Category: समाचार

  • चुनावी खर्च जुटाउन स्वर्णिमले मागे सहायता

    चुनावी खर्च जुटाउन स्वर्णिमले मागे सहायता

    काठमाडौं । तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका अर्थशास्त्री स्वर्णिम वाग्लेले चुनावी खर्चका लागि बैंक खाता खोलेका छन्। मंगलबार सामाजिक सञ्जालमा उनले बैंक खाताको विवरण सार्वजनिक गरेका छन्।

    ‘तनहुँ१ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ। यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु,’ वाग्लेले लेखेका छन्, ‘निर्वाचन आयोगले रु. ३१ लाखको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारी सहित कानून बमोजिम गर्नेछु।’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्ले केही दिनअघि मात्र नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका थिए।

  • सिक्किम पहिरोमा ३ जना नेपाली परेको पुष्टी

    सिक्किम पहिरोमा ३ जना नेपाली परेको पुष्टी

    काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा तीन नेपाली परेको पुष्टी भएको छ । घटनामा सात जनाको मृत्यु भएको छ । जसमधये ३ जना नेपाली रहेको स्थानीय अधिकारीले पुष्टी गरेका छन् । घटनामा करिब एक दर्जन घाइते छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।

    स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ । १४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो ।

    तीमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ । चीनसँग सिमाना जोडिएको नाथुला भारतको महत्वपूर्ण हिमाली नाकाहरुमध्ये एक हो । पर्यटकीय गन्तव्य पनि भएको यो क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ ।

  • बालेन र हर्कको भेट, के भयो कुराकानी ?

    बालेन र हर्कको भेट, के भयो कुराकानी ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङबीच शिष्टाचार भेटघाट भएको छ । दुई मेयरको पहिलो पटक भेटघाट भएको बालेन्द्रको सचिवालयले जनाएको छ । काठमाडौं आएका सम्पाङले मंगलबार दिउँसो साढे २ बजे बालेन्द्रसँग भेटघाट गरेका हुन् । दुबै मेयरबीचको पहिलो भेटघाटमा अनुभव आदनप्रदान तथा आ-आफ्नो स्थानमा के कसरी काम गर्ने भन्ने कुरामा छलफल भएको बालेन्द्रका स्वकीय सचिव भुपदेव शाहले जानकारी गराएका छन् ।

    भेटमा बालेन्द्रले स्थायी सरकार नहुँदा समस्या भएको बताएका थिए । साथै मन्त्री भेट्न सिंहदरबार जाँदा ती मन्त्रीको पद नै चट भएको प्रसंग निकालेका थिए । बालेन्द्रले स्थानीय सरकार ५ वर्षसम्म स्थायित्व हुने भए पनि केन्द्र सरकार फेरबदल हुँदा काम गर्न समस्या भएको कुरा हर्कलाई सुनाएका थिए ।

    भेटमा धरानका मेयर सम्पाङले बालेन्द्रलाई शुभ संकेतको रूपमा लिइने सिलाम साक्मा लगाइदिएका थिए । लिम्बु समुदायको सांस्कृतिक बिम्ब रूपमा लिइने सिलाम साक्मालाई शुभ संकेतको रूपमा लिने गर्छन् । यसको प्रयोग विभिन्न पर्वमा प्रयोग हुने गर्छ ।

  • एडीबी र विश्व बैंकले एकै दिन गरे नेपालबारे आर्थिक वृद्धिको समान प्रक्षेपण

    एडीबी र विश्व बैंकले एकै दिन गरे नेपालबारे आर्थिक वृद्धिको समान प्रक्षेपण

    काठमाडौं । दुई बहुराष्ट्रिय निकाय विश्व बैंक र एसियाली विकास बैंकले एकै दिन नेपालबारे आर्थिक वृद्धिदरको समान प्रक्षेपण सार्वजनिक गरेका छन् । विश्व बैंकको अर्धवार्षिक ‘कन्ट्री अपटेड’ र एसियाली विकास बैंक (एडीबी)को एसियन डेभलपमेन्ट आउट लुकले समान ४.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेका हुन् । निर्यात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति र कम राजस्व संकलन प्रतिबिम्बित गर्ने खुम्चँदो सरकारी खर्चका कारण नेपालको यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिएभन्दा कम हुने विश्व बैंकले जनाएको छ ।

    मंगलबार सार्वजनिक भएको ‘नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) : फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भायरन्मेन्ट’ले नेपालको अर्थतन्त्र आर्थिक वर्ष सन् २०२३ मा ४.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । जुन अक्टोबर २०२२ को प्रक्षेपणभन्दा कम हुने गरी गरिएको संशोधन हो । आर्थिक वर्ष सन् २०२४ मा भने पर्यटन क्षेत्रको पुनरारम्भ, विप्रेषण आप्रवाहमा वृद्धि र मौद्रिक नीतिमा क्रमशः गरिने सहजताका कारण वृद्धिदर बढेर ४.९ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

    यद्यपि परिदृश्यका जोखिमहरु नकारात्मकता तिरै झुकेका छन् । अपेक्षाभन्दा उच्च मुद्रास्फीति, जसले उपभोग र वृद्धिलाई कम गराउनेछ, सरकारी अधिकारीहरुको सम्भावित सरुवाको प्रभाव र मानव पूँजीमा लगानी घटाइएका कारण विशेष गरी महामारीपछिको बेरोजगारीबाट फर्किन बाँकी व्यक्तिहरुबीच बढ्ने असमानता त्यस्ता जोखिम हुन् ।

    ‘बाह्य क्षेत्रमा परेको दबाबलाई सम्बोधन गर्न अपनाइएका उपायहरुबीच नेपाली अर्थतन्त्रले आर्थिक वृद्धिमा सुस्तता र सरकारी राजस्वमा कमिजस्ता अनिच्छित परिणामहरुको सामना गर्नुपरेको छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जर्भोसले भने, ‘यसले सरकारको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का एजेन्डाको महत्वलाई थप उजागर गर्दछ । सरकारले गर्न चाहेको नीतिगत परिवर्तनबारे सर्वसाधारणलाई अग्रिम जानकारी गरियो, समयमै कार्यान्वयनमा गयो र कार्यान्वयनका क्रममा नीतिहरुमा परिमार्जन गर्दै गयो भने ती सुधारहरुले उत्कृष्ट नतिजाहरु ल्याउनेछन् ।’

  • उत्पादन कटौतीपछि ह्वात्तै बढ्यो कच्चा तेलको भाउ

    उत्पादन कटौतीपछि ह्वात्तै बढ्यो कच्चा तेलको भाउ

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ह्वात्तै बढेको छ । मूल्यमा लगातार गिरावट आएपछि तेल निर्यात गर्ने देशहरूको संगठन (ओपेक)ले उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको भाउ ह्वात्तै बढेको हो ।

    आइतबार ओपेक देशका मन्त्रीहरूको भर्चुअल बैठकमा प्रतिदिन ११.५० लाख ब्यारेल तेल उत्पादन घटाउने सहमति गरेका थिए । सो निर्णय लगत्तै विश्व बजारमा कच्चा तेलको भाउ १० प्रतिशतसम्म बढेको छ ।

    शनिबार प्रतिब्यारेल ७९ डलर रहेको विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ ९ प्रतिशतले बढेर आज ८६ डलर पुगेको छ । त्यस्तै, ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ ४ दिनमै ९.५ प्रतिशत अर्थात् ७ डलरले बढेर प्रतिब्यारेल ८२ डलर पुगेको छ ।

    मुर्बान क्रुड आयलको भाउ १० प्रतिशतले बढेको छ भने अन्य अधिकांश बेन्चमार्कहरुको भाउ ५ देखि १० प्रतिशतसम्म बढेको छ ।

    सन् २०२२ को जुन यता लगातार ओरालो लागेको कच्चा तेलको भाउ गत मार्चमा डेढ वर्ष यताकै सस्तो प्रतिब्यारेल ७१ डलरसम्म आएको थियो । विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण लगातार घट्न थालेको तेलको भाउ विश्व बैंकिङ क्षेत्रमा देखिएको संकटका कारण झनै घटेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातर गिरावट आएपछि उत्पादन कटौती गर्दै मूल्यमा स्थिरता ल्याउने ओपकले जनाएको छ ।

  • नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

    नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

    काठमाडौं । नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षीय आशिष तामाङ भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई हाल काठमाडौं धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका छन् ।

    तामाङले फेसबुकमार्फत् नाबालिका पीडितलाई साथी बनाएका थिए। फेसबुकमार्फत् चिनजान गरी उनीहरू दुई जनाले नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोप छ।

    ग्राण्डी अस्पताल नजिकै रहेको एक गेस्ट हाउसमा लगी सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

  • रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

    रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज सुनुवाइ नहुने भएको छ।

    न्यायाधीश न्यायाधीश अनिलकुमार सिन्हाले संवैधानिक इजलासमा सुनुवाइ गरेकाले मुद्दा हेर्न नमिल्ने भएपछि रिटमाथि सुनुवाइ नभएको हो ।

    योसँगै आजको सुनुवाइ स्थगित भएको छ । लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै युवराज सफल सर्वोच्च अदालत गएका हुन्।

  • रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हाको इजलासमा

    रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हाको इजलासमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको प्रारम्भिक सुनवाइ आजबाट हुँदैछ ।

    राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ सुनुवाइ हुन लागेको हो ।

    सिन्हाको इजलासमा ११ वटा रिटको पेशी तोकिएकोमा लामिछानेविरुद्धको रिट नवौँ नम्बरमा रहेको छ।

    महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने मागसहित युवराज सफलले सोमबार रिट दिएका थिए ।

    यसअघि नागरिकता मुद्दा हारेपछि लामिछानेको सांसदसँगै मन्त्री पद गुमेको थियो । अहिले उनले नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा गरिसकेका छन् ।

    राहदानीसम्बन्धी विवाद पनि कानुनी प्रक्रियाबाट निराकरण भइसकेको लामिछानेको दाबी छ । सोमबार चितवन २ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्तापछि सञ्चारकर्मीसँग बोल्दै उनले राहदानीसम्बन्धी विवाद न्यायिक प्रक्रियामार्फत निराकरण भइसकेको बताएका थिए ।

  • नेपालमा काम गर्छन् १० हजार विदेशी श्रमिक, कुन मुलुकका कति ?

    नेपालमा काम गर्छन् १० हजार विदेशी श्रमिक, कुन मुलुकका कति ?

    काठमाडौं । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सय भन्दाबढी मुलुकका श्रमिक कार्यरत छन् । नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक छन् ।

    बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको सङ्ख्या पनि उल्लेख्य छ । सन् २०१७ यता सबैभन्दा बढी सात हजार पाँच सय चिनियाँ नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेका छन् । दुई हजार चार सय ९५ पुराना (नवीकरण) र पाँच हजार २४ नयाँ चिनियाँ श्रमिकले श्रम इजाजत लिएका छन् ।

    संयुक्त अधिराज्यका ४८८, संयुक्तराज्य अमेरिकाका ३३२, दक्षिण कोरियाका २४०, भारतका २३०, जापानका १९०, अष्ट्रेलियाका ११६, श्रीलङ्काका ११३, जर्मनीका ९८, इटालीका ८२, फ्रान्स र फिलिपिन्सका ७९र७९ तथा बङ्गलादेशका ५६ श्रमिक कार्यरत रहेका विभागको तथ्याङ्कमा उल्लेख छ ।

    विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवालीले विदेशी दक्ष श्रमिकले नेपालमा अनुमति लिएर काम गर्दै आएको बताए । नेपालमा सञ्चालित चिनियाँ परियोजनाको सङ्ख्या बढी भएकाले यहाँ काम गर्ने चिनियाँ श्रमिकको सङ्ख्या अन्य मुलुकको तुलनामा बढी देखिएको उनको भनाइ छ ।

    “नेपालमा धेरै चिनियाँ प्रोजेक्ट सञ्चालित छन्, द्रुतमार्ग, सडक, जलविद्युत्, भूकम्पपछिको पुनर्निर्माणका परियोजना तथा विभिन्न ठेक्कामा चिनियाँ श्रमिकको संलग्नता रहको छ”, उनले भने ।


    प्रोजेक्ट इन्जिनियर, सुरुङ तथा हाइड्रो इन्जिनियर, विभिन्न गैरसरकारी संस्था, पाइटल, मेन्टिनेन्स इन्जिनियर, मेकानिकललगायत प्राविधिक पदमा विदेशी श्रमिक संलग्न हुने गरेको विभागले जनाएको छ । रोजगारदाताले कुनै विदेशी नागरिकलाई काममा लगाउँदा विदेशी नागरिक राख्नका लागि विभागबाट श्रम इजाजत लिनुपर्ने व्यवस्था छ । विभागले विदेशी नागरिकको श्रम इजाजत व्यवस्थापनसम्बन्धी निर्देशिका–२०७५ अनुसार विदेशी श्रमिकलाई श्रम इजाजत दिँदै आएको छ ।

    नेपालमा काम गर्न आउने विदेशी श्रमिकलाई सम्बन्धित मन्त्रालयको सिफारिस र गृह मन्त्रालयका कार्य सहमतिका आधारमा मात्रै श्रम स्वीकृति दिइँदै आइएको विभागका महानिर्देशक ज्ञवालीले जानकारी दिए । विभागले विदेशी श्रमिकलाई एक वर्षका लागि श्रम इजाजत दिने गरेको छ । प्रत्येक वर्ष श्रम इजाजत नवीकरण गर्नुपर्छ ।

    विशिष्ट दक्ष प्राविधिक श्रमिकको हकमा पटक पटक गरी बढीमा पाँच वर्ष र अन्य विदेशी श्रमिकको हकमा पटक पटक गरी बढीमा तीन वर्षका लागि श्रम इजाजत दिनेछ । छ महिनाको अवधिका लागि प्रतिव्यक्ति रु १५ हजार र छ महिनाभन्दा बढी अवधिका लागि प्रतिव्यक्ति रु २० हजार दस्तुर तिर्नुपर्ने निर्देशिकामा उल्लेख छ । रासस

  • नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय, जोखिम बढ्दै

    नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय, जोखिम बढ्दै

    काठमाडौं । नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबैभन्दा धेरै पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरिएन्ट छन् ।

    २४ नमुनामध्ये ९ वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको मन्त्रालयले जनाएको छ । ओमिक्रोनकै दुई सबभेरियन्ट मिलेको बनेको यो यो निकै संक्रामक मानिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अभियान गौतम भन्छन्, ‘यो नजिताले संसारको कुनै पनि कुनामा म्युटेसन भएको सबभेरिएन्ट तुरुन्तै नेपालमा आएको छ र नेपालमा रोकथामका लागि कुनै पनि उपाय अपनाइएको छैन भन्ने देखाएको छ ।’

    उनका अनुसार ओमिक्रोन एक्सबीबी।१।१६ ले हालसालै भारतमा संक्रमण बढाएको थियो । त्यसको करिव दुई सातामा यो संक्रमण नेपाल भित्रिएको स्थल मार्गबाट नेपाल आउनेहरुको नमुना परीक्षणले देखाएको थियो ।

    डा. गौतमका अनुसार नेपालमा अबका दिनहरुमा कोरोना संक्रमण अझ बढ्नेछ । किनकी मास्क लगाउन, समाजिक दुरी कायम गर्ने जस्ता सावधानीका उपायहरु अपाइएको छैन । उनले भने, ‘भ्याक्सिन लगाएकाहरु धेरै डराउनुपर्दैन । तर खोप नलगाएका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई गाह्रो पार्नसक्छ ।’

  • इन्धनको मूल्यमा भारी कटौती, उपभोक्तालाई राहत

    इन्धनको मूल्यमा भारी कटौती, उपभोक्तालाई राहत

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा उल्लेख्य कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०–१० रुपैयाँ घटाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटेको छ । खाना पकाउने ग्याँसको मूल्य भने यथावत रहेको निगमको भनाई छ । अब बजारमा डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँमा झरेको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १७५ रुपैयाँ थियो ।

    हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसतः लिटरमा १० रुपैयाँले मूल्य घटेको छ । नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर तोकिएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेर १७५ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँ यथावत छ ।

  • तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौं प्रशासनका कर्मचारी पक्राउ

    तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौं प्रशासनका कर्मचारी पक्राउ

    काठमाडौं । जिल्ला प्रशासन काठमाडौंबाट तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने घटनामा संलग्न भएको अभियोगमा नायब सुब्बा पक्राउ परेका छन् । सोमबार प्रहरीले देवराज गौतमलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नासु प्रशासन फाँटमा कार्यरत छन् । एक गिरोहले प्रशासनका कर्मचारीसँगको मिलेमतोमा करिब ५०० नागरिकता तिब्बती नागरिकलाई दिलाएको खुलेको छ । घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

    झापा घर भई इमाडोल बस्ने ४७ वर्षीय कृष्णबहादुर कटुवाल, बबरमहल घर भई मध्यपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ घर भई धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँको तिब्बतियन शरणार्थी क्याम्पमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र गोदावरी बस्ने ३० वर्षीय विजय लामालाई प्रहरीले पक्राउ गरेको हो।

    उनीहरूमाथि सोधपुछ पछि प्रहरीले नासुलाई पक्राउ गरेको हो। उनीबाट थप व्‍यक्तिहरूको पहिचान खुल्ने प्रहरीको भनाई छ । प्रशासनबाट नागरिकता दिलाउने गिरोहका मुख्य आरोपी कृष्णबहादुर कटुवाल हुन्। उनले ३ देखि ५ लाखसम्म लिएर तिब्बतीलाई नागरिकता दिलाएको खुलेको थियो। विजय लामा भने ९ वर्षदेखि प्रशासनको क्यान्टिनमा काम गर्थे। त्यहाँबाट उनले भित्री सेटिङ मिलाउने काम गरेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो।

  • बारा–२ मा रमेश खरेलको उम्मेदवारी दर्ता

    बारा–२ मा रमेश खरेलको उम्मेदवारी दर्ता

    काठमाडौं । बारा–२ को प्रतिनिधि सभा सदस्यका लागि रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन्।

    सोमबार दिउँसो तीन बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।

    मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार दिउँसो तीन बजेपछि खरेलको उम्मेदवारी दर्ता भएको हो।

    उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराइसकेका छन्। त्यस्तै एमालेका पुरूषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नागरिक उन्मुक्तिका कमरूल्लाह अन्सारी, आम जनता पार्टीका अरूण ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन्।

  • तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता

    तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता

    काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ। बारा-२, चितवन-२ र तनहुँ-१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो।

    जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो। तनहुँ-१ बाट एमालेका तर्फबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन्।

    खनालको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपाने र समर्थकमा एमाले केन्द्रीय परिषद सल्लाहकार सदस्य एकबहादुर राना रहेका छन्। खनाल मनोनयन दर्ता र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

    अहिलेसम्म तनहुँ-१ मा नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ। कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मनोनयन दर्ता गर्ने भएको छ।

  • रवि लामिछानेलाई जगन्नाथ पौडेलको समर्थन

    रवि लामिछानेलाई जगन्नाथ पौडेलको समर्थन

    काठमाडौं । चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई सघाउने घोषणा गरेका छन्।

    रेणु दाहाललाई मेयर निर्वाचनमा आच्छुआच्छु पार्दै राष्ट्रिय राजनीति हल्लाउँदै नेपाली कांग्रेसबाट विद्रोह गरेका जगन्नाथ पौडेलले लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

    ‘देशको रूपान्तरणका लागि ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ। रविजीलाई उपनिर्वाचनमा समर्थन गरेका छौँ। अब हामी चुनावमा खटिन्छौँ। कांग्रेसमा त्यत्राे समय बिताएँ तर मेरो अपमान गर्‍याे। अब देशको मुहार रास्वपाले फेर्छ’,उनले भने।

    सभापति लामिछानेले उम्मेदवारी दर्ता गरिसकेका छन्। स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखका लागि कांग्रेसबाट बागी उम्मेदवारी दिएपछि जगन्नाथ पौडेलको चर्चा चुलिएको थियो। उनले १७ हजार बढी मत ल्याएका थिए।

  • मन्दिरको घण्टी बजाएर चुनावी अभियानमा

    मन्दिरको घण्टी बजाएर चुनावी अभियानमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबारदेखि आफ्नो चुनावी अभियान थालेका छन् ।

    धर्मपत्नी निकिता पौडेल लामिछानेसंगै चितवनको एउटा मन्दिरमा पुगेर घण्टी बजाएको तस्बिर शेयर गर्दै नेता लामिछानेले लेखेका छन् – ‘चितवनका जनताको साथ र जीतको संकल्पसँगै सुरु गरियो हाम्रो यात्रा ।’

    यसअघि उनि यहि निर्वाचन क्षेत्रबाट देशमै सबैभन्दा बढि मतान्तर सहित बिजयी भएका थिए ।

  • चितवन-२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

    चितवन-२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष सभापति रवि लामिछानेले चितवन–२ मा उम्मेदवारी दर्ता गरेका छन्।

    लामिछानेले सोमबार चितवन–२ मा बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

    सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता विवादमा सांसद पद नै जाने गरी फैसला सुनाएको थियो । उनले चुनाव जितेको चुनावी क्षेत्र चितवन २ को सांसद पद रिक्त भएको थियो ।

    यस क्षेत्रको उपनिर्वाचनमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्दै छन्।

    १० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ। जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ।

    लामिछानेले पार्टी स्थापनाको ६ महिनामै २० नोभेम्बरको सांसदको चुनावमा २० सिट दिलाएका थिए । उनको दल नेपालको संसदमा चौंथो ठूलो शक्ति हो । उनी केही दिनका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्री पनि बनेका थिए ।

  • एलपी ग्यास बोकेको टंयाकर दुर्घटना, एक जनाको मृत्यु

    एलपी ग्यास बोकेको टंयाकर दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो। चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।

    दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए। दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

  • उपनिर्वाचन हुने क्षेत्रमा आज मनोनयन दर्ता

    उपनिर्वाचन हुने क्षेत्रमा आज मनोनयन दर्ता

    काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन तोकिएको छ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

    उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ । २०७९ वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।

    गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

  • हिल्सा र तातोपानी नाका समेत पूर्ण रुपमा खुल्ने

    हिल्सा र तातोपानी नाका समेत पूर्ण रुपमा खुल्ने

    काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।

    तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो । नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको छ । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशख (१ मे) बाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ ।

  • कांग्रेसको निर्णयप्रति गोविन्दराज जोशीको आपत्ति

    कांग्रेसको निर्णयप्रति गोविन्दराज जोशीको आपत्ति

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले १० वैशाखमा हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन नगर्ने संकेत गरेका छन् ।
    आइतबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा, चितवन र तनहुँमा २०७९ सालको निर्वाचनमा पार्टीको आधिकारिक र पार्टीले समर्थन गरेको उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताले १० वैशाखको उपनिर्वाचनमा सहयोग गरेमा कारबाही फिर्ता गर्न सक्ने निर्णय गरेको छ ।

    कांग्रेसको निर्णयमा भनिएको छ, ‘‘यही २०८० वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा आ–आफ्नो जिल्लारनिर्वाचन क्षेत्रका पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजय बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहेमा, त्यस्ता व्यक्तिको नेपाली कांग्रेसको क्रियाशील सदस्यता लगायत अन्य भूमिका र जिम्मेवारीको सम्बन्धमा पार्टीको आगामी बैठकले आवश्यक निर्णय गर्न सक्ने ।’

    तर जोशीले कांग्रेसले आफू र आफूसँग सम्बन्धित व्यक्तिहरुसँग सल्लाह नगरी एकलौटी रुपमा निर्णय गरेको भन्दै यसलाई नमान्ने बताएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट विचलित नहुन म मेरा सम्पूर्ण जनताहरुलाई आग्रह गर्दछु ।’

    गत ४ मंसिरमा भएको चुनावमा तनहुँ– १ मा जोशीले कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । रामचन्द्रले २५ हजार ३१३ मत ल्याएर निर्वाचित हुँदा तेस्रो स्थानमा आएका जोशीले ६ हजार ८७८ मत पाएका थिए । दोस्रो भएका एमालेका एकबहादुर रानाले १९ हजार ९२५ मत पाएका थिए ।

    १० वैशाखको चुनावमा तनहुँ– १ मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ र जोशीको सहयोगको अपेक्षा गरेको छ । जोशीले आइतबार दिउँसो तनहुँमा पत्रकार सम्मेलन गरी आफूले उम्मेदवारी नदिने घोषणा गरेका छन्, तर कसलाई समर्थन गर्ने निर्णय गरिनसकेको बताएका छन् ।

    जोशीले कांग्रेसले आफ्नो कारबाही फकुवा भएको भ्रम पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । ‘१० औं हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसको कारबाही फकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो । यसप्रति मेरो घोर आपत्ति छ ।’

    आफ्नो कारबाहीको विषयमा समस्या समाधानका लागि पटक पटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि कांग्रेसले बेवास्ता गरेको जोशीले बताएका छन् । ‘सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरणसमेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरुबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ’ उनले भनेका छन् ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा, चितवन र तनहुँमा २०७९ साल भन्दा अगाडिको निर्वाचनमा पार्टीको आधिकारिक र पार्टीले समर्थन गरेको उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताको कारबाही भने फुकुवा गरेको छ ।

    यो निर्णय अनुसार चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालामाथिको कारबाही फुकुवा भएको छ । २०७० सालमा तत्कालिन सभापति सुशील कोइरालाविरुद्ध चितवन–४ मा उम्मेदवारी दिएका विकासले त्यसपछि उम्मेदवारी दिएका थिएनन् ।

    कोइरालाले पनि आफ्नो कारबाही फुकुवा गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीको विधान अनुसार ६ वर्ष मात्र कारबाही हुनुपर्नेमा १० वर्षपछि मात्र कारबाही फुकुवा भएको उनले बताएका छन् ।

  • स्वर्णिम वाग्लेलाई हराउने जिम्मा गगन थापाको काँधमा

    स्वर्णिम वाग्लेलाई हराउने जिम्मा गगन थापाको काँधमा

    काठमाडौं । नेपाली कांग्रेसले तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा दिएको छ । सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुनेछन् र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नेछन् ।
    कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ ।

  • नयाँ अर्थमन्त्रीलाई शेयर बजारको रातो झण्डा

    नयाँ अर्थमन्त्रीलाई शेयर बजारको रातो झण्डा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतलाई शेयर बजारले रातो झण्डासहित स्वागत गरेको छ ।

    निरन्तर घटिरहेको शेयर बजारले आजपनि उही गतिमा रहेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २० अंकले घटेर १८८८.५५ बिन्दुमा आइपुगेको छ । यसदिन २६० कम्पनीको १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँको ३७ लाख ८७ हजार ४४१ कित्ता शेयर किनबेच भएको छ ।

  • सांसद डाँगीको प्रश्न – ‘आन्तरिक उत्पादन बढाउन के निती छ’ ?

    सांसद डाँगीको प्रश्न – ‘आन्तरिक उत्पादन बढाउन के निती छ’ ?

    काठमाडौं । आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले टुथपिक र ट्वाइलेट पेपर आयातमा ४१ करोड बाहिरियो, आन्तरिक उत्पादन बढाउन के निती छ भन्दै प्रश्न गरेकी छिन् ।

    सांसद डाँगीले सिंहदरवार, वालुवाटार, शितलनिवास र संसद भवनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने माग गरेकी हुन् ।

    ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? किन नेपालमा नै बनेको हो ?’, उनले भनेकी छन्, ‘कुर्सीमा लागि जुन झगडा हुने गरेको छ । सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो ?’ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले भनिन् ।

  • बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

    बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेस आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । सानेपामा बसेको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो ।

    बारामा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेल र जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ ।

  • गाइडबीना सोलो ट्रेकरलाई पदयात्रामा जान नदिने नियम लागु

    गाइडबीना सोलो ट्रेकरलाई पदयात्रामा जान नदिने नियम लागु

    काठमाडौं । हिमाल आरोहणमा जानेबाहेक पथप्रदर्शकबिना पदयात्रामा एक्लै वा समूहमा जान नपाइने नियम कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार पदयात्री सूचना व्यवस्थापन प्रणाली कार्यविधिको शुभारम्भ गरे । यससँगै अब पदयात्रामा जान अनिवार्य पथप्रदर्शक चाहिने भएको छ ।

    यस्ता पर्यटकसँग सम्बन्धित कम्पनीले टिम्स कार्ड पनि दिनुपर्छ । पदयात्रालाई सुरक्षित बनाउन र पदयात्रामा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न शनिबारदेखि लागू भएको पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम–टिम्स कार्ड)मा व्यवस्था भएबमोजिम पथप्रदर्शकबिना उच्च हिमाली क्षेत्रमा जान रोक लगाइएको छ।

    कार्यविघिअनुसार कञ्चनजङ्घा बेसक्याम्प, लुम्बासुम्बा पास ट्रेक, मकालु हिमाल बेस क्याम्प, शेर्पेनी क्लोज पास टे«क, एभरेस्ट बेस क्याम्प, गोकियो ट्रेक, च्छो ल्हा पास ट्रेक, गोकियो रेन्जो ला पास ट्रेक, हुम्ला लिमी भ्याली, उपर डोल्पा, राउन्ड धौलागिरि, उपर मुस्ताङ ट्रेक, अन्नपूर्ण सर्किट ट्रेक, मनासलु हिमाल, गणेश हिमाल, लाङटाङ, गोसाइँकुण्ड, हेलम्बु, पाँचपोखरी, च्छो रोल्पालगायतका स्थलमा अनिवार्य रूपमा पथप्रदर्शक लिएर मात्रै पर्यटक जान पाउनेछन्।

    पदयात्रासम्बन्धी नयाँ कार्यविधि लागू गरिए पनि खुम्बु पासाङ ल्हामु गाउँपालिकाले भने आफ्नो क्षेत्रभित्र एकल पदयात्रालाई निरन्तरता दिने जनाएको छ।


    यस नियम लागू भएसँगै पर्यटकले व्यक्तिगत रूपमा घुम्न जाँदा सार्क मुलुकका पर्यटकले छ सय रुपियाँ तिर्दै आएकोमा अबदेखि एक हजार रुपियाँ तिर्नुपर्नेछ भने सार्क मुलुकबाहेकका पर्यटकले दुई हजार रुपियाँ तिर्नुपर्नेछ।

  • मेलम्चीको पानी वितरणमा थप पाइप बिच्छ्याउने तयारी

    मेलम्चीको पानी वितरणमा थप पाइप बिच्छ्याउने तयारी

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याउन सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ । सुन्दरीजलबाट जोरपाटीसम्म ११ किलोमिटर लम्बाइमा अहिले रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको आयोजनाले जनाएको छ । मेलम्चीको पानी पहिले सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा जान्छ । केन्द्रमा प्रशोधन भएपछि काठमाडौं उपत्यकाका अरु ठाउँमा जान्छ ।

    अहिले भइरहेको पाइपबाट पानी ल्याए पनि भविष्यमा थप पानी ल्याउन थप पाइप आवश्यक रहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले उल्लेख गरेको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा दैनिक ५१ करोड लिटर पानी उपत्यका आउनेछ । दैनिक ५१ करोड पानी आउँदा त्यसका लागि आवश्यक पाइप बिछ्याउन लागिएको निर्देशनालयले जनाएको छ । एक हजार आठ सय र एक हजार छ सय मिलिमिटरको जीआई पाइप बिछ्याउन लागिएको हो ।

    पहिले बिछ्याइएको पाइपको क्षमता २२ करोड लिटर रहेकामा अब २८ करोडको बिछ्याउन लागिएको निर्देशनालयले जनाएको छ । अहिले हिउँदमा दैनिक १७ करोड लिटर पानी काठमाण्डौ उपत्यकामा ल्याइएको छ । अहिले पनि वर्षामा दैनिक ५१ करोड लिटरसम्म पानी ल्याउन सकिने सम्भावना रहेको छ । क्षमताअनुसारको पानी ल्याउनका लागि थप पाइप आवश्यक भएको हो । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के नदीको पानी ल्याउँदा अहिले भइरहेको पाइप पर्याप्त नहुने बताइएको छ ।

  • जापानमा सेवा निवृत्त हुने उमेर बढ्यो

    जापानमा सेवा निवृत्त हुने उमेर बढ्यो

    काठमाडौं । जापानले राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर बढाएको छ । साविकमा ६० वर्ष रहेको निवृत्त हुने उमेर बढाएर ६१ वर्ष पुर्याइएको छ । अवकाश उमेर बढाउने कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमी र जोखिमलाई कम गर्न सहयोग पुग्ने विश्वास जापानको छ ।

    जापानले आगामी सन् २०३१ सम्ममा अवकाश उमेर ६५ वर्ष पुर्याउने लक्ष्य राखेको छ । अब दुई वर्षमा एक वर्ष थप हुने छ । सरकारको निर्णयसँगै निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तै कदम चाल्छन् वा यसलाई थप पर्खेर सरकारी निर्णयको कार्यान्वयनको प्रभावलाई हेर्छन् भन्नेतर्फ सबैको ध्यान केन्द्रित भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ ।

  • पेट सम्बन्धी समस्याका कारण राष्ट्रपति अस्पताल भर्ना

    पेट सम्बन्धी समस्याका कारण राष्ट्रपति अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पेट सम्बन्धी समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार जारी छ । राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।

    राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसलगत्तै उनको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।

  • कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?

    कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी बोलाइएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुनेछ । आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाउन बाँकी छ ।

    गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले चार जना मन्त्रीमात्र पठाएको थियो । आजको बैठकमा बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे निर्णय हुनेछ । नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र चितवन क्षेत्र नम्बर २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको छ ।