Category: समाचार

  • एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

    एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

    काठमाडौं । नेकपा एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष हुन् ।

    नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गत मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं ६ मा पराजित भएका थिए । बारा–२ को लागि भोलि बस्ने बैठकले उम्मेदवार छान्ने गुरुङले जानकारी दिए । चितवन–२, बारा–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपचुनाव हुँदैछ । उपचुनावका लागि उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले चैत २० गते सोमवारको समय तोकेको छ ।

    नेपाली कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा स्वर्णीम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा–२ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

    कुशवाह बारा–२ मा उपचुनावमा उम्मेदवार बन्नकै लागि माओवादी केन्द्र छाडेर केही दिनअघि जनमत पार्टीमा प्रवेश गरेका हुन् । बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवार बन्ने भएका छन् । बारा–२ मा कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले पनि उपेन्द्र यादवलाई सघाउने बताए पनि निर्णय भने भएको छैन ।

  • भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली

    भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली

    काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलसँग वार्ता गर्न एमालले वार्ता टोली बनाएको छ। शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो।

    उनीसँगै सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि यस टोलीमा छन्। वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर आवश्यक जिम्मेवारी दिने निर्णय गरेको हो । पछिल्लो समय एमाले र रावलबीच विवाद चुलिएको छ ।

  • रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित

    रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित भएका थिए ।

    तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुन लागेको हो । नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो ।

    बारा २ मा उठ्न लागेका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेका थिए । काठमाडौं १ मा पाँचौ भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लागेका हुन् । रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो ।

  • भारतको इन्दौरमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    भारतको इन्दौरमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    मध्यप्रदेश । भारत मध्यप्रदेशको इन्दौरस्थित एक मन्दिर भत्किँदा भएको दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । बिहीबार रामनवमीको अवसरमा इन्दौरको बेलेश्वर महादेव झुलेलाल मन्दिर भत्किँदा ३५ जनाको मृत्यु भएको हो । मन्दिर इनारमाथि निर्माण गरिएको थियो ।

    अधिकारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३५ पुगिसकेको छ भने १४ जनाको सकुसल उद्धार गरिएको छ । भारतमा यस प्रकारका घटना निरन्तर हुने गरेका छन् । तर, सुरक्षा प्रवन्ध मिलाउन प्रशासन असफल रहँदै आएको छ ।

  • रसुवागढी नाका आजबाट पूर्ण रुपमा सञ्चालनमा

    रसुवागढी नाका आजबाट पूर्ण रुपमा सञ्चालनमा

    काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

    आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ । केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ । २०७६ साल माघदेखि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित बनेको थियो । २०७७ साल असारमा सामान आयात गर्न थालिएको थियो । तर निर्यात हुन सकेको थिएन । निर्यात गएको पुसदेखि सुरु भएको थियो ।

    गएको बुधबार ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो हप्तादेखि तातोपानी–झाङ्मु नाकामा आवतजावत नियमित गर्ने सहमति भएको थियो । कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएको तातोपानी नाकामा अर्को महिना १८ गतेदेखि दुईतर्फी व्यापार र आवागमन नियमित हुनेछ ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। शनिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गर हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • सुराकीका नाममा सरकारले गर्ने खर्च रोकिने

    सुराकीका नाममा सरकारले गर्ने खर्च रोकिने

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्ने प्रणाली खारेज गर्ने निर्णय गरेका छन्। गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो निर्णय हो। गृहमन्त्रीको कार्यभार सम्हाल्दै श्रेष्ठले सूत्रपरिचालन कार्यविधि, २०७८ खारेज गर्ने निर्णय गरेका हुन्।

    उनले आफ्नो निर्णयलाई आगामी मन्त्रिपरिषद्मा प्रस्तावको रूपमा लैजाने बताएका छन्। गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने निर्णय पनि गरेका छन्।

  • नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

    नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

    काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

    बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा शुक्रबार राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    उनका अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ

  • थ्री नेसन्स कपको उपाधी नेपाललाई

    थ्री नेसन्स कपको उपाधी नेपाललाई

    काठमाडौं । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हरायो । खेल १–१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरे ।

    यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ । बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।

    तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थिए । खेलको ७४ औं मिनेटमा नवीन लामाको प्रहारलाई गोलरक्षकले पञ्च गर्दा फर्केको बललाई मनिषले जाली चुमाए पनि त्यो गोल अफ साइड भयो ।

    भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । आयुष घलानले प्लेयर अफ त टुर्नामेन्ट हुँदै ५०० डलर पुरस्कार पाएका छन् ।

    फाइनलमा एक गोल गरेका आयुश भुटानविरुद्दको खेलमा प्लेयर अफ दि म्याच बनेका थिए। नेपाललाई उपाधि दिलाउन निर्णायक गोल गरेका मनिष प्लेयर अफ द फाइनल भए र उनले २५० अमेरिकी डलर पुरस्कार पाए ।

  • नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सत्ता गठबन्धनका तर्फबाट मन्त्रीहरु थपेका छन्। नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्।

    नेपाली कांग्रेसका तर्फबाट पूर्ण बहादुर खड्काले उपप्रधान तथा रक्षा, डा प्रकाशशरण महतले अर्थ, रमेश रिजालले उद्योग वाणिज्य तथा आपुर्ति र सिता गुरुङले शहरी विकास मन्त्रीको शपथ लिएका छन्।

    माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

    एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

    जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट अकोश राईले शिक्षा, विज्ञान तथा प्रविधि, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बाट शरद सिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको शपथ लिएका छन्।

    नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी छिन्। त्यसैगरी नेपाल समाजवादी पार्टी महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्।

  • शेखर समूहसँग भागवण्डा नमिलेपछि कांग्रेसले दियो ४ मन्त्रीको नाम

    शेखर समूहसँग भागवण्डा नमिलेपछि कांग्रेसले दियो ४ मन्त्रीको नाम

    काठमाडौं । शेखर समूहसँग भागवण्डा नमिलेपछि नेपाली कांग्रेसले अहिले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ । सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् । जसमा उपसपति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् ।

    रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने पक्का भएको मन्त्री बन्ने स्रोतको दाबी छ।

    कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको नियुक्ति रोकिएको छ ।

    आज बिहान बसेको कोइराला पक्षको बैठकले सम्मानजनक सहभागिता नभए सरकारबाहिरै बस्ने निर्णय गरेको थियो। पार्टीले पाएको ८ मध्ये कम्तीमा ३ मन्त्रालय आफूहरूले पाउनुपर्नेमा कोइराला पक्षको अडान छ।

  • सरकारबाट बाहिरियो जनमत, खानेपानी मन्त्रीले दिए राजीनामा

    सरकारबाट बाहिरियो जनमत, खानेपानी मन्त्रीले दिए राजीनामा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । आफूले रोजेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि सरकार छाडेको हो । शुक्रबार दिउँसो बालुवाटार पुगेर खानेपानी मन्त्री अब्दुल खानले राजीनामा बुझाएका हुन्। जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो ।

  • सम्मानजनक सहभागिता नगराए सरकारबाहिरै बस्ने शेखर समूहको निर्णय

    सम्मानजनक सहभागिता नगराए सरकारबाहिरै बस्ने शेखर समूहको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्ष सरकारमा सम्मानजनक सहभागिता नगराउने हो भने सहभागिता नजनाउने चेतावनी दिएको छ ।

    शुक्रबार बिहान बसेको कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको हो ।

    सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका भन्दै मन्त्रीको नाम नदिने चेतावनी दिएको छ ।

    कांग्रेसले ८ मन्त्रालय पाएकोमा उपसभापति गुरूङ र मोरङबाट निर्वाचित डिगबहादुर लिम्बुलाई मन्त्री बनाउने चर्चा छ। कम्तीमा ३ मन्त्रालय आफूहरूले पाउनुपर्ने अडानमा कोइराला पक्ष छ।

  • ‘भीम रावल एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ, नसच्चिए पार्टीले उचित निर्णय लिन्छ’

    ‘भीम रावल एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ, नसच्चिए पार्टीले उचित निर्णय लिन्छ’

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भीम रावल नसच्चिए पार्टीले उचित निर्णय लिने चेतावनी दिएका छन्।

    मिसन ग्रासरुट अभियानका क्रममा शुक्रबार धनगढीमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भीम रावलले आत्मआलोचना सहित सच्चिनु पर्ने बताएका हुन्। उपाध्यक्ष पौडेलले रावलले एकपछि अर्को गर्दै पार्टीको हितविपरीत काम गरेको समेत आरोप लगाए। महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध रावलले काम गर्दै आएको पनि पौडेलको भनाइ थियो।

    रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेको र त्यो क्षम्य नहुने भन्दै पौडेलले तत्काल गल्ती स्वीकार्दै आत्मालोचना नगरे रावलविरुद्ध पार्टीले ‘उचित निर्णय’ लिन सक्ने बताए ।

    ‘एउटा पार्टी सदस्य र नेताले गर्नुपर्ने कर्तव्य रावलले निर्वाह गर्नुभएको छैन’ पौडेलले भने–‘रावलजीले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । यसले पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेको भन्ने बुझिन्छ।’

    उपाध्यक्ष पौडेलले रावलले एकपछि अर्को गल्ती गर्दै जाने र आफ्ना गल्ती स्वीकार नगर्ने हो भने पार्टीले उचित निर्णय लिने बताए । उनले भने–‘म रावलजीलाई भन्छु आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’

  • ‘डा. स्वर्णीम वाग्लेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन’

    ‘डा. स्वर्णीम वाग्लेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन’

    काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले डा स्वर्णीम वाग्लेको विद्रोहलाई हल्का रुपमा लिन नहुने बताएका छन्।

    डा भट्टराईले सामाजिक सञ्जाल ट्विटमार्फत भनेका छन्, ‘डा स्वर्णीम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने नै छन्। तर यसलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन। देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लि‍औं।

    डा वाग्लेले बिहीबार कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपनिर्वाचनका लागि उम्मेद्वार बन्ने बताइएको छ।

  • १० हजार सापटी नदिएको झोकमा हत्या

    १० हजार सापटी नदिएको झोकमा हत्या

    तनहुँ । तनहुँमा महिलाको हत्या गरी पानीट्यांकीमा फ्याँकेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार घटनाबारे सार्वजनिक गरेको हो। धादिङ गंगाजमुना गाउँपालिका ४ घर भई पोखरा महानगरपालिका १२ अमरसिंह चोकमा डेरा गरी बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको थियो।

    उनी पोखरामा फलफूल तथा बदाम बेच्ने काम गर्थिन्। उनको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे पाँचखाल नगरपालिका(५ घर भई पोखरा ७ घारीपाटन बस्ने ३५ वर्षीय चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरेको हो। प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेको छ। उनी पोखरा ४ का ४० वर्षीय सुन व्यवसायी रविनकुमार गहतराज हुन्।

    गत आइतबार बिहान ११ बजे म्याग्दे गाउँपालिका(४ मनहरीस्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानी ट्यांकीभित्र शव फेला परेको भन्ने सूचना प्रहरीले पाएको थियो। केही दिनदेखि पानीमा गन्ध आइरहेको भन्ने खबर पाएपछि खानेपानीका कर्मचारी गएर ट्यांकी हेर्दा शव फेला परेको हो। उक्त ट्यांकीबाट १३६ घर परिवारलाई पानी वितरण गरिएको थियो। त्यस ट्यांकीको पानी खाएर केही बिरामी समेत परेको प्रहरीले जनाएको छ।

    कार्यालयका प्रमुख एवं एसपी अबदेश विष्टका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो। ‘खबर पाएपछि मेरो नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो। शव निकालेर हेर्दा टाउकोमा चोट, घाँटीमा रातो रंगको पछ्यौराले कसेको, बायाँ कान च्यातिएको, छाती र पेट गलेको, निधारमा चोट, छाला खुइलिएको अवस्थामा थियो,’ उनले भने।

    सुरूमा ती महिलाको सनाखत भएको थिएन। तर उनको गोजीमा एउटा चिट फेला परेको थियो। उक्त चिटमा फोन नम्बर लेखिएको एसपी बिष्टले बताए। उक्त नम्बरको आधारमा बुझेर पोखरामा रहेका मृतकका छोरासँग सम्पर्क भएको थियो। उनकै छोराले मृतकको सनाखत गरेको एसपी विष्टले बताए। शवको प्रकृतिले पनि कसैले लुटपाट गर्न हत्या गरेको हुनसक्ने प्रहरीको आशंका थियो। त्यस अनुसार प्रहरीले प्राविधिक रूपमा अनुसन्‍धान अघि बढाएको थियो।

    अनुसन्धानको क्रममा प्रहरीले उनको कल रेकर्डहरू पनि निकालेको थियो। उक्त रेकर्डमा पछिल्लो समय प्रकाशसँग धेरैजसो कुराकानी हुने गरेको खुलेको एसपी विष्टले बताए। शान्तिका श्रीमान केही समयअगाडि नै बितेका थिए। पछिल्लो समय प्रकाशसँग पटक–पटक भेटघाट तथा कुराकानी हुन्थ्यो। ‘उनीहरूबीच दुई वर्षअघि चिनजान भएको थियो। पटकपटक भेटघाट पनि भएको र व्यावहारिक रूपमा नगद पनि आदानप्रदान भएको रहेछ,’ एसपी विष्टले भने।

    शान्तिले उनीसँग १० हजार रुपैयाँ लिएकी थिइन्। तर उनले माग्दा फिर्ता गरेकी थिइनन्। गत फागुन २१ गते भने प्रकाश काठमाडौं जाने भन्दै हिँडेका थिए। उनी तनहुँ आएका थिए। ‘तनहुँबाट बिहानै शान्तिलाई फोन गरेको रहेछ। त्यसपछि शान्तिले पनि त्यही एक जनासँग लिनुछ, लिएर दिन्छु भनेपछि उनी पनि तनहुँ आइन्,’ एसपी विष्टले भने, ‘तर केही गरी पैसा मिलेन। उनका छोरा पनि बिरामी छन् भनेर दिन सकिनन्।’

    पैसा फिर्ता गर्न नसकेपछि प्रकाशले शान्तिको फोन लिएर भाग्न खोजेका थिए। तर शान्तिले प्रतिकार गर्दा प्रकाशले इँट्टाले हिर्काए। उनले फेरि सलले घाँटी पनि न्याँकेर हत्या गरेको प्रहरीले जनाएको छ। शान्ति हराइरहेको भनेर जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि निवेदन परेको थियो। तर उनी फेला परेकी थिइनन्।

    उनको शव फेला परेपछि अनुसन्धानकै क्रममा प्रहरीले बुधबार शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित ससुरालीबाट उनलाई पक्राउ गरिएको थियो।
    उनलाई पक्राउ गरेपछि प्रहरीले गरगहनाको पनि खोजी गरेको छ। प्रकाशले लुटेको गहना पोखरा(४ महेन्द्रपुलस्थित रजनी सुनचाँदी पसलमा बिक्री गरेका थिए। सुन व्यवसायी रविनकुमारले बिनाबिल उक्त सुन किनेका थिए। उनले बरामद गरेको सुनको स्वरूप नै परिवर्तन गरी ८० लालको सुनको ढिक्का बनाइसकेका थिए। त्यसपछि प्रहरीले उनलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

  • एसईई परीक्षा मर्यादित होस : प्रधानमन्त्री

    एसईई परीक्षा मर्यादित होस : प्रधानमन्त्री

    काठमाडौं । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपिल गरेका छन् । शुक्रवार बिहान आफ्नो फेसबुक मार्फत परीक्षामा सहभागी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै प्रधानमन्त्रीले परीक्षा मर्यादित बनाउन सम्बन्धित सबैमा अपिल गरेका छन् । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन् । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् ।

  • मन्त्रिपरिषद् बिस्तार आज, सपथ समेत खुवाउने तयारी

    मन्त्रिपरिषद् बिस्तार आज, सपथ समेत खुवाउने तयारी

    काठमाडौं । शुक्रबार मन्त्रिपरिषद विस्तारको तयारी छ । बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको छ । मन्त्रालयका सन्दर्भमा दलहरुले माग गरेका र मिलाउन बाँकी विषयहरु शुक्रबार टुंगो लगाउने तयारी छ ।

    नेताहरुका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय कसले लिने भन्ने विवाद छैन । अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिनेछन् । मिल्न बाँकी मन्त्रालयहरुको सन्दर्भमा आफैं मिलाउने भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलहरुसँग सामूहिक र एक्लाएक्लै संवादमा छन् ।

    विवाद रहेका मन्त्रालयहरुका सन्दर्भमा मन्त्रीको नाम पाएपछि मन्त्रालय तोक्ने प्रधानमन्त्रीको प्रस्ताव छ । सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० ले २र२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १र१ मन्त्रालय पाउने समझदारी छ ।

  • आजबाट एसईई परीक्षा, ५ लाख विद्यार्थी सहभागी

    आजबाट एसईई परीक्षा, ५ लाख विद्यार्थी सहभागी

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

    एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।

  • भाषा, धर्म र जातबारे भ्रम फैलाइएको तथ्यांक कार्यालयको स्पष्टीकरण

    भाषा, धर्म र जातबारे भ्रम फैलाइएको तथ्यांक कार्यालयको स्पष्टीकरण

    काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ मा जातजाति, भाषा र धर्मबारे तथ्यांक सार्वजनिक नगरिएको बताएको छ। यी विषयमा गलत हल्लाहरू फिँजाइएको भन्दै कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक नगरिएको र सामाजिक सञ्जालहरूमा यी तथ्यांकबारे गलत हल्ला फिँजाइएको कार्यालयका उपप्रमुख नेविनलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    राष्ट्रिय तथ्यांक कार्यालयमा जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएको बताइएको छ। यसमा विज्ञ र संवैधानिक आयोगका प्रतिनिधिसँग कार्यालयले छलफल गरिरहेको श्रेष्ठले उल्लेख गरेका छन्।

    थरलाई जात कायम गर्ने, जातअनुसार मातृभाषा कायम गर्ने, ठाउँअनुसार भाषा कायम गर्ने, २०६८ सालको जनगणनामा गणना भएका जातजातिलाई जोड्न र कतिपयलाई अलग गर्न उजुरी परेको हो। तर पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धर्मसँग जोडिएर आएका विषय पूर्ण रूपमा गलत, भ्रामक र अन्यौल सिर्जना गर्ने खालका भएको कार्यालयले जनाएको छ। जातजाति, भाषा र धर्मसम्बन्धी विवरणलाई अन्तिम रूप दिने काम भइरहेको कार्यालयले जनाएको छ।

  • राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री थापा नियुक्त

    राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री थापा नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भएका छन्।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।

    थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिसकेका छन् । धनकुटाका थापा कांग्रेसका पूर्वसहमहामन्त्री पनि हुन्।

  • आरजु गिरोहको हेपाइले पार्टीमा बस्न नसकेको भन्दै डा. स्वर्णिमले छाडे कांग्रेस

    आरजु गिरोहको हेपाइले पार्टीमा बस्न नसकेको भन्दै डा. स्वर्णिमले छाडे कांग्रेस

    काठमाडौं । अर्थविद् डा‍। स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् ।

    उनले कांग्रेस छोडेको सार्वजनिक घोषणा नगरे पनि कांग्रेस नेताहरुलाई पत्र लेखेर यसको जानकरी गराएका छन् ।

    कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा-आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको वाग्लेको पत्रमा उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई तनहुँ–१ बाट उपचुनावमा उम्मेदवार बनाउने तयारी गरेको चर्चा पनि चलेको छ ।

    सोही क्षेत्रबाट निर्वाचित कांग्रेसका सांसद रामचन्द्र पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेसको घोषणापत्र तयारी समितिको सदस्य रहेका उनलाई महामन्त्री गगन थापाले चितवन वा काठमाडौं–४ बाट उठ्न सुझाव दिएका थिए । तर उनलाई उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाले नमानेको आरोपछ । उनको पत्रमा भनिएको छ,

    प्रिय दाइ,

    हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।

    अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहे। यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ ।

    काँग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

    स्वर्णिम

  • जर्मन राजा चार्ल्स राजगद्दी सम्हालेपछि पहिलोपटक विदेश भ्रमणमा, जर्मनीमा भब्य स्वागत

    जर्मन राजा चार्ल्स राजगद्दी सम्हालेपछि पहिलोपटक विदेश भ्रमणमा, जर्मनीमा भब्य स्वागत

    काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा जर्मनी पुगेका छन् । देशको राजसिंहासन सम्हालेपछि भएको पहिलो विदेश भ्रमणमा उनको साथमा रानी क्यामिला पनि छिन् । यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उनको भ्रमण स्थगित भयो ।

    बर्लिनका विभिन्न भागमा बेलायतका झण्डा फहराइएका छन् । बेलायतका राजदम्पतिलाई जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर र प्रथम महिलाएल्के बुडेनबेन्डरले सैन्य सम्मानका साथ स्वागत गरेका छन् । नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्स जर्मनीतर्फ प्रस्थान गरेका हुन् ।

    जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भनेका छन् । राजा चाल्र्सले बिहीबार जर्मनीको सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । जर्मन संसद्लाई सम्बोधन गर्ने उनी पहिलो सम्राट् हुनेछन् । उनले युक्रेनबाट आएका शरणार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

  • बीमाको रकम पाउन श्रीमानको हत्या

    बीमाको रकम पाउन श्रीमानको हत्या

    सप्तरी । सप्तरीमा एक महिलाले बीमाको रकम लिनश्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाइने भएकाले श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको हो । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् । ६ कात्तिकमा घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको थियो ।

    त्यसपछि श्रीमती कोशिलाले प्रहरीलाई खबर गरेकी थिइन् । घटनास्थलमा पुगेको प्रहरीले पनि तत्कालिन अवस्थामा करेन्ट लागेर शिवशंकरको मृत्यु भएको बताएको थियो । अनुसन्धान गर्दै जाँदा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी दीपक रायले यसबारे जानकारी दिए ।


    इलाका प्रहरी कार्यायल कञ्चनरुपले हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नातामा भाउजू पर्ने शान्ति देवी, बुहारी पर्ने हिरणदेवी दासलाई पक्राउ गरेको छ । डीएसपी रायका अनुसार ऋण चुक्ता गर्न योजनावद्ध तरिकाले शिवशंकरको हत्या गरेको बयान दिएका छन् । घरव्यवहार चलाउन शिव शंकर र कोशिलादेवीले नातामा भाउजू पर्ने शान्ति देवीसित ऋण लिएका थिए । शान्ति देवीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकी थिइन् । दाउरा बेचविखन तथा मजदुरी गरेर तीन सन्तानसहित पाँचजनाको परिवार पाल्दै आएका शिवशंकरले ऋण तिर्न सकिरहेका थिएनन् ।

    त्यसक्रममा शान्तिले नै कोशिलालाई बीमा गरी श्रीमानको हत्या गर्न सुझाएकी थिइन् । शान्तिले हत्यापछि बीमाबाट रकम आउने र त्यही पैसाले ऋण चुक्ता गरेर पनि रकम बाँकी रहने सल्लाह दिएपछि कोशिला श्रीमानको हत्या गर्ने योजना बनाएकी हुन् । योजना अनुसार शान्तिदेवीले रकम उपलब्ध गराएपछि दुई महिनाअघि शिवशंकरको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २०\२० लाखको बिमा गराए ।

    ५ कात्तिकमा शान्ति देवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर पठाएकी थिइन् । मदिराको नशामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशिलाले बायाँ हातको साहिली औंलामा तार बेरेर करेन्ट लगाएको खुलेको डीएसपी रायले बताए ।

    करेन्ट लगाउने बेला बुहारी हिरण देवीले टर्च बालेर सहयोग गरेकी थिइन् । मृत्यु पश्चात कोशिलाले आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको रहस्य खुलेपछि प्रहरीले कोशिलादेवीसहित तीनै जनालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी रायले बताए ।

  • राम नवमीको अवसर पारी आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    राम नवमीको अवसर पारी आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौं । जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ । नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।

    आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत(रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ । अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र भई भगवान विष्णुको सातौँ अवतारको रुपमा जन्मेको बताइन्छ । राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरी संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गरेका थिए ।

    आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । यो पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • आज मन्त्रिपषिद् बिस्तारको तयारी

    आज मन्त्रिपषिद् बिस्तारको तयारी

    काठमाडौं । आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । प्रधानमन्त्री प्रचण्डले यसका लागि पार्टीहरुबाट मन्त्री बन्नेको नाम मागेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

    १० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३ माघको सहमतिअनुसार, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएका थिए । तर तीन वटै दलले पालैपालो सरकार छोडेपछि १५ माघदेखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा छन् ।

    आज बिहान फेरि सत्ता साझेदार दलहरुको बैठक बस्ने, सो बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन मन्त्रालय कसलाई दिने भनेर सुनाउने र आजै साँझ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । सत्ता साझेदार दलहरुको बुधबार बसेको संयुक्त बैठकमा मन्त्रालय बाँडफाँट लगभग टुंगिएको नेताहरुले बताएका छन् । बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले बिहीबार साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

    संयुक्त बैठकमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २–२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १–१ मन्त्रालय पाउने समझदारी बनेको नेताहरुले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।

  • नेकपा एसले को-कसलाई बनाउने भयो मन्त्री ?

    नेकपा एसले को-कसलाई बनाउने भयो मन्त्री ?

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा। बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले तीन मन्त्रालयको दाबी गरेकाले अर्को मन्त्रालयका लागि पनि पहल गर्नेछ ।

    यसअघि पार्टीले सरकारमा पठाउने नेताको नाम छनोट गर्न गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गरिएको थियो । पार्टी अध्यक्ष नेपालले सरकारमा पार्टीको संलग्नताका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आजै साँझ छलफल गर्ने जनाइएको छ । रासस

  • मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा

    मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा

    काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको पहिलो पाँचतारे होटल हो । पर्यटन विभागले २०८४ मंसिर २ गतेसम्म मान्य हुने गरी इजाजत पत्र दिएको छ । सिमरा विमानस्थलबाट दुई किलोमिटर दुरीमा रहेका होटल इच्छाका सञ्चालक इच्छाबहादुर वाग्ले हुन् ।

    उनले ६ वर्षअघि १२० करोड लगानी गरेर मिनी क्यासिनोसहित चारतारे स्तरको होटल इच्छा सञ्चालनमा ल्याएका थिए । त्यतिबेला होटलमा ६० वटा कोठाहरु थिए । अहिले थप ३० करोड लगानी गरेर कोठाहरुको संख्या १०० पुर्‍याइएको उनले बताए । हाउजिङ र रियल स्टेट व्यवसायी वाग्लेले आन्तरिकसँगै भारतको मुजफ्फरपुर, दरभंगा, मधुवन, पटना लगायत भारतका विभिन्न सहरका पर्यटकहरुलाई लक्षित गरेका छन् । यसबाट पर्यटन क्षेत्रको प्रवर्द्धनसँगै आर्थिक समृद्धिको अपेक्षा गरिएको पनि उनले बताए । तीन दशक अगाडि नगरकोटबाट होटल उद्योग सुरु गरेका वाग्लेले इच्छा हस्पिटालिटीको व्यवस्थापनमा अमलेखगञ्जमा ‘गार्डेन सफारी रिसोर्ट’ सन्चालनमा ल्याउने योजना समेत बताएका छन् ।

  • सत्ता गठबन्धनमा भागबन्डाको सहमति, कसले कति मन्त्रालय पाउने ?

    सत्ता गठबन्धनमा भागबन्डाको सहमति, कसले कति मन्त्रालय पाउने ?

    काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको नेताहरुले जनाएका छन् । बिहीबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति समेत जुटेको छ । अब सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिने भएका छन् ।

    राष्ट्रिय जनमोर्चाबाहेकका सबै दलले मन्त्रालय पाएका छन् । जस अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपा, नाउपा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १–१ मन्त्रालय पाउने छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सरकारमा सहभागी हुने भएका छन् ।

  • नेपालमा बढ्न थाल्यो कोरोना, तयारी फितलो

    नेपालमा बढ्न थाल्यो कोरोना, तयारी फितलो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी दिनानुदिन बढ्दो क्रममा रहेको छ । त पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ।

    हाल देशभर १०३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको छ। र सरकारको तयारी भने फितलो देखिएको छ ।

    भारतमा निरन्तर संक्रमित बढिरहँदा खुलानाकाहरुमा कुनै सावधानी अपनाइएको छैन । त्यसैगरी विमानस्थलमा पनि कुनै किसिमको सचेतना अपनाइएको छैन ।