Category: समाचार

  • चिनियाँको ठगी धन्दा, चार नेपाली युवती पनि संलग्न

    चिनियाँको ठगी धन्दा, चार नेपाली युवती पनि संलग्न

    काठमाडौं । अनलाइन ठगीमा संलग्न चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको १९ जनामध्ये नौ जना चिनियाँ र १० जना नेपाली हुन् । तीमध्ये चार जना नेपाली युवती रहेको बताइएको छ । उनिहरुलाई ठगीमा प्रयोग भएको उपकरणसहित बूढानीलकण्ठ नगरपालिकाको महादेवखोला र काठमाडौं महानगरको चण्डोलबाट पक्राउ गरेको थियो ।

    अभियुक्तहरुको साथबाट १२ थान ल्यापटप, सिमसहित ७७ थान मोबाइल, अन्य सीम कार्ड ७४ थान, छ थान राहदानी, चार लाख एक हजार नेपाली रुपैयाँ, कम्प्युटर दुइ थान र राउटर चार थान पनि प्रहरीले बरामद गरेको छ ।

    उनीहरुले अनलाइन व्यवसायमा नाफा हुने प्रलोभनमा धेरै जनालाई ठगेको बताइएको छ । उनीहरुले टेलिग्राममा अपरेसन टिचर नामको च्यानल सञ्चालन गरेका थिए ।

  • बालेनलाई प्रचण्डले भने-‘मेरो नेतृत्वको सरकार पाँचै वर्ष टिक्छ’

    बालेनलाई प्रचण्डले भने-‘मेरो नेतृत्वको सरकार पाँचै वर्ष टिक्छ’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकार पाँचै वर्षसम्म जाने बताएका छन्।

    काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने थियो भन्ने जवाफ फर्काउँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे ।

    ‘बालेनजीले अघि आफ्नो कुरा राख्दै गर्दा सरकारको निरन्तरताको कुरा राख्नुभयो। म के भन्न चाहन्छु भने स्थानीय तहको निर्वाचन पछि हामीले संघ र प्रदेशको निर्वाचन गर्‍यौं। सरकार निरन्तर छ।

    मेरै नेतृत्वमा सरकार छ। मलाई विश्वास छ यो सरकार पाँच वर्षसम्म जान्छ,त्यसकारण तपाईको चिन्ता छ नि फेरिरहन्छ भन्ने। त्यसमा ढुक्क रहन म भन्न चाहन्छु प्रधानमन्त्री प्रचण्डले भने।’

  • सेतो मच्छिन्द्रनाथको रथयात्रा, यी रुटमा सवारी साधन निषेध

    सेतो मच्छिन्द्रनाथको रथयात्रा, यी रुटमा सवारी साधन निषेध

    काठमाडौं । काठमाडौंमा पाँच दिनसम्म चल्ने सेतो मत्स्येन्द्रनाथको रथायात्रा (रथजात्रा) आजबाट सुरु भएको छ ।

    हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ । बुधबार दिउँसो चार बजे मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म र साँझ पाँचदेखि साढे ६ सम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथ तानेर जात्रा सुरु गरिनेछ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन समेत छ ।

    सो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ ।

    चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका परिसर पुर्‍याइन्छ ।

    चैत १७ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।

    चैत १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइनेछ।

    चैत १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं,यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ।

    पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

  • गुरुराज घिमिरेले गरे कांग्रेस परित्यागको संकेत

    गुरुराज घिमिरेले गरे कांग्रेस परित्यागको संकेत

    काठमाडौं । कांग्रेसमा संस्थापनइतर समूहबाट राजनीति गरिरहेका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेस परित्यागको संकेत गरेका छन् । कांग्रेसभित्रका वैचारिक नेताका रुपमा चिनिने घिमिरेले फेसबुकमा लेखेका छन्
    -‘नयाँ वर्षमा नयाँ राजनीतिक निर्णय !,’राजनीति नयाँ शिराबाट ! परम्परागत राजनीतिको अन्त्य !’ उनले गर्ने नयाँ निर्णयबारे भने प्रष्ट पारेका छैनन् । ०५९ सालदेखि ०६१ सालसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष भएर काम गरेका नेता घिमिरे नेपाली कांग्रेसभित्रका वैचारिक नेताका रुपमा चिनिन्छन् ।

  • माओवादीका शिवचन्द्र जनमत पार्टीमा प्रवेश, बारा-२ बाट चुनाव लड्ने

    माओवादीका शिवचन्द्र जनमत पार्टीमा प्रवेश, बारा-२ बाट चुनाव लड्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् ।

    काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनमत पार्टी प्रवेश गरेका कुसवाहलाई अध्यक्ष सिके राउतले स्वागत गरे ।

    जनमत पार्टीले बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउन कुशवाहालाई पार्टीमा भित्र्याएको हो ।

    कुसवाहा गत मंसिर ४ गते भएको चुनावमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार थिए। उनले १३ हजार चार सय ६८ मत ल्याएका थिए।

    यहाँ तत्कालीन जसपाका कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। उनले १३ हजार ८ सय २२ मत ल्याएका थिए। यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

  • बालेनको गुनासो-‘सरकार टिकिरहे स्थानीय तहलाई सजिलो हुन्थ्यो’

    बालेनको गुनासो-‘सरकार टिकिरहे स्थानीय तहलाई सजिलो हुन्थ्यो’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकार टिकाउ नहुँदा स्थानीय तहहरूलाई समस्या परिरहेको गुनासो गरेका छन् ।

    काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए ।

    शाहले भने, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको सरकार टिक्दैन । यसले गर्दा स्थानीय तहलाई समस्या पर्छ ।

    म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसपालि चाहिँ सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो ।’ उनले भने, ‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’

  • भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका

    भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका

    काठमाडौं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह ‘फरार’ भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई नेपाल छोडेर अन्यत्र जान नदिन भारतले नेपाली पक्षलाई पत्राचार गरेको बीबीसीले लेखेको छ ।

    नेपालको अध्यागमन विभागका एक अधिकारीका अनुसार काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै खोजी गरिदिन आग्रह गरेको हो । २९ वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन्। पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो।


    पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको छ। पञ्जाबमा उनका धेरै समर्थकहरू पक्राउ परेका छन्। भारतमा अमृतपाल सिंहका बुवा तरसेम सिंहले छोराको ज्यान खतरामा रहेको बताएका छन्।

    पञ्जाब प्रहरीका एक प्रवक्ताका अनुसार वारिस पञ्जाब देका कार्यकर्ताहरूविरुद्ध चारवटा मुद्दा लगाइएको छ। उनीहरूविरुद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पुर्‍याएको जस्ता अभियोग लगाइएको छ।


    सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए। उनको लिङ्कड्इन प्रोफाइलमा सिंहले पञ्जाब विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङको डिग्री लिएको उल्लेख छ।

    उनको लोकप्रियता लामो समयसम्म सामाजिक सञ्जालमा सीमित थियो। त्यहाँ व्यक्त उनका विचारमा सिख एकता र छुट्टै राज्यको भाव अभिव्यक्त हुन्थ्यो। गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए।अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे।

    दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए। पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो।
    नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए। त्यसको एक महिनापछि उनी वारिस पञ्जाब देका प्रमुख नियुक्त भए। उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन्। उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो।

    अमृतपाल सिंह पछिल्लो समय विवादित भाषणका कारण चर्चामा छन्। सिंहको भाषणमा जरनेल सिंह भिन्डरावाले र उनका कट्टरपन्थी विचारहरूको प्रतिबिम्ब झल्किन्छ। सन् १९८० को दशकमा भिन्डरावालेलाई भारत सरकारले अलग्गै सिख राज्यका लागि सशस्त्र विद्रोहको नेतृत्व गरेको आरोप लगाएको थियो।

    उनी सन् १९८४ मा भारतीय सेनाको विवादास्पद अपरेशन ब्लू स्टारमा मारिएका थिए। अमृतपाल सिंहले सिखहरूका लागि छुट्टै राज्यको लागि आह्वान गर्दै त्यो पानीको विवाद, लागुऔषधको दुर्व्यसनदेखि पञ्जाबी संस्कृतिमा देखा परेको क्षयजस्ता पञ्जाबमा विद्यमान समस्याहरूको एक मात्र स्थायी समाधान भएको दाबी गर्दै आएका छन्।

  • आज चैते दशैं, देशभर मनाईंदै

    आज चैते दशैं, देशभर मनाईंदै

    काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।


    संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । यी दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।

    शर्माका अनुसार राष्ट्रिय अभिलेखालयमा रहेका विभिन्न प्रमाणहरूको आधारमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ । शर्मा भन्छन्, ‘राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख पाइन्छ । यसले मध्यकालमा सर्वसाधारणले समेत धुमधामका साथ चारवटै दशैं मनाउने गरेको प्रमाण दिन्छ ।’

    अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदूर्गालाई चढाउने गरिन्छ ।

    मध्यकालमा मनाइने चारवटा दशैंका बीचमा ठूलो फरक नभए पनि त्यसको विधि र प्रक्रियामा भने केही भिन्नता देखिन्छ । अहिले जस्तो बाह्रमासे फलफूलको व्यवस्था त्यतिबेला थिएन । जसका कारण सिजन अनुसारको फलफूलको प्रयोग गर्ने, पूजा र बली चढाउने विधि आदिमा पनि चारै दशैंमा भिन्नता थियो ।

    मध्यकालमा वर्णाश्रम व्यवस्थाको प्रचुर प्रयोग भएकाले दशैंलाई पनि भिन्नभिन्न वर्णअनुसार फरक–फरक विधिले मनाउने गरिएको थियो । शर्माका अनुसार असार महिनामा मनाइने नवरात्र विशेषगरी ब्राह्मणहरूको मौलिक विधि अनुसार मनाउने गरिन्थ्यो । यसको अर्थ ब्राह्मणले मात्र मनाउने दशैं नभएर बली दिने क्रममा ब्राह्मण विधिबाट दिने, पूजा शैली आदिलाई पनि ब्राह्मण विधिबाट मनाउने गरिएको थियो ।

    त्यस्तै, आश्विन शुक्ल पक्षमा मनाइने नवरात्र क्षत्रीय विधिबाट, शिशिरकालीन नवरात्र वैश्य विधिबाट र चैत्र शुक्लमा मनाइने नवरात्र शुद्र विधिबाट मनाउने गरिन्थ्यो । जस्तो– बली सबै नवरात्रमा दिने गरिन्थ्यो भने ब्राह्मण विधि अर्थात् असार महिनामा मनाइने नवरात्रको बलीमा तरबारको प्रयोग गरिँदैनथ्यो । तर, शारदीय नवरात्रमा भने तरबारको प्रयोग अनिवार्य थियो ।

    शर्माका अनुसार पूर्वराजा वीरेन्द्रका पालासम्म पनि गोरखामा शारदीय नवरात्रमा ब्राह्मण पुजारीलाई तरबारले बली दिन लगाइन्थ्यो । यसले शारदीय नवरात्रमा ब्राह्मणले पनि क्षत्रीय विधिबाट दशैं मनाउने गरेको पुष्टि हुने शर्मा बताउँछन् ।

    चारवटै दशैंमा पूजा भने नवदूर्गाकै गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन दशैंघरमा घटस्थापना गरेर जौ ९कतै मकै र धान पनि थप गरेर० छरिन्छ । आठ किसिमका अष्टमात्रिका पनि भिन्दाभिन्दै किसिमका हुन्छन् । धेरैले शैलपुत्र्यादी नवदूर्गाको बढी पूजा गर्छन् । यो चारैवटा दशैंमा पूजा हुने देवी स्वरूप हो । यी सबै पूजा तान्त्रिक विधिबाट गरिन्छ ।

    ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो । यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउँसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ ।

  • सत्ता गठबन्धनको बैठक आज पनि

    सत्ता गठबन्धनको बैठक आज पनि

    काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान नौ बजेका लागि बोलाइएको छ ।

    हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ–आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।

  • ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु

    ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु

    काठमाडौं । ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए। बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको डिएसपी साहले बताए।

    दुर्घटना हुँदा बागमती गाउँपालिका वडा नम्बर ७ घर भई महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल बस्ने ३५ वर्षीय विष्‍णुप्रसाद फुँयाल र पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको हो। उक्त मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ।

  • साझेदार दलको बैठकमा गएन रास्वपा

    साझेदार दलको बैठकमा गएन रास्वपा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्रालयको बाँडफाँट टुंग्याउने सत्ता साझेदार दलहरुको बैठकमा भने अनुपस्थित भएको छ।

    कांग्रेसबाट सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डका साथै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी छन्।

    यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी, नेपाल समाजवादी पार्टीका तर्फबाट अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्र राय यादव, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र अरुण चौधरी, जनमत पार्टीबाट सीके राउत, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ र आम जनता पार्टीबाट प्रभु साह सहभागी छन्।

    रास्वपाले पहिले प्राप्त मन्त्रालय नै पाउँदा सरकारमा सहभागी हुने जनाएको छ। सत्ता गठबन्धनमा दलहरुको संख्या बढेका कारणले प्रचण्डले दुईटा मन्त्रालय लिन प्रस्ताव गरेको बुझिएको छ।

  • मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

    मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

    काठमाडौं । मिटरब्याजलाई सरकारले अपराधको परिभाषाभित्र राख्ने निर्णय गरेको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

    मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।

    गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर आइपुगेका हुन्।

    उनीहरुसँग वार्ता गर्न सरकारले टोली बनाएको छ। उक्त टोलीसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्ने भएका छन्।

  • प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवा धरौटी बुझाएर छुटे

    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवा धरौटी बुझाएर छुटे

    काठमाडौं । चैत ७ गते बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ युवा धरौटी बुझाएर छुटेका छन् ।

    अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। तर उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेका थिए।

    प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

  • जसपा अशोक राईको नेतृत्वमा सरकारमा जाने

    जसपा अशोक राईको नेतृत्वमा सरकारमा जाने

    काठमाडौं । जनता समाजवादी पार्टी अशोक राईको नेतृत्वमा सरकारमा जाने भएको छ । पार्टीले दुई मन्त्रालय पाउने भएको छ । अर्को मन्त्री भने मधेसबाट पठाउने तयारी थालेको छ । यसरी मन्त्री पठाउँदा राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत नेताहरू दौडमा छन् ।

  • मिटर ब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन

    मिटर ब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन

    काठमाडौं । सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका हुन् ।

    गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजक तोकिएको छ ।

    टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् ।

  • ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

    ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

    काठमाडौं । मिटर ब्याज पीडितले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

    ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका शाहीविरुद्ध राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने भन्दै विरोध गरेका हुन् । टंगालबाट फर्किएर धर्नाबस्न माइतीघर मण्डलामा पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए ।

    न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका हुन् ।

    सोमबार काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चभित्र प्रवेश गरेर बस्न खोज्दा काठमाडौं महानगरपालिकाले रोकेको थियो । रातभर खुला सडकमा रात बिताएका उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटार जान हिँडेका थिए ।

  • नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण

    नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण

    काठमाडौं । शून्यमा झरेको कोरोना सङ्क्रमण नेपालमा पुनः बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले जुनसुकै भेरिएन्ट आए पनि सङ्क्रमणको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

    मन्त्रालयको तथ्यांक अनुसार शून्यमा झरेको कोभिड सङ्क्रमण एक हप्तादेखि बढ्न थालेको हो। विभिन्न नाकाबाट आवत जावत हुँदा संक्रमितको संख्या बढेको सह–प्रवक्ता अधिकारीको भनाइ छ। सोमबार १२ सय ६६ जनामा परीक्षण गर्दा ६९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रिय संक्रमितको संख्या ६६ पुगेको छ। आइतबार १६, शनिबार तीन, शुक्रबार दुई, हिबीबार १७ जनामा कोरोना पुष्टि भएको थियो।

    गत बुधबार १३ सय ८७ जनाको कोरोना परीक्षण गर्दा संक्रमणदर शून्य थियो। आफू र अरुलाई सुरक्षित राख्न सही तरिकाले मास्क लगाउने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानी हात धुने र स्यानिटाइजर प्रयोग र खोक्दा वा हाच्छुउँ गर्दा रुमाल प्रयोग गर्न सह–प्रवक्ता अधिकारीले सुझाव दिएका छन् । कोभिड–१९ विरुद्धको खोप लगाउन समेत सरकारले आग्रह गरेको छ ।

  • सत्ता गठबन्धनको बैठक आज

    सत्ता गठबन्धनको बैठक आज

    काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा आज अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलााउने समझदारी बनेको थियो। सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय लिने भन्नेबारे प्रस्ताव गर्ने तयारीसमेत गरेका छन्। दलहरू सँग सहमति जुटाएर छिट्टै मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन्।

    सत्ता गठबन्धनमा १० दल छन्। आज यी दलका शीर्ष नेताहरू उपस्थित हुने बैठकमा मन्त्रिपरिषद बिस्तारबारे छलफल हुनेछ। कुन पार्टीले कति संख्यामा मन्त्रालय पाउने र कुन(कुन मन्त्रालय पाउने भन्नेमा गठबन्धनभित्र समझदारी बनिसकेको छैन। मन्त्रालय भागबन्डा टुंग्याएर मन्त्रिपरिषद बिस्तार गर्नेबारे आज गठबन्धन बैठकमा छलफल हुनेछ। प्रधानमन्त्री दाहालले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएदेखि नै मन्त्रिपरिषद बिस्तार गर्न दलहरूसँग संयुक्त र एक्लाएक्लै भेटवार्ता पनि गरिरहेका छन् तैपनि सहमति भएको छैन।

    नेकपा एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि १६ मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्दै आएका छन्। यी मन्त्रालयमा १० दललाई सहभागी गराउने तयारीमा प्रधानमन्त्री छन्। माओवादीले गृह मन्त्रालय आफैंसँग राखेर कांग्रेसलाई अर्थसहित मन्त्रालय दिन खोजेको छ। सत्ता गठबन्धन बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमबारे पनि छलफल हुनेछ। पहिले नै तयार गरिएको न्यूनतम साझा कार्यक्रमलाई परिमार्जन गर्न लागिएको हो। सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेर दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेपछि त्यही आधारमा सरकारमा जाने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउँदै आएका छन्।

  • सरकारी निकायमा पुराना वेवसाइट तथा लिंक हटाउन निर्देशन

    सरकारी निकायमा पुराना वेवसाइट तथा लिंक हटाउन निर्देशन

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ।
    कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटा नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकाले ती लिंक, फाइल लगायतका सामग्री हटाउन निर्देशन दिएको हो।

    प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीकाअनुसार नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डाटाबेस लगायतका सामग्री स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनु परेको हो।

    ‘यसरी पुरानो वेबसाइटमा जानुहोस् भनेर फाइल र लिंक राख्ने परिपाटीले एकातिर डाटा सर्भरमा भार पर्ने, ब्यान्डविथ खपत भइरहने र अर्कोतर्फ पुराना वेबपेजमार्फत् सुरक्षा जोखिम उच्च हुने सम्भावना रहन्छ। यसले आर्थिक तथा प्राविधिक रूपमा समेत ठूलो अर्थ राख्ने भएकोले निर्देशन दिइएको हो,’ उनले भने। हाल नेपाल सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेका छन्।

    यसरी निर्माण भएका वेबपेजहरू समयमा नै प्राविधिक रूपमा अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने तथा कतिपय प्राविधिक तथा सुरक्षासम्बन्धी मापदण्डहरूको उचित पालना नगरिने अवस्था रहेकोले प्रधानमन्त्री कार्यालयले एउटै वेब टेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको उनले बताए।

    ‘सबै निकायले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने किसिमले स्ट्यान्डर्ड वेब टेम्प्लेटको निर्माणको काम अघि बढेको छ। यो टेम्प्लेट निर्माण सम्पन्न भएपछि सबै निकायलाई यही टेम्प्लेटमा आधारित भएर वेबपेज निर्माणका लागि निर्देशन दिइने छ,’ उनले भने।

  • प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवा जेल चलान

    प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवा जेल चलान

    काठमाडौं । चैत ७ गते बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ युवा जेल चलान भएका छन्।

    अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। तर उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेका थिए।

    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

  • प्रहरीका चार डीआइजी एआइजीमा बढुवा सिफारिस

    प्रहरीका चार डीआइजी एआइजीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका चार डीआइजीलाई एआइजी बढुवामा सिफारिस भएको छ ।

    गृहसचिव नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको बढुवा सिफारिस भएको छ ।

    सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सिफारिसमा परेका सुदिपको ६८.२११२ नम्बर छ ।

    तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र चौथो स्थानमा रहेका टेकबहादुरले ६७.६९७३ नम्बर पाएका छन् ।

  • नेपाली आकासमा जहाज होल्ड गर्दा बढ्दै जोखिम, आकासमै नजिक–नजिक भएका दुई घटना सार्वजनिक

    नेपाली आकासमा जहाज होल्ड गर्दा बढ्दै जोखिम, आकासमै नजिक–नजिक भएका दुई घटना सार्वजनिक

    काठमाडौं । नेपालमा अहिले काठमाडौं विमनस्थल निकै व्यस्तताका साथ उडिरहेको छ । अन्य दुई विमानस्थल सो रफ्तारमा चलेका छैनन् । सोहीकारण काठमाडौंमा उडान र अवतरणका लागि नै पालो कुर्नुपर्ने बाध्यता छ । यसरी पालो कुर्दा आकासमै जोखिम बढेका दुई घटना सार्वजनिक भएका छन् । उडिरहेको नेपाल एयरलाइन्सको विमानमा ठोक्किनसक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक रूपमा नजिक आएको भनिएको एयर इन्डियाको एउटा जहाजका पाइलटमाथि छानबिन सुरु गरिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत शुक्रवार क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजमा अचानक अर्को जहाज नजिक आएको खतराको सूचना प्रवाह भएको थियो। यस्तै घटना गत १५ फागुनमा समेत भएको थियो । त्यसबेला माथि कतार एयरवेज र तल नेपाल एयरलाइन्स थियो ।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार शुक्रबार नेपाल एयरलाइन्सको जहाजमा जोखिम हुने गरी एयर इन्डियाको जहाज नजिक आएको थियो। नेपाल एयरलाइन्सको विमान १५,००० फिट माथि उडिरहेको बेला १९,००० फिटमा उडिरहेको एयर इन्डियाको जहाजले एक्कासि उचाइ कम गरेर नेपाल एयरलाइन्सको निकट आएको थियो । प्राधिकरणले यसबारे छानविन गर्न समिति गठन गरेको छ ।

    त्रिभूवन विमानस्थलमा रहेका एटीसीले दुइटा विमान नजिकै देखेपछि तत्कालै एउटालाई उचाइ बढाउन र अर्कोलाई कम गर्न भनेका थिए । हरेक विमानमा ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम (टीसीएएस( जडान हुन्छ । यसले नजिकै रहेको विमानसँग ठोक्किन सक्ने खतरा भएमा विमानलाई सूचना दिन्छ।

  • नेपाली कांग्रेसले मन्त्री र उपनिर्वाचनका उम्मेदवार आज छान्दै

    नेपाली कांग्रेसले मन्त्री र उपनिर्वाचनका उम्मेदवार आज छान्दै

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको छ । कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्। कांग्रेसले केन्द्रीय समिति बोलाउन तत्काल सम्भव नभएका बेला कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय लिँदै आएको छ।

    सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले मन्त्रीको नाम टुंगो गर्ने तयारी छ । यसअघि बसेको कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो।

    यही मापदण्डका आधारमा सरकारमा पठाउने मन्त्रीबारे मंगलबारको कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ। कांग्रेसले सत्ता गठबन्धनका बैठकमा ८ मन्त्रालय दाबी गरेको छ। कांग्रेसले अर्थ, गृह, परराष्ट्र, रक्षालगायत मन्त्रालय आफूहरूले पाउनुपर्ने बताइरहेको छ।

    तर माओवादीले गृह आफैँसँग राख्न चाहेको छ। कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुनेछ। चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले त्यसअघि नै उम्मेदवार तय गरेर जानु पर्ने बाध्यता दलहरुसँग छ ।

  • बाजुरा केन्द्र बनाएर भूकम्पको धक्का

    बाजुरा केन्द्र बनाएर भूकम्पको धक्का

    बाजुरा । बाजुरामा गतराति भूकम्पको धक्का महसुस गरिएको छ । गतराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

    भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन । केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ । यसअघि बाजुरामा फागुन १० गते ५.२ म्याग्निच्युडको र माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । माघ १२ गते पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

  • आफ्नो भ्रमणलाई सवारी नभन्न राष्ट्रपतिको आग्रह

    आफ्नो भ्रमणलाई सवारी नभन्न राष्ट्रपतिको आग्रह

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘सवारी शब्दको रुढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रुपमा लिइन्छ,’ उनले भने, ‘त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरौं ।’

    सवारी शब्दको ठाउँमा आवागमन शव्द प्रयोग गर्न उनले आग्रह गरे । गणतन्त्र र राजतन्त्रको राष्ट्राध्यक्षबीच फरक हुने भन्दै पौडेलले आफूले यस्ता विषय राष्ट्रपति चुनावकै बेलादेखि हेक्का राख्दै आएको समेत बताए । राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धन गर्ने आफ्नो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको उनले बताए ।

    नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएपश्चात काठमाडौ बाहिरको पहिलो भ्रमण ऐतिहासिक र धार्मिक महत्वको जिल्ला गोरखामा गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरे । ठूलोआँगनस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका पौडेलले आफूले गोरखामा राम शाह र बिसे नगर्ची पनि सम्झिएको बताए ।

    ‘गोरखा आएर मैले रामशाहको न्यायको कुरा पनि सम्झेको छु, बिसे नगर्चीको कर्तव्यबोध पनि सम्झेको छु, मलाई गोरखामा स्वागत गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

  • ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे मिटर ब्याजपीडित

    ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे मिटर ब्याजपीडित

    काठमाडौं । न्याय खोज्न महोत्तरीको बर्दिबासबाट पैदल हिंडेका मिटर ब्याजपीडितहरू काठमाडौं आइपुगेका छन् । चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् । बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् ।

    तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन् ।

    यसअघि पनि तराई-मधेशबाट मिटर ब्याजपीडित काठमाडौं पुगेर धर्नामा बसेका थिए। सरकारले उनीहरूको माग सम्बोधन गर्ने सहमति गरेपछि घर फर्किएका थिए।

    तर, सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि फेरि न्यायका लागि पैदल काठमाडौंतर्फ हिंडिरहेको उनीहरू बताउँछन्।

    भोलि (सोमबार) देखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।

  • ‘सांसदका स्वकीयको तलब काटेर खेलाडीको तलब बढाइयोस् रंगशाला बनाइयोस्’

    ‘सांसदका स्वकीयको तलब काटेर खेलाडीको तलब बढाइयोस् रंगशाला बनाइयोस्’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद बनेका प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले मन्त्री तथा सांसदहरूको तलब कटौती गरेर राष्ट्रिय खेलाडीको तलब बढाउनु पर्ने बताएका छन्।

    शाहीले आइतबार संसद बैठकको शून्य समयमा बोल्दै खेलाडीको तलब बढाउनु पर्ने र रंशगाला बनाउनु पर्ने बताए।

    कुल बजेटको ०.१३ प्रतिशतमात्रै खेलकूदका लागि छुट्याइएको र खेलाडीलाई सांसदका स्वकीय भन्दा कम तलब दिइएको बताउँदै सबै सांसदहरुका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको तलब वृद्धी गर्न माग गरेका छन्।

    ‘यो देशमा संसारमा यदि कसैले चिनाउछ भने त्यो खेलाडीले चिनाउँछन् तर आज राष्ट्रिय टोलीका कप्तान समेत रहेका सुजल श्रेष्ठ अष्ट्रेलिया जान बाध्य भए। त्यस्तै, एक विद्यालयमा कक्षा १२ को विद्यार्थीहरुको बिदाइ गर्दै गर्दा विद्यार्थीहरुले खाडीमा भेटौँला भने, आज युवाहरूको अवस्था त्यो छ।

    त्यहीँ भएर म भन्न चाहन्छु, हामी सबै सांसद, मन्त्रीहरुको स्वकीय को तलब कटौती गरेर खेलाडीहरुको तलबमा वृद्धि गरियोस् र रंगशाला बनाइयोस्।”

  • लुम्बिनीबाट बाहिरियो ६ दल, सरकार अल्पमतमा

    लुम्बिनीबाट बाहिरियो ६ दल, सरकार अल्पमतमा

    काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी र जनमतका ४ मन्त्रीले राजीनामा दिएका छन् ।

    केन्द्रमा नयाँ गठबन्धन बनेपछि माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी, कृष्णा केसीले मन्त्रीबाट राजीनामा दिएका छन् । यसैगरी जनमतका मन्त्री सीके गुप्ताले पनि राजीनामा दिएका छन् ।

    माओवादी मन्त्रीहरूले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

    गत पुस २७ मा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। उनले माघ ५ गते विश्वासको मत लिएका थिए। उनलाई ५८ जना सांसदले विश्वासको मत दिएको थियो।

    लुम्बिनीमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादीका १० जना सांसद छन्।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादीको ३, लोकतान्त्रिक समाजवादीको ३, जनमत पार्टीको ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाको १ सांसद छन्।

  • सरकारलाई रास्वपाका सांसदको प्रश्नै-प्रश्न

    सरकारलाई रास्वपाका सांसदको प्रश्नै-प्रश्न

    काठमाडौं । प्रतिनिधि सभाको आइतवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले सरकारलाई प्रश्नै प्रश्न गरेका छन् ।

    सांसद सन्तोष परियारले विकासको कामको प्रगतिको यथार्थ विवरण पेश गर्न माग गरेका छन्।

    रास्वपाकै अर्की सांसद सोविता गौतमले तीनकुनेको जग्गा पार्क बनाउनका लागि सरकारले ४८ वर्ष अघि अधिग्रहण गरेको भए पनि मुआब्जा विवाद समाधान नभएको बताइन्।

    रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि सरकारको आलोचना गरिन्। उनले आइतवारको बैठकमा विश्वविद्यालयका विकृतीबारे सरकारको ध्यानकर्षण गराएकी छिन्।

  • सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने

    सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने

    काठमाडौं । मन्त्रालय बाडफाँट सकाएर सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारी गठबन्धनमा रहेका दलहरूसँग प्रस्तुत गर्ने भएका छन् । प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र प्रारम्भिक प्रस्ताव पेस हुने जानकारी दिएका थिए ।

    गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र दुई सांसदमध्येबाट एकजनालाई मन्त्री बनाउने प्रस्ताव तयार पारेको बताइएको छ । प्रचण्डले ६ फागुनमा कांग्रेससहित १० दलको समर्थनमा विश्वासको मत लिनुभएको थियो । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा छ ।