Category: समाचार

  • गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला

    गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला

    गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोरखाको सुलिकोट गाउँपालिका–१ बारपाकमा ८४ वर्षिय वृद्धसहित तीन जना मृत फेला परेका हुन् । ८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमा मृत फेला परेको प्रहरीको भनाई छ ।

    बिहान अवेरसम्म घरको ढोका नखुलेपछि गाउँलेले ढोका खोलेका थिए । त्यसक्रममा उनीहरुलाई मृत अवस्थामा देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको मुखबाट फिज आएको प्रहरीले बताएको छ । विषालु च्याउका कारण ज्यान गएको हुन सक्ने अनुमान प्रहरील गरेको छ । यद्दपी पोष्टमार्टम रिर्पोटपछि मात्र विस्तृत जानकारी हुने प्रहरीले जनाएको छ ।

  • थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार९६६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ५ सय २९ रहेको छ । मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • प्रधानसेनापति थापा र प्रधानन्यायधीश जबराबीच भेटवार्ता

    प्रधानसेनापति थापा र प्रधानन्यायधीश जबराबीच भेटवार्ता

    काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला अन्तिम चरणमा छ।

    फैसला आउने मिति नजिकिँदै गर्दा अवस्थामा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच आकस्मिक भेट भएको छ। फागुन १३ गतेभित्र संसद विघटन सम्बन्धी मुद्दाको फैसला आउने अनुमान गरिएको छ।

    सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

    प्रधानसेनापति थापा सर्वोच्चले नयाँ भवन बनाउने स्थानमा नेपाली सेनाको केही जग्गा परेकोले त्यससम्बन्धी छलफल गर्न अदालत गएका नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौड्यालले पुष्टि गरे।

    अहिलेको भवनको पछाडि सर्वोच्च अदालतको नयाँ भवन बन्दैछ। ‘नेपाली सेनाको जग्गा रहेकाले सोही विषयमा छलफल गर्न जानुभएको हो,’ पौडेलले भने, ‘प्रधानन्यायाधीशज्यूसँग भेट भए नभएको चाहिँ आफूलाई थाहा छैन्।’

    तर, प्रधानसेनापति थापा र प्रधानन्यायाधीश जबराबीच भेट भएको सर्वोच्च अदालत स्रोतले दाबी गरेको छ। यस्तो समयमा प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेटले राजनीतिक वृत्तमा समेत तरंग पैदा गरिदिएको छ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पक्षरविपक्षको बहस ७ फागुनमा सकिएको थियो। मंगलबारदेखि हेर्दाहेर्दैमा सुनुवाई हुँदैछ।

    गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

    संसद विघटनको निर्णयसँगै सत्तारुढ दलकै विभाजित प्रचण्ड माधव समूहले विरोध गर्दै आइरहेका छन्।

  • प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो (नामसहित)

    प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो (नामसहित)

    काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ ।

    सोमबार ३५ जिल्ला पूर्व माओवादी र ३३ पूर्व एमालेको भागमा पर्नेगरी नेतृत्व टुङ्ग्याएको हो। साङ्गठानिक स्वरूप टुङ्ग्याउने क्रममा अध्यक्ष र सचिवको टुंगो लगाएको हो।

    फागुन ७ गते केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ९ बुँदे सहमति बनेको छ। सहमति पत्रमा प्रदेश र जिल्लाका इन्चार्ज, सह इन्चार्ज एवं पार्टी कमिटीहरू तथा जन संगठनका पदाधिकारीहरूमा रिक्त स्थानमा आधा/आधा हुनेगरी मिलाउने सहमति बनेको छ।

    पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका तहमा पनि ५०/५० प्रतिशत हुनेगरी मिलाउने भएको छ। रिक्त स्थान पूर्ति गर्दा यो समूहले साविक घटकको कमिटी र जनसंगठनमा वरियताक्रमलाई प्राथमिकता दिने भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि एक समूहले अर्को समूहलाई हटाएर नेतृत्व लिने प्रक्रिया चलिरहेको छ ।

  • सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल

    सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल

    चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए ।

    प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उनले भने, ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।’ कहीँकतै कोहीकोही व्यक्ति, पक्षहरुले निर्वाचन विरोधी कुरा गरे पनि ती सबै हास्यापद रहेको टिप्पणी उनले गरे । उनले थपे, ‘लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरु निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।’ उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

    अर्को एक प्रसङ्गमा उपप्रधानमन्त्री पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गरे । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उनले फैसलाको प्रतीक्षा गर्नुपर्ने भनाइ राखे। सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दवाव नदिने प्रष्ट पार्दै उनले भने ‘सरकारले कुनै दवाव दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ ।’

  • प्रधानमन्त्री ओली कञ्चनपुरमा, सुरक्षा व्यवस्था कडा पारियो

    प्रधानमन्त्री ओली कञ्चनपुरमा, सुरक्षा व्यवस्था कडा पारियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार महेन्द्रनगर जाँदैछन् ।

    कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली महेन्द्रनगर जाने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    प्रधानमन्त्री जाने भएपछि आइतबारदेखि नै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

    करिब १२ सयको हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् । कार्यक्रमस्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

    प्रधानमन्त्री ओली आज काठमाण्डुबाट श्रीएयरलाइन्सको पहिलो उडानमार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ ।

    उनी केहीबेर धनगढीमा आराम गरेर नेपाली सेनाको हेलीकोप्टर मार्फत दैजीछेला औद्योगिक क्षेत्रमा सहभागी हुने छन् । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ ।

    कार्यक्रमका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट हिजो नै पुगिसकेका छन् भने प्रधानमन्त्रीसँगै सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, वन तथा वातावरण मन्त्री प्रेम आले र श्रम मन्त्री गौरीशंकर चौधरी आज कार्यक्रममा सहभागी हुदैछन् ।

  • आजबाट दोस्रो पटक मेलम्चीको सुरुङको परीक्षण हुँदै

    आजबाट दोस्रो पटक मेलम्चीको सुरुङको परीक्षण हुँदै

    काठमाडौं । आज मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गरिने भएको छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजबाट पानी पठाइने छ । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने आयोजनाको तयारी छ । खानेपानी मन्त्री मणि थापा आयोजना स्थलमा पुगी सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्नेछन् ।

    सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्ने बताइएको छ । प्रारम्भिक चरणमा सुरुङको क्षमताअनुसार भने पानी नछाडिने आयोजनाले जनाएको छ । यसअघि गत २९ असारमा सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो ।

    हेलम्बु गाउँपालिकाको अम्बाथानमा अडिटको मुख्य गेट नं १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालक बगाएर दुखदः दुर्घटना भयो । त्यसपछि परीक्षण रोकिएको थियो । रोकिएपछि चारजना विशेषज्ञले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मतको काम भएको छ ।

    विगतको जस्तो दुर्घटना नहोस् भनेर आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको समेत बताएको छ । परीक्षणका क्रममा हुन सक्ने सम्भावित दूर्घटनालाई मध्यनजर गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

  • सुन्ताखानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    अमृता के सि ( रोनी )

    काठमाडौं/ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुन्ताखान स्थित वडा कार्यालयमा आयोजित रक्तदान कार्यक्रम सुन्ताखान युवा क्लब,स्वतन्त्र टोल सुधार समिति,लायन्स क्लब पंचशील,हात्ति पाइले महिला समुह,मल्लागिरि युवा क्लबको संयुक्त आयोजनामा शनिबार सम्पन्न भएको हो ।
    अस्पातलमा दिनहु बढदै गएका बिरामीको चाप संगै रगत अभावको कारण धेरै दौड धुप गर्नुपर्ने सर्वसाधारणको समस्यालाई केही हदसम्म भएपनी समाधान गर्न सकियोस भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिने गरिएको स्थानिय टोल सुधार समितीका अध्यक्ष्य जयराम बिष्टले बताए।अध्यक्ष बिष्टले एक वर्षमा चार पटक सम्म रक्तदान कार्यक्रम आयोजना गर्ने गरिएको समेत बताए ।
    रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,वडा सदस्य लक्ष्मी भण्डारी,स्थानिय संघ सस्था,महिला समुह लयायतको उपस्थिति रहेको थियो।उक्त रक्तदान कार्यक्रमबाट २५ पिन्ट रगत जम्मा हुनुको साथै रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जानकारी दिएको छ।

  • काठमाडौं आयो १० लाख डोज खोप, शिक्षक र चालक-सहचालकलाई पनि लगाइने

    काठमाडौं आयो १० लाख डोज खोप, शिक्षक र चालक-सहचालकलाई पनि लगाइने

    काठमाडौं । नेपालले भारतबाट खरीद गरेको १० लाख डोज कोरोना खोप नेपाल आएको छ । आज एयर इण्डियाको जहाजबाट खोप नेपाल आएको हो । सरकारले दोस्रो चरणको खोप अभियान २३ फागुनबाट शुरु गर्दैछ । यसका लागि सरकारले भारतबाट खोप किन्ने निर्णय गरेको हो ।

    नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खोप किनेको हो । भारतबाट सरकारले २० लाख डोज किन्दैछ । त्यसमध्ये पहिलो खेप नेपाल आएको हो । यो खोप ६० वर्षभन्दा माथिका वृद्धवृद्धालाई लगाउने तयारी छ । यसबाहेक सरकारले खोप लगाउने प्राथमिकता अनुसार थप व्यक्तिलाई पनि खोप दिने निर्णय गरेको छ । त्यसमा सार्वजनिक यातायातका चालक र सहचालक परेका छन् ।

    यसबोहक औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ कर्मचारीले भने अहिले नै खोप लगाउन सक्नेछन् । महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउने छन् । यसअघि भारतले नेपालले १० लाख डोज खोप अनुदानमा दिएको थियो ।

  • प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला

    प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला

    जनकपुर । राष्ट्रपतिबाट शुक्रबार प्रदेश २ प्रमुखमा नियुक्त भएका राजेश झालाई प्रधानमन्त्री केपी शर्मा ओली समुह अन्तर्गतको युवा संघले १ सय १ किलाको माला लगाएर स्वागत गरेको छ । कार्यभार सम्हाल्न प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेका उनलाई युवासंघले उक्त माला पहिराएको हो ।


    आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरे । त्यसक्रममा उनलाई १ सय १ किलाको माला पहिराएको हो । उनीहरुले विमानस्थलमा प्रदेश प्रमुख जिन्दावाद, प्रधानमन्त्री जिन्दावादजस्ता नारा लगाएका थिए ।

    उनलाई प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहले स्वागत गरे । तिलक परियारलाई हटाएर राष्ट्रपतिले झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । सरकारको यस कार्यको आलोचना भइरहेको छ । यसअघि परियार प्रदेश प्रमुख बनी जनकपुर जाँदा भने मुख्यमन्त्री लालबाबु राउतसहित उच्च पदस्थ अधिकारी नै विमानस्थल पुगेका थिए ।

  • नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ८७६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९४ रहेको छ ।

  • प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश

    काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ।

    आइतबार बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्। अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् ।

  • चिकित्सकले परामर्शबाहेक अन्य शुल्क दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था

    चिकित्सकले परामर्शबाहेक अन्य शुल्क दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था

    काठमाडौं । सरकारले चिकित्सकहरुले सरकारले तोकेको परामर्श शुल्क बाहेक अन्य शुल्क २०० प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ जारी गरेर चिकित्सकीय परामर्श शुल्क सरकारले तोके बमोजिम र अन्य सेवा शुल्क अस्पतालको नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको हो ।

    उक्त कार्यविधिमा भनिएको छ, ‘प्रत्यक्ष खर्च खटाएर आम्दानीको २० प्रतिशत रकम अस्पताल विकास समितिमा छुट्याई बाँकी ८० प्रतिशतलाई १०० प्रतिशत मानी चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुलाई ९० प्रतिशत र लेखा, प्रशासन, स्टोर काउण्टर, मेडिकल रेकर्डर वायोमेडिकल, सरसफाईलगायतका कर्मचारीलाई १० प्रतिशत उपलब्ध गराउने ।’

    मन्त्रालयले कार्यक्रमको काम कारबाहीलाई नियमित र व्यवस्थित गर्नका लागि एक समिति गठन गरेको छ । जसमा अस्पताल प्रमुख अध्यक्ष, अस्पताल प्रशासन प्रमुख, अस्पताल लेखा प्रमुख, अस्पतालको नर्सिङ प्रमुख सदस्य र स्वास्थ्यकर्मीहरुमध्येबाट अस्पताल प्रमुखद्वारा सिफारिस एक जना सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

    यो कार्यक्रम संघीय सरकारी अस्पताल, प्रदेश तथा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न सकिनेछ । त्यस्तै सामुदायिक र सहकारी अस्पतालहरुमा पनि यो कार्यक्रम लागू गर्न सकिनेछ ।

    उक्त कार्यविधि जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३१ को उपदफा (१) र (२) अनुसार सोही ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ ।

  • पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि भारत जाँदै, झलनाथ खनाल फिर्ता

    पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि भारत जाँदै, झलनाथ खनाल फिर्ता

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आज भारत प्रस्थान गर्ने भएका छन् । उनी नेपाल एयरलाइन्सको जहाजबाट पत्नी हिसिला यमीको साथमा भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।

    भट्टराई पेटको समस्याको उपचारमा चिकित्सकको सल्लाहअनुसार भारत जान लागेको बताइएको छ । भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकले गरेका छन् ।

    दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उनको उपचार हुनेछ । दिल्लीमा उनी नेपाली दूतावासमा बस्ने भएका छन् । यसैबीच भारतमा उपचारका लागि गएका अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने शनिबार काठमाडौं फिर्ता भएका छन् ।

  • काठमाडौं – इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न अमृता र प्रथमले हात पारे अवार्ड

    काठमाडौं – इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न अमृता र प्रथमले हात पारे अवार्ड

    काठमाडौं/लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए १ को आयोजनामा प्रथम इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।लायन्स क्लब अफ काठमाडौं सिम्रीकको मुल संयोजनमा ४५ वटा क्लबहरु बिच प्रतिस्पर्धा गरिएको म्याराथन प्रतियोगिता गोकर्णेश्वर नगरपालिका जगडोल स्थित राष्ट्रिय शहिद पार्कबाट शनिबार सम्पन्न भएको हो ।कार्यक्रममा पुरुष र महिला गरी एक सय तिस प्रतियोगीहरूले भाग लिएका थिए ।
    कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर एंव हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल,सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पुर्व डिस्ट्रिक गभर्नर एंव हालका मल्टिपल हंगर रिलिफ चिफ लायन कुमारराज सुवेदी,क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ, क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब,जी एम टि लायन धर्म शरण श्रेष्ठ,डिस्ट्रिक चियर पर्सन लायन ठण्डराज ठकुरी, लायन श्रीचन केसी लगायत बिभिन्न क्लबका लायन्स लिडर तथा लियो पदाधिकारीहरु उपस्थिति रहेको थियो ।

    म्याराथन प्रतियोगितामा महिलातर्फ लायन्स क्लब अफ काठमाडौं जर्निको लायन अमृता केसीले प्रथम स्थान हासिल गरेकी थिइन् भने पुरुषतर्फ लायन्स क्लब अफ काठमाडौं मोडलबाट लायन प्रथम भट्टराईले प्रथम स्थान हासिल गरेका थिए।कार्यक्रममा टप १० भित्र पर्ने विजयी प्रतियोगीहरूलाई लायन्स लिडरहरूले ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।त्यस्तै सहभागी क्लबका सदस्यहरुलाई खाना र टिर्सटको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगितालाई छ ब्रदर,मनास्लु वल्र्ड कलेज,कान्ति भैरव सेभिङ एण्ड कोअपरेटिभ,सीजी फूड्स संकटा वाइन एण्ड वेभरेज प्राली,कान्ति भैरव सप्लायर्स,ओम गृह निमार्ण तथा मामाघर होम स्टे लगायतले सौजन्य गरेका थिए।त्यस्तै कार्यक्रमको व्यवस्थापन सिम्रीक लियो क्लब, गोकर्णेश्वर लियो क्लब र गोकर्णेश्वर ओप्पन स्कट क्रुले गरेका थिए ।

    विश्वमै सामाजिक सेवामा अग्र स्थान लायन्स क्लब लिएको छ।प्रतियोगिताको मुख्य उदेश्य बूढानिलकण्ठ झोरस्थित अनाथालय ‘चिल्ड्रन एण्ड युथ मोभिलाइजेन्स एकेडेमी’को पुस्तकालय व्यवस्थापनका लागि आर्थिक सहयोग जुटाउन कार्यक्रम गरिएको डिष्ट्रिक ३२५ ए १ ले जानकारी दिएको छ।

  • अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति

    अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतलाई दिएको दवावप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक संजालमा धारणा राख्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सर्वोच्च अदालतलाई दवाव दिएको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै सभालाई हेरेर आफ्नो पक्षमा फैसला गर्न आग्रह गरेका थिए । आफ्नो पक्षमा फैसला नआए आन्दोलनमा जाने चेतावनी समेत उनले दिन भ्याए । कांग्रेस प्रवक्ता शर्माले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दवावको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदिय गरिमा विपरित छ ।’ प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सकिए शनिबार विराटनगर गरेका छन् । जहाँ बोल्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूभन्दा बाहिर गए आन्दोलन चर्काउने चेतावनी दिए ।

    उता, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत प्रधानमन्त्रीको आलोचना गरेका छन् । उनले कम्युनिस्ट सरकार गिराउन कम्युनिस्ट नै लागेका बेला कांग्रेस मौन बस्न नहुने बताए । सुनसरीको इनरुवाको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमाथि आपत् आइलाग्दा अदालतलाई जे गर्छस् गर भनेर छाड्न नमिल्ने बताए। संविधान मासेर देशलाई अस्थिरता निम्त्याउन नपाइने उनको तर्क थियो ।

  • आफ्नो निर्णयविरुद्ध फैसला आए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी

    आफ्नो निर्णयविरुद्ध फैसला आए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी

    विराटनगर। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने आफ्नो निर्णयको विपरित हुने गरी सर्वोच्च अदालतबाट फैसला आएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यसका लागि तयार रहन समेत उनले कार्यकर्तालाई आग्रह गरेका छन् । ‘सेटिङ फेटिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलनमा जाने उनको चेतावनी छ ।

    शनिबार आफ्नो पक्षको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । प्रतिनिधिसभा विघटन पुनर्स्थापना गर्न ‘सेटिङ’ भइरहेको आरोप समेत उनले लगाएका छन् । यसले उनीमाथि लाग्दै आएको सेटिङमा समेत केही गडबडी भएको संकेत प्रधानमन्त्री स्वयमले गरेका छन् ।

    ‘सेटिङफेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भनेका छन् । जनताले चुनाव चाहेको र त्यसमा आफ्नो दलले बहुमत ल्याउने भन्दै उनले संसद पुनस्र्थापनाको पक्षमा फैसला नआउने बताए । देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको भन्दै उनले तोकिएको समयमा निर्वाचन हुने समेत उल्लेख गरे ।

  • विप्लव समुहले दियो वार्तामा आउने संकेत

    विप्लव समुहले दियो वार्तामा आउने संकेत

    काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जानकारी गराएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको उनको भनाई छ ।

    यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफ्नो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको समेत उनले स्पष्ट पारेका छन् । सरकारले केही सातायता विप्लवसँग वार्ताको वातावरणका लागि पहल गरिरहेको थियो । सोही अनुसार विप्लव समुहले समेत वार्तामा आउने संकेत गरेको छ ।

  • सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह

    सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा जनताको पक्ष रहेको भन्दै देशभर भइरहेका आफ्नो सभा हेरेरै फैसला आफ्नो पक्षमा आउनु पर्ने धारणा राखेका छन् । सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना समेत गर्न नसकिने उनको भनाई छ ।

    नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भनेका सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसक्ने बताए । उनले कुनै कारणले प्रतिनिधिसभा पुनर्स्थापना भएमा सांसद किनबेच, सरकार बनाउने, ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने तर्क गरे ।

    ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला,’ उनले भने, ‘यस्ता सभामा प्रकट भएको जनताको अभिमत हेरे होला ।’

  • गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य; पूर्व सञ्चार मन्त्री बस्नेत

    गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य; पूर्व सञ्चार मन्त्री बस्नेत

    काठमाडौं

    पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताउनु भएको छ । शनिवार राजधानीमा चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने धारणा राख्नुभयो । शैक्षिक संघ संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनु पर्ने भन्दै उहाँले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताउनुभयो । समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उहाँले अरुलाई सेवा गरे बापत् प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

    गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासमा नगरपालिकाले उदाहरणीय काम गरिरहेको बताउनुभयो । नगरपालिकाका शैक्षिक संस्थाहरूलाई आगामी दिनमा अझ सशक्त बनाइने उहाँले बताउनुभयो । चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कुमार राज सुवेदीले संस्कार सहितको शिक्षा आजको आवश्यकता हो भन्दै मञ्चले गर्दै आएका सिर्जनात्मक कामका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कुमार भण्डारी, चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्व अध्यक्ष गोपाल बराल लगायतले समुन्नत समाज निर्माणमा शिक्षाको भूमिका बारे चर्चा गर्नुभयो । सोही अवसरमा पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले चामुण्डाका पूर्व विद्यार्थी समेत रहनु भएका समता स्कुलका संचालक उत्तम सञ्जेललाई सम्मान गर्नुभयो । विगतमा सोही विद्यालयमा शिक्षक शिक्षिकाको भूमिकामा रहनु भएका कोषबहादुर जिसी, शिला बस्नेत, निर्मल ढकाल र देवी ढुंगानालाई पनि उक्त अवसरमा सम्मान गरियो । यसैबीच मञ्चको शनिवारै सम्पन्न पहिलो साधारण सभाले कुमार राज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । मञ्चको उपाध्यक्षद्धयमा क्रमशः रत्नमान लामा ‘आँशु’ र नवराज पुडासैनी ‘ज्योत्सना’ रहनु भएको छ । सचिवमा बच्चुराम शर्मा कुइँकेल, कोषाध्यक्षमा लक्ष्मी शाह र सहसचिवमा प्रविण घिमिरे रहनु भएको छ । सदस्यहरूमा डाक्टर सोमबहादुर धिमाल, डाक्टर राजु पौडेल, कुमार पौडेल, रमेश रिजाल, गीता शाह, संगीता ठकुरी र केदार नेपाल चयन हुनुभएको छ । २०२४ सालमा स्थापित चामुण्डा मावि मुलुकको उत्कृष्ट सामुदायिक विद्यालयहरू मध्ये एक मानिन्छ ।

  • आज ओली समुहको विराटनगरमा सभा

    आज ओली समुहको विराटनगरमा सभा

    विराटनगर । आज नेकपाको ओली समूहको विराटनगरमा शक्ति प्रदर्शन हुँदैछ । नेपालमा गणतन्त्र आएपछि पहिलो पटक सरकारले मान्छे बटुलेर शक्ति प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधी आन्दोलनलाई चूनौति दिँदै आफै प्रदर्शन गर्दै हिँडिरहेका छन् । ओली समूहले यसलाई चुनावी प्रचारप्रसार र सरकारको कदमका पक्षमा जनमत रहेको देखाउन खोजिरहेको छ ।

    तर, नेपालमा अधिकांशले संसद विघटन असंवैधानिक भनिरहेको बेला उनको प्रदर्शनलाई तडकभडक भन्नेहरु धेरै छन् । विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उतार्ने दावि समुहको छ ।


    आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५ सय सार्वजनिक बसको व्यवस्था गरिएको छ ।

  • नेपालमा ३ लाख ४० हजारले लगाए कोरोना खोप

    नेपालमा ३ लाख ४० हजारले लगाए कोरोना खोप

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियानको तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउने अभियान आज पुरा हुँदैछ । शुक्रबारसम्म कुल ३ लाख ४० हजार मानिसले कोरोना खोप लगाएका छन् । पछिल्लो पटक यो साता पत्रकार, स्थानीय जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाएका छन् ।


    यसअघि माघ २४ गते पहिलो र ३० गते दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाइएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शववाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मीलाई खोप लगाइएको थियो । दोस्रो प्राथमिकतामा पत्रकार, दूतावासका कर्मचारीहरु र राष्ट्रसङ्घको एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।


    अहिलेसम्म तीन लाख ४० हजारभन्दा धेरैले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयको भनाई छ । मन्त्रालयले आउँदो २३ गतेदेखि भने दोस्रो अभियान सञ्चालनको तयारी गरेको छ । दोस्रो अभियानमा ६० वर्षमाथिका नागरिकलाई खोप दिइने छ ।

  • नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ११४ जना डिस्चार्ज

    नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ११४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ६१९ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८३ रहेको छ ।

  • प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

    प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

    काठमाडौं । नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ ।

    राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन्।
    मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

    शुक्रबार नै राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।

  • प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

    प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

    काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरिएको जानकारी दिएको हो।

    मन्त्रिपरिषद्को सिफारिसमा उनलाई हटाइएको राष्ट्रपतिको कार्यलयले जनाएको छ।

  • असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आग्रह

    असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् ।

    प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरे।

    लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने तथा रोज्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनले नेपाली जनता त्यस्ता कुराबाट सतर्क हुनुपर्ने बताए । ‘शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन तथा अझै पनि यसधारमा समाहित नभइसकेका वा हुन नसकिरहेको पक्षलाई म यस अवसरमा संवादका माध्यमबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्दछु’, उनले भने ।

    बृहत्तर राष्ट्रिय हित र लोकतन्त्रको पक्षमा एक भएर अगाडि बढ्नुको बिकल्प नभएको उल्लेख गर्दै उनले कुनै पनि अलमलमा नपरी विगतका बलिदानलाई सम्झेर अगाडि बढ्न अपिल गरे । ‘सानातिना मतभेदलाई छाडेर बृहत्तर हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढौँ’, राष्ट्रिय एकतामा जोड दिँदै उनले भने ।

    प्रधानमन्त्री ओलीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नेपाललाई एकजुट बनाएर आगामी दिनमा सुन्दर भविश्य रचना गर्ने साझा प्रयास अगाडि बढाउनुपर्ने र त्यसका लागि हाम्रा चिन्तन र व्यवहार राष्ट्रिय हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘जनताको आकांक्षा सम्बोधन गर्ने दिशामा आगामी कदम अगाडि बढ्नुपर्छ’, उनले भने, ‘राष्ट्रलाई एकताबद्ध बनाएर अगाडि बढ्न म सबैलाई आग्रह गर्दछु ।

    सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी ,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु,सांसदहरु, कूटनितिक नियोगका प्रमुखहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।

    नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायतका विभिन्न संघस्थाले मार्चपास, कवाज, व्याण्ड तथा विशेष झाँकीहरु प्रस्तुत गरेका थिए

  • आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै

    आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै

    काठमाडौं । आज बृहत् नागरिक आन्दोलन अभियानले टुडिखेल प्रवेशको कार्यक्रम राखेको छ । आज प्रजान्तन्त्र दिवस, अर्कोतर्फ टुडिखेलमा सेनाको कब्जा, यसै परिस्थितिमा नागरिक आन्दोलनको अभियानले समेत कडा रुप लिने संकेत गरेको छ । अभियन्ताहरुले यसलाई टुँडिखेल मार्च भनेका छन् ।

    आज दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक आन्दोलनको तयारी छ । नागरिक घोषणा सभाबाट विभिन्न विषय समेटिएको घोषणापत्र समेत जारी गरिने भएको छ । नागरिक अगुवा तथा पत्रकार नारायण वाग्लेले आजै तेस्रो जनआन्दोलन घोषणा हुने यसअघि नै बताएका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि अहिले विभिन्न क्षेत्रमा आन्दोलन जारी रहेको छ । लेखक खगेन्द्र संग्रौला, नारायण वाग्ले, सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधर, नेपालमान डंगोल, चेपाङ संघका जितेन्द्र चेपाङ, रिता शाहसहितका अभियन्ताले नागरिक सभालाई सम्बोधनको कार्यक्रम राखिएको छ ।

  • आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी

    आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी

    काठमाडौं । नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस मनाइँदै छ। २००७ सालको क्रान्ति सफल भएसँगै १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज कै दिन हरेक वर्ष प्रजातन्त्र दिवस मनाउन थालिएको हो । आज प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह संचालन हुन्छ ।

    कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारी सहभागी हुने प्रचलन रहेको छ । आजै बिहान नेपाली नेपाली सेनाले ६ः२९ मा तोप सलामी र बिगुल बजाएर बढाइँ गरेको छ । जनताको क्रान्तीबाट सफलता प्राप्त भई जनताको शासनमाथि पकड भएको दिनका रुपमा यो दिनको महत्व ठूलो रहेको छ ।

    प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देश अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा छ । जहाँ अब मुलुकको सर्वोच्च पदमा जनताकै छोराछोरी पुग्ने सक्छन् । यो दिनको उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित सबै दलका शीर्ष नेताले शुभकामना व्यक्त गरेका छन् ।

    यता, सरकारको सिफारिसमा राष्ट्रपतिबाट करीव ६ सय कैदीबन्दीलाई समेत आजकै दिन आम माफी दिने निर्णय भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन् ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाए अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको छ । आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १७९ कैदीको भुक्तान हुन बाँकी कैद समेत छुट दिइएको छ । उता, १५ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको छ ।

  • प्रधानमन्त्री ओलीद्वारा अदालतमा लिखित जवाफ पेश

    प्रधानमन्त्री ओलीद्वारा अदालतमा लिखित जवाफ पेश

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो ।

    ‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैँ उपस्थित भएर उनले लिखित जवाफ पेश गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीले लिखित जवाफ मात्र दिए पनि हुनेमा अदालतको सम्मान गर्दै आफैँ आएर पेश गरेको उनले बताए ।
    न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले जारी गरेको आदेशमा “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला”, भनिएको थियो ।

    वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालत, संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर प्रधानमन्त्रीले न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । सोही प्रकृतिको आदेशानुसार चार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि लिखित जवाफ पेश गरिसकेका छन् ।

  • नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

    नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

    काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    कारोबारको अन्तिम दिन नेप्सेले २६३६.६८ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि बुधबार नेप्सेले २६११ विन्दु पार गरेको थियो ।

    विहिबार सेयर बजार मापक सूचक नेप्से २५.२३ अंकले बढेर २६३६ ६८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०६ कम्पनीको ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँ बराबरको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर किनबेच भएका छन् ।

    विहिबार कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ वटा समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारमा आएका २०६ कम्पनीमध्ये ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ताको रोजाइमा एनआइसी एसिया परेको छ । यसको सबैभन्दा धेरै ५६ करोड बढि कारोबार भएको छ । इन्फ्रास्ट्रकचर बैंकसहित ८कम्पनीका लगानीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।