Category: समाचार

  • नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर

    नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

    उनले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको बताए । उनले तत्काल सानोतिनो धक्काले नेपालका बैङ्क तथा वित्तीय संस्थामा जोखिम नआउने बताए । सबै वित्तीय संस्थाको तथ्याङ्क बलियो रहेको उनको भनाई छ । उनले बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताए ।

    पछिल्लो समय बैङ्कहरूमा तरलता सहज हुँदै गएको समेत उनको भनाई छ । उनले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको जानकारी दिए ।


    गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरे । उनले फागुनदेखि कर्जाको ब्याजदरस्थिर भए पनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताए । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको उनको भनाई छ ।

  • म्यानमारमा सेनाको आक्रमणमा कम्तिमा ५३ जनाको मृत्यु

    म्यानमारमा सेनाको आक्रमणमा कम्तिमा ५३ जनाको मृत्यु

    काठमाडौं । म्यानमारमा जारी गृहयुद्धमा सेनाले गरेको हवाई आक्रमणमा ५३ जनाको ज्यान गएको छ । सैन्य सरकारको विरोध गर्ने सागिङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर आक्रमण भएको हो । आक्रमणमा परि कम्तीमा १५ जना महिला र कैयौँ बालबालिकाको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका बीबीसीको खबरमा उल्लेख छ । तर मृतकको सङ्ख्या भने पुष्टि भइसकेको छैन । सन् २०२१ मा सत्तामा आएदेखि सेनाले आफ्ना विरोधीहरूविरुद्ध हवाई आक्रमण गरिरहेको छ ।

    सागिङका समुदायले म्यानमारमा सैन्य शासनको चर्को विरोध गर्दै आएको छ । उनीहरूले छुट्टै फौज बनाएका छन् । साथै आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन् । म्यान्मारमा जारी गृहयुद्धमा हजारौँ मानिसको ज्यान गइसकेको छ भने १४ लाख मानिस विस्थापित भएका छन् । अहिले म्यानमारको झन्डै एक तिहाइ जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक रहेको राष्ट्र सङ्घले बताएको छ ।

  • जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध

    जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ । शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा मात्र लिन मन्त्रालयले निर्देशन दिएको हो । निजी विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकहरुलाई जानकारी गराउनुपर्ने र अभिभावकहरुले शुल्कको विषयमा प्रश्न र गुनासो पनि राख्न सक्ने मनलयले बताएको छ ।

    मन्त्रालयले शैक्षिक सत्र २०८० मा सुरु हुने विद्यार्थी भर्ना अभियानसँगै निजी लगानीका विद्यालयले लिने शुल्क, सार्वजनिक विद्यालयको भर्नासँग सम्बन्धित विषय तथा विद्यालयहरुमा पाठ्यपुस्तकको उपलब्धता र विक्री वितरणका विषयमा जिल्ला तहमा सहजीकरण गर्न जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

  • नेपालमा एकैदिन १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु

    नेपालमा एकैदिन १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १९६० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख १ हजार ९५१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ८९ हजार ४६१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या चार सय ६९ पुगेको छ। काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियू) मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन्।

    नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ देखा परेको छ।

  • बालेनको अभिव्यक्ति अराजक, गम्भीररुपमा ध्यानाकर्षण गराउछौं

    बालेनको अभिव्यक्ति अराजक, गम्भीररुपमा ध्यानाकर्षण गराउछौं

    काठमाडौं । शनिवार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको सन्देशले तरङ्ग सिर्जना गरेको छ ।

    उनले लेखेका सन्देशलाई राजनीतिक दलका नेताहरूले अराजक अभिव्यक्तिको संज्ञा दिएका छन् । मेयर शाहले लेखेको पहिलो सन्देश राजनीतिक दलका नेताहरूप्रति लक्षित थियो ।

    उनले कडा शब्द छनौट गर्दै लेखेका थिए–‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

    मन्त्रिपरिषद्को बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्ला दिनमा संघीय सरकारका विषयमा सामाजिक सञ्जालमा राखेको धारणा अराजक रहेको सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    “सिंहदरबार र बालुवाटारको फोहोर नउठाउने भनेर जे जसरी उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,” उनले भनिन्, “त्यो अराजकता हो भन्ने विषयमा हामीले गम्भीररुपमा छलफल गरेका छौँ । त्यसैगरी उहाँको ध्यानाकर्षण गराउने कुरा पनि भएको छ ।”

  • चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी पक्राउ, अनुसन्धान जारी

    चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी पक्राउ, अनुसन्धान जारी

    काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी पक्राउ परेका छन् । चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जना पक्राउ परेका हुन् ।

    मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका हुन् । बोगटीको साथमा रहेको हतियार समेत बरामद गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार उनका बिषयमा थप अनुसन्धान भइरहेको छ ।

    नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित चक्रे मिलनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । चक्रे मिलन नेकपा एमालेमा आवद्ध छन् ।

    facebook sharing button
    twitter sharing button
    pinterest sharing button
    email sharing button
  • दलाई लामाले किन माग्नु परेको हो माफी ?

    दलाई लामाले किन माग्नु परेको हो माफी ?

    काठमाडौं । दलाई लामाले एक बालकलाई मेरो जिब्रो चुस भनेको सुनिने भिडिओ सार्वजनिक भएपछि भारतमा निर्वासनमा रहेका ती तिब्बती धर्मगुरुले क्षमा मागेका छन्। लामाको कार्यालयका अनुसार उनले ती बालक र उनको परिवारसँग आफ्नो शब्दका कारण पुगेको चोटका लागि क्षमायाचना गरेका हुन्।

    उक्त भिडिओमा दलाई लामाले ती बालकलाई ओठमा चुम्बन गरेको पनि देखिन्छ। उहाँ आफूले भेटेका मानिसहरूलाई सार्वजनिक स्थान र क्यामराअगाडि प्रायः अबोध र रमाइलो किसिमले जिस्काइरहनुहुन्छ। उहाँलाई यो घटनामा पश्चात्ताप छ, उनको कार्यालयले भनेको छ। उक्त भिडिओ सार्वजनिक भएपछि दलाई लामाको धेरै आलोचना भएको छ।


    दलाई लामाको कार्यालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार ती बालकले दलाई लामालाई अङ्कमाल गरौँ भनेर सोधेका थिए। प्रतिक्रियामा दलाई लामाले आफ्नो गाला देखाउँदै पहिला यहाँ भने। ती बालकले दलाई लामालाई गालामा चुम्बन गरे अनि अँगालो हाले। त्यसपछि ती बालकको हात समाएर दलाई लामाले आफ्ना ओठ देखाउँदै यहाँ पनि भने अनि ती बालकको ओठ चुमिदिए।

    त्यसपछि दलाई लामाले ती बालकको निधारसँग आफ्नो निधार जुधाए र आफ्नो जिब्रो मुखबाट बाहिर निकाल्दै भने, मेरो जिब्रो चुस। त्यो सुनेर अरू मानिसहरू हाँसे। बालक र दलाई लामा दुवै जनाले आआफ्नो जिब्रो बाहिर निकाले। त्यसपछि फेरि अङ्कमाल गर्दै दलाई लामाले ती बालकसँग केही बेर कुरा गरे। उनले ती बालकलाई शान्ति र खुसी सिर्जना गर्ने असल मानव बन्ने सुझाव दिए।

    उक्त घटना गत फेब्रुअरी २८ मा भारतको धरमशालास्थित उनको मन्दिरमा भएको बताइएको छ। उक्त दिन दलाई लामाले १२० जना विद्यार्थीसँग अन्तर्क्रिया गरेका थिए। उक्त अन्तर्क्रिया आयोजना गर्ने संस्थाले मार्च महिनामा भएका कार्यक्रमका तस्बिरहरू सामाजिक सञ्जालमा प्रकाशित गरेको थियो। तीमध्ये अहिले चर्चामा रहेको भिडिओमा देखिने बालकसँग अङ्कमाल गरेको तस्बिर पनि छ। तिब्बती परम्परामा कसैलाई अभिवादन गर्न मुखबाट जिब्रो बाहिर निकाल्ने चलन पनि छ।

    चिनियाँ शासनविरुद्ध विद्रोह भएपछि सन् १९५९ मा तिब्बतबाट भागेका दलाई लामा भारतमा निर्वासनमा छन्। उनको वास्तविक नाम तेन्जिङ ग्यात्सो हो। उनी दलाई लामाका १४ औँ अवतार हुन्। तिब्बतका एक प्रमुख लामाका रूपमा पुजिने दलाई लामालाई तिब्बती बौद्ध परम्पराअनुसार अवलोकितेश्वरको अवतार मानिन्छ।

  • नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने

    नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । यस्ता क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको छ । यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्ने त्रिविले जनाएको छ ।

    यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने पनि जनाइएको छ । नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ । नवीकरण भएका क्याम्पसको विवरण आफ्नो वेबसाइटमा राखेको त्रिविले जनाएको छ ।

  • विराटनगरमा सार्वजनिक स्थानमा खैनी, सूर्ति, चूरोट सेवन निषेध गरिँदै

    विराटनगरमा सार्वजनिक स्थानमा खैनी, सूर्ति, चूरोट सेवन निषेध गरिँदै

    विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ। नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए।

    ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ। केही साताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो।

    विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बताए। महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलन लगायतका अभियान सञ्चालन गरिरहेको उनले बताए।
    पार्किङ स्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ।

    उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन्। ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ। सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ। महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु,’ उनले भने। रासस

  • रास्वपाले ढाकाकुमारलाई बचाउन मुस्किल, प्रमाण पुग्ने अर्को अडियो टेप पनि सार्वजनिक

    रास्वपाले ढाकाकुमारलाई बचाउन मुस्किल, प्रमाण पुग्ने अर्को अडियो टेप पनि सार्वजनिक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई बचाउने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रयास असफल हुने देखिएको छ । उनको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ। आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो । सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीबाट सार्वजनिक गरिएको छ ।

    ढाकाकुमारले आइतबारको अडिओ सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरी सहयोगको आग्रह गरेका छन् । अडिओको पछिल्लो भागमा ढाकाकुमारले दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै गौतमलाई फोन गरेका थिए । ‘दुर्गाजीले मेरो अडिओको बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थ गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर। अब यो नहुने कुरालाई बढाएर के फाइदा, फोनमा ढाकाकुमार भन्ने व्यक्तिले भनेका छन्।

    उनीसँग फोनमा बोल्ने व्यक्तिले भने आफू गाडीमा भएकाले त्यो विषयमा सल्लाह गरौंला सर, भरे कुरा गरौंला भन्दै फोन काटेका छन्। सार्वजनिक अडिओको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंलाई फोन गरेका छन्। प्रसाईंले उनलाई तपाईं ढाकाकुमारको भाइ हो भनेर सोध्छन्।

    उनले हो भन्छन्। यसपछि प्रसाईंलाई फोन गर्ने व्यक्तिले दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो भनेका छन् । दुर्गा प्रसाईंले ुयसमा मैले के गर्नुपर्छ त भन्नु न भनेर सोधेका छन् । ुमैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन। माग्न लाउनेको पो गल्ती हो त। बरू मैले कसरी सहयोग गर्न सक्छु भन्नु न, प्रसाईंले भनेका छन्।

  • कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो, एकै दिन १२४ जनामा पुष्टी

    कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो, एकै दिन १२४ जनामा पुष्टी

    काठमाडौं । एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जना उपचाररत र ४ जना भेन्टिलेटरमा उपचाररत छन् । सोमबार २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।

  • ‘दुई-तीन करोड फ्याँकेर हिँडेको मान्छे हुँ, कसैले प्रभावित पार्न नखोजे हुन्छ’

    ‘दुई-तीन करोड फ्याँकेर हिँडेको मान्छे हुँ, कसैले प्रभावित पार्न नखोजे हुन्छ’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो रेकर्ड चुनावकै मुखमा सार्वजनिक हुनुमा शंका व्यक्त गरेका छन्।

    सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोमा प्रश्न गरेका हुन्।

    उनले भने, ‘चुनावको मुखमा तीन महिना अगाडिदेखि हातमा बसेको, गोजीमा बसेको अडियो रेकर्ड किन ल्याइयो थाहा छैन, तर धन्यवाद छ। अगाडि नै ल्याइदिएको भए अर्कै मान्छेलाई सांसदको रूपमा राख्नुहुन्थ्यो। ढिला भयो।’

    लामिछानेले पार्टीभित्र देखिने यस्ता कृयाकलापको नियन्त्रणका लागि विधि बनाइएको र सोही विधिअनुसार कारबाही प्रकृया अगाडि बढाइएको बताए। ‘अरू दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो चलन छैन,’ लामिछानेले भने।

    अर्को एक कार्यक्रममा लामिछानेले रास्वपालाई बदनाम गर्ने उद्देश्यले अडियो रेकर्ड सार्वजनिक गरिएको आरोप लगाए। ‘त्यस्ता दुई-तीन करोडलाई लात्ताले कुल्चिएर, फ्याँकेर हिँडेको मान्छे हुँ। कसैले प्रभावित पार्न नखोजे हुन्छ,’ उनले भने। लामिछानेले सँगै हिँडेका सहयात्री साथीहरूले बीच बाटोमा बाटो बिराए तिनलाई ठेगान लगाउने आँट र साहस पनि आफूमा भएको बताए।

    आजै संसद् बैठकमा रास्वपाका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले आफ्नो पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो संवादबारे संसद् बैठकलाई जानकारी गराएका छन्। उनले सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको अडियोका बारेमा छानबिन गर्न समिति गठन गरिएको र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको जानकारी दिए।

    रास्वपाका प्रमुख सचेतकसमेत रहेका परियारले सांसद श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा पार्टीको तर्फबाट माफी पनि मागे। परियारले यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन्।

    ‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईंहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं। संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं। यो घटनाले विचलित हुने छैनौं। राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ।’रास्वपा प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो।

    यस्तो घटना पहिलो पटक भने नभएको परियारले तर्क गरे। उनले भने, ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन। यस्ता घटना विगतमा पनि भएका छन्। ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्छ।’

  • ‘२ करोड माग्ने कोर टिम भनेको को हो, छानबिन हुनुपर्छ’

    ‘२ करोड माग्ने कोर टिम भनेको को हो, छानबिन हुनुपर्छ’

    काठमाडौं । सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग गरेका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रश्न गरे, ‘मन्त्री बन्‍नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ ।

    यो भन्दा लज्जाबोध के हुन सक्छ ?’ सांसद श्रेष्ठले कोर टिमले रकम माग गर्न लगाएको भनी टेलिफोनमा भनेको उल्लेख गर्दै त्यो कोर टिम भनेको को हो भन्ने प्रश्न गर्दै सांसद गुरुङले उक्त कोर टिमबारे पनि छानबिन हुनुपर्ने बताए ।

  • अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी

    अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सांसद डा. ढाकाकुमार श्रेष्ठको घुस अडियो प्रकरणको पार्टीले सत्यतथ्य छानबिन गर्ने बताएका छन् ।

    सोमबार प्रतिनिधि सभा बैठकमा परियारले भने ‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं’ ।

    सत्यतथ्य छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्ने र प्रमाणित भए कारबाही गर्ने बताए । आफ्नो पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियन्ता भएको जिकिर उनले गरे ।

  • ‘बालेनसँग तत्काल वार्ता गरेर जायज माग पूरा गरियोस्’

    ‘बालेनसँग तत्काल वार्ता गरेर जायज माग पूरा गरियोस्’

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई काठमाडौं महानगरपालिकासँग आवश्यक विषयमा समन्वय गर्न माग गरेका छन्।

    सोमवार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

    उनले भने, ‘बाग दरबार र सिंहदरबारबीच टकराब देखिएको छ। काठमाडौं महानगरपालिकाको फोहोर नउठाउने भनेर जनप्रतिनिधि आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरुद्ध गराएर आफ्नो माग पूरा गराउने शैली यो ठिक वा बेठिक बहस हुन सक्ला।’

    ‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्’ उनले भने ।

    संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको थापाले बताए ।

    मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । देशको प्रमुख भिआइपी एरिया राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर आजपनि उठेको छैन।

    शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए।

    सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।

  • उठेन भिआइपी एरियाको फोहोर

    उठेन भिआइपी एरियाको फोहोर

    काठमाडौं । देशको प्रमुख भिआइपी एरिया राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर आजपनि उठेको छैन।

    शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए।

    सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।

  • ओली नेपालगन्ज पुग्दा विमानको ढोकैमै कार्यकर्ताको ठूलो भिड

    ओली नेपालगन्ज पुग्दा विमानको ढोकैमै कार्यकर्ताको ठूलो भिड

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा उनका कार्यकर्ताले उडान सुरक्षाको गम्भीर उल्लंघन गरेका छन्। एमाले अध्यक्ष ओली पनि सवार बीएचए ४५१ जहाज बिहान ९ः३० बजे नेपालगञ्ज जिमानस्थलमा अवतरण गरेको थियो ।

    सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगेको देखिन्छ ।

    जुन अन्तर्राष्ट्रिय वायु सेवा नियम अनुसार समेत नमिल्ने कार्य हो। नेपालको कानुन अनुसार त्यसरी जानेलाई कारबाहीको समेत व्यवस्था छ।

    विमानस्थल भित्र सर्वसाधारण र यात्रुलाई समेत विना बोर्डिङ पास जहाजको नजिकै जान दिइँदैन।

    तर, सोमबार अध्यक्ष ओली पुगेपछि कार्यकर्ताहरू पेलेरै गए। केही दिनअघि विमान उडिरहँदा झगडा गरेको भन्दै २ यात्रु पक्राउ परेका थिए। उनीहरूलाई उडान सुरक्षाको गम्भीर उल्लंघन गरेको भन्दै पक्राउ गरेर कारबाही अघि बढाइएको हो।

  • पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम

    पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम

    काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था कायम गरेको छ । यसअघि २३ चैतमा स्थानीय तहहरुलाई गरेको परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत सच्याएको हो । आइतबार स्थानीय तहमा गरिएको नयाँ परिपत्रमा भनिएको छ, ‘एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेथान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने ।’

    विवाहअघि बच्चा जन्माएकी एकल महिलाले पछि विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मदा आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न पनि विभागले परिपत्र गरेको छ । तर बच्चा मावलीमा बसेको भए मावलीकै ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ । बच्चाको जन्मदर्ता भइसकेपछि बाबु पत्ता लागेमा पुरानो जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट वा आमा वा दुवैको थर राखी नयाँ जन्मदर्ता गर्न विभागले परिपत्र गरेको छ ।

    त्यस्तै नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भए कानुन बमोजिमको संरक्षक वा माथवरले दिएको ठेगाना, नाम थर राखी जन्मदर्ता गरिदिन भनिएको छ । बाबुआमाको सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको जन्मदर्ता बाबुको स्थायी ठेगानामा नभएको भए आमाको स्थायी ठेगानामा जन्म दर्ता हुने विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले बताएका छन् । कारागारमा बच्चा जन्मिएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिन पनि भनिएको छ ।

  • कर्णालीबाट बाहिरियो एमाले,मन्त्रीहरुले बुझाए राजीनामा

    कर्णालीबाट बाहिरियो एमाले,मन्त्रीहरुले बुझाए राजीनामा

    काठमाडौं । नेकपा एमाले कर्णाली सरकारबाट बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

    आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा दिएका हुन् ।

    हालै मुख्यमन्त्री शर्माले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेले पनि विश्वासको मत दिएको थियो । र तत्काल सरकारबाट नबाहिरिने बताएको थियो । तर, आइतबार एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

    अब फेरि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ भने कांग्रेस सरकारमा सहभागी हुने बाटो खुलेको छ ।

    कांग्रेस र माओवादी मिल्दा सुविधानजनक बहुमत हुने भएकाले एमाले सरकारबाट बाहिरिँदैमा मुख्यमन्त्री शर्मालाई कुनै अप्ठ्यारो भने पर्ने छैन ।

  • बालेनको निर्देशनपछि उठेन सिंहदरबारको फोहोर

    बालेनको निर्देशनपछि उठेन सिंहदरबारको फोहोर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।

    सिंहदरबारको फोहोर उठाएर अहिले पुतली बगैंचामा राखिएको छ। सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गरेको छ। सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहर उठाउने र सरसफाइ गर्ने काम गर्छ।

  • रास्वपा सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक

    रास्वपा सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।

    अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।

    आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।

    अडियोमा उनले मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेका मान्छेलाई उक्त पैसा बुझाउनुपर्ने उल्लेख गरेका छन्। उक्त रकम आफूले पाएर स्वास्थ्यमन्त्री भएपछि व्यवसायी प्रसाईंका पक्षमा काम गर्ने बताएका छन्।

    अडियोमा उनले भनेका छन्, ‘हाम्रो भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयो । मन्त्रीका लागि रवि सरलाई दुई करोड बुझाउनुपर्ने कुरा आएको छ । मसँग पैसा छैन । अहिले एक करोड जति दिँदा हुन्छ । एक करोडचाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयोग चाहिएको छ ।’

    श्रेष्ठ यसअघि पनि विवादमा परेका व्यक्ति हुन् । उनले पोखराको एक सहकारीबाट करोडौं अनियमितता गरेको समाचार सार्वजनिक भएको थियो ।

  • प्रचण्ड एक्कासी एमाले सचिव भट्टको घर पुगेपछि…

    प्रचण्ड एक्कासी एमाले सचिव भट्टको घर पुगेपछि…

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले सचिव लेखराज भट्टको निवास पुगेका छन् ।

    आइतबार धनगढी गएका प्रधानमन्त्री दाहाल गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियास्थित भट्टको घरमा पुगेका हुन्।

    प्रधानमन्त्री दाहाल र भट्टबीच केहीबेर कुराकानीसमेत भएको छ। सुदूरपश्चिममा माओवादी केन्द्रका प्रभावशाली नेता मानिएका भट्ट नेकपा विभाजनपछि एमालेमा लागेका थिए ।

    माओवादी सशस्त्र द्वन्द्वको समयमा लेखराज प्रचण्डनिकट मानिन्थे । उनले प्रचण्डलाई एउटै मोटरसाइकलमा बोकेर हिँड्ने गरेका थिए ।

  • नेपाल प्रहरीसँग बालेन आक्रामक, सडक पेटीका बीट नहटाए भत्काउने चेतावनी

    नेपाल प्रहरीसँग बालेन आक्रामक, सडक पेटीका बीट नहटाए भत्काउने चेतावनी

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरका विभिन्न ठाउँमा सडकको क्षेत्राधिकार मिचेर बनाइएका प्रहरी बिट हटाउन सम्बन्धित मन्त्रालय र निकायलाई आग्रह गरेका छन् । उनले शानिबार सामाजिक सञ्जालमार्फत महानगरभित्र सडक तथा सडकपेटी मिचेर निर्माण गरिएका १९ वटा प्रहरी बिटको ठेगानासहित तस्बिर सार्वजनिक गर्दै यथाशीघ्र हटाउन सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।

    उनका अनुसार काठमाडौँ महानगरभित्र प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामङ्गल चोक, चुच्चेपाटी, ढल्को, ताम्सीपाखा, रुद्रमती मार्ग मैतीदेवी, असनचोक, नयाँ सडक ९न्युरोड० पीपलबोट, चिकमङ्गल, धोबीचौर, बानेश्वर देउराली क्लब, रातोपुल, बौद्ध, ताहाचल, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि र माछापोखरीमा सडकपेटीमै प्रहरी बिट छन् ।

    ऐन नियम सर्वसाधारणका लागि मात्रै नभई सबैका लागि रहेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले ती संरचना आफैँ नहटाए समतामूलक कानुनको प्रयोग गरेर महानगरले हटाउन बाध्य हुने चेतावनी दिएका छन् । उनले सडकपेटी सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर नै महानगरले सडकपेटी व्यापार रोकेको स्मरणसमेत गराएका छन् । महानगरले यसअघि मैतीदेवीमा रहेको एउटा प्रहरी बिट डोजर लगाएर हटाएको थियो ।

    उनले भनेका छन्, “कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैँले हटाउनुहोला । नत्र समतामूलक कानुनको प्रयोगका लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।”

    महानगर प्रमुख साहले सामाजिक सञ्जालमा राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरेको उल्लेख गरेका छन् । उनले कानुन सर्वसाधारण नागरिकका लागि र अरूका लागि अलग हुन्न भन्ने तथ्य स्थापित गर्न राज्यका सबै निकाय तयार बन्नुपर्ने पनि उल्लेख गरेका छन् ।

  • ताइवान आसपास पुनः चिनियाँ सेनाले बढायो गतिविधि

    ताइवान आसपास पुनः चिनियाँ सेनाले बढायो गतिविधि

    काठमाडौं । चिनियाँ सेनाले तीन दिने सैन्य अभ्यासका क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ। बेइजिङले ताइवानलाई चीनको एउटा टुक्रिएको प्रान्तको रूपमा हेर्छ। बीबीसीका अनुसार उसको अहिलेको सैन्य अभ्यासलाई उक्त टापुको सरकारलाई दिइएको कडा चेतावनीका रूपमा उल्लेख गरेको छ। ताइवानी राष्ट्रपति साई इङ(वेन अमेरिकाको भ्रमणबाट फर्केको केही घण्टापछि चीनले त्यो अभ्यास सुरु गरेको थियो।

    ताइवानको रक्षा मन्त्रालयले ७१ वटा चिनियाँ सैन्य विमान र ९ वटा सैन्य पानीजहाजले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको जनाएको छ। त्यो चिनियाँ र ताइवानी क्षेत्रलाई अनौपचारिक रूपमा विभाजन गर्ने रेखा हो। चीनका राज्य सञ्चालित सञ्चारमाध्यमले उक्त सैन्य अभ्यासले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र सैन्य अग्रतालाई व्यवस्थित गर्ने र चौतर्फी घेराबन्दी तथा प्रत्याक्रमणको सङ्केत गर्ने जनाएका छन्।

    उनीहरूले लामो दूरीको रकेट, नौसेनालाई ध्वस्त पार्ने अस्त्र, क्षेप्यास्त्र बोक्नसक्ने डुङ्गा, वायुसेना, लडाकु, बमवर्षक विमानलगायत चिनियाँ सेनाले तैनाथ गरेको पनि जनाएका छन्। ताइवानले आफूलाई एउटा सार्वभौम देश मान्छ र उसको आफ्नै संविधान तथा नेताहरू रहेका छन्। तर चीनले उक्त टापुलाई आफ्नै टुक्रिएर गएको भू(भाग ठान्छ र त्यो अन्ततस् बेइजिङ अन्तर्गत आउनुपर्ने रूपमा हेर्छ। उसले त्यसका लागि आवश्यक परे बल प्रयोग चेतावनी दिने गरेको छ।

    चिनियाँ राष्ट्रपति सी जिन्पिङले ताइवानसँगको “पुनः एकीकरण” जसरी पनि पूरा गर्नुपर्ने बताइसकेका छन्। चीनले प्रायः ताइवानको वरिपरि यस्तो खालको सैन्य अभ्यास गर्ने गर्छ। तर यसपालि ताइवानका राष्ट्रपतिले बुधवार अमेरिकी तल्लो सदनमा सभामुखसँग भेटेपछि त्यसको प्रतिक्रियास्वरुप अहिलेको सैन्य अभ्यास गरेको ठानिएको छ। ताइवानी राष्ट्रपति शनिवार उनको सरकारले अमेरिका र अन्य लोकतान्त्रिक राष्ट्रहरूसँग काम गरिरहने बताएकी छन्।

    उनका भनाइमा उक्त टापुले चीनबाट निरन्तर अधिनायकवादी विस्तारवादको सामना गरिरहेको छ। ताइवान वरिपरि चीनको तीन दिने सैन्य अभियानलाई ूयुनाइटेड शार्प स्वर्डू भनिएको छ। यो अभियान सोमवारसम्म चल्ने पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पूर्वी थिएटर कमाण्डले जनाएको छ। ताइवानको रक्षा मन्त्रालयले आफूले चीनको अभ्यासलाई शान्त, तर्कसङ्गत र गम्भीर ढङ्गका साथ जवाफ दिने बताएको छ। त्यो द्वन्द्व पनि नबढाउने र आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्न विवाद पनि ननिम्त्याउने आफ्नो सिद्धान्तमा आधारित भएको ताइवानको भनाइ छ।

  • बिष्केट जात्राभर भक्तपुरमा खुला स्थानमा जाँड-रक्सी बिक्रि गर्न रोक

    बिष्केट जात्राभर भक्तपुरमा खुला स्थानमा जाँड-रक्सी बिक्रि गर्न रोक

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म खुलारुपमा जाँडरक्सी बिक्री गर्न रोक लगाएको छ । भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नर गराउन जाँडरक्सी बिक्री वितरणलाई रोक लगाउने निर्णय गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए । भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म सञ्चालन हुने जात्रा अवधिभर खुलारुपमा जाँडरक्सी बिक्री हुँदा हिंसा, अपराध जस्ता घटना हुनसक्ने भन्दै जाँडरक्सीको खुला बिक्रीमा रोक लगाइएको उनको भनाइ छ ।

    खुला वा बोतलमा जाँडरक्सीको बिक्री वितरण, ओसारपसार तथा खाएको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ । जात्राको समयमा ढुङ्गामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृङ्खल गतिविधि गर्नेलाई पनि कडा कारबाही हुनेछ । त्यसैगरी मध्यपुरथिमि नगरपालिकामा विशेष गरी आउँदो बिहीवार, वैशाख १ गते र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतको जात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र खुला रुपमा जाँडरक्सी बिक्रीमा रोक लगाइएको छ ।

  • हारका बाबजुत भियतनाम विरुद्ध नेपालको संतोषजनक प्रदर्शन

    हारका बाबजुत भियतनाम विरुद्ध नेपालको संतोषजनक प्रदर्शन

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । तर भियतनामविरुद्ध पहिलो लेगमा गरेको खराब प्रदर्शनमा नेपालले सुधार गरेको छ । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा सुरुमै ७ मिनेट भित्र २ गोल खाएको नेपाल २–० ले नै पराजित भयो । पहिलो खेलमा नेपाल ५–१ ले पराजित भएको नेपाल ७–१ को नतिजासँगै ओलम्पिक २०२४ को महिला फुटबल छनोटबाट बाहरिएको हो ।

    बुधबार भएको पहिलो खेलको तुलनामा आज शनिबार नेपालले सुधारिएको खेल प्रदर्शन गरे पनि भियतनामसँगको हार टार्न सकेन । खेलको छैटौं मिनेटमा भियतनामले पाएको पहिलो कर्नरमा पोष्टमा अलमल हुँदा पाम हाइ यानले गरेको फितलो प्रहार गोल भयो ।

    त्यसको एक मिनेट पनि नबित्दै खेलको सातौं मिनेटमा तान थि थु था ओले गरेको पासमा पुन यानले नै गोल गरिन् । ७ मिनेटमै दुई गोलले पछि परे पनि त्यसपछि नेपालले सुधारिएको प्रदर्शन गर्‍यो र भियतनामलाई थप गोल हुनबाट रोक्यो ।

  • विमानस्थलको अनुगमनमा उपप्रधानमन्त्री

    विमानस्थलको अनुगमनमा उपप्रधानमन्त्री

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन तथा गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको भन्दै उनले शनिबार विमानस्थलमा पुगेर यस्तो निर्देशन दिएका हुन् । शनिबार उपप्रधानमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका थिए ।


    अनुगमनको क्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए । यस क्रममा गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहितका अधिकारीहरूले विमानस्थल प्रशासनका चालु गतिविधिहरू र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गरेका थिए ।

    सम्बोधनको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै महत्त्वको ठाउँ भएकाले त्यसलाई कमजोर गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताए \अन्तर्राष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो । यहाँबाट अपराध आयात नहोस् भनेर हामी अतिरिक्त सक्रिय हुनु जरुरी छ, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

    यस्तै उनले विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुबैप्रति अत्यन्त सहृदयी हुन अध्यागमनका कर्मचारीहरूलाई निर्देशन दिएका थिए । पर्यटकको प्रवेशद्वार आफैंमा देशको संस्कृति र सभ्यताको द्वार हुनुपर्ने भन्दै उनले सबै निकायबीचको सामूहिकता र अनौपचारिक सेवाभावले नै विमानस्थलको पनि सुधार हुनसक्ने बताएका थिए ।

  • ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटनाबाट बच्यो

    ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटनाबाट बच्यो

    काठमाडौं । ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबाट बचेको छ । हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको हो । शनिबार दिउँसो पौने २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो।

    अवतरण गर्नेक्रममा पछाडिपट्टिको टुक्रा खसेर छिमेकीको घरको छतमा परेको थियो । उक्त हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको थियो। त्यसैबीच हेलिकप्टरको केही भाग झरेपछि अर्कै हेलिकप्टर पठाइएको छ। यसबाट कुनै क्षति भने भएन ।

  • प्रधानमन्त्रीसहित शीर्ष तीन नेता र सभामुखबीच छलफल

    प्रधानमन्त्रीसहित शीर्ष तीन नेता र सभामुखबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । शनिबार अपराह्नमा सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो। लामो समयपछि तीन जना शीर्ष नेताहरूबीच छलफल भएको हो।

    छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी र गतिशील ढंगले चलाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए । अहिले प्रारम्भिक रूपमा छलफल भएको र केही दिनमै पुनः बैठक बस्ने पनि उनले बताए। ‘सदनका काम कारबाहीका सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले अगाडि बढाउने र अहिले आइराखेका समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो। प्रारम्भिक छलफल भयो। छलफल सकारात्मक छ,’ उनले भने।

    बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक (टिआरसी)लाई समितिमा पठाउनेबारे पनि छलफल भएको उनले बताए। प्रधानमन्त्री प्रचण्डले टिआरसी विधेयकलाई फास्ट ट्र्याकमा लैजान चाहेको बताए। तर प्रतिपक्षी दल एमालेले भने समितिमा लैजानुपर्ने अडान लिएको र बीचको बाटोबाट खोज्ने उनले बताए।

    ‘फास्ट ट्र्याकबाट फुल हाउसबाटै गरौं भन्ने छ। प्रतिपक्षीको कुरा चाहिँ समितिमा लगेर गरौं भन्ने छ। त्यसमा बीचको बाटो खोज्ने भन्ने पनि छ,’ उनले भने। यो विधेयकसँगै संवैधानिक परिषदसँग सम्बन्धी विधेयक र सम्पत्ति शुद्धिकरणसँग सम्बन्धी विधेयकलाई पनि छिटो टुंग्याउने विषयमा छलफल भएको उनले बताए।

  • ६४ जनामा कोरोना पुष्टी

    ६४ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।