Category: समाचार

  • कास्की र गोरखामा छुट्टाछुट्टै भूकम्पको धक्का

    कास्की र गोरखामा छुट्टाछुट्टै भूकम्पको धक्का

    पोखरा । बिहीबार बिहान कास्की र गोरखामा छुट्टाछुट्टै समय भूकम्पको धक्का महसुश भएको छ । नेपालका छिमेकी मुलुक अफगानिस्तान र पाकिस्तानमा ठूलो भूकम्पले जनजीवन प्रभावित पारेको समयमा नेपालमा समेत भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ७ः२२ बजे गोरखाको आरूघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र रहेर भूकम्प गएको हो।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखामा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। बिहान कास्कीमा पनि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ३ः५७ बजे भूकम्पको धक्का महसुस भएको थियो ।

  • आजबाट बालबालिकालाई खोप दिइने

    आजबाट बालबालिकालाई खोप दिइने

    काठमाडौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइने भएको छ । ंबालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गरे ।

    पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइने छ । बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ ।

  • काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

    काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। आइतबार महानगरपालिकाले राष्ट्रिय सभा गृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम बुधबार सर्वसम्मतले पारित भएको हो । काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौंको स‌स्कृति र सम्पदा संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। ‘सांस्कृतिक सहर समृद्ध नगर’ को मूल नारा बोकी महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै महानगरलाई हराभरा बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

    मेयर शाहले भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनसँगै भौतिक पूर्वाधार विकास, विद्युतीय शासनमार्फत् सुशासन प्रवर्द्धन, उद्यमशीलता, कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार, फोहोरमैला व्यवस्थापनलगायत लैंगिक समानता र सामाजिक समावेशीकरणलाई नीति तथा कार्यक्रममा जोड दिएका छन्। महानगरभित्र सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको विश्रामका लागि बस स्टपमा फल्चा निर्माण गर्ने कार्यक्रममा छ। उनले डबलीहरू पनि पुनर्स्थापना गर्ने कार्यक्रम समेत समेटेका छन् ।

  • न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति

    न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति

    काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न समिति गठन गरेको छ । न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनेछन् ।
    समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

    न्यायाधीश कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी गरेको अडियो सार्वजनिक भएपछि त्यस विषयमा छलफल गर्न बुधबार न्याय परिषदको बैठक बसेको थियो । बैठकले न्यायाधीश कोइरालालाई न्याय सम्पादनमा पनि रोक लगाएको छ । सिभिल वचत तथा ऋण सहकारी संस्थाका तत्कालिन अध्यक्ष इच्छाराज तामाङको मुद्दाको विषयमा अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच घुस लेनदेनको विषयमा भएको संवाद अडियो सार्वजनिक भएको छ ।

  • रामायण सर्किटमा हिँडेको रेल बिहीबार जनकपुर आउँदै

    रामायण सर्किटमा हिँडेको रेल बिहीबार जनकपुर आउँदै

    काठमाडौं । नेपाल र भारतको संयुक्त पर्यटकीय अभियान रामायण सर्किटमा अब नियमित रेल चल्ने भएको छ । भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको हो । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर मंगलबार साँझ भारतीय समय अनुसार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ । सो रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै बिहीबार जनकपुरधाम आउने छ ।

    जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ । भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक जनकपुर आउने छन् । ती पर्यटकले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ ।

    भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइन्छ ।

  • काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका १ देउराली भञ्याङमा गएराति टिप्परको ठक्करबाट एक महिलाको ज्यान गएको छ । गएराति ९ बजे प्रदेश ३–०१००६ ख ३४७४ नम्बरको टिप्परले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फट्कशिला घर भएकी लिलामाई दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह घण्टी

    रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह घण्टी

    काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछाने औपचारिक रुपमा राजनीतिमा होमिएका छन्। मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्।

    क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्।

    ‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छुु, उनले भने, ‘हाम्रो पार्टीको नाम हुनेछ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी।’

    लामिछानेको पार्टीको चुनाव चिन्ह घण्टी रहेको छ । २१ सदस्य रहेको पार्टी आजै निर्वाचन आयोगमा दर्ता गरिने लामिछानेले बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा आजैदेखि सञ्चालन हुने लामिछानेले बताए ।

    पार्टीका ७ विशेषता
    • प्रारम्भिक निर्वाचन
    • बहुसंख्यक युवा
    • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री
    • राइट टु रिकल एन्ड राइट टु रिजेक्ट
    • डिजिटल डेमोक्रेसी
    • परिवारवाद निषेध
    • भ्रातृ संगठन र कार्यकर्तारहित

  • अब कुटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदान-प्रदान

    अब कुटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदान-प्रदान

    काठमाडौं । सरकारले अब विदेशी कूटनीतिक नियोगलाई गरिने सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय औपचारिक रुपमा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अब अरु निकायबाट पत्राचार गर्न नपाउने गरी निर्णय भएको छ । विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र मन्त्रालयबाट मात्र गरिने पनि बैठकले निर्णय गरेको हो । अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सँग सम्बन्धित नेपाली सेनाले अमेरिकी राजदूतावासमा गरेको पत्राचार विवादमा परेपछि सरकारले सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय गरिएको बताइएको छ ।

    अन्य सरकारी निकायहरुले पनि आफ्ना सरोकारका विषयमा कूटनीतिक नियोगमा पत्राचार गर्दै आएका थिए । नेपाली सेनाले सन् २०१५ र २०१७ मा सरकारको तर्फबाट भन्दै अमेरकी राजदूतावासमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षरसहितको पत्र पठाएको थियो । उक्त पत्रबारे आफूले जानकारी नै नपाएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । यससँगै सरकारले अब विदेशमा हुने पत्राचार औपचारिक माध्यमबाट मात्र गर्ने निर्णय गरेको हो ।

  • आज २१ जुन, वर्षकै लामो दिन

    आज २१ जुन, वर्षकै लामो दिन

    काठमाडौं । २१ जुन, आज यो वर्षकै लामो दिन हो । जुन २१ तारिखलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ । यस दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुन्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आज १३ घण्टा ४५ मिनेटको छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ ।

    जुन २०, २१ र २२ तारिखमध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ । भोलिदेखि बिस्तारै दिन छोटो र रात लामो हुँदै जान्छन् । आजबाट सामान्यतया जाडो याम प्रारम्भ भएको मानिन्छ ।

  • मुलुकभर आज पनि मौसम बदली रहने, बढी जोखिम कहा ?

    मुलुकभर आज पनि मौसम बदली रहने, बढी जोखिम कहा ?

    काठमाडौं । मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

    हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका केही भू-भागमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • मेयर बालेनको चुनाव खर्च ३,९४,४८९

    मेयर बालेनको चुनाव खर्च ३,९४,४८९

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चनाुव खर्च सार्वजनिक गरेका छन् । उनका अनुसार स्थानीय चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको छ । यसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको उनले बताएका छन् ।

    चुनावी खर्च सार्वजनिक गर्दै उनले भनेका छन्, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’उनले खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी पनि मागेका छन् ।

    ‘एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन हामी हरसमय खटिरहनेछौँ’, बालेनले भनेका छन् ।

  • थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    देशभर गरिएको १ हजार ८ सय ६२ पिसिआर परिक्षणका क्रममा २० जना र २ हजार ५२ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय १० जना निको भएका छन्।

    हाल नेपालमा १ सय २० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

  • उद्योगमन्त्री भन्छन् -‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक, अझै घाटामा छौं’

    उद्योगमन्त्री भन्छन् -‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक, अझै घाटामा छौं’

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक भएको बताएका छन्।

    सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा उद्योगमन्त्री बडूले उक्त कुरा बताएका हुन् ।

    उनले पेट्रोलियम पदार्थ खरीदभन्दा बिक्रि मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको तर जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको बताए।

    पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको र त्योभन्दा बढी घटाउन सकिदैन् उनले भने ।

    उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए।

  • भिआइपी उडानका हेलिकप्टरमा अनिवार्य दुई पाइलट राख्नु पर्ने

    भिआइपी उडानका हेलिकप्टरमा अनिवार्य दुई पाइलट राख्नु पर्ने

    काठमाडौं । भीआइपी सवार हेलिकप्टरमा अनिवार्य दुई पाइलट राख्नु पर्ने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आइतबार यस्तो निर्णय गरेको हो । उता, वायुसेवा कम्पनीले तोकिएको आधार विमानस्थल (अपरेटिङ बेस)मा रात्री विसान गरेर पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने भएको छ । विमान कम्पनीलेहरु उडान अनुमति लिँदा नै आफ्नो आधार विमानस्थल तोकेका हुन्छन् । तर, अहिले अधिकांश वायु सेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्री विसान गर्ने गर्ने गरेका छन् ।

    अब हेलिकप्टर र हवाईजहाजले तोकिएको आधार विमानस्थलबाट दिनको पहिलो उडान गर्नु पर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णयअनुसार अब हेलिकप्टरको प्रत्येक उडान पूर्व प्रयोग गर्ने गरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणको लागि एक स्वचालित विद्युतीय प्रणाली (सफ्टवेयर एप्लिकेसन) सञ्चालनमा ल्याइने भएको छ ।

    हेलिकप्टर उडान सुरक्षालाई सवलीकरण गर्न मौसमी अवस्था, उडान अवधि, हेलिकप्टर पाइलटको अनुभव, भौगोलिक अवस्था तथा अन्य अवस्थालाई समेत मध्यनजर गरी यस्तो प्रणालीबाट हरेक उडानको सुरक्षा सवलीकरणको व्यवस्था मिलाउने निर्णयमा उल्लेख छ । स्वचालित प्रणालीले तोकेमा दुई जना हेलिकप्टर पाइलट राख्नुपर्ने व्यवस्था समेत हेलिकप्टर कम्पनीले गर्नुपर्ने निर्णयमा उल्लेख छ । तर, नेपाल सरकारले तोकेको विशिष्ट व्यक्तिको उडानमा दुई जना हेलिकप्टर पाइलट अनिर्वाय रहनु पर्ने प्राधिकरणले बताएको छ ।

    अबको बढीमा ३ वर्षभित्र पाइलट तयार पार्नको लागि हेलिकप्टर कम्पनीहरुले पेश गरी प्राधिकरणले स्वीकृत गरेको संख्या बमोजिम पाइलट पदपूर्तिको व्यवस्था अनिवार्य रुपमा मिलाउनुपर्ने निर्णय पनि भएको छ ।

  • काठमाडौं महानगरले ल्यायो नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा ?

    काठमाडौं महानगरले ल्यायो नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र साहले आइतबार आयोजित ११ औं नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनले आकासे पानीको उपयोग देखि फोहोर मैला व्यवस्थापन सम्मका योजनालाई नीति तथा कार्यक्रममा समेटेका छन् । उनले महानगरभित्र होमस्टे सञ्चालनको घोषणा पनि गरेका छन् ।

    उनका अनुसार प्राचीन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनर्उद्धार गर्दै होमस्टे सञ्चालनको व्यवस्था मिलाइने भएको छ । काठमाडौंमा ‘एमफी थिएटर’ निर्माणको घोषणा समेत उनले गरे । उनका अनुसार कला क्षेत्रलाई प्रबर्द्धन गर्न काठमाडौं महानगर क्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्फी थियटर निर्माण गरिने भएको हो ।

    विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति, बौद्ध, स्वयम्भु र बसन्तपुर क्षेत्रको संरक्षण गरिने, स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिने भएको छ । महानगर क्षेत्र भित्र मनाइने जात्रा, पर्व, मेला, पूजा, परम्परागत जीवन शैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य परिचयात्मक विवरण समेटी काठमाडौं महानगरको सांस्कृतिक प्रोफाइल तयार गरी प्रकाशित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । काठमाडौं महानगरपालिकाकाले तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना ल्याएको छ ।

    वडा नम्बर ३२ स्थित तीनकुनेको जग्गा विवाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी कार्य गर्ने घोषणा मेयर साहको छ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका रहेका सरकारी, सार्वजनिक, निजी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने समेत योजना बनाएको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९\०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने बताएका छन् । उनले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने नीति सेमत लिएको बताए । पुराना हिटी र पोखरीहरुको पुननिर्माण गर्ने योजना पनि महानगरले ल्याएको छ ।

    काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । बालेनले नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बताए । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ ।

    काठमाडौं महानगरपालिकाले नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने घोषणा गरेको छ । नेवार समुदायले उत्पादन गर्ने घरेलु ‘ऐला’ लाई संकेत गर्दै महानगरले यस्तो घोषणा गरेको हो । काठमाडौंमा सञ्चालन हुने विभिन्न जात्रा, पर्वहरुलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

  • संसदीय समितिमा प्रधानमन्त्री उपस्थित नभएपछि विवाद

    संसदीय समितिमा प्रधानमन्त्री उपस्थित नभएपछि विवाद

    काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थिति भएपछि विवाद उत्पन्न भएको छ । समितिनले उनलाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

    समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताइन् । कांग्रेस सांसदहरुले भने कार्यव्यस्तताका कारण नआएको भन्दै बैठकमा बचाउ गरे । निकै बेरे चलेको छलफलपछि सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकुल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गरेकी छिन् । कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले भने समिति सभापतिको निर्णयप्रति असहमति जनाएका थिए ।

  • नदीहरुमा पानीको वहाव बढ्दै, कुनमा कति जोखिम ?

    नदीहरुमा पानीको वहाव बढ्दै, कुनमा कति जोखिम ?

    काठमाडौं । अविरल वर्षाका कारण देशका केही नदीमा आइतबार समेत पानीको बहाव उल्लेख्य बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी, तमोर, सुनकोशी, नारायणी, मर्स्याङ्दी, कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायत नदीहरूको बहाव उल्लेख्य बढ्नेछ। यी नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ। अरू प्रमुख नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने जनाइएको छ।

    आज बिहानको मापन अनुसार कोशीको सहायक नदी तमोरको त्रिवेणीमा जलसतह सतर्कता तह आसपास रहेको र हाल बढ्दो क्रममा छ। कोशीकै सहायक नदी सुनकोशी हम्पचुवारमा पनि बहाव उल्ल्खे बढेर सतर्कता तह आसपास पुगेको छ।

    महाशाखाले आज पाँचथर, ताप्लेजुङ, संखुवासभा, झापा, मोरङ, सुनसरी, इलाम, यस्तै मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, बागमती प्रदेशको सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ र कास्की आसपास भइ बहने ससाना नदीहरूमा बहाव बढ्ने र केही आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान गरेको छ। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • टोखामा कामदारबीच झडप, एक जनाको मृत्यु

    टोखामा कामदारबीच झडप, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कामदारबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । कामदारहरूबीच झडप हुँदा टोखा नगरपालिका १ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै पक्राउ गरेको छ ।

    टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने उनीहरूबीच एकापसमा झगडा हुँदा दिपेन गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

  • मुग्लिन–नारायणगढ सडक पटक पटक अवरुद्ध, हजारौं यात्रु मर्कामा

    मुग्लिन–नारायणगढ सडक पटक पटक अवरुद्ध, हजारौं यात्रु मर्कामा

    काठमाडौं । पश्चिम नेपाललाई राजधानी काठमाडौंसँग जोड्ने एक मात्र राजमार्गको भरपर्दो विकल्प खडा नगर्दा वर्षायाम सुरु भएसँगै यात्रुले सास्ती भोग्नु परेको छ । नारायणगढ–मुग्लिन सडक शनिबार समेत बन्द भएको छ ।

    चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । यो राजमार्गको अर्को विकल्प छैन । सोहीकारण हरेक दिन जसो लामो लाइन र जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका हुन् ।

  • आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण

    आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको दावि गरेका छन् । शुक्रबार भाइरस अडियो र समाचारको खण्डन गर्दै उनले कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नगरेको बताएका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सीसीटिभी क्यामेरा हेर्न समेत भनेका छन् ।

    आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ । कतिपय कामहरूमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुनसक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर पनि रहने भन्दै मन्त्री आलेले कर्मचारीमाथि भने दुर्व्यवहार नभएको उल्लेख गरेका छन् ।

    पछिल्ला दिनमा उडान सङ्ख्या वृद्धि हुँदै गएको तर जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृत्रिम अभाव गराइ आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि पालिका चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको उनको भनाई छ । आफ्नाविरुद्ध निरन्तर प्रचारमा लागेका केही व्यक्तिहरूले आफूलाई बदनाम गर्नका लागि समाचार लेखाएको समेत उनको आरोप छ ।

  • अहिले भारतभर किन चर्किरहेको छ आन्दोलन ?

    अहिले भारतभर किन चर्किरहेको छ आन्दोलन ?

    नयाँ दिल्ली । भारतमा छोटो निश्चित अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ सरकारी योजनाको विरोधमा देशव्यापी प्रदर्शन जारी छ । खासगरी उत्तर प्रदेश र विहार राज्यमा चर्को विरोध प्रदर्शनहरू भएका छन् । जहाँ प्रदर्शनकारीले रेलमा आगजनी गर्नुका साथै मुख्य राजमार्गमा बन्द गराइदिएका छन् । उनीहरूले उक्त योजना फिर्ता हुनु पर्ने माग गरेका छन्। समाचारहरूका अनुसार तेलङ्गाना राज्यको दक्षिणी शहर सिकन्दराबादमा समेत हिंस्रक प्रदर्शनहरू भएका छन् जहाँ युवाहरूले स्थानीय रेल स्टेसनमा जबरजस्ती प्रवेश गरेर रेल र पसलहरूमा क्षति पुर्‍याएका छन्।

    मङ्गलवार सार्वजनिक गरिएको अग्निपथ कार्यक्रमले साढे १७ देखि २१ वर्षबिचका व्यक्तिहरूलाई लक्षित गरेको छ। सफल आकाङ्क्षीहरू चार वर्षका लागि सेनामा भर्ती हुनेछन् र त्यसपछि २५ प्रतिशतले मात्र सेवा जारी राख्न पाउनेछन्। प्रदर्शनकारीहरूलाई शान्त पार्ने प्रयास स्वरूप सङ्घीय सरकारले बिहीवार अबेर यो वर्षका लागि मात्र भनेर २३ वर्षसम्मले पनि यस कार्यक्रम अन्तर्गत रहेर आवेदन दिन पाउने जनाएको छ। कोभिड महामारी सुरु भएदेखि सेनामा भर्ती रोकिएका छन् र दशौँ लाख आकाङ्क्षीहरूमा सेनामा जागीर खान पाइने उमेर हद यसै नाघ्ने हो की भनेर निराशा छाएको छ। यस्तो सुधारिएको भर्ती योजना सेनाको बढ्दो खर्च कटौती गर्ने उद्देश्यबाट प्रेरित छ।


    बढिरहेको तलब र निवृत्तीभरणमा सेनाको आधा जसो बजेट खर्च हुन्छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले मङ्गलवार अग्निपथ योजना सार्वजनिक गरेका हुन् ।
    नयाँ योजनाले सेनाको आधुनिकीकरण गर्नलाई रकमको चाप कम गर्ने ठानिएको छ। सरकारले यसले सेनालाई युवामय बनाउने समेत बताएको छ।
    तर सेनामा जान खोजिरहेकाहरूले यस योजनाले रोजगारी र अवसरहरू सिर्जना गर्ने मामिलामा निकै कम योगदान दिने जनाएको छ। केही वरिष्ठ सैन्य जेनरल र रक्षा विज्ञहरूले समेत उक्त कार्यक्रमको आलोचना गर्दै त्यसले सेनाको संरचनालाई कमजोर बनाउन सक्ने एवं राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै सजग गराएका छन्।

    संसारमा धेरै सशस्त्र सैनिकहरू हुनेमध्येको देशमा भारत पर्छ। १४ लाख जवान काम गर्ने भारतीय सेना देशको एउटा मुख्य रोजगारदाता समेत हो जसका लागि वर्षेनी दशौँ लाखले आवेदन दिन्छन्। वर्षेनी झण्डै ६० हजार जना सैनिक सेवाबाट बाहिरिन्छन् र ती स्थान पूर्ति गर्न सयवटा सम्म भर्ती योजनाहरू सञ्चालन हुन्छन्। अग्निपथ अन्तर्गत ४६ हजार सैनिकहरू यो वर्ष भर्ती हुनेछन्। तिनीहरू ६ महिनाका लागि तालिममा जानेछन् र बाँकी साढे तीन वर्ष सेवामा तैनाथ हुनेछन्। त्यस अवधिमा उनीहरूले मासिक तलब ३० हजार भारतीय रूपैयाँबाट सुरु भएर थप लाभहरू जोडिन आउँदा चारवर्षे सेवाको अन्त्यमा ४० हजार भारतीय रुपैयाँसम्म बुझ्नेछन्।
    बीबीसी

  • मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…

    मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…

    काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा भर्ना भएका एक पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्कीपक्स भएको आशङ्कामा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स पुष्टि नभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी गराए । हिजो र आज शुक्रवार प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट मङ्कीपक्स नभएको पुष्टि गरिएको छ । प्रयोगशालाको विज्ञ टोलीबाट जाँचका क्रममा विभिन्न ६ ठाउँबाट जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठ रोग पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका पुरुषलाई विमानस्थालको हेल्थ डेक्सले मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै टेकु अस्पताल पठाएको थियो । मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । अहिले विश्वभर एक हजार ६ सय जनाभन्दा धेरै जनामा मङ्कीपक्स रोग पुष्टि भएको छ । नेपालसहित दक्षिण एसियाका कुनै पनि देशमा अहिलेसम्म मङ्कीपक्सबारे पुष्टि भएको छैन ।

  • मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित

    मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसका संक्रमित बढीरहेको तथ्यांक आएको छ । मौसमी भाइरलले ज्वरो बढाएपछि परीक्षण गर्नेहरु समेत बढेका छन् । जसले गर्दा कोरोनाका बिरामी समेत बढेको देखिएको हो । शुक्रबार पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय १० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा थप १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा एक सय चार जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार तीन सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ

    युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ

    काठमाडौं । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो ।

    कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७, सुनसरीका ३० वर्षीय सञ्जिब दर्जी, मेलुङ–५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा छन् ।

    एसपी कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने गराउने गरेका थिए । त्यसपछि ती व्यक्तिहरुको घर, कार्यालय तथा सवारीसाधन लगायतका सम्पूर्ण विवरण राख्ने गरेका थिए ।

    ‘सबै विवरण संकलन गरेर झुठ्ठा मुद्दा लगाएर फसाइदिने भन्दै डर, धम्की तथा त्रास देखाएर मोलमोलाई गर्ने गरेको प्रहरीको भनाई छ । दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन केटीको नक्कली पारिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरेर मोलमोलाई गरी मासिक हैरानी दिने गरेको खुलेको समेत प्रहरीले जनाएको छ ।

  • बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

    बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा दिउँसो ३ बजे आइपीओ बाँडफाँड गरेको हो ।

    सर्वसाधारणलाई छुट्याइएको १३ लाख ६५ हजार कित्ता आइपीओ एक लाख ३६ हजार ५ सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् ।

    मागभन्दा बढी आवेदन परेका कारण यो गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। कम्पनीले जेठ २० गतेदेखि २५ गतेसम्म १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।

    कूल निष्काशन मध्ये ६० हजार कित्ता कर्मचारीको लागि, ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी १३ लाख ६५ हजार कित्ता सर्बसाधारणका लागि छुट्याइएको थियो ।

    कम्पनीको आईपीओमा १८ लाख ४५ हजार ६७ जनाले २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपियाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ताका लागि आवेदन दिएको थिए ।

    तीमध्ये १७ लाख ८९ हजार १५७ आवेदकबाट परेको २ करोड १ लाख ३९ हजार १९० कित्तामात्रै सदर भएको छ।

    बाँकी २ हजार ७३८ आवेदकबाट माग भएको ३२ हजार ५४० कित्ता शेयर बदर भएको छ।

    यसरी हेर्नुहोस् नतिजा

    लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

    वेबसाइट www.sanima.capita र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

    कम्पनीको वेबसाइट www.bindhyabasinihydro.com.np बाट पनि रिजल्ट हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

  • प्रधानसेनापतिले भने-‘अमेरिकालाई पत्र पठाइएको सत्य हो, आशंका नगरौं सैन्य गठबन्धनका लागि होइन’

    प्रधानसेनापतिले भने-‘अमेरिकालाई पत्र पठाइएको सत्य हो, आशंका नगरौं सैन्य गठबन्धनका लागि होइन’

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई नेपाली सेनाले पत्र लेखेको स्वीकारेका छन् ।

    शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठककमा पत्रका बारेमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सेनाको तत्कालीन नेतृत्वले अमेरिकालाई पत्र लेखेको विषय सत्य भएको बताएका हुन्।

    तर नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारे । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए ।

    ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन,’ उनले भने।

    प्रधानसेनापति शर्माले भूकम्पको समयमा मानवीय सहायताका लागि पत्र लेखिएको बताए । उनले भुकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याएका हुन्।

    ‘अमेरिकाको एउटा राज्यले नेपालको प्राकृतिक विपदमा मानवीय सहायता ल्याउने हिसाबले लेखिएको पत्र हो । पत्र नेपाल सरकारको परराष्ट्र नीति बिपरित लेखिएको छैन’, सेनाप्रमुख शर्माले भने।

  • युद्धकै बीच जब चार विदेशी सरकार प्रमुख युक्रेन पुगे

    युद्धकै बीच जब चार विदेशी सरकार प्रमुख युक्रेन पुगे

    पेरिस । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले युक्रेनले प्रतिरोध गर्नैपर्ने र जित्नैपर्ने बताउँदै रुसी बर्बरता को आलोचना गरेका छन्। फ्रान्सका राष्ट्रपति, जर्मनीका चान्सलर ओलाफ सोल्ज र इटलीका प्रधानमन्त्री मारिओ ड्रागी बिहीवार बिहान युक्रेन पुगेर राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीसँग भेटेका छन्। माँक्रो, सोल्ज र ड्रागीको भ्रमणको उद्देश्य आफूहरूले गरिरहेको सहायताप्रति भएको आलोचनाको विरोध गर्ने, युक्रेनलाई आर्थिक र मानवीय सहायतासहित अस्त्र पनि दिने रहेको छ।

    उनीहरू पोल्याण्डबाट रातीको रेलयात्रा गरेर बिहीबार बिहान किएभ पुगेका थिए। राष्ट्रपति निवासमा उनीहरूसँगपछि रुमेनियाका राष्ट्रपति क्लाउस यो हानिस समेत मिसिएर कुराकानी भएका थिए। उक्त परिसर सबैखाले उच्च सुरक्षाबाट घेरिएको थियो। ती तीनजना नेताहरूले युक्रेन युद्धको सुरुमा रुसले नियन्त्रण जमाएको इरपिन शहरमा पुगेर युद्धको क्षति अनुगमन गरेका छन्। चान्स्लर सोल्जले त्यहाँको क्षतिलाई अकल्पनीय क्रूरता र चेतना शून्य हिंसा बताएका छन्।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ईयूका नेताहरूलाई सैन्य सहायतामा तीब्रता दिन आग्रह गरेका छन्। केही युक्रेनीहरूले उनीहरूमाथि केवल उदासिन समर्थन गरेको आरोप लगाउने गर्छन्। क्रेमलिनका एकजना वरिष्ठ अधिकारी दिमित्री मेद्भेदेभले सो भ्रमणप्रति व्यङ्ग्य गर्दै नेताहरू शून्य प्रयोजनका लागि किएभ गइरहेको बताए।

    मेद्भेदेभले उक्त भ्रमण युक्रेनलाई हतियार दिनेबारे मात्र केन्द्रित होला भन्ने आफूले नठानेको बताउँदै त्यसो भए युक्रेनलाई थप क्षति हुने बताए। यस भ्रमण युरोपेली आयोगले युक्रेनलाई ईयू सदस्यता दिने कि नदिने भन्नेबारे सिफारिस गर्नेभन्दा एक दिनअघि भएको छ। माँक्रोले किएभ पुगेका युरोपेली नेताहरू तत्काल ईयूमा जोडिन युक्रेनलाई उम्मेद्वार हैसियत दिन सहयोगी रहेको बताएका छन्।
    बीबीसी

  • पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक

    पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिएका छन् । उनले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अपशब्द तथा अश्लील गाली गरेको अडियो सार्वजनिक भएको छ । अश्लिल गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उनको सामाजिक सञ्जालमा आलोचना थालिएको छ । यसअघि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो सार्वजनिक भएपछि आलोचित भएका थिए । खासगरी अश्लिल बोल्दै गाली गर्ने शैलीका कारण उनी बदनाम बनेका हुन् ।

  • निरन्तरको वर्षाले नदीहरुका वहाव बढ्दै

    निरन्तरको वर्षाले नदीहरुका वहाव बढ्दै

    काठमाडौं । काठमाडौं उपत्यकासहित मुलकका अधिकांश स्थानमा भइरहेको वर्षाले नदीहरुमा जल प्रवाहको बहाव बढेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शुक्रबार दिउँसो पनि वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जानकारी दिएको छ।

    साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनर यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ। वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत विभागले भनेको छ। हाल प्रदेश–१, मधेस प्रदेश, बागमी प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ। मनसुन सुरू भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ।

    खासगरी पूर्वी नेपालका नदी तथा खोलामा पानीको बहाव धेरै बढेको छ। पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ताप्लेजुङको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। यस्तै मुलघाटस्थित तमोर नदीले पनि सतर्कता तह पार गरेको छ। बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । तमोर नदी माझिटारमा समेत सतर्कता तह पार गरेको छ ।

  • ताप्लेजुङमा पहिरोमा परी २ जना बेपत्ता

    ताप्लेजुङमा पहिरोमा परी २ जना बेपत्ता

    ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गतराति पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ । नजिकै रहेका पशुचौपायसमेत पुरेको छ । क्षतिको थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।