Category: समाचार

  • नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि,८ जना संक्रमण मुक्त

    नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि,८ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ३२४८ नमुना परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरी सोहि अवधिमा ८ जना संक्रमण मुक्त भएका छन् । आज निको भएका ८ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार १४५ जना संक्रमण मुक्त भएका छन् ।

    नेपालमा हाल १०९ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै जना होम आइसोलेसनमा रहेका छन् । साथै आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

    त्यसैगरी नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको ज्यान गएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख २७४ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको पनि मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।

  • मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?

    मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?

    काठमाडौं । सत्ता गठबन्धनबीच तत्काल मन्त्री नफेर्ने सहमति भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको शीर्ष नेताहरुको बैठकमा तत्काल मन्त्रीहरु नफेर्ने सहमति भएको हो।

    नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । सो निर्णयपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेका हुन् ।

    आइतबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्ना मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइ मेटमणि चौधरी, भवानी खापुङ ,जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई नयाँ मन्त्रीमा सिफारिस गरेको थियो।

    पार्टीको निर्णयविरुद्ध आफ्ना मन्त्रीहरुले प्रचण्ड र प्रधानमन्त्री देउवासँग यथावत रहन दिएको दबाबप्रति अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।

    मन्त्री परिवर्तनको विषयलाई लिएर एकीकृत समाजवादीमा विवाद बढेको छ । आफूहरूलाई फिर्ता बोलाउने निर्णयप्रति बहालवाला मन्त्रीहरूले चर्को असन्तुष्टि जनाएका छन् ।

    मन्त्री बन्न ठिक्क परेकाहरूले जसरी पनि पुराना मन्त्री फिर्ता बोलाउनुपर्ने अडान राखेका छन् । यो विवादबारे पार्टीको बैठक बोलाएर छलफल गर्ने अध्यक्ष माधव नेपालले तयारी गरेका छन् ।

  • सरकारले बलात्कार मुद्दामा तत्कालै हदम्याद नबढाउने

    सरकारले बलात्कार मुद्दामा तत्कालै हदम्याद नबढाउने

    काठमाडौं । सरकारले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद तत्काल नबढाउने भएको छ ।

    सोमबार प्रतिनिधिसभाकाे बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले प्रचलित कानुनमा रहेको हदम्यादसम्बन्धी व्यवस्था तत्काल पुनर्विचार हुन नसक्ने बताएका हुन् ।

    एउटा घटनालाई लिएर हदम्यादसम्बन्धी सार्वजनिक बहस सुरु हुनेवित्तिकै हदम्यादमा पुनर्विचार गर्न नसकिने उनको भनाई छ । ‘हदम्यादका कारण न्यायबाट वञ्चित हुन नपरोस् भन्ने यहाँहरुको भावनामा सरकार गम्भीर छ । त्यसैले यो बारेमा पब्लिक डिबेट सुरु हुनेवित्तिकै सरकारले सिरिसयली लिएर नेपाल कानुन आयोगलाई यस विषयमा अध्ययन गर्न भनेको छ’ उनले भने ।

    कानुन आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, विभिन्न मुलुकको हदम्यादसम्बन्धी प्रावधान र नेपालको सामाजिक परिवेशसमेत हेरेर प्रतिवेदन दिने र त्यस आधारमा मात्र सरकारले पुनर्विचार गर्न सक्ने मन्त्री बन्दीले बताए । आजको बैठकमा सांसदहरुले हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् ।

  • ‘इम्बोस्ड नम्बरमा नागरिकलाई तर्साउने काम तत्काल पुनरावलोकन होस्, नभए जनताले अवज्ञा गर्छन्’

    ‘इम्बोस्ड नम्बरमा नागरिकलाई तर्साउने काम तत्काल पुनरावलोकन होस्, नभए जनताले अवज्ञा गर्छन्’

    काठमाडौं । नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री गगन थापाले इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै आपत्ति जनाएका हुन् ।

    ‘यातायात मन्त्रालयले दण्ड र जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने काम गरेको छ,’ सांसद थापाले आज प्रतिनिधि सभा बैठकमा भने, ‘जवरजस्तीलाई बन्द गरियोस् होइन भने नागरिकले अवज्ञा गर्छन्। त्यसअघि सरकारले पुनर्विचार गरोस्।’

    उनले इम्बोस्ड नम्बर छिमेकी देशहरूमा भन्दा नेपालमा पाँच/छ गुणा महँगो भएको गुनासो नागरिकहरूबाट आइरहेको पनि बताए।

    ‘साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे देखाइदिन्छु भनेर जुन किसिमले धम्की दिएको छ, धम्कीको भाषा गलत छ खारेज गर्नुपर्छ। तत्काल पुनरावलोकन होस्,’ उनले भने, ‘पूर्वाधार तयार गरियोस्, नागरिकलाई सास्ती नहोस्। जनशक्ति थपियोस्।’

    नामकरण टुंगिएको प्रदेशमा गत मंसिर महिनादेखि इम्बोस्ड नम्बर प्लेट लागु गर्ने गरिएको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ ।

    समयमा काम नगर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका उनले जनतालाई सास्ती दिने काम भने बन्द गर्नुपर्ने बताए । जोडिएका एम्बोस्ड नम्बर प्लेट पनि गुणस्तरीय नरहेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका लागि इम्बोस्ड नम्बर जडान गर्ने हो भने राज्यले पनि आर्थिकभार व्यहोर्नुपर्ने बताए ।

  • रोकिएन् शेयर बजारको आरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    रोकिएन् शेयर बजारको आरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ।

    लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

    बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ ।

    लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

    नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा आइतबार प्रधानमन्त्री देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका थिए।

    समस्या समाधानको पहलमा लाग्न निर्देशन दिँदासमेत शेयर बजारमा सुधार देखिन सकेको छैन। साताको कारोबारको पहिलोदिन आइतवार नेप्से १२.९२ अंकले घटेर २०६५.७८ विन्दुमा आइपुगेको छ ।

    यसदिन २२८ कम्पनीको १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँ बराबरको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ ।

    शुक्रवार १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको परिसूचक घटेको छ ।

    माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ०.५४ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह २.०१ प्रतिशतले घटेको छ । दोहोरो अंकले घटेको बजारमा आज हिमालयन बैंकको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, महुली लघुवित्त ७.६६, नेपाल लाइफ र मनकामना स्मार्ट लघुवित्त ३.९२, गुँरास लघुवित्त ३.८६, ग्लोबल आइएमई बैंक ३.६१, अजोड इन्स्योरेन्स, एशियन लाइफ, सिभिल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य साढे २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    घट्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरकोयसका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    आज एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंक पौने ७ करोड र नेपाल लाइफको साढे ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • ‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन’ गर्ने प्रस्ताव सर्वसम्मतिले पारित

    ‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन’ गर्ने प्रस्ताव सर्वसम्मतिले पारित

    काठमाडौं । प्रतिनिधि सभाबाट यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको थियो ।

    आज प्रतिनिधि सभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो प्रस्ताव पेस गरेका थिए। प्रस्तावमाथि सदनमा भएको छलफलमा सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए।

    ती प्रश्नहरूको उत्तर दिने क्रममा मन्त्री कोइरालाले यौन हिंसासम्बन्धीका कसुरको हदम्यादका सम्बन्धमा सांसदहरूले उठाएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए।

    नेपाल कानुन आयोगलाई हदम्याद बढाउँदा देखा पर्ने सकारात्मक र नकारात्मक परिणामबारे अध्ययनका लागि अनुरोध गरिएको र सो आयोगले प्रस्तुत गर्ने प्रतिवेदनलाई समेत आधार मानेर हदम्यादको प्रावधानलाई आवश्यकताअनुसार सुधार गरिने विश्वास उनले व्यक्त गरे।

    हदम्यादकै कारण न्यायबाट कोही पनि पीडिट वञ्चित हुनुनपरोस् भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोचिरहेको उनको भनाइ थियो।

  • आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिन नपाउँदै फेरिने भए समाजवादीका मन्त्री

    आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिन नपाउँदै फेरिने भए समाजवादीका मन्त्री

    काठमाडौं । प्रतिनिधिसभामा सोमबारबाट आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा मन्त्रालयगत छलफल सुरु हुँदैछ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने लागेको हो । संसद् सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेठमाथि छलफल हुने कार्यसूची छ ।

    सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ । जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ । मन्त्रीहरूको जवाफपछि बजेट पारित गर्ने प्रावधान रहेको छ । तर, यो बजेटमा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुले जवाफ दिन नपाउने भएका छन् । पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागेको छ । सम्भवतः सोमबार नै नयाँ मन्त्रीहरुले सपथ लिने छन् ।

  • इस्टोनियामाथि मेसी एक्लैले गरे ५ गोल

    इस्टोनियामाथि मेसी एक्लैले गरे ५ गोल

    काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी अहिले उच्च लयमा छन् । नजिकिएको विश्वकप र उनको लयका कारण समर्थक भने उत्साहित छन् । आफ्नो उत्कृष्ट लय कायम राख्दै आइतबार उनले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा इस्टोनियाविरुद्ध एक्लैले ५ गोल गरेका छन् । यो खेलमा अर्जेन्टिना ५–० ले विजयी भयो । आठौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले ४५, ४७, ७१ र ७६ औं मिनेटमा गोल गर्न सफल भए ।

    अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई ३–० ले हराउँदा २ गोलका लागि सहयोग गरेका थिए । उनी दुबै खेलमा प्लेयर अफ दी म्याच चुनिए । आइतबारकै अन्य मैत्रीपूर्ण खेलमा कोलम्बियाले साउदी अरेबियालाई र पेरुले न्युजिल्यान्डलाई समान १–० ले हरायो । नेसन्स लिगका खेलमा भने पोर्चुगलले स्विट्जरल्यान्डलाई ४–० ले हरायो । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । स्पेन र चेक गणतन्त्र २–२ को बराबरी खेलेका छन् ।

  • पहाडी भेगका साना नदीमा जल बहाव बढ्दै, सतर्क रहन आह्वान

    पहाडी भेगका साना नदीमा जल बहाव बढ्दै, सतर्क रहन आह्वान

    काठमाडौं । नेपालमा मनसुन प्रवेश गरेको छ । वर्षात सामान्यभन्दा बढी हुन थालेको छ । सोमबार पहाडी भेगमा बग्ने साना प्रकृतिका नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सोमबार बिहान बाढीको एलर्ट सार्वजनिक गर्दै महाशाखाले देशका प्रमुख र मझौला प्रकृतिका नदीमा भने जलको वहाव सामान्य रहने बताएको छ । झापा, सुनसरी, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, लमजुङ, गुल्मी, पाल्पा र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव बढी हुने बताइएको छ ।

  • युक्रेनको राजधानी किएभमा रुसले पुनः थाल्यो आक्रमण

    युक्रेनको राजधानी किएभमा रुसले पुनः थाल्यो आक्रमण

    काठमाडौं । युक्रेनी राजधानी किएभमा हप्तौँपछि रुसले पहिलो पटक आक्रमण गर्दा विभिन्न ठाउँमा विस्फोटन भएका विवरण आएका छन्। आइतवार सबेरै गरिएका ती हमलापछि आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो भने लगत्तै आपत्कालीन सेवाका अधिकारीहरू परिचालित भएका थिए। कम्तीमा एक जना व्यक्ति घाइते भएका खबर आएको छ। रुसी फौजहरू पूर्वी युक्रेनको रहेको डोनबास क्षेत्रमा केन्द्रित हुँदा हालैका महिनाहरूमा किएभमा आक्रामक गतिविधिहरू रोकिएका थिए।

    अहिले सबैभन्दा भीषण लडाइँ सेभरोडोनेट्स्क सहरमा भइरहेको छ। युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले त्यहाँको अवस्था ज्यादै कठिन रहेको भन्दै गल्लीगल्लीमा लडाइँ भइरहेको जनाएका छन्। उक्त सहरलाई नियन्त्रणमा लिनसकेमा लुहान्स्क क्षेत्र रुसी फौज र उसका स्थानीय पृथकतावादी साझेदारहरूको नियन्त्रणमा पुग्नेछ। ती समूहले नजिकैको डोनेट्स्क क्षेत्रका लगभग अधिकांश क्षेत्र नियन्त्रणमा लिइसकेका छन्। पूर्वी युक्रेनमा रहेका सेभरोडोनेट्स्क र अरू सहरहरूमा निरन्तर हवाई हमलाहरू, गोलाबारी र क्षेप्यास्त्र आक्रमणहरू गरिएका भए पनि युक्रेनी फौजले डटेर सामना गरिरहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

    शनिवार लुहान्स्कका गभर्नरले युक्रेनी फौजहरू अझै पनि सेभरोडोनेट्स्कमा लडिरहेको र उनीहरूले पश्चिमा साझेदारहरूले सहयोग स्वरूप उपलब्ध गराएको अस्त्रहरू कुरिरहेको बताएका थिए। लडाइँका कारण सेभरोडोनेट्स्कका अधिकांश क्षेत्र भग्नावशेषमा परिणत भएका छन् तर हजारौँ सर्वसाधारणहरू अझै पनि घरका भूमिगत भागमा लुकेर बसेका छन्। गभर्नर हाईडाईका अनुसार रुसी फौजहरूले युक्रेनलाई थप सैन्य सामग्री ल्याउनबाट रोक्न र सर्वसाधारणहरूलाई मानवीय सहायता उपलब्ध गराउन नदिन नदीमा निर्मित पुललाई ध्वस्त बनाइरहेका छन्।

    गएको फेब्रुअरीको अन्त्यमा रुसले युक्रेनविरुद्ध हमला गरेयता दशौँ हजार मानिसहरूले ज्यान गुमाएका छन् भने दशौँ लाख विस्थापित भएका छन्। युद्धविराम गराउने कूटनीतिक प्रयासपनि यो बीचमा अघि बढाइएका थिए। युक्रेनी राजधानी किएभमा जनजीवन सामान्य जस्तो बन्न थालिरहेको देखिएको थियो। बीबीसी

  • नेपाली सेनाको नेतृत्वमा हिमालबाट ३३ टन फोहोर संकलन

    नेपाली सेनाको नेतृत्वमा हिमालबाट ३३ टन फोहोर संकलन

    काठमाडौं । नेपाली सेनाले विभिन्न चार हिमालबाट ३३ टन भन्दा बढी फोहोर संकलन गरेको छ। आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित सफा हिमाल अभियान २०२२को समापन कार्यक्रममा चार वटा अग्ला हिमालबाट ३३ टन बढी फोहोर संकलन गरेको जनाएको हो। नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लुबाट ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको हो।

    सफा हिमाल कार्यक्रमको उद्घाटन गत चैत २२ गते भएको थियो। सो कार्यक्रम आइतबार विश्व वातावरण दिवसको उपलक्ष्यमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका थिए। हिमाल सफा गर्न सेनाका ३० जना र ४८ जना शेर्पाको टोली खटिएको थियो। त्यस्तै चार जना चिकित्सकहरू समेत खटिएका थिए। सगरमाथा लगायत हिमालबाट कुहिने र नकुहिने दुई थरी फोहोरको संकलन गरिएको थियो। जसबाट कुहिने ७ हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो फोहोर निकालेको हो।

    कुहिने र नकुहिने फोहोरको व्यवस्थापन छुट्टाछुट्टै गरिएको थियो। अझै केही फोहोरको व्यवस्थापन गर्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाले सगरमाथा(ल्होत्से सफा गर्न ५५ दिन लगाएको थियो। यस्तै कञ्चनजंगा सफा गर्न ४४ दिन र मनास्लु सफा गर्न ४३ दिन लागेको थियो। नेपाली सेनाको टोलीले यस वर्ष दुई वटा मानव कंकाल समेत फेला पारेको छ। कञ्चनजंगा हिमाल सफा गर्न गएको टोलीले सो कंकाल फेला पारेको हो।

    दुइवटैको कानुनी प्रक्रिया अघि बढाएर व्यवस्थापन गरिएको सेनाले जनाएको छ। सफा हिमाल अभियानको यो तेस्रो चरण हो। सन् २०१९ देखि सुरू भएको यो अभियान २०२०मा कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो। त्यसयता यो अभियान हरेक वर्ष हुँदै आएको छ। सेनाको टोलीले सन् २०१९ मा १० टन र २०२१मा २७ टन फोहोर संकलन गरेको थियो।

  • अब बिदाको दिन सरकारी गाडी चलाउन अनिवार्य पास चाहिने

    अब बिदाको दिन सरकारी गाडी चलाउन अनिवार्य पास चाहिने

    काठमाडौं । अब सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने भएको छ । सार्वजनिक बिदाका दिन पनि सरकारी गाडी चल्ने क्रम बढेपछि गृह मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

    सरकारले इन्धन जोगाउन भन्दै जेठ १ गतेदेखि परीक्षणका रुपमा हप्तामा दुई दिन आइतबार र शनिबार सार्वजनिक बिदा लागू गरेको छ ।सोसँगै इन्धन खपत घटाउन भन्दै गृहले सार्वजनिक बिदाका दिन सवारी नचलाउन भनेको हो । अत्यावश्यक कामका लागि चलाउनु पर्ने भएमा पास लिएर मात्रै चलाउन पाइने मन्त्रालयले जनाएको छ ।

    अब बिदाका दिन सरकारी गाडी चलाउनु पर्ने भएमा केन्द्रमा मन्त्रालय, आयोग, प्रतिष्ठान वा अन्य निकायको हकमा सम्बन्धित निकायको सचिवबाट जारी भएको पास लिनुपर्नेछ ।

    त्यस्तै, प्रदेशस्तरमा प्रदेश सरकारका सचिवस्तरको निर्णयबाट माग गरी प्रमुख सचिव, जिल्ला तहमा कार्यालय प्रमुखको निर्णयले माग गरी प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।

    यो व्यवस्था चाँडै कार्यन्वयनमा ल्याइने गृह मन्त्रालयले जनाएको छ ।

  • बालुवाटार पुग्यो एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीकाे नाम, क-कसले पाउँदैछन् देउवा सरकारमा इन्ट्री?

    बालुवाटार पुग्यो एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीकाे नाम, क-कसले पाउँदैछन् देउवा सरकारमा इन्ट्री?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

    आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम देउवालाई बुझाएको हो ।

    सहरी विकास मन्त्रालयमा मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ।

    त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उनको ठाउँमा केसीलाई ल्याइएको हो।

    यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।

  • नेता कार्यकर्ताबाट वार्षिक १०० रुपैयाँ उठाउने माओवादी निर्णय

    नेता कार्यकर्ताबाट वार्षिक १०० रुपैयाँ उठाउने माओवादी निर्णय

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट रु १०० का दरले लेवी उठाउने भएको छ ।

    माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन् । त्यसबाट रु आठ करोड बराबरको रकम सङ्कलन हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एकपटकका लागि उक्त परिमाणमा रकम सङ्कलन गर्ने निर्णय गरेको हो ।

    बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयका अलावा हालै सम्पन्न स्थानीय तहको निर्वाचन, पार्टीका अन्य कामलगायत विषयमा छलफल भएको थियो । माओवादी नेता हरिबोल गजुरलेका अनुसार समसामयिक राजनीतिक विषयका अलावा पार्टीको भ्रातृ सङ्गठन अखिल(क्रान्तिकारी) भित्र देखिएको केही असन्तुष्टिका बारेसमेत छलफल भएको थियो ।

    गत पुसमा माओवादीले आठौँ महाधिवेशन सम्पन्न गरेको भए पनि हालसम्म पदाधिकारी चयन हुन सकेका छैनन् । त्यसबारेमा पनि बैठकमा सामान्य चर्चा परिचर्चा भएको बताइएको छ । पदाधिकारी छिट्टै टुङ्गोमा पु¥याएर पार्टीको सङ्गठन विस्तार तथा सङ्घीय र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुने माओवादीले स्पष्ट पारेको छ ।

  • २४ घण्टे अल्टिमेटम दिएर एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो

    २४ घण्टे अल्टिमेटम दिएर एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

    सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने निर्णय गरेको हो ।

    एकीकृत समाजवादीका तर्फबाट अहिले विरोध खतिवडा, प्रेम आले, राकुमारी झाँक्री, किसान श्रेष्ठ मन्त्री छन् भने भवानी खापुङ राज्यमन्त्री छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाँदा नेता व्यवस्थापनका लागि आलोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिका आधारमा सबै मन्त्री फिर्ता बोलाइएका जनाइएको छ ।

    पार्टी स्रोतका अनुसार मन्त्रीहरू फिर्ता हुने बित्तिकै नयाँ मन्त्री चयन गरिने छ । पहिलो चरणमा मन्त्री बन्न नपाएका मेटमणि चौधरी, जीवनराम श्रेष्ठलगायत मन्त्रीको दौडमा अगाडि छन् ।

  • रुपन्देही बस दुर्घटना अपडेट:  ५ जनाको सनाखत

    रुपन्देही बस दुर्घटना अपडेट: ५ जनाको सनाखत

    भैरहवा । रुपन्देहीस्थित रोहिणी खोलाको पुलबाट खोलामा झर्दा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ जनाका पहिचान खुलेको छ । गृह मन्त्रालयका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमाका विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्षप्रसाद बस्याल र भारतीय नागरिक अरविन्द शर्माको निधन भएको छ । बसमा सवार ३३ जना नै घाइते छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८९१ नम्बरको बस आइतबार बिहान ४ बजेर ४५ मिनेट जाँदा खोलामा खसेको थियो ।

    मृतकमध्ये १ महिला र ८ पुरुष रहेक छन् । उता, गृहमन्त्री बालकृष्ण खाँणले दुर्घटनाका घाइतको उपचारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् । उनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी यस्तो निर्देशन दिएका हुन् । चालक निदायका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

  • अनुशासन कमिटिले घनश्याम भुसाललाई कारवाही सिफारिस गर्नुको कारण के हो ?

    अनुशासन कमिटिले घनश्याम भुसाललाई कारवाही सिफारिस गर्नुको कारण के हो ?

    काठमाडा । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरेसँगै एमाले वृत्तमा पुनः तरगं सिर्जना भएको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको हो । । पार्टीको सचिवालयको बैठकबाट पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको र उनी घनश्याम भुसाल रहेको एक नेताले बताए ।

    पार्टीमा बसेर पार्टी, अध्यक्ष , महाधिवेशन र नीतिको विरुद्धमा बोलेको भन्दै यस्तो निर्णय भएको नेताहरुले बताएका छन् । स्थानीय चुनावपछि जेठ ८ मा हिमालय टेलिभिजनबाट प्रसारण भएको यक्ष प्रश्न कार्यक्रममा अन्तरवार्ता दिँदै भुसालले अध्यक्ष ओलीको आलोचना गरेका थिए । त्यहाँ उनले एमाले भनेकै ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएको बताएका थिए ।

  • रुपन्देहीमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु

    रुपन्देहीमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु

    बुटजल । परासी–भैरहवा सडकखण्डमा पर्ने रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलमा बस दुर्घटनामा परी ९ जनाको मृतयु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ । आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।

    घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतकमध्ये एक महिला र ८ जना पुरुष छन् । उनीहरूको पहिचान खुलिसकेको छैन । घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार जारी छ । दुर्घटनाको कारण खुलेको छैन ।

  • नेपालमा थप १६ जनामा कोरोना पुष्टी

    नेपालमा थप १६ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८४ नमुना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । ९५७ पीसीआर परीक्षणमा ८ जना र एक हजार २२७ एन्टिजन परीक्षणमा पनि ८ जना नै संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने ९ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११० रहेको छ । मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

  • काठमाडौं महानगरपालिकाका मेयर बालेनले भेटे प्रचण्डलाई

    काठमाडौं महानगरपालिकाका मेयर बालेनले भेटे प्रचण्डलाई

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । मेयर साह शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटका क्रममा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका हुन् ।

    भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए । मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । मेयर निर्वाचित भइसकेपछि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटेका छन् ।

  • रुकुम पूर्वमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

    रुकुम पूर्वमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

    काठमाडौं । रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका(४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम-पूर्वले जानकारी दिएको छ । मृत्यु हुनेमा सिस्ने ४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम९पूर्व० का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार दुई जना घाइते भएका छन् ।

    घाइतेकोे रुकुम-पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक खत्रीले भने, ‘ट्र्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । सडकदेखि तल पनि खसेको छैन तर दुईदुई जनाको ज्यान गएको छ । ट्र्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको नि हुनसक्छ, झर्ने बेलामा आत्तिएको नि हुनसक्छ ।’घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
    रासस

  • रुस-युक्रेन युद्धको १०० औं दिन पुरा

    रुस-युक्रेन युद्धको १०० औं दिन पुरा

    काठमाडौं । युक्रेनमा रुसको युद्ध सुरु भएको एकसय दिन पुगेको छ । युक्रेनका राष्ट्रपतिले आफ्नो देशले गरिरहेको प्रतिरोधको प्रशंसा समेत गरेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, जित हाम्रो हुनेछ ।’ क्रेम्लिनले चाहिँ रुसले उपलब्धि हासिल गरिरहेको बताउँदै आफ्ना उद्देश्य हासिल नहुँदासम्म पछि नहट्ने जनाएको छ। किएभमा राष्ट्रपति कार्यालय अगाडि उभिएर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रवार एउटा मार्मिक भिडियो सार्वजनिक गरे। भिडिओमा जेलेन्स्कीको आसपास युक्रेनका प्रधानमन्त्री सहित उनका केही निकट सहकर्मीहरू थिए।

    भिडिओमा उनले भने, ‘युक्रेनका सशस्त्र फौज समेत यहाँ छन्।।।हाम्रो देशका नागरिकहरू समेत यहाँ छन्। हामीले युद्धको प्रतिरोध अहिलेसम्म १०० दिन गरिसकेका छौँ। जित हाम्रो हुनेछ। युक्रेन जिन्दाबाद।’
    रुसले अतिक्रमण सुरु गरेको एक दिनपछि २५ फेब्रुअरीमा समेत जेलेन्स्कीले ठ्याक्कै त्यही ठाउँबाट उस्तैखाले भिडिओ सार्वजनिक गरेका थिए। त्यसपछि पश्चिमा देशहरूबाट उनलाई उद्धार गरेर देशबाहिर लैजान आएको प्रस्तावलाई अस्वीकार गर्दै आफूलाई त्यस्तो सवारीको सहायता नभइ हतियार चाहिएको बताएका थिए। सय दिनपछि युद्ध जारी रहँदा उनी आफ्नो पदमा कायम छन्।

    यसैबिच नेटोका प्रमुख येन्स स्टोलटेनबर्गले पश्चिमा देशहरूलाई लामो यात्राको लागि तयार रहन सजग गराएका छन्। युक्रेन सङ्कटका लागि राष्ट्रसङ्घीय संयोजक अमिन अवादले यस युद्धमा विजेता न अहिले कोही छ न कहिल्यै हुनेछ, भनेका छन्। दक्षिण रुसको सोची शहरमा पुटिनलाई भेटेका सेनेगलका राष्ट्रपतिले युद्धले सिर्जना गरेको खाद्य अभावबारे सोच्न भनेका छन्।

    अफ्रिकी सङ्घका अध्यक्ष समेत रहेका म्याकी साललाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले पुटिनले युद्धमैदानबाट पर रहेका देशहरू पनि आर्थिक तहमा पीडित बनिरहेको बुझ्नुपर्ने जनाएको छ। क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोफले भने मस्कोले भन्ने गरेको सैन्य कारबाहीको एउटा मुख्य लक्ष्य स्वघोषित डोनेट्स्क र लुहान्स्क गणराज्यमा मानिसहरूलाई सुरक्षित राख्नु रहेको बताएका छन्। हालसम्म रुसी फौजहरूले युक्रेनको २० प्रतिशत भूभागमा नियन्त्रण जमाएका छन्।

    BBC

  • एमालेलाई अर्थमन्त्रीको जवाफ-‘संविधानमा ५/७ महिनाका लागि बजेट ल्याउने व्यवस्था लेखिएको भए त्यसै गर्नहुन्थ्यो, यो पूर्ण बजेट हो’

    एमालेलाई अर्थमन्त्रीको जवाफ-‘संविधानमा ५/७ महिनाका लागि बजेट ल्याउने व्यवस्था लेखिएको भए त्यसै गर्नहुन्थ्यो, यो पूर्ण बजेट हो’

    काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले हरेक सरकारले जस्तोसुकै अवस्थामा पनि बार्षिक बजेट नै प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताएका छन्।

    शुक्रबार संसदमा बजेटमाथिको छलफलका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले संविधानमा पाँच वर्षका लागि बजेट ल्याउने व्यवस्था नरहेको बताएका हुन्।

    बजेटमाथिको छलफलका क्रममा एमालेका सांसदहरुले चुनावी सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना गरेका थिए । त्यसको जवाफ दिने क्रममा अर्थमन्त्रीले भने, ‘संवैधानिक व्यवस्थाअनुसार बजेट प्रस्तुत गरेको छु । पाँच महिनाको लागि लेखिएको भए त्यसै गर्नहुन्थ्यो, ७ महिनाका लागि लेखिएको भए त्यसै गर्नहुन्थ्यो। त्यो संवैधानिक व्यवस्था भेटिएन, त्यसैले याे पूर्ण बजेट हाे।’

    उनले नयाँ नेतृत्वको सरकार आएपनि बजेटले उथलपुथल नहुने बताएका छन्। ‘अध्यादेशबाट आएको बजेट हामी कार्यान्वयन गरिरहेका छौं । अहिले पेश गरेको बजेट पनि पछि आउने सरकारले कार्यान्वयन गर्छ,’ उनले भने।

    उनले तोकिएकै समयमा चुनाव हुनेमा सरकार प्रतिवद्ध रहेको र त्यसका लागि बजेट विनियोजन गरिएको बताए।

  • स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको निर्देशन-‘ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्’

    स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको निर्देशन-‘ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्’

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरेका छन् । स्थानीय जनप्रतिनिधिसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

    ‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् र त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्’ उनले भने, ‘स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउने प्रयास गर्नुस ’ स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पुरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।’

    स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि जानकारी दिए ।

    मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थमन्त्रालयमा भेटमा पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि निर्देशन दिए ।

    ‘कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्न समेत आग्रह गरेका छन् ।
    ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउन सुझाव दिए ।

    उनले भने जनप्रनिधि पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।’

    संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।

    त्यस्तै प्रत्येक हप्ता जनताको बीच गएर अन्तरक्रिया, भेटघाट र सामिप्यता बढाउन सुझाव दिए ।

    मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यहरुलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास–योजनाका बारेमा जिल्लास्तरका कर्मचारीहरुसँग छलफल गर्न, जनप्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सो भन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

  • शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

    शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको माग अनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन् ।

    काठमाडौँ विश्वविद्यालयको दोस्रो चरणको २७औँ दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविश्य सुनिश्चित गर्न नसकिने बताए ।

    प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

    यसका लागि विश्वविद्यालयलाई आवश्यक पर्ने सहयोग र सहजीकरणका लागि सरकार तयार रहेको पनि उनले बताए ।

    प्रधानमन्त्री देउवाले काठमाडौँ विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मुलुकको शिक्षा क्षेत्रको प्रतिष्ठा प्रवद्र्धन गरी विश्वमा पुर्‍याउन सहयोग पुगेको बताएका छन् ।

    उनले विश्वव्यापीरुपमा फैलिएको कोभिड– १९ को महामारीका बीचमा पनि आफ्ना शैक्षिक क्यालेण्डर अनुसार कार्यक्रमलाई निरन्तरता दिएको र बौद्धिक जनशक्तिको पलायनलाई रोक्न सीपयुक्त जनशक्ति उत्पादनमा लागेको भन्दै विश्वविद्यालयको भूमिका प्रशंसनीय रहेको बताए ।

    प्रधानमन्त्री देउवाले आगामी दिनमा मुलुकभित्र रहेको खनिज पदार्थ परिचालन, प्रशोधन तथा जलविद्युत् व्यवस्थापन र जलवायु न्यूनीकरण, जैविक वनस्पतीय जडीबुटीको खोज र अनुसन्धान क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक सामाजिक विकासमा थप टेवा पुर्‍याउन पनि विश्वविद्यालयलाई आग्रह गरे ।

    साथै उनले अन्तर्राष्ट्रियस्तरमा पहुँच पुर्‍याउने काममा थप अग्रसर हुन पनि विश्वविद्यालयलाई आग्रह गरे । सो समारोहमा यहाँबाट यस अवधिमा विभिन्न कार्यक्रमबाट दीक्षित भएका एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्याण्ड र जर्मनी गरी नौ देशका १५७ जना छन् ।

    सो विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विश्वविद्यालयबाट ३८ हजार ३३६ जना उत्तीर्ण भएका जानकारी दिए ।

  • पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २६ जनामा संक्रमण पुष्टि भएको हो।

    ५ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

    चार हजार ५२८ जनाको पिसिआर र एक हजार ७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १११ जना सक्रिय संक्रमित छन्।

    शुक्रबार ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

  • ‘देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाऔं’-गगन थापा

    ‘देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाऔं’-गगन थापा

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउन माग गरेका छन्।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उक्त कुरा बताएका हुन् ।

    महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराए। ​

    संसद् चलिरहेको बेलामा म माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहान्छु, पेट्रोलियम ऐन चाहियो हामीलाई’, उनले भनेका छन्, ‘पेट्रोलियम ऐन लिएर आयौं भने बल्ल हामीलाई बाटो देखाउँछ।’

    थापाले सरकारले १० वर्ष भित्र डिजेल, पेट्रोल र एलपी ग्याँसमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताए । तत्कालका लागि चाहिँ कुनै विकल्प खोजेर पेट्रोलियम पदार्थको मूल्य थप घटाउनु पर्ने उनको भनाई छ ।

    ‘नेपाललाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त देश बनाउन आजकै मितिबाट महत्त्वकांक्षी योजनाका साथ लाग्यो भने बाँच्छौँ हामी”, थापाले भने, “अहिले कतै कर घटाउने भन्दा पनि यसको दीर्घकालीन उपाय भनेको यसबाट मुक्त अर्थात् पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउने हो ।’

    थापाले आयातित इन्धन विस्थापन गर्ने नीतिसँगै तत्कालका लागि चाहिँ मर्मत, प्रदूषण शुल्क घटाएर भए पनि मूल्य घटाउनुपर्ने बताए । ‘यो उपाय शुरू गर्ने हो, अहिलेको लागि आज १० रूपैयाँ घटाइएको छ, अन्य घटाउने ठाउँ छन् भनेर त्यहाँबाट घटाएर भए पनि राहत दिनका लागि आग्रह गर्न चाहन्छु”, उनले भने ।

    उनले भने, ‘कोभिड र त्यसपश्चात रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तराष्ट्रिय बजारमा जसरी मूल्य आकासिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ ।

    यसले आउने दिनहरू झनै चुनौतिपूर्ण हुने संकेत गरिरहेको छ । त्यसकै आधारमा भारतले अब जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ ।

  • तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

    तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

    काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गर्ने काम बिहीबार सम्पन्न भएको छ । आइतबार पोखराबाट मुस्ताङ जाँदै गर्दा तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो । दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो । दुर्घटनाको कारण खोज्न सरकारले छानविन आयोग गठन गरेको छ ।

  • दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन

    दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन

    काठमाडौं । देशभर अविरल वर्षातका बीच आजैका दिन काठमाडौंबाट २१ वर्षअघि एक सनसनीपूर्ण, दुखद र अविश्सनीय खबरले विश्वभर तरंग फैलिएको थियो । नेपालमा राजतन्त्रलाई धेरै मानिसहरु भगवान विष्णुको अवतार मान्थे । दरबार भित्रका दाउपेचबारे पढ्दै र सुन्दै आएका जनताले आधुनिक युगमा यतिसम्मको विभत्स घटना हुन्छ भन्ने कल्पना भने गरेका थिएनन् । २०५८ साल जेठ १९ गते राती ९ बजे नारायणहिटीस्थित दरबारमा तत्कालिन राजा वीरेन्द्र र उनको सम्पूर्ण वंशको हत्या भएको हो ।

    दरबार हत्याकाण्डको आज ठ्याक्कै २१ वर्ष पुगेको छ । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यको पर्दामै छ । छानविन आयोगले तत्कालिन राजकुमार दीपेन्द्रबाट यो घटना भएको बताउँछ । तर, आम मानिस भने यो स्वीकार गर्न तयार छैनन् ।

    नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भएको थियो । यो घटना नेपालमा राजतन्त्र अन्त्य हुने विविध कारणमध्ये निर्णय बन्न पुगेको थियो । अहिले नारायणहिटी दरबार सङ्ग्रहालय बनाइएको छ ।

  • बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

    बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

    बारा । बारामा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुका साढे ९ बजे बिरनाथ घरदेखि ५०० मिटर पश्चिमपट्टी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घाँस काट्न जान्छु भनी हिँडेका उनी बेलुका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेका थिए । खोज्दै जाने क्रममा पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

    बुधबार साँझ पौने ५ बजे बाराको कलैया उपमहानगरपालिका–१६ मझौलिया टोल बस्ने यस्तफा अन्सारी टोलकै ४÷५ जना बच्चाहरुसँग मिया टोलस्थित पोखरीमा पौडी खेल्न गएका थिए । त्यसक्रममा यस्ताफा पानीमा डुबेका थिए । घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेका थिए । उपचारको क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।