Category: समाचार

  • प्रधानमन्त्रीले पाए विश्वासको मत, विपक्षमा एमाले र राप्रपा

    प्रधानमन्त्रीले पाए विश्वासको मत, विपक्षमा एमाले र राप्रपा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै दोस्रो पटक विश्वासको मत पाएका छन् । २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन् । विपक्षमा ८९ मत परेको छ । नेमकिपा तटस्थ बस्यो।

    नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै विश्वासको मत लिएका थिए ।

    प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिएका हुन्।

    कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ ।

    गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।

  • ‘…त्यसपछि कांग्रेससँग लभ पर्‍यो’-प्रधानमन्त्री

    ‘…त्यसपछि कांग्रेससँग लभ पर्‍यो’-प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै दोस्रो पटक विश्वासको मत माग्दा केही असहज महसुस भएको बताएका छन् ।

    प्रतिनिधिसभामा विश्वासको मत मागेपछि उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘केही न केही सहज महसुस भएको छैन ।

    छलफलमा उनले भने ‘म अलिअलि सोझो सोझो छु क्या,’ प्रधानमन्त्री प्रचण्डले भने,’मैले संसद् विघटन गरेको ठिक छ भनेर केपीजीले भनेपछि म त्यही दिन अब भंग हुने भयो भन्ने अवस्थामा पुगेको थिएँ । त्यसपछि कांग्रेससँग मेरो लभ परिहाल्यो, प्रधानमन्त्री भन्दा पनि एजेन्डाको लागि ।’

  • तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने

    तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने

    काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा – २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ ।

    वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।

    ४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेल र बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर, फागुन २५ मा तनहुँ १ बाट निर्वाचित सांसद पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित सांसद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

    नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम उपनिर्वाचन हुन लागेको हो ।

    २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

  • ‘केही असन्तुष्टि छन्, तर संघीयता रक्षा गर्न विश्वासको मत दियौं’

    ‘केही असन्तुष्टि छन्, तर संघीयता रक्षा गर्न विश्वासको मत दियौं’

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथिको छलफलमा सोमवार भाग लिँदै राउतले दाहालबाट लोकतन्त्र, संघीयता र गणतन्त्रलाई रक्षा हुने आशा गर्दै विश्वासको मत दिएको बताए ।

    ‘हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेका छौं । केही असन्तुष्टिहरू हामीसँग छन्, तर त्यसलाई समाधान गर्न सकिन्छ । सानो कुरामा विश्वासको मत फिर्ता लिनुपर्छ भन्ने छैन,’ राउतले भने ।

    नेपालमा बाइसे चौबीसे राज्य भनेको संघीयता नै रहेको तर्क गर्दै राउतले पछिल्लो समय यसलाई पुनः स्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले यसलाई बचाउन पनि प्रचण्डको भूमिका महत्त्वपूर्ण हुने बताए ।

    ‘आफैंले जन्माएको सन्तानको माया धेरै हुन्छ । त्यसैले दाहालसँग संघीयता लोकतन्त्र र गणतन्त्र रक्षा गर्ने अभिभारा छ,’ राउतले भने, ‘गणतन्त्र र संघीयताका लागि उहाँले त्याग र बलिदानी दिनुभएको छ । यसको रक्षा पनि उहाँले गर्नुहुनेछ ।’

  • ओली लक्षित माधवको प्रश्न -‘राजनीतिको नाडी छामेरै यहाँसम्म आएका छौं’

    ओली लक्षित माधवको प्रश्न -‘राजनीतिको नाडी छामेरै यहाँसम्म आएका छौं’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै किन कसैसँग सहकार्य गर्न सकेको भन्दै प्रश्न गरेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै नेता नेपालले आफ्नो कमजोरी सुधार नगर्ने नेताको कार्यशैलीका कारण अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको बताए ।

    ‘प्रत्येक नेताले आफ्ना काम, व्यवहार र अभिव्यक्तिको समीक्षा गर्नुपर्छ, किन कसैसँगको सहकार्य हुन सकेको छैन ?’, नेपालले भने, ‘अहिलेको परिवेश उत्पन्न हुने कुरा पहिलो दोस्रो दिनमै आकलन गरेको थिएँ । राजनीतिको नाडी छामेरै यहाँसम्म आएका छौं ।’

  • लिङ्देनले गरे प्रचण्डलाई गाउँका ड्राइभरसँग तुलना

    लिङ्देनले गरे प्रचण्डलाई गाउँका ड्राइभरसँग तुलना

    काठमाडौं । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँका ड्राइभरसँग तुलना गरे ।

    गाडी फेरिरहने गाउँका चालकसँग दाँज्दै लिङ्देनले प्रधानमन्त्रीलाई भाग्यमानीसमेत रहेको बताए।’जुहारी चलाउने धेरै मन छैन। भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ।

    ‘गाउँघरमा कहिलेकही यस्तो ड्राइभर भेटिन्छ कहिले कसको गाडी चलाइरहेको हुन्छ कहिले कसको। गाडी फेरिरहन्छ टिकाउ नै छैन के भन्छन् गाडी फेरिरहने ड्राइभरलाई नयाँ गाडी दिन योग्य हुन्छ कि हुँदैन?’

  • प्रतिनिधसभामा बोलेनन् ओली, विश्वासको मत नदिन सिंगो सदनलाई विष्णु पौडेलको आग्रह

    प्रतिनिधसभामा बोलेनन् ओली, विश्वासको मत नदिन सिंगो सदनलाई विष्णु पौडेलको आग्रह

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन सदनसमक्ष आग्रह गरेका छन्।

    सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेपछि जारी छलफलमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले उक्त आग्रह गरेका हुन् ।

    ‘प्रस्तावको विपक्षमा नेकपा एमाले छ। जस्तो परिस्थितिमा उहाँ पुगेर विश्वासको मत माग्नु भयो, उहाँलाई विश्वासको मत दिने आधार छैन। एमालेमात्र होइन सबै सदस्यलाई प्रस्तावको विपक्षमा उभिन आग्रह गर्छु।’

    आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित थिए।

    पुस २६ मा पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए। त्यतबेला मतदानमा सहभागी २७० सांसदमध्ये प्रचण्डले २६८ मत पाएका थिए। विपक्षमा २ मत खसेको थियो।

  • ‘देश र जनताको पक्षमा गठबन्धन हाम्रो बाध्यता हो, संस्कारमा अभ्यस्त हुनुको विकल्प छैन’

    ‘देश र जनताको पक्षमा गठबन्धन हाम्रो बाध्यता हो, संस्कारमा अभ्यस्त हुनुको विकल्प छैन’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको संस्कृतिको विकल्प नभएको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने बताए ।

    मुलुकको राजनीतिक सुनिश्चिता नै आवश्यक भएकाले कांग्रेसले यसअघि पनि विश्वासको मत दिएको बताए।

    उनले भने, ‘हामी संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेर पनि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरेका थियौं। त्यो राजनीतिक स्थिरताको लागि थियोस। मैले सुरुमै भनेको थिए संसदको सुरुमा नै संसदमा अस्थिरताको आवाज उठ्न थालेका छन्।

    संसद अन्योलता र देश अनिश्चितातर्फ जाने सम्भावना बढेको छ। हामीले संसदको पुर्ण कार्यकालको सुनिश्चिताको लागि प्रधानमन्त्रीको प्रस्तावमा मतदान गरेका थियौं।’

    सरकारले अब आरोप-प्रत्यारोपमा मात्रै नलागेर शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने, विकास निर्माण र सुशासनका काम गर्नुपर्ने देउवाको भनाइ छ । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुनेसमेत बताए ।

  • राष्ट्रिय सहमतिको सरकार बनाएका थियौं, छिट्टै विश्वासको मत लिनुपर्ला भन्ने सोचेको थिइनँ

    राष्ट्रिय सहमतिको सरकार बनाएका थियौं, छिट्टै विश्वासको मत लिनुपर्ला भन्ने सोचेको थिइनँ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी विश्वासको मतका लागि यति छिटै आउन पर्ला जस्तो नलागेको बताएका छन्।

    उनले सोमबार प्रतिनिधिसभाको रोष्टमा उभिएर विश्वासको मत माग्ने क्रममा यस्तो बताएका हुन्। सरकार अर्थतन्त्रको सुधार, सेवा प्रवाहमा सवलीकरणमा क्रियाशिल रहेको अवस्थामा फेरि मत लिनुपर्ने अवस्था आएको बताए ।

    “फेरि यति छिट्टै विश्वासको मतका लागि संसद्सँग अनुरोध गर्ने अवस्था आउला भन्ने सोचेको थिइन् । राष्ट्रिय सहमतिको सरकार बनाएका थियौं,” उनले भने ।

    ‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरुबीच मतभेद थिएन। क्याबिनेटका बैठकहरु पनि सौहार्दपूर्ण वातावरणमा भइरहेका थिए। सबैसँगको व्यक्ति सम्बन्ध पनि सौहार्दपूर्ण थियो। तर मैले राष्ट्रिय सहमतीमा राष्ट्रपति चयनका लागि मेरो प्रस्ताव पछि राप्रपा र एमालेका मन्त्रीहरुले राजिनामा दिनुभयो। र, विश्वासको मत पनि फिर्ता लिनुभयो’, उनले भने।

    प्रधानमन्त्री दाहालले पहिलो पटक ११ पुस २०७९ मा विश्वासको मत लिएका थिए।

  • उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

    उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् ।

    उनी जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका थिए । यादव चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

  • एमालेले प्रचण्डलाई विश्वासको मत नदिने

    एमालेले प्रचण्डलाई विश्वासको मत नदिने

    काठमाडौं । एमाले संसदीय दलको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको बताएका छन् ।

    सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो। प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।

  • मंगलबार सार्वजनिक विदा, राहदानी विभाग खुल्ने

    मंगलबार सार्वजनिक विदा, राहदानी विभाग खुल्ने

    काठमाडौं । सरकारले चैत्र ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । घोडेजात्रा पर्वको राजपत्र मै प्रकाशन गरेर तय भएको सार्वजनिक विदा हो । प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडे जात्रा मनाईने गरिएको छ । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ । विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘..घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’

  • एक महिनामा कामको खोजिमा विदेशिए ६२ हजार नेपाली

    एक महिनामा कामको खोजिमा विदेशिए ६२ हजार नेपाली

    काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा यस संख्यामा विदेशिएका हुन् । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् । यस अवधिमा म्यानपावर एजेन्सीमाफर्त २९ हजार २८८ जना युवा विदेशिएका छन् ।

    व्यक्तिगत रुपमा जाने नयाँ कामदारको संख्या ५ हजार ५३६ जना छन् । जीटूजीमार्फत २ हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८५१ जना रहेको छ ।
    तथ्यांक अनुसार फागुन महिनामा मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७९५ जना विदेशिएका छन् ।

    साउदी अरबमा ९ हजार ५०३ जना पुगेका छन् । कुवेतका लागि २ हजार ४६२ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । कोरियामा २ हजार २२७ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ । जापानमा ८७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ ।

  • उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिने

    उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिने

    काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् ।

    जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

  • प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

    प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए । तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

    सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् । समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ । नेकपा एमाले, राप्रपा, नेमकिपा र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डल विश्वासको मतको विपक्षमा रहे पनि अहिलेको सत्ता समीकरणको अवस्था हेर्दा प्रचण्डले विश्वासको मत पाउने निश्चित जस्तै छ ।

  • प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी

    प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिनेबारेमा जानकारी गराइएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा जानकारी गराएका हुन् ।

    अहिले सम्म दलहरुको समर्थन हेर्दा उनले विश्वासको मत पाउने देखिन्छ । प्रचण्डले विश्वासको मत पाएपछि मात्र सरकारलाई पूर्णता दिने काम अघि बढाउने भनेका छन् ।

    सत्ता साझेदार नेकपा एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक संसदबाट विश्वासको मत लिनुपर्ने भएको हो । गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिए सो गठबन्धन सरकारका प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

  • रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा चलाउन नपर्ने

    रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा चलाउन नपर्ने

    काठमाडौं । राहदानी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालय काठमाडौंले गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले दोहोरो राहदानीमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन पठाएको थियो। प्रहरीको रायमा सहमति जनाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले फाइल उच्च सरकारी वकिल कार्यालयमा पठाइएको हो।

    लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी दुरूपयोग गरेको अध्यागमन विभागको रेकर्डबाट पनि नदेखिएको कुरालाई पहिलो आधार मानेको छ। दोस्रो आधार अमेरिकी नागरिक हुनुअघि उनी वंशजको आधारमा नेपाली नागरिक रहेको र विदेशी नभई गैरआवासीय व्यक्तिसरह रहेको मानेको छ।

  • एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल

    एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल

    काठमाडौं । एकीकृत समाजवादीको आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले महासचिवमा घनश्याम भूसाललाई मनोनित गरेको छ ।

    हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ । नेता भुसाल पुस २९ गते एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनले प्रतिनिधि सभाको चुनावअघि नेकपा (एमाले) छोडेको घोषणा गरेका थिए।

  • रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो । पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्।

    रास्वपाले यसअघि पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। माघ २२ गते प्रचण्ड सरकारबाट बाहिरिएको रास्वपाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत भने कायम राखेको थियो।

    प्रतिनिधि सभामा अहिले रास्वपाका १९ सांसद छन्। पुस १० गते बनेको तत्कालीन ७ दलीय गठबन्धन फागुन १२ गते भत्किएर नयाँ गठबन्धन बनेको थियो। ‍औपचारिक रूपमा रास्वपा नयाँ गठबन्धनमा सहभागी छैन।

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै रास्वपा फेरि सरकारमा सहभागी हुने सम्भावना छ।

  • कांग्रेसले आजैबाट प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने

    कांग्रेसले आजैबाट प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदमा आजबाटै प्रतिपक्षी बेन्च नेकपा एमालेलाई छाड्ने निर्णय गरेको हो । सरकारमा जाने निर्णयसँगै प्रतिपक्षी छोड्न लागेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले बताए । । सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि सरकार विस्तारको प्रक्रिया अघि बढ्ने बताए । गठबन्धन दलका बीच हुने निर्णयका आधारमा पार्टीले मन्त्रीहरू पठाउने महतले बताए । ‘भोलि विश्वासको मत लिइसकेपछि तत्काल प्रक्रिया अघि बढ्छ । गठबन्धन दलबीच कुरा भइरहेको छ । मोटामोटी आकारबारे नेतृत्व तहले गृहकार्य गरिरहेको छ’, उनले पत्रकारहरूसँग भने ।

  • प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने कांग्रेसको निर्णय

    प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

    आइतबार आइतबार संसदभवनस्थित ल्होत्से हलमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ ।

    बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरू डा. शशांक कोइराला, रमेश लेखक, जीवन परियार, डा। नारायण खड्कालगायतका नेता उपस्थित रहेका थिए ।

  • के साच्चै पक्राउ पर्न सक्छन् पुटिन ?

    के साच्चै पक्राउ पर्न सक्छन् पुटिन ?

    काठमाडौं । द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यसले आम मानिसमा जिज्ञासा पैदा भएको छ, के पुटिन साच्चिकै पक्राउ पर्न सक्छन् ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पक्राउ पूर्जी एउटा लामो प्रक्रिया अन्तर्गतको पहिलो कदम मात्रै हो। संयुक्त राष्ट्रसङ्घले स्पष्ट रूपमा के विश्वास गरेको छ भने रुसी नेतालाई युक्रेनमा भएका युद्ध अपराधका लागि आरोप लगाउन पर्याप्त प्रमाण भने छन्।

    तर यस्ता मुद्दालाई अघि बढाउन व्यावहारिक र स्रोत साधनसम्बन्धी ठूला समस्या देखा पर्ने बीबीसीले लेखेको छ । उता, अमेरिकी राष्ट्रपति जो बाइडनले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गर्ने निर्णयको स्वागत गरेका छन्। उनले संवाददाताहरूसँग कुरा गर्दै पुटिनले स्पष्ट रूपमा युद्ध अपराध गरेको बताए।


    अहिलेको अवस्थामा आफ्नो देशभित्र पुटिनलाई चुनौती दिनसक्ने कुनै पनि शक्ति छैन। त्यही भएर क्रेमलिनले उनलाई आईसीसी समक्ष बुझाउने कुनै सम्भावना नभएको समेत समाचारमा बताइएको छ । उनी रुसभित्रै रहेसम्म पक्राउ पर्ने कुनै जोखिम छैन। उनी देशबाहिर गएको अवस्थामा भने पक्राउ पर्न सक्छन्। तर अन्तर्राष्ट्रिय प्रतिबन्धले आवतजावतको स्वतन्त्रता गम्भीर रूपमा सङ्कुचित भइसकेकाले आफूविरुद्ध मुद्दा चलेको देख्न चाहने कुनै पनि मुलुकको भ्रमण उनले गर्ने छैनन् ।

    रुसी फौजले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेयता उनले जम्मा ८ वटा देशको भ्रमण गरेका छन्। त्यसमध्ये सातवटा रुस नजिकैका देश पर्छन् र ती सन् १९९१ को अन्त्यमा सोभियत सङ्घ विघटन हुनुअघिसम्म त्यसकै हिस्सा रहेका थिए। त्यसबाहेक उनले अघिल्लो वर्षको जुलाईमा इरानको भ्रमण गरेर त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसँग भेटेका थिए। इरान रुसको पक्षमा उभिएको छ र उसले युक्रेनविरुद्धको लडाइँका लागि ड्रोन र अन्य सैन्य सामाग्रीहरू मस्कोलाई उपलब्ध गराइरहेको छ। तेहरानको भ्रमण गर्दा पनि उनलाई कुनै जोखिम देखिँदैन।

  • कांग्रेस कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज

    कांग्रेस कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बिहान १०स्३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ। केन्द्रीय समिति बैठक तत्काल बोलाउन सम्भव नभएका बेला कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पनि महत्वपूर्ण निर्णय गर्दै आएको छ। कार्यसम्पादनमा पदाधिकारी, पूर्वपदाधिकारीलगायत सदस्य छन्।

    यो बैठकमा पार्टी अहिलेसम्म प्रमुख प्रतिपक्षमा रहेकोले अबदेखि सरकारमा जाने निर्णय गर्ने बताइएको छ । संसदमा कांग्रेस प्रमुख प्रतिपक्षी रहिआएको र नेकपा एमालेले सरकार छाडेपछि प्रमुख प्रतिपक्षी भूमिका आफूहरूको भएको बताइरहेकोले सिट व्यवस्थापनमा समस्या भइरहेको थियो।

    यही कारण संसद बैठक यसअघि स्थगितसमेत भएको थियो। कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने तयारी गरेको छ। गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो।

    यस्तै आज मध्याह्न १२ बजे बस्ने संसदीय दलको बैठकमा कांग्रेसले सरकारलाई विश्वासको मत दिने र प्रतिनिधि सभामा सांसदहरूले खेल्ने भूमिकाबारे छलफल गर्नेछ। प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पेश गर्ने तयारी छ।

    यसअघि शनिबार बालुवाटारमा बसेको १० दलीय बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगसम्बन्धी ऐन संशोधन गर्न विधेयक प्रतिनिधि सभामा लैजानेबारे छलफल गरेको थियो। यी विधेयक संशोधनमाथि राप्रपालगायत दलहरूले फरक मत राख्दै आएका छन्। यसैबीच प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

  • देशैभरका क्याम्पसमा आज स्ववियु निर्वाचन

    देशैभरका क्याम्पसमा आज स्ववियु निर्वाचन

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज देशैभरका क्याम्पसमा हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् । त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।

    हरेक २र२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालपछि हुन सकेको छैन । २०७३ चैतमा स्ववियुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेको थिएन । विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटोरढिलो हुनसक्ने त्रिविले जनाएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा भने इलेक्ट्रोनिक्स भोटिङ मेसिनको प्रयोग गर्ने तयारी गरिएको छ । स्ववियु क्याम्पसमा अध्ययनरत विद्यार्थीको साझा संस्था हो । विद्यार्थीहरूको हक हितको लागि संरक्षण गर्न विभिन्न कार्यक्रम बनाइ कार्यान्वयन गर्ने जिम्मेवारी स्ववियुको हो ।

    त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले प्रेस विज्ञप्ति प्रकाशित गरी सबै विद्यार्थी, अभिभावक, पत्रकार, नेपाल सरकार र गृह प्रशासनलाई स्ववियु निर्वाच सम्पन्न नभएसम्म आवश्यक सहयोग गरिदिन अपिल गरेका छन् ।

  • सत्ता गठबन्धनका १० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    सत्ता गठबन्धनका १० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको हो । शनिबार बालुवाटारमा बसेको बैठकले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति बनेको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले बताएकी छिन् ।

    आइतबार सं‌सदमा प्रस्तुत गर्ने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि एकमतका साथ प्रस्तुत हुने सहमति बनेको उनको भनाई छ । संसदमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत हुँदैछ ।

    सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले समर्थन गर्न लागेको हो।

    यसअघि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र लगायतले पनि विश्वासको मत दिएको थियो। यी दलहरू पनि सरकारमा सहभागी थिए। तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गरेपछि नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् । सोहीकारण प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु पर्छ ।

  • भारतका सबै राज्यमा नेपालको विद्युत निर्यात गर्ने बाटो खुला

    भारतका सबै राज्यमा नेपालको विद्युत निर्यात गर्ने बाटो खुला

    काठमाडौं । नेपाललाई भारतको बिहारबाहेक अन्य राज्यमा समेत विद्युत निर्यात गर्ने बाटो खुलेको छ । नेपाल–भारतबीचको विद्युत आदानप्रदान समितिको पावर एक्सचेन्ज कमिटी बैठकले अन्य राज्यमा पनि विद्युत निर्यात गर्ने बाटो खोलेको हो । नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने बैठकको निर्णयसँगै विद्युत निर्यात बिस्तारको बाटो खुलेको हो ।

    भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार बसेको १४औं बैठकको निर्णयअनुसार एक महिनाभित्र नेपालले मोडालिटी तय गरिसक्नु पर्नेछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोक कुमार राजपुतको सहअध्यक्षमा बैठक बसेको थियो ।

    ‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ, यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने छन्,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ ।’


    गत फागुनको पहिलो सातामासम्पन्न नेपाल(भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले कटैया–कुशवा र रक्सौल–परवानीपूर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३भित्र र अप्रिल–मे २०२३मा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो । विद्युत आदान प्रदान समितिको बैठकले विद्युत आदानप्रदान सम्झौता अन्तर्गत आयात निर्यात हुने विद्युतको प्रति युनिट दर ७.२१ भारतीय रुपैयाँ (११ रुपैयाँ ५४ पैसा) तय गरेको छ ।

    आर्थिक वर्ष सन् २०२२–२३को लागि १३२ केभि प्रसारण लाइनमार्फत हुने विद्युत आदानप्रदान दर तय गरेको हो । विद्युत आदानप्रदान सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आवश्यक परेको वेलामा विद्युत आयात गर्दै आएको छ । प्राधिकरणले अन्य दुई राज्यको तुलनामा आवश्यक परेको बेला सबैभन्दा बढी बिहारबाट विद्युत आयात गर्दछ । नेपालसँग बिहार र उत्तर प्रदेश मात्र १३२ केभी प्रसारण लाइनमा जोडिएका छन् ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले चाहेको वेलामा विद्युत् लिने गरी नयाँ दर तय गरिएको र उक्त दर भारतर्फत निर्यात गर्दा पनि लागू हुने बताए । आव २०१९–२०का लागि तय भएको दर त्यसपछिका वर्षहरुलाई पुनरावलोकन हुन सकिरहेको थिएन ।

    भारतीय पक्षबाट वाषिर्क साढे पाँच प्रतिशतको मूल्यबृद्धि जोडर प्राधिकरणले आयात गर्ने विद्युत्को बिल पठाउने गरिएको थियो । विगतमा गरिएको विलिङलाई समायोजन गर्दै जाने सहमति भएको कार्यकारी निर्देशक घिसिङले बताए । यसबाट प्राधिकरणललाई करिब ३१ करोड भारु (४९ करोड ६० लाख रुपैयाँ) फाइदा भएको उनको भनाइ छ ।

    ‘नयाँ तय गरिएको दर टेक अर पे आधारमा हैन, हामीलाई आवश्यक पर्दा खरिद गरिने विद्युत्को दर हो, चाहिएको बेलामा मात्र विद्युत् आयात गरिने हुँदा यो दर अहिलेको भारतीय बजारभन्दा सस्तो छ, उक्त दर हामीले विद्युत निर्यात गर्दा पनि पाउने छौं,’ घिसिङले भने ।

    उनले गत डिसेम्बरमा विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग बिडिङमार्फत माग गर्दा फेब्रुअरी र मार्च, अप्रिल तथा मेका लागि प्रति युनिट क्रमशः ७.५० र ८.७० रुपैयाँ प्रस्ताव पेस गरेको बताए ।

    घिसिङले भने, ‘प्रतिस्पर्धामा छनौट भएका कम्पनीहरुले आयातित कोइलाबाट उत्पादित विद्युतमात्र नेपाललाई बिक्री गर्न पाउने हुँदा कोइलाको मूल्यमा उतारचढाव आइरहेकोले उक्त कम्पनीहरु प्रस्तावित दरमा पनि प्राधिकरणसँग सम्झौता गर्न तयार भएनन् ।’

    बिहार राज्यलाई आयातित कोइलाको व्यवस्था लागू नहुने भएकोले दर सस्तो भएको हो । प्रतिस्पर्धी बजारमा पनि दैनिक रुपमा प्रतियुनिट विद्युत्को औसत दर १२ भारुसम्म पने गएको छ । ‘यसमा प्रसारण शुल्कलगायत थप डेढ रुपैयाँ थप हुन्छ, त्यसैले अहिले तय गरिएको दर अन्यको तुलनामा सस्तो छ,’ घिसिङले भने ।

    प्राधिकरणले आवश्यक परेको वेला भारतबाट व्यापारिक रुपमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत, विद्युत आदान प्रदान सम्झौता (पावर एक्सेन्ज० र महाकाली सन्धि अन्तर्गतको विजुली भारतबाट आयात गर्छ । व्यापारिकरुपमा ढल्केबर-मुजफ्फरपुर क्रसबोर्डर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्ज अन्तर्गत भारतबाट विजुली ल्याइरहेको छ ।

    प्राधिकरणले प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत चालू आर्थिक वर्षमा भारतीय बजारमा बिक्री गरी ८ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ ।

  • सांसद गौतमले प्रधानमन्त्रीसँग भनिन् : मुलपानी मैदानको निर्माणलाई तिब्रता दिनुहोस

    सांसद गौतमले प्रधानमन्त्रीसँग भनिन् : मुलपानी मैदानको निर्माणलाई तिब्रता दिनुहोस

    काठमाडौं । काठमाडौं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी छन् । शनिबार बालुवाटारमा भएको भेटमा गौतमले क्रिकेटमा सफलता प्राप्त भएका बेला सरकारले पनि अर्को क्रिकेट मैदानलाई छिटो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न योग्य बनाउनुपर्ने बताएकी हुन् ।

    प्रधानमन्त्री प्रचण्ड पनि मूलपानी क्रिकेट मैदान निर्माणलाई तिब्रता दिनेमा सकारात्मक देखिएका छन् । उनले सो निर्वाचन क्षेत्रका अन्य समस्याबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ ।

  • सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल

    सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सर्वसाधारणलाई दुखः नदिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । उनको साथमा आज कारगेट थिएन । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका छन् । त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए । पैदलयात्रुलाई पनि रोकिएको थिएन । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाँदा सडक खाली गराइएपछि उनको आलोचना भएको थियो ।

    राष्ट्रपति पौडेलले बसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरे । राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरे । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्केका थिए ।

    यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।यसअघि शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ

  • काठमाडौं–सुर्खेत उडानको  जहाजमा समस्या, काठमाडौं फिर्ता

    काठमाडौं–सुर्खेत उडानको जहाजमा समस्या, काठमाडौं फिर्ता

    काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको एटीआर जहाजमा आज पनि समस्या देखिएको छ । इन्डिकेसनमा समस्या देखिएपछि जहाजलाई काठमाडौं मै फिर्ता गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो जहाज अहिले ग्राउण्डेड गरिएको छ ।

    यसको चेक जाँच गर्ने इन्जिनियरलाई समेत काममा रोक लगाएको छ । पछिल्लो केही समययता नेपालका जहाजहरुमा निरन्तर यस प्रकारको समस्या दोहोरिने गरेको छ । केही दिन अगाडी मात्रै श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि फिर्ता गर्नु परेको थियो ।

  • पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

    पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ ।

    रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ । पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन’ उनले भनिन् ।