Category: समाचार

  • तत्कालीन शासक नबोल्दा धम्की सुन्न परेको छ : प्रधानमन्त्री ओली

    तत्कालीन शासक नबोल्दा धम्की सुन्न परेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

    ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उनले थिचोमिचो र गुम्स्याएर नभई सत्यतथ्य, समानता, सम्मान र न्यायका आधारमा मात्र छिमेकीसँगको समन्धलाई सुमधुर र सुदृढ बनाउन सकिने बताए । प्रधानमन्त्री ओलीले भने, “नेपाल–भारतबीचको सम्बन्धलाई सुमधुर सम्बन्धमा परिणत र विस्तार गर्न हामीले नक्सा छाप्नै पथ्र्यो, भारतसँग कुरा गर्नैपथ्र्यो, वार्ताका माध्यमद्वारा हाम्रो भू–भाग फिर्ता ल्याउनैपर्छ अनिमात्रै सम्बन्ध सुमधुर हुन सक्छ, सीमा समस्या सुस्तामा छ, कञ्चनपुरमा छ ।”


    लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा तथ्य प्रमाणका आधारमा भारतसगँ मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने बताउँदै उनले भने, “हाम्रा भू–भाग फिर्ता लिनुपर्छ, सत्य र तथ्यमा आधारित भएर चल्नुपर्छ, दुवै छिमेकीलाई उहाँहरुको भू–भाग हाम्रो भनेर दाबी गर्ने हैसियतमा हामी छौँ र ? भनी स्पष्ट पारिसकेका छौँ ।”

    प्रधानमन्त्री ओलीले भने, “लामो समयदेखि इतिहासले छोडेका सीमासम्बन्धी केही समस्या छन् । ५८ वर्षदेखि छोडेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या छ । विसं २०१८ सम्म हामीले नापी गरेको, जनगणना गरेको, मालपोत उठाएको, तीरो तिरेको, प्रशासन राखेको, प्रशासन चलाएको ठाउँबाट तत्कालीन शासकले बोल्न आँट नगर्दा हामी चुपचाप विस्थापित हुने कुरा भयो ।”

    पछिल्लो पटक आफ्नो भू–भाग सामेल गरेर राजनीतिक र प्रशासनिक नक्सा बनाएको उनले बताए । “नक्सा छाप्यौँ, त्यसलाई संविधानको अनुसूची र स्वस्तिक छापमा पनि सामेल गर्यौँ”, प्रधानमन्त्री ओलीले भने, “त्यो गर्दा भारतसँग असमझदारी बढ्यो भन्ने केही मानिसमा परेको छ, त्यो कुरा साँचो होइन ।” जुनसुकै मूल्यमा पनि आफ्नो भूमि हाम्रै हो भन्न सक्ने हैसियत राख्न जरुरी रहेको उनको भनाइ थियो । भूमिको मामिला निकै संवेदनशील हुँदा सीमा सुरक्षासँग सरोकारवाला निकाय निकै सजग र सचेत हुनुपर्ने उनले बताए ।

    “हाम्रो भूमि हडपिएको छ, भोग चलन गर्न पाएका छैनौँ, हाम्रो हो’ भन्दासमेत गाली खानु र धम्की सुन्नुपरेको छ”, उनले भने । प्रधानमन्त्री ओलीले अबका दिनमा सीमाका विषयमा वार्तामा जाने र सिमाना हेर्ने राष्ट्रसेवक तथा सिमानाको सुरक्षा खटिनेलाई सीमास्तम्भ सार्न नदिन तथा भूमि मिचिन र दशगजाको दुरुपयोग रोक्नेतर्फ विशेष ध्यान पुर्याउन निर्देशन दिए ।

    सीमाकै सुरक्षा छैन भने देशको सुरक्षा कसरी ?

    सीमा सुरक्षा भनेको समग्र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण भाग र अङ्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “सीमा सुरक्षा छैन भने राष्ट्रको सुरक्षा कसरी हुन्छ? राष्ट्रको सुरक्षाका लागि सीमा सुरक्षा हुनुपर्छ । सीमा सुरक्षा अत्यन्तै महत्वपूर्ण कुरा हो, त्यसका निम्ति सुरक्षा नीति कार्यान्वयन कार्यनीति बनाएका छौँ ।”

    पछिल्लो समय सरकारले सीमा सुरक्षा बलको जनशक्ति र पोष्ट बढाउँदै लगेको, उनीहरुलाई सक्षम तुल्याउन साधनस्रोतको प्रबन्ध मिलाउने तर्फ ध्यान दिइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “राष्ट्र र जनताको हितका खातिर उच्च मनोबलका साथ सीमा रेखाको सुरक्षादेखि अवाञ्छित गतिविधि रोक्नुस् ।”

    पछिल्लो समय संविधानले नेपाली जनताको सार्वभौमसत्ताको सम्मान, सीमा, भूगोल र नेपालको हितको रक्षालाई हाम्रो कर्तव्यका रूपमा प्रस्तुत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “संविधानले राष्ट्र र जनताको भावनाको प्रतिनिधित्व गरेको छ ।”

    नेपालका तराई क्षेत्रका कञ्चनपुरलगातका क्षेत्रमा बस्तीभन्दा पनि यता सीमास्तम्भ ल्याइएको घटनाको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “रिफरेन्स सीमास्तम्भलाई वास्तविक सीमास्तम्भ मान्न सकिन्न । हामीले हाम्रो भू–भागको सुरक्षाका लागि जिम्मेवार ढङ्गबाट पहल गर्नुपर्छ ।”

  • भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि काठमाडौँ

    भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि काठमाडौँ

    बैतडी । दोगडकादार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

    घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए ।

    उनले भने, ‘घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ ।’ डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमूना सङ्कलन गरिएका हुन् । भागरथीको ‘भेजाइनल स्वाब’मा शङ्का लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ ।

    स्वाब एक सहायक सामग्री भएकाले बलात्कार गर्ने व्यक्तिको डिएनए छुटेको भएमात्रै परीक्षणबाट थाहा हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए । उनले भने, ‘शव परीक्षण रिपोर्टले कसरी मृत्यु भयो भन्ने कुराको प्रमाणित गर्छ ।’

    शवको परीक्षण कार्य जिल्ला अस्पतालमा शनिबार गरिएको भए पनि अझै सार्वजनिक गरिएको छैन । शव परीक्षण गरिएको भए पनि रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । उनले भने, ‘रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा छ, आज प्रहरीलाई बुझाउछौँ ।’

    शव परीक्षण रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षण भएको तीन दिनसम्म पनि आफन्तले भने शव बुझ्‍न मानेका छैनन् । बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्‍ने भागरथीका काका शिवराज भट्टले बताए ।

    उनले भने, ‘वास्तविक हत्यारा पत्ता नलाग्दासम्म शव बुझ्‍ने कुरै हुँदैन’, माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्ररुपमा मृत अवस्थामा फेला परेकी थिइन् । भागरथी दोगडाकेदार गाउँपालिका- ३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।

  • दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ

    दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ

    काठमाडौं । प्रहरीले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय दैलेखको टोलीले हत्यामा संलग्न भएको आरोपमा दैलेखकै महाँबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई १६ वर्षपछ पक्राउ गरेको हो ।

    पत्रकार थापाको २०६२ साउन २७ गते साविकको द्वारी गाविस–१ मा हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको थियो ।

    उक्त मुद्धामा शाहीलाई जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते २ वर्ष कैदको फैसला सुनाएको थियो । तर शाही त्यसयता फरार रहेका थिए ।

  • उत्तराखण्ड हिमनदी : अझै भेटिएनन् हराइरहेका डेढ सय मानिस

    उत्तराखण्ड हिमनदी : अझै भेटिएनन् हराइरहेका डेढ सय मानिस

    उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित एक बाँध भत्किँदा आएको बाढीले बगाएका डेढ सय मानिस अझै वेपत्ता छन् । उनीहरुको खोजीका लागि सयौं सैनिक परिचालन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । यस घटनामा ९ जनाको शव फेला परेको छ । १६ जनाको भने जिवितै उद्धार भएको छ ।

    उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको थियो । यो घटना आइतबारको हो । कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ ।

    हराइरहेकामध्ये अधिकांश स्थानीय जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुर हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन्। भारत सरकारले मृतकका परिवारलाई जनही दुई लाख र प्रदेश सरकारले जनही ४ लाख क्षतिपर्ति दिने घोषणा गरेका छन् ।

  • नयाँ सवारी चालक अनुमति पत्र लिन ५ लाखको आवेदन

    नयाँ सवारी चालक अनुमति पत्र लिन ५ लाखको आवेदन

    काठमाडौं । नेपालमा नयाँ चालक अनुमतिपत्र लिन पाँच लाख भन्दा माथिको आवेदन परेको छ । नेपाली संचरमाध्यमहरुका अनुसार देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन उक्त सख्यामा आवेदन परेको हो । त्यसो त सरकारले एक वर्षयता लाइसेन्स वितरण गरेको छैन ।

    ११ चैतमा लकडाउन शुरु भयो । त्यसपछि नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित भएको हो । १० महिनापछि खुलेका कारण एकै पटक चाप परेको देखिएको छ ।

    यातायात व्यवस्था विभागका अनुसार अहिले सेवाग्राहीले २४ घण्टा र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्छन् । गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भिड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन् ।

  • थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०३८ पुग्यो

    थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०३८ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।

  • नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, २६० जना डिस्चार्ज

    नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, २६० जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २६० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७२ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ८ सय १५ रहेको छ ।

  • सभामुख सापकोटाको रिट न्यायाधीश प्रकाश ढुंगानाको इजलासको तेस्रो नम्बरमा

    सभामुख सापकोटाको रिट न्यायाधीश प्रकाश ढुंगानाको इजलासको तेस्रो नम्बरमा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरूमा गरेका नियुक्ति असंवैधनिक भएको भन्दै दायर गरेका मुद्दाको रिटमाथिको सुनुवाई आज हुँदैछ ।

    नियुक्ति भएका सबैलाई विपक्षी बनाएर शुक्रबार दायर रिटको पेसीमाथिको सुनुवाई न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ ।

    सापकोटाले उत्प्रेषणको आदेश माग्दै दायर गरेको रिट ढुंगानाको इजलासमा तेस्रो नम्बरमा परेको हो।

    १९ पृष्ठ लामो निवेदनमा निवेदकले नियुक्ति तथा सिफारिसविरुद्ध उत्प्रेषण, परमादेश, उपयुक्त आदेश जारी गर्न माग गरेका छन् ।

    रिटमा राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री ओली तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार राष्ट्रिय सभाका अध्यष गणेश तिमिल्सिना लगायत ३९ जनालाई विपक्षी बनाइएको छ ।

    उनले संवैधानिक आयोगहरुमा गरिएको सिफारिस र नियुक्ति असंवैधानिक भएको दाबी गरेका छन् ।

    सापकोटाले निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् ।

    साथै उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको बदर गर्न पनि सभामुख सापकोटाले माग गरेका छन् ।

    संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै बुधबार शीतल निवासमा शपथ गराइएको थियो।

  • बैतडीमा बुबाले गोली हानेर छोरीको गरे हत्या

    बैतडीमा बुबाले गोली हानेर छोरीको गरे हत्या

    बैतडी । बैतडीमा एक बुबाले आफ्नै २० वर्षिय छोरीको गोली हानेर हत्या गरेका छन् । नेपाली संचारमाध्यमहरुका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका १० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकबाट गोली हानी हत्या गरेका हुन् ।


    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना शनिबार साँझ ५ बजेतिर भएको हो । प्रहरीका अनुसार श्रीमान–श्रीमतीको झगडामा छोरीले छुट्याउन खोज्दा विवाद भएपछि बुवाले गोली हानेको प्रारम्भिक जानकारी आएको छ । गोली हान्ने अभियुक्त भने फरार भएका छन् ।

  • ‘भागरथीको हत्या प्रकरण निर्मलाको जस्तै नहोस’

    ‘भागरथीको हत्या प्रकरण निर्मलाको जस्तै नहोस’

    काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना यसअघि कंचनपुरमा भएको निर्मला पन्तको हत्या जस्तै नहोस भनी सरकारको ध्यानाकर्षण गराएको छ । घटनामा संलग्न रहेकालाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग समेत नेकपाले गरेको छ ।

    अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति निकाल्दै यो घटनाबाट आफूहरु स्तब्ध भएको उल्लेख गरेका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

    कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीहरु पक्राउ नपर्दै भएको बैतडीको यो घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको प्रमाणित गरेका समेत विज्ञप्तीमा जनाइएको छ ।

    ‘विगतमा निर्मला पन्तको अनुसन्धानमा जस्तो यो घटनामा गैरजिम्मेवार नबन्न सरकारससँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वनजिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दैछौं,’ उनीहरुले भनेका छन् ।

    यसअघि बुधबार भएको किशोरीको हत्यामा संलग्नको खोजी भइरहेको र उनीहरुको नजिक पुग्ने प्रमाणहरु फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

  • बैतडीमा किशोरीको  बलात्कारपछि विभत्स हत्या, अझै पत्ता लागेन अपराधी

    बैतडीमा किशोरीको बलात्कारपछि विभत्स हत्या, अझै पत्ता लागेन अपराधी

    बैतडी । कंचनपुरकी किशोरी निर्मला पन्तको बलत्कारी अहिले पनि खुलेआम सडकमा घुमिरहेको छ । नेताहरुलाई चिडियाखानामा थुन्ने धम्की दिने गृहमन्त्री एक अपराधी पत्ता लगाएर थुन्न सक्दैनन् । जसले समाजमा यस्तो कुकर्म गर्नेहरुको मनोवल बढिरहेको छ ।

    यस्तै घटना पुनः सुदुरपश्चिममा भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि विभत्स हत्या भ्एको छ । बुधबार भएको यो घटनाबाट आजसम्म अपराधी पत्ता लाग्न सकेको छैन ।

    स्थानीय सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्ने उनको सोही दिन स्कुलबाट घर जाने क्रममा बाटोमै बलात्कारपछि हत्या भएको हो । प्रहरीका अनुसार अन्दाजी तीन बजेतिर उनको हत्या भएको देखिएको छ । बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडेपछि घटना भएको हो ।
    २०७५ साउन १० गते भएको निर्मलाको हत्यारा पत्ता लगाउन गृहमन्त्री असफल छन् । उनकै लापरवाहीका कारण थप एक अर्की किशोरीले अकालमा ज्यान गुमाउनु परेको छ । प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ । घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क फेला परेको छ ।

    हात कोतरिएको र यौनाङ्गमा रगत बगेको देखिएको छ । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमबाट एसएसपी जनकराज पाण्डे बैतडी पुगेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट पञ्चकुमार बाखुको टोली बैतडी पुगेको छ । घटनास्थलमा लगिएको प्रहरीको तालिम प्राप्त कुकुरको सहायतामा भागरथीको मोबाइल फेला परेको छ ।

  • नेपालमा कोरोना संक्रमित दोहोरो अंकमा झर्‍यो, २४ घण्टामा कसैको मृत्यु भएन

    नेपालमा कोरोना संक्रमित दोहोरो अंकमा झर्‍यो, २४ घण्टामा कसैको मृत्यु भएन

    काठमाडौं । नेपालमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ९ सय ५९ रहेको छ ।

  • १ लाख ७१ हजारले लगाए कोरोना खोप

    १ लाख ७१ हजारले लगाए कोरोना खोप

    काठमाडौं । नेपालमा शुक्रबारसम्म १ लाख ७१ हजार ४ सय ८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ७७ जिल्लाका २ सय १ खोप केन्द्रबाट १ लाख ७१ हजार ४ सय ८६ व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमती प्रदेशमा ५९ हजार ९ सय ४२, गण्डकीमा १७ हजार ३ सय १५, लुम्बिनीमा २६ हजार ८ सय ९८, कर्णालीमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार ८ सय ९ जनाले खोप लगाएका छन्।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको खोप शनिबार सम्म लगाइने छ । दोस्रो चरणअन्तर्गत लगाइने खोप चाँडै जानकारी दिनेसमेत उनले उल्लेख गरेक छन् ।

  • प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरौं : कांग्रेस

    प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरौं : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिगमनका विरुद्धमा हुने आन्दोलन शान्तिपूर्ण गर्न सबै दल तथा संस्थालाई आह्वान गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति निकाल्दै यस्तो आह्वान गरेका हुन् । उनले जनतालाई दुख नदिने गरी शान्तिपूर्ण आन्दोलनमा लाग्न सबैसँग अपिल गरेका हुन् ।


    प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले शनिबार प्रदर्शनको कार्यक्रम राखेको छ । यसअघि नेकपालको प्रचण्ड, नेपाल समुहले बिहीबार नेपाल बन्द आयोजना गरेको थियो । त्यसको प्रभाव आजको प्रधानमन्त्रीले गरेको प्रदर्शनमा समेत देखिएको छ । सरकारले अपेक्षा गरेभन्दा निकै कम मात्र मानिस काठमाडौं आएका छन् ।

    उता, कांग्रेसले शनिबार आयोजना गरेको प्रदर्शनको पूर्वसन्ध्यामा विज्ञप्ति निकाल्दै सडकबाट सालिन ढंगले विरोध गर्न आह्वान गरेको हो । नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आएको स्मरण प्रवक्ता शर्माले गरेका छन् ।

    उनले अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना नगरेको समेत बताएका छन् । संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न कांगे्रस दृढ रहेको उनले बताए ।

  • २४ घण्टामा १०५ जनामा कोरोना, २७२ डिस्चार्ज

    २४ घण्टामा १०५ जनामा कोरोना, २७२ डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा कोरोना भाइरस देखिएको छ । यस अवधिमा २७२ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९९ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमित १०५ जनामध्ये वाग्मती प्रदेशमा ६५, लुम्बिनीमा २१, गण्डकीमा ११, प्रदेश १ मा ४, सुदूरपश्चिममा २, कर्णाली र प्रदेश २ मा १र१ जना संक्रमित भेटिएका छन् ।

    जसमध्ये काठमाडौंमा ४३, ललितपुरमा १२ र भक्तपुरमा ३ जना रहेका छन् । त्यस्तै चितवनमा ५ जना, कास्कीमा ९ जना, दाङमा ७ जना र रुपन्देहीमा ४ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

    शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । २ लाख ६७ हजार ५६४ जना निको भएका छन् र २०३५ जनाको मृत्यु भएको छ ।

    अब देशभर हाल २१०८ जना आइसोलेसनमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या २७२ रहेको छ भने २ जनाको मृत्यु भएको छ ।

  • अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने

    अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने

    अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो बर्षको बजेट विधेयक पारित गरेको छ । राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको झन्डै २० खर्ब (दुई ट्रिलियन) डलरको कोरोना भाइरस राहत प्याकेजलाई पनि बजेटमा समेट्ने व्यवस्था उक्त विधेयकले गरेको हो।

    अब रिपब्लिकन सिनेटरहरुको समर्थनबिना पनि उक्त राहत प्याकेज पारित हुन सक्छ । बाइडेनले कोरोना भाइरससँग जुध्न १‍‍.९ ट्रिलियन राहत प्याकेज प्रस्ताव गरेका छन् ।

    रिपब्लिकनहरुले उक्त प्याकेज धेरै खर्चिलो भएको भन्दै समर्थन गर्न मानेका छैनन् । १० रिपब्लिकन सिनेटरले केही दिन अघि ६०० अर्ब डलरको छुट्टै प्रस्ताव तयार पारेर राष्ट्रपति बाइडेनसँग भेट गरेका थिए । बाइडेन सहित डेमोक्रेटिक नेतृत्व उक्त प्रस्तावमा सहमत भएको छैन । यस्तोमा दलिय लाइन अनुसार मात्रै राहत प्याकेज पारित हुने सम्भावना पनि बढेको छ ।

    बाइडेनको प्रस्तावमा प्रत्येक अमेरिकीलाई १४ सय डलरको आर्थिक सहायता प्रदान गर्ने उल्लेख गरिएको छ । त्यस्तै मार्चमा अन्त्य हुने बेरोजगार भत्ताको अवधि पनि लम्ब्याइनेछ ।

    राहत प्याकेजलाई बजेटमा समेटेर मार्च १५ भित्र संसदबाट पारित गर्ने तयारी डेमोक्रेटहरुले गरेका छन् । बजेट पास गर्न संसदका दुबै सदनको साधारण बहुमत काफी हुन्छ। अन्य विधेयक भने तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको साधारण बहुमत र सिनेटको ६० भोट हुँदा मात्र पारित हुन सक्छन् ।

    अहिले सिनेटमा डेमोक्र्याट र रिपब्लिकनका ५०/५० सिनेटर रहेका छन् । रातभर बहस भएर शुक्रवार विहान पारित भएको बजेट विधेयकमा दुबै दल आ-आफ्नो लाइन अनुसार मतदान गरेका थिए । उपराष्ट्रपति कमला ह्यारिसले बजेटको पक्षमा निर्णायक मत खसालेपछि विधेयक पारित भएको हो ।

    विधेयक सैद्धान्तिक रुपले पारित भएपनि राष्ट्रपति बाइडेन रिपब्लकिनहरुसँगको सहमतिमै राहत प्याकेज पास गर्ने प्रयासमा छन् । त्यसका लागि १४ सय डलर पाउने व्यक्ति र परिवारको आय सीमा घटाउने बारे आफुले पुनर्विचार गर्न सक्ने उनले बताइ सकेका छन् ।

    उनले सुरुमा बार्षिक ७५ हजार डलरसम्म कमाउने व्यक्ति या एक लाख ५० हजार डलरसम्म कमाउने परिवारलाई यो रकम दिने प्रस्ताव गरेका थिए । अहिले व्यक्तिको हकमा ५० हजार र परिवारको हकमा एक लाख डलरमा झार्ने पक्षमा डेमोक्र्याटहरु सहमत भएका हुन् । राहत प्याकेज पारित भए कोरोना भाइरस महामारी विरुद्धमा जुध्नका अलावा अर्थतन्त्रलाई ढल्नबाट जोगाउने सिनेटको बजेट कमिटी अध्यक्ष बर्नी स्यान्डर्सले बताएका छन् ।

    राहत प्याकेजमा नागरिकलाई नगद अनुदान र बेरोजगार भत्ता बाहेक साना तथा मझौला व्यवसाय एवं राज्य र स्थानीय सरकारहरुका लागि रकमको व्यवस्था गरिएको छ ।

  • ‘ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाए, गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ’

    ‘ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाए, गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताएका छन् ।

    नेकपाको ओली समूहले शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले कतिपयले आज बिहानसम्म पनि ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाएको बताए।

    बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो,’ आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न सक्दैन् उनले भने । हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ । गणतन्त्र र संघीयतालाई कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन्।

  • ‘मूल पार्टी कुन हो,अझै पनि कोही अलमलमा हुनुहुन्छ भने कठैबरा’ !

    ‘मूल पार्टी कुन हो,अझै पनि कोही अलमलमा हुनुहुन्छ भने कठैबरा’ !

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आफू नेतृत्वकै पार्टी सक्कली नेकपा भएको बताए ।

    नारायणीहिटीमा आयोजित सभामा आफू नेतृत्वकै पार्टी सक्कली भएको बताएका हुन् ।

    उनले भने, ‘मूल पार्टी कुन हो ? अझै पनि कोही अलमलमा छ भने कठैबरा भन्नुपर्छ । यही हो मूल पार्टी । देशकै मूल पार्टी हो । देशकै सबैभन्दा ठुलो पार्टी । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा गर्ने पाटी हो ।’

  • ‘मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा थुन्छौँ’ – गृहमन्त्री

    ‘मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा थुन्छौँ’ – गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा हाल्ने चेतावनी दिएका छन् ।

    दरबारमार्गमा नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो धम्की दिएका हुन् ।

    उनले प्रचण्डले ‘मांसहारी आन्दोलन’ गर्ने दुस्साहस गर्न लागेको भन्दै जावलाखेलको जु मा लगेर हाल्ने धम्की दिएका हुन् ।

    प्रचण्डले केही हप्ता अघि आन्दोलन अब शाकाहारी नहुने बताएका थिए । उनले समर्थकहरुलाई आक्रामक बन्न भनेका थिए । यसको जवाफमा बादलको पछिल्लो भनाई आएको हो ।

    बादलले नयाँ जनआन्दोलनमा जान लागेको तर्क गरे । अहिलेको नेतृत्वले देशलाई प्रतिगमनतर्फ लान लागेको भ्रम छरिरहेको बताउँदै भने,‘गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि जनसभा नारायणहिटीको दरबार अगाडि आमसभा गर्न लागेका हौं ।’

  • ओली पक्षको शक्ति प्रदर्शन, सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

    ओली पक्षको शक्ति प्रदर्शन, सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंमा शक्ति शुरु भएको छ ।

    १२ बजेबाट शुरु भएको शक्ति प्रदर्शनमा उपत्यकाको विभिन्न स्थानबाट र्‍याली निस्केको छ । जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्न रोक लगाइएको छ।

    दरबारमार्गस्थित नारायणहिटी अगाडि आमसभाको आयोजना गरिएको छ।

    त्यसको लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्नमा केहि समयको लागि रोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

    निजी सवारी साधनलाई पनि कार्यक्रमस्थल वरिपरिबाटै डाइभर्ट गरिएको महाशाखाले जनाएको छ।

  • ड्यूटी गर्दागर्दै बेहोस भ्एका सशस्त्र प्रहरी निरिक्षकको मृत्यु

    ड्यूटी गर्दागर्दै बेहोस भ्एका सशस्त्र प्रहरी निरिक्षकको मृत्यु

    बारा । बिहीबार नेकपाको आमहड्तालका दौरान ड्युटीमा खटिएका बेला बेहास भएका सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरको मृत्यु भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐर बिहीबार ड्यूटीमै खटिएका बेला बेहोस भएका थिए । उनको घर दार्चुला लेकम गाउँपालिका ३ हो ।

    चिकित्सकहरुका अनुसार उनको हृदयघातका कारण ज्यान गएको छ । सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशका अनुसार बिहीबार दिउँसो आमहड्तालमा ड्युटीमै खटिएका बेला उनी बेहोस भएका हुन् । त्यसपछि उनलाई तत्कालै कलैया अस्पताल लगिएको हो ।

    त्यहाँ उपचार सम्भव नभएपछि उनलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो । उक्त अस्पतालले समेत काठमाडौं लैजान रिफर गरेपछि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गर्दैगर्दा उनको ज्यान गएको बताइएको छ ।

  • आज प्रधानमन्त्रीको शक्ति प्रदर्शन, नारायणहिटी अगाडी सभा

    आज प्रधानमन्त्रीको शक्ति प्रदर्शन, नारायणहिटी अगाडी सभा

    काठमाडौं । प्रधानमन्त्र केपी शर्मा ओलीले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछन् । राजधानी आसपासका जिल्लाबाट मानिस ल्याएर उनको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शक्ति प्रदर्शन गर्न लागेको हो । यसअघि प्रचण्ड, माधव समूहले काठमाडौंमा यसैगरी शक्ति प्रदर्शन गरेको थियो । ओलीको प्रदर्शनको अघिल्लो दिन विरोधी खेमाले आम हडतालसमेत गरेको छ ।

    ओलीको प्रदर्शन भने आज नारायणहिटी दरवार अगाडि गर्न लागिएको हो । सभालाई कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने भएका छन् । कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपास गरेको थियो । काठमाडौंमा विभिन्न १३ ठाउँबाट प्रदर्शन गरिने भएको छ । यसले आज दिनभर राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनेछ ।

  • टी१० लिगमा चम्किए सोमपाल, एकै ओभरमा दुई विकेट

    टी१० लिगमा चम्किए सोमपाल, एकै ओभरमा दुई विकेट

    दुबई । दुबईमा जारी टी १० लिगमा नेपाली फास्ट बलर सोमपाल कामीले आज उत्कृष्ट प्रदर्शन गरेका छन् । मराठा अरेबियन्सका लागि खेलेका उनले एकै ओभरमा दुई विकेट झार्दै आफ्नो प्रभाव देखाएका हुन् । उनलाई टीमले लगातार छैटौं खेलमा अवसर दिएको छ । सोमपालले बिहीबार डेक्कन ग्लाडिएटर्सविरुद्ध २ विकेट लिएका हुन् ।

    २ ओभर बलिङ गरेका उनले १२ रन खर्चेर २ विकेट लिए । सोमपालले आफ्नो पहिलो ओभरमा मात्र २ रन खर्चेर २ विकेट झारे । उनले ग्लाडिएटर्सका प्रशान्त गुप्ता र यासिम कलिमको ६४ रनको साझेदारी तोडिदिएका थिए । आफ्नो दोस्रो ओभरमा भने सोमपालले १० रन खर्चिए । सोमपालले टी १० लिगमा ६ खेलबाट ३ विकेट लिइसकेका छन् ।

  • नेपालमा १७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

    नेपालमा १७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

    काठमाडौं । नेपालमा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या २ हजार २ सय २७ रहेको छ । प्रदेश १ को धनकुटामा २ कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा २, महोत्तरीमा २ र रौतहटमा १ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४, चितवनमा ४, धादिङमा १, नुवाकोटमा ४, भक्तपुरमा ४, मकवानपुरमा १, ललितपुरमा १३ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा २, तनहुँमा २, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, म्याग्दीमा २, बागलुङमा ५ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको गुल्मीमा २, दाङमा ९, नवलपरासीमा १, पाल्पामा २, बाँकेमा ६ र रुपन्देहीमा ५ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कैलालीमा ५ र बझाङमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • प्रचण्डका अगाडी ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लगाएपछि…

    प्रचण्डका अगाडी ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लगाएपछि…

    काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा गरिएको नाराबाजीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।

    संवैधानिक आयोगमा नियुक्ति गरेको बिरोधमा गरिएको आमहड्तालको क्रममा सडकमा निस्किएका प्रचण्डले एमसीसीको बिरोधमा नाराबाजी गरेपछि विरोध नगर्न निर्देशन दिएका हुन् ।

    स्थायी कमिटी सदस्य पम्फा भुसाल, विष्णु रिजालसहितले नेतृत्व गरेको पुल्चोक धर्नास्थलमा पुगेका प्रचण्डले ‘आमहडताल सफल पारौं–सफल पारौं’ भन्ने नारा लगाईरहेको बेला साथ दिएर मुट्ठी उचालिरहेका थिए, नारा लगाइरहेका थिए ।

    तर अचानक ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लगाएपछि प्रचण्डले आफ्नो आवाज रोके र मुस्कुराउँदै स्थायी कमिटी सदस्य पम्फा भुसाललाई इसारा गरेर एमसीसीविरुद्ध नारा नलगाउन निर्देशन दिए ।

    लगत्तै, भुसालले पनि नारा लगाउनेलाई सो नारा नलगाउन आदेश दिएपछि फेरि ‘आमहड्ताल सफल पारौं–सफल पारौं’ भन्ने नारा लगाईएको थियो । त्यसपछि आमहड्तालस्थलवाट निस्किएका प्रचण्ड उपत्यकाका विभिन्न ठाउँमा पुगेका थिए ।

  • प्रचण्ड-नेपाल समूहको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता

    प्रचण्ड-नेपाल समूहको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता

    काठमाडौं । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ ।

    साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो ।

  • सेनामा २ सय कर्मचारी माग

    सेनामा २ सय कर्मचारी माग

    काठमाडौं । नेपाली सेनाले एकैपटक २ सय कर्मचारी भर्ना गर्ने गरी दरखास्त आह्वान गरेको छ । सेनाले अधिकृत क्याडेटमा भर्ना खुलाएको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाका अनुसार २ सय जना अधिकृत क्याडेट (लेफ्टिनेण्ट) पदमा भर्ना खुलेको हो ।

    यसअनुसार खुलातर्फ १०५ जना, २५ जना महिला, मधेशी कोटाबाट २५ जना तथा दलित १४ र पिछडिएको क्षेत्रबाट ४ जनाको माग भएको छ । आजदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने छ । न्युनतम प्रमाणपत्र तह वा सो सरह उतीर्णले दरखास्त दिन सक्ने गरी दरखास्त आह्वान भएको हो ।

  • आज पर्वत जाँदै प्रधानमन्त्री

    आज पर्वत जाँदै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पर्वत जाँदैछन् । कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटन गर्न उनी पर्वत जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटमा रहेको २२०÷१३२ केभी सबस्टेशन, खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको २२० केभी प्रसारण लाइन र दानामा २२०÷१३२÷३३ केभि सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

    आजै नेकपाले नेपाल बन्द आयोजना गरेको छ । यस अवस्थामा उनको पर्वत भ्रमण भने सुरक्षाकर्मीका लागि निकै चूनौतिपूर्ण हुने देखिएको छ । पोखरा र बागलुङबाट थप सुरक्षा बल मगाएर जिल्लामा सुरक्षा बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • नेकपाको आम हडताल शुरु, सडकमा प्रहरीको बाक्लो उपस्थिति

    नेकपाको आम हडताल शुरु, सडकमा प्रहरीको बाक्लो उपस्थिति

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड, नेपाल समूहको आयोजनामा आज आम हड्ताल गरिएको छ । यसको प्रभाव राजधानीमा बिहानैबाट देखिएको छ । सार्वजनिक सवारी साधन चलेका छैनन् । अत्यावश्यक बाहेक निजी सवारी साधन समेत कमै मात्र चलेका छन् । तर, सडकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

    नेकपाका नेता तथा कार्यक्रता बन्द सफल बनाउन सडकमा आएका छन् । गृह मन्त्रालयले भने निर्धक्कसँग पेशा व्यवसाय संचालन गर्न आह्वान गरेको थियो । बिहानै नेकपा कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।

    सडकमा टायर बालेर प्रदर्शन गर्न थालेपछि प्रहरीले अवरोध गर्दा झडप भएको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाई नगरी संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य नियुक्त गरेको विरोधमा आज आम हड्ताल भएको हो ।

  • बन्दप्रति कडा रुपमा प्रस्तुत हुने गृह मन्त्रालयको चेतावनी

    बन्दप्रति कडा रुपमा प्रस्तुत हुने गृह मन्त्रालयको चेतावनी

    काठमाडौं । प्रचण्ड–माधव समूहको नेकपाले संवैधानिक निकायमा सरकारले गरेको नियुक्तीको विरोधमा बिहीबार आकस्मिक आम हड्ताल आयोजना गरेको छ । यसको विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी सरकारले दिएको छ । आम हड्तालप्रति ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

    गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह आह्वान गरेको हो । आफ्नो पेशा व्यवसाय निरन्तर संचावन गर्न र सरकारले सुरक्षाको जिम्मेवारी लिने समेत गृहको भनाई छ ।

    शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयको चेतावनी छ । दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयको आश्वासन रहेको छ ।