राष्ट्रपति पौडेलले बताएका छन् ।

  • नयाँ राष्ट्रपतिले पशुपतिमा पूजा गर्दै

    नयाँ राष्ट्रपतिले पशुपतिमा पूजा गर्दै

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्ने भएका छन् । उनी बिहान ९ बजे पशुपति जाने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि सुरक्षा प्रबन्ध कडा बनाइएको छ ।

    पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ । पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति निर्वाचित भएलगत्तै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।

    निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउँदैछ । त्यसपछि पद हस्तान्तरण प्रक्रिया सुरु हुनेछ । २८ फागुनमा राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुने भएकाले त्यसलाई ध्यानमा राखेर नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहणको मिति तय हुन बताइएको छ ।

    संविधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन् । अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् । त्यसपछि निवर्तमान राष्ट्रपति विद्यादेवीलाई ससम्मान शितल निवासबाट बिदाइ गरेर उनको निजी निवासमा पुर्‍याइने छ ।

  • को हुन् नयाँ राष्ट्रपति रामचन्द्र पौडेल ?

    को हुन् नयाँ राष्ट्रपति रामचन्द्र पौडेल ?

    काठमाडौं । करिब आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बनेका छन् ।
    लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि देशको कार्यकारी पदमा पुग्न अधिक प्रयास गरेका थिए । तर, उनलाई भाग्यले सर्वोच्च पदमा पुर्याएको छ । पाँच दशक लामो राजनीतिक जीवनको यात्रामा उनी सभामुख र पटक पटक मन्त्री भने भएका छन् ।

    पन्ध्र वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएका पौडेलले २०१८ सालयता पटक पटक गरी करिब १४ वर्ष जेल जीवन बिताएका छन्। तत्कालीन समयमा शिक्षित परिवारमा हुर्किएका पौडेल पढ्नका लागि सुरुमा पोखरा र पछि काठमाडौं आएका थिए।

    पोखरामा अध्ययन गर्दा सुरुमा पौडेलको झुकाव कम्युनिस्ट राजनीतिमा भएको बताइन्छ । संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गरेका पौडेलले कैयौँ पुस्तक समेत लेखेका छन्। राजनीतिक जीवनको उत्तरार्द्धमा गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न पौडेललाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले साथ दिएका छन् । विसं २०५९ सालमा देउवाको नेतृत्वमा नेपाली कांग्रेस विभाजन भयो। पार्टी विभाजन गर्ने अन्तिम तयारीसम्म पौडेल देउवाको साथमै थिए।

    तर देउवाले पार्टी घोषणा गर्नुभन्दा केही घण्टाअघि मात्रै पौडेलले देउवालाई साथ नदिने निर्णय लिएका थिए । नेपाली कांग्रेस पुन एकीकरण भएपछि भने पौडेल कोइराला समूहसँग निकट भए र देउवासँग उनको राजनीति प्रतिस्पर्धात्मक बनेको थियो । पौडेल २०४८ सालमा पहिलो पटक मन्त्री बनेका थिए । पौडेलले पार्टीको १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि शेर बहादुर देउवासँगै प्रतिस्पर्धा गरे।

    पौडेल देउवाबीचको रोचक प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् । दोस्रो चरणमा भएको मतदानमा देउवा निर्वाचित भए। लगत्तै कांग्रेस संसदीय दलको निर्वाचनमा पनि पौडेलले देउवासँग प्रतिस्पर्धा गरे तर पराजित भए। देउवा र पौडेल नेतृत्वको गुट कांग्रेसको १४औँ महाधिवेशनसम्मै कायम रह्यो।

    तर गत वर्ष भएको पार्टीको १४औँ महाधिवेशनमा पौडेल तटस्थ रहँदा देउवा निर्वाचित भए। पौडेलले आफ्नै पुरानो गुटका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह दुवैलाई समर्थन नगर्दा गुटभित्र उनको आलोचना समेत भयो । प्रतिनिधिसभाको सभामुख र पटक पटक मन्त्री समेत भइसकेका रामचन्द्र पौडेल शान्ति समितिको संयोजक समेत भएका थिए

    विसं २०४८ सालमा पहिलो पटक सांसद बनेका पौडेल त्यसपछिका लगातार चार वटा निर्वाचनमा तनहुँबाट निर्वाचित भए। तर २०७४ को संसदीय निर्वाचनमा पौडेल पराजित भएका थिए । पौडेल २०४८ सालमा तनहुँ १ बाट निर्वाचित भएका थिए। पहिलो संसदीय निर्वाचनमा सफल भएपछि पौडेल स्थानीय विकासमन्त्री भए।

  • राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

    राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

    काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

    बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।

    पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

  • बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता

    बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् ।

    भेटका लागि राजदूत सङ मेयर बालेनको कार्यकक्षमा आएका हुन् । उनीहरूबीच आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी भएको महानगरले जनाएको छ । सङले काठमाडौंका सम्पदाहरूको निर्माण शैली चीनका सहरहरूमा प्रबर्द्धन गर्न चाहेको बताए ।

    ‘काठमाडौँसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ । यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौँ’, शाहले भने ।

    मेयर शाहले अगाडि थपे, ‘दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्छन् । भेषभुषा र खानपान एउटै हुन सक्छन् । यो सम्बन्धबाट नागरिक स्तरमा प्रबर्धन गर्न सकिन्छ ।’

    नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध २ हजार वर्षभन्दा पनि पुरानो उल्लेख गर्दै बालेनले काठमाडौँले चीन र भारतको व्यापारिक सम्बन्ध जोडेको र यस सम्बन्धलाई बिर्सन नहुने बताए ।

    भेटका क्रममा राजदूत सङ्ले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताए । यसका लागि हामी आपसी सहयोग बढाउन सक्छौँ । ‘काठमाडौँको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनु पर्छ । सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ । यसमा हाम्रा अनुभव र सिकाइ काम लाग्ने हुन सक्छन्’, राजदूत सङ्को भनाइ छ ।

    कुराकानीमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ् स्टेशनलगायत सहरी व्यवस्थापनका विषय थिए ।

    भेटका अवसरमा प्रमुखका व्यवस्थापन सल्लाहकार कुमार बेन (व्यञ्जनकार) सचिवालय प्रमुख नुरनिधि न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराईसहित अधिकारीहरु सहभागी थिए ।

  • राष्ट्रपति निर्वाचन : मतगणना सुरु

    राष्ट्रपति निर्वाचन : मतगणना सुरु

    काठमाडौं । राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा मतगणना सुरु भएको हो।

    संघीय संसद्कै ल्होत्से हलमा मतदान सम्पन्न भएको थियो। प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ।

    आजै सात बजेसम्म मतगणना सक्ने आयोगको तयारी छ। साथै आझै मतगणना सार्वजनिक गरी विजयी उम्मेदवारलाई प्रमाणपत्र पनि आजै प्रदान गरिनेछ।

  • प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट हेर्न नभ्याइनेमा

    प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट हेर्न नभ्याइनेमा

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो ।

    तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका हुन् ।

    अधिवक्ता ज्ञानेन्द्रराज आरण सहितले प्रचण्डलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    माघी पर्वका अवसरमा माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा ‘सामन्ती राजाहरूले १२ हजार जनता मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए। दाहालको यही सार्वजनिक अभिव्यक्तिका विरुद्धमा रिट परेको हो।

  • उच्च अंकले बढ्यो नेप्से, जलविद्युत समूहमा झुम्मिए लगानीकर्ता

    उच्च अंकले बढ्यो नेप्से, जलविद्युत समूहमा झुम्मिए लगानीकर्ता

    काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ५०.४ अंकले बढेर २००२.७० विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६२ कम्पनीको १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँ बराबरको ४५ लाख ६६ हजार ४३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको थियो । भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएके छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ३.५९ प्रतिशतले बढेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने ८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरीको साढे ५ करोड र अरुण काबेली साढे ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

    राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

    काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतदानका लागि निर्वाचन आयोगले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय दिएको थियो।

    निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् ।

    मतदानमा ८३२ जना सांसदले मतदान गरेका छन्। यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीले भाग लिएनन्।

    प्रदेशसभा सदस्यतर्फको ३२ मत कम खसेको छ । २८ प्रदेशसभा सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्णयका कारण उनीहरूले मतदान गरेनन् ।

    यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तीन प्रदेशसभा सदस्य मतदानमा उपस्थित भएनन् । उक्त पार्टीले यो निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको थियो ।

    जनता समाजवादी पार्टी (जसपा)की विन्दुकुमारी यादव अस्वस्थ भएका कारण अनुपस्थित हुँदा प्रदेशसभा सदस्यतर्फ ३२ मत नखसेको हो । यी प्रदेशसभा सदस्यको मतभार एक हजार ५३६ हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई

    सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

    २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग रिट निवेदकले गरेका छन् ।

    सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) निर्णय गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार फागुन २३ गते कानुन व्यवसायीहरुले प्रचण्डविरुद्ध रिट दर्ता गराएका थिए ।

    संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा नियमित अदालतमा हेर्न नहुने भन्दै प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनहरुले रिट दर्ताको विरोध गरेका छन् । विस्तृत शान्ति सम्झौता अनुसार द्वन्द्वकालीन घटना नियमित अदालतमा नभई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गर्नुपर्ने उनीहरुको माग छ ।

    सत्ता साझेदार दल, माओवादी धारका ८ पार्टी र कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले पनि प्रचण्ड विरुद्ध दायर भएको रिटको विरोध जनाएका छन् ।