Category: समाचार

  • सरकारमा कांग्रेसको ८ मन्त्रालयमा दावि

    सरकारमा कांग्रेसको ८ मन्त्रालयमा दावि

    काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी भएको अवस्थामा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको छ ।

    सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ गर्न उपसभापति पूर्णबहादुर खड्कालाई भनेका थिए। खड्काले कम्तीमा ८ मन्त्रालयमा आफूहरूको दाबी रहँदै आएको बताए । प्रधानमन्त्री दाहालले ११ दल मिलाउनुपर्ने भन्दै कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरेका छन् । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कासहितलाई सरकारमा पठाउने तयारी गरेको छ।

  • राष्ट्रपति पौडेल आज गोरखा जाने

    राष्ट्रपति पौडेल आज गोरखा जाने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन्। उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन् ।

    उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । प्रजिअ भुसालका अनुसार राष्ट्रपति पौडेल आउ–जाउ गर्ने सडकको यातायात होस् या मन्दिरमा दर्शन गर्ने बेलामा होस् सर्वसाधारणलाई असर नपुग्ने गरी आवश्यक प्रबन्ध मिलाइएको छ । यसअघि राष्ट्रपति पौडेल साधारण तरिकाले काठमाडौंको बसन्तपुर दरबारमा जाँदा उनको प्रशंसा भएको थियो ।

  • मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने

    मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने

    काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

    नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयुकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

  • गरिब र उत्पीडित वर्गले आफ्नो प्रतिनिधि चिन्न सक्नुपर्छ : प्रधानमन्त्री

    गरिब र उत्पीडित वर्गले आफ्नो प्रतिनिधि चिन्न सक्नुपर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताएका छन् । शनिबार दिउँसो काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गरिब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताएका हुन् ।

    कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाल जनताको त्याग र बलिदानको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ। यद्यपि, वर्तमान संविधान हामीले अपेक्षा गरेजस्तै पूर्ण चाहिँ छैन। नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य सङ्घर्ष गरेको थियो। जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो। इमान्दार र निरन्तर सङ्गठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन्। तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरुरी छ।”

    प्रधानमन्त्री प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणासमेत गरेका छन् । नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले सो जातिको अध्ययनरअनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले नेवार समुदायका लागि खोलिने सो प्रतिष्ठान सिङ्गो नेपालकै लागि हुने स्पष्ट पारे । नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउने काम पनि आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गराए ।

  • सोमबारसम्म सरकारलाई पूर्णता दिने माओवादीको निर्णय

    सोमबारसम्म सरकारलाई पूर्णता दिने माओवादीको निर्णय

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। पर्सीसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    माओवादीले संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमासमेत छलफल गरेको छ। त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताले जोड दिएको सचिव पौडेलले बताए । बैठकमा सरकार र पार्टीलाई कसरी जोड्ने भन्ने बारेमा पनि कुरा भएको उनको भनाइ छ।

    ‘‘गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषय पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने र प्रदेशका सरकार पनि संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढने यिनै बारेमा संक्षिप्त कुराकानी भयो,’ उनले भने । बैठकमा नेताले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको ध्यानाकर्षण गराएका थिए।

  • जेल सजाय तोकिएका राहुल गान्धीको पत्रकार सम्मेलन, के भने ?

    जेल सजाय तोकिएका राहुल गान्धीको पत्रकार सम्मेलन, के भने ?

    नयाँ निल्ली । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीले आफूलाई सांसद बन्नबाट अयोग्य बनाएर वा जेल हालेर तर्साउन नसक्ने प्रतिक्रिया दिएका छन् ।
    लोकसभाबाट सांसद पद खारेज भएपछि शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कसैले पनि तर्साउन नसक्ने बताए । ‘उनीहरूले मलाई अयोग्य बनाएर वा जेल हालेर तर्साउन सक्दैनन्,’ उनले भने। अयोग्य बनाइए पनि आफूलाई त्यसको मतलब नभएको र आफ्नो तपस्या जनताको लोकतान्त्रिक अधिकारको रक्षा गर्नु भएको बताए।

    ‘म यहाँ जनताको लोकतान्त्रिक अधिकारको रक्षा गर्न आएको हुँ। मलाई उनीहरूको डर छैन,’ उनले भने, ‘म प्रधानमन्त्री मोदी र गौतम अदानीबीचको सम्बन्धबारे प्रश्न गरिरहनेछु।’ यस्तै, आफूले अदानीविरूद्ध अर्को भाषण गर्न लागेको हुँदा प्रधानमन्त्री मोदी डराएकाले आफ्नो सांसद पद खारेज गरेको पनि उनले बताए। संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा प्रतिपक्षीहरूको आवाज चर्को रूपमा उठाउँदै आएका गान्धीलाई बिहीबार मानहानी मुद्दामा २ वर्ष जेल सजाय सुनाइएको थियो।

    सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो। ती दफामा अपराधिक मानहानीमा अधिकतम् २ वर्ष कैद सजाय हुन सक्ने व्यवस्था छ। चार वर्षअघि लोकसभा चुनावका क्रम कर्नाटकाको कोलारमा भाषण गर्दै गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए।

    गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए। उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए। भाजपाको गढ र मोदीको गृहराज्य गुजरातमा रहेको उक्त अदालतमा बयान दिने क्रममा गान्धीले आफ्नो आशय कुनै जाति र समुदायलाई चोट पुर्‍याउने नभएको बताएका थिए।

    चुनावी भाषणका क्रममा दिएको अभिव्यक्तिलाई आधार मानेर अदालतले उनलाई अधिकतम् सजाय सुनाएको हो। दुई वर्षको सजाय सुनाए पनि सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको छ भने तत्कालका लागि १० हजार भारू धरौटीमा छोडेको छ। अदालतको आदेश कार्यान्वयन नै नभएको अवस्थामा त्यही कुरालाई आधार मानेर लोकसभाले शुक्रबार उनको सांसद पद खारेज गरिदिएको हो।

  • धनुषामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    धनुषामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    काठमाडौं । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रक एक आपसमा शनिबार बिहान ठोकिएको हो ।

    दुर्घटनामा ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनर्वा बस्ने २८ वर्षीय सागर चौधरी, सोही ट्रकका सह–चालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका सहचालक मोरङ बेलवारी नगरपालिका ८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

    उनका अनुसार प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका चालक जिल्ला सर्लाही बागमती नगरपालिका–११ का २० वर्षीय नारायण श्रेष्ठ गम्भीर घाइते भका छन् । दुबै ट्रकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

  • कोशी प्रदेश नामकरणको विवादमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएपछि छानविन समिति गठन

    कोशी प्रदेश नामकरणको विवादमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएपछि छानविन समिति गठन

    काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ । सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको भएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका कार्यक्रमले सिङ्गो देशको ध्यानाकर्षण गरेको र सो विषयमा संवेदनशील भएको अवस्थामा सडक आन्दोलनका कार्यक्रम छोडेर संवादमा सहभागी बन्न पनि आन्दोलनरत पक्षलाई आग्रह गरेका थिए।

    प्रधानमन्त्री प्रचण्डले प्रदेश नामाङ्कन संयुक्त सङ्घर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा सङ्घ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसँग शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

    सो अवसरमा सरकारका तर्फबाट सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागी र गृहसचिव विनोदप्रकाश सिंह रहेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले आन्दोलनका क्रममा भएको लिम्बूको निधनप्रति दुःख प्रकट गर्दै घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने, शहीद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवश्यक पहल गर्ने तथा प्रादेशिक नामकरणको विषयमा राजनीतिक तहमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सकिने बताएका थिए ।

  • कति नेपाली विदेशमा बस्छन् ?

    कति नेपाली विदेशमा बस्छन् ?

    काठमाडौं । २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो । यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो ।

    २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।

  • वसन्तबहादुर कुँवर आईजीपीमा नियुक्त

    वसन्तबहादुर कुँवर आईजीपीमा नियुक्त

    काठमाडौं । सरकारले प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त गरेको छ ।

    सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो ।

    आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।

    धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्।

  • मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।

    आज प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मत प्रस्तावका पक्षमा ६७ मत आएको छ भने विपक्षमा १७ मत मात्रै आएको छ।

    ७ जना सांसद भने तटस्थ बसेका छन्। बागमती प्रदेश सभामा ११० जना सांसद छन्। आज जम्मा ९१ जना सांसद उपस्थित भएका थिए।

    नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकिकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले माघ ३ गते पहिलो पटक विश्वासको मत प्राप्त गरेका थिए ।

  • खाना पकाउन दाउरा प्रयोग गर्ने ५१ प्रतिशत, अझै २.९ प्रतिशत गुइँठाको भरमा

    खाना पकाउन दाउरा प्रयोग गर्ने ५१ प्रतिशत, अझै २.९ प्रतिशत गुइँठाको भरमा

    काठमाडौं । देशका आधाभन्दा बढीले खाना पकाउन काठ/दाउरा प्रयोग गर्ने गरेको पाइएको छ।

    शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेको उल्लेख छ ।

    अघिल्लो जनगणनाको तथ्यांकको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको संख्या १३ प्रतिशतले घटेको हो।

    २०६८ सालको जनगणनामा खाना पकाउन दाउरा प्रयोग गर्ने परिवार ६४ प्रतिशत थिए। जनगणनाअनुसार खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत छन्।

    यसैगरी, नेपालका ४४.३ प्रतिशत परिवारले खाना पकाउने एलपी ग्यास प्रयोग गर्ने गरेका छन् ।

    बिजुलीबाटा खाना पकाउने परिवारको संख्या ०.५ प्रतिशत छ भने गुइँठाको प्रयोगबाट अझै २.९ प्रतिशत परिवारले खाना पकाइरहेका छन् ।

    बायोग्यास, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ प्रतिशत रहेका छन्।

  • लेख्न पढ्न जान्दैनन् साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत

    लेख्न पढ्न जान्दैनन् साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत

    काठमाडौं । राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

    गएको एक दशकमा साक्षर हुने नेपालीको संख्या ७६ प्रतिशत पुगेको छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार, पुरुष साक्षरता ८३.६ प्रतिशत र महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।

    पाँच वर्षभन्दा माथिको उमेरका साक्षर नेपालीको जनसंख्या ७६.२ प्रतिशत पुगेको हो भने १० वर्षअघि नेपालको साक्षर संख्या ६५.९ प्रतिशत थियो ।

    सरकारले ०६५ सालमै दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यसहित रणनीति बनाएको थियो । तर, दशक बित्दा पनि निरक्षरता उन्मूलन गर्न सकेको छैन ।

    जनगणनाअनुसार शहरी क्षेत्रको ७८.५ प्रतिशत जनसंख्या साक्षर छ भने गाउँपालिका क्षेत्रका ७१.९ प्रतिशत जनसंख्या साक्षर छ ।

    अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् ।

  • नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

    नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

    काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले वि.सं २०७८ भएको जनगणनाको अन्तिम नतिजा सार्वजानिक गरेको छ ।

    सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

    जसअनुसार नेपालको जनसंख्या नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

    नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ।

    यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।

    सअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो ।

    पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब २७ हजारले जनसंख्या घटेकाे देखिएको छ ।

    भौगोलिक क्षेत्रअनुसार तराईमा कूल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.३१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ ।

    प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ ।

    जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं (२० लाख ४१ हजार ५८७ जना) र सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ (५ हजार ६५८ जना) हो ।

    जनगणनाको नतिजाअनुसार जनघनत्व (प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जनाप्रतिवर्ग किलोमिटर रहेको छ, जुन २०६८ सालमा १८० वर्ग कि.मि. मात्र थियो ।

    भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।

    सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रतिवर्ग किलोमिटर) र सबै भन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ ।

  • जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै

    जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै

    काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गर्ने कार्यक्रम छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२ औँ राष्ट्रिय जनगणना गरेको थियो ।

    कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गएको वर्ष माघमै तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको थियो । जसअनुसार नेपालको प्रारम्भिक जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।

    सङ्कलित तथ्याङ्क विश्लेषण गरेर दुई महिनाअघि नै जनगणनाको सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । जनगणनाबाट मुख्यतः देशको जनसाङ्ख्यिक अवस्थासहित सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय समेटिने गरेको छ ।

    बसाइँसराइको स्थिति, देशबाहिर रहेको जनसङ्ख्यालगायतका विवरण पनि जनगणनामा समेटिन्छ । जनगणनाको अद्यावधिक नतिजाले तीनै तहका सरकारलाई आफ्ना नीति तथा प्राथमिकता तयार गर्न सघाउ पुग्छ । सरकारले उपयुक्त नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सक्छ ।

    त्यस्तै सङ्घ, प्रदेश र पालिकामा हुने राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा राष्ट्रिय बजेट निर्माणमा जनसङ्ख्याको उल्लेखनीय भूमिका रहन्छ । १२औँ राष्ट्रिय जनगणना सम्पन्न गर्न सरकारले झण्डै ३ अर्ब रकम खर्चेको थियो भने गणकसहित ५० हजार कर्मचारी खटिएका थिए ।

  • गैरआवासीय नेपाली संघद्धारा आविष्कार केन्द्रलाई कृषि सामग्री सहयोग

    गैरआवासीय नेपाली संघद्धारा आविष्कार केन्द्रलाई कृषि सामग्री सहयोग

    काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले १२ वैशाख २०७२ को विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन सहयोग गरेको हो । एनआरएनएले बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामग्री पनि एनआईसीलाई सहयोग गरेको छ ।

    उक्त उपकरण तथा सामग्रीहरु आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुर्नस्थापनाका लागि प्रयोग गरिने संघले जनाएको छ ।

    उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रविना थापाले आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्वर्द्धनका लागि पुर्‍याएको योगदानको प्रशंसा गरिन् । एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा सहयोग पुग्ने विश्वास रहेको उनले बताइन् ।

    संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरुले आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा आविष्कार केन्द्रका प्रमुख पुनले संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए ।

    संघले यसअघि पनि आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिसकेको छ । आविष्कार केन्द्रलाई प्रोत्साहन गर्न संघका पूर्वअध्यक्ष भवन भट्टद्वारा स्थापित रु एक करोड राशिको ‘भवन किर्ती रत्न’ पुरस्कार आविष्कार केन्द्र तथा एनआईसीका संस्थापक पुनलाई प्रदान गरिएको थियो ।

  • राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

    राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्रीले भने, ‘राजश्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस् ।’


    अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार प्रचण्डले भने, ‘कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस्। सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस् ।’

    उनले आयातका लागि राष्ट्रिय स्टान्डर्ड तयारी गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउन पनि भनेका छन् । ‘छलफल गर्ने, नीति पनि बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहनु हुँदैन। अनुगमन बोर्डरमा मात्र होइन, आन्तरिक बजारको पनि गर्नेगरि व्यवस्था मिलाउनुस् ।’

    छलफलमा अर्थसचिव तोयम राय, राजश्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायीहरू उपस्थित थिए ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा पानी पर्ने भएको छ । यी क्षेत्रमा मेघगर्जनसहित केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ। देशका पहाडी भू–भागमा आंशिक बदली छ।

    देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ।

  • भक्तपुरमा जुवाको खालबाट १६ जना पक्राउ

    भक्तपुरमा जुवाको खालबाट १६ जना पक्राउ

    काठमाडौं । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाको खालबाट पक्राउ परेका छन् । उनीहरुको साथबाट तीन लाख बढी नगद बरामद भएको छ । मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो । प्रहरीले मझेरी क्याफेका सञ्चालक दिलीप गिरीसहित १६ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूले सोही क्याफेमा जुवा खेलिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका १२ घर लोकन्थली बस्ने ४९ वर्षीय टिकाराम गिरी, जुगल गाँउपालिका ५ घर भई कौशलटार बस्ने ४६ वर्षीय जितबहादुर विश्वकर्मा, सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाँउपालिका ६ घर भई कोटेश्वर बस्ने ३५ वर्षीय नवराज बोहरा, जुगल १ घर भई थिमी बस्ने ३२ वर्षीय सन्तोष श्रेष्ठ, सुनकोशी ९ घर भई काँडाघारी बस्ने ५८ वर्षीय कसाङ लामा छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर ३ घर भई स्वयम्भु बस्ने ३८ वर्षीय शंख बज्र लामा, पाँचखाल ३ घर भई थिमि बस्ने ३५ वर्षीय सन्तोष चौलागाई, नमोबुद्ध ७ घर भई कोटेश्वर बस्ने २९ वर्षीय सुमन खनाल र ३६ वर्षीय गोपाल कुईकेल छन् ।

    मकवानपुर हेटौडा १८ घर भई लोकन्थली बस्ने ३५ वर्षीय कृष्ण बहादुर मोक्तान, सोही ठाउँ घर भई कोटेश्वर बस्ने ३० वर्षीय विक्रम ब्लोन मोक्तान, दोलखा कालिन्चोक ३ घर भई थिमी बस्ने ३९ वर्षीय कृष्ण बुढाथोकी, रसुवा गोसाईकुण्ड गाँउपालिका ६ घर भई काभ्रेको बनेपा बस्ने ३९ वर्षीय छवाङ वाईवा, भारत घर भई कुपण्डोल बस्ने ३२ वर्षीय मदन मण्डल र ३० वर्षीय सुनिल कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन

    तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन

    काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै निमार्ण सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्दै उक्त निर्देशन दिएको हो ।

    एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध, भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायतका संरचनहरुको निर्माण कार्यको अनुगमन गरेका हुन् ।

    आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवर्क्स), दोस्रो प्याकेज–२ (विद्युतगृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारणलाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरुसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्या लगायतका विषय छलफल गरेको हो ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निर्माणमा देखिएका समस्या समाधान गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए। आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।

    आयोजनाको सहुलितपूर्ण ऋण प्रवाह गरेको एडीबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नु पर्ने बताए। ‘मुख्य रुपमा प्याकेज–१को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकोले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नु पर्ने आवश्यकता देखिन्छ’ उनले भने । प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावरका अध्यक्ष घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकोले सोही लक्ष्यलाई पुरा गर्ने गरी काम गर्न निर्देशन दिए ।

    तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ ।

    जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्यहरु भइरहेका छन् । ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२को वारपार गरी (ब्रेक थ्रू) कंक्रिट लाइनिङको काम भइरहेको छ ।

    प्योकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्यहरु गरिरहेको छ । विद्युत गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्यांक निर्माण कार्य जारी रहेको छ । १४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।

    प्याकेज–३ अन्तर्गत केईसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइनका ९४ वटा टावरमध्ये ५१ वटा टावरको जग हालिएको छ । साथै ३२ वटा टावर जडान कार्य, ०.९८८३ किमि तार तान्ने र ८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने कार्य भइरहेका छन् ।

    आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

  • प्रधानमन्त्री त्रिदेशीय फूटबल : नेपालको विजयी सुरुवात

    प्रधानमन्त्री त्रिदेशीय फूटबल : नेपालको विजयी सुरुवात

    काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० ले हराएको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत गोल गर्दै खाता खोलेका थिए ।

    ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा अर्को सानदार गोल गरेर नेपालको अग्रता २–० बनाए । नवुयुगले राष्ट्रिय टिमबाट आठौं अन्तर्राष्ट्रिय गोल गरेका हुन् । आजको खेलमा नेपालका चार नयाँ खेलाडीले डेब्यु गरे । नेपालका लागि सनिश श्रेष्ठ, मणि लामा, दिपकराज सिंह ठकुरी र सुमित श्रेष्ठले डेब्यू गरेका हुन् । सनिश श्रेष्ठले पहिलो रोजाइमा पर्दै डेब्यु गरे ।

  • ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, घटनास्थलमै तीन जनाको मृत्यु

    ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, घटनास्थलमै तीन जनाको मृत्यु

    काठमाडौं । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

    नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका(४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।

  • अफगानिस्तानमा भुकम्प, भारत र पाकिस्तानसम्म धक्का

    अफगानिस्तानमा भुकम्प, भारत र पाकिस्तानसम्म धक्का

    काठमाडौं । अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएको भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

    मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो

    विपद् व्यवस्थापन मन्त्री सफिउल्लाह रहिमीले सीएनएनलाई दिएको जानकारी अनुसार अफगानिस्तानको लाघमन प्रान्तमा दुई जनाको मृत्यु र ८ जना घाइते भएका छन् ।

    यसैगरी दुई बच्चासहित अरु तीन जनाको उत्तरी पाकिस्तानमा मृत्यु भएको छ । अन्य ४१ जना घाइते भएका छन् । पाकिस्तानको अब्बोटावाद शहरमा भूकम्पका कारण पहिरो जाँदा बाटो पनि बन्द भएको सीएनएनले जनाएको छ ।

    भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्ली, राजस्थान, जम्मु कश्मीरका पनि महसुस गरिएको थियो ।

  • संचारमन्त्री शर्मा भारत भ्रमणमा

    संचारमन्त्री शर्मा भारत भ्रमणमा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत भ्रमणमा गएकी छन् । मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार बेलुका भारत गएकी हुन् ।

    मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उदघाटनमा सहभागी हुने कार्यक्रम छ ।

    नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा विभिन्न देशका सन्चारमन्त्रीहरुलाई निम्तो दिइएको छ । त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरु सहभागी हुने मन्त्रीस्तरीय सम्वादमा सहभागी हुने कार्यक्रम छ ।

    बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि उनी सहभागी हुने मन्त्री शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

  • वैदेशिक रोजगारीमा गएका श्रमिक आजबाट सामाजिक सुरक्षामा आवद्ध

    वैदेशिक रोजगारीमा गएका श्रमिक आजबाट सामाजिक सुरक्षामा आवद्ध

    काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ ।

    वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ

    वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ । उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।

    ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए । नेपालको औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट बञ्चित हुँदै आएका थिए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो 

  • प्रचण्डविरुद्ध काठमाडौंमा नाराबाजी

    प्रचण्डविरुद्ध काठमाडौंमा नाराबाजी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी भएको छ। कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै आग्रह गरेका थिए।

    तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए। त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए।

    दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर, नालायक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं भन्दै नाराबाजी गरेका थिए।

  • रंगशालामा उभिएर धुर्मुसले भने-‘डण्डीमा खिया लागेपनि इमानदारितामा दाग लागेको छैन’

    रंगशालामा उभिएर धुर्मुसले भने-‘डण्डीमा खिया लागेपनि इमानदारितामा दाग लागेको छैन’

    काठमाडौं । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल’धुर्मुस’ले रंगशालाको डण्डीमा खिया लागेपनि इमानदारितामा दाग नलागेको बताएका छन् ।

    निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्याराफिटमा उभिएर उनले भनेका छन्–‘रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन ।’धुर्मुसले रंगशाला नबन्नुमा आफ्नो कुनै दोष नरहेको दावी पनि गरेका छन् ।

    उनले एक वर्ष अघि नै भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व ग्रहण गरिदिन आग्रह गर्दै पत्र लेखेको पनि स्मरण गराएका छन् ।

    उनले सरकार र राजनीतिक दलका प्रमुख नेताहरुलाई साक्षी राखेर आफुले रंगशाला निर्माण सुरु गरेको उनले बताए । अपुग रकम नेपाल सरकारले उपलब्ध गराउने प्रतिवद्धता पनि पुरा नभएको उनको गुनासो छ ।

    उनले कोरोना भाईरसको महामारी र सरकारबाट प्राप्त सहयोगको प्रतिवद्धता पुरा नभएकाले काम अघि बढाउन नसकिएको पनि बताए ।

    धुर्मुुस-सुन्तली फाउन्डेसनले तामझामका साथ चितवनको भरतपुर-१५ मा बनाउन सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अहिलेको अवस्था भने विजोक छ । बजेट अभावमा २०७८ साउन २२ गतेदेखि रंगशाला निर्माणको काम पूर्णरुपमा रोकिएको छ ।

    कुल ३० हजार दर्शक क्षमताको रंगशालाको प्याराफिटमा ३ हजार दर्शक बन्ने प्याराफिटको पहिलो चरणको काम सकिएको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ ।

  • उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

    उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपचुनावका लागि आज दल दर्ताको सूचना निकालेको हो । उपचुनावमा भाग लिन चाहने दलले भोलिदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् । चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपचुनावमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम गएको चैत ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको मुख्य कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।

    उपचुनाव प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि पेस गर्नुपर्नेछ । वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर–२ को उपचुनावमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलले दलको विधान, नियमावली र घोषणा पत्र पेस गर्नुपर्ने छैन ।

    चितवनको क्षेत्र नम्बर–२ तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि रिक्त भएका ठाउँमा आउँदो वैशाख १० गते उपचुनाव हुँदैछ । तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यी निर्वाचन क्षेत्र रिक्त भएको छ ।

  • अयोग्य माओवादी लडाकुले सरकारबाट राहत पाउने

    अयोग्य माओवादी लडाकुले सरकारबाट राहत पाउने

    काठमाडौं । सरकारले कार्यविधि बनाएर ‘अयोग्य’ लडाकूहरुलाई राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कार्यविधि बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

    १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्यसँगै नेपालमा स्थापित भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले माओवादीका १९ हजार ६०२ जना लडाकुहरुलाई प्रमाणीकरण गरेको थियो । त्यसबाहेक ४ हजार ९ जनाको मापदण्ड नपुगेको भन्दै अयोग्य घोषणा गरिएको थियोे । अयोग्य घोषणा गरिएकाहरुमध्ये धेरैजसो बाल सैनिक वा ढिलो गरी माओवादी लडाकुको रुपमा भर्ना भएकाहरु थिए ।

  • आज घोडे जात्रा, काठमाडौंमा बिदा

    आज घोडे जात्रा, काठमाडौंमा बिदा

    काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ ।
    जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो
    । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।


    साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।