Category: समाचार

  • पूर्वराजाको नयाँ वर्ष सन्देश : फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौं

    पूर्वराजाको नयाँ वर्ष सन्देश : फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौं

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर नभई जुटेर शक्ति संरक्षणमा लाग्न सबैसँग आह्वान गरेका छन् । नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना सन्देश सार्वजनिक गर्दै उनले एउटा बिग्रेको अर्कोले हेर्ने बेला नभएको भन्दै एकतामा जोड दिएका छन् । उनले सबैको एउटै उद्देश्य देशको उन्नति हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनै पर्दछ।’

    राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमानदारिता सबैमा हुनुपर्ने भन्दै उनले आपसी भाँडभैलो र द्वन्द्वको समेत अन्त्य हुनुपर्ने उल्लेख गरेका छन् । हरेक नयाँ वर्षमा सुख, शान्ति, समुन्नति र सन्तुष्टिको अपेक्षा रहने भन्दै उनले समय बित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै जाने तर्फ सचेत हुन समेत आग्रह गरेका छन् । शाहले पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।

  • हिमाल आरोहण अनुमति लिने करीव ५ सय पुगे

    हिमाल आरोहण अनुमति लिने करीव ५ सय पुगे

    काठमाडौं । वसन्त ऋतुमा नेपालमा हिमाल चढ्न अनुमति लिनेको संख्या करीव ५ सय पुगेको छ । सगरमाथासहित हिमाल आरोहण गर्न अनुमति लिने आरोहीको संख्या मंगलबारसम्म ४९२ पुगेको हो । पर्यटन विभागको तथ्यांक अनुसार सगरमाथा चढ्न यो सिजनमा ३० समूहका २ सय ९० जनाले अनुमति लिएका छन् ।

    तथ्यांक अनुसार ल्होत्सेमा ७ समूहका ५५ जनाले अनुमति लिएका छन् । अन्नपूर्णमा ४४ र धौलागिरि आरोहण गर्न ३० जनाले अनुमति लिएका छन् । अमादब्लममा भने २ समूहका २७ जना आरोही जाने छन् । मनास्लुमा एक जनाले अनुमति लिएका छन् । मकालुमा एक समूहका ८ जना जाने छन् ।

    नुप्त्सेमा ३ समूहका २३ जनाले आरोहण अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ । पुमरीमा ५ जना, टुकुचेमा १ जना र तिलिचोमा ८ जनाले अनुमति लिएको तथ्यांक रहेको छ । मंगलबारसम्म जारी भएका आरोहण अनुमतिबाट कुल ४० करोड १६ लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

  • काठमाडौं उपत्यकामा २०१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २०१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६१, ललितपुरमा २८ र भक्तपुरमा १२ जना संक्रमित भेटिएका हुन् ।

    पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ। ४ सय ६० जना पीसीआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो।

    यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ५ सय ५९ जना कोरोना संक्रमित भेटिएका थिए।

    यससँगै हालसम्म संक्रमण पुष्टी हुनेको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५८ पुगेको छ ।

  • दोहोरो कीर्तिमान बनाउँदै सेयर बजारले गर्‍यो ‘२०७७’ को बिदाइ

    दोहोरो कीर्तिमान बनाउँदै सेयर बजारले गर्‍यो ‘२०७७’ को बिदाइ

    काठमाडौं । बैंक र विकास बैंक चम्किँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेको छ । सोमबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ कीर्तिमान बनाएको हो ।

    नेप्सले २७१४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७०० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि सोमबार नेप्से इतिहासकै सर्वाधिक २६९१ विन्दुको रेकर्ड बनाएको थियो ।

    यस्तै, नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन सर्वाधिक बजार पूँजीकरणको पनि रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ३७ खर्ब ५८ अर्ब नाघेको छ । यो हालसम्मकै सर्वाधिक हो भने देशको कुल जीडीपीभन्दा पनि बढी हो ।

    आज सेयर बजार मापक सूचक नेप्से २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता सेयर किनबेच भएका छन् ।

    मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटा समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९५.४२ अंकले बढेको छ भने निर्जीवन बीमा समूह सबैभन्दा धेरै ८२.९२ अंकले घटेको छ ।

    आज कारोबारमा आएका २०९ कम्पनीमध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै नबिल बैंक २० करोड र एनआइसी एशिया बैंक १७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एनआइसी एशिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर र सिन्धु विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज ल्गोबल आइएमई लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ४.२७ प्रतिशत गुमाएका छन् ।

  • नेपालमा थप ४६० जनामा कोरोना संक्रमण,१५३ जना डिस्चार्ज

    नेपालमा थप ४६० जनामा कोरोना संक्रमण,१५३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ४३८६ पीसीआर परीक्षणमा ४६० जनामा संक्रमण पुष्टी भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५८ पुगेको छ ।

  • ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो ।

    कोरोना संक्रमणको जालो भत्काउन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई प्रस्ताव गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    अहिले कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी र शिक्षकहरु रहेको मन्त्रालयको विश्लेषण छ। जनस्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गरौं भन्ने विद्यालयका संचालकको आग्रहमा प्रवक्ता गौतमले जोखिमसँग खेल्न नहुने उनले बताए।

    सोमबार मात्रै शिक्षा मन्त्रालयले आयोजना गरेको छलफलमा विद्यालय सञ्चालकहरुले बरु जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्ने व्यवस्था मिलाइनुपर्ने तर विद्यालय बन्द गर्न नहुनेमा जोड दिएका थिए। त्यसपछि तत्कालै विद्यालय बन्द गर्ने मनस्थितिबाट शिक्षा मन्त्रालय पछि हटेको थियो।

    तर स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमणको चेन ब्रेक गर्न विद्यालय बन्द गर्नुको विकल्प नरहेकोले एक महिना बन्द गर्नका लागि सरकारलाई सिफारिस गरेको हो।

  • नेपालमा तत्काल लकडाउन नहुने, जनस्वास्थ्यका मापदण्डमा कडाई गरिने

    नेपालमा तत्काल लकडाउन नहुने, जनस्वास्थ्यका मापदण्डमा कडाई गरिने

    काठमाडौं । सरकारले नेपालमा तत्काल लकडाउन वा कुनै क्षेत्र बन्द नगर्ने भएको छ । तर, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरुमा भने कडाई गर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिँन नदिँन जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    यसअघि कम्तिमा विद्यालयहरु बन्द गर्नुपर्ने सिफारिस कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको थियो । तर, सरोकारवालाले तत्काल विद्यालय समेत बन्द गर्नुपर्ने अवस्था नरहेको सुभाव दिएका छन् । नयाँ प्रजाति कोरोनाको जोखिम बढ्न नदिँन पहिलो चरणमा नयाँ मापदण्डको बारेमा जनतालाई सार्वजनिक रुपमा अपिल गरिने भएको छ ।

    आज उपप्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्ड बारे जानकारी गराउने भएका छन् । सरकारले सार्वजनिक स्थलमा भिडभाड नगर्न, मास्कको अनिवार्य प्रयाग गर्न भनेको छ ।

  • दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते

    दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते

    दोलखा । दोलखामा जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । जिल्लाको बिगु गाउँपालिका–४, सिँगटी भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो । १७ जना व्यक्ति दुर्घटनामा घाइते रहेको प्रहरीले जनाएको छ ।


    सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप सोमबार राती साढे १० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    घाइते भएकामध्ये १० जनालाई थप उपचार गर्न काठमाडौंमा पठाइएको छ । केहीको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार जारी छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको खबर आउनासाथ जिल्लाबाट उद्दार टोली घटनास्थलमा राती नै खटिएको थियो ।

  • नेपालमा एकैदिन ५५९ जनामा कोरोना संक्रमण, १३ जना संक्रमितको मृत्यु

    नेपालमा एकैदिन ५५९ जनामा कोरोना संक्रमण, १३ जना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ४३७८ पीसीआर परीक्षणमा ४९६ जनामा संक्रमण पुष्टि भएको हो। ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ यो दुवै सहित धने नेपालमा एकैदिन कोरोना संक्रमितको संख्या ५५९ पुगेको छ ।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार ५२५ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार १६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

  • ‘मसँग बहुमत छ किन राजीनामा दिने, तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ’

    ‘मसँग बहुमत छ किन राजीनामा दिने, तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् ।

    सोमबार पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा आफूसँग बहुमत रहेकाले हटाउन मन भए समर्थन फिर्ता लिन चुनौती दिएका हुन् ।

    ‘मसँग बहुमत छ, किन राजीनामा दिने ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । मलाई तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ,’ उनले भने ।

    आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको भन्दै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए ।

    प्रधानमन्त्री अ‍ोलीले पटक–पटक समर्थन फिर्ता लिन आग्रह गरेपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् ।

  • संसदीय सुनुवाई समितिमा हेरफेर, ७० करोड घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटा सदस्य

    संसदीय सुनुवाई समितिमा हेरफेर, ७० करोड घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटा सदस्य

    काठमाडौं । संसदीय समितिहरुको हेरफेर भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र नेकपा एमाले ब्यूँताएपछि समितिमा पनि हेरफेर गरिएको छ ।

    सोमबार सभामुख अग्नीप्रसाद सापकोटाले संसदीय समिति हेरफेरको सूचना पढेर सुनाएका थिए । कार्यव्यवस्था परामर्श समितिमा १४ जनाको नाम सार्वजनिक भएको छ ।

    कार्यव्यवस्थामा उमाशंकर अरगरिया, कृष्णभक्त पोख्रेल, खगराज अधिकारी, जयपुरी घर्ती, दिलेन्द्र प्रसाद बडु, देवप्रसाद गुरुङ, पुष्पाभुाल गौतम, बालकृष्ण खाँड, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, लालबहादुर थापा, विशाल भट्टराई, शान्ता चौधरी र शेरबहादुर तामाङ रहेका छन् ।

    साथै अर्थसमितिमा घनश्याम भुसाल, मोतीलाल दुगड र वर्षमान पुन रहेका छन् । त्यस्तै अन्तराष्ट्रिय सम्बन्ध समितिमा कृष्णबहादुर महरा र लिलादेवी सिटौला रहेका छन् ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रामेश्वर राय यादव, कृषिमा शक्तिबहादुर बस्नेत, महिलामा जानकी देवी राम र सुवर्ण ज्वारचन, राज्य व्यवस्थामा मोहन प्रसाद पाण्डे, विकास तथा प्रविधिमा बिना मगर, शिक्षामा गिरिराजमणि पोखरेल र योगेश कुमार भट्टराई, सार्वजनिक लेखामा गोकुल प्रसाद बाँस्काेटा, राज्य व्यवस्था तथा सुशासन समितिबाट अर्थ समितिमा बिनोद कुमार चौधरी, सार्वजनिक लेखाबाट अन्तराष्ट्रिय सम्बन्धमा पुष्पा कुमारी कर्ण कायस्थलगायत रहेका छन् ।

  • चितवन ट्याक्टर दुर्घटनाका मृतकको भयो पहिचान

    चितवन ट्याक्टर दुर्घटनाका मृतकको भयो पहिचान

    चितवन । आइतबार साँझ चितवनमा भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान भएको छ । चितवनको राप्ती नगरपालिका, भन्डाराको पहाडी क्षेत्रमा आइतबार साँझ भएको दुर्घटनामा उनीहरुको ज्यान गएको थियो ।

    चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ र खैरहनी–९ बैरहनीकी ५० वर्षीया छनिया महतो छन् ।

    एक जना अन्दाजी २४ वर्षका पुरुष रहेको भएपनि उनको नाम नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्य्राक्टर चालक खैरहनी–७ मझुहीका २६ वर्षीय राजन चौधरी घाइते छन् । घटनामा एक दर्जन घाइते भएका थिए । उनीहरुको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।

  • ‘सफा हिमाल अभियान’ आजबाट शुरु, ६ हिमालको सफाईमा सेना खटिदैं

    ‘सफा हिमाल अभियान’ आजबाट शुरु, ६ हिमालको सफाईमा सेना खटिदैं

    काठमाडौं । विभिन्न ६ वटा हिमालको सफाई गर्ने उद्देश्यसहित सफा हिमाल अभियान २०२१ आजदेखि सुरु हुँदैछ । यो अभियानको अगुवाई नेपाली सेनाले गर्नेछ । प्रधान सेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर अभियानको थालनी गर्ने कार्यक्रम रहेको छ ।

    नेपाली सेनाले यो वर्ष सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि गरी ६ वटा हिमालमा सफाइ अभियान चलाउन लागेको हो । यसले सेनाको क्षमता अभिवृद्धि हुने र हिमाल समेत सफा हुने अपेक्षा लिइएको छ । दुई वर्षअघि सेनाले सगरमाथाको सफाइ गरेको थियो ।

    ६ वटा हिमालको बेस क्याम्प र त्यसभन्दा माथिको क्षेत्रमा सफाइ गरेर ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य यस पटक राखिएको छ ।

    यो अभियानमा सेनालाई वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यु एसोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समितिले साथ दिने छन् ।

    अभियान जेठ २२ मा सकिने छ । यस दिन विश्व वातावरण दिवस परेको छ । सेनाले संकलन गरेको फोहर मध्ये नसड्ने फोहोर हेलिकप्टर र गाडीमार्फत काठमाडौं ल्याई व्यवस्थपन गरिने भएको छ । अभियानमा नेपाली सेनाका ४३ जना आरोही र शेर्पा सहयोगी खटिने नेपाली संचारमाध्यमले जनाएका छन् ।

  • आइपीएल : हैदरावादलाई हराउँदै कोलकाताको विजयी शुरुवात

    आइपीएल : हैदरावादलाई हराउँदै कोलकाताको विजयी शुरुवात

    चेन्नाई । भारतमा जारी १४ औं संस्करणको आइपीएलमा कोलकाता नाइट राइडर्सले विजयी शुरुवात गरेको छ । आइतबार राती सम्पन्न खेलमा कोलकाताले हैदरावादलाई १० रनले हरायो । चेन्नाईको एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १८७ रन जोडेको थियो । उसका लागि नितिश राना र राहुल त्रिपाठीको अर्धशतक बताए ।

    कोलकाताले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा हैदारावादले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र जोड्न सक्यो हैदरावादका लागि मनिस पाण्डे र जोनी बेयर्स्टोले अर्धशतक प्रहार गरे । तर, अन्य ब्याट्म्यान चल्न नसक्दा कोलकाताले खेल जित्यो ।

  • चितवनमा ट्याक्टर दुर्घटना, कम्तिमा ५ को मृत्यु

    चितवनमा ट्याक्टर दुर्घटना, कम्तिमा ५ को मृत्यु

    चितवन । चितवनमा आइतबार साँझ ट्याक्टर दुर्घटनामा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार राप्तीमा वडा कार्यालयको भवन ढलान गरेर फर्किएका कामदार चढेको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको र एक दर्जन भन्दा बढी व्यक्ति घाइते रहेको बताइएको छ ।

    आँपपानीमा रहेको राप्ती नगरपालिकाको वडा नम्बर–११ को भवन ढलान गरेर फर्किएका कामदार दुर्घटनामा परेका छन् ।ना १ त ६२८२ नम्बरको ट्याक्टर चिउडे खोलामा दुर्घटनाग्रस्त भएको हो । ट्याक्टर सडकबाट २०० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकि रहेको छ

  • काठमाडौं नयाँ बसपार्कको गेष्टहाउसमा युवक मृत फेला

    काठमाडौं नयाँ बसपार्कको गेष्टहाउसमा युवक मृत फेला

    काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेष्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार गोङ्गबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको छ ।

    शनिबार राति १० बजे गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको थियो । नागरिकताको आधारमा मृतकको परिचय खुलेको हो । शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

    प्रहरीले कोठामा घर्तिसँगै बसेका राजकुमार गाहा र झक्कुराम बस्नेतलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । गेष्टहाउसमा सँगै बसेका दुई जना शनिबार राती नै उपत्यकाबाट भागेको र बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • फुजेल हत्याकाण्डका १२ आरोपितले उच्च अदालतबाट पनि पाए सफाई

    फुजेल हत्याकाण्डका १२ आरोपितले उच्च अदालतबाट पनि पाए सफाई

    हेटौडा । फुजेल हत्याकाण्डका रुपमा परिचित गोरखाका कृष्ण प्रसाद अधिकारीको हत्या अभियोग लागेका १२ जनाले उच्च अदालतबाट समेत सफाई पाएका छन् । यसअघि उनीहरुले जिल्ला अदालत चितवनबाट सफाई पाएका थिए । २०६१ सालमा कृष्णप्रसादको हत्या चितवनमा भएको हो ।

    उनको हत्या तत्कालिन द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अपहरणपछि गरेको आरोप लागेको थियो । आफ्नो छोराको हत्यापछि जाहेरी दिन गंगामाया र नन्दप्रसादले लामो समय अनसन बस्नु परेको थियो ।


    २०७० चैत ३० मा चितवन जिल्ला अदालतमा एक दर्जन तत्कालिन माओवादी कार्यकर्ताविरुद्ध मुद्दा दायर भएको थियो । कुल १३ जनाविरूद्ध मुद्दा दायर भएकोमा एकजना फरार रहेको भन्दै मुद्दा मुल्तवीमा राखिएको थियो। अनसनकै क्रममा नन्दप्रसादको पाँच वर्ष अगाडी नै मृत्यु भइसकेको छ ।

    उनको दाहसंस्कार गर्न भने श्रीमती गंगामायाले मानेकी छैनन् । उनी पनि छोराका हत्यारालाई कारबाही माग गर्न भन्दै अहिले आमरन अनसनमा छिन्। नन्दप्रसादको शव अहिले शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

    जाहेरीपछि प्रहरीले अगाडी बढाएको मुद्दामा जिल्ला अदालत चितवनले साढे २ वर्षअघि सबै प्रतिवादीलाई सफाइ दिएको थियो। सो मुद्दामा आज सुनुवाई गर्दै आइतबार उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेको हो ।

    अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा हुँदा आरोपित प्रतिवादीउपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार नदेखिने भन्ने चितवन जिल्ला अदालतको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेको हो ।

    घटनाका प्रतिवादी गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाएका छन् ।

  • नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ८० हजार नाघ्यो

    नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ८० हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १४१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७७ हजार २७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या २ हजार ९ सय २९ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०४० पुगेको छ ।

  • शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग

    शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग

    काठमाडौं । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ।

    बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो निभाउन सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर प्रयोग गरिएको हो । हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि आगलानी नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

    डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

    काठमाडौं दुई वटा दमकल गएर नियन्त्रणको प्रयास गरे पनि डढेलो सडकभन्दा धेरै माथि पुगेकाले सफल हुन नसकेपछि दमकल फर्किएका छन् ।

  • कहिले हुँदैछ राजकुमार फिलिपको अन्तिम संस्कार ?

    कहिले हुँदैछ राजकुमार फिलिपको अन्तिम संस्कार ?

    लण्डन । बेलायती महारानी एलिज़ाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको अन्तिम संस्कारको तयारी शुरु गरिएको छ । यद्दपी उनको अन्तिम संस्कारको साइत भने १७ अप्रिलमा तोकिएको छ । उनको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको हो ।

    बीबीसीका अनुसार बकिंगघम दरवारले विंडसर कास्टलमा उनको अन्तिम संस्कारको तयारी छ । दरवारले आफ्ना सबैभन्दा प्रिय अविभावकको संस्झनामा एक औपचारिक कार्यक्रमको आयोजना गर्नेछ ।

    ब्रिटिश सरकारले संस्कार हुने दिन राष्ट्रिय घण्डा बिहान ८ बजेसम्म आधा झुकाउने घोषणा गरिसकेको छ । तर, महामारी रहेको दरबारमा रहने राजसंस्थाको झण्डा भने आधा फहरिने छैन ।

    Photo: Dominic Lipinski/PA Wire

    किनकी यो झण्डालाई राजसंस्थाको सम्प्रभुताको प्रतिक मानिन्छ । शनिवार दिउँसो फिलिपको सम्मानमा तोपको सलामी दिइएको छ । एडिनबरा, कार्डिफ़, लण्डन, उत्तरी आयरल्याण्ड, डेवनपोर्टलगायतमा त्यहाँको सेनाले प्रत्येक मिनेटमा एक हवाई फायर गरेको थियो । यो क्रम ४० मिनेटसम्म जारी राखिएको थियो ।

    फ़िलिपले द्वितीय विश्व युद्धमा नौसेना अधिकारीका रुपमा भाग समेत लिएका थिए । बेलायतमा आगामी महिना आम निर्वाचन चलिरहेको छ । राजकुमार फ़िलिपको सम्मानमा बेलायत, स्कटल्याण्ड र वेल्समा चुनावी अभियान रोकिएको छ ।

    बृटिस संसदले सोमबार राजकुमारलाई अन्तिम सम्मान प्रदान गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारीका बीच आफ्ना प्रिय राजकुमारलाई जनताले भने एकिकृत भई अन्तिम बिदाई गर्न पाउने सम्भावना कम छ ।

    Photo : Press Association

    अहिले दरवारको बाहिर मानिसहरुले फुल ल्याएर राखिरहेका छन् । शाही परिवारले यसो नगर्न समेत आग्रह गरेको छ । यसले कोरोनाको जोखिम जनतामा अझ बढ्ने चिन्ता दरवारको छ ।

  • आज घोडे जात्र पर्व मनाईंदै

    आज घोडे जात्र पर्व मनाईंदै

    काठमाडौं । नेपालमा आज घोडे जात्रा पर्व मनाईंदै छ । हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्छ । यस दिनको उपलक्ष्यमा नेपाली सेनाले विशेष कार्यक्रम तथा प्रदर्शनी आयोजना गर्छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै एक तिहाइ पाहुनालाई मात्र बोलाएर कार्यक्रम गर्न लागिएको सेनाले जानकारी गराएको छ ।

    राष्ट्रपतिसहित उच्च पदस्थ अधिकारी घोडेजात्रा अवलोकनमा पुग्ने छन् । किंवदन्तीअनुसार काठमाडौंको टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खान्थ्यो । पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर राक्षसलाई मारेका थिए ।

    राक्षसको प्रेतात्मा फेरि जागेर बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरहेपछि हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनविश्वास छ ।

    राससका अनुसार शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा समेत दिने प्रचलन रहेको छ ।

  • सिराहामा गोली हानेर एक जनाको हत्या

    सिराहामा गोली हानेर एक जनाको हत्या

    सिराहा । सिराहामा गोली हानेर एक जनाको हत्या गरिएको छ । प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार लहान नगरपालिका वडा नम्बर २३ वरियार चोकमा गतराती १ बजे गोली चलेको हो । गोली प्रहारबाट स्थानीय प्रदीप विश्वकर्माको मृत्यु भएको छ ।

    उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । उनीमाथि गोली र खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनकी श्रीमती घाइते अवस्थामा भेटिएकी छिन् ।

    जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार श्रीमतीको हातमा चोट देखिएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्रेको छ । लहान नगरपालिका वडा नम्बर ७ का रामकृष्ण चौचरी र सूर्य सहनी पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • आइपीएल : दिल्ली सामु चेन्नई निरिह

    आइपीएल : दिल्ली सामु चेन्नई निरिह

    मुम्बई । १४ औं संस्करणको आइपीएलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्समाथि रवाफिलो जित दर्ता गरेको छ । ओपनरद्वय शिखर धवन र पृथ्वी शको उत्कृष्ट ब्याटिङको मद्दतमा दिल्ली चम्किएको हो । शनिबार राती सम्पन्न खेलमा चेन्नईमाथि दिल्लीले ७ विकेटको जित निकाल्न सफल भयो ।

    पहिले ब्याटिंग गरेको चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै दिल्लीले पूरा गरेको हो । दिल्लीका लागि शिखर धवनको नाममा सर्वाधिक ८५ रनको योगदान रह्यो ।

    पृथ्वी शले ३८ बलमा ७२ रन जोडे । मुम्बईको वाङखडे स्टेडियममा भएको खेलमा चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । चेन्नाईको लागि सुरेश रैनाले सर्वाधिक ५४ रन बनाए । मोइन अलीको नाममा ३६ रन रह्यो ।

  • नेपालमा ७५२ गैंडा, पाँच वर्षमा १०७ ले बढे

    नेपालमा ७५२ गैंडा, पाँच वर्षमा १०७ ले बढे

    काठमाडौं । नेपालमा पछिल्लो ५ वर्षको अवधिमा १ सय ७ वटा गैंडा बढेको पाइएको छ । गैंडा गणनाको नतिजा सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी गराएको हो । अब नेपालमा गैंडाको कुल संख्या ७ सय ५२ पुगेको छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

    शुक्रबार सम्पन्न भई शनिबार सार्वजनिक विवरण अनुसार अहिले चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी गैंडा फेला परेका छन् । यहाँ ६ सय ९४ वटा गैंडा भेटिए । बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ वटा र पर्सा वन्यजन्तु आरक्षमा तीन वटा गैंडा भेटिएका छन् ।

    यस वर्ष ९ चैतबाट गैंडा गणना थालिएको हो । सन् २०१५ मा भएको गणनापछि एक सय ६१ वटा गैंडा भने विभिन्न कारणले मरेका छन् । गैंडाको मृत्युदर यो वर्ष बढी रहेको छ ।

  • विपुल पोखरेल  नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित

    विपुल पोखरेल नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित

    काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल निर्वाचित भएका छन् । केन्द्रमा काठमाडौं जिल्लाको निर्णायक भोट गणना सकिएसँगै उनी निर्वाचित भएका हुन् । तर, नुवाकोटसहित विभिन्न ५ जिल्लामा विवादका कारण मत आउन बाँकी छ । सोहीकारण औपचारिक घोषणा गरिएको छैन ।

    महासंघमा पोखरेलको प्यानल नै विजयी भएको छ । सोही अनुसार महासंघको महासचिवमा रोशन पुरी निर्वाचित भएका छन् ।

    ती जिल्लामा थोरै मत रहेको र काठमाडौंको मत गणना पुरा भइसक्दा पोखरेलको अग्रता २ हजार १ सयभन्दा बढीको भइसकेका कारण उनी निर्वाचित भएका हुन् । आजै औपचारिक घोषणाको तयारी समेत रहेको छ ।

    पोखरेल नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीको समर्थनमा उमेदवार बनेका हुन् ।

    एमालेको ओली समूह निकट प्रेस चौतारीसहित ९ संगठनको तर्फबाट निर्मला शर्माले अध्यक्षमा दावेदारी दिएकी हुन् । गजेन्द्र बुढाथोकी स्वतन्त्र रुपमा उठेका थिए ।

  • सकियो गैंडा गणना, आज नतिजा सार्वजनिक गरिने

    सकियो गैंडा गणना, आज नतिजा सार्वजनिक गरिने

    चितवन । गैँडा गणना सम्पन्न भएसँगै आज नतिजा सार्वजनिक गरिने भएको छ । ९ चैतबाट नेपालमा पर्सा राष्ट्रिय निकुञ्जबाट गैंडा गणना थालिएको हो । शुक्रबार गणनाको काम सकिएसँगै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा शुक्रबार गणनाको काम सकिएको हो ।

    ४० मुख्य गणक र २० जना वैकल्पिक गणक खटिएर यस वर्ष गैंडा गणना गरिएको हो । नेपालमा प्रत्येक पाँच वर्षमा गैंडा गणना गर्ने प्रचलन रहेको छ । यो वर्ष कोरोना महामारीका बीच एक वर्ष ढिला गरि गैंडा गणना भएको हो । नेपालमा यसअघि सन् २०१५ मा गैंडा गणना भएको हो ।

    निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक, एक गरी गैंडा गनेका हुन् । गैंडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैंडा गणना गरिन्छ । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापन हुने गरिएको छ । सन् २०१५ मा कूल ६४५ वटा गैंडा भेटिएका थिए । यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति खटिएका हुन् ।

  • बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिपको निधन

    बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिपको निधन

    लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार बकिङ्घम राजदरबारले आज एक अप्रिय खबरको पुष्टी गरेको हो । राजकुमार फिलिप बिरामी थिए । उनी अस्पतालमा भर्ना भएका थिए ।

    बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेको उल्लेख छ ।

    राजकुमारी एलिजाबेथ र फिलिपबीच सन् १९४७ मा बिवाह भएको हो । यो एलिजाबेथले राजगद्दी सम्हाल्नु पाँच वर्ष अगाडि थियो। शुक्रबार बिहान विन्डसर क्यासलमा उनको निधन भएको बीबीसीले लेखेको छ ।

    File Photo by: zz/KGC-178/STAR MAX/IPx 2017

    राजकुमार फिलिप र महारानी एलिजाबेथका चार सन्तान, आठ नातिनातिनी छन् र १० जना पनातिपनातिनी छन्। उनीहरूका छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मेका हुन् ।

    राजकुमारी एनएस १९५० जन्मेकी हुन् । ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए । अर्ल अफ वेसेक्स प्रिन्स एडवार्ड सन् १९६४ मा जन्मेको बीबीसीले लेखेको छ ।

    प्रिन्स फिलिप ग्रीसको कोर्फु द्वीपमा १० जुन सन् १९२१ मा जन्मिएका थिए। उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा हुन् । उनकी आमा, राजकुमारी एलिस, लर्ड लुइ अफ ब्याटनबर्गकी छोरी र रानी भिक्टोरियाका पनातिनी थिइन्। महारानीका पतिको रूपमा उनलाई कुनै पनि संवैधानिक हैसियत भने थिएन।

  • देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव

    देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नयाँ सरकार गठनको पहल शुरु गरेको छ । आज नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का उच्च नेतासँग भेट गर्दै कांग्रेस सभापति शेर बहादुर देउवाले औपचारिक रुपमा सत्ता गठबन्धनको प्रस्ताव राखेका हुन् ।

    देउवाले आज आफ्नो निवासमा तीन दलको बैठक बोलाएका थिए । नेताहरुका अनुसार उनले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन् । प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक जवाफ दिएको छ । उता, जसपा भने आज समेत अनिर्णित बनेको छ ।

    जसपाका केही नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वासन दिएका कारण जसपाले छलफलका लागि भन्दै समय मागेको छ । प्रतिनिधिसभा पुनस्र्थापना पछि प्रधानमन्त्रीले स्वतः राजिनामा दिने अपेक्षा गरेका अन्य दल उनले सत्ता नछाड्ने बरु अझ बलियो बन्ने रणनीति अपनाएपछि नयाँ गठबन्धनको तयारी भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी भएको र राज्यसत्ता कब्जा गर्न खोजेको र यस्ता सरकारले लोकतान्त्रिक चुनाव गराउन नसक्ने भन्दै देउवाले आजको बैठकमा कांग्रेसको नेतृत्वमा तीन दलको सरकार बनाउने प्रस्ताव राखेको नेताहरुले बताएका छन् ।

    आजको बैठकमा कांग्रेसका सबै पदाधिकारी सहभागी भएका छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भए । जसपाबाट संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी भए ।

  • नेपालमा थप २८८ जनामा कोरोना संक्रमण, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप २८८ जनामा कोरोना संक्रमण, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार ७१ जनाको पीसीआर परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ७३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या २ हजार ६ सय १५ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ ।

  • नेपालमा कोरोनाको दोस्रो लहर: विद्यालयसहित २५ जना बढी जम्मा हुने क्षेत्र बन्द गर्ने तयारी

    नेपालमा कोरोनाको दोस्रो लहर: विद्यालयसहित २५ जना बढी जम्मा हुने क्षेत्र बन्द गर्ने तयारी

    काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संस्या ह्वात्तै बढेपछि नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।

    पछिल्ला केही दिनयता नेपालभर संक्रमणको दर बढ्दै गएको छ। बिहीबार मात्रै तीन महिनायताकै धेरै ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    केही दिनयता देखिएका संक्रमितहरु बेलायतको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको मन्त्रालयले जनाएको छ।

    कोरोना रोकथामको लागि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।

    पछिल्लो समय विद्यार्थीमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आग्रह गरेको हो ।

    दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ।

    पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

    त्यसैले भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो ।

    सिफारिसमा सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस बन्द र स्विमिङ पुल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ।

    सरकारले दोस्रो चरणको कोरोना फैलिन नदिन विद्यालयसहित अन्य सार्वजनिक क्षेत्र पनि बन्द तयारी गरेको हो। केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित पठनपाठन सञ्चालन हुँदै आएको छ ।

    केही महिनादेखि विद्यालय र कलेज भौतिक उपस्थितिमा नै खुलिरहेका छन्। पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा भीड देखिन थालेको छ।