Category: समाचार

  • फेरिए तीन प्रदेश प्रमुख,  कुन प्रदेशको जिम्मेवारी कसलाई ?

    फेरिए तीन प्रदेश प्रमुख, कुन प्रदेशको जिम्मेवारी कसलाई ?

    काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख फेरेर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख फेरेको हो ।

    बैठकले निर्णय गरेअनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको छ ।

    तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख बनाउन भनि निर्णय पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । सत्तारूढ दलहरूले भागबन्डाबमोजिम नै तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय भएको छ ।

    प्रदेश १ मा प्रदेश प्रमुखका रुपमा नियुक्त हुन लागेका पूर्वसभासद खापुङ जनता समाजवादी पार्टीका नेतासमेत हन् ।

    कर्णालीमा प्रदेशमा नियुक्त हुन लागेका प्रदेश प्रमुख परियार यसअघि नै प्रदेश २ को प्रदेश प्रमुख भइसकेका छन् । उनी नेकपा माओवादी केन्द्रनिकट हुन्।

    सुदूरपश्चिमको प्रदेश प्रमुखमा नियुक्त हुन लागेका जोशी पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता हुन् ।

    हाल प्रदेश १ मा नेकपा एमालेनिकट सोमनाथ अधिकारी प्यासी, सुदूरपश्चिम प्रदेशमा एमालेकै गंगाप्रसाद यादव र कर्णालीमा पनि एमालेनिकट गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख रहेका छन् ।

  • पोल्याण्डले बेलारुसको सीमानामा रोक्यो हजारौं आप्रवासी, कहाका नागरिक हुन् ?

    पोल्याण्डले बेलारुसको सीमानामा रोक्यो हजारौं आप्रवासी, कहाका नागरिक हुन् ?

    काठमाडौं । पोल्याण्डले बेलारुससँगको पूर्वी सीमामा आफ्नो देश प्रवेश गर्न खोज्ने हजारौं आप्रवासीलाई रोकेको छ । बीबीसीका अनुसार हजारौँ अझै त्यसतर्फ आइरहेको जानकारी समेत पोल्याण्डले जनाएको छ । भिडिओ सामाग्रीहरूमा सयौँ मानिसहरू फलामे तारले बारिएको सीमानजिक देखिन्छन् जसमा केहीले उक्त अवरोध पार गर्दै अघि बढ्न खोजेको देखिन्छ। पोल्याण्डको सरकारले सोमवार एउटा आपत्कालीन बैठक बोलाउँदै उक्त क्षेत्रमा १२ हजार फौज खटाएको छ। पोल्याण्डले बेलारूसलाई आप्रवासीहरूलाई सीमातर्फ धकेलेको आरोप लगाउँदै त्यसलाई शत्रुतापूर्ण कार्य भनेको समेत बीबीसीले लेखेको छ ।

    पोल्याण्ड, लिथुआनिया र लाट्भियाले पछिल्ला महिनामा बेलारुसबाट गैरकानुनी रूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने आप्रवासीहरूको सङ्ख्या बढेको बताएका छन्। ती धेरैजसो मध्यपूर्व र एसियाबाट आएका आप्रवासी रहेको बताइएको छ । आप्रवासी र शरणार्थीहरूलाई रोकेकोमा आलोचित बनेको पोल्याण्डले एउटा ठूलो सङ्ख्यालाई फलामे तारले घेरेर राखेको समेत जनाइएको छ ।

  • सत्तारुढ गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

    सत्तारुढ गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

    काठमाडौं । सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति बनाएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमवार दिउँसो बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट दुई जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाएको हो ।

    सबै राजनीतिक दलहरूले दुई\दुई महिना संयोजन गर्ने समन्वय समितिमा कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ छन् । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल तोकिएका छन् ।

    नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने गरी दुई\दुई जना सदस्य रहेको र मन्त्रीहरूको तर्फबाट आफूसमेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँच दलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता कार्कीले जानकारी गराएका छन् ।

    समितिको पहिलो दुई महिनाको संयोजक रामचन्द्र पौडेललाई तोकिएको छ । प्रधानमन्त्री देउवा अनिवार्य रूपमा उपस्थिति हुने यो समितिको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नागरिकको अपेक्षाअनुसार सरकारलाई काम गराउन सहयोग गर्नुरहेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

  • नेपालमा थप ३९० जनामा कोरोना पुष्टी, ४२५ जना संक्रमण मुक्त

    नेपालमा थप ३९० जनामा कोरोना पुष्टी, ४२५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६०६ पीसीआर परीक्षण गर्दा ३७१ जना र २४२० एन्टिजेन परीक्षण गर्दा १९ गरी ३९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १४ हजार ९२९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९५ हजार ८२२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ पुगेको छ ।

  • तिहारको तीन दिनमा काठमाडौंमा ११ स्थानमा आगलागी, चार जनाको मृत्यु

    तिहारको तीन दिनमा काठमाडौंमा ११ स्थानमा आगलागी, चार जनाको मृत्यु

    काठमाडौं । तिहारमा लक्ष्मीपूजालाई विेशेष दिन मानिन्छ । यो दिन धनधान्यकी देवि लक्ष्मीको पूजा गर्ने दिन झिलीमिली र उज्यालो गरि घरलानई सजाउने परम्परा छ । अहिले यस्तो झिलीमिली कृतिम बनेको छ । जसका लागि भारत र चीनबाट यी सामग्री नेपाल आउने गरेका छन् । यस्तो सामाग्रीको प्रयोगले अर्कोतर्फ दुर्घटना समेत बढाएको छ । काठमाडौं उपत्यकामा तिहारको तीन दिनमा एघार वटा आगलागीको घटना भएको स्थानीय संचारमाध्यमले लेखेका छन् ।

    तिहारमा गरिने झिलमिलमा मानिसहरुको लापरबाहीका कारण ती घटना भएको जुद्ध बरण यन्त्रका फायर कमाण्डर नरेश कुँवरले बताएका छन् । उनका अनुसार एघार वटा घटनामा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । विद्युत शर्ट हुँदा, दियो बाल्दा ख्याल नगर्दा भएको मानवीय त्रुटीका कारण आगलागी भएको पाइएको छ ।

    कार्तिक १९ गते साँझ ललितपुरको मंगलबारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको थिछ । तीन दिनमा उपत्यकाको तीन जिल्ला मध्ये काठमाडौंमा छ वटा आगलागीको घटना भए पनि मानवीय क्षति भने हुन पाएन । ललितपुरमा दुई वटा घटना भएकोमा चार जनाको मृत्यु र दुई जना घाइते भए । भक्तपुरमा तीन वटा आगलागीको घटना भए ।

  • टी-२० विश्वकप : भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

    टी-२० विश्वकप : भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

    आबुधाबी । अफगानिस्तानलाई ८ विकेटले हराएसँगै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । यो नतिजासँगै भारत प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएसँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

    न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कोनेले ३६, मार्टिन गप्टिलले २८ र डेरी मिचेलले १७ रन बनाए । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । भारतले लगातार दुई खेल हारेको थियो । अन्य खेलमा प्रभावशाली नतिजा निकाले पनि भारतलाई न्यूजिल्याण्ड र पाकिस्तानले हराएका हुन् । भारत एक खेल बाँकि छँदै बाहिरिएको हो ।

  • नेपालमा १४१ जनामा कोरोना, ५६३ जनाले जिते

    नेपालमा १४१ जनामा कोरोना, ५६३ जनाले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार १ हजार ९८० पीसीआर परीक्षणमा आइतबार थप १४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ५५८ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३५३ परीक्षणबाट २ जनामा पोजिटिभ देखिएको छ ।

    २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको २ हजार ३३३ परीक्षणमा १४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ३९७ रहेको छ ।

    नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ । हालसम्म देशभर ४४ लाख ५१ हजार ६१४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ११२ जना रहेका छन् भने आइसोलेसनमा ७ हजार ७१३ छन् ।

  • सल्यान दुर्घटनामा मृत्यु भएकामध्ये ९ जनाको सनाखत

    काठमाडौं । सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामा ९ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षिया दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका–३ कि ३६ वर्षकी लीला बुढाथोकी रछन् ।

    दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो ।


    सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ ।

    घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो ।

  • सल्यानमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु

    सल्यानमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु

    सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ । बसमा २६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको उपचार जारी रहेको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई खतिवडालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । आइतबार मध्याह्न १२ बजे राप्ती लोकमार्गको कपुरकोटको खारखोला भन्ने स्थानमा बस दुर्घटनामा परेको हो । बस सडकबाट २ सय मिटर तल खसेको छ । प्रहरी र स्थानीय उद्धारमा जुटेको खबर छ ।

  • सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा ८४ जनाको मृत्यु

    सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा ८४ जनाको मृत्यु

    काठमाडौं । अफ्रिकी मुलुक सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग ठोक्किएर भएको दुर्घटनामा कम्तिमा ८४ जनाको मृत्यु भएको छ । घटना सियरालिओनको राजधानी फ्रीटाउनमा भएको हो । बीबीसीका अनुसार आगलागी हुनु अघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेको बताइएको छ ।

    स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा ट्याङ्कर वरिपरि नराम्ररी डढेका शवहरू देखिन्छ। राष्ट्रपति जुलियस मादा बायोले दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुख लागेको बताएको बीबीसीले लेखेको छ । आफ्ना सवारी साधनमा फसेका कारण कैयौँले ज्यान गुमाउन पुगेका थिए ।

    राष्ट्रपतिले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन्। फ्रीटाउनका मेयर वाइभोन अकि सवेरले त्रासदीपूर्ण तस्बिर देखेको भन्दै १०० भन्दा बढीको ज्यान गएको बताएका छन् । गृहमा ९० भन्दा बढी शवहरू पुगेको र फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ। विस्फोट सहरको वेलिंगटन क्षेत्रको व्यस्त चोइथ्राम सुपर मार्केट बाहिरको एक चोकमा शुक्रवार करिब दश बजे भएको बताइएको छ।

    एक रिपोर्टका अनुसार मानिसहरूले भरिएको बस पूर्ण रूपमा जलेको छ। जसका कारण घटनास्थल वरपरका पसलहरू समेत आगोको ज्वालाका कारण प्रभावित छन्। सियरा लिओनको राष्ट्रिय प्रकोप व्यवस्थापन संस्थाका प्रमुख ब्रिमा बुरेह सेसेले स्थानीय सञ्चार माध्यमसँग भयानक दुर्घटना भएको बताइन्। एक लाखभन्दा बढी मानिस बसोबास गर्ने यस बन्दरगाह सहरमा, पछिल्ला वर्षहरूमा निकै गम्भीर प्रकोपहरूको सामना गरेको छ।

  • नेपालमा १३९ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    नेपालमा १३९ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् । शनिबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ । जसमध्ये ११ हजार ४३९ जनाको मृत्यु भएको छ भने ७ लाख ९४ हजार ८३४ जना संक्रमणमसक्त भएका छन् ।

    मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • तिहारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?

    तिहारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी हुन् ।

    झिलिमिली बत्तीको उज्यालोले औँसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि उनले भनेकी छिन् । दीपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्ने उनको भनाई छ ।

    तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ ।

    उता, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड १९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड १९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् ।

    भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन् । सन्देशमा कोभिड१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने उल्लेख छ ।

    प्रधानमन्त्रीले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ-आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौँ भने त्यसले हामी कसैलाई सफलता र खुशी दिन नसक्ने बताएका छन् ।

  • आज भाइटिका, उत्तम मुहूर्त ११: ०२ बजे

    आज भाइटिका, उत्तम मुहूर्त ११: ०२ बजे

    काठमाडौं । यमपञ्चक (तिहार)को आज पाँचौँ दिन, हिन्दु धर्मावलम्बीले आज भाइटीका मनाउँदैछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यो पर्व मनाइन्छ ।

    प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

    दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको बताइन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको छ । यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

    यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ । टिका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

  • म्ह: पुजाका दौरान मङ्गलबजारमा आगलागी, एकै घरका चार जनाको मृत्यु

    म्ह: पुजाका दौरान मङ्गलबजारमा आगलागी, एकै घरका चार जनाको मृत्यु

    काठमाडौं । पाटनको मंगलबजारमा आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार शुक्रबार साँझ आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको हो ।  महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्रकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

    म्ह पुजाका लागि बालिएको दियोबाट आगो सल्किएको र त्यसपछि ग्यास सिलिन्डर पड्किएर घटना भएको प्रहरीको अनुमान छ । घटना बारे प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

  • नेपालमा १८३ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    नेपालमा १८३ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ३०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ५३७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.६प्रतिशत रहेको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ । त्यस्तै नेपालमा हाल आठ हजार ४१३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • जाजरकोटमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु

    जाजरकोटमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा मिनी ट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपता रहेको र सात जना घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति ११ बजे सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ठेगाना नखुलेका दिलबहादुर शाही छन् ।

    अर्का एक जनाको पहिचान खुलेको छैन । घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का छन् । घाइते धनबहादुर चालक रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

  • बेञ्च बहिष्कार गर्ने विरुद्ध प्रदर्शन, इजलास सुचारु गर्न माग

    बेञ्च बहिष्कार गर्ने विरुद्ध प्रदर्शन, इजलास सुचारु गर्न माग

    काठमाडौँ । कानून व्यवसायीहरुको एक समूहले बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा न्यायपालिका सुचारुका लागि हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो ।

    प्रदर्शनमा न्यायको ढिलाइले अन्याय बढ्ने भन्दै न्यायाधीशहरूलाई मुद्दाको सुनुवाइमा फर्कन माग गरिएको छ । मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको प्रदर्शनमा सहभागीहरुले टिप्पणी गरेका छन् ।

    माइतीघरमा भएको प्रदर्शनपछि हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो । कानून व्यवसायीहरुको समूहले राष्ट्रिय मानव अधिकार आयोगमा पुगी आयोग समक्ष ज्ञापन पत्र पनि बुझाएका छन् । सर्वाच्चका न्यायधीशहरुले इजलास वहिस्कार गर्दा बन्दी, बालबालिका, ज्येष्ठ नागरिक लगाएत सिमान्तकृत र निमुखा वर्गका आवाजहरु दवाइएको भन्दै यो गम्भीर मानव अधिकारको उल्लंघनको घटनाका रुपमा लिन आयोगसंग उपयुक्त छानविनको माग पनि राखेको छ ।

    ज्ञापनपत्र बुझाउदै अधिवक्ताहरुले आम जनताको न्यायमाथिनै कुठराघात भएकाले मानव अधिकारको ढोका ढकढक्याउनु परेको प्रतिक्रिया दिएका थिए । अधिवक्ताहरुले सर्वाच्चका न्यायाधीसहरुले इजलास वहिस्कार गर्नु मानवता विरुद्धको अपराध भएकाले यसमा राष्ट्रिय मानव अधिकार आयोगका तर्फबाट छानवीन र अनुगमन हुनुपर्ने माग पनि गरेका छन् ।

  • कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति

    कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति

    लण्डन । लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतले प्रयोगको अनुमति दिएको छ । त्यहाँको औषधि नियामक निकायले अनुमोदन गरेसँगै अब औषधीको प्रयोग गर्ने बाटो खुलेको छ । मोल्न्यूपिरभीर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइने बीबीसीले लेखेको छ ।

    शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ। यूकेका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओखती महत्त्वपूर्ण हुने बताएका छन्।

    कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने यूके विश्वकै पहिलो मुलुक बनेको छ । मोल्न्यूपिरभीर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो ओखती हो जसलाई सुईको रूपमा लिनुभन्दा खान सकिनेछ।

    कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ।

    कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल भएको संस्थाकी प्रमुख कार्यकारी जुन रेनले जानकारी दिएकी छिन् ।

  • नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५१८ जना निको भएका छन् ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ९१० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने ७ लाख ९३ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८९० जना रहेका छन् । जसमध्ये ८ हजार २३३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये २१५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८४, ललितपुरमा ३४, मोरङमा २३, सुनसरी र भक्तपुरमा १ढर१९ जना, रुपन्देहीमा १७ र कास्कीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

  • विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता

    विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता

    काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र समूहलाई दिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको हो । विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ ।

    अब पार्टीले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा वकलात गर्ने भएको छ । विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । संशोधित विधानमा बैठक बोलाउने अधिकार अध्यक्षलाई मात्र दिइएको छ ।

    राजीनामा दिएका ५ जना, मृत्यु भएका एक जनालाई हटाएर केन्द्रीय समिति सदस्य १२४ सदस्यीय बनाइएको छ । आयोगले त्यसलाई पनि स्वीकार गरेको छ । अब विवेकशील साझा पार्टीमा मिश्र पक्ष आधिकारिक भएको हो । उता, फरक मत राख्दै आएका संयोजक पाण्डेले भने आयोगविरुद्ध अदालत जाने बताएका छन् ।

  • न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई

    न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर नेपाल फर्किएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समयसम्म रहन्छ, कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’

    तर, उनी न्यायालयमा जारी विवादका सम्बन्धमा भने मौन बसे । सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्री फर्किएपछि यसबारे धारणा बनाउने बताइरहेका बेला देउवाले भने सार्वजनिक कार्यक्रममा यसबारे टिप्पणी गरेनन् । प्रधानमन्त्रीलाई विमानस्थलमा मन्त्रीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्रीको साथमा वातावरणमन्त्री बाहेक अन्य प्रतिनिधि स्वदेश फर्किएका छन् ।

  • टोपी लगाएका कारण बाइडेनले सजिलै चिने : प्रधानमन्त्री

    टोपी लगाएका कारण बाइडेनले सजिलै चिने : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त अधिराज्यको भ्रमणका क्रममा रमाइलो किस्सा सार्वजनिक गरेका छन् । बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले बेलायतमा रहँदा विश्वका नेताहरूसँग गरिएका भेटवार्ताका कुराकानीबारे आफ्नो अनुभव सुनाए। जसमा उनलाइ अमेरिकी रास्ट्रपति जो बाइडेनले चिन्नुमा नेपाली टोपी मुख्य कारण थियो ।

    प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको कुराकानीबारे बताउँदै भने, ‘बाइडेनले नेपाल खुब मनपर्छ भने।’
    आफू टोपी लगाएर गएकोले देख्नेवित्तिकै बाइडेनले चिनेको प्रधानमन्त्री देउवाले बताए । ‘बाइडेनसँग विशेष रूपमा भेट भयो। म टोपी लगाएर गएको थिएँ देखेपछि चिनिहाले,’ प्रधानमन्त्री देउवाले भने, ‘पहिला नेपाल आएका पनि रहेछन्। नेपाल खुब मनपर्छ भने।’ 

    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि आफू नेपाल बारे जानकार रहेको बताएको उनले जानकारी दिए । प्रधानमन्त्री बेलायत भ्रमण पूरा गरि काठमाडौं फिर्ता भएका हुन् ।

  • अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिवन्ध

    अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिवन्ध

    काबुल । अफगानिस्तानमा विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लागेको छ । त्यहाँको तालिवान सरकारले विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । तालिबान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेर गरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको समेत समाचारमा उल्लेख छ । इस्लामिक इमिरेट्स (तालिबान)ले सबै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अबदेखि विदेशी मुद्रा प्रयोग नगर्न र अनुरोधलाई बेवास्ता गरेमा कारबाही हुने सूचनामा भनिएको छ ।

  • चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप

    चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप

    काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज साइनोफार्म खोप अनुदानमा दिएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरिन् । चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ । नेपालले कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद समेत गरिसकेको छ । किनेको खोप मध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ ।

    अरू आउने प्रक्रियामा रहेको स्वास्थ सचिव रोशन पोखरेलले जानकारी दिए । कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खोप खरीद गर्न कोभ्याक्सलाई आवेदन दिएको स्वास्थ्यमन्त्री खतिवडाले जानकारी गराए । राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने समेत बताइन्।

  • नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना निको भएका छन् ।

    अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ५४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ भने ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ जना रहेका छन् । जसमध्ये ८ हजार ४३६ जना होम आइसोलेसनमा रहेका छन् भने ६८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
    मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १३१, झापामा ३१, ललितपुरमा २७, वागलुङ र रुपन्देहीमका १९/१९ जना, चितवन र भक्तपुरमा १७/१७ जना, मोरङमा १५, कास्कीमा १२ तथा सुनसरी र पश्‍चिम नवलपरासीमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

    जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको नलगाडमा गत राति ट्याक्टर दुर्घटना परेको प्रहरीले जनाएको छ । तीनै जनाको घटना स्थलमै मत्यु भएको हो ।

    नलगाड नगरपालिका ५ कालीमाटी बजारबाट सामान लिएर बारेकोट गाउँपालिका तर्फ गइरहेको ट्याक्टर नलगाड – ५ पोखरागाउँ नजिकैको रातको १ बजे झुल्के डाँडामा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका – ५ पारीगाउँका ६० वर्षीय दल वहादुर खत्री, ३२ वर्षीय सुरेस खत्री र गाडिचालक नलगाड –७ दल्लीका २५ वर्षिय चंखलाल विक छन् ।

    सडक वाट करीव ५ सय मिटरको दुरीमा तीन जनाको शव फेला परेको थियो । प्रहरीका अनुसार मृतक दलवहादुर र सुरेस बाबुछोरा हुन् । ट्याक्टरका सह चालक नलगाड– ७ वगाराका १७ विनोद परियार गम्भीर घाइते छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार जारी छ ।

  • भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

    भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकट भविश्यमा नेपाल भ्रमणमा आउने जानकारी गराएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको ग्लास्गोमा भएको भेटमा मोदीले यस्तो जानकारी गराएका हुन् । दुई नेताबीच मंगलबार औपचारिक भेटवार्ता भएको हो । दुबै मुलुकले प्रधानमन्त्रीलाई एक अर्काको मुलुकमा भ्रमणको निम्तो दिएका थिए ।

    ग्लास्गोमा आयोजना भैरहेको संयुत्त राष्टसंघीय संरचना महासन्धी पक्ष राष्टहरुका २६ औँ सम्मेलनको वल्र्ड लिडर सम्मेलनमा भाग लिने क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको साइडलाइन भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए । मोदीले समेत छिट्टै नेपाल भ्रमणमा आउने बताएका हुन् ।

    केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा नेपाल भारत सम्बन्ध बिग्रिएको छ । सो सम्बन्धलाई प्रधानमन्त्री देउवाले सुधार गर्न चाहेका छन् । भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।

    भेटवार्तामा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ बढाउने विषयमा समेत कुराकानी भएको समेत बताइएको छ । भेटमा प्रधानमन्त्री देउवाले नेपालमा हाल रासायनिक मलको अभाव भएको जानकारी भारतलाई गराएका थिए । कोभिड महामारीमा समेत द्धिपक्षीय सहायता अझ बढाउने समझदारी भएको छ ।

  • नेपालले पहिलो पटक भारतमा बिजुली निर्यातको अनुमति पायो, आजैबाट निर्यात शुरु

    नेपालले पहिलो पटक भारतमा बिजुली निर्यातको अनुमति पायो, आजैबाट निर्यात शुरु

    काठमाडौं । नेपालले भारतमा बिजुली बेच्ने अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयले सहमति दिएसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली बेच्न गर्न अनुमति दिएको राससले लेखेको छ ।

    पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बेच्न अनुमति दिइएको हो । दुई विद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बेच्नका लागि अनुमति दिइएको छ ।

    प्राधिकरणले आज मङ्गलवार राति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गर्ने छ । अहिले यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ । नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ ।

    प्राधिकरणले गएको वैशाख १७ गतेदेखि आवश्यक परेको बेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा बिजुली आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बनेको जानकारी दिइन । उनका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत् गृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरिएको छ ।

  • प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही

    प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही

    काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो ।

    ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका राईलाई प्रदेश प्रमुख ‘प्यासी’ले नियुक्त गरेका थिए । मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट २ र बाँकी दलबाट १÷१ जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

    मुख्यमन्त्री राईले नेपाली काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली काँग्रेसका प्रमुख सचेतक रहेका केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरे ।

    उता, कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको दाबी गरको छन् । मंगलबार प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी समक्ष काँग्रेस नेता शाहीले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

    मुख्यमन्त्रीमा शाहीलाई माओवादी केन्द्रसहित नेकपा (एकिकृत समाजबादी) पार्टीको समर्थन रहेको छ । दाबी पत्रमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ र समाजबादीका तीन जना गरी २१ जनाको हस्ताक्षर छ ।

  • नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु

    नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । ७ हजार ११५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । ३ हजार १७२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४२७ पुगेको छ । नेपालमा हाल नौ हजार १७४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।