Category: समाचार

  • आज एमालेले देशभर पालिका अधिवेशन गर्दै

    आज एमालेले देशभर पालिका अधिवेशन गर्दै

    काठमाडौं । आज नेकपा (एमाले)ले देशभर पालिका अधिवेशन सकाउने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको एमालले आज देशैभर पालिका अधिवेशन गर्न लागेको हो । पूर्वनिर्धारित कार्यतालिका अनुसार मंगलबार देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जानकारी गराएको छ । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन् ।

    केही जिल्लामा भने प्राविधिक कारण देखाउँदै पालिका अधिवेश सारिएको छ । बाढीपहिरो प्रभावित केही जिल्लाहरूमा पनि आज अधिवेशन हुन नसक्ने सम्बन्धित जिल्ला कमिटीले बताएका छन् । एमालेले यसअघि कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । जसअनुसार ६ गते वडा अधिवेशन सम्पन्न भइसकेकोछ ।

  • पूर्वप्रधानन्यायाधीशले प्रन्या राणालाई भने : राजिनामा दिनुहोस

    पूर्वप्रधानन्यायाधीशले प्रन्या राणालाई भने : राजिनामा दिनुहोस

    काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले न्यायालयमा विद्यमान विवादका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजिनामा दिनुपर्ने बताएका छन् । अहिलेको समस्या रााणाकै कारण सिर्जना गरेको भन्दै उनलाई बहिर्गमन गर्ने आँट देखाउन उनीहरुले आग्रह गरेका छन् । चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो भनेका हुन् । विज्ञप्तिमा प्रधानायायाधीश राणा र न्यायालयभित्र भएको विवादमा ध्यानाकर्षण भएको भन्दै उनीहरूले राणालाई बहिर्गमनको सुझाव दिएका छन् ।

    न्यायपालिका समक्ष उपस्थित चुनौतीहरूको माझमा न्यायपालिकाको स्वार्थलाई आफ्नो स्वार्थभन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउन सम्बन्धित न्यायिक नेतृत्वलाई आह्वान गर्ने उनीहरुको भनाई छ । मन्त्रिपरिषद विवादमा भागवण्डा खोजेको बाहिरिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा तानिएका हुन् । १४ न्यायाधीशले फुलकोर्ट बहिस्कारको निर्णय गरेका छन् । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले समेत प्रधानन्यायाधीश जबराको राजीनामा मागेका छन् ।

  • सिनामंगलबाट एक दर्जन अफगानी नागरिक पक्राउ

    सिनामंगलबाट एक दर्जन अफगानी नागरिक पक्राउ

    काठमाडौं । काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले अध्‍यागमन विभागमा बुझाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेका ११ जनालाई अध्यागमन ऐन अनुसार कारबाहीका लागि विभागमा बुझाएको जानकारी गराएको हो । अफगानी नागरिक अवैध रुपमा नेपाल प्रवेश गरका हुन् । अफगानिस्तानमा तालिबानीले सत्ता हातमा लिएपछि भारतको बाटो हुँदै उनीहरु नेपाल छिरेको बताइएको छ ।

    अब उनीहरुमाथि अध्यागमन ऐन अनुसार कारबाही अगाडी बढ्‍ने भएको छ । सीआईबीको टोलीले अमनुल्लाह मोहम्मदी, अजमल सरिफी, अकम जाजाइ, रोमल होटक, इसनुल्लाह हसेमी, इमरान अलि जादा, मोहम्मद जमराइ सनिकजाई, नजिफा स्तानिकजाइ, मिस्बाह जैनव स्तानिकजाइ, नुरुल हाया स्तानिकजाई, मोहम्मद रायन स्तानिकजाई लाई पक्राउ गरेको हो ।

  • चैत ५ भित्र स्थानीय चुनाव गर्न निर्वाचन आयोगको सिफारिस

    चैत ५ भित्र स्थानीय चुनाव गर्न निर्वाचन आयोगको सिफारिस

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् । सोमबार दिउँसो देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरूबीच आगामी स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको हो ।

    छलफलका क्रममा आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो ।

    त्यस्तै आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । त्यसैगरि आयोगले अब नयाँ कानुनअनुसार चुनाव गर्ने समेत प्रस्ताव गरेको छ । त्यसका लागि विभिन्न ९ वटा कानुनलाई ३ वटा कानुनमा समेटेर कानुन परिमार्जन गर्नेगरी ड्राफ्ट तयार पार्ने प्रक्रिया सुरु भएको आयोगले जनाएको छ ।

    प्रधानमन्त्री देउवासँग छलफल गर्न थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरू सिंहदरबार पुगेका थिए । पदाधिकारीहरूले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताहरूबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

  • नेपालमा थप ७७६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

    नेपालमा थप ७७६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जना गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ७२९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ । संक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ ।

    पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको छ ।

  • तीन बालकमाथि यौनजन्य कसुर गरेको आरोपमा पोखराबाट क्यानडेली नागरिक पक्राउ

    तीन बालकमाथि यौनजन्य कसुर गरेको आरोपमा पोखराबाट क्यानडेली नागरिक पक्राउ

    पोखरा । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई यौनजन्य कसुर गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्ले शनिबार पक्राउ परेका हुन् । तीन जना बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा उनी पक्राउ परेको बताइएको छ । राससका अनुसार बालकहरुको उद्धार समेत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको समेत प्रहरीले जनाएको छ ।

  • नेपालमा थप ५५७ जनामा कोरोना पुष्टी, ८७७ जना संक्रमण मुक्त

    नेपालमा थप ५५७ जनामा कोरोना पुष्टी, ८७७ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र ५६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ५६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८७७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ । संक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।

  • प्रदेश १ को संसद् बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

    प्रदेश १ को संसद् बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

    नेकपा एमाले र नेपाली कांग्रेसले बैठक स्थगित गर्न निवेदन दिएपछि सभामुखले कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

    मुख्यमन्त्री भीम आचार्यद्वारा शुक्रबार टेबुल गरिरएकाे विश्वासको मतसम्बन्धी प्रस्तावको छिनोफनोका लागि आज १२ः३० बजेका लागि बैठक बोलाइएको थियो।

    ‘कात्तिक ७ गते आइतबार दिनको १२ः३० बजे बस्ने गरी कार्यसूची समेत निर्धारण गरी तोकिएकोमा उक्त बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेको मिति परिवर्तन गरी पाउँन लिखित अनुरोध भई आएका कारण प्रदेश सभा निमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति २०७८/०७/०७ का लागि निर्धारण गरिएको कार्य सूची बमोजिम नै हुने गरी मिति २०७८ कात्तिक १५ गते सोमबार दिनको १२ः३० बजे बैठक बस्ने’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

  • बुटवलमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    बुटवलमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    बुटवल । बुटवलमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार गत राती एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा ठोक्किएका हुन् ।

    दुर्घटनामा मोटरसाइकल चालक गुल्मी घर भई तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी बसेका सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका थापा र क्षेत्रीको उपचारको क्रममा गए राति सवा १ बजेतिर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ । एम्बुलेन्स चालक गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ समेत घाइते छन् । उनको बुटवलमा उपचार भइरहेको छ ।

  • प्रधानमन्त्री आज बाढी प्रभावित पूर्वी नेपालको भ्रमणमा

    प्रधानमन्त्री आज बाढी प्रभावित पूर्वी नेपालको भ्रमणमा

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा आज बाढी प्रभावित पूर्वी नेपालको भ्रमणमा निस्किएका छन् । यसअघि उनले सुदूरपश्चिम क्षेत्रमा बाढीले पुर्‍याएको क्षति अवलोकन गरेका थिए । प्रधानमन्त्रीसहितको टोली बिहान नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा लागेको छ । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने छन् ।

    त्यसपछि इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग संयुक्त रुपमा छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङसहितका मन्त्रीसमेत हुने छन् । आजै काठमाडौं आउने कार्यक्रम छ ।

  • गजुरीमा यात्री बसमा आगलागी

    गजुरीमा यात्री बसमा आगलागी

    गजुरी । धादिङको गजुरीमा एक यात्री बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने हुन पाएन । प्रहरीका अनुसार ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आइतबार बिहान २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेक समयमा एक्कली आगो बलेको जनाइएको छ । बस भने पूर्णरुपमा जलेको छ । बसमा आगो लागेसँगै रोकेर यात्रु झारिएको थियो । यात्रुका सामान भने जलेका छन् । बसमा आगो लाग्नुको कारण खुलेको छैन ।

  • एमालेमा १० बुँदे भन्नेहरुको हरिविजोग : नेपाल

    एमालेमा १० बुँदे भन्नेहरुको हरिविजोग : नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले विगतमा आफुसँगै रहेपनि अन्तिममा धोका दिएका नेताहरुबारे व्यग्य गर्दै हरिविजोग भएको बताएका छन् । नेकपा (एमाले)लाई विभाजनबाट जोगाउन भन्दै १० बुँदै सहमति गरेका उनीहरुलाई अअिले एमालेमा अध्यक्ष ओलीसहितका नेताले पेलिरहेको समयमा नेता नेपालको यस्तो अभिव्यक्ति आएको हो ।

    सिन्धुपाल्चोक(काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शनिबार अध्यक्ष नेपालले १० बुँदेमा टेकेर एमालेमै बसेका नेताको हरिबिजोग भएको बताए । एमालेमा बस्न अध्यक्ष केपी शर्मा ओलीको आदेश पालनु गर्नुपर्ने नभए कुनै मर्यादा नरहने भन्दै उनले भने, ‘एमालेमा आदेश पालन गर्‍यो भने बस्न पाउँछ, आदेशको पालन गरेन भने कति ट्याउँ ट्याउँ गरेको ? कति ट्याउँ ट्याउँ गरेको ? १० बुँदे, भनेर सुन्नुपर्छ ।’ एमालेमा नेताहरूको मर्यादा र सम्भावना नभएको भन्दै उनले त्यो पार्टी बनाउन आफुहरुले ठूलो मिहेनत गरेको बताए ।

  • नेपालमा ५१३ जनामा कोरोना पुष्टी, ८१७ ले जिते

    नेपालमा ५१३ जनामा कोरोना पुष्टी, ८१७ ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ र १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ ।

    त्यस्तै कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १५०, ललितपुर र मोरङमा ३९र३९, रुपन्देहीमा ३२, भक्तपुर र सुनसरीमा २४र२४, कास्कीमा १६, मकवानपुरमा १५ र चितवनमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • चार मुलुकका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

    चार मुलुकका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा शुक्रबार नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिणअफ्रिकाका गैरआवासीय राजदूतहरू क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू उपस्थित थिए ।

  • पुनर्निर्माणको सफलताबारे जानकारी दिन मंसिरमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

    पुनर्निर्माणको सफलताबारे जानकारी दिन मंसिरमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

    काठमाडौं । नेपालमा पुनर्निर्माणको सफलताबारुे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर तेस्रो साता काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जानकारी दिएको हो । भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका अनुभव तथा सिकाइहरुले विपदबाट सुरक्षित नेपाल बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने आधार तयार भएको भन्दै यसको अनुभव बाँड्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको यसै अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराए । अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ राखिएको छ ।

    सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु समेत गर्ने प्राधिकरणको भनाइ छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले सम्मेलनमा सहभागी हुन स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको जानकारी गराए ।

    अन्तर्राष्ट्रिय सम्मेलनलाई लक्षित गरी वेबसाइट बनाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुक महानुभावहरुलाई अनलाइनमार्फत् रजिष्ट्रेसन गर्न अनुरोध गरेको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले २०७२ साल पुस १० गते स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका महत्वपूर्ण कामहरु सम्पन्न गरी सरकारको निर्णयअनुसार बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरिसकेको जानकारी दिए ।

    २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको दुई महिनापछि २०७२ साल असार १० गते काठमाडौंमा नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो ।

    राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रुपैयाँ थियो । त्यसमध्ये ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको छ, जुन कुल वास्तविक प्रतिबद्धता रकमको ९७।५ प्रतिशत हो । विपद्को समयमा हुने अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता अनुरुप नेपालले प्राप्त गरेको उक्त सहयोग अन्य मुलुकको तुलनामा उल्लेखनीय छ ।

  • एमालेमा फेरी चर्कियो विवाद, १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट रावलको राजिनामा

    एमालेमा फेरी चर्कियो विवाद, १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट रावलको राजिनामा

    काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा पुनः विवाद चर्किएको छ । सो प्रयोजनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएसँगै विवाद सतहमा आएको हो । रावलले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्ने अग्रसर नभएको उनको आरोप छ ।

    कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नहुने उनको तर्क थियो । स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएको नेताहरुले जनाएका छन् ।

  • नेपालमा थप ७०८ जनामा कोरोना पुष्टी, ११ जना संक्रमितको निधन

    नेपालमा थप ७०८ जनामा कोरोना पुष्टी, ११ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २१२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८ हजार ९६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ९३२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८५ हजार ८१३ पुगेको छ । संक्रिय संक्रमितको संख्या १० हजार ९४६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ३ सय ३७ पुगेको छ ।

  • पूर्व न्यायाधीशहरुको फोरमले भन्यो -‘प्रधानन्यायाधीशको भूमिकामा शंका खडा भयो’

    पूर्व न्यायाधीशहरुको फोरमले भन्यो -‘प्रधानन्यायाधीशको भूमिकामा शंका खडा भयो’

    काठमाडौं । पूर्व न्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीश चाेलेन्द्र समसेर जबराको भूमिकामाथि प्रश्न खडा भएको बताएको छ । पूर्व न्यायाधीशहरुको फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशको कामले प्रश्न खडा गरेको बताएको हो ।

    ‘संवैधानिक प्रावधान भन्दा माथि रहेको प्राकृतिक न्याको सिद्धान्तको परिपालना गर्नुको सट्टा न्यायाधीश विपक्षी बनाइएको मुद्दामा आफैं न्यायकर्ता हुनेगरी संवैधानिक इजलासमा प्रधानन्यायाधीश आफैं सामेल हुने अभिरुची र प्रयासले सम्पूर्ण न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर खतरा उत्पन्न हुनुका साथै प्रधानन्यायाधीशको भूमिका उपर नै यथार्थ परक रुपमा शंका खडा भएको छ ’, विज्ञप्तिमा भनिएको छ ।

    साथै विज्ञप्तिमा संवैधानिक परिषद् सम्बन्धी विवाद सुनुवाइका लागि भाद्र ११ गते गठित संवैधानिक इजलासमा विपक्षी बनाइएका प्रधानन्यायाधीशको उपस्थितिबारे रिट निवेदनबाट प्राकृतिक न्यायको सिद्धान्तको पूर्ण पालनाको माग गरिरहँदा पनि प्रधानन्यायधीशबाट लिखित आदेश नहुनु र अर्को दिनको सुनुवाईमा आफू अनुपस्थित हुने भनी मौखिक जानकारी मात्र गराइनुले अदालती प्रक्रिया र पद्धतिको बेवास्ता गरिरहेको आरोप लगाइएको छ ।

    ‘मुलुकको न्यायाधिक प्रक्रियालाई संविधान र कानून बमोजिम व्यवस्थित गराउने अन्तिम जिम्मेवारी बोकेको प्रधानन्यायाधीबाट नै कार्यविधि कानूनको उल्लंघन हुनुले न्यायापालिकाको वर्तमान र भविष्यप्रति गहिरो चिन्ता बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

  • धुलिखेल जिपलाइनमा प्रचण्ड सरर…

    धुलिखेल जिपलाइनमा प्रचण्ड सरर…

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् ।

    नाति नातिनी सहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।

    सहासिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ ।

    सिन्धुपाल्चोकका केदार थापा र काठमाडौका भुपेश श्रेष्ठले वल्ड वाइड एड्भेन्चर प्रा. लि. मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याएका छन् ।

    जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

    काठमाडौबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।

    खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

  • प्रदेश १ का मूख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत माग्दै

    प्रदेश १ का मूख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत माग्दै

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका छन् । प्रदेशसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा आचार्यले विश्वासको मत माग्ने भएका हुन् । प्रस्तावमा शुक्रबार नै मतदान हुने सम्भावना भने कम रहेको नेताहरुले बताएका छन् । सोहीकारण विपक्षी दलले भने एमालेले सत्ता लम्ब्याउन चाहेको आरोप लगाएका छन् । यता, सत्तारुढ दलले भने दसैँ मनाउन गएका प्रदेशसभा सदस्य विराटनगर नफर्किएकाले प्रस्ताव आज टेबुल मात्र हुने बताएका छन् ।

    मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराएका थिए । त्यसपछि संसद बैठक स्थगित गराईएको थियो । दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोहीकारण आचार्यले विश्वासको मतको सामना गर्नुपर्नेछ । उनी भदौ १० मा मुख्यमन्त्री बनेका थिए ।

    संसदको बहुमतबाट विश्वासको मत पारित नभए मुख्यमन्त्री पदमुक्त हुनेछन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ । तर एमालेसँग मात्र ४१ मत छ । उता, विपक्षी गठबन्धनसँग भने कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।

  • कोरोनाबाट विश्वभर करीव २ लाख स्वास्थ्यकर्मीको निधन भएको डब्लूएचओको अनुमान

    कोरोनाबाट विश्वभर करीव २ लाख स्वास्थ्यकर्मीको निधन भएको डब्लूएचओको अनुमान

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोभिडले स्वास्थ्यकर्मीमा नराम्ररी प्रभाव पारेको बताएको छ । यस संक्रमणबाट विश्वभर ८० हजारदेखि १,८०,००० को बीचमा उनीहरूको मृत्यु भएको हुन सक्ने संगठनको अनुमान छ । सन् २०२० को ज्यानुअरीदेखि सन् २०२१ को मे महिनाको बीचमा सो सङ्ख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताएको बीबीसीले लेखेको छ ।

    खोपको अन्यायपूर्ण वितरणलाई लिएर उनले आलोचना पनि गरेका छन्। यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले कोभिड खोपको कमीका कारण कोभिड महामारी अर्को वर्षसम्म लम्बिन सक्ने चेतावनी दिएका थिए। विश्वभरि अनुमानित १३ करोड ५० लाख स्वास्थ्यकर्मी छन्।

    विश्वका ११९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले मात्र कोभिड खोप लगाउन पाएको महानिर्देशक टेड्रोसले जानकारी दिए । उनका अनुसार अफ्रिकामा दशजना स्वास्थ्यकर्मीमध्ये एक जनाभन्दा कमले पूर्ण मात्रा खोप लगाउन पाएका छन् जबकि उच्च आय भएका देशमा दशमध्ये आठ जानले खोप लगाइसकेका छन्।

  • प्रकोप पिडितलाई थप राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

    प्रकोप पिडितलाई थप राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

    धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितलाई राहत तथा पुनस्र्थापनाको प्याकेज आउने आवश्वासन दिएका छन् । त्यसका लागि योजनाबद्ध ढंगले कार्यक्रम अगाडि बढाइने उनले बताए । बिहीबार बाढी र पहिरोले प्रभावित भएको जिल्लाहरुको भ्रमणका लागि सुदुरपश्चिममा निस्किएका प्रधानमन्त्रीले बाढीका कारण देशभरि ठूलो मात्रामा जनधनको क्षति भएकाले सरकार गम्भीर रहेको बताए । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ९ मा आयोजित कार्यक्रममा देउवाले बाढी प्रभावितलाई सम्बोधन गरिने आश्वासन दिएका हुन् ।

    उनले आफु काठमाडौं फर्किएपछि उचित सम्बोधनसहित राहत प्याकेज ल्याउने उनले बताए । प्रधानमन्त्री बिहीबार धनगढीमै बास बसेका छन् । बिहीबा दिउँसो भने उनी विभिन्न पहाडी भेगको भ्रमणमा गएका थिए । उनी नेपाली सेनाको विशेष हेलिकोप्टरमा सो भेगको भ्रमणमा गएका हुन् । उनको साथमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आलेसहितका मन्त्रीसमेत सहभागी भए । उनले आजै पहाडी जिल्ला बझाङ, डोटी, बैतडी र डडेलधुरा निरीक्षण गरेका हुन् । कञ्चनपुर पुगेका देउवाले महाकाली तटीय क्षेत्रको भने हेलिकप्टरबाट निरीक्षण गरे ।

  • नेपालमा थप ५४५ जनामा कोरोना पुष्टी, ७२६ जना संक्रमण मुक्त

    नेपालमा थप ५४५ जनामा कोरोना पुष्टी, ७२६ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १९६३ एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ५४५ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार ३१५रहेको छ ।

    पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ ।

  • बेमौसमी वर्षाले ८ मुख्य सडकमार्ग अझै अवरुद्ध,कहिले खुल्छ अझै अनिश्चत

    बेमौसमी वर्षाले ८ मुख्य सडकमार्ग अझै अवरुद्ध,कहिले खुल्छ अझै अनिश्चत

    काठमाडौं । कार्तिक महिनाको २ गते यता लगातार २ दिन पानी पर्दा १२ स्थानमा सडक पहिरो गएको छ । सडकमा पहिरो जाँदा पूर्वदेखि पश्चिम सबैतिरका सडक हाल अवरुद्ध अवस्थामा रहेका छन् । केही सडक खुल्ने अनिश्चत रहेको छ । केही सडकहरु २/४ दिनमा खुलाउने सडक विभागले जनाएको छ ।

    लगातार परिरहेको पानीले सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको भालु पहाडमा पहिरो गएको छ । उक्त सडक खण्डमा बिहीबार बिहान पहिरो जाँदा बेलहिया–भैरहवा–ब्टवल–बर्तुङ–राम्दी–स्याङ्जा–पाखेरा सडक खण्डको यात्रा अबरुद्ध हुन पुगेको छ ।

    पुष्पलाल राजमार्ग अन्तर्गत सिन्धुलीको सुर्कोट घुर्मी खण्डको अक्करे भिर तथा सोखु खोलामा पहिरो गएको छ । कार्तिक २ गते मंगलबारदेखि पहिरोका कारण बन्द सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन ।

    पुष्पलाल राजमर्गको ओखलढुंगाको हिलेपानी जयराम घाट हलेसीमा समेत लगातार वर्षाका कारण पहिरोले सडक बन्द अवस्थामा रहेको छ ।

    यस्तै, धनगढी–सहजपुर–वुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिङ्कर दार्चुला बोडरको ३ किलोमिटर पर किम्तडीमा पहिरो गएको हो । कार्तिक २ गतेबाट बन्द अवस्थामा रहेको उक्त सडक खण्ड खुल्न अझै ३ दिन समय लाग्ने अनुमान गरिएको छ ।

    बझाङको खोड्पे–चैनपुर सडक खण्डमा जालिबगर नारुगाडमा पहिरो गएर सडक बन्द भएको छ । उक्त सडक खुलाउन २० दिन जति लाग्ने अनुमान गरिएको छ । सो सडक बन्द भएको ३ दिन भइसकेको छ ।

    लगातार वर्षाका कारण धनकुटाको लेउती खोलामा समेत पहिरो गएको छ । ७ गते लगातार वर्षापछि पहिरो गएको सो सडक ३ दिनभित्र सञ्चालनमा आउने अनुमान गरिएको छ । उक्त सडक बन्द हुँदा रानी–विराटनगर–इँटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्टार–खाँदवारी–नुम–किमाथाङ्का सडक खण्डका यात्रुहरु बाटोमै रोकिएका छन् ।

    यस्तै कार्तिक २ गते प्युठानको गनाहा चकचके खण्डमा पहिरो गएर सडक खण्ड बन्द रहेको छ । भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट खण्डका सडकहरु हाल अवरोध रहेका छन् । हालसम्म उक्त सडक खुल्ला गर्ने अनिश्चित रहेको सडक विभागले जनाएको छ ।

    सल्यानको अरिंग्लेफेदीमा पहिरो गएर सडक बन्द अवस्थामा रहेको छ । २ गते वर्षापछि बन्द रहेको उक्त पहिरोले अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट सडकका यात्रुहरु बाटोमै बिच्ल्लीमा परेका छन् । उक्त सडक ३ दिनभित्र खुल्ने अनुमान गरिएको छ ।

    मनाङको बेंशीसहर–चामे सडकको खात्रो, निगालाघारी र दानाक्युमा पहिरो गएको छ । उक्त स्थानमा कार्तिक २ गते लगातार पानी परेपछि पहिरो गएर सडक बन्द भएको हो । उक्त सडक ४ दिनभित्र खुल्ने अनुमान गरिएको छ ।

    सिन्धुलीको कमेरे फांटमा कार्तिक २ गते पहिरो गएर सडक बन्द भएको छ । उक्त खण्डमा २ दिन भित्र सडक खुल्लाउने अनुमान गरिएको छ । उक्त पहिरोले विपी राजमार्ग अन्तर्गको वर्दिवास–सिन्धुली–खर्कोट–धुलिखेल सडक खण्ड अवरोध गरेको छ ।

    कालिकोटको हुल्म, शेरिघाट, मोल्फा, पिली, राँचुलीमा पहिरो गएको छ । कार्तिक २ गते गएको पहिरोले सुर्खेत तल्लो हुङगेश्वर–सातखम्बा–दुल्लु–पिलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक खण्डको यात्रा अवरोद गरेको छ । उत्त, सडक ३ दिन भित्र खुल्ला गर्ने अनुमान गरिएको छ ।

    चालु आर्थिक वर्षमा कुल २३९ सडकहरुमा बाढी, पहिरोले सडक अवरुद्ध भएका छन् । सो मध्ये ८ वटा सडक पूर्ण अवरुद्ध अवस्थामा रहेका छन् । १३३ सडक खण्डहरुमा एकतर्फी सडक सुचारु गरिएको सडक विभागले जनाएको छ । ९८ वटा सडकमा भने दुवैतर्फ सडक सुचारु गरिएको छ ।

  • माओवादी केन्द्रले तोक्यो ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)

    माओवादी केन्द्रले तोक्यो ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ३३ वटा विभाग, सम्पर्क समिति र नीति प्रतिष्ठान गठन गरेको छ।

    बिहीवार पेरिसडाँडामा बसेको बैठकले ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै ३५ सदस्य रहने गरि विभागका प्रमुख चयन गरेको हो ।

    प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन् भने स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं छन् ।

    पूर्व सभामुख महराले राष्ट्रिय सुरक्षा विभाग र प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पाएका छन्।

    माओवादीका विभाग प्रमुखहरू :

    सम्पर्क समिति : डिलाराम आचार्य

    नीति अध्ययन प्रतिष्ठान : रामचन्द्र झा

    अर्थ तथा योजना विभाग : वर्षमान पुन

    सङ्गठन विभाग : जनार्दन शर्मा

    विदेश मामिला विभाग : नारायणकाजी श्रेष्ठ

    प्रचार तथा प्रकाशन विभाग : कृष्णबहादुर महरा

    विपद् व्यवस्थापन विभाग : सूर्य सुवेदी (प्रस्तावित)

    उद्योग मामिला विभाग : वामदेव क्षेत्री

    कृषि तथा भूमिसुधार विभाग : हरिबोल गजुरेल

    उपभोक्ता हित संरक्षण विभाग : मातृका यादव

    कोष तथा आर्थिक विभाग : डोरप्रसाद उपाध्याय

    खानेपानी विभाग : विना मगर

    जलस्रोत तथा ऊर्जा विभाग : लीलामणि पोखरेल

    निर्वाचन विभाग : खिमलाल देवकोटा

    कानून विभाग : मुक्तिनारायण प्रधान

    पर्यटन विभाग : झक्कुप्रसाद सुवेदी

    प्रादेशिक मामिला विभाग : पर्शुराम तामाङ

    पार्टी स्कूल विभाग : गिरिराजमणि पोखरेल

    पुस्तकालय तथा अभिलेख विभाग : नारायणप्रसाद शर्मा

    भौतिक पूर्वाधार विभाग : हरि अधिकारी

    युवा तथा खेलकुद विभाग : गणेशमान पुन

    राजकीय मामिला विभाग : रेखा शर्मा

    राष्ट्रिय सुरक्षा विभाग : कृष्णबहादुर महरा

    वन तथा वातावरण विभाग : शक्तिबहादुर बस्नेत

    विज्ञान तथा प्रविधि विभाग : गणेशप्रसाद साह

    शिक्षा तथा मानवस्रोत विभाग : मायाप्रसाद शर्मा

    श्रम तथा रोजगार विभाग : रामेश्वर राय यादव

    संघीय संसदीय विभाग : देवप्रसाद गुरुङ

    समाज कल्याण विभाग : सत्या पहाडी

    सहकारी तथा गरिबी विभाग : धर्मदत्त देवकोटा

    शहरी विकास विभाग : देवेन्द्र पौडेल

    सामान्य प्रशासन विभाग : टेकबहादुर बस्नेत

    साहित्य तथा कला विभाग : गोपाल ठाकुर

    स्थानीय तह विभाग : उर्मिला अर्याल

    स्वास्थ्य तथा जनसङ्ख्या विभाग : कल्पना धमला

  • प्रधानमन्त्री आज सुदुरपश्चिमका बाढी र डुबान प्रभावित क्षेत्रमा जाने

    प्रधानमन्त्री आज सुदुरपश्चिमका बाढी र डुबान प्रभावित क्षेत्रमा जाने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदुरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । बिहीबार धनगढी पुगेर त्यहाँबाट हेलिकप्टरमार्फत् डडेल्धुरा, डोटीलगायत क्षेत्रको निरीक्षणमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम मै बास बस्नेछन् । गत शनिबारदेखि परेको पानीले सुदूरपश्चिम क्षेत्रमा बढी क्षति गरेको छ । यसअघि बुधबार सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । घरबारबिहीन भएकालाई तत्काल सेल्टर बनाउन ५० हजार र खाद्यान्नलगायत जोहो गर्न २० हजारसम्म नगद उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको छ ।

  • कोरोना महामारी सन् २०२२ भर नै रहन सक्ने डब्लूएचओको भनाई

    कोरोना महामारी सन् २०२२ भर नै रहन सक्ने डब्लूएचओको भनाई

    काठमाडौं । खोप वितरणमा धनी र गरिब मुलुकबीचको असमानताका कारण कोरोना भाइरसको महामारी आगामी वर्ष समेत लम्बिन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विपन्न मुलुकले आफूलाई चाहिने कोभिड खोप नपाइरहेकाले कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको हो । बीबीसीका अनुसार डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले त्यसको अर्थ कोभिड सङ्कट सन् २०२२ को अन्त्यसम्मै लम्बिने देखिएको बताएका छन् ।

    अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ । अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन्। डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको अर्डर छोड्न आग्रह गरेका छन् । यसले उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकलाई प्राथमिकतामा राख्न सक्ने समेत उनको भनाई छ । सम्पन्न देशहरूले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी ७ लगायतका बैठकमा कोभिड खोप सहयोगबारे आफूहरूले जनाएको प्रतिबद्धताबारे समीक्षा गर्न आवश्यक रहेको उनले औँल्याए।

    परोपकारी संस्थाहरूको एउटा गठबन्धन द पिपुल्स च्यारिटिजले कोभिड खोपसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। उसको तथ्याङ्क अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका सातमध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ।

  • बाढी र पहिरोबाट बुधबार मात्र ५० जनाको मृत्यु, ज्यान गुमाउने ७७ पुगे

    बाढी र पहिरोबाट बुधबार मात्र ५० जनाको मृत्यु, ज्यान गुमाउने ७७ पुगे

    काठमाडौं । पछिल्लो दुई दिनमा नेपालमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । गृह मन्त्रालयका अनुसार यसमध्ये बुधबार मात्र ५० जनाको मृत्यु भएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् । २७ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । बुधबार साँझसम्म सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका विपद् व्यवस्थापन महाशाखाका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एकरएक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।

    गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ । आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार रुपैयाँ दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँ दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।

  • नेपालमा थप ६६२ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

    नेपालमा थप ६६२ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७२ पीसीआर परीक्षण गर्दा ५३५ जना र १४०४ एन्टिजेन परीक्षण गर्दा १२७ जना गरी ६६२ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७ हजार ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७५८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ ।

  • बाढी पहिरोले घर भत्किएका प्रतिपरिवारलाई ५० हजार दिने सरकारको निर्णय

    बाढी पहिरोले घर भत्किएका प्रतिपरिवारलाई ५० हजार दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ ।

    बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले सो निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

    उनका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा २० घर भत्केका तथ्यांक प्राप्त भएको छ । यस्तै उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णय भएको पनि पोखरेलले बताए ।

    यस्तै अन्य कृषिबालीलगायतका क्षतीका सन्दर्भमा आवश्यक अध्ययन गरेर त्यसका आधारमा क्षतिपूर्ति दिने निर्णय भएको छ । त्यसका लागि कृषि मन्त्रालयको संयोजकत्वमा देशभर भएका क्षतिको लकत संकलन गरिनेछ ।

    यस्तै प्रधानमन्त्री पनि बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने तय भएको पोखरेलले बताए ।