Category: समाचार

  • नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध

    नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध

    काठमाडौं । मंगलबार २४ घण्टा बन्द भएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरूद्ध बनेको छ । पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि पुनः अवरुद्ध बनेको प्रहरीले जनाएकोछ । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुबै तर्फ अवरोध भएको हो।

    सोमबार राति ११ बजे देखि बन्द सडक मंगलबार राति १० बजेतिर सञ्चालनमा आएको थियो। तर पुनः सोही ठाउँमा पहिरो गएपछि सडक पुरै बन्द भएको चितवन प्रहरीले जनाएको छ। आज पुन अवरूद्ध भएको बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । निरन्तर सडक अवरुद्ध हुँदा यात्रुमा भने पिडा थपिएको छ ।

  • आजबाट मौसममा सुधार आउने

    आजबाट मौसममा सुधार आउने

    काठमाडौं । नेपालमा आजबाट मौसममा सुधार देखिने भएको छ । बुधबार साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक÷दुई दिन बढी पानी पर्ने छ । अहिले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ ।

    मनसुनी न्यून चापीय रेखा अब दक्षिणतिर सर्ने र आज साँझबाट वर्षा केही कम हुने अनुमान छ । तर पश्चिमतिर भने अघिल्ला दिनको तुलनामा एक–दुई दिन अलि धेरै पानी पर्नेछ । बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रका स्थानमा अहिले पनि पानी परिरहेको छ । प्रदेश १ र मधेश प्रदेशमा भने एक–दुई स्थानमा मात्र पानी परिरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • अमेरिकी सभामुख पलोसी ताइवानमा, चीन र अमेरिकाबीच तनाव बढ्ने

    अमेरिकी सभामुख पलोसी ताइवानमा, चीन र अमेरिकाबीच तनाव बढ्ने

    काठमाडौं/बीबीसी । अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी मङ्गलवार ढिलोगरी ताइवानमा पुग्ने अपेक्षा गरिएका बेला चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ। पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हुनेछ। ताइवानस्थित प्रहरीले उनको आगमन हुने पुष्टि गरेको छ।

    उनी सवार विमान ताइवानमा अवतरण गरेको विवरणहरू प्रकाशित भएका छन्। पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्। चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ। उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ।

    ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ। चिनियाँ विदेश मन्त्रालयकी एकजना प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताइन्। उनले भनिन्, ‘चीनको सार्वभौम सुरक्षा चासोलाई कम आँकेको कुराको अमेरिकाले जिम्मा लिनुपर्नेछ र त्यसको मूल्य चुकाउनुपर्नेछ।

    मङ्गलवार चीनले ताइवान र मुख्य चिनियाँ भू-भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको छ। उसका सैनिकहरूले युद्धको अभ्यास पनि गरिरहेका छन् र चिनियाँ सेनाको पूर्वी सैन्य कमाण्डले अनलाइनमा एउटा भिडिओ पोस्ट गर्दै आफूहरू कुनै पनि परिस्थितिका लागि तयार रहेको जनाएको छ। ताइवानको रक्षा मन्त्रालयले उक्त टापु नजिकै भइरहेको सैन्य गतिविधिबारे आफू पूर्ण जानकार रहेको र चिनियाँ धम्कीबाट आफूलाई बचाउन पूर्ण कटिबद्ध रहेको जनाएको छ। अमेरिकाको चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध छ भने ताइवानसँग त्यस्तो सम्बन्ध छैन। तर उसले ताइवानसँग मजबुत अनौपचारिक सम्बन्ध रहेको बताउँछ।

    यसै साताको सुरुमा अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले पत्रकारहरूलाई चीनले सैन्य उक्साहट सहितको प्रतिक्रिया दिन सक्ने बताएका थिए। उनले त्यस्ता गतिविधिमा ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गर्ने, ठूलो मात्रामा हवाई वा नौसेना गतिविधिहरू प्रक्षेपण गर्ने वा ताइवान स्ट्रेटको नौसैनिक नाकाबन्दीलाई जायज ठहराउनूनक्कली कानुनी दाबी गर्ने हुनसक्ने बताएका थिए। पलोसीले आफ्नो यात्रा कार्यक्रममा ताइवानको उल्लेख नगरी आइतवारदेखि एशियाको भ्रमण सुरु गरेकी हुन्।

  • साढे २२ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ

    साढे २२ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ

    काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित मंगलबार रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट ६ लाख र गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको जानकारी गराएको छ । यससँगै उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो । रंगेहात पक्राउ गरेपछि सोधपुछ र खानतलासीका क्रममा उनको गाडी हेर्दा थप साढे १६ लाख रुपैयाँ भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

    त्यो रकम कहाँबाट, किन र कसले दियो भन्ने उपसचिव नेपालले खुलाउन सकेका छैनन् । अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो । अख्तियारका अनुसार, प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा उपसचिव नेपालले घुस मागेका थिए । त्यसपछि सम्बन्धित व्यवसायीले अख्तियारमा खवर गरी आफैले रकम दिने योजना बनाएका थिए र त्यसक्रममा रकम उपलब्ध गराएका हुन् ।

    तर गाडीमा रहेको साढे १६ लाख रुपैयाँ भने अलग रकम हो । अख्तियारले त्यो रकमलाई स्रोत नखुलेको रकमको रुपमा बरामद गरेको छ । त्यसलाई गैरकानूनी आर्जन मानेको छ । अख्तियारको टोलीले पर्यटनको अनुमतीको विषयमा घुस डिल गर्नुअघि उपसचिव नेपालले कुनै अर्को टोलीसँग घुस लिएर गाडीमा राखेको हुनसक्ने अनुमान गरेको छ । नेपाल मात्र ३८ वर्षका छन् ।

  • नेपालमा थप ८१४ जनामा कोरोना पुष्टी, २९९ जना संक्रमण मुक्त

    नेपालमा थप ८१४ जनामा कोरोना पुष्टी, २९९ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६६२ नमूनाको पीसीआरमा ५०९ र २६५३ नमूनाको एन्टिजेनमा ३०५ जना गरी कूल ८१४ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार ७३७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २९९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७० हजार २२५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५१४४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ ।

  • म्याग्दी पहिरो अपडेट : एकै परिवारका पाँच जनाको मृत्यु,दुई जना घाइते

    म्याग्दी पहिरो अपडेट : एकै परिवारका पाँच जनाको मृत्यु,दुई जना घाइते

    म्याग्दी ।म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

    मालिका गाउँपालिका दुई रुमको घाङ्लेपानीमा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका पाँच जनाको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र पाँच वर्षीया छोरी रोजी विकको मृत्यु भएको हो ।

    यस्तै त्यही ठाउँमा पहिरोल अर्काे घर पुर्दा दुई जना घाइते भएका छन् ।

    स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीया गोरी विक पहिरोमा परि घाइते भएका हुन् ।

    उनीहरुलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएका छन् ।

  • मंगलबार पनि भारी वर्षाको सम्भावना, बुधबारबाट मौसममा सुधार

    मंगलबार पनि भारी वर्षाको सम्भावना, बुधबारबाट मौसममा सुधार

    काठमाडौं । मंगलबार पनि देशभर मनसुनी प्रणाली सक्रिय रहदा भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विहानै देखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

    राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षासँगै पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यता बुधबार देखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

  • म्याग्दीमा पहिरोले घर पुरियो, २ जनाको मृत्यु-तीनजना वेपत्ता

    म्याग्दीमा पहिरोले घर पुरियो, २ जनाको मृत्यु-तीनजना वेपत्ता

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । तीनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परेर घरमुली घाम बहादुर विक, उनको श्रीमति र सात वर्षीया छोरी वेपत्ता भएको उनले जानकारी दिए ।

    स्थानीयवासीहरुले पुरिएको घरबाट दुईजनाको सव निकालेको र वेपत्ता भएकाहरुको खोजी भइरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिए । इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थल गइरहेको समेत बताइएको छ । पहिरोले दुईवटा घर र एक गोठ पनि पुरेको छ ।

  • पहिरोका कारण मुग्लिन-नारायणगढ सडक हरेक दिन प्रभावित, यात्रुलाई सास्ती

    पहिरोका कारण मुग्लिन-नारायणगढ सडक हरेक दिन प्रभावित, यात्रुलाई सास्ती

    काठमाडौं । मनसुनका बेला निरन्तर पहिरो जाँदा काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने एक मात्रा राजमार्ग मुग्लिन-नारायणगढ सडक खण्ड जोखिमपूर्ण बनेको छ । सोमबार पहिरोले रोकिएको सडक मंगलबार समेत बिहानैबाट ठप्प छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका २९ को केराबारीमा ठूलो पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।

    उता, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ । सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । लामो दूरीमा चल्ने गाडी तथा मालवाहक ट्रकसहित साना गाडीहरुसमेत रोकिएका छन् । यो सडक खण्डसँग जोडिएका जिल्लाका नाकानाकामै गाडी रोक्न थालिएको छ । काठमाण्डौदेखि छुट्ने गाडीलाई पनि नागढुङ्गा, थानकोट, कलङ्की लगायत ठाउँमा रोकेर राखिएको छ ।

  • तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

    तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

    काठमाडौं । सरकारले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका हुन् । सोमबार तिलौराकोटको अवलोकन गर्न पगेका मन्त्री श्रेष्ठले तिलौराकोटको सम्वर्द्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

    गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको भन्दै उनले तिलौराकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पूरा गरिने बताए । तिलौराकोट दरबारको समुचित विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उनले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरूरी रहेको बताए। सो अवसरमा लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरबार क्षेत्र उत्खननबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए।

    लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्विक क्षेत्रका रूपमा विकास गर्ने सरकारको नीति छ। बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा उनले जोड दिए। तिलौराकोट इसापूर्व छैठौं शताब्दीमा योजनाबद्ध सहरीकरण भएको शाक्य राज्यको राजधानी हो। गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट विश्वभरका बौद्धमार्गीहरूका लागि महत्त्वपूर्ण स्थल मानिन्छ

  • साफ यू–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

    साफ यू–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश लिगको अन्तिम खेलमा भिड्दैछन् । प्रतियोगितामा कुल पाँच राष्ट्र सम्मिलित छन् । च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टिम पुग्ने छन् । आइतरबार घरेलु टीम भारतसँग ८–० को पराकिलो अन्तरले हारेको नेपालआज भने दवावमा हनेछ । माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिसकेका छन् । बंगलादेश, भारत र नेपालमध्ये दुई टिम फाइनल पुग्नेछ ।

    तर नेपाललाई फाइनल पुग्न कठिन छ । अहिलेसम्म बंगलादेश सबै तीन खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ । समान ३ खेल खेलेका नेपाल र भारतले समान दुई जित र एक हारको नतिजा निकालेका छन् । हेड टू हेडमा भारत अगाडि छ । मंगलबारको पहिलो खेल नेपाल र बंगलादेशबीच हुँदैछ । खेल सवा ४ बजे शुरु हुनेछ । नेपालका लागि यो खेल जित्नैपर्ने चुनौती छ । हारले नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ ।

    नेपालले बंगलादेशलाई हराएमा फाइनल पुग्ने सम्भावना बढ्ने छ । तर, फाइनल समीकरणका लागि भारत र माल्दिभ्सबीच सवा ७ बजे हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ । नेपालले बंगलादेशलाई पराजित गरेमा र भारतीय टिम माल्दिभ्ससँग पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल बंगलादेशसँगै फाइनलमा पुग्नेछ । नेपाल र भारत दुवैले आ–आफ्नो खेल जितेमा पनि तीन वटै टिमको समान ९ अंक हुनेछ । यस्तोमा तीन टिमबीचको हेड टु हेड र गोलअन्तरमा गणना गरिनेछ ।

  • आज नाग पञ्चमी, यस्तो छ महत्व

    आज नाग पञ्चमी, यस्तो छ महत्व

    काठमाडौं (रासस)। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

    वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो ।

    नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

    दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

    पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

    संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् । मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।

    प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।

    गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

    संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।

    नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।

    आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

    वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

  • करेन्ट लागेकी भाउजुलाई जोगाउँदा देवर-देउरानीको मृत्यु, भाउजु घाइते

    करेन्ट लागेकी भाउजुलाई जोगाउँदा देवर-देउरानीको मृत्यु, भाउजु घाइते

    दाङ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर छन् । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि घाइते भएकी छन् ।

    प्रहरी निरीक्षक शाहका अनुसार सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए । तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो । बासु र हिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

  • काभ्रेस्थली हत्याकाण्ड : श्रीमतीमाथि आशंका र रिसको अकल्पनीय परिणाम

    काभ्रेस्थली हत्याकाण्ड : श्रीमतीमाथि आशंका र रिसको अकल्पनीय परिणाम

    काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएपछि सोमबार देशभर हावासरी खबर फैलियो । अनेक कोणबाट घटनाबारे चर्चा परिचर्चा भए । किनकी यस घटनामा दुई अवोध बालबालिकको समेत विभत्स तरिकाले हत्या भएको थियो । घरमा भित्रबाट चुलुक लगाएका कोठामा मृत शवहरु हेर्दा घटनाबारे अनेक आशंका गरिएका थिए ।

    अन्ततः प्रहरीले यो घटनामा श्रीमानले आफ्ना दुई सन्तान र श्रीमतीको हत्या गरेपछि आफुले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा पुगेको छ । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए । सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार बिहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी थालेका हुन् ।

    घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दिनेशले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो । घटनास्थलमा चार पेज लामो ‘सुसाइड नोट’ भेटिएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङको यो परिवार केही वर्षदेखि यहाँ घर बनाएर बस्दै आएको थियो । आफन्तहरुका अनुसार दिनेश करिब १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि फर्किएका थिए । पदमसालमा जग्गा किनेर एकतले घर समेत बनाएका थिए । सुनिता र उनको सम्बन्ध राम्रो थिएन ।

    श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको भन्दै दिनेशले शंका गर्थे र यही विषयमा उनीहरुबीच झगडा हुने गरेको थियो । बारम्बार झगडा भएपछि सुनिताले प्रहरीमा उजुरी दिइन् । प्रहरीको बालाजु वृत्तले तीन पटकसम्म दुवैलाई बोलाएर छलफल गराएको थियो, तैपनि उनीहरुबीच पारिवारिक मेल हुन सकेन । पछिल्लो पटक दिनेशले घर बेच्ने भनेर १० लाख रुपैयाँ बैना समेत लिएका थिए । तर सुनिताले बेच्न मानिनन् । उनको नाममा घर भएकाले दिनेशको केही लागेन ।

    सुनिताले घर किन्न बैना गर्ने व्यक्तिलाई एक लाख जरिवानासहित ११ लाख रुपैयाँ फिर्ता गरिदिइन् । दिनेशले सुनितासँग सम्बन्धविच्छेद (डिभोर्स) गर्न चाहेका थिए । तर सुनिताले छोराछोरीको भविष्यमा असर गर्ने भन्दै अस्वीकार गरिन् । बरु उनले वैदेशिक रोजगारीका लागि जाने प्रयास थालिन् । त्यसक्रममा बेलायतको सिजनल भिसा लागेपछि उनले पदमसालकै फेन्सी पसल बेच्नुका साथै मेगा ड्रिम सहकारीमा रहेको पैसा निकालेर खाता नै बन्द गरेकी थिइन् ।

    तर बेलायत उड्नुअघि नै उनको हत्या भयो । घटनास्थलमा पुगेको फरेन्सिक टोलीले घटना आइतबार राति भएको बताएको छ । विवाद हुँदा दिनेशले श्रीमती र छोराछोरीको चक्कु हानेर हत्या गरेको हुनसक्ने देखिएको प्रहरीले बताएको छ । हत्यापछि दिनेशले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको देखिएको छ । पछि उनले आफुले आफैलाई चक्कु हानेको देखिएको अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ । पछिल्लो समय श्रीमती बेलायत जाने विषयमा श्रीमान अझ बढी असन्तुष्ट रहेको अनुमान गरिएको छ ।

  • ‘विप्लव’को चेतावनी-‘सरकारले देशलाई द्वन्द्वतिर धकेल्न खोज्यो, हातमा दही जमाएर बस्दैनौँ’

    ‘विप्लव’को चेतावनी-‘सरकारले देशलाई द्वन्द्वतिर धकेल्न खोज्यो, हातमा दही जमाएर बस्दैनौँ’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेकपाले आपत्ति जनाएको छ।

    ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

    विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म हाम्रो पार्टी तीनबुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति दृढ छ र अक्षरशः लागू गरिराखेको छ।

    २ बुँदे सहमतिपछि ५ महिनासम्म चलेको ओली सरकारले यसलाई इमान्दारीताका साथ लागू गरेन। गठन भएको तेस्रो दिनमा वार्ता भई तीनबुँदे सहमति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको देउवा सरकारले पनि एक वर्षसम्म पटक पटक वार्ता गरे पनि लागू गरिराखेको छैन।’

    सरकार देश र जनताको मुद्दामा प्रवेश नै नगरेको आरोप उनले लगाएका छन्। सरकारले अहिलेसम्म पार्टीका राजनीतिक बन्दीहरूलाई रिहा नगरेकोप्रति उनले असन्तुष्टि जनाएका छन्।

    पार्टी, नेतृत्व, कार्यकर्ता र तीनबुँदे सहमतिविरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीनबुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने आफ्नो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी उनले दिएका छन्।

    उनले चेतावनी दिँदै भनेका छन्, ‘यसबाट निम्तिने भावी गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ। राज्यका सञ्चालकहरूले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ।’

  • राहदानीको अनलाइन आवेदन बिहान ११ बजेदेखि खुल्ने

    राहदानीको अनलाइन आवेदन बिहान ११ बजेदेखि खुल्ने

    काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि बिहान ११ बजेदेखि अनलाइन आवेदन फारम खोल्ने भएको छ ।

    सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।

    ‘राहदानी विभागले भोलिबाट प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खोल्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

    विभागले हाल २ हजार ४ सय जनाका लागि प्रि-इनरोलमेन्ट खुलाउँदै आएकोमा अब यसको कोटा पनि बढाउने तयारी गरेको छ। प्रि-इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्‍नुपर्छ।

  • दिनदिनै बढ्दै कोरोना, यी हुन् निःशुल्क उपचार गर्ने १७ अस्पताल

    दिनदिनै बढ्दै कोरोना, यी हुन् निःशुल्क उपचार गर्ने १७ अस्पताल

    काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले १७ अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १७ वटा अस्पताललाई कोरोना संक्रमणको निःशुल्क उपचारका लागि तोकेको हो।

    संक्रमितको संख्या बढ्ने भएपछि अब अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्ने देखिन्छ। यसका लागि स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार गर्न सकिने अस्पतालहरूको सूची सार्वजनिक गरेको छ।

    जसमा काठमाडौं उपत्यकाको शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल तोकिएका छन्।

    विराटनगरस्थित कोशी अस्पतालका साथै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुर अस्पताल, नारायणी अस्पताल वीरगन्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ बागलुङको धौलागिरी अस्पताल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी प्रादेशिक अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत‚ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ।

    सरकारले तोकेका यी अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचार गर्न सकिन्छ। तर सबै बिरामीको भने यी अस्पतालमा निःशुल्क उपचार हुँदैन।

    स्वास्थ्य मन्त्रालयका अनुसार मध्यम र जटिल अवस्थाका संक्रमितको मात्र यी अस्पतालमा निःशुल्क उपचार हुन्छ। सामान्य लक्षण भएका संक्रमितहरूको भने निःशुल्क उपचार हुँदैन।

  • नेपालमा एकैदिन थप ८९५ जनामा कोरोना पुष्टी, २६४ जना संक्रमण मुक्त

    नेपालमा एकैदिन थप ८९५ जनामा कोरोना पुष्टी, २६४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६८५ नमूनाको पीसीआरमा ६३२ र २२२४ नमूनाको एन्टिजेनमा २६३ जना गरी कूल ८९५ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार २२८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७० हजार ३२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४९३४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ ।

  • ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए

    ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए

    ललितपुर । ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५/१४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले जानकारी दिए ।

    उनले भने, ‘हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका छौँ ।’

    हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेङ्गुको सङ्क्रमण भेटिएको उनले जानकारी दिए ।

    उक्त रोगलाई जिल्लाबाटै न्यूनीकरण गर्न हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्नुपर्ने देखिएको र घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पुर्याउन आवश्यक भएको कार्यालय प्रमुख डा. विष्टको भनाइ थियो ।

  • विप्लव र प्रकाण्डसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी, यस्तो छ अभियोग

    विप्लव र प्रकाण्डसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी, यस्तो छ अभियोग

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ।

    ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो।

    पक्राउ पुर्जी जारी हुनेमा विप्लबसहित खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ता रहेका छन् ।

    उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ।

    ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ। अदालतले मुद्दा हात हतियार तथा खरखजाना मुद्दामा विप्लवसहित मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई छन्।

    यस्तै विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरूद्धको अपराधसमेतको मुद्दामा विप्लव र प्रकाण्डलाई पत्र काटेको छ।

    यस्तै मुद्दा हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुर र अपराधिक लाभ र संगठित अपराधको मुद्दामा विधिन्न व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको छ।

  • काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला, हत्याको आशंका

    काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला, हत्याको आशंका

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत भेटिएका छन् ।

    प्रहरीका अनुसार चारै जनाको शव घरभित्र फेला पारेको हो । मृतक श्रीमान­–श्रीमती १३ वर्षकी छोरी र ८ वर्षका छोरा रहेका छन् ।

    एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।

    गोरखा भीमसेन गाउँपालिका-६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका थिए । उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • कोशी र नारायणीमा बाढी, अन्य कुन-कुन नदी किनारमा जोखिम छ ?

    कोशी र नारायणीमा बाढी, अन्य कुन-कुन नदी किनारमा जोखिम छ ?

    काठमाडौं । देशभर आएको वर्षाले ठूला नदीहरुको पानीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाका अनुसार कोशी र नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसकेको छ । नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सङ्खुवासभा, काठमाण्डौ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी, पाल्पा, कालीकोट र दार्चुला आसपास भएर बहने नदी खोलामा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । केही नदी र खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • सोमबार देशभर भारी वर्षाको संभावना

    सोमबार देशभर भारी वर्षाको संभावना

    काठमाडौं । सोमबार देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । त्यसैले देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। 

    देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    यता मंगलबार पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • पोखरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु

    पोखरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु

    कास्की । पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते छन्।

    अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।

    उनकाअनुसार घटनामा घाइते सुनारलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।

    घटनामा कास्कीको माछापुच्छे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते छिन्।

    उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको छ ।

  • विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

    विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो।

    उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ। 

    ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ।
    अदालतले मुद्दा हात हतियार तथा खरखजाना मुद्दामा विप्लवसहित मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई छन्। विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरूद्धको अपराधसमेतको मुद्दामा विप्लव र प्रकाण्डलाई पत्र काटेको छ। मुद्दा हातहतियार  तथा विस्फोटक पदार्थसम्बन्धी कसुर र अपराधिक लाभ र संगठित अपराधको मुद्दामा विधिन्न व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको छ। 

  • दोस्रो कार्यकालका लागि अर्थमन्त्री शर्माले गरे पदभार ग्रहण

    दोस्रो कार्यकालका लागि अर्थमन्त्री शर्माले गरे पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालयमा पुगेका हुन् । उनलानई मन्त्रालयमा राजस्व सचिव कृष्णहरी पुष्करसहितका कर्मचारीले भब्य स्वागत गरे । मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री शर्माले उच्च नेतृत्वलाई आफुलाई यो अवसर दिएको भन्दै धन्यवाद ज्ञापन गरे ।

    अनधिकृत व्यक्तिले बजेटमा करका दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति बनेपछि शर्माले २२ असारमा राजीनामा दिएका थिए । समितिले अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएपछि माओवादीले शर्मालाई फेरि अर्थमन्त्रीमा सिफारिस गरेको थियो ।

    आफूहरुले बनाएको बजेट कार्यान्वयन गर्ने अवसर दिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको नाम नै लिएर धन्यवाद दिए । उनले कर्मचारीहरुसँग पनि विगतमा झैं सुमधुर सम्बन्ध र सहकार्य गरेर मन्त्रालयको जिम्मेवारी पूरा गर्ने बताए ।

    अर्थमन्त्री शर्माले अघि बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर कहाँ कमजोरी भए, कसरी हटाउन सकिन्छ भनेर उचित समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्न लागिपर्ने समेत बताए ।

  • नेपालमा थप ६२० जनामा कोरोना पुष्टी,२९७ जना संक्रमण मुक्त

    नेपालमा थप ६२० जनामा कोरोना पुष्टी,२९७ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६५१ नमूनाको पीसीआरमा ४९१ र ३१९५ नमूनाको एन्टिजेनमा १२४ जना गरी कूल ६२० जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८६ हजार ५९५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २९७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४५६७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ ।

  • अर्थ मन्त्रालयमा जनार्दनको कमब्याक, राष्ट्रपतिद्वारा अर्थमन्त्री नियुक्त

    अर्थ मन्त्रालयमा जनार्दनको कमब्याक, राष्ट्रपतिद्वारा अर्थमन्त्री नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनले नियुक्ति गरेकी हुन् ।

    ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८-३-२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    नवनियुक्त मन्त्री शर्माको शपथ ग्रहण कार्यक्रम आजै साँझ साढे ५ बजे तय गरिएको छ । संसद बजेट प्रस्तुत हुनु अघिल्लो दिन राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।

    छानबिन समिति गठन हुनुअघि संसद्मा सम्बोधन गर्दै शर्माले छानबिनमा सहयोग गर्ने उल्लेख गर्दै पदबाट राजीनामाको घोषणा गरेका थिए ।

    तर, संसदीय समितिले उनीमाथि लागेको आरोपमा प्रमाण नभेटिएको निष्कर्षसहित शुक्रबार प्रतिवेदन बुझाएको छ ।

    समितिले उनलाई क्लीन चिट दिएको थियो ।

  • ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त

    ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय गणतन्त्र ब्राजिलको राजदूतमा निर्मलराज काफ्लेलाई नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका छन्।

    संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काफ्लेलाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। काफ्लेको यसअघि नै संसदीय सुनुवाइ प्रक्रिया सकिएको थियो।

  • अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, साँझ शपथको तयारी

    अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, साँझ शपथको तयारी

    काठमाडौं । जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै नियुक्त गर्न सिफारिस गरेका हुन् ।

    संसद बजेट प्रस्तुत हुनु अघिल्लो दिन राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।

    छानबिन समिति गठन हुनुअघि संसद्मा सम्बोधन गर्दै शर्माले छानबिनमा सहयोग गर्ने उल्लेख गर्दै पदबाट राजीनामाको घोषणा गरेका थिए ।

    तर, संसदीय समितिले उनीमाथि लागेको आरोपमा प्रमाण नभेटिएको निष्कर्षसहित शुक्रबार प्रतिवेदन बुझाएको छ ।

    समितिले क्लीन चिट दिएसँगै उनलाई पुनः नियुक्ती गर्न लागिएको हो । अध्यक्ष प्रचण्डले यसअघि नै अर्थमा शर्मा फेरि फर्किने बताएका थिए ।

    नेकपा माओवादीले शर्मालाई पुनः अर्थमन्त्री बनाउने भएपछि शपथ लिने तयारी भएको हो। राष्ट्रपति कार्यालयले साँझ ५ बजे शपथको तयारी गरेको छ।