Category: समाचार

  • ‘बेनीको बजार, जतामाया उतै छ नजर…’गीतका सर्जक श्रेष्ठको निधन

    ‘बेनीको बजार, जतामाया उतै छ नजर…’गीतका सर्जक श्रेष्ठको निधन

    बुटवल । म्याग्दीको सदरमुकाम बेनीको पहिचान स्थापित गर्न सफल जनप्रिय गीत ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ ।

    नेपालको राष्ट्रिय समाचार समितिका अनुसार उनको ७५ वर्षको उमेरमा बुटवलमा बिहीबार निधन भएको हो । उनको जन्मथलो म्याग्दी भएपनि बसाइ सरी परिवार रुपन्देहीमा बस्दै आएको थियो ।

    ‘बेनीको बजार,जता मायाँ उतै छ नजर’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यो गीत अहिले पनि उत्तिकै कर्णप्रिय छ । यो गीतमा श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठले नै युगल स्वर दिएका हुन् । श्रेष्ठ मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित रहेको परिवारिक स्रोतले जनाएको छ ।

  • राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो १०४ जनालाई जागिर

    राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो १०४ जनालाई जागिर

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा १०४ जना नयाँ कर्मचारी माग भएको छ । विभागले आज सूचना प्रकाशित गरी योग्य उमेदवारबाट भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभागले २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक गरी १ सय ४ जना कर्मचारी नयाँ भर्ना गर्न लागेको हो । विभागका अनुसार अनुसन्धान अधिकृतको न्यूनतम योग्यता स्नातक तोकिएको छ ।

    अनुसन्धान सहायकमा प्रवीणता प्रमाणपत्र र सहायक सूचकका लागि कम्तिमा एसईई वा एसएलसी तह उत्तीर्ण हुनुपर्ने शर्त राखिएको छ । अधिकतम २५ वर्ष ननाघेका युवायुवतीले यसमा निवेदन दिन सक्ने छन् । दरखास्त विभागको वेवसाइटमा गएर अनलाइन माध्यमबाट भर्न सकिने भएको छ ।

  • आज एमालेका दुई खेमाका छुट्टाछुट्टै बैठक

    आज एमालेका दुई खेमाका छुट्टाछुट्टै बैठक

    काठमाडौं । नेकपा एमालेका दुई खेमाका छुट्टाछुट्टै बैठक आज बस्दैछन् । एमाले नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको हो । अध्यक्ष ओली पक्षीय खेमाले भने आज संसदीय दलको बैठक बोलाएको छ ।


    छ। शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको हो । यो बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य उपस्थित हुने भएका छन् ।

    उता, अध्यक्ष केपी शर्मा ओली पक्षले आजै संसदीय दलको बैठक राखेपछि नेपाल–खनाल पक्षले छुट्टै बैठक बोलाएको हो। नेपाल– खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी अध्यक्ष ओलीले खोसेपछि यो पार्टी दुई खेमामा विभाजन भइसकेको छ ।

    प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने दिउँसो ३ बजेका लागि आफ्नै निवासमा संसदीय दलको बैठक डाकेका छन् । यो बैठकमा अर्को पक्षका सांसद जाने सम्भावना छैन ।

  • नेपालमा लकडाउन नहुने अर्थमन्त्रीको स्पष्टोक्ति

    नेपालमा लकडाउन नहुने अर्थमन्त्रीको स्पष्टोक्ति

    काठमाडौं । नेपालमा लकडाउन नहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पारेका छन् । बिहीबार नेपाली संचारमाध्यमहरुसँग कुरा गर्दै उनले कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भएपनि नेपालमा लकडाउन नहुने बताएका हुन् । उनले सरकारले लकडाउन र सीमा नाका बन्द गर्ने पक्षमा नरहेको बताएका छन् ।

    तर, स्वास्थ्य सुरक्षाका मापदण्डमा भने कुनै सम्झौता नगरिने उनको भनाई छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले निरन्तर मास्क लगाउन, भिडभाड नगर्न सर्वसाधारणलाई सचेत गराइरहेका छन् । सरकारको तर्फबाट निरन्तर यस्तो सूचना जारी हुँदा आम सर्वसाधारणमा भने लकडाउन हुने हो की भन्ने शंका छ ।

    यसअघिको लकडाउनमा उचित व्यवस्थापन गर्न नसक्दा आम सर्वसाधारणले सास्ती भोग्नु परेको थियो । अर्थमन्त्री पौडेलले सरकार यतिबेला बजेटको तयारीमा जुटेको जानकारी गराए । उनले आगामी बजेट कोभिड १९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान, रोजगारी सिर्जनामा केन्द्रित हुने उल्लेख गरे ।

  • भागरथी हत्याका आरोपी दिनेशको डीएनए भजाइनल स्वावसँग मिल्यो

    भागरथी हत्याका आरोपी दिनेशको डीएनए भजाइनल स्वावसँग मिल्यो

    काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतक भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । यससँगै यो घटनाको अनुसन्धानमा थप प्रमाण प्राप्त भएको प्रहरीको भनाई छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको प्रहरीले जनाएको छ ।

    नेपाली संचारमाध्यमले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका उदृत गर्दै जनाएअनुसार शवको पोष्टमार्टमका दौरान डीएनए परीक्षण गर्न भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना र आरोपितको डीएनए मिलेको हो । प्रहरीले दिनेशलाई ४ फागुनमा पक्राउ गरेको हो ।

    उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकार गरेका थिए । तर, पछि उनको परिवारले भने अरुले हत्या गरेको र धम्की दिएर दिनेशलाई आरोप स्वीकार गर्न लगाइएको आरोप लगाएका थिए ।

    दिनेशलाई २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन आदेश दिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथीको २२ माघमा बलात्कारपछि हत्या भएको हो । भागरथी दिनेशको नाताले दिदी पर्छिन् ।

  • दैलेखमा बालकको हत्यापछि आमाले गरिन् आत्महत्याको प्रयास

    दैलेखमा बालकको हत्यापछि आमाले गरिन् आत्महत्याको प्रयास

    दैलेख । दैलेखमा तीन वर्षिय बालकको आफ्नै आमाले हत्या गरेकी छिन् । घाँटी थिचेर छोराको हत्यापछि आमाले आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । घटना दैलेख, डुंगेश्वर गाउँपालिका ३ को हो । स्थानीय २९ वर्षिय हिरा थापाले आत्महत्याको प्रयास गरेको प्रहरीले उल्लेख गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेपछि आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेकी थिइन् । उनी घाइते रहेको प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार उनको जिल्ला अस्पताल दैलेखमा उपचार जारी रहेको छ ।

    घटनाको कारण पत्ता लगाउने सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । पछिल्लो समय नेपालमा बुबा आमाबाटै निर्दोष बालबालिकाकाले अकालमा ज्यान गुमाउनु परेको घटना बढ्दै गएका छन् ।

  • ओछ्यानबाटै बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा फेला

    ओछ्यानबाटै बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा फेला

    काठमाडौं । ओछ्यानबाटै बेपत्ता मुसाफिर झा र उनकी पत्नी गीतादेवी मृत अवस्थामा फेला परेका छन् ।

    महोत्तरीको पिपरा गाउँपालिका–५ का झा दम्पतीको शव महोत्तरीको त्रिपुरा गाउँपालिका–२ मा शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    झा दम्पत्ती गत फागुन १० गते राति वेपत्ता भएका थिए । यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन् ।

  • बुढानिलकण्ठमा १० जनालाई गलैँचा बनाउने तालिम, उत्कृष्टलाई राेजगारी

    अमृता के सी ( रोनी )
    काठमाडौँ /बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ मा गलैँचा (कार्पेट) बनाउने एक महिने तालिम सञ्चालन हुन गईरहेकाे छ। नगरपालिकाकाे आयाेजनामा हुन लागेकाे उक्त तालिममा सहभागी हुन ईच्छुक वडा बासीहरूले चैत्र १४ गते भित्र वडा कार्यलय गई आवेदन दिनुपर्नेछ।

    स्थायी बसोबास भएका र ४० वर्ष भन्दा कम उमेर समुहको व्यक्तिले मात्र आवेदन दिन पाउने सो तालिममा जम्मा १० जनालाई आवेदन मध्येबाट सहभागी गराइने छ।

    सहभागिताकाे लागि छनाैट भएका व्यक्तिले तालिम बिचमा नै छाेडेमा तालिममा लागेका शुल्क आफैले व्यहाेर्नु पर्नेछ। यसका साथै तालिम पश्चात् उत्कृष्ट हुने केहिलाई राेजगारकाे लागि पहल समेत गरिने छ।
    सूचना:-

  • चितवनमा ट्रकले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु

    चितवनमा ट्रकले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु

    चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको दासढुंगामा ट्रकले कारलाई ठक्कर दिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटना आज अपराह्न साढे ४ बजे भएको हो । प्रहरीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा२१च ६८५९ नम्बरको कार ठोक्किएका हुन् ।

    घाइते कार चालकसहित ५ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा दुई जनाको बाटोमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा तनहुँ स्याम्घा नगरपालिका–४ बस्ने २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने ३१ वर्षीय रामकृष्ण भुजेल रहेका छन्।

    गम्भीर घाइते कार चालक लमजुङ मध्यनेपाल नगरपालिका–७ बस्ने ४२ वर्षीय पदम सापकोटा छन् । स्याङजा विरुवा गाउँपालिका–३ बस्ने ४२ वर्षीय प्रसाद थापा र तनहुँ व्यास नगरपालिका वडा नं ६ बस्ने ४० वर्षीय जसमान परियारको पुरानो मेडिकल कलेजमा उपचार जारी छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

  • एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा

    एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा

    काठमाडौं । सत्तारुढ नेकपा एमालेको मूख्यालय अब काठमाडौं, थापाथलीस्थित आलिसान भवनमा सर्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन्। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडका आफन्तको यो घर अब एमालेले ५ वर्षसम्म रहने गरी लिन लागेको बताइएको छ ।

    कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहने भएको छ । एमालेले १ वैशाख २०७८ बाट नयाँ कार्यालयमा सर्ने निर्णय गरेको हो । आज मन्त्री तथा नेताहरुसहित प्रधानमन्त्री पार्टी कार्यलयको अवलोकनमा पुगेका हुन् ।

    प्रधानमन्त्रीले अवलोकन गरेसँगै कार्यालय लिने निश्चित भएको बताइएको छ । यो कार्यालय उद्योगीले सित्तैमा दिएका हुन वा भाडा तिर्नुपर्ने हो भन्नेबारे भने खुलेको छैन । साढे २ तलाको यो घरमा १३ कोठा छन् । एमाले आउनु अगाडी यो घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय रहेको थियो । अहिले एमालेको कार्यालय धुम्बाराहीस्थित पासांग ल्हामु प्रतिष्ठानको घरमा छ । यो घर यति ग्रुपको हो ।

  • काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होली घरमै मनाउन आह्वान

    काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होली घरमै मनाउन आह्वान

    काठमाडौं । प्रशासनले काठमाडौं उपत्यकामा मास्क अनिवार्य गरेको छ । कोरोना भाइरसको बढ्दो महामारीलाई ख्याल गर्दै मास्क अनिवार्य रुपमा लगाउन उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेका छन् । प्रशासनले भिडभाड नगर्न र होली पर्व समेत घरमा मात्र मनाउन समेत भनेको छ ।

    बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । ‍आउँदो चैत १५ र १६ गते हुने होली पर्वलाई घरमै मनाउन विशेष रुपले प्रशासनले आह्वान गरेको छ ।

    सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरूमा हुने भेला जमघट नगर्न प्रशासन कार्यालयले निर्देशन दिएको हो। काठमाडौं प्रशासनका अनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग नगरे संक्रामक ऐन अनुसार कारबाही हुने भएको छ । ललितपुर जिल्ला भित्र ११ बजेपछि सञ्चालन हुने रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

  • नेपालमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    नेपालमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४०३२ जनाको पीसीआर परिक्षण गर्दा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार १८७ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार १ सय ८२ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना रहेको छ । त्यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०२० पुगेको छ ।

  • क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न ७७ जिल्लामा गृहको परिपत्र

    क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न ७७ जिल्लामा गृहको परिपत्र

    काठमाडौं । कोभिड-१९ को सम्भावित दोस्रो लहरलाई लिएर गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। कोभिड १९ को खतरा फेरि दोहोरिन सक्ने भन्दै गृहले क्वारेन्टाइन र आइसोलेसन कक्षलाई तयारी अवस्थामा निर्देशन दिएको हो।

    गृहमन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी खुमकान्त आचार्यले चैत ९ गतेकै मितिमा देशका सबै ७७ वटै जिल्ला प्रशासनलाई कोभिडको सम्भावित जोखिमसँग जुध्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए।

    नेपालमा कोरोनाको जोखिम बढ्यो : भीडभाड, सभा, जुलुस, जमघट नगर्न आग्रह
    ‘नेपालमा फेरि कोरोनाको जोखिम बढ्ने अवस्था देखिएको छ। त्यहीकारण गृहले जिल्ला प्रशासन कार्यालयहरुलाई यस्तो निर्देशन दिएको हो’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयले चैत ८ मै कोरोनाको जोखिम बढ्ने अनुमानसहित सचेत गराइसकेकाले हामीले जिल्ला प्रशासनहरुलाई तयारी अवस्थामा रहन भनेका हौँ।’

    गृहले गरेको परिपत्रमा सभा, भेला, सम्मेलन र भीडभाड हुने सबै गतिविधि रोक्न भनेको छ। साथै स्वास्थ्य मापदण्ड पालना गर्न लगाउन पनि निर्देशन दिइएको आचार्यले जानकारी दिए।

    कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले ८ चैतमै भेला, बैठक, गोष्ठी नगर्न आग्रह गरेको थियो। मन्त्रालयले संक्रमणको रोकथामका लागि कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न पनि अनुरोध गरेको थियो।

    केही हप्तादेखि विश्वका विभिन्न मुलुक र छिमेकी देश भारतमा समेत संक्रमण तीब्र गतिमा बढिरहेका बेला नेपालमा पनि संक्रमणको जोखिम बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका थिए।

  • नेपालमा लकडाउनको एक वर्ष, अझै सकिएन स्वास्थ्य चूनौति

    नेपालमा लकडाउनको एक वर्ष, अझै सकिएन स्वास्थ्य चूनौति

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनको आज ठ्याक्कै एक वर्ष पुगेको छ । सरकारले गत वर्ष चैत ११ गतेबाट लकडाउन थालेको थियो । यसबीचमा नेपालले पटकपटक गरी चार महिनाभन्दा बढी समय पूर्ण देशव्यापी लकडाउन गर्यो । तर, एक वर्षसम्म पनि स्वास्थ्य सुरक्षा सम्बन्धी चूनौति भने कायम नै रहेको छ ।

    नेपालमा भदौबाट लकडाउन सहज हुन थालेको हो । लकडाउनको एक वर्षकै बीचमा विश्वभर कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ । यसको असर नेपालमा समेत देखिन थालेको छ । मङ्गलबार मात्र १८८ जना नयाँ सङ्क्रमित थपिए । यो पछिल्लो एक महिनायताकै बढी हो ।

    खासगरी छिमेकी मुलुक भारतमा बढ्दो संख्याले नेपालमा पनि चूनौति थपिएको छ । मानिसहरुले कोरोनालाई सामान्य रुपमा लिएर सतर्कताका काम छाड्दा भने नेपालमा समेत जोखिम बढेको छ । अहिले सार्वजनिक यातायात र शहर बजारमा समेत मास्क लगाउने मानिसको संख्या घट्दो क्रममा रहेको छ ।

    नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७६ हजार २४४ पुगेको छ ।निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९७ पुगेको छ । देशभर सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार १२८ छ । अहिले विभिन्न क्वारेन्टाइनमा ४८ जना रहेका छन् । कोरोना सङ्क्रमितबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।

  • ट्याक्टरबाट खसेर घाइते सहचालकलाई जब आफ्नै साथिले नदीमा बगाइदिए…

    ट्याक्टरबाट खसेर घाइते सहचालकलाई जब आफ्नै साथिले नदीमा बगाइदिए…

    काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक जना पक्राउ परेका छन् । यस घटनामा दुई जनाको हात रहेपनि एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार गल्याङ नगरपालिका ९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका गणेश गाहा घाइते भएका थिए। उनलाई ट्याक्टरका चालक र अर्का सहचालकले कालीगण्डकी नदीमा बगाइदिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार यो घटना ५ चैतको भएपनि पछि मात्र खुलेको हो । प्रहरीले ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का २२ वर्षका सुनिल रानालाई पक्राउ गरेको । चालक अमित परियार फरार रहेको बताइएको छ । घटनापछि दुवै जना ट्याक्टर छाडेर भागेको प्रहरीले जनाएको छ ।

    घटनाबारे स्वयमः सुनिलले पाल्पा पुगेर दिदीलाई बताएपछि घटना बाहिरिएको हो । सुनिलले प्रहरी समक्ष अपराध स्वीकार गरेका छन् । नदीमा बगेका गाहा भने वेपत्ता छन् । उनको खोजी गर्न प्रहरीले गोताखोर मगाएको बताएको छ ।

  • आँखै अगाडि खरानि भए सपना: भताभुङ्ग भयो जिन्दगीको गोरेटो

    आँखै अगाडि खरानि भए सपना: भताभुङ्ग भयो जिन्दगीको गोरेटो

    जिन्दगीमा कहिलेकाहीँ नसोचेको ब्रजपात आइपर्छ । मंगलबार यस्तै परिस्थितिको सामना गर्नु पर्यो बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित चौबीस विगाहमा बसोबास गर्ने मन्जु यादवलाई । मंगलबार मन्जुको बसोबास गर्ने घर पूरै जलेर खरानी भयो भने अर्कोतर्फ घर बनाउन भनेर राखेको तीन लाख भारतीय रुपैयाँ पनि घरसँगै खरानी भयो । पैसा र घर जलेसँगै मन्जु अब घरबारविहीन बनेकी छिन् । उनीसँग अरुको शरण लिनु सिवाय कुनै उपाय छैन तर कसले दिन्छ शरण कुनै ठेगाना पनि छैन ।


    उनका श्रीमान् बोनसराम यादवले २ महिना अगाडि आत्महत्या गरेका थिए । अहिले उनको काखमा दूधे बालक छ । अनि अर्को बच्चा २ वर्षको छ । एकातर्फ पति वियोगको चिन्ता अनि अर्कोतर्फ घर जल्नु मन्जुका लागि ब्रजपात भएको छ । आकाशै खसेको पीडा भएको छ जुन पीडाको मर्म मन्जुलाई जति कसलाई पो होला । घर बनाउँदै गर्दा श्रीमानले संसार छोडे, कष्ट गरी घर पूरा गर्ने कोसिस गर्दा घर नै जल्यो । अब बनाउँदै गरेको घर कसरी पूरा गर्ने मन्जुसँग कुनै उपाय छैन । उनीसँग न कुनै जागिर छ न व्यवसाय ।


    मंगलबार दिउँसो १ बजे लागेको आगोले मन्जुको सबै सपना उजाड बनाइदियो । मन्जुको जिन्दगीमा पीडा माथि पीडा थपिएको छ । समयले गनिगनि चोट दिएको महसुस मन्जुलाई मात्र होइन उनका छरछिमेकलाई पनि भएको छ ।
    मन्जुको मात्रै नभएर उक्त आगोमा अन्य ५ जना छिमेकीको पनि घर जल्यो । रक्षाराम यादवको घरबाट लागेको आगोले मोहनलाल यादव, झल्लर यादव, माधवराम यादव र श्रवणकुमार यादवको घर पूरै जल्यो । तर धेरै क्षति मन्जुले नै बेहोर्नु पर्यो ।


    दिउँसो १ बजे लागेको आगो ४ बजेमात्र नियन्त्रणमा आयो । करिब १६ लाख रुपैयाँ बराबर क्षति भएको आकलन बाँके प्रहरीले गरेको छ । घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुवास खड्काले आगलागी कसरी भयो भन्ने कुरा खुल्न नसकेको बताएका छन् । आगलागी नियन्त्रणका लागि स्थानीय जय किसान माविका विद्यार्थी, स्थानीय र प्रहरीहरु खटिएका थिए । आगलागी भएको ४० मिनेटमा दमकल पुगेको डिएसपी खड्काले बताए । आगलागीबाट लक्तकपडा, भाडाबर्तन, सुनचाँदीलगायतका गरगहना र अन्नपात सबै खरानी भएका छन् । त्यस्तै गत फागुनमा नरैनापुर गाउँपालिकाको वडा नम्बर १ सुइया गाउँमा आगलागी हुँदा २२ घर जलेर नष्ट भएका थिए ।


    आगो लागेको दिनमै राहत वितरण
    आगलागी भएको जानकारी पाउनेबित्तिकै घटनास्थलमै पुगेर राहत वितरण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिले प्रतिपरिवार १५ हजार रुपैयाँका दरले रकम प्रदान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङले बताए । उनले घटनाका पीडितलाई थप राहतको समेत व्यवस्था गरिने बताएका छन् ।


    यस्तै नेपाल रेडक्रस सोसाइटी, एफजिजेटलगायतका संघ संस्थाले आवश्यक खाद्यान्नलगायतका सामाग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रह्लाद विश्वकर्माले बताए । आगलागी भएको थाहा पाउने बित्तिकै नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखाका कार्यवाहक सभापति शालिकराम साहु र जिल्ला सदस्य यज्ञनारायण शर्माले आगो नियन्त्रणका लागि सबैलाई हारगुहार गरेका थिए ।


    पीडितलाई थप राहत प्रदान गर्न आवश्यक पहल थाल्ने गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले बताए । उनले आगलागीको घटना बढ्दै गएकाले आगलागीको कारण पत्ता लगाइ यस्तो घटना हुनबाट बस्तीलाई जोगाउनु पर्नेमा चिन्ता व्यक्त गरे । प्रत्येक वर्ष आगलागीका घटना हुने भएकाले यस्तो बस्तीमा सुरक्षित आवास निर्माणको आवश्यकता रहेको उनले बताएका छन् ।


    घटनास्थलमा पुगे जनप्रतिनिधि आगलागी भएको स्थानमा मंगलबार प्रतिनिधि सभा सांसद महेश्वर गहतराज अथक र लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुना पुगेका छन् । उक्त स्थानको अवलोकनपछि उनीहरुले राहतका लागि पहल गर्ने बताए । आगलागीका घटना पटक–पटक भइरहेकाले स्थानीय तहसँग समन्वय गरेर पहल थालिने बताएका छन् ।

  • बंगलादेश भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

    बंगलादेश भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमण पुरा गरी स्वदेश फर्किएकी छिन् । उनी मंगलबार नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत काठमाडौं अवतरण गरेकी हुन् ।


    राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.शीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।

    राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । त्यसक्रममा नेपाल र बंगलादेशबीच पर्यटन र व्यापार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न चार महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

  • भारतमा ४० वर्ष जेल बसेर फर्केका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

    भारतमा ४० वर्ष जेल बसेर फर्केका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

    विराटनगर । हत्याको आरोपमा ४० वर्षसम्म भारको जेलमा बिताएका दुर्गाप्रसाद तिम्सिनाको उपचारमा प्रदेश १ सरकारले सहयोग गर्ने भएको छ । आरोप प्रमाणित नभए पनि उनी ४० वर्ष जेलमा बस्नु परेको हो । यसबारे भारतीय संचारमाध्यमसम्म खबर पुगेसँगै उनको रिहाईको बाटो खुलेको थियो । अदालतले तत्काल उनलाई जेलमुक्त गर्न आदेश दिएपछि तिम्सिना अहिले इलामस्थित घरमा आइपुगेका छन् ।

    तर, उनको स्वास्थ्य अवस्था भने निकै कमजोर पाइएको छ । उनी भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारमा राखिएका थिए । प्रदेश १ मन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले उनको उपचार सरकारले गर्ने जानकारी गराएका हुन् । संचारमाध्यमहरुका अनुसार दुर्गाप्रसादको उपचारको सबै खर्च प्रदेश सरकारले बेहोर्ने भएको छ ।

    यसका लागि परिवारसँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले जानकारी दिएका छन् । मन्त्री कार्कीले भारतबाट दुर्गाप्रसादका लागि क्षतिपूर्ति दिलाउन समेत पहल गर्ने बताएका छन् । कोलकाताको उच्च अदालतले दुर्गाप्रसादको मुद्दामा फैसला गर्दै क्षतिपूर्ति दिन सरकारका नाममा आदेश दिइसकेको छ ।

  • शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी

    शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी


    अमृता के सी ( रोनी )
    काठमाडौँ,चैत १०/शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ।निकुञ्जको गोकर्णेश्वर नगरपालिका वडा नं ३ साबिक बालुवा गाबिस १ खण्डमा आगलागि भएको हो । मंगलबार करिब ४ बजेको समयमा स्थानियले आगलागी भएको देखे लगत्तै सेना तथा प्रहरी पुग्नु अगाडि नै आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए।स्थानिय सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्ट र अमर भण्डारीको नेतृत्वमा स्थानियहरु आगो नियन्त्रणमा लिन अग्रसर भएको स्थानिय श्रोतले बताएको छ ।
    सुन्ताखान युवा क्लबका अध्यक्ष बिष्टले नै सुन्दरीजल ब्यारेक स्थित सेना,शिवपुरी राष्ट्रिय निकुञ्ज, मुहान पोखरी खानेपानी समिति र स्थनिय प्रहरीलाई खबर गरेका थिए।स्थानिय बासी र सुरक्षाकर्मिहरुको सहायताले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आगलागीबाट वनस्पतिको नाश भएपनि कुनै पनि जंगली जनावरलाई असर नपरेको जानकारी बिष्टले विश्व न्युजलाई दिए।

  • अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको बौद्धमा प्रदर्शन

    अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको बौद्धमा प्रदर्शन


    अमृता के सी ( रोनी )
    काठमाडौँ/५६ औँ अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा दण्डहिनता नै जातिय विभेदको जड भन्ने मुल नाराको साथ मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले शान्तिपूर्ण प्रदर्शन गरेको छ।
    समाजले काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्तुपाको गेटमा आइतबार एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो।५० जना भन्दा बढीको सहभागिता रहेको प्रदर्शनमा सहभागीहरुले जातिय छुवाछुत अन्त्य गरौ, मानवअधिकार रक्षा गरौ , सबैका लागि सबै अधिकार , मानवअधिकार दलित अधिकार, लगायतका नारा अंकित प्ले कार्ड सहित शान्ति पूर्ण प्रदर्शन गरेका थिए।

    मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाका सचिव इश्वर पुडासैनीले संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथिमा बागमती प्रदेश सभा सदस्य तथा दलित अभियन्ता कल्पना नेपाली रहेकी थिइन् भने कार्यक्रममा विशेष अतिथिका रुपमा बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, मानवअधिकार तथा शान्ति समाज पुर्व महासचिव कुमार राज सुवेदी, समाजसेवी भुवन लामा ,नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, शान्ति समाजका निवर्तमान सभापति तथा सल्लाहकार उत्तम पुडासैनी, पुर्व सभापति होमकान्त चौलागाईं, वर्तमान महासचिव रामकृष्ण बराल तथा शान्ति समाजका पूर्व तथा वर्तमान पदाधिकारीको उपस्थिति रहेकोे थियो।
    कार्यक्रममा दलित अभियन्ता तथा बागमती प्रदेश सभा सदस्य कल्पना नेपालीले जातिय भेदभाव र छुवाछुत अन्त्य बिना मुलुकको विकास हुन नसक्ने बताईन्।उनले नेपालीले मन्दिर बनाउने शिल्पकारहरुले मन्दिर छिर्न पाउँदैनन्, लुगा सिलाउने मान्छेहरुले नाँगो हिड्नु परेको र जुत्ता सिलाउनेहरु खाली खुट्टा हिड्न बाध्य रहँदा समेत राज्यसत्ताले उनीहरुको उत्थान र समान अधिकार उपभोगमा ध्यान पुर्‍याउन नसकेको बताएकी थिइन् ।
    कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जातिय भेदभाव र छुवाछुत अन्त्यका लागि प्रतिबद्धता जनाउदै कानून भन्दा माथि कोही नहुने हुदा कानूनले बर्जित गरेको जातिय छुवाछुत अन्त्यका लागि सामाजिक चेतना अभिबृद्धि गरि सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए।

  • प्रधानमन्त्री र जसपाबीचको छलफल ‘निष्कर्ष विहीन’

    प्रधानमन्त्री र जसपाबीचको छलफल ‘निष्कर्ष विहीन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीचको भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

    मंगलबार बिहान प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच बालुवाटारमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

    उनले भने, ‘आजको छलफलमा पनि पुरानै कुरा दोहोरिए, कुनै सहमति हुन सकेन ।’ आजको छलफलमा प्रधानमन्त्री ओलीले जसपा नेताहरुलाई सरकारलाई संसदमा समर्थन गर्न र तत्काल सरकारमा सहभागी हुन आग्रह गरेको उनले बताए ।

    जसपा नेताहरुले भने आफ्ना माग पुरा हुनुपर्ने पुरानै अडान दोहोर्‍याएका थिए । नेता कर्णले आफूहरुले माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट जवाफ दिएको बताए ।

    नेता कर्णले भने, ‘हामीहरुले रेशम चौधरीको रिहाइलगायतका हाम्रा ५ बुँदे माग राख्यौँ । हामीले प्रधानमन्त्रीलाई तपाईंलाई समर्थन गर्नुपर्ने भए हाम्रा माग पहिला पूरा गर्नुहोस् अनि सोचौंला, भन्यौँ ।’

    भेटमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सहभागी थिए भने प्रधानमन्त्री ओलीसँग एमाले नेता सुवास नेम्बाङ, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईलगायत उपस्थित थिए ।

  • नेपालमा कोरोना संक्रमणको संख्या बढ्यो, एकैदिन १८८ संक्रमित थपिए

    नेपालमा कोरोना संक्रमणको संख्या बढ्यो, एकैदिन १८८ संक्रमित थपिए

    काठमाडौं । नेपालमा थप १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४०३२ जनाको पीसीआर परिक्षण गर्दा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९२ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

  • नेपालसहित तीन मुलुकबीच फुटबल सिरिज आजबाट शुरु

    नेपालसहित तीन मुलुकबीच फुटबल सिरिज आजबाट शुरु

    काठमाडौं । नेपालसहित तीन मुलुकबीच आजदेखि त्रिदेशीय फुटबल रिसिज हुँदैछ । पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तान भिड्ने भएका छन् । नेपाल, बंगलादेश र किर्गिस्तान बीच पहिलो चरणमा एक अर्का विरुद्ध खेल हुने छ । त्यहाँबाट शीर्ष दुईमा रहने टोलीबीच फाइनल हुने छ ।

    प्रतियोगितामा नेपालको नेतृत्व गोलकिपर किरण चेम्जोङले गर्दैछन् । नेपाली टोलीले लामो समयदेखि राम्रो तयारी गरेका कारण नतिजा राम्रो आउने अपेक्षा गरिएको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताएक छन् । नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार किर्गिस्तानसँग खेल्नेछ ।

    नेपालले दोश्रो खेल चैत १४ गते बंगलादेशसँग खेल्नेछ । १६ चैतमा फाइनल राखिएको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा नेपाल सहभागी हुन लागेको हो । खेल दशरथ रंगशालामा हुँदैछ । खेल प्रत्यक्ष हेर्न भने साधारण र भिआइपी प्याराफिटमा टिकट काटेर उपस्थित हुन पाइने छ ।

  • पुनर्निर्माण भएका घरमा थप संरचना बनाउन पाइने

    पुनर्निर्माण भएका घरमा थप संरचना बनाउन पाइने

    काठमाडौं । भूकम्पपछि सरकारी अनुदानमा पुनर्निर्माण भएका निजी आवासमा अब थप संरचना बनाउन पाइने भएको छ । अहिलेको मुल संरचनालाई आधार मानेर घरको दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी संरचना थप गर्न सकिने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि बनाएको छ ।

    कार्यविधि प्राधिकरणको कार्यकारी समितिबाट पारित भएपछि कार्यान्वयनमा जाने प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जनाएका छन् । प्राधिकरणका अनुसार प्राधिकरणको समय सकिएपछि स्थानीय सरकार र शहरी विकास तथा भवन निर्माण विभाग यसको मुख्य कार्यान्वयनकर्ता हुनेछन् ।

    कार्यविधि निर्माण गरी सोमबार प्राधिकरणले यसबारे विस्तृत छलफल गरेको छ । कार्यविधि अनुसार ढुंगामाटो तथा सिमेन्टको जोडाइ भएका घरहरुमा दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी ढंगले संरचना विस्तार गर्न सकिने भएको छ । तला थप गर्न भने यसअघि तयार भइसकेको ‘हाइव्रिड स्ट्रक्चर म्यानुअल’को उपयोग गर्नुपर्ने भएको छ ।

    ज्ञवालीका अनुसार कार्यविधि कार्यान्वयनको केन्द्रबिन्दु स्थानीय तह हुने छ । माउघरको क्रमशः विस्तार मुलतः ग्रामीण क्षेत्रमा संस्कृति नै रहेको भन्दै उनले थपिएको हिस्सा समेत भूकम्प प्रतिरोधी होस् भन्ने उद्देश्यले कार्यविधि बनाइएको जानकारी दिए ।

    इन्जिनियर एवं निर्माण प्राविधिकलाई उपयोगी हुनेगरी विस्तृत इन्जिनियरिङ ड्रइङ र डिजाइनसहित कार्यविधिको मस्यौदा तयार गरिएको उनको भनाइ छ । कार्यविधि घरधनी एवं निर्माणकर्मीले बुझ्नेगरी नेपाली भाषामा लेखिएको कार्यक्रममा जानकारी दिइयो ।

    शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घर विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने विश्वास व्यक्त गरे । कार्यविधिलाई छिट्टै अन्तिम रुप दिने गरी काम भइरहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता गोपाल प्रसाद अर्यालले सम्भव भएसम्म पालिका नभए जिल्लास्तरमा एक–एकवटा घरहरुमा नमुना विस्तार गरी कार्यान्वयनमा लैजाँदा प्रभावकारी हुनसक्ने राय व्यक्त गरेका छन् । अमेरिकी सहायता नियोग (यूएसएड) का सन्तोष ज्ञवालीले कार्यविधि पुनर्निर्माण भएका घरका लागि मात्र नभएर आगामी दिनमा बन्ने घरहरुका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माउघर अर्थात् ‘कोर हाउजिङ युनिट’ पुनर्निर्माण गर्न तीन लाख रुपैयाँ अनुदान तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

  • नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

    नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार २० जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ । पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । यो सहति मृत्यु हुनेको संख्या ३०१९ जना पुगेको छ ।

  • राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्रीबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

    आजै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज यहाँ आइपुग्नुभएको हो ।

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछन् ।

    दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ । राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित छन् । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् ।

  • आज कांग्रेस पदाधिकारीको बैठक

    आज कांग्रेस पदाधिकारीको बैठक

    काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दैछ । १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको पार्टी सचिवालयले जनाएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको छ ।

    पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु पर्ने स्वर चर्किरहेको छ । यसको नेतृत्व कांग्रेसले दिनु पर्ने दवाव नेतृत्वमाथि रहेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै अन्य राजीनितक दलसँग सहकार्य गरेर प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गरी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने दवाव बढाएका छन् ।

    सभापति शेरबहादुर देउवा भने मौन रहेका छन् । पदाधिकारी बैठक अगाडी आइतबार पौडेल निवास बोहोराटारमा बसेको पौडेल पक्षका नेताको बैठकले अब सरकारको नेतृत्व कांग्रेसले लिनु पर्ने र यसका लागि सभापतिमाथि दबाब दिने निर्णय गरेको छ । कांग्रेसले ठोस निर्णय लिन नसक्दा अन्य दलसमेत अन्यौलमा रहेका छन् ।

  • राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर

    राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं । आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बंगलादेश भ्रमण शुरु हुँदैछ । यस भ्रमणका दौरान दुई देशबीच चार समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । भ्रमणमा नेपाल र बंगलादेश बीच पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने कार्यक्रम छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार यो सम्झौतापछि बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनमा प्रयोग गर्न सकिने छ । नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुँदैछ ।

    यससम्बन्धी सम्झौताका लागि मन्त्रिपरिषदको वैठकले उद्योग, वाणिज्य र आपूर्ती मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ । राष्ट्रपतिकै भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ ।

    नेपाल सरकार र बंगलादेश सरकारबीच सांस्कृतिक कार्यक्रम आदान प्रदान कार्यक्रम सम्बन्धी सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसबाहेक उर्जा सहकार्य , व्यापार प्रवर्द्धनजस्तो विषयले समेत छलफलमा प्राथमिकता पाउने बताइएको छ । राष्ट्रपति भण्डारी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

  • बढ्दो खानेपानीको माग पूर्ति गर्न कपनमा नयाँ डिप बोरिङ

    बढ्दो खानेपानीको माग पूर्ति गर्न कपनमा नयाँ डिप बोरिङ

    काठमाडौँ /बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा डिप बोरिङ सुरु गरिएको छ। स्थानिय कपन गुम्बा उत्तरमा रहेको शिव मन्दिर मार्ग टोल सुधार समितिमा डिप बोरिङ्को सुरुवात गरिएको हो ।

    चैत्र ६ गते वडा नम्बर ११मा शुरु गरिएको उक्त खानेपानी निमार्ण आयोजनाबाट उक्त क्षेत्रका २५३ घरधुरी लाभान्वित हुने वडा अध्यक्ष राजु अधिकारीले जानकारी गराए।

    वडा कार्यालयको २० लाख बजेटबाट डिप बोरिङ करिब १५० मिटर खनिएको अधिकारीले बताए।वर्तमान परिस्थितिमा बस्तिहरु बढेसंगै खानेपानीको बढ्दो मागलाई पुरा गरि खानेपानीको सुविधा उपलब्ध गराउने वडाको पहिलो प्राथमिकता अन्तर्गत सबै क्षेत्रमा खानेपानी विस्तार गरिने समेत अधिकारीले बताए।

  • फेरि बढ्यो कोरोना त्रास:सभा,जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

    फेरि बढ्यो कोरोना त्रास:सभा,जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि कोरोना संक्रमणको जोखिम बढेको हुनाले भीडभाड नगर्न अनुरोध गरेको छ ।

    मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गदै कोरोना त्रास बढेकाले सभा, जुलस, भेला, र्‍याली, बैठक, सेमिनार तथा जमघटमा नर्गन अनुरोध गरेको हो ।

    पछिल्लो समय भारत लगायतका देशमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा समेत संक्रमण फैलिने अवस्थालाई मध्यजनर गर्दै उक्त निर्णय गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ।