काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड-माधव पक्षलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन चेतावनी दिएका छन्।
अनेरास्ववियुले काठमाडाैंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ, प्रधानमन्त्री केपी ओली त्यसको संसदमा डटेर सामना गर्त तयार हुनुहुन्छ। हामी संसद् बोलाउँछौँ, कसको हिम्मत छ? अविश्वासको सामना गर्दा के परिणाम आउँछ त्यसलाई स्वीकार गछौँ।’
उनले प्रधानमन्त्रीले राजीनामा नदिने पनि दाबी गरे। सर्वोच्च अदालतको निर्णयले मुलुकको राजनीतिलाई पुरानै फोहोरी खेलमा धकेलेको उनले बताए। ‘अदालतको निर्णय हामी कार्यान्वयन गछौँ। तर, सर्वोच्च अदालतको निर्णय सबैभन्दा ठूलो होइन’ उनले भने, ‘सबैभन्दा ठूलो अदालत भनेको जनता नै हो।’
ओली नेतृत्वको नेकपा सग्लो भएकाले जस्तोसुकै परिस्थिती आएपनि लड्न सक्ने बताए। ‘केपी ओली लोकतन्त्रमाथि विश्वास राख्नुहुन्छ। सडकमा भुस्याहा कुकुरझैँ कराउँदैमा ओलीले राजीनामा दिनुहुन्छ भन्ने नसोचे हुन्छ’ उनले भने।
अब पार्टीले चुनौतीका बीचमा नयाँ ढंगबाट अगाडि जाने उनले बताए। ‘पार्टी र सत्ता कब्जा गरेर आएका अब हुँदैनन्। अब नयाँ पुस्ताबाट कम्युनिस्ट पार्टी बन्छ’ उनले भने।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २७७ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित मृतको संख्या २७७१ पुगेको छ ।
काठमाडौं । म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बेनी नगरपालिका ४ फापरखेतमा बिहीवार राति भएको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जना घाइते भएका छन् । मालिका गाउँपालिका ३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नंको जीप सडकबाट म्याग्दी नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार दुर्घटनामा मालिका ३ का ६२ वर्षीय गोविन्द रोकाको मृत्यु भएको छ । उनी रुखबाट लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल ल्याउने क्रममा जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते चालक मालिका १ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचार गर्न पोखरा सिफारिस गरिएको छ । मालिका३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार जारी छ । यता, काठमाडौंको दक्षिणकाली नगरपालिका, ६ मा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ नाम्चेखानीबाट फर्पिङका लागि छुटेको बा २ क ४५५३ नम्बरको टिप्परको ठक्करबाट मकवानपुर भीमफेदी गाउँपालिका८ का ३५ वर्ष सन्तलाल लुम्बाको मृत्यु भएको हो । टिप्पर चालक प्रहरी नियन्त्रणमा छन् ।
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्ड फ्लू पुष्टी भएको छ । बिहीबार मात्र यहाँ १२ हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ । पशुसेवा विभागका अनुसार तारकेश्वर नगरपालिका १ साङ्लाफाँटमा उक्त संख्यामा कुखुरा नष्ट गरिएको हो । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको छ ।
फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना समेत नष्ट गरिएको छ । उता, सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ । उनको फार्ममा रहेका ७५० किलो दाना पनि नष्ट गरिएको छ । सम्झना ठकुरी तिवारीले पालेका २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरासमेत नष्ट गरिएको छ ।
शान्ता खनालको फार्मबाट १०० लोकल कुखुरा र २ वटा टर्की नष्ट गरिएको विभागले जनाएको छ । यसअघि पनि यहाँ बर्डफ्लु पुष्टी भएको थियो । केही साता अगाडी १४ सय भन्दा बढी हाँस मार्नु परेको थियो । विभागका अनुसार अहिले बर्ड फ्लूको सङ्क्रमण देखिएको स्थान पहिचानको काम जारी रहेको छ । बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानले भने क्षतिपूर्ति पाउने छन् ।
काठमाडौं । बदलिँदो परिस्थितिमा नेपाली कांग्रेस केन्द्रमा छ । किनकी भावनात्मक रुपमा नेकपा विभाजित भइसकेको अवस्थामा नयाँ सरकारको बनाउने कसरतको केन्द्रमा कांग्रेस आइपुगेको छ । यसै सन्दर्भमा सभापति शेरबहादुर देउवाको सक्रियता समेत बढेको छ । उनलाई नेकपाका नेताहरुले भेटिसकेका छन् ।
बिहिबार नेपालका लागि चिनियाँ र भारतीय राजदूतले समेत उनलाई भेटेका छन्। नेपाली संचारमाध्यमहरुका अनुसार बिहीबार छुट्टाछुट्टै समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले देउवासँग भेटेका छन् । दुबै राजदूत देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरुबीचमा कुराकानी के भयो भन्ने बारेमा भने कुनै पनि पक्षबाट सार्वजनिक गरिएको छैन ।
देउवा निवासमा बिहीबार नै कांग्रेसको पदाधिकारी बैठक राखिएको थियो । सो बैठक सकिएपछि राजदूतहरूले भेटेका हुन् । नेकपाका प्रचण्ड र माधव कुमार नेपाल तथा ओली समुहले देउवासँग छुट्टाछुट्टै सहकार्यको प्रस्ताव गरिसकेका छन् । यसमा भारत र चीनले देउवालाई दिएको सन्देश नै निर्णायक हुने देखिएको छ ।
काठमाडौं/गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित श्री सुन्ताखान माध्यमिक विधालयको वार्षिक उत्सव तथा अभिभावक दिवस काठमाडौं क्षेत्र ३ का सांसद माननीय कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। सोमबार सम्पन्न कार्यक्रमको सभापतित्व विधालय व्यवस्थापन समिति अध्यक्ष उद्दव बिष्टले गरेका थिए।
कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे, जिल्ला समन्वय समिति सदस्य उद्दव भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,पुर्व प्रधान अध्यापक ध्रुव प्रसाद भण्डारी, सहयोगी मा विका प्रधानाध्यापक निर्माण न्यौपाने,विद्यालयका प्रधानाध्यापक झलक प्रसाद खनाल,लगायत विधालयका संस्थापक,समाजसेवी,शिक्षा प्रेमी,सहयोगी संस्थाहरु,अभिभावक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो।
वि.स.२००८ साल फागुन १० गते स्थापित विधालयको ६९औं वर्षको अवधिमा पहिलो पटक वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएको हो।वार्षिकोत्सको अवसरमा शैक्षिक तथा समग्र विद्यालयको गतिविधिमा पुर्व निर्धारित मापदण्ड अनुसार शैक्षिकसत्र २०७६ को उत्कृष्ट मध्ये उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मानले शिक्षक राजेन्द्र बिष्टलाई सम्मानित गरिएको थियो भने,पुर्व प्रधान अध्यापक ध्रुव प्रसाद भण्डारीलाई निजले विद्यालयको हीतमा गरेको अतुलनीय योगदानको सम्मान सहित सेवा निवृत्त भइ गएकोले ससम्मान विदाई गरेको थियो।गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको थियोे।
कार्यक्रममा बिष्टलाई गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब भण्डारी,विधालय व्यवस्थापन समितिका अध्यक्ष उद्दब बिष्टले संयुक्त रुपमा सम्मान गरेका थिए।कार्यक्रममा विधालयका भुतपुर्व प्रधानाध्यापक धुर्ब प्रसाद भण्डारीलाई समेत सम्मान गरिएको थियो। विधालयको शैक्षिक तथा हाल सम्मको समग्र प्रगति प्रतिवेदन प्रधान अध्यापक झलक प्रसाद अधिकारीले प्रस्तुत गरेका थिए।कार्यक्रममा प्रमुख अतिथि माननीय राई तथा विषेश अतिथि उद्दव भण्डारीले विद्यालयको युवा नेतृत्वले पछिल्लो समयमा गरेको समग्र सुधार र प्रगतिको लागि बधाई दिंदै अझै प्रगति र उत्थानको शुभकामना दिएका थिए।
करिब ४०० जनाको संख्यामा अभिभावक ,अतिथिहरू,स्थानीय ब्यक्तिहरू साथै विधार्थिहरुको उपस्थितिले वार्षिक उत्सब कार्यक्रम भव्यताको साथ सम्पन्न गर्न पाएकोमा र निमन्त्रणा स्वीकार गरि बालबालिकाको हौसला बढाउन सहयोग गरेकोमा अध्यक्ष विष्टले सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा समेत सबैको साथ सहयोगको निरन्तरताको अपेक्षा रहेको उल्लेख गरेका थिए ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादको टुंगो नलागेसम्म प्रमुख विपक्षी नेपाली कांग्रेसले कुनै पनि समुहसँग सहकार्य नगर्ने निर्णय लिएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
आजको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको नेताहरुले बताएका छन् । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको जानकारी गराएका थिए । त्यसपछि उनले नेताहरुको राय माग गरे ।
बैठकले नेकपा विवादको अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन नहुने निष्कर्षमा पुगेको छ । जनताले प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार नगर्न नेतृत्वलाई सुझाव दिएका थिए ।
काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै प्रतिनिधिसभाका संसादहरुले पुस यताको एकमुष्ट तलब पाउने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधिसभाका सांसदहरुको जागिर पनि पुनःस्थापना भएको छ ।
योसँगै २७५ जना सांसदहरुले संसद नचलेको अवधिको पनि तलब पाउने भएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए ।
सांसदहरूको मासिक करिव ६५ हजार रूपैयाँ वुझ्ने गरेका छन् । यो हिसावले मासिक झण्डै एक करोड ८० लाख रूपैयाँ प्रतिनिधिसभाका सांसदको तलबभत्तामा खर्च हुन्छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ ।
सर्वोच्चको आदेशपछि प्रधानमन्त्री ओली प्रतिनिधिसभाको बैठक बोलाउन तयार भएका छन् । अब प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनभित्र बैठक आव्हवान गर्ने छिन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरिदिएपछि सांसदहरुको तलब रोक्का भएको थियो ।
काठमाडौं । सत्ता सहकार्यका लागि प्रचण्ड–माधव समूहको नेकपासँग छलफलका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका जनता समाजवादी पार्टी (जसपा) नेताहरूले प्रचण्ड–माधव समूहलाई तपाईंहरूको कुन पार्टीको हो भनेर प्रश्न गरेका छन्।
नेकपाको प्रचण्ड–माधव समूहसँग छलफल गर्न पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पुगेका थिए।
बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधवले राजनीतिक परिस्थितिअनुसार सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका थिए। जवाफमा जसपाका नेताहरूले ‘तपाईंहरूको पार्टी कुन हो?’ भनेर सोधेको थियो।
नेकपा राजनीतिक रूपमा विभाजित भएपनि कानूनी रूपमा नछुट्टिएको, तर सत्ता समीकरणका लागि छलफल तीव्र बनाएsf कारण जसपाले आधिकारिक पार्टीको प्रश्न राखेको जनाएको छ।
सहकार्यको लागि आधिकारीक पार्टी चाहिएको नेता महतोले बताए। बैठकमा प्रचण्डले आफूहरू नै आधिकारिक नेकपा भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जवाफ दिएको महतोको भनाइ छ।
बैठकमा विगतमा संविधान संशोधनका सवालमा कांग्रेस, एमाले, माओवादीसित भएका सम्झौता कार्यान्वयन, आफ्ना नेता/कार्यकर्ताको रिहाइ लगायत विषयमा पार्टीको तर्फबाट भनाई राखिएको नेता महतोले जानकारी दिए।
काठमाडौं फागुन १३/गोकर्णेश्वर नगरपालिका वडा नं ४ कार्यालय नजिक प्रेसर कुकर बम भेटिएको छ।वडा नं ४ कार्यालयको क्यान्टिन माथि बाटोमा राखिएको अवस्थामा बम भेटिएको स्थानियहरुले बताएका छन् । प्रेशर कुकर बम आज करिब ११ बजे तिर पहिलो पटक देखिएको पनि स्थानियले बताएका छन् ।
नेपाली सेनाको बम डिस्पोजल टोलिले घटना स्थलमा पुगेर बमलाई निस्कृय पारेको थियो । घटना वारे थप अनुसन्धान भैरहेको छ।थप विवरण आउन बाँकी नै छ ।
काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टको हत्यारा पत्ता लगाउन सफल प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । तिव्र दवावका बीच पनि हत्यारासम्म पुगि प्रहरीको छवि उच्च राख्न सफल भएको भन्दै संगठनले उनीहरुलाई पुरस्कृत गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यस प्रकरणको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको एक तह बढुवा गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनालाई नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् । साथै इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् । थापाले यसअघि कैलालीमा दुई प्रहरीको हत्या, कञ्चनपुरमा खण्टी भुलको हत्यासहितका घटनामा समेत महत्वपूर्ण भूमिका खेलेको संगठनको निष्कर्ष छ ।
जवान नरबहादुरले भागरथी प्रकरणसहित दुई प्रहरीको हत्या र बझाङमा सम्झना विकको बलात्कारपछि हत्या प्रकरणमा समेत प्रहरीलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । भागरथी प्रकरणको अनुसन्धानमा आफै खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहित ५ अधिकृतलाई भने नगद पुरस्कार दिइएको छ ।
पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दी भएका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन्
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाएको हो । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुनेछन् ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड,माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको तयारी शुरु भएको छ ।
यसमा कांग्रेसको भूमिका प्रमुख हुन्छ । यसअघि बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव गरिसकेका छन् । देउवाले भने पार्टीमा छलफल गरेर मात्र जवाफ दिने बताएका छन् । सोही अनुसार देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीलाई डाकेका हुन् ।
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएका नागरिकको संख्या लुकाएको पुष्टी भएको छ । बुधबार एकै दिन ६१९ जना थप गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्या सच्याएको छ । यसअघि सरकारमाथि मृतकको संख्या लुकाएको आरोप लागेको थियो । तर, सरकारले भने प्रतिक्रिया दिएको थिएन ।
कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जना मानिसको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जानकारी गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ६८४ पुगेको छ ।
बुधबार ६१९ थप संख्या सार्वजनिक भए पनि यस दिन मृत्यु हुनेको संख्या भने मात्र एक थियो । मन्त्रालयका अनुसार बुधबार मात्र ९४ जनामा कोरोना भाइरसको पुष्टी भएको छ । यस दिन देशभर ३ हजार ६९२ जनाको नमुना परीक्षण भएको थियो । अब नेपालमा कुल संक्रमित २ लाख ७३ हजार ७६० जना पुगेको छ । यसमध्ये २ लाख ७० हजार १३९ जनाले कोरोनालाई जितिसकेका छन् ।
काठमाडौं । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार १३९ जना पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ६६ जना पुगेको छ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ ।
सर्वोच्च अदालतको आदेश छल्न हतारमा सुनको जलहरी राखेकै दिन मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । साथै सर्वोच्चले जलहरी राख्नुको लिखित कारण पनि सरकारसँग माग गरेको छ ।
सर्वोच्चले १५ दिनभित्र विपक्षीहरुलाई लिखित रुपमा अदालतमा उपस्थित हुन समेत आदेश दिएको हो ।
प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पशुपति क्षेत्र विकास कोषका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री एवं कोषका अध्यक्ष भानुभक्त ढकाल, कोषका सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष तथा जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक मिलनकुमार थापा, नेपाल राष्ट्र बैंक, गुठी संस्थान र पुरातत्त्व विभागलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले जलहरी नराख्न अन्तरकालीन आदेश जारी गरेकै दिन विहान ११: ४५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकिएको छ ।
काठमाडौ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङमा सुनको जलहरी राखिएको छ ।
राष्ट्र प्रमुखको हैसियतमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापुजा गरेपछि सुनको जलहरी स्थापना कार्य पुरा भएको हो । यसअघि त्यहाँ चादीँको जलहरी राखिएको थियो ।
तर चाँदीको जलहरी खिइसकेकोले फोहोर देखिनुका साथै पञ्चामृत लगायतका कतिपय पूजा सामग्री फोहोर हुने गरेको जलहरी परिवर्तन गर्नु परेको पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।
जलहरी राख्न अघि क्षमापूजा आवस्यक भएको र त्यसका लागि भारतबाट ३३ जना व्राह्मण बोलाइएको थियो । जलहरीका लागि १ सय ८ ग्राम सुन प्रयोग गरिएको छ ।
तर संस्कृतिविद्हरुले भने जलहरी प्रतिस्थापनको विरोध गर्दै आएका छन । जलहरी प्रतिस्थापनको विषयलाई लिएर सर्वोच्च अदालतमा दुई वटा छुट्टाछुट्टै रिट निवेदन समेत दायर गरिएको छ । जलहरी प्रतिस्थापन गर्ने विषयलाई पछिल्लो सात वर्ष देखि विवाद चल्दै आएको छ ।
यसअघि पशुपतिनाथमा रहेको चाँदीको जलहरी राजा महेन्द्रले २०२५ सालमा प्रतिस्थापित गरेका थिए । त्यसअघि राजा गीर्वाणयुद्धको पालामा तामाको जलहरी राखेको विभिन्न अभिलेखहरुमा उल्ल्ेख छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ ।
संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउने बारे छलफल र त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने बैठकले निर्णय गरेको छ । बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । त्यस्तै देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय भएको छ।
राजीनामापछिको अवस्था मूल्यांकन गरेर प्रधानमन्त्री ओलीले राजीनामा दिने नदिने आवश्यक निर्णय गरिने नेकपा ओली समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने,‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं।’
काठमाडौं । सर्वोच्च अदालतले आफ्नो निर्णय उल्टाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आगामी रणनीति निर्माणमा जुटेका छन् । सोही क्रममा उनले आज आफ्नो समूहको स्थायी कमिटी बैठक डाकेका छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन गरी उनले मध्यावधी निर्वाचनमा जाने निर्णय लिएका थिए । यो निर्णयलाई राष्ट्रपति विद्यादेवि भण्डारीले तत्काल सदर गरेकी थिइन । यी दुबै कदम असंवैधानिक भएको सर्वोच्च अदालतले फैसला गरेको छ ।
संसद विघटन रद्द भएपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने छ ।
प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने र संसदको सामना गर्ने जानकारी उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार नै दिएका छन् । यद्दपी उनीमाथि राजिनामाको चौतर्फी दवाव भने छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चबाट संसद विघटन रद्द भए नैतिक रुपमा प्रधानमन्त्री कुर्सीमा बस्न नमिल्ने भनी बताएको भिडियो समेत यतिबेला सार्वजनिक रुपमा चर्चामा छ ।
काठमाडौं । सर्वोच्च अदालतबाट संसद विघटन बदर भएसँगै आज निर्धारित विरोध कार्यक्रमलाई नेकपा प्रचण्ड-नेपाल समूहले उत्सवका रुपमा मनाउने भएको छ । संसद विघटनविरुद्ध पार्टीको चौथो चरणका आन्दोलन जारी रहेका थिए । यसै सन्दर्भमा मंगलबार सर्वोच्च अदालतबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा फैसला आएसँगै विरोध सभा अब विजयी सभामा परिणत गर्न लागिएको हो ।
प्रचण्ड-नेपाल समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने पूर्वनिर्णय गरेको थियो । समूहले यस प्रदर्शनलाई उत्सवका रुपमा मनाउने भएको हो । संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
युवा संघका सहसंयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार आज शान्तिवाटीकामा भेला भएर संसद पुनर्स्थापनाको स्वागत गरिनेछ । कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल सहभागी हुनेछन् । सर्वोच्चको फैसला आउने दिन मंगलबार भने उनीहरु चितवनमा थिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नगर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकबाट यस्तो सन्देश जारी गरेका हुन् । थापाले सर्वोच्च अदालतले गरेको फैसलालाई विवादास्पद भनेका छन् । तर, यसलाई मान्नुको विकल्प नभएको र मान्ने समेत उल्लेख गरेका छन् । यो फैसलाको दुष्प्रभाव भविश्यमा देखिने चेतावनी समेत थापाले दिएका छन् ।
यो फैसलाबाट राजनीतिक समस्याहरुको कुनै पनि हल नहुने समेत उनले उल्लेख गरेका छन् । बरु अस्थिरता बढ्ने भन्दै उनले खुलेआम चेतावनी समेत दिएका छन् । उनले प्रधानमन्त्रीले राजिनामा नगरी प्रतिनिधिसभाको सामना गर्ने जानकारी समेत गराएका छन् । यता, सर्वोच्च अदालतको फैसलापछि विपक्षी कांग्रेसदेखि नेकपाका नेताहरुले समेत प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि देशभर दिपावली शुरु भएको छ । आज माइतिघर मण्डलासहितका स्थानमा युवाले भेला भई दिपावली गरेका छन् । उनीहरुले प्रतिगमन पराजित भएको भन्दै सर्वोच्च अदालतको निर्णयको स्वागत समेत गरेका छन् ।
सामाजिक संजालमा सर्वोच्च अदालत, प्रधानन्यायाधीस र न्यायाधीसहरुको प्रशंसा शुरु भएको छ । नेता तथा कार्यक्रताले नेपालमा न्याय नमरेको तथा अब देश संविधान अनुसार आफ्नो बाटोमा अगाडी बढ्ने अपेक्षा समेत गरेका छन् । यद्दपी फैसला आफ्नो पक्षमा नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने अर्को कदमप्रति भने सर्वसाधारणमा अझै पनि संसय रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचनाका बीच राजिनामा माग भएको छ । तर, उनी भने भिड्ने मनस्थितिमै छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले तत्काल राजिनामा दिने छैनन् । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयनमा जाने भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई स्वागत गरेका छन् । देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’
देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको समेत स्मरण गराएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासले संसद पुनर्स्थापना गर्ने आदेश सुनाएको हो । अदालतले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको भन्दै फैसला आएको हो। संविधान प्रतिकूल हुने गरी प्रधानमन्त्रीले विघटन गरेको फैसलामा उल्लेख छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न आफु कहाँ नै आउनु पर्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित आफूनिकट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले प्रचण्ड–नेपाल प्रधानमन्त्री बन्ने एक प्रतिशत पनि सम्भावना नरहेको दाबी गरे ।
अदालतलाई राम्ररी थाहा छ नि पुनःस्थापना भयो भने के हुन्छ ? अदालतलाई राम्ररी थाहा छैन र ?
उहाँहरुको कुनै चान्स छ ? कुनै सम्भावाना छ प्रधानमन्त्री हुने ? विलकुल छैन । एक प्रतिशत मात्रै होइन कि एक प्रतिशतभन्दा पनि तलतल । लडाइँ जित्नु भो भने उहाँहरुले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्ने हो । खोज्दै हिँडेर अन्त्यमा मैकहाँ आइपुग्नुपर्छ,’’ उनले भने ।
प्रतिनिधि सभा पुनःस्थापनानहुने जिकीर गरेका प्रधानमन्त्री ओलीले यदि पुनःस्थापना भएमा जस्तासुकै परिस्थिति आए पनि सामना गरे बताए ।
पुनःस्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएको ओलीको भनाइ छ। उनले सूर्य चिह्नमा प्रचण्ड नलडेकोले उनले सूर्य चिह्न नपाउने दाबी गरे । आफू २०४८ सालदेखि सूर्य चिन्हमा चुनाव लड्दै आएको ओलीले बताए।
काठमाडौं । नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६८ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३३ रहेको छ । मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।
काठमाडौं । साताको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार ३२.६७ अंकले घटेको नेप्से मंगलबार दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा २१.१६ अंकले घटेर २५८६.५१ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०५ कम्पनीको ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँ बराबरको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये १ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ११ वटा समूहको परिसूचक राताम्मे भएका छन् ।
कारोबारमा आएका २०५ कम्पनीमध्ये ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११कम्पनीको मूल्य स्थिर रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमूल्य १० प्रतिशत घटेको छ ।
कारोबारका आधारमा पनि इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो भने माथिल्लो तामाकोसीको ४३ करोडको कारोबार भयो।
त्यसपछि नविल, एनआइसी एसिया, ग्लोबल आइएमई बैंक, नेको इन्स्योरेन्स कारोबारका आधारमा क्रमशः अगाडि रहे। परिसूचक घटे पनि नेपाल फाइनान्स, अपि पावर, लिवर्टी इनर्जी र हिमालय पावर पार्टनरको मूल्य १० प्रतिशतले बढेको छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेका छन् । बैठक मंगलबार बिहानका लागि बोलाइएको हो । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसला आउने समय नजिकिएको समयमा उनले डोकेको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
यसअघि प्रधानसेनापति र प्रधानन्यायाधिशबीच सोमबार सर्वोच्च अदालतमा भएको बैठकले समेत पुनः एक पटक राजनीतिक विवाद बढेको छ । आजको बैठकमा समसामयिक सुरक्षा विषय, देशमा विकसित पछिल्ला घटनाक्रम लगायत विषयमा छलफल हुने बताइए पनि मुल एजेण्डा सार्वजनिक भएको छैन ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापासहितका मन्त्री समेत रहने छन् । प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहन्छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहन्छन् । सुरक्षा परिषद्को बैठक सकिएपछि आज नै मन्त्रिपरिषदको बैठक समेत डाकिएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनको मुद्दा अब अन्तिम फैसला आउने चरणमा प्रवेश गरेको छ । मुद्दाको आज पेसी तोकिएको छ। आज हेदाहेर्दैमा रहने पेसीले आफै पनि फैसला दिन सक्ने सम्भावना हुन्छ ।
आज नभ्याएको अवस्थामा एक दुई दिन भित्रै फैसला आउन सक्ने बताइएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस केही दिनअघि नै सकिएको हो । त्यसपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए।
इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यबाट समेत राय आइसकेको छ । फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन आदेश गरेको थियो । इजलासको आदेशअनुसार सोमबारसम्म सबै वकिलले बहसको नोट बुझाइसकेका छन् ।
सोही अनुसार आज मुद्दाको पेसी तोकिएको हो । सोही अनुसार अब यो मुद्दा निर्णायक मोडमा पुगेको हो । त्यसो त सर्वोच्चको फैसला आउने समयमा बढेको सरगर्मीले समेत अब छिट्टै फैसला आउने संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फैसला सरकारको पक्षमा नआए आन्दोलनमा जाने चेतावनी दिइसकेका छन् । उनले देशभरका सभा हेरेर फैसला गर्न सुझाव समेत दिएका छन् ।