Category: समाचार

  • रवि लामिछानेले पाए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकारभित्र ‘घण्टी’

    रवि लामिछानेले पाए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकारभित्र ‘घण्टी’

    काठमाडौं । सञ्चार क्षेत्र छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएका छन् ।

    आयोगले लामिछानेलाई शुक्रबार दल दर्ताको प्रमाणपत्रसहित चुनाव चिन्ह गोलाकारभित्र घण्टी प्रदान गरेको हो ।

    आयोगले दल दर्तासँगै लामिछानेले चुनाव चिन्ह प्रदान गरेसँगै पार्टीको वैधानिकता प्रदान गरेका छन् । यसअघि पार्टीको नामका स्वतन्त्र उम्मेदवार मिलेर लामिछानले घोषणा गरेको दलविरुद्ध उजुरी दिएका थिए ।

    उक्त उजुरी खारेज गर्दै आयोगले रविलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । ऐनमा कतै पनि उजुरीको कुनै औचित्य नभएको ठहर गर्दै आयोगले दल दर्ताको प्रमाण प्रदान गरेको छ ।

  • नेपालमा थप ५० जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

    नेपालमा थप ५० जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३८७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु भएको छैन। कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन्।

  • काठमाडौं महानगरभित्र भिख माग्न निषेध, अटेर गरे कारवाही

    काठमाडौं महानगरभित्र भिख माग्न निषेध, अटेर गरे कारवाही

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र भिख माग्ने कामलाई निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार एक सूचना प्रकाशित गरी महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको जनाएको हो । तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने पाइने सूचनामा उल्लेख छ ।

    साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीख माग्न वा भीख माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ । असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीख माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ ।

    मानव सेवा आश्रमको सेवा आवश्यक परेमा महानगर वा आश्रममा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । अबको १० दिनभित्र यो सूचनाको उल्लङ्घन गर्दै भीख मागेमा कानुन अनुसार कारबाही गरिने सूचनामा भनिएको छ ।

  • पृथ्वी राजमार्गमा सडकमै पल्टियो बस, ३१ जना घाइते

    पृथ्वी राजमार्गमा सडकमै पल्टियो बस, ३१ जना घाइते

    धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बस सडकमै पल्टिएको छ । खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।

  • प्रचण्ड र बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता

    प्रचण्ड र बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता भएको छ । बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको नेपाली सञ्चारमाध्यमहरुले पुष्टी गरेका छन् । जनता समाजवादी पार्टी भित्र उपेन्द्र यादव र बाबुराम भट्टराईबीच चरम विवाद उत्पन्न भएको छ ।

    यसले पार्टी नै विभाजन हुने अवस्था आएको समयमा प्रचण्डसँग भएको भेटलाई महत्वका साथ हेरिएको छ । स्रोतका अनुसार बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग बाबुराम भट्टराईबीच सहमतिमै पार्टी विभाजन गर्ने सहमति भइसकेको छ । यस अवस्थामा सत्ता गठबन्धन समेत प्रभावित बन्छ । भट्टराईले २०७२ सालमा माओवादी त्यागेका थिए । पछिल्लो समय प्रचण्डले भने माओवादी खेमा एक ठाउँमा आउने वातावरण बनेको बताउँदै आएका छन् ।

  • थप ५५ जनामा कोरोना पुष्टि, १७ जना संक्रमण मुक्त

    थप ५५ जनामा कोरोना पुष्टि, १७ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार २ हजार ६९८ जनामा कोरोना परीक्षण गर्दा ५५ जनामा संक्रमण देखिएको छ ।

    कोरोना निको भई १७ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या २८० रहेको छ ।

  • क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द

    क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द

    काठमाडौं । काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् ।

    बजेटको अभाव देखाउँदै यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ एकान्तकुना, चाबहिल तथा भक्तपुर कार्यालयले परीक्षण लाइसेन्स छाप्न बन्द गरेका हुन् ।

    केन्द्र र प्रदेश सरकारको समन्वय हुन नसक्दा अस्थायी कार्ड वितरणमा समस्या निम्तिएको यातायात व्यवस्था कार्यालयहरूले बताएका छन्।

    परीक्षणकालीन लाइसेन्स प्रिन्ट र वितरण रोकिएकाले पुनः सवारी चालकहरूले परीक्षा पास गरी रसिदकै भरमा सवारी चलाउनुपर्ने छ ।

    स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरू गरेको थियो।

    यस्तो लाइसेन्स ट्रायल पास भएर राजस्व बुझाएकै दिन एक वर्षको म्याद राखेर वितरण भइरहेको थियो।

    यस्तो कार्ड एक वर्षभित्र पाँच पटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे खारेज हुने व्यवस्था छ। पाँच पटकसम्म कारबाहीमा नपरे मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउने छन्।

  • वामदेवको प्रस्ताव-‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टको हार निश्चित छ, वाम गठबन्धन गरौं ’

    वामदेवको प्रस्ताव-‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टको हार निश्चित छ, वाम गठबन्धन गरौं ’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच बालकोटमा भेटवार्ता भएको छ।

    नेकपा विभाजन र खारेजीपछि राजनीतिबाट निष्क्रिय गौतमले करिब एक वर्षपछि बालकोट पुगेर ओलीसँग संवाद गरेका हुन्।

    एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएयता गौतम तटस्थ थिए। उनले फेरि पनि एकताको प्रयास गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पुन: एक हुनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्।

    गौतमले बिहीबार बिहान एमाले अध्यक्ष केपी ओलीसँगको भेटमा आसन्न दुवै तहको निर्वाचनमा कम्युनिष्ट शक्तिहरु मिलेर लडनुपर्ने प्रस्ताव गरे ।

    ‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टहरुको हार निश्चित छ, त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौं,’ भेटमा ओलीसँग गौतमले प्रस्ताव राखेका थिए।

    गौतमले आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा लागि पर्ने धारणा राखे।

    तत्कालीन नेकपालाई फुटबाट जोगाउन त्यतिबेला अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले रातदिन गौतमलाई फकाउने प्रयास गरेका थिए। यद्यपि, नेता गौतम दुवैतर्फ नलागी तटस्थ बसिरहे।

  • अमेरिकी दूतावास काठमाडौंले जुलाई १७ मा सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने

    अमेरिकी दूतावास काठमाडौंले जुलाई १७ मा सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने

    काठमाडौं । अमेरिकी दूतावास काठमाडौंले आगामी जुलाई १७ मा विद्यार्थी भिसाका लागि सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने भएको छ । सुपर सन्डे कार्यक्रम अन्तर्गत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिने अमेरिकी दूतावास काठमाडौंले जनाएको छ ।

    विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवसरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराउन लागिएको दूतावासले जनाएको छ । जुलाई १७ मा भिसा च्याटकै क्रममा ती अप्वाइन्टमेन्टहरु उपलब्ध गराइनेछ ।

    अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गर्न लागेको हो ।

    अमेरिकी विदेश मन्त्रालयका अनुसार अहिले अमेरिकी दूतावासमा भिजिटर भिसा अन्तर्वार्ताका लागि अप्वाइन्टमेन्ट लिन औषतमा २७४ दिन कुर्नुपर्ने बाध्यता छ । त्यस्तै विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट लिन ८० दिन र अन्य गैर आप्रवासी भिसाको अप्वाइन्टमेन्ट लिन १७ दिन कुर्नुपर्ने बाध्यता रहेको छ ।

  • लयमा फर्कियो नेपाली शेयर बजार, नेप्से उच्च अंकले बढ्दा २ अर्ब ४५ करोडको कारोबार

    लयमा फर्कियो नेपाली शेयर बजार, नेप्से उच्च अंकले बढ्दा २ अर्ब ४५ करोडको कारोबार

    काठमाडौ । विहीवार शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२७ कम्पनीको २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँ बराबरको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

    बुधवार १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । बैंकिङ २९, विकास बैंक २०४, फाइनान्स १००, होटल तथा पर्यटन १२७, जलविद्युत् १०६, जीवन बीमा २९६, उत्पादन २५०, लघुवित्त २०४, निर्जीवन बीमा ३८७, अन्य ८६ र ब्यापार उपसमूह १२६ अंकले बढे ।

    आज नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी र न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, आँधिखोला लघुवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्था, सुर्योदल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, रिलायन्स फाइनान्सको शेय् मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    त्यस्तै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    नेप्सेका अनुसार ग्लोबल आईएमई बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ९ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रमा हिमालय डिस्टिलरीको ७ करोड ९७ हजार र तेस्रोमा एशियन लाइफको ५ करोड ९९ लाखको कारोबार भएको छ ।

  • जंगली च्याउ सेवनबाट ६ जना गम्भीर बिरामी

    जंगली च्याउ सेवनबाट ६ जना गम्भीर बिरामी

    बुटवल । बुटवलमा जंगली च्याउको सेवनबाट ६ जना गम्भीर बिरामी परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् । त्यसमध्ये पाँच जनाको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । जङ्गली च्याउ खाएर बिरामी परेका उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    जङ्गलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षकी सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक र ३३ वर्षीया दुर्गा विकको अवस्था गम्भीर रहेको उस्पताललाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु अस्पतालमा ल्याउँदा अचेत अवस्थामा थिए । घटना बुधबार साँझ करिव साढे ५ बजेको हो । जंगली च्याउ खाएर बिरामी परेका उनीहरुलाई राती पौने ९ बजेको समयमा आफन्तले अस्पताल पुर्याएका थिए ।

  • शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

    शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधर नेताहरूको भेला आज बोलाइएको छ । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भेलामा सभापति शेर बहादुर देउवामाथि दवाव सिर्जना गर्ने रणनीति रहेको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै निष्कर्ष निकाल्दै उनीहरुले दवाव सिर्जना गर्न लागेका हुन् । सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्।

    मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो। विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेका हुन् । सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनीत गर्नुपर्छ । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवानिकटका हुन्। कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन्।

  • भारतले द्यौलीगंगा जलविद्युत आयोजनाको बाँध खोल्ने, महाकालीमा जोखिम

    भारतले द्यौलीगंगा जलविद्युत आयोजनाको बाँध खोल्ने, महाकालीमा जोखिम

    काठमाडौं । भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । जसका कारण महाकाली नदीमा बाढीको सतह बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आह्वान गरेको छ । भारतको पिथौरागढस्थित धौलीगंगा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो ।

    पत्रमा लेखिएअनुसार विद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिङ्ग हुने र सो कामका लागि आज बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने भएको हो । ले जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बाँधको ढोका खोलिंदा जलसतह बढ्ने र क्षति पुग्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको हो ।

    बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने भने पनि त्यसपछि पनि महाकालीमा जलसतह बढ्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जारी गरेको सूचनामा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले पनि महाकाली जलाधारका केही स्थानमा भारी वर्षा भई नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।

  • नेपालका कोरोना संक्रमण बढ्यो,एकैदिन ६२ जनामा संक्रमण पुष्टि

    नेपालका कोरोना संक्रमण बढ्यो,एकैदिन ६२ जनामा संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जनामा कोरोना परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    १ हजार ८ पिसिआर परीक्षणमा ५१ जना र ६ सय १२ एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण

    काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

    पहिलो संक्रमित बस्ने ठाउँ वरपर पानीको नमूना परीक्षण गर्दा कोलिफर्म भन्ने जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ ।

    यस्तै ललितपुरबाट १८ ठाउँको नमूना परीक्षण गर्दा १२ नमूनामा इकोलाइजी भन्ने जिवाणु भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

    हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ४३ करोडको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ४३ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन नेप्से ४१.३९ अकले बढेर १९६२.७१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२८ कम्पनीको १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँ बराबरको ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    बुधवार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको ।

    बरुण हाइड्रोको शेयरमूल्य ९.४५ प्रतिशतले बढेर प्रतिकित्ता ४९० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य एक प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावरको भएको छ । यसको आज ५ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा एशियन लाईफ इन्सोरेन्सको ५ करोड २५ लाख र तेस्रोमा पूनर्बीमा कम्पनीको ४ करोड ७० लाखको कारोकार भएको छ ।

  • ‘प्रेमी’को श्रीमती कुटेर विवादित बनेकी मन्त्री विमलाले दिइन् राजीनामा

    ‘प्रेमी’को श्रीमती कुटेर विवादित बनेकी मन्त्री विमलाले दिइन् राजीनामा

    काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । बुधबार वलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा पत्र बुझाएकी हुन् ।

    यसभन्दा अघि प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै वली विवादमा तानिएकी थिइन् ।

    दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको अभियोगमा उनीमाथि छानबिन भइरहेको छ । वलीले भने आफूले हातपात नगरेको दाबी गरेकी छन् ।

  • अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा

    अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा

    काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल राष्ट्र बैंकले बुधवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा निर्धारण गरेको छ ।

    पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।

    विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

    केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

    डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ ।

    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै अमेरिकी डलरको बलियो बन्दै गइरहेको छ । रुस–युक्रेन युद्धका कारण अमेरिकी डलरको माग उच्च हुँदा यसको भाउ पनि बढ्दै गएको हो ।

    यसअघि अमेरिकी डलरको बिक्रीदर १२५.६६ रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च थियो । यो उच्च दरबाट घटेर स्थिर बनेको डलरको भाउले पुनः नयाँ रेकर्ड बनाएको हो ।

    नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।

  • कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालियो, २१ ढोका खुल्ला

    कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालियो, २१ ढोका खुल्ला

    काठमाडौं । सप्तकोसी नदीमा जलसतह बढेसँगै खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ । पहाडी र तराई क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सप्तकोसीमा पानीको बहाव निकै बढेको छ ।

    बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको छ । एक लाख ५० हजार क्युसेकभन्दा बढी बहाव भएपछि त्यसलाई खतरा मान्ने गरिन्छ ।

    अहिले कोसी ब्यारेजका ५६ मध्ये अहिले २१ ढोका खोलिएको छ ।

    कोसीमा बहाव र जलस्तर बढेसँगै सुनसरीको श्रीलंका टापु क्षेत्रमा कटान सुरु भएको बताइएको छ ।

  • देशका विभिन्न स्थानमा आज पनि ठूलो वर्षा

    देशका विभिन्न स्थानमा आज पनि ठूलो वर्षा

    काठमाडौं । बुधबार पनि मौसम बदली भई देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर मौसम फैलिएको छ ।

    बुधबार आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुनेछ भने केही ठाउँमा सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना हरेको छ ।

    पछिल्ला दिनमा कम पानी परेको कर्णाली र सुदूरपश्चिमका केही भागमा पनि आज भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    भारी वर्षाको सम्भावना भएकोले पहाडी क्षेत्रमा पहिरो, खोलाहरूमा बाढी आउन सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन सूचित गरेको छ ।

  • आज राष्ट्रिय धान दिवस, देश भर मनाइदै

    आज राष्ट्रिय धान दिवस, देश भर मनाइदै

    काठमाडौं । नेपाली कृषकको सम्मानमा १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

    वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

    असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

    औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।

    दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ

  • मनोहरा नदिमा बढ्यो पानीको बहाव, जोखिम बढ्यो

    मनोहरा नदिमा बढ्यो पानीको बहाव, जोखिम बढ्यो

    काठमाडौं । भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेकाले सचेतना अपनाउन नगरबासीसँग आग्रह गरेका छन् ।

    मङ्गलबार संयुक्तरुपमा सार्वजनिक अपील जारी गर्दै उनिहरुले भनेका छन्, ‘‘खोलाको वहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमि नगरपालिकाको भू–भाग हुँदै दुवैतर्फ जमीन कटान भई घर, बस्तीलगायतको अन्य संरचनामा समेत क्षति पुर्‍याउँदै आएको छ । यसबाट मानवीय क्षतिसमेत हुनसक्ने भएकाले सचेतना अपनाउन सम्पूर्ण नगरवासीहरुमा अनुरोध गर्दछौं ।’’

    यसरी अपील गर्ने नगरप्रमुखत्रयमा सुरेन्द्र श्रेष्ठ, जीवन खत्री र उपेन्द्र कार्की छन् । अपीलमा हाल अल्पकालीन रुपमा खोलाको कटानलाई नियन्त्रण गरी धन जनको क्षति हुन नदिन खोलाको वहावलाई सामान्य अवस्थामा ल्याउन प्रयास भइरहेको उल्लेख छ ।

  • काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयले गर्मी तथा वर्षायाम शुरू भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेकोहो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

    उनले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धिकरण गरेर र उमालेर खान मात्र अनुरोध गरेका छन् । अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले जनाएको छ । दूषित खानेपानी कारणले हैजा देखिएको छ ।

    झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्न, दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुन, खाना बनाउनु, खुवाउनु र खानुअघि साबुन पानीले मिचिमिची हात धुन, पानी उमालेर वा फिल्टर गरेर पिउन वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउन आग्रह गरिएको छ ।

    पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुनेजस्ता लक्षण झाडापखलाको रहेको भन्दै मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गरेको छ भने खान पिउनसमेत नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार वान्ता भइरहेमा, ज्वरो आएमा र धेरैपटक पातलो दिसा गएमा पनि अस्पताल लैजान भनिएको छ ।

    मन्त्रालयले खानपान, सरसफाइ र शरीरमा देखिने लक्षणमा विशेष ध्यान दिन जरुरी रहेको औंल्याएको छ । बासी, सडेगलेको, झिँगा भन्किएको, खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ ।

  • दुई दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

    दुई दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

    काठमाडौं । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।

    नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ ।

    वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ ।

    कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् ।

    सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन हुँदै आएको छ । हरेक वर्ष वर्षाको समयमा नियमित पानी पर्न थालेपछि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।

    गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो ।

    सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन ।

    यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिनेछ ।

  • वामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ सदस्यीय केन्द्रीय कमिटी

    वामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ सदस्यीय केन्द्रीय कमिटी

    काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका हुन् ।

    पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने पत्रकार सम्मेलनमा जनकारी दिइयो ।

    आज बिहान ६९ सदस्यीय केन्द्रीय कमिटी रहने भनिए पनि थप भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

    पार्टीको संयोजकमा वामदेव तथा सचिवमा डिबी कार्की छन् । पार्टीको आठ सदस्यीय सचिवालय पनि घोषणा गरिएको छ ।

    यस्तो छ सचिवालय–

    संयोजक – वामदेव गौतम
    सचिव– डिबी काकी
    सदस्य – ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल ।

  • नेपालमा थप ४४ जनामा कोरोना पुष्टि

    नेपालमा थप ४४ जनामा कोरोना पुष्टि

    काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर २ हजार ७९८ नमूनाको परीक्षण हुँदा मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    गत २४ घण्टामा १ हजार ८५२ जनाको पीसीआर र ९४६ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।

    पीसीआर परीक्षणबाट ३८ र एन्टिजेन परीक्षणबाट ६ जनामा संक्रमण पुष्टि मन्त्रालयले जानकारी दिएको छ।

    गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर ११ हजार ९५२ जनाको मृत्यु भएको छ।

  • एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो

    एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो

    काठमाडौं । नेपालले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने जानकारीसहितको पत्र पठाएको छ । साेमवारको राष्ट्रिय सभाको बैठकमा गृह मन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराए।

    अमेरिकी र नेपाली सेनाको बीचमा सहयोग आदानप्रदानको सन्दर्भमा स्टेट पार्टनरशिप प्रोग्राम अब के हुन्छ भनेर गम्भीरतापूर्वक छलफल र बहस भएपछि मन्त्रिपरिषद्ले नै अगाडि बढाइने छैन भन्ने निर्णय गरेपछि त्यो निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरीकालाई पठाइएको खाणले बताए ।

    यही असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । त्यही दिनको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा सहभागी नहुने भनेर जानकारी गराउने निर्णय पनि गरेको थियो । सरकारले निर्णय गरे पनि अमेरिकालाई पत्र नलेखेको भनी सदनभित्र र बाहिरबाट दबाब परिरहेका बेला सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने निर्णयबारे जानकारी दिन औपचारिक पत्र पठाएको हो ।

    एसपीपीसँगै जोडिएर आएको प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे भने सरकारले केही जानकारी दिएको छैन

  • मनसुन सक्रिय, लगातार पानी पर्ने

    मनसुन सक्रिय, लगातार पानी पर्ने

    काठमाडौं । आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने भएको छ ।  मौसमविद् पुर्वानुमान महाशाखाका अनुसार आजदेखि पर्सिसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएको छ । यसले बाढी पहिरोको जोखिम धेरै रहेको छ । अहिले देशैभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुनेछ । यसले गर्दा पर्सीसम्म नै वर्षा हुने अनुमान गरिएको हो ।

    राति पनि ठूलो पानी पर्ने भएकाले जोखिम अझै बढेको छ । भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई सावधानी अपनाउन मौमविद्ले आग्रह गर्दै आएका छन् । यसपालिको वर्खामा औसत भन्दा बढी पानी पर्ने भएकाले पनि बाढी पहिरोको जोखिम धेरै छ । प्रि मनसुनमा नै औसत भन्दा धेरै वर्षा हुँदा धेरै ठाउँमा पहिरो गएको थियो

  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


    धनगढी । कैलालीमा खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका- ८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
    स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल उनीहरूको उद्धार गरे पनि बचाउन नसकिएको प्रहरीको भनाइ छ।

  • काठमाडौं उपत्यकामा १२ जनामा देखियो हैजा

    काठमाडौं उपत्यकामा १२ जनामा देखियो हैजा

    काठमाडौं । काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्।

    प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए।

    तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ।

    यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो। यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो।

    उनीहरू कामपा–२८ बागबजारमा बस्दै आएका थिए।