Category: समाचार

  • सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड,१२ लाख ९० हजारको हात खाली

    सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड,१२ लाख ९० हजारको हात खाली

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा शुक्रबार बिहान ११ बजे आइपीओ बाँडफाँड भएको हो ।

    कम्पनीले चैत्त ६ देखि १० गतेसम्मका १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

    क्यापिटलका अनुसार गोलप्रथाबाट भाग्यमानी २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको छ।

    आइपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको मेघा क्यापिटलले जनाएको छ । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो।

    त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

    कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।

    कम्पनीले हाल दोलखामा २५ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ५ अर्ब ५० करोड रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ ।

    यसरी हेर्नुहोस् नतिजा

    आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती पर्ने गरेको छ । यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ ।

    लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

    नतिजा सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक मेगा क्यापिटल र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट पनि हेर्न पाइनेछ ।

    भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्न बताइएको छ । यद्यपी रिजल्ट हेर्न मिल्ने गरी उपलब्ध गराइएका वेवसाइटहरु नतिजा अगाडि नै खुल्न समस्या देखिन थालिसकेकाले लगानीकर्ताले नतिजाका लागि भने सअज रुपमा हेर्न पाउने अवस्था देखिएको छैन ।

  • पत्रकार महासंघ निर्वाचन : पोखरेलको अग्रता कायमै, नतिजा आउन ढिलाई

    पत्रकार महासंघ निर्वाचन : पोखरेलको अग्रता कायमै, नतिजा आउन ढिलाई

    काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वको लागि बुधवार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अध्यक्षका प्रत्यासी विपुल पोखरेलको अग्रता कायम छ । ७७ वटा जिल्लासहित केन्द्र स्तरमा भएको निर्वाचनको ६० जिल्लाको नतिजा आइसकेको छ । जसमा पोखरेलले आफ्ना प्रतिस्पर्धी निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई उछिनेका छन् ।

    काठमाडौं, ललितपुरसहितका जिल्लाको नतिजामा कांग्रेस, माओवादी केन्द्र र एमाले (नेपाल) समुह निकट पत्रकारहरुको गठबन्धन वियजी भएको छ । यही नतिजा केन्द्रमा समेत देखिएको छ । सबैभन्दा धेरै मत काठमाडौं जिल्लाबाट परेको छ । यहाँ १२ सय ३४ मत खसेको थियो । यो भोट निर्णायक मानिन्छ । सबै नतिजा आउन भने अझै एक दिन लाग्न सक्ने अनुमान छ । बुधबार ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको छ ।

  • राष्ट्रिय जनमोर्चाको अध्यक्ष पुनः चित्रबहादुर केसी

    राष्ट्रिय जनमोर्चाको अध्यक्ष पुनः चित्रबहादुर केसी

    बुटवल । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रबहादुर केसी पुनः निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । नयाँ नेतृत्व चयन गर्दै बिहीबार राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन सम्पन्न भएको पार्टीले जनाएको छ ।

    केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले उल्लेख गरेको छ ।

    राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधि सभा सांसद दुर्गा पौडेल निर्वाचित भएकी छिन् । सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन्।

    सम्मेलबाट केन्द्रीय सदस्यहरूमा शंकर बराल,लालबहादुर थापा,कृष्ण बहादुर खड्का,कमला जिसी,कल्याणी श्रेष्ठ, रत्न बिक्रम प्यासी राना,तारा थापा,नन्दराज भट्ट,डम्बर पुरी,लालबहादुर जाग्री,सोमकुमार कार्की,राजेन्द्र ढुङ्गाना र घनश्याम न्यौपानेलाई निर्वाचित गरेको छ ।

    यसैगरी झविलाल थापा, पियारी थापा,ईन्दिरा ज्ञवाली ,यमलाल पोखरेल,मञ्जु परियार,लक्ष्मी केसी,सुधा शर्मा,देवी शर्मा,लिलादेबी शर्मा,दिलबहादुर दर्जी,चन्द्रा परियार, भागिरथ भट्टराई,दिपक पाण्डे र पदमा पण्डित निर्वाचित भएका छन् ।

    साथै, नारायण जिसी,रामकुमार क्षेत्री, गिरी प्रसाद वुडा,गौरीश्वर पाण्डे,धर्मान्द सुवेदी,चिन्ता मणी पौडेल, हेम कुमार गुरूङ,अमृत पाण्डे,गणेश आचार्य,कमलविक्रम शाही,उदय नारायण चौधरी,सुवर्ण विक्रम थापा विजयी भएका हुन् ।

    हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको थियो। सम्मेलनबाट राजनीतिक सांगठनिक प्रतिवेदन समेत सर्वसम्मतले पास भएको छ ।

  • कोभिड महामारीसँग लड्न नेपालले लियो ६१ अर्ब वैदेशिक सहयोग

    कोभिड महामारीसँग लड्न नेपालले लियो ६१ अर्ब वैदेशिक सहयोग

    काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण तथा आर्थिक क्षति न्यूनिकरण गर्न नेपालले गत आर्थिक वर्ष २०७६\७७ मा ६१ अर्ब रुपैयाँ वैदेशिक सहयोग लिएको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार महामारीसँग जुध्न नेपालले ६० अर्ब ५३ करोड रुपैयाँ भन्दा बढी (५१ करोड ३० लाख अमेरिकी डलर) सहायता लिएको छ ।

    यो वर्ष सरकारले कुल कुल २ अर्ब २८ लाख अमेरिकी डलर (२ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ) वैदेशिक सहायता प्राप्त गरेकोमा त्यसको २५ प्रतिशत भन्दा बढी कोरोनासँग सम्बन्धित रहेको देखिएको छ । मन्त्रालयका अनुसार कोभिड १९ को महामारीबाट जुध्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ५५ लाख अमेरिकी डलर बराबर खर्च भएको देखिएको छ ।

    यसअवधिमा एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्त कोष, अमेरिका, यूरोपेली यूनियन र विश्व बैंकबाट मात्र कुल ९४.४ प्रतिशत सहयोग आएको छ । कोभिड १९विरुद्ध खर्च गर्न आएको कुल रकममध्ये ९१ प्रतिशत रकम ऋण हो ।

  • शुक्रबार कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

    शुक्रबार कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

    काठमाडौं । नयाँ सरकार गठन गर्ने पहल पार्टीबाट भएको लामो समयसम्म मौन बसेका कांग्रेस सभापति शेर बहादुर देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका छन् । देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएको बताइएको छ ।

    उनले यो बैठकमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा दुबै दलसँग राय माग्ने तयारी गरेका छन् । कांग्रेस र जसपाले निर्णय नगरेका कारण माोवादी केन्द्रले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन हच्किरहेको छ ।

    माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न यसअघि नै सहमत छ । जसपामा भने दुई मत रहेको छ । नयाँ सरकार गठनको प्रक्रिया अगाडी नबढ्ने हो भने माओवादी सरकार छाडेर बाहिरिने तयारीमा रहेको छ ।

  • ८ जिल्लाका सीडीओ सहित सह–सचिव र उप–सचिवको सरुवा

    ८ जिल्लाका सीडीओ सहित सह–सचिव र उप–सचिवको सरुवा

    काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको गृहमन्त्री स्तरीय बैठकले प्रजिअसहित सह–सचिव र उप–सचिवको सरुवा गरेका हो । बैठकको निर्णय अनुसार अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।

    सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । लमजुङको प्रजिअमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ । बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्रदेव पाण्डेलाई बैतडीको प्रजिअ, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रजिअ तोकिएको छ ।

    उप–सचिव रामबहादुर कुरुङवाङलाई ईलाका प्रहरी कार्यालय टिकापुर सरुवा गरिएको छ । गोपालकुमार अधिकारीलाई बाजुरा पठाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील बैधलाई पठाइएको छ ।

  • नेपालमा एकैदिन ३३२ जना संक्रमित थपिए, ७९ जना डिस्चार्ज

    नेपालमा एकैदिन ३३२ जना संक्रमित थपिए, ७९ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार ६ जनाको पीसीआर परीक्षणमा ३३२ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७९हजार १ सय पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ६०८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५४ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ ।

  • जनजीवन ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ, बेसार–पानी खानूस्ः प्रधानमन्त्री

    जनजीवन ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ, बेसार–पानी खानूस्ः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

    बिहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दै गइरहेकाले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताएका हुन् ।

    ‘मास्क लगाउने, हात धुने, घरबाहिर खाना नखाने र बेसार पानी खानुपर्छ । हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ,’ उनले भने ।

    प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए। कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको बताए।

    उनले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं। पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहिंबाट फालिदिएपछि चैट। नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ।

    अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही पर्सेन्ट (प्रतिशत) सुरक्षित गर्ने हो केही पर्सेन्ट बाँकी रहन्छ त्यही केही पर्सेन्ट भित्र परियो भने गैगयो नी। त्यसकारण पूर्ण भन्ने कुरा सत प्रतिशत केहीपनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ।’

  • एमाले प्रवेश गरेका चार मन्‍त्रीको सांसद पद खोसियो

    एमाले प्रवेश गरेका चार मन्‍त्रीको सांसद पद खोसियो

    काठमाडौं । माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका चार जना सांसदको पद खोसिएको छ । माओवादी केन्द्र त्याग गरेका सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीको सांसद पद खारेज भएको हो ।

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र अनुसार उनीहरूले दल त्याग गरेको सूचना सुनाएर पढेर सुनाएका छन् ।

    ओली सरकारमा रहेका उर्जामन्त्री रायमाझी, आपूर्तिमन्त्री भट्ट, सहरी विकासमन्त्री साह र श्रममन्त्री चौधरीलाई फिर्ता बोलाउँदै पार्टीले स्पष्टिकरणसमेत सोधेको थियो ।

    माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई पत्र लेखेर उनीहरूले दल त्याग गरेको जानकारी गराएका थिए ।

  • पत्रकार महासंघ निर्वाचन : पोखरेल प्यानललाई प्रारम्भिक अग्रता

    पत्रकार महासंघ निर्वाचन : पोखरेल प्यानललाई प्रारम्भिक अग्रता

    काठमाडौं । नेपाल पत्रकार महासंघको सबै तहको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । मतदान बुधबार सकिएको थियो । आज बिहानैबाट जिल्ला स्तरमा नतिजा आउने क्रम शुरु छ ।

    जिल्लास्थित पत्रकार महासंघ निर्वाचन कार्यालयले जनाए अनुसार धेरैजसो जिल्लामा विपुल पोखरेल प्यानलको अग्रता रहेको छ । यो प्यानलमा कांग्रेस, माओवादी र एमाले (नेपाल) समुह संयुक्त रुपमा निर्वाचन लडेको हो । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको एमाले निकट पत्रकारको प्रतिनिधित्व गर्दै निर्मला शर्मा अध्यक्षको प्रतिस्पर्धी रहेकी छिन् ।


    पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एसोसियटमा निर्वाचन भएको हो । यो पटक पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएसँगै केन्द्रित नेतृत्वका लागि समेत सबै पत्रकारले प्रत्यक्ष भोट हाल्न पाएका छन् । १३ हजार मतदाता मध्ये ९२ प्रतिशतले भोट हालेको पाइएको छ । महासंघको नेतृत्वको कार्यकाल तीन वर्षे रहेको छ ।

  • नेपालमा शान्तीपूर्ण प्रदर्शनमा समेत अधिक बल प्रयोग हुने प्रतिवेदनको निष्कर्ष

    नेपालमा शान्तीपूर्ण प्रदर्शनमा समेत अधिक बल प्रयोग हुने प्रतिवेदनको निष्कर्ष

    काठमाडौं । नेपालमा शान्तीपूर्ण प्रदर्शनमा समेत सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्ने गरेको पाइएको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यस्तो पाइएको हो । नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा पनि अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

    एम्नेस्टी इन्टरनेसनलले बुधबार सन् २०२०, २१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । नेपालमा आयोजना भएका शान्तिपूर्ण प्रदर्शनमा प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्यधिक बल प्रयोग गरी हिरासतमा लिने गरेको देखिएको छ ।

    नेपाल सरकारले ‘नेपाल विशेष सेवा विधेयक’ मार्फत न्यायिक अनुमति विना व्यक्तिको गोप्य जानकारी लिने व्यवस्था गर्न खोजेको समेत जनाइएको छ । यो विधेयक भने अहिले संसदमा विचाराधिन अवस्थामा रहेको छ ।

    सूचना तथा सञ्चार मन्त्रालयले पर्याप्त कानूनी सुरक्षा विना नै अधिकारीहरुलाई व्यक्ति तथा संस्थामाथि निगरानी गर्ने, सूचना सङ्कलन र अभिलेख गर्ने गरी फराकिलो अधिकार दिने प्रावधानसहितको दूरसञ्चारसम्बन्धी विधेयक मस्यौदा तयार पार्दै अधिकार संकुचनमा पार्न खोजेको समेत प्रतिवेदनले जनाएको छ ।


    यसका साथै आमसञ्चार विधेयक, मिडिया काउन्सिल विधेयक र सूचनाप्रविधि विधेयकमा संशोधन नभए नागरिकको अभिव्यक्ति स्वतन्त्रता समेत संकुचन हुने बताइएको छ ।

    कोभिड–१९ का कारण बन्दाबन्दी लागू भएपछि विदेशमा अलपत्र परेका लाखौं नेपाली आप्रवासी श्रमिकको अधिकार संरक्षण गर्न सरकार विफल भएको समेत जनाएको छ ।

    गत जुलाईमा अग्रिम सूचना नदिइकनै चितवन निकुञ्जका अधिकारीहरुले दुईवटा घरमा आगो लगाउँदै र हात्ती प्रयोग गरी अन्य आठवटा घर ध्वस्त पारेको घटनालाई समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

  • घट्यो अर्बपति विनोद चौधरीको सम्पत्ति

    घट्यो अर्बपति विनोद चौधरीको सम्पत्ति

    काठमाडौं । फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरीको सम्पत्ति घटेको छ । फोर्ब्सले सार्वजनिक गरेको धनाढ्यको सूचीमा चौधरीको स्थान २१४१ स्थानमा पुगेको छ ।

    अघिल्लो वर्ष उनको स्थान १५१३ औं रहेको थियो । यो वर्ष उनको सम्पत्ति १.४ अर्ब अमेरिकी डलर रहेको देखिएको छ । सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर रहेको थियो ।

    कोरोना महामारीका बीचमा त्यसपछि भने उनको सम्पत्तिमा ह्रास आएको देखिएको छ । उनी सन् २०१३ देखि फोर्ब्सको सूचीमा अट्न थालेका हुन् । त्यसबेला उनको सम्पत्ति एक अर्ब अमेरिकी डलर रहेको थियो।


    चौधरी सिजी कर्प ग्लोबलका सञ्‍चालक हुन् । नेपालको नम्बर वान नबिल बैंकमा उनको लगानी रहेको छ । सिजी फुडबाट समेत उनले आफ्नो पहिचान स्थापित गरेका छन् ।

  • रात्रिकालिन व्यवसाय ९ बजेपछि खोल्न नपाइने

    रात्रिकालिन व्यवसाय ९ बजेपछि खोल्न नपाइने

    काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय र रेष्टुरेन्टको खोल्न पाउने अवधि ९ बजे साँझ तोकेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

    मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार एक सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन समेत सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।

    उनका अनुसार कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

    ठूला शहरहरुमा ५०० भन्दा बढी र साना शहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन भनेको छ । बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन मन्त्रालयले आह्वान गरेको छ ।

  • नेपालमा आजबाट चिनियाँ खोप लगाउने अभियान शुरु

    नेपालमा आजबाट चिनियाँ खोप लगाउने अभियान शुरु

    काठमाडौं । नेपालमा आजबाट चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिदैंछ । खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ स्वास्थ्य संस्थालाई केन्द्र तोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगल बाट लगाउन सकिने भएको छ ।

    त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट पनि यो खोप लगाइने छ ।

    चिनियाँ अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी र प्राध्यापकसहितका व्यक्तिले लगाउन सक्ने भएका छन् । यसका उमेर समुह तोकिएको छैन ।

  • लायन्स क्लबका पूर्व गभर्नर भेटुवाल “ वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन युके स्टार २०२१ ” बाट सम्मानित

    लायन्स क्लबका पूर्व गभर्नर भेटुवाल “ वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन युके स्टार २०२१ ” बाट सम्मानित

    काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का पूर्व गभर्नर एंव हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन युके स्टार २०२१ बाट सम्मानित भएका छन् ।

    उनलाई कोरोना महामारीको बिचमा लायन्स आइसोलेसन केन्द्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुको साथै लायन्स फुड बैंक स्थापना गरि निशुल्क खाना वितरण लगायतको थुप्रै सामाजिक तथा मानवीय सेवामा पुर्‍याएको योगदानको कदर गर्दै वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन युके स्टार २०२१ बाट सम्मान गरिएको हो । चैत २१ गते आइतबार लायन्स क्लब अफ काठमाडौं क्रिएटिभ युथ द्वारा ललितपुर महालक्ष्मीस्थान स्थित डीलाइट पार्टी भेन्युमा आयोजित एक कार्यक्रममा उनलाई उक्त सम्मान गरिएको हो । संस्थाका अध्यक्ष सन्तोष शुक्लाले भेटुवाललाई सम्मान गरेका थिए । सम्मान पश्चात बोल्दै भेटुवालले सेवा गर्नको लागि नै लायन्समा आवद्द भएको जानकरी दिदैं सम्मानको लागि धन्यबाद दिएका छन्।

    उनले उक्त सम्मानले थप सामाजिक तथा मानवीय सेवाका कार्य गर्न प्रेरणा मिलेको भन्दै सो सम्मानको हकदार आफु मात्र नभई सम्पूर्ण सेवा गर्छु भनेर लागेका लायन्स लिडर सदस्यहरुको साथै सो कार्यमा सहयोग गर्ने सबैमा समर्पित भएको बताएका थिए।उनले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराको साथमा काम गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने बताएका छन्।
    भेटुवालले विदेशमा आँखा बैंक, रगत बैंक जस्तै छाला बैंक पनि हुन्छन् जसबाट छालाका रोग भएका तथा आगोबाट जलेका मानिसको उपचार गर्न सजिलो हुन्छ। नेपालमा पनि लायन्स क्लबले स्किन बैंक स्थापना गरेको हुँदा छाला दान गर्नको लागि अनुरोध गरेका छन्।आगोले जलेकाहरूको उपचारका लागि छाला आवश्यक पर्छ । समयमा छाला नपाउँदा इन्फेक्सन भएर कतिपय बिरामीको मृत्यु सम्म हुने गरेको छ,’ भेटुवालले भने, ‘भारत पुगेर छाला ल्याउँदा डेढदेखि चार लाख रुपैयाँसम्म खर्च हुन्छ ।छाला किन्न मुम्बई सम्म जाँदा–आउँदा बिरामीका आफन्तले अनावश्यक खर्च गर्नु परिरहेको छ। सो समस्याको समाधानकाको लागि लायन्स क्लबले काठमाडौंको कीर्तिपुरमा ‘लायन्स स्किन बैंक’ स्थापना गरेको जानकारी दिएका थिए ।

    पर्याप्त जनचेतना नभएका कारण छाला दान गर्नेको संख्या बढ्न नसकेको बताउदै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक–३२५ ए १ ले विभिन्न स्थानमा सचेनता फैलाउँदै हिँडेपछि पछिल्लो समय धेरैले छाला दानका लागि नाम टिपाएको उनले बताएका थिए । ‘‘छाला दान, जीवनदान” को नयाँ अवधारणाका साथ मृत्युपर्यन्त छाला दान गर्न आह्वान गरेका थिए।

  • नेपालमा थप २६० जनामा कोरोना संक्रमण पुष्टि, ११३ जना डिस्चार्ज

    नेपालमा थप २६० जनामा कोरोना संक्रमण पुष्टि, ११३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएकोपीसीआर परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११३जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ४५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या १ हजार ९ सय ७९ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३६पुगेको छ ।

  • कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

    कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

    काठमाडौं । कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

    नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।

    एमालेबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजीनामा दिएका हुन्। उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

    कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो ।

    यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् ।

  • अष्टलक्ष्मी शाक्यको नेतृत्वमा नेपाल-खनाल पक्षद्वारा समानान्तर कमिटी घोषणा

    अष्टलक्ष्मी शाक्यको नेतृत्वमा नेपाल-खनाल पक्षद्वारा समानान्तर कमिटी घोषणा

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ ।

    मंगलबार काठमाडौँमा बसेको नेपाल–खनाल पक्षको बागमती प्रदेश कमिटीको बैठकले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा समानान्तर प्रदेश समिति घोषणा गरेको हो।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले १७५ सदस्यीय समानान्तर कमिटी बनाएको छ ।

    जसको सहसंयोजकमा केदार न्यौपाने, अरूण न्यौपाने र पशुपति चौलागाई छन् भने सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन्। सचिवमा रचना खड्का रहेकी छन् ।

    बागमती प्रदेशको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन् ।

  • कोरोना खोपको दोस्रो डोज वैशाख ७ बाट लगाईंदै, यस्तो छ तालीका

    कोरोना खोपको दोस्रो डोज वैशाख ७ बाट लगाईंदै, यस्तो छ तालीका

    काठमाडौं । कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका व्यक्तिले ७ वैशाख २०७८ देखि दोस्रो डोज लगाउनु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज वितरण हुने छ ।

    पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप लगाएका व्यक्तिले दोस्रो डोजको खोप लिन सक्ने भएका हुन् । यो खोप भने अहिले सरकारले भण्डारण गरी सुरक्षित राखेको छ । पहिलो चरणमा लगाएको खोपबाहेक अहिले भारतबाट थप खोप आएको छैन ।

    चैत २५ बाट सरकारले चिनियाँ खोप वितरण गर्दैछ । चीनबाट आएको ८ लाख डोजमध्ये पहिलो चरणमा कम्तिमा ४ लाख डोज खोप लगाइने भएको छ । यता, पहिलो चरणमा खोप लगाएका व्यक्तिले दोस्रो चरणका लागि माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने भएको छ । खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म लगाइन सकिने छ ।

    यस्तो छ तालीका

  • पाल्पाको तानसेनमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    पाल्पाको तानसेनमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    पाल्पा । पाल्पाको तानसेनमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटना गएराती साढे १२ बजे भएको हो ।

    दुर्घटनामा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको मृत्यु भएको छ । उनीहरुको युनाईटेड मिसन अस्पताल पाल्पामा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनाको कारण भने पत्ता लागेको छैन ।

  • कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक घाइते

    कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक घाइते

    कैलाली । कैलालीमा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषध भित्रन लागेको सूचनापछि चनाखो बसेको प्रहरीमाथि भारतीय तस्करले गोली चलाएका थिए ।

    त्यसपछि प्रहरीले जवाफी फायर खोलेको स्थानीय संचारमाध्यमले जनाएका छन् । लागुऔषध भित्रन लागेको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरीको ठूलो समुह नाकामा खटिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भाला र पेस्तोलसहित तस्कर आएको सूचना प्रहरी समक्ष पुगेको थियो ।

    तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भएको हो । बब्लु सिंहसहितका तीन जना तस्करबाट एक राउण्ड गोली चलेको बताइएको छ । यो घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएका छन् । अन्य तस्कर भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । बरामद भएको प्रहरीले बताएको छ ।

  • सिक्किममा भूकम्प, पूर्वी नेपालमा धक्का

    सिक्किममा भूकम्प, पूर्वी नेपालमा धक्का

    विराटनगर । भारतको सिक्किममा भूकम्प गएको छ । आज राती ९ बजेर ५ मिनेटमा गएको भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत भएको छ । नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ, संखुवासभासहितका जिल्लामा महसुस गरिएको छ ।

    पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको छ । भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्किममा केन्द्रबिन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । यसको असर भूटान र बिहारसम्म पुगेको छ । भूकम्पको क्षतिबारे थप विवरण आउन बाँकि छ ।

  • ‘सरकारले भन्यो होली नखेल कोरोना सर्छ, प्रधानमन्त्री हजारौँ मानिस राखेर फुटबल हेर्न मिल्ने ?’

    ‘सरकारले भन्यो होली नखेल कोरोना सर्छ, प्रधानमन्त्री हजारौँ मानिस राखेर फुटबल हेर्न मिल्ने ?’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले आफै भिडभाड गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सरकार आफैले आफ्नो नियम उल्लंघन गरिरहेको बताएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई प्रश्न गर्दै सांसद थापाले कोभिड–१९ले सरकार र जनता नछुट्याउनेसमेत प्रष्ट पारे । उनका अनुसार सरकारले आफैले स्वास्थ्य प्रोटोकल उल्लंघन गरेर जनतालाई नियन्त्रण गरिरहेको छ ।

    ‘सरकारले भन्यो होली नखेल, भिडभाड हुन्छ कोरोना सर्न सक्छ । तर, प्रधानमन्त्री त हजारौँ मानिसलाई राखेर फुटबल हेर्न जानुभयो । फुटबल खेल्न हेर्न मिल्ने होली खेल्न नमिल्ने ?’, उनले भने,‘सरकार जनतालाई भन्छ अनावश्यक सभा, सम्मेलन भिडभाड नगर तर सम्माननीय राष्ट्रिपतिबाट धारा खोल्ने, बाल्टिन थाप्ने तमासा भरहेको छ ।’

  • काठमाडौंं संसारकै नम्बर एक प्रदूषित शहर

    काठमाडौंं संसारकै नम्बर एक प्रदूषित शहर

    काठमाडौं । काठमाडौं विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो ।

    एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्सको तथ्याक अनुसार काठमाडौंको एक्यूआई अहिले २४३ रहेको छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।

    एआईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ३०५ पुगेको छ ।

    सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।

    काठमाडौंपछि दोस्रो नम्बरमा म्यानमारको शहर परेको छ । तेस्रोमा भियतनाम र चौथामा पाकिस्तानको लाहोर शहर परेको छ । तथ्याक अनुसार ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

    वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

    यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ ।

    वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत विज्ञहरुले अग्रह गरेका छन् ।

    सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरूको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ ।

    तर पनि गरिब देशमा भने स्थिति झन्भन्दा झन् ह्रासोन्मुख हुँदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरू मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरू पर्दछन् ।

    बढी मात्रामा सवारी साधनको प्रयोगलाई घटाएर ट्राफिक भार कमगर्ने, बटुवाको लागि सडक पेटी राखी विरुवा रोप्ने र साइकलको प्रयोगगरी सवारीको चाप घटाउने गर्नाले यो समस्याको समाधान निस्किने पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    त्यसैगरी तेस्रो विश्वका कतिपय देशहरूमा भने फोहोर व्यवस्थापनको अवस्था कमजोर भएको, फोहोरलाई डढाएर व्यवस्थापन गर्ने तरिका अपनाउँदा त्यसले झनठूलो मात्रामा प्रदूषण बढाएको पाइएको पनि उल्लेख छ ।

  • नेपालमा एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

    नेपालमा एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ४५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ३४२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या चार जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३६पुगेको छ ।

  • काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने, लक्षण देखिएमा पीसीआर परीक्षण

    काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने, लक्षण देखिएमा पीसीआर परीक्षण

    काठमाडौं । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको छ ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा कडाइ गरेको हो । थप कडाइगरेसँगै उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ ।

    अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ।

    नाकामा जोडिएका नगरपालिका र गाउँपालिकामा हेल्थ हेस्क राखिनेछ । त्यसको सबै व्यवस्थापन सरकारले गर्ने निर्णयमा भनिएको छ, एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी पठाउने छ ।

    साथै स्वास्थ्य मापदण्ड पालना नगरे दण्ड जरिवाना समेत गर्ने निर्णयका उल्लेख गरिएको छ ।

    के हो एन्टीजेन परीक्षण ?

    पीसीआर परीक्षणले शरीरमा भाइरसको संक्रमण रहे(नरहेको पहिचान गर्छ भने एन्टीजेन परीक्षणले पनि कोरोनाभाइरस छ कि छैन भनेर नै पहिचान गर्ने हो ।

    पीसीआर परीक्षण गर्नको लागि हामीलाई प्रयोगशाला, विशिष्टीकृत उपकरण, विभिन्न किट, धेरै थरीका जनशक्ति चहिन्छ भने एन्टीजेनमा आधारित परीक्षणमा त्यस्तो विशेष जरुरत पर्दैन । धेरै झमेला नगरीकन नै सामान्य परीक्षणको आधारमा रिपोर्ट थाहा पाइने परीक्षण हो ।

    पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८–७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिन्छ । पीसीआर परीक्षणको नतिजा ६–८ घण्टामा नै आउने भए पनि विविध कारणले रिपोर्ट ढिला आउने हुन्छ । तर निजी प्रयोगशालाहरूले विगतको तुलनामा छिटो रिपोर्ट दिँदै आएको पाइन्छ ।

    पीसीआर परीक्षणको तुलनामा एन्टीजेनमा आधारित परीक्षण गर्दा धेरै चाँडो रिपोर्ट आउँछ ।यस परीक्षणबाट चाँडै नतिजा थाहा पाइने भएकाले अस्पतालमा आकस्मिक शल्यक्रिया वा अन्य रोगका बिरामीलाई पनि तत्काल उपचार गर्ने अवस्थामा रहेकाहरूलाई संक्रमण रहे(नरहेको पहिचान गर्न सकिने हुन्छ ।

    यसले गर्दा बिरामीले सहजरुपमा उपचार गराउन पाउने भए । यस्तै अस्पतालका स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने सुरक्षाकर्मी सम्पूर्णले सहजरुपमा परीक्षण गरी रोगीको ढुक्क भएर उपचार गर्न पाउँछन् । यो विधिबाट एकै पटकमा ३–४ सयजनाको पनि स्वाब परीक्षण गर्न सकिन्छ ।

  • लायन्स क्लब शेर्पाज र हिमचुलीले गरे जगडोल भन्ज्याङ् देखी तारेभिर सम्म सरसफाई

    लायन्स क्लब शेर्पाज र हिमचुलीले गरे जगडोल भन्ज्याङ् देखी तारेभिर सम्म सरसफाई


    अमृता के सी ( रोनी )
    काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए २ अन्तर्गतको लायन्स क्लब अफ नेपाल शेर्पाज र लायन्स क्लब हिमचुलीले शनिबार संयुक्त रुपमा सरसफाइ कार्यक्रम आयोजना गरे ।
    गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमाना पर्ने जगडोल भञ्ज्याङ् देखि तारेभिर सम्म दुई संस्थाहरुले संयुक्त रुपमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेका हुन्।यस अगाडि वन उपभोक्ता समूह र स्थानिय क्लबहरुले सरसफाइको व्यवस्थापन गर्दै आएको उक्त क्षेत्रमा यि दुई क्लबहरुले सरसफाई गरेका हुन् ।स्थानिय क्लब र वन उपभोक्ता समुहहरुले गर्दै आएको फोहोर व्यवस्थापन कार्यबाट प्रभाबित भएर उक्त सकारात्मक कार्यलाई साथ दिन कार्यक्रमको आयोजना गरेको प्रतिकृया आयोजक संस्थाले दिए। पर्यटकीय स्थल तारेभिर पदयात्रा लगायत उपत्यकाको तिनै शहर राम्रो संग देखिने भएकोले स्वदेशी तथा बिदेेशी पर्यटकको लोकप्रिय ठाउँ बन्दै आएको छ।लकडाउन पछि शान्त स्वच्छ जलबायुको खोजिमा तारेभिर सबैको थप रोजाइ बनेको छ।बिदाको दिन हजारौंको भिडले प्रयोग गरेका चिज वस्तुहरुले प्राकृति सम्पदा र स्रोतमा पारेका असरबारे सचेतना दिने होलिङ बोर्ड ठाउँ -ठाउँमा टासी करिब १० बोरा फोहोर संकलन गरेर फोहोर व्यवस्थापन गरेको कार्यक्रम आयोजक संस्थाहरुले बताएका छन् ।

  • भारतको छत्तीसगढमा माओवादी आक्रमणमा मारिने प्रहरीको संख्या २२ पुग्यो

    भारतको छत्तीसगढमा माओवादी आक्रमणमा मारिने प्रहरीको संख्या २२ पुग्यो

    छत्तिसगढ । भारतको छत्तीसगढमा माओवादी संगठनको आक्रमणमा मारिने सुरक्षाकर्मीको संख्या २२ पुगेको छ । यसअघि राज्य सरकारले ४ सुरक्षाकर्मी मारिएको जनाएको थियो । माओवादी संगठनले प्रहरीको कमाण्डो युनिटलाई धरापमा पारेर गोली चलाएको थियो ।

    यस घटनामा कम्तीमा २२ जना प्रहरीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्। बीबीसीका अनुसार बिजापुर जिल्लाको जङ्गली इलाकामा शनिवार यो घटना भएको हो । छत्तीसगढका एक वरिष्ठ सुरक्षा अधिकारी अशोक जुनेजाका अनुसार हमलापछि एकजना जवान अझै वेपत्ता रहेका छन् ।

    यो घटना पछिल्ला वर्षमा माओवादीबाट भएको सबैभन्दा ठूलो र घाइत हमला थियो । हमलापछि सुरक्षाकर्मीसँग सम्पर्क टुटेको थियो । त्यसपछि घटनास्थलमा थप बल पठाएर खोजी थालिएको थियो । त्यसक्रममा अन्य शव फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनापछि ट्वीट गर्दै मृतकका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन्। भारतको द्धत्तीसगढमा माओवादी संगठन सक्रिय छ । समाचारमा जनाए अनुसार माओवादी तथा सुरक्षाकर्मीबीच करिब चार घण्टा गोली हानाहान भएको हो । माओवादीतर्फ पनि निकै क्षति भएको बताइए पनि यकिन तथ्यांक आएको छैन ।

  • भक्तपुरमा कुटपिटबाट एक जनाको मृत्यु

    भक्तपुरमा कुटपिटबाट एक जनाको मृत्यु

    भक्तपुर । भक्तपुरमा केही मानिसहरुको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पानी तान्ने मेशिन चोरी गर्न लागेको आरोपमा काभ्रेपलाञ्चोक कुसादेवीका कृष्ण गुरुङलाई स्थानीय युवाले कुटेका थिए । त्यसक्रममो उनको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कुटपिटमा संलग्नहरु पक्राउ समेत परेका छन् ।

    कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–२ बर्खेपाटीमा शनिवार राति घटना भएको हो । उनलाई पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला पारी कुटपिट गरिएको थियो । प्रहरील स्थानीय टेकबहादुर केसी, नवीन कोजु, विनोद लाखा, कमल खत्री र सनिशकुमार रायलाई पक्राउ गरेको छ ।

  • गैंडा गणनामा खटिएका एक कर्मचारीको बाघको आक्रमणमा परी निधन

    गैंडा गणनामा खटिएका एक कर्मचारीको बाघको आक्रमणमा परी निधन

    बर्दिया । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एक कर्मचारीको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुलाई आइतबार बाघले आक्रमण गरेको हो । गैंडा गणनामा प्रयोग भएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र उनी घाँस काट्दै गरेको अवस्थामा बाघले साँझ ५ बजेतिर आक्रमण गरेको थियो ।

    पछिल्लो दिनमा निकुन्ज भित्र बाघले मानिसमाथि अत्यधिक आक्रमण गरिरहेको छ । यसअघि एउटा बाघलाई प्रशासनले समाएर खोरमा थुनेको भएपनि खोरबाटै बाघ भाग्न सफल भएको थियो ।

    थारुको शव ८ बजेतिर मात्र फेला पारिएको निकुन्ज प्रशासनले जनाएको छ । पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत रहेको निकुन्जले जनाएको छ । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएको समेत बताइएको छ ।