काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२९ कम्पनीको २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँ बराबरको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।
आइतवार पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबीच भएको सहमतिको प्रभावले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको थियो ।
अनशन तोड्नुअघि पूँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच शुक्रवार १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।
कारोबारमा आएको १३ वटा समूहको परिसूचक मध्ये ११ वटा घटेको छ भने २ वटाको हरियो भएको छ ।
तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेरको छ ।
न्यादी हाइड्रोको शेयरमूल्य ९.९६ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयरमूल्य ९.१५ प्रतिशतले को छ ।
नेप्सेका अनुसार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १५ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।
दोस्रोमा हिमालय डिस्टिलरीको शेयर कारोबार भएको छ । यसको ९ करोड ७ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८ करोड २ लाख बराबरको कारोबार हुँदै शीर्ष तीनमा रहेको छ ।
काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयमा रहेर आफ्नो क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्ने बताएका छन्।
सोमबार सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले समय छोटो भएपनि धेरै काम गर्नुपर्ने भएकाले कामको गति सुस्त नहुने बताएका हुन्। उनले स्पोर्ट्स बाइकको गतिमा काम गर्ने दाबी गरे ।
‘म यो कुर्सीको दुरुपयोग गर्दिनँ । हामी थोरै समयका लागि यो ठाउँमा आएका छौँ र धेरै गर्नुपर्नेछ’, उनले भने, ‘६ महिनाको अवधिमा आफ्नो स्पीडमा इमानदारिताका साथ सरकारको पोलिसीसँग नबाझिने गरी कार्यसम्पादन गर्छु ।’
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुर्सीको दुरुपयोग नगर्ने पनि मन्त्री चौधरीले बताए। यसअघिका मन्त्रीले गरेका कामलाई निरन्तरता दिँदै बाँकी रहेका कामलाई समयमै सम्पन्न गर्ने मन्त्री चौधरीले प्रतिवद्धता व्यक्त गरे।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका छन्।
राष्ट्रपति भण्डारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणी चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीरा केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाए।
शपथ ग्रहण समारोहमा राष्ट्रपति, प्रधामन्त्रीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति थियो।
एकीकृत समाजवादीको निर्णयअनुसार आइतबार प्रेम आले, किसान श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्री मन्त्रीबाट फर्किएका थिए । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ स्वास्थ्यमन्त्री बने।
काठमाडौं । पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले यस्तो निर्णय गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको उपचारमा पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो ।
डेडिकेटेड तोकिएसँगै हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क खडा गरी सोहीअनुसार उपचारको प्रबन्ध मिलाइने प्रशासनले जनाएको छ । प्रजिअ उपाध्यायका अनुसार ललितपुर जिल्ला र अरु ठाउबाट आउने हैजा रोगका बिरामी तथा यससँग मिल्दोजुल्दो लक्षण भएका सबैले अस्पतालबाट उपचार सेवा लिन सक्नेछन् ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । उनले आइतवार पाँच जना मन्त्री फेरबदल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाएका हुन् ।
राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त गरेकी छिन् । खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए, उनलाई मन्त्रीमा बढुवा गरिएको छ । मन्त्रीहरूको शपथ ग्रहण आज हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन(पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्नेमा जोड दिएकी छिन् । सामुदायिक वन उपभोक्त महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले त्यसखाले उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरिन् । पानीका मुहान जोगाउन तथा भूमिगत पानीको पुनर्भरण प्रक्रिया दीगो बनाउन पूर्वजले अपनाएको पोखरी खन्ने र संरक्षण गर्ने उपायलाई नयाँ अभियानका साथ सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।
“हरेक सामुदायिक वनले कम्तीमा एउटा पोखरी निर्माण गर्ने अभियान चलाएर सम्भाव्यता अनुसार कतिपय स्थानमा माछापालन लगायतका व्यवसाय गर्न सकिनेतर्फ पनि म यहाँहरुको ध्यानाकर्षण गर्न चाहन्छु,” उनले भनिन् । उनले प्रकृति र मानिसबीचको पारस्परिक निर्भरताका कारण व्यक्ति, समुदाय र राष्ट्रकै समृद्धिका लागि वनजंल अति महत्त्वपूर्ण प्राकृतिक श्रोत रहेको बताइन् ।
नागरिकको स्वस्फूर्तरुपमा सिन्धुपाल्चोकबाट सुरु भएको सामुदायिक वनको अभ्यास देशव्यापीरुपमा सफलतापूर्वक लागू भएको र यो अन्तर्राष्ट्रिय जगतमा समेत स्थापित हुनु नेपालका लागि गौरवको विषय भएको उनले बताइन् । वातावरणको दीगो व्यवस्थापन गर्दै मानवीय आवश्यकता र प्रकृतिको स्वभाविक गतिका बीचमा सन्तुलन कायम हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले यसबाट आर्थिक वृद्धिको बाटो पहिल्याउनु हरित अर्थतन्त्र भएको उनको भनाई छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको हो । त्यसै दिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाइएको थियो ।
संसदमा आगामी आर्थिक वर्ष ०७९\८० को बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरुले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै मन्त्री हेरफेर रोकिएको हो । लामो समय भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्री हेरफेर नगरेको भन्दै शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय अनुसार मन्त्री हेरफेर नगरे अपमान भएको ठान्ने चेतावनी दिएको थियो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का २९ संक्रमित थपिएका छन् ।
एक हजार ७३० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा देशभर १७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९२ छ ।
यो अवधिमा ५७ हजार ७२४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का १५ संक्रमित थपिएका छन् । काठमाडौंमा १० र भक्तपुरमा पाँच संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १०८ छ ।
काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो ।
आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।
काठमाडौं । काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । शनिबार राती बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीको भनाई छ । सो क्रममा मोटरसाइकल चालक मकवानपुर थाहा नगरपालिका २ का राजु दुतराजको ज्यान गएको हो । प्रहरीले दुई वटै बसका चालकलाई पक्राउ गरेको छ ।
कास्की । कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन हुँदा त्यस आसपासको क्षेत्रमा जोमि बढेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्क रहन भनेको छ । विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी सूचना केन्द्रका अनुसार त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भएमा बाढीपहिरोको जोखिमको खतरा हुने बताइन्छ ।
अति भारी वर्षाका कारण कास्की र आसपासका खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । बाढी सूचना केन्द्रले आज असार १२ गते त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरु लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुम बहाव बढ्ने र आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान अघिल्लो दिन नै सार्वजनिक गरेको थियो । अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन् । डुबान र पहिराको कारण ५०० हाराहारीमा मानिस विस्थापित भएका छन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमबीच भेट भएको छ। शनिबार कलाकार निर्मल शर्माको समन्वयमा सभापति लामिछाने र बमबीच भेटघाट भएको हो। लामिछाने पूर्व पत्रकार हुन् भने बम विवेकशील नेपाली दल स्थापना गरेका संस्थापकमध्ये एक नेता हुन्। विवेकशील अभियान, युवाहरूको स्वतन्त्र उम्मेदवारी अभियान र लामिछानेले सुरू गरेको नयाँ पार्टीका बारेमा छलफल भएको बमले सामाजिक सञ्जालमार्फत् बताएका छन्।पुकार बमले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
त्यसबारेमा पनि छलफल भएको उनले बताए। दुई नेताहरूबीच छलफल सकारात्मक भएको र सहकार्य समेत गर्दै जानेबारे छलफल भएको थियो। रविले चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको घोषणा गर्नु एक दिन अघि मात्रै उनका दाइ हरिशरणले पनि चुनाव उठ्ने घोषणा गरेका थिए। हरिशरणले स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स बनाएर चुनाव लड्ने घोषणा गरेका थिए।
जसमा पुकार बम समेत सामेल भएका थिए। हरिशरण काठमाडौं-३ बाट, रन्जु दर्शना काठमाडौं-५, पुकार बम काठमाडौं-१ र सुमन सायमी काठमाडौं-८ बाट चुनाव लड्ने घोषणा गरेका थिए। बम इनफ इज इनफ अभियानका अभियन्ता समेत हुन्। उनले सरकारलाई कोरोनाको बेलामा जवाफदेही बन्न माग राख्दै ईस् सँग मिलेर १२ दिन सत्याग्रह गरेका थिए।
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हटाउने बारे आफ्नो पार्टीको निर्णयको कदर गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको ठहरिने उल्लेख गरे । शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको निर्णयको कदर गर्न आग्रह गरेका हुन् । अब मन्त्रिमण्डलको पुनर्गठनमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने उनको भनाई छ ।
‘मन्त्रिमण्डलका सन्दर्भमा आजसम्म जति हामीले प्रधानमन्त्रीलाई पर्खियौं, माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं। अब हामी उहाँहरूलाई पर्खिने छैनौं,’ उनले भने । तत्काल हाम्रा कामहरू पूरा गर्नुहोस् नयाँ मन्त्रीहरूलाई सपथ ग्रहण गराउनुहोस्। पार्टीको निर्णयको कदर गर्नुहोस्। अब उप्रान्त पनि ढिलो गर्नुभयो भने यसलाई हामी तपाईंहरूले हामीलाई गरेको अपमान हो भन्ने सम्झिनेछौं भन्ने कुरा केन्द्रीय कमिटीको बैठकमा भएको समेत उनले जानकारी गराए ।
काठमाडौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् ।
योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ । जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् । अस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल(मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने भएको छ । यसअघि शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो ।
अमेरिकाको सर्बोच्च अदालतले अमेरिकी महिलाहरुले ५० बर्ष देखि उपयोग गर्दै आएको गर्भपतन सम्बन्धि अधिकार उल्ट्याइ दिँदा देश नै तरंगित बनेको छ । राष्ट्रपति जो बाइडेन देखि उदार विचारधारा बोकेका राजनीतिक र सामाजिक अभियन्ताहरुले रिपब्लिकन बहुल सर्बोच्च अदालतको फैसलाप्रति गम्भीर आपत्ति जनाएका छन् ।
महिलाले आफ्नो शरिरबारे निर्णय गर्न पाउने अधिकारमाथि बन्देज लगाउन मिल्ने गरि सर्बोच्चले बाटो खोलिदिएकोमा शुक्रबार दिनभर सडक प्रदर्शन समेत भए । नौ जना न्यायाधिश रहेको सर्बोच्च अदालतमा पाँच जनाको बहुमतले गर्भपतन सम्बन्धि विद्यमान व्यवस्था अन्त्यको पक्ष लिएका हुन् । ती पाँचमध्ये तीन जनालाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्बोच्च अदालतमा नियुक्त गरेका थिए । अरु दुई जना पनि रिपब्लकिन राष्ट्रपतिकै पालामा सर्बोच्च अदालत पुगेका थिए ।
रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुसले नियुक्त गरेका भए पनि प्रधान न्यायाधिश जोन रोबर्ट बाँकी न्यायाधिश जस्तो चर्को आवाजमा फैसलाको पक्षमा उभिएनन् । उनले वहुमतको निर्णयलाई सम्मान गर्ने राय दिएका छन् भने डेमोक्रेटिक राष्ट्रपतिको पालामा सर्बोच्च अदालतमा नियुक्त भएका तीन जना न्यायाधिशले फैसलाको प्रति तिब्र असन्तुष्टि जनाएका छन् ।
चरम विवादित कार्यकाल विताएर पुनः निर्वाचन हारेका ट्रम्पलाई सर्बोच्चको नियुक्तिमा भने ठूलो सफलता मिलेको थियो । आफ्नो पुरा कार्यकाल सिनेटमा बहुमत रहेका कारण उनले सर्बोच्चका सबै रिक्त दरबन्दी पूर्ती गर्न पाए । यतिसम्मकी उनीभन्दा अघिल्ला राष्ट्रपति बाराक ओबामाको पालामै रिक्त भएको सर्बोच्चको एउटा सिट समेत त्यसबेला सिनेटमा बहुमत रहेका रिपब्लिकनहरुले परिपूर्ती गर्न दिएनन् । ओबामाले मनोनित गरेका न्यायाधिशको संसदीय सुनुवाइ नै नगरि सिनेटले टारिदिएपछि ट्रम्पले नयाँ नियुक्ति गर्न पाए । एक रिपब्लिकन बिचारधाराका बृद्ध न्यायाधिशले स्वैच्छिक अवकास घोषणा गरेर ट्रम्पलाई युवा पुस्ताको न्यायाधिश ल्याउने बाटो खोलिदिए । यति हुँदासम्म पनि अमेरिकी सर्बोच्च अदालत सन्तुलित नै थियो । रिपब्लकिन र डेमोक्रेटिक लाइनका चार/चार जना न्यायाधिश थिए भने रिपब्लिकन मनोनित भए पनि प्रधान न्यायाधिश रोबर्ट विवेकसम्मत तवरले औचित्यको आधारमा एउटा लाइन लिन्थे । उनी जता उभिए त्यतै बहुमत पुग्थ्यो ।
तर, २०२० को राष्ट्रपति चुनावको दुई महिना पनि बाँकी नरहँदा उदार विचारधाराको बिम्बको छवी बनाएकी न्यायाधिश रुथ बाडर गिन्सबर्गको निधनले अदालतलाई पुरै रिपब्लिकन कित्तामा पुर्याइदियो । सिनेटमा रहेको बुहमतको बलमा ट्रम्पले एमीकोनी बेरेथलाई मनोनित गरे हतारमा सुनुवाइ गरेर रिपब्लकिन सिनेटले उनलाई सर्बोच्च छिरायो । त्यसैको परिणाम स्वरुप सर्बोच्चमा कट्टर रिपब्लिकन न्यायाधिशहरुको बहुमत हुनपुग्यो र ५० बर्ष देखि अमेरिकी महिलाले पाउँदै आएको अधिकार खोसियो ।
अमेरिकी संविधानमा गर्भपतनबारे प्रष्ट व्यवस्था छैन । त्यसैले यो लामो समय विवादकै विषयमा रहँदै आएको थियो । दासप्रथा उन्मुक्तिसँगै गर्भपतनको पक्षमा पनि चर्को आवाज उठ्न थाल्यो । गोराहरुबाट बलत्कृत काला महिलाहरु जबरजस्ती सन्तान नजन्माउने पक्षमा उभिए । लामो विवाद पछि सर्बोच्च पुगेको गर्भपतनको मुद्दालाई सन् १९७३ मा अदालतले महिलाको संवैधानिक अधिकारको रुपमा ब्याख्या गरिदिएको थियो । रोए भर्सेस वेड भनेर चिनिने त्यही फैसला शुक्रबार सर्बोच्चले उल्ट्याएको हो ।
फैसला उल्ट्याउने क्रममा रिपब्लकिन न्यायाधिशहरुले आफ्नै अग्रजहरुको निर्णयप्रति रुखो टिप्पणी समेत गरेका छन् । उनीहरुले रोए भरसेस वेड फैसलालाई अत्यन्त कमजोर, हचुवा एवं न्यायीक अधिकारको दुरुपयोग जस्ता संज्ञा समेत दिएका छन् ।
शुक्रबारको फैसलाले रिपब्लिकहरुलाई भने खुसी तुल्याएको छ । कुल महिला मतदातामध्ये ४० प्रतिशतभन्दा कमको मात्र समर्थन गरेका रिपब्लिकहरु बाइबल र धर्मको आड देखाएर महिलालाई नियन्त्रण गर्ने कानून बनाउन उद्यत देखिएका छन् । शुक्रबार सर्बोच्चले उनीहरुकै लागि बाटो खोलिदिएको हो । सर्बोच्चको फैसलासँगै टेक्सास लगायत १३ राज्यमा गर्भपतनमा बन्देज लगाउने कानून कार्यान्वयनमा गइ सकेको छ । गर्भपतन गर्न पाइने कानून रहेका २० राज्य बाहेक बाँकीले पनि नियन्त्रणको बाटो अपनाउन सक्ने विश्लेषण सुरु भएको छ ।
अमेरिकी राजनीतिमा अहिले अल्पमतमा रहेका रिपब्लकिनहरुले अदालतलाई प्रयोग गरेर आफ्नो राजनीतिक अभिष्ट पुरा गरेकोमा डेमोक्र्याटहरुबाट चर्को रोष सुनिन थालेका छ । केही डेमोक्रेटिक सांसद एवं नेताहरु त फैसलाको विरोधमा सडकमै ओर्लिएका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले फैसालालाई महिलाको अनुहारमा हानिएको झापडको संज्ञा दिएकी छिन् । अधिकांश महिला अधिकारवादीहरुले पनि त्यही शैलीको आक्रोश प्रकट गरेका छन् । त्यो रोष आगामी नोभेम्बरको मध्यावधी निर्वाचनमा कसरी प्रकट होला भन्नेमा भावी राजनीति तय हुने विश्लेषकहरुको राय छ । सर्बोच्च अदालतको आडमा दक्षिणपन्थी मार्गमा ढल्किन थालेको अमेरिकालाई फेरि कसरी ‘ट्र्याक’मा ल्याउने भन्ने चिन्ता समेत सुरु भएको छ। निर्वाचनबाट आफूहरुलाई बहुमत दिए यस्ता फैसलालाई कानूनबाटै निषेध गर्ने डेमोक्रेटिक नेताहरुले बताएका छन् ।
काठमाडौं । अरनिको राजमार्ग हुँदै पुगिने चर्चित तातोपानी कुण्ड र त्यही बाटो हुँदै पुगिने तिब्बतस्थित खासा बजार नेपाल र नेपालीको लागि नौलो गन्तब्य होईन । त्यही अरनिको राजमार्गको नपत्याउने, भिरमा अपत्यारिलो संरचना बनेको छ । जसमा निर्माण भएर हालै मात्र संचालनमा आएको छ, सुबिधा सम्पन्न “ भोटेकोशी हेली रिसोर्ट” । त्यहाँ पुग्नेहरु नेपालको पर्यटन क्षेत्रको आठौ आश्चर्यका रुपमा यसलाई लिन्छन् । देश भित्र अवसर अभाबका कारण हरेक दिन ठुलो संख्यामा नेपाली वैदेशिक रोजगारी र अवसरको लागि पलायन हुँदै गर्दा भोटेकोशीको भिरमा फुलेको करोडौको लगानीको ४ तारे होटेलले पर्यटन क्षेत्रमा अपार सम्भाबना मुलुक भित्रै भित्र्याएको छ ।
कोरोना महामारी कल्पना नै नगर्दा, हेली रिसोर्ट संचालकले महामारी सुरु हुनु भन्दा केही महिना अगाडी मात्र होटल निर्माण सुरु गरेका थिए । झन्डै ६० करोड लागतमा सम्पन्न गरिने होटलको पहिलो चरणको तयारी स्वरुप २५ वटा सुबिधा सम्पन्न रुम संचालनमा ल्याईएको हेली रिसोर्टलाई कुल ६० कोठा सहित टुँग्याउने लक्ष्य रहेको प्रवन्ध निर्देशक छिरिङ् शेर्पा बताउछन् ।
भोटेकोशी भिरको सय रोपनी जग्गामा सुबिधा सम्पन्न क्यासिनो ब्ल्याक स्टोन स्पा, तातो पानी कुण्ड कै तातो पानीको स्विमिङ पुल, ट्राउट फिसिङ् मात्र होईन रिजोर्टले होटल पारीको भित्तोमा २०० फिटको प्रोजेक्टर स्क्रिनमा विश्व कप फुटबल जस्ता विश्व प्रसिद्ध् कार्यक्रमहरुलाई लाईभ प्रसारण गरेर होटलकै बरण्डाबाट हेर्न मिल्ने जस्ता महात्वाकांक्षी योजना सुरु गर्न लागेको छिरिङ् शेर्पाले जानकारी दिए । होटल निर्माणको अनुभब सुनाउदै छिरिङ् भन्छन् ‘भोटेकोशी क्षेत्रमा नै आमुल परिवर्तन स्थानिय रोजगारी र विकासलाई मध्यनजर गर्दै त्यहा होटल निर्माण गरेका हौ ।’ उनका अनुसार सम्पन्न शहरका होटलसँग प्रतिस्पर्धा गर्नु भन्दा भुकम्पले क्षतविक्षत भएको सिन्धुपाल्चोकको बिकासमा पनि टेवा पुर्याउने हेतुले भोटेकोशीको भिरमा यती ठुलो लगानी गरिएको हो ।
कोरोनाले बढायो लागत अकस्मात विश्व ठप्प पार्ने कोरोना महामारी सुरु भयो । कोरोना महामारीका कारण लागत रकम ३० प्रतिशतले बढेको लगानीकर्ताहरुले जानकारी गराएका छन् । होटल फुल फेजमा सुरु भए पछि चाईनिज पर्यटकको लागि सजिलो गन्तब्य हुने र क्यासिनो चाईनिज पर्यटकले नै भरिने विश्वास उनको छ । पोखरास्थित फिसटेल एकेडेमीका संचालक चिनु रानाभाट लगायतका ब्यापारिहरुको सन्लग्नता रहेको हेली रिजोर्टमा हाल २५ वटै रुमहरु प्याक हुने गरेको व्यवस्थापनले जनाएको छ । अहिले हेली रिजोर्टमा २५ रुम साजिसजाउ फाईन डाईनिङ् रेस्टुरेण्ट र दुई वटा स्विमिङ पुल लबी संचालनमा आएका छन् ।
हेलिकप्टर किनेर प्याकेज बिक्रि गर्ने लक्ष्य रिसोर्टले छिट्टै हेलिकप्टर खरिद गरेर फरक फरक प्याकेज बजारमा ल्याउने जनाएको छ । काठमाण्डौ–रिसोर्ट, गोसाईकुण्ड, कालीन्चोक प्याकेज बिक्री गर्ने लक्ष्य राखेको कम्पनीको भनाई छ । अर्को प्याकेजमा माउण्टेन फ्लाईट हुने छ । हेलिकप्टर सहितको प्याकेज खरिद गर्न नस्कने ग्राहकका लागि भने काठमाडौंबाट गाडीमा रिसोर्टसम्म ल्याउने र एक रात राखेर कालिन्चोक घुमाउने अर्क्रो प्याकेजको पनि तयारी गरेको छ ।
होटलका बिशेषता
होटलका थुप्रै विशेषतामध्ये रुम फरक छन । होटलमा सुत्ने रुम भन्दा भन्दा ठुला बाथरुम छन् र रुम भन्दा बाहिरको बरण्डा कोठा जत्रै क्षेत्रफलका छन । रुम बाहिर रहेको बरण्डामा बस्नेले बाहिरको भ्यु मज्जाले देख्ने तर बाहिरबाट बरण्डा भने देख्दै नदेख्ने, ईन्जिनीयरिङमा निर्माण गरिएको छ । जापानिज प्रविधीको नेचुरल हट वाटर ब्ल्याक स्टोन स्पा नेपालमा नै हेली रिसोर्टमा नौलो प्रयोग हुने व्यवस्थापनको दाबी छ । हट वाटर ब्ल्याक स्टोन स्पालाई थेरापिस्ट सहित संचालन गरिने होटल व्यवस्थापनले जनाएको छ ।
होटलको बरण्डामा बसेर पारी पट्टीको भित्तामा रहेको बिशाल प्रोजेक्टर स्क्रिनमा टि भि हेर्न सकिने छ । भोटेकोशी नदीमा संचालित चर्चित बन्जी जम्पिङको ठ्याक्कै माथि संचालित रिसोर्टले होटलमा बस्न आउने ग्राहक लाई आफ्नै जग्गामा उत्पादन गरिएको अर्ग्यानिक तरकारी खुवाउने मात्र होईन होटल आफैले पालेर तयार पारेको लोकल कुखुरा, कालिज, खसी–बोका खुवाउने समेत तयारी गरेको छ । बसाई सुबिधा सम्पन्न रिसोर्टको तर खुवाई पुरै नेपाली स्टाईलको अर्ग्यानिक खुवाउने होटलको दाबी छ ।
एनआरएन लक्षित प्याकेज
देशमा आर्थिक संकट गहिरिदै जाँदा विदेशमा बस्ने नेपालीहरुलाई विभिन्न किसिमले आकर्शित गर्ने योजना होटल व्यवस्थापनले सुरु गर्ने जनाएको छ । दोश्रो र तेश्रो देशका पर्यटक भन्दा आफ्नै देशका लाखौं नेपालीलाई लक्षित गरी रिसोर्टले प्याकेल ल्याउने तयारी छ । वर्षौदेखि बाहिर रहेका नेपालीलाई स्वदेश फर्कदाँको पहिलो गन्तब्य भोटेकोशी हेली रिसोर्टलाई बनाउन चाहेको छिरिङ् शेर्पाले बताए ।
उनका अनुसार विदेशबाट फर्किएका नेपालीले स्वदेशमा घुमघाम गर्ने क्रम बढेको छ । हामी एनआरएनहरुलाई होटलको वार्षिक सदस्यता कार्ड वितरणको तयारी गरिएको छ । ‘हामी मुल्यको आधारमा सिल्भर, गोल्ड र डाईमण्ड मेम्बरसिप वितरण गर्दै छौ । त्यो मेम्बरसिप लिएपछी विदेशबाट नेपाल आउँदा विमानस्थलमा पिक अप, ड्रप अपदेखी रिसोर्टमा ल्याउने र लाने, त्यो क्षेत्रमा घुमाउने अनी आफ्नै घरमा बसे जस्तो महसुस हुने गरी रिसोर्टमा राख्नेछौ,’ उनले भने ।
उनका अनुसार मेम्बरसिप लिएपछी मेम्बरसिपको क्याटागोरीको आधारमा सदस्य र उनका परिवार, नातागोतालाई सेवा निःशूल्क दिइने भएको छ । ‘चर्चित तातोपानी कुण्ड धार्मिक पौराणिक हिसाबले पनि प्रख्यात छ । थुप्रै एनआरएन साथीहरुको आफ्ना माता पितालाई तातोपानी, कालिन्चोक दर्शन गराउने ईच्छा हुन्छ । त्यसका लागी पनि हामीले मेम्बरसिप सुरु गर्न लागेका हौ,’ उनले भने ।
सेयर किन्ने अवसर होटल प्रशासनले संसारभर रहेका एनआरएन लाई १०, २० र ३० लाखको सेयर खरिदको लागि आह्वान समेत गरेको छ । होटल व्यवस्थापनका अनुसार अहिले बितरण गर्न लागिएको १० देखी १५ करोड सेयर संस्थापक हुनेछ । खरिद गरिएको सेयर दुई वर्षपछी फिर्ता लिन चाहेमा होटलले १० प्रतिशत दरमा ब्याज समेत थपेर फिर्ता दिने ग्यारेण्टी गरेको जनाएको छ । वर्षको २० वटा होटलका कोठा त्यस्ता सेयर होल्डरलाई निःशूल्क दिईने छ । त्यस्ता सेयर होल्डरले वर्षमा निःशुल्क प्राप्त गर्ने २० वटा कोठालाई आफु र आफ्ना परिवार आफन्तका लागि प्रायोग गर्न सक्ने छन् ।
सम्पादक\प्रकाशक विजय राम पौडेलले होटल व्यवस्थापकसँग गरेको सम्वादका आधारमा तयार रिर्पोट
काठमाडौं । देशका विभिन्न भू–भागमा शनिबार बिहानैदेखि पानी परिरहेको छ। दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ। प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राति देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।
नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू(भागका धेरै स्थानहरुमा र बाँकी भू(भागका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
काठमाडौं । पार्टी भित्र मन्त्री फिर्ता बोलाउने विषयमा विवाद चर्किदै गएको सन्दर्भमा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन ।
स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि पार्टीबाट सरकारकामा नेतृत्व गरेका मन्त्री हेरफेर गर्ने विषयले अन्य एजेन्डा ओझेलमा परे । बैठक नै बरालिएको थियो । हालका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयका कारण अहिले समाजवादीमा समस्या उत्पन्न भएको छ । मन्त्री र केही सांसदहरू फेरबदलको विपक्षमा उभिएपछि समाजवादीमा समस्या आएको हो । आज बस्ने बैठकमा पनि स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको संगठन विस्तारलगायतका एजेण्डा रहेका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार पछिल्ला २४ घण्टामा गरिएको ३५५५ नमुना परीक्षणमा ४३ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित निको भएका छन् । आज निको भएका १४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ३५७ रहेको छ ।
कूल संक्रमित भएका ९ लाख ७९ हजार ४९९ मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।
त्यसैगरी नेपालमा हाल १८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमा होम आइसोलेशनमा रहनेको संख्या १७७ रहेको छ भने संस्थागत आइसोलेशनमा ४ जनाको उपचार भइरहेको छ । आइसीयुमा २ जना र भन्टिलेशनमा १ जनाको उपचार भइरहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख ५० हजार ६१ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्का-मदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए ।
उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि बिस्तार हुने बताए । हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सहितको उपस्थिति थियो । असार ६ गतेदेखि दैनिक एयर अरेबियाको हवाइजहाजबाट एक टोली हज गर्न गइरहेको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेब्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ ।
महावाणिज्यदूतावासबाट १० जनाको स्वयमसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ । टोलीमा ८ जना डेलिकेट्स् र ३ जना मेडिकल सपोर्ट टीम सहभागी छ । हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कनेछ । मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।
काठमाडौं । नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नारायणी र यसका साना सहायक नदीहरुमा जलसतह बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नुपर्ने भएमा उच्च सतर्कता अपनाउन महाशाखाले सूचना जारी गर्दै आग्रह गरेको हो ।
महाशाखाले जारी गरेको सूचनामा लेखिए अनुसार नारायणी जलाधार क्षेत्रका बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा आज र भोलि जलसतह उल्लेख्य बढेर मध्यम जोखिमको अवस्थासम्म पुग्ने पूर्वानुमान छ । जलसतह बढ्दा कास्की र लमजुङमा आज उच्च जोखिमको अवस्थासम्म पुग्ने महाशाखाले जनाएको छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा जल सतह उल्लेख्य बढ्ने छ ।
काठमाडौं । नेपाल फिफा वरीयतामा आठ स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल आठ स्थान खस्किँदै एक सय ७६औं स्थानमा पुगेको हो । यसअघि नेपाल एक सय ६८औं स्थानमा थियो । नेपाल हालै कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा पराजित भएपछि वरीयता खस्किएको हो । समूह ‘ए’ मा रहेको नेपालले सबै खेलमा हार खेपेको थियो । नेपाल जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० गोलले पराजित भएको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो वरीयतामा छ । नेपालमाथि भारत र माल्दिभ्स रहेका छन् । भारत एक सय चारौं र माल्दिभ्स एक सय ५६औं स्थानमा छ । दक्षिण एसियामा भुटान एक सय ८६औं, बंगलादेश एक सय ९२औं, पाकिस्तान एक सय ९६औं र श्रीलंका दुई सय सातौं स्थानमा छ । विश्व वरीयताको शीर्षस्थानमा ब्राजिल छ । बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छ । शीर्ष १०मा क्रमशः स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क रहेका छन् ।
काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ४.९ किलो लागूऔषध हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । विगतमा केही मानिसहरुलाई पटक(पटक पक्राउ गरेको अनुभवको आधारमा शंकास्पदको पहिचान गरेर अनुसन्धान गर्ने क्रममा झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । उनका अनुसार पक्राउ पर्नेमा तान्जानियन नागरिक अब्दल्ला बुल्लिकक, भारतीय नागरिक मुनिम सिंह, विक्रमजित सिंह र वीरगञ्ज घर भएका नेपाली नागरिक कोबिक्की रौनियार छन् । श्रेष्ठका अनुसार तान्जानियन नागरिकको गतिविधि शंकास्पद लागेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई निगरानी गर्दै बौद्धस्थित एक होटलसम्म पुगेको थियो ।
त्यसक्रममा उनले ल्याएको सुटेकसभित्र झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको हो । हेरोइन लुकाउनलाई उनले सुटकेसभित्र पिँधको भागमा रहेको फल्सबटममा लागूऔषध लुकाएका थिए । पक्राउ परेका भारतीय नागरिक चाहिँ उनीसँग लागूऔषध लिन आएका थिए । ताञ्जिनियन नागकिरले दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौंमा लागूऔषध ल्याएको खुलेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ब्यूरोले जेठ अन्तिम साता पनि विशेष अपरेशन चलाएर ५१ किलो हेरोइनसहित ७ जना महिलालाई पक्राउ गरेको थियो ।
काठमाडौं । नेपाल वायु सेवा निगमको निमित्त महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् । पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो।
कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि उक्त पद रिक्त रहेको थियो ।
यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएका हुन् ।
सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारी निलम्बनमा परेका छन् ।
पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन कोभिड महामारीको बेला अत्यवाश्यक स्वास्थ्य सामग्री ढुवानी गर्न अग्रपङ्तीमा खटिएका थिए ।
आलेले निगमभित्र रहेका १०औं तहका चारजना हुँदाहुँदै नवौं तहका ज्वारचनलाई महाप्रवन्धक बनाएका छन्। यो निर्णयले निगमभित्र असन्तुष्टी चुलिएको छ।
ज्वारचनभन्दा माथि कमर्सियल डाइरेक्टर जनक कालाखेती, क्ववालिटी एस्योरेन्स डाइरेक्टर विक्रम के.सी., इन्जिनियरिङ मेन्टिनेन्स डाइरेक्टर प्रज्वल श्रेष्ठ ,अपरेशन डाइरेक्टर रवीन्द्र कुमार शेरचन छन्।
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिट ब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् ।
जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौैं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवंम् विशेष कमिटी सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर बिहीबार बिहान सवा २ बजे आपसमा ठोक्किएका थिए ।
मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । अर्का युवकको पहिचान भइसकेको छैन। उनीहरुको शव भक्तपुर अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको थियो ।
काबुल । विनासकारी भूकम्पका कारण हजारौं मानिसको ज्यान गएपछि अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको छ । काबुलस्थित युनिसेफ कार्यालयका अनुसार तालिवानले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आह्वान गरेको हो । अफगानिस्तान केही समययता खाद्य संकटसँग जुधिरहेको मुलुक हो । जहाँ प्राकृतिक प्रकोपको मार थपिएसँगै ठूलोृ संकट उत्पन्न भएको हो । यूकेका अफगानिस्तान मामिला सम्बन्धी विशेष प्रतिनिधि नाइजल केइसीले आफ्नो देश संयुक्त राष्ट्रसङ्घसँग सम्पर्कमा रहेको र अन्तर्राष्ट्रिय प्रयासमा सघाउन तयार रहेकोू बताएका छन्।
‘हिजो पाक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गयो। भूकम्पका कारण हाम्रा सयौँ नागरिकको ज्यान जानुका साथै दर्जनौँ घरहरू ध्वस्त भएका छन्,’ सरकारका प्रवक्ता बिलाल करिमीले ट्विटरमा लेखेका छन्। ‘उक्त क्षेत्रमा थप विपद् आउन नदिन तत्काल उद्धार टोली पठाउन हामी दाताहरूलाई आग्रह गर्छौँ,’ उनले भनेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पबाट कम्तिमा १ हजार मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । उद्धारको काम अझै पनि जारी छ । यहा मंगलबार राती मानिसहरु सुतिरहेको समयमा भूकम्प आएको थियो ।