Category: समाचार

  • कामदार र रोजगारदाताबीच भेट गराउन रोजगार तथा सीप मेला आयोजना हुँदै

    कामदार र रोजगारदाताबीच भेट गराउन रोजगार तथा सीप मेला आयोजना हुँदै

    काठमाडौं । नेपाल उद्योग परिसंघले १७–२० कात्तिकसम्म सीएनआई रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ । परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने जानकारी दिएको हो । चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागी हुने परिसंघले बताएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारले मेलामा सीप विकाससम्बन्धी विभिन्न विषयमा वृहत छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुति समेत हुने बताए । मेलमा आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क तथा छलफल गर्न सकिने उनले बताए ।

    अधिकारीले मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरु समेत गरी ५० हजार भन्द बढी व्यक्तिहरुले अवलोकन गर्ने अपेक्षा रहेको उनको भनाइ छ । परिसंघले मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने विश्वास गरेको छ ।

    सरकार तथा अन्य सरोकारवालाहरुलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकता कम हुने र नेपालमा विश्वस्तरीय जनशक्ति, सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरुको समेत पहिचान हुने विश्वास परिसंघले लिएको छ । नेपालमा हरेक वर्ष ५ लाख व्यक्तिहरु रोजगारीको खोजीमा हुने गरेको परिसंघले जनाएको छ ।

  • आज पनि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना

    आज पनि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना

    काठमाडौ । बुधबार समेत देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लगातार झरी नपर्ने र एक्कासी ठूलो वर्षा हुनेछ । मंगलबार रातीबाटपरेको ठूलो वर्षाका कारण काठमाडौंमा वाग्मती, विष्णुमती, पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका नदीमा बाढी आएको छ । वाग्मती छेउछाउमा सडकसम्म बाढी पसेको छ । दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको छ ।

    त्यस क्षेत्रमा बहने साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । राति पानी परेका अरु ठाउँमा पनि खोला नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ । आज दिउँसो काठमाडांैसहित वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

  • काठमाडौंमा नदी किनारमा बाढी पस्यो

    काठमाडौंमा नदी किनारमा बाढी पस्यो

    काठमाडौं । काठमाडौंमा गत राती आएको ठूलो वर्षाका कारण नदी किनारमा बाढी पसेको छ । काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला डुबानका परेको छ । प्रहरी चौकीको मेस बगेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको बताइएको छ । प्रहरीका अनुसार हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका मानिसहरुको उद्धार भइरहेको छ ।

    सो क्षेत्रबाट १५ जनाको उद्धार गरिएको र अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ । सुकुम्बासी टोलका २ वटा टहरा पनि बाढीले भत्काएर बगाएको छ । त्यहाँ मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । गएराति काठमाडौंमा ठूलो पानी परेपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो ।

    विभागको बाढी सूचना केन्द्रले भक्तपुरका नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भएकाले पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको किनारका वासिन्दालाई सतर्कता अपनाउन भनेको थियो । ललितपुरको बाग्मती खोकना केन्द्रमा पनि जल सतह बढेपछि उच्च सतर्कताको सूचना जारी गरिएको थियो ।

  • ३ मंसिरसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने

    ३ मंसिरसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मंगलबार मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै सो निर्णय गरेको हो । मंसिर ४ गते मतदान हुँदैछ ।

    २०७९ साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै यो सुविधा पाउने छन् । आयोग साउन २० गतेबाट नयाँ मतदाताको नामावली संकलन गर्ने कार्य स्थगित गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया पूरा गरी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।

  • सत्ता गठबन्धनमा रहन बाबुराम भट्टराई पनि इच्छुक

    सत्ता गठबन्धनमा रहन बाबुराम भट्टराई पनि इच्छुक

    काठमाडौं । नेपाल समाजवादी पार्टीले आफूहरुलाई पनि सत्ता गठबन्धनमा सहभागी गराउन आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । अर्का अध्यक्ष महेन्द्रराय यादवसँग देउवालाई भेट्न उनी बालुवाटार गएका थिए ।

    उनीहरुले आफूहरु पनि यही गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका थिए । पार्टी दर्ता भएको र आफुहरु यही गठबन्धनको घटक भएको भन्दै गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले आफूले यसबारे गठबन्धनमा छलफल गरेर अगाडी बढ्ने बताएका छन् ।

  • जापानबाट प्रचण्डको घोषणा, चितवन ३ बाट चुनाव लड्छु

    जापानबाट प्रचण्डको घोषणा, चितवन ३ बाट चुनाव लड्छु

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि उनको उम्मेदवारी कहाँ हुन्छ भन्ने बारे अनेक अड्कलबाजी गरिएको थियो । जापानमा नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने जानकारी उनले गराए ।

    ‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु’ उनले भने, ‘बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला ।’ देशको केन्द्रविन्दुमा रहेको र विकासको तीब्र गतिमा जाने सम्भवना भएकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको प्रचण्डले बताए । उनका अनुसार रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटमा समेत चुनाव लड्न प्रस्ताव भने आएको उनले बताए ।

    उनले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेको समेत बताए । राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन आफ्नो भूमिका भए पुग्ने उनले बताए । ‘प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आयो २०७४ पछि आयो, म प्रधानमन्त्रीको रेसमा छैन भनेँ मैले’ उनले भने, ‘अहिले पनि छ, तर म प्रधानमन्त्रीको रेसमा छैन ।’

  • ७४ लाख नगद र २६ लाख बढी चेकसहित काठमाडौंबाट तीन जना हुण्डी कारोबारी पक्राउ

    ७४ लाख नगद र २६ लाख बढी चेकसहित काठमाडौंबाट तीन जना हुण्डी कारोबारी पक्राउ

    काठमाडौं । काठमाडौंको नरदेवीबाट गैरकानुनी रुपमा हुण्डी कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्।

    काठमाडौं उपत्यका अपराध अनसन्धान महाशाखाको टोलीले भारतीय नागरिक राजु अग्रवाल, सिन्धुली घर भई जोरपाटी बस्ने रामहरि दुलाल र रौतहट घर भई चावहिल बस्ने सुदीप आचार्यलाई पक्राउ गरेको हो।

    नरदेवी क्षेत्रमा हुन्डी कारोबार हुने गरेको भन्ने प्रहरीले सूचना पाएको थियो। सो सूचनाको आधारमा कार्यालयबाट विशेष टोली खटिएको थियो।

    उनीहरुसँग रहेको ७४ लाख नगद र २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको ९ वटा चेक बरामद गरेको छ।

    पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।

  • नेपालमा एकैदिन १०९० जना कोरोना संक्रमित थपिए, २ जनाको निधन

    नेपालमा एकैदिन १०९० जना कोरोना संक्रमित थपिए, २ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०९० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९५८ जनाको पीसीआर परीक्षण गर्दा ५६० जना र ३३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९१ हजार १८५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७३ हजार ४०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५८०६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको छ ।

  • अन्तत: ‘अल्टिमेटम’बाट पछि हट्यो कामनपा, जग्गा खाली गर्न आवश्यक समय दिन तयार

    अन्तत: ‘अल्टिमेटम’बाट पछि हट्यो कामनपा, जग्गा खाली गर्न आवश्यक समय दिन तयार

    काठमाडौं । काठमाडौं महानगरपालि र नर्भिक इन्टरनेसनल अस्पतालबीच टहरा तत्काल नभत्काउने सहमति भएको छ ।

    अस्पतालले नियमविपरीत बनाएका टहरा आजै भत्काउने तयारीबीच दुई पक्षबीच मौखिक सहमति भएको हो ।

    जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने छन् ।

    नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए ।

    इन्जिनियरहरूले त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे प्रतिवेदन बुझाउने र सोही आधारमा अर्को कदम चालिने सहमति भएको छ ।

    अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ ।

    तर, अस्पतालले अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनशील सामग्री राखिएको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने जनाएको थियो ।

    नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएका थिए ।

    २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौतापत्रसमेत सार्वजनिक गरेका थिए ।

  • जग्गा भाडा विवादमा नर्भिक अस्पतालले भन्यो –’संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ’

    जग्गा भाडा विवादमा नर्भिक अस्पतालले भन्यो –’संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ’

    काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटल प्रालिले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ ।

    महानगरले २४ घण्टा अल्टिमेटम दिएको भोलिपल्ट मंगलबार नर्भिकले पत्रकार सम्मेलन गरेर महानगरको निर्देशन बमोजिम तत्कालै टहरा हटाउन नसकिने स्पष्ट पारेको छ ।

    नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ ।

    २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौतापत्रसमेत सार्वजनिक गरेका छन् ।

    काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएपछि नर्भिकले सम्झौतापत्र नै सार्वजनिक गरेर जग्गा खाली नगर्ने बताएको हो ।

    पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष सिंहले उनले महानगरले खाली गर्नु भनेको जग्गामा टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ गरेको जानकारी दिए ।

  • फोहोर फाल्न बञ्चरेडाँडा पुगेको गाडी अज्ञात समूहद्वारा तोडफोड

    फोहोर फाल्न बञ्चरेडाँडा पुगेको गाडी अज्ञात समूहद्वारा तोडफोड

    काठमाडौं । काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएको गाडी तोडफोड भएको छ । गएराती सिसडोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा राखिएको फोहोरको गाडी तोडफोड भएको हो

    ।काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले १७ वटा गाडी तोडफोड भएको जानकारी दिए । उनका अनुसार १४ वटा फोहोरका टिपर, दुई वटा डोजर र एउटा स्काभेटर तोडफोड भएका हुन् ।

    तोडफोड भएका सवारी साधन फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन्। त्यस्तै, स्काभेटर र डोजर महानगरपालिकाको स्वामित्वमा भएको भट्टले जानकारी दिए।फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा पुन: समस्या देखिएको छ।

  • इरानमा चक्कु प्रहारबाट कम्तिमा १० जना मारिए

    इरानमा चक्कु प्रहारबाट कम्तिमा १० जना मारिए

    तेहरान (सिन्ह्वा) । दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसञ्जनमा चक्कु प्रहार गर्ने हमलाकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    एन्तेखाब समाचार वेबसाइटले रफसन्जनका गभर्नर होसेन रेजाईलाई उद्धृत यो समाचारको पुष्टी गरेको छ । उक्त घटनाका सबै पीडितहरू पुरुषहरू छन् । ती मध्ये छ अफगानी र चार इरानी नागरिकहरू छन् । रेजाईले बताएअनुसार आक्रमणकारीको मानसिक स्वास्थ्य असामन्य थियो । उसले आफैलाई प्रहार गरी चोट लगाएको पाइएको छ । हत्यारामा लागुपदार्थको लत पनि पुष्टि भएको छ । यस बारे थप अनुसन्धान जारी छ ।

  • निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी  दर्ता

    निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तय गरेको छ । मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ ।

    असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।


    असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ ।

    मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । यो अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ । निर्वाचनका लागि दल दर्ता भने यसअघि २२ गतेदेखि नै सुरु भएको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ । समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।

  • नर्भिक हस्पिटलले नियम विपरित बनाएको संरचना भत्काउन महानगरको २४ घण्टे अल्टिमेटम

    नर्भिक हस्पिटलले नियम विपरित बनाएको संरचना भत्काउन महानगरको २४ घण्टे अल्टिमेटम

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक हस्पिटललाई नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ। काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी ८ आना एक पैसा क्षेत्रफल रहेको जग्गा हस्पिटलले लिजमा लिएको थियो। लिजमा लिएको जग्गामा नियमविपरीतका संरचना बनाएको हुँदा उक्त संरचना भत्काउन हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिइएको सहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यले जानकारी दिए।

    उनका अनुसार नर्भिक हस्पिटलले जग्गाको पश्चिमतर्फ नेपाल सरकारसँग भएको सम्झौताविपरीत क्यान्टिनलगायत बनाएको थियो। नक्सा पास स्वीकृत नगरी बनाएको संरचना भत्काउन महानगरले अल्टिमेटम दिएको शाक्यले बताए। २४ घण्टाभित्र टहरा नहटाए नियमअनुसार कारबाही गर्ने महानगरले जनाएको छ।

  • सीट बाँडफाँट गर्न बसेको कार्यदलको बैठक सम्पन्न, के भयो छलफल ?

    सीट बाँडफाँट गर्न बसेको कार्यदलको बैठक सम्पन्न, के भयो छलफल ?

    काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न गठन भएको कार्यदलको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा सीटबारै औपचारिक छलफल भने नभएको नेताहरुले बताएका छन् । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल बनाएको थियो । कार्यदलको पहिलो बैठक सोमबार दिउँसो बालुवाटारमा बसेको हो । आजको बैठकमा कसरी जाने, के आधार र कुन मापदण्डमा जाने भन्ने बारे छलफल भएको बताइएको छ ।

    बैठकमा माओवादी नेताहरुले एमाले र माओवादीले विगतमा गरेको गठबन्धनको अनुभव सुनाएका थिए । कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ । ११ सदस्यीय कार्यललमा कांग्रेसका तीन सदस्य छन् भने अरु दलका २–२ जना छन् । कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे सहमति जुटाएर प्रतिवेदन बुझाउन भनिएको छ ।

  • एमाले अध्यक्ष ओली सवार हेलिकोप्टर आकस्मिक अवतरण

    एमाले अध्यक्ष ओली सवार हेलिकोप्टर आकस्मिक अवतरण

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एअरको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

    काठमाडौंबाट रौतहटको गौरतर्फ उडेको हेलिकोप्टर आज दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

    रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछि सिम्रीक एयरको हेलिकोप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

    अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछि हेलिकोप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ ।

    अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछी हेलिकोप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ। हेलिकोप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार रहेका थिए।

    आकस्मिक अवतरण गरेपछि अध्यक्ष ओलि सिमरा विमानस्थलको विशिष्ट कक्षमा बसेका छन्।

    ओलीको आकस्मिक अवतरण भएपछि जीतपुर सिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित एमालेका नेताकार्यकर्ता विमानस्थल पुगेका छन्।

  • कम्तिमा एक सय सिट राखेर चुनावमा गठबन्धन गर्न नेतृत्वलाई कांग्रेस नेताहरुको सुझाव

    कम्तिमा एक सय सिट राखेर चुनावमा गठबन्धन गर्न नेतृत्वलाई कांग्रेस नेताहरुको सुझाव

    काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले चुनावी तालमेल गर्दा कम्तिमा सय सिट आफुसँग राख्न नेतृत्वलाई सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुले बहुमतको सरकारका लागि प्रतक्ष्यतर्फ एक सय सिट कांग्रेसले लिनुपर्ने सुझाव दिएका हुन् ।

    बाँकी ६५ सिट गठबन्धनका दललाई दिएर मात्रै तालमेल गर्नुपर्ने कांग्रेस नेताहरुको सुझाव छ ।

    छलफल गर्दै जाँदा ९० सिटमा कांग्रेस लडेर ७५ सिट गठबन्धनका घटकहरूलाई दिनुपर्नेमा भने सहमत हुन सकिने कांग्रेस नेताहरुको भनाइ छ ।

    ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउनपनि पदाधिकारीले नेतृत्वलाई सुझाव दिएका छन् ।

    सिट बाँडफाँट गर्दा कांग्रेसले आफ्नो हैसियत भुल्न नहुने नेताहरुको भनाइ छ । कांग्रेस नेताहरुले लोसपासहित समेटेर वृहत गठबन्धन बनाउन पहल गर्नुपर्ने पनि प्रस्ताव गरेका छन् ।

    बैठकमा बिमलेन्द्र निधिले गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि समेटनुपर्ने बताएका हुन् ।

    सभापति देउवाले भने गठबन्धनमा लचिलो नभए विपक्षीले हदैसम्म दिएर पनि गठबन्धन गर्न मिहिनेत गरिरहेको भन्दै त्यसतर्फ ध्यान दिन नेताहरुलाई आग्रह गरेका छन् ।

    यसैबीच नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

    शीर्ष नेताको बैठकले साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको हो । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् ।

  • नेपालमा थप ९३४ जनामा कोरोना पुष्टी, ४७० जना संक्रमण मुक्त

    नेपालमा थप ९३४ जनामा कोरोना पुष्टी, ४७० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९० हजार ६२५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४७० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७२ हजार ९६७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५६५९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७२ पुगेको छ ।

  • महजोडीको महापुरुष कात्तिक १९ बाट प्रदर्शनमा

    महजोडीको महापुरुष कात्तिक १९ बाट प्रदर्शनमा

    काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा गरिएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ । एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् ।

    अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । फिल्ममा मह जोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली समेत कलाकारको रुपमा छन् । प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित फिल्मलाई दिपेश खत्रीले निर्माण गरेका हुन् ।

  • ताइवान आसपास चीनको सैन्य अभ्यासविरुद्ध अमेरिकाको कडा आलोचना

    ताइवान आसपास चीनको सैन्य अभ्यासविरुद्ध अमेरिकाको कडा आलोचना

    काठमाडौं । चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ। बीबीसीका अनुसार ताइवानले चिनियाँ सैन्य अभ्यासको यथोचित प्रतिक्रिया दिइएको जनाएको छ। बेइजिङले त्यस्तो अभ्यास थालेको आइतवार चौथो दिन पुगेको छ । ह्वाइट हाउसका अनुसार चीनले ताइवानबारे विद्यमान यथास्थिति फेर्न प्रयास गरिरहेको छ।

    अमेरिकी सभामुख न्यान्सी पलोसीको नेतृत्वमा एउटा अमेरिकी प्रतिनिधिमण्डलले गत साता ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ। चीनले उक्त भ्रमणलाई ताइवानमाथिको आफ्नो स्वामित्व रहेको दाबीलाई चुनौती दिइएको ठानेको छ। यद्यपि ताइवान आफूलाई छुट्टै राज्य मान्छ। चिनियाँ जहाज र विमानहरूले सप्ताहान्तमा ताइवान स्ट्रेटमा विभिन्न गतिविधि गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। उसका अनुसार तीमध्ये केहीले चीन र ताइवानबीच विद्यमान अनौपचारिक मध्यवर्ती रेखा नाघेका थिए। तिनलाई चेतावनी दिन ताइवानले पनि आफ्ना लडाकु विमानहरू उडाएको थियो।

    आइतवार बिहान विमान र पानीजहाज परिचालन गरेर वास्तविक शस्त्रास्त्र गरिएका अभ्यासहरूको यथोचित प्रतिक्रिया दिइएको ताइवानको सेनाले भनेको विवरण रोएटर्स समाचारसंस्थाले प्रकाशित गरेको छ। ताइपेईमा संवाददाताहरूसँग बोल्दै ताइवानी प्रधानमन्त्री सू जन चाङले चीनले क्षेत्रीय स्थिरता भङ्ग गर्न हठपूर्वक सैन्य अभ्यास गरेको आरोप लगाएका छन्। यद्यपि उनले चिनियाँ पक्षलाई संयमित हुन आग्रह गरेका छन्।

    बेइजिङले आफ्नो सैन्य अभ्यासबारे टिप्पणी गरिसकेको छैन। यद्यपि आइतवारसम्म ताइवाननजिकै ‍आकाश र समुद्रमा सैन्य अभ्यास जारी रहने अनुमान गरिएको छ। अनावश्यक सैन्य गतिविधि गरेर चीनले तनाव बढाएको आरोप वाशिङ्टन डीसीले लगाएको छ। चीनले पलोसीको ताइवान भ्रमणका कारण ताइवान स्ट्रेटको शान्ति र स्थिरतामा गम्भीर असर पुगेको बताएको छ।

  • सोमबार पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

    सोमबार पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

    काठमाडौं । सोमबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । मौसमविद्‍का अनुसार हाल प्रदेश नम्बर–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। देशका बाँकी भूभागमा आंशिक बदली छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वबाट मौसको नयाँ प्रणाली प्रवेश गरेको छ। जसले आज प्रदेश नम्बर १ मा भारी वर्षा हुने सम्भावना छ ।

    आज राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली आजै हटेर जाने भएकाले अरू प्रदेशमा आंशिक देखि सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार भोलि मंगलबार लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  • निर्वाचनमा तालमेल मिलाउन गठन भएको सत्ता गठबन्धनको कार्यदलको बैठक आज

    निर्वाचनमा तालमेल मिलाउन गठन भएको सत्ता गठबन्धनको कार्यदलको बैठक आज

    काठमाडौं । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक सोमबार बस्ने भएको छ । सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । गत साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्ने जिम्मा दिइएको छ ।

  • पहिलो दिन निर्वाचन आयोगमा ५ वटा दल दर्ता

    पहिलो दिन निर्वाचन आयोगमा ५ वटा दल दर्ता

    काठमाडौं । निर्वाचन आयोगले गरेको दल दर्ताको आह्वानको पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्‍यको निर्वाचनमा भाग लिन उनीहरुलाई आयोगलेदल दर्ताको लागि आह्वान गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ ।

    यस्तै दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ भने क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगले जनाएको छ । सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम सुरू गरेको हो ।

  • जवराविरूद्धको महाअभियोग प्रस्ताव छलफलका लागि समितिमा

    जवराविरूद्धको महाअभियोग प्रस्ताव छलफलका लागि समितिमा

    काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधिसभाको आइतवारको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो।

    छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए।

    सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ। आइतबार एमालेका सांसदहरूले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि प्रतिनिधिसभाको छलफलमा भाग लिँदै विरोध जनाए ।

    संविधानमा एकचौथाइ सांसदले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान भए पनि पारित गर्न प्रतिनिधिसभाको दुईतिहाइ आवश्यक हुन्छ।

    त्यसैले महाअभियोग पारित गर्न सत्ता गठबन्धनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेको साथ अनिवार्य छ। तर गठबन्धनले यसमा एमालेको साथ पाउने अवस्था छैन।

    प्रतिनिधि सभाको आगामी बैठक २०७९ साउन २४ गते मंगलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।

    त्यस्तै अन्य सत्तापक्षका सांसदहरुले न्यायालयलाई भ्रष्टाचारको अखडा बन्न नदिन महाभियोग ल्याउनुपरेको धारणा राखेका थिए । गएको फागुन १ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

    राणाविरूद्ध महाअभियोगमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको, सर्वोच्च अदालत लगायत न्यायपालिकाभित्रै उनको कार्यकालमा अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको लगायतका २१ वटा आरोप छन्।

    सत्ता गठबन्धन महाअभियोग टुंग्याउनेभन्दा राणाको अवकाशसम्म लम्ब्याउने रणनीतिमा छ। उनले आउँदो मंसिर २७ गते उमेर हदका कारण सर्वोच्च अदालतबाट अवकाश पाउँदैछन्। उनको अवकाशअघि नै मंसिर ४ गतेलाई सरकारले नयाँ निर्वाचन मिति तोकिसकेको छ।

  • उपत्यकामा नो हर्न अभियान पुन: सुरु, अत्यावश्यक अवस्थामा बाहेक निषेध

    उपत्यकामा नो हर्न अभियान पुन: सुरु, अत्यावश्यक अवस्थामा बाहेक निषेध

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ।

    आइतवार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा आजबाट यो अभियान शुरु गरिएको छ ।

    सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।

    अभियान शुभारम्भ गर्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताए ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख मिरा चौधरीले नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।

    काठमाडौं महानगरले २०७३ चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

  • नेपालमा थप ५५३ जनामा कोरोना पुष्टी, ४३३ जना संक्रमण मुक्त

    नेपालमा थप ५५३ जनामा कोरोना पुष्टी, ४३३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०४० जनाको पीसीआर परीक्षण गर्दा ४५१ जना र १७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९० हजार १२७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७२ हजार ४९७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५६५९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७१ पुगेको छ ।

  • आइतबार पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

    आइतबार पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

    काठमाडौं । आइतबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालमा बढी वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

    लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। भोलि र पर्सी पनि अधिकांश स्थानमा मेघ गर्जन–चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • निर्वाचनलाई लक्षित गरी दल दर्ता आजबाट

    निर्वाचनलाई लक्षित गरी दल दर्ता आजबाट

    काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लक्षित गरी आजबाट दल दर्ताको समय तोकिएको छ । निर्वाचन मंसिर ४ मा हुदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए । आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् ।

    दल दर्ता गर्न काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र जानुपर्ने छ । दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने छ ।

    दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, दलको केन्द्रीयस्तर र प्रदेशस्रको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति र दलको केन्द्रीयस्तर र केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वाषिर्क लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको संगठनात्मक स्वरुप पनि खुलाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

  • सल्यानमा विषालु च्याउ सेवनबाट बालिकाको मृत्यु, ८ जना बिरामी

    सल्यानमा विषालु च्याउ सेवनबाट बालिकाको मृत्यु, ८ जना बिरामी

    सल्यान । सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको ज्यान गएको छ । शारदा नगरपालिका ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो। उनको जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि शनिबार बिहान सवा ७ बजेतिर प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो।


    शुक्रबार बेलुका जंगलबाट च्याउ घरमा ल्याइ पकाएर खाएका मध्ये ४० वर्षीया मिना बस्नेत, उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेत, सोही ठाउँका केशर बस्नेत र उनका ९ वर्षीय छोरा जोन बस्नेत बिरामी छन्। मृतक बालिका पनि केशरकी छोरी हुन् । जंगली च्याउको तरकारी खाएका उनीहरू बिरामी परेपनि शनिबार बिहान ६ बजेतिर मात्रै जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो।

    बिरामी मध्ये मिना बस्नेत र पबित्रा बस्नेतलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएकोछ । सल्यान बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीका ४८ वर्षीया भुपबहादुर वली, उनकी ४५ वर्षीया श्रीमती मनकली वली, २३ वर्षीय छोरा प्रकाश वली, २१ वर्षीया बुहारी सुशिला वली पनि जंगलबाट ल्याएर च्याउ खाँदा बिरामी छन्।

  • ६६० जनामा कोरोना पुष्टी

    ६६० जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शनिबारको तथ्यांक अनुसार आज एक जनाको मृत्यु भएको छ । शनिबार एन्टिजेन र पिसिआर गरी कुल ४६ सय ८२ वटा नमुनाको परीक्षण गरिएको थियो । यस अवधिमा निको हुनेको संख्या भने ४४४ छ ।

    नेपालमा देशभर ५ हजार ६४१ जना सक्रिय संक्रमित रहेका छन् । यो अवधिमा २० हजार ६६६ जनाले खोप लगाएको समेत मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोना भाइरसको ग्राफ बढ्दो क्रममा रहेको छ ।