Category: समाचार

  • काठमाडौं उपत्यकामा मतदाता नामावली अनलाइनबाटै हुने

    काठमाडौं उपत्यकामा मतदाता नामावली अनलाइनबाटै हुने

    काठमाडौं । अबदेखि काठमाडौं उपत्यकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ। निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाका नागरिकहरूले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने जानकारी गराएका हुन् । पौडेलका अनुसार आयोगले मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरको लागि पाइलट अपरेसनको रूपमा सुरू गर्ने निर्णय गरेको हो।

    ‘फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाटै फारम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले ुवेब बेस्ड भोटर लिस्ट प्रि रेजिष्ट्रेसन सिस्टमु तयार गरेको हो,’ विज्ञप्तिमा भनिएको छ,‘पाइलट अपरेसनको रूपमा काठमाडौं, भक्तपुर र ललितपुरबाट बुधबारदेखि सुरू गर्नेगरी आयोगले मंगलबार निर्णय गरेको छ।’

    फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले आयोगको वेवसाइटमा गएर व्यक्तिगत विवरण भर्न सकिन्छ। त्यसपछि अनलाइन फारममा उल्लेख भएको संकेत नम्बरसहित प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ।

    ‘मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले यस अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्नु गराउनुहुन आयोग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा मंगलबार पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात\आठ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको पोखरीमा आज नुहाउन गएका थिए । सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले जनाएको छ । सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    रासस

  • काठमाडौं कोरोनाको ‘रेड जोन’मा,एकै दिन ९० जना संक्रमित थपिए

    काठमाडौं कोरोनाको ‘रेड जोन’मा,एकै दिन ९० जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १०४ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९०, भक्तपुरमा एक र ललितपुरमा तीनजना संक्रमित थपिएका हुन् ।

    योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५९६ पुगेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित देखिएपछि काठमाडौं कोभिड १९ को ‘रेड जोन’मा परेको छ ।

    काठमाडौं उपत्यकाका तीनै जिल्लासहित आज २१ जिल्लामा कोभिड १९ संक्रमित थपिएका छन् ।

    देशभरका आज देशभर रहेका ८७३ जना सक्रिय संक्रमितमध्ये ८५३ जना होम आइसोलेसनमा र २० जना संस्थागत आइसोलेसन छन् ।

  • साउन २ गते देखि पशुपतिनाथ मन्दिर परिसरमा ‘अभिषेकात्मक अतिरूद्र महायज्ञ’

    साउन २ गते देखि पशुपतिनाथ मन्दिर परिसरमा ‘अभिषेकात्मक अतिरूद्र महायज्ञ’

    काठमाडौं । जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (जगद्गुरू महायोगी सिद्धबाबा) को सत्संकल्पमा पशुपतिनाथ मन्दिर परिसरमा ऐतिहासिक ‘अभिषेकात्मक अतिरूद्र महायज्ञ’ हुने भएको छ ।

    जगद्गुरू श्रीरामानन्दाचार्य सेवापीठ (श्रीराम तारकब्रह्म पीठ) एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा यही साउन २ गते देखी १० गते सम्म नेपालकै ऐतिहासिक ‘अभिषेकात्मक अतिरूद्र महायज्ञ ‘ हुन लागेको हो ।

    मुलुकको चौतर्फीव्याप्त प्रकृतिक विपत्ति निवारण भइ समृद्धि,विश्व शान्ति तथा जीव-जगत एवं मानव कल्याण हेतु , सुशान्ती अमन चयन कायम रहोस् र मानव मात्रामा रहेको राग द्धेष, वैमनश्यता तथा विधित प्रकारका दोष समन सनातन धर्मको संरक्षणको लागि उक्त महायज्ञ हुन लागेको आयोजकले जनाएको छ ।

    विशेष आरधान सहित नौ दिनसम्म चल्ने महायत्रमा रुद्राध्यायीको १४,६४१ आवृति रुद्रीपाठ हुनेछ ।

    विश्वमा दोश्रो पटक र सिद्धबाबाको सत्संकल्पमा नेपालमा पहिलो पटक पवित्र भूमि पशुपति क्षेत्रमा अभिषेकात्मक अतिरूद्र महायज्ञ हुन लागेको हो ।

    देशका मूर्धन्य दैवज्ञ, धर्माचार्य, तन्त्रविशारद एवं संस्कृतिविदहरुको संरक्षकत्व र निर्देशनमा हुने महायज्ञको साउन २ का दिन बिहान ११ बजे नेपाल उप–राष्ट्रपति श्री नन्दवहादुर पुनवाट विधिवत शुभारम्भ गरिने एक पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ ।

    यज्ञ अवधिभर हरेक दिन विहान ६ बजे देखि अपरान्ह १ बजे सम्म’अतिरुद्राभिषेक’ र अपराह्न ३–६ बजे सम्म सतसङ्ग लगायत भजन/कीर्तन/आध्यात्मिक झांकी आदिको प्रस्तुति हुनेछ ।

    साउन ९ र १० गतेका दिन अपराह्न ३–६ वजे सम्म देश विदेशका सन्त महापुरुषहरुको विशेष सम्मेलन हुने बताईएको छ ।

    ‘स्वयम्भू’ भगवान आशुतोषको क्षेत्रमै हुन गइरहेको अति दुर्लभ यस ‘रुद्र महायज्ञ’ मा सहभागी भई भगवान आशुतोषको कृपा प्रसाद प्राप्त गर्नु हुन सबैमा आग्रह गरिएको छ ।

    रुद्री भन्नाले के बुझिन्छ ?

    रुद्रको वेदविधिले शिवलिङ्गमाथि पूजा गरेर श्रृङ्गीद्वारा अभिषेक गर्दै शुक्लयजुर्वेदका १०० मन्त्रको एघार आवृत्ति गरिने पाठलाई नै रुद्री भनिन्छ ।
    रुद्र को हुन् ?

    शिव र रुद्र ब्रह्मकै पर्यायवाची शब्द हुन् । ‘शिवयति इति शिवः’ शिव अर्थात कल्याण, रुद्र अर्थात दुःखहर्ता । जीवको दुःखहरण गरेर भगवानको भक्तिद्वारा कल्याण गर्ने हुनाले शिवलाई रुद्र भनिन्छ । ‘रुतम् दुखम्, द्रावयति नाशयतीति रुद्रः ’ अर्थात् दुःख विनाश गर्नेलाई रुद्र भनिन्छ ।

    रुद्र शब्दको निरुक्ति अनुसार भगवान रुद्र दुःखनाशक, पापनाशक एवं ज्ञानदाता हुनुहुन्छ । रुद्रसूक्तमा भगवान रुद्रको शम्भु, शंकर, शिव लगायत विविध (५३) स्वरुपको वर्णन गरिएको छ ।

    अतिरूद्र महायज्ञ किन गरिन्छ ?

    -वेदः शिवः शिवो वेदः अर्थात् वेद शिव हुन् र शिव नै वेद हुन् अर्थात् शिव वेदस्वरुप हुनुहुन्छ । अतः वेदविहित यज्ञपुरुष स्वयम्भू रुद्र नै भएका र वेद चाहिँ नारायणको साक्षात स्वरुप भएकोले (वेदो नारायणः साक्षात् स्वयम्भूरिति शुश्रुमः) वेद मन्त्रद्वारा ती यज्ञपुरुषको उपासनाका लागि शिवजीको पूजन, अभिषेक, यज्ञ, जप आदि गरिन्छ ।

    – श्रीरामको प्रसन्नताको लागि रुद्रपूजन गरिन्छ ।

    -मनुष्यको मन विषयलोलुप भएर अधोगति नहोस्, उसका चित्तवृत्ति स्वच्छ भएर प्रवृत्तिमार्गबाट निवृत्तिमार्गमा जान सकोस् भन्ने अभिलाषापूर्तिका लागि रुद्रपूजन गरिन्छ ।

    -लोकमा भगवदभक्ति, शान्ति, पुत्र–पौत्रादि, धन–धान्य एवं सुन्दर स्वास्थ प्राप्त होस् र परलोकमा सद्गति र परमपद (मोक्ष) प्राप्त होस् भनी लौकिक –पारलौकिक कल्याणका लागि रुद्रपूजन गरिन्छ ।

    -कुलपरम्परालाई आनन्द प्रदान गर्न पनि रुद्रपूजन गरिन्छ ।

    यस अति रुद्री महायज्ञको विशेषता भनेको १२१ जना याजक परिवारको साथमा १२१ जना वटुक ब्राह्मणद्वारा शुक्लयुजुर्वेदसंहिता अन्तर्गत ‘रुद्राष्टाध्यायी’को मन्त्रले ९ दिन सम्म १४६४१ पटक पाठात्मक अनुष्ठानपूर्वक शिवलिङ्गमा अभिषेक गरिन्छ ।

  • नेपालमा थप १७७ जनामा कोरोना संक्रमण पुष्टी, ४१ जना संक्रमण मुक्त

    नेपालमा थप १७७ जनामा कोरोना संक्रमण पुष्टी, ४१ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ गरी १७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार ५९० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ६६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८७३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

  • काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला

    काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला

    पोखरा । काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायत कागजपत्रका आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको हो । मंगलबार घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जनाए अनुसार शव पुरानो भइसकेको देखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

  • श्रीलंकामा २० जुलाईमा नयाँ राष्ट्रपति छानिने

    श्रीलंकामा २० जुलाईमा नयाँ राष्ट्रपति छानिने

    कोलम्बो । शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन् । रणतुङ्गाले जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका हुन् । पार्टीले निर्णय गरे बमोजिम साउन १३ गते राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यस अनुरूप अगाडि बढ्ने पनि उनले जानकारी दिए । शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएको हो।

    तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्बेवार रहेको बताएका छन् । पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै भिडन्त भएको रिपोर्टहरू आएका छन् । श्रीलङ्का सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछि यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ।


    राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिंघेलाई आफ्नो पदबाट राजीनामा दिन लागेको बताएका छन् । चरम तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन् । श्रीलङ्कामा इन्धन अभावका बीच थुप्रे क्षेत्रमा आपतकालीन एम्बुलेन्स सेवा समेत निलम्बित गरिएको छ। आर्थिक सङ्कटले विशेषगरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवामा पहुँचलाई प्रत्यक्ष असर गरेको छ ।
    रासस

  • लगानी बोर्डले पीपीपी मोडलका परियोजनाको पाइपलाइन बनाउने

    लगानी बोर्डले पीपीपी मोडलका परियोजनाको पाइपलाइन बनाउने

    काठमाडौं । लगानी बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजनाको पाइपलाइन बनाउने तयारी गरेको छ । बोर्डले लगानीयोग्य, विश्वसनीय, दीगो एवं राष्ट्रिय प्राथमिकता अनुरूपका सार्वजनिक–निजी साझेदारीका परियोजना पूर्वतयारीसहित परियोजना बैंकमा सूचीकृत गर्न कार्यविधि बनाउने भएको छ । सोही क्रममा कार्यविधिमा विभिन्न सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले सोमबार कार्यशाला आयोजना गरिएको छ ।

    कार्यशालामा विभिन्न मन्त्रालय, दातृ निकाय, निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था एवं बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि सहभागि थिए । उक्त कार्यविधिले परियोजना बैंक स्थापनामा परियोजना पहिचान, छनोट तथा श्रेणीकरण, मूल्यांकन तथा प्राथमिकीकरणका चरणहरू समावेश गरेको छ । कार्यविधिले परियोजनाको पहिचान, छनोट र प्राथमिकीकरण मूलतः पारदर्शी ढंगले राष्ट्रिय प्राथमिकताका आधारमा हुने व्यवस्था गरेको छ ।

    ‘परियोजना बैंकबाट हामीले सार्वजनिक–निजी साझेदारीका परियोजनाहरू विकासमा एउटा मापदण्ड स्थापित गर्नेछौं । जसले प्रमाणिक आधारमा निर्णय प्रक्रिया अघि बढाउन र जोखिमहरू कम गर्न मद्दत गर्नेछ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भने । उनका अनुसार परियोजना बैंकले प्राथमिकताका परियोजनालाई व्यावसायिक रूपमा सम्भाव्य बनाउन सहुलियत ऋण, मिश्रित वित्त ९ब्लेन्डेड फाइनान्स० तथा अन्य प्रोत्साहनका लागि सरकार एवं दातृ निकाय र विकास वित्त उपलब्ध गराउने संस्थाहरूसँग छलफल अघि बढाउने छ ।

    प्रमुख कार्यकारी अधिकृत भट्टले परियोजना विकास बहुविधागत कार्य भएकाले परियोजना पूर्वतयारीमा ठूलो गृहकार्य आवश्यक पर्ने बताउँदै परियोजनाको राम्रो तयारीले परियोजनाको जीवनमा आउन सक्ने जोखिम कम गर्न सकिने धारणा राखे । स्पष्ट र पारदर्शी मानकका आधारमा परियोजनाको छनोट, श्रेणीकरण र प्राथमिकीकरण गरी परियोजना बैंकमा समावेश गरिनेछ । परियोजनाको प्राविधिक, वित्तीय, सामाजिक तथा वातावरणीय दीगोपना लगायतलाई छनोटका आधार मानिएको छ ।

    त्यस्तै, परियोजना पूर्वतयारीका आधारभूत पक्षहरू जग्गा अधिग्रहण वा राइट अफ वे क्लियरेन्स, वित्तीय जोखिम, डिजाइन तथा निर्माण जोखिम, सञ्चालन एवं मर्मतसम्भार जोखिम र बजार तथा मागको जोखिमका आधारमा परियोजनाको मूल्यांकन र प्राथमिकीकरण गरिनेछ ।

  • धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरले तिरायो २५ हजार जरिवाना

    धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरले तिरायो २५ हजार जरिवाना

    काठमाडौं । धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरपालिकाले कारवाही गरेको छ ।

    हिजोदेखि सामाजिक सञ्जालमा भाइरल रहेको धोबीखोलामा फोहार फालेको भिडियोको आधारमा महानगरले यस्तो कारबाही गरेको हो ।

    महानगरपालिकाले कुनै पनि यस्ता आवञ्छित कार्यहरु कसैले पनि नगर्न आग्रह गरेको छ । महानगरले छानबिनबाट फोहोर फाल्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याएको हो ।

    महानगरपालिकाले साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर छुट्टै उठाउने भएको छ । फोहोरमैला व्यवस्थापन जटिल बन्दै गइरहेको अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहाले बताए ।

    उनले आज भएको बैठकमा फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा सबैलाई साथ रहने बताएका हुन् ।

    बैठकमा उपत्यकाको साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा छलफल भएको थियो । दिगो फोहोरमैला व्यवस्थापनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहने उनले बताए ।

    शाहले भने, ‘उपत्यकाका पालिकाहरुमा केही साझा र केही भिन्न समस्याहरु छन् । यीमध्ये फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकालौँ ।’

    उपत्यकामा दैनिक १२०० टन फोहोर संकलन हुन्छ भने काठमाडौं महानगरपालिकामा मात्रै ५५० टन फोहोर जम्मा हुन्छ । काठमाडौं उपत्यकाबाट दैनिक १२ सय टन फोहोर संकलन हुन्छ ।

  • नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घण्टा १६८ संक्रमित थपिए

    नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घण्टा १६८ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ गरी १६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार ४४६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ७२४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७७० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

  • वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ७६ मौज्दात, ६.७ महिनाको आयात धान्ने

    वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ७६ मौज्दात, ६.७ महिनाको आयात धान्ने

    काठमाडौं । वैदेशिक मुद्रा सञ्चितिमा आंशिक सुधार भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को ११ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो ।

    जेठ मसान्तमा मसान्तमा आइपुग्दा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति कायम भएको छ ।

    वैशाख मसान्तमा यस्तो सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर थियो । एकै महिनामा २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको सञ्चिति बढेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा
    रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७.१ प्रतिशतले कमी आई रु.१०३१ अर्ब ८९ करोड कायम भएको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा ६.१ प्रतिशतले कमी आई रु.१४४ अर्ब ९५ करोड कायम भएको छ ।

    २०७९ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८÷७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    २०७९ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.३ प्रतिशत, ५६.१ प्रतिशत र २२.० प्रतिशत रहेका छन्। २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

  • उपत्यकामा साउन १ देखि प्रत्येक नगरपालिकाभित्र फोहोर वर्गीकरण गरिने

    उपत्यकामा साउन १ देखि प्रत्येक नगरपालिकाभित्र फोहोर वर्गीकरण गरिने

    काठमाडौं । फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौँ उपत्यकाका नगर प्रमुखहरुले बताएका छन्।

    काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज राष्ट्रिय सभा गृहमा बसेको बैठकमा उनीहरुको यस्तो प्रतिबद्धता आएको हो।

    उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बोलाइएको थियो। बैठकको मुख्य विषय दिगो फोहोरमैला व्यवस्थापन थियो।

    बैठक सुरु गर्दै प्रमुख शाहले भने, ‘उपत्यकाका पालिकाहरुमा केही साझा र केही भिन्न समस्याहरु छन्। यीमध्ये फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकालौँ। साझा समस्यामध्ये फोहोरमैला व्यवस्थापनको विषय आजको छलफलमा मुख्य विषय हो।’

    ‘महानगरले काम पनि गरिरहेको छ। नेतृत्व पनि गरिरहेको छ। भोलि पनि यसलाई निरन्तरता दिनेछ’, फोहोर व्यवस्थापनका लागि परम्परागत विधिबाट काम थाल्ने विषयमा प्रमुख शाहले भने, ‘घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै वर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ। यो विधि शतप्रतिशत प्रभावकारी छ।’

    शाहले थपे, ‘फोहोरलाई ग्यासका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखियो। अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो। यस्तै बिजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन फिर्ता लिन सकिने भयो । जैविक फोहोरलाई मल बनाउन करिब २ सयदेखि २ सय ५० रोपनी जग्गा आवश्यक पर्छ। यसका लागि सहकार्य गरौँ।’

    प्रमुख शाहको यो प्रस्तावपछि अन्य पालिकाका प्रमुख उपप्रमुख तथा प्रतिनिधिले धारणा राखेका थिए। त्यस क्रममा उनीहरुले आफूहरुले गरिरहेको अभ्यास र अन्य नगरको सम्बन्धका विषयलाई जोड दिए।

    ‘उपत्यकाको एकीकृत र दिगो फोहोर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले अगुवाइ गर्नुपर्छ। नेतृत्व लिनुपर्छ। हामी हाम्रो ठाउँबाट जिम्मेवारी पूरा गछौँ। काठमाडौँ महानगरसँग स्रोत छ। व्यवस्थापनका लागि जग्गा छैन । हामीसँग जग्गा हुनसक्छ। स्रोत छैन। त्यसैले हामीसँग जग्गा छ भने सहकार्य गरौँ यसमा महानगरले लगानी बढाउनुपर्छ’, प्रमुखहरुले भने, ‘साझा संकल्प गरौँ।’

    बैठकमा फोहोर व्यवस्थापनको दिगो समाधानका लागि स्रोतमा वर्गीकरण गर्नुपर्ने, उत्पादनमा कमी ल्याउने विधि अपनाउनुपर्ने, प्लाष्टिकको विकल्पमा झोलाहरुको प्रयोग बढाउनुपर्ने, शून्य फोहोर (जिरो वेस्ट) अवधारणाको प्रवर्धन गर्नुपर्ने, उपत्यकाभित्र फोहोर व्यवस्थापनको विधि एउटै हुनुपर्ने जस्ता धारणा आएका थिए।

    त्यस क्रममा उनीहरुले उपत्यका नगरपालिका फोरमलाई सक्रिय बनाएर उपत्यकालाई कस्तो बनाउने भन्ने चित्रका लागि एकीकृत विकासको गुरुयोजना बनाउनुपर्ने बताए। पानी पुनर्भरण, जिम्मेवारीका विषयमा नागरिक सचेतना, नदी किनारामा करिडोर बनाउने, नदीको सरसफाइ गर्ने, सडक सञ्जाल र ट्राफिक व्यवस्थापन जस्ता विषयमा साझा संकल्प आवश्यक छ।

    नगरका साझा र भिन्न समस्या तथा समाधानका लागि अवलम्बन हुन सक्ने उपायका विषयमा अध्ययन गर्न उपसमिति बनाएर काम गर्ने, त्यो उपसमिति नगरको आफ्नै पनि हुन सक्छ या हरेक नगरको एक-एक जना सदस्य रहने गरी पनि हुन सक्ने, उपसमितिसँगै विज्ञ समूहको सहयोग लिनुपर्नेमा उनीहरुको भनाइ थियो।

    यसरी धारणा राख्नेहरुमा नागार्जुन नगरका प्रमुख मोहनबहादुर बस्नेत, तारकेश्वर नगरका प्रमुख कृष्णहरि महर्जन, गोदावरी नगरका प्रमुख गजेन्द्र महर्जन, चन्द्रागिरी नगरका प्रमुख घनश्याम गिरी, बुढानिलकण्ठ नगरका प्रमुख मीठाराम अधिकारी, टोखा नगरका प्रमुख प्रकाश अधिकारी, कीर्तिपुर नगरका प्रमुख राजकुमार नकर्मीसहित पदाधिकारी थिए।

    उनीहरुले कर प्रणाली, ट्राफिक व्यवस्थापन, वातावरणीय सुधार, नदी तथा सडक सञ्जालको विकास, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा पालिकाहरुको नेतृत्व हुनुपर्ने बताए।

    स्थानीय दिगो पूर्वाधार विकासका लागि खरिद ऐनमा केही संशोधन आवश्यक पर्छ। यसका लागि संघीय सरकारलाई भन्नुपर्नेमा उनीहरुको जोड थियो।

    बैठकमा काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले, एउटै भूगोलभित्र रहेका भिन्न पालिकाहरुका फरक र साझा समस्या बुझ्नका लागि आजको बैठक आयोजना गरिएको बताइन्।

    ‘पालिकाहरुले सञ्चालन गर्ने कार्यक्रम समुदायले स्वीकार गर्न सक्ने खालको हुनुपर्छ । यसका लागि नगरपालिकाहरुले गरेका कामका विषयमा जानकारी लिने अवसरका रुपमा आजको बैठकलाई लिनुपर्छ’, उपप्रमुख डंगोलको भनाइ थियो।

    ‘फोहोर व्यवस्थापनमा पालिकाहरुबाट खर्च भएको छ। तर नतिजा मापन गर्न सकिने खालको भएन’, बैठकमा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको भनाइ थियो।

    बैठकमा बूढानीलकण्ठ नगरकी उपप्रमुख अनिता लामा, कागेश्वरी मनोहरा नगरकातर्फबाट प्रतिनिधिका रुपमा आएका वडा नं. ८ का अध्यक्ष हरिभक्त बुढाथोकीले फोहोर व्यवस्थापनलाई टुक्रामा नभई एकीकृत र दिगो समाधान अभियानका रुपमा अगाडि बढाउनुपर्ने बताए।

    छलफलमा नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीसहित पदाधिकारी सहभागी थिए ।

  • राष्ट्रपति भण्डारीबाट दुई देशमा राजदूत नियुक्त

    राष्ट्रपति भण्डारीबाट दुई देशमा राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालका लागि अष्ट्रिया र इजिप्टमा राजदूत नियुक्त गरेकी हुन्।

    गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत रहने गरी भरतकुमार रेग्मी नियुक्त भएका छन्।

    यस्तै, इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशिलकुमार लम्साललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • आज विश्व जनसंख्या दिवस, कति पुग्यो विश्वभर मानिसको संख्या ?

    आज विश्व जनसंख्या दिवस, कति पुग्यो विश्वभर मानिसको संख्या ?

    काठमाडौं । हरेक वर्ष ११ जुलाईका दिन विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । सन् १९९० यता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । यूएनडिपीले सन् १९८९ मा विश्व जनसंख्या दिवस ११ जुलाईमा मनाउने निर्णय गरिएको हो । त्यसलगत्तै विश्वका ९० वटा मुलुकले पहिलो जनसंख्या दिवस मनाएका थिए । १९८७, ११ जुलाईमा विश्वको जनसंख्या ५ अर्ब नजिक पुगेको थियो । सोहीकारण संसारभर सचेतना बढाउने उद्देश्यले दिवस मनाउने निर्ण भएको हो । बढ्दो जनसंख्या, विकास र यसले पर्यावरणमा पारेको प्रभावमा जनचेतना जनाउने उद्देश्यले दिवस मनाउन शुरु गरिएको हो ।

    अहिले विश्वभर मानिसको संख्या झण्डै ८ अर्ब पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ७ अर्ब ९५ करोड ४० लाख जनसंख्या विश्वभर पुगेको छ । यसमध्ये १५ देखि ६४ सालको उमेरको बीचमा ६५ प्रतिशत मानिस रहेका छन् । अनुमान अनुसार सन् २०२१ सम्म विश्वको जनसंख्या १० अर्ब ९० करोड पुग्दैछ । अहिले जनसंख्यामा सबैभन्दा ठूलो हिस्सा एसियाको छ । एसिया एक्लैले ६० प्रतिशत हिस्सा ओगट्छ । चीनमा १ अर्ब ४४ करोड र भारतको जनसंख्या १ अर्ब ४० करोड रहेको छ ।

  • नेपालको जेलमा तीन अमेरिकी नागरिक, अन्य कुन मुलुकका कति ?

    नेपालको जेलमा तीन अमेरिकी नागरिक, अन्य कुन मुलुकका कति ?

    काठमाडौं । नेपालका विभिन्न कारागारमा अहिले तीन जना अमेरिकी नागरिक जेल जीवन काटिरहेको पाइएको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा धेरै भारतीय नागरिक जेलमा छन् । जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक नेपालको कारागारमा छन्। नेपालमा लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा विदेशीले जेल सजाय काटिरहेका छन् ।

    विदेशी कैदीबन्दीमध्ये अधिकांश लागुऔषध कारोबारसम्बन्धी मुद्दामा दोषी हुने गरेका छन्। जेठ मसान्तसम्म नेपाली कारागारमा विदेशी कैदीबन्दीको सङ्ख्या १,३३६ रहेको तथ्याङ्क छ। यसमध्ये १,१७५ जना भारतीय छन् । छिमेकी मुलुक चीनका २६ जना कैदीबन्दीले सजाय काटिरहेका छन्। भुटानका २२, पाकिस्तानका २१, बाङ्ग्लादेशका नौजना छन् भने अमेरिकाका तीनजना छन्। रुस, डेनमार्क, जर्मनी, यूके, सिङ्गापुर, फ्रान्स, नेदरल्यान्ड, थाइल्यान्ड, जापान लगायत देशका पनि नागरिकहरू अहिले कैदीबन्दीका रूपमा कारागारमा रहेका छन्।

  • आज पनि देशका अधिकांश भेगमा वर्षाको सम्भावना

    आज पनि देशका अधिकांश भेगमा वर्षाको सम्भावना

    काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागमा मेघ गर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती तथा कर्णाली प्रदेशको एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

    देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती तथा कर्णाली प्रदेशको एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • आइसीसी  क्रिकेट विश्वकप लि टू : आज नेपाल र नामिविया खेल्दै

    आइसीसी क्रिकेट विश्वकप लि टू : आज नेपाल र नामिविया खेल्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा खेलहरु प्रारम्भ भएका छन् । सोही अन्र्तगत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ ।
    नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ । नामिबियालाई पराजित गरेमा नेपालले अंकदूरी बढाउने छ । नामिबिया भने नेपाललाई हराएर अंकतालिकामा सुधार गर्ने लक्ष्यमा छ । शृंखलाको पहिलो खेलमा नामिबिया घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल( र मिबियाको खेल दिउँसो सवा तीन बजेदेखि सुरु हुँदैछ ।

  • आगामी निर्वाचनको रणनीति बनाउँदै नेपाली कांग्रेस

    आगामी निर्वाचनको रणनीति बनाउँदै नेपाली कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेस आगामी संसदीय निर्वाचनको रणनीति निर्माणमा जुट्ने भएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको पहिलो पटक हो । दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ ।

    त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने समेत तयारी पार्टीको रहेको छ । आजको बैठकमा स्थानीय तह निर्वाचनको अनुभवसहित रिपोर्टिङ हुने र सोही आधारमा आगामी रणनीति बनाउने तयारी पार्टीको छ । बैठकमा सरकारका कामको समेत समिक्षा हुनुपर्ने शेखर कोइराला पक्षधरको भनाई छ ।

  • चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा, यस्तो छ कार्यक्रम

    चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा, यस्तो छ कार्यक्रम


    काठमाडौं । नेपाली नेताहरूसँगको कुराकानीमा पलिटिकल पार्टीज् प्लस सहकार्यबारे चर्चा गर्दै आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ राजनीतिक भेटवार्ताका लागि काठमाडौं आइपुगेका छन्। चार दिने नेपाल भ्रमणमा आएका लिउ गत महिना मात्रै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख भएका हुन्। यो विभागले चीनमा अन्तर–देशीय पार्टी कूटनीति हेर्दै आएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको निमन्त्रणामा आएका भनिएका लिउलाई आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कांग्रेस र एमाले नेताहरू पुगेका थिए।

    चीनमा भ्रष्ट्राचार विरोधी नेताको छवि बनाएका लिउ चीनका मन्त्रीस्तरका नेता हुन्। उनले आइतवारै प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्री नारायण खड्कासँगको भेटपछि लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेपालका मुख्य राजनीतिक दलका प्रमुखहरूसँग भेटवार्ता गर्ने योजना बनाएका छन्। उनले सोमवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरूसँग भेट गर्ने तय भएको छ । मङ्गलवार लिउले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

    लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने योजना बनाएको बताइएको छ । तर, राष्ट्रपतिको भेटबारे निश्चित भइसकेको छैन । लिउ नेपाल आउनुअघि पनि परराष्ट्र मन्त्री नारायण खड्कासहित एमाले र माओवादी नेताहरूसँग भर्चुअल संवाद गरेका थिए।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता, विभिन्न देशमा राजदूत र चिनियाँ भ्रष्टाचार निवारण सम्बन्धी निकायको प्रमुख रहिरहेका लिउले यसअघि नेपालका नेताहरूसँगको भेटमा राजनीतिक दलहरू सहितको सहकार्यबारे कुरा गरेका थिए । यसअघि नेताहरूसँगको कुराकानीमा लिउले चिनियाँ कम्युनिस्ट पार्टीले अनुभव आदान प्रदान र शासन प्रशासनबारे साझा सिकाइका साथै दुवै पक्षबीच अन्तर घुलन बढाउनेमा जोड दिएका थिए।

  • प्रधानमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

    प्रधानमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको सत्तारूढ दल चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आइतबार दिउँसो प्रधानमन्त्री देउवालाई भेट्न आफ्नो टोलीसहित जियानचाओ बालुवाटार पुगेका थिए।

    भेटवार्ताका क्रममा दुई पार्टी र दुई मुलुकबीचको सम्बन्धबारे छलफल भएको थियो। जियानचाओले काठमाडौंमा रहँदा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    सोमबार उनले माओवादी अध्यक्ष प्रचण्डसँग र मंगलबार बिहान एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यसअघि उनले यी दुबै नेतासँग भर्चुअल कुराकानी गरेका थिए। केही समयअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओ चार दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

  • पश्चिम पहाडमा भूकम्पको धक्का महसुस

    पश्चिम पहाडमा भूकम्पको धक्का महसुस

    बैतडी । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ। उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।

    भूकम्पबाट क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत जेठ २४, वैशाख २८ र वैशाख ६ गते पनि सुदूरपहाडमा भूकम्प गएको थियो।

  • नेकपा समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमै भेट्न सकिने

    नेकपा समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमै भेट्न सकिने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुलाई अब पार्टी कार्यालयमै भेट्न सकिने भएको छ । एकीकृत समाजवादीले पार्टीबाट सरकारमा गएका मन्त्रीलाई सातामा एक दिन एक घण्टा भेट्न सकिने गरि तालिका निर्माण गरेको हो । केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरले जारी गरेको कार्यतालिकामा प्रत्येक मन्त्रीलाई हप्ताको एक दिन दिउँसो २–३ बजेसम्म भेट्न सकिने छ। आइतबार र शुक्रबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई भेट्न सकिने छ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र मंगलबार श्रममन्त्री शेरबहादु कुँवरलाई भेट्न सकिने छ । त्यस्तै बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरी र बिहीबार स्वास्थ्य राज्यमन्त्री हिरा केसीलाई भेट्न सकिने भएको छ। एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार मन्त्रालयमा धेरै भिडभाड नहोस् भनेर सहजताका लागि पार्टी कार्यालयमा समेत भट्न सकिने व्यवस्था मिलाइएको हो ।

  • नेपालमा थप १२१ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमितको संख्या ६७८ पुग्यो

    नेपालमा थप १२१ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमितको संख्या ६७८ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी १२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार ३१७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ६८७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६७८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

  • टेकुको ट्रान्सफर स्टेशनलाई दुर्गन्धरहित बनाउन जीवातु हालेर प्लाष्टिकले छोपियो

    टेकुको ट्रान्सफर स्टेशनलाई दुर्गन्धरहित बनाउन जीवातु हालेर प्लाष्टिकले छोपियो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ।

    सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो।

    यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ। त्यसमाथि प्लाष्टिकले छोपिएको हो। यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्यून महानगरपालिकाले विश्वास लिएको छ।

    ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ । ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरुप प्रयास भएको हो ।

    सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ ।

    यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन् । यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ।

    यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ। यो व्याक्टेरिया सकारात्मक व्याक्टेरिया हो। यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन। निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ।

    टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ। त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ।

  • एमालेले थप्यो एक सिट, बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा एमाले विजयी

    एमालेले थप्यो एक सिट, बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा एमाले विजयी

    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेका उम्मेदवारहरूले जितेका छन्।

    मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवर निर्वाचित भएका हुन्।

    मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७७४ मत पाएका छन् ।

    यस्तै, उपमेयरमा एमालेकी माया खड्काले ४ हजार ७२७ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्दी रिता शाहीले ३ हजार ७५५ मत प्राप्त गरिन्।

    नगरपालिकाको १० वटा वडामध्ये १, २, ३, ४, ५, ६, ९ र १० मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै एमालेले जितेको छ भने वडा नम्बर ७ र ८ मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै पदमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

    ३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो ।

  • हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : राष्ट्रपति

    हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अज्हा (बकर ईद) को शुभकामना दिएका छन् । छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मालम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् । राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेकी छन् ।

    उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक भएको भन्दै विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन् । भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास उपराष्ट्रपति पुनको छ ।

  • नेपाल सबै धर्मको साझा फुलबारी हो : प्रधानमन्त्री

    नेपाल सबै धर्मको साझा फुलबारी हो : प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिंदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने उल्लेख गरेका छन् । देउवाले बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरे । यस्ता चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास उनको छ ।

    उनले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा गर्ने बताएका छन् । नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिको साझा फूलबारीको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यहीँ विविधताबीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान भएको बताए ।

  • आज बकर इद, देशभर सार्वजनिक बिदा

    आज बकर इद, देशभर सार्वजनिक बिदा

    काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

    हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।
    मुस्लिम धर्म गुरु ९मौलाना० रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ ।

    जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । ‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय ९मदरसा० मा अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’उनले भने ।

    यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।

    धार्मिक मान्यताअनुसार अल्लाहका नवी९दूत० इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

    निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए ।

    यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान(बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ ।

    यसै अनुसार आज पहिलो दिनको बकर ईद मनाइएको छ । मुस्लिम धर्मावलम्बीले मंगलबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • नेपालमा लगातार दैनिक एक सय भन्दा माथि कोरोना संक्रमण

    नेपालमा लगातार दैनिक एक सय भन्दा माथि कोरोना संक्रमण

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दैनिक १ सय भन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ । १५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

  • व्यापक आलोचनापछि बालेनले भने : यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु

    व्यापक आलोचनापछि बालेनले भने : यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु

    काठमाडौं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको सालिक बनाउने घोषणा गरेका छन् । यसअघि सालिक महानगरपालिकाको बजेटबाट बनाउने निर्णय भएको थियो । यसको व्यापक आलोचना भएपछि मेयर बालेनले सामाजिक संजालमार्फत यस्तो घोषणा गरेका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ रहोस् ।’ उनको यो घोषणाको समेत सामाजिक सञ्जालमा आलोचना भइरहेको छ , विगतमा आफ्नो पार्टीका नेता र उनीहरको आफन्तका शालिक बनाउने परिपाटीको विरोध गर्ने बालेनले यमबुद्धको सालिक बनाउने विषयलाई धेरैले परम्परागत संस्कारको संज्ञा दिएका छन् ।