Category: समाचार

  • निहारिकालाई भेट्दै बालेनले भने : यो अत्याचार हो

    निहारिकालाई भेट्दै बालेनले भने : यो अत्याचार हो

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपूतलाई अस्पतालमा पुगेर भेट गरेका छन् । शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गरेका हुन् । भेटपछि बालेनले निहारिकासँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । बालेनले निहारिकामाथि राज्यले अत्याचार गरेको बताएका छन् ।

    ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन’ उनले लेखेका छन् । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।


    राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

  • संघीय सरकारविरुद्ध मधेष प्रदेश सरकारले घोषणा गर्यो आन्दोलन

    संघीय सरकारविरुद्ध मधेष प्रदेश सरकारले घोषणा गर्यो आन्दोलन

    काठमाडौं । प्रहरी समायोजन नभएको आरोप लगाउँदै मधेस सरकारले संघीय सरकारविरुद्ध पहिलो चरणमा आन्दोलन घोषणा गरेको छ । शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरे । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना गरिने जानकारी दिए । उनका अनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा प्रदेश प्रमुखको कार्यालयअगाडि १ हप्तासम्म धर्ना बस्ने कार्यक्रम छ ।

    १ हप्तासम्म पनि संघीय सरकारले माग सम्बोधन गरेन भने दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनले जानकारी दिए । धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने भएको छ । संघले रोक्ने र प्रदेशले थुत्ने रस्साकसीका बीच प्रहरी समायोजनको विषय अझ जटिल बनेको हो । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी समायोजन गरेर र प्रमुख जिल्ला अधिकारीलाई प्रदेशमातहत ल्याएर मात्रै चुनावमा जानुपर्ने सर्त राखेका छन् ।

    यसअघि मधेस सरकारले प्रहरी समायोजन सात दिनभित्र नटुंग्याए आन्दोलन गर्ने चेतावनीसहित आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र पठाएको थियो। प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत मधेसका गृह तथा सञ्चारमन्त्री साहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षणपत्र पठाएका थिए । पत्रमा प्रहरी र शान्ति–सुरक्षासम्बन्धी अधिकार प्रदेशको क्षेत्राधिकारभित्र रहेको स्मरण गराइएको छ ।

  • गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ

    गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ

    काठमाडौं । गृह मन्त्रालयले देशभरका सबै मिटरब्याजी पीडितलाई भदौ ५ गते सम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दिन अनुरोध गरेको हो। पीडितहरूलाई आ(आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनुरोध गरेको हो। शुक्रबार मिटरब्याजको नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णय गरी यस अपराधलाई नियन्त्रण गर्न सक्ने उपायहरू सिफारिस गर्न डा. भीष्मकुमार भूसालको संयोजकत्वमा कार्यदल बनेको थियो।

    सो कार्यदल बनेसँगै काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिइरहेका नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाका पीडितहरूसँग पनि छलफल गरेको मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भएको थियो। यस्तै नवलपरासी पश्चिममा मात्रै नभई तराईका अधिकांश जिल्लाहरूमा मिटरब्याजबाट पीडित भएकाहरू हुनसक्ने भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो।

    ‘देशैभरी मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरूद्ध आ(आफ्नो जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र यथासम्भव बढी प्रमाणसहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

  • एमाले र राप्रपाबीच चुनावी तालमालबारे छलफल

    एमाले र राप्रपाबीच चुनावी तालमालबारे छलफल

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच चुनावी तालमेलबारे छलफल भएको छ । राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । शुक्रबार मध्याह्न १२ बजेदेखि दिउँसो दुई बजेसम्म छलफल भएको नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनपछि उनीहरूबीचको यो दोस्रो भेट भएको हो । दुबै नेता एउटै जिल्लामा चुनाव लड्ने गर्छन् ।

  • कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज

    कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक शनिबार बिहान साढे ९ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी, गठबन्धन दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल हुने छ ।


    केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलगायत सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थिति हुने निर्देशन दिइएको छ । निर्वाचन नजिकिएको सन्दर्भमा यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

  • मोन्टेनेग्रोमा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु

    मोन्टेनेग्रोमा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु

    काठमाडौं । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादका कारण भएको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ । त्यहाँका अधिकारीहरूका अनुसार विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो भने केही घाइते भएका छन् । बीबीसीका अनुसार पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरे ।

    त्यसपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय सात जना व्यक्तिको हत्या गरेका छन् । हतियारसहित आक्रमणमा उत्रिएका ती व्यक्तिलाई एक सर्वसाधारणले गोली हानी हत्या गरेका छन् । त्यसपछि मात्रै आक्रमणको सिलसिला रोकिएको थियो । ती व्यक्तिले घटना गराउनुको कारण भने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • हेटौडाबाट रविको प्रश्न : झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालय किन चाहियो ?

    हेटौडाबाट रविको प्रश्न : झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालय किन चाहियो ?

    हेटौडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालय राखेको भन्दै कडा आलोचना गरेका छन् । प्रदेश संरचना संचालन गर्दा चरम दुरुपयोग गरिएको प्रति उनले विरोध जनाएका हुन् । प्रदेश संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने उनको भनाई छ । हेटौँडामा शुक्रवार आयोजित बाग्मती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले प्रदेश सरकारलाई आफ्नो कार्यकर्ता पोस्ने स्थान बनाइएको आरोप लगाए ।

    उनले बाग्मती प्रदेशका १८ जना मन्त्रीलाई साँढेको संज्ञा दिए । ‘१८–१८ जना साँढे किन चाहिन्छ ? यदि यसलाई सही ढङ्गबाट चलाउन सकेको भए, चुस्त तरिकाले चलाउन सकेको भए, यसलाई खर्च कम हुने र नागरिकसम्म पुग्न सकेको भए एउटा अर्को तह हुन सक्थ्यो,’ उनले भने । लामिछानेले नागरिकलाई विभिन्न झुटा आश्वासन देखाएर नागरिककै पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको उल्लेख गरे । मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारकाखा बन्द गर्नेहरूका खाता खोलेर हिसाब निकाल्ने समय आएको उनको भनाई छ ।

  • सभामुख र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

    सभामुख र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास, लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको भन्दै नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैं चनाखो र सचेत रहेको बताए ।

    राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको उच्च प्रशंसा गरिन् । नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको बताइन् । राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

  • नुहाउने क्रममा महाकाली नदीमा दुई किशोरी वेपत्ता

    नुहाउने क्रममा महाकाली नदीमा दुई किशोरी वेपत्ता

    बैतडी । महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित मौरामा महाकाली नदीमा नुहाउन गएका किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार मौराकै १४ वर्षीया संगिता टमटा र १५ वर्षीया कविता टमटा नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

    उनका अनुसार शुक्रबार दिउँसो करीब २ बजे घरबाट नुहाउन भनेर हिडेका उनीहरुसँगै रहेकी अर्की किशोरीले बेपत्ता भएको खबर गरेकी थिइन् । अहिले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयहरु बेपत्ता किशोरीको खोजी कार्यमा जुटेको प्रहरीले जनाएको छ ।

  • १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै

    १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै

    काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत यही भदौ ५ गतेदेखि देशका विभिन्न ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लक्षित गर्दै कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

    ५० जिल्लामा रहेका बालबालिकाकामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ।

    खोप अभियान सञ्चालन गर्ने जिल्लहरुमा प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुंग, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक रहेकका छन् ।

    यसैगरी गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुममा सोही अवधिमा खोप लगाइने छ।

    कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट रहेका छन्। सुदुरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिइनेछ।

    कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरी खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

  • निहारिकाले गरिन् राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास

    निहारिकाले गरिन् राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास

    काठमाडौं । निहारिका राजपूतले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी छन्।

    शुक्रबार दिउँसो करिब सवा ३ बजे उनले आफ्नो जीउमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।

    आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिकाले सुरक्षार्थ तैनाथ प्रहरीले तत्कालै उद्धार गरेका कारण आगो लगाउन पाइनन्।

    शीतल निवासबाट उद्धार गरेर उनलाई उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

    महोत्तरीको जलेश्वर नगरपालिका ९ की सोनालीकुमारी सिंह ‘निहारिका’ यसअघि ८ दिनसम्म अनसनमा बसेकी थिइन्। त्यतिबेला सरकारसँग ५ बुँदे सहमति गरेपछि अनसन तोडेकी थिइन्।

    आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

    श्रेष्ठलाई जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।

  • नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

    नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२९० जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९२ हजार ५६५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५११ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७४ हजार ८०६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५७७५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ ।

  • मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन

    मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन

    काठमाडौं । सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाणले गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन्।

    कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् भने सदस्य सचिवमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्का रहेका छन्।

    शुक्रबार बिहान प्रधानमन्त्री देउवाले मिटरब्याजी सम्बन्धी समस्या समाधानका उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका थिए।

    कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ।

  • झापामा नहरमा डुबेर दुई बालबालिकाको मृत्यु

    झापामा नहरमा डुबेर दुई बालबालिकाको मृत्यु

    झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर ज्यान गएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।

    सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो । इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

  • आगामी तीन दिनसम्म वर्षाको सम्भावना

    आगामी तीन दिनसम्म वर्षाको सम्भावना

    काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ।

    यस्तै भोलि शनिबार गण्डकी प्रदेशको थोरै स्थान र प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार प्रदेश १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

  • रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै

    रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै

    काठमाडौं (रासस) । आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर उल्लासमय वातावरणमा मनाइंदैछ । यस दिन नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाउने गरिन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

    यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

    तागाधारीले यज्ञोपवीत धारण गर्दै

    आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

    स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

    वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

    क्वाँटीको परम्पररा

    जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा। शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।

    तराई क्षेत्रमा राखी बाँधिदै

    नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

    यस दिन काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने लागछ ।

  • आज गाइजात्रा, यस्तो छ मनाउने कारण

    आज गाइजात्रा, यस्तो छ मनाउने कारण

    काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।


    नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतीकात्मक अर्थ बोकेको पर्व हो यो । मृत्युमा शोक मनाउनुपर्नेमा हास्यव्यङ्ग्य गर्ने अनौठो चलन चलिआएको छ ।

    कसरी सुरू भयो ?
    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।

    यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको भनिने गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।

    यद्यपि गाईजात्रा प्रताप मल्लको समयभन्दा अघि नै थालिएको तर्क गर्ने विद्वानहरू पनि छन् । प्रताप मल्लले कुनै पनि अभिलेखमा यो पर्व आफूले शुरू गरेको उल्लेख नगर्नु र गोपालराज वंशावलीमा पनि त्यस्तो उल्लेख नहुनुले यो पर्व कम्तीमा ६०० वर्ष पहिले नै शुरू भइसकेको विद्वानहरूको तर्क छ । ६०० वर्ष पहिले जयस्थिति मल्लको समयको गोपालराज वंशावली ९पत्र ६१० मा ‘साँ यात’ उल्लेख छ । यो भनेको ‘गाईको यात्रा’ हो । यसले गाईजात्रा जयस्थिति मल्लको समयभन्दा पनि पहिल्यै शुरू भएको पुष्टि गर्ने बताइन्छ ।

    गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

    गाईजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि धुमधामका साथ मनाइन्छ ।

  • एमालेले बनायो अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी

    एमालेले बनायो अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी

    काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो । समितिमा केन्द्रीय कमिटीका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्षरमहासचिव र विभागका सचिव रहनेछ ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् । सचिवालय बैठकले आगामी ७ भदौमा स्थायी कमिटी, ९ भदौमा पोलिटब्यूरो र १० भदौमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

  • अर्थसचिव बने कृष्णहरी पुष्कर, राजस्व सचिवमा दंगाल

    अर्थसचिव बने कृष्णहरी पुष्कर, राजस्व सचिवमा दंगाल

    काठमाडौं । सरकारले अर्थ सचिवमा कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा पुष्करलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि अर्थ मन्त्रालयमा राजस्व सचिव थिए । यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो ।

    मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको छ । दंगाल अहिले सुदुरपश्चिम प्रदेशको मूख्यसचिव थिए । उनी सहसचिव हुँदा अर्थ मन्त्रालयमा राजस्व महाशाखामा काम गरिसकेका छन् ।

  • नेपालमा थप ८१५ जना कोरोना संक्रमित थपिए, ५ जनाको निधन

    नेपालमा थप ८१५ जना कोरोना संक्रमित थपिए, ५ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २१२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९२ हजार १४६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७४ हजार २९५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५८६९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको छ ।

  • काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको हो ?

    काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको हो ?

    काठमाडौं । चिनियाँ भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्कासँगको औपचारिक भेटमा चीनका विदेश मन्त्री वाङ यीले दिएको आश्वासनपछि काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको छ । चीनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । यो आयोजना अहिले पनि अन्यौलमा छ । चीनले आश्वासन मात्र दिएको आशंकाका बीच पुनः यो आयोजनाले गति लिने अपेक्षा गरिएको छ । भेटमा चीनले नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायतका विभिन्न शीर्षकमा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा समेत गरेको छ ।

    यसअघि काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच सहमति भएको थियो । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यसमा दुई देशका उच्च अधिकारी सहमत थिए । तर त्यसपछि अध्ययनका लागि चिनियाँ प्राविधिक टोली आएको छैन ।

    काठमाडौं–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भने २०७५ मंसिरमै भएको थियो । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार भएका थिए । रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहन्छ । रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाउनु पर्नेछ ।

  • बिहीबार बिहान खुल्यो आकास, दिउँसो वर्षाको सम्भावना

    बिहीबार बिहान खुल्यो आकास, दिउँसो वर्षाको सम्भावना

    काठमाडौं । काठमाडौं उपत्यका र यस आसपासको क्षेत्रमा बिहीबार बिहान आकास खुलेको छ । तर, दिउँसोदेखि पहाडी भूभाग र अन्य भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मुलुकको प्रदेश एक, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ ।

    अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। राती प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी

    निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।
    शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरलाई दिएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणापत्र तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय गङ्गालाल तुलाधार, विजय पौडेल र प्रकाश ज्वालालाई दिएको छ ।

  • सीट बाँडफाँट गर्न गठित सत्तारुढ दलको कार्यदलको बैठक आज

    सीट बाँडफाँट गर्न गठित सत्तारुढ दलको कार्यदलको बैठक आज

    काठमाडौं । आगामी निर्वाचनमा सीट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बैठक बोलाइएको छ । कार्यदलको पहिलो बैठकले संयोजक तोक्ने काम गरेको थियो । कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्।

    कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न कार्यादेश दिइएको छ । यो कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन्। आजको कार्यदल बैठकमा दलहरूले आ आफ्ना दाबी पेश गर्ने तयारी छ ।

  • ताइवान मुद्दामा नेपालको सन्देश, एक चीन नीतिमा कट्टिवद्ध

    ताइवान मुद्दामा नेपालको सन्देश, एक चीन नीतिमा कट्टिवद्ध

    काठमाडौं । अहिले ताइवान र चीनबीच तनावपूर्ण स्थिति सिर्जना भएको छ । यसमा अमेरिका समेत जोडिएको छ । यस मुद्दामा नेपाल चीनको पक्षमा रहेको सन्देश चिनियाँ सरकारलाई दिएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना समकक्षीलाई भेटेर एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको बताए । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच छिङ्दावमा भएको भेटवार्तामा नेपालले यस्तो प्रतिवद्धता जनाएको हो ।

    भेटमा मन्त्री खड्कालले एक चीन नीतिमा नेपाल प्रतिवद्ध रहेको बताए । साथै उनले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने बताएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङले पनि नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् । साथै नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकासमा सहयोग जारी राख्ने बताएका छन् ।

    दुई देशका बिदेशमन्त्रीबीच नेपाल चीन सीमा निरीक्षण समितिको काम अघि बढाउन द्विपक्षीय प्राविधिक समिति बनाउने तथा दुई देशबाट भएका उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिहरु समयमै कार्यान्वयन गर्ने सहमति भएको छ । चिनियाँ टोलीले काठमाडौं चक्रपथ विस्तार परियोजना (कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड) को निर्माण तत्काल थाल्ने बताएको छ । केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहायता दिने दोहोर्‍याएको छ ।

    नेपाल चीन क्रस बोर्डर ट्रान्समिसन लाइनको पूर्व सम्भाव्यता अध्ययनमा पनि सहयोग गर्ने बताएको छ । चिनियाँ विदेशमन्त्री वाङले नेपालका लागि ८०० मिलियन आरएमबी दिने घोषणा गरेका छन् । नेपालको आग्रहअनुसार रासायनिक मल दिन सकारात्मक रहेको चीनले नेपालमा उद्योग खोल्न पनि सघाउने बताएको छ ।

    केरुङ र तातोपानी नाका दुईतर्फी र हिल्सा(पुलाङ नाका एकतर्फी रुपमा खुला गर्न पनि दुई देशका परराष्ट्रमन्त्री सहमत भएका छन् । यसरी नाका खोल्दा सीमामा महामारी रोकथामको संयन्त्र स्थापना गर्ने सहमति छ । चीनले प्राकृतिक विपत्तिमा परेका नेपालीहरुका लागि ३ मिलियन आरएमबी बराबरको राहत सामाग्री तथा २ मिलियन आरएमबी बराबर मेडिकल सामाग्री दिने भएको छ । विदेशमन्त्री वाङले नेपालको आग्रह गरे कोरोनाविरुद्धको खोप र स्वास्थ्य सहयोग दिन तयार रहेको बताए ।

    बेइजिङस्थित नेपाली दूताबासका अनुसार विदेशमन्त्री वाङले ब्लड क्यान्सरको विरामीको उपचारका लागि ‘सीएआर टी सेल’ उत्पादन ल्याब्रेटोरी सिभिल अस्पतालमा स्थापना गर्न सहयता प्रदान गर्ने घोषणा समेत गरे । आफ्नो अध्ययन पुरा गर्न चीन फर्किन चाहेका नेपाली विद्यार्थीहरुले स्वास्थ्य मापदण्ड पुरा गरेर भिसा प्रक्रिया अघि बढाउनसक्ने समेत उनले बताए ।

  • नेपाल विद्युत प्राधिकरणको एक वर्षको नाफा १६ अर्ब ९ करोड

    नेपाल विद्युत प्राधिकरणको एक वर्षको नाफा १६ अर्ब ९ करोड

    काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा निरन्तर राम्रो प्रदर्शन गरिरहेको नेपाल विद्युत प्राधिकरणले एक वर्षको अवधिमा १६ अर्ब ९ करोड रुपैयाँ मुनाफा कमाएको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८\७९ को अपरिस्कृत तथ्यांक अनुसार संस्थाको वार्षिक नाफा १६४ प्रतिशतले बढेको हो । आव २०७७\७८ मा ६ अर्ब १० करोड मात्र खुद नाफा थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सार्वजनिक संस्थाहरूमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ।

    ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढेको उनले बताए । यस वर्ष विद्युत निर्यात समेत बढेको छ । प्राधिकरण स्वामित्वका विद्युत गृहहरूबाट विद्युत उत्पादन १६ प्रतिशतले बढ्दा समेत मुनाफा बढेको उनले बताए । आव २०७२\०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा गएको छ । त्यसयता कुलमान नै नेतृत्वमा छन् ।

    प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ। यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो। विद्युत चुहावट १५.३८ प्रतिशतमा झरेको छ ।

    प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ। ‘चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ । आव २०७८\७९मा भारतर्फको विद्युत निर्यात बढेको छ । आयात घटेको छ।

  • नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन

    नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन

    काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने मंगलबार मेयर बालेन्द्र (बालेन) साह आफैं नर्भिक अस्पताल पुगेका थिए । त्यसपछि अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने सहमति गरेका थिए ।


    तर काठमाडौं महानगरपालिकाविरुद्ध बुधबार नै नर्भिक अस्पतालले दिएको रिट बुधबार नै न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भयो । उक्त इजलासले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिनुका साथै आगामी सोमबार अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ । सर्वोच्चले नर्भिकको संरचना भत्काउन खोज्नुको कारणबारे लिखित जवाफ पनि माग गरेको छ । नर्भिकले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा नक्सापास नगरी संरचना बनाएपछि महानगरपालिकाले त्यसलाई भत्काउन आग्रह गरेको हो ।

    सर्वोच्चको आदेशपछि मेयर बालेन शाह भने भड्किएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नक्सा पास नगरी बनाएका संरचनालाई कारवाही गर्ने र नक्सा पास गर्ने अधिकार समेत सर्वोच्च अदालतलाई नै दिन अनुरोध गरेका छन् । उनले लेखेका छन्, ‘ नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारवाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान संशोधन नै गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं ।’

  • नेपालमा एकैदिन ८६८ जना कोरोना संक्रमित थपिए, ३ जनाको निधन

    नेपालमा एकैदिन ८६८ जना कोरोना संक्रमित थपिए, ३ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा ३६१४ नमूनाको पीसीआर र ३०९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

    मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५८८५ रहेको छ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७७ पुगेको छ ।

  • बालाजु बाइपासस्थित भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

    बालाजु बाइपासस्थित भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

    काठमाडौं । बालाजु बाइपासस्थित एक जुत्ता कारखानामा भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ । वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो दमकलको सहायतामा नियन्त्रणमा लिइएको हो ।

    काठमाडौं, ललितपुर महानगरपालिका, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सातवटा दमकलको प्रयासले आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत खटिएका थिए ।

    आगलागी नियन्त्रण गर्नका लागि दुई टहरा भत्काइएको छ । एउटा टहरामा जुत्ता कारखाना र अर्को टहरामा क्राउड ट्रेडिङ एन्ड लेमिनेसनको पसल थियो ।

    आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

  • परराष्ट्रमन्त्री खड्का चीनमा, आज समकक्षी वाङ यीसँग भेट

    परराष्ट्रमन्त्री खड्का चीनमा, आज समकक्षी वाङ यीसँग भेट

    काठमाडौं । परराष्ट्र मन्त्री तीन दिने औपचारिक भ्रमणका सिसिलामा चीन पुगेका छन् । आज नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच वार्ता हुँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का मंगलबार राती चीन प्रस्थान गरेका हुन् ।

    नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्। चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल(चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने । गत वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक उच्चस्तरीय नेपाली टोली चीन गएको हो। नेपाली टोलीको सम्मानमा चिनियाँ विदेश मन्त्री यीले आजै भोज दिनेछन्। परराष्ट्र मन्त्री खड्कासहितको टोली बिहीबार स्वदेश फर्कने छ।