काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
Category: समाचार
-

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
काठमाडौं । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।
एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।
शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भए ।
निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् ।
यस्तै जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाइन् । उम्मेदवारी निष्क्रिय बनाएपनि जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत पाइन् ।
-

उपराष्ट्रपति निर्वाचन: ८२९ मत खस्यो, साढे ३ बजेदेखि मतगणना
काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गतको मतदान कार्यक्रम सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । जम्मा ८२९ सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका हुन् ।
-

रास्वपाले उपराष्ट्रपतिमा ममता झालाई मत दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए ।
एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ । पार्टीसँग १९ संघीय सांसद छन् ।
यो एक हजार ५०१ मतभार हो । रास्वासँगै ममताको पक्षमा जनमत, लोसपा र नागरिक उन्मुक्तिको पनि मत पर्नेछ ।
उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् । उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ ।
-

बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने
काठमाडौं । बेलायतले नेपालको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिट तथा अर्थसचिव तोयम रायाबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भयो । कार्यक्रममार्फत १७ लाख मानिस लाभान्वित हुने जनाइएको छ ।
बेलायत र नेपालबीच पूर्वाधार निर्माण, मर्मतसम्भार र पुनर्निर्माणमा सहकार्यको लामो र गौरवशाली इतिहास रहेको राजदूत पोलिटले बताइन् । ‘यसले ६ दशकमा नेपाली जनताका लागि महत्त्वपूर्ण नतिजा दिएको छ, जसका लागि हामी र नेपाल सरकार अत्यन्तै गौरवान्वित छौं । यस नयाँ कार्यक्रममार्फत हामीले लिने दृष्टिकोणले स्थानीय निर्णय लिने र सेरुइस डेलिभरीलाई उच्च स्थानमा राख्नेछ र थप जवाफदेही, बलियो स्थानीय सरकार निर्माण गर्न मद्दत गर्नेछ,’ उनले भनिन्, ‘यो नयाँ दृष्टिकोणले नेपाल सरकारलाई पूर्वाधार पुर्याउने तरिकामा सुधार गर्न पनि मद्दत गर्नेछ ।’
लामो समयदेखि नेपालको सामाजिक र आर्थिक विकासमा बेलायतको योगदान एवं सहयोग निरन्तर रहेको अर्थसचिव रायाले बताए । यस कार्यक्रमले स्थानीय तहको पूर्वाधार, स्थानीय सरकारको क्षमता अभिवृद्धि र जनजीवनको गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
-

आफ्नै कार्यालयको महिला कर्मचारीमाथि कार्यकक्षमै अस्लिल हर्कत गर्ने डिन निलम्बनमा
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ। कृषि संकायका डिन दत्तले जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हरकत गरेको भिडियो सार्वजनिक भएको थियो। उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बनको पत्र लेख्दै सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताएका छन्। उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए।
कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डिन दत्तले अश्लील हरकत गरेको भिडिओ सार्वजनिक भएको थियो। जुम बैठकमा उनले अडियो म्यूट गरेका थिए भने, भिडियो अन नै थियो। दत्त कृषि संकायको ४ बर्षे दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए।
-

मुलुकले आज पाउँदैछ नयाँ उपराष्ट्रपति
काठमाडौं । मुलुकले आज नयाँ उपराष्ट्रपति पाउँदैछ । उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुने भएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगको भनाई छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी छ ।
उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य , सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनको समेत नाम छ ।उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्विर र नाम समावेश गरिएको छ । मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्विर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत दिनुपर्नेछ ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो पटक निर्वाचन हुन लागेको हो । मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।
-

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने
काठमाडौं । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिने भएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको विदा पनि दिएको छ ।
देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ ।
फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ । -

बागमतीका मुख्यमन्त्रीले चैत ८ मा विश्वासका मत लिने
काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् ।
उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको
छ ।केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।
गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदेशमा सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन्।
-

गृहसहित तीन मन्त्रालयमा समाजवादीको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी गरेका छन् ।
उनले यही चैत ६ गते विश्वासको मत लिने तयारी थालेका छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्त्रिपरिषदको नेतृत्व गर्ने सम्भावना छ ।
गठबन्धनमा रहेको चौथो ठूलो दलको हैसियतले गृह, अर्थ वा भौतिक योजनामध्ये रोजेको मन्त्रालय दाबी गरेको छ ।
यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या र शिक्षा, विज्ञान तथा प्रविधिमध्ये दुई मन्त्रालयमा पनि उनिहरुको दाबी रहेको छ ।
-

काठमाडौं उपत्यकामा वडाबाट आज नि:शूल्क कानूनी परामर्श
काठमाडौं । काठमाडौँ महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ। नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन्। सेवामा जानुअघि बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ।
सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ। त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन्। तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने कामपाको भनाइ छ। बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ।
कामपाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार महानगरको निःशुल्क कानूनी सेवा जनमैत्री प्रशासन सञ्चालनको अभ्यास हो। यसप्रकारको अभ्यास यसअघि गरिएको छैन। यस्तो अभ्यास अन्य पालिकाले पनि गरेका छैनन्। यसको सिकाइबाट आगामी दिनमा एउटा मार्गचित्र कोरिनेछ।
सेवा प्रदान गर्नका लागि हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरिएको छ। कक्ष सञ्चालनका लागि आवश्यक पर्ने टेबल कुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक पर्ने शैक्षिक सामग्री वडाले व्यवस्था गर्नेछ। सम्पादित कामको जानकारी र आपसी अनुभव तथा सिकाइ आदानप्रदान गर्नका लागि इन्टरनेटमा आधारित समूह निर्माण गरिनेछ।
सेवाग्राहीको तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाका बारेमा मौखिक वा लिखित जानकारी दिनु सेवाको मुख्य उद्देश्य रहेको बताइएको छ।
त्यसैगरी वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउने सहयोग गर्ने विद्यार्थीका मुख्य काम रहने छ।
त्यसैगरी यही चैत १५ र १६ गते सञ्चालन हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनमा ती विद्यार्थीलाई परिचालन गरिनेछ।
‘अन्य पालिकामा भन्दा कामपाको सेवा प्रवाह फरक छ’, कामपा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘स्थायी बसोबास भएका र अस्थायी बसोबास भएका दुवै प्रकृतिका सेवाग्राहीलाई सेवा दिनुपर्छ। सेवामा प्रशासनिक, कानूनी र व्यावहारिक सबै पक्ष हुन्छन्, अवस्था बुझेर सेवा दिनुपर्छ।’
-

विश्वकपमा प्रवेशमा भविश्य निर्धारण गर्ने महत्वपूर्ण खेल खेल्दै नेपाल, यूएईविरुद्ध पहिले फिल्डिङ
काठमाडौं । एक दिवसीय विश्वकपको अन्तिम छनोटको ढोका खोल्न महत्वपूर्ण मानिएको आफ्नो अन्तिम खेलमा आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आज नेपालले यूएईको सामना गर्दैछ । नेपालले टस हारेर पहिले फिर्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। तिब्र गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ।
नेपालले प्रतिश जिसी, ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ। टोलीमा अन्य परिवर्तन छैन। उता युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।
साढे ९ बजेदेखि सुरू हुने खेलमा बिहान सात बजेदेखि दर्शकहरू रंगशाला पुगेका छन् । मैदान प्रवेशको लागि सयौँ समर्थकको भिड लागेको छ।
क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री भइसकेको जानकारी दिएको छ। क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिँदै आज बिहान गेटमा टिकट नबेच्ने जानकारी दिएको थियो। -

यती एयर दुर्घटना छानविन गर्न गठित समितिको म्याद थप
काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद ४५ दिन थप गरेको छ । मंगगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद ४५ दिन थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । १ माघमा काठमाडौंबाट गएको यती एयरको विमान पोखरामा दुर्घटना हुँदा सबै ७२ जनाको मृत्यु भएको थियो ।
सरकारले सोही दिन पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाइ विज्ञहरुसमेत संलग्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । सुरुमा आयोगलाई ४५ दिनको समय तोकिएको थियो । आयोगले ३ फागुनमा प्रारम्भिक प्रतिवेदन दिँदै दुर्घटनाको १४ सेकेण्ड अगाडि पाइलट अञ्जु केसीबाट प्रशिक्षक पाइलट कमल केसीले कमाण्ड लिएको उल्लेख गरेको थियो । जाँच आयोगले काम सक्न बाँकी रहेकाले म्याद थप गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
-

डीडीसीले बढायो दुधको मूल्य
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ । डीडीसीका महाप्रवन्धक सन्जिव सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिएका छन् । उनका अनुसार बुधबारदेखि नै किसानले बढेको मूल्य पाएका छन् । त्यहीं मूल्य बिहीबारदेखि उपभोक्ताबाट लिने भएका छन् ।
अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ । हाल प्रतिलिटर ८६ रुपैयाँ रहेको मूल्य बिहीबारदेखि ९७ रुपैयाँ पर्नेछ । त्यस्तै, संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ । बिहीबारदेखि गाईको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँ पर्नेछ ।
संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएको छ । बिहीबारदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्नेछ । चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ हुने भएको छ।
-

श्रम स्वीकृतिमा अनिवार्य २ वर्षे प्रावधान हट्यो
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री स्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो । अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति, रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति दिइने भएको छ ।
मन्त्रालयका अनुसार यसअनुसार वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनु पर्ने बाध्यता हट्ने छ । विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोपछि सरकारले यस्तो निर्णय लिएको बताएको छ ।
मन्त्रालयका अनुसार अब पुनः श्रम स्वीकृति लिन समेत नेपाल आउनु पर्ने छैन । पुनः श्रम स्वीकृतको प्रावधान प्रभावकारी रुपमा कार्यान्वयनमा नआउँदा विदेशमा काम गर्ने कामदारले धेरै दुःख पाएको, पुनः स्वीकृति लिन नेपाल आउनु पर्ने भएको र पुनः श्रम स्वीकृति नभएको बेला भवितब्य परी मृत्यु भएका बेला पाउने राहत र उद्दारको सुविधा नपाएका कारण अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको समेत मन्त्रालयले जनाएको छ ।
यसका लागि बैंकिङ र मोवाइल एपबाट नेपालका खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था समेत मन्त्रालयले गर्न लागेको सहसचिव डुण्डुराज घिमिरेले जानकारी दिए ।
-

उपराष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय
काठमाडौं । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ।
पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको हो ।
फागुन २५ मा सम्पन्न राष्ट्रपति चुनावमा पनि राप्रपा मतदान प्रक्रियामा सहभागी भएको थिएन ।
किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको पनि राप्रपाको ठहर छ ।
यही चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ।
-

मन्त्री र कर्मचारीलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक
काठमाडौं । नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ।
मंगलबार बसेको मन्त्रिपरिष्द बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
त्यस्तै बैठकले पूर्वमुख्यसचिव लिलामणी पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय गरेकै दिन भने कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त स्वास्थ्य सचिवको वैदेशिक भ्रमण स्वीकृत गरिएको छ।
यसैगरी खानेपानी मन्त्री अब्दुल खान पनि संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन जाँदैछन्।
त्यस्तै, बैठकले दूधकाे मुल्य बढाएर प्रतिलिटर ६५ रूपैयाँ कायम गर्ने पनि निर्णय गरेकाे छ ।
यती एयरलाईन्सको एटीआर-७२, नाईन एन-एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाली सेनका महासेनानी पदमा एक जनालाई र सहायक रथी पदमा एकजना गरेर दुईजनाको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको उनका अनुसार बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि भएको छ ।
-

माग पूरा नभए जेठबाट बञ्चरेडाँडामा फोहोर फाल्न नदिने
काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले वैशाख मसान्तसम्ममा माग सम्बोधन नभए जेठबाट फोहोर फाल्न नदिने चेतावनी दिएको छ ।
सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पत्रचारमार्फत उक्त जानकारी गराएको हो।
वञ्चरेडाँडा ल्याण्डफिल साईटका बारेमा नेपाल सरकार र सम्बन्धित नगरपालिकाहरु, स्थानीय क्षेत्रका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीय निकायका जिम्मेवारी प्राप्त अधिकारीबाट प्रभाववित क्षेत्रका आम नागरिककको जिउधन, वातावरण विनाश लगाएतका विषयमा जिम्मेवार हुन नसकेको भन्दै सर्वत्र हाँसोको पात्र भएको विज्ञप्तिमा भनिएको छ।
‘प्रभाविन क्षेत्रमा मानववस्ती रहित क्षेत्र कायम गर्ने वा फोहरमैला निषेधित क्षेत्र गर्ने भन्ने सन्दर्भमा सरकार तथा सम्वद्ध पक्ष स्थानीय निकाय समेतले २०८० वैशाख मसान्त भित्र सरकारको त्यस्तो धारणा सहित विश्वास योग्य कार्यन्वयन प्रकृया सुरु नगरे स्थानीय नागरिकद्वारा २०८० जेष्ठ १ गतेदेखि उक्त क्षेत्रमा फोहरमैला लैजान सदाका लागि पूर्ण रूपमा रोक लगाइने व्यहोरा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।
-

राष्ट्रपतिको रामचन्द्र पौडेलको दुवै गालाको कोठी फिर्ता !
काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रयोग गरिएको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर तीनदिन पछि फेरिएको छ ।
तीव्र आलोचना भएपछि अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ ।
यसअघिको तस्बिरमा पौडेलको दुवै गालामा रहेका कोठी हटाइएको थियो भने चाउरी पनि मेटेर अनुहार चिल्लो पारिएको थियो । साथै पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो ।
पदभार सम्हालेलगत्तै राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएको ‘आधिकारिक तस्वीर’ अनावश्यकरूपमा सम्पादन गरेर सार्वजनिक भएको थियो ।
यसअघि दुई कार्यकाल राष्ट्रपति भएकी विद्यादेवी भण्डारीको अनुहारमा पनि मसिना कोठी थिए । तर, उनको औपचारिक तस्वीरमा कुनै काँटछाँट गरिएको थिएन ।
-

उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मतदान गर्न कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई सहयोग गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको हो ।
यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।
बैठकले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ लगायतका उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारीका उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन गर्ने निर्णय पनि गरेको छ।
-

प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने
काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र ६ गते विश्वासकाे मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले भने, ‘विश्वासको मत लिइसकेपछि सरकारमा जानेबारे छलफल अघि बढ्छ।
चैत ६/७ गतेतिर विश्वासको मत लिने कुरा छ। त्यस विषयमा प्रधानमन्त्रीज्यूले नै निर्णय गर्नुहोला।’एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ ।
-

उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि फोटोसहितको नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरेको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रमा गुलाबी रङ र प्रदेशसभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रङको प्रयोग गरिएको छ।
मतपत्रमा उपराष्ट्रपतिका उम्मेदवार चारैजनाको तस्बिरसहितको नाम उल्लेख गरिएको छ।
उपराष्ट्रपतिका लागि नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहाय यादव र प्रमिला कुमारी यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दिएका छन्।
उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको भए पनि आयोगले दिएको समयसीमाभित्र फिर्ता नलिएका कारण मत्रपत्रमा उनको पनि नाम र फोटो छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।
-

आइसीसी वरियतामा नेपालको झन सुधार
काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो । केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो ।
पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ । नेपालले लिग टु मा ११ खेल खेल्दा १० खेल जितेको छ । नेपालले घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम शृखंद्याको अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ । एसोसिएट राष्ट्रहरुमध्ये नेपालभन्दा अघि स्कटल्याण्ड (१२औं), नेदरल्याण्ड्स (१४औं) र ओमान (१५औं)स्थानमा छ । भारत ओडीआई वरीयताको शीर्ष स्थानमा छ ।
-

नेपालमा कस्तो रहला आजको मौसम ?
काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
-

ठगी प्रकरण: पृथ्वी शाहसहित ६ जना जेल चलान
काठमाडौं । सोमबार जिल्ला अदालत काठमाडौंले शंकास्पद धन नेपाल भित्राएएका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।
शाहले २४ जनासँग उनले २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको प्रहरीले जनाएको छ।
शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्लेसहित १९ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो। जसमध्ये ६ जनाबाहेक अन्य व्यक्ति भने अहिलेसम्म फरार छन्।
प्रहरीले शाहसँगै २० जनालाई प्रतिवादी बनाएकोमा हालसम्म ७ जना पक्राउ परेका छन् । अन्यको भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । अभियुक्त मनिला तामाङ भने ५० हजार धरौटीमा रिहा भएकी छिन्।
शाहविरुद्ध ५६ जना अमेरिकी नागरिकसँग ठगीको आरोप लागेको थियो । उनीविरुद्ध प्रहरीमा २४ जनाले उजुरी दिएका थिए। २४ जनासँग उनले २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको प्रहरीले जनाएको छ।
शाहले ठगी गरि ‘स्विफ्ट’ मार्फत अमेरिकी डलर, ब्रिटिश पाउन्ड र क्यानेडियन डलर नेपालमा पठाएको तथा सो रकम नेपालका बैंकहरुमा डिपोजिट गरेका थिए ।
उनको ठगीमा पर्ने सबैजना अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ। ठगी गरि ल्याइएको रकमबाट उनले नेपालमा नक्कली कम्पनी, घरजग्ग तथा बीमामा लगानी गरेको पाइएको छ ।
-

निजामती कर्मचारी अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी
काठमाडौं । निजामती कर्मचारी अस्पतालले ठूलो संख्याका कर्मचारी माग गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो ।
अस्पतालले दशौँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । एकै दिन दुईवटा सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पताले दशौँदेखि चौथो तहसम्मका लागि ठूलो संख्याका कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।
आवेदन अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट दिनु पर्नेछ। उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, तालिम, अनुभव, व्यवसाय अनुमति र पेसागत आबद्धता प्रमाणपत्र, शैक्षिक योग्यता (समकक्षता वा सम्बद्धता आवश्यक भए सो समेत), समावेशी समूह खुल्ने कागजात अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा पीडिएफ बनाएर अपलोड गर्नुपर्नेछ ।
न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने छन् ।
-

यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने तयारी गरेको छ ।
काठमाडौंका जात्रा–पर्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न यो तयारी गरिँदैछ भने त्यसअघि यस विषयमा स्थानीय समुदाय र गुठीसँग छलफल गरिने छ ।
हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा काठमाडौंंको जमलबाट सुरु भएर चैत शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मत्स्येन्द्रनाथलाई उपत्यकावासीले वर्षा र सहकालका देवताका रूपमा पूजा गर्छन् । बुधबारदेखि रथ यात्रा सुरु हुँदै छ ।
-

पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ ।देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
-

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने भएको उल्लेख गर्दै संविधानमा महिला नै हुनुपर्ने बाध्यकारी व्यवस्था नभएको जनाएको छ।
राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भइसकेका कारण उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरीत रहेको दाबीसहित उनको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
उक्त उजुरीमाथि छानबिन गर्दै निर्वाचन आयोगले उम्मेदवारी बदर गर्न नपर्ने बताएको छ ।
-

चिनियाँ पर्यटकले नेपालमा अब बीना अवरोध घुम्न पाउने
काठमाडौं । चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि जोडेको छ । कोभिडयता नेपाल प्रतिवन्धमा थियो । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूचीमा राखिएको छ । फागुन १ गतेदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक एकल र समूहगत रूपमा नेपाल घुम्न आउने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार शुक्रबार नेपालका लागि चीनका राजदूत छन सोङसँगको शिष्टाचार भेटमा चीनका विभिन्न सहरबाट सिधा उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा अगाडि सारेकोबारे छलफल भएको छ ।
चीनले कोरोना महामारीको नियन्त्रणको उपाय भन्दै सन् २०२० को जनवरी अन्त्यदेखि लागू हुने गरी आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदै आएको थियो । पर्यटकीय सूची सार्वजनिक गर्नुअघि नै नेपाल र चीनबीचको हवाई सेवा भने आंशिक रूपमा खुला गरिएको छ । हाल नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौँबाट कुनमिङमा हप्तामा दुई र राजधानी बेइजिङमा एक उडान गरिरहेको छ ।
एयर चाइनाले छन्तु–काठमाडौँ रुटमा हप्तामा दुई उडान गरिरहेको छ । त्यसैगरी चाइन साउदर्न एयरले हप्तामा एक पटक काठमाडौँ–ग्वान्झाउमा उडान गरिरहेको छ ।
