Category: समाचार

  • नेपालमा ५६४ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

    नेपालमा ५६४ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७७८ नमूनाको पीसीआरमा ४१८ र १६६७ नमूनाको एन्टिजेनमा १४६ जना गरी कूल ५६४ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ३९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६९ हजार ४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३९२९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ ।

  • गृहले भन्यो-‘अलपत्र पर्ने क्रम बढ्यो, भिजिट भिसाको प्रलोभनमा विदेश गएर काम नगर्नू’

    गृहले भन्यो-‘अलपत्र पर्ने क्रम बढ्यो, भिजिट भिसाको प्रलोभनमा विदेश गएर काम नगर्नू’

    काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसाको प्रलोभनमा परेर विदेश गएर श्रम नगर्न आग्रह गरेको छ। अलपत्र पर्ने क्रम बढ्दै गएपछि गृहले बुधबार विज्ञिप्त जारी गर्दै उक्त आग्रह गरेको हो ।

    विदेशमा रोजगारीका लागि जाने नेपालीहरुले सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान आग्रह गरेको हो।

    भिजिट भिसामा विदेश गएर काम गर्दा बिमा, क्षतिपूर्ति, राहतलगायतका सुविधाबाट वञ्चित हुने भएकाले अलपत्र परेका नेपालीहरुलाई उद्दारमा समेत कठिनाइ हुने गृहले स्पष्ट पारेको छ।

    नेपाली नागरिकहरू भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायत विभिन्न कठिनाइहरू भोगिरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ।

    भिजिट भिसामा विदेश गएर काम गर्ने गरेको हुँदा अलपत्र पर्ने क्रम बढिरहेको मन्त्रालयको भनाई छ।

    ‘भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएकोले विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी भिजिट भिसामा विदेशमा जाँदा काम नपाउने, अलपत्र पर्ने क्रम बढिरहेको छ,’ मन्त्रालयले भनेको छ।

    यसरी समस्यामा परेका मानिसहरूको उद्धार गरी फिर्ता ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत कुनै कानुनी आधार नरहेको हुँदा त्यस्ता व्यक्तिहरू झन् कठिनाइमा पर्ने मन्त्रालयले बताएको छ।

    स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्रका नागरिक विदेश भ्रमण वा रोजगारीका सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरुको अभिलेख राख्न आग्रह गरेको छ।

  • एसईईको नतिजा सार्वजनिक, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)

    एसईईको नतिजा सार्वजनिक, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)


    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। एसईई बोर्डले बुधवार नतिजा सार्वजनिक गरेको हो ।

    कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

    नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका बोर्डले जनाएको छ । उनीहरुले ३.६ देखि ४ जीपीए ल्याएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। यो कूल परीक्षार्थीको १.९४ प्रतिशत हो।

    यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यसैगरी २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यसैगरी २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ जना रहेको छ ।

    यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ जना रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० जना रहेको छ । परीक्षामा २२ हजार ६४० जना अनुपस्थित रहेको थियो ।

    यस्ता छन् नतिजा हेर्ने सजिलो तरिका

    विद्यार्थीको सहजताका लागि एसईई परीक्षाको नतिजा हेर्न आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था गरिएको छ । SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३ वा १६०० मा एसएमएस पठाएर थाहा पाउन सकिने छ ।

    त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्तालर १६०० डायल गरेर पनि आफ्नो एसईईको नतिजा थाहा पाउन सक्ने छन् । यी बाहेक विभिन्न वेबसाइट र एपबाट समेत एसईईको नतिजा थाहा पाउन सकिने छ ।

    राष्ट्रिय परीक्षा बोर्डको एसईईको वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, खल्ती, निमा एकेडेमी, इकान्तिपुर डटकम, दि कनेक्ट प्लस, इडियु सञ्जाल, नेपाल टेलिकम र रिडर्स पोइन्टको वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने छ ।

  • नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । मंगलवार ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बरबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये व्यापार बाहेक बाँकी सबैको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ ।

    जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने नेष्डा लघुवित्त र जाल्पा लघुवित्तका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, युनिभर्सल पावर र युनियन हाइड्रो ८.८९, लिबर्टी इनर्जी ८.१७, महुली लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, समिट लघुवित्त, शिवश्री हाइड्रोपावर, रिभर फल्स पावर, गणपति लघुवित्त र बुद्धभूमि नेपालका शेयरधनीले ७ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

    नेप्सेका अनुसार आज कुमारी धनवृद्धि योजनको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।

    अरुण कावेलीको १२ करोड ३५ लाख र गुराँस फाइनान्सको ८ करोड ९२ लाखको कारोबार भएको छ ।

  • चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी, सतर्कता अपनाउन आग्रह

    चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकाको तीन जिल्लासहित नुवाकोटको ककनीमा समेत हैजाको संक्रमित भेटिएका छन् । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी भएको हो ।

    काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको हो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा आठ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई तथा नागार्जुन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एकरएकजनामा हैजा संक्रमण देखिएको छ ।

    यस्तै, ललितपुरको ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एकजनामा हैजा पुष्टी भएको छ । भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एकरएकजनामा हैजा देखिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा पनि एकजनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

    उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको संख्या बढ्दै आएको छ।

    काठमाडौं, ललितपुर महानगरले पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

  • ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिएपछि…

    ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिएपछि…

    काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहानबा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो।

    सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस अनियन्त्रित भई ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डीआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ।

    बस पल्‍टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले जनाएको छ। बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो।

    उक्त बस ट्याक्सीमाथि पल्टिँदा बसका यात्रुसहित ३ जना घाइते भएको प्रहरीले जनाएको । उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

  • तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द

    तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द

    बर्लिन । तलव बढाउन माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले हडतालको घोषणा गरेपछि लुफ्थान्सा एयरका १ हजार भन्दा बढी उडान रद्द भएका छन् । बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द भएको कम्पनीले जनाएको छ । समाचार संस्था एपीका अनुसार ‘ग्राउन्ड स्टाफ’ले गरेको हडतालका कारण डेढ लाखभन्दा बढी यात्रुको उडान रद्द भएको छ । एयरलाइन्सले फ्रान्कफर्टबाट छ सय ७८ र म्युनिखबाट तीनसय ४५ उडान रद्द गरेको जनाएको छ । मंगलबार समेत फ्रान्कफर्टबाट ३२ र म्युनिखबाट १५ उडान रद्द भएको छ ।

    लुफ्थान्साले फ्रान्कफर्ट उडान रद्द गर्दा ९२ हजार र म्युनिखको अवरोधले उडान नहुँदा ४२ हजार यात्री प्रभावित हुने बताएको छ । एयरलाइन्सले प्रभावितहरूलाई सम्पर्क गर्ने र सम्भव भएसम्म वैकल्पिक उडानको व्यवस्था गर्ने जनाएको छ । यद्यपि उसले वैकल्पिक उडानमा सबैलाई समेट्न सकिने सुनिश्चितता गरेको छैन । उपलब्ध सीटमा यात्रीलाई उनीहरूलाई गन्तव्यसम्म पु¥याउन प्रयास गरिने बताइएको छ । विमान कम्पनीले हडतालका कारण बिहीबार र शुक्रबार उडान रद्द वा ढिलाइ पनि हुनसक्ने जनाएको छ ।

    करिब २० हजार कर्मचारीले तलब वृद्धिको माग गर्दै सोमबार एकदिवसीय हडतालको घोषणा गरेका थिए । युरोपभरका विमास्थलमा कर्मचारी अभाव र यात्रीको चाप बढिरहेका बेला लुफ्तान्साका कर्मचारीको हडतालले जटिलता थपेको छ । यात्रीको बढ्दो चापले गर्दा सुरक्षा जाँचमा अवरोध भएको छ भने यात्रीका लामा लाइनले विमानस्थल साघुँरो भएको छ । मुद्रास्फीति बढ्दै जाँदा फ्रान्स, स्वीडेन, नर्वे र डेनमार्कमा स्क्यान्डिनेभियन एयरलाइन्सका पाइलटले उच्च तलबको माग गर्दै हडताल गर्दा अन्तिम समयमा उडान रद्द गर्नुपरेको छ ।

  • पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने

    पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने

    काठमाडौं । देशका विभिन्न स्थानमा मंगलबार रातीबाट अविरल वर्षा भइरहेको छ । काठमाडौं र यसबाट पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो ३\४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै ठाउँमा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा थप ठूलो पानी पर्न सक्ने अनुमान गरिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको छ । डुबान भइरहने होचा ठाउँ र साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पूर्वी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, मधेस प्रदेश र प्रदेश(१ मा वर्षा भइरहेको हो । आज राति पनि पानी पर्ने अनुमान गरिएको छ

  • एसईई परीक्षाको रिजल्ट सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

    एसईई परीक्षाको रिजल्ट सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी छ । दिउँसो २ बजे बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेछ । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका थिए ।

    परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् । नतिजा ग्रेड अनुसार नै सार्वजनिक गरिने छ । ९० र सोभन्दा माथि अंक ल्याउनेलाई ए प्लस, ८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउनेलाई ए, ७० र सोभन्दा माथि तर ८० भन्दा कम अंक ल्याउनेलाई बी प्लस तथा ६० र सोभन्दा माथि तर ७० भन्दा कम अंक ल्याउनेलाई बी ग्रेड दिइने छ । ५० र सोभन्दा माथि ६० भन्दा कम अंक ल्याउनेलाई सी प्लस र ४० र सोभन्दा माथि तर ५० भन्दा कम अंक ल्याउनेलाई सी ग्रेड दिइने राष्ट्रिय परीक्षा बोर्डले उल्लेख गरेको छ ।

    एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

  • सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना

    सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना

    काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार जरिवाना गर्ने निर्णय गरेको छ। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना हुने निर्णय गरेको हो।


    रौतहट मलोहिया–५ का राजीव दासले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो। दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्साशास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो ? यससम्बन्धी व्यवस्था कस्तो छ ? लगायतको सूचनाको प्रमाणित प्रतिलिपि माग गरेका थिए । सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त कार्यालयसँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता दासले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए ।

    पुनरावेदन दर्तापछि कार्यालय प्रमुख जोशीलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीका बारेमा सजग गराइएको साथै चेतावनी दिँदासमेत प्रमुखले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। निज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराइ संविधानप्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले जरिवानाको निर्णय गरेको हो।

    सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम २० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त गुरुङले जानकारी दिए । आयोगले गरेको जरिवाना फैसला कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६ (७) बमोजिम जरिवाना असुलउपर गरी आयोगलाई जानकारी दिनु भन्दै जिल्ला प्रशासन कार्यालयलाई पठाउने आदेश दिएको छ।

    साथै पुनरावेदकले मागेको सूचना उपलब्ध गराउनु, परीक्षा नियन्त्रक जोशीलाई विभागीय कारबाही गरी आयोगलाई जानकारी दिनु भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई लेखी पठाउने आदेश पनि आयोगले दिएको छ। आयोगकोे निर्णयउपर चित्त नबुझेमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३४ बमोजिक जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न जानु भन्दै आदेश जारी गरिएको गुरुङले बताए । रासस

  • बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

    बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

    नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।

  • स्थानीय तह निर्वाचनमा आयोगको खर्च ५ अर्ब ४ करोड

    स्थानीय तह निर्वाचनमा आयोगको खर्च ५ अर्ब ४ करोड

    काठमाडौं । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले मात्र ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च गरेको छ । निर्वाचन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा सो रकम खर्च भएको जानकारी गराएको हो । निर्वाचनको सुरक्षासम्बन्धी खर्च यसमा जोडिएको छैन । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा प्रति मतदान केन्द्र खर्च दुई करोड २९ लाख ५९८ रहेको छ । त्यस्तै प्रति मतदाता खर्च भने २८४ रहेको छ ।

    आयोगका अनुसार यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको भन्दा कम हो । ०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनमा आयोगले सात अर्ब ८० करोड १४ लाख ४९ हजार १२१ रुपैयाँ खर्च गरेको थियो । त्यस्तै स्थानीय तह निर्वाचनमा सात अर्ब १५ करोड ७७ लाख १९ हजार ९६२ रुपैयाँ खर्च गरेको थियो ।

  • अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर, तर मान्छे चिनिएनन्

    अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर, तर मान्छे चिनिएनन्

    काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्नए गठन भएको संसदीय छानविन विशेष समितिले नेपाल प्रंहरीबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको सिलबन्दी मंगलबार खोलेको छ । जसमा प्रहरीले सीसीटीभी क्यामराको डिलिट भएको अंश समेत रिकभर भएको छ । तर, रिकभर भएको फुटेजमा मान्छे भने नचिनिने अवस्था आएसँगै अन्ततः समिति नै अन्यौलमा पुगेको छ । मंगलबार यसबारे समितिको बैठक दुई पटक बसेको छ ।

    पहिलो पटक बसेको बैठकमा समितिका सदस्यहरु आफैले भिडियो हेरेका थिए । ५० भन्दा बढी फुटजबारे कुनै भेउ नपाएपछि उनीहरुले नेपाल प्रहरीको विशेषज्ञ टीमसँग पुनः छलफल गरे । छलफलमा विज्ञ टीमले रिकभर गर्दा धेरैजसो गुणस्तर मेटिइसक्ने भएकाले गुणस्तरीय फुटेज आउन नसक्ने जानकारी समितिलाई गराएका हुन् । समिति अब प्रतिवेदन लेखनमा लाग्ने छ । समितिले शर्मासहित मन्त्रालयका अधिकारी, पत्रकार तथा अन्य सरोकारवालासँग यसबारे छलफल गरिसकेको छ । तर, आरोप पुष्टी गर्ने कुनै प्रंमाण भने भेटाएको छैन ।

  • नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

    नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

    काठमाडौं । सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको छ । कानूनी रुपमा यस अघि नै प्रतिवन्ध लागेको भएपनि प्रयोगमा भने निषेध गरिएको थिएन । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि सरकार भदौ १ देखि फेरि कडाइ गर्ने भएको छ । कोरोना महामारीमा कानून कार्यानन्वयन फितलो बनेको थियो । सरकारले २०७८ असोज १९ मै राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो।

    ०७८ माघ १७ को मन्त्रिपरिषद निर्णयले प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धीको नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न कार्ययोजना नै स्वीकृत गरेको थियो। ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदीहरू प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको पनि विभागले बताएको छ। विभागले भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोग गर्नेलाई वातावरण संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिनेसमेत चेतावनी दिएको छ।

  • सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

    सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

    काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर किच्दा ३ जनाको मृत्‍यु भएपछि सडक छेउका २१ वटा रुख काटेर पन्छाइएको छ । जिल्ला प्रहरी कार्यायालय भक्तपुरका अनुसार डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले सल्लाघारी सडक क्षेत्रका रुख काटेका हुन् । सोमबार मात्र डिभिजन वन कार्यालय भक्तपुरले बिहानै ४ बजेदेखि २१ वटा रुख काटेर पन्छाएको हो ।

    आइतबार सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको थियो । घटनामा १२ जना घाइते भएका थिए ।

    भक्तपुर नगरपालिका(२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा, स्कुटर चालक सर्लाही हरिवन नगरपालिका ४ घर भएका ४५ वर्षीय राजकुमार भुजेल र भक्तपुर नगरपालिका-७ घर भई चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ५५ वर्षीय न्हुच्छेराम बखत्योको रुखले च्यापेर मृत्यु भएको थियो। घाइतेहरूको इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार जारी छ ।

  • एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष

    एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष

    काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनी केही महिना अगाडीमात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।

    केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छनोट गरेको थियो । उनले कांग्रेस प्रवेश गरेपछि प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेका थिए ।

  • इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

    इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका ५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका(७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका थिए ।

    खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल र धितालको शव ३ किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • नेपालमा थप ५६८ जनामा कोरोना पुष्टी, ९५ जना संक्रमण मुक्त

    नेपालमा थप ५६८ जनामा कोरोना पुष्टी, ९५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०८४ नमूनाको पीसीआरमा ४३५ र १७१६ नमूनाको एन्टिजेनमा ११५ जना गरी कूल ५६८ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८४ हजार ७५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ९५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३५३४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको छ ।

  • गायिका दिलमायाको हत्या अभियुक्त जेल चलान

    काठमाडौं । लोक गायिका दिलमाया सुनारको हत्या अभियोगमा पक्राउ परेका खिलबहादुर श्रेष्ठलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

    जिल्ला अदालत काठमडौंले आइतबारको बहसपछि उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । असार ११ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारस्थित कोठामा उनी मृत भेटिएकी थिइन् ।

    घटना आत्महत्या नभएर हत्या भएको विभिन्न कोणबाट पुष्टि भएपछि प्रहरीले घटनामा संलग्न भएको अभियोगमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका घर भएका श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

    घटना भएको भोलिपल्ट प्रहरीले श्रेष्ठलाई काठमाडौंको नेपालटारबाट नियन्त्रणमा लिएको थियो । प्रहरीको अनुसन्धानमा श्रेष्ठ दिलमायाको कोठामा श्रीमान् भनी ७/८ महिनादेखि सँगै बस्ने गरेको खुल्न आएको छ। श्रेष्ठको बयानअनुसार राति ८ बजे दिलमायाको कोठामा गएर बिहान ४ बजे घटना घटाई फरार भएको प्रहरीको भनाइ छ । जिल्ला अदालतको आदेशपछि श्रेष्ठलाई पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जानकारी दिएको छ।

  • भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले लिइन् शपथ

    भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले लिइन् शपथ

    काठमाडौं । भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मुले आज शपथ लिएकी छिन् । मुर्मु आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो भारतीय महिला हुन् ।

    शपथपछि मुर्मुलाई २१ तोपको सलामी दिइएको छ । उनले राष्ट्रका नाममा सम्बोधन गरेपछि र पदभार ग्रहण गर्ने छिन् ।

    सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट मुर्मु राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । मुर्मु विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

    उडिशाको मयुरभञ्ज जिल्लामा जन्मेकी मुर्मु झारखण्डको अल्पसंख्यक सन्थाल जनजाति समुदायकी महिला हुन् । सन् १९५८ जुन २० मा जन्मिएकी मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यप्रमुख बनेकी थिइन् ।

  • पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

    पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

    पाल्पा । पाल्पाको लघुवामा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जना र घाइते सबैको पहिचान भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागि आइरहेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनामा परेको थियो ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीया ओमकला थापा छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार दुर्घटनामा चालक सहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये म्याग्दीकी सुमित्रा रोका र देवदहका खड्क बहादुरको अवस्था गम्भीर छ ।

    घाइते हुनेहरुमा बस चालक रुपन्देही कञ्चन गाउँपालिका वडा ५ का ३३ वर्षीय किसन श्रीस, बाग्लुङ बडीगाड गाउँपालिका वडा नं १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरका ५५ वर्षीय गोविन्द थापा, गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं ८ मझुवाकी १८ वर्षीया प्रियंका काफ्ले छन् । चन्द्रकोट गाउँपालिका वडा नं ८ मझुवाकीकै २१ वर्षीया रचना सुवेदी, सोही ठाउँकै ६ वर्षीया रिया सुवेदी, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी पनि घाइते भएका छन् ।

    अन्य घाइतेहरुमा कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं २ का ४२ वर्षीय पिताम्बर रेग्मी, गुल्मी सत्यवती गाउँपालिका वडा नं ६ खैरेनीका ३५ वर्षीय छविलाल ढकाल, सोही ठाउँकै १५ वर्षीय पुजन ढकाल, बाग्लुङ ढोरपाटन नगरपालिका वडा नं १ का ३० वर्षीय टेकलाल रसाइली, रौतहटको बृन्दावन गाउँपालिका वडा नं ७ का २८ वर्षीय संजयकुमार ठाकुर, म्याग्दी रुपा गाउँपालिका वडा नं ४ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँकै ४ वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका वडा नं ७ का खड्क बहादुर विक छन् । उनीहरुको पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार जारी छ ।

  • श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

    श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

    चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरी घरको तीन तलामाथिबाट हाम फाल्दा श्रीमान्‌को पनि ज्यान गएको छ । गम्भीर घाइते भएका श्रीमान्‌–श्रीमती दुवै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिकन १० रमाइलो चोकमा आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५ वर्षीया श्रीमती रूष्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरेका थिए ।

    आफ्नै घरको तीन तलामाथिको बैठक कोठामा खुकुरी प्रहार गरेर आचार्य हाम फालेर भाग्न खोजेका थिए । घरायसी विवादका कारण सो घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ । रूष्मालाई पुरानो मेडिकल कलेजको शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले पौने ११ बजेतिर मृत घोषणा गरेका थिए ।

    तीन तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएका कृष्णप्रसाद आचार्यलाई उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको पनि राति ११ बजे निधन भएको हो । आचार्य केही महिना अगाडी मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

  • सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्मै धक्का

    सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्मै धक्का

    काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित काठमाडौं र अन्य छिमेकी जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ ।

  • अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

    अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

    अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ । पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । गएराति १ बजेतिर पहिरो खसेको थियो । ओछ्यानमा सुतिरहेकाहरु पहिरोमा पुरिएका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।

  • सुन्दरीजलमा खोलामा वेपत्ता किशोर मृत फेला

    सुन्दरीजलमा खोलामा वेपत्ता किशोर मृत फेला

    काठमाडौं । काठमाडौंको सुन्दरीजलमा खोलामा खसेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । हिजो शनिवार खोलामा खसेर बेपत्ता भएका कपनका १६ वर्षका शुभमश्री प्रधानको शव आज आइतवार फेला परेको प्रहरीले जनाएको छ । प्रधान साथीहरूसँग सुन्दरीजल घुम्न गएका थिए । मृत फेला परेका प्रधान हिजो शनिवार दिउँसो ढुङ्गामा बसेर फोटो खिचाउने क्रममा चिप्लिएर खोलामा खसेका थिए ।

  • ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा,  १५० युवा-युवती पक्राउ

    ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ

    बुटवल । रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरका सञ्चालकसहित १५० जना युवा-युवती पक्राउ परेका छन् । प्रहरीले आइतबार ब्लु स्काई जनेस सोलुसन प्रालि नामक कल सेन्टरका नौ जना सञ्चालकलाई पक्राउ गरेको हो। सर्वसाधारणलाई ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालक पक्राउ गर्दै त्यहाँ कार्यरत १५० जना युवा युवतीलाई कार्यालयमै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी गराएका छन् ।

    भारतीय र चिनियाँ नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइल, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ । अश्लील म्यासेज पठाउने, चिठ्ठा प¥यो भन्दै ठगी गर्ने कार्यमा संलग्न करिब १ सय ५० जनालाई कार्यालयभित्रै नियन्त्रणमा राखेको केसीको भनाइ छ।

    अनुसन्धानका लागि प्रहरीले उक्त कार्यालय भएको भवनलाई नै शिल गरेको छ। तिलोत्तमा नगरपालिकाको वडा नम्बर २ जानकी नगरमा ४ तलाको घरमा तीन वटा फ्ल्याट भाडामा लिएर तीन सय जति कम्प्युटरसहित कार्यालय सञ्चालन हुँदै आएको थियो। पछिल्लो समय सर्वसाधारणलाई गलत सन्देश पठाएर तनाव दिने र ब्ल्याकमेलिङ गर्ने क्रम बढेपछि प्रहरीले आइतबार त्यहाँ छापा मारेको हो।

  • पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा छजना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट तल खसेको हो । दुर्घटनामा घाइते भएकालाई विभिन्न अस्पताल लगिएको छ । दुर्घटनामा परेकाहरु पहिचान भइसकेको छैन ।

  • नेपालमा थप ३४७ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    नेपालमा थप ३४७ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३६० नमूनाको पीसीआरमा ३०३ र १५२८ नमूनाको एन्टिजेनमा ४४ जना गरी कूल ३४७ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८३ हजार ६२२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ९५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१७७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।

  • सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

    सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ ।

    मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको पर्यटन विकांसका लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको जानकारी दिइएको हो ।

    पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन प्रवर्द्धनलाई अभियानको रूपमा अघि बढाउनुपर्ने बताए ।

    कोरोना महामारीको मारमा परेको पर्यटनको पुनरुत्थानका लाग कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले भ्रमण वर्षको रुपमा उत्सव मनाउनुभन्दा पनि अभियानकै रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

    दिन र वर्षको रुपमा पर्यटन प्रवर्द्धन गर्नेभन्दा पनि भ्रमण दशकका रुपमा मनाउनुपर्ने अवधारणा अघि सारिएको उनको भनाइ छ ।

    मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनामा एक महिनामा गर्न सकिनेदेखि दीर्घकालसम्मका योजना समेटिएका छन् ।

    नेपालको पर्यटनलाई चलायमान बनाउनका लागि मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ ।

    कोरोना महामारीका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष स्थगित गरिएको थियो ।

    २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्षमा जम्माजम्मी २ लाख पनि पर्यटक भित्रिन सकेन । तर, खर्च भने ७० करोड माथि भएको बताइएको छ ।

  • भक्तपुरमा रुख ढलेर बस र स्कुटी च्याप्दा तीनजनाको मृत्यु, १२ घाइते

    भक्तपुरमा रुख ढलेर बस र स्कुटी च्याप्दा तीनजनाको मृत्यु, १२ घाइते

    काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किचेको छ ।

    सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

    लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो। बा ६१ प ३९७८ नम्बरको स्कुटर पनि कच्याककुचुक भएको छ।

    मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन बाँकी छ। मृतक नितेश खर्वुजाको सनाखत भएको हो । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ।

    घाइतेहरूलाई इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको छ।