Category: समाचार

  • दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक

    दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक

    तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । २७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो । २७ गते दिउँसो भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो । यस्तै मालबाहक तथा ठूला सवारी साधान २७ गतेदेखि नै बन्द थिए ।

    तर अब सबै प्रकारका गाडी जतिखेर पनि चल्न पाउने स्थानीय प्रशासनले जनाएको छ । मुग्लिन आँबुखैरेनी सडक खुल्ला भए पनि याम्फा फाँट–घाँसीकुवा खण्डमा भने राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरिएको छ । यो सडक मर्मतका लागि भन्दै यसअघि नै रातिको समयमा बन्द गर्ने गरिएको थियो ।

  • महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने, शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिने

    महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने, शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ ।

    सार्वजनिक शौचालय नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो ।

    ‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले भने ।

    काठमाडौं महानगर भित्रका केही संस्थाहरुले आफ्नो शौचालयहरु स्वस्फुर्त रुपमा सर्वसाधरणलाई प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए ।

    यस्ता संस्थाहरुले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधरणलाई पनि प्रयोग गर्न दिने उनले जनाए । शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिईने समेत उनले बैठकमा स्पष्ट पारे ।

    आफ्नो शौचालय सर्वसाधरणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चार/चार महिनामा महानगरले सरसफाई सामाग्री उपलब्ध गराउने उनले बताए ।

  • तीन जलविद्युत आयोजनाबाट आज दिनभर विद्युत उत्पादन नहुने, यस्तो छ कारण

    तीन जलविद्युत आयोजनाबाट आज दिनभर विद्युत उत्पादन नहुने, यस्तो छ कारण

    काठमाडौं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट विद्युत उत्पादन बन्द भएको छ । मर्मत कार्यका लागि विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द भएको हो । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमस्र्याङ्दी–मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द ९सट डाउन० गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द हुने छ ।

    पहिरोले मध्य मर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनस्र्थापना प्रणाली ९इआरएस० जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो । अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ ।

    करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने छ । आइतबार मध्यमस्र्याङ्दीबाट विद्युत उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत निर्यात कम हुने छ । शुक्रबार करिब साढे दुई सय मेगावाट विद्युत निर्यात हुने छ ।

  • हेटौडामा ग्यास बुलेटको ठक्करबाट बाबुछोरीको मृत्यु

    हेटौडामा ग्यास बुलेटको ठक्करबाट बाबुछोरीको मृत्यु

    हेटौडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ पशुपतिनगरमा सवारी दुर्घटनामा परी बावु छोरीको मृत्यु भएको छ । भारतबाट ग्याँस बोकेर आएको एनएल–१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको थियो ।

    प्रहरीका अनुसार घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको छ । ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • धमाधम व्यवस्थापन हुँदै काठमाडौंको फोहोर, शनिबार २३ सय मेट्रिक टन उठ्यो

    धमाधम व्यवस्थापन हुँदै काठमाडौंको फोहोर, शनिबार २३ सय मेट्रिक टन उठ्यो

    काठमाडौं । स्थानीयबासीसँग सहमती जुटेसँगै काठमाडौंबाट फोहोर उठ्न थालेको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा शनिवार करिव २ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। शुक्रवार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएकोमा शनिवार २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको हो ।

    फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध नरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । यही गतिमा काम भएमा केही दिनमै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने महानगरले जनाएको छ ।

  • मामाको हत्या आरोपमा भान्जा पक्राउ

    मामाको हत्या आरोपमा भान्जा पक्राउ

    सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुरमा भान्जाले मामाको हत्या गरेका छन् । बारीमा काम गर्ने क्रममा भएको विवादमा भान्जा लालबन्दी–११, कै ३१ वर्षीय रवि विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् । तरकारी लगाउन माच बनाउने क्रममा विवाद भएपछि रविले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

    प्रहारबाट गम्भीर घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रविलाई नियन्त्रणमा लिएर अनुसन्धान गइरहेको छ । काठमाडौंमा बस्ने रवि नागरिकता बनाउन भन्दै केही दिनअघि मात्रै घर आएका थिए । घर आएपछि रवि मामासँगै मिलेर नातेदार काकाको बारीमा तरकारी खेतीका लागि माच बनाउन खटिएका थिए ।

  • नुवाकोटमा एक व्यक्ति आठ घण्टासम्म प्रसारण लाइनको तारमा चढेपछि..

    नुवाकोटमा एक व्यक्ति आठ घण्टासम्म प्रसारण लाइनको तारमा चढेपछि..

    नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो ।

    शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका ७ स्थित त्रिशुली–मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१२ का माइला विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएका थिए । साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको नुवाकोट प्रहरीले जनाएको छ ।

    नेपाली सेनाको उद्धार टोलीले इक्वीपमेन्टसहित पोलमा चढेर ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । प्रसारण लाइनमा चढेका विक दिनभर तारम झुण्डिएर बस्दा त्रिशुली थ्री ए र यस नजिकका अरु साना जलविद्युत गृह बन्द गरिएको थियो । प्रशारण लाइनमा विद्युत प्रवाह गर्दा दुर्घटना हुने जोखिम भएका कारण करिब ८ घण्टा विद्युत प्रशारण बन्द गरिएको थियो ।

  • काठमाडौंमा ४.७ म्याग्नेच्युटको ठूलो भूकम्पको धक्का

    काठमाडौंमा ४.७ म्याग्नेच्युटको ठूलो भूकम्पको धक्का

    काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । राति २ः३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाई छ । रातको समयमा भुकम्प आएपछि उपत्यकामा मानिसहरु त्रसित बनेका थिए ।

  • पृथ्वी राजमार्गको आबुखैरेनीमा सडक भासिदा ज्यान गुमाएका दुबै जनाको पहिचान खुल्यो

    पृथ्वी राजमार्गको आबुखैरेनीमा सडक भासिदा ज्यान गुमाएका दुबै जनाको पहिचान खुल्यो

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखरस्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको पहिचान खुलेको छ। घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो। सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरेको दिउँसै पहिचान भएको थियो।

    अर्का मृतक मकवानपुर जिल्ला हेटौंडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजतलास कार्यलाई तीव्रता दिइरहेको छ।

    भासिएको सडक विस्तारका लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ। ठूला सवारी पास नहुने भएकाले साना सवारीलाई काम गरेको समयमा रोकेर अन्य समयमा पठाउने गरिएको निरीक्षक नेपालले बताए। रासस

  • यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेको अत्यावश्यक २५ सेवाहरु

    यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेको अत्यावश्यक २५ सेवाहरु

    काठमाडौं । सरकारले अत्यावश्यक २५ वटा सेवामा हड्ताल निषेधित क्षेत्र घोषणा गरेको छ ।

    अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची राजपत्रमा प्रकाशित गरेको हो ।

    हड्ताल गर्न बन्देज लगाइएको क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवालगायत छन् ।

    यस्तै मास्कसम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवा, भेटेनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवा पनि हड्ताल निषेधित क्षेत्र तोकिएको छ ।

    आवश्यक सेवा सञ्चालन ऐनअनुसार निषेध गरिएका सेवामा कुनै व्यक्तिले हड्ताल गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा उसलाई ६ महीनासम्म कैद वा २०० सय रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

    ऐनकै दफा ५ मा निषेध गरिएको कुनै हड्ताल गर्न वा त्यसमा भाग लिन भाग लिइ राख्न कुनै व्यक्तिले अरुलाई दुरुत्साहन गरेमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

  • शुक्रबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

    शुक्रबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । मुलुकका विभिन्न स्थानमा जेठमा लगातार पानी परेको छ । यो क्रम शुक्रबार समेत जारी रहने छ । प्रदेश १, बागमती, गण्डकी र मधेस प्रदेशमा लगातार पानी परिरहेको छ । लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ ।


    आज पनि यी चार प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको तुलनामा मधेस प्रदेशमा केही कम पानी पर्ने छ । चार प्रदेशमा वर्षाले बाढी पहिरोको जोखिम बढाएका बेला तीन प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो छ । आज पनि यी तीन प्रदेशमा घाम चर्किने छ ।

  • पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध, सडक भासियो

    पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध, सडक भासियो

    तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध बनेको छ । गत रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो।

    सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्कालाई उदृत गर्दै राससले लेखेको छ । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए। यसअघि बिहीबार दिनभर नारायणगढ–मुग्लिङ सडक अवरुद्ध बनेको थियो ।

  • काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार सर्वपक्षीय बैठक बस्दै

    काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार सर्वपक्षीय बैठक बस्दै

    काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन बारे शुक्रबार सर्वपक्षीय छलफल हुने भएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दासँग शहरी विकास मन्त्रालयले छलफल गर्न लागेको हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्री समेत सहभागी हुने बैठकमा मन्त्रालयका सचिव, महाशाखा प्रमुख समेत बस्ने छन् ।

    गत सोमबार शहरी विकास मन्त्रालय, उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्र पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच सहमति भएको थियो । तर उक्त सहमतिमा स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर लिएर गएका सवारीलाई रोकिरहेका छन् । फोहोर बोकेको गाडी रोकी अवरोध गर्दा प्रहरीले पक्राउ गरेका बञ्चरेडाँडाका स्थानीयलाई समेत प्रहरीले बिहीबार नै छाडेको छ ।

  • प्रधानमन्त्री र महानगरपालिकाका प्रमुख बालेनबीच भेटवार्ता

    प्रधानमन्त्री र महानगरपालिकाका प्रमुख बालेनबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच बिहीबार पुनः भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो । भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । पछिल्लो समय काठमाडौंको फोहोर उठ्न नसक्दा उपत्यकामा समस्या बल्झिएको छ । उता, बन्चरे डाँडामा स्थानीयको अवरोध जारी रहेको छ । बिहीबार समेत फोहोर उठ्न सकेन ।

  • नेपालमा थप २२ जनामा कोरोना पुष्टि, ९ जना संक्रमण मुक्त

    नेपालमा थप २२ जनामा कोरोना पुष्टि, ९ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १ हजार ६५५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र १ हजार ९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७ पुगेको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार १९१ पुगेको छ । हाल नेपालमा १ सय १२ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

  • काठमाडौंसहित मध्य र पूर्वि नेपालमा अविरल वर्षा जारी

    काठमाडौंसहित मध्य र पूर्वि नेपालमा अविरल वर्षा जारी

    काठमाडौं । काठमाडौं उपत्यकालगायत स्थानमा गत रातिदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार प्रदेश १, मधेश प्रदेश र बागमतीका केही भू–भागमा मेघगर्जन र चट्टयाङसहित वर्षा जारी छ । पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको महाशाखाले बताएको छ।


    महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १ , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    भोलि शुक्रबार पनि प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रहने र बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु तथा मधेश प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको

  • पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

    पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

    चितवन । पहिरोका कारण राजधानी काठमाडौं जोड्ने मूख्य नाका नारायणगढ( मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका(६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको छ । पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा बुधबार राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

  • बुधबार पनि बन्चरे डाँडामा स्थानीयको अवरोध हटेन, फोहोरका गाडी फर्किए

    बुधबार पनि बन्चरे डाँडामा स्थानीयको अवरोध हटेन, फोहोरका गाडी फर्किए

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विर्सन गर्न नुवाकोटको बन्चरे डाँडा साइट तयार भए पनि स्थानीयको अवरोधका कारण बुधबार समेत फोहोर लैजाने प्रयास सफल भएन । बञ्चरेडाँडामा बुधबार बिहान ६ बजेबाटै सडकमा स्थानीयले अवरोध गरेका थिए । अवरोध हटाउन प्रहरीले अश्रुग्यास हानेको थियो । तर, सफल हुन सकेन । सरकारले मंगलबारबाट स्थानीयको सहमतिबेगर बञ्चरेडाँडा डम्पिङ साइटमा काठमाडौंको फोहोर फाल्न सुरू गरेको थियो । प्रहरी र सशस्त्र परिचालन गरेर मंगलबार दिनभरिमा डेढ सय ट्रकभन्दा बढी फोहोर फालिएको थियो। तीस जनाभन्दा बढी स्थानीय पक्राउ परेका थिए ।

    बुधबार फोहोर बोकेका ट्रक तथा टिपर आउने बाटेमा ढुंगा, मुढा र रूखका हांगा काटेर स्थानीयले अवरोध गरेका थिए । बुधबार समेत प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिएको छ । प्रहरी गाउँमा घुसेपछि स्थानीयले डाँडा माथिबाट ढुंगामुडा गरेका थिए । डाँडामाथिबाट ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । दिनभरिको झडप र तनावपछि आखिरमा फोहोर लिएर गएका ट्रक तथा टिपरहरू डम्पिङ साइटसम्म नपुगि फर्किएका छन् ।

    सहरी विकास मन्त्रालयले सिसडोल र बञ्चरेडाँडाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई राखेर सोमबार बञ्चरेडाँडामा फोहोर फाल्ने सहमति गरेको थियो। सम्झौता हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न गराइएको थिएन। आफूलाई सोध्दै नसोधी जनप्रतिनिधिहरूले गुपचुप सम्झौता गरेको भन्दै स्थानीयले मान्न अस्वीकार गरेका छन्।

  • देशभर १६ जना कोरोना संक्रमित थपिए, ८ जना संक्रमणमुक्त

    देशभर १६ जना कोरोना संक्रमित थपिए, ८ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६ जना कोरोना संक्रमित थपिएका छन्।

    पछिल्लो २४ घण्टामा पीसीआरबाट १० र एन्टीजेनबाट ६ जनामा गरि १६ जनामा कोरोना पुष्टि भएको हो। आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ९ जना रहेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज कसैकाे पनि मृत्यु भएकाे छैन ।

    एक दिनमा काेराेना विरूद्धकाे खाेप लगाउनेहरूकाे संख्या १ लाख १६ हजार ३८३ रहेकाे छ।

  • तलबसहित ९८ दिन सुत्केरी बिदा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    तलबसहित ९८ दिन सुत्केरी बिदा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि गरेर ९८ दिन तलबसहितको सुत्केरी बिदा उपलब्ध गराउन सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ ।

    सुरक्षित मातृत्त्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनमा उल्लेख भएअनुसार केही कार्यालयमा बिदा नदिएको भन्ने गुनासो आएका कारण सबैलाई ऐनअनुसार चल्न मन्त्रालयले आग्रह गरेको हो ।

    सुरक्षित मातृत्त्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी, सरकारी र गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीले सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ ।

  • बालेनको अभियानले सार्थकता पाउँदै, नबिल बैंकका यी १८ शाखामा निःशुल्क शौचालय

    बालेनको अभियानले सार्थकता पाउँदै, नबिल बैंकका यी १८ शाखामा निःशुल्क शौचालय

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निजी क्षेत्रमा पनि निःशुल्क सार्वजनिक शौचालय उपलब्ध गराउने अभियानले सार्थकता पाउँदै गएको छ ।

    जेठ १६ गते पदभार सम्हालेसँगै निजी क्षेत्रसँग सहकार्य गर्दै सार्वजनिक शौचालय संचालन गर्ने निर्णय गरेका थिए । त्यसपछि विभिन्न कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थाहरुले पनि धमाधम आफ्नो शौचालय निःशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेका छन् ।

    यसैबीच, नबिल बैंकले काठमाडौंको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो ।

    केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, क्षेत्रपाटी मार्ग, चावहिल, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंकमा सर्वसाधारणले निःशुल्क शौचालय गर्न पाउनेछन्।

    शौचालयको मर्मत सम्भार, सरसफाइ, पानीको व्यवस्था बैंकले नै गर्नेछ ।

  • बुधबार मुलुकका विभिन्न स्थानमा वर्षा हुने, यस्तो छ मौसमी पूर्वानुमान

    बुधबार मुलुकका विभिन्न स्थानमा वर्षा हुने, यस्तो छ मौसमी पूर्वानुमान

    काठमाडौं । बुधबार मुलुकको अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको प्रभाव देखिएको छ। महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव छ।

    प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थान, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने

    असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने

    काठमाडौं । नेपालमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । असार पहिलो साता देखि कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको हो । जेठभरमा खोप नेपाल ल्याउने र त्यसपछि लगाउने तयारी मन्त्रालयले गरेको हो । फाइजर पेडियाट्रिक खोप नेपाल आउने भएको छ । ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गर्ने तयारी छ ।

    पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिने मन्त्रालयको तयारी छ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।

    सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं.१ बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशबाट काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लामा खोप बाड्ने भएको छ । लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर र डडेलल्धुरामा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

  • नागढुंगा नाकाबाट प्रहरीले समात्यो झण्डै चार करोड नगद, पाँच जना पक्राउ

    नागढुंगा नाकाबाट प्रहरीले समात्यो झण्डै चार करोड नगद, पाँच जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। नुवाकोट बिदुर नगरपालिका ८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चार जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

    मंगलबार बिहान साढे ९ बजे चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगा नाकामा बिएबी ५७१० नम्बरको कारलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो। सो कार नुवाकोटबाट काठमाडौं आउँदै थियो। सो कारको डिक्कीबाट प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७२० रुपैयाँ बरामद गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको समेत जनाएको छ ।

  • सहमतिपछि पनि बन्चरे डाँडामा स्थानीयको अवरोध जारी, बल प्रयोग गरेर फालियो फोहोर

    सहमतिपछि पनि बन्चरे डाँडामा स्थानीयको अवरोध जारी, बल प्रयोग गरेर फालियो फोहोर

    काठमाडौं । संघीय सरकार, स्थानीय सरकार र सरोकारवाला स्थानीयबीच सहमति जुटेपछि पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि मंगलबार बन्चरे डाँडामा प्रहरी परिचालन गरेर फोहोर फालिएको छ । काठमाडौंबाट फोहोर बोकेर गएका सवारीलाई स्थानीयले अवरोध गरेका थिए । उनीहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरेको छ । मंगलबार १५७ वटा गाडीमा लगेको फोहोर फालिएको हो । सोमबार शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग वञ्चरेडाँडाबासीका तर्फबाट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका जनप्रतिनिधिले सहमति गरेका थिए ।

    सो सहमतिपछि मंगलबार १५७ वटा गाडी फोहोर फाल्न वञ्चरेडाँडातर्फ जाँदा स्थानीय वासिन्दाले वञ्चरेडाँडा आसपासको क्षेत्रमा अवरोध गरेका थिए । उनीहरुले जनप्रतिनिधिले गरेको सहमतिप्रति आपत्ति जनाउँदै फोहोर फाल्न नदिने अडान लिएका थिए । केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् । तर प्रहरी परिचालन गरेर प्रदर्शनमा उत्रिएकालाई लाठीचार्ज र नियन्त्रणमा लिएर ट्रकहरु ल्याण्डफिल साइटमा पुर्‍याइएको थियो । मंगलबार प्रहरी पचिारलन गरिएपनि बुधबार के हुन्छ भन्ने अन्यौल जारी छ ।

  • कित्ताकाटमा कडाइ : ५०० वर्ग मिटरभन्दा कमका जग्गाको प्लटिङमा रोक

    कित्ताकाटमा कडाइ : ५०० वर्ग मिटरभन्दा कमका जग्गाको प्लटिङमा रोक

    काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा कडाइ गरेको छ । कृषियोग्य जमिन खण्डीकरण गर्ने क्रम बढेसँगै त्यसलाई नियन्त्रण गर्न सरकारले कित्ताकाटमा कडाइ गरेको हो ।

    अब काठमाडौं उपत्यकामा घर बनाउनका लागि १३० वर्गमिटर अर्थात ४ आना भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू उपयोग नियमावली २०७९ सरकारले राजपत्रमा प्रकाशित गर्दै सो व्यवस्था लागु गरेको हो ।

    राजपत्रमा उल्लेख व्यवस्था अनुसार अब काठमाडौं उपत्यकामा कृषि क्षेत्रको रुपका तोकिएको जग्गालाई झन्डै १ रोपनी अर्थात् ५०० वर्गमिटर (१५ आना २ पैसा )भन्दा कम क्षेत्रफल हुने गरी टुक्र्याउन नपाउने व्यवस्था गरेको छ । १ रोपनीमा ५०८.७२ वर्गमिटर हुन्छ ।

    तर आकार वा क्षेत्रफल नमिलेको अवस्थामा सीमानाको अर्को कित्तासँग मिलान गर्न मिले कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै ५०० वर्गमिटरभन्दा सानो कित्ताको हकमा पनि चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न पाइने छैन ।

    नियमावलीमा काठमाडौं, तराई र मधेशबाहेक पहाडी तथा हिमाली भेगमा भने १ हजार वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने उल्लेख छ ।

    कुनै कित्ताको आकार र क्षेत्रफल अमिल्दो भई सिमानानाको अर्को कित्ताकाट निश्चित क्षेत्रफल समावेश गरी प्लट मिलन गर्न उपयुक्त देखिएमा सोको प्लट मिलानको लागि कित्ताकाट गर्न सकिनेछ । त्यसरी प्लट मिलान गर्दा सम्बन्धित कित्तामै गाभिने गरी गर्नुपर्नेछ ।

  • अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरुको भेला हुने, सम्मेलनको तयारी अन्तिम चरणमा

    अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरुको भेला हुने, सम्मेलनको तयारी अन्तिम चरणमा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला हुने भएका छन्।

    एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको उक्त सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने भएका छन्।

    एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलन विश्वका सय भन्दा बढी देशमा रहेका नेपाली स्वास्थ्यकर्मी एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन्।

    एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्कालर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो। सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ ।

    समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा आइतबार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ। डा. सापकोटाको संयोजत्वमा गठित सो समितिमा डा राजु अधिकारी (अष्ट्रेलिया), नन्द गुरूङ (अष्ट्रेलिया), डा सुनिल साह (युके), डा बोधराज सुवेदी (पोल्याण्ड), डा शिवप्रसाद श्रेष्ठ (नेपाल), डा पदम सिम्खडा (युके), डा सागर पौडेल (नेपाल), चाँदनी जेशवाल (नेपाल), एलिजा केसी (जापान), डा नितेश अर्याल (कतार), डा ओम कुर्मी (युके), डा अलिनी पोखरेल सुवेदी (पोल्याण्ड), डा लुसुन चालिशे (जापान), डा प्रभात अधिकारी (नेपाल), डा प्रकाश श्रेष्ठ (अमेरिका), डा शर्मिला गुरुङ (हङकङ), श्री प्रसुना कँडेल (युके), डा पुष्पराज भट्टराई (दक्षिण अफ्रिका), डा अनुज कँडेल (अमेरिका), मनुजा केसी (अष्ट्रेलिया), अनिशा भण्डारी (नेपाल), डा. चिरन्जीबी भट्टराई (अमेरिका), डा. उत्तम गाउँले (अमेरिका), बाबुराजा महर्जन (न्यूजिल्याण्ड), श्रेया गजुरेल (अमेरिका), डा. सुहेल सापकोटा (नेपाल), रिना केसी (अष्टेलिया) रहेका छन् ।

    बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका सल्लाहकार हेमराज शर्माले सम्मेलनलाई भव्य रुपमा सफल बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्।

    संघका उपमहासचिव डा. देवी बस्नेतले एनआरएनए स्वास्थ्य समितिले एनआरएनएको नाम उच्च स्तरमा राखेको र सिङ्गो नेपाली समुदायले समितिप्रति गर्व गरेको बताए ।

    सम्मेलनको सल्लाहकारमा हेमराज शर्मा, गौरीराज जोशी, डा केशव पौडेल, यास्मिन बेगम सैयद, फणिन्द्र पन्त, डा सन्ध्या चापागाईं (नेपाल ), डा.शरद मान ताम्राकार (अस्ट्रेलिया) छन्।

    सम्मेलनको लागि मिडिया समिति समेत गठन भएको छ । सम्मेलनको मिडिया संयोजनको जिम्मा चिरन शर्मा (युके) भगिरथ योगी (युके) इन्द्रलक्ष्मी घिमिरे (नेपाल) शुभद्रा ढकाल (नेपाल) र हेमन्त काफ्ले (अस्ट्रेलिया) लाई दिइएको छ ।

    ‘विगतका वर्षमा जस्तै अष्ट्रेलियामा हुने सम्मेलनमा, विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरुको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाको घोषणा, साझेदारसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि हुनेछ,’ डा सापकोटाले भने।

  • तीन महिनादेखि नियमित उठ्न नसकेको फोहोर आजबाट उठ्ने

    तीन महिनादेखि नियमित उठ्न नसकेको फोहोर आजबाट उठ्ने

    काठमाडौं । काठमाडौंमा पछिल्लो तीन महिनायता नियमित उठ्न नसकेको फोहोर आजबाट उठाइने भएको छ । काठमाडौंको फोहोर अब बञ्चरेडाँडा डम्पिङ साइटमा जाने छ । सहरी विकास मन्त्रालयमा सोमबार अबेर भएको सहमतीपछि फोहोर उठ्ने भएको हो । वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति जुटेको थियो । सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरिएको छ ।

    अब हरेक दिन बञ्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुरिने भएको छ । दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सिफारिसका आधारमा १० दिनभित्र रासायनिक वा जैविक उपचारको विधि पनि लागू गरिनेछ। साउन १ देखि भने कुहिने र नकुहिने फोहोर स्रोतमै छुट्टयाएर नकुहिने खालका फोहोर मात्र डम्पिङ साइटमा लैजाने सहमति समेत जुटेको छ । काठमाडौं महानगरपालिकाले अब हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न सूचना जारी गर्दैछ ।

  • जन्मदिन मनाउन बोलाएर १६ वर्षे किशोरीमाथि बलात्कार गरेको अभियोगमा प्रेमीसहित सात पक्राउ

    जन्मदिन मनाउन बोलाएर १६ वर्षे किशोरीमाथि बलात्कार गरेको अभियोगमा प्रेमीसहित सात पक्राउ

    बाँके । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । मानखोलाको जङ्गलमा पाँचजना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

    इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शङ्कास्पदरूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटनाबारे खुलेको हो ।

  • काठमाडौंमा कल सेन्टर संचालनमा, १६६००१,०५५११ मा सम्पर्क गरी गुनासो टिपाउन सकिने

    काठमाडौंमा कल सेन्टर संचालनमा, १६६००१,०५५११ मा सम्पर्क गरी गुनासो टिपाउन सकिने

    काठमाडौं । काठमाडौं महानगरपालिकामा कल सेन्टर संचालनमा आएको छ । नागरिकका गुनासो व्यवस्थापन तथा सोधपुछ गरी त्यसको समाधान गर्ने गरी यस्तो केन्द्र सञ्चालनमा ल्याइएको हो । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । काठमाडौंबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा ल्याएको भन्दै महानगरका मेयर बालेन्द्र साह(बालेन)ले जनताले प्रश्न सोध्न पाउनुपर्ने बताए ।

    उनले महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि कलसेन्टर ल्याएको बताएका छन् ।। महानगरले निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सकिनेछ । कल सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने छ । काठमाडौं महानगरका अनुसार गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं. फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् ।

    त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रुपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमयस र इमेल पठाउँछ । इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्वीर, भौगोलिक नक्सा तथा विवरण समावेश हुने छ ।