Category: समाचार

  • बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    ललितपुर । ललितपुरको बालकुमारीमा गतराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ५७ प ३१४३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको जीपले ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ का आशिष लामाको ज्यान गएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ११ बजे बीएण्डबी अस्पताल ग्वार्कोमा निधन भएको हो । जीप चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • अर्थमन्त्रीबारे माओवादी केन्द्रले आज निर्णय लिने

    अर्थमन्त्रीबारे माओवादी केन्द्रले आज निर्णय लिने

    काठमाडौं । माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मालाई निरन्तरता दिने वा नयाँ व्यक्ति पठाउने भन्ने सन्दर्भमा आज निर्णय लिने भएको छ । पार्टीको आज बस्ने स्थायी समिति बैठकले सो निर्णय लिनेछ । बैठकले पार्टी पदाधिकारीको समेत टुङ्गो लगाउने तयारी गरेको बताइएको छ ।

    पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिको छानविनबाट क्लिन चिट पाएका छन् । उनी प्रतिष्ठाका लागि भएपनि एक पटक अर्थ मन्त्रालय फर्कने सोँचमा छन् । यसबारे पार्टीले निर्णय लिने भएको छ । प्रमुख प्रतिपक्ष एमालेले पूर्व अर्थमन्त्री शर्माबारेको प्रतिवेदन नमान्ने घोषणा शनिबार अध्यक्ष केपी ओलीले गरेका थिए । जुन समितिमा उनकै पार्टीका नेताहरु समेत सहभागी थिए ।

  • पूर्वी नेपालमा भूकम्प, काठमाडौंसम्म धक्का

    पूर्वी नेपालमा भूकम्प, काठमाडौंसम्म धक्का

    काठमाडौं । पूर्वी नेपालको खोटाङको मार्तिमबिर्ता केन्द्र विन्दु भएर नेपालमा भूकम्प गएको छ । नेपालमा ६ रेक्टर स्केलको मध्यम खालको भूकम्प गएको हो । यसको धक्का काठमाडौंसम्म महसुश गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ः१३ मा गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन । यो नयाँ भूकम्प हो या गोरखा भूकम्पकै परकम्प हो भन्ने समेत खुलेको छैन ।

  • पद्यश्री पुरस्कारको प्रतिस्पर्धामा ५ पुस्तक छानिए

    पद्यश्री पुरस्कारको प्रतिस्पर्धामा ५ पुस्तक छानिए

    काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक छानिएका छन् । उत्कृष्ट पुस्तकको संक्षिप्त सूचि सार्वजनिक भएको छ । डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय सूचिमा छन् । पाँचमध्ये उत्कृष्ट कृतिले पद्मश्री पुरस्कार पाउने छ । खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पुरस्कार दिने गरेको छ ।

    प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि क्रमशः तीन चरणमा कृति सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको थियो । २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिमध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिको विस्तारित सूची गत असार १५ गते सार्वजनिक भएको थियो । उक्त विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्यांकन गरी पाँचवटा कृतिहरूलाई संक्षिप्त सूचीमा राखेको हो ।

  • मंकीपक्सबाट अफ्रिका बाहिर पहिलो पटक ब्राजिल र स्पेनमा मानिसको मृत्यु

    मंकीपक्सबाट अफ्रिका बाहिर पहिलो पटक ब्राजिल र स्पेनमा मानिसको मृत्यु

    काठमाडौं । मंकीपक्स संक्रमित भएका बिरामीको पहिलो पटक अफ्रिका बाहिर मृत्यु भएको छ । ब्राजिलमा ४१ वर्षीय पुरुषको मृत्यु नै अफ्रिकाबाहिर मंकीपक्सबाट भएको पहिलो मृत्यु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उता, स्पेनमा पनि पहिलो पटक मंकीपक्सबाट मृत्यु भएको छ । यो युरोपमा मंकीपक्सबाट भएको पहिलो मृत्यु हो । गत हप्ता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

    ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित लिम्फोमा र कम प्रतिरोधी क्षमताको समस्याबाट ग्रसित थिए । ब्राजिलमा अहिलेसम्म १ हजार ६६ जनामा स‌ंक्रमण पुष्टि भएको छ । ५१३ जनामा संक्रमणको आशंका गरिएको छ । ब्राजिली स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये ९८ प्रतिशत पुरुषलाई पुरुषसँगको यौनसम्पर्कबाट संक्रमण भएको हो । स्पेनमा अहिलेसम्म ३ हजार ७ सय ५० जनामा संक्रमण भएको छ । त्यसमध्ये ३.२ प्रतिशत अर्थात १२० जना अस्पताल भर्ना भएका छन् ।

    अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अहिलेसम्म विश्वभर २१ हजार १ सय ४८ जनामा म‌ंकीपक्सको संक्रमण पुष्टि भएको छ । यसअघि मध्य र पश्चिम अफ्रिकी मुलुकमा मंकीपक्स संक्रमण देखिने गरेको थियो । तर यसपटक भने विश्वका ७५ भन्दा बढी मुलुकका मंकीपक्स देखिएको छ । छिमेकी मुलुक भारतमा पनि ४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार मंकीपक्स संक्रमणको उच्च जोखिममा समलिंगी तथा बाइसेक्सुअल पुरुष रहेका छन् ।

    मंकीपक्स भाइरस सन् १९५८ मा पहिलोपटक खोरमा राखिएको बाँदरमा पाइएको थियो । त्यही भएर यो रोगलाई मंकीपक्स नाम दिइएको हो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा संक्रमण पाइयो ।

    मान्छेमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा ९ महिने बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसताका यो संक्रमण कंगो र मध्य एवं पश्चिम अफ्रिकालगायतका मुलुकमा देखिइसकेको छ । हालसम्म मंकीपक्सविरुद्ध खोप पत्ता लागेको छैन । तर, मंकीपक्स बिफर परिवारकै एक भाइरस भएकाले बिफरविरुद्धको खोपले केही हदसम्म जोगाउने डब्लूएचओले जनाएको छ ।

  • वर्षायाममा काठमाडौंको सडकमा थुप्रियो फोहोर, मानव स्वास्थ्यमा जोखिम

    वर्षायाममा काठमाडौंको सडकमा थुप्रियो फोहोर, मानव स्वास्थ्यमा जोखिम

    काठमाडौं (रासस) । बाटो मर्मतको कारण साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको सडमा फोहोर थुप्रिन थालेका छन् ।
    सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहोर थुप्रिन थालेको छ । यही असार ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो ।

    एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहोर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले बताए । उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले कही दिन सबै स्थानको फोहोर व्यवस्थापन गर्न कठिन हुने उनको भनाई छ ।

    बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । समयमा नै सडक मर्मतको काम नगरेको, फोहोर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको ग्यारेन्टी जस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।


    कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणका रहेको जनाउँदै उपत्यकाको कुहिने फोहोर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ ।
    यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

    सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहोर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो । मध्य वर्षायाममा सडकमा थुप्रिएको फोहोरले मानव स्वास्थ्यमा भने समस्या पार्न थालेको छ ।

  • फेसबुकमा छताछुल्ल रवीन्द्र मिश्रको ‘राजा मोह’

    फेसबुकमा छताछुल्ल रवीन्द्र मिश्रको ‘राजा मोह’

    काठमाडौं । गणतन्त्रात्मक संघीय राज्य व्यवस्था भित्र वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ राजनीतिमा आएका रवीन्द्र मिश्रको राजा मोह शनिबार अझ छताछुल्ल भएको छ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष समेत रहेका मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै उनले फेसबुकमा यस्तो लेखेका हुन ।

    ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना,’ उनले लेखेका छन् । आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने तर्क उनको छ । जनताले लामो संघर्ष गरी आफ्नो शासन आफैले गर्न सक्ने व्यवस्था मुलुकमा ल्याएका हुन् । यसै व्यवस्था भित्र टेकेर मिश्रले भने पुनः जहानिया राजत्रतन्त्रको वकालत गरिरहेका छन् ।

  • स्वर्गद्धारी दर्शन सकेर फर्कदैं गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

    प्यूठान । प्यूठानमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १४ जना घाइते भएको प्रहरीले जनाएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटनामा परेको हो ।

    घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए । जीपमा १७ जना सवार थिए ।

  • हलिउड अभिनेता लियोनार्दोले गरे नेपालको प्रशंसा

    हलिउड अभिनेता लियोनार्दोले गरे नेपालको प्रशंसा

    काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएकोमा प्रशंसा गरेका छन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरेको भन्दै यसलाई अनुकरणीय भएको बताएका हुन् । हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको थयो । सन् २०१० मा १२१ वटा रहेको बाघ १२ वर्षमा बढेर ३५५ पुगेको हो ।

    अभिनेता डिक्याप्रिओले यसलाई अविश्वसनीय उपलब्धि भनेका छन् । उनले बाघ बढेसँगै मानव बन्यजन्तुबीच द्वन्द्व हुन सक्ने भन्दै सुरक्षित सहअस्तित्वका लागि ध्यान दिन आवश्यक रहेको बताएका छन् । नेपालले बाघ बढेसँगै उत्पन्न चुनौती सम्बोधन गर्न प्रधानमन्त्री मानव–वन्यजन्य उद्धार तथा राहत कोष सुरु गरेकामा पनि उनले खुशी व्यक्त गरेका छन् ।

  • नेतालाई गाली गरेर समाज भत्काउन खोजियो : प्रचण्ड

    नेतालाई गाली गरेर समाज भत्काउन खोजियो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतालाई गाली गरेर समाज भत्काउन खोजिएको बताएका छन् । पछिल्लो समय आगामी निर्वाचनमा सबै पूर्वप्रधानमन्त्रीहरुलाई हराउने भन्दै सामाजिक सञ्जालमा जारी अभियानबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजेको बताए । ‘यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन’ उनले भने, ‘समाज बनाउन युवा, प्रौढ, वृद्धवृद्धा पनि चाहिन्छ ।

    सबैको उचित समायोजन गरेर मात्र राजीनीति, समाज र राष्ट्र चल्न सक्छ ।’ प्रचण्डले परिवर्तन नरुचाउनेहरुले अनेक बहानामा वृद्ध नेताहरुलाई निषेध गर्न खोजेको आरोप लगाए । ‘परिवर्तन नरुचाउनेहरुले कहिले युवा, कहिले वृद्धलाई कहिले नेताहरुलाई निषेध गर्न खोजेर समाज भत्काउने, परिवर्तन भत्काउने कोशिस भएका छन्’ उनले भने । नेतालाई गाली गरेर समाज भत्काउने संस्कारलाई तर्कसंगत प्रतिवद गर्नुपर्ने प्रचण्डले बताए ।

  • ४३८ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    ४३८ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ । सक्रिय संक्रमितमध्ये चार हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् । कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

    संक्रमितमध्ये काठमाडौंमा १५५, ललितपुरमा ४४, भक्तपुरमा १२, कास्कीमा १३, सुनसरीमा १०, कैलालीमा ७, चितवन र रुपन्देहीमा ५र५ जना रहेका छन् । प्रदेश अनुसार बागमती प्रदेशमा २२६, प्रदेश १ मा २३, मधेशमा ४, गण्डकीमा १७, लुम्बिनीमा १२, कर्णालीमा २ र सुदूरपश्चिममा ७ जना संक्रमित भेटिएका छन् ।

  • नाम्चेभन्दा माथी पर्यटकले एक्लै हिड्न नपाउने

    नाम्चेभन्दा माथी पर्यटकले एक्लै हिड्न नपाउने

    काठमाडौं । नाम्चेभन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने भएका छन् । गाइड तथा साथीबिना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै हिँडडुल गर्न कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न विपत्ति आइलाग्ने भएकाले नाम्चेको प्रहरी चौकीभन्दा माथिको क्षेत्र भ्रमणका लागि साथी अनिवार्य गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनीलजङ्ग शाहले जानकारी दिए । उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गराउन आफूले मन्त्रालयमा पनि परिपत्र गरिसकेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए ।

    यसअघि बर्सेनि खुम्बु क्षेत्रमा आएका विदेशी पर्यटक हराउने गरेका छन् । खुम्बु क्षेत्रमा केही महिनाअघि मात्रै एक्लाएक्लै भ्रमणमा आएका एक भारतीय र एक कोरियाली नागरिक बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी भए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।    

  • आज पनि देशभर मौसम प्रभावित

    आज पनि देशभर मौसम प्रभावित

    काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । प्रदेश १, बागमती, लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा पानी परेको छ ।

    दिउँसो भने   प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

    राति देशभर विभिन्न ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने र प्रदेश १ र मधेशका एक/दुई ठाउँमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

    आज देशका धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले सूचित गरेको छ ।

  • नेपालमा थप ५७७ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

    नेपालमा थप ५७७ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७४ नमूनाको पीसीआरमा ३९१ र १८०८ नमूनाको एन्टिजेनमा १८६ जना गरी कूल ५७७ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ८०८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६९ हजार ४८८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४३५६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ ।

  • वैदेशिक रोजगारीमा हुने ठगीको सूक्ष्म अनुसन्धान गर्दै सरकार, ठगिएका सम्पर्कमा आउन आग्रह

    वैदेशिक रोजगारीमा हुने ठगीको सूक्ष्म अनुसन्धान गर्दै सरकार, ठगिएका सम्पर्कमा आउन आग्रह

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता एवं गैरकानूनी क्रियाकलाप नरोके हदैसम्मको कारबाही गरिने जनाएको छ ।

    वैदेशिक रोजगारीका नाममा नेपाली युवासँग चर्को रकम असुल्ने गरेको, रकम लिएर विदेश नपठाएको, विदेशमा अलपत्र पारेकोलगायत विषयलाई सरकारले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाउँदै मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो ।

    वैदेशिक रोजगारीका सिलसिलामा गैरकानूनी एवं अमर्यादित क्रियाकलाप न्यूनीकरण गर्न मन्त्रालय र विभागबाट सुक्ष्म अनुगमन र अनुसन्धान भइरहेको जनाउँदै मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका अनियमितता एवं गैरकानूनी क्रियाकलाप तुरुन्त नरोकेमा हदैसम्मको कारबाही हुने जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका सन्दर्भमा ठगीमा परेका, तोकिएभन्दा बढी पैसा दिन बाध्य पारिएका तथा विदेशमा अलपत्र परेका व्यक्तिलाई तत्काल सरकारको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

    केही दिनयता नेपाली नागरिकलाई प्राप्त हुने वैदेशिक रोजगारीको सङ्ख्या बढिरहेका सन्दर्भमा श्रम स्वीकृतिका लागि आवेदन गर्नेको सङ्ख्यामा समेत वृद्धि हुँदा ठगी बढिरहेको मन्त्रालयले जनाएको छ ।

    प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ अनुरुप नेपाली नागरिकलाई विदेशबाट प्राप्त हुने रोजगारीमा मूलतः शून्य लागतको नीति अनुशरण भएको हुनुपर्नेमा सो नीतिको पूर्ण परिपालना नगरेको, तोकेभन्दा बढी सेवा शुल्क र अन्य गैरकानूनी तवरबाट रकम लिइएको पाइएको उनले जनाए ।

    प्रवक्ता घिमिरेले अस्वाभाविक पैसा असुलेर त्यसको कुनै प्रमाण नदिएको, भिडियो बनाएर कुनै पदको शुल्क लिएको छैन भनी जबर्जस्ती भन्न लगाएको, स्वास्थ्य परीक्षण गर्दा सम्बन्धित व्यक्ति उपस्थित नभए पनि ठूलो रकम असुलेर निरोगिताको प्रमाणपत्र दिने गरेको, विदेश जानुपूर्व अनिवार्यरुपमा सहभागी हुनुपर्ने पूर्वप्रस्थान अभिमुखीकरणमा अनुपस्थित व्यक्तिलाई समेत उपस्थित भएको, असान्दर्भिक नाम दर्ता गराएको लगायतका उजुरी प्राप्त भएको बताए। ती उजुरीको अनुसन्धान गरी दोषीमाथि कारबाहीको तयारी भइरहेको उनको भनाइ छ ।

  • बीमाको रकम लिन विवाह गरेकाे एक महिनामै श्रीमानकाे हत्या, छ पक्राउ

    बीमाको रकम लिन विवाह गरेकाे एक महिनामै श्रीमानकाे हत्या, छ पक्राउ

    काठमाडौं । नक्कली विवाह दर्ता गरी बीमाको साढे २ करोड रुपैयाँ हत्याउन सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो ।

    प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी सङ्गठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् ।

    गिरोहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ ।नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बीमा गराइएको प्रहरीले जनाएको छ ।

    वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।

  • ‘एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकेका छौँ’- परराष्ट्रमन्त्री खड्का

    ‘एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकेका छौँ’- परराष्ट्रमन्त्री खड्का

    काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेको जानकारी अमेरिकालाई दिएको छ ।

    परराष्ट्रमन्त्री नारायण खड्काले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै साउन ९ गते नै कुटनीतिक माध्यमबाट अस्वीकार गरेको लिखित पत्र पठाइसकिएको जानकारी दिए ।

    ‘साउन ९ गते एसपीपी अघि नबढ्ने भनेर लिखित रुपमा कुटनीतिक माध्यमबाट अमेरिकालाई लिखित पत्र पठाइसकेका छौँ,’ उनले भने । उनले २०७९ असार ६ गते एसपीपी कार्यक्रम अघि नबढाउने भनिसकेको अवस्थामा आन्तरिक छलफल गरेर पत्र पठाउन केही ढिला भएको बताए।

    ‘यो निर्णयलाई अमेरिकी सरकारलाई नेपाल सरकारले जानकारी गराएन भनेर सांसदहरुले प्रश्न उठाउनु भएको छ’ ,उनले भने, ‘एसपीपीबारे नेपाल सरकारले गरेको निर्णयबारे अहिलेसम्मका विकासक्रमबारे जवाफ दिन संसदमा आएको हुँ। सरकारले यसबारे अमेरिकालाई पत्र पठाइसकेको छ।’

  • एसईई परीक्षाको नतिजामा चित्त नबुझे पुनः जोड्न सकिने

    एसईई परीक्षाको नतिजामा चित्त नबुझे पुनः जोड्न सकिने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझे पुन जोड्ने प्रयोजनका लागि निवेदन दिन सकिने जनाएको छ । बोर्डले विद्यार्थीलाई एक सूचना मार्फत यस्तो जानकारी गराएको हो । बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने जनाएको छ ।

    त्यसका लागि विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाई वा सोझै कार्यालयमा आउँदो साउन २७ गतेसम्म निवेदन दिन सक्नेछन् । बोर्डले बुधवार २०७८ सालको एसईईको नतिजा सार्वजनिक गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा देशभरबाट ४ लाख ९५ हजार ७ सय ५१ जना विद्यार्थी सहभागी थिए । नतिजामा चित्त नबुझेका विद्यार्थीले निवेदन दिँदा प्रतिविषय पाँच सयका दरले रकम खातामा जम्मा गर्नुपर्नेछ।

  • एक वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४३३ जना नेपालीको निधन

    एक वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४३३ जना नेपालीको निधन

    काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका सिलसिलामा गएका मध्ये एक वर्षको अवधिमा १४३३ जनाले ज्यान गुमाउनु परेको छ । आर्थिक वर्ष २०७८-७९ मा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये सो संख्यामा नेपालीको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्ड सचिवालयको तथ्यां अनुसार एक वर्षमा एक हजार ४७९ जना मृतकका परिवारले क्षतिपूर्ति बुझेका छन् । मृत्यु हुनेमा ४६ जना महिला छन् । एक हजार ४३३ जना पुरुष छन् ।

    अघिल्लो वर्ष आर्थिक वर्ष २०७७÷७८ मा एक हजार २४२ जनाले ज्यान गुमाएका थिए । सो वर्ष कोरोना महामारी समेत धेरै थियो । अहिले विदेशमा दैनिक औसत ४ जनाले ज्यान गुमाउने गरेको पाइएको छ । बोर्डले एक वर्षमा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्तिबापत ८३ करोड ६० लाख रुपैयाँ प्रदान गरेको छ ।

    कुन आवमा कतिको मुत्यृ ?
    वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार आर्थिक वर्ष २०७१\७२ मा एक हजार ६ जनाको विदेशमा मृत्यु भएको थियो, आर्थिक वर्ष २०७२\७३ मा ८२६, २०७३\७४ मा ७५८, २०७४\७५ मा ८२६, आर्थिक वर्ष २०७५\७६ मा ७६३, २०७६\७७ मा ६७२ जना मृतक श्रमिकका परिवारले बोर्डबाट क्षतिपूर्ति बुझेका थिए । आर्थिक वर्ष २०७७\७८ मा १ हजार २४२ पुगेको संख्या अहिले करिब १५ सय नजिक पुगेको हो ।

  • बजेट निर्माण प्रकरण : समितिले आज प्रतिवेदन बुझाउँदै

    बजेट निर्माण प्रकरण : समितिले आज प्रतिवेदन बुझाउँदै

    काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति छिरेको आरोप खेपेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको संसदीय विशेष समितिको प्रतिवेदन आज सभामुख अग्नी सापकोटासमक्ष पेश हुँदैछ । प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो । विशेष समितिले प्राप्त प्रमाणहरूबाट बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि भने गर्न सकेन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले भने समितिको निष्कर्षमा फरक मत राखेका छन् ।

    छानबिनको क्रममा समितिले तत्कालीन मन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधु कुमार मरासिनी, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारी लगायत विभिन्न पक्षसँग छलफल गरेको थियो । अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभी फुटेज रिकभर गराएरसमेत अध्ययन गरिएको थियो । तर समितिले अनधिकृत व्यक्तिको संलग्नता भएको पुष्टि भएन् ।

    संसदमा बजेट पेश गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको समाचार सार्वजनिक भएपछि गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले ११ सदस्यीय छानबिन विषेश समिति गठन गरेका थिए ।

    त्यसलगत्तै अर्थ मन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समयभित्र काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अवधि बिहीबार पुरा भएको छ ।

  • अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

    अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

    काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आएका छन् । उनी बिहीबार दिउँसो दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा आएका हुन्। लुले अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई हस्तान्तरण गरेका छन् ।

    यो कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्छ। सहायक मन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने कार्यक्रम छ। शुक्रबार दिउँसो तीन बजे उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम छ । काठमाडौंमा उनले परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट गर्ने छन्। अन्य भेटघाटबारे खुलेको छैन ।

    नेपालमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे बहस जारी रहेका बेला अमेरिकी उच्च अधिकारी काठमाडौं आएका हुन् । लु यसअघि एमसिसी पारित हुनुभन्दा अघि गत मंसिरमा नेपाल आएका थिए। त्यतिबेला उनले नेपालमा महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए।

  • नेपालभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध

    नेपालभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध

    काठमाडौं । सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध मानिनेछ ।

    मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको जनाएको छ । यसअघि १ भदौबाट लागू हुने गरी वातावरण विभागले देशभर ४० माइक्रोन भन्दा पातला प्लास्टिकका झोलाको प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

  • नेपालमा तीव्र रुपमा बढ्दै कोरोना, एकैदिन ७१० जना संक्रमित थपिए

    नेपालमा तीव्र रुपमा बढ्दै कोरोना, एकैदिन ७१० जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५४१ नमूनाको पीसीआरमा ५२४ र २४८४ नमूनाको एन्टिजेनमा १८६ जना गरी कूल ७१० जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ४१७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २१५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४२३६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

  • भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

    भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडावासीले रोकेका छन् ।

    काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडीलाई स्थानीयले अवरोध गरेपछि गाडीहरुको बाटोमै लाइन लागेको काठमाडौँ नगर प्रहरीले जनाएको छ ।

    महानगरबाट फोहोर बोकेका करिब ६० वटा गाडीलाई स्थानीयले बाटोमै रोकेका हुन् ।

    फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर बिहीबारदेखि उठाउन शुरु गरेको थियो ।

    यता बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आउँदो भदौ १ गतेदेखि बञ्चरेडाँडातर्फ फोहोर लैजान नदिने जनाएको छ ।

    बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक श्रीराम ढुंगानाले यस्तो बताएका हुन् ।

    महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको समितिका संयोजक ढुंगानाले जानकारी दिए ।

  • पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ

    पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ

    काठमाडौं । पशुपति क्षेत्रमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान नामक कार्यक्रम शुरु भएको छ ।

    मन्दिर वरपर हरियाली र स्वच्छ बातावरणको परिकल्पनालाई फलदायी बनाउन नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका हुन् । श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे

    धार्मिक पर्यटकको मुख्य आकर्षण केन्द्र रहेको पशुपति मन्दिर परिसर लाई अध्यायान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्न तथा पशुपति क्षेत्रलाई आकर्षक र रमणीय बनाउन यो अभियानले टेवा पुग्ने श्रेष्ठले बताए ।

    पाशुपत क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइनेछ भने १ लाख रुद्राक्षको विरुवा उपलब्ध गराउने घोषणा खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलियाले गरेका छन् ।

    रोपेका बिरुवाहरूको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा पनि ध्यान दिइएको छ । वृक्षरोपण अभियान निरन्तर संचालन हुने कोषले जनाएको छ । विरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ ।

    कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षरोपण अभियानलाई समेटेको छ । उक्त कार्यक्रममा सहभागि हुन इच्छुक भक्तजनले विकास कोष सम्पर्क राख्नु पर्नेछ ।

    कोषद्धारा जारी सूचना अनुसार बोट विरुवा कोषले नै उपलब्ध गराउने छ । ट्रि-गार्ड भक्तहरुले आफै ल्याउनु पर्नेछ । ट्रि-गार्डको आकार लम्बाई ५ फिट र उचाई १ं.५ हुनु पर्नेछ ।

    ट्रि-गार्डमा भक्तहरुले आफ्नो नाम राख्न सक्नेछन् । ट्रि-गार्ड आफै ल्याउन नसक्नेले ५ हजार रुपैयाँ कोष जम्मा गर्नु पर्नेछ ।

  • बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी

    बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् ।

    फोहोर बोकेर गएका गाडीलाई स्थानीयले पूर्व-सूचनाबिना नै रोक लगाएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

    महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गएको गाडी स्थानीयले ‘स्थानीय बासिन्दाले दुईतर्फी नै गुडाउन मिल्ने गरी सडक मर्मतको माग गर्दै रोक लगाएका छन् ।

    काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने भन्दै सूचना जारी गरेको थियो ।

    आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको थियो । सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरु बञ्चरेडाँडा हिंडेका थिए ।

    फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।

    स्थानीयले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सुरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ।

    स्थानीयवासीले सडक निर्माण पूरा नगरी फोहोर नलैजान नदिने उनीहरूले बताएका छन्। उपत्यकाको फोहोर लैजाने क्रममा बञ्चरेडाँडाका स्थानीयले यसअघि पनि विभिन्न समयमा अवरोध गर्दै आएका थिए।

    विभिन्न समयमा सहमति हुने र कार्यान्वयन नहुने यहाँको पुरानै र लामो कथाव्‍यथा रहेको छ।

    आजदेखि फोहर उठाउने भनिए पनि समस्या भएको छ । फोहर नउठ्दा काठमाडौंमा दुर्गन्ध फैलिएको छ ।

  • देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम

    देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर परेको अविरल वर्षाका कारण नदीहरुमा पानीको बहाव बढेको छ । यसले पहिरोको जोखिम रहेका पहाडी भेगमा समेत जोखिम अझ बढाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रूपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भइरहेको छ।

    वर्षा र बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । विभागको बाढी सूचना केन्द्रका अनुसार बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाका धेरै स्थानमा पछिल्लो ५ घन्टादेखि भारी वर्षा भइरहेको छ। सूचना केन्द्रले बिहिबार बिहान साढे ५ बजे जारी गरेको एसएमएस अलर्ट अनुसार ती क्षेत्रमा थप वर्षा हुनसक्ने भन्दै पसाहा खोला, दुधौरा खोला लगायतका अन्य साना खोलामा आकस्मिक बाढी आउने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    पर्साको ठोरी, मकवानपुरको हेटौडा, चितवनको शक्तिखोर, गोविन्दबस्ती (माडी क्षेत्र) लगायत नवलपरासी, रूपन्देही, कास्की र आसपासका केही स्थानमा वर्षा भइरहेको र थप वर्षा हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ। पूर्वीनवलपरासी पूर्वको दुम्कौली, चितवनको माडी क्षेत्रको छर्छरे, पोखराको जुम्लेटी लगायत क्षेत्रमा ठूलो पानी परिरहेकाले सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले

    आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। वर्षा, बाढी र गेग्रान बहानवले दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

  • ठमेलमा अर्को कल सेन्टरमा प्रहरीको छापा, चार चिनियाँ नागरिक पक्राउ

    ठमेलमा अर्को कल सेन्टरमा प्रहरीको छापा, चार चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले ठमेलमा सञ्चालित अर्को कल सेन्टरमा छापा हानेको छ । यो कर सेन्टर चिनियाँ नागरिकले चलाएको खुलेको छ । यसअघि तिलोत्तमा र तिनकुनेमा सञ्चालित कल सेन्टरबाट समेत भारतीय र चिनियाँ नागरिक पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ज्याठामा भियना होटलसँगै रहेको भवनबाट चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

    प्रहरीले घरबाट २७ वटा ल्यापटप, ४७२ मोबाइल, एनसेल र स्मार्ट सेलको सीम कार्ड २०, २० वटा र एक लाख ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड पनि बरामद गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा ७ पुस २०७६ मा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र विदेशी प्रहरीको सहकार्यमा भएको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त कारबाही मानिने गरेको छ ।

  • काठमाडौंमा आजबाट फोहोर उठाउन शुरु गरिने, पुरै उठ्न समय लाग्ने

    काठमाडौंमा आजबाट फोहोर उठाउन शुरु गरिने, पुरै उठ्न समय लाग्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एक सातादेखि ठप्प फोहोर उठाउने काय आजबाट शुरु हुँदैछ । महानगरपालिकाले घोषित एक साता र अघोषित रुपमा करीव एक महिनादेखि नै काठमाडौंका धेरै ठाउँमा फोहोर उठाएको छैन । महानगरले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने बताएको छ ।

    फोहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न महानगरपालिकाले अनुरोध गरेको थियो । महानगरपालिकाका अनुसार ञ्चरेडाँडासम्म पुग्ने सडक निर्माणको काम सकिएको छ । त्यसैले आजदेखि फोहर उठाउन सुरु गरिने छ ।

  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दोस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् । उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन् । यसअघि उनी समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफलका लागि २०७८ मंसिर १ गते नेपाल आएका थिए । उनको दोस्रो भ्रमणको उद्देश्य भने खुलिसकेको छैन ।