Category: समाचार

  • काठमाडौंमा भोलीबाट कुहिने र नकुहिने फोहोर लिन छुट्टाछुट्टै दिन गाडी आउने

    काठमाडौंमा भोलीबाट कुहिने र नकुहिने फोहोर लिन छुट्टाछुट्टै दिन गाडी आउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि आइतबार अर्थात साउन एक गतेदेखि लागु हुने गरी कुहिने र नकुहिने फोहर संकलनका लागि तालिका सार्वजनिक गरेको छ। महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ। तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ। महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई सचेत र जानकारी गराएको थियो।

    पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ। कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ। महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरपालिकाले जनाएको छ।

  • बढ्दै कोरोना संक्रमण, चौथो लहरको जोखिम कति ?

    बढ्दै कोरोना संक्रमण, चौथो लहरको जोखिम कति ?

    काठमाडौं । नेपालमा कारोना भाइरसको संक्रमले उच्च गति लिएको पाइएको छ । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ । जसमध्‍ये १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जना र २ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये १ हजार २४९ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् । एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९९६ पुगेको छ ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बीए टु’ र ‘बीए फाइफ’ बढी सक्रिय रहेको पाइएको छ । एकसाताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गरिएका ३२ वटा नुमनामध्ये दुईवटामा ‘बी फाइभ’ पुष्टि भएको थियो ।

    विभिन्न ठाउँको १६ वटा नुमनाको धुलिखेल अस्पतालमा जिन सिक्वेन्सिङ गरिएको थियो, जसमा चार वटामा ‘बी फाइभ’ पुष्टि भएको छ । खासगरी भारतमा संक्रमित बढेको र खुला सीमानाका कारण निर्वाध आवतजावत हुँदा नेपालमा समेत जोखिम बढेको हो ।

  • प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आइतबार भेट हुने, यस्तो छ भ्रमण तालीका

    प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आइतबार भेट हुने, यस्तो छ भ्रमण तालीका

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् । उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने निश्चित भएको छ । प्रचण्डले आइतबार भाजपा मुख्यालय भ्रमण गर्ने र भाजपा अध्यक्ष जे पी नड्डासँगको भेटघाट र भाजपा अध्यक्ष द्वारा आयोजित दिवाभोजमा सहभागी हुने तय भएको छ । शनिबार उनले भारतीय विदेश मन्त्री डा. एस जयशंकर भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव विनय मोहन क्वात्रासँग छुट्टा छुट्टै भेट्ने तय भएको छ ।

    प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत डा शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले, भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्कका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका छन् ।भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले होटल ताज मानसिंहमा प्रचण्डसँग शुक्रबार नै शिष्टाचार भेट गर्ने छन् । प्रचण्ड शुक्रबार नेपाली राजदूत द्वारा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । उनी आइतबार नै काठमाडौं फिर्ता हुनेछन् ।

  • प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

    प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

    काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

    शुक्रबार संसदमा भएको मतदानमा सत्ता गठबन्धनकी संयुक्त उम्मेदवार भुसालले १४८ मत पाएर निर्वाचित भइन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले ९३ मत पाइन्।

    २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको थियो ।

    उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन्। अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् ।

    त्यस्तै उनी २०७४ सालको निर्वाचनमा भने उनी समानुपातिक तर्फको सूचीमा बसेकी थिइन्।

    राजनीतिमा सक्रिय हुनुअघि पुष्पा अध्यापनमा समेत संलग्न थिइन्। उनले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी थिइन्।

    उनी वरिष्ठ अधिवक्तासमेत हुन्।

    कुल सांसद : २७५
    पदमुक्त : ४
    निलम्बित : ४
    कुल उपस्थिती : २४२
    अनुपस्थित : २४
    पुष्पा भुसालको मत : १४८ (विजयी)
    विधा भटटराईको मत : ९३
    मत दिन्न : १

  • आईजीपी नियुक्ति प्रकरण : सर्वाेच्चद्वारा विश्वराज पोखरेलले दायर गरेको रिट खारेज

    आईजीपी नियुक्ति प्रकरण : सर्वाेच्चद्वारा विश्वराज पोखरेलले दायर गरेको रिट खारेज


    काठमाडौं । सर्वोच्च अदालतले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कानुनसम्मत भएको ठहर गरेको छ ।

    कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो ।

    उक्त निर्णयसँगै सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ ।

    शुक्रबार रिट निवेदक पोखरेलको तर्फबाट अधिवक्ताहरूले जवाफी बहस गरेका थिए। सुनुवाइ सकिएपछि सर्वोच्चले यो मुद्दामा फैसला दिएको हो।

    यो मुद्दामा गत जेठ ३० गते अन्तिम सुनुवाइ सुरु भएको थियो। निवेदकले दुई दिन र प्रतिवादीले दुई दिन बहस गरेपछि निवेदकका तर्फबाट जवाफी बहससँगै सुनुवाइ टुंगिएको थियो।

    वसन्तकुमार पन्त र रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवा गर्ने निर्णयविरुद्ध डीआईजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले हालेको रिट पनि सर्वोच्चले खारेज गरेको छ ।

    साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदै गरेका एआईजी पोखरेलसामु अब प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने दुईमध्ये एक विकल्प बाँकी रहेको छ ।

  • नेप्सेमा लगातार वृद्धि, आधा दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    नेप्सेमा लगातार वृद्धि, आधा दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३१ कम्पनीको १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराबरको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच भएका छन् ।

    आज दुईघण्टाको कारोबारमा आएका १३ उपसमूहहरू मध्ये ६ वटा बढेको छ भने ७ वटा घटेको छ ।म्युचुअल माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.५७ प्रतिशतले बढेको छ भने अन्य समूह १.६८ प्रतिशतले घटेको छ ।

    एकल अंकले बढेको बजारमा आज आधादर्जन म्यूचुअल फण्ड र डिबेन्चरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२ र माछापुच्छे डिबेन्चर २०८५ का धनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, सानिमा बैंक डिबेन्चर २०८५, एनआइसी एशिया डिबेन्चर २०८३, कृषि विकास बैंक डिबेन्चर २०८३, नबिल ब्यालेन्स फण्ड ३ र आरबीबी म्युचुअल फण्ड १ का इकाईधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    नेप्सेका अनुसार आज ग्रीन लाइफ हाइड्रोको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

    आज अपर तामाकोशीकोे सर्वाधिक कारोबार भएको छ । यसको पौने २० करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक झन्ड ७ करोड र किसान लघुवित्तको प्रमोटर शेयर साढे ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • ‘गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ’- प्रधानमन्त्री देउवा

    ‘गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ’- प्रधानमन्त्री देउवा

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । आज बालुवाटारमा भएको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री देउवाले अधिकारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन ।

    बैठकमा शीर्ष नेताहरुले गर्भनर एमालेको आर्थिक विभागमा समेत रहेको विषयमा प्रश्न उठाएपछि देउवाले सो कुरा बताएको नेताहरुले बताएका छन । अर्थ मन्त्रालयको समेत जिम्मेबारी सम्हालेका प्रधानमन्त्री देउवाले बिहीबार आफुले गर्भनरसँग समेत पछिल्लो विवादको विषयमा कुरा गरेको बताएका छन ।

    गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेपछि आफुले उपयुक्त निर्णय लिने आश्वासन प्रधानमन्त्री देउवालाई दिएको बताइएको छ ।

    एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागी भएपछि गभर्नर अधिकारी विवादमा छन । एमालेले भने गभर्नर अधिकारी एमालेको आर्थिक विभागको सदस्य नरहेको स्पष्टीकरण दिएको छ ।

  • चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

    चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको ज्यान गएको छ । दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

  • माओवादी अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदै

    माओवादी अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाने भएका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत जान लागेका हुन् । प्रचण्ड दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नेछन् । डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतकोतर्फबाट निम्तो दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार त्यसक्रममा प्रचण्डले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिकरुपमा भ्रमण तय भएको थियो । प्रचण्डको भारत भ्रमणबारे बिहीबार बसेको माओवादीको स्थायी समिति बैठकमा पनि छलफल भएको थियो । उनी साउन १ मा स्वदेश फर्कनेछन् ।

  • उपसभामुखको निर्वाचन आज

    उपसभामुखको निर्वाचन आज

    काठमाडौं । उपसभाुमख पदको निर्वाचन आज हुँदैछ । संघीय संसदले साढे दुई वर्षपछि आज उपसभामुख पद पाउने भएको हो । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहीबार नै उम्मेदवारी दर्ता भई अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् ।

    भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार हुन् । अहिले प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।संसद सचिवालयका अनुसार मतदानको समय दिउँसो तीन बजेलाई तोकिएको छ ।

  • जसपाबाट बाबुराम भट्टराईसहित ९ नेता निष्काशित

    जसपाबाट बाबुराम भट्टराईसहित ९ नेता निष्काशित

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ जना नेतालाई पदमुक्त गरेको छ ।
    वीरगञ्जमा बसेको बैठकले भट्टराईसहित कार्यकारिणी समितिका नौ जना नेतालाई पदमुक्त गरेको हो ।

    बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू गङ्गानारायण श्रेष्ठ, दुर्गा शोव, दानबहादुर चौधरी, प्रशान्त सिंह, महेन्द्र यादव, भक्तबहादुर साह, रमेश यादव र हिसिला यमीलाई पदमुक्त गरेको हो । बैठकले सङ्घीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । भट्टराई र यादव गुटबीचको विवादले अन्ततः पार्टी विभाजनको अवस्थामा पुगेको हो ।

  • भृकुटीमण्डप आगलागीमा ५ करोड बराबरको क्षति

    भृकुटीमण्डप आगलागीमा ५ करोड बराबरको क्षति

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय अपाङ कोष र समाज कल्याण परिषद्ले सामान भण्डारण गरेको गोदाममा आगलागी हुँदा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बुधबार साँझ र बिहीबार बिहान गरी दुई पटक आगलागी भएको थियो । बुधबार लागेको आगोलाई निभाए पनि त्यहाँ रहेको आगोका अवशेषबाट बिहीबार पुनः आगो सल्किएपछि निभाइएको थियो ।

    विदेशी दाताले प्रदान गरेका ह्वील चेयर, वैशाखी, मेडिकल सामान कति थिए, कति वितरण भएका र कति जलेर नस्ट भए भनेर छानबिन भइरहेको बताइएको छ । फिल्म हललाई दुई भागमा बारेर एक खण्ड कोषले र अर्को भाग समाज कल्याण परिषद्ले सामग्री राखेका थिए ।

  • थप २६० जनामा कोरोना पुष्टी, ४८ जना संक्रमण मुक्त

    थप २६० जनामा कोरोना पुष्टी, ४८ जना संक्रमण मुक्त

    काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा नेपालमा २६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ गरी २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार ९८१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ८५८ पुगेको छ । सक्रिय संक्रमितको संख्या११७१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

  • कांग्रेसका नेता अर्जुनरसिंह केसीको प्रश्न-‘वित्तीय संकटका बेला विदेशी हात–हतियार किन्नुको औचित्य के’ ?

    कांग्रेसका नेता अर्जुनरसिंह केसीको प्रश्न-‘वित्तीय संकटका बेला विदेशी हात–हतियार किन्नुको औचित्य के’ ?

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले हतियार खरिदका लागि सरकारले अघि बढाएको प्रक्रियाका विषयमा प्रश्न उठाएका छन्।

    केसीले ११ बुँदामा पार्टी र सरकारको विषयमा आलोचना गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई देशमा आर्थिक संकट चुलिँदै गएको बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हात(हतियार किन्‍नुको के औचित्य भन्दै प्रश्‍न उठाए ।

    नेपाल गम्भीर संकटको पासोतिर उन्मुख छ। असफल राज्यका विशेषताहरू देखिन थालेका छन् । ‘नेपाल श्रीलंकाको नियति भोग्ने अवस्थामा’ जान्छ कि भन्ने त्रासले सर्वसाधारण जनतालाई झन् गम्भीर चिन्तामा पारेको छ,’ प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै उनले भने, ‘भ्रष्टाचारको पासो, ऋणको भारी, बाह्य चलखेल र शक्तिराष्ट्रहरूको द्वन्द्वको महाभारी जस्ता अनेकौं चक्रब्युह देशभित्र देखिन थालेका छन् ।

    देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिँदै जान थालेको वित्तीय संकटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्नुको के औचित्य छ?’

    यस्तो छ उनले केन्द्रीय समितको बैठकमा राखेका ११ बुँदा

    १. नेपाल गम्भीर संकटका चक्रब्युह वा पासोतिर उन्मुख छ । असफल राज्यका विशेषताहरू देखिन थालेका छन् । ‘नेपाल श्रीलंकाको नियति भोग्‍ने अवस्थामा’ जान्छ कि भन्‍ने त्रासले सर्वसाधारण जनतालाई झन् गम्भीर चिन्तामा पारेको छ । भ्रष्टाचारको पासो, ऋणको भारी, बाह्य चलखेल र शक्ति राष्ट्रहरूको द्वन्द्वको महाभारी जस्ता अनेकौं चक्रब्युह देशभित्र देखिन थालेका छन् । देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिदै जान थालेको बित्तीय संकटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्‍नुको के औचित्य छ ?

    २ दोस्रो विश्वयुद्धपछि ८० को दशक अन्त्यसम्म शीतयुद्धको केन्द्र युरोप थियो भने वर्तमान परिवेशमा अमेरिका–चीन बीचको शीतयुद्धको स्थल–केन्द्र नेपाल हुन थालेको छ । दुई विशाल छिमेकी भारत र चीनका बीच बढ्दो आर्थिक, सामरिक तथा राजनीतिक शक्तिका साथै यी दुई छिमेकीको रस्साकस्सी र युद्धस्तरीय प्रतिस्पर्धाबाट हाम्रो भूभाग चोखो रहन सक्दैन । यसबारे हाम्रो स्पष्ट दृष्टिकोण र उचित राष्ट्रिय भूमिका तय हुनु अनिवार्य छ । विदेश नीति र राष्ट्रिय सुरक्षा नीति सरकारबाट सर्वदलीय सहमतिद्वारा नै तय गर्नु आवश्यक छ ।

    ३ अर्थतन्त्र संकटग्रस्त हुनुको मूल कारण ‘समानान्तर अर्थतन्त्र’ को नाममा भ्रष्टाचार, तस्करी, माफियागर्दी, कमिशनखोरी, आर्थिक अपराधीले खेलाएको कालोधन राजनीतिमा पनि निर्णायक पहुँच बनाउन थालेको खतरनाक स्थितितिर मुलुक घिसारिँदैछ छ । बजेट प्रस्तुत हुने अघिल्लो राती अर्थमन्त्रालयमा भएको काण्ड र अर्थमन्त्रीको राजीनामाले धेरै कुराको रहस्योद्घाटन गरेको छ । कतै हाम्रो उदारतालाई कमजोर ठानेर त्यसको नाजायज फाईदा लिने तत्वहरू पल्किरहेका त छैनन् । सतर्कता जरुरी छ ।

    ४ देशमा अनियन्त्रित हुँदै गएको दण्डहीनता, भ्रष्टाचार र सुशासनको अभावले आर्थिक अपराधी, माफिया र बिचौलियालाई संरक्षण र हौसला पुगेको वर्तमानमा यसको निराकरणको लागि आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डहरूको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी यथार्थ जनसमक्ष ल्याउने र न्यायोचित कारवाही गर्ने अग्रणी भूमिका काँग्रेसले नै निर्वाह गर्नुपर्छ । यसबारे मैले यसभन्दा अघिको यस्तै बैठकमा पनि माग गरेको थिएँ । मुलुकलाई न्यायोचित रुपमा आर्थिक अपराधीबाट मुक्त गराउनु जरुरी छ ।

    ५. पारदर्शी तथा विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको आधार राज्य सञ्चालनमा अगाध विश्वास राख्‍ने नेपाली काँग्रेस र यसका सभापतिले सत्ता सम्हाल्नुभएको बेलामा पनि पूर्ववर्ती एमाले नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीको मातहतमा राखेका राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान, तथा सम्पत्ति शुद्धीकरण विभागहरू प्रधानमन्त्री कार्यालयको मातहतमा राखि रहनुको औचित्य के छ ? संवैधानिक परिषद ऐनको संशोधनको जरुरत किन पर्यो ? यसमा संविधान, पद्धति र ऐनबारे हाम्रो पूर्व अडान र प्रतिपक्षी दलको आसनबाट हामीले यसको घोर विरोध गरेको आफ्नै आवाज सम्झौँ र ती विषयहरू यथास्थानमा पुनःस्थापित गरौं ।

    ६ मुलुक आन्तरिक र बाह्य ऋणमा फस्दै गएको छ । विगत पाँच वर्षको अवधिमा गार्हस्थ उत्पादन घटिरहेको छ तर आन्तरिक र बाह्य कर्जा तीन गुणाले बढेको छ । लगानी, उत्पादन, वितरण र रोजगारीको अवस्था संकटपूर्ण हुँदा कुल गार्हस्थ उत्पादन को २० प्रतिशत आन्तरिक र बाह्य कर्जा पनि धेरै हुन्छ । उत्पादनशील क्षेत्रमा लाग्ने पूँजीको लागि मात्र यस्तो ऋण जति लिए पनि हुन्छ । नेपालमा जन्माए को ४३ प्रतिशत ऋणभार पुग्नु चेतावनीपूर्ण पूर्व संकेत हो ।

    ७ चौधौं महाधिवेशनले केवल नेता व्यवस्थापन ग¥यो, नीतिगत छलफल र निर्णय केही पनि भएन । तर महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि यसको नीति महाधिवेशन गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गठन र भातृ संस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नुले नेतृत्वको योग्यता पुष्टि हुँदैन । पार्टीको आदरणीय सभापति पद सबै दृष्टिकोणले सबल र सक्षम हुनुपर्ने हामी सबैको चाहना हो तर पार्टीको विधान र पद्धति लत्याएर निरंकुश बन्न खोजे क्षतिग्रस्त हुन्छ । पार्टीको केन्द्रीय समितिले ‘स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गर्ने’ निर्णय लियो । पछि यही निर्णय विपरीत हस्तक्षेप हुनु पार्टी विधानको बर्खिलाप हो । देशको परिस्थिति र काँग्रेसमा बढेर आएको जिम्मेवारीले हामीलाई एक मिनेट पनि गैरजिम्मेवारी देखाउने छुट छैन ।

    ८ नेपाली काँग्रेसलाई ‘विपत सम्हाल्ने नेता’ र पार्टीको रुपमा इतिहासले स्थापित गरेको छ । त्यसैले काँग्रेसको यस बैठकले भरोसायोग्य सन्देश र समाधान जनतालाई दिनुपर्छ । निर्वाचनको बेलामा जनतामा गरिएको वाचा (घोषणापत्र) लाई ध्यानमा राखेर काम गर्न स्थानीय तहमा निर्वाचित काँग्रेसका साथीहरूलाई पार्टीले क्ष्लउगत सहित निर्देशन दिनु जरुरी छ । स्थानीय तहको कार्यसम्पादनमा नेपाली काँग्रेस अन्य पार्टीभन्दा कसरी उत्कृष्ट हुनसक्छ भन्ने सवालमा हामीले नीति, अभिमुखीकरण कार्यक्रम र निष्कर्ष बनाउनु पर्ने हुन्छ । हाम्रो जिम्मेवारी बढेको उत्तरदायित्व हामीले पूरा गर्नुपर्छ । नत्र उपलब्धी बरदानको रुपमा आएको अभिशाप हुन बेर लाग्दैन ।

    ९ मूलधारका पार्टीहरूप्रति वितृष्णा र अविश्वास बढ्दै गएकोले नै स्वतन्त्र उम्मेदवारतर्फ मतदाता आकर्षित भए । जनसंख्याको ४० प्रतिशत नयाँ पुस्ता र मतदातालाई पार्टीमा आकर्षित गर्ने भरोसायुक्त विशेष कार्यक्रम र रणनीतिको अभावको परिणाम जनताको आस्था डगमगाएको अर्थमा शिक्षा लिएर समयमै कोर्श करेक्सन गरिएन भने आगामी निर्वाचनहरूमा स्वतन्त्र उम्मेदवारको संख्या र मतदाता थपिन सक्ने कटु यथार्थबारे सतर्कता अपनाऔं ।

    १० जनताको निकट सम्पर्क र राज्यको अग्रपंक्तिमा रहेका स्थानीय तहको निर्वाचनमा काँग्रेसले सन्तोषजनक उपलब्धी हासिल गरेको छ, तथापि अन्तर्घातबाट मुक्त रहन सकेन । यसका कारक पक्षलाई जरैदेखि समाप्त गर्न आवश्यक छ । यसका लागि पारदर्शी, विधिसंगत नीति निर्माण प्रक्रिया पहिलो सर्त हो । तर कार्यशैलीमा गुणात्मक सुधारले मात्र परिमाणात्मक उपलब्धीको सार्थकता प्रमाणित हुन्छ । निर्वाचनमा पैसाको बोलवाला लगाम बाहिर जान थालेको छ । यसले आखिरमा सबै पार्टी, लोकतन्त्र, विधिको शासन सबैलाई खाईदिन्छ । समय छँदै होस पुर्याउँदै निर्वाचन पद्धतिमाथि नै राष्ट्रिय बहसको आवश्यकता रहेको देखिन्छ ।

    ११ स्थानीय तहको निर्वाचनको लागि काँग्रेसलाई गठबन्धनको बैसाखी आवश्यक थियो कि थिएन भन्ने ब्यापक बहसको विषय बनेकै हो । चुनावी गठबन्धन तात्कालिक रणनीति मात्र हो । यो नै गन्तब्य र लक्ष होइन । संघीय र प्रदेश संसदको आसन्न निर्वाचनमा गठबन्धन आवश्यक छ भने काँग्रेसको स्वाभिमान र सम्मानजनक हैसियतको रक्षा गर्ने स्पष्टता सहित निश्चित मापदण्ड, आचारसंहिता सहित पार्टीको संस्थागत निर्णयको आधारमा स्प्ष्ट हुनुपर्छ । पार्टी विधान र निर्णयको उपेक्षा गरेर उच्चस्तरीय संयन्त्रको नाममा निर्णय लादिनु हुन्न । यी दुवै तहका संसदीय निर्वाचनमा काँग्रेसले बहुमतको लक्ष राख्नुपर्छ । गठबन्धनको औचित्य र काँग्रेसको निर्णायक हैसियत कायम राख्न पार्टीभित्र बृहत् एब्यबद्धताको उत्साही वातावरण बनाउनु जरुरी छ । समग्र सहमति आजको अनिवार्य आवश्यकता हो । मेलमिलाप, सहमति र एकता भनेको सहअस्तित्व हो, समर्पण होइन भन्ने हेक्का राख्नु जरुरी छ । विधि, प्रकृया र पारदर्शिताका साथ एकता आजको चुनौतीपूर्ण स्थितिको सामना गर्ने एकमात्र आधार हो भन्ने नभुलौं ।

    पार्टी भित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एकपक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र काँग्रेसको समग्र हित हुन सक्दैन भन्‍नेबारे सचेत हुन आवश्यक छ ।

  • प्रधानमन्त्रीले बालुवाटार बोलाएर गर्भनरलाई भने -‘अर्थतन्त्रवारे जथाभावी टिप्पणी नर्गनुस्’

    प्रधानमन्त्रीले बालुवाटार बोलाएर गर्भनरलाई भने -‘अर्थतन्त्रवारे जथाभावी टिप्पणी नर्गनुस्’

    काठमाडौं । मुलुकको अर्थतन्त्रको बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भैरहेको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई बालुवाटार बोलाएर छलफल गरेका छन ।

    देउवा आज गर्भनर अधिकारीलाई बोलाएर मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा कुराकानी गरेका हुन । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले लिएका छन् ।

    विभागीय मन्त्रीको रुपमा उनले गर्भनर अधिकारीलाई बोलाएर पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन । भेटमा प्रधानमन्त्री देउवाले मुलुक श्रीलंका बन्ने बाटोमा रहेको भन्दै गर्भनर अधिकारीले सार्वजनिक रुपमा दिएका अभिव्यक्तिका विषयमा चासो समेत राखेका छन ।

    गर्भनर अधिकारीले भने आफूले केन्द्रीय बैंकको प्रमुखको रुपमा अर्थतन्त्र सुधारका लागि पहल र सरोकारवाललाई ध्यानाकर्षण गराउने काम मात्रै गरेको सो क्रममा बताएका छन ।

    गर्भनर अधिकारी नेकपा एमालेको अर्थ विभागको सदस्यका रुपमा काम गरिरहेको भन्दै राजीनामा माग हुँदै आएको समयमा प्रधानमन्त्री देउवाले गर्भनरसँग सो विषयमा पनि चासो राखेको बुझिएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा समेत उनको राजीनामा माग हुँदै आएको छ ।

  • एमालेको दुई पत्रे स्पष्टीकरण-‘एम अधिकारी गभर्नर होइनन्’

    एमालेको दुई पत्रे स्पष्टीकरण-‘एम अधिकारी गभर्नर होइनन्’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ ।

    एमाले कार्यालय सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन् ।

    तर, स्पष्टीकरण पत्रमा एम अधिकारी गभर्नर होइनन् भनिए पनि अरु केही बताइएको छैन । त्यही पत्रको जवाफ दिँंदै एमाले कार्यालय सचिवले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाएका हुन् ।

    भुसाल नेतृत्वको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी को हुन् भन्ने उत्तर नदिइ एमालेले जोगाउने प्रयास गरिरहेको छ।

    यस्तोमा एमाले केन्द्रीय कार्यालय च्यासलबाट बिहीबार दुईवटा पत्र सार्वजनिक भएका छन्। जसमध्ये पहिलोमा महाप्रसादले सिमपानी-१ खोटाङको ठेगाना उल्लेख गरे २०७३ जेठ २५ गते नै आफूलाई अर्थ तथा योजना विभागको सदस्यका रुपमा मनोनित गरिएकोप्रति ध्यानाकर्षण गर्दै आफू कुनै दलमा नरहेको उल्लेख गरेका छन्।

    पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् ।

  • उपसभामुखमा गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा

    उपसभामुखमा गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा

    काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराई र गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालबीच प्रतिस्पर्धा हुने भएको छ ।

    एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् ।

    यसअघि एमालेले लोसपाले उम्मेदवार उठाए समर्थन गर्ने जनाएको थियो।

    भुषालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) लक्ष्मी कुमारी चौधरी रहेकी छन् । उपसभामुखको निर्वाचन शुक्रबार दिउँसो १ बजे हुनेछ।

  • ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, चालकको मृत्यु

    ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, चालकको मृत्यु

    ललितपुर । ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठक्कर खाँदा चालकको ज्यान गएको छ । दुर्घटना गएराति भएको हो । प्रहरीका अनुसार गएराति पौने १ बजे ललितपुरको हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो ।

    वाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर रोकिराखेको वाग्मती प्रदेश ०१–००५ ख ९४७५ नम्बरको ट्रकमा ठोक्किँदा चालक गोदावरी नगरपालिका(५ का २० वर्षका सुरेश मोक्तानको ज्यान गएको हो । स्कुटर ठोक्किनुको कारण खुलेको छैन ।

  • काठमाडौंमा घर भित्रै पसेर चितुवाको आक्रमण, ५ जना घाइते

    काठमाडौंमा घर भित्रै पसेर चितुवाको आक्रमण, ५ जना घाइते

    काठमाडौं । काठमाडौंमा घर भित्रै पसेर चितुवाले मानिसमाथि आक्रमण गरेको छ । प्रहरीका अनुसार घटनामा पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका ८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गरेको हो ।

    भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएक हुन् । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार जारी छ । चितुवाको आक्रमण गर्दा विभिन्न भागमा चिथोरेको थियो ।

  • जहाजमा चुरोट सल्काउने व्यक्ति प्रहरीको फन्दामा

    जहाजमा चुरोट सल्काउने व्यक्ति प्रहरीको फन्दामा

    काठमाडौं । काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरका अनुसार उडान नं २५३ बाट बुधबार दिउँसो धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट सल्याएका थिए । त्यसपछि धुँवा उडेपछि यात्रु आत्तिएका थिए ।

    त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेको कम्पनीको भनाई छ । धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको छ । जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान निषेध छ । चुरोट तान्न निषेध छ ।

  • भृकुटीमण्डपमा आगलागी, वर्षाका कारण धेरै क्षति हुनबाट बच्यो

    भृकुटीमण्डपमा आगलागी, वर्षाका कारण धेरै क्षति हुनबाट बच्यो

    काठमाडौं । भृकुटीमण्डपमा लागेको आगो झन्डै साढे दुई घण्टापछि नियन्त्रणमा आएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । साथै सोही समयमा काठमाडौंमा परेको ठूलो वर्षाले समेत आगो निभाउन सहयोग गरेको थियो ।

    भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो । आगलागीबाट गोदाममा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागी भएको ठाउँमा गएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि अवलोकन गरेका छन् । आगलागीबाट मानवीय क्षति भएको छैन । अरु क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

  • दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

    दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

    काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न दुई आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार दुई आर्थिक वर्षमा सरकारले यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो । निजामती प्रशासन, सुरक्षा निकाय र अन्य निकायबाट यस्तो खर्च भएको महालेखाले जनाएको छ ।

    स्वास्थ्य सामग्री, औषधि उपकरण, संक्रमित व्यक्तिको व्यवस्थापन, क्वारेन्टिन तथा आइसोलेसन केन्द्र निर्माण, राहत सामग्री, जोखिम भत्ता लगायतमा सो रकम खर्च भएको पाइएको छ । कोरोना महामारीका दौरान सरकारले ३ अर्ब रुपैयाँ बराबरको आयकर छुट दिएको पाइएको छ । यस्तो छुट कुल ५ लाख १२ हजार जना करदाताले लिएका छन् ।


    आर्थिक वर्ष २०७७\७८ मा मात्र २ अर्ब ८९ करोड २९ लाख रुपैयाँ बराबरको आयकरमा छुट पाएको प्रतिवेदनमा उल्लेख छ । सरकारले सो वर्ष वार्षिक २ लाखसम्म आय हुनेलाई ९० प्रतिशत, २० लाख देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र वार्षिक १ करोडसम्म कारोबार गर्नेलाई ५० प्रतिशत आयकर छुट दिएको थियो ।

    यसै आवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा ४० अर्ब ८१ करोड ८२ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण आयातमा राजस्व छूट दिइएको छ । तर, यसरी दिइएको भन्सार छुटबाट उपभोक्ताले लाभ पाए वा पाएनन् भन्ने अध्ययन भने नभएको महालेखाले उल्लेख गरेको छ ।

  • सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुग्यो

    सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुग्यो

    काठमाडौं । सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । महालेखाले यो वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाहरू समेतको ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखा परीक्षण सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो।

    संघ, प्रदेश र स्थानीय तह समेतको लेखा परीक्षणबाट एकै वर्षमा एक खर्ब १५ अर्ब पाँच करोड बेरुजु कायम भएको प्रतिवेदनले औंल्याएको छ। गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड थियो। यसमा समायोजन तथा फर्स्यौट गरिएको अंक घटाई यो वर्ष थप भएको बेरुजु जोड्दा कुल बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुगेको हो।

  • ‘देशलाई श्रीलंका बन्छ भन्ने हनुमानलाई बाधेर राख्नुपर्छ नत्र नेपाल जल्छ’

    ‘देशलाई श्रीलंका बन्छ भन्ने हनुमानलाई बाधेर राख्नुपर्छ नत्र नेपाल जल्छ’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का सांसद गजेन्द्र बहादुर महतले देशलाई श्रीलंका बन्छ भन्ने हनुमानलाई बाधेर राख्नुपर्ने बताएका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीलाई हनुमानको संज्ञा दिदै जसरी द्वापर युगमा हनुमानले श्रीलंका जलाएका थिए त्यसैगरी अहिले गभर्नरले नेपाल जलाउन सक्ने आरोप लगाएका हुन् ।

    प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीलाई राखिएको विषय सार्वजनिक भएको भन्दै माओवादी सांसदहरूले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गभर्नरको चर्को विरोध भएको छ।

  • उपत्यकामा ६ बालबालिका सहित २८ जनामा हैजा, सतर्कता अपनाउन आग्रह

    उपत्यकामा ६ बालबालिका सहित २८ जनामा हैजा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ ।

    इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो ।

    योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या २८ पुगेको छ । हैजा देखिएकामध्ये ३ जना ५ वर्षमूनिका बालबालिका रहेका छन्।

    संक्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन्, जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार मंगलबारसम्म हैजा संक्रमितको संख्यामध्ये काठमाडौं महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरीमा २, बुढानीलकण्ठमा १ र कीर्तिपुरमा १ जना संक्रमित देखिएका छन् ।

    त्यस्तै, भक्तपुरका चाँगुनारायण नगरपालिकामा १ र सूर्यविनायकमा १ जनामा हैजा पुष्टि भएको छ भने ललितपुर महानगरभित्र २ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
    उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

    हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ। अन्य बिरामी निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको संख्या बढ्दै आएको छ।

    काठमाडौं, ललितपुर महानगरले पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

  • उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

    उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि यही असार ३१ गते शुक्रबार निर्वाचन हुने भएको छ ।

    प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन तालिका सार्वजनिक गरेका हुन् ।

    उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आब्हान गर्ने र ३१ असारमा बस्ने बैठकवाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ ।

    तत्कालिन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजिनामा दिए पछि झन्डै २ वर्षदेखिि उपसभामुख खाली रहदैँ आएको थियो ।

    संविधानअनुसार सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक-फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ।

  • देउवा सरकारको एक वर्ष, कमजोर सुशासन-अर्थतन्त्रमा जोखिम

    देउवा सरकारको एक वर्ष, कमजोर सुशासन-अर्थतन्त्रमा जोखिम

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले पछिल्लो पटक सत्ता सम्हालेको आज एक वर्ष पुरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको पाँचौ कार्यकाल सुशासन र आर्थिक स्थायित्वका दृष्टिकोणबाट सबैभन्दा बढी आलोचित बन्न पुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले २०७८ असार २८ गते खारेज गरेको थियो ।

    साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न समय सीमासहितको परमादेशसमेत जारी भएपछि शेर बहादुर देउवालाई सत्तामा आउने बाटो खुलेको हो । प्रधानमन्त्री देउवाको एक वर्षे कार्यकाल अनेक विवादमा बितेको छ । एक वर्ष अगाडिसम्म ओलीले जे–जस्ता आरोपको सामना गरेका थिए, देउवामाथि पार्टीभित्रबाट तथा प्रमुख प्रतिपक्ष दल एमालेबाट उस्तै प्रकृतिका आरोप लाग्न थालेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा शेखर कोइराला समूहले प्रधानमन्त्रीका रूपमा देउवाका काम र कार्यशैलीमाथि प्रश्न उठाएको छ ।

    यो एक वर्षमा सबैभन्दा धेरै छलफल गठबन्धन जोगाउने विषयमै केन्द्रित भएको छ । देउवाले एक वर्षमा सात पटक मन्त्री हेरफेर गरेका छन् ।नागरिकले भोगिरहेको महँगीतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । महँगी ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । दैनिक जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा सरकारको प्राथमिकता केवल सरकार जोगाउनुमात्रै देखिएको छ ।

    देउवा नेतृत्वको गठबन्धन सरकारले आफ्नो प्राथमिकतामा कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय सङ्कटको समाधान गर्ने, सुशासनको प्रत्याभूति दिने, सङ्घीयता कार्यान्वयन गर्नेलगायत राखेको थियो । यसबीचमा परराष्ट्र मामला, अर्थमन्त्रीको बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिको प्रवेशसहितका काण्ड भए । प्रधानमन्त्री स्वयमःको सार्वजनिक स्थलमा कमजोर उपस्थिति पनि आलोचित बन्यो । देउवा सरकारले स्थानीय तहको सफल निर्वाचन गरी जस भने लिएको छ ।

  • आज गुरु पूर्णिमा, सम्मान र आदरसहित मनाइंदै

    आज गुरु पूर्णिमा, सम्मान र आदरसहित मनाइंदै

    काठमाडौं । आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
    ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।

    यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ( माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

    आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् ।

  • आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती देशभर मनाइंदै

    आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती देशभर मनाइंदै

    काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

    पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको मानिन्छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘

    प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

    त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ । रासस

  • श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागेको पुष्टी

    श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागेको पुष्टी

    कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेको पुष्टी भएको छ । श्रीलंकाका लाखौं नागरिकले प्रदर्शनसहित राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने प्रयासमा थिए । यसअघि देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए । राष्ट्रपति गोटाबायाले स्थानीय समय अनुसार मंगलबार ३ बजे कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंकाको सैन्य विमानसँगै देश छाडेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति राजापाक्षे केही सैनिक सुरक्षा र परिवारको साथमा माल्दिभ्स पुगेका छन् ।

    बीबीसीका अनुसार ७३ बर्षीय राष्ट्रपति गोटाबायासँगै उहाँकी श्रीमती र अंगरक्षकसहित चार यात्रु रहेका छन् । बीबीसीका अनुसार राष्ट्रपतिका भाई एवं पूर्व फाइनान्स मन्त्री बासिल राजपाक्षे पनि देश छाडेका छन् । राजपाक्षेलाई माल्दिभ्समा अवतरणको अनुमति नदिईँदा केही समय अन्योलमा परेको र उनको विमान एक घण्टाभन्दा बढी समय टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

    अध्यागमनका अधिकारीहरूले उनको राहदानीमा छाप लगाउन विमानस्थलको भीआईपी कक्षमा जानबाट समेत रोकेका थिए । यसअघि पनि देश छाड्न प्रयास गरेका उई भारतले श्रीलंकाको सैन्य विमान अवतरण गर्न अनुमति दिएको थिएन भने अमेरिकी दूताबासले समेत भ्रमण भिसा दिन अस्वीकार गरेको थियो । राष्ट्रपतिले देश छाडेको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन् ।