काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जननायक बिपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक सङ्कटमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उपसभापति शर्माले १५औँ महाधिवेशनपछि रुपान्तरणसहित अझ बलियो, सशक्त, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर कांग्रेस अघि बढ्छ भने । गत फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै उपसभापति शर्माले देश र जनताका पक्षमा चालिने हरेक कदममा सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको स्पष्ट गरे ।
उनले राष्ट्रिय हित र सरोकारका विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । उनले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनमा उठेका सवाल तथा जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । देशभित्र र विदेशमा रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने धारणा व्यक्त गर्दै उपसभापति शर्माले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए ।
“नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल, यी दुवै नेपाललाई जोड्नुपर्छ”, शर्माले भने, “विदेशमा रहेका नेपालीले मातृभूमिको विकासमा लगानी गर्न चाहेका छन् । उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न पार्टी तयार छ ।”
उहाँले सामाजिक सञ्जालको दुरुपयोग भई वितृष्णा सिर्जना भइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले मुलुकको विकास र समृद्धिका पक्षमा जिम्मेवार पक्षका बीच आपसी संवाद, सद्भाव र एकताको खाँचो रहेको बताए । अविश्वास र वितृष्णाभन्दा माथि उठी मुलुकको भूगोललाई मात्रै होइन, नेपालीको मनलाई पनि जोड्नुपर्ने समय आएको उनको भनाइ छ ।
विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उपसभापति शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासहित ठूलो सङ्ख्यामा युवा सहभागिता रहेको जानकारी दिए । उनले परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने लक्ष्यका साथ पार्टी अघि बढेको स्पष्ट गरे । उपसभापति शर्माले १५औँ महाधिवेशनले कांग्रेसलाई सङ्गठनात्मक रूपमा थप बलियो बनाउँदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने बताए ।
काठमाडौँ, १८ असोजः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको उल्लेख गरे ।
सभापति थापालाई बधाई दिँदै संयोजक दाहालले आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै उहाँको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए । “गगनजीलाई बधाई छ, गगनजीमा नेतृत्व गर्ने क्षमता छ, अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु”, संयोजक दाहालले भने ।
संयोजक दाहालले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई जोडेर अघि बढ्न सभापति थापालाई आग्रह गरे । पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा कांग्रेसको नयाँ नेतृत्व लाग्नुपर्ने उनको भनाइ थियो । सभापति थापा अब कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने भन्दै संयोजक दाहालले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताए । उनले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
संयोजक दाहालले आफू र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको भन्दै त्यसलाई टुङ्ग्याउन वर्तमान सभापति थापा लाग्नुपर्ने बताए । “शान्ति सम्झौताका केही चिज अझै टुङ्ग्याउन बाँकी छ, यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ, यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ”, उनले भने । मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने संयोजक दाहालको भनाइ थियो ।
काठमाडौँ, १८ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र लोकतन्त्रका लागि सबै राजनीतिक शक्तिहरु फेरि एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रियता र लोकतन्त्रका सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर युवाहरुका आकाङ्क्षा पूरा गर्न लाग्नुपर्ने बताए ।
“लोकतन्त्र, सार्वभौमसत्ता र मुलुकको हित, राष्ट्रियता, परिवर्तन, स्थायित्व, विकास र समृद्धिका लागि दलहरु मिलेर काम गर्नुपर्छ । त्यसका लागि हाम्रो दल सहकार्य गर्न तयार छ”, महासचिव पोखरेलले भने, “पछिल्लो निर्वाचनबाट जनताको स्थायित्वको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइको मत प्राप्त गरेका हुन् । सुशासन, सेवा प्रवाह र रोजगारीका क्षेत्रमा नयाँ पुस्ताका आशा र अपेक्षालाई निराशामा परिणत हुन दिनुहुँदैन । त्यसका लागि यो महाधिवेशन सफल हुन सकोस् ।”
महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुसँग संवाद गर्न अग्रसर भए पनि राष्ट्रिय समस्यामा सरकारले राजनीतिक दलहरुसँग संवाद नगरेको टिप्पणी गरे । जलवायु न्यायको प्रश्न पनि आजाको साझा प्रश्न भएकाले यसको सामनाका लागि पनि सबै एक ठाउँमा आउनुपर्ने महाचिव पोखरेलको भनाइ थियो ।
काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा पार्टी नेता र राजनीतिप्रति वितृष्णा कायमै रहेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफूले बोलेको कुरा १५औँ महाधिवेशनसम्म आइपुग्दासम्म कुनै सुधार नभएको बताए ।
“मैले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनको क्रममा जे बोलेको थिए । आमजनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन”, उनले भने, “त्यसबेला मुलुकको नेतृत्व गरिराखेका मुख्य–मुख्य नेतालाई भ्रम भए जस्तै देखियो । उहाँहरुले भर्खर–भर्खर, त्यसमाथि एउटा राष्ट्रिय पार्टी नभएको पार्टीको अध्यक्ष यहाँ आएर हामीलाई अपमान गरिराखेको छ र अर्ती–उपदेश दिइराखेको छ भन्ने विचार व्यक्त गर्नुभएको थियो । मैले त्यो बेला भनेको कुरा अहिले पनि उत्तिकै सान्दर्भिक भएको देख्छु ।”
अध्यक्ष लिङ्देनले मान्छेमा परिवर्तन भएता पनि देशको स्थिति भने जहाँको त्यही रहेको उल्लेख गर्दै देश र जनताका पक्षमा संविधानसमेत परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे । यसैगरी, जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले प्राकृतिक विपद्का कारण जनजीवन अस्तव्यस्त भई अर्थतन्त्र प्रभावित भएको विषम परिस्थितिमा मुलुकका जिम्मेवार सबै राजनीतिक दलहरुबीच एकता, संवाद, सहयोग र संसहकार्य हुनुपर्नेमा जोड दिए ।
उनले नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा लामो र महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्नुहुँदै उनले भने, “नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन, विभिन्न राजनीतिक परिवर्तन, जनआन्दोलन तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्ने संविधान २०७२ को निर्माण प्रक्रियामा कांग्रेसले खेलेको निर्णायक तथा नेतृत्वदायी भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ । त्यसलाई हामी सबैले मनन गर्नुपर्दछ ।”
देशमा आर्थिक सङ्कट, बढ्दो बेरोजगारी, युवाहरूको विदेश पलायन, उत्पादनमा आएको कमी, सामाजिक असमानता तथा नागरिकमा बढ्दै गएको निरासाजस्ता गम्भीर चुनौतीहरू कायमै रहेकाले मिलेर तिनको समाधान गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ, १८ असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गर्न सकेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै डा भट्टराईले राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिवेशलाई आत्मसात् गरी समयानुकूल कांग्रेस परिवर्तन भएको बताए ।
देशमा संविधान जारी भएपछि लोकतन्त्रको एउटा चरण पूरा भएको र अब पुराना पार्टीका रुपान्तरण वा वैकल्पिक शक्ति आवश्यक छ भन्दै आफूले १२ वर्षअघि अभियान सुरु गरेको स्मरण गर्दै उहाँले रुपान्तरणको नारासहित कांग्रेस अघि बढेकामा खुसी व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “पुराना पार्टी रुपान्तरण हुनुपर्छ, होइन भने सबै दलका रुपान्तरणकारीहरु मिलेर एउटा पार्टी बन्नुपर्छ वा वैकल्पिक शक्ति बन्नुपर्छ भनेर नेकपा (माओवादी)मा हुँदैमा मैले भनेको थिएँ । १२ वर्षपछि यो सिद्ध हुँदै गएकामा खुसी व्यक्त गर्दछु”, डा भट्टराईले भने, “विश्वमा भएको चमत्कारिक विकासका बीच हाम्रा दलहरु हिजोको ढाँचामा रहिरनुहुँदैन । राष्ट्रिय र अन्तरराष्ट्रिय परिवेश बुझ्न जरुरी छ । नयाँ सिक्न नजान्ने मान्छे एक प्रकारले निरक्षर हुन् । हामी सबै दलले आगामी २० वर्षको योजना बनाउनमा प्रतिस्पर्धा गरौँ । जसको राम्रो हुन्छ, त्यसको योजना कार्यान्वयन गरौँ ।”
डा भट्टराईले नेपालको चुनौतीको सामना गर्न कांग्रेसले अग्रणी भूमिका खेलोस् भन्दै आफूहरु शान्ति प्रक्रियामा आउँदै गर्दा एक विदेशी पत्रकारले सोधेको प्रश्नमा गगन थापालाई भोलिको नेताका रुपमा चित्रण गरेको स्मरण गरे ।
काठमाडौँ, १८ असोज । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले हल्लाका भरमा नभई लामो सङ्घर्ष, त्याग र बलिदानबाट नेपाली कांग्रेस स्थापना भएको बताएका छन् । पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुमकामना मन्तव्य व्यक्त गर्दै महासचिव राईले नेपालमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे । “कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ, वास्तवमा यो हल्लाद्वारा स्थापित भएको पार्टी होइन”, महासचिव राईले भने । कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको उनको भनाइ थियो ।
महासचिव राईले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहनेभन्दा पनि जनताका पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रिय उन्मुक्ति पार्टी नेपालका संस्थापक रेशमलाल चौधरीले राणाशासन र पञ्चायती व्यवस्थाको अन्त्य तथा विद्यमान संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
मुलुकको परिवर्तित राजनीतिक घटनाक्रम तथा बदलिदो परिवेशबीच कांग्रेस अझै सशक्त र जिम्मेवार ढङ्गबाट अघि बढ्नुपर्ने बताउँदै जारी महाधिवेशन सफलताको कामना गरे । राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले कांग्रेसको १५औँ महाधिवेशन ऐतिहासिक स्थलमा महाधिवेशन हुन लागेकामा खुशी व्यक्त गर्दै मुलुकको समग्र भविष्यको दिशा निर्धारण गर्न महाधिवेशन सफल होस् भनी शुभकामना दिए । देशको विशिष्ट राजनीतिक घटनाक्रम र परिस्थितिबीच हुन लागेको यस महाधिवेशनबाट कांग्रेसको आन्तरिक जीवनमा मात्र नभई मुलुकको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागिसमेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।
काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित केहीबेर अगाडि सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रह्यो । पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गमलाको बिरुवामा जल सिञ्चन गरी गरे ।
उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी भए ।
उद्घाटन सत्रमा वक्ताहरुले बोलेका छन् । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रम भने सोमबार र मङ्गलबार हुनेछ । निर्वाचन कार्यक्रमका लागि असोज २१ र असोज २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
सियोल, १८ असोज (रासस–एएफपी) । सियोलले प्योङ्याङले व्यालेस्टिक मिसाइल परीक्षण गरेको केही घण्टापछि उत्तर कोरियाले एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र शनिबार परीक्षण गरेको पुष्टि गरेको छ। सियोलले तीन दक्षिण कोरियाली सेना घाइते हुने गरी गैर–सैनिक क्षेत्रमा भएको आक्रमणमा उत्तर कोरिया जिम्मेवार रहेको भन्दै यसका लागि क्षमा याचना गर्न प्योङयाङलाई दवाव दिइरहृका समय यो अर्को परीक्षण भएको हो ।
घटनामा आफ्नो संलग्नता नरहेको प्योङयाङले जनाएको छ । प्योङयाङले गत महिनाको विस्फोटको जिम्मेवारी अस्वीकार गर्दै शुक्रबार दक्षिण कोरियालाई ‘नीच’ अभिव्यक्ति नदिन चेतावनीसमेत दिएको छ । पछिल्लो विवादले संवाद पुनः सुरु गर्न खोजिरहेको सियोलको नागरिक नेतृत्वको प्रयासलाई कमजोर बनाएको छ ।
शनिबार बिहानै सियोलको प्रमुख संयुक्त सैन्य कार्यालयले भनेको थियो, “हाम्रो सेनाले जापान सागर पनि भनिन उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको पत्ता लगाएको छ।” “दक्षिण कोरिया, अमेरिका र जापान उत्तर कोरियाली ब्यालेस्टिक मिसाइलबारे नजिकबाट सूचना आदानप्रदान गर्दै बलियो रक्षा अवस्था कायम राखिरहेका छन्,” कार्यालयले थप्यो। मिसाइल ७०० किलोमिटरभन्दा बढी उडेको बताइएको छ।
केही घण्टापछि प्योङयाङका नेता किम जोङ उनकी बहिनी किम यो जोङले बिहान प्रक्षेपण गरिएको मिसाइल ‘मध्यम–दूरीको रणनीतिक मिसाइल’ भएको बताइन् । उनले उक्त प्रक्षेपास्त्र ‘कम उचाइमा उडान मार्ग परिवर्तन गर्न सक्षम’ भएको र त्यसमा ‘एआईको प्रविधिलाई प्रयोग गरिएको’ दाबी गरिन् । तर एआईको प्रयोगबारे थप विवरणबारे भने व्याख्या गरिनन् ।
उनले यसको अर्थ ‘मिसाइलको आक्रमणबाट बच्ने कुनै उपाय नभएको’ दावी गरिन् । ‘कम्तीमा केही वर्षसम्म’ विश्वको कुनै पनि देशले यस्तो प्रविधि प्राप्त गर्न नसक्ने’ विश्वास किम जोङ उनले गरेको दाबी गरिन् । उनको यो वक्तव्य किम जोङ उनले गत महिना देशका हतियार प्रणालीमा ‘कृत्रिम बुद्धिमत्ता (एआई)को स्तर बढाउनुपर्ने’ आवश्यकता औँल्याएको टिप्पणीपछि आएको हो।
किम यो जोङको दावी गर्दै भने। “उत्तर कोरियाले ‘तरङ्ग (वेभ) जस्तो उडानको स्वरूप’ प्रयोग गर्दा दक्षिण कोरियाले ‘पहिलो बिन्दुबाटै लक्ष्यहरू पछ्याउन असफल’ भएको थियो।” विश्लेषकहरूका अनुसार उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रूस पठाएबापत रूसी सैन्य सहयोगबाट आफ्नो मिसाइल प्रविधि तीव्र रूपमा अघि बढाइरहेको हुन सक्छ।
“एआई विश्वभर सैन्य प्रविधिमा बढ्दो रूपमा समावेश हुँदैछ र ब्यालेस्टिक मिसाइल पनि यसबाट अछुतो छैनन्,” सियोलस्थित कोरिया सैन्य मामिला संस्थानका वरिष्ठ अनुसन्धानकर्ता होङ सुङ–प्योले एएफपीसँग भने । उनले भने, “एआईले लक्ष्य जानकारी र प्रक्षेपण सञ्चालनमा सहयोग गर्न सक्छ। युक्रेन र इरानका युद्धहरूले एआईलाई ड्रोन र मिसाइलसँग जोड्दा तिनीहरूको प्रभावकारिता कसरी बढ्छ भन्ने देखाएका छन्।”
होङले उत्तर कोरियाका मिसाइल क्षमतासम्बन्धी दाबी सही छन् भनी निष्कर्ष निकाल्न अझै चाँडो भएको बताए । “अग्रणी सैन्य शक्तिहरूको तुलनामा उत्तर कोरियाको मिसाइल प्रविधि विशेष रूपमा उन्नत छैन,” उनले भने । उनले थपे, “टर्मिनलमा नै रहँदाको चरणमा गति परिवर्तन गर्ने मिसाइलहरूलाई रोक्न गाह्रो हुन्छ, तर त्यसको अर्थ तिनीहरू पूर्ण सटीकताका साथ लक्ष्यमा हिर्काउन सक्छन् भन्ने होइन।”
सियोल र अमेरिका नेतृत्वको संयुक्त राष्ट्रिय कमान्डले गत महिना ‘डीएमजेड’ भित्रको विस्फोट दक्षिण सीमापारि उत्तर कोरियाले राखेका बारुदी सुरुङका कारण भएको निष्कर्ष निकालेको थियो । उत्तर कोरियाली सेनाले सन् २०२४ मा नेता किम जोङ उनले दक्षिण कोरियालाई आफ्नो देशको ‘मुख्य शत्रु’ घोषणा गरेपछि सीमा स्थायी रूपमा बन्द गर्ने प्रयासअन्तर्गत सीमामा बारुदी सुरुङ र ट्याङ्कविरोधी अवरोधहरू राखेको छ।
दक्षिण कोरियाका रक्षा मन्त्री काङ सिन–चुलका अनुसार तीन सैनिक घाइते बनाएको विस्फोटका लागि जिम्मेवार बारुदी सुरुङहरू प्योङयाङको सीमा सुदृढीकरण कार्यको भागका रूपमा राखिएको विश्वास गरिएको छ । दक्षिण कोरियाका नरमपन्थी राष्ट्रपति ली जे–म्युङले बिहीबार सेनाले माफी माग्न माग गरेको भोलिपल्ट पनि प्योङयाङलाई संवादमा फर्कन आग्रह गरेका छन् ।
किम यो जोङले शुक्रबार सियोललाई ‘साँच्चिकै नीच’ भन्दै फेरि विस्फोटको दोष अस्वीकार गरेका थिए । उनले लीको पछिल्लो आग्रहलाई ‘सबैले हेर्नुपर्ने नाटकको चरमबिन्दु’ भन्दै उपहास गर्नुभयो र दक्षिण कोरियाको सेनाको माफीको मागलाई ‘एकदम हाँस्यास्पद’ कुरा भने । किमले प्योङयाङ बारुदी सुरुङ विस्फोटमाथि सियोलले गर्न सक्ने ‘हरेक कुराका लागि तयार’ रहेको चेतावनी पनि दिए । यी टिप्पणीको केही घण्टापछि भोलिपल्ट बिहानै प्योङयाङले मिसाइल प्रक्षेपण गरेको हो ।
विश्लेषकहरूले यो प्रक्षेपणलाई दक्षिण कोरियाली सरकारका कूटनीतिक प्रयासको जवाफमा शक्ति प्रदर्शनका रूपमा हेरिने बताएका छन् । यसले विस्फोटमा संलग्नतालाई प्रभावकारी रूपमा अस्वीकार गरेको छ । “सियोलले तनाव कम गर्न आग्रह गर्यो, तर प्योङयाङले तनाव बढाएर जवाफ दियो,” सियोलस्थित उत्तर कोरिया अध्ययन विश्वविद्यालयका पूर्व अध्यक्ष याङ मु–जिनले एएफपीसँग भने । “उत्तर कोरियाले सद्भावनाको जवाफमा टकराव अघि बढाइरहेको छ भन्ने सन्देश क्षेप्यास्त्र परीक्षणले दिएको छ,” उनले थपे ।
लिल, फ्रान्स, १८ असोज (रासस–एएफपी) । उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती व्यापारीको भ्यानभित्र एक पुरुषको मृत शरीर फेला परेको छ। उक्त भ्यानमा अवैध आप्रवासीहरू पनि रहेको अधिकारीहरूले शनिबार बताएका छन् । उक्त व्यक्तिलाई गोली हानी मारिएको अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको छ।
स्थानीय अभियोजक कार्यालयका अनुसार उक्त सवारी साधन शुक्रबार ट्रोयेस सहरबाट करिब ३० किलोमिटर उत्तरमा फेला परेको थियो । ट्रोयेस पेरिसको दक्षिण–पूर्वमा अवस्थित छ र इङ्लिस च्यानलबाट करिब ३०० किलोमिटर टाढा छ। ‘अपराध स्थलमा उपस्थित भएको विश्वास गरिएको’ एक शङ्कास्पद व्यक्तिलाई शुक्रबार बिहानै पक्राउ गरिएको ट्रोयेसकी अभियोजक इसाबेल भेरिसिमोले बताए ।
उनले भने, “बिहान करिब ५ बजे भ्यानको सिटमा ४७ वर्षीय पुरुषको मृत शरीर ‘टाउकोमा गोली लागेको’ अवस्थामा फेला परेको थियो । उक्त भ्यानमा बेलायती नम्बर प्लेट थियो ।” सवारी साधनभित्र प्रहरीले ‘फ्रान्सेली भूमिमा अवैध रूपमा रहेका करिब १० जना विदेशी नागरिक’ फेला पारेको थियो। उनले मृतक वा ती विदेशीहरूको राष्ट्रियता उल्लेख गरेनन् ।
प्रारम्भिक अनुसन्धानले बेलायती भ्यान ‘च्याम्प ल’ एपे विश्रामस्थलमा पार्क गर्न रोकिँदा गोली चलेको र त्यसपछि धेरै व्यक्ति घटनास्थलबाट भागेको सङ्केत पाइएको अभियोजकको विज्ञप्तिमा उल्लेख छ। अपराध भएको स्थानभन्दा उत्तरमा रहेको रेम्सको कानुन प्रवर्तन कार्यालयलाई उक्त घटनाको अनुसन्धानको जिम्मेवारी दिइएको छ ।
ट्रोयेस अभियोजक कार्यालयले शनिबार ‘हत्या, हत्या प्रयास, बिना अनुमति हतियार कब्जा, सङ्गठित समूहको रूपमा विदेशीलाई फ्रान्समा अवैध प्रवेश, आवतजावत र बसोबासमा सहयोग तथा सङ्गठित समूहको रूपमा मानव तस्करी’ का लागि फौजदारी मुद्दा दायर गर्ने बताएको छ ।
दुबई, १८ असोज (रासस–एएफपी) । युनाइटेड अरब इमिरेट्स (यूएई) का अनुसन्धानकर्ताहरूले यस साता इजरायल जाँदै गरेको फ्लाईदुबई उडानका सह–चालकले ‘आतङ्कवादी कार्य’ गर्ने योजना बनाएको र क्याप्टेनमाथि ककपिटको आपतकालीन हतियार ‘बञ्चरा’ ले आक्रमण गरेको बताएका छन्। तर आक्रमण गर्ने सहचालकले के गर्न खोजेको भन्ने उद्देश्य भने उनीहरूले अझै खुलाएका छैनन् ।
बुधबारको उडानमा भारतीय विमान चालक (क्याप्टेन) माथि सह–चालकले आक्रमण गरेपछि चालकले ककपिटको ढोका खोल्न सफल हुँदा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो ।
शनिबार देशको सरकारी समाचार एजेन्सी वामको रिपोर्ट अनुसार यूएई अनुसन्धानका प्रारम्भिक निष्कर्षमा सह–चालकको राष्ट्रियता खुलाइएको छैन तर एउटा साउदी स्रोतले एएफपीलाई सह–चालक ओमानी भएको पुष्टि गरेको छ । मिडिया रिपोर्टहरूले उनलाई गृह राष्ट्रमा चरमपन्थी विचारका कारण उडान गर्न प्रतिबन्ध लगाइएको पनि उल्लेख गरेका छन् ।
यी रिपोर्टहरू आएका बेला संयुक्त अरब इमिरेट्सबाट इजरायलीहरूलाई घर लैजाने पहिलो उडान तेल अभिभ अवतरण गरेको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ । आक्रमणपछि सेवाहरू स्थगित गरिएका थिए ।
“‘सह–चालकले आतङ्कवादी कार्य गर्ने प्रयास गरेका’ र ‘ककपिटमा क्याप्टेनमाथि आपतकालीन बञ्चराले आक्रमण गरी विमानको नियन्त्रण लिन खोजेको देखिन्छ,” वामले यूएईका महान्यायाधिवक्ता हमद सैफ अल शाम्सीलाई उद्धृत गर्दै अनुसन्धानका प्रारम्भिक निष्कर्षबारे बताएको छ ।
यात्रुहरूले ककपिटतर्फ गई नियन्त्रणका भूमिका निभाएको बताएका थिए । चालकमाथि आक्रमणपछि विमान एक मिनेटमै करिब १७ हजार फिट उचाइ गुमाएर आकाशमा तल झरेको फ्लाइटराडर–२४ नामक वेबसाइटको तथ्याङ्कले देखाएको छ। ककपिटको ढोका खोलेका घाइते क्याप्टेनलाई नायकका रूपमा सम्मान गरिएको छ । शनिबार यूएईका उपप्रधानमन्त्री हमदान बिन मोहम्मदले अस्पतालको शैयामा उनलाई भेटेको तस्बिर सार्वजनिक भएको छ ।
चालक स्मित मच्छरले ‘साहस, जिम्मेवारी र मानव जीवनप्रतिको हेरचाहको उच्चतम स्तर’ प्रदर्शन गरेको यूएई अधिकारीले एक्समा पोस्ट गरेका छन्। यता सह–चालकलाई यूएईमा हिरासतमा राखिएको छ । धेरै मिडिया आउटलेटहरूले आक्रमणकारी सह–चालकलाई हमाम अल–हम्मामी भनेर पहिचान गरेका छन् र ओमानमा चरमपन्थी विचारका कारण उडान गर्न प्रतिबन्ध लगाइएको बताएका छन् ।
‘चरमपन्थी प्रभावबाट ग्रसित’
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आक्रमणकारी सहचालकलाई शङ्कास्पदे ‘इस्लामी चरमपन्थी विचार’ भएका व्यक्तिले परिचालित गरेको र विमान दुर्घटना गराउने प्रयास गरेको बताएका छन् । वाल स्ट्रिट जर्नलले विषयसँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै शुक्रबार ओमानी अधिकारीहरूले उआक्रमणकारी सह–चालक चरमपन्थी वैचारिक दृष्टिकोण अपनाएको शङ्कामा उडान गर्न प्रतिबन्ध लगाएको रिपोर्ट गरेको छ ।
सीएनएनले दुई स्रोतलाई उद्धृत गर्दै गत वर्ष ओमानको राष्ट्रिय एयरलाइनबाट उनलाई जागिरबाट हटाइएको रिपोर्ट गरेको छ। अल अरेबियाले पनि सूचित स्रोतलाई उद्धृत गर्दै ओमानी अधिकारीहरूले सह–चालकले चरमपन्थी विचार राख्ने गरेको निष्कर्ष निकालेको बताएको छ । प्रसारकले उनले सिरियामा समय बिताएको र त्यहाँका चरमपन्थी समूहहरूबाट प्रभावित भएको आशङ्का गरिएको उल्लेख गरेको छ।
एबीसी न्यूजले अनुसन्धानसँग परिचित वरिष्ठ खुफिया र कानुन प्रवर्तन अधिकारीहरूलाई उद्धृत गर्दै शङ्कास्पद व्यक्तिसँग तालिमका क्रममा उपलब्ध गराइएका चरमपन्थी विचारसँग मेल खाने सामग्री भेटिएको आरोप लगाएको रिपोर्ट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरान आक्रमणसँग जोडिएको पाइए तेहरानलाई ‘धेरै कडा प्रहार’ गरिने चेतावनी दिएका थिए ।
नेतन्याहूले सह–चालकलाई देशका उडानहरूमा काम गर्न कसरी अनुमति दिइएको थियो अनुसन्धान थालिने बताएका छन् । “हामीसँग यस्ता प्रतिबन्धहरू छन् कि इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका चालकहरू हुन सक्दैनन्,” नेतन्याहूले फक्स न्यूजलाई भने, “स्पष्ट रूपमा ती सह–चालकले त्यसलाई छल्न सफल भएको पाइएको छ ।”
पाँचथर, १८ असोजः याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठूलो क्षति भएको थियो ।
यहाँका मुरुङ्गा, मेवा र लम्बाखोला तथा अन्य ससाना खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले ठूलो क्षति पुर्याएको थियो । उक्त समय यहाँका समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा, बिरुवा वस्ती प्रभावित भएका थिए ।
उक्त समयको क्षति भुल्न नपाउँदै यस वर्ष गत जेठमा बाढीपहिरोले उस्तै क्षति पुर्याएपछि स्थानीयवासी चिन्तित छन् । स्थानीय रामकुमार राईको घरमा भेटिएका इन्द्रबहादुर चाम्लिङले भन्नुभयो, “विसं २०८० को बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि हाम्रो जीवनकालमा यस्तो विपद् नआउने भन्ने धेरैलाई लागेको थियो । तर यसपालि त्यो भन्दा ठूलो विपद् आउँदा हामी अचम्मित भयौँ ।” उस्तै विपद् दोहोरिएपछि त्रासमा बाँच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
चाम्लिङडाँडाका महमलाल खवासको घरको आगनबाट लम्बाखोलाको बाढी बगेपछि परिवार त्रासमा थियो । तर विगतमा जस्तो भयावह अवस्था नहोला भनेर खवास परिवारले घरलाई थप व्यवस्थित गर्यो । यस वर्ष विगतमा भन्दा भयावह बाढीपहिरो मात्रै आएन, खवासको घर नामोनिशान नरहने गरी बगाएर लग्यो ।
“पहिले पनि आँगनबाट बाढी बगेको थियो । तर घर नै बगाउँला भन्ने त सोचेका थिएनौँ । हामी लगाएको कपडामा दुई मिनेटको अन्तरमा भाग्न सफल भयौँ”, खवासले भन्नुभयो, “एक मिनेटको अन्तरमा घर बाढीले बगायो । मध्यरात भागेर बाँच्यौँ ।” खवास परिवार अहिले देउकुमार राईको बन्दकी लगाएर बसिरहेको छ । तर त्रासले भने नछोडेको महमलालको भनाइ छ ।
कम्तीमा रु १० लाख लागत मूल्याङ्कन हुने घरसहित जग्गा जमिन र सबै सामग्री पहिरोले बगाएपछि खवास परिवार विदेश गएका छोराको मद्दतले जीविका चलाइरहेको छ । उक्त पहिरोमा महमलालका भाइ कविरमान खवासको घर तथा यहाँका रविन राई, रामकुमार राई, जहरमान बेघालगायत १६ परिवारको अलैँची तथा धानखेती बगरमा परिणत भएको छ ।
बाढीपहिरोमा चाम्लिङडाँडाका रामकुमार राईको घर त जोगिएको छ तर आम्दानीको बाटो समाप्त भएको उहाँको भनाइ छ । तीन वर्षअघि २०८० सालमा बर्सेनि करिब १० मन ९४० किलो० उत्पादन हुने अलैँची बारी पहिरोले बगाएको थियो । अहिले त्योभन्दा दोब्बर बढी अलैँची फल्ने बारी बगाएपछि हातपाउ गलेको रामकुमारको भनाइ छ ।
“मेरो जति क्षति यो वडामा कसैको पनि भएन होला । विसं २०८० मै करिबब १० मन अलैँची फल्ने जमिन बगाएर लगेको थियो । यस वर्ष करिब १५ मन उत्पादन हुने अलैँचीखेती र दुई खला खेत बाढी र पहिरोले बगाएर लग्यो”, रामकुमारले भन्नुभयो, “अहिले सबै ढाँड बनेको छ । एक झ्याङ पनि अलैँची बाँकी रहेन”, अलैँची टिप्ने बेलामा रामकुमारसँग अलैँचीको बगान नै बाँकी छैन ।
बाढीपहिरोले चाम्लिङडाँडाकै रविन राईको घर जोखिममा पारेको छ । उहाँको घरभन्दा मुनि गैरीखेत पहिरोले तानेको छ भने अगाडि पँधेरे खेत बाढीले पुरेको छ । “हिउँदमा त ठिकै छ । बर्खा लागेपछि भाग्नैपर्ने होला”, रविनले भन्नुभयो, “बरु ढुङ्ग्रोबाट खन्याएको पातलो आउला, आकासबाट त्योभन्दा ठूलो पानी पर्छ ।”
सरकारको बाटो नहेर्ने
प्राकृतिक विपत्तिमा घरको पूर्ण क्षति भएका परिवारलाई सरकारले जिल्ला दैवी प्रकोप समितिमार्फत रु चार लाख रकम दिने व्यवस्था रहेको छ । तर तीन किस्तामा प्राप्त हुने रकम लिन असाध्यै कठिन पर्ने बुझेर पहिरो प्रभावित महमलाल खवास सरकारको बाटो नहेर्ने सोचाइमा हुनुहुन्छ ।
“घर निर्माण गर्न तीन किस्तामा रकम आउने रहेछ । पालिका गएँ, फिदिम ९सदरमुकाम० गएँ । तर मैले प्रक्रिया पूरा गर्दागर्दै साहुबाट काढेको रु नौ हजार सकियो”, खवासले भन्नुभयो, “अब म नखोज्ने, बरु आफैँ बनाएर बस्ने । खोज्दाखोज्दै ऋणमा डुबिने रहेछ । अझै केही समय अर्कैको घरमा जीविका चलाउँछु ।”
विदेश गएको छोरो आएपछि गाउँकै पाखाभित्तामा जग्गा खोजेर घर बनाउने योजना खवास परिवारको छ । त्यसैले उनीहरू सरकारसँग केही नमाग्ने पक्षमा हुनुहुन्छ । “अब सबैको क्षति भएको छ, सरकारले कसलाई राहत दिएर सकोस र रु हामीले खोज्न पनि छाडेको”, महमलालले भन्नुभयो, “हाम्रो ज्यान बाँचेकै छ । कमाएर केही गरौँला भन्ने सोच बनाएका हौँ ।”
स्थानीय तहले क्षतिपूर्ति दिन नसक्ने र माथिल्ला निकायले वास्ता नगर्ने हुँदा कुनै प्रकारको राहत पाउने आशा अर्का प्रभावित रामकुमार राईसँग पनि छैन । “पहिले पनि क्षतिपूर्तिका लागि निवेदन पेस गर्यौँ । तर कुनै राहत आएको बुझिएन”, रामकुमारले भन्नुभयो, “हामीलाई क्षतिपूर्तिका लागि आवेदन मागिएको थियो । तर पहिलेकै क्षतिमा कुनै क्षतिपूर्ति नभएपछि मैले त क्षतिको विवरण पनि दिन मन लागेन । बाँचियो भने भयो ।”
काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।
संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो । यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ ।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्ने छ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् ।
बागलुङ, १८ असोजः गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ ।
पर्वत, १८ असोजःबाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।
कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् । जिल्लाभर १३१ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए । बाढीपहिरोले पाँच वटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ । पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल मध्यपहाडी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति भएको छ ।
जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने उनले बताए । बाढीपहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने–ओछ्याउने, सरसफाइ र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन् ।
लमजुङ, १८ असोजः दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव गर्ने अवसर पनि हो । हिमाल, पहाड, प्रकृति, संस्कृति, इतिहास र धार्मिक आस्थाको विविधता बोकेको लमजुङमा छोटो तथा लामो दूरीका यात्राका लागि विभिन्न गन्तव्य छन् । जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिकस्थलमध्ये २०८३ सालको दसैँ बिदामा घुम्न सकिने १० गन्तव्य यसप्रकार रहेका छन् ।
बेँसीसहर नगरपालिका–३, गाउँसहर–लमजुङ दरबार
लमजुङको इतिहास र शाहवंशीय राज्यसँग जोडिएको गाउँसहर जिल्लाकै महत्त्वपूर्ण ऐतिहासिक गन्तव्य हो । यहाँ गाउँसहर दरबार, लमजुङ कालिका मन्दिर तथा यशोब्रह्म शाहसँग सम्बन्धित पुरातात्विक संरचना छन् । गाउँसहरलाई शाहवंशीय राज्यको उद्गमस्थलका रूपमा समेत लिइन्छ । इतिहास, धर्म र संस्कृतिको सङ्गम भएकाले दसैँका बेला यसको विशेष महत्व रहन्छ ।
सुन्दरबजार नगरपालिका–११, तुर्लुङकोट कालिका
प्राचीन इतिहास र धार्मिक आस्थासँग जोडिएको तुर्लुङकोटमा कालिका मन्दिर तथा ऐतिहासिकस्थल छन् । धार्मिक वातावरणसँगै पहाडी भूभागको दृश्यावलोकन गर्न सकिने भएकाले दसैँ बिदामा भ्रमणका लागि उपयुक्त गन्तव्य हो ।
बेँसीसहर नगरपालिका–४, पुरानकोट गढी
ऐतिहासिक तथा सामरिक महत्व बोकेको पुरानकोट गढी लमजुङको पुरानो राज्य इतिहाससँग जोडिएको स्थल हो । गढी क्षेत्रबाट आसपासका पहाडी भूभागको दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।
बेँसीसहर नगरपालिका–३, काउलेपानी
मौलिक गाउँबस्ती, होमस्टे, धार्मिकस्थल र प्राकृतिक सौन्दर्य काउलेपानीका मुख्य आकर्षण हुन् । गाउँसहर दरबारसँगै भ्रमण गर्न सकिने भएकाले यहाँको यात्रा इतिहास र ग्रामीण पर्यटनसँग जोड्न सकिन्छ ।
राइनास नगरपालिका–९, राइनासकोट
ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको राइनासकोट लमजुङको आकर्षक पहाडी गन्तव्य हो । यहाँबाट सूर्योदय, सूर्यास्त तथा आसपासका पहाडी भूभागको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । राइनास नगरपालिकाले समेत पर्यटनलाई नगरको प्रमुख पहिचानका रूपमा अघि सारेको छ ।
क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँ
गुरुङ संस्कृति, परम्परागत बस्ती, होमस्टे, स्थानीय परिकार र हिमाली दृश्य घलेगाउँका प्रमुख आकर्षण हुन् । घले राजाको इतिहास, गुरुङ सङ्ग्रहालय, मन्दिर तथा सांस्कृतिक सम्पदाले यसलाई ग्रामीण र सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाएका छन् ।
क्व्होलासोथार गाउँपालिका–४, भुजुङ
मौलिक गुरुङ बस्ती, परम्परागत जीवनशैली, स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्य भुजुङका मुख्य आकर्षण हुन् । होमस्टेमा बसेर गाउँले जीवनशैली तथा गुरुङ संस्कृतिलाई नजिकबाट अनुभव गर्न सकिन्छ ।
मस्र्याङ्दी गाउँपालिका–१ र २, घनपोखरा
हिमाली दृश्य, गुरुङ संस्कृति, ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यले घनपोखरालाई आकर्षक बनाएको छ । घलेगाउँसँगै जोडेर भ्रमण गर्न सकिने भएकाले यहाँको यात्रा प्रकृति र संस्कृतिको अनुभवका लागि उपयोगी हुन्छ ।
मध्यनेपाल नगरपालिका–७, करापुटार–इशानेश्वर महादेव
लमजुङको महत्त्वपूर्ण धार्मिक गन्तव्यका रूपमा परिचित करापुटारमा इशानेश्वर महादेवको मन्दिर रहेको छ । धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको यस क्षेत्रमा दसैँ बिदामा दर्शन तथा भ्रमण गर्न सकिन्छ ।
दूधपोखरी गाउँपालिका, इलमपोखरी
प्राकृतिक तथा धार्मिक महत्व बोकेको इलमपोखरी ग्रामीण पर्यटनको आकर्षक गन्तव्य हो । पोखरी क्षेत्र र आसपासको मौलिक प्राकृतिक वातावरणले शान्त र रमणीय ठाउँ खोज्ने पर्यटकलाई आकर्षित गर्छ । इलमपोखरी लमजुङका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलमध्ये सूचीकृत गन्तव्य पनि हो ।
लमजुङका यी गन्तव्यले एउटै जिल्लाभित्र इतिहास, धर्म, संस्कृति, प्रकृति र ग्रामीण जीवनशैलीको विविध अनुभव दिने भएकाले दसैँ बिदामा घुमफिर गर्नेका लागि आकर्षक विकल्प बन्न सक्छ ।
लक्ष्मण खनाल यूएई काठमाडौंको स्वयम्भू, धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको यो ठाउँमा धेरैका बाल्यकालका कथा जोडिएका छन् । त्यही स्वयम्भूको मध्यमवर्गीय परिवारमा जन्मिएका राम मोक्तानको जीवनकथा पनि यहीँबाट शुरु हुन्छ । सामान्य पारिवारिक वातावरणमा हुर्किएका मोक्तानले बाल्यकालमा ठूलाठूला सपना देखेका थिए वा थिएनन्, त्यो अलग विषय हो । तर समयक्रममा उनले भोगेका चुनौती, गरेका निर्णय र अवसरलाई समात्दै अघि बढ्ने दृढताले उनको जीवनलाई एउटा लामो संघर्षमय यात्रामा रुपान्तरण ग¥यो ।
नेपाली सेनामा कार्यरत बाबु र गृहिणी आमाका तीन सन्तानमध्येका एक रामले आफ्नो बाल्यकाल स्वयम्भूमै बिताए । एक दिदी र एक बहिनीसँगै हुर्किएका उनले पारिवारिक स्रोत सीमित भए पनि शिक्षाको अवसर पाए । आमाबाबुले आफूले सकेको समय, श्रम र आर्थिक स्रोत व्यवस्थापन गरेर छोराछोरीको शिक्षामा लगानी गरे । २०४७ को एसएलसीपछि उच्च शिक्षाको यात्रालाई निरन्तरता दिने क्रममा उनी काठमाडौंको पिपल्स कलेजमा आईकम अध्ययनका लागि भर्ना भए । आईकम उत्तीर्ण गरेपछि संयुक्त पाटन क्याम्पसमा बीकम अध्ययन शुरु गरे । अध्ययनलाई निरन्तरता दिँदै उनले विभिन्न ठाउँमा अध्यापनको कामसमेत गर्न थाले । त्यो समय सम्झिँदा मोक्तानको स्मृतिमा आज पनि एउटा अंक ताजा छ– दुई हजार रुपैयाँ । ‘त्यो बेला दुई हजार रुपैयाँ तलब थियो । झण्डै तीन वर्ष मैले पढाएँ’, उनी विगत सम्झन्छन् । आजको हिसाबले सामान्य लाग्न सक्ने त्यो रकम त्यतिबेला उनको जीवनमा महत्वपूर्ण आम्दानी थियो । अध्ययनसँगै काम अनि आत्मनिर्भर बन्ने अभ्यास पनि ।
चिसो स्वयम्भूबाट तातो दुबईको सडकसम्म ८ अप्रिल १९९८ मा राम मोक्तान दुबई पुगे । स्वयम्भूको चिसो वातावरणमा हुर्किएका रामका लागि दुबईको तातो मौसम र नयाँ परिवेश आफैंमा चुनौतीपूर्ण थियो । नेपालमा बसेर कल्पना गरेको विदेश र वास्तविक विदेशबीचको अन्तर उनले पुगेपछि महसुस गरे ।
दुबई पुगेपछि मार्केटिङसम्बन्धी काम गर्ने भनिएको थियो । तर कामको वास्तविक स्वरुपमा पुग्दा महिला र पुरुष कामदारका जिम्मेवारी फरक रहेछन् । महिलाले इन्डोर र पुरुषले आउटडोर काम गर्नुपर्ने व्यवस्था थियो । रामले आउटडोर काम गर्न थाले ।
काठमाडौंको तुलनात्मक रुपमा चिसो वातावरणमा जन्मे–हुर्केका उनलाई दुबईको गर्मीमा बाहिर काम गर्नु सहज थिएन । तर जीवनमा केही गर्नुपर्छ भन्ने अठोटले उनलाई कठिनाइसँग सम्झौता गर्न सिकायो । उनको शुरुआती तलब ९०० दिराम थियो । त्यतिबेला एक दिरामको मूल्य करिब १४ नेपाली रुपैयाँ पर्ने उनी सम्झन्छन् । आजको तुलनामा रकम सानो देखिए पनि त्यस समयको यूएईको जीवनयापनको लागत पनि तुलनात्मक रुपमा कम थियो ।
रामका अनुसार त्यतिबेला करिब ४०० दिराममा खान र बस्नको आधारभूत खर्च व्यवस्थापन गर्न सकिन्थ्यो । यूएईमा अहिले जस्तो भीडभाड र नेपाली श्रमिकको बाक्लो उपस्थिति पनि थिएन । त्यो समयको यूएई आजको जस्तो थिएन । विदेशी कामदारको विस्तार हुँदै थियो, तर नेपालीको संख्या निकै कम थियो ।
मेहनतले बदलिएको जिम्मेवारी रामको विदेश यात्राको अर्को महत्वपूर्ण पक्ष उनको कामप्रतिको लगनशीलता थियो । उनले शुरुआत आउटडोर कामबाट गरे पनि केही समयमै आफ्नो क्षमता देखाउने अवसर पाए । कम्पनीमा काम थालेको करिब १५ महिनामै उनी स्टोरमा क्यासियरका रुपमा काम गर्न थाले । आउटडोर कामको तुलनामा स्टोरभित्रको जिम्मेवारी उनका लागि सहज बन्दै गयो । तर उनको प्रगति त्यतिमै रोकिएन ।
क्यासियरको जिम्मेवारी सम्हालेको करिब ६ महिनामै उनी सिफ्ट इन्चार्ज बने । काम सिक्ने, जिम्मेवारी बहन गर्ने र नयाँ वातावरणमा आफूलाई ढाल्ने उनको क्षमताले उनलाई क्रमशः माथिल्लो जिम्मेवारीतर्फ लैजान थाल्यो । विदेशमा पुगेपछि केवल तलबका लागि काम गर्नेभन्दा पनि काम सिक्दै अघि बढ्ने उनको सोंचले उनलाई फरक बाटोमा पु¥यायो । त्यसको करिब दुई वर्षपछि उनी सोही कम्पनीमा सुपरभाइजर बने । सन् २००० मा सुपरभाइजरको जिम्मेवारी पाएका उनले त्यसपछि पनि एउटै पदमा सीमित भएर बस्नुपरेन । जिम्मेवारी र अनुभव बढ्दै जाँदा उनको कामको दायरा पनि विस्तार हुँदै गयो ।
कम्पनीका विभिन्न मल्टिपल स्टोरमा काम गर्ने अवसर उनले पाए । फरक–फरक स्टोर, फरक वातावरण र फरक जिम्मेवारीले उनको व्यावसायिक अनुभवलाई थप फराकिलो बनाउँदै लग्यो । यो क्रम सन् २००५ सम्म निरन्तर चल्यो ।
सफलतासँगै उठेको अर्को प्रश्न सन् २००० देखि सुपरभाइजरको जिम्मेवारी सम्हाल्दै आएका रामका लागि सन् २००५ सम्म आइपुग्दा कामको अनुभव निकै फराकिलो भइसकेको थियो । कम्पनी, स्टोर सञ्चालन, कर्मचारी व्यवस्थापन र ग्राहकसँगको व्यवहार लगायतका विषयमा उनले पर्याप्त अनुभव हासिल गरिसकेका थिए ।
तर मानिसको जीवनमा एउटा बिन्दु यस्तो आउँछ, जहाँ प्राप्त उपलब्धिभन्दा अगाडिको बाटो महत्वपूर्ण बन्न थाल्छ । रामको मनमा पनि त्यही प्रश्न उठ्न थाल्यो– अब यही कम्पनीमा थप के गर्ने ? सुपरभाइजरको जिम्मेवारीमा रहेर उनले आफ्नो भविष्यका सम्भावनाबारे सोंच्न थाले । आफूले सिकेको अनुभवलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न उनको मनमा गहिरिँदै गयो ।
त्यो समय यूएईमा व्यक्तिगत रुपमा अगाडि बढ्नका लागि आवश्यक केही प्रक्रियासमेत अहिलेको तुलनामा फरक थिए । उदाहरणका लागि, ड्राइभिङ लाइसेन्स लिनका लागि पनि कम्पनीबाट अनापत्ति प्रमाणपत्र (एनओसी) लिनुपर्ने व्यवस्था थियो । त्यसैले विदेशमा अवसर खोज्नु भनेको केवल विदेश पुग्नु मात्र थिएन । त्यहाँ पुगिसकेपछि पनि विभिन्न प्रशासनिक, व्यावसायिक र सामाजिक सीमाभित्र रहेर आफ्नो बाटो बनाउनुपर्ने अवस्था थियो ।
परदेशमा नेपाली अनुहारको खोजी आज यूएईमा नेपाली समुदायको उपस्थिति ठूलो छ । नेपाली भाषा, संस्कृति, खानपान र समुदायसँग सम्बन्धित गतिविधि सहजै भेटिन्छन् । तर राम मोक्तानले यूएईमा आफ्नो शुरुआती दिन बिताउँदा अवस्था निकै फरक थियो । त्यतिबेला यूएईमा नेपालीको संख्या अत्यन्तै कम थियो । उनको वरिपरि प्रायः फिलिपिनो र भारतीय नागरिकहरु भेटिन्थे । काम गर्ने ठाउँमा पनि उनीहरुकै बाहुल्य थियो । त्यसैले परदेशमा कतै नेपाली अनुहार देखिनु पनि उनका लागि ठूलो भावनात्मक घटना हुन्थ्यो । ‘एकजना नेपाली देख्दा पनि मनमा घरै गएजस्तो आनन्द आउँथ्यो’, राम ती दिन सम्झँदै भन्छन् ।
परदेशमा आफ्नो देशको मान्छे भेटिनु केवल संयोग थिएन । त्यो घरको सम्झना, आफ्नो भाषा र संस्कृतिको सम्झना तथा आफू एक्लो नभएको अनुभूति थियो । आज यूएईमा नेपालीको बाक्लो उपस्थिति देख्दा रामलाई आफ्नो प्रारम्भिक दिन अझ स्पष्टसँग सम्झना हुन्छ । त्यतिबेला नेपाली समुदाय सानो थियो, अवसर सीमित थिए र विदेशमा आफ्नो पहिचान बनाउने यात्रा झनै कठिन थियो ।
संघर्षबाट अवसरसम्म सन् २००५ सम्म एउटै कम्पनीमा विभिन्न जिम्मेवारी सम्हालिसकेपछि राम मोक्तानको मनमा एउटा कुरा स्पष्ट हुँदै गयो– अनुभव मात्र पर्याप्त छैन, अब सीप र औपचारिक शिक्षालाई पनि आफ्नो यात्राको आधार बनाउनुपर्छ । यूएईमा काम गर्दै आएका नेपालीका लागि त्यतिबेला उच्च शिक्षा हासिल गर्नु सामान्य विषय थिएन । ड्राइभिङ लाइसेन्सका लागि कम्पनीको एनओसी आवश्यक पर्ने अवस्था थियो ।
त्यसपछि उनले आफ्नो समयलाई अझ व्यवस्थित गर्दै अध्ययनतर्फ ध्यान केन्द्रित गरे । सन् २००६ देखि २००८ सम्मको अवधि उनको जीवनमा अर्को महत्वपूर्ण अध्याय बन्यो । यही अवधिमा उनले आफ्नो व्यावसायिक जीवनलाई नयाँ दिशामा लैजाने उद्देश्यका साथ अध्ययनलाई प्राथमिकता दिए । नेपालमा रहँदादेखि नै कम्प्युटर र प्रविधिसँग सम्बन्धित विषयमा उनको रुचि थियो । त्यसैले उनले आफ्नो पुरानो रुचिलाई औपचारिक शिक्षामा परिणत गर्ने निर्णय गरे ।
कम्प्युटर नेटवर्किङ, हार्डवेयर लगायतका विषय समेटिएको सूचना प्रविधि अध्ययन रोज्दै उनले मणिपाल विश्वविद्यालयबाट बीएस्सी आईटी अध्ययन पूरा गरे । विदेशमा पूर्णकालीन काम गर्दै उच्च शिक्षा हासिल गर्नु सजिलो थिएन । कामको जिम्मेवारी र पढाइलाई सँगसँगै अघि बढाउन अनुशासन, समय व्यवस्थापन र निरन्तर मेहनत आवश्यक थियो । रामले यही चुनौतीलाई अवसरका रुपमा लिए । उनको हातमा डिग्री र सीप दुवै आएपछि उनको व्यावसायिक यात्राको स्वरुप पनि बदलिन थाल्यो ।
पेट्रोलियम कम्पनीको हेड अफिससम्म सीप र शैक्षिक योग्यता थपिएपछि रामको करिअरले नयाँ गति लियो । सन् २००८ मा उनी बढुवा हुँदै कम्पनीको हेड अफिस पुगे । उनी अब मानव संसाधन अर्थात् एचआरसम्बन्धी काममा प्रवेश गरे । सन् २००८ देखि २००९ सम्म उनले एचआरमा काम गरे । लामो समयसम्म कर्मचारी व्यवस्थापन, संस्थागत प्रक्रिया र कार्यालय सञ्चालनसँग सम्बन्धित विषयमा काम गर्दा उनले व्यवसायको अर्को पक्ष बुझ्ने अवसर पाए ।
सन् २०१० देखि २०१४ मा उनी आईटी कोअर्डिनेटरको जिम्मेवारीमा पुगे । आईटीमा अध्ययन गरेको ज्ञान र पहिलेको कार्यअनुभवलाई जोडेर काम गर्ने अवसर उनले पाए । वर्षौंसम्म एउटै संस्थामा काम गरेर अनुभव, जिम्मेवारी र आफ्नो स्थान बनाइसकेका काम खोज्दै हिँड्दा उनले आफूलाई थप स्वअध्ययनमा केन्द्रित गरे । आफूले जानेका विषयलाई पुनः रिपिट गर्नेे, नयाँ कुरा सिक्ने र आफ्नो सीपलाई बजारको आवश्यकताअनुसार परिमार्जन गर्ने काम उनले जारी राखे । त्यो समय उनका लागि कठिन थियो, तर त्यही कठिन समयले उनलाई अर्को अवसरका लागि तयार पनि पारिरहेको थियो ।
युनिलिभरबाट नेस्लेसम्मको यात्रा सन् २०१५ मा रामले युनिलिभरमा काम शुरु गरे । उनले फिल्ड म्यानेजरका रुपमा जिम्मेवारी सम्हाले । यसपटक उनले नयाँ कम्पनी, नयाँ संरचना र नयाँ कार्यशैलीमा आफूलाई अनुकूल बनाए । सन् २०१५ देखि २०२५ सम्म उनले युनिलिभरमा निरन्तर काम गरे । दश वर्ष लामो यो यात्राले उनलाई बजार, बिक्री, ग्राहक, व्यवस्थापन र फिल्डस्तरको व्यावसायिक संरचनाबारे थप अनुभव दियो ।
१९९८ मा यूएई प्रवेश गर्दा ९०० दिरामको तलबबाट शुरु भएको उनको यात्रा आज व्यवस्थापन तहको जिम्मेवारीसम्म आइपुगेको छ । तर रामका लागि पद र तलब मात्र सफलताको मापदण्ड होइनन् । उनले आफ्नो यात्राबाट एउटा फरक निष्कर्ष निकालेका छन्– सीप र शिक्षा जीवनमा जुनसुकै समयमा नयाँ ढोका खोल्न सक्छन् । विदेशमा लामो समय बिताए पनि परिवारप्रतिको सम्बन्ध र जिम्मेवारी उनको जीवनको महत्वपूर्ण पक्ष बनेको छ ।
केही शब्द, जुन अझै बिर्सन सकेका छैनन् रामको जीवनमा धेरै सुखद उपलब्धि छन् । तर केही घटनाहरु यस्ता छन्, जसलाई सम्झँदा आज पनि उनको मन दुख्छ । उनका अनुसार त्यसमध्ये एउटा घटना सन् २०१५ को हो । त्यतिबेला उनी नयाँ जागिरको खोजीमा थिए । आईटी अध्ययन पूरा गरिसकेका र स्किल वर्कका लागि अन्तरवार्ता दिइरहेका थिए । त्यही क्रममा एक भारतीय नागरिकले गरेको प्रश्नले उनलाई गहिरो चोट पु¥यायो । उनले नेपाली नागरिकको क्षमतालाई लिएर आश्चर्य व्यक्त गर्दै नेपालीहरु यस क्षेत्रमा कसरी आए भन्ने आशयको प्रश्न गरेका थिए । नेपालीहरु आफ्नोमा गार्ड र घरायसी काममा मात्र देखेको उल्लेखसमेत गरेका थिए ।
रामका लागि त्यो टिप्पणी केवल एउटा व्यक्तिको प्रश्न थिएन । उनले त्यसलाई नेपालीको क्षमता र व्यावसायिक पहिचानप्रतिको पूर्वाग्रहका रुपमा अनुभव गरे । उनलाई त्यो घटना आज पनि पीडादायी लाग्छ । तर त्यही घटनाले उनलाई एउटा कुरा अझ बलियोसँग महसुस गरायो– नेपालीले आफूलाई सीप, शिक्षा र व्यावसायिक दक्षतामार्फत प्रमाणित गर्नुपर्छ ।
नेपाली समुदायमाझ राम रामको जीवनको अर्को महत्वपूर्ण पक्ष उनको सामाजिक सक्रियता हो । विदेशमा व्यक्तिगत सफलता हासिल गरेपछि धेरै मानिस आफ्नो परिवार र करिअरमा मात्र केन्द्रित हुन्छन् । तर रामले भने आफ्नो समय, स्रोत र अनुभवको केही हिस्सा नेपाली समुदायका लागि पनि खर्चिए । विदेशमा बसेर पनि नेपाली समुदायका लागि केही गर्नुपर्छ भन्ने सोंचले उनलाई विभिन्न सामाजिक संस्थासँग जोड्यो ।
उनको प्राथमिकतामा नेपाली समुदायलाई विभाजित गर्नु होइन, एकताबद्ध गर्नु रह्यो । समस्यामा परेका नेपालीलाई सहयोग गर्ने, अप्ठ्यारोमा परेकालाई उद्धार गर्ने, राहत उपलब्ध गराउने र आवश्यक पर्दा नीतिगत विषयमा समेत सहयोग गर्ने काममा उनले सक्रिय भूमिका खेले । यिनै कामले उनलाई व्यक्तिगत रुपमा आत्मसन्तुष्टि दिएको उनी बताउँछन् ।
सन् २००५ देखि सामाजिक नेतृत्व रामको सामाजिक यात्रालाई हेर्दा सन् २००५ एउटा महत्वपूर्ण वर्ष हो । उनी तामाङ समाज यूएई स्थापनाका संस्थापकहरुमध्ये एक हुन् । संस्थाको नेतृत्वमा समेत उनले जिम्मेवारी सम्हाले । तामाङ समाजको अध्यक्षका रुपमा दुई पटक काम गरिसकेका उनले त्यसपछि नेपाली समाजमा पनि विभिन्न पदाधिकारीका रुपमा काम गरे ।
यसरी उनको सामाजिक यात्रा कुनै एउटा संस्थामा सीमित रहेन । समुदायका विभिन्न तह र संरचनामा काम गर्ने क्रममा उनले विदेशमा रहेका नेपालीका समस्या नजिकबाट देखे । रोजगार, कानुनी समस्या, आर्थिक कठिनाइ, स्वास्थ्य समस्या, पारिवारिक संकट तथा मृत्युजस्ता संवेदनशील अवस्थामा नेपालीहरुलाई पर्ने कठिनाइ उनले प्रत्यक्ष अनुभव गरे । त्यसले उनको सामाजिक भूमिकालाई अझ जिम्मेवार बनाउँदै लग्यो । सन् २०२५ देखि उनी नेपाली समाज यूएईको अध्यक्षका रुपमा काम गरिरहेका छन् ।
दुःखमा परेका नेपालीका सहारा नेपाली समाज यूएईको नेतृत्वमा पुगेपछि पनि रामको प्राथमिकता औपचारिक पदमा सीमित छैन । लामो समयदेखि बिरामी रहेका नेपालीलाई सहयोग गर्नेदेखि उपचार तथा उद्धारमा सहजीकरण गर्ने, आर्थिक समस्यामा परेकालाई सम्भव सहयोग जुटाउने र विभिन्न कारणले अलपत्र परेकालाई घर फर्काउन पहल गर्ने काममा उनी सक्रिय छन् ।
विदेशमा सबैभन्दा कठिन अवस्था भनेको मृत्यु हुने नेपालीको शव नेपाल पठाउने विषय पनि हो । परिवार आर्थिक तथा अन्य कारणले अन्तिम संस्कार गर्न नसक्ने अवस्थामा समेत उनले सहयोग र समन्वय गर्ने गरेका छन् । चाहे कोभिडको बेला होस् वा नेपालको जाजरकोटको भूकम्प वा हालैको बाढी होस्, रामले विदेशस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुसँग मिलेर समाजको सेवामा योगदान पु¥याउँदै आएका छन् ।
कहिलेकाहीँ कुनै नेपाली ठगीमा पर्छन् । कहिलेकाहीँ रोजगारीको आशामा विदेश आएर अलपत्र पर्छन् । कसैको कागजातमा समस्या हुन्छ, कसैलाई आर्थिक समस्या पर्छ । यस्ता अवस्थामा सहयोगका लागि फोन आउने क्रम रामका लागि नयाँ होइन । दुःखमा परेका नेपालीको उद्धार, ठगीमा परेकाको सहारा र अलपत्र परेकालाई सहयोग गर्नु उनको दैनिकीजस्तै बनेको छ । उनका लागि सामाजिक सेवा केवल संस्थाको कार्यक्रम होइन, परदेशमा रहेका नेपालीबीचको मानवीय जिम्मेवारी पनि हो ।
सीप सिकेर आउन सुझाव आफ्नो लामो वैदेशिक जीवनलाई फर्केर हेर्दा रामले नेपाली युवाका लागि एउटा महत्वपूर्ण सन्देश दिएका छन् । उनको विचारमा विदेशमा अवसरको कमी छैन । तर अवसर समात्न आवश्यक तयारी भने नेपालमै गर्नुपर्छ । ‘हामीसँग नभएको हाम्रो सीप हो, थ्योरी हो । यी दुई कुरा सुधार गरेर विदेश आयौं भने हामी धेरै अगाडि जान सक्छौं’, उनी भन्छन् । उनका लागि यो भनाइ केवल अनुभवबाट आएको सामान्य सुझाव होइन । आफ्नै जीवनको यात्राले प्रमाणित गरेको निष्कर्ष हो ।
विदेश आउने नेपालीलाई सम्भव भएसम्म सीप र प्रमाणपत्र लिएर आउन आग्रह गर्छन् । दुवै सम्भव नभए कम्तीमा कुनै एउटा उपयोगी सीप सिकेर आउन उनको सुझाव छ । उनका अनुसार सीप र प्रमाणपत्र भएको व्यक्तिका लागि अवसरको दायरा फराकिलो हुन्छ । नेपाली युवाले सीप हासिल गर्नुपर्छ भन्ने उनको धारणा व्यक्तिको प्रयासमा मात्र सीमित छैन । त्यसका लागि राज्यको भूमिका पनि महत्वपूर्ण रहेको उनी मान्छन् । युवालाई विदेश जानुअघि आवश्यक सीप, भाषा, कामको प्रकृति, कानुनी प्रक्रिया, तलब, सुविधा र सम्भावित जोखिमबारे जानकारी दिने व्यवस्था बलियो बनाउन आवश्यक छ ।
विदेश जानु भनेको केवल टिकट काटेर अर्को देश पुग्नु होइन । कुन देशमा कुन प्रकारको रोजगारी उपलब्ध छ ? आफ्नो योग्यता र सीपसँग कुन काम मेल खान्छ ? तलब तथा सुविधा कस्तो छ ? कम्पनीको अवस्था कस्तो छ ? कानुनी प्रक्रिया के हो ? कामका लागि आवश्यक कागजात के–के हुन् ? विदेश पुगेपछि आफ्नो अधिकार र जिम्मेवारी के हुन् ? यी प्रश्नको उत्तर खोजेर मात्र विदेश आउनुपर्ने उनको सुझाव छ । उनले बुझेका छन्– विदेशमा सफल हुन केवल भाग्य पर्याप्त हुँदैन । शिक्षा, सीप, मेहनत, अनुशासन र सही निर्णय आवश्यक हुन्छ ।
कहिलेकाहीँ एक सेकेन्डले नै जीवन र मृत्युबीचको दूरी तय गर्ने रहेछ । एक होइन, आधा सेकेन्ड पनि जीवनमा कति महत्व हुनेरहेछ भन्ने कुरा यिनी बा आमाको भोगाइबाट सिक्न सकिन्छ । गत भदौ १० मा रसुवामा आएको बाढीबाट बाँचेर नयाँ जीवन पाएका बेत्रावतीका डंगोल दम्पतीले सायद जीवनको वास्तविक मूल्य सबैभन्दा गहिरोसँग अनुभूति गरेका होलान् । त्यस दिन बाढी आउनु आधा घण्टा अघिदेखि नै बेत्रावती बजारका टोल–टोलमा प्रहरीले माइकिङ गर्दै थियो, ‘टिमुरेबाट ठूलो बाढी आउँदैछ । सबै सुरक्षित स्थानमा जानुहोस् । बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थानमा लैजानुहोस् ।’
बाढी आउँदैछ भन्ने सूचना पाए पनि त्यो बाढी यति भयानक होला भनेर बेत्रावतीका ७३ र ७० वर्षीय डंगोल दम्पतीले कल्पनासम्म गरेका थिएनन् । उनले मात्र होइन, त्यहाँका अधिकांश स्थानीयवासीले पनि यस्तो विनाशकारी बाढीको कल्पना गरेका थिएनन् । तर, केही समयमै आएको त्यो ‘हिमसुनामी’ले बेत्रावती बजारलाई सर्लक्कै बगाएर लग्यो । आँखै अगाडि घर, पसल, सम्पत्ति र वर्षौंको मेहनत बाढीको भेलमा हराउँदै गएको त्यो दृश्य सम्झँदा आज पनि उहाँहरुको शरीर सिरिङ्ग हुन्छ ।
त्यो दिन बाढीको सूचना त आएको थियो, तर त्यसको भयावहता कसैले अनुमान गर्न सकेन । यस्तो अवस्थामा जीवन बचाउनु नै सबैभन्दा ठूलो कुरा रहेछ भन्ने पाठ बेत्रावतीलाई त्यो बाढीले सिकायो । वर्षाको बेला कहिलेकाहीँ खोला बढ्छ भन्ने उनलाई लागेको थियो । स्थानीयवासीले पनि प्रहरीले गरेको माइकिङलाई सामान्य रुपमा लिए । कतिपय युवापुस्ता त बाढी आएको हेर्न भन्दै खोलातिरै लाग्दै थिए । बिहानको चिया खाएपछि छोरा योगेश र नाति सक्षम मर्निङवाकतिर कता लागे, उनलाई थाहै भएन । ‘आमा (श्रीमती) र म घरमै थियौं । आमा खाना पकाउने तयारी गर्दै थिइन् । म भने घर बाहिर बरण्डामा बसेर खोलातिर टोलाइरहेको थिएँ’, उनी त्यो बिहानको दिनचर्या सम्झँदै थिए–
‘तरकारी के पकाऊँ ? मासु बनाऊँ है ?’ भन्दै आमा पनि बरण्डामा निस्किइन् । मैले ‘खोला आउँछ भन्दैछन्, के मासु पकाउनु ? बरु छिट्टै गरेर निस्किऔं’ भनें । त्यतिबेला उनीहरुलाई थाहा थिएन केही क्षणमै आफूले वर्षौंदेखि देख्दै आएको त्यो खोला आफ्नो घर, आँगन र सिंगो बेत्रावती बजार नै निल्ने गरी उर्लिएर आउँदैछ भन्ने । नयाँ जीवन पाएर धन्य भएको महसुस गर्दै उनी आफ्नो भोगाइ सुनाउँदै थिए– ‘आमासँग गन्थन गर्दागर्दै माथिबाट खोला मडारिएर कालो मुस्लोसहित आएको देखें । त्यसपछि आत्तिएर ‘छिट्टो बाहिर निस्क’ भन्दै तल झरिहालें । म तल पुगिसक्दा आमा आइपुगेकै थिइनन् । ‘छिट्टो आऊ’ भन्दै चिच्याउँदै म भागेर सडकको पर पुगेछु ।’
आमा छिट्टो हिँड्न सक्दिनन् । मिर्गौला प्रत्यारोपण गरेकी बिरामी भएकाले अलिकति छिटो हिँड्दा पनि उनलाई गाह्रो हुन्छ । सडकको अलि पर पुग्दा पनि आमालाई नदेखेपछि फेरि लिन फर्किएँ । हत्तपत्त घिसारिँदै भाग्दै गर्दा खै, कसैले तानेर माथि डाँडातिर पु¥याएछ । त्यतिबेला कसले तानेर माथि निकाल्यो भन्ने पनि सम्झन सकिनँ ।
‘आमाको खुट्टामा अलिकतिले मात्र लेदोले भेटेन । हामी सडकको उकालोतिर भागिरहेका थियौं, हाम्रो पछिपछि बाढी आइरहेको थियो । अहिले सम्झँदा पनि डरले जिउ काँप्छ, कहाली लाग्छ । भाग्यले बाँचिएछ भन्ने लाग्छ ।’ बेत्रावती बजारको नजिकै फलाखु खोला छ । अर्को बाढी आएको चाहिँ त्रिशुली खोला भने बजार र मेरो घरबाट पैदल करिब १० मिनेटभन्दा पर छ । त्यो टाढाको खोलाबाट बाढी आएको थियो । त्यति परबाट खोला उर्लेर आउला र सिंगो बजार नै बगाउला भन्ने त मैले सपनामा पनि सोंचेको थिइनँ ।
भोटेकोशीमा आएको बाढी
रसुवा, १० भदौः
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस
वर्षौंदेखि आफूले बस्दै आएको सिंगो बजारलाई त्यो भेलले तहसनहस पारिदियो । थुप्रै आफन्तलाई समेत बगाएर लग्यो । भूकम्पले घर भत्किएपछि छोराले बलियो जग हालेर नयाँ घर बनाएको थियो । बेत्रावती बजारको बीचमा रहेको मेरो घरको चारैतिर घडी राखेर छोराले घण्टाघर बनाएको थियो । त्यसैले बजारमा हाम्रो घरलाई सबैले ‘घण्टाघर’ भनेर चिन्थे ।
त्यो क्षण सम्झँदा पनि मलाई गाह्रो हुन्छ । बाढीको त्यो डरलाग्दो आवाज, धुलोले छ्याप्पै छोपेर मडारिँदै आएको त्यो पहिरोजस्तो भेल, त्यसले के–कति सोरेर लग्यो, हामीले अनुमान गरेको भन्दा पनि बाहिर होला । विपद् यस्तो हुँदो रहेछ कि आँखै अगाडि मान्छे बगिरहेको देख्दा पनि केही गर्न नसकिने रहेछ । हेर्दाहेर्दै राम मन्दिरबाट दर्शन गरेर फर्किरहेका तीन\चार जना महिलालाई बाढीले झ्याप्पै पा¥यो । हामी कति चिच्यायौं, करायौं, तर केही लागेन । बाढीको आवाज यति डरलाग्दो थियो कि मान्छेको चिच्याहटसमेत सुनिँदैनथ्यो ।
जसोतसो आफ्नो ज्यान त जोगिएको थियो । तर चारैतिर रुवाबासी र कोलाहल थियो । ‘मेरो फलानो बगायो…, मेरो श्रीमती बगायो…, मेरो आमा छैन…, मेरो बच्चा खोइ ?…’ यस्तै आवाजहरु चारैतिरबाट आइरहेका थिए । केहीबेर अघिसम्म आफ्नै घर आँगनमा रहेका मानिसहरु कहाँ पुगे, को बाँचे, को बगे कसैलाई केही थाहा थिएन । केही समयदेखि अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका डंगोल दम्पती लामो समयदेखि नेपाल जान पाएका थिएनन् । श्रीमती (गुप्ता माया) मिर्गौला प्रत्यारोपण गरेकी बिरामी भएकाले चिकित्सकको सल्लाहअनुसार लामो यात्रा गर्न मिल्दैनथ्यो । त्यसैले लामो समयदेखि नेपालमा रहेका आफन्त र परिवारका सदस्यहरुलाई भेट्नसमेत उनीहरुले पाएका थिएनन् ।
यसपटक भने चिकित्सकले यात्रा गर्न मिल्ने बताएपछि डंगोल दम्पती छोरा र नातिसँगै नेपाल आएका थिए । नुवाकोट बेत्रावतीकै बासिन्दा भएकाले केही दिन काठमाडौंमा आराम गरेपछि उनीहरु बेत्रावती बजारमा रहेको आफ्नै घरमा समय बिताउने योजनामा थिए । बेत्रावती बजारको रमझम, विभिन्न जात्रा, रमिता र भेटघाटका लागि आउने आफन्तहरुको ओहोरदोहोरले उनीहरुको दिनचर्या रमाइलोसँग बितिरहेको थियो । लामो समयपछि आफ्नै जन्मथलोमा फर्केर परिवार र आफन्तसँग समय बिताउन पाउँदा गद्गद् थिए । तर त्यो खुसी धेरै दिन टिकेन । विनाशकारी बाढीले केही क्षणमै उनीहरुको जीवनको सबैभन्दा ठूलो खुसीलाई अकल्पनीय पीडामा बदलिदियो ।
‘अहिले सबैभन्दा अपसोच हामीलाई नै छ । हामीले हाम्रो सम्पूर्ण घर, जग्गा जमिन, परिवारका सदस्य र आफन्तहरु गुमायौं । बेत्रावतीका ५७ जना डंगोल परिवारका सदस्य गुमायौं । सबैथोकले भरिपूर्ण भएको मान्छे पनि छिनभरमै रित्तिने रहेछ । बाढीपछि कहाँ बस्नु, के गर्नु ? मान्छेले आफू बसिरहेको घर नै गुमाइसकेपछि ऊसँग बाँकी केही नरहने रहेछ । निमेशभरमै आफूसँग केही बाँकी थिएन । ‘आपत परेपछि दिमागले काम नगर्ने रहेछ । हामी त बेहोसीजस्तै भएका थियौं । छोरा र नाति कहाँ होलान्, के भयो होला, केही सोच्नै सकेनौं । बाँचेका होलान् भन्ने त एक मनमा पनि आएन ।’
हामी माथि डाँडामा पुगेपछि छोरा र नातिलाई फोन गरें । दुवैको फोन उठेन । ‘त्यसपछि त झन् धेरै डर लाग्यो’, उनी भन्छिन्, ‘अनेकथरी कुरा खेल्न थाले आफ्नो ज्यान त जोगियो, तर छोरा र नातिको के भयो भन्ने थाहा नहुँदा त्यो समय झन् असह्य भयो ।’ केही समयपछि छोराले फोन गरेर हामी ठीक छौं भनेपछि बल्ल सास आयो ।’ आफू कसरी जोगिने भन्ने चिन्ता गर्नुपर्ने अवस्थामा पनि कतिपय मानिस आफ्ना बहुमूल्य सामान र पैसा निकाल्न घरभित्र पस्दा बेपत्ता भए । त्यसमाथि घटना यति छिटो भयो कि मानिसहरुले सोंच्ने, निर्णय गर्ने र सुरक्षित स्थानमा पुग्ने समय नै पाएनन् ‘मेरी साहिँली बहिनी पनि पैसा र गरगहना झिक्न जाँदा बेपत्ता भइन्’, आमा सुनाउँछिन्– ‘बाढीले घर मात्र बगाएन वर्षौंको मेहनत, परिवारका सम्झना, आफन्तको साथ र आफ्नै थातथलोको एउटा पूरा संसार नै बगाएर लग्यो ।’
१७ असोज, काठमाडौं । हिमालमा वातावरणीय असरका कारण निम्तिएको रसुवाको भोटेकोशी नदीको विपत्तिले नेपाल नै स्तब्ध छ । औद्योगिक देशका कारण निम्तिएको समस्याको रुपमा हिमाली देश नेपाललाई अन्यायपूर्ण असर गरेको छ । नेपालको विपत्तिपछि यो विषयमा संसारभर बहस पैरवी भइरहेको छ । नेपालको उत्तरी सिमानामा अवस्थित रसुवा जिल्लाको लाङटाङ लिरुङ आसपासको उच्च हिमाली भुगोलमा भदौ दोस्रो साता विनाशकारी बज्रपात कुनै सामान्य मौसमी फेरबदल थिएन । यो औद्योगिक देशका कारण निम्ताइएको प्रलय नै हो ।
उच्च हिमाली भेगमा वायुमण्डलीय तापक्रममा आएको अप्रत्याशित वृद्धिका कारण विशाल हिम चट्टानी पहिरो खसेर लेन्दे र रसुवाको भोटेकोशी नदीको बहावमा एक्कासी प्रतिघन्टा झण्डै २ सय किलोमिटरको गति पैदा भयो । त्यसपछि नदी आसपासका हजारौं नागरिकलाई बाढीले बगायो । भौतिक क्षतिको त कुरा भनिसाध्य नै छैन । हजारौं मानिसले ज्यान गुमाएका छन् ।
नेपाल सरकारको आधिकारिक तथ्याङ्कअनुसार अहिलेसम्म विपत्तिमा परेर १ हजार ३ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने हजारौं स्थानीय बासिन्दा बेपत्ता भएका छन् । अर्बौं रुपैयाँ लागतका जलविद्युत् आयोजना, पक्की पुल, राजमार्ग, बस्ती र खेतीयोग्य जमिन छिनभरमै बालुवा र लेदोमा परिणत भए ।
वैज्ञानिक अध्ययनहरुले के देखाएको छ भने, रसुवामा फुटेको यो पहरा र बहुलाएको यो नदीको कारक स्थानीय स्तरमा पानी पर्नु वा पहिरो जानु मात्र होइन । यो त विगत दुई सय वर्षदेखि विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुले आफ्नै विकास र समृद्धिका लागि गरेको अनियन्त्रित वातावरण दोहन, कार्बन उत्सर्जन र त्यसका कारण बढेको विश्वव्यापी तापक्रमको सबैभन्दा ठूलो असर हो । नेपाल जस्तो नगण्य प्रदूषण गर्ने सानो हिमाली देशले अरुले गरेको कामको क्रूर र अन्यायपूर्ण मूल्य चुकाउनुपर्छ भन्ने कुराको प्रत्यक्ष प्रमाण अहिलेको विनाश हो ।
बाढीले बगरमा परिणत गरेको रसुवाको स्याफ्रुबेसी बजार क्षेत्र स्याफ्रुबेसी (रसुवा), भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेसी बजार क्षेत्र। तस्बिरः घनश्याम श्रेष्ठ/रासस
ओजोन तहको विनाशले बजायो खतराको घन्टी दुई शताब्दीदेखिको औद्योगिक उन्माद र ओजोन तहको विनाशले पृथ्वीको वातावरणलाई दीर्घकालीन असर गरिरहेको छ । सन् १७५० को आसपासमा यूरोप र अमेरिकाबाट शुरु भएको औद्योगिक क्रान्तिले विश्व अर्थतन्त्रलाई आधुनिकतातर्फ डो¥यायो । तर, यो समृद्धिको जग कोइला, खनिज तेल, डिजेल, पेट्रोल र प्राकृतिक ग्याँस जस्ता इन्धनको अत्यधिक र अन्धाधुन्ध दोहनमा उभिएको थियो ।
विगत दुई सय वर्षदेखि विकसित देशहरुले आफ्ना कलकारखाना, तापीय विद्युत् गृह, यातायातका साधन र ठूला उद्योगहरु सञ्चालन गर्ने क्रममा वायुमण्डलमा खर्बौं टन हरितगृह ग्यासहरु (विशेषगरी कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड) छाडे । यसले पृथ्वीलाई प्राकृतिक रुपमा सुरक्षा दिने ओजोन तहमा क्षयीकरण र प्वाल पार्ने काम मात्र गरेन, समग्र पृथ्वीको वायुमण्डललाई एउटा विशाल हरितगृह ग्याँसमा परिणत गरिदियो ।
वायुमण्डलमा थुप्रिएका यी ग्याँसहरुले सूर्यको तापक्रमलाई बाहिर फर्किन नदिई भित्रै सोसेर राख्न थाले, जसका कारण पृथ्वीको औसत तापक्रम निरन्तर बढ्न थाल्यो । आज विश्वभर देखिइरहेका अप्रत्याशित खडेरी, अतिवृष्टि, भीषण डढेलो र हिमाली क्षेत्रमा हिमनदी पग्लेर आउने बाढी दुई शताब्दी लामो औद्योगिक उन्मादको प्रत्यक्ष उपज हो ।
कुन देशको भूमिका कति ? विश्वव्यापी कार्बन उत्सर्जनमा विश्वका केही ठूला र शक्तिशाली अर्थतन्त्र भएका देशहरुले उत्सर्जन गर्ने कार्बनको मात्रा र बाँकी सिङ्गो संसारको तुलनामा तीन वटा देशको नाम अगाडि आउँछ । उत्तरी छिमेकी चीन, संयुक्त राज्य अमेरिका, भारत, युरोपेली युनियनका देशहरु र रुस नै विश्वव्यापी रुपमा हुने कुल कार्बन उत्सर्जनका प्रमुख जिम्मेवार हुन् । चीनले विश्वको लगभग एक तिहाई कार्बन एक्लै उत्सर्जन गर्छ भने अमेरिका दोस्रो स्थानमा छ । भारत तेस्रो ठूलो उत्सर्जक देश बनेको छ ।
यसको तुलनामा नेपाल जस्तो भूपरिवेष्ठित हिमाली देशको उत्सर्जन भने नगण्य छ । विश्वव्यापी तापक्रम वृद्धिका लागि कुन देशका नागरिक कति जिम्मेवार छन् भन्ने कुरा केवल देशको कुल उत्सर्जनले मात्र देखाउँदैन । यसको वास्तविक ऐना प्रतिव्यक्ति कार्बन उत्सर्जनको आँकडा हो । अमेरिका, कतार, अष्ट्रेलिया वा क्यानाडाजस्ता अति विकसित र उपभोगवादी देशका एक नागरिकले वर्षभरिमा गर्ने औसत उत्सर्जनको तुलनामा नेपालका नागरिकले गर्ने उत्सर्जन ज्यादै न्यून छ ।
एक औसत अमेरिकी नागरिकले वर्षमा जति कार्बन डाइअक्साइड वायुमण्डलमा छाड्छन्, त्यति उत्सर्जन गर्नका लागि २७ जना नेपाली नागरिक लाग्छ । विडम्बना के छ भने, जलवायु परिवर्तनका कारण निम्तिने विपद् र जोखिमका हिसाबले नेपाल विश्वकै सबैभन्दा बढी संकटापन्न देशहरुको अग्रपंक्तिमा पर्छ ।
नेपालको हिमालय क्षेत्रमा भारतीय कालो धुवाँको असर हिमाल पगाल्ने अदृश्य आगोको रुपमा कालो धुवाँलाई लिने गरिन्छ । नेपालको हिमालय रेन्जमा त्यहीँ कालो धुवाँले हिमाल पगाल्ने आगोको काम गरिरहेको वैज्ञानिकहरुले बताएका छन् । यो क्षेत्रमा लामो समयदेखि कार्यरत वैज्ञानिकहरु, जलवायु अध्ययन संस्थानहरु र वातावरणविद्हरुका अनुसार नेपालका हिमालहरु पग्लिनु र रसुवामा जस्तै भीषण लेदो बाढी आउनुमा केवल विश्वव्यापी कार्बन उत्सर्जन मात्र जिम्मेवार छैन ।
यसमा हाम्रो दक्षिणी छिमेकी देश भारत र समग्र गंगाको मैदानबाट उडेर आउने ‘कालो धुवाँका कण’को ठूलो र प्रत्यक्ष भूमिका छ । इन्धन, दाउरा, पराल र पटाका पूर्णरुपमा नजल्दा निस्कने कालो धुवाँलाई ‘ब्ल्याक कार्बन’ भनिन्छ । यी कालो धुवाँका सूक्ष्म कणहरु वायुमण्डलमा तैरिएर हावासँगै उत्तरतर्फ बहन्छन् र उच्च हिमाली क्षेत्रका सेता हिमनदी र हिउँमा गएर जम्मा हुन्छन् ।
सामान्यतया, सेतो हिउँले सूर्यको किरणलाई करिब ८० देखि ९० प्रतिशतसम्म परावर्तन गरेर हावापानीलाई चिसो राखिराख्छ । तर जब हिउँमा कालो धुवाँका कणहरु थुप्रिन्छन्, हिउँको रङ्ग धमिलो वा कालो बन्छ । यसले सूर्यको तापक्रम परावर्तन गर्नुको सट्टा आफैं सोस्न थाल्छ । नतिजास्वरुप, हिउँ र वरपरको वायुमण्डल द्रुत गतिमा तात्छ, जसले गर्दा हिमनदीहरु सोंचेभन्दा कयौं गुणा तीव्र गतिमा पग्लेर हिमतालहरु फुट्ने र ठूला चट्टानी पहिरो खस्ने गर्छन् ।
भारतसहित दक्षिण एसियाली क्षेत्रबाट ब्ल्याक कार्बन उत्सर्जन हुने मुख्य स्रोतहरु विभिन्न प्रकारका रहेका छन् । भारत र सीमावर्ती क्षेत्रमा तिहार तथा दीपावलीका बेला एकैपटक पड्काइने करोडांै पटाका र पटाकाबाट निस्कने विषाक्त कालो धुवाँ र रसायनहरु सोझै वायुमण्डलमा फैलिन्छन् । भारतका पञ्जाब, हरियाणा, उत्तर प्रदेश र बिहारका किसानहरुले हिउँदे बाली लगाउनुअघि धान र गहुँको बाँकी पराल खेतमै जलाउने गर्छन् । यसबाट निस्कने विशाल कालो धुवाँको बादल मनसुनी र पश्चिमी वायुसँगै सोझै हिमालय क्षेत्रमा पुग्छ ।
भारतमा हाल ३० करोडभन्दा बढी सवारीसाधनहरु सञ्चालनमा छन् । यीमध्ये पुराना र डिजेलबाट चल्ने गाडीहरुबाट निस्कने कालो धुवाँ ब्ल्याक कार्बनको ठूलो स्रोत हो । त्यस्तै, राजस्थानको थार मरुभूमिबाट उड्ने धुलिया कणहरु र औद्योगिक करिडोरहरुबाट निस्कने धुवाँ हिमाली टाकुराहरुमा पुगेर हिउँमा बाक्लो लेयरका रुपमा जम्मा हुन्छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको निरन्तर आवाज, सुन्न कोही तयार छैन
संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तीन दशकदेखि निरन्तर जलवायु परिवर्तनले नेपाललाई पारेको असरका विषयमा आवाज उठाउँदै आएको छ । वर्तमान प्रधानमन्त्री बालेन शाहले पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपाललाई परिरहेको असरका विषयमा प्रष्ट कुरा राखेका छन् ।
यसअघिका प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसंघ महासभामा यस विषयमा गम्भीरताका साथ आवाज उठाएका छन् । तत्कालीन प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा नेपाल आएका राष्ट्रसंघ महासचिव एन्टिनियो गुट्रेसले महासभामै नेपाल पुगेर आफूले दिएको चेतावनीका बारेमा स्मरण गराएका छन् ।
नेपालले आफूले नगरेको अपराधको सजाय पाइरहेको यो विषय आज मात्र उठाएको होइन । विगत तीन दशकदेखि नेपालले संयुक्त राष्ट्रसंघ र विभिन्न अन्तर्राष्ट्रिय जलवायु सम्मेलनहरुमा आफ्नो आवाज निरन्तर उठाउँदै आएको छ । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ढाँचा महासन्धिसँगै नेपालले ‘प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्छ’ र ‘साझा तर भिन्न उत्तरदायित्व’को सिद्धान्तलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो अधिकार मागेको थियो ।
सन् २००८ मा क्योटो सम्झौता लागू भएपछि नेपालले अति कम विकसित देशहरुको समूहमा रहेर धनी देशहरुले अनिवार्य रुपमा कार्बन उत्सर्जन घटाउनुपर्ने र नेपाल जस्ता साना देशहरुलाई अनुकूलनका लागि आर्थिक सहयोग दिनुपर्ने अडान राखेको छ । सन् २०११ मा नेपालले अतिकम विकसित देशहरुको अध्यक्षको रुपमा जलवायु वित्तमा हिमाली देशहरुको पहुँच सोझै र बिनासर्त हुनुपर्ने मागको नेतृत्व ग¥यो । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको ऐतिहासिक सम्झौतामा नेपालले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि बढ्न दिन नहुने र हिमाली पर्यावरणलाई विशेष संकटापन्न क्षेत्र घोषणा गरिनुपर्ने अडान राखेको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सन् २०२३ को अक्टोबरमा नेपालको अन्नपूर्ण आधार शिविर र सोलुखुम्बु क्षेत्रको भ्रमण गरेका थिए । भ्रमणका क्रममा हिमालको प्रत्यक्ष अवस्था देखेका गुटेर्रेसले अन्नपूर्णको काखबाटै विश्वलाई सम्बोधन गर्दै भनेका थिए– ‘विश्वको छत पग्लिरहेको छ, अब विश्वका धनी देशहरु जाग्नुपर्छ ।’
प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिवद्वारा महासभामा चेतावनी २०२६ सेप्टेम्बरमा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औैं महासभामा हालै रसुवामा आएको प्रलयकारी बाढी र त्यसले निम्त्याएको संकट बहसको केन्द्रीय विषय बन्यो । महासचिव एन्टोनियो गुटेर्रेसले महासभाको उद्घाटन सत्रमा बोल्दै तीन वर्षअघि नेपालका हिमालमा पुगेर दिएको चेतावनी स्मरण गरे । गुटेर्रेसले गम्भीर बन्दै भने, ‘मैले तीन वर्षअघि सगरमाथा र अन्नपूर्णको काखमा उभिएर विश्वको छत भत्किँदैछ भनेर चिच्याएको थिएँ ।
तर विश्वका ठूला र धनी शक्तिहरुले त्यस चेतावनीलाई बेवास्ता गरे । आज नेपालको रसुवामा भएको विनाश र सयौं निर्दोष मानिसको मृत्यु त्यसैको परिणति हो । प्रदूषण गर्ने औद्योगिक राष्ट्रहरुले आफ्नो प्रतिबद्धता र क्षतिपूर्ति पूरा नगर्दासम्म यो प्रलय रोकिने छैन ।’
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीको दर्दनाक चित्र विश्वसामु राखे । उनले कूटनीतिक औपचारिकताभन्दा माथि उठेर धनी देशहरुलाई सोझै प्रश्न गरे । प्रधानमन्त्री शाहले राष्ट्रसंघमा भने, ‘म यहाँ केवल विकास र लोकतन्त्रका कुरा गर्न आएको होइन, माटो र लेदोमुनि पुरिएका आफ्ना प्रियजनको शव खोजिरहेका हिमाली जनताको कारुणिक रोदन लिएर आएको हुँ ।’
जलवायु न्यायका लागि राहत, पुनस्र्थापना, पुनर्निर्माण, जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता हुनुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय शक्तिराष्ट्रहरुको दोहोरो चरित्रमाथि प्रधानमन्त्री शाहले प्रहार गरे । उनले भने, ‘विश्वका ठूला शक्तिहरुले युद्धका लागि ७२ घण्टाभित्र गोलाबारुद र क्षेप्यास्त्र संसारको जुनसुकै कुनामा पु¥याउन सक्छन्, तर जलवायु विपद्बाट घरबारविहीन भएका गरिब र निर्दोष मानिसका लागि क्षतिपूर्ति रकम वर्षौंसम्म कागजी प्रक्रियामा अल्झाइन्छ । यो अन्तर्राष्ट्रिय अन्याय हो ।’
नेपालले कुल भूभागको झण्डै ५० प्रतिशत बनजंगल जोगाएको, जलविद्युत् र विद्युतीय सवारीलाई तीव्रता दिएर कार्बन न्युट्रल बन्ने दिशामा काम गरिरहेको तर बदलामा विनाश मात्र भोग्नुपरेको उनले स्पष्ट पारे । प्रधानमन्त्री शाहले नेपाल, भारत र चीन मिलेर हिमाल जोगाउन र विपद् व्यवस्थापन गर्न एक साझा प्राविधिक तथा वित्तीय संयन्त्र बनाउनुपर्ने ठोस प्रस्ताव गरे ।
इसिमोडको प्रतिवेदन– हिमालय क्षेत्रमा प्रलय नजिक छ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मार्च २०२६ मा सार्वजनिक गरेको ‘हिन्दुकुश हिमालय हिमनदी परिदृश्य २०२६’ प्रतिवेदनले हिमाली क्षेत्रको भयावह अवस्था सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार हिउँ पग्लिने गति दुई गुणाले बढेको छ । सन् २००० यता हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदी पग्लेर हिउँ रित्तिने दर पहिलोको तुलनामा दुई गुणाले बढेको छ ।
हिमालय क्षेत्रमा १ देखि २ डिग्री सेल्सियस तापक्रम बढ्दा हुने सम्भावित महाविपत्तिको चित्र प्रतिवेदनले सार्वजनिक गरेको छ । १ डिग्री तापक्रम बढेमा हिन्दुकुश हिमालय क्षेत्रका ३३% देखि ५०% हिमनदीहरु यो शताब्दीको अन्त्यसम्ममा पूर्ण रुपमा लोप हुनेछन् । हिमतालहरु फुटेर लेदोसहितको बाढी आउनेछ, जसले पहाडी बस्ती र जलविद्युत् आयोजनाहरु ध्वस्त पार्नेछ ।
२ डिग्री सेल्सियस वृद्धि भएमा ५०% देखि ६०% भन्दा बढी हिमनदीहरु पग्लेर सदाका लागि समाप्त हुनेछन् । शुरुमा विनाशकारी बाढी आउनेछ भने पछि गंगा, सिन्धु र ब्रह्मपुत्र जस्ता ठूला नदीहरु सुक्नेछन् । दक्षिण एसियाका पौने दुई अर्ब मानिसहरु खानेपानी र कृषि संकटमा परी ’जलवायु शरणार्थी’ बन्न बाध्य हुने कुरा प्रतिवेदनमा छ ।
नेपालले अब के गर्ने त ? नेपालले धनी देशहरुसँग दया, भिख वा अनुदान माग्ने होइन । नेपालले आफ्ना अधिकारका रुपमा दुई प्रमुख कोषबाट क्षतिपूर्ति पाउन पहल गर्नुपर्छ । पहिलो अनुकूलन कोष र दोस्रो हानि तथा नोक्सानी कोषबाट क्षतिपूर्ति पाउनुपर्छ । अनकूलन कोषबाट जलवायु परिवर्तनका असरहरुसँग जुध्न, नदीहरुमा तटबन्ध निर्माण गर्न, पूर्वसूचना प्रणाली जडान गर्नका लागि नेपालजस्ता देशलाई तत्काल शतप्रतिशत अनुदानका रुपमा रकम हस्तान्तरण गरिनुपर्छ ।
रसुवामा जस्तै आएको प्राकृतिक विपत्ति, जहाँ पूर्वतयारी वा अनुकूलनका उपायहरुले काम गर्दैनन् र सोझै जीवन तथा पूर्वाधारको विनाश हुन्छ, त्यसको प्रत्यक्ष आर्थिक भर्पाइ हानि तथा नोक्सानी कोषमार्फत धनी राष्ट्रहरुले गर्नुपर्छ । नेपालले ऋण लिएर विपद्को पुनर्निर्माण गर्ने होइन, बरु विश्वका धनी र बढी उत्सर्जनकर्ता देशहरुबाट ऋणमुक्त सोझै अनुदान र क्षतिपूर्ति पाउन पहल गर्नुपर्नेमा विज्ञहरुको जोड छ ।
रसुवाको विनाशकारी बाढी कुनै सामान्य प्राकृतिक दुर्घटना मात्र होइन, यो विश्वका औद्योगिक देशहरुले गरेको वातावरणीय अपराधको परिणति हो । प्रदूषण अरुले गर्ने र त्यसको भयानक मूल्य नेपालका निर्दोष नागरिकले ज्यान दिएर चुकाउनुपर्ने यो व्यवस्था घोर अन्यायपूर्ण छ । यदि विश्वका धनी र औद्योगिक राष्ट्रहरुले तत्काल आफ्नो कार्बन उत्सर्जनमा कटौती गरेनन् र नेपालजस्ता हिमाली देशहरुलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएनन् भने हिमालबाट शुरु भएको यो विनाशको लपेटोले भोलि सिङ्गो पृथ्वी र तिनै धनी राष्ट्रहरुलाई पनि असर पर्नेछ ।
हिमाल भूगोलका हिसाबले नेपालमा धेरै छ । तर, यसको असर संसारका सबै देशमा पर्ने गरेको छ । हिमाल केवल नेपालको मात्र होइन, सिङ्गो मानव सभ्यताको पानीको स्रोत हो । हिमाल बाँचे मात्र पृथ्वी बाँच्नेछ । त्यसैले नेपाल सरकारले जलवायु परिवर्तनबाट परेका असरका विषयमा आफैंले पनि अन्तर्राष्ट्रिय फोरमहरु तयार गरेर बहस चलाउनु पर्छ ।
(वातावरणीय क्षेत्रमा क्रियाशील वैज्ञानिक तथा नेपाली विज्ञसँगको कुराकानी, इसिमोडलगायत विभिन्न संघसंस्थाका प्रतिवेदन, संयुक्त राष्ट्रसंघका निर्णय र विभिन्न अनुसन्धान रिपोर्टका आधारमा यो समाचार तयार गरिएको हो । –सम्पादक)
काठमाडौँ, १७ असोज । रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित सामुदायिक कुकुरलाई खाद्य सामग्री सहयोग गरिएको छ । विपद्का कारण बाटो अवरुद्ध भएपछि राहत तथा उद्धार सेवाबाट वञ्चित भएका रहेका कुकुरलाई नेपाल पशु कल्याण तथा वातावरण समाजले खाद्य सामग्री सहयोग गरेको हो । विपद्का कारण सडक र यातायात सम्पर्क विच्छेद हुँदा समस्यामा परेका कुुकुरलाई ‘टेम्पल डग रेस्क्यु’ को आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रमको हेलिकप्टरमार्फत रसुवाको स्याफ्रुबेँसी पुगेर खाद्य सामग्री सहयोग गरिएको हो ।
नेपाल पशु कल्याण तथा वातावरण समाजकी अध्यक्ष सुमेदा गौतमले विपद्का कारण भोकै बस्न बाध्य कुकुरका लागि स्यार्फुबेँशीसम्म पुगेर खाद्य सामग्री सहयोग गरिएको बताए । मानिसका लागि राहत पुगिरहेका बेला बोल्न नसक्ने निर्दोष जीवहरू भोकै नपरून् भन्ने उद्देश्यले पहल गरिएको उनको भनाइ थियो ।
“मानिसका लागि राहत पुगिरहँदा बोल्न नसक्ने यी निर्दोष जीवहरू भोकै नपरून् भन्ने हाम्रो प्रयास हो, उनीहरूका लागि केही खाना पुर्याउन सक्नु ठूलो सन्तोषको विषय हो”, अध्यक्ष गौतमले भने । नेपाल पशु कल्याण तथा वातावरण समाजका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले विपद्का बेला पशुहरू उत्तिकै पीडित हुने भएकाले उनीहरूको जीवन र कल्याणलाई राहत तथा उद्धारको प्राथमिकतामा समेटिनुपर्ने बताए ।
“विपद् व्यवस्थापन मानिस केन्द्रित मात्र हुनुहुँदैन, मानिससँगै पशुको जीवन र कल्याणलाई राहत व्यवस्थापनको अभिन्न हिस्सा बनाउनुपर्छ”, उनले भने । पशु कल्याण तथा वातावरणको क्षेत्रमा लामो समयदेखि सक्रिय अमि कट्टेलले विपद्का समयमा पशुहरूको अवस्था झनै संवेदनशील बन्ने भएकाले उद्धार तथा राहतका हरेक प्रयासमा उनीहरूलाई प्राथमिकताका साथ समेटिनुपर्ने बताए । उक्त समाजले स्यार्फुबेँसी क्षेत्रमा रहेका ६० भन्दा धेरै कुकुरलाई खाद्य सामग्री सहयोग गरेको छ ।
केही दिन भर्चुअल संसारलाई त्यागेर हेर्नुस्, सामाजिक सञ्जालबाट टाढा हुनुस्, फोन बन्द गर्नुस् त ! धेरै हैन १० दिनपछि फर्किनु र हेर्नुस् त ! पाँच दिनसम्म त कसैले हेक्का नै राख्दैनन् । आठौं दिन धेरै नै हिमचिम भएका र नजिककाले ‘कता गयो हँ !’ भनेर सोधखोज गर्न थाल्छन्– ‘ए ठिकै रहेछ’ भन्छन्, त्यत्ति हो । वास्तवमा हामी बाँचिरहेको दुनियाँ पनि एक किसिमले भर्चुअल दुनियाँ नै हो ।
के–के न गर्छु भन्ने, म नभए चल्दैन भन्ने सोंचले मान्छे भ्यागुतोले जस्तो छाती फुलाएर मै हुँ भन्ने, असीमित ज्ञानसागरको एक बुँद चाखेर आफूलाई सर्वज्ञ हुँ भन्ने सोंच छ भने केवल १० दिन गुप्तवास बस्नुस् त ! अरुको माया र अनुराग बिर्सेर आफ्नो चाहनालाई ठूलो ठान्ने शहरबाट विलुप्त भएर हेर्नुस् त ! तपाईंले मनमनै लिस्ट बनाएका मान्छेहरुमध्ये कतिले खोज्लान्, कतिले बिर्सेलान्, कतिले वास्ता गर्लान् ! तपाईंको सोचको ! प्रतिशत पनि सत्य स्थापना हुने छैन ।
वास्तवमा तपाईंको अनुपस्थितिमा समय रोकिएको हुँदैन, जीवन रोकिएको हुँदैन, कतै केही रोकिएको हुँदैन । तपाईंको अनुपस्थितिले कसैलाई असर गरेको हुँदैन, दुःख लाग्ने नाताले कठै भनेर बिर्सन्छन्, दुख्ने नाताले पनि समयसँगै बिर्सने कोसिस गर्छन्, पहिलेझैं आफ्नो धुरमा पृथ्वी घुमिरहन्छ । ‘म बिना या म भइन भने…’ भन्ने साेंचले यहीँ आत्महत्या गर्छ । हो, सम्झनेका आँखा केहीबेर रसाए होलान्, बिर्सनेका लागि बहाना भयो होला, चित्त दुखाएकाले बाडुल्कीमा सम्झे होलान्, चित्त कुँडाएकाले सरापेर केही लेखे भने होलान्, तर ! समय भने फेरि पनि चलिरहेकै हुन्छ ।
सबै अरुलाई आफ्नो रुप, बैंश, धन, बौद्धिकता, उपलब्धि, सीप देखाउन आतुर छन् । दानी, धर्मात्मा देखाएर सबै चर्चित र प्रशंसित हुन आतुर छन् । अरु केवल माध्यम हुन्, साधन हुन्, मनोरञ्जनको खेलौना मात्रै हुन्, कसैको अनुपस्थितिले केवल एक लाइक मात्रै घट्ने हो, एक जोर थपडी मात्रै नबज्ने हो । जिन्दगी पनि यस्तै हो, यही नै हो ।
तपाईं हामी केवल एक मैनबत्ती हौं, सलेदो र मैन छउन्जेल हामी बलिरहन्छौं, हाम्रो ताप र प्रकाश अरुले उपभोग गरिरहेका हुन्छन्, हामी सकिएपछि हाम्रो रिक्त स्थान परिपूर्ति गर्ने कोही अर्को भइसकेको हुन्छ, अर्को खोजिसकिएको हुन्छ, ठाउँ खाली जाँदैन । मान्छेको शरीरमा ऊर्जा छउन्जेल चारैतिर उज्यालो देखिन्छ र यो मलिन हुँदै गएपछि मान्छे आफैंमा समेटिन्छ । जंगलमा हराभरा रुखहरुका बीच डढेलोले खाएको एक्लो एक ठुन्को काठ जस्तै, वरिपरि हराभरा भए पनि आफंै भने सकिएको काम नलाग्ने !
बुद्धि परियार भन्थे, ‘सर, यो मेटालिक साउण्डमा आत्मा छैन, मन छुँदैन, अनुभूति उब्जाउँदैन ।’ हो, धातुका आवाज कर्कश हुन्छन्, काठ र छालाका मादलका आवाजमै आत्मा हुन्छ । भर्चुअल दुनियाँमा रमाउने साधन फाल्दा बिहान उठ्नेबित्तिकैको चराका मधुर गान मीठा सुनिनेछन्, खोलापारि वस्तु रम्घाएको आवाज पनि सुरमा लाग्नेछन्, वारि गोठालाले हकारेको तालमा लाग्नेछन्, बाख्राका म्याँम्याँ छन्दका लाग्नेछन्, भालेको डाँक छाँटका लाग्नेछन् । साँच्चै, धरातलीय सत्य जतिको मीठो रहँदैन भर्चुअल दुनियाँ ।
चाइनिजहरु भन्छन्, ‘आफंैलाई पनि केही समय देऊ ।’ साँच्चै आफैंलाई समय दिएर हेर्नु ! भागेको पलायन भएको या सक्किएको नठान्नु । भित्रका विकार फाल्नु र हेर्नु आफैंलाई उज्यालिएको अनुहारमा, त्यसैको प्रकाश बाहिर छताछुल्ल छरिनेछ । धेरैले देवकोटालाई पागल भने, सायद तपाईंलाई पनि भन्दा हुन्, मलाई पनि भन्दा हुन् । समझको लेक र ज्ञानको बेसी अनमेल हुनुको अर्थमा कसैलाई पागल संज्ञा दिनु या नदिनु आ–आफ्नो विचार हो, सत्य फेरि पनि अडिग रहन्छ ।
अरुको सोंच र समझभन्दा पृथक हुँदैमा सबै गलत हुँदैनन्, न त हाम्रो सोंच र समझ अनुकूल हुँदैमा सबै सही हुन्छ । सत्य यी दुवैको मध्य यतै कहीँ हुन्छ र यसलाई छाम्न नसक्दा नै मन दुख्छ । दुखेको पीडामा मान्छेले आफूले नहेरेर टेकेको कदमलाई दोष दिँदैन, टेकिन पुगेको निर्दोष काँडालाई नै दोष दिन्छ ।
यो सत्य हो, यही सत्य हो भनेर ठान्ने हाम्रो मस्तिष्कको सानो कुनाको उपज नै कति सत्य छ त्यो भन्न सकिन्न । हजारौं वर्ष अगाडिको हाम्रा पूर्खाको सत्य जे थियो त्यो अहिले असत्य भएको छ र त्यही पूर्खाको पालाको सत्य के थियो भनेर हामी खोजीनीति पनि गर्दैछौं । थोरै ज्ञान र जानकारीको आधारमै सत्य ठानेर होम्मिने र बहुलाउनेहरु पनि यहीँ छन् भने हरेक कुरालाई शंकाले हेरेर जीवन बिताउने पनि यहीँ छन् । सत्य पनि एक प्रकारले भर्चुअल नै छ ।
हेरिल्याउँदा जे सरल छ त्यो अति नै बाङ्गो छ, जे सत्य छ त्यो पूर्णतः नाङ्गो छ । हामी सरल र बाङ्गो, छोपिएको र नाङ्गोबीच कुन, के, कति सरल बाङ्गो छोपिएको या नाङ्गो छ भनेर छुट्याउने कोसिसमा आफैं भ्रमित छौं । हाम्रो सत्य र असत्य दुवै भर्चुअल छन्, हामी भर्चुअल छौं, यो संसार र जिन्दगी नै भर्चुअल छ । शून्यबाट उत्पत्ति र शून्यमै अन्त्यबीचको सारा कुरा भर्चुअल छ ।
काठमाडौँ, १७ असोजः नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा पार्टीको १५औँ महाधिवेशन हुँदैछ । कांग्रेसको १५औँ महाधिवेशन भोलि असोज १८ गते दिउँसो २ः०० बजे टुँडिखेल खुलामञ्चमा उद्घाटन हुँदैछ ।
त्यही टुँडिखेलमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले निरंकुश सत्ताको अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गरेका थिए । महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नुहुने भने उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको समेत सम्बोधन हुने बताइएको छ ।
महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन् र उनीहरूसहितले छानेका सात हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।” गत पुस २८ देखि माघ ३ गते सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि यो महाधिवेशन हुन लागेको उनले जानकारी दिए ।
कांग्रेसको यस महाधिवेशनबाट पैतिस वर्ष मुनिका युवाका साथ लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीसमेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउँदै छन् । ‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ यस महधिवेशनको मूल मन्त्र राखिएको छ । “छलफल सत्रमा नयाँ सङ्कल्पका विषयमा गहन छलफल हुनेछ र यसको कार्यान्वयनको खाका तयार गरिने छ”, प्रवक्ता चालिसेले भने, “यो महाधिवेशनले यी सङ्कल्पलाई कसले कार्यान्वयन गर्न सक्छ भनेर नेतृत्व चयन गर्नेछ । यो महाधिवेशनको सम्पूर्ण प्रयास कांग्रेसमा विधि र पद्धति निर्माण गर्नमा केन्द्रित हुनेछ ।”
नेपाली राजनीतिमा कांग्रेसले धेरै इतिहास रचेको र अब नयाँ इतिहास निर्माण गर्न चाहेको उल्लेख गर्दै उनले कांग्रेसले अब बिपी कोइरालालाई इतिहासबाट भविष्यसँग जोड्ने र यसका लागि देशको समृद्धिको वैचारिक आधार बिपी विचारलाई बनाइने जानकारी दिए । महाधिवेशनमा देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन काठमाडौँ आउनेक्रम जारी रहेको र झण्डै सात हजार ५०० महाधिवेशन प्रतिनिधि रहने पार्टी कार्यालयले जनाएको छ ।
आजैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको छ । महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताबापत रु तीन हजार ५०० बुझाउनुपर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एकरएक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको जनाएको छ ।
सहभागीले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको आवास व्यवस्थापन समितिले जनाएको छ । भोलि आइतबारको उद्घाटन कार्यक्रमपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री, र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्ने तालिका छ ।
प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउनु हुने प्रवक्ता चालिसे बताउनुभयो । निर्वाचन समितिले असोज १९ गते अपराह्न २ः०० बजेदेखि ६ः०० बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ । मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ । निर्वाचनको कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुनसक्ने निर्वाचन समितिले जनाएको छ ।
सहभागीहरूले प्रयोग गर्ने निजी कार तथा मोटरसाइकल पार्किङ गर्न भृकुटीमण्डप, राष्ट्रियसभागृह र पुरानो बसपार्क क्षेत्र निर्धारण गरिएको छ । ठूला बसका हकमा भने माइतीघरदेखि भद्रकाली खण्डको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको छ । कांग्रेसको १५औँ महाधिवेशनका सूचना अद्यावधिक गर्न महाधिवेशन स्थल खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरी मिडिया ब्रिफिङ हुने उनले जानकारी दिए ।
हिमाली संकट र जलवायुजन्य विपद्को स्वरुप हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र रुपमा देखिन थालेको छ । हिउँ र हिमनदीहरु पग्लने मात्र नभई पहाडका चट्टानहरु अस्थिर बनेर भत्किने क्रम बढेको छ । २६ अगस्ट २०२६ मा लाङटाङ लिरुङ हिमालको उत्तरी भागबाट विशाल चट्टान खस्दा हिमपहिरो आई भोटेकोशी नदी थुनियो र पछि आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥यायो । यसले नेपाल र तिब्बत दुवैतर्फ गम्भीर नोक्सानी गराएको छ ।
यो केवल प्राकृतिक विपद् वा दैवको लीला होइन । वैज्ञानिक अध्ययनहरुका अनुसार यो मानव सिर्जित संकट हो । ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ (आईपीसीसी) को २०२३ को प्रतिवेदनले जलवायु परिवर्तनमा देशहरुको असमान ऐतिहासिक योगदान र त्यसबाट पर्ने असमान प्रभावलाई स्पष्ट पारेको छ । औद्योगिक उत्सर्जन र तापक्रम वृद्धिका कारण पहाड र माटोलाई जोडेर राख्ने ‘पर्माफ्रस्ट’ (जमेको माटो र चट्टान) पग्लिँदै जाँदा चट्टान खस्ने, हिमपहिरो जाने र हिमताल फुट्ने जोखिम तीव्र भएको छ । डिजेल, कोइला र दाउरा अपूर्ण रुपमा जल्दा निस्कने ‘ब्ल्याक कार्बन’का साथै कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड जस्ता हरितगृह ग्यासहरु यसका मुख्य कारक हुन् ।
ऐतिहासिक जिम्मेवारी र ‘अन्यायपूर्ण समृद्धि’ विश्वव्यापी औद्योगिक उत्सर्जनमा विकसित र धनी राष्ट्रहरुको ठूलो योगदान छ । यसको विपरीत, नेपालको योगदान करिब ०.१ प्रतिशत मात्र छ । कम उत्सर्जन गर्ने तर ठूलो क्षति व्यहोर्न बाध्य नेपालजस्ता देशहरु जलवायु अन्यायबाट पीडित छन् । औद्योगिक देशहरु अरुको पीडाका बीच समृद्ध बनेका हुन्, जसलाई ‘अन्यायपूर्ण समृद्धि’ भन्न सकिन्छ ।
जलवायु महासन्धिका बहुपक्षीय वार्ताहरुमा विकसित देशहरु ऐतिहासिक उत्सर्जनको जिम्मेवारी लिन अनिच्छुक छन् । अमेरिका यसको विपक्षमा उभिँदै आएको छ भने युरोपेली संघ तुलनात्मक रुपमा सहयोगी देखिन्छ । अर्कोतर्फ, चीन र भारत नयाँ र ठूला उत्सर्जकका रुपमा अगाडि आएका छन् ।
क्योटो प्रोटोकल (१९९७)ले विकसित देशहरुलाई बाध्यकारी लक्ष्य तोके पनि अमेरिकाले त्यसलाई अनुमोदन गरेन भने विकासशील देशहरु दायरामा परेनन् । सन् २०१५ को पेरिस सम्झौताले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य लिए पनि राष्ट्रिय उत्सर्जन कटौतीका लक्ष्यहरु बाध्यकारी नहुनु र बलियो कानुनी दण्डको व्यवस्था नहुनु यसको मुख्य कमजोरी हो । अमेरिकामा सरकार परिवर्तनसँगै जलवायु सहायता र कोषबाट पछि हट्ने प्रवृत्तिले थप जटिलता थपेको छ ।
डा. कटक मल्ल
जलवायु न्याय : परोपकार होइन, अधिकार र दायित्व जलवायु न्याय सहायता वा परोपकारको विषय होइन; यो जिम्मेवारी, जवाफदेहिता र मानवीय मर्यादाको विषय हो । बारम्बार आउने विपद्पछि पुनःनिर्माणका लागि नेपालले आफ्ना सीमित विकास बजेट कटौती गर्ने वा ऋण लिने अवस्था अन्यायपूर्ण छ ।
सन् २०२३ को कोप–२८ मा स्थापना भएको ‘क्षति तथा नोक्सानी कोष’ (लस एण्ड ड्यामेज फण्ड)बाट नेपालले क्षतिपूर्ति दाबी गर्नु पूर्णरुपमा तर्कसङ्गत छ । नेपाल सरकारको आँकलनअनुसार अनुकूलनका लागि वार्षिक करिब २.१ अर्ब अमेरिकी डलर आवश्यक पर्छ, जबकि अन्तर्राष्ट्रिय कोषमा हालसम्म निकै कम रकम जम्मा भएको छ । त्यसैले नेपालले केवल एउटै कोषमा निर्भर नरही अनुदान, सहुलियतपूर्ण ऋण, बिमा र बहुपक्षीय विकास बैंकहरु सम्मिलित ‘बहुस्रोत वित्तीय रणनीति’ (मल्टि–सोर्स फाइनान्सिङ स्ट्राटेजी) अपनाउनु आवश्यक छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाउनुपर्ने प्रमुख ५ माग आर्थिक क्षतिपूर्तिले मात्रै हिमालय क्षेत्रको सुरक्षा हुन सक्दैन । नेपालले संयुक्त राष्ट्रसंघको महासभा, सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय न्यायालयमार्फत औद्योगिक राष्ट्रहरुलाई दायरामा ल्याउन निम्नलिखित पाँच सूत्रीय माग स्पष्ट रुपमा राख्नुपर्छ ः
१. उत्सर्जनमा तीव्र कटौती : धनी र औद्योगिक राष्ट्रहरुले १.५ डिग्री सेल्सियसको लक्ष्यअनुरुप हरितगृह ग्यास उत्सर्जनमा गहिरो र निरन्तर कटौतीको प्रतिबद्धता जनाउनुपर्ने । २. अनुकूलन वित्तको विस्तार : जोखिममा रहेका देशहरुका लागि अनुकूलन सहायता सहज, पर्याप्त र पूर्वानुमानयोग्य रुपमा उपलब्ध गराइनुपर्ने । ३. अनुदानमा आधारित क्षतिपूर्ति : क्षति तथा नोक्सानी व्यहोर्ने देशहरुलाई ऋण नभई अनुदानका रुपमा वित्तीय सहयोग दिनुपर्ने । ४. प्रविधि र वैज्ञानिक हस्तान्तरण : हिमाली क्षेत्रको हिममण्डलमा भइरहेको परिवर्तन अनुगमन गर्न आवश्यक आधुनिक प्रविधि र वैज्ञानिक ज्ञान हस्तान्तरण गरिनुपर्ने । ५. पूर्वसूचना प्रणाली : हिमाली जोखिमको पूर्वपहिचान र सम्बोधनका लागि अन्तर्राष्ट्रिय स्तरको समन्वित पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) स्थापना गरिनुपर्ने ।
विश्वव्यापी नेतृत्वका लागि नेपालको कदम नेपालले आफ्नो आन्तरिक प्रदूषण नियन्त्रण गर्ने दायित्व पूरा गर्दैगर्दा ऐतिहासिक उत्सर्जकहरुलाई उनीहरुको विश्वव्यापी जिम्मेवारी सम्झाउन पछि पर्नु हुँदैन । अफ्रिकी ‘लेक चाड बेसिन’ संकटका बेला ल्याइएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव २३४९ को नजिरलाई पछ्याउँदै नेपालले जलवायु परिवर्तनलाई वातावरणीय–सुरक्षा खतराका रुपमा मान्यता दिलाउन सुरक्षा परिषद्को बैठक माग गर्न सक्छ ।
नेपालले राष्ट्रिय रुपमा जलवायु क्षतिको आधिकारिक अभिलेखीकरण गरी कानुनी आधार तयार गर्नुपर्छ । भानुआटुको पहलमा अन्तर्राष्ट्रिय न्यायालयले अघि बढाएको उत्सर्जक राष्ट्रहरुको कानुनी दायित्वसम्बन्धी अवधारणालाई नेपालले संयुक्त राष्ट्रसंघमा थप सशक्त रुपमा उठाउनुपर्छ । आसन्न कोप–३१ जस्ता विश्वव्यापी मञ्चहरुमा नेपालले हिमाली क्षेत्र र जलवायु पीडितहरुको तर्फबाट कूटनीतिक र नैतिक नेतृत्व लिने साहस देखाउनु नै आजको आवश्यकता हो ।
१७ असोज, न्यूयोर्क । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरु २८औं दिनमा पनि निरन्तर जारी रहेको बताइएको छ ।
एनआरएनएका अनुसार, भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको तुप्चे र देवीघाटका ८० परिवारलाई खाद्यान्न, ग्यास, भाँडाकुँडा तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ । एनसीसी फिलिपिन्स र स्टिचिङ नेपाल फण्ड, नेदरल्यान्ड्सको सौजन्यमा बाढीपहिरो प्रभावित परिवारका लागि राहत सामग्री उपलब्ध गराइएको हो ।
प्रभावित परिवारको आवश्यकताका आधारमा ग्यास सिलिण्डर, भाँडाकुँडा, खाद्यान्न लगायतका सामग्री वितरणसमेत गरिएको छ । राहत कार्यक्रमअन्तर्गत प्रभावितहरुलाई ग्याँस सिलिन्डर, प्रेसर कुकर, चुल्हो, पाइप, रेगुलेटर, क्लीप, कराई, थाल, डाडु, पन्यू, गिलास, कचौरा, चम्चा, जग र बाल्टिन लगायतका घरायसी तथा भान्साका अत्यावश्यक सामग्रीहरु उपलब्ध गराइएको जनाएको छ ।
सामग्री वितरणमा संघका केन्द्रीय उपाध्यक्ष बुद्धिसागर सुवेदी, उपाध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोजक मनोज श्रेष्ठ, एनसीसी नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशी पौडेल, मध्यपूर्वका पूर्व उपसंयोजक धर्मराज गिरी र एनसीसी फिलिपिन्सका कोषाध्यक्ष प्रेम लामा लगायतको सहभागिता रहेको थियो ।
काजक्रिया सकेका २२ परिवार राहत वितरण भोटेकोशी नदीको बाढीबाट आफन्त गुमाई काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरी हाल कोठा भाडामा लिएर बसिरहेका प्रभावित परिवारलाई सहयोगस्वरुप ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्न लगायतका राहत सामग्री वितरण गरिएको छ । एनआरएनए सचिवालयबाट उतरगया तथा विदुरका गरी २२ प्रभावित परिवारलाई उक्त राहत सामग्री उपलब्ध गराइएको हो । बाढीबाट घर तथा आफन्त गुमाएका उनीहरु हाल काठमाडौं, नुवाकोट लगायतका स्थानमा कोठा भाडामा लिएर नयाँ बसोवासको तयारीमा रहेका छन् ।
६ करोड रुपैयाँ बढी संकलन यसैगरी, भोटेकोशी बाढी प्रभावितका लागि पूर्व प्रतिबद्धताअनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ । भोटेकोशी–रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ९ करोड १९ लाख ४५ हजार २ सय ७२ रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा हाल ६ करोड २ लाख ३१ हजार रुपैयाँ सहयोग संकलन भएको छ ।
काठमाडौँ, १७ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज अपराह्न वनस्थलीस्थित घन्टीघरमा हुँदैछ । पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनलगायत विषयमा छलफल हुने भएको छ ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेस प्रदेश सङ्गठनको ‘अडिट’ प्रतिवेदनमा पनि छलफल हुने जनाइएको छ ।
पर्वत, १७ असोज । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए । शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला पूर्ववत् रूपमा बगिरहेका थिए । राति १२ बजे स्थानीय सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै बढेर आएको सूचना पुगेपछि तत्काल महत्वपूर्ण कागजात लिएर चौकी छाड्न र सुरक्षित स्थानमा जान निर्देशन दिइयो । प्रहरीले चौकी छाडेर आसपासका स्थानीयलाई समेत बस्तीबाट सुरक्षित स्थानमा जान आग्रह गरेको केही समयमै कालीगण्डकी र सेतीखोलाको बाढी बजारमा पस्यो ।
बाढीले पर्वततर्फ नौ घर बगाएको र झण्डै ५० घर डुबानमा परेको स्थानीयले बताएका छन् । सँगै जोडिएको स्याङ्जाको गल्याङ नगरपालिका–५ को बजार क्षेत्रसमेत पूर्ण रूपमा डुबानमा परेको थियो । स्याङ्जातर्फका करिब २५ कच्ची तथा पक्की घर बाढीमा बगेका छन् । अहिले ती क्षेत्रमा बालुवा र गिटी थुप्रिएर बगरमा परिणत भएको स्थानीय रेशमलाल न्यौपानेले बताए । “असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ । कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ,” उनले भने ।
बाढीले प्रहरी चौकीसहित खाद्यान्न, विद्युतीय सामग्री, भाँडाकुँडा, फेन्सी पसल तथा होटलमा क्षति पुर्याएको छ । नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारीलगायत संस्थासमेत डुबानमा परेका छन् । न्यौपानेका अनुसार पर्वततर्फ मात्रै करिब रु १० करोडको क्षति भएको छ । गुल्मीको अर्बेनीबाट सेतीवेणीमा आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाले करिब रु ३० लाख बराबरको क्षति भएको बताए । स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यसरी ठूलो बाढी पसेको पहिलोपटक देखेको बताए ।
स्थानीय होटल व्यवसायी उमाकान्त न्यौपानेले घरसहित रु ४० लाखभन्दा बढीको क्षति भएको बताए । “अन्यत्र जाऊँ भने जग्गाजमिन छैन । यही जोखिम मोलेर बस्नुपर्ने बाध्यता छ । जीवनभरको कमाइ एकै रातमा बगरमा परिणत भयो,” उहाँले भन्नुभयो । उहाँ अहिले परिवारसहित स्थानीय विद्यालयमा आश्रय लिएर बबसेका छन् ।
स्थानीय अगुवा व्यवसायी रेशमलाल न्यौपानेले घर तथा विभिन्न व्यवसायमा भएको क्षतिसमेत जोड्दा पर्वततर्फ मात्रै करिब रु १० करोडको क्षति भएको जानकारी दिए । बाढी प्रभावितलाई बिहादी गाउँपालिकाले स्थानीय शालिग्राम माध्यमिक विद्यालयमा बस्ने र खाने व्यवस्था मिलाएर आश्रय दिएको छ ।
स्याङ्जातर्फको बजार क्षेत्र पनि बाढीपछि खण्डहरमा परिणत भएको छ । यहाँ सानाठूला गरी करिब २५ घरमा क्षति पुगेको छ । लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आउनुभएका खिमप्रसाद पौडेलले स्वदेशमै केही गरौँ भनेर गरेको लगानी बाढीले क्षणभरमै बगाएको बताए । उनका अनुसार करिब रु ५० लाखभन्दा बढीका सरसामान बाढीले बगाएको छ ।
गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ पनि करोडौँको क्षति भएको छ । भौतिक संरचनाबाहेक स्थानीयको रु १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको उनले बताए । बाढीले स्थानीय मन्दिर, सत्तल, शालिग्राम शिलासम्म जाने पैदलमार्गलगायत संरचनामा समेत क्षति पुर्याएको छ । बाढीपीडितलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको उनले बताए ।
वर्षौँदेखिको लगानी, मेहनत र परिश्रम बाढीले बगाएपछि स्थानीय रोजगारी र व्यवसायविहीन भएका छन् । अब अन्यत्र बसाइँ सर्ने वा सोही स्थानमा पुनः घर तथा व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा उनीहरू अन्योलमा छन् ।
स्थानीय शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालले बाढीले बजार क्षेत्र असुरक्षित बनाएपछि स्थानीय नयाँ ठाउँमा जाने वा जोखिम मोलेर पुनः सोही ठाउँमा बस्ने भन्ने विषयमा अन्योलमा रहेको बताए ।
भद्रपुर १७ असोज । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तरराष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ । निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार दैनिक सातदेखि ८०० मिटर कालोपत्र भइरहेको छ । “अझै चार महिना बाँकी छ । त्यसबेला सम्ममा ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ,” उनले भने ।
सडक निर्माणको तुलनामा पुलतर्फको प्रगति भने केही कम छ । आयोजना प्रमुख पन्तका अनुसार पुल निर्माणको समग्र प्रगति हाल ३१ प्रतिशत छ । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने ३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काईमा पनि निर्माण जारी छ । पश्चिम खण्डमा रतुवा, बक्राहा र लोहन्द्रामा पनि धमाधम पुल बनिरहेका छन् ।
आयोजनाअन्तर्गत अधिकांश साना कल्भर्टको काम सम्पन्न भइसकेको छ भने बाँकी सडक स्तरोन्नति, पुल तथा ओभरपास निर्माणलाई एकैसाथ अघि बढाइएको छ । पूर्वी खण्डमा चारआली चोक, बिर्तामोड र चारपानेमा मोटरेबल ओभरपास निर्माण गर्ने योजना छ । चारआलीको जङ्गल क्षेत्रमा हात्तीका लागि अन्डरपास तथा पैदलयात्रीका लागि छ वटा क्रसिङ निर्माण हुनेछन् । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक निर्माण तथा स्तरोन्नति जारी छ । पूर्वी खण्डअन्तर्गत ४५ किलोमिटर काँकरभिट्टा–सितापुरी स्तरोन्नतिका लागि रु १० अर्ब छ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता भएको छ ।
नवलपुर (नवलपरासी), १७ असोजः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको यात्रीवाहक बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितले राससलाई जानकारी दिए । घाइतेलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।
काठमाडौँ, १६ असोजः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौदेखि हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । सिंहदरबारस्थित कार्यालयमा आज आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले गत भदौदेखि यही असोज १६ गतेसम्म भएका कार्यप्रगतिका विवरण सार्वजनिक गरे ।
कार्यालयले सुरु गरेको नियमित साप्ताहिक प्रेस ब्रिफ्रिङ रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण स्थगित भएको र आजदेखि पुनःनियमित रूपमा सुरु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् । कार्यालयका प्रवक्ता अर्यालका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले यही असोज ६ गतेदेखि १० गतेसम्म संयुक्त राज्य अमेरिकामा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भइ यही असोज ९ गते सम्बोधन गरे । उक्त सम्बोधनका क्रममा उनले विशेषगरी हालै भोटेकोशीमा गएको विनासकारी बाढीले पुर्याएको क्षति र जलवायु सङ्कटलगायत विषयमा जोड दिए ।
त्यसैगरी, यही असोज ५ गते बसेको सचिवस्तरीय बैठकले दसैँ, तिहार, छठजस्ता चाडपर्व र सक्रिय मनसुनलाई ध्यानमा राखी सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवाहरू नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूले जनशक्ति, स्रोतसाधन, यन्त्र तथा उपकरण चुस्तदुरुस्त राख्नेगरी कार्यतालिकासहित आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । साथै चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी, मूल्यवृद्धि तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउनेलगायत निर्णय भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सबै सङ्घीय मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा गत भदौ ९ देखि ११ गतेसम्म आर्थिक वर्ष २०८२–८३ को वार्षिक कार्ययोजना कार्यान्वयनको प्रगति समीक्षा र चालु आव २०८३–८४ को वार्षिक कार्ययोजना (नीति तथा कार्यक्रमको विस्तृत कार्यान्वयन योजना) नागरिकले तत्कालै अनुभूति गर्ने कार्यक्रमका सम्बन्धमा निकायगत छलफल एवं समीक्षा गरिएको छ ।
साथै नीति तथा कार्यक्रम, बजेट, शासकीय सुधारका विषयलाई प्राथमिकता दिई सुशासन प्रवर्द्धन, सेवा प्रवाह सुधार, नागरिकले अनुभूति गर्नेस्तरमा पुर्याउन तथा विकास व्यवस्थापनलाई चुस्त, समयबद्ध कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू र महाशाखा प्रमुखहरूबीच चालु आव २०८३–८४ का लागि भदौ १८ गते कार्यसम्पादन सम्झौता गरिएको थियो ।
राष्ट्रिय योजना आयोगको नेतृत्वमा सञ्चालन भइरहेको रसुवा बाढीबाट भएको क्षति तथा आवश्यकता पहिचान भई काम सम्पन्न भइसकेको छ भने हाल विपद्पछिको आवश्यकता मूल्याङ्कन भइरहेको कार्यालयले जनाएको छ । सहसचिव अर्यालका अनुसार कार्यालयको आयोजनामा यही असोज ५ गतेदेखि ९ गतेसम्म नीति विश्लेषणका लागि तथ्याङ्कीय विश्लेषण क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । नीति विश्लेषण तथा नीतिगत निर्णय प्रक्रियामा तथ्याङ्क र प्रमाणको प्रभावकारी प्रयोग गर्न आवश्यक ज्ञान, सीप तथा व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय र कार्यालयका उपसचिव तथा शाखा अधिकृतस्तरका नीति तथा योजना तर्जुमा कार्यसँग सम्बन्धित २५ जना प्रशिक्षार्थीको सहभागिता थियो ।
प्रधानमन्त्रीसँग निजी क्षेत्र, नेपाल निर्माण व्यवसायी महासङ्घ, होटल सङ्घ, महिला उद्यमी महासङ्घ, नेपाल हस्तकला महासङ्घ लगायतसँग भएको छलफलपछि भएका निर्णयहरू कार्यान्वयनको प्रगति सम्बन्धमा सरोकारवाला मन्त्रालय (अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन एवं कृषि, वन तथा पर्यावरण मन्त्रालय) सँग समीक्षात्मक बैठक सम्पन्न भएको छ ।
त्यसैगरी, नीति प्रयोगशालाको प्रभावकारिता सम्बन्धमा प्रस्तुतिकरणसहितको छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । नीति अध्ययन तथा पुनरावलोकनका लागि विभिन्न १२ वटा विषयरक्षेत्रहरू नीति अनुसन्धान प्रतिष्ठानलाई पठाइएको छ ।
सार्वजनिक निकायमा हुने निर्णय प्रक्रियालाई छिटो, सरल, पारदर्शी तथा परिणाममुखी, सूचना तथा सञ्चार प्रविधिमा आधारित, कागजरहित, समयसीमायुक्त तथा नागरिक केन्द्रित गर्न नेपाल सरकार, मन्त्रिपरिषद्ले सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ बनाएको र उक्त नियमावली मिति २०८३ असोज १२ मा नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।
कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्म रु १६ अर्ब २८ करोड ३१ लाख ३४ हजार १४२ जम्मा भएको छ । उक्त कोषबाट कोष सञ्चालन समितिको निर्णयतबाट गत भदौ १६ गते रु एक अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा भइसकेको छ । विपद् प्रभावित जिल्ला र स्थानीय तहबाट माग भई आएबमोजिम प्राधिकरणले आवश्यक रकम विपद्व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने गर्दछ ।
गत असोज १६ गते मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि सङ्घीय समन्वय समितिको बैठक प्रगतिसम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भइ आएबमोजिम १५ वटा फर्म तथा कम्पनीलाई यस कार्यालयको निर्णयानुसार कालोसूचीमा राखिएको छ । विभिन्सार्वजनिक निकायबाट निर्माण, परामर्श तथा मालसामान सेवा खरिद सम्बन्धमा राय परामर्शका लागि लेखिआएकामा ४९ वटा निकायलाई राय परामर्श प्रदान गरिएको छ ।
यस अवधिमा सार्वजनिक खरिदसम्बन्धी तीनवटा तालिम सञ्चालन गरी विभिन्न सार्वजनिक निकायमा कार्यरत ८३ जना कर्मचारीलाई तालिम प्रदान गरिएको छ । विभिन्न सार्वजनिक निकायसँगको साझेदारीमा १२९ जना कर्मचारीलाई सार्वजनिक खरिदसम्बन्धी तालिम प्रदान गरिएको छ । त्यसैगरी सार्वजनिक खरिद नियमावली (१६औँ संशोधन), २०८३ बमोजिम देहायबमोजिम नमूना बोलपत्रसम्बन्धी कागजात परिमार्जन र संशोधन गरी जारी गरिएको छ ।
नीति अनुसन्धान प्रतिष्ठानबाट गत भदौ १० गते गएको विनासकारी बाढीबाट भएको क्षति तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखी अनुसन्धान कार्यहरू जारी रहेको कार्यालयको भनाइ छ । चालु आवमा अनुसन्धानतर्फ स्वीकृत २४ वटा परियोजना हाल कार्यान्वयनमा रहेकामा १९ वटा अनुसन्धान सम्पन्न भई प्रतिवेदन तयार भएका छन् । त्यसैगरी अनुसन्धानका तीनवटा प्रतिवेदनहरूको ‘कपि–एडिटिङ’ सम्पन्न भई प्रकाशनको लागि ‘लेआउट’ को प्रक्रियामा छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयले सूचना प्रविधिका प्रणाली खरिदलगायत विषयमा आवश्यक पर्ने दररेट तथा मापदण्ड तयार गरी स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । सरकारी निकायको ‘डेटा स्ट्यान्र्डलाइजेसन’ का लागि विभिन्न मन्त्रालय तथा निकायमा भौतिक रूपमा नै उपस्थित भइ ‘डेटा म्यापिङ’ को काम भइरहेको छ । साथै नेपाल ‘इन्टरप्राइज आर्किटेक्चर फ्रेमवर्क’ को प्रतिवेदन परामर्शका लागि प्रकाशित भइसकेको कार्यालयले जनाएको छ ।
हेलो सरकारअन्तर्गत वर्र्तमान सरकार गठन भएको गत चैत १३ गतेदेखि यही असोज १५ गतेसम्म कुल ७७ हजार १२८ वटा गुनासा प्राप्त भएकामा ३१ हजार २८० वटा फछ्र्यौट तथा १७ हजार ५३९ वटा समाधान भएका छन् । कार्यालयका अनुसार रसुवा बाढी, ग्यास अभाव, मलखाद, बिलबिजक जारी नगरेको, उपभोग्य सामग्रीको अभाव, वैदेशिक रोजगारी, चालक अनुमतिपत्र प्रणालीले काम नगरेको, सडक सञ्जाल अवरुद्धलगायत विषयलाई केन्द्रित गरी २४सै घण्टा हेलो सरकार सञ्चालन गरिएको थियो ।
काठमाडौँ, १६ असोजः सभामुख डोलप्रसाद अर्याल यही असोज १८ गते तान्जानियामा हुने अन्तर व्यवस्थापिका सङ्घ ९आइपीयू०को १५३औँ महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् । सभामुख अर्याल सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो महासभामा जान लागेका हुन् । सो सम्मेलनमा १८३ देशका सभामुखसहितका सांसदहरूको उपस्थिति हुनेछ ।
सभामुख अर्यालले आइपीयूमा आफूले ‘इमर्जेन्सी’ प्रस्ताव पेस गर्न लागेको बताए । “महासभामा नेपालको सङ्घीय संसद्को विषयवस्तु र जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावका विषयमा पनि विशेष प्रस्ताव पेस गर्ने कार्यक्रम तय गरिएको छ”, उनले भने, “नेपालको सङ्घीय संसद्मा अहिले ४० वर्षभन्दा कम उमेर समूहका करिब ३७ प्रतिशतभन्दा बढीको उपस्थिति छ । यी र यस्तै विषयलाई महासभामा उठान गरिनेछ ।”
सभामुख अर्यालले महासभामा प्रस्ताव पेस गर्नका लागि पनि परराष्ट्र मन्त्रालयमार्फत करिब ५० भन्दा बढी राष्ट्रसँग समन्वय भइरहेको जानकारी दिए । केही सञ्चारमाध्यमले विदेश घुम्नकै लागि संसद् बैठक बन्द गरेर जान लागेको भन्ने टिप्पणी गरेकामा उनले आपत्ति प्रकट गरे । “सञ्चारमाध्यमले विभिन्न अफवाह फैलिने खालका समाचार तथा जानकारी सम्प्रेषण नगर्न पनि आह्वान गर्दछु”, उनले भने । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा राखेका विषयमा आधारित भएर संसारभरका सभामुखहरूसँग जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव, असर तथा जलवायु न्यायका लागि सहयोग गर्न आह्वान गर्ने सभामुख अर्यालले बताए ।
काठमाडौँ, १६ असोजः रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी–वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै वेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार अस्थायी ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसनसहित अन्य प्रक्रिया अघि बढाइएको थियो । हाल बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन् ।
अस्थायी ट्र्याक सञ्चालनमा आएपछि बेलिब्रिज निर्माणका सामग्री निर्माणस्थलसम्म पुर्याउने कामलाई तीव्रता दिइएको मन्त्री लम्सालले जानकारी दिए । निर्माणस्थलमा आवश्यक सामग्री पुर्याउने काम भइरहेको र त्यससँगै बेलिब्रिज जडानको प्रक्रिया अघि बढाइएको हो । उनका अनुसार बेलिब्रिज जडान सम्पन्न भएपछि बाढीका कारण अवरुद्ध बनेको रसुवासँगको मुख्य सडक सञ्जाल पुनः औपचारिक रूपमा जोडिनेछ । यससँगै रसुवातर्फको यातायात आवागमन सहज हुनुका साथै बाढीका कारण प्रभावित सडक सम्पर्क पुनःस्थापना हुने अपेक्षा गरिएको छ ।
बाढीले क्षति पुर्याएको सडकखण्डमा तत्काल यातायात सञ्चालनका लागि अस्थायी ट्र्याक निर्माण र दीर्घकालीन रूपमा सडक पूर्वाधार पुनःस्थापनाका कामलाई सँगसँगै अघि बढाइएको मन्त्री लम्सालले बताए ।