Category: समाचार

  • जगडोलको शाहीद पार्क वृक्षाराेपणको पार्क बन्दै सोमबार अर्को वृक्षाराेपण सम्पन्न

    जगडोलको शाहीद पार्क वृक्षाराेपणको पार्क बन्दै सोमबार अर्को वृक्षाराेपण सम्पन्न


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असोज १२ । ४२ औं विश्व पर्यटन दिवसकाे अवसरमा नेपाल पर्यटन बाेर्ड र राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वन पर्यापर्टन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिकाे संयुक्त आयाेजनामा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ।

    “समावेशी वृद्धिका लागि पर्यटन” भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनमा संस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिब यादब प्रशाद काेइरालाको प्रमुख आतिथ्यतामा सोमबार वृक्षाराेपण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपालका लागी युनेस्को आयोगका महासचिव डा. बाबुराम अधिकारी, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऎर,संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मी बस्नेत, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल, राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, महानगरीय प्रहरी प्रभाग गोकर्णका प्रमुख रामजी घिमिरे, पर्यटन बोर्डका पदाधिकारीहरु, स्थानिय सरकारका प्रतिनिधि लगायत स्थानिय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका निमित्त युनेस्को आयोगका महासचिव डा. बाबुराम अधिकारीले राम्रो कामको सुरुवात गर्न सोच बनाए त्यो काम पूरा हुने बताउदै सहिद पार्क जगडोलमा अन्तर्राष्ट्रिय स्तरको युनेस्को अध्यन, अनुसन्धान, प्रयोगात्मक केन्द्र,राष्ट्रिय शहिद संग्राहलय एवं युनेस्को संग्राहलय र औषधि जन्य बोटबिरुवा रोपण गरि हर्बल पार्कको निमार्ण जस्तो तीन वटा महत्वपूर्ण कार्य गर्न खोजेको बताए।

    उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऎरले विश्व पर्यटन दिवसको शुभकामना दिदैँ देशभरीको सामुदायिक वनको संजाललाई पर्यापर्यटनको विशेष स्थलको रूपमा विकास गर्ने जमर्को गरेको भन्दै सामुदायिक वन संजाल संग जोडिन गई वातावरणलाई सुरक्षित तरिकाले मानव संस्कृतिलाई टेवा पुग्ने बताए।

    कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिब यादब प्रशाद काेइरालाले हरेक राष्ट्रको विदेशी आय आर्जन गर्ने महत्त्वपूर्ण स्रोत पर्यटन भएको बताए।साथै जगडोल अनुपम रुपले प्राकृति सुन्दर खुल्ला संग्राहलय भएकोले शहिद पार्कलाई राष्ट्रिय जगतमा अन्तराष्ट्रीय जगतको पार्क बनाउन अगाडि बढ्न अनुरोध गर्दै नेपाल पर्यटन बोर्डले हालेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा धन्यवाद व्यक्त गर्दै राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले शहिद पार्क नेपाल सरकार, जनता र साझेदारी निकायहरूको सम्पत्ति भएकोले हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै देश भरीकै सामुदायिक वनको संजाल बनाई पर्यटकीय गतिविधि बढाउने उनले बताए।

  • प्राविधिकले ‘समस्या छैन’ भनेपछि बुद्धको जहाज व्यवसायिक उडानमा

    प्राविधिकले ‘समस्या छैन’ भनेपछि बुद्धको जहाज व्यवसायिक उडानमा

    काठमाडौं । सोमबार करीव २ घण्टा आकासमा फन्को मारेर अवतरण भएको बुद्ध एयरको एटीआर जहाजले मंगलबार भने बिहानैबाट व्यवसायिक उडान गरेको छ । जहाजमा कुनै पनि प्राविधिक समस्या नदेखिएपछि यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरका प्राविधिले उड्ने अनुमति दिएका हुन् । बुद्ध एयरका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए ।

    चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको हो । सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।

  • नेपालमा थप ११५८ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

    नेपालमा थप ११५८ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी ११५८ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९३ हजार २७१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३१८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ११५पुगेको छ ।

  • असोज २३ देखि तारा एअरको पोखरा–जोमसोम नियमित उडान

    असोज २३ देखि तारा एअरको पोखरा–जोमसोम नियमित उडान

    काठमाडौं । यति एअरलाइन्सको भगिनी संस्था तारा एअरले आगामी असोज २३ देखि पोखरा-जोमसोम उडान गर्ने भएको छ।

    नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको हो।

    यति एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित संचालन गर्न लागेको जानकारी दिए।

    “बिगतका बर्षहरुमा जस्तै पोखरा बिमानस्थलमा नै जहाज राखेर तारा एअरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेका छौँ,” उनले भने। कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटा सम्म उडान भर्दै आएको थियो।

    जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवाहरुले विहान १२ बजे भित्र नै उडानहरु भर्नुपर्ने हुन्छ। दुर्गममा उडान गर्ने वायुसेवाहरुमा तारा एअरले मात्र पोखरा, नेपालगंज र काठमाण्डौंमा नियमित बायुयान राखेर दुर्गममा सेवा दिंदै आएको छ।

    तारा एअरसँग हाल दुर्गममा उडान गर्ने ४ वटा टुइनअटर बायुयान रहेको छ। ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका बिमानस्थलहरुमा नियमित तथा चार्टर उडान भर्दै आएको छ।

  • न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

    न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

    म्यानचेस्टर

    न्यूह्यामसायर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता (सिंगल्स)को उपाधि किरण हुमागाईँले जितेका छन् । आइतबार राज्यको म्यानचेस्टर स्थित वाटरफोर्ड टेनिस कोर्टमा सम्पन्न फाइनलमा ओम बस्नेतलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गर्दै हुमागाईँले उपाधि हात पारेका हुन् ।

    यस्तै डबल्स तर्फको उपाधि गोविन्द गुरुङ र दिनेश गुरुङले जितेका छन् । मनिष हुमागाईँ र ओम बस्नेतको जोडीलाई ६–३ र ६–४ को सेटमा हराउँदै उनीहरु विजयी भएका हुन् । विजेता खेलाडीहरुलाई फाइनल खेलपछि आयोजित समारोहमा समाजकी अध्यक्ष शान्ता विष्टले ट्रफी हस्तान्तरण गरिन् ।

    कार्यक्रममा न्यूह्यामसायरको नेपाली समुदायमा टेनिस प्रवर्धनका लागि निरन्तर योगदान गर्ने रोविन थापा, किरण हुमागाईँ एवं वीर शाहलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । भुटानका पूर्व राष्ट्रिय टेनिस च्याम्पियन हुमागाईँ पछिल्लो दुई दशक देखि न्यूह्यामसायरमा बसेर नयाँ पुस्तालाई टेनिस सिकाउन सकृय छन् । उनकै प्रेरणामा टेनिस खेल्न थालेको तन्नेरी नेपाली पुस्ताले आज राज्य स्तरमा आयोजना हुने अन्य प्रतियोजितामा समेत प्रभाव छोड्न थालेको छ । न्यूह्यामसायरमा व्यवसाय गर्दै आएका थापा नेपाली समुदायमा सबैजसो खेलकुद प्रवर्धनका लागि अघि सर्दै आएका छन् । यस्तै शाह पनि खेलकुदप्रति झुकाव राख्ने पुस्तालाई सहयोग गर्न हमेसा तप्पर रहन्छन् ।

    कार्यक्रममा प्रतियोगिता संयोजक एवं न्यूह्यामसायर नेपाली समाजका महासचिव माधव गुरुङले टेनिस प्रति बढ्दो लोकप्रियतालाई मलजल गर्न युवा पुस्ता तयार भइ सकेको बताए । समाजकी अध्यक्ष विष्टले खेलको माध्यमबाट भइ रहेको भाइचारा अभिवृद्धि आफूहरुको मुख्य पूँजी रहेको बताइन् । साथै पछिल्लो समय राज्यमा बसोबास गर्ने नेपाली महिलाहरुमा समेत टेनिस सिक्ने जाँगर बढेको भन्दै यो खेल समाजको सबै तप्कालाई जोड्ने सेतुको रुपमा विकास भइ रहेको उनको भनाइ थियो । समाजले बर्षेनी टेनिस प्रतियोगिता आयोजना गर्दै आएको छ । एक सातासम्म चलेको यस पटकको प्रतियोगितामा सिंगल्स तर्फ १७ जना र डबल्स तर्फ सात जोडी प्रतियोगी सहभागी थिए ।

  • रुपन्देहीमा ट्रक ठक्करबाट आमा-छोराको मृत्यु

    रुपन्देहीमा ट्रक ठक्करबाट आमा-छोराको मृत्यु

    रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना ५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेको प्रहरीले जनाएको छ । उनीहरु आमा-छोरा हुन् । सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले प्रहरीले जनाएको छ ।

  • मन्त्रिहरुको नाम टुंग्याउँदै दलहरु, एक\दुई दिनमै सरकार बिस्तार

    मन्त्रिहरुको नाम टुंग्याउँदै दलहरु, एक\दुई दिनमै सरकार बिस्तार

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको नेतृत्व लिएको दुई महिना नाघिसक्दा पनि मात्र ६ सदस्यीय मन्त्रीमण्डलले देश चलिरहेको छ । यसबाट मन्त्रालयगत रुपमा हुनुपर्ने कतिपय निर्णय अनिर्णयको बन्दी बनेका छन् । यता सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि भने मन्त्रिमण्डल विस्तार हुने भएको छ । आज र भोलीमा यो विषय टुंगो लगाउने तयारीमा दलहरु छन् ।

    माओवादी केन्द्रमा त्यति विवाद नभएपनि मन्त्री बन्ने सन्दर्भमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)मा विवाद छ । यी दलले समेत आजै मन्त्रीको नाम टुंग्याउने बताएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गते ल्याइएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेलगत्तै राष्ट्रपतिबाट अध्यादेश खारेज भइसकेको छ ।

    प्रधानमन्त्रीसहित २५ जनाभन्दा बढीको मन्त्रिमण्डल बनाउन पाइदैन । दलहरुबीच नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्रालय, माओवादी केन्द्रलाई ६ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादी पार्टीलाई ५ मन्त्री र एक राज्यमन्त्री तथा जसपालाई ४ मन्त्री र १ राज्यमन्त्री दिने विषयमा सहमति भएको जनाइएको छ ।

  • बेलायतमा पेट्रोल आपूर्ति सहज बनाउन सेना परिचालन

    बेलायतमा पेट्रोल आपूर्ति सहज बनाउन सेना परिचालन

    लण्डन । बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्प बन्द भएका छन् । यसले खुलेका पम्पमा ठूलो भिड लागेको छ । यो अवस्था सहज बनाउन बेलायतले सेना परिचालन गर्ने भएको छ । बीबीसीका अनुसार सेनालाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ । सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्न तालिम समेत दिइने भएको छ । बेलायती व्यापारमन्त्री क्वासी कोर्टनले मुलुकमा पर्याप्त आपूर्ति रहेको भन्दै सेना परिचालनको कदमलाई समझदारी र सावधानीको कदमुका रूपमा व्याख्या गरेका छन्।

    तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन्। तर मोटरीङ्ग ग्रुप आरएसीका अनुसार केही किराना व्यापारीले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन्। मन्त्रीहरूले आवश्यकता नभएका मानिसहरूले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन्।

    लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशङ्काका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए। सरकारले ट्याङ्कर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ। बिपी र सेलजस्ता ठूला उत्पादकहरूले यूकेका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन्।

  • राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस

    राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौं । रकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्न सिफारिस गर्ने निर्णय गरेको हो । दल विभाजनका लागि बीस प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिन लागेको हो ।

    सो प्रावधान केवल एमाले र जनता समाजवादी पार्टी फुटाउन मात्र प्रयोग गरिएको छ । अध्यादेशको प्रावधान कायमै राख्न अन्य दलमा समेत जोखिम हुने ठान्दै सरकारले अध्यादेश फिर्ता लिन लागेको हो । सरकारले गत भदौ १ गते बीस प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो। अध्यादेश फिर्ता भएपछि अब दलहरु सरकारमा सहभागी हुनेछन् ।

  • बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियर नखुल्दा सोमबार काठमाडौंमा मच्चियो तहल्का

    बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियर नखुल्दा सोमबार काठमाडौंमा मच्चियो तहल्का

    काठमाडौं । सोमबार बिहान १०) बजेको समयमा काठमाडौंको आकासमा एक जहाजले करीव १० फन्का लगायो । अन्य उडान अवतरण बन्द भएको समयमा एउटै जहाजले १० फन्को मार्दा काठमाडौंबासीलाई अचम्म लाग्नु स्भाविक थियो । त्यतिन्जेल संचारमाध्यमहरुमा खबर फैलियो, काठमाडौबाट विराटनगर उडेको जहाज त्यहाँ ल्याण्ड हुन नसकी काठमाडौं फर्किएको छ । समस्या थियो ल्याण्डिंग गिर नखुल्नु अर्थातः पांग्रा नखुल्नु ।

    यो खबर काठमाडौं विमानस्थलले पाएसँगै विमानस्थलमा आकस्मिक अवतरणको सबै तयारी गरिएको थियो । आवश्यक परे फम विच्याएर आपतकालिन अवतरणको समेत तयारी थियो । तर, ल्याण्डिङ गियरले काम गरेको पुष्टी भएसँगै जहाजको सुरक्षित अवतरण भएको छ । जहाजमा रहेका यात्रुले पशुपतिनाथको कृपाले बाँचेको प्रतिक्रिया दिएका छन् ।

    आजै बुद्धको जहाज पोखराका लागि उडेसँगै ककपिटमा धुँवा देखिएपछि काठमाडौं फिर्ता गरिएको विमानस्थल कार्यालयले जनाएको छ । दुबै घटनामा कुनै पनि मानवीय क्षति भने हुन पाएन । यी दुबै घटनामा कम्पनीले ‘सुरक्षामा शून्य सहनशीलता’को सिद्धान्त अपनाएको दावि गरेको छ । सोमबार बुद्ध एयरले विज्ञप्ति जारी गर्दै सुरक्षामा शून्य सहनशीलता अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौं फर्काउने निर्णय लिएको बताएको छ ।

    बुद्ध एयरका अनुसार जहाजमा ल्याण्डिङ गियरका लागि दुई वटा इन्डिकेटर हुन्छन् । सोमबार विराटनगरका लागि उडेको जहाज अवतरण गर्न खोज्दा प्राइमरी इण्डिकेटर देखिएन । विराटनगर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले समेत जहाजको पाङ्ग्रा खुलेको देखेनन् ।

    विमान काठमाडौं फर्कियो । किनकी फायर फाइटिङदेखि एम्बुलेन्ससम्म सुविधाका लागि काठमाडौं विमानस्थल सबैभन्दा सुरक्षित विमानस्थल हो । बुद्ध एयरका अनुसार प्राइमरी इन्डिकेटरमा नदेखिए पनि सेकेन्डरी इण्डिकेटरमा सबै ठीकठाक थियो । काठमाडौं आइसकेपछि क्याप्टेनलाई बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी गराइएको थियो ।

  • नेपालमा थप १२८२ जनामा कोरोना पुष्टी, १२६२ जना संक्रमण मुक्त

    नेपालमा थप १२८२ जनामा कोरोना पुष्टी, १२६२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १२८२ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९२ हजार ३६७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६२ हजार ४१६ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार ८४८रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।

  • कोरोना विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो, कतिले लगाए ?

    कोरोना विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो, कतिले लगाए ?

    काठमाडौं । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ ।

    स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने जानकारी दिए । ‘हामीले असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भनेका थियौँ’, उनले भने, ‘सोहीअनुसार हामीले दैनिक खोप अभियान सञ्चालन गरिरहेका छाैं । असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप पुर्‍याउँछौँ ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा आफू नियुक्त भए लगत्तै कोरोना भाइरस विरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने र आसोज मसान्तसम्ममा ३३ प्रतिशतमा खोप पुर्याइने घोषणा गरेका थिए । सोही अनुरुप सरकारले अनुदान प्राप्त हुने देशबाट अनुदान तथा चीन र भारतबाट खरिद गरेर पनि खोप ल्याउने नीति लिएको हो ।

    सरकारले १८ वर्षभन्दामाथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ । पहिलो चरणको अर्थात् असोज मसान्तसम्मको लक्ष्य पूरा हुन लागेकाले खोपको आगामी अरु लक्ष्य पनि पूरा हुने देखिएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ । खोप अभियानकै क्रममा मन्त्रालयले अहिले पनि भेरोसेलको पहिलो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ । अहिले दैनिक एक लाखभन्दा बढी जनाले खोप लगाइरहेका छन् ।

    अहिलेसम्म पूर्वरुकुम, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्णमात्राको खोप लगाइसकेका छन् । उनका अनुसार कूल जनसङ्ख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन् । अहिले ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् ।

    खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि सङ्क्रमण पनि घट्दै गइरहेको छ । आइतबार १३ हजार ७३६ जनामा कोभिड–१९ परीक्षण गर्दा ८३४ जनामा सङ्क्रमण देखिएको छ । अहिले परीक्षण गरिएकामध्ये करिब १२ देखि १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

    अहिलेसम्म नेपालमा सङ्क्रमणको दर १९ प्रतिशत रहेको छ । नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए ।

    कुन जिल्लामा कतिले लगाए खोप ?

    सबभन्दा बढी काठमाण्डु उपत्यकामा जनसङ्ख्यालाई खोप लगाइएको छ । काठमाण्डु जिल्लामा पहिलो ५० प्रतिशत र दोस्रो ४९ प्रतिशत जनसङ्ख्यालाई, ललितपुरमा पहिलो ५० प्रतिशत जनसङ्ख्या र ४५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेको छ ।

    यस्तै भक्तपुरमा ४१ प्रतिशतलाई पहिलो मात्रा खोप र ४६ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकेको छ । उपत्यकापछि सबभन्दा बढी रसुवामा खोप लगाइएको छ । रसुवामा पहिलो मात्रा ५६ प्रतिशत र पूर्णमात्रा ४७ प्रतिशतलाई लगाइएको छ । यस्तै काभ्रेमा ३७ प्रतिशत पहिलो र ३१ प्रतिशत पूर्ण मात्रा, रामेछाप २६ प्रतिशत पहिलो र ३६ प्रतिशत पूर्ण मात्राको खोप लगाइएको छ ।

    यस्तै कास्कीमा पहिलो मात्रा २५ प्रतिशत जनसङ्ख्या र पूर्ण ३१ प्रतिशतलाई, लमजुङमा पहिलो ३० प्रतिशत र पूर्ण मात्रा २९ प्रतिशतलाई लगाइएको छ । स्याङ्जा पहिलो ३२ प्रतिशत र पूर्ण मात्रा २८ प्रतिशत, पर्वत पहिलो २३ प्रतिशत र पूर्ण मात्रा २५ प्रतिशतलाई खोप लगाइसकेको जनाइएको छ ।

    कुन प्रदेशमा कतिले लगाए ?

    मन्त्रालयका अनुसार सबभन्दा बढी वाग्मती प्रदेशमा खोप लगाइएको छ । वाग्मती प्रदेशमा पहिलो ३६ प्रतिशत र पूर्ण मात्रा ३४ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइएको छ । गण्डकी प्रदेशमा पहिलो र पूर्ण मात्रा खोप २४/२४ प्रतिशत जनसङ्ख्यालाई, लुम्बिनी प्रदेशमा पहिलो १९ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा पहिलो १८ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशतलाई खोप लगाइसकेको छ ।

    यस्तै प्रदेश नं १ मा १८ प्रतिशतले पहिलो र १५ प्रतिशतले पूर्ण मात्रा र प्रदेश नं २ मा १५ प्रतिशतले पहिलो र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मुलुकभरि विशेष क्षेत्रमा काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिए ।

    ‘हामीले लक्ष्यअनुसार सबैलाई खोप लगाइसकेका छौँ’, उनले भने, ‘सबै नागरिकलाई खोप लिने लक्ष्यसहित खोप ल्याइरहेका छौँ ।’ सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई खोप दिइसकेको थियो ।

    मन्त्रालयले यही असोज ४ गतेदेखि १४ गतेसम्म ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ ।

    यस्तै काभ्रे र चितवनमा पनि १८ वर्षभन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई र काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्षमाथिका खोप लगाउन बाँकी र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइँदै छ ।

    नेपालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ । सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ । सरकारले खोपको कमी हुन नदिन अनुदान लिएर तथा खरिद गरेर पनि खोपको मात्रा पुर्याउने बताइरहेको छ ।

    बालबालिकाका लागि चाँडै एक लाख मात्रा आउँदै

    सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने तयारी गरेको छ । बालबालिका लागि मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइने छ । मोडर्ना कोभ्याक्स सुविधाअन्तर्गत ल्याउनका लागि पैसा पनि बुझाइसकेको छ । खोप शाखा प्रमुख दाहालले एक लाख मात्रा फाइजर खोप चाँडै नै आउने बताए ।

    उनका अनुसार अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ । यसैगरी ५९ लाख मात्रा भेरोसेल खोपका लागि पैसा तिरिसकेको उनले बताए । कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ । कोभ्याक्सबाट निःशुल्करुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ । सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाएको छ ।

    सार्कमा नेपाल चौथो

    कोरोना भाइरस विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो स्थानमा छ । सार्क देशहरुमा सबैभन्दा बढी भुटानले ६५.६ प्रतिशत नागरिकलाई खोप दिएको छ । त्यस्तै दोस्रोमा मालदिभ्सले ६१.४८, श्रीलंकाले ५२.६१ प्रतिशतलाई र नेपालले लक्षित बर्गको २८ प्रतिशत नागरिकलाई पूर्ण मात्रामा खोप लगाएको पनि डा अधिकारीले बताए ।

  • फुलपातिदेखि पूर्णिमासम्म सवारी साधनले रुट इजाजत लिन नपर्ने

    फुलपातिदेखि पूर्णिमासम्म सवारी साधनले रुट इजाजत लिन नपर्ने

    काठमाडौं । सरकारले वडा दसैँलाई लक्षित गरि सवारी साधनको रुट इजाजत खुला गरेको छ । यस वर्ष दशैंको फुलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनले नेपालभर जहाँ पनि यात्रा गर्न सक्ने गरि इजाजत खुला गरेको हो । यातायात व्यवस्था विभागका अनुसार त्यसपछि भने तोकिएको रुटमा मात्र सवारी साधन चलाउन पाइने छ ।

    दशैंमा शहरबाट गाउँ जाने र गाउँबाट शहर फर्कनेहरुले टिकट नपाएको अवस्थामा गाडी रिर्जभ गर्न सक्छन् । सोहीकारण रुट इजाजत खुला गर्ने गरिन्छ । यात्रुवाहक सवारी साधनको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने नियम बनाइएको छ । सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने भएको छ । तोकिएको भन्दा बढी भाडा उठाउन पाइने छैन ।

  • बलियो ओमानसँग नेपालको लज्जास्पद हार

    बलियो ओमानसँग नेपालको लज्जास्पद हार

    काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिम बलियो टोली ओमानसँग पराजित भएको छ । गतराती कतारको दोहामा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो । साफ च्याम्पियनसिपको तयारीकै क्रममा नेपाल र ओमान भिडेका अुन् । साफको तयारीका लागि नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेको छ । नेपाली टिम कतारबाट साफका लागि माल्दिभ्स जाने कार्यक्रम छ ।

    मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार मात्र साफ खेल्ने २३ सदस्यीय टिम घोषणा गरेका छन्। नेपाल र माल्दिभ्सबीचको खेल आउँदो शुक्रवार मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। त्यहा नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग असोज १८ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ मा खेल्नेछ । अन्तिम खेलमा बङ्गलादेशसँग २७ असोजमा खेल्नेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधि भिडन्तमा खेल्नेछन् । फाइनल असोज ३० मा हुनेछ ।

  • आजबाट खुल्यो लामो दुरीको बसमा अग्रिम टिकट बुकिङ

    आजबाट खुल्यो लामो दुरीको बसमा अग्रिम टिकट बुकिङ

    काठमाडौं । आजबाट काठमाडौं उपत्यकाबाट लामो दूरीमा चल्ने बसमा अग्रिम टिकट बुकिङ खुला भएको छ । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेलाई लक्षित गरि टिकट बुकिङ खुलेको हो । दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

    यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेसँगै सोमबारबाट टिकट काट्न थालिएको हो । कतिपय गन्तब्यमा भने अहिले पनि अनलाइनबाट टिकट काट्न सकिन्छ ।

  • कपनमा ढलमा बगेका बालकको शव ललितपुरमा भेटियो

    कपनमा ढलमा बगेका बालकको शव ललितपुरमा भेटियो

    काठमाडौं । अघिल्लो साता (असोज ४)मा काठमाडौंको कपनस्थित मिलनचोकबाट ढलमा बगेर वेपत्ता भएका बालको शव शनिबार राती भेटिएको छ । ललितपुर प्रहरीका अनुसार उनको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१ घुसेलमा भेटिएको हो । असोज ४ गते साँझ ढलमा खसेका १० वर्षीय बालक उज्ज्वल विश्वकर्माको शव कपडाको आधारमा परिवारले पहिचान गरेका हुन् ।

    शव बागमती नदी किनाराबाट मूल सडकसम्म ल्याउन करिब दुई घण्टा पैदल हिँड्नुपर्ने हुन्छ । शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो । लापरवाहीका कारण ढल खुला रहेको अवस्थामा बालकले ज्यान गुमाउनु परेको यो घटनापछि सरकारको चर्को आलोचना भएको छ ।

  • पर्यटन दिवसको अवसरमा एक दर्जन मुलुकका राजदूत पोखरामा पदयात्रा गर्दै

    पर्यटन दिवसको अवसरमा एक दर्जन मुलुकका राजदूत पोखरामा पदयात्रा गर्दै

    पोखरा । नेपालको पर्यटकीय नगरि पोखरामा यस वर्षको विश्व पर्यटन दिवस पृथक तरिकाबाट मनाइने भएको छ । गण्डकी प्रदेश सरकारले एक दर्जन मुलुकका राजदूतलाई आइतबार पोखरामा स्वागत गरेको छ । सोमबार परेको विश्व पर्यटन दिवसका अवसरमा राजदूतहरुले पदयात्रा गर्ने भएका छन् । पदयात्रा र पोखरा नेपाली पर्यटनका विश्वव्यापी पहिचान हुन् । नेपालमा पर्यटक आगमन खुला भएको छ । यो सन्देश संसारभर पुर्याउन यो अभियान सफल हुने प्रदेश सरकारको विश्वास छ ।

    राजदूत, उनका परिवार र विदेशी निकायका प्रमुखलाई पोखरा र आसपासका पदमार्ग घुमाउने योजनासहित यो कार्यक्रम बनेको हो । यस अभियानमा पर्यटन बोर्डले समेत समन्वयको काम गरेको छ । पदयात्रामा जान आइतबार ११ वटा देश र निकायका राजदूत पोखरा पुगिसकेका छन् ।

    युरोपियन युनियन, युनाइटेड अरब इमिरेट्स, कतार, जर्मनी, थाइल्याण्ड, फिनल्याण्ड, श्रीलंका, साउदी अरब, कोरिया, इजिप्ट, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव, संयुक्त राष्ट्र संघका आवासीय प्रमुख, इसिमोडका महानिर्देशक, युएन एडका नेपाल निर्देशक, युएनडिपी, युनेस्को, विश्व खाद्य कार्यक्रम लगायतका नियोगका प्रमुख समेत पदयात्राका लागि पोखरा पुगेका छन् ।

    पोखरा विमानस्थलमा उनीहरुलाई गण्डकी सरकारका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी र पोखराका पर्यटन व्यवसायीले भब्य स्वागत गरे । पदयात्रामा जान आएका राजदूत तथा कुटनीतिज्ञलाई गण्डकी सरकारले बुद्ध एयरको जहाज चार्टर गरेर पोखरा लगेको हो । सोमबार ४२ औं विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुलाई कास्कीको नौडाडादेखि पोखरासम्म पदयात्रा गराउने कार्यक्रम छ। नौडाडामा स्थानीयको स्वागतसहित चिया खाएर शुरू हुने पदयात्रा कास्कीकोटहुँदै सराङकोट आएर सकिने योजना छ।

  • नेपालमा थप ८३४ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

    नेपालमा थप ८३४ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५१४७ एन्टिजेन परीक्षण गर्दा १०४ गरी ८३४ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९१ हजार ३९२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२७९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

  • एनआरएनए अध्यक्षमा कुल आचार्यले गरे उम्मेदवारी घोषणा

    एनआरएनए अध्यक्षमा कुल आचार्यले गरे उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी(२०२१- २०२३) कार्यकालका अध्यक्षका लागि कुल आचार्यले उमेदवारी घोषणा गरेका छन् ।

    एनआरएनको पूर्व उपाध्यक्ष समेत रहेका आचार्यले आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    संघको दशौं विश्व सम्मेलन अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ । पर्वत जिल्लामा जन्मेका हाल आचार्य बेलायमा व्यवसाय गर्दै आइरहेका छन् ।

    अघिल्लो निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए । संघका उनी पूर्वउपाध्यक्ष हुन् ।

    यसअघि अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी सकेकी छिन् ।

    अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१- २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

  • काठमाडौं महानगर भित्रका स्कुल आजबाट भौतिक रुपमै  खुले

    काठमाडौं महानगर भित्रका स्कुल आजबाट भौतिक रुपमै खुले

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका स्कुल आजबाट भौतिक रुपमै खुलेका छन् । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेको थियो । सोही अनुसार स्कुलहरु समेत संचालनमा आएका छन् ।

    दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावकमा भने आक्रोस छ । यसलाई केवल शूल्क उठाउने बाटो खोलेका रुपमा उनीहरुले बुझेका छन् । किनकी अहिले पनि बालबालिकाले खोप पाएका छैनन् । यता, महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने निर्णय बाध्यकारी भने होइन । सञ्चालन गर्न चाहने विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न सक्ने छन् । महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय गत बिहीबार गरेको थियो ।

  • सोमालियामा राष्ट्रपति भवन नजिकै बम विस्फोट, कम्तिमा ७ मारिए

    सोमालियामा राष्ट्रपति भवन नजिकै बम विस्फोट, कम्तिमा ७ मारिए

    काठमाडौं । अफ्रिकी मुलुक सोमालियामा राष्ट्रपति भवन नजिकै आत्मघाती बम विष्फोट भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार राजधानी मोगादिसुस्थित राष्ट्रपति निवास नजिकै आत्मघाती कार बम विस्फोट भएको हो । घटनामा कम्तीमा ७ जना मारिएका छन् । आठ जना घाइते भएका छन् । राष्ट्रपति निवास नजिकैको सडकमा शनिबार बम विस्फोट भएको रोयटर्सले लेखेको छ ।

    सीलगाब जंक्सनमा कार बम विस्फोट भएको छ । घटना कार पार्किंग गरिएको स्थानमा भएको छ । जहाँ ७ वटा कार र ३ रिक्सा बमले उडाएको थियो । विस्फोटको जिम्मा कुनै पनि समूहले लिएको छैन । सोमालियामा अल सबाब नामक समूहले आपराधिक गतिविधि बढाइरहेको बेला सोही समुहतर्फ आंकका गरिएको छ ।

  • तीन अंकमा झर्यो कोरोना संक्रमण, ९५३ मा देखिँदा १३७१ जनाले जिते

    तीन अंकमा झर्यो कोरोना संक्रमण, ९५३ मा देखिँदा १३७१ जनाले जिते

    काठमाडौं । नेपालमा कोरोना भाइरसको दैनिक संक्रमण तीन अंकमा झरेको छ । पछिल्लो २४ घण्टामा मात्र ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार कुल ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

    १३७१ जना संक्रमणमुक्त भएका छन् । अब देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० छ । जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा छन् । १३६० जना संस्थागत आइसोलेसनमा छन् । कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा ७३, भक्तपुरमा ४०, कास्कीमा ७०, सुनसरीमा ५५, मोरङमा ५४, झापामा ३२, सुर्खेतमा ७३ र रुपन्देहीमा ३५ जना संक्रमित भेटिएका छन् । चितवनमा २४, गोरखामा १६, मकवानपुरमा ११ जनामा संक्रमण देखिएको आंकडा छ ।

  • विकास साझेदारबाट नेपाललाई पाँच खर्ब सहयोगको प्रतिवद्धता

    विकास साझेदारबाट नेपाललाई पाँच खर्ब सहयोगको प्रतिवद्धता

    काठमाडौं । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) कार्यक्रमका लागि काठमाडौँ घोषणापत्र जारी भएको छ । नेपाल सरकार र विकास साझेदारहरूले रणनीतिक कार्ययोजना निर्माणको उद्देश्यसहित उक्त घोषणापत्र संयुक्त रूपमा अनुमोदन गरेको विश्व बैंकले जनाएको छ । घोषणापत्रमा नेपालका विकास साझेदारहरूले करिब पाँच खर्ब रुपियाँ (चार अर्ब २० करोड अमेरिकी डलर)सम्मको सम्भावित सहयोगको पहिचान समेत गरेका छन् ।

    यसअघि नै ग्रिड एजेन्डामा सहयोग गर्न साझेदारहरूले करिब चार खर्ब (तीन अर्ब २० करोड अमेरिकी डलर) बराबरको स्रोत परिचालन गर्ने प्रतिबद्धता जनाइसकेका थिए । घोषणापत्रले थप एक खर्ब रुपियाँ बराबरको सहयोगको पहिचान गरेको हो । ग्रिडअन्तर्गतको रणनीतिक कार्ययोजनाले कोभिड–१९ महामारीले निम्त्याएको सङ्कटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा समन्वयको काम गर्नेछ ।

    घोषणापत्र सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ बाट नेपालको पुनरुत्थानलाई सहयोग पु(याउने ग्रिड योजनाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । ग्रिडअन्तर्गत गरिने लगानीले नेपालको पन्ध्रौँ विकास योजना तथा दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न सहयोग पुयाउने अपेक्षा गरिएको छ । यसका लागि रोजगारी तथा पूर्वाधारको प्रवद्र्धन, जलवायु परिवर्तन तथा विपत्बाट आइपर्ने समस्याविरुद्धको उत्थानशीलता निर्माण र नेपालीका लागि सेवाको समतामूलक पहुँचलाई बढावा दिइने विश्व बैंकको भनाई छ ।

    ग्रिडअन्तर्गत दिगो पर्यटन, नवीकरणीय ऊर्जा, ठोस फोहोर व्यवस्थापन, जलवायु स्मार्ट कृषि, उत्थानशील सडकलगायत क्षेत्रमा उचित अनुपातमा सहायता बढाउने नेपाल सरकार विकास साझेदारहरूको उद्देश्य रहेको घोषणापत्रमा उल्लेख छ । यसका साथै अन्य क्षेत्रमा हरित लगानी बढाउन र रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्यम र व्यवसायहरूलाई सहयोग गर्न निजी क्षेत्रसँग साझेदारी र सहकार्यका अवसरको पनि खोजी गरिने लक्ष्य घोषणापत्रले राखेको छ ।

    घोषणापत्र नेपाल सरकारसहित एडीबी, विश्व बैङ्क, अस्टे«लिया, युरोपेली सङ्घ, फिनल्यान्ड, जर्मनी, जापान, नर्वे, कोरियाली गणतन्त्र, स्विजरल्यान्ड, बेलायत, अमेरिका, संयुृक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय मुद्रा कोषका तर्फबाट अर्थ मन्त्रालयले अनुमोदन गरेको हो ।

  • कांग्रेसको पालिकास्तरीय अधिवेशन आज हुँदै

    कांग्रेसको पालिकास्तरीय अधिवेशन आज हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशन आज हुँदैछ । आज कुल ६४ जिल्लाका पालिकास्तरीय अधिवेशन हुन लागेको हो । २१ वटा हिमाली जिल्लाको अधिवेशन भने असोज १८ मा गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको छ । प्रदेश २ का ८ सहित १३ जिल्लामा भने वडा अधिवेशन नै हुन सकेको छैन । संस्थापनइतर समूहले भने सबै जिल्लामा एकै दिन पालिकास्तरीय अधिवेशन गर्न माग गरेको थियो । विवाद कायम राखेर हिमाल, पहाड, तराईका नाममा छुट्टाछुट्टै मितिमा निर्वाचन गर्दा निष्पक्ष नहुने दोस्रो पक्षको भनाई छ ।

    केन्द्रीय निर्वाचन समितिले भदौ २५ मा निर्वाचन कार्यतालिका संशोधन गर्दै असोज ५ गतेभित्र सबै वडा अधिवेशन, असोज ९ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन तथा असोज १८ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

  • क्रिप्टोकरेन्सीलाई चीनले भन्यो अवैध, मूल्यमा भारी गिरावट

    क्रिप्टोकरेन्सीलाई चीनले भन्यो अवैध, मूल्यमा भारी गिरावट

    काठमाडौंं । चीनले क्रिप्टोकरेन्सीसँग सम्बन्धित सबै कारोबारलाई अवैध भनेको छ । चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबारलाई अवैध घोषणा गरेसँगै अन्तरांष्र्टिय बजारमा समेत यसको असर परेको छ । चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि समेत प्रभावकारी प्रतिबन्ध लगाएको बीबीसीले लेखेको छ। भर्चुअल मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि हुने पिपुल्स बैंक अफ चाइनको निष्कर्ष छ । उसले त्यस्ता गतिविधि मानिसको सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ। चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलामध्ये एउटा बजार हो। त्यहाँ हुने घटबढले क्रिप्टोकरेन्सीको विश्वव्यापी मूल्यमा असर पर्ने गरेको थियो।

    चीनको पछिल्लो घोषणासँगै बिटकोइनको मूल्यमा दुई हजार डलरभन्दा बढीले गिरावट आएको समाचारमा उल्लेख छ । आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनमार्फत्‌ विदेशी विनिमय जारी रहँदै आएको छ। शुक्रवार केन्द्रीय बैंकले गरेको घोषणाबाट चीनले क्रिप्टोकरेन्सीसम्बन्धी सबै स्वरूपका कारोबार बन्द गर्न चाहेको देखिएको छ । अवैध आर्थिक गतिविधिमा संलग्नहरूूले अपराध गरिरहेको र उनीहरूमाथि कारबाही गरिने केन्द्रीय बैंकको घोषणा छ ।

  • कांग्रेस महाधिवेशन सार्न खोजेको भन्दै बिच्किए गगन

    कांग्रेस महाधिवेशन सार्न खोजेको भन्दै बिच्किए गगन

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य गगन थापाले पार्टीको महाधिवेशनको मिति फेरि सार्ने प्रस्तावमा तिब्र असहमति राखेका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा पार्टीको १४ औँ महाधिवेशन फेरि सार्ने प्रस्तावमाथि उनले असन्तुष्टि जनाएका हुन् ।

    उनले भनेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति, १३ जिल्लाको वडा अधिवेशनकै टुङ्गो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने । बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ?’ थापाले अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन् ।

    महाधिवेशनको प्रक्रियाअन्तर्गत तल्ला तहको अधिवेशनका विषयमा नेताहरूबीच विवाद भएपछि संस्थापन पक्षले नै केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव यसअघि नै गरेको थियो । महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तोकिएको छ । यो मिति समेत सार्ने तयारी गरिएको हो ।

  • अफगानिस्तानमा अघिल्लो तालिवानकालकै नियम लागु हुने संंस्थापक नेताको भनाई

    अफगानिस्तानमा अघिल्लो तालिवानकालकै नियम लागु हुने संंस्थापक नेताको भनाई

    काबुल । मानिसलाई मृत्यु दण्ड दिने तथा अंगभंग गर्ने जस्ता निरकुंश साशनसहितको व्यवस्था अफगानिस्तानमा पुनः शुरु हुने तालिबानका संस्थापक नेतामध्ये एकले बताएका छन् । यद्दपी अब यो काम सार्वजनिक स्थलमा भने नदिइने उनको भनाई छ । तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजाय अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय सुरक्षाका लागि आवश्यक भएको बताएका हुन् ।

    समाचार एजेन्सी एपीले यसबारे लेखेको छ । सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेको थियो । यसको अन्तर्राष्ट्रिय समुदायले अहिले पनि आलोचना गर्दै आएको छ । अफगानिस्थानमा कस्तो कानून बनाउनु पर्छ भन्ने बारे अरुले सिकाउनु नपर्ने उनको भनाई छ । गत अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आएकोमा उनको भनाई सार्वजनिक भएको हो ।

  • नेपालमा थप १४७६ जनामा कोरोना पुष्टी, १५५० जना संक्रमण मुक्त

    नेपालमा थप १४७६ जनामा कोरोना पुष्टी, १५५० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५७५ पीसीआर परीक्षण गर्दा ११०३ जना र ५११५ एन्टिजेन परीक्षण गर्दा ३७३ गरी १४७६ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १५५० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ । संक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

  • राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले कारण देखाउ आदेश र लिखित जवाफ माग्दै तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

    राजनीतिक दल सम्बन्धी अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) को दल दर्ता बदर गर्न मागगर्दै दायर रिटमा संवैधानिक इजलासमा भएको सुनुवाइपछि विपक्षी नेपाल सरकार, निर्वाचन आयोग र सभामुखसहितलाई कारण देखाउ आदेशमात्र जारी गरिएको छ ।

    अधिवक्ता श्रीकान्त बरालले संसद छलेर अध्यादेश ल्याइएकाले बदर गर्न माग गर्दै एमालेले निस्कासन गरेका १४ सांसदको सनाखतबाट बनेको दल बदरको माग गरेका थिए।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा गठन गरिएको थियो।

    सरकारले गत भदौ २ गते राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको थियो ।

    अध्यादेशले राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि आवश्यक केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्यालाई घटाएर दुईमध्ये एकमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरेको थियो ।

    यही अध्यादेशपछि नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ ।

    कानुन व्यवसायीहरूले अध्यादेश नेपालको संविधानले गरेका विभिन्न व्यवस्थासँग बाझिने भन्दै बदर गर्न माग गरेका थिए ।

  • दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

    दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको विभिन्न साइत सार्वजनिक गरेको छ ।

    असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

    असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए ।

    असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मंगलबारफूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए।

    फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ ।

    मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ ।

    तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

    असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।

    घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ ।

    टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

    विजयादशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।

    तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ ।

    आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।