Category: समाचार

  • नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?

    नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?

    काठमाडौं । नेपालमा पनि अब गुड्ने मिनी अस्पतालको अवधारणा भित्रिएको छ । सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स मात्र चल्दै आएको नेपालमा अब सुविधा सम्पन्न गाडीमा उपचार र डाक्टरको सुविधा उपलब्ध हुने छ । यस्ता गाडीमा अस्पतालमा प्राप्त हुने महत्त्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण उपलब्ध हुन्छ ।

    त्यसभित्र छ वटा सुविधायुक्त शय्या र साथमा सीसीक्यामरा पनि जडान भएको छ । मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित देशमा प्रयोगमा भइरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता गाडीलाई नेपालमा पनि भित्र्याएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्नेसहितको सेवा प्राप्त हुने यस्तो गाडी नेपालमा पहिलोपटक भित्रिएको हो । अबका विपत्तिमा ती गाडीले सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ ।

    चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर त्यस गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपदमा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको उनको भनाई छ । यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठ वटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरीले जिम्मेवारी प्राप्त गरेको छ ।

    सरकारले गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो । मुख्यतः फण्डमा अमेरिकी सहयोग नियोग (यूएसएड), बेलायती सहयोग नियोग (एमसीडीओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेशनको लगानी रहेको छ । ती गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछन् ।

    विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा त्यही गाडीमा राखेर उपचार गर्न सकिन्छ । गाडीभित्रै छ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ ।

  • कैदी बन्दीलाई प्रजनन अधिकार दिने तयारी, विधेयक पारित हुँदै

    कैदी बन्दीलाई प्रजनन अधिकार दिने तयारी, विधेयक पारित हुँदै

    काठमाडौं । नेपालमा अब कैदि बन्दीको प्रजनन अधिकार सुनिश्चित हुने भएको छ । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची छ। प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाडले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    सरकारले बन्दीलाई पनि प्रजनन अधिकार दिने गरी तयार पारेको विधेयक यसअघि २०७६ मा संसदमा दर्ता भएको थियो। उक्त विधेयकलाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो। उक्त विधेयकमा कारागारमा रहेका वैध दम्पत्तिलाई प्रजनन संरक्षण गर्ने प्रयोजनका लागि भेटघाटको अनुमति दिने प्रावधान छ ।

    यसअघि सर्वोच्च अदालतले प्रजनन अधिकार संरक्षण गर्नु राज्यको दायित्व भएको र प्रजनन व्यक्तिको नैसर्गिक अधिकार भएकाले कसैलाई पनि वञ्चित नगराउन आदेश गरेको थियो। स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको छ।

    शिक्षा मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

  • देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान

    देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना भने छैन ।

    महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।

    यस क्रममा देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १ का एक\दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। सोमबार र मंगलबार केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द

    कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द

    नयाँ दिल्ली । । भारतका निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द आफ्नो नियमित कार्यकाल पुरा गरी दिबाई भएका छन् । उनले बिदाई समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्न आह्वान गरे । आफ्ना माग सम्बोधन गराउने क्रममा गान्धीवादी तरिका अपनाउन समेत उनले देशवासीसँग अपिल गरे । शनिबार साँझ आयोजित आफ्नो विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको लागि गर्ने काम सर्वोच्च प्राथमिकतामा हुनुपर्ने सुझाव दिए ।

    संसदका दुबै सदनले शनिबार बेलुका आयोजना गरेको उनको विदाइ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको सहभागि भए । समारोहलाई स्म्बोधन गर्दै उनले भारतको लोकतान्त्रिक व्यवस्थालाई एक ठूलो परिवारको संज्ञा दिंदै परिवारको मतभेद सुल्झाउनका लागि शान्ति, एकता र आपसी छलफललाई प्राथमिकता दिनुपर्ने बताए ।

  • सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

    सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

    काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार अपराह्न सवा ४ बजे सुन्दरीजलस्थित बागमती खोलामा अन्दाजी १६ वर्षीय किशोर खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    काठमाडौंको कपन घर भएका उनी साथीहरूसँग घुम्न निस्केका थिए । वेपत्ता हुनेमा १६ वर्षीय शुभम श्री प्रधान छन् । उनीसँग सात जना साथी थिए । प्रहरीका अनुसार फोटो खिचाउन ढुंगामा बस्दा चिप्लिएर उनी खोलामा खसेको पाइएको छ । अहिले किशोरको खोजी भइरहेको छ।

  • तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

    तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

    सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् ।

    शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा उनले अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको बताए ।

    तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर हालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ’ उनले भने, ‘हिजोबाट हमीले नागरिकताको समस्या समाधान गर्ने निर्णय गर्‍यौं ।’
    उनले नागरिकताको समस्याबाट पीडित नागरिकलाई बधाई पनि दिए । ‘माओवादी केन्द्रले हिजो जे प्रतिवद्धता गरेको थियो, त्यसलाई पूरा गरको छ ।’

    प्रतिनिधिसभाले शुक्रबार नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै जन्मका आधारमा नेपाली नागरिकता पाउने नेपालीको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खुलेको छ ।

  • नेपालमा ३३५ जनामा कोरोना पुष्टि

    नेपालमा ३३५ जनामा कोरोना पुष्टि

    काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

  • गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने ढोका खुला

    गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने ढोका खुला

    काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । यो विधेयक राष्ट्रियसभाबाट पास भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यानवयनमा आउने छ । यस विधेयक अनुसार अब गैर आवासीय नेपालीलाई नेपाली नागरिकता लिन ढोका खुलेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा अघि सार्दै नागरिकताका लागि माग राख्दै आएको थियो । नयाँ संविधानले सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

    तर नागरिकता ऐन संशोधन नहुँदा गैरआवासीय नेपालीले नागरिकता लिन सकेका थिएनन् । सोमबार विधेयक पारित भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो । संविधानमै साविकमा वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको व्यक्तिलाई गैरआवासीय नेपाली नागरिकता दिने भनिएको छ ।

    नागरिकता विधेयकले गैरआवासीय नेपाली नागरिकता लिन चाहने कागजात र पालना गर्नुपर्ने शर्तहरु तोकेको छ । जस अनुसार निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण हुनुपर्छ । सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण ल्याउनु पर्छ ।

    विदेशी मुलुकको नागरिकता भएको प्रमाण समेत ल्याउनु पर्छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण समेत चाहिने भएको छ । नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र आवश्यक पर्नेछ । गैर आवासीय नेपाली नागरिकताको लागि निवेदन दिँदा पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ । विधेयक अनुसार निवेदन प्राप्त भएपछि सम्बन्धित मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी गैर आवासीय नेपाली नागरिकता दिनेछ ।


    गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले तोकिएको ढाँचामा शपथ गराउनेछ । झुटो विवरण दिई गैर आवासीय नेपाली नागरिकता लिएमा, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा भने त्यस्तो नागरिकता रद्द हुनेछ ।

  • संसदबाट पारित भयो नागरिकता विधेयक

    संसदबाट पारित भयो नागरिकता विधेयक

    काठमाडौं । प्रतिनिधिसभाबाट शुक्रबार नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक कानून बन्नेछ । २२ साउन २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक शेरबहादुर देउवा नेतृत्वको सरकारले २१ असारमा फिर्ता लिएको थियो । त्यसपछि नयाँ नागरिकता विधेयक दर्ता गरिएको थियो ।

    यसलाई शुक्रबार प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । अन्तरिम संविधान–२०६३ मा भएको नागरिकतासम्बन्धी कतिपय व्यवस्था २०७२ मा संविधानसभाले जारी गरेको संविधानले परिवर्तन गर्‍यो । त्यसपछि नागरिकता ऐनलाई नयाँ संविधान अनुकुल बनाउनका लागि संशोधन भएको हो ।

    अन्तरिम संविधान–२०६३ ले २०४६ साल चैत मसान्तसम्म नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेका व्यक्तिलाई जन्मको आधारमा नागरिकता दिने व्यवस्था गरिएको हो । अब संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता लिएकाहरुको १६ वर्ष उमेर पुगेका सन्तानले वंशजको आधारमा नागरिकता लिन सक्नेछन् ।

    विधेयकको दफा २ अनुसार ‘संवत २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन् । नेपालको संविधान २०७२ महिला र पुरुषलाई समान वंशीय हक हुने व्यवस्था गरेको छ ।

    तर संविधानको नागरिकतासम्बन्धी व्यवस्थामै लिंगका आधारमा विभेद गरिएकाले अहिले ऐनमा बराबरीको व्यवस्था गर्न नसकिएको संविधानसभा सदस्यहरुले नै स्वीकार गरेका छन् । सोमबार संसदबाट पास भएको नागरिकता विधेयकले नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट नागरिकता कसरी लिन सक्छन् भन्ने प्रष्ट पारेको छ ।

    विधेयकको दफा ४ को उपदफा १ (क) अनुसार नागरिकता लिन चाहनेले आफ्नो बाबुको पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्छ । साथै आमाले पनि आफ्नो श्रीमानको पहिचान हुन नसकेको स्वःघोषणा गर्नुपर्नेछ । आमाको मृत्यु भइसकेको वा होस, ठेगानामा नरहेको अवस्थामा भए त्यसको पनि प्रमाणसहित स्वःघोषणा गर्नुपर्ने हुन्छ ।

    स्वःघोषणाको ढाँचा गृह मन्त्रालयले तयार गर्नेछ। यसरी गरिएको स्व:घोषणा झुटो ठहरिए सजाय हुनेछ । बाबुको पहिचान हुन नसकेको भनी गरेको स्व:घोषणा झुटो ठहरिए एक बर्षदेखि तीन वर्षसम्म कैद वा एक लाख देखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

  • नेपालमा थप ४५६ जनामा कोरोना पुष्टी, ८० जना संक्रमण मुक्त

    नेपालमा थप ४५६ जनामा कोरोना पुष्टी, ८० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६८ नमूनाको पीसीआरमा ३८४ र १६७० नमूनाको एन्टिजेनमा ७२ जना गरी कूल ४५६ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार १०१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ३८ हजार ३०८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २८४१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

  • गोकुल बास्कोटाको कटाक्ष-‘अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरुको सत्ताको चास्नीमा रंग फेरियो’

    गोकुल बास्कोटाको कटाक्ष-‘अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरुको सत्ताको चास्नीमा रंग फेरियो’

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन् ।

    प्रतिनिधिसभामा जारी नागरिकता विधेयकमाथिको छलफलमा भाग लिएका बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति प्रहार गर्दै यति छिटो छिटो रंग बदल्न नहुने बताएका हुन्।

    ‘ट्रकमा चढेर आऊ, ट्रेनमा चढेर मेरो मुलुकमा आऊ भन्ने देशले पनि नागरिकता दिनका लागि खास अवधि राखेको हुन्छ ।

    तर, यहाँ कुनै अवधि नै नराखी नागरिकता दिन खोजिएको छ,’ सांसद बाँस्कोटाले भने, ‘तर, हिजो अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरु सत्ताको चास्नीको भरमा अहिले आउनेबित्तिकै नागरिकता दिनुपर्छ भनेर सहमत भएका छन, छेपारोले पनि यति चाँडो रंग फेर्दैन होला, जो अहिले साथी (माओवादी)ले फेर्नु भएको छ ।’

    नागरिकतासम्बन्धी प्रावधानमा माओवादी लचिलो बनेपछि विदेशबाट बिहे गरेर आउने बुहारीहरूलाई तत्कालै नागरिकता दिने प्रावधानसहित संसदबाट कानुन पास हुन लागेका बेला बास्कोटाले आक्रोश पोखे ।

    उनले प्रदेशमा पहिचानको विषय राख्नुपर्ने भनिएकोमाथि पनि आपत्ति जनाए। बाँस्कोटाले नागरिकतामा खुकुलो प्रावधान राख्दा मुलुक फिजीकरण हुने भन्दै सचेत हुन आग्रहसमेत गरेका छन ।

    ‘पेरुमा जापानी नागरिक राष्ट्रपति भएको जस्तो नहोस्, फिजीमा भारतीय नागरिक प्रधानमन्त्री भएको जस्तो नहोस्’ बाँस्कोटाले प्रतिनिधिसभा बैठकमा भने, ‘त्यसैले नागरिकता दिँदा निश्चित अवधि तोकिनुपर्छ, आउनेबित्तिकै टीका लगाएर दिने प्रावधान खारेज गरिनुपर्छ ।’

  • दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्तामा मौद्रिक नीतिको त्रास

    दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्तामा मौद्रिक नीतिको त्रास

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)२७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँ बराबरको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै प्रतिशत घटेको छ ।

    उच्च अंकले घटेको बजारमा आज सप्तकोशी विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै ५.७९ प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, रुरु जलविद्युत् ४.७३, सूर्योदय वोमी लघुवित्त ४.५६, सिभिल लघुवित्त ४.२६, हिमालयन ऊर्जा ४.०५, नेपाल फाइनान्स ४.०३, राष्ट्र उत्थान लघुवित्त ४.०२, लक्ष्मी इक्वीटी फण्ड, शिवम सिमेन्ट, गोर्खाज फाइनान्स लगायत आधा दर्जन बढीको शेयर मूल्य साढे ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रलरी पौने ७ करोड र गोर्खा फाइनान्स झन्डै ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत दिएसँगै लगानीकर्ता निराशा छाएको छ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै छ ।

    मौद्रिक नीतिमार्फ राष्ट्र बैंकले ब्याजदर वृद्धि, कर्जा लगानीमा नियन्त्रण, अनुत्पादक क्षेत्रमा जाने कर्जा लगायतका कडाइ गर्ने भएको छ ।

  • आज मौद्रिक नीति सार्वजनिक हुँदै, गभर्नरको परीक्षा

    आज मौद्रिक नीति सार्वजनिक हुँदै, गभर्नरको परीक्षा

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीमाथि अहिले नैतिकताको प्रश्न उठेको छ । एम अधिकारी नामक छम्द नामबाट उनलाई नेकपा एमालले अर्थ विभागको सदस्य बनाएपछि विवदा उत्कर्षमा रहेको छ । वर्तमान सरकार र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेको आरोप सोहीकारण पुष्टी हुने तर्क गरिरहेका बेला उनले चालु आर्थिक वर्ष २०७९\८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछन् । अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार बिफ्रिङ सकेको राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउन लागेको हो छ ।

    मौद्रिक नीतिको मस्यौदाबारे बिहीबार बिहान गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, अर्थसचिव मधुकुमार मरासिनीलगायत उच्च पदाधिकारी र बेलुका प्रधानमन्त्री देउवालाई ‘ब्रिफिङ’ गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री देउवाको ‘ग्रिन सिग्नल’ दिएका थिए । शुक्रबार बिहान सञ्चालक समिति बैठकले निितलाई अन्तिम रुप दिनेछ । अहिले अर्थतन्त्र सहज अवस्थामा नभएको अवस्थामा आउने मौद्रिक नीतिले अर्थतन्त्रमा कस्तो सम्बोधन गर्छ भन्ने चासोका साथ हेरिएको छ ।

  • श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा

    श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा

    कोलम्बो\बीबीसी । श्रीलङ्काको राजधानी कोलम्बोस्थित सरकार विरोधी मुख्य प्रदर्शन शिविरमा सुरक्षा फौजले छापा मार्न र ती शिविरका पाल निकाल्न थालेको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय क्षेत्र छोड्नु भन्दा घण्टौँ अघि सयौँ सेना र प्रहरीले उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए। बीबीसीका भिडिओ पत्रकारलाई एक जना सेनाले कुटपिट गरेका छन् भने अर्काले उनको फोन खोसेर त्यसमा रहेका भिडिओ हटाइ दिएका छन्।

    रनिल विक्रमसिङ्घले राष्ट्रपति पदको शपथ लिएपछि यस्तो घटना भएको हो। श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबय राजपक्षले गत साता देश छोडेर भागेका थिए। पूर्व प्रधानमन्त्री समेत रहेका विक्रमसिङ्घ जनतासामु अलोकप्रिय नेता हुन्। उनले प्रदर्शनकारीहरू विरुद्ध कडा कारबाही गर्ने वाचा गरेका छन्। केही प्रदर्शनकारीहरूले भने उनलाई मौका दिने बताएका छन्। चरम आर्थिक सङ्कटमा परे पछि श्रीलङ्कामा महिनौँदेखि व्यापक अशान्ति छाएको छ।

    धेरैले राजपक्ष प्रशासनले देशको वित्तीय व्यवस्थापन सही ढङ्गमा नगरेको दोष लगाएका छन् र विक्रमसिङ्घलाई पनि समस्याको एक कारकको रूपमा हेर्छन्। उनले संसद्को मत जितेको भोलिपल्ट सडकमा प्रदर्शनहरू भए। शपथ लिए लगत्तै विक्रमसिङ्घले सरकार ढाल्ने वा सरकारी भवनहरू कब्जा गर्ने कुनै पनि प्रयास लोकतान्त्रिक गतिविधि नभएको स्पष्ट पारे र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिए।

    प्रदर्शनकारीहरूमा सरकारले आफू विरोधी आन्दोलनलाई क्रमबद्ध ढङ्गले बन्द गर्न सक्ने चिन्ता थियो। बीबीसीका कोलम्बोस्थित संवाददाता अनबरसन इथिराजनका अनुसार मध्यरातमा कोलम्बोमा सरकार विरोधी प्रदर्शन स्थलमा सेनाले छापा मार्ने जानकारी पाएपछि उनीहरू श्रीलङ्काली राष्ट्रपति कार्यालय अगाडि पुगेका थिए। केही बेरमा त्यहाँ सयौँ सशस्त्र सेनाहरू र दङ्गाका क्रममा शरीर जोगाउन लगाइने पोसाकमा प्रहरीहरू आएको उनले बताए। दुई वटा फरक दिशाबाट आएका उनीहरूको अनुहार छोपिएको थियो।

    ‘उनीहरूको उपस्थितिमा प्रदर्शनकारीले आपत्ति जनाएपछि सुरक्षाकर्मी अघि बढ्न थाले र आक्रामक बने। त्यसपछि आन्दोलनकारीहरू पछाडि धकेलिए,’ इथिराजनले सुनाए। केही बेरमै सेनाले चिच्याउँदै शिविरको पाल र अन्य वस्तुहरू भत्काउँदै नष्ट गरेको उनले बताए। गत साता ठूलो भिड पसेको राष्ट्रपति कार्यालयमा पनि सेना प्रवेश गर्यो। प्रदर्शनकारीहरूलाई तोकिएको विरोध स्थलभन्दा एक सय मिटर पर सारिएको र उनीहरूलाई छेक्न फलामे बार खडा गरिएको इथिराजनले बताए।

  • भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

    भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छिन् । प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभकामना दिएका छन् ।

    सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी छिन् । जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्ने छिन् । उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी छिन् ।

  • कंचनपुरमा विमानस्थल माग

    कंचनपुरमा विमानस्थल माग

    काठमाडौं । कञ्चनपुरमा विमानस्थल निर्माण अगाडी बढाउन सरोकारवालाले माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरी उनीहरुले यस्तो माग गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, कञ्चनपुरका कांग्रेस सभापति तथा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीसहितको टोलीले मन्त्री श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग भेट गरी विमानस्थल निर्माण अघि बढाउन ध्यानाकर्षण गराएको हो ।

    नेता लेखकले निर्माणाधीन विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण लगायतका कानुनी प्रक्रिया पूरा गरी निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरे । भेटका क्रममा मन्त्री श्रेष्ठले जग्गा अधिग्रहणका लागि तत्काल प्रक्रिया अगाडि बढाएर विमानस्थल निर्माण अगाडि बढाउने प्रतिवद्धता जाहेर गरेको भेटमा सहभागी नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताए ।

    छलफलका क्रममा मन्त्री श्रेष्ठले मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिएका थिए । विमानस्थल २०३६ देखि २०५६ सालसम्म सञ्चालनमा थियो । हाल भने विमानस्थल बन्द अवस्थामा रहेको छ । ५२ बिघा जमिनमा रहेको विमानस्थल स्तरोन्नतीका लागि थप ४५ बिघा जमिन नेपाली सेना, वन मन्त्रालय र व्यक्तिगत जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको छ ।

  • आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

    आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

    नयाँ दिल्ली । भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्तिसमेत बनेकी छिन् । ६४ वर्षीया मुर्मू उडिसामा जन्मिएकी हुन् । उनी सन्थाल समुदायकी नेतृ हुन्। राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझ आएको नतिजाबाट उनी राष्ट्रपति बनेकी हुन् । उनले आगामी सोमवार पद तथा गोपनीयताको शपथ लिनेछिन् ।

    राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गर्छन् । उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो। मुर्मू यसअघि उनी झारखण्डकी राज्यपाल थिइन्। मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछिन्। कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ।


    उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन्। सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्। भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि उनीसँग कार्यकारी शक्ति हुँदैन। राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मुर्मूले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता तथा यशवन्त सिन्हालाई पराजित गरेकी हुन्। सिन्हा पहिला भाजपामै थिए।

    सन् १९९० को दशकमा सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री थिए। भारतका विभिन्न राज्यमा बाहेक बाङ्ग्लादेशको उत्तरी भेग र पूर्वी नेपालको तराईमा सन्थाल समुदायको बसोबास छ।

  • वीज एयरले आबुधावी-भैरहवा उडान गर्ने तयारी

    वीज एयरले आबुधावी-भैरहवा उडान गर्ने तयारी

    काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा वीज एयरले उडानको तयारी गरेको छ । यो कम्पनीले आबुधावीबाट भैरहवामा सिधा उडान गर्न प्रस्ताव राखेको हो । भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहाललाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाए अनुसार आगामी सेप्टेम्बरबाट उडान गर्ने गरी विज एयरले अनुमति प्रक्रिया थालेको हो ।

    आबुधावीबाट भैरहवामा साताको तीन उडान गर्ने गरी यो कम्पनीले अनुमति प्रक्रिया थालेको छ । कम्पनीको प्रस्ताव अनुसार ३० सेप्टरम्बरदेखि उडान शुरु हुने छ । अहिले यो विमानस्थलमा जजिरा एयरवेजले कुवेतबाट सिधा उडान गरिरहेको छ । जजिराले दुई महिनाको अवधिमा ६ हजार भन्दा बढी यात्रुलाई यस विमानस्थलबाट सेवा दिइसकेको छ ।

  • नेपालमा थप ४३५ जनामा कोरोना पुष्टी, ५६ जना संक्रमण मुक्त

    नेपालमा थप ४३५ जनामा कोरोना पुष्टी, ५६ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६७ नमूनाको पीसीआरमा ३१७ र १९०२ नमूनाको एन्टिजेनमा ११८ जना गरी कूल ४३५ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८२ हजार ७१९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २५३७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

  • ‘अमेरिकामा खाना खाएको फोटो ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना’

    ‘अमेरिकामा खाना खाएको फोटो ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना’

    काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवाली सरकारले आफुले अमेरिकामा खाना खाएको फोटो देखाएर ट्रोल बनाएको आारोप लगाएका छन ।

    बिहीवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

    संसदमा बोल्दै ज्ञवालीले जनताका समस्या समाधान गर्न सरकारको ध्यान दिनुको सट्टा आफ्नो फोटो ट्रोल बनाउन लागेको आरोप लगाए ।

    उनले भने, ‘मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाउनु भएछ। त्यसो गरेर उहाँहरुको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना छ।

    २ साउनमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण विभागले गरेको कार्यक्रममा उनले मूल्यवृद्धि अचाक्ली बढेको औंल्याउँदै आफू पूर्वमन्त्री भए पनि घरमा दुईथरि तरकारी पकाएर खान सक्ने अवस्था नभएको बताएका थिए ।

    त्यसपछि सामाजिक सञ्जालमा ज्ञवालीले खाना खाइरहेको तस्वीर सार्वजनिक गर्दै ज्ञवालीमाथि ब्यंग्य गरिएको थियो ।

    यी सारा समस्याको निम्ति गम्भीरतापूर्वक सोच्नुपर्ने बेलामा बहस त हामीले कहाँ चलाइरहेका छौँ। एम अधिकारी को हो भनेर खोजिरहेका छौँ। सम्बन्धित व्यक्ति म त्यो पार्टीमा छैन, २०७३ साल देखि भन्नुभएको छ। सम्बन्धित पार्टी भन्छ, ती मान्छे हाम्रो पार्टीमा छैनन्।’

    सांसद ज्ञवालीले शैक्षिक सत्र शुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्‍याउन नसक्नु लज्जास्पद भएको बताए। उनले सरकारको गैर जिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने गरेर जनतामा बढ्दो महंगीको राहतका प्याकेज उपलब्ध गराउने हिसाबबाट रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे।

  • अब ललितपुरका चोक-चोकमा साइकल, भाडा तिरेर चलाउन पाइने

    अब ललितपुरका चोक-चोकमा साइकल, भाडा तिरेर चलाउन पाइने

    ललितपुर । ललितपुर महानगरपालिकाले अब महानगरभित्र ‘सेयर्ड बाइस्कल स्किम’ सुरु गर्ने घोषणा गरेको छ । साइकल लेनको प्रयोग बढाउने र आफ्नै साइकल नहुनेलाई साइकल प्रयोग सक्ने वातावरण बनाउन ललितपुरले साइकल स्ट्यान्ड बनाएर ठाउँ(ठाउँमा भाडामा साइकल राख्न लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार अब चोकचोकमा स्ट्यान्ड बनाएर प्रविधिको प्रयोगबाट भाडा तिर्न सकिने गरी साइकल भाडमा लिने व्यवस्था गर्न लागिएको छ ।

    महानगरका प्रवक्ता राजु महर्जनका अनुसार नगरका विभिन्न महत्वपूर्ण चोकहरुमा अब साइकल स्ट्यान्डहरू बनाइनेछ । जहाँ भाडामा लिन सकिने गरी साइकलहरु राखिने छ । विद्युतीय भुक्तानी गरेर साइकल प्रयोगको अनुमति लिन सकिने छ । साइकलको ‘जीपएएस’ ट्रयाकिङ हुनेछ । प्रयोगकर्ताले एउटा स्ट्यान्डबाट अर्को स्ट्यान्डमा लगेर साइकल ‘लक’ गरेर छोड्न सक्नेछन् । यो सेवाका लागि एक व्यवसायिक संस्थासँग सम्झौता हुन लागेको महानगरपालिकाले जानकारी गराएको हो ।

  • स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन

    स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन

    स्याङ्जा । जिल्लाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनाललाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनए अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि बुबा उनको उद्धारमा पोखरमिा छिरेका थिए । सो क्रममा उनको समेत ज्यान गएको पाइएको छ । उनीहरुलाईउद्धार गरी वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पुर्याइएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • बालेनको घोषणा अनुसार उठ्न सकेन फोहोर, आजबाट घरमै राख्नुपर्ने

    बालेनको घोषणा अनुसार उठ्न सकेन फोहोर, आजबाट घरमै राख्नुपर्ने

    काठमाडौं । काठमाडौं उपत्यकाकामा फोहर व्यवस्थापनको बिहीबारबाट फेरी रोकिएको छ । महानगरपालिकाका निर्वाचित भएपछि निकै प्राथमिकताका साथ काम गरिरहेका बालेनले फोहोर व्यवस्थापनलाई सहज बनाउन भने सकेका छैनन् । महानगरले १ साउनबाट कुहिने र नकुहिने फोहोर छु्टयाएर राख्न आह्वान गरेको थियो । सो फोहोर नै काठमाडौंका अधिकांश स्थानमा उठेको छैन ।

    अर्कोतर्फ यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्तासम्म फोहोर ढुवानीको काम बन्द गरेको बुधबार सूचनामार्फत जनाएको छ । सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकालाई केही दिन फोहोर ढुवानीका गाडी नचलाइदिन आग्रह गरेको थियो ।

    सोही आग्रहअनुसार महानगरपालिकाले पनि आजदेखि फोहोर व्यवस्थापन कार्य रोकेको हो । आजदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको हो । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी सन्चालन हुँदै आएका थिए ।

    काठमाडौं महानगरपालिकालेसूचना जारी गर्दै फोहोर व्यवस्थापनको काम नहुन्जेलसम्म आ(आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ । हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

    यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाबाट ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र काठमाडौं महानगरपालिकाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

  • देशभर वर्षा, बाढी र पहिरोको जोखिम उच्च

    देशभर वर्षा, बाढी र पहिरोको जोखिम उच्च

    काठमाडौं । बिहीबार देशभर वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम दिनभर जारी रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर अवस्थितर रहेकोले पहाडी भूभागका धेरै ठाउँमा पानी परिररहेको छ ।

    पश्चिम नेपाल र देशका विभिन्न स्थानमा भने बुधबारदेखि नै भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेको नेपालगञ्जमा सबैभन्दा धेरै पानी परेको मापन भएको छ । बाँकेमा ९१ मिलिमिटर पानी परेको छ । निरन्तर पानी पर्दा तराई भेगमा डुबान र पहाडी भेगमा पहिरोको जोखिम बढेको छ । नदी किनारमा निरन्तर जलप्रवाह बढेको भन्दै विभागले एसएमइसबाट समेत सचेत गराइरहेको छ । केही ठाउँमा चट्याङसहित वर्षा हुने र केही ठाउँमा भारी वर्षाका कारण खहरेहरू बढेर बाढी आउने भएकोले सतर्क रहन सरोकारवाला निकायले सचेतसमेत गराएका छन् ।

  • काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता

    काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता

    काभ्रे । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । तेमाल–२ स्थित सुनकोसी नदीमा पौडी खेल्न गएका दुई बालक र रोशी खोलामा एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार बिहान पौडी खेल्न गएका ११ वर्षीय समिर माझी र ८ वर्षीय कान्छो माझी बेपत्ता भएका हुन् ।

    उता, रोशी खोलामा चौपायासहित एक जना बेपत्ता भएका छन् । गोठालो गएका नमोबुद्ध–९ का अन्दाजी ४८ वर्षीय ज्ञानबहादुर लामा बेपत्ता भएको प्रहरीले जनाएको छ । सुनकोसी नदीमा उद्धारका लागि शसस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोली पुगेछ । तर, बाढीका कारण सम्भव नभएको प्रंहरीले बताएको छ । उनीहरुको खोजीमा बिहीबार समेत टोली जुट्ने छ ।

  • भीम रावल रोष्ट्रममा बसिरहेपछि संसद बैठक नै स्थगित

    भीम रावल रोष्ट्रममा बसिरहेपछि संसद बैठक नै स्थगित

    काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको भएको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गरे ।

    मन्त्रिपरिषदले एसपीपीमा सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे । सभामुखको आशनमा रहेका सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गरे पनि सांसदले एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग रोष्ट्रममै उभिइरहे ।

    बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए । सो प्रस्तावमा धारणा राख्न रोष्ट्रममा पुगेका सांसद रावलले एसपीपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गरेका हुन् ।

    उनले सरकारलाई सहयोग गर्नका लागि नै आफूले यस्तो माग राखेको बताए । सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै सांसद रावललाई आशन ग्रहण गर्न आग्रह गरे । पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । रासस

  • कुन देशको पासपोर्ट कति बलियो, नेपालको विश्वकै कम शक्तिशाली सूचीमा

    कुन देशको पासपोर्ट कति बलियो, नेपालको विश्वकै कम शक्तिशाली सूचीमा

    काठमाडौं । विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०६ औं स्थानमा परेको छ ।

    हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूचीको नेपाल तीन स्थान तल झर्दै १०६ औं स्थानमा पुगेको हो ।

    गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो । नेपालीले ३८ मुलुकमा अनअराइभल भिसा पाउँछन्।

    पहिलो स्थानमा जापानी पासपोर्ट पर्न सफल भएको छ । अर्थात, जापानी पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ ।

    जापानी पासपोर्ट वाहकले विश्वका १९३ वटा देशमा विना भिसा वा अन अराइभल ९गन्तव्यमा पुग्नासाथ भिसा पाउने० पोर्ट अफ इन्ट्रीमै भिसा प्राप्त गरेर यात्रा गर्न पाउनेछन् ।

    विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सूचीको दोस्रोमा सिंगापुर र दक्षिण कोरियाको राहदानीले १ सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १ सय ९० देशमा अनअराइभल भिसामार्फत घुम्न सकिन्छ।

    इटाली, फिनल्यान्ड, र लक्जेमवर्ग १ सय ८९ देशसहित चौथो र डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड्स र स्वीडेनको राहदानी १ सय ८८ देशसहित पाँचौं शक्तिशाली पाइएको छ।

    दक्षिण एसियाली मुलुकमध्ये भारत ८७ औं स्थानमा रहँदा भुटान ९३ औं, श्रीलंका १०३ औं र बंगलादेश १ सय ४ औं स्थानमा छन्। नेपालभन्दा पछि रहेको पाकिस्तान १०९ औं स्थानमा छ।

    सर्वेक्षण गरिएका मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा १ सय १२ औं स्थानमा छ। अफगानिस्तान भन्दा माथि इराक र सिरिया छन्।

    हेन्ली एण्ड पार्टनरले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ । ‘अन अराइभल’ (सम्बन्धित देशमै गएर भिसा लिन सकिने सुविधा) भिसा प्राप्तीको आधारमा सूची तयार पारिन्छ ।

    जुन देशको पासपोर्टले सबैभन्दा बढि देशमा अन अराइभल भिसा पाउँछ त्यसलाई सबैभन्दा शक्तिशाली मानिन्छ ।

    नेपाललाई विश्वका जम्मा ३८ देशले मात्र अन अराइभल भिसा उपलब्ध गर्ने गरेको हेन्ली एण्ड पार्टनरको वार्षिक सूचीमा उल्लेख छ ।

  • शेयर बजारको उकालो यात्रा कायमै, १ अर्ब ७३ करोडको कारोबार

    शेयर बजारको उकालो यात्रा कायमै, १ अर्ब ७३ करोडको कारोबार

    काठमाडौं । साताको कारोबारको चौंथो दिन शेयर बजार झिनो अंकले बढेको छ ।

    कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ४.८९ अंकले बढेर २०५०.५९ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २१५ कम्पनीको १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँ बराबरको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार २ अर्ब २९ करोड ९३ लाख १६ हजार २२६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटाको घटेको छ ।

    फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.९१ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ०.५९ प्रतिशत घटेको छ ।

    झिनो अंकले बढेको बजारमा आज मल्टीपर्पस फाइनान्सका लगानीकर्ताले धेरै ५.६९ प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंक ४.३५, शिवम् सिमेन्ट ३.८७, नेपाल इन्स्योरेन्स ३.७८, गोर्खाज फाइनान्स ३.४७, जानकी फाइनान्स ३.३६, आइसीएफसी फाइनान्स ३.१२, पोखरा फाइनान्स, लिबर्टी इनर्जी, तेह्रथुम पावर र वीनन नेपाल लघुवित्तका शेयरधनीले साढे २ प्रतिशत कमाएका छन् ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, हिमालय डिष्ट्रिलरी ७ करोड र आइसीएफसी फाइनान्स ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • रुस-युक्रेन युद्धकै बीच पुटिनको इरान भ्रमण किन महत्वपूर्ण छ ?

    रुस-युक्रेन युद्धकै बीच पुटिनको इरान भ्रमण किन महत्वपूर्ण छ ?

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलवार इरानको औपचारिक भ्रमणमा निस्किएका छन् । रुसले गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण थालेको हो । त्यसयता दुई मुलुकबीच युद्ध जारी छ । यो युद्धले विश्वभर आर्थिक संकटका बाछिटा देखिन थालेको हो । युक्रेनमो रुसी सेनाले आक्रमण सुरु गरेयता यो उनको दोस्रो विदेश यात्रा हो। पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई र टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनसँग भेट्ने कार्यक्रम रहेको समाचार एजेन्सीहरुले बताएका छन् । तेहरानमा अन्न निर्यात, सिरिया र युक्रेनबारे छलफल हुने बताइएको छ ।

    युक्रेनमा युद्ध सुरु गरेयता रुसी नेताले आफ्ना अन्तर्राष्ट्रिय भ्रमण गर्न रुचाएका थिएनन् । पुटिनले युद्ध सुरु भएपछिको आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण गत जुनमा ताजिकिस्तान र तुर्कमेनिस्तानमा गरेका थिए। पूर्व सोभियत सङ्घबाट छुट्टिएका र रुसका साझेदार यी देशमा समेत तानाशाही शासक सत्तामा छन्। मङ्गलवारको भ्रमणले पुटिनलाई इरानसँग सम्बन्ध बलियो बनाउने अवसर दिने बताइएको छ ।

    पश्चिमा आर्थिक प्रतिबन्धहरूको निसानामा परेको इरान मस्कोको बाँकी रहेका केही अन्तर्राष्ट्रिय साझेदारमध्ये पर्छ। गत साता अमेरिकी अधिकारीहरूले तेहरानले युक्रेन युद्धका लागि रुसलाई सयौँ ड्रोनहरू उपलब्ध गराउन लागेको आरोप लगाएका थिए। मङ्गलवार रुसी ऊर्जा कम्पनी ग्याजप्रोपले इरानको सरकारी तेल कम्पनीसँग ४० अर्ब अमेरिकी डलर बराबरको एउटा नयाँ सम्झौता गरेको थियो।

  • चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्ने झोला बाँड्ने, ६ प्रकारका झोलामा छुट्टाछुट्टै फोहोर

    चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्ने झोला बाँड्ने, ६ प्रकारका झोलामा छुट्टाछुट्टै फोहोर

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्न विभिन्न ६ प्रकारका झोला नागरिकलाई बाड्ने भएको छ । फोहोरलाई ६ प्रकारमा वर्गीकरण गर्न अनुरोध गर्दै नगरपालिकाले यस्तो जानकारी गराएको हो । मगलबार बसेको नगरकार्यपालिका बैठकले फोहोरमैलालाई ६ प्रकारमा वर्गीकरण गरी ६ वटै झोलामा राख्नुपर्ने निर्णय गरेको हो। यसरी वर्गीकरण गरिएको फोहोर तोकिएका ६ वटा विभिन्न रङका झोलामा राख्न नगरपालिकाले अनुरोध गरेको हो।

    यस्तो झोला वडा कार्यालयहरू र टोल सुधार समितिमार्फत् निःशुल्क पाउन सकिने नगरपालिकाले उल्लेख गरेको छ। चन्द्रागिरि नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शून्य फोहोर अवधारण साकार पार्नका लागि फोहोर वर्गीकरण गरी घरमा संकलन गर्न अनुरोध गरिन्छ। वर्गीकरण अनुसारको फोहोर संकलन हुने दिनमा मात्र सो फोहोर उपलब्ध गराउन अनुरोध गरिन्छ।’

    यस्तै पालिकाले फोहोर संकलनवापत नगरपालिकाको आर्थिक ऐनअनुसार तोकिएको दरमा शुल्क बुझाउन पनि भनेको छ। यस्तो वर्गीकरण अभियान साउन ४ गते बुधबारदेखि नै सुरू हुनेछ। त्यस्तै आगामी भदौ १ गतेदेखि यसरी फोहोर वर्गीकरण नगर्ने परिवारलाई जरिवाना हुने पनि नगरपालिकाले बताएको छ।

    नगरपालिकाले उपलब्ध गराएको फोहोर वर्गीकरण तरिका र झोलाको रङ यस्तो छ

    कालो झोला : कुहिने फोहोर

    रातो झोला : सिसा र सिसाजन्य फोहोर

    हरियो झोलाः प्लास्टिकजन्य फोहोर

    सेतो झोला :कागजजन्य फोहोर

    नीलो झोला : फलाम लगायत कवाडीजन्य फोहोर

    पहेँलो झोलाः स्यानिटरी प्याड, डाइपर लगायत फोहोर