Category: समाचार

  • अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष

    अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष

    ताप्लेजुङ

    आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगे माबिमा बिद्यालय संचालनार्थ पाँचलाख रुपैंयाँ बराबरको अक्षय कोषको स्थापना गरिएको छ । साबिक चाँगे गाबिस वडा नं.२ मा जन्मिएकी बिधालयकी पुर्व बिधार्थी नन्दमाया केदेम शेर्पाले अमेरिकाबाट आफ्नो बुबा खड्गधोज केदेम लिम्बु र आमा टिकामाया आङबुहाङ लिम्बुको नाममा शैक्षिक सुधारको निमित्त अक्षय कोष स्थापना गरेकी हुन ।
    अमेरीकाबाट पठाइएको उक्त रकम आमा टिकामाया आङबुहाङ लिम्बुले चाँगे माबिका प्रधानाध्यापक केशवप्रसाद गौतमलाई विद्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरेकी थिईन ।
    अक्षय कोष स्थापनार्थ आयोजित कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक केशवप्रसाद गौतमले भाबुक हुँदै भने; “आउने दिनहरुमा पनि यो बिधालयबाट अध्ययन गरी प्रवासमा रहेका सबैले यसरी नै सहयोग गर्ने हो भने चाँडै नै बिधालयको मुहार फेरीने र सरकारी राहतमा मात्र भर पर्न नपर्ने हुन्थ्यो“


    कार्यक्रममा बिद्यालयका शिक्षक अमर लिम्बुले सहयोगी मनहरु प्रति आफ्नो फेसबुक मार्फत धन्यवाद ब्यक्त गरेका थिए ।आफ्नो दिदीको यो मानवीय कार्यले आफुहरु उत्साहित रहेको नन्दमायाका भाई रबिन लिम्बु र बहिनी सुमि लिम्बुले बताए ।

    बुबा खड्गधोज केदेम लिम्बु र आमा टिकामाया आङबुहाङले आफ्नो छोरीले गरेको यो समाजसेवाको कदमले आफुहरु अति नै खुसी अनि गौरवभान्वित भएको बताएका थिए ।आफुले कमाएको सानो अंशले आफुले पढेको स्कुलमा यसरी आफ्नो बुबा आमाको नाममा कोष स्थापना गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउने नन्दमाया केदेम शेर्पा बिगत ३ बर्षदेखि अमेरिकामा बस्दै आएकी छिन् । उनको श्रीमान र एक छोरा छन् ।

  • ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु

    ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै राससले जनाएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो ।

    स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ ।

    प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन् । घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले उल्लेख गरेको छ । आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

  • राजस्थानमाथि बैंलौरको १० विकेटको जित

    राजस्थानमाथि बैंलौरको १० विकेटको जित

    मुम्बई । रोयल च्यालेन्जर्स बैंलौरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि १० विकेटको फराकिलो जित निकालेको छ । देवदत्त पाडिक्कलले शतक हानेपछि बैंलौर सहजै विजयी भएको हो । ओपनरद्वय पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरे ।

    बैंलौरले १७८ रनको लक्ष्य १६.३ ओभरमा बीना विकेट क्षतिमा भेटायो । पाडिक्कलले ५२ बल खेल्दै ११ चौका र ६ छक्का मद्दतमा अविजित १०२ रन जोडे । यो उनको पहिलो आईपीएल शतक हो । कोहलीले ४७ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा अविजित ७२ रन बनाए ।

    मुम्बईको वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १७७ जोडेको थियो । बलर नचल्दा राजस्थान हार्न पुग्यो । लगातार चौथो जित हात पारेको बैंलौर ८ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

  • ओली र नेपालबीच  बिहीबार पनि भेट, वार्ता निष्कर्षबिहिन

    ओली र नेपालबीच बिहीबार पनि भेट, वार्ता निष्कर्षबिहिन

    काठमाडौं । बुधबार करीव डेढ महिनाको विवादपछि पहिलो पटक भेट गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार समेत भेटवार्ता भएको छ । दुबै नेताबीच आज पनि पाँचतारे होटेल मेरियटमा भेटवार्ता भएको हो । आज पनि करीव डेढ घण्टा दुई नेताबीच एक्लाएक्लै कुराकानी भयो ।

    तर, कुराकानीबाट कुनै निष्कर्ष भने ननिस्किएको भेटपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै नेता नेपालले जानकारी दिए । मिडियामा बोल्ने गरी कुनै निष्कर्ष नआएको उनको भनाई छ । भेटमा नेता नेपालले कारवाहीसहित ओलीले चालेका सबै कदम फिर्ता हुनुपर्ने माग राखे पनि अध्यक्ष ओली भने सहमत नभएको नेपाली संचारमाध्यमहरुले जनाएका छन् ।

  • नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्यु

    नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १० हजार १ जनाको पीसीआर परीक्षणबाट २३६५ जना र ४४७ एन्टिजेन परीक्षणबाट ६३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

    यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

    नेपालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ ।

  • नेप्से १५.८० अंकले बढ्यो, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

    नेप्से १५.८० अंकले बढ्यो, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार ३२.४१ अंकले घटेको शेयर बजार कारोबारको अन्तिम दिन १५.८० अंकले बढेर २६४८.१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१४ कम्पनीको ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८७ रुपैयाँ बराबरको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ११ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने २ वटा समूहको परिसूचक राताम्मे भएको छ ।

    कारोबारमा आएका २१४ कम्पनीमध्ये १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, महिला लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको शेयरमूय ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ ।

  • काठमाडौंसहित तीन वटा प्रदेशका धेरै भूभागमा वर्षा

    काठमाडौंसहित तीन वटा प्रदेशका धेरै भूभागमा वर्षा

    काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशको तीन वटा प्रदेशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबार बिहानैबाट पानी पर्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, बागमती र प्रदेश २ मा पानी परेको हो । काठमाडौं उपत्यकामा बिहान परेको पानी दिउँसो केही घण्टा रोकिने छ ।

    विहान पौने छ बजेसम्मको अपडेट अनुसार काठमाडौंमा १.८ मिलिमिटर पानी परेको छ । आज दिनभर देशैभर बादल लाग्ने र पानी पर्ने क्रम चल्ने सम्भावना रहेको विभागको भनाई छ । पश्चिम क्षेत्रमा भने भोलि पनि मौसम बदलीसँगै वर्षाको पनि सम्भावना छ । अहिले प्रिमनसुन अवधि भएकाले केही स्थानमा हावाहुरी र चट्याङ् समेत पर्ने सम्भावना रहेको छ ।

  • सगरमाथामा एक दिनमा बढीमा १७० जना सम्म मात्र चुचुरोमा जान पाउने

    सगरमाथामा एक दिनमा बढीमा १७० जना सम्म मात्र चुचुरोमा जान पाउने

    काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा भिडभाड कम गर्न सरकारले आरोहणको संख्या निर्धारण गरेको छ । यसअनुसार अब एक दिनमा बढीमा १ सय ७० जना सम्म आरोहीले चुुचुरो जान सक्ने छन् । पर्यटन विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न भन्दै यस्तो व्यवस्था ल्याएको बताएको छ ।

    विभागका अनुसार सगरमाथा आरोहण अनुमति लिएका व्यक्तिले सगरमाथा चुचुरोमा डोरी टागेको मितिबाट अनुकुल मौसम हेरेर आरोहण गर्न सक्ने भएका छन् । यसका लागि पहिलो चरणमा आरोहण अनुमति पत्र नम्बर ६, ७, ९, १४, १७, १९, २०, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएका आरोही र दलले पहिलो चरणमा चुचुरो जान पाउने गरी विभागले पालो तोकि दिएको छ ।

    उनीहरु फर्किसकेपछि आरोहण अनुमति पत्र नम्बर ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ मार्फत अनुमति लिएका आरोही चुचुरोमा जान पाउने भएका छन् । आरोहण अनुमित पत्र नम्बर ७२ देखि पछि अनुमति लिएका आरोहीले भने त्यसपछिको अनुकुल मौसम हेरेर आरोहणमा जानु पर्नेछ ।

    यसरी हुने व्यवस्थापनले समेत आरोहणमा असहज परिस्थिति उत्पन्न हुने देखिएमा भने सम्बन्धित एजेन्सीले आपसी सहमति र समन्वयमा एक पटकमा १५०–१७० जनाको संख्या नबढ्ने गरी आरोहण व्यवस्थापन गर्न सक्ने विभागको सूचनामा उल्लेख छ ।


    हिमाल आरोहणका दौरान अनुमति प्राप्त हिमालको आरोहण रुटमा यात्रारत रहँदा, आधार शिविरमा बस्दा साथै सो भन्दा माथिल्लो रुटमा रहँदा आफ्नो समूहमा मात्र रहन समेत विभागले आरोहीलाई भनेको छ । यो वर्ष एउटै सिजनमा दुई हिमालको आरोहणमा जान चाहने पर्यटकले एक हिमालबाट फर्केपछि पीसीआर परीक्षण गर्नुपर्ने भएको छ ।

    पीसीआर परीक्षणमा नेगेटिभ रिर्पोट आएमा मात्र पर्यटकले अर्को हिमाल आरोहणको अनुमति पाउने छन् । आरोहणका क्रममा कुनै पनि पर्यटकको खोजी तथा उद्दार गर्नु परेमा पर्यटन विभाग र पर्यटन प्रहरी इकाईमा अनिवार्य जानकारी गराउनु पर्ने प्रावधान समेत तोकिएको छ ।

  • ओली र नेपालबीच दुई घण्टा एक्लाएक्लै वार्ता

    ओली र नेपालबीच दुई घण्टा एक्लाएक्लै वार्ता

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलको एक कोठामा दुई नेताबीच करीव दुई घण्टा एक्लाएक्लै वार्ता भएको हो । दुबै नेता बुधबार पौने ७ बजे होटलबाट बाहिरिएका छन् ।

    दुबै नेताले संचारकर्मीलाई प्रतिक्रिया भने दिएनन् । ओलीले माधव नेपाल पक्षधर सांसदलाई स्पष्टिकरण सोधेको र त्यसको विरोधमा माधव पक्षधर अदालत गएकै दिन दुई नेताबीच छलफल भएको हो । एमाले कार्यकर्ताले यो भेटलाई महत्वका साथ हेरेका छन् ।

  • नेपालमा एकैदिन २३५१ जनामा कोरोना संक्रमण पुष्टी

    नेपालमा एकैदिन २३५१ जनामा कोरोना संक्रमण पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८४ जनाको पीसीआर परीक्षणबाट २२२० जना र ८०३ एन्टिजेन परीक्षणबाट १३१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

    जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई

    सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई

    काठमाडौं । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

    बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ, ’ उनले भने ।

  • महाराष्ट्रको अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु

    महाराष्ट्रको अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु

    काठमाडौं । भारतको महाराष्ट्र राज्य नासिकको एक अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु भएको छ।

    अस्पतालमा १५० जना बिरामी उपचाररत थिए। तीमध्ये २३ जना भेन्टिलेटरमा उपचार गराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    ट्यांकरबाट अक्सिजन भर्ने बेलामा लिक भएको समाचारमा जनाइएको छ।

  • अख्तियारलाई स्टिङ अपरेसन नगर्न सर्वोच्चको आदेश, चार सयभन्दा बढी घुस मुद्दा अमान्य हुने

    अख्तियारलाई स्टिङ अपरेसन नगर्न सर्वोच्चको आदेश, चार सयभन्दा बढी घुस मुद्दा अमान्य हुने

    काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘स्टिङ अपरेसन’’ नगर्न आदेश दिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले बुधबार उक्त आदेश दिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेसन गर्दै आएको थियो ।

    अधिवक्ता विष्णु्प्रसाद घिमिरेले २०७४ पुस २ गते अख्तियारको स्टिङ अपरेशन रोक्न माग गर्दै सार्वजनिक सरोकारको रिट निवेदन दायर गरेका थिए। उक्त रिटमा २०७४ पुस ७ गते पहिलो सुनुवाई भएको थियो।

    ‘फौजदारी न्यायका मान्य सिद्धान्त कानुनको उचित प्रक्रिया तथा प्रमाण संकलनसम्बन्धी न्यायिक मान्यताका दृष्टिलेसमेत मनासिब र तार्किक देखिएन । अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तबरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको समेत देखियो’ अदालतको आदेशमा भनिएको छ ।

    अख्तियारले २०५९ पछि नियमावलीका आधारमा सरकारी कार्यालयमा घूस न्यूनीकरणअन्तर्गत ‘स्टिङ अपरेसन’ चलाउँदै भ्रष्टाचार मुद्दा लगाउँदै आएको थियो ।संवैधानिक इजलासले रिट जारी गरेसँगै चार सय बढी भ्रष्टाचार मुद्दा प्रभावित हुनेछ । ‘स्टिङ अपरेसन’मै परेका केही सरकारी कर्मचारीले आत्महत्याको बाटोसमेत रोजेका थिए ।

    अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ मा ‘स्टिङ अपरेसन’ संविधान र प्रचलित कानुनसँगै बाँझिएको जिकीरसहित रिट निवेदन दर्ता गराएका थिए । रिट निवेदकका पक्षबाट बहसमा संलग्‍न अधिवक्ता ललितबहादुर बस्‍नेतले भने, ‘अख्तियार आफैँले पैसा दिंदै ‘स्टिङ अपरेसन’ गर्न मिल्दैनथ्यो । यो सरासर गैरसंवैधानिक र गैरकानुनी कार्य थियो । अब अदालतबाट रिट जारी भएपछि अख्तियारले यो काम गर्न पाउँदैन ।’

  • भारतमा एकै दिन ३ लाख मानिसमा कोरोना पुष्टी

    भारतमा एकै दिन ३ लाख मानिसमा कोरोना पुष्टी

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा एकै दिन करीव ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मंगलबार २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको संक्रमण भेटिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो । भारतमा पहिलो लहरको तुलनामा दोस्रो लहर संक्रमणका दृष्टिकोणबाट घातक पाइएको छ ।

    पहिलो लहरमा धेरै दैनिक संक्रमण ९८ हजार अधिकतम रहेको थियो । संसारमा कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएको यो दोस्रो पटक हो । यसअघि अमेरिकामा जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार ५ सय ७० मानिसमा कोरोना देखिएको थियो । मंगलबार भारतमा २ हजार २१ जना संक्रमितको ज्यान गएको छ । यो संख्या भारतमा एकै दिन भएको सबैभन्दा ठूलो मानवीय क्षति हो ।

  • आफुले लगाएको मास्क पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने, सडकमा थुक्न मनाही

    आफुले लगाएको मास्क पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने, सडकमा थुक्न मनाही

    काठमाडौं । मानिसहरुले आफुले लगाएको मास्क जथाभाजी फ्याँक्न थालेपछि सरकारले कडाई गरेको छ । सरकारले स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालेको राससले लेखेको छ । यसअघि सडकमा यत्रतत्र मास्क अब पाँच दिनसम्म सुरक्षित राख्नु पर्ने भएको छ । साथै त्यसरी मास्क सडकमा फ्याँक्नेमाथि कारवाही समेत गर्ने स्थानीय प्रशासनको तयारी रहेको छ ।

    खासगरी यातायातका साधन सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्री विसर्जनमा ध्यान दिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टविन वा प्लाष्टिकको झोलामा बन्द गरी सुरक्षित साथ पाँच दिन अनिवार्यरूपमा सुरक्षित साथ राख्नुपर्ने छ । त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ ।

    अटेर गरेमा कारवाही हुने प्रशासनको चेतावनी छ । घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न पनि भनिएको हो । सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

  • नेपालमा एकैदिन १७३६ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

    नेपालमा एकैदिन १७३६ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५ जनाको पीसीआर परीक्षणबाट १६६७ जना र ६८३ एन्टिजेन परीक्षणबाट ६९जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८७ हजार ५६७ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २५१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या ८ हजार ६५९ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ११ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१०२पुगेको छ ।

  • हरिद्वारको कुम्भ मेलाबाट फर्किएका पूर्वराजा दम्पतीलाई कोरोना संक्रमण

    हरिद्वारको कुम्भ मेलाबाट फर्किएका पूर्वराजा दम्पतीलाई कोरोना संक्रमण

    काठमाडौं । भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

    भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण देखिएको हो ।

  • २०७८ सालमा तीन वटा दशैं, पहिलो आज

    २०७८ सालमा तीन वटा दशैं, पहिलो आज

    काठमाडौं । आज हिन्दु धर्मावलम्बी नेपालीले नेपाल तथा विदेशमा चैते दशैं पर्व मनाउँदैछन् । २०७८ सालमा कुल तीन वटा दशैं परेका छन् । त्यसमध्ये आज एउटा हो । बडा दशैं असोज र आगामी चैतमा चैते दशैं मनाइने छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दसैँ मनाउने गरिन्छ ।

    गतवर्षको चैत देशैं भने तिथिका कारण वैशाखमा सरेको हो । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने प्रचलन रहेको छ । अष्टमीको दिनलाई चैते दसैँ मानिन्छ । नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको दिनका रुपमा रामनवमीका रुपमा मनाइन्छ ।

    काठमाडौं उपत्यकाका गुहृयेश्वरी, जगबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा पूजा गरिन्छ ।

    उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गर्ने प्रचलन रहेको छ ।

    हनुमानढोकाको दसैँघरमा चैतदशैंमा पनि घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने प्रचलन रहेको छ । आज पूजा आराधनासहित वसन्तपुरमा ५४ बोका र ५४ राँगाको बलि दिइने छ ।

  • बूढानीलकण्ठ नगरपालिकाका विद्यालयहरु बन्द

    बूढानीलकण्ठ नगरपालिकाका विद्यालयहरु बन्द


    अमृता के सी ( रोनी )
    काठमाडौँ, बैैैशाख ७ ।बूढानीलकण्ठ नगरपालिकाका विद्यालयहरु आज बाट बन्द भएका छन्।कोभिड १९ को प्रकोपको दोश्रो चरण सक्रिय हुँदै गएको सन्दर्भमा मिति २०७८।०१।०६ गतेको संघीय मन्त्री परिषदले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हुँदा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुखको अध्यक्षतामा मिति २०७८।०१।०६ गते बसेको नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार सम्पुर्ण शैक्षिक संस्थाहरु बैशाख ७ गते बाट मसान्त सम्म बन्द गर्न निर्देशन दिएको छ ।

    त्यस्तै शाखाले बैशाख १७ गते सम्म शिफ्टका आधारमा स्वास्थ्य मापदण्ड सहित सम्पूर्ण परिक्षा सम्पन्न गर्न पनि निर्देशन दिएको छ ।

  • सुन्दरीमाई जेसीजको दुई दिने तालिम सम्पन्न

    सुन्दरीमाई जेसीजको दुई दिने तालिम सम्पन्न


    अमृता के सी ( रोनी )
    काठमाडौँ, बैशाख ६ ।गोकर्णेश्वर नगरपालिकाद्घारा आयोजित स-चेतना (बैठक सञ्चालन विधि) तालिमको आतिथ्य सुन्दरीमाई जेसिजले गरेको छ । बैशाख ३ र ४ गते २ दिन सञ्चालित तालिमको उद्घाटन नगर प्रमुख सन्तोष चालिसेले गरेका थिए भने समापन उप प्रमुख शान्ति नेपालको आतिथ्यतामा भएको थियोे ।

    “शासन व्यक्तिको होइन विधिको हुनु पर्दछ” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै समृद्ध राष्ट्र निमार्णमा सुन्दरीमाई जेसीजले महत्त्वपूर्ण भुमिका खेलेको भन्दै जेसीजमा १८ देखिको ४० वर्ष उमेर समुहको व्यक्तीहरु मिलि युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा जोड दिदै समाज सेवा गर्दै आएको जानकारी संस्थापक अध्यक्ष जेसी कृष्ण चालिसेले गराए। सचेतना बैठक तालिमको प्रशिक्षण नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष एंव पूर्व कानूनी सल्लाहकार जेसी राजबाबु शाहले दिएका थिए ।उनले प्रक्रिया नमिलेको बैठकको केही औचित्य नहुने हुँदा बैठक के हो,कसरी बैठक सञ्चालन गर्ने,बैठकमा कसको काम के हो,आफ्नो भनाई कसरी राख्ने आदि कुराहरुको दृश्य सहित तालिम दिएका थिए। नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमको संयोजक सुन्दरीमाई जेसीजका महासचिव जेसी बिबेक सिग्देलले गरेका थिए भने अध्यक्षता वर्ष २०२१ का अध्यक्ष जेसी जानुका दाहालले गरेकी थिइन् ।उक्त स-चेतना तालिममा गोकर्णेश्वर नगरपालिकाका कार्यपालिका सदस्यहरु,वडा अध्यक्षहरु,विभिन्न महिला विकास समितिका अध्यक्षहरु,यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष तथा मानार्थ सदस्य सुदर्शन सिग्देल, समाजसेवी एंव मानार्थ सदस्य जेसी रामजी श्रेष्ठ,मातृ शाखा अध्यक्ष जेसी सुरज पोखरेल, सुन्दरीमाई जेसीजका पूर्व अध्यक्ष प्रमोद सिग्देल, निवर्तमान अध्यक्ष जेसी उत्तमराज चालिसे,सल्लाहकार जेसी शिबराज खनाल लगायत वर्ष २०२१ का पदाधिकारीहरुले सहभागिता लिएका थिए ।कार्यक्रम सञ्चालन उपाध्यक्ष जेसी अमृता के सी र जेसी प्रमिला शेर्पाले गरेका थिए ।
    कार्यक्रममा सम्बोधन गर्दै उप प्रमुख नेपालले बैठक सञ्चालन विधिले बैठक व्यवस्थित अनि मर्यादित हुने भएकोले सिकेको सिपको सदुपयोग गर्न सहभागी सबैलाई सुझाव दिइन्।नेपालले गोकर्णेेेश्ववर जेसीजमा तीन वर्ष कार्यभार बहन गरि व्यक्तित्वमा निखार तथा नेतृत्व लिन सक्षम भएको बताउदै तालिममा सहभागीहरुलाई दुई दिनको तालिमले मात्र नपुग्ने अझै तालिम लिन इच्छुक भए गोकर्ण महिला संजालको भवनमा आफैले बैठक सञ्चालन विधि तालीमको प्रशिक्षण दिने प्रतिबद्धता जनाइन् ।

  • नेपालमा एकैदिन १२८१ जना कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

    नेपालमा एकैदिन १२८१ जना कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप १२८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १ जनाको पीसीआर परीक्षणबाट १२२७ जना र ५४७ एन्टिजेन परीक्षणबाट ५४ जनाको रिपोर्ट पोजेटिभ हो ।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८५ हजार ९०० जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २५५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७५ हजार ५५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या ७ हजार २५४ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ८ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०९१ पुगेको छ ।

    कुल संक्रमितमध्ये ६३४ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

  • राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी छन्।
    मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन्।

    मन्त्रिपरिषद बैठकले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

    प्रतिनिधिसभाको बैठक आज अपराहन्न १ बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । फागुन २३ देखि हिउँदे अधिवेशन सुरू भए पनि सरकारले विजनेश नदिएको भन्दै प्रभावकारी ढंगले संसद अगाडि बढ्न नसकेको गुनासो थियो।

  • रात्रिकालीन व्यवसाय बैशाखभर बन्द, यातायातलगायत सार्वजनिक स्थानमा मापदण्ड तोकिने

    रात्रिकालीन व्यवसाय बैशाखभर बन्द, यातायातलगायत सार्वजनिक स्थानमा मापदण्ड तोकिने

    काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

    सरकारले सीसीएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय गरेको बताउँदै उनले धार्मिक स्थलमा समेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय भएको बताए ।

    उनका अनुसार स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना बन्द गर्दै मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने निर्णय पनि भएको छ ।

    यसैगरी यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड तोकेर सञ्चालन गर्न लगाउने निर्णयसमेत गरेको छ। बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको छ।

  • टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने

    टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने

    काठमाडौं । टोखा नगरपालिका भित्रका विद्यालय यही वैशाख ९ गते देखि बन्द हुने भएका छन् । टोखा नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो ।

    नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख ९ गते देखि विद्यालय बन्द गर्न लागेको विश्व न्युजलाई बताए ।

    ‘वैशाख ५ गतेदेखि ८ गते सम्म सबै विद्यालयका विद्यार्थीहरुमा दोस्रो चरणको कोरोना सम्बन्धि जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ, ‘ उनले बताए ।

    यस्तै टोखाले नगरपालिका भित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक ८, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिए । टोखाले सङ्क्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।

  • शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय,अनलाइन कक्षा सञ्चालन गरिने

    शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय,अनलाइन कक्षा सञ्चालन गरिने

    काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने निणय गरेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही पहिले नै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो ।

    तर मन्त्रिपरिषदले निर्णय नगरेपछि मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो ।

    त्यस्तै जिमहल, पार्टी प्यालेस, सभा सम्मेलन, रात्रीकालिन व्यवसाय रोक लगाउनुका साथै जनस्वास्थ्य मापदण्ड पूरा गरेर २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ।

    यस्तै आजको बैठकले अन्तर्राष्ट्रिय नाकामा हेल्प डेस्क राख्ने विषयमा पनि निर्णय भएको छ।

    ‘आजको बैठकमा अन्तर्राष्ट्रिय नाकामा ६ वटा होल्डिङ सेन्टर जसमा प्रदेश १ मा २, प्रदेश २ मा १, लुम्बुनी र सुदूरपश्चिम प्रदेशमा २(२ वटा होल्डिङ सेन्टर राख्ने निर्णय गरेको छ।

    त्यस्तै बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

    पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।

  • इजिप्टमा रेल पल्टिदा कम्तीमा ११ को मृत्यु, एक सय भन्दा बढी घाइते

    इजिप्टमा रेल पल्टिदा कम्तीमा ११ को मृत्यु, एक सय भन्दा बढी घाइते

    कायरो । इजिप्टमा रेल दुर्घटनामा परी कम्तीमा ११ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा ९८ जना घाइते भएको खबर छ । इजिप्टको राजधानी कायरोबाट उत्तरतर्फ पर्ने कालुबिया प्रान्तको बन्हा सहरमा आइतबार रेलको आठौं डिब्बा लिकबाट बाहिरिएको बताइएको छ । रेलको डिब्बा लिकबाट बाहिरिएपछि भएको दुर्घटनालगत्तै उद्दार शुरु गरिएको थियो । रेल नील नदीको डेल्टा सहर मनसउराबाट राजधानी कायरोतर्फ जाँदै थियो । दुर्घटनाको कारण भने पत्ता लागेको छैन ।

  • आज माओवादी केन्द्रको स्थायी समिति बैठक, सरकार गठनबारे ठोस निर्णय आउला ?

    आज माओवादी केन्द्रको स्थायी समिति बैठक, सरकार गठनबारे ठोस निर्णय आउला ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन । समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

    सरकारले एमसीसी संसदमा अगाडी बढाउन गरेको प्रस्ताव र यसले कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ आकर्षित हुने आशंकाका बीच माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो । सरकारको चर्को विरोध गरेपनि समर्थन फिर्ता नलिएको माओवादीको समेत आलोचना भइरहेको छ ।

    आजको बैठकले नयाँ सत्ता समिकरणका सम्भावनाबारे छलफल हुने छ । प्रदेश तहमा माओवादी केन्द्रको रणनीति सफल बन्दै गएको सन्दर्भका संघीय सरकारमा समेत आफ्नो रणनीति बुनिरहेको माओवादी केन्द्रले आगामी सरकारको नेतृत्व भने कांग्रेसलाई दिने बताइसकेको छ ।

  • आइपीएल : दिल्ली र बैंलौर विजयी

    आइपीएल : दिल्ली र बैंलौर विजयी

    मुम्बई । जारी १४ औं संस्करणको आइपीएलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंलौंर विजयी भएका छन् । दिल्लीले दोस्रो जित दर्ता गर्ने क्रममा पञ्जाब किंग्सलाई ६ विकेटले हराएको छ । शिखर धवनको उत्कृष्ट ब्याटिङको सहायतामा दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेट गुमाउँदै भेटायो । धवनले ४९ बलमा सर्वाधिक ९२ रनको योगदान गरे ।

    मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रनको विशाल योगफल खडा गरेको थियो । तर, बलिङ कसिलो नहुँदा टीम हारेको छ । पहिलो विकेटका लागि मायांक अग्रवाल र कप्तान लोकेश राहुलबीच १२.४ ओभरमा १२२ रनको साझेदारी हुँदा टीमको जग बलियो बनेको थियो । अग्रवालले सर्वाधिक ६९ रन जोडे । राहुलले ६१ रन बनाए ।

    उता, ग्लेन म्याक्सवेल र एबी डे भिलियर्स चम्किएको खेलमा रोयल च्यालेन्जर्स बैलौंर विजयी भएको छ । आइतबार सम्पन्न खेलमा बैंलौंरले कोलकता नाइट राइडर्सलाई ३८ रनले हराएको हो । चेन्नईमा बेंगलोरले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रन मात्र बनायो ।

    कोलकताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रनको योगदान गरे । टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योग खडा गरेको थियो । बैंलौरका लागि म्याक्सवेलले ४९ बलमा ७८ रन जोडे । एबी डे भिलियर्सले ३४ बलमा अविजित ७६ रन बनाए ।

  • गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त

    गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको सांसद पद गएको छ । नेकपा माओवादी केन्द्रबाट सांसद बनेका उनलाई पार्टीले कारवाही गरेसँगै सांसद पद गुमेको हो । सांसद पद गुमेपनि उनी आजै गृहमन्त्री पदमा भने पुनःनियुक्त भएका हुन् । अब उनी नेकपा एमालेका नेताको हैसियतमा गृहमन्त्री बनेका छन् । गृहमन्त्रीमा नियुक्त भएका उनले अब सांसद बीना बढीमा ६ महिना मात्र मन्त्री पदमा बस्न पाउने छन् ।

    आइतबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई मन्त्री पदको सपथ ग्रहण गराएकी छन् । आजै उनले कार्यभार समेत सम्हालेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै एमाले बनेसँगै माओवादी केन्द्रले कारबाही गरेको हो । उनी राष्ट्रिय सभा सांसद थिए ।

  • प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाको प्रस्ताव

    प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाको प्रस्ताव

    जनकपुर । प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाले प्रस्ताव गरेका छन् । प्रदेश सभा २ सचिवालयले नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता गराउन सांसदहरुसँग आह्वान गरेको थियो । सोही अनुसार सत्तारुढ जनता समाजवादी पार्टी र माओवादी केन्द्रले समान नाम र राजधानीको प्रस्ताव दर्ता गराएका हुन् ।

    प्रदेशसभा सचिवालयले वैशाख ९ गते भित्रै नाम र स्थायी राजधानीका लागि दल तथा प्रदेशसभा सदस्यलाई आ–आफ्नो प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ । आइतबार जसपाको तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले प्रदेशको नामका लागि प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावमा बबिता कुमारी र रानी शर्मा तिवारीले समर्थन गरेका छन् ।

    जसपाले स्थायी राजधानीका लागि जनकपुरधाम शहरी क्षेत्र सहित उत्तरमा पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदि, दक्षिणमा नेपाल भारत सीमा र पश्चिममा मिथिला माध्यमिकि परिक्रमा मार्ग क्षेत्र भित्र प्रस्ताव गरेको छ । माओवादी केन्द्रले राजधानीका लागि जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रुपमा प्रस्ताव गरेको छ । यहाँ एमाले र नेपाली कांग्रेसको प्रस्ताव आइसकेको छैन ।