Category: समाचार

  • नक्सा पास भएको विवरण पठाउन जिल्ला अदालतलाई महानगरकाे पत्र

    नक्सा पास भएको विवरण पठाउन जिल्ला अदालतलाई महानगरकाे पत्र

    काठमाडौं । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।

    महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ ।

    बुधबार न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको स‌‌रचना हटाउने क्रममा मेयर बालेन्द्र शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाउने बताएका थिए । उनैले अदालतको भवनको नक्सा पास भएको नभेटिएकाले पत्र काटेको जानकारी दिएका थिए ।

  • मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउनेसहित २२७ जना चालक कारवाहीमा

    मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउनेसहित २२७ जना चालक कारवाहीमा

    काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारवाहीमा परेका छन् ।

    १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारवाहीमा परेका हुन् ।

    जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक १ जना , बा १९ च ८५४८ नम्बरको पानि बोक्ने सवारी साधनका चालक १ जना, बा २ क ३२७९ नम्बरको वालकुमारी स्थित कान्जिरोवा स्कुलका बस चालक १ जना र बा ९ च ९४६२ नम्बरको सवारी साधनका चालक १ एक जना रहेका छन् ।

    यस्तै अवस्था ठिक नभएका सवारी चलाउने ५२ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउने ११ जना र अन्य कसुरमा १ सय ६० जना चालकहरू पनि कारवाहीमा परेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

  • अनधिकृत संरचनामा बालेनको ‘एक्सन’, काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर

    अनधिकृत संरचनामा बालेनको ‘एक्सन’, काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर

    काठमाडौं । नक्सापास नगरी अवैध रुपमा बनाइएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगर आक्रमक रुपले लागिपरेको छ ।

    एउटा प्रयोजनका लागि नक्सा पास गरी अर्कै संरचना बनाइएको स्थानमा महानगरले त्यस्ता संरचना धमाधम भत्काउन थालेको हो ।

    केही दिनअघि मात्रै नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको महानगरले आज काठमाडौंको मुटु मानिने सुन्धारास्थित काठमाडौं मलमा डोजर चलाएको हो ।

    बुधबार बिहान मेयर बालेन्द्र शाह (बालेन), काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित काठमाडौं मलमा पुगेर अनधिकृत संरचनामा डोजर चलाइएको हो ।

    त्यस्तै, बुधबार नै महानगरले खिचापोखरस्थित आरबी कम्प्लेक्सले अनधिकृत रुपमा बनाएको संरचनामा डोजर लगाएको छ ।

    यसअघि महानगरले नक्सा पास विपरीत बनाइएक संरचना हटाउन ३५ दिने सूचना जारी गरे पनि सम्बन्धित घरधनीले वेवास्ता गरेपछि महानगर आफैं त्यस्ता संरचना हटाउन लागि परेको हो ।

  • भोटका लागि एमालले नागरिकता विधेयकमा पाखण्डी प्रचार गरिरहेको छ : प्रचण्ड

    भोटका लागि एमालले नागरिकता विधेयकमा पाखण्डी प्रचार गरिरहेको छ : प्रचण्ड

    भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरकिता विधेयकबारे एमालले भोटका लागि पाखण्डी प्रचार गरिरहेको बताएका छन् । विधेयकका प्रावधान एमालेले ल्याएको अध्यादेश भन्दा फरक नभएको भन्दै अहिले उसले गरिरहेको प्रचार केवल भोटका लागि भएको प्रचण्डको भनाई छ । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले भोट बटुल्न गलत प्रचार गरेको बताएका हुन् ।

    विधेयकमा आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय मात्र नयाँ भएको समेत स्पष्ट पारे । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लगिएको अध्यादेशमा भएका व्यवस्थाभन्दा कुनै फरक नभएको भन्दै उनले अगाडी भने, ‘ती मान्छेहरू जसले यही विधेयकलाई पोहोर अध्यादेशका रूपमा लगेका थिए तिनीहरूले नै यसलाई राष्ट्रघाती भन्नुभन्दा बेइमानी र अनैतिक केही हुँदैन ।’

    राज्यव्यवस्था तथा सुशासन समितिको प्रस्ताव सदनमा लैजान पनि तत्कालीन नेकपाका अध्यक्ष ओली र एमाले गुटले नै नमानेको उनले बताए । एमालेले चुनावलाई हेरेर गलत प्रचार गरिहेको छ भन्दै उनले भने, ‘राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ कि भनेर दुस्साहस गरिररहेका छन् । तर नेपाली जनता सचेत भइसकेका छन्, बुझिसकेका छन् । यस्ता पाखण्डी प्रचारको पछि लाग्दैनन् ।’

  • समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग

    समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलसँग निवेदन माग गरेको छ । आयोगले बुधबार भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौँमा निवेदन दिन सकिने गरी सूचना जारी गरेको हो । आयोगले साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको थियो ।

    सो क्रममा ८४ वटा दल दर्ता भएका छन् । दर्तामध्ये १२ वटा दल तालमेलमा पुगेका छन् । अब यसरी दर्ता दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छुट्टै निवेदन दिनुपर्छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ।

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकमा भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ। एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउनेछन्।

    ‘एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा त्यस्ता सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रूपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिले र त्यस्ता दलहरूले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी निवेदन दिनुपर्नेछ’, सूचनामा भनिएको छ।

    दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्नेछ। आयोगको निर्वाचन कार्यतालिकाबमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्नेछ।

  • निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान

    निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान

    काठमाडौं । आगामी निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थासँग निर्वाचन आयोगले प्रस्ताव मागेको छ । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगले पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि निवेदन मागेको हो । राष्ट्रिय संस्थाहरूलाई आयोगले पर्यवेक्षण अनुमति दिने तयारी गरेको छ।

    संस्था दर्ता प्रमाणपत्र प्रतिलिपी, संस्थाको विधान प्रतिलिपी, नवीकरण, पदाधिकारी विवरणलगायत खुलाएर आयोगमा निवेदन दिन सकिनेछ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेश नगर्ने संस्थालाई अनुमति नदिइने पनि आयोगले प्रष्टाएको छ।

  • भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने

    भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने

    काठमाडौं । भारतीय स्थल सेनाअध्यक्ष मनोज पाण्डे १९ भदौमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी ५ दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा अनुसार उनी नेपाल आउन लागेका हुन् । उनी नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी हुन्छन् ।

    पाण्डेले नेपाल भ्रमणका बेला काठमाडौंका ऐतिहासिक सम्पादा र पशुपतिनाथको पनि दर्शन गर्ने कार्यक्रम छ । नेपाली सेनाका अनुसार सन् १९५० देखि नेपाल र भारतबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने चलन रही आएको छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।

  • मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन

    मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन् । सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदसेयता लिन नपाइँने व्यवस्था रहेको उल्लेख गर्दै मेयर साहले दलमा आवद्ध नहुन सचेत गराएका हुन् ।

    ऐनको दफा १४ को उप दफा २ को खण्ड ग ले कुनै पनि सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीलाई राजनीतिक दलको सदस्यता दिन नहुने व्यवस्था रहेको छ । काठमाडौं महानगरपालिकाको कर्मचारी सेवा ऐन २०७७ मा पनि दलको गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेकोबारे उनले कर्मचारीको ध्यानाकर्षण गराएका छन् ।

    कुनै शिक्षक वा कर्मचारी दलमा आवद्ध भएको पाइएमा आफ्नो इमेलमा जानकारी दिनसमेत उनले सार्वजनिक अपिल गरेका छन् । यसअघि निर्वाचन आयोगले पनि शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्ने चेतावनी दिएको थियो ।

  • साउनमा १३ प्रतिशतले घट्यो आयात

    साउनमा १३ प्रतिशतले घट्यो आयात

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो महिना (साउन)मा आयातमा ठूलो गिरावट देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १२.९० प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो । आयातसँगै निर्यातमा समेत यो महिनामा गिरावट आएको छ । विभागका अनुसार साउनमा मात्र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

    यो गत आवको यसै महिनाको तुलनामा २८.६८ प्रतिशत कम हो । गत आवमा साउनमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । आयात र निर्यात दुवै घटेको यो महिना गत वर्षको साउनको तुलनामा वैदेशिक व्यापार खस्किएको छ । साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार भएको छ । यो गत आवको साउनको तुलनामा १४.८१ प्रतिशत कम हो ।

    गत आवमा १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । व्यापार घाटा भने यो महिनामा १ खर्ब १६ अर्ब ४७ लाख रुपैयाँ बराबरको भएको छ । यो गत साउनको तुलनामा १०.३८ प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ बराबर व्यापार घाटा थियो । अहिले १ सय रुपैयाँ बराबरको वैदेशिक व्यापार भएमा ८९.८६ प्रतिशत आयात र १०.१४ प्रतिशत निर्यातको हिस्सा रहेको छ ।

  • नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको निधन

    नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २१९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ९८९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७९ हजार ७७४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४२२१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९४ पुगेको छ ।

  • दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

    दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

    काठमाडौं । सरकारले दुई मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

    भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे मंगलबार जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार ततथा सूचना प्रविधिमन्त्री त्रानेन्द्रबहादुर कार्कीले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिएका हुन्।

    उनका अनुसार मन्त्रिपरिषद बैठकले सहरी विकासमा ३८० वटा र कृषि तथा पशुपक्षी विकासमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

  • विप्लव नेतृत्वमा ४ पार्टीको बन्द:गाडी तोडफोड गर्ने बन्दकर्ता स्थानीयबाट कुटिए

    विप्लव नेतृत्वमा ४ पार्टीको बन्द:गाडी तोडफोड गर्ने बन्दकर्ता स्थानीयबाट कुटिए

    काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव देशभर नै सामान्य मात्रै परेको छ।

    काठमाडौं उपत्यकमा प्रभाव नदेखिएपनि तराईंका जिल्लामा भने सामान्य असर देखिएको छ। यस्तै, केही पहाडी जिल्लामा पनि बन्दकर्ताले सवारी साधनमाथि तोडफोड गर्ने प्रयास गरेपनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

    बन्द गराउँदै हिँडेको आरोपमा काभ्रेको बनेपामा एक जनालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

    बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन्। पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत छन्।

    बन्द गराउँदै हिँडेका राउतले बसमा ढुंगा प्रहार गरेपछि आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीयले घेरेका थिए।

    नेपाल बन्दका कारण सडक यातायातसँगै, उद्योग कलकारखाना, विद्यालय लगायतमा असर नपरेपनि केही ठाउँमा शंकास्पद वस्तु फेला पर्दा स्थानीय नागरिक त्रसित बनेका छन्।

    सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो।

    विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन्। अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका हुन्।

  • संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका लागि ल्याएको विधेयक टेबुल

    संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका लागि ल्याएको विधेयक टेबुल

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ।

    गत असार ३१ गते दर्ता भएको यो विधेयक मंगलबार संसदमा दर्ता भएको हो। विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेका हुन्।

    विरोधको सूचनामाथि गरिएका प्रश्नहरुको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दीले सातै प्रदेशमा परामर्श गरिएको, सरोकारवालापक्षहरुसँग प्रयाप्त छलफल गरेर विधेयक ल्याइएको बताए।

    सामान्य समयमा, युद्ध नभएको बेलामा, सामान्य अपराधको समय र मुलुकमा भएको युद्धका समयमा भएका मानव अधिकार उल्लंघनको घटनालाई एकै रुपमा लिन नसकिने उनले बताए।

    विश्वका धेरै देशमा युद्ध हुँदा मानव अधिकार उलंघन भएको र त्यसका लागि सम्बोधन गर्न द्वन्द्वका कारण पत्ता लगाउने, किन भएको, के कस्ता घटनाहरू भए भन्ने पत्ता लगाउने र निश्चित घटनाहरुलाई ट्रायलमा लैजाने र अन्यलाइ मेलमिलापमा लैजाने अभ्यास विश्वभरी नै रहेको बताए।

    युद्धका समयमा सबै घटनालाई फैजदारी अपराध भनेर कतै नभनिने उल्लेख गर्दै उनले परिपुरणसहित युद्धको समयको घटनाहरुको सम्बोधन गर्ने अभ्यास पनि विश्वस्तरमा रहेको बताए।

    मानव अधिकार, गम्भीर मानव अधिकार उल्लंघनको परिभाषाका सन्दर्भमा संसदले छलफल गरेर आवश्यक संशोधन गर्न सक्ने उनले बताए ।

    कानुनमन्त्री बन्दीले देशमा विभेद रहेको, कुकुरको पुजा हुने तर मानिसहरुका बीचमा छोइछिटो रहेको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्न राजनीतिक कोर्सका रुपमा अगाडि बढेको बढाए। साथसाथै सशस्त्र द्वन्द्वलाई संविधानले समेत स्वीकार गरिसकेको पनि कानुनमन्त्री बन्दीले बताए।

    २०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा माओवादीले सुिरु गरेको सशस्त्र युद्ध २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापछि अन्त्य भएको थियो। तर, त्यस अवधिमा भएका घटनाहरुको अझै निरुपण हुन सकेको छैन्।

    विधेयकमाथि पीडित पक्ष, राष्ट्रिय मानव अधिकार आयोग, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगायतले असन्तुष्टि जनाउँदै आएका छन्।

    यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थागित गरिएको छ। प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते बिहान ११ बजे बस्ने छ।

    भदौ १२ गतेसम्म पार्टीका विभिन्न बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक एक सातासम्म स्थागित गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको थियो ।

    आज एमालेको स्थायी कमिटी बैठक छ भने ९ गते पोलिटब्युरो, १० र ११ गते केन्द्रीय कमिटी र १२ गते निर्वाचन परिचान कमिटीको बैठक बस्ने तालिका छ।

  • नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

    नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

    काठमाडौं । आज नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेका छन् । यसको प्रभाव सामान्य देखिएको छ । बिहान बन्द सफल गराउन विभिन्न स्थानमा सवारी साधनमाथि तोडफोड भएको खबर आएका छन् । सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले बन्द आह्वान गरेका हुन् ।

    गृहमन्त्री बालकृष्ण खाणले विप्लव नेतृत्वको पार्टीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए पनि उनीमाथि पक्राउ पुर्जी नै जारी भएको छ । काठमाडौंको सडकमा सार्वजनिक सवारी साधन साविकभन्द्या केही कम देखिएका छन् । निजी सवारी निर्वाध चलेका छन् । बिहान थापागाउँमा नेपाल यातायातको बा ४ ख ९०८९ नम्बरको बस तोडफोड भएको छ।

    कोटेश्वरमा बिहान महासागर यायायातको एक यात्रुबहाक बसमा ढुंगा प्रहार भएको छ । कोटेश्वरमा एक माइक्रोमा पनि तोडफोड भएको प्रहरीको अपडेट छ । डिल्लीबजारको सफ्टवारिका कलेजमा पनि मोटरसाइकलमा आएको एक समूहले तोडफोड गरेको छ । काठमाडौंमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

  • प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?

    प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?

    काठमाडौं । सत्ता गठबन्धन भित्रका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने गरी तयारी थालिएको छ । दुबै दलका नेताहरु एकता प्रक्रियालाई औपचारिकता दिन सहमत भएसँगै यो प्रक्रियाले गति लिने देखिएको छ । दुई दलबीचको छलफलमा ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेता तयार भएका छन् ।

    सो प्रयोजनका लागि एकता संयोजन समिति गठन हुने भएको छ । यसले एकताको अवधारणापत्र तयार पार्नेछ । यस्तो समितिको संयोजकमा दुबै दलका अध्यक्ष रहने भएका छन् । चुनाव अगाडि संयुक्त घोषणापत्र लिएर अगाडी जाने सहमति समेत भएको छ । यसरी एकता भएमा पार्टीलाई दोस्रो शक्तिसम्म बनाउन सकिने आंकलन नेताहरुको छ ।

  • नेपालमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ६५८ जनामा संक्रमण पुष्टी

    नेपालमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ६५८ जनामा संक्रमण पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३८१ जनाको पीसीआर परीक्षण गर्दा ४०५ जना र ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ६४६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७९ हजार ३५७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४२९६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९३ पुगेको छ ।

  • मंगलवार ‘विप्लव’को नेकपासहित चार दलको नेपाल बन्द

    मंगलवार ‘विप्लव’को नेकपासहित चार दलको नेपाल बन्द


    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन्।

    सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महँगी र राष्ट्रघाति सन्धिरसम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन्।

    ‘भदौ ७ गते बेपाल बन्दको आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि यहाँहअरुको संघसंस्थाबाट आवश्यकसहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहूति र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णबहादुर बुढाथोकीको हस्ताक्षर रहेको छ।

    ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन्। आफूहरू एमसिसी सम्झौता र एएसपिपी परियोजनाका विरुद्धमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

    उनीहरूले राष्ट्रहितविरुद्धका असमान सन्धिसम्झौताहरू खारेजीको माग पनि अघि सारेका छन्।

  • संसदका दुबै सदनबाट प्रदीप गिरिकाे निधनप्रति शोक प्रस्ताव पारित

    संसदका दुबै सदनबाट प्रदीप गिरिकाे निधनप्रति शोक प्रस्ताव पारित

    काठमाडौं । संघीय संसदका दुबै सदन प्रतिनिधि र राष्ट्रियसभाबाट सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित भएको छ। सोमबार बसेको बैठकले गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।

    गिरी नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यस्तै, २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए भने वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

    उनको शनिबार बेलुकी उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो।

    अब प्रतिनिधिसभाको अर्को बैठक भदौ ७ गते मंगलबार बिहान १० बजे र राष्ट्रियसभाको १२ गते आइतबार अपरान्ह १ बजे बोलाइएको छ।

  • सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन

    सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन

    काठमाडौं । सरकारले आफ्नो माग सम्बोधन गर्न सहमत भएसँगै निहारिका राजपुतले अनशन तोडेकी छिन् । उनी १७ दिनदेखि काठमाडौंमा अनशन बसेकी थिइन् । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले आइतबार साँझ अनशन तोडेकी हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने उल्लेख छ ।

    शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर निहारिका गएको जेठ २९ गतेदेखि काठमाडौंमा अनशन बसेकीहुन् । सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि असार ३ गते उनले अनशन रोकेकी थिइन् । तर सहमतिअनुसार माग पूरा नभएको भन्दै उनले राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।

  • आयोगद्धारा निर्वाचनका लागि ११ अर्ब रुपैयाँ माग

    आयोगद्धारा निर्वाचनका लागि ११ अर्ब रुपैयाँ माग

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि अर्थमन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट मागेको छ । आइतबार आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको हो । बजेट मन्त्रालयले निकासा गरेपछि खर्च गर्न सकिने छ । सरकारले ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

    आयोग निर्वाचनको तयारीमा छ । स्थानीय तह निर्वाचनमा भन्दा यसपालि अनुमानित पाँच लाख बढी मतदाता थपिएका छन्। मतदाताको संख्या एक करोड ८२ लाख हुनेछ । यस निर्वाचनमा करिब १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र रहनेछन् ।

  • गोकर्ण विष्ट विरुद्ध चुनाव लड्ने रामकुमारी झाक्रीको घोषणा

    गोकर्ण विष्ट विरुद्ध चुनाव लड्ने रामकुमारी झाक्रीको घोषणा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने निश्चित भएको छ । आइतबार फेसबुकमा एक तस्बिर राख्दै उनले गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी गराएकी हुन् । यो एमाले नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो । उनले एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएकी छन्। यसअघि उनी नेकपा एमालेबाट समानुपातिक सासंद बनेकी थिइन्। गत संसदीय निर्वाचनमा एमाले र माओवादीको गठबन्धनबाट विष्ट १४ हजार भन्दा बढी मतले विजयी भएका थिए ।

  • गिरिको निधनमा आज संसदमा शोक प्रस्ताव पारित हुँदै

    गिरिको निधनमा आज संसदमा शोक प्रस्ताव पारित हुँदै

    काठमाडौं । आज संसद बैठकमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गरिँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

    प्रतिनिधि सभा सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।

  • आर्थर गन दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

    आर्थर गन दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।

    आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरे।

    कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकाले पोखरेललाई सम्मान गरिएको थियो। पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुशीको लागेको बताउनुहुँदै मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे।

    काठमाडौंको रविभवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सन् २०१४ मा अमेरिका गएका पोखरेल ‘अमेरिकन आइडल’ को स्टेजमा दमदार उपस्थिति जनाइ लोकप्रिय बनेका थिए। मन्त्री श्रेष्ठले विभिन्न विधामा रहेका नयाँ प्रतिभाहरूले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको बताए।

    प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा रहेका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सीताको जन्मस्थल जनकपुरसहित अन्य विभिन्न धार्मिक क्षेत्र पशुपतिनाथ, मुक्तिनाथका साथै अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको प्रचारप्रसारमा पोखरेलले भुमिका खेल्ने विश्वास व्यक्त गरे।

    विश्व सद्भावना दूत नियुक्त भएपछि पोखरेलले संगीतमार्फत नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

  • राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

    राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

    आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

    ७५ वर्षको उमेरमा शनिबार राति ललिपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सरपीडित गिरिको निधन भएको थियो ।

    आइतबार बिहान अस्पतालमा र दिउँसो कांग्रेस मुख्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलिपछि शवयात्रा निकालिएको थियो ।

    गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।

  • नेपालमा थप २८६ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

    नेपालमा थप २८६ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

    काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१६ जनाको पीसीआर परीक्षण गर्दा २०२ जना र १६०७ जनाको एन्टिजेन परीक्षण गर्दा ८४ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार २४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४७९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७८ हजार ९०१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४३४८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९२ पुगेको छ ।

  • राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

    राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।

    भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भएका नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

    संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

    प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

    काठमाडौं । नेता प्रदीप गिरीको शोकमा नेपाली कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो।

    बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा सांसद गिरीको शोक प्रस्ताव पनि पारित गरेको छ। यस्तै, १३ दिनसम्म देशभरका कार्यालयमा शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि खुला गर्ने पनि निर्णय गरेको छ।

  • उडिरहेको जहाज भित्र पाइलट निदाएको घटना के हो?

    उडिरहेको जहाज भित्र पाइलट निदाएको घटना के हो?

    इथियोपिया । ३७ हजार फिट उचाइमा उडिरहेको जहाजमा पाइलट निदाएपछि यो घटना यतिबेला विश्वभर चासोको विषय बनेको छ । अवतरणका क्रममा भने उनीहरू ब्युँझिएपछि विमान सुरक्षित रूपमा अवतरण भएको छ।  

    विमान उचाइ घटाउनुपर्ने विन्दु पार गरेर अगाडि बढेपछि इथियोपियाको आदिस अबाबा विमानस्थलका एअर ट्राफिकले सम्पर्क गर्ने प्रयास गरेका थिए। बिबिसीले
    एभिएशन हेराल्डलाई उदृत गर्दै लेखे  अनुसार अन्ततः पाइलटहरू ब्युँझे र दोस्रो पटकमा विमानलाई अवतरण गराएका थिए। 

    सरकारी सञ्चारमाध्यम फनाका अनुसार इथियोपियन एअरलाइन्सका ती पाइलटलाई अनुसन्धान रोकेर बिदामा राखिएको छ। 

    यात्रुवाहक सो विमान सोमवार सुडानको खार्तुम विमानस्थलबाट उडेको थियो। 

    १५४ सीट क्षमताको उक्त बोइङ ७३७ विमानले दुई देशबीचको उक्त हवाई मार्गमा सामान्यतः दुई घण्टाभन्दा कम समय लगाउँछ। 

    त्यस घटनाप्रति पाइलटहरूको कामको दैनिकीलाई लिएर सहानुभूति प्रकट गर्नेदेखि त्यस्तो जिम्मेवारीमा पनि निदाएको भन्दै अचम्मित हुने गरी प्रतिक्रिया आएका छन्। 

    एभिएशन हेराल्डको वेबसाइट रहेको एउटा प्रतिक्रियामा भनिएको छ: “मैले इथियोपियाली चालक दललाई खासगरी यहाँ दोष लगाउँदिनँ – यस्तो संसारमा जुनसुकै चालक दललाई हुनसक्छ र सम्भवतः भएको पनि छ। गल्ली कम्पनी र नियमनकर्ताहरूको छ।” 

    अर्का एकजनाले त्यसको एकमात्र समाधान रहेको बताउँदै भनेका छन्: “बर्खास्त। कुरै सकियो।” 

    अन्यले यस घटनाको रमाइलो पक्ष भन्दै ट्विटरमा लेखेका छन्, “यस काममा निदाउने कुरालाई नयाँ उचाइमा पुर्‍याइएको छ!”

    एकजना उड्डयन विश्लेषकले यस घटनालाई “निकै चिन्ताजनक” भन्दै ट्वीट गरेका छन्। 
    “पाइलटहरू थकित हुने कुरा कुनै नयाँ होइन र यसले अन्तर्राष्ट्रिय रूपमा हवाई सुरक्षाका लागि सबैभन्दा ठूलो जोखिम देखाइरहेको छ,” उड्डयन विश्लेषक एलेक्स मचेरसले ट्विटरमा लेखेका छन्। 

  • रास्ट्रपतिको सन्देश : देशले बौद्धिक व्यक्ति गुमायो

    रास्ट्रपतिको सन्देश : देशले बौद्धिक व्यक्ति गुमायो

    काठमाडौं । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरी प्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा श्रद्धाञ्जली व्यक्त भएको छ ।

    “नेता गिरीको निधनको खबरले अत्यन्त दुखी बनाएको र देशले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको रास्ट्रपतिको भनाइ छ । उनले शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेकि छिन

  • काङ्ग्रेस नेता गिरिको आज अन्तिम संस्कार

    काङ्ग्रेस नेता गिरिको आज अन्तिम संस्कार

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो

    मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म र त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा उनको शव राखिनेछ

    पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने छ ।