Category: समाचार

  • दशैंअघि बालबालिकाका लागि एक लाख डोज खोप ल्याइने

    दशैंअघि बालबालिकाका लागि एक लाख डोज खोप ल्याइने

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

    शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने जानकारी दिएका हुन् । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ ।

    उनले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।”

    आगामी चैत महिनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, “अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ ।”

    फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने बताए । भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनले जानकारी दिए ।

  • आफताव आलमको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’ मा

    आफताव आलमको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’ मा

    काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्धा आज पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।

    इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलम सर्वोच्चमा पुगेका थिए ।

    यसअघि पनि आलको मुद्धा पटकपटक पेशीमा चढेपनि सुनुवाई हुन सकेको छैन ।उनी रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । पक्राउपछि उनको सांसद पद निलम्बित छ ।

  • ‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा

    ‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा

    काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेच चोर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

    पश्चिम रुकुम मुसिकोट घर भएका २५ वर्षीय खीमबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो। उनले संग्राहलय घुम्ने क्रममा आज श्रीपेच रहेको स्थानको सिसा फुटाएर चोर्न खोजेको देखिएको छ।

    ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। उसले आफू राज बन्ने भन्दै चोर्न खोजेको बताएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

    घर्तीलाई महानगरीय प्रहरी वृत्त दरमार्गमा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • ‘प्रदुषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसले गुमाउँछन् ज्यान’

    ‘प्रदुषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसले गुमाउँछन् ज्यान’

    काठमाडौं । प्रदुषणका कारण विश्वभर वर्षेनी ७० लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । वायु प्रदूषणको अवस्था पहिला सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी समेत संगठनले दिएको छ । बीबीसीका अनुसार वायु प्रदूषण गराउने नाइट्रोजन डाईअक्साइडजस्ता मुख्य तत्त्वको अधिकतम सुरक्षित तह पनि घटाइदिएको संगठनको भनाई छ । डब्ल्यूएचओका अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै ज्यान जान्छ ।

    आर्थिक विकासका लागि जीवाश्म इन्धनमा निर्भर हुने भएकाले अल्प र मध्यम आय भएका देशहरू वायु प्रदूषणको सर्वाधिक मारमा पर्ने गरेका समेत डब्यू्एचओको अध्ययनले देखाएको छ । डब्ल्यूएचओले वायु प्रदूषणलाई धूमपान र अस्वस्थ आहारकै श्रेणीमा राखेको छ। नोभेम्बरमा हुन लागेको कोप२६ सम्मेलनअघि डब्ल्यूएचओले आफ्ना १९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न आग्रह गरेको छ।

    गत बुधवार प्रकाशित नयाँ निर्देशिकामा डब्ल्यूएचओले पीएम२.५ भनिने सूक्ष्म कणको अधिकतम मात्रा मात्रा पहिलाको भन्दा आधा घटाइदिँदै त्योभन्दा बढी भए त्यो हानिकारक हुने जनाएको छ। त्यस्ता कणहरू ऊर्जा उत्पादनका लागि इन्धन बाल्दा र सवारीसाधनका इन्जिनले उत्पादन गर्छन्। अद्यावधिक निर्देशिकामा प्रस्ताव गरिएअनुसार विद्यमान वायु प्रदूषणको मात्रा घटाउन सकिए पीएम२.५ सँग सम्बन्धित झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिन्छ ।

  • काठमाडौंबाट पोखरा हिँडेको कार त्रिशुलीमा खस्दा तीन जना वेपत्ता

    काठमाडौंबाट पोखरा हिँडेको कार त्रिशुलीमा खस्दा तीन जना वेपत्ता

    चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनमा त्रिशुली नदीमा खस्दा तीन जना वेपत्ता भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । ग.२ च ४९१८ नम्बरको कार गतराती साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले कार र हराइरहेकाको खोजी जारी छ । बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं। १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।

  • विश्वचर्चित क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आए, इपीएल खेल्ने

    विश्वचर्चित क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आए, इपीएल खेल्ने

    काठमाडौं । विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । उनी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भाग लिन नेपाल आएका हुन् । प्रतियोगिता शनिबारबाट कीर्तिपुरस्थित टीयू मैदानमा शुरु हुँदैछ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले उनको स्वागत गरेका छन् । उनी काठमाडौं किंग्स इलाभेनको खेलाडीका रुपमा खेल्दैछन् ।

    उनले विमानस्थलमा नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको प्रतिक्रिया दिँदै नेपाली क्रिकेटको सहयोगका लागि आफु आएको बताए । चौथो संस्करणको ईपीएल खेल्ने खेलाडीमध्ये उनी अहिलेसम्मकै उच्चस्तरका खेलाडी हुन् । उनले काठमाडौं किंग्स इलाभेनबाट ललितपुर प्याट्रियट्र्स र विराटनगर वारियर्सविरुद्ध खेल्ने कार्यक्रम छ । चौथो संस्करणको ईपीएल असोज २३ गतेसम्म चल्नेछ । जसमा ६ टोली उपाधीका लागि भिड्दैछन् ।

  • राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, खुल्यो बजेट होलिडे

    राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, खुल्यो बजेट होलिडे

    काठमाडौं । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएसँगै नेपालमा बजेट होलिडे अन्त्य भएको छ । अब सरकारले बजेट कार्यानवयन गर्न सक्ने छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने अवस्था थियो । तर, विधेयक प्रमाणीकरण भएपछि सरकारले ३१ भदौबाटै गरेका खर्चले कानूनी मान्यता पनि पाएको छ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेका थिए । उनले आर्थिक वर्ष २०७८\०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

    नयाँ बजेटमा चालुतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड र पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड विनियोजन गरिएको छ । यस वर्ष वित्तीय व्यवस्थामा १ खर्ब ८९ अर्ब ४४ करोड र वित्तीय हस्तान्तरणमा भने ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ । अर्थ मन्त्रालयका अनसार यो वर्ष १० खर्ब ५० अर्ब ८२ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड रुपैयाँ लिने लक्ष्य राखिएको छ । वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब रुपैयाँ संकलनको लक्ष्य सरकारले राखेको छ ।

  • एकीकृत समाजवादीमा पदाधिकारी चयनमा विवाद, जिम्मेवारी हेरफेर गरियो

    एकीकृत समाजवादीमा पदाधिकारी चयनमा विवाद, जिम्मेवारी हेरफेर गरियो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी हेरफेर गरेको छ । पार्टीमा पदाधिकारी चयन गर्दा विवाद चुलिएपछि पुनः पदाधिकारी हेरफेर गरेको हो ।

    पदाधिकारी हेरफेरपछि उपाध्यक्षको संख्या ६ जना पुगेका छन् । राजेन्द्र राई सचिवमा थपिएका छन् ।

    यसअघि चयन गरिएको केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव रहेका थिए ।

    पार्टी पंक्तिमा विवाद चुलिएपछि सचिवमा प्रतावित केशवलाल श्रेष्ठ उपाध्यक्ष र घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ । यस्तै, सचिवमा राजेन्द्र राई थपिएका छन् ।

    अध्यक्षमा माधवकुमार नेपाल रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् । पार्टीको तेस्रो वरियतामा मुकुन्द न्यौपाने रहेका छन् ।

    यो बैठकले ३०१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटी भने टुंगो गर्न बाँकी नै छ।

  • एमालेको अवरोधकैबीच विनियोजन विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

    एमालेको अवरोधकैबीच विनियोजन विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

    काठमाडौं । एमालेको अवरोधकैबीच राष्ट्रियसभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ ।

    बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए ।

    मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकैबीच यो विधेयक टेबुल गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ ।

    बजेट पारित भएसँगै राष्ट्रियसभाले बिहीबारै सन्देशसहित प्रतिनिधिसभामा पठाएको छ । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा संसद सचिवालयका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको जानकारी गराएका छन् ।

    यसपछि सभामुख अग्नि सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रिपति समक्ष पठाउनेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुल्न छ ।

  • लिथुआनियामा चिनियाँ फोन प्रयोग नगर्न सिफारिस

    लिथुआनियामा चिनियाँ फोन प्रयोग नगर्न सिफारिस

    काठमाडौं । लिथुआनियाको रक्षा मन्त्रालयले उपभोक्तालाई चिनियाँ फोन प्रयोगमा नल्याउन सिफारिस गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकको इन्टरनेट सुरक्षा सम्बन्धी निकाय न्याशनल साइबर सेक्युरिटि सेन्टरले चिनियाँ उत्पादकका फाइभजी मोबाइल फोनलाई परीक्षण गरेको थियो। सो क्रममा एक शिआओमी फोनमा पहिले नै सेन्सर गर्ने उपकरण जडान रहेको भेटिएको दावि गरिएको छ । साथै हुआवेई मोडेलको फोनमा सजिलै साइबर आक्रमण हुन सक्ने गरि कमजोर सुरक्षा प्रणाली राखिएको समेत बताइएको छ ।

    हुआवेईले प्रयोगकर्ताहरूको तथ्याङ्क र जानकारी फोनबाट बाहिर पठाउने भने नगरेको जानकारी गराएको छ । लिथुआनियाका रक्षा उपमन्त्री मार्गिरिस अबुकेभिसिअसले नयाँ चिनियाँ फोन नकिन्न र आफूसँग भएको फोन पनि सकेसम्म छिटो त्याग गरिहाल्न सुझाव दिएको समाचारमा उल्लेख छ ।

    अध्ययनको प्रतिवेदनका अनुसार शिआओमीको सर्वाधिक चर्चित मी टेनटि फाइभजी फोनमा यस्तो सफ्टवेअरहरू रहेको पाइयो जस्ले तिब्बती स्वतन्त्रता सम्बन्धी नारा फ्रि टिबेटू, ताइवानको स्वतन्त्रता सम्बन्धी लङ लिभ ताइवान इन्डिपेन्डेन्स वा प्रजातान्त्रिक आन्दोलन जनाउने डिमोक्रेसी मुभमेन्ट जस्ता शब्दहरूलाई पत्ता लगाउने र सेन्सर गर्ने क्षमता राख्ने बीबीसीले लेखेको छ । उक्त फोनमा रहेका प्रणालीगत एप र ब्राउजरले ४४९ भन्दाबढी शब्दावलीहरू सेन्सर गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त प्रतिवेदनको विवरणबारे टिप्पणीका लागि गरिएको बीबीसीको प्रयासमा शिआओमीले प्रतिक्रिया जनाइसकेको छैन।

    शिआओमीका फोनहरूले फोन प्रयोग सम्बन्धी डेटा सिंगापुरस्थित सर्भरमा पठाउने गरेको पनि अध्ययनका क्रममा पत्ता लागेको जनाइएको छ। हुआवेइको पीफोर्टी फाइभजी फोनमा रहेको खराबीको बारेमा पनि उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त कमजोरीका कारण प्रयोगकर्ताको फोनमा साइबर हमला हुनसक्ने जोखिम रहन्छ। यो पछिल्लो विवरण लिथुआनिया र चीनबीच तनाव बढिरहेको समयमा आएको बताइएको छ ।

  • नेपालमा ४० वर्ष भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने

    नेपालमा ४० वर्ष भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने

    काठमाडौं । नेपालमा ४० वर्ष उमेर भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने भएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीले सरकारको उक्त तयारी बारे जानकारी गराएका हुन् । नेपाली नागरिकको मिर्गौलाको अवस्था जाँच गर्न र स्वास्थ्य पत्ता लगाउन पिसाव जाँच गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

    सरकारले मिर्गौलाका सम्बन्धमा नागरिकहरुमा के कस्तो समस्या छ भन्ने जानकारी लिने गरी योजना बनाएको जानकारी समितिलाई गराएको छ । आजको बैठकपछि समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो बनाउन सरकारलाई निर्देशन समेत दिएको छ । डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी रोगबाट बच्ने उपायका बारेमा देशभरि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत समितिले निर्देशन दिएको छ ।

  • दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक आउने, सरकार बिस्तारको तयारी

    दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक आउने, सरकार बिस्तारको तयारी

    काठमाडौं । सत्तारुढ दलहरुले बिहीबार सरकार बिस्तारको तयारी गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने र त्यसपछि सरकार बिस्तार समेत सँगै गर्ने तयारीमा दलहरु पुगेका हुन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

    बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि उनले यस्तो जानकारी गराएका हुन् । बिहीबार नै अध्यादेशको विषय टुंगिने उनले बताए । उनका अनुसार भोलि बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउने भएको हो । सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो ।

    उक्त व्यवस्था अनुसार नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन् । जनता समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरसहितका नेताले लोकतान्त्रिक समाजवादी पार्टी समेत यही प्रावधान अनुसार गठन भएको हो । यो विषय नटुगिएपछि सरकार बिस्तार समेत रोकिएको थियो ।

  • नेपालमा थप १४७८ जनामा कोरोना पुष्टी, १६३० जना संक्रमण मुक्त

    नेपालमा थप १४७८ जनामा कोरोना पुष्टी, १६३० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४७८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १२५१ जना र २८६३ एन्टिजेन परीक्षण गर्दा २२७ गरी १४७८ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८७ हजार २२८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १६३० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ । संक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

  • बाग्मती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नवीकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

    बाग्मती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नवीकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

    काठमाडौं । वाग्मती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नवीकरण अनलाइनबाटै गर्न सकिने सेवाको शुरूवात भएको हो ।

    यो सँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नवीकरण तथा इन्स्योरेन्सको भुक्तानी गर्न यातायात कार्यालयमा गइ लामो लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।

    दुई पांग्रे, चार पांग्रे, ठ्ला तथा हेवी सावारी, निजी तथा सार्बजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नवीकरण इसेवाबाटै गर्न सकिनेछ ।

    इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलबाट कर भुक्तानी, दर्ता र नवीकरण गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिन्छ ।

    सवारी करको सेवा सुरूवातबारे इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले भने,‘इसेवाले जहिले पनि आम मानिसको दैनिक जीवनलाई सहज बनाउने उदेश्य राखेको हुन्छ । सवारी कर अनलाइनबाट भुक्तानी गर्दा धेरै सहज हुनेछ भन्ने हाम्रो विश्वास छ । हामीले अन्य प्रदेशमा पनि यो सेवा विस्तार गर्दै जानेछौँ ।’

    मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ ।

    यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

    इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

    इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

  • परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

    परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएका हुन् ।

    समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए ।

    मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बुधबार नै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन्।

    संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाइएको हो  ।

    मन्त्रिपरिषद्ले मंगलबार परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली महासभामा पठाउने निर्णय गरेपछि मन्त्रीको टुंगो लागेको हो ।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली पठाउनुपर्ने भएपछि सत्ता गठबन्धनले मंगलबार बेलुकी परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो ।

    त्यहीअनुसार बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए ।

    राष्ट्रपति भण्डारीले खड्कालाई मन्त्री नियुक्त गर्दै परराष्ट्रमन्त्रीको कार्यभार सुम्पिएकी थिइन् । उदयपुर क्षेत्र नं. १ बाट निर्वाचित खड्का कांग्रेसको केन्द्रीय सदस्य तथा परराष्ट्र विभागका प्रमुखसमेत हुन् ।

  • न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन

    न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन

    म्यानचेस्टर

    मनाङबाट प्रवर्धित खेल धनुषबाण (मेथा) प्रतियोगिता न्यूह्यामसायरमा हालै सम्पन्न भएको छ । राज्यको लाउडन टाउन स्थित एक ‘भ्याकेसन हाउस’मा कंकर्ड म्यानचेस्टर हातेमालो समाजले प्रतियोगिता आयोजना गरेको हो ।

    तीन दिनसम्म चलेको प्रतियोगितामा वाङ्ग्याल छिरिङ (डिङ्गो) प्रथम, मुखिया घले (दबङ) दोस्रो र सोनाम फुन्जो (जनम) तेस्रो भएका छन् । १२ प्रतियोगिलाई पछि पार्दै विजेता बनेका खेलाडीलाई नगद पुरस्कार सहित ट्रफी वितरण गरिएको थियो ।

    स्थानीय भाषामा मेथा भनिने धनुषबाण मनाङमा सदियौँ देखि प्रचलनमा रहेको जानकारहरु बताउँछन् । परापुर्व कालमा शिकार गर्न एवं घरपालुवा पशुपंक्षी रक्षाको लागि यसको उपयोग गरिन्थ्यो । त्यस बाहेक स्थानीय देवी देवतालाई धनुषबाण चढाएर खुसी बनाइने गरेको बुढापाकाहरु सुनाउँछन् । विस्तारै यसले जीवन यापनको साधनबाट खेलको रुप लिएको हो ।

    मनाङबाट अमेरिका आएर बसोबास गर्ने जुझारुहरुको पहलमा यो खेल यहाँ पनि सुरु भएको हो । न्यूयोर्क स्थित मनाङ समाजले बर्षेनी भव्य कार्यक्रमका साथ मेथा प्रतियोगिता आयोजना गर्दै आएको छ । सोही कारण न्यूह्यामसायरमा आयोजित प्रतियोगितालाई मिनी मेथा भनिएको मनाङ स्थायी घर भइ हाल न्यूह्यामसायरमा व्यवसाय गर्दै आएका कर्मा गोम्पोले जानकारी दिए ।

    न्यूह्यामसायरमा अघिल्लो बर्षको तुलनामा यसपाली सहभागितामा बृद्धि भएको एवं मनाङबाहेक अन्य क्षेत्रबाट अमेरिका आएर बसेका साथीभाइहरुले पनि चासो राख्न थालेको उनको भनाइ छ । ‘मेथाले विस्तारै अन्य समुदायमा पनि परिचय स्थापित गर्न थालेको छ, उनले भने- यसपाली मेथा हेर्न न्यूह्यामसायरमा बसोबास गर्ने सबैजसो नेपाली समुदायको उपस्थिती रह्यो, यसले हामीलाई थप उत्साह दिएको छ ।’ प्रतियोगितामा भाग लिन न्यूयोर्क लगायत स्थानबाट खेलाडीहरु न्यूह्यामसायर आएका थिए ।

  • गुल्मीमा पहिरोमा परि एकै परिवारका तीन दिदीबहिनीको मृत्यु

    गुल्मीमा पहिरोमा परि एकै परिवारका तीन दिदीबहिनीको मृत्यु

    गुल्मी । गुल्मीमा पहिरोमा परि एकै परिवारका तीन दिदीबहिनीको ज्यान गएको छ । मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर ८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको थियो ।

    तिलक परियारको घरमा ६ जना थिए । ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जानकारी गराएको छ । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको छ । राति नै उद्धार टोली घटनास्थलमा खटिएको थियो ।

  • माउण्टेन फ्लाइट पुनः सूचारु, एयरलाइन्सले ल्याए प्याकेज

    माउण्टेन फ्लाइट पुनः सूचारु, एयरलाइन्सले ल्याए प्याकेज

    काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको (माउन्टेन फ्लाइट) पर्वतीय उडान पुनः शुरु भएको छ । वायुसेवा कम्पनीहरुले सगरमाथासहितका हिमाललाई नजिकबाट नियाल्न सकिने गरी आगामी शनिबारबाट माउन्टेन फ्लाइट शुरु गर्ने भएका हुन् । कोरोना महामारी कम हुँदै गएपछि बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान गर्ने गरी मंगलबार सूचना जारी गरेको छ ।

    यति एयरलाइन्सले समेत शनिबार र आइतबार दुई दिन उडान गर्ने भएको छ । बुद्धले ९ हजार ९९९ रुपैयाँमा दुई जनाले यात्रा गर्न पाउने छन् । यतिले ८८४८ रुपैयाँमा दुई वटा टिकट जारी गर्ने भएको छ । माउन्टेन फ्लाइटमा एटीआर जहाज प्रयोग हुने भएको छ । काठमाडौं विमानस्थलबाट करीब एक घण्टाको उडानपछि जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुने छ ।

  • नेपालमा थप १३३० जनामा कोरोना पुष्टी, १८३० जना संक्रमण मुक्त

    नेपालमा थप १३३० जनामा कोरोना पुष्टी, १८३० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १०३६ जना र ३९९६ एन्टिजेन परीक्षण गर्दा २९४ गरी १३३० जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८६ हजार ५७७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १८३० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ । संक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५३पुगेको छ ।

  • ओलीको निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, सक्कल फाइल पेस गर्न आदेश

    ओलीको निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, सक्कल फाइल पेस गर्न आदेश

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशसभाका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै दाय गरेको मुद्दामा सर्वोच्चले अन्तरिम ओदश दिन अस्वीकार गरेको छ।

    न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    इजलासले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट फाइल मागाउन आदेश दिएको छ ।

    यस्तै १४ सांसदलाई कारबाही नगर्ने गरी भएको सभामुखको भदौ १३ गतेको निर्णय पनि संसद सचिवालयबाट झिकाउन आदेश दिएको छ।

    एमाले अध्यक्ष ओलीले पार्टी छोडेर नेकपा एकीकृत समाजवादीमा गएका १४ सांसदमाथिको कारबाही गर्न अस्वीकार गरेको भन्दै निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

    पार्टीले कारबाही गरेका १४ सांसदलाई समेत सनाखत गराएर माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखत गराएको भन्दै अध्यक्ष ओलीका तर्फबाट निर्वाचन आयोगको निर्णय विरुद्ध अदालतमा रिट दर्ता गरिएको हो ।

    रिटमा १४ सांसदको सूचना जारी नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटालाई समेत विपक्षी बनाइएको छ ।

  • कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, काम गर्ने बाटो खुल्यो

    कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, काम गर्ने बाटो खुल्यो

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।

    प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङलाई काम गर्न नदिन अन्तरिम आदेश माग गर्दै भदौ १ गते सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतले सरकारसँग कारण देखाऊ आदेश भने माग गरेको छ ।

    शाक्यले आफ्नो सहमतिबिना प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले आफू सोही पदमा बहाल रहेको जिकिर गरेका छन् ।

    आफूले राजीनामा दिएको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने उनको जिकिर छ ।

    ११ महिनाअघि कार्यकाल पूरा भएर बाहिरिएका घिसिङलाई मन्त्रिपरिषदको साउन २६ गतेको बैठकले नियुक्त गरेको थियो ।

  • आगामी महिनाबाट भारतले खोप निर्यात थाल्ने, नेपालको रोकिएको १० लाख डोज फुकुवा

    आगामी महिनाबाट भारतले खोप निर्यात थाल्ने, नेपालको रोकिएको १० लाख डोज फुकुवा

    नयाँ दिल्ली । भारतले आगामी महिना (अक्टोबर)बाट कोरोना खोप निर्यात थाल्ने भएको छ । गत फागुनमा कोरोनाको दोस्रो लहरबाट अतिप्रभावित भारतले खोप निर्यात रोकेको थियो । यसबाट नेपाल समेत प्रभावित भएको थियो । नेपालले खरीद गरि रकम समेत तिरिसकेको १० लाख डोज खोप भारतमै रोकिएपछि जेष्ठ नागरिकले करीव ६ महिनासम्म खोपको दोस्रो डोज लगाउनबाट बन्चित भएका थिए । भारतका स्वास्थ्यमन्त्री मनसुख मंडावियाले भने रोकिएको खोप निर्यात फष्ुकुवा गरिएको बताएका हुन् ।

    भारतीय संचारमाध्यमहरुका अनुसार उत्पादित खोप आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने भन्दै भारत सरकारले खोप निर्यातमा अघोषित बन्देज लगाएको थियो । भारतका स्वास्थ्यमन्त्री मंडावियाले छिमेकी मुलुक र कोभ्याक्सलाई उच्च प्राथमिकतामा राखिने बताएका छन् । कोरोनाबाट अतिप्रभावित मुलुकमध्ये भारत पनि पर्छ । त्यहाँ अहिले खोप अभियान तिब्र रुपमा चलिरहेको छ ।

  • चाडबाड लक्षित सुरक्षा रणनीति: सादा पोशाकमा सुरक्षाकर्मी खटिने

    चाडबाड लक्षित सुरक्षा रणनीति: सादा पोशाकमा सुरक्षाकर्मी खटिने

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व नजिकिएसँगै उपत्यकामा विशेष सुरक्षा योजना निर्माण गरेको छ । अब विभिन्न स्थानमा सुृरक्षाकर्मीको निगरानी बढाइने छ । साथमा सादा पोशाकमा रहेका सुरक्षाकर्मीले समेत निगरानी बढाउने भएका छन् । महाशाखाले दशैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरि ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार सार्वजनिक गरेको हो । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जनाएको छ ।

    चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्युनिकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरि सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए । उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ती परिचालन, चेकजाँचमा कडाई र नागरिक सहायता कक्षा स्थापना गरि सेवा प्रवाह गर्ने योजना छ ।

    बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागी अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गर्ने, पुर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाइने भएको छ । ट्राफिक प्रहरीले चार पटक विभिन्न ४३ ठाउँमा २४ सैं घण्टा चेकजाँच सुरु गरेको छ ।

    थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ । लामो दुरीका सवारी साधनमा क्षमताभन्दा बढि यात्रु राखे नराखेको, बढि भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अबस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ ।

    महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए, नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने उल्लेख छ । उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

    आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिबिधी र सुरक्षा सम्बन्धी सूसुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगीलगायतका यात्रुहरुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ ।

  • काठमाडौंसहितका जिल्लामा आज कांग्रेसको वडा अधिवेशन

    काठमाडौंसहितका जिल्लामा आज कांग्रेसको वडा अधिवेशन

    काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंसहित आज सात वटा जिल्लामा वडा अधिवेशन सम्पन्न गर्दैछ । यो अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यक्रम छ । भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भनिएको थियो । तर, विवादका कारण मात्र ५७ जिल्लामा मात्रै अधिवेशन भएको हो । बाँकी २० जिल्लामा अधिवेशन हुन सकेको छैन ।

    क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएपछि प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन अझै अन्यौलमा छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाए पनि कार्यान्वयनमा नआएको हो ।

    क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्यौलमा परेको छ। आज भने काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने छ । कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने योजना यसअघि नै सार्वजनिक गरेको थियो ।

  • कालोधनलाई लगानी खुला नगरिएको अर्थ मन्त्रालयको स्पष्टिकरण

    कालोधनलाई लगानी खुला नगरिएको अर्थ मन्त्रालयको स्पष्टिकरण

    काठमाडौं । नेपालमा कालोधनलाई लगानी खुला नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । बजेट प्रतिस्थापन विधेयकमा चैत भित्र विभिन्न १० क्षेत्रमा आउने लगानीको स्रोत नखोजिने उल्लेख छ । सो बुँदामा विवाद भएसँगै अर्थले स्पष्टीकरण दिएको हो । मन्त्रालयका अनुसार कालो धनलाई स्रोत बनाई नेपालमा लगानी गर्न दिइने छैन । सम्पती शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भष्टाचार वा अन्य कुनै कसूरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानून बमोजिम कारवाही हुने हुँदा त्यस्ता विषयहरुमा छुट नदिइने अर्थको भनाई छ ।

    त्यस्तो कार्यबाट प्राप्त आम्दानीको लगानीमा छुट प्रदान नहुने समेत मन्त्रालयले बताएको छ । अर्थमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै कालोधन खोलिएको भन्ने बाहिरको प्रतिक्रियामा गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट आएको बजेटलाई संशोधन गर्न पेश गरेको प्रतिस्थापन विधेयकमा २०८० चैतभित्र १० क्षेत्रमा गरिएको लगानीको आयस्रोत नखोजिने उल्लेख गरेका छन्।

    जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासम्बन्धी उद्योग, तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उद्योगलाई समावेश गरिएको छ।

  • काठमाडौं ‘साक्षर जिल्ला’ घोषित

    काठमाडौं ‘साक्षर जिल्ला’ घोषित

    काठमाडौं । काठमाडौं साक्षर जिल्ला घोषित भएको छ । सोमवार वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । काठमाडौंको साक्षरता प्रतिशत ९६ दशमलव ८८ प्रतिशत पुगेसँगै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । सामाजिक विकास मन्त्री सुवेदीका अनुसार साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौं, साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौंका संयोजकको प्रस्ताव र प्रचलित कानुनअनुसार काठमाडौंको साक्षरता प्रतिशत ९६ दशमलव ८८ प्रतिशत पुगेसँगै यस्तो घोषणा भएको हो । अहिले ललितपुर शतप्रतिशत साक्षर जिल्ला रहेको छ ।

    काठमाडौं समेत शतप्रतिशत साक्षर जिल्ला बनाउने घोषणा सो अवसरमा गरियो । शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरूलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान निर्देशन दिए । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवम्, जिल्ला र देशलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको निर्णय छ ।

  • नेपालमा थप १०९५ जनामा कोरोना पुष्टी, २९५७ जना संक्रमण मुक्त

    नेपालमा थप १०९५ जनामा कोरोना पुष्टी, २९५७ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षण गर्दा १२० गरी १०९५ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८५ हजार ५४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५२ हजार १७०जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २२२ हजार ३२३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

  • संखुवासभा सामूहिक हत्याकाण्डका ‘मुख्य योजनाकार’सहित थप चारजना सार्वजनिक

    संखुवासभा सामूहिक हत्याकाण्डका ‘मुख्य योजनाकार’सहित थप चारजना सार्वजनिक

    काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्न थप ४ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्यामा संलग्न थप चारजनालाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।

    तेजबहादुर कार्कीसहित हत्या भएका ६ जनाको धार्मिक परम्परा अनुसार शनिबार काजकिरिया सकिए लगत्तै प्रहरीले लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

    प्रहरीले लोकबहादुरका भाई नरेश कार्कीलाई भने घटनामा संलग्नता रहेको आशंकामा यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रहरीले प्रक्राउ गरेका खड्गबहादुरकै घरमा घटनाको अनुसन्धानका लागि ‘कमाण्ड पोष्ट’ राखेको थियो ।

    सोही कमाण्ड पोष्टबाट प्रहरीले ४९ जनाको प्रहरी टोलीलाई घटनास्थलको सुरक्षा र अनुसन्धानका लागि खटाएको थियो । गाउँमा घरहरू थोरै भएका कारण प्रहरी टोली खड्गबहादुरकै घरमा गोठ सफा गरेर बसेका थिए ।

    २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो ।

    ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

    प्रहरीले सार्वजनिक गरेको हत्याकाण्डको थप अनुसन्धान सम्बन्धी विवरण

    मिति २०७८।५।२१ गते बिहान अन्दाजी ५: २० बजे जिल्ला सङ्खुवासभा, मादी नगरपालिका वडा नं १ खोला गाउँका वर्ष ९० को बौद्ध बहादुर कार्कीको श्रीमती वर्ष ८४ की पार्वता भन्ने पार्वती कार्की, छोरा वर्ष ५५ तेज कुमार कार्की, छोरा बुहारी वर्ष ५४ की कमला भन्ने मनमाया कार्की, नातिनी बुहारी वर्ष ३२ की रञ्जना कार्की, पनाति वर्ष ८ को दिपेन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की गरी एकै परिवारका ६ सदस्यहरूको टाउको तथा शरीरको विभिन्न भागहरूमा दाउराको चिर्पट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको र उक्त घटनामा निज बौद्ध बहादुर कार्की सकुशल अवस्थामा घरमा फेला परेको।

    घटनामा संलग्न अभियुक्त रण बहादुर कार्कीको छोरा वर्ष २५ को लोक बहादुर कार्कीलाई मिति २०७८।५।२७ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको ।

    घटनाको थप अनुसन्धान गर्न सङ्घीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमान्डमा जिप्रका सङ्खुवासभाको प्रनाउ लालध्वज सुवेदी, ईप्रका चैनपुरका प्रनि र प्रदेश प्रहरी कार्यालयका प्रनि सहितको संयुक्त अनुसन्धान समूह निरन्तर रूपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्यहरू र घटनाको मुख्य योजनाकार सहित मादी नगरपालिका वडा नंम्वर १ उम्लिङ खोला गाउँ बस्ने ४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको ।

    पक्राउ परेका अभियुक्तहरू

    १.लाल बहादुर कार्कीको छोरा वर्ष ४७ को खड्ग बहादुर कार्की , मुख्य योजनाकार
    २. खड्ग बहादुर कार्कीको छोरा वर्ष २८ को हस्त बहादुर कार्की
    ३. लाल बहादुर कार्कीको छोरा वर्ष ४९ को रण बहादुर कार्की
    ४. रण बहादुर कार्कीको छोरा वर्ष १७ को नरेश कार्की

    अनुसन्धानबाट खुलेका थप तथ्य

    • अभियुक्त लोक बहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्ग बहादुर कार्की सहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्की समेत बसेर योजना बनाएको।
    • योजना अनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज कुमार कार्की खेताला बोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेज कुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको।
    • घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा अभियुक्तहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको ।
    • योजना अनुसार मृतक तेज कुमार कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेज कुमार कार्कीको घरमा गई ‘लोक बहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु’ भनी तेज कुमार कार्कीलाई लोक बहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरी घर तर्फ फर्केको ।
    • तेज कुमार लोक बहादुर कार्कीको घर तिर जाँदै गरेको देखेपछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेको ।
    • मृतक तेज कुमार कार्की बिहान ५ बजे उठी लोक बहादुरको घरमा खेताला निश्चित गई सुती रहेको लोक बहादुर लाई ‘अल्छी अझैसम्म उठेको छैनस्’ भन्दै कराए पछि लोक बहादुर उठेको, लोक बहादुरको भाइ नरेश कार्की र बाबु रणबहादुर कार्की समेत घरमै रहेको।
    • घरबाट फर्कने क्रममा योजना अनुसार लोक बहादुरले भाइ नरेशलाई इसारा गरी आफूले दाउराको चिर्पट र अलैचि काट्ने चक्कु बोकी पछिपछि गई घर पछाडिको गोगनेको रूख नजिक तेज कुमारको टाउकोमा प्रहार गरी लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेज कुमार माथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरी घोप्टो पारेको।
    • घटनाको वेला मृतकले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको हार गुहार सुने पछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटीमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जना नरेशले ठेली खोल्सामा झारेको र खडक बहादुर, लोक बहादुर र हस्त बहादुर मिली हत्या गरेको।
    • मृतक रञ्जनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थान सम्म पुर्‍याउन सहयोग गरेको।

    -उक्त घटनाकोवेला नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएकोदेखि हस्त बहादुर र लोक बहादुरले बाटो छेकी मुख थुनी लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको।

    -तत् पश्चात् पाँचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नङ्ग्याइ रहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगी लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाटी बटारी हत्या गरेको र सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी वोकि लोक बहादुरको घरमा गई लागेको रगत पखाली छुरी बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डढाएको, रगत लागेको कपडाहरू समेत लुकाएको।

    -खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घरतर्फ गएको। फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्विच अफ गरी घरमुनिको ओडारमा लगी लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको ।

    -पुनः खड्ग बहादुर र निजको छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबै जना मिली कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्केको।

    -घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइल समेत बरामद गरी थप अनुसन्धान भई रहेको।

    घटना घटनुका कारण
    -अभियुक्तहरू मध्ये खड्ग बहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौच गर्ने र तेज कुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली गर्ने र खड्ग बहादुरले पनि ‘तँलाई के मतलब तँलाई मार्छु’ भन्दै झगडा गर्ने गरेको।

    -लोक बहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भईस’ भन्ने र रण बहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ति दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाइ हत्या गरेको।

  • एमाले नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित

    एमाले नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

    सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए।

    तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो।

    अर्थमन्त्री शर्माले आज भएको छलफलका क्रममा प्रतिस्थापन विधेयकमा अध्यादेशमा भएका तीन प्रतिशत कुराहरूमात्र फेरबदल गरिएको बताएका थिए।

    प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ ।

    त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।

  • आजबाट दशैंका लागि नयाँ नोट साट्न पाइने

    आजबाट दशैंका लागि नयाँ नोट साट्न पाइने

    काठमाडौं । नेपालीको महान चाड बडा दशैँलाई लक्षित गरि नयाँ नोट सटही आजबाट शुरु भएको छ । अब बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट लिन सकिने भएको छ । दशैंमा नयाँ नोट प्रचलनमा ल्याउने चलन धेरै पहिलाबाटै चलेको हो । नेपाल राष्ट्र बैंकका अनुसार नोट बैंक तथा वित्तीय संस्था र तिनिहरुका शाखाबाट लिन सकिने छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको हो ।

    वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ। कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ।

    नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ। केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ। कूल रुपमा केन्द्रीय बैंकले रु ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ।

    नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ।