Category: समाचार

  • माओवादी केन्द्रले अन्तर्घातबारे छानविन गर्न बनायो समिति

    माओवादी केन्द्रले अन्तर्घातबारे छानविन गर्न बनायो समिति

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न समिति बनाएको छ । पार्टीको स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टीभित्रैबाट घात अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरुले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको जानकारी गराए । छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।

    प्रवक्ता महराका अनुसार पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीनजनाको सुझाव समिति गठन गरेको छ । बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ ।

    आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रीय सदस्यहरु र सबै प्रदेशका पदाधिकारी रहनेछन् । बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णय भएको छ ।

  • श्रीलंकामा राष्ट्रपति निवासमा छिरे प्रदर्शनकारी, कहाँ छन् राष्ट्रपति ?

    श्रीलंकामा राष्ट्रपति निवासमा छिरे प्रदर्शनकारी, कहाँ छन् राष्ट्रपति ?

    कोलम्बो । श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपक्षको निवासमा प्रदर्शनकारी छिरेका छन् । राष्ट्रपति राजपक्षलाई भने सुरक्षित ठाउँमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन्। देशका विभिन्न भागबाट प्रदर्शनमा भाग लिन सयौँ मानिसहरू कोलम्बो आएका थिए।

    सरकारले कर्फ्यू लगाउने भने पनि पछि त्यसलाई फिर्ता लिएको थियो। दशकौँ यताको सबैभन्दा खराब आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कामा भएका यी ताजा प्रदर्शनहरू हुन्। हजारौँ प्रहरी र सैनिकहरू परिचालन गरिएका छन्। श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ। प्रहरी अवरोध पार गर्दै राष्ट्रपति गोटाबयको सरकारी निवासतर्फ प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि तनाव उत्पन्न भएको थियो।

    केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए। प्रदर्शन भइरहेका क्षेत्रमा सैनिकहरू खटाइएका छन्। प्रहरीले भीड तितरबितर गर्न हावामा गोली चलाएको थियो। भिडिओ फूटेजहरूमा कैयौँ घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ। आर्थिक सङ्कट र इन्धन अभावका माझ राष्ट्रपति गोटाबय र प्रधानमन्त्री रनिल विक्रमसिङ्ग विरूद्धका प्रदर्शनहरू चर्कँदै गएका छन्।

    सरकार विरुद्धको एउटा ठूलो प्रदर्शन शनिवारका लागि आह्वान गरिएको थियो। त्यसमा विपक्षी दलहरू, ट्रेड युनियनहरू, विद्यार्थी र कृषि सङ्गठनका प्रतिनिधिहरूले सहभागिता जनाउने बताएका थिए। शुक्रवारदेखि नै देशभरबाट कैयौँ विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू कोलम्बो आएका थिए। शनिवार पनि ठूलो सङ्ख्यामा सवारी साधनहरू कोलम्बोमा प्रवेश गरेको देखिएको थियो।

  • नेपाली उद्योगको सिमेन्ट भारतमा निर्यात शुरु

    नेपाली उद्योगको सिमेन्ट भारतमा निर्यात शुरु

    नवलपरासी । नेपाली उद्योगबाट उत्पादन भएको सिमेन्ट भारतमा निर्यात थालिएको छ । पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत पठाउन थालेको हो । शुक्रबार सुनौली नाका हुँदै तीन ट्रक सिमेन्ट भारत पठाइएको आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राकेश अग्रवालले जानकारी गराए । उनका अनुसार परीक्षणका लागि तीन ट्रक पठाइएको हो । उद्योगले तानसेन ब्राण्डको पिपिसी सिमेन्ट निर्यात गरेको हो।

    आगामी दिनमा भारतीय बजारमा नेपाली सिमेन्टको बजार विस्तार गर्दै लैजाने उनले बताए। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने उल्लेख गरेको थियो। ८ प्रतिशत नगद अनुदान पाउने भएपछि उद्योगीहरू उत्साहित भएका छन्। जगदम्बा, सर्वोत्तम, सौर्य, अर्घाखाँचीलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन्।

  • पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक पहिरोका कारण अवरुद्ध

    पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक पहिरोका कारण अवरुद्ध

    तनहुँ । पृथ्वी राजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिक ४ स्थित तुरतुरेमा बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध बनेको छ । शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

    सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी छ ।

  • राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई ७ वर्षको जेल सजाय

    राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई ७ वर्षको जेल सजाय

    काठमाडौं । दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको पुष्टी भएपछि तीन जनालाई कैद तथा जरिवाना सुनाइएको छ । सुर्खेत जिल्ला अदालतले उनीलाई कैद र जरिवानाको सजाय सुनाएको हो । अदालतले सुर्खेत गुर्भाकोट नगरपालिकाका चौमन घर्तीमगर र भूपेन्द्र बुढा मगरलाई सात\सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना गरेको छ । यौन दुर्व्यवहार भएको भनिएको होटलका सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।

    फैसला अनुसार घर्ती र बुढाले जनही ८ हजार र पुनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीवार उक्त फैसला गरेको हो। सुर्खेत गुर्भाकोटको एक होटलमा अभियुक्तहरूले २०७८ साल जेठ २१ गते राउटे युवतीहरूमाथि यौन हिंसा गरेको भिडियो सार्वजनिक भएको थियो । जेठ २३ मा उनीहरू पक्राउ परेका थिए।

  • नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान, ६ खर्ब १९ अर्ब पूँजी

    नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान, ६ खर्ब १९ अर्ब पूँजी

    नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान रहेको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रित तथ्यांक विभागले सार्वजनिक गरेको आंकडा अनुसार अर्थतन्त्रको संरचनामा योगदान गर्ने १७ वटा क्षेत्रमध्ये औद्योगिक क्षेत्र भित्र पर्ने चार वटा क्षेत्रको सर्वेक्षणबाट ती उद्योगको संख्या यकिन गरिएको हो । जस अनुसार खानी तथा उत्खनन क्षेत्रमा ३५६, औद्योगिक उत्पादनको क्षेत्रमा ५६ हजार ६११, विद्युत्, ग्याँस, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४ र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा २ हजार २२४ वटा उद्योग–प्रतिष्ठान रहेको पाइएको छ ।

    औद्योगिक क्षेत्रले नेपालको अर्थतन्त्रमा वार्षिक ३ खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गर्ने गरेको पाइएको छ । नेपालका औद्योगिक प्रतिष्ठानले ८ खर्ब ४६ अर्ब ६६ करोड रुपैयाँ लागत लगानी गर्छन् । यसबाट १२ खर्ब १ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा उत्पादन हुँदा साढे ३ खर्ब रुपैयाँ बराबर जीडीपीमा योगदान मिल्ने गरेको तथ्यांकले देखाएको छ ।

    सर्वेक्षण अनुसार नेपालमा उद्योग÷प्रतिष्ठानले कुल ४ लाख ९१ हजार २२७ जनालाई रोजिरोटीको अवसर दिएको छ । जसमध्ये ३ लाख ८१ हजार ६८७ जना तलवी कामदार हुन् । सर्वेक्षणले देखाएअनुसार नेपालमा उद्योगरप्रतिष्ठानमा काम गर्ने कामदारका लागि वार्षिक १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ खर्च हुने गरेको छ । सर्वेक्षण अनुसार नेपालमा रहेका उद्योग÷प्रतिष्ठानसँग ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ मूल्य बराबरको सम्पत्ति रहेको छ । यो चार वटै क्षेत्रका औद्योगिक प्रतिष्ठानको सम्पत्तिको संयुक्त योग हो ।

  • जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपाल सरकारद्धारा शोक घोषणा

    जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपाल सरकारद्धारा शोक घोषणा

    काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा एक दिने राष्ट्रिय शोक घोषणा गरेको छ । आबेको शुक्रबार हत्या भएको छ । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको हो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उनको निधनप्रति भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । उता, नेताहरुले समेत उनको निधनमा शोक व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् । ‘ पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ देउवले ट्वीटमा लेखेका छन्, ‘उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुस्खद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजनसँग हाम्रो विचार र प्रार्थना छ ।’

    ओलीले आबेको निधनप्रति दुख व्यक्त गर्दै ट्वीट गरेका छन्, ‘पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भर्त्सना गर्दछु । आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँले आफ्नो प्रधानमन्त्री हुँदा नेपाल(जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, यस दुस्खद घडीमा उहाँको शोक सन्तप्त परिवारमा मेरो विचार र हार्दिक समवेदना छ ।’

  • नेपालमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, २७ जना संक्रमण मुक्त

    नेपालमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, २७ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार १४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ६२५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५६४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

  • भारतको सिलिगुडीदेखि काठमाडौंसम्म बस सेवा सुरू, भाडा कति ?

    भारतको सिलिगुडीदेखि काठमाडौंसम्म बस सेवा सुरू, भाडा कति ?

    काठमाडौं । भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म सिधा बस सेवा सुरु भएको छ। बुधबारदेखि उक्त सिधा बस सेवा सुरु भएको हो ।

    नेपाल-भारतबीच सन् २०१४ मा भएको नेपाल–भारत मैत्री सेवा सम्झौताअनुरूप बस सेवा सुरु गरिएको हो । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो।

    भारतको पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेसन (एनबीएसटीसी)को मातहतमा रहने गरी अर्बान परिवहन सर्भिस प्रालिले सिलिगुडी–काठमाडौं बस सेवा सुरु गरेको हो।

    उक्त बस सेवा सातै दिन संचालन हुने जनाइएको छ । सिलिगुडीदेखि काठमाडौंको ६४५ किलोमिटर यात्रा गर्न बसमा करिब १७ घण्टा लाग्छ । उक्त रुटको भाडा १ हजार ५०० भारु (२ हजार ४०० नेपाली रुपैयाँ) रहेको छ ।

    यसअघि दिल्ली–काठमाडौं मैत्री बस सेवा सुरु भएको थियो । नेपाल र भारत दुवै सरकारको पहलमा संयुक्त रूपमा दिल्ली–काठमाडौं–दिल्ली बस सेवा सञ्चालन गरिएको थियो ।

  • बलात्कारको घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति, बालबालिका र अशक्तका लागि तीन बर्षे समयसीमा

    बलात्कारको घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति, बालबालिका र अशक्तका लागि तीन बर्षे समयसीमा

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले बलात्कारको घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति जुटाएको छ ।

    सिदरबारमा बसेको बैठकले यौन हिंसा विरुद्धका केही ऐन संसोधन बिधेयकमाथि छलफल गर्दे दुई बर्ष हदम्याद राख्ने सहमति जुटाएको हो । यसअघि बलात्कारका घटनामा एकबर्षे हदम्याद हटाउनुपर्ने भन्दै महिला अधिकारकर्मीहरुले आन्दोलन नै गरेका थिए ।

    त्यस्तै बालबालिका अपांग, अशक्त, मानसिक अवस्था कमजोर भएकाको हकमा ३ वर्षको हदम्याद राख्ने सहमति भएको छ । बलात्कारमा परेका नाबालिगले बालिग भएको तीन वर्षसम्म उजुरी गर्न सक्ने व्यवस्था बिधेयकमा राखिएको छ ।

    त्यस्तै बिधेयकमा यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने सहमति भएको जुटेको छ । बैठकले यौनजन्य हिंसा सम्बन्धी सम्पूर्ण कानूनहरुको सरोकारवालासंग छलफल र अध्ययन गरि छिटो भन्दा छिटो समग्र कानून सुधारका लागि बिधेयक प्रस्तुत गर्न सरकारलाई निर्देशन समेत गरेको छ ।

  • तीन देशका लागि राजदूत नियुक्त

    तीन देशका लागि राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि राजदूत नियुक्ति गरेकी छन्।

    शुक्रबार राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंका गरी तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले‍ जानकारी दिए।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमानका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका नवराज सुवेदी र श्रीलंकाका लागि वासुदेव मिश्रलाई नेपाली राजदूतावासमा नियुक्त गरेकी हुन्।

  • मिनी ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्य

    मिनी ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्य

    काठमाडौं । भक्तपुरको चाँगुनारायणमा मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर गएराति ठोक्किँदा भक्तपुरको सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । स्कुटरले ओभरटेक गर्ने क्रममा मिनी ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ । मिनी ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत

    बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत

    काठमाडौं । नेपाली बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको भन्दै औषधि व्यवस्था विभागले सचेत गराएको छ । शुक्रबार एक सूचना निकाल्दै विभागले यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको बताएको छ । विभागले ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग नगर्न सचेत गराएको हो ।

    विभागले यस्ता औषधिलाई प्रतिबन्धसमेत लगाएको जनाएको छ । जी ल्याब्रोटोरिज, भारतमा बनेको बायोदी ड्रप्स बालबालिकाका लागि प्रयोग गर्दा असर देखिएको सूचनामा उल्लेख छ । विभागका अनुसार यी औषधि नेपालमा दर्ता भएका छैनन् । यी र यस्ता अनुमति नपाएका र दर्ता नभएका औषधि र भिटामिन प्रयोग नगर्न समेत विभागले सचेत बनाएको छ ।

  • बुढीगंगामा आजबाट मतगणना

    बुढीगंगामा आजबाट मतगणना

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन् । बिहीबार भएको निर्वाचनमा छिटपूट घटनाबाहेक शान्तीपूर्ण भएको प्रहरीले बताएको छ ।

  • चिनियाँ कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै, कम्यूनिष्ट एकताको माहोल पुनः बन्ला ?

    चिनियाँ कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै, कम्यूनिष्ट एकताको माहोल पुनः बन्ला ?

    काठमाडौं । नेपालमा संसदीय निर्वाचन नजिकिएको सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आउने भएका छन् । उनी आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी सद्भावना भ्रमणका सिलसिलामा नेपाल आउन लागेको बताइएको छ ।

    उनले नेपालमा राष्ट्रपति र प्रधानमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेट्ने भएका छन् । नेपालमा चार दिनसम्म रहँदा उनले कम्यूनिष्ट एकताको माहोल बनाउन सक्ने बताइएको छ । पछिल्लो समय एमाले बाहेकका कम्यूनिष्ट दलबीच संवाद बाक्लिएको छ ।

  • युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार २८ गते अर्को पेसी राख्दै त्यतिन्जेलसम्म अधिकारीलाई काम गर्न दिनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    अधिकारीले २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । उनलाई ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा उनलैलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

  • माओवादी केन्द्रद्वारा १५६ सदस्यीय पोलिटब्यूरो कमिटी गठन , को-को परे ? (सूचीसहित)

    माओवादी केन्द्रद्वारा १५६ सदस्यीय पोलिटब्यूरो कमिटी गठन , को-को परे ? (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिटब्युरोमा रहनेहरूको नामावली तेस्रो पटक पढेर सुनाएका छन्।

    बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् ।

    पहिला १२५ सदस्यीय पोलिटब्यूरो कमिटीको नाम सुनाएपछि विवाद भएको थियो । विवाद उत्पन्न भएपछि अध्यक्ष प्रचण्डले १२५ जनामा ३१ सदस्य थप गरी पोलिब्युरोको आकार १५६ पुर्याउने प्रस्ताव राखेका छन्।

    विवादपछि एक घन्टा रोकिएको बैठक पुनः सुरु भएलगत्तै प्रचण्डले तेस्रो पटक सूची वाचन गरेका हुन्।

    प्रचण्डले थप गरिएको ३१ जनालाई बैकल्पिक बनाएर १५६ जनाको पोलिटब्युरो बनाउने प्रस्ताव गरेका छन् ।

    यी हुन् माओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरु

    पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृकाप्रसाद यादव, जयपुरी घर्ती, लीलामणि पोखरेल, दिनानाथ शर्मा, हितराज पाण्डे रहेका छन्।

    त्यस्तै राजकुमार यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, सूर्य सुवेदी, सावित्रीकुमार काफ्ले, दिलीप प्रजापति, लक्ष्मण पन्त, हरिबहादुर चुमान, लेखनाथ न्यौपाने, रामेश्वर राय, देवेन्द्र पौडेल, गणेश शाह, सुनील मानन्धर, देवेन्द्र पराजुली, सीता पोख्रेल, अजम्बर काम्वाङ, ओनसरी घर्ती, महेन्द्र पासवान, वामदेव क्षेत्री, बलावती शर्मा, प्रकाशहरि पोखरेल, दीपेन्द्र पुन, सत्या पहाडी, सन्तुकुमार चौधरी, नेपबहादुर चौधरी, दुर्गाजयन्ती राई, रेनु दाहाल, देवराज रेग्मी, केशव नेपाल, बीना मगर, शिवराज चौलागाई, युवराज दुलाल छन्।

    यस्तै रामप्रसाद सापकोटा, अजयशंकर नायक, सुशिला सिम्खडा, कुमारी मोक्तान, राजकुमार शर्मा, धर्मशीला चापागाई, चूडामणि खड्का, हरि दाहाल, ओम शर्मा, लोकेन्द्र लम्साल, रामदीप आचार्य, वसन्त घर्ती, राजन दाहाल, टीका बुढाथोकी, शालिकराम जमकट्टेल, विमला सुवेदी, गोपाल शर्मा, निर्मल बराल, कृष्ण केसी, हिमाल शर्मा, रेनु चन्द, श्याम श्रेष्ठ, खिमलाल देवकोटा, त्रिलोचन भट्ट, महेन्द्रबहादुर शाही लगायत छन्।

    त्यस्तै विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, श्रीराम ढकाल, सुरेन्द्रकुमार कार्की, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितमान शाक्य, कालीबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, सुरेशकुमार राई, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, गंगा कार्की, महेश्वरजंग गहतराज, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, जोखबहादुर महरा पोलिटव्युरो सदस्य चयन भएका छन्।

    थप गरिएका प्रस्तावित नाम ​​​​​:

    पूर्ण कुमारी सुवेदी
    जयपुरी घर्ती
    रेखा शर्मा
    ओनसरी घर्ती
    अन्जना बिसंखे
    यशोदा सुवेदी
    अमृता थापा
    झक्कु सुवेदी
    कमला रोक्का
    नारायण दाहाल
    प्रल्हाद बुढाथोकी
    हितवहादुर तामाङ
    महेश्वर गहतराज
    रामेश्वर राय
    उर्मिला अर्याल
    सत्या पहाडी
    गणेशमान पुन
    साबित्री काफ्ले
    सुर्य सुवेदी
    सुनिल मानन्धर
    विश्वनाथ साह
    सन्तकुमार चौधरी
    नेपवहादुर चौधरी
    पर्शुराम तामाङ
    पर्शुराम रम्तेल
    दलजीत श्रीपाइली
    कुलप्रसाद केसी
    जोगखवहादुर महरा
    हरि अधिकारी
    जगप्रसाद शर्मा
    मायाप्रसाद शर्मा
    कालीवहादुर मल्ल
    सिता पोखरेल
    रामकुमार शर्मा
    नारायणी शर्मा
    हकिकुल्ला खाँ
    महेन्द पासवान
    महेन्द्र शाही
    नरेश भण्डारी
    सुरेश आले
    टेकवहादुर बस्नेत
    डोरप्रसाद उपााध्याय
    भरत साह
    वण यादव

    बलावती शर्मा
    गंगा कार्की

  • काठमाडौंमा गुड्न थाले साझाका विद्युतीय बस, यस्तो छ रुट

    काठमाडौंमा गुड्न थाले साझाका विद्युतीय बस, यस्तो छ रुट

    काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका ३ वटा बिजुली बस काठमाडौं उपत्यकाका सडकमा गुड्न थालेका छन् । साझाले आजदेखि ती विद्युतीय बस संचालनमा ल्याएको हो ।

    वैशाख २३ गते काठमाडौंं ल्याइएका ती विद्युतीय बस आजदेखि औपचारिक रुपमा संचालनमा आएको हो । साझा यातायातका कार्याकारी निर्देशक भुषण तुलाधारले अहिले बसहरुमा चलिरहेकै भाडामा विद्युतीय बस सञ्चालन गर्ने बताए । उनले उक्त बस हाल २ वटा रुटमा गुड्ने बताए ।

    ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन हुने साझाले जनाएको छ ।

    यी ३ वटा बस चीनमै ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि नेपालमा ल्याइएको थियो । साझाले ल्याउने भनेको ४० वटा विद्युतीय बस मध्ये हाल ३ वटा मात्र बस आएको हो ।

    चिनियाँ कम्पनी सीएचटीसी (नान्जिङ) अटो कम्पनी लिमिटेडले साझा यातायातका लागि ४० वटा विद्युतीय बस निर्माण गर्ने ठेक्का लिएको हो ।

    साढे ८ मिटरको २६ सिटे बस आयात गरिने भएको हो । साझा यातायातले भ्याट सहित ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउने भएको हो । बसका लागि आवश्यक चार्जर सोही कम्पनीले ल्याउने छ ।

    एउटा गाडीको मूल्य भ्याट सहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाएर दिने छ । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् ।

    यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि हुनेछन् । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्दै जाने साझाले जनाएको छ ।

    ४० वटा विद्युतीय बस ल्याएर सफलता पूर्वक सञ्चालनमा आएपछि साझाले १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने योजना बनाएको छ ।

  • अब काठमाडौँका सडकमा साहित्य पढ्न नपाइने, सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

    अब काठमाडौँका सडकमा साहित्य पढ्न नपाइने, सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

    काठमाडौँ । ट्राफिक प्रहरीले सवारीसाधनमा लेखिएका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने अभियान सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका भित्र चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा साहित्य तथा गजलका लाइन यात्रु र पैदल यात्रीले पढन् पाउने छैनन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय,रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने तथा कविता, गजल र साहित्य समेत हटाउने भएको हो ।

    सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाउन थालेको हो ।

    नेपालको कानून विपरीत महिला, बालबालिका,सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    अश्लिल लाग्ने र द्विअर्थी लेखहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्‍याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।

    सवारीको सिसामा स्टिँकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ । ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।

  • बाजुराको बूढीगंगामा जारी पुनः मतदानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद, प्रहरीद्वारा हवाइ फायर

    बाजुराको बूढीगंगामा जारी पुनः मतदानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद, प्रहरीद्वारा हवाइ फायर

    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी पुनः मतदानमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

    नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच तनावको स्थिति बनेपछि प्रहरीले हवाइ फायर गरेको थियो।

    तनावपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको अहिले स्थिति शान्त भएपछि पुनः मतदान जारी रहेको प्रहरीले जनाएको छ ।

    वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले पालिकाभरिकै निर्वाचन बदर गरेको थियो।

    त्यसपछि एमालेले मतगणना गर्नुपर्ने अडान राखेको थियो। सर्वोच्च र उच्च अदालतमा मुद्दा दायर गरेको थियो। तर, विभिन्न दलका स्थानीय नेताहरुले फेरि निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयन गर्ने सहमति जुटाएका हुन्।

  • काठमाडौंमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौंमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गतराति २ बजे सानो भर्याङमा बा ९५ प ९७२३ नम्बरको स्कुटर पल्टिँदा स्कुटरको पछाडि बस्ने चितवनका अर्जुन लोहनीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको मनमोहन मेडिकल कलेज सीतापाइलामा ज्यान गएको हो । स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    उता, काठमाडौंको शङ्खरापुर नगरपालिका ९ खुलालटारमा गतराति मोटरसाइकल पल्टिँदा चालकको ज्यान गएको छ । बा ५८ प ६५५० नम्बरको मोटरसाइकल पल्टिँदा चालक त्यहीँ ठाउँका ४५ वर्षका दीपक केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • हेटौडा र भक्तपुरमा पनि हैजा पुष्टी

    हेटौडा र भक्तपुरमा पनि हैजा पुष्टी

    काठमाडौं । काठमाडौंपछि हेटौडा र भक्तपुरमा समेत हैजा पुष्टी भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म २१ जनामा हैजाको संक्रमित भेटिएको छ ।

    काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु ९बोहोराटार०, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा ईकोलाई र कोलिफर्म देखिएको छ । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो ।

    काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा आजभोलि झाडापखालाका बिरामी बढिरहेका छन् । गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हैजाको संक्रमण हुँदा पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखिन्छन् ।

  • स्थानीय निर्वाचनमा विवादका कारण रोकिएको बाजुराको बुढिगंगा नगरपालिकामा आज मतदान

    स्थानीय निर्वाचनमा विवादका कारण रोकिएको बाजुराको बुढिगंगा नगरपालिकामा आज मतदान

    बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा आज मतदान जारी छ । वैशाख ३० मा सम्पन्न मतदान विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गर्न लागिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् । १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा प्रहरी खटेको छ ।

    गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन ।

    स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए । पुनः निर्वाचन गर्नका लागि निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई तोकेको छ । यसैगरी पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि सरकारले फेरेको थियो ।

  • दार्चुलामा तुइनबाट खसेर एक वेपत्ता

    दार्चुलामा तुइनबाट खसेर एक वेपत्ता

    दार्चुला । तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२, छुम्लिङमा एक युवक बेपत्ता भएका छन् । भारतबाट नेपालतर्फ आउने क्रममा तुइन चुँडिदा स्थानीय १८ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । दार्चुलाका सीमा क्षेत्रका बासिन्दा किनमेलका लागि भारतीय बजार जाने गर्छन् । सीमा पार गर्नका लागि पक्की पुल नभएका कारण तुइन चढ्नुपर्ने बाध्यता छ । तुइन के कारण चुँडियो भन्ने हालसम्म खुलिसकेको छैन ।

    यसअघि यो स्थानमा गत वर्ष भारतीय सुरक्षाकमीएले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएका थिए । गत वर्ष घटना भएको स्थान मै भने अहिले पुल बनिसकेको छ, तर मान्छेहरुले लुकिछिपी अन्यत्र पनि तुइन हालिहाल्दा घटना हुने गरेको स्थानीय प्रशासनको भनाई छ । गृहमन्त्री बालकृष्ण खाणले तुइनबाट खसेर बेपत्ता बुढाथोकीको खोजी कार्य तीब्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

  • नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टी

    नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टी

    काठमाडौं । नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टी भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टी भएको हो।

  • पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना पुष्टी

    पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी ११३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार २१ जना पुगेको छ ।

    नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

  • अर्थमन्त्री जर्नादन शर्माले दिए पदबाट राजीनामा

    अर्थमन्त्री जर्नादन शर्माले दिए पदबाट राजीनामा

    काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राजीनामा घोषणा गरेका हुन् ।

    संसदीय छानबिन समितिलाई सहयोग गर्न आफुले राजीनामा दिएको उनले घोषणा गरेका हुन् । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ।

    ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’

    शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताए । विगतमा मन्त्रीमाथि छानबिन गर्दा पदमा बहालै रहेका उदाहरण भए पनि आफू त्यो नगर्ने उनले बताए ।

    शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

    छानबिन गर्न समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य रहनेगरी समिति बनेको छ ।

    संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

    सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

  • अर्थसचिव मरासिनी बिदामा,जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय नफर्किने मुडमा

    अर्थसचिव मरासिनी बिदामा,जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय नफर्किने मुडमा

    काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । अर्थमन्त्री विवादमा मुछिएका बेला मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका हुन् ।

    बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।

    स्रोतकाअनुसार अर्थसचिव मरासिनीले बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका हुन् ।

    जनार्दन शर्माको मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने उनको भनाई छ ।

  • आइतवार सार्वजनिक बिदा

    आइतवार सार्वजनिक बिदा

    काठमाडौं । सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बकर ईदको उपलक्ष्यमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

  • नेपाल र क्यानडाबीचको खेलमा वर्षा बाधक

    नेपाल र क्यानडाबीचको खेलमा वर्षा बाधक

    काठमाडौं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । किङ सिटी मैदानमा गत राती पौने ९ बजेबाट शुरु हुनु पर्ने खेल वर्षाका कारण अवरुद्ध भएको हो । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको छ । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ ।

    विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो । क्यानडाबाट नेपाली टोली स्कटल्याण्ड जानेछ । स्कटल्याण्डमा हुने लिग–२ मा नेपालले घरेलु टोली र नामिबियासँग खेल्ने तालिका छ ।