Category: समाचार

  • प्रदेश १ र कर्णालीमा आज नयाँ सरकार बन्ने

    प्रदेश १ र कर्णालीमा आज नयाँ सरकार बन्ने

    काठमाडौं । कर्णाली र प्रदेश एकमा आज नयाँ सरकार बन्दैछ । यसअघि दुबै प्रदेशका मूख्यमन्त्रीले सोमबार राजिनामा गरेका थिए । प्रदेश एकमा अल्पमतमा परेपछि भीम आचार्यले पद छाडेका हुन् । कर्णालीमा भने गठबन्धनको सहमतीका आधारमा महेन्द्र बहादुर शाहीले सत्ता छाडेका छन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गरेका छन् ।

    कर्णालीमा अब कांग्रेसको नेतृत्वमा सरकार बन्दैछ । गत बैशाख २ मा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीचको सहमतिअनुसार ६ महिनापछि कांग्रेसलाई नेतृत्व दिने भनिएको थियो । कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही अब मुख्यमन्त्री बन्दैछन् ।

    उता, प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै राईले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनी आजै मूख्य मन्त्री बन्ने र सथप लिने तयारी छ ।

  • ग्लास्गो विश्व सम्मेलनमा नेपालका मुस्ताङ र सोलुखुम्बुको चर्चा

    ग्लास्गो विश्व सम्मेलनमा नेपालका मुस्ताङ र सोलुखुम्बुको चर्चा

    काठमाडौं । स्टल्याण्डस्थित ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनमा नेपालको मुस्ताङ र सोलुखुम्बुको चर्चाले विश्वको ध्यान तानेको छ । नेपालको सरकारी संचारमाध्यम गोरखापत्रका अनुसार आयोजक राष्ट्र बेलायतको तर्फबाट अध्यक्षता ग्रहण गरेका बेलायतका मन्त्री आलोक शर्माले जलवायु परिवर्तनको असरले विश्व जगत नै आक्रान्त भएको भन्दै नेपालको मुस्ताङको जोमसोममा खडेरी पर्दा त्यहाँको जनजीवन, कृषि उत्पादन, पशुपालन, जैविक विविधतामा असर परिरहेको प्रसङ्ग उल्लेख गरेका छन् ।

    शर्माले जलवायु परिवर्तनको असरले नेपालको उच्च हिमाली अर्थतन्त्र जोखिममा परेको बताएपछि अन्य महादेशका जलवायु परिवर्तन विज्ञ, अध्येता, प्राध्यापक तथा सम्मेलनमा सहभागी सबैको ध्यान तानेको हो । उनले आफैं मुस्ताङको जोमसोममा गएर देखेको अनि त्यहाँको जनजीवनले भोगेका पीडा आफ्नो मगजमा बसेको बताएका छन् ।

    ग्लास्गोमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हालै नेपालमा भएको अप्रत्याशित बाढी, पहिरो र डुवानको घटनाले विश्वका सबै राष्ट्रलाई सचेत गराएको बताइन् । स्कटल्याण्डको ग्लास्गोमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनका अवसरमा बीबीसीसँग कुराकानी गर्दै राजदूत पोलिटले विश्वभरिका नेता जम्मा हुने यो सम्मेलनमा नेपालमा भएका पछिल्लो प्राकृतिक विपतको घटनाबारे गम्भीर छलफल र बहस हुने बताइन् ।

    उनले आफूले सोलुखुम्बुको भ्रमण गर्दा हिमाली क्षेत्रका बासिन्दाका जनजीवनमा निकै प्रभाव परेको जानकारी गराएकी छिन् । नेपालमा पानीका मूल सुक्ने, अति वर्षा हुँदा बाढी डुबानको समस्या हुने देखिएको छ । पाँच वर्षको दौरानमा नेपाललाई ३५ करोड पाउण्ड सहयोग गरेको बताउँदै राजदूत पोलिटले नेपाललाई आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरिन् ।

    नेपालले आउने १० वर्षमा जोखिम न्यूनीकरण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्न कम्तीमा ४९ अर्ब डलर चाहिने अनुमान गरिएको अवस्थामा बेलायतले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको छ ।

  • एमालेले गुमायो चार प्रदेशसहित ५ वटै सरकार

    एमालेले गुमायो चार प्रदेशसहित ५ वटै सरकार

    काठमाडौं । एमालेले सबै प्रदेशमा आफ्नो सत्ता गुमाएको छ । सोमबार प्रदेश नं १ को मूख्यमन्त्री पदबाट भीम आचार्यको राजिनामा सँगै एमाले सत्ताबिहिन बन्न पुगेको हो । अल्पमतमा परेसँगै मुख्यमन्त्री भएको ६८ दिनमै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा बुझाउनु परेको छ । यसअघि केन्द्रमा केपी शर्मा ओलीको सरकार हुँदा एमाललले कुल चार जना मुख्यमन्त्री सहित प्रदे्श सरकार हाँकेको थियो । सबै प्रदेशमा ओली समर्थित नेता मूख्यमन्त्री थिए ।

    तर, अब भने नेकपा एमाले कुनै पनि प्रदेश नेतृत्वमा रहने छैन । प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई पछि आचार्य पार्टीका तर्फबाट दोस्रो मुख्यमन्त्री बनेका थिए। एमालेले प्रदेश नं २, कर्णाली र सुदुरपश्चिममा बाहेक अन्य प्रदेशमा नेतृत्व गरेको थियो । प्रदेश नं १ गुमाउनु अघि एमालेले बागमती , लुम्बिनी र गण्डकी प्रदेश सरकार गुमाइसकेको छ ।

  • प्रदेश १ का मूख्यमन्त्री आचार्यले दिए राजिनामा, राईले पेश गरे दावी

    प्रदेश १ का मूख्यमन्त्री आचार्यले दिए राजिनामा, राईले पेश गरे दावी

    विराटनगर । प्रदेश १ को मूख्यमन्त्री पदमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दावी पेश गरेका छन् । उनले ४९ सासदको हस्ताक्षरसहित मूख्यमन्त्री पदमा दावि पेश गरेका हुन् । यसअघि मूख्यमन्त्री आचार्यले आजै राजिनामा दिएका थिए । उनी अल्पमतमा परेसँगै राजिनामा गरेका हुन् । यससँगै अब सबै प्रदेशबाट समेत एमाले भने सत्ताच्यूत भएको छ ।

    आचार्यको राजिनामा पछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेका थिए । राईलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ । प्रदेश १ मा सरकार गठन गर्न ४७ सांसदको हस्ताक्षर चाहिन्छ । गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि मंगलबार दिउँसो शपथग्रहण गराउने कार्यक्रम छ ।

  • प्रदेश १ मा भीम आचार्यले राजिनामा देलान की विश्वासको मतको सामना ?

    प्रदेश १ मा भीम आचार्यले राजिनामा देलान की विश्वासको मतको सामना ?

    विराटनगर । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीको बर्हिगमनसँगै बाँकी रहेको एक मात्र प्रदेश सरकार समेत आजबाट एमालेको हातबाट खोसिँदैछ । विपक्षी गठबन्धनले मूख्य मन्त्री भीम आचार्यको विपक्षमा मत हाल्ने निर्णय गरेका कारण उनको पद धरापमा परेको हो । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् । साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची राखिएको छ ।

    यद्दपी मत विभाजनमा जानु अगाडी नै आचार्यले राजिनामा दिन सक्ने सम्भावना पनि छ । उनी अल्पमतमा परेका छन् । ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउन ४७ मत चाहिन्छ । विपक्षी गठबन्धनमा ५० मत छ । सत्तारुढ दल एमालेमा सभामुखसहित ४१ जना मात्र छन् । यसअघि बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यले विश्वासको मतको सामना नगरी राजिनामा गरेकी थिइन् । आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् ।

  • ११:०२ बजे भाइटिकाको उत्तम साइत

    ११:०२ बजे भाइटिकाको उत्तम साइत

    काठमाडौं । यस पटक भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ । भाइटिका कात्तिक २० गते शनिवार परेको छ । समितिका अनुसार सम्भव भएमा सो साइतमा टिका लगाउनु राम्रो मानिन्छ ।

    उत्तम साइतमा टीका लगाउन नभ्याउने अवस्थामा समेत १२ बजेभित्र टीका लगाउन सकिने बताइएको छ र शास्त्रमा उल्लेख भए अनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने भएकाले ज्योतिषीहरुले यस्तो सुझाव दिने गरेका छन् । त्यसो त भाइटिकाको दिन दिनभर नै टिका लगाउने प्रचलन रहेको छ । यसपटक तिहारको तिथि घटबढ भएका कारण काग तिहार र कुकुर तिहार एकै दिन मनाइदैछ । दुबै तिथी बुधबार परेको छ । बिहीबार लक्ष्मीपूजा हुनेछ ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखियो साढे २ अर्बको बुद्धमुर्ती

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखियो साढे २ अर्बको बुद्धमुर्ती

    भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँको मूर्ति अनावरण गरिएको छ । बुद्धको मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएका कारण महंगो परेको बताइएको छ । म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।

    बीबीसीका अनुसार उक्त मूर्तिलाई विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको छ । आइतवार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सो मूर्तिको अनावरण गरिन् । मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी विश्वको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन हुनुपर्नेमा जोड दिइन्।

    म्यानमारबाट भारतको कोलकाता हुँदै नेपाल ल्याइएको सो मूर्तिको मूल्य करिब दुई अर्ब ५० करोड रुपैयाँ रहेको लुम्बिनी गार्डेन फाउन्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । उक्त मूर्ति निर्माणका लागि म्यानमारको खानी सम्बन्धी एक कम्पनी मालवीन समूह लगायत बुद्ध धर्ममा आस्था राख्ने विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूले सहयोग गरिएको छ ।

    सो मूर्तिको तौल झन्डै २ हजार किलोग्राम रहेको छ । १ दशमलव ९ मिटर उचाइ रहेको भनिएको मूर्तिको चौडाइ ६० सेन्टिमिटर रहेको दाबी गरिएको छ। विमानस्थल भित्र जाने र बाहिर निस्कने मुख्य गेटको बीचमा राखिएको यो मूर्तिलाई अहिले सिसाको फ्रेम भित्र राखिएको छ । मूर्तिको सुरक्षाका लागि २४ घण्टा सुरक्षाकर्मीहरूको व्यवस्था गरिएको छ ।

  • ग्लास्गो शहरमा शुरु भयो कोप-२६

    ग्लास्गो शहरमा शुरु भयो कोप-२६

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कोप२६) औपचारिक रूपमा शुरु भएको छ । युनाइटेड किन्डमको ग्लास्गो शहरमा सम्मेलन सुरु भएको हो । बीबीसीका अनुसार जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आइतवार धेरैजसो औपचारिक समारोह तय भए तापनि सोमवारबाट विश्व नेताहरूले छलफल र बहस सुरु गर्नेछन्।

    जैविक इन्धनको प्रयोग सहित मानवीय कारणले विश्वको तापमान बढिरहेका बेला वैज्ञानिकहरूले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरू आवश्यक रहेका चेतावनी दिइरहेका छन्। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले यस सम्मेलनलाई विश्वको सत्यको क्षण भएको बताए ।

    सन् २१०० भित्र औसत तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य तय गरिए पनि यतिखेर विश्वको तापमान २.७ डिग्री सेल्सियस पुग्ने गतिले बढिरहँदा त्यसले जलवायु दुर्भाग्य निम्त्याउने संयुक्त राष्ट्रसङ्घले जनाएको छ। कोप२६ का अध्यक्ष आलोक शर्माले १.५ डिग्री सेल्सियसको लक्ष्यमा पुग्ने काम ुनिकै कठिनु रहेको बताउँदै त्यो हासिल गर्न विश्व नेताहरू एकजुट हुनुपर्ने बताएका छन्।

    झण्डै २०० देशहरूलाई आफ्ना कार्बन उत्सर्जन घटाउने थप महत्त्वाकाङ्क्षी लक्ष्यहरू तय गर्न भनिएको छ। यस सम्मेलनकै अवसर पारेर आज राष्ट्रसङ्घीय मौसमी निकायले एउटा प्रतिवेदन सार्वजनिक गरेर यसअघिका प्रतिवेदनले देखाएको जलवायु असरको थप पुष्टि गर्ने भएको छ ।

    विज्ञहरूले यतिखेर जलवायु परिवर्तनले संसारभरका विभिन्न जलवायु प्रणाली अस्थिर बनिरहेको चिन्ताजनक चित्र देखाइरहेका छन्। जसको अर्थ चरम विपद्का घटनाहरू झन् बढ्ने भन्ने विज्ञहरूको चेतावनी पाइन्छ।

  • नेपालमा ४०८ जनामा कोरोना देखियो, ८ जनाको मृत्यु

    नेपालमा ४०८ जनामा कोरोना देखियो, ८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १२ हजार ५७० पुगेको छ ।

    योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ४०७ पुगेको छ भने ७ लाख ९१ हजार ७८७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेका छन् । जसमध्ये ८ हजार ६१५ जना होम आइसोलेसनमा रहेका छन् भने ७६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये २२५ जना आईसीयू र ७० जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९९, रुपन्देहीमा ५०, कास्कीमा ३६, चितवनमा २९, झापामा २३, सुनसरीमा २२, मोरङमा २१, ललितपुरमा १३ र नुवाकोटमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • राष्ट्रिय वाणिज्य बैंकले एकै पटक माग्यो ८ सय जनालाई रोजगारी

    राष्ट्रिय वाणिज्य बैंकले एकै पटक माग्यो ८ सय जनालाई रोजगारी

    काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा एकै पटक आवेदन मागेका छ । आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जनाका लागि आवेदन माग गरेको हो । आवेदन अनलाइनबाट दिन सकिने छ । सोमबारबाट भर्न सकिने गरि आवोदन माग गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकसहित ती पदमा मानिस मागिएको हो ।

    सूचनाबारे विस्तृतमा भने आइतबारबो गोरखापत्रमा सूचना निकालिएको छ । लिखित परीक्षा आयोगबाट सञ्चालन हुनेछ ।परीक्षा केन्द्रबारे पछि जानकारी दिइने भएको छ । अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ। मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्ने सूचनामा उल्लेख छ ।

  • नेपालमा ३७२ जनामा देखियो कोरोना, ११ को मृत्यु

    नेपालमा ३७२ जनामा देखियो कोरोना, ११ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् । अब देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १०३, ललितपुरमा ४५, झापामा २२, भक्तपुरमा २०, चितवनमा १८ र रुपन्देहीमा १२ जना संक्रमित भेटिएका छन् ।

  • इन्धनको मूल्यमा भारी वृद्धि, खाना पकाउने ग्यासमा ५० रुपैयाँ बढ्यो

    इन्धनको मूल्यमा भारी वृद्धि, खाना पकाउने ग्यासमा ५० रुपैयाँ बढ्यो

    काठमाडौं । सरकारले फेरि इन्धनको मूल्यमा भारती वृद्धि गरेको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको हो । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा ३ रुपैयाँ वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको जनाएको छ ।

    डिजेल र मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ । आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु् ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ । एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु. ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय भएको छ ।

  • नेपालमा ५४९ जनामा कोरोना पुष्टी, ६ जनाको मृत्यु

    नेपालमा ५४९ जनामा कोरोना पुष्टी, ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । ५६९ जनाले भने कोरोना जित्न सफल भएका छन् । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार देशभर रहेका संक्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत् छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ मा ७१, प्रदेश २ मा १६ तथा बागमती प्रदेशमा २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा ६२, लम्बिनीमा ७२, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

  • गिरिजा प्रसाद कोइरालाका लत्ताकपडा लगायत सामग्रीहरु बी.पी. संग्रहालयलाई हस्तान्तरण

    गिरिजा प्रसाद कोइरालाका लत्ताकपडा लगायत सामग्रीहरु बी.पी. संग्रहालयलाई हस्तान्तरण


    अमृता के सी ( रोनी )
    काठमाडौँ, कात्तिक १२। पूर्व उपप्रधानमन्त्री एवं नेपाली कॉंग्रेसकी नेत्री सुजाता कोईरालाले आफ्ना पिता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोईरालाले प्रयोग गरेका सामानहरु बी.पी. संग्रहालय सुन्दरीललाई हस्तान्तरण गरेकी छिन् ।

    गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित बी.पी. संग्रहालय सुन्दरीलका अध्यक्ष परशुराम पोखरेलका अनुसार पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले गिरीजा बावुको पार्थिब शरिरको दाह संस्कारका बखत निकालिएको अस्तु एवं उनले लगाएका कपडाहरू कोट, दौरा, सुरुवाल, अक्सिजन, मास्क साथै प्रयोग गरेका कप, प्लेट र चम्चा लगायतका सामग्रीहरु संग्रहालयलाई मंगलबार एक कार्यक्रम बिच हस्तान्तरण गरेकी छिन् ।ति सामग्रीहरु संग्रहालयमा सुरक्षित रुपमा प्रदर्शनमा राखिने अध्यक्ष परशुराम पोखरेलले जानकारी गराए । साथै यी दुबै इतिहॉंस पुरूष बी.पी. कोइराला एवं गिरीजी प्रसाद कोइराला सहोदर दाई,भाई नेपालको राजनितीक फाँटको उच्चतम स्थानमा रहेको बताउदै बि. पि. संग्राहलयमा नै नेपाली काँग्रेसका धरोहरका सामाग्री राख्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

  • कोप २६ मा नेपालको एजेण्डा के छ ?

    कोप २६ मा नेपालको एजेण्डा के छ ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा यस पटक नेपालले आफ्नो दरिलो उपस्थिति जनाउने भएको छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण तीन वटा नीतिगत दस्तावेज र कार्ययोजना स्वीकृत गरेको हो । स्कटल्याण्डको ग्लास्गो शहरमा शुरु हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरुको २६औं सम्मेलन (कोप २६) का लागि सरकारले दस्ताबेज स्वीकृत गरेको हो ।

    नेपालको राष्ट्रिय अनुकुलन योजना २०२१–२०५०, हानी नोक्सानीसम्बन्धी राष्ट्रिय कार्याढाँचा र खुद शुन्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति मन्त्रिपरिषदबाट पारित भएको हो । सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउबासहित वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव सहितको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ । मन्त्रिपरिषद्ले पारित गरेका तिनै नीतिगत दस्तावेज र कार्ययोजनाहरु अन्तर्राष्ट्रिय समुदायसँग समन्वय, सहकार्य र ज्ञान सीप आदान प्रदानका लागि सम्मेलनमा उच्च प्राथमिकताका साथ प्रस्तुत गर्ने नेपालको तयारी छ ।

    नेपाल सरकारले यो सम्मेलनलाई जलवायु परिवर्तनका चुनौतीहरु सामना गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्यका लागि एक महत्वपूर्ण अवसर हुने ठहर गरेको छ । नेपालले नेपालको पर्वतीय क्षेत्र, यहाँको जनजीविकामा जलवायु परिवर्तनको असर, हानी र नोक्सानीलाई अनुकूलन भन्दा थप अलग्गै कार्यक्रमहरुबाट सम्बोधन गर्नुपर्ने सवाल उठाउने भएको छ । यो मुद्दामा सुदृढ र दिगो वित्तीय व्यवस्था सुनिश्चित गर्न विश्व समुदायको ध्यान आकृष्ट गर्ने प्रयास गर्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

    ‘राष्ट्रिय अनुकुलन योजना २०२१–२०५०’ बारे पनि सम्मेलनमा नेपालले जानकारी गराउनेछ । यो योजनामा नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ले पहिल्याएका ८ वटा विषयगत र ४ वटा अन्तर विषयगत क्षेत्रमा गरी कुल ६४ वटा प्राथमिकता प्राप्त अनुकूलनका कार्यक्रमहरु तय गरिएका छन् ।

    प्राथमिकता प्राप्त अनुकूलन कार्यक्रमहरुको कार्यन्वयनको लागि सन्‌ २०५० सम्म कूल ४७।४ विलियन अमेरिकी डलरको आवश्यकता पर्ने सरकारको ठहर छ । सो रकममध्ये नेपालले कूल १.५ विलियन अमेरिकी डलर आन्तरिक स्रोत परिचालन गरेर योगदान गर्न सक्नेछ भने बाँकी ४५।९ विलियन अमेरिकी डलर बाह्य स्रोतको आवश्यकता पर्नेछ ।

    यसरी सन्‌ २०३० सम्ममा प्रत्येक वर्ष नेपालको लागि २।१ विलियन अमेरिकी डलरको वित्त प्रवाह हुन जरुरी हुने योजनामा उल्लेख छ । जुन रकम समग्रमा २१ विलियन अमेरिकी डलर हो । सन्‌ २०५० सम्ममा थप २६।४ विलियन अमेरिकी डलरको आवश्यकता पर्ने र २०३१ मा योजनाको मध्यकालीन समिक्षा पश्चात यो रकम थपघट हुन सक्ने योजनामा उल्लेख छ ।

    त्यसैगरी नेपालको ‘हानी नोक्सानीसम्बन्धी राष्ट्रिय कार्याढाँचा’ बारे पनि सम्मेलनमा जानकारी गराइनेछ । जलवायु परिवर्तनको संकटासन्नता र जोखिममा रहेका मुख्य प्राकृतिक, सामाजिक र आर्थिक क्षेत्रहरु र सेवा प्रदायकहरुको अनुकूलन क्षमता र उत्थानशिलता वृद्धि गर्नेलक्ष्य सहित यो ढाँचा तयार गरिएको छ ।

    स्थानीय, प्रादेशिक र संघीय तहका सबै विषयगत क्षेत्रहरुका नीति, रणनीति, योजना र कार्यक्रमहरुमा लैंगिक समानता, सामाजिक समावेशीकरण, जीविकोपार्जन र सुशासनका विभिन्न सरोकारलाई जोड दिँदै जलवायु परिवर्तनका मुद्दाहरुलाई एकीकृत गर्ने र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय वित्तिय व्यवस्था, अध्ययन अनुसन्धान, प्रविधिको बिकास र बिस्तार मार्फत जलवायु परिवर्तन अनुकूलनका लागि स्रोत साधनको न्यायोचित परिचालन र वितरण सुनिश्चत गर्ने लक्ष्य पनि ढाँचामा लिइएको छ ।

  • एमाले महाधिवेशनमा १५३६ जना प्रतिनिधी सहभागी हुने

    एमाले महाधिवेशनमा १५३६ जना प्रतिनिधी सहभागी हुने

    काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय पार्टीले गरेको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले चितवनमा मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी गराउने पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

    शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकका लागि प्रस्ताव तयार पार्न बसेको स्थायी कमिटीले महाधिवेशनमा उक्त संख्यामा प्रतिनिधि सहभागी गराउने निर्णय गरेको हो । प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेपछि कार्यान्वयन हुनेछ । एमालेमा ७ लाख २१ हजार पार्टी सदस्य छन् । उनीहरूमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गरिने भएको छ ।

    १०औं राष्ट्रिय महाधिवेशनमा पार्टीको भूगोल कमिटीबाट ११ सय ९६ प्रतिनिधि निर्वाचित भएर आउने छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा ३ जना समावेशी रूपमा चयन हुनेछन् । महाधिवेशनको तयारीका बारेमा निर्णय लिनका लागि एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बोलाइएको छ ।

  • तीन जिल्लामा लगाइयो कोरोनाको पूर्ण खोप

    तीन जिल्लामा लगाइयो कोरोनाको पूर्ण खोप

    काठमाडौं । नेपालमा तीन वटा जिल्लामा पूर्ण खोप अभियान सफल भएको छ । ७७ जिल्लामध्ये तीन जिल्लामा पूर्ण मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मनाङ, मुस्ताङ र रुकुममा कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाइएको हो । बाग्मती प्रदेश र गण्डकी प्रदेशमा बढी मात्रामा कोरोनाविरुद्धको खोप प्रयोग भएको छ ।

    बढी जोखिम र बढी जनघनत्व रहेको बाग्मती प्रदेश र गण्डकी प्रदेशमा बढी मात्रामा खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयको भनाई छ । प्रदेश १ मा ३६.३ प्रतिशतले पहिलो मात्रा र २३.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । प्रदेश २ मा ३१.७ प्रतिशतले पहिलो मात्रा र २४.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । बाग्मती प्रदेशमा ६६.५ प्रतिशतले पहिलो मात्रा र ५७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    गण्डकी प्रदेशमा ५३.१ प्रतिशतले पहिलो मात्रा र ३९.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएको तथ्यांक छ । लुम्बिनी प्रदेशमा ३७.७ प्रतिशतले पहिलो मात्रा र ३१.२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । कर्णाली प्रदेशमा ३१ प्रतिशतले पहिलो मात्रा र २२ प्रतिशतले पूर्णमा खोप लगाएका छन् भने सुदूरपश्चिम प्रदेशमा ३८.९ प्रतिशतले पहिलो मात्रा र २७.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    लक्षित जनसङ्ख्यामध्ये ४३.४ प्रतिशतले पहिलो मात्रा र ४३ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेका छन् । नेपालमा एक करोड ९९ लाख ७९ हजार ३३० डोज खोप प्राप्त भएको छ । जसमध्ये एक करोड ५४ लाख १९ हजार ४०५ डोज खोप प्रयोग भइसकेको छ ।

    ८६ लाख ४९ हजार २५१ जनाले पहिलो मात्रा खोप प्राप्त गरेका छन् भने ६७ लाख ७० लाख १५४ जनाले जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । नेपाललाई प्राप्त भएको खोपमध्ये सरकारले एक करोड ३० लाख २० हजार खोप खरिद गरेको छ भने ६९ हजार ५९ लाख ३३० डोज खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको र सोही अनुसार काम भइरहेको छ ।

  • नेपालमा ५२७ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    नेपालमा ५२७ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । आठ हजार ८४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । दुई हजार ५०७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३८२ पुगेको छ । नेपालमा हाल १० हजार २३६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

    संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

    काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । जारी अधिवेशन २३ भदौबाट शुरु भएको हो । यो अधिवेशनका सबै सत्रलाई प्रमुख विपक्षी नेकपा एमालेले अवरोध गरेको छ । अवरोध हुँदाहुँदै पनि सरकारले संसदबाट बजेट भने पास गरेको छ ।

  • आज प्रतिनिधिसभा बैठक, एमालेको अवरोध के होला ?

    आज प्रतिनिधिसभा बैठक, एमालेको अवरोध के होला ?

    काठमाडौं । बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । संसदमा एमालेले निरन्तर अवरोध गरिरहेको छ । वर्तमान संसदलाई असफल बनाउन प्रयास गरिरहेको एमालले खुलाउने सम्बन्धमा गम्भीर नभएको सत्तारुढ दलका नेताले बताइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेर बहादुर देउवासँग संसद खुलाउन पहल समेत लिएका छैनन् । बिहीबारको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्दैछन् ।

  • राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा आज नयाँ सरकार

    राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा आज नयाँ सरकार

    काठमाडौं । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । एमालेको सरकार ढलेसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा आज पाण्डे नियुक्त हुदैछन् । पाण्डेले आजै मन्त्रिपरिषद् गठनको समेत तयारी गरेका छन् । उनी विपक्षी गठबन्धनको तर्फबाट मूख्यमन्त्री बन्न लागेका हुन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसँगै बुधबार राजीनामा गरेकी थिइन् । कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदको समर्थन पाण्डेलाई छ । उनले आजै सथप लिने र पदभार ग्रहण गर्ने कार्यक्रम समेत राख्ने तयारी छ ।

  • नेपालमा ५८२ जनामा देखियो कोरोना, ८ जनाको मृत्यु

    नेपालमा ५८२ जनामा देखियो कोरोना, ८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५८२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १६७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । दुई हजार ३२८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४९५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हाल १० हजार ३७५ जना सक्रिय सङ्क्रमित छन् ।

  • सिंहदरबारभित्र एक राउण्ड गोली चल्यो

    सिंहदरबारभित्र एक राउण्ड गोली चल्यो

    काठमाडौं । काठमाडौंको सिंहदरबारभित्र एक राउण्ड गोली चलेको छ । तर, गोली कसैप्रति लक्षित नभई भुलवस चलेको बताइएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । गोली टेबुलमा लागेका कारण कसैमाथि क्षति हुन नपाएको स्रोतको भनाई छ । संसद सचिवालयमा पेस्तोलको दर्ता नम्बर टिपाउने क्रममा झुक्किएर गोली चलेको हुन सक्ने बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • कांग्रेसको महाधिवेशन मंसिर २७ बाट गर्न प्रस्ताव

    कांग्रेसको महाधिवेशन मंसिर २७ बाट गर्न प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन २७ मंसिरबाट शुरु गर्न निर्वाचन समितिले प्रस्ताव गरेको छ । पार्टीको १४ औं महाधिवेशनको मिति पटक पटक सार्दा पार्टीको आलोचना भइरहेको छ । निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशन कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । प्रदेश अधिवेशन मंसिर १६ र १७ मा गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको हो । निर्वाचन समितिले पार्टी नेतृत्वलाई यो मिति प्रस्ताव गरेको हो । पार्टीको पदाधिकारी बैठकले मिति तोक्ने छ ।

  • बागमती प्रदेश मुख्यमन्त्री पदबाट शाक्यले गरिन राजिनामा

    बागमती प्रदेश मुख्यमन्त्री पदबाट शाक्यले गरिन राजिनामा

    काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा गरेकी छिन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गरेकी उनले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको उल्लेख गरिन् । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा गरेसङ्गै बागमती प्रदेश सरकार रिक्त भएको छ ।  मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अहिले प्रदेश सभामा सम्बोधन गरेकि थिइन् । उनले सोही सम्बोधनमार्फत राजीनामा घोषणा गरिन। प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गरेकि हुन् ।  शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् । तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

  • बागमती प्रदेशमा मूख्यमन्त्रीको टुंगो आज

    बागमती प्रदेशमा मूख्यमन्त्रीको टुंगो आज

    हेटौडा । बागमती प्रदेशमा मूख्यमन्त्रीको टुंगो बुधबार लाग्ने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बोलाइएको छ । गत बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको हो । बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक सातामै शाक्य अल्पमतमा परेकी थिइन् । त्यसपछि गत असोज २४ गते विश्वासको मत प्राप्त गर्ने प्रस्ताव उनले प्रदेशसभामा पेश गरेकी हुन् ।

    बागमती प्रदेशमा हाल १०९ प्रदेशसभा सदस्य कायम छन् । बहुमतका लागि ५५ सदस्य आवश्यक पर्छ । बागमती प्रदेशमा हाल एमालेका ४३, माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना, एकीकृत समाजवादीका १३ जना, विवेकशील साझा पार्टीका तीन जना प्रदेशसभा सदस्य छन् । यसैगरी नेमकिपा र राप्रपाका दुई(दुई जना तथा जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेश सभा सदस्य छन् ।

  • मंसिरभित्रै महाधिवेशन सक्न सभापति देउवाको निर्देशन

    मंसिरभित्रै महाधिवेशन सक्न सभापति देउवाको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जारी चौधौं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरुप मङ्सिर महिना भित्रै सक्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित काँग्रेसको संसदीय कार्यालयमा पार्टीको पदाधिकारी र केन्द्रीय निर्वाचन समितिबीच भएको बैठकमा सभापति देउवाले मंसिरमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यक्रमहरु अगाडि बढाउन निर्देशन दिए । महाधिवेशनको मिति पछाडि सर्नेभन्दा पनि मंसिर ९ देखि १३ गतेसम्म चौधौं महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा सभापतिले जोड दिएको नेताहरुले जनाएका छन् । सभापति देउवामाथि महाधिवेशन सार्न खोजेको आरोप लाग्दै आएको समयमा उनले यस्तो निर्देशन दिएका हुन् ।

  • ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्स, लाखौं आकंक्षी प्रतिक्षारत

    ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्स, लाखौं आकंक्षी प्रतिक्षारत

    काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि आवेदन खुलाएको छ । नयाँ लाइसेन्स लिन लाखौं नागरिक प्रतिक्षारत छन् । वैशाख १६ गतेदेखि कोरोना महाकारीका कारण लाइसेन्स बन्द भएको थियो । अनलाइनबाट आवेदन दिन सकिने प्रणाली सोमबार रातिबाट खुलेको विभागले जानकारी गराएको छ । आवेदन प्रणाली खुलेसँगै अब नियमित रुपमा फारम भर्न सकिने भएको छ ।

    दैनिक कार्यालयको कोटा निर्धारण गरि दैनिक रुपमै आवेदन लिन थालिएको हो । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन स्वीकार गर्ने भएका छन् । नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । लिखित परीक्षामा अब ४, ४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ ।

    नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ । नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक(फरक अंकभार दिइएको छ । ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

  • न्यायालयमा विवाद, आज पनि सर्वोच्चमा भएन मुद्दाको सुनुवाई

    न्यायालयमा विवाद, आज पनि सर्वोच्चमा भएन मुद्दाको सुनुवाई

    काठमाडौं । न्यायालयमा चुलिएको विवादले न्यायका सेवाग्राही नराम्रोसँग प्रभावित बनेका छन् । प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादले मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन नसकेको हो । यसरी इजलास अवरुद्ध भएको लगातार दोस्रो दिन हो । मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । सर्वोच्चका न्यायाधीशहरु पुनः छलफलमा बसेका थिए । पछिल्लो छलफलले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने निश्कर्ष निकालेको छ ।

  • काठमाडौंमा आजबाट अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने

    काठमाडौंमा आजबाट अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने

    काठकाडौं । काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने भएको छ । पहिलो मात्रा अष्ट्राजेनिका खोप लगाइसकेकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो। आज काठमाडौंका विभिन्न अस्पताल र बुधबार काठमाडौं महानगरका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने काठमाडौं महानगरले जानकारी दिएको छ।

    वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालबाट खोप लगाउन सकिन्छ। खोप लगाउन पहिलो मात्राको खोप लगाएको कार्ड लिएर खोप केन्द्रमा आउनसमेत महानगरले आह्वान गरेको छ ।