Category: समाचार

  • राष्ट्रिय सभा निर्वाचन : विपक्षीका साझा उम्मेदवारमा खिमलाल देवकोटा

    राष्ट्रिय सभा निर्वाचन : विपक्षीका साझा उम्मेदवारमा खिमलाल देवकोटा

    काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलविरुद्धमा विपक्षीपार्टीले साझा उम्मेद्वार बनाएका छन् ।

    उपनिर्वाचनमा विपक्षी पार्टीहरू कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले खिमलाल देवकोटालाई साझा उम्मेदवारको रूपमा अघि सार्ने भएका छन्।

    माधव नेपाल समूह निकट रहेका डा। देवकोटाले माओवादी केन्द्रको चुनाव चिन्हबाट उपनिर्वाचन लड्ने भएका छन् ।

    वागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि जेठ ६ गते उपचुनाव हुने भएको छ । माओवादीका रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि ती दुई स्थान रिक्त भएका थिए ।

    मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेको माधव नेपाल पक्षबीच भएको छलफलपछि लुम्बिनीमा कांग्रेसलाई सघाउने तथा वागमतीमा प्रचण्ड–माधव पक्षलाई सघाउने सहमति भएको स्रोतले जनाएको छ ।

    बादल निर्वाचित बागमती प्रदेशमा रिक्त स्थानमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ।

    प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष समेत रहिसकेका उनले २०७६ असारमा व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए। उनी संघीयता विज्ञका रूपमा परिचित छन्।

  • आज सांसदहरुको कोरोना परीक्षण गरिँदै

    आज सांसदहरुको कोरोना परीक्षण गरिँदै

    काठमाडौं । आज सङ्घीय संसद् सचिवालले सबै सांसदहरुको कोरोना परीक्षण गर्ने भएको छ । वैशाख २७ गते बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशन अगाडी सभामुखसहित सबै सांसदको कोरोना परीक्षण हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने भएको सचिवालयले जनाएको छ ।

    सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पहिलो दिन परीक्षण हुने छ।

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाककर्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण बिहीबार हुने गरि तोकिएको छ ।

  • आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक

    आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक

    काठमाडौं । तपाईं आजबाट काठमाडौँ उपत्यका छाड्दै हुनुहुन्छ भने तपाईं जान चाहेको स्थानीय तहबाट सिफारिस मगाउनु होला । सरकारले उपत्यका छाड्नेको हकमा अब स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने निश्चित भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने दिइने बताएका छन् ।

    मंगलबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा समेत यो विषय उल्लेख छ । यसअघि उपत्यका छिर्न मात्र अनिवार्य १० दिन क्वारेन्टिन भनिएको थियो । आजबाट काठमाडौंमा निषेधाज्ञामा अझ कडाई गरिदैछ । पैदल यात्रुमाथि निगरानी बढाइने छ । कार्यालयहरु २५ प्रतिशत मात्र खुल्नेछन् ।

  • माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपाको हैसियतमा बहुमत सदस्यबाट प्रधानमन्त्रीमा निर्वाचित बनेका केपी शर्मा ओलीलाई समर्थन फिर्ता गर्ने निर्णय मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गरेको हो ।

    २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको हो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने गरी संसद अधिवेशन बोलाएका छन् ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएको पत्र बुधबार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी गरेको छ । स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको संसदबाट विश्वासको मत लिने निर्णय पछाडिको राजनीतिक आशय र उद्देश्य राम्रो नभएको निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।


    स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशमा अवैधानिक ढंगले प्रदेश सरकार बनाउनु लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक नैतिकताको चरम उल्लंघन र स्खलनको पराकाष्ठा भएको ठहर समेत गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


    बैठकले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएकोमा संविधानको भावना, लोकतान्त्रिक मुल्य, मान्यताको विरुद्ध, स्वेच्छाचारी निरंकुश प्रवृत्तिको नकारात्मक अभिव्यक्ति ठानि बिरोध गरेको पनि श्रेष्ठले जानकारी दिए ।

  • बैतडीमा शव बोकेको जिप दुर्घटनामा ५ जनाको मृत्यु

    बैतडीमा शव बोकेको जिप दुर्घटनामा ५ जनाको मृत्यु

    बैतडी । बैतडीमा शवलाई पोष्टमार्टम गर्न लैजाँदै गरेको एक जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य पाँच जना घाइते छन् ।

    दुर्घटनामा चालकसहित ५ जनाको ज्यान गएको हो । चार जनाको घटनास्थलमै र जीपचालक दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय तेजबहादुर बोहराको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

    दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

  • नेपालमा एकैदिन ७६६० जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

    नेपालमा एकैदिन ७६६० जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ जना र ५७१ एन्टिजेन परीक्षणमा ७३ जना गरी ७६६० जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० जना पुगेको छ । ५५ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार ४१७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ ।

  • राष्ट्रपतिद्धारा संवैधानिक परिषदसहित सातवटा अध्यादेश जारी

    राष्ट्रपतिद्धारा संवैधानिक परिषदसहित सातवटा अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्यादेश जारी गरेकी छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सातवटा अध्यादेश जारी गरेकी हुन् ।

    उनले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन, औषधि (तेस्रो संशोधन), संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ जारी गरेकी छन् ।

    अघिल्ला संसद बैठकले पारित गर्न नसकेका विधेयक सरकारले अध्यादेशमार्फत जारी गरेको हो । सभामुख अग्नी प्रसाद सापकोटाले सरकारले ल्याएका विधेयकलाई अघि बढाउन नसकेको आरोप लगाइरहेका बेला अध्यादेशमार्फत विधेयक जारी गरिएको हो ।

    सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश दोस्रोपटक जारी गरेको हो । पुनःस्थापित प्रनितिधिसभाको पहिलो बैठकमा पेश गर्न खोज्दा नेपाली कांग्रेस र प्रचण्ड–माधव नेपाल पक्षले अवरुद्ध गरेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर ३० गते उक्त अध्यादेश ल्याएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरिएको थियो ।

  • अब बाहिर हिँडडुल गर्नेलाई प्रहरीले समाउने, ठेलागाडामा सञ्चालित व्यवसायमा रोक

    अब बाहिर हिँडडुल गर्नेलाई प्रहरीले समाउने, ठेलागाडामा सञ्चालित व्यवसायमा रोक

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो बैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ।

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

    काठमाडौं उपत्यकाको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ। मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ। अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ।

    त्यस्तै खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको थियो।

    त्यस्तै बैंक तथा वित्तिय सस्थाको हकमा केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति राख्ने र काठमाडौं उपत्यकाभित्र २० प्रतिशत संचालन गर्न निर्देशन दिइएको छ। सरकारी कार्यालयहरुको हकमा अत्यवाश्यक मात्र संचालन गर्ने निर्णय भएको हो।

    त्यस्तै ठेलागाडा र कवाडी संकलन गर्न समेत रोक लगाइएको छ। यस्तै, सरकारी कार्यालयमा ४० प्रतिशत कर्मचारी राखेर मात्रै सञ्चालन गर्न भनिएको। सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको परिचय पत्र अनिवार्य गरिएको छ।

  • उपत्यकाको २९ गतेसम्म निषेधाज्ञा थप, साँझ पसल खोल्न नपाइने

    उपत्यकाको २९ गतेसम्म निषेधाज्ञा थप, साँझ पसल खोल्न नपाइने

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो बैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ।

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

    यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ ।

    साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।

    बेलुका पूर्ण रुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिनेछ ।

    बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ ।

    सरकारी कार्यालय,मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिनेछ ।

  • जेठमा निर्धारित जनगणना रोकियो, अब आगामी आर्थिक वर्षमा

    जेठमा निर्धारित जनगणना रोकियो, अब आगामी आर्थिक वर्षमा

    काठमाडौं । जेठ २५ देखि ८ असारसम्म निर्धारित जनगणना रोकिएको छ । कोरोना महामारीका कारण घरघर पुगेर जनगणना हुने अवस्था नभएसँगै सरकारले जनगणना रोक्ने निर्णय गरेको हो । जनगणना हरेक १० वर्षमा हुने गर्छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम गर्नुपर्ने भएकाले तत्कालका लागि यो कार्यक्रम नै स्थगित गर्नु परेको केन्द्रिय तथ्याङक विभागले जनाएको छ ।

    जनगणनाका सबै काम तत्कालका लागि रोक्ने निर्णय मन्त्रीपरिषद्बाट भएको हो । कोरोना संक्रमणको दर कम भएसँगै आगामी आर्थिक वर्षबाट भने पुनः जनगणनाको कामलाई गति दिइने भएको हो । विभागले बैसाख १५ गते देखि सुपरिवेक्षकहरुका लागि तालिम दिन शुरु गरेको थियो ।

    कार्यतालिका अनुसार बैसाख २६ गते देखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो । गणकलाई तालिम दिएपछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना शुरु गर्ने कार्यतालिका थियो । विभागले जनगणनाका लागि करिव ८५ प्रतिशत काम सम्पन्न गरिसकेको उल्लेख गरेको छ ।

  • अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्‍यो

    अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्‍यो

    न्युयोर्क

    गत जेनेवरीदेखि हराएका ड्रिउ युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको मृत शरीर फेला परेको छ । नेपाली विद्यार्थी अजय शाहको मृत शरीर ब्रुकलिनस्थित एंकोरेज च्यानलमा फेला परेको मोरिस काउन्टी अभियोजकको कार्यालयले पुष्टि गरेको छ । अभियोजकको कार्यालयका अनुसार शाहको मृत्‍युमा हत्याको शंका नभएको स्थानीय पत्रिका प्याचले कार्यालयको प्रबक्ताको हवाला दिदै लेखेको छ ।
    २२ वर्षीय मृतक शाहलाई अन्तिम पटक जेनेवरी १९ मा क्याम्पसमा देखिएको थियो भने तीन दिनपछि हराएको सुचना प्रकाशित गरिएको थियो । शाह न्युजर्सीबाट न्युयोर्क पेन स्टेसन जाने ट्रेन चढेको र हातमा क्यामरा बोकेर ब्रुकलिन ब्रिजमा हिंडेको भिडियो फुटेज समेत भेटिएको अनुसन्धानका क्रममा भेटिएको थियो ।
    मृत शरीर मार्च ९ तारिखमा नै अधिकारीहरुले भेटे पनि अप्रिल २५ तारिखसम्म पहिचान खुलेको थिएन । अप्रिल २५ तारिखका दिन न्युयोर्क प्रहरीले न्युजर्सीस्थित मोरिस काउन्टी अभियोजक कार्यालयलाई खबर गरेको थियो । मृत शरिरको एक्स -रे अनुसन्धानको आधारमा न्युयोर्कस्थित चिफ मेडिकल एक्जामिनरले अजय शाहको पहिचान गरेको समेत अभियोजकको कार्यालयले जनाएको छ । आज सोमबार मोरिस काउन्टी अभियोजक कार्यालयले सार्वजनिक नगरेसम्म शाहको अवस्था अज्ञात थियो ।
    समाचार श्रोत : प्याच डट कम

  • भारतबाट खुसीको खबर, ७ प्रदेशमा घट्न थाले संक्रमित

    भारतबाट खुसीको खबर, ७ प्रदेशमा घट्न थाले संक्रमित

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतबाट आततायी घटना, समाचार र भिडियो सार्वजनिक भइरहेको समयमा एक खुसीको खबर आएको छ । टाइम्स अफ इण्डियाले आज गरेको एक रिर्पोटिंग अनुसार भारतको सात वटा राज्यमा संक्रमणको गति थामिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसको पुष्टी समेत गरेको छ ।

    सबैभन्दा बढी महाराष्ट्र, पन्जाब, दिल्ली, उत्तर प्रदेश, तेलंगाना, मध्य प्रदेश र उत्तराखन्डमा कोरोनाको उच्च विन्दु थामिएको छ । जहाँ हरेक दिन संक्रमित कम हुँदै गएको तथ्यांक आएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा दैनिक संक्रमित पुष्टी चार लाखको आंकडा भन्दा माथि पुगेसँगै अब भने संख्यामा कमी आउन थालेको छ ।

    आइतबार भारतभर ३ लाख ६८ हजार मानिसमा कोरोना पुष्टी भएको थियो । महाराष्ट्रका अधिकांश जिल्लाबाट नयाँ संक्रमित भेटिने क्रम घटेको खबर छ । यहाँ सरकारले विभिन्न प्रतिवन्ध लगाएको छ । जसले गर्दा क्रमशः कोरोनाको चेन ब्रेक भइरहेको पाइएको छ । लापरवाही गरेमा पुनः स्थिति भयाभह हुन सक्ने चेतावनी मन्त्रालयले दिएको छ । दिल्लीले एक साता लकडाउन बढाएको छ । अन्य राज्यहरुले समेत कोरोना नियन्त्रण गर्न प्रतिवन्ध जारी राखेका छन् ।

  • नेपालमा संक्रमण र मृत्युमा रेकर्ड, सरकार आफै अलमलमा

    नेपालमा संक्रमण र मृत्युमा रेकर्ड, सरकार आफै अलमलमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोनाको पछिल्लो अपडेट गराइरहँदा जनताले भने खोपको सुनिश्चितता, अक्सिजनको उपलब्धता र अस्पतालमा बेडको संख्या बढेको खबर सुन्न आतूर थिए । तर, प्रधानमन्त्रीसँग सकारात्मक कामको सूची थिएन । केवल कोरोनाको क्षति र संक्रमणको सूचि मात्र थियो ।

    पार्टी विभाजन, प्रदेशहरुमा सरकार र सत्ता टिकाउन अनेक प्रयासमा सफल देखिएका प्रधानमन्त्री कोरोना रोकथाममा जति निरिह देखिएका छन्, त्यति नै शक्तिशाली बन्दै गएको छ, कोरोना संक्रमण । सोमबार नेपालमा अहिलेसम्मकै बढी संक्रमण र अहिलेसम्म बढी मानिसले ज्यान गुमाएको डरलाग्दो आंकडा आएको छ ।

    नेपालमा गत २४ घण्टामा थप ७,४४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । यो रेकर्ड हो । मन्त्रालयका अनुसार सो अवधिमा थप ३७ जनाको कोभिडका कारण ज्यान गएको छ । सोमवार पुष्टि भएका सङ्क्रमितहरू १६,६५८ पीसीआर र ५१८ एन्टिजन परीक्षण गर्दा पहिचान भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा २,०२१ जनाले कोरोना जितेको तथ्यांक आएको छ ।

    आइतवार समेत ७,२११ सङ्क्रमित थपिएका थिए । यसले हरेक दिन रेकर्ड बनेको छ । मानिसहरुले अकालमा ज्यान गुमाएका छन्, तर सरकारले महामारी नियन्त्रणमा गाम्भीर्यता भने देखाउन सकेको छैन । उता, प्रधानमन्त्रीले भने महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित भएको दावि गरे । निषेधाज्ञा अझै कडा गर्ने चेतावनी समेत उनले दिए ।

  • उपत्यकामा एकैदिन ३६६६ कोरोना संक्रमित थपिए

    उपत्यकामा एकैदिन ३६६६ कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ३६६६ कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ कोरोना संक्रमित थपिएका हुन्।

  • नेपालमा थप ७४४८ जनामा कोरोना पुष्टी, ३७ जनाको मृत्यु

    नेपालमा थप ७४४८ जनामा कोरोना पुष्टी, ३७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा२०२१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८६ हजार ८५ जना पुगेको छ । ३७ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार ३६२ पुगेको छ । संक्रम संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ ।

  • गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त, नयाँ नियुक्तिमा सीता र गंगाप्रसाद

    गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त, नयाँ नियुक्तिमा सीता र गंगाप्रसाद

    काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन् ।

    सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् ।

    उनीहरु दुवै माओवादी निकट हुन् । प्रदेश प्रमुखलाई राष्ट्रपतिले मात्रै हटाउन सक्ने संवैधानिक व्यवस्था छ ।

    पदमुक्त लगत्तै गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    नियुक्तिका लागि सिफारिस गरिएका यादव पूर्वउपसभामुख हुन् भने पौडेल चितवन निवासी हुन् ।

    नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

  • निषेधाज्ञा थप कडा गर्ने प्रधानमन्त्रीको घोषणा (सम्बोधनको पूर्णपाठ)

    निषेधाज्ञा थप कडा गर्ने प्रधानमन्त्रीको घोषणा (सम्बोधनको पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञालाई थप कडा बनाउने बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले कोरोनाको लहर फैलिन नदिने लकडाउन नै विकल्प रहेको बताएका हुन् ।

    ‘लकडाउन नै कोरोना संक्रमणको चेन रोक्ने उत्तम विकल्‍प रहेको सुझाव विज्ञहरूले दिएकाले सरकारले लकडाउनलाई थप कडा बनाउन लागेको हो,’ उनले भने । कुनै पनि नागरिकलाई लकडाउनको असर पुग्न नदिन सरकार सचेत रहेको उनले बताए ।

    त्यस्तै ओलीले धेरै शैय्या भएका मेडिकल कलेज र ठूला सरकारी तथा नीजि अस्पताललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने बताएका छन्।

    देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र त्रिचन्द्र मिलिटरी अस्पताललाई कोभिड अस्पताल बनाउने बताए।

    प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा र साना अस्पताललाई ननकोभिड अस्पतालको रुपमा संचालन गर्ने बताए।

    प्रधानमन्त्रीको देशबासीका नाममा सम्बोधनको पूर्णपाठ

    २० बैशाख २०७८

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

    – एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरु बनायौं । एकबर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा रहेन । देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौं ।

    – यस सफलताको लागि महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मी सहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीहरुको भूमिका उल्लेखनीय रह्यो । त्यस असमान्य घडीमा सङ्क्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु ।

    – अहिले हामी कोभिड–१९ महामारीको दोस्रो लहरको सामना गर्दैछौं । कोभिडको यो लहर नयाँ स्वरुपमा थप घातक रुपमा देखा परेको छ । संक्रमणको दर र मृत्युदर गतबर्षको तुलनामा बढी छ । हिजोको २४ घन्टाको तथ्याङ्कलाई उदाहरणको रुपमा लिँदा, पीसीआर परीक्षण गरिएका १६ हजार ७७० केसमध्ये झण्डै ४३ प्रतिशत अर्थात ७ हजार २११ मा संक्रमण देखिएको छ ।

    – हिजो साँझसम्म कूल संक्रमित संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । कूल संक्रमितमध्ये निको भएका संक्रमित ८४.५ प्रतिशत, निको हुने क्रममा रहेका संक्रमित १४.५ प्रतिशत र ज्यान गुमाउनेको संख्या ०.९९ प्रतिशत छ । ३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित संख्या छ । ७२ जिल्लामा कोभिड–संक्रमित रेकर्ड भएका छन् । बैशाख १९ गतेसम्मको कूल संक्रमितमा ३८.४ प्रतिशत काठमाडौं जिल्लामा मात्रै र ५०.४ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् ।

    – यस महामारीबाट संक्रमित भई अस्पतालमा उपचार गराइरहुनु भएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्यलाभ गरिरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र्र स्वास्थ्यलाभको कामना गर्दछु ।

    – हालसम्म ३ हजार भन्दा बढी देशवासीले अनाहकमा यस महामारीबाट जीवन गुमाउनु परेकोमा दुःख व्यक्त गर्दछु र उहाँहरुका शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    – गतबर्ष यो महामारी नेपाल भित्रिनुअघि नै सरकारले यसको रोकथाम र नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय गरी प्रभावकारी काम गर्न माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रीय निर्देशक समिति गठन गरेको सबैलाई जानकारी नै छ । त्यसैको योजनामा देशभर होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र बनाइएको थियो, क्वारेन्टिनको व्यवस्थापन र अस्पतालहरूमा शीघ्र उपचारको व्यवस्था मिलाइएको छ । शून्यको संख्यामा रहेको पीसीआर परीक्षण ल्याव संख्या क्रमशः बढाउँदै लगिएको थियो । हाल सरकारी र निजीस्तरका गरी ८७ स्थानमा पीसीआर परीक्षण हुने गरेको छ । सबैजसो अस्पताललाई कोभिडको उपचार गर्नसक्ने स्थितिमा पु¥याइएको छ । गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पताल निर्माण र केद्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीब्रता दिइएको छ ।

    – अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आप्mना देशवासीलाई कोरोना बिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएकोे छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।

    – मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैंm आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको छ । चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    – कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ । नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु ।

    – त्यसैले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन् । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवम् प्रभावकारी ढङ्गले कोभिड बिरुद्धको लडाईँलाई कार्य अघि बढाउन प्रदेश केन्द्रित हुनेगरी अहिले नेपाल सरकारका एक÷एक जना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको छ ।

    – संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एकहदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ । यसलाई थप कडाई गरिंदैछ र प्रभावकारी ढंगले लागू गर्न पहिलेझैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ः

    – यही २०७८ बैशाख २० गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको छ ।

    – २०७८ बैशाख २३ गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ ।

    – स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ । नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

    – भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइने छ । सबै तहमा कन्ट्याक ट्रेसिङ बढाउन लगाइएको छ ।

    – स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने छ । कोही सङ्क्रमित पाइएमा उनीहरुलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको छ ।

    – प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।

    – सरकारी तथा अन्य कार्यालयमा एक चौथाई कर्मचारीबाट कार्यसम्पादन गराउन शुरु गरिएको छ । अत्यावश्यक बाहेक अन्य कार्यालय, संघसंस्था बैशाख मसान्तसम्म बन्द रहनेछन् ।

    – नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ ।

    – वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ ।

    – प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन् ।

    – सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ ।

    – सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्नेछ । कुनै अस्पतालले विवरण पूरा नपठाई शैया लुकाएको भेटिएमा कारबाही हुनेछ ।

    – ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ । सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ । लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिनेछ । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने छ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।

    – कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिनेछ ।

    – स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।

    – जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ ।

    – सङ्क्रमणको साङ्लो तोड्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ । महामारी नियन्त्रण भएसंगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने नै छ ।

    – जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्नेछन् । परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्नेछन् । अन्तर मन्त्रालय समन्वयमा काम गरिनेछ ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    – महामारीको सङ्क्रमण बढ्न नदिन सरकारले आप्mनो दायित्व हर हालतमा पूरा गर्छ । यसलाई प्रभावकारी बनाउन सरकारका साथै आम नगारिकको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले,

    – सकभर घरमै बसौं, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔं,

    – समय समयमा साबुनपानीले हात धोऔं वा स्यानिटाइजरले हात सफा गर्ने गरौं

    – भोजभतेर तथा पर्व घरमै मनाउँ

    – भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं ।

    – हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं

    – चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गरौं ।

    – धैर्य गरौं, संयमता अपनाऔं ।

    – सावधान होऔं तर आतङ्कित नहोऔं ।

    – गतवर्ष गरिएको बन्दाबन्दी र जारी गरिएको निषेधाज्ञाका समयमा हामीले पालना गरेको अनुशासनले महामारीको असर धेरै हदसम्म कम हुन गएको थियो । यसमा भएको हेलचत्र्mयाईले क्रमशः महामारी फैलिन बल पु¥याएको तथ्यलाई हामी सबैले मनन गरौं । नभुलौं, महामारीले कसैलाई पनि छाड्दैन ।

    – अन्त्यमा, महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालक÷सहचालक, सफाइकर्मी एवम् सम्बद्ध सबैलाई विचलित नभई आ–आफ्नो कर्तव्य निर्वाह गर्न म हार्दिक आह्वान गर्दछु ।

    – राजनीतिक दलका नेता÷कार्यकर्ता, सामाजिक संघसंस्था एवम् प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई कोभिडविरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न समेत आग्रह गर्दछु ।

  • कोरोनाका कारण भारतमा एक सातामै २० नेपालीको मृत्यु

    कोरोनाका कारण भारतमा एक सातामै २० नेपालीको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणका कारण गत साता मात्रै भारतमा २० जना नेपालीको मृत्यु भएको छ । त्यसबाहेक कुवेतमा २ र कतारमा १ नेपालीको कोरोनाकै कारण मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाले बताए ।

    भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको महामारीका कारण नेपालीको पनि मृत्यु हुने क्रम बढेको एनआरएनएको भनाइ छ । भारतको नयाँदिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य तथा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार नयाँदिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् । यससँगै हालसम्म विश्वका २१ मुलुकमा संक्रमणका कारण ३७२ नेपालीको मृत्यु भइसकेकाे ५ । जसमध्ये २४५ जनाको मध्यपूर्वका मुलुकमा मृत्यु भएको हो ।

    अहिलेसम्म विश्वका ५४ मुलुकमा ६८ हजार ५०६ नेपाली संक्रमित हुन पुगेका छन् । कुल संक्रमितमध्ये ९४.६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जना संक्रमणमुक्त भएका छन् । गत साता भारत, कुवेत, कतार, यूएई, रोमानिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक र पोल्यान्डमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको संघको कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

    पछिल्लो एक वर्षमा सबैभन्दा बढी मेमा ६८, सेप्टेम्बरमा ६५ र अगस्टमा ३६ नेपालीको मृत्यु भएको थियो । गत वर्ष जुन, जुलाई, डिसेम्बर र यस वर्ष जनवरीमा सबैभन्दा धेरै नेपाली संक्रमणबाट मुक्त भएका थिए ।

    यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले महामारीका दौरान २५० चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिए । उनका अनुसार नेपालबाहिर करिब ५ हजार चिकित्सक र १५ हजार नर्स नेपाली छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनएमा जोड्ने प्रयास भइरहेको उनले बताए ।

    टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह
    एनआरएनएले सुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ । समितिले दुई विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिसकेको र तेस्रो विश्व स्वास्थ्य सम्मेलन आगामी सेप्टेम्बर १७ देखि १९ मा लन्डनमा आयोजना गरिने जनाइएको छ ।

    डा. सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ सुरु गरेर कोभिड-१९ बाट जोगिन र संक्रमित भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्नेबारे नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको बताए । पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले महामारीकै बीच पनि ५० देशका ३ सय शहरमा २५ सय स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको बताए ।

    उनका अनुसार एनआरएनएमार्फत एक लाख ७० हजारलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको थियो । त्यस्तै संघका संरक्षक एवं पूर्वाध्यक्ष जीवा लामिछानेले विगतका अन्य विपद्‌मा जस्तै कोभिड महामारीका बेला पनि एनआरएनएले नेपालीलाई सघाएको बताए ।

    मानसिक स्वास्थ्य समस्यामा वृद्धि
    कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन् । डा. सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुअल माध्यमबाट सहभागी चिकित्सकले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताए ।

    महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्नेलगायत समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए ।

    मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालीम सञ्चालन गरेको डा. सापकोटाले जानकारी दिए । त्यस्तै, आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली चिकित्सक सहभागी छन् ।

    विदेशमा रहेका नेपालीको अवस्थाको तथ्यांक संकलनमा युरोपबाट डा. बोधराज सुवेदी, बेलायतबाट डा. दिलीप यादव, कतारबाट डा. नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा. सरिता भट्टराई र स्पेनबाट नर्स सांग्रिला लामालगायतको टोलीले सहयोग गरिरहेको छ ।

  • आफु हारेर पनि ममता वेनर्जीले पार्टीलाई दिलाइन् ऐतिहासिक जित

    आफु हारेर पनि ममता वेनर्जीले पार्टीलाई दिलाइन् ऐतिहासिक जित

    पश्चिम बंगाल । भारतीय राज्य पश्चिम बंगालमा तृणमूल कंग्रेसकी अध्यक्ष तथा मुख्यमन्त्री ममता बेनर्जी पराजित भएकी छन् । तर, उनको एकल तागतमा प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहसहित हेभिवेट नेताले प्रचार गरेको भाजपा नराम्रोसँग हारेको छ ।

    तृणमूल कंग्रेसले भने पश्चिम बंगालमा पुनः सानदार जित निकाल्न सफल भएको छ । यहाँ विधान सभाको मतगणनामा आइतबार बिहानैबाट शुरु भएको हो । साँझसम्म अधिकांश सीटको नतिजा आइसकेको छ । जसमा मुख्यमन्त्री ममता बेनर्जी पराजित हुन पुगेकी छिन् ।

    उनलाई भाजपाका शुभेन्दु अधिकारीले हराए । उनी यसअघि मूख्यमन्त्री वेनर्जीकै सरकारमा मन्त्री थिए । चुनाव नजिकिएसँगै उनी भाजपा गएका हुन् । भारतीय जनता पार्टीले यहाँ निकै र्याली आयोजना गर्यो, जहाँ प्रधानमन्त्री मोदी र साह आफै खटिएका थिए ।

    वेनर्जी भने नन्दीग्रामबाट लडेकी थिइन् । यो उनको निर्वाचन क्षेत्र भने होइन । अधिकारी भन्दा वेनर्जी २ हजार मतले हारेकी छिन् । उनले बेनर्जीले मतगणनामा धाँधली भएको र यो विषय अब अदालत पुग्ने समेत बताएकी छिन् । लगातार दुई पटक मूख्यमन्त्री बनेकी वेनर्जीको पश्चिम बंगालमा पुनः जादु चलेको छ ।

    अब उनी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्न सक्नेछिन् । विधान सभामा सांसद नभएको व्यक्ति ६ महिनाका लागि मन्त्री बन्न सक्ने व्यवस्था रहेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार त्यस अवधीमा कुनै सहज क्षेत्रबाट उपनिर्वाचनमार्फत उनी पुनः निर्वाचित हुने ढोका खुलै रहेको समेत बताइएको छ । यो राज्यमा ममताको पार्टीले २०९ क्ष्सीट ल्याएको छ । यो दुई तिहाई बहुमत हो । विजेपीले मात्र ७६ सीट जितेको छ ।

  • प्रदेश दुईमा संक्रमित स्वास्थ्यकर्मीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

    प्रदेश दुईमा संक्रमित स्वास्थ्यकर्मीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

    जनकपुर । प्रदेश २ मा कोरोना महामारी न्यूनिकरणमा लडिरहेका जनशक्ति स्वयमः संक्रमित भएमा उनीहरुको खर्च सरकारले बेहोर्ने भएको छ । प्रदेश २ सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । राससका अनुसार आइतबार बसेको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

    उक्त बैठकले भविष्यमा बढ्न सक्ने सङ्क्रमितको चापलाई दृष्टिगत गरी प्रदेश भित्रका निजी अस्पताललाई नेपाल सरकारको मापदण्डबमोजिम सम्झौंता गरी सञ्चालनमा ल्याउन सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो। प्रदेशभित्र सञ्चालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्न लगाउनसमेत निर्णय गरेको छ।

  • राष्ट्रपतिले बोलाइन् संसदको विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने

    राष्ट्रपतिले बोलाइन् संसदको विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले २७ वैशाखमा बस्ने गरी विशेष अधिवेशन बोलाएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव ल्याउने सम्बन्धमा समेत विपक्षी दलहरु लागिरहेको समयमा विशेष अधिवेशन आह्वान भएको हो ।

    प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३६ सांसदको समर्थन लिनुपर्छ । अहिले प्रतिनिधिसभामा २७५ सदस्य छन् । जसमा नेकपा एमालेसँग १२१ सिट रहेको छ । नेपाली कांग्रेससँग ६३, नेकपा माओवादी केन्द्रसँग ४९, जनता समाजवादी पार्टीसँग ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदसँग १, १ सिट छ ।

  • टोखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण देखिए पछी हाललाई सेवा बन्द

    टोखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण देखिए पछी हाललाई सेवा बन्द


    अमृता के सी ( रोनी )
    काठमाडौँ, बैशाख १९। काठमाडौँ स्थित टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। उक्त कुरा नगरपालिकाले आइतबार एक बिज्ञप्ती प्रकाशित गरी जनाएको हो । नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखिए पछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको समेत प्रकाशित सूचनामा जनाइएको छ ।

    दोस्रो चरणको कोरोना भाइरसको संक्रमण तीव्र भएकोेले संक्रमित संख्या बढ्ने क्रममा अग्रमोर्चाका जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएकोले जिल्ला प्रशासन कार्यालयको आदेश पालना गर्न अनुरोध गर्दै नगरपालिकाले बैशाख ३० गते सम्म अत्यावश्यक बाहेकका अन्य सेवा बन्द रहने जानकारी दिएको छ ।

  • नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

    नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १६ हजार १४७ नमुना परीक्षणमा ७१३७ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै ६२३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६१२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८३ हजार ९९४ जना पुगेको छ । २७ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार ३२५ पुगेको छ । संक्रम संक्रमितको संख्या ४८ हजार ७११ रहेको छ ।

  • शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

    शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

    काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

    पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    यसअघि शंकर पोखरेलले एकल बहुमतको आधारमा सरकार गठन गर्ने तयारी गरिरहेको भन्दै प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ रोक्न लिखित निवेदन दिएका थिए।

  • शंकर पोखरेलको बहुमत गुम्यो, विमला वली माओवादी केन्द्रमा प्रवेश

    शंकर पोखरेलको बहुमत गुम्यो, विमला वली माओवादी केन्द्रमा प्रवेश

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुमेको छ । नेकपा एमालेकी प्रदेशसभा सदस्य विमला वली माओवादी केन्द्रमा प्रवेश गरेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुमेको हो ।

    सांसद वली उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित भएकी थिईन । प्रदेशसभामा बहुमत रहेको उनको पक्षमा ४० जना सांसद मात्र भएका छन् । सरकार निर्माण गर्न वा टिकाउनका लागि ४१ जना सांसदको आवश्यकता पर्दछ ।

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

    काठमाडौं । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्।

    पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेका हुन् ।

    मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो।

    प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ।

    अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएका स्रोतको दाबी छ ।

    दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए ।

  • लुम्बिनीका मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आज टेबुल हुँदै

    लुम्बिनीका मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आज टेबुल हुँदै

    बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव टेबुल हुँदैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा ६ वैशाखमा अविश्वासको प्रस्तवा दर्ता भएको हो । सो प्रस्ताव आजको बैठकमा पेश गर्न लागिएको हो ।

    यसबारे शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्दैछन् । त्यसपछि मुख्यमन्त्री पोखरेलले सोमबार जवाफ दिनेछन् । अविश्वासको प्रस्तावमा सोमबार नै मतदान हुने छ ।

    त्यसपछि उनको पद रहने वा नरहने टुंगो लाग्ने छ । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

    हस्ताक्षर गरेकामध्ये जनता समाजवादी पार्टीका तीन सांसद मन्त्री बनिसकेका कारण पोखरेलको पद बच्ने सम्भावना छ । तर, कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस हुने सम्भावना समेत रहेका कारण मतदान सम्म कुर्नु पर्ने हुन्छ ।

  • दाङमा भारतीय कार भित्र तीन नेपाली बालकको शव फेला, दुई जना पक्राउ

    दाङमा भारतीय कार भित्र तीन नेपाली बालकको शव फेला, दुई जना पक्राउ

    तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा भारतीय कार भित्र तीन नेपाली बालकको शव फेला परेको छ । करीव तीन महिना अगाडी देखि रोकि राखेको कार भित्र शव रहेको शनिबार मात्र खुलेको थियो । आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन बालकको पहिचान भएको प्रहरीले जनाएको छ ।

    तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । तीन जना बालक बैशाख १६ गतेबाट हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन परेको पाइएको छ ।

    सोहीकारण कार लामो समयदेखि रोकिएको भएपनि बालकहरुको हत्या भने हालै भएको देखिएको छ । इप्रका तुलसीपुरका अनुसार घटना गम्भीर भएको भन्दै नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली मगाइएको छ । मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गरेका छन् ।

    भारतीय गाडी तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको चालक पदम बस्नेत भएको बताइएको छ । उनीहरुलाई अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको छ ।

  • बूढानीलकण्ठ स्थित उप प्रधानमन्त्री द्वारा सिलान्यास गरिएको प्रवेशद्वार अज्ञात व्यक्ती द्वारा क्षती पुर्‍याइयो

    बूढानीलकण्ठ स्थित उप प्रधानमन्त्री द्वारा सिलान्यास गरिएको प्रवेशद्वार अज्ञात व्यक्ती द्वारा क्षती पुर्‍याइयो


    अमृता के सी ( रोनी )
    काठमाडौँ, बैशाख १८ । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थित जगडोल प्रवेशद्वारमा जथाभावी रंग पोतेर अज्ञात व्यक्तीले प्रवेशद्वार माथि क्षती पुर्‍याएका छन्। केही हप्ता अगाडि बूढानीलकण्ठ नगरपालिका ११ स्थित झन्डा पार्कमा गाडीएको राष्ट्रिय झण्डाको प्रतिक झण्डा बिगार्ने,भाच्ने र च्यात्ने जस्तो निर्कृष्ट कार्य भएको केही समय नबित्दै प्रवेशद्वारमा क्षती पुर्‍याइएको हो ।प्रवेशद्वारको सबै भन्दा माथि लेखिएको ” बूढानीलकण्ठ नगरपालिका ” लाई कालोले पोतेर छोपिएको छ । बि सं २०७४ आश्विन ३ गते संविधान दिवसको अवसरमा उप-प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा उक्त प्रवेशद्वार उद्घाटन गरिएको हो ।
    प्रवेशद्वारमा क्षती पुर्‍याए पछी बूढानीलकण्ठ नगरपालिकाले एक बिज्ञप्ती प्रकाशित गरी घटनाको भत्सर्ना गरेको छ भने त्यस्ता महत्वपुर्ण एवं एतिहासिक संरचनाहरु माथि लुकिछिपि आक्रमण गर्ने, हानि नोक्सान गर्ने जस्ता ध्वंसात्मक गतिबिधिमा संलग्न रहेका अराजक व्यक्ति, समुहको खोजि गरी कानुनि कारबाही गर्न बू.न.पा. वडा नं ११ ले सम्बन्धित निकाय र सुरक्षा निकाय सँग अनुरोध गरेको छ ।

  • नेपालमा एकैदिन ५७६३ जना कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

    नेपालमा एकैदिन ५७६३ जना कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ९६९ नमुना परीक्षणमा ५७६३ जनामा संक्रमण पुष्टि भएको हो ।

    १४ हजार ४०३ जनाको पीसीआर विधिबाट गरिएको नमूना परीक्षणमा ५७०६ र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२८७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८२ हजार ३८२ जना पुगेको छ । १९ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार २९८पुगेको छ ।