Category: समाचार

  • सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप, दुई घाइते

    सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप, दुई घाइते

    काठमाडौं । वीरगञ्जको ओरिया खोलामा नेपाली भूमि प्रवेश गरेर बालुवा तस्कर गरिरहेका भारतीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपमा दुई प्रहरी घाइते भएका छन्।

    जगरनाथपुर गाउँपालिका वडा नम्बर एक पिपडाढीस्थित ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको हो ।

    झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन । झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रमण भएको हो । सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

    झडपमा परी २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका छन।

    उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

    सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर समेत भारतीयले लगेका छन् । ओरिया खोलाको नेपाली भूमि भएपनि भारतीय पक्षले दाबी गर्दै आएको छ । सो क्षेत्रमा वर्षेनी नेपाली नागरिक र भारतीयबीच झडप तथा विवाद हुँदै आएको छ ।

  • लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    लमजुङ । पुर्वि लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँमा भएको जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । अर्का तीन जा गम्भीर घाइते छन् । प्रहरीका अनुसार दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं. को जिप बिहीबार साँझ ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेको हो ।

    दुर्घटनामा आयोजनामा कार्यरत दुई इन्जिनियर र जिप चालकको घटनास्थलमै ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनामा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा निवासी इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राईको मृत्यु भएको छ ।

    धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते छन् । स्कुल बिदा भएपछि खाली रहेको सीटमा विद्यार्थी समेत चढेका थिए । घाइतेको जिल्ला अस्पताल बेंसीसहरमा उपचार जारी छ ।

  • काठमाडौंको तारकेश्वरमा पुनः बर्ड फ्लु

    काठमाडौंको तारकेश्वरमा पुनः बर्ड फ्लु

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्ड फ्लु पुष्टी भएको छ । यसअघि तीन साता पहिले तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला फुटुङमा बर्ड फ्लु देखा परेको थियो । सो स्थानमा बर्ड फ्लु नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको थियो ।

    अहिले पुनः वडा नं. १ का कृषकले पालेका हाँसमा बर्ड फ्लु पुष्टी भएको हो । पशु सेवा विभागका अनुसार बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरेको छ ।

    रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले उल्लेख गरेको छ । पछिल्लो पटक १४२१ हाँस, ४२ स्थानीय कुखुरा, २६ अण्डा र ८०० केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

  • धरहरा र सिंहदरवारको पुनर्निर्माण प्रगतिबाट प्रधानमन्त्री संतुष्ट

    धरहरा र सिंहदरवारको पुनर्निर्माण प्रगतिबाट प्रधानमन्त्री संतुष्ट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुनर्निर्माण भएको हो भने धराहराको नवनिर्माण हो । यी दुई संरचनाको अवलोकनबाट प्रधानमन्त्री संतुष्ट देखिए ।

    सिंहदरबारको पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते उद्घाटनको तयारी रहेको समेत उनले जानकारी दिएका छन् ।

    धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएको उनले बताए । धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको छ । बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिनाभित्रै सम्पन्न गर्ने तयारी छ ।

  • तरल राजनीतिका बीच एक भए कट्टर कम्युनिष्ट, विप्लवसहितको बन्यो मोर्चा

    तरल राजनीतिका बीच एक भए कट्टर कम्युनिष्ट, विप्लवसहितको बन्यो मोर्चा

    काठमाडौं । मुलुक भित्रको तरल राजनीतिका बीच कट्टर कम्युनिष्टको छवि बनाएका दलहरुले रणनीतिक मोर्चा गठन गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार दलबीच यस्तो संयुक्त मोर्चा गठन भएको हो ।

    मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल समावेश छन् । चार पार्टीले बिहीबार घोषणा गरेको रणनैतिक मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापन गर्ने लक्ष्य लिएको बताएका छन् ।

    मोर्चाले तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्ने घोषणा गरेको छ।


    रणनैतिक संयुक्त मोर्चा निमार्ण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रूप दिन उनीहरुले रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरेका छन्। समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जना रहेका छन् ।


    मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रम तय समेत गरेको छ । जस अनुसार फागुन ६ गते बुटवलमा, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने र पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरिने मोर्चाको तयारी छ ।

  • रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ

    रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ

    काठमाडौं । आज नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले गरेको गिरफ्तारीको विरोधमा कांग्रेस र प्रभावशाली नेता गगन थापाले विपक्षीलाई दरिलो साथ दिएका छन् । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनका साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई चेतावनी दिए ।

    उता, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै राज्यद्रोहको मुद्दा लगाउन चुनौती दिए । विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेको भन्दै उनले संसद पुनर्स्थापना भएपछि घर पठाइने समेत चेतावनी दिए ।

    नेपाली कांग्रेस विराटनगर महानगरसमितिको कार्यक्रममा बोल्दै थापाले राष्ट्रपति भनेको व्यक्ति नभई संस्था भएको बताए । उनले भने, ‘मैले पनि राष्ट्रपतिबारे बोलेको छु, हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, झ्यालखानाको संख्या अझै बढाऊँ, महाराजको आदेशले छेकिएन श्रीमान, तपाईको आदेशले पनि छेकिन्न ।’

  • रामकुमारी झाँक्री पक्राउ प्रकरणले तात्यो दिनभरको राजनीति, अन्ततः झुक्यो सरकार

    रामकुमारी झाँक्री पक्राउ प्रकरणले तात्यो दिनभरको राजनीति, अन्ततः झुक्यो सरकार

    काठमाडौं । बिहीबार दिनभर राजनीति केन्द्रमा रहिन् नेकपा नेतृ रामकुमारी झाँक्री । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुगेसँगै अनेरास्ववीयुका कार्यकर्ता नाराबाजी गर्दै घेराउमा पुगेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीविरुद्ध चर्को नाराबाजी गरे ।

    तर, प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर आएपछि भने रामकुमारी झाँक्री आफैले गिरफ्तारी दिइन् । उनलाई महानगरीय अपराध महाशाखामा राखिएको थियो । महाशाखामै पुगी उनलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता योगेश भट्टराईले भेट गरे ।

    उनलाई पक्राउ गरेको विरोधमा दिनभरजसो सामाजिक संजालमा सरकारको कडा आलोचना भयो । नेपाली कांग्रेस, नेता गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित सबैले उनको गिरफ्तारीको कडा आलोचना गरे । उनको समर्थनमा बानेश्वरमा अनेरास्ववीयुले जुलुस निकाल्यो ।

    अन्ततः साँझ उनलाई प्रहरीले छाडेको छ । चर्को आलोचनाका बीचमा सरकार झुक्न बाध्य भएको छ । यसअघि झाँक्रीले गोरखामा राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नेकपा संम्बद्ध महिला संघले पक्राउ गरी कारवाही गर्न गृहमन्त्रीसमक्ष अपिल गरेको थियो ।

    झाँक्रीले भने आफु खलपात्रा विरुद्ध बोलेको भन्दै राष्ट्रपति पदसँग आफ्नो सधै सम्मान रहने बताउँदै आएकी छिन् । उता, प्रहरी हिरासतबाट रिहा भएपछि नेतृ झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको जानकारी दिइन् ।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०५२ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०५२ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ ।

  • नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

    नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १११ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ६६० जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ रहेको छ ।

  • नाइजेरियामा लुटेराले गरे २३ गाउँलेको हत्या

    नाइजेरियामा लुटेराले गरे २३ गाउँलेको हत्या

    कडुना\नाइजेरिया । अफ्रिकी मुलुक नाइजेरिया संसारको सबैभन्दा असुरक्षित मुलुकमध्ये एक हो । यहाँ आतंकवादी समुह बोको हरामदेखि अनेक समुह सक्रिय रहेका छन् । नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुकधारी लुटेराले २३ जना गाउँलेको हत्या गरेका छन् ।

    स्थानीय संचारमाध्यमका अनुसार गाउँले माथि अन्धाधुन्ध आक्रमण भएको थियो । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानले यसको पुष्टी गरेका हुन् । नाइजेरियाको सेनाले आक्रमणकारीको खोजी थालेको बताएको छ । प्रान्तका गभर्नर नासिर एल–रुफाईले घटनाको निन्दा गरेका छन् । उनले लुटेरा समूह विरुद्ध सैन्य कारबाही तिब्र बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएको समेत संचारमाध्यमले लेखेका छन् ।

  • जगडोलमा वन डढेलो नियन्त्रण सचेतना तथा एक दिने गोष्ठी सम्पन्न

    जगडोलमा वन डढेलो नियन्त्रण सचेतना तथा एक दिने गोष्ठी सम्पन्न

    अमृता के.सि (रोनी )

    काठमाडौं / “ सबै मिलि डढेलोबाट वन तथा वन्यजन्तुको संरक्षण गरौँ”भन्ने मुल नाराका साथ डिभिजन वन कार्यालय काठमाडौं अन्तर्गत गोकर्ण सब डिभिजन वन कार्यालयको आयोजनामा एक दिने वन डढेलो नियन्त्रण सचेतना तथा गोष्ठी सम्पन्न भएको छ।कार्यक्रम बुढानिलकण्ठ नगर प्रमुख उद्दव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
    बुढानिलकण्ठ नगरपालिका स्थित कपन भिलेज रिसोर्टमा बुधबार गरिएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका कार्यकारी अधिकृत राम प्रसाद आचार्य,केन्द्रिय कार्यदल प्रहरी डि एस पि रमेश पाल,प्रहरी वृत्त बौद्ध प्र.नि सुरेश सुवेदी,बुढानिलकण्ठ नगरपालिका वडा नं २ प्रमुख राजेन्द्र खड्का,बुढानिलकण्ठ नगरपालिका वडा नं १३ प्रमुख श्रीकृष्ण श्रेष्ठ,यज्ञडोल जगडोल सामुदायिक वन प्रमुख सुदर्शन सिग्देल,गोकर्ण प्रहरी प्रभाग प्र.ना.नि. ज्ञान कुमार कट्टेल,शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत सिर्जना श्रेष्ठ लगायतको उपस्थित रहेको थियो । गोष्ठीमा स्थानिय उपभोक्ता समितिहरुका तर्फबाट रातमाटे वन,गाम्चा सामुदायिक वन,गुठ सल्लाघारी वन,पुतली डाँडा वन र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका पदाधिकारीहरुले समेत प्रतिनिधित्व गरेका थिए ।
    कार्यक्रमको महत्व बारे प्रकास पार्दै नगर प्रमुख उद्दब खरेलले
    “विकास र समृद्धि वन संगै जोडिएको भएर डढेलो संरक्षणमा सबैले प्राथमिकता दिनुपर्ने साथै बिग्रीनु भन्दा पहिले बचाउन सक्नुपर्छ भन्दै वन संरक्षणमा स्थानिय सरकारले गर्नुपर्ने सहयोग गर्न तत्पर भएको “ बताए । नियन्त्रित वन डढेलो राम्रो मानिए पनि अनियन्त्रित डढेलोले खतराका साथै पारिस्थिती जन्य प्रणालीमा असन्तुलन कायम हुने जानकारी जिल्ला वन अधिकृत बद्री कुमार कार्कीले गराउदै डढेलो नियन्त्रणको लागी पोसाक र सामाग्री प्रहरी प्रभाग गोकर्ण र प्रहरी कार्यदलका प्रमुखहरुलाई हस्तान्तरण गरे।
    कार्यक्रममा हिउँदमा डढेलोको समस्या आउने भएको हुँदा डढेलो लाग्ने कारण सहित रोकथाम तथा नियन्त्रणका उपायहरु बारे भिडियो मार्फत सन्देश दिएको थियो।
    आउने दिनमा हुन सक्ने डढेलोको नियन्त्रणको लागि सव डिभिजन स्तरीय आगलागी तथा डढेलो नियन्त्रण सन्जालको गठन साथै नगर प्रहरी तथा नगरदस्ताको परिचालन एंव संमवनय गर्ने निर्णय गरिएको थियो।

  • ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा

    ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटका दुईमन्त्री आफ्नो पक्षमा फर्किने तयारीमा रहेको खुलासा गरेका छन् । समूहले मंगलबार राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

    प्रचण्डको यो उद्घोस सत्य भए पनि नभए पनि यसले क्याविनेटमा खुलेर आफ्नो रणनीति बारे बोल्न प्रधानमन्त्रीलाई भने मुस्किल हुने देखिएको छ । किनकी प्रचण्डले ओली समुह छाडेर आफ्नो समुहमा आउने मानिसको लर्को लागेको भन्दै त्यसमा दुई मन्त्री समेत रहेका बताएका छन् ।

    उनले प्रतिनिधिसभा विघटनका पक्षमा कोही पनि नरहेको समेत बताएका छन् । प्रचण्डले ती मन्त्रीको नाम भने खुलाएका छैनन् । जसले ओलीलाई अझ मनोवैज्ञानिक दवाव दिएको छ ।

  • नेपालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज

    नेपालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ५४९ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५३ रहेको छ ।

  • ‘केपी जी सभा कस्तो हुन्छ देख्नुभयो ? प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्न नपरोस्’

    ‘केपी जी सभा कस्तो हुन्छ देख्नुभयो ? प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्न नपरोस्’

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन्।

    काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘सभा कस्तो हुन्छ ओलीले भन्नुभयो केपी जी सभा कस्तो भयो देख्नुभयो? विरोध कस्तो हुन्छ? हामी आज यहाँ साथीहरूको जानकारी अनुसार ५ लाख हाराहारी उपस्थित भएका छौँ।’

    ओलीलाई चुनौति दिँदै प्रचण्डले भने प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आन्दोलन गराउने बताए।

    ‘सर्वोच्च अदालतको न्यायधीहरूले पनि पनि जनताले के चाहेको छ भन्ने देखिसकेका छन्। जनताको शान्तिपूर्ण आन्दोलनमा गयो भने के हुन्छ भन्ने बुझे हुने चेतावनी दिए’ उनले भने, ‘आजको जनताको उपस्थितिले संविधान र जनताको पक्षमा निर्णय गर्न सहयोग पुग्छ।’

    ‘सर्वोच्चको अदालतको निर्णय जनताको पक्षमा आएन भने नेपालमा कसैले थेग्न नसक्ने आँधी-हुरी आउँछ’ उनले भने, ‘ओलीको सनकको भरमा डराएर कसैले फैसला गर्दैनन्। जनताको आवाज नसुनेर ओलीको सनकलाई कसैलाई मान्दैनन्।’

  • ‘अधर्मीलाई पशुपतिनाथले माफ गर्दैनन्’- माधवकुमार नेपाल

    ‘अधर्मीलाई पशुपतिनाथले माफ गर्दैनन्’- माधवकुमार नेपाल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले पनि माफी नदिने चेतावनी दिएका छन् ।

    पहिले मदन भण्डारीको नाम जप्ने ओलीले अहिले पशुपतिको नाम जप्न थालेको भन्दै अब उनलाई पशुपतिनाथले पनि माफी नगर्ने बताए ।

    ‘केपी ओलीजी पहिले तपाईं मदन भण्डारीको नाम जप्नुहुन्थ्यो । अहिले मदन बिर्सिएर पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ,’नेपालले भने, ‘तपाईंलाई थाहा छ, पशुपतिनाथले कसलाई माया गर्नुहुन्छ रु पशुपतिनाथले त सत्य र न्यायका पक्षमा रहेकालाई माया गर्नुहुन्छ । पापीलाई, अधर्मीलाई पशुपतिनाथले माया गर्नु हुन्न ।”

    उनले नेपाली जनताको भावना ओलीले बुझ्न नसकेको पनि आरोप लगाए । ‘बलत्कारको घटना घटिरहेको छ ।

    ओलीलाई यसले कत्तिपनि संवेदनशिलताले छुन सकेन,’ उनले भने, ‘तिमि जस्ता मान्छेलाई नेपाली आमाले जन्माइन्, जुन पार्टीले प्रधानमन्त्री बनायो त्यही पार्टी ध्वस्त बनाउँदै हुनुहुन्छ । सरकारी साधन खर्च गर्दा पनि सिंगै ओली समूह निराश भएको छ ।

  • ‘संस्थाविरुद्ध बोलेको छैन, खलपात्रको विरुद्ध बोल्न पाइन्छ’

    ‘संस्थाविरुद्ध बोलेको छैन, खलपात्रको विरुद्ध बोल्न पाइन्छ’

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै उठाइएको प्रश्नको खण्डन गरेकी छिन् ।

    राजधानीमा आज आयोजित विरोधसभामा उनले प्रधानमन्त्री र राष्ट्रपतिले गरेका गलत कार्यका विरुद्धमा बोल्न पाइने बताइन् ।

    ‘सम्मान्नीय राष्टपति यो संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शीरमाथीको संस्था हो म त्यो संस्थाविरुद्ध बोलेको छैन,’ उनले भनिन्, ‘खलपात्रको विरुद्ध बोल्न पाइन्छ कस्ले भन्यो बोल्न पाइँदैन ? भागरथी, निर्मलाकोविरुद्ध १८ वर्ष विद्या भण्डारीले नेतृत्व गरेको अनेमसंघ बोल्यो कि बोलेन ? कुनै पनि सार्वजनिक पदको लिग हुँदैन बोल्न पाइन्छ ।’

    उनले भनिन्, ओली कागजी बादशाह हुन्, सन्की प्रधानमन्त्रीका व्याधा राष्ट्रपति बनेकी छन् ।

    ‘संविधान च्याचचुत फाल्ने प्रणालीविरुद्ध बोल्छौँ । हामी बोल्न जन्मेका हौँ,’ उनले भनिन्, ‘खड्क प्रसाद ओली कागजी बादशाह हुन् ।

    ढलिसके अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाहले आफ्नो कदलाई घटाउँदै जान्छन् । कागजका अग्लाअग्ला बुख्याँचाहरु बनाउँछन् केपी ओली त्यसै गर्दैछन् ।’

    ‘संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’

    केही दिनअघि झाँक्रीले प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई कोटेश्वर नभए बालकोट जान भनेकी थिइन्।

  • अख्तियार लाचार छायाँ होइन, सरकारबाट कुनै हस्तक्षेप हुँदैन- प्रधानमन्त्री ओली

    अख्तियार लाचार छायाँ होइन, सरकारबाट कुनै हस्तक्षेप हुँदैन- प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममाथि सरकारले हस्तक्षेप नगर्ने बताएका छन् ।

    बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले निष्पक्ष ढंगले काम गर्ने वातावरण निर्माण गर्न सरकार तयार रहेको बताए । उनले अख्तियारलाई दबाब र प्रभावमा पार्ने काम नगर्न पनि चेतावनी दिएका छन् ।

    ‘अख्तियार लाचार छायाँ होइन । सरकारबाट आयोगमाथि कुनै हस्तक्षेप हुँदैन । आफ्नो कर्तव्य निष्पक्ष ढंगले पूरा गर्नु । यसमा भनसुन, दबाब, टाउकाको माया छ कि छैन् भनेर धम्की दिने काम नगरे हुन्छ, त्रासबाट मुक्त भएर काम गर्नु । सुरक्षाको व्यवस्था सरकारले गर्छ’, उनले भने ।

    प्रधानमन्त्री अ‍ोलीले निर्वाचनपछि अख्तियारको कानून पारित भएर आउने भएकाले काम गर्न थप सहज हुने बताएका छन् । उनले अख्तियारले विगत २० वर्षमा सकारात्मक योगदान पुर्याएको भन्दै अख्तियारले निर्दोष मानिसहरुलाई मुद्दा लगाएर दुःख दिन नहुने बताए ।

    ‘अख्तियारले निर्दोष मान्छेमाथि आरोप लगाउने र मुद्दा दायर गर्नु हुँदैन । त्यसो हुँदा काम गर्ने मानिसहरुलाई हतोसाही बनाउँछन्’, उनले भने, ‘अख्तियारले मुद्दा दायर गर्नुभन्दा अगाडि तथ्यहरुका आधारमा एकीन गरेर मात्र मुद्दा दर्ता गर्नुपर्छ । अख्तियारबाट दोषीहरु थर्कमान हुनुपर्छ । अख्तियारले कारबाही गर्न नसक्ने ठाउँ छैन् भनेर काम गर्नुपर्छ ।’

    प्रधानमन्त्री ओलीले नेपालमा भ्रमष्टाचार कन्ट्रोल हुने दाबी गरे । उनले सञ्चारमाध्यमहरुले भ्रष्टाचारबारे सत्यतथ्य विषय बाहिर ल्याउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सबेलाई भ्रष्टाचारीको आँखाले हेर्न नमिल्ने बताए ।

    उनले सरकारले विकास गरेका नागरिक एपहरुले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउने बताए । नागरिक एपले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउने उनको भनाई छ ।

    ‘भ्रष्टाचार नियन्त्रणका मुख्य केन्द्रहरु डिजिटल सिस्टममा गएपछि लेनदेन गर्नै नपरेपछि, पैसा बुझाउन व्यक्ति अफिसमा जानु नपरेपछि, अफिसमै गएर मेरो फाइल के भयो कसो भयो भन्न नपरेपछि अनलाइनबाट काम हुने भएपछि यसले भ्रष्टाचार नियन्त्रणमा मद्दत पुर्याउँछ’, उनले भने ।

  • लायन खगेन्द्र सिटौलाले दिए अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी

    लायन खगेन्द्र सिटौलाले दिए अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी

    काठमाडौ / लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ काठमाडौं ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा सोमबार दिउँसो १२:१५ मा आसय पत्रका साथ उम्मेद्बारी दिनुभएको छ।

    लायन्स क्लब अफ दिङ्ला भोजपुरले काठमाडौंको बौद्ध स्थित कुशल वैंकेटमा आयोजना गरेको उक्त अनौपचारिक कार्यक्रममा सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी दर्ता गरेको घोषणा गरेका हुन्।

    नेपालस्थित डिस्ट्रिक ३२५ ए १ का गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर एंव हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पुर्व मन्त्री लायन शंखर कोइराला, नेपालको पहिलो महिला गभर्नर लायन सुश्मा शर्मा,पि.डि.जि. बि १ लायन गौतममान श्रेष्ठ,लायन बिमल चापागाईं,लायन शंकर कोइराला,लायन उत्तर चापागाईं,लायन शम्भु घिमिरे,चार वटा डिस्ट्रिकबाट गभर्नर ,पुर्व गभर्नर, सहित बिभिन्न क्लबका पदाधिकारीहरु सहित लायन्स लिडर तथा लियो लिडरहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।


    कार्यक्रममा आफ्नो भनाइ राख्दै जि ए टि लिडर लायन खगेन्द्र सिटौलाले लायन्स क्लबलाई एउटा मन्दिरको रुपमा स्थापना गरेको बताउनु भयो। नेपालको छवि स्वच्छ राख्न अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी दिएको बताउदै सम्पूर्ण लायन्स लिडर तथा सदस्यहरुलाई साथ र सहयोगका साथै शुभकामनाको लागि धन्यवाद दिनु भयो।
    सो कार्यक्रममा शुभकामना मन्तव्य दिदै पि डि जि लायन गौतममान श्रेष्ठले दुई दशक अगाडि अवसर दिदा कोहि कसैले उम्मेद्बारीको लागि चासो नदिएको बताउदै हाल नेपालमा लायन्सका सदस्य र क्लब बढेको देख्दा चकित भएको बताएका छन् ।लायन्स क्लब अन्तर्राष्ट्रियमा निर्देशक पदमा हामिले अबका दिन वर्षैपिच्छे प्रतिनिधित्व गर्नुपर्छ भन्ने भनाइ लायन शभ्भु घिमिरेको थियो ।

    कार्यक्रममा डिस्ट्रिक ३२५ ए १ पुर्व डिस्ट्रिक गभर्नर एबम हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवालले लाइनिजमको दुई दशकको लामो समयमा चारवटै डिस्ट्रिकमा आएको समस्या फुकाउन सिटौला जहिले पनि अघि सरेको भन्दै योगदानको चर्चा गर्दै हमेसा साथ र समर्थन गर्ने प्रतिबद्धता गरे।माइ एल सि आइमा बीस लाख घण्टा सेवा पुर्‍याउन सफल डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले सिटौलालाई नेपाली लाइनिजमको धरोहरको संज्ञा दिदै गौरवको दिन हो भनी सिटौलाले डोहोर्‍याएर ल्याउनु भएको लिडर आफू बताउनु भयो।


    कार्यक्रममा अधिकांस वक्ताहरूले अन्तर्राष्ट्रियमा लायन्सका कुरा प्रष्ट राख्न,देशको हकहित स्थापित गराउन सिटौलालाई साथ समर्थन गर्ने बाचाका साथै अन्तर्राष्ट्रिय निर्देशक बनेर आउ है भनी शुभकामना व्यक्त गरेका छन् ।

  • फेरी बिग्रियो मौसम, केही स्थानमा पानी पर्ने

    फेरी बिग्रियो मौसम, केही स्थानमा पानी पर्ने

    काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसम पुनः प्रतिकुल बनेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं. १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ ।

    बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । प्रदेश २ र काठमाडौं उपत्यकामा पनि आज मौसम अनुकुल रहने छैन । यद्दपी यहाँ पानी पर्ने सम्भावना भने कम रहेको छ । काठमाडौं उपत्यकामा लागेको बादल साँझपखबाट हटेपछि भने मौसम सफा हुने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने भएको छ । तराईमा हुस्सु, कुहिरोको सम्भावना छ ।

  • सरकारको कदमको विरुद्धमा आज पनि काठमाडौंमा विशाल सभा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने

    सरकारको कदमको विरुद्धमा आज पनि काठमाडौंमा विशाल सभा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने

    काठमाडौं । सरकारले गरेको संसद विघटनको विरोधमा आन्दोलनमा हेको नेकपा (प्रचण्ड,माधव समूह)ले आज काठमाडौंमा विशाल सभा आयोजना गरेको छ । सभामा दुई लाख भन्दा बढी मानिस उतार्ने दावि समुहको छ । भृकुटीमण्डपमा आयोजना गरिएको विरोधसभाका कारण राजधानीको ट्राफिक व्यवस्थापन आज पनि अस्तव्यस्त हुनेछ ।

    सभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । आयोजकका अनुसार ११ बजेबाट जुलस निस्कने छ । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने कार्यक्रम छ । जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्ने भएका छन् ।

    मुख्य र्‍याली सुनधाराबाट सुरु भई भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । यो जुलुसमा प्रचण्ड र माधव कुमार नेपाल समेत सहभागी हुनेछन् । आज पनि काठमाडौंबाहिरबाट हजारौंको संख्यामा मानिसहरु काठमाडौं ल्याइएको छ । आजको सभालाई नेकपाले निर्णायक हुने दावि गरेको छ ।

  • थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०४७ पुग्यो

    थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०४७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।

  • नेपालमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि, १६५ जना डिस्चार्ज

    नेपालमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि, १६५ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २ सय १५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ४३१ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ रहेको छ ।

  • पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने सरकारको निर्णय

    पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत वैशाख १७ र २७ गते सात वटा प्रदेशमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

    पहिलो चरण अर्थात वैशाख १७ गते ४० जिल्लामा निर्वाचन हुनेछ भने २७ गते ३७ वटा जिल्लामा निर्वाचन हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    जसअनुसार वैशाख १७ प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश र दोस्रो चरण अर्थात वैशाख २७ गते प्रदेश १, वागमती र कर्णालीमा हुनेछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधी निर्वाचनमा जाने निर्णय गरेका थिए ।

  • माघ ३० गते सार्वजनिक बिदा

    माघ ३० गते सार्वजनिक बिदा

    काठमाडौं । सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो।

    उक्त समुदायले पटक-पटक बिदाको माग गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक बिदा दिने निर्णय गरेको हो।

  • प्रधानमन्त्री ओली निर्वाचन आयोगमा, निर्वाचन तयारी नरोक्न आग्रह

    प्रधानमन्त्री ओली निर्वाचन आयोगमा, निर्वाचन तयारी नरोक्न आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।

    मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग करिब एक घण्टा छलफल गरेका हुन् ।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीको प्रक्रिया निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको उनले बताए ।

    थापाका अनुसार प्रधानमन्त्रीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले जानकारी गराएका थिए । उनीहरुले आयोगको तयारी, सुरक्षा, बजेट लगायतका विषयमा जानकारी गराएका थिए ।

    प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुगेका थिए ।

    पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका छन् ।

  • म्यानमारमा प्रदर्शनकारीविरुद्ध बल प्रयोग गर्ने सेनाको संकेत, संयमता अपनाउन आह्वान

    म्यानमारमा प्रदर्शनकारीविरुद्ध बल प्रयोग गर्ने सेनाको संकेत, संयमता अपनाउन आह्वान

    काठमाडौं । म्यानमारमा सेनाले सत्ता हत्याएपछि अहिले आन्दोलन शुरु भएको छ । प्रजातन्त्रका पक्षमा हरेक दिनजसो विशाल र्यालीहरु निस्कन थालेका छन् । यसको अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुन थालेपछि त्यहाँको सेनाले संयमता अपनाउन आह्वान गरेको छ ।

    देशको स्थिरताका लागि प्रदर्शन र विरोध बाधक हुने भन्दै सेनाले बल प्रयोगको संकेत समेत गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै सेनाले प्रदर्शन र विरोधका कार्यक्रमपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न आग्रह गरेको छ । प्रदर्शनकारीले भने स्टेट काउन्सीलर आङ साङ सुकीसहितका प्रजातन्त्र समर्थक नेताहरुलाई रिहाईको माग गरेका छन् । सेनाले देशमा संकटकाल समेत घोषणा गरी सत्ता आफ्नो कब्जामा लिएको हो ।

  • संसद विघटन सम्बन्धी मुद्दामा आज बहस नहुने

    संसद विघटन सम्बन्धी मुद्दामा आज बहस नहुने

    काठमाडौं । सरकारले ५ पुसमा संसद विघटन गरेपछि त्यसविरुद्ध परेका रिटमाथि अहिले संवैधानिक इजलासमा बहस जारी रहेको छ । यो बहसमा अहिले सरकार तथा प्रधानमन्त्रीका पक्षका वकिलले बहस गरिरहेका छन् । तर, मंगलबार भने यस मुद्दामा बहस नहुने भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराका अनुसार न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने निर्णय गरिएको छ । अब संसद विघटन मुद्दामा २८ माघबाट पुनः निरन्तर बहस हुनेछ ।

    अदालतमाथि अहिले उच्च दवाव रहेको छ । एकातर्फ निर्वाचन आयोगसहितका संवैधानिक निकायसमेत अदालतको फैसला कुरेर बसेका छन् । अर्कोतर्फ ठूलो जनमत प्रधानमन्त्री ओलीको कदमको विरुद्धमा छ । बहसका क्रममा यो दवावबारे प्रधानन्यायाधिशले विषय समेत उठाउने गरेका छन् ।

  • आज किन निर्वाचन आयोग जाँदैछन् प्रधानमन्त्री ?

    आज किन निर्वाचन आयोग जाँदैछन् प्रधानमन्त्री ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने भएका छन् । उनी निर्वाचनको तयारीका विषयमा बुझ्न आयोग जान लागेको बताइएको छ । यद्दपी उनको उद्देश्य भने आफुले नेतृत्व गरेको गुटलाई नेकपाको आधिकारिक मान्न दावि पेश गर्ने रहेको बताइएको छ ।

    यसअघि नेकपाले गत १६ माघमा नेकपा विवाद र निर्वाचन तयारीलाई लिएर नेकपाका दुवै गुटलाई भेला गरेको थियो । भेलामा प्रधानमन्त्री गएका थिएनन् । आज एक्लै आयोग जान लागेका हुन ।

    उनी मंगलबार बिहान ११ बजे आयोगको कार्यालय जाने प्रधानमन्त्रीको सचिवालयलाई उदृत गर्दै नेपाली संचारमाध्यमले लेखेका छन् । नेकपामा आधिकारिकता विवाद छ ।

    तर, आयोगले दुबै गुटको दाविमा प्रमाण नपुगेको बताएको छ । अर्कोतर्फ सरकारले संसद विघटन गरी १७ वैशाखमा मध्यावधी निर्वाचन घोषणा गरेको छ । तर, प्राविधिक हिसावले यो मितिमा निर्वाचन गर्न सम्भव छैन । सोहीकारण प्रधानमन्त्री आज निर्वाचन आयोग पुगी परामर्श गर्ने भएका हुन् ।

  • थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०४५पुग्यो

    थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०४५पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ ।

  • नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि, १९४जना डिस्चार्ज

    नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि, १९४जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार २६६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ४४ रहेको छ ।