Category: समाचार

  • ओलीको व्यङ्ग्य: ‘उपद्रो मच्चाए स्वर्ण भनेको सिल्भर पाउनुभएछ ‘

    ओलीको व्यङ्ग्य: ‘उपद्रो मच्चाए स्वर्ण भनेको सिल्भर पाउनुभएछ ‘

    काठमाडौं । नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माघव नेपालप्रति व्यङ्ग्य गरेका छन् ।

    बालुवाटारस्थित तेस्रो केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले नेकपामा उपद्रो मच्चाएवापत माधव नेपालले रजत पदक पाएको भन्दै व्यङ्ग्य गरेका हुन् ।

    ओलीले माधव नेपाललाई प्रचण्डले झुक्याएर दोस्रो वरियताको अध्यक्ष बनाएको बताए । ‘मसँग उधारो हुन्न, हाताहाती चाहिन्छ । महाधिवेशनसम्म कुर्ने ? भन्नुहुन्थ्यो । प्रचण्डले हाताहाती दिनु भएछ । तर, झुक्याएर दोस्रो अध्यक्ष । स्वर्ण होइन, सिल्भर’, ओलीले बैठकमा भने ।

    ओलीले आफूसँग राजनीतिक विभाजन गरेर अलग भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचनमा जान डराएर आन्दोलनमा लागेको आरोप लगाएका छन्।

    ‘उहाँहरुलाई जनमतदेखि सधैँ डर लाग्छ, निर्वाचन भएमा प्रधानमन्त्री र अध्यक्ष हुन पाइँदैन भन्ने भयले गाँजेको छ, घालमेल गरेर प्रधानमन्त्री र अध्यक्ष हुने बानी जो परेको छ,’ ओलीले प्रचण्ड-नेपाल समूहलाई सोधेका छन्, ‘चुनावमा जान किन डराएको? आन्दोलन किन गर्न खोजेको हो?’

  • नेकपामा विवाद चुलिंदा चिनियाँ राजदूतको सक्रियता बढ्यो, प्रचण्ड र यान्छीबीच भेटवार्ता

    नेकपामा विवाद चुलिंदा चिनियाँ राजदूतको सक्रियता बढ्यो, प्रचण्ड र यान्छीबीच भेटवार्ता

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष दाहालससँग उनले बिहीबार बिहान खुमलटारस्थित दाहाल निवासमा भेटवार्ता गरेकी हुन् । भेटमा नेकपा विवाद, फुटको अवस्थाका विषयमा चिनको चासो दाहाल समक्ष यान्छीले राखेको बताइएको छ ।

    दाहालले भने आफु नेपालमा एउटै कम्युनिष्ट पार्टी होस् भन्ने पक्षमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीका कारण विभाजनको अवस्थामा पुगेको बताएका छन् ।

    नेकपा दुई भागमा विभाजन भएको बेला उनले प्रचण्डलाई भेटनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । चिनियां राजदूतले पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रचण्डसंगको भेटमा चांसो राखेको बुझिएको छ । यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शितल निवास पुगेर भेटवार्ता गरेकी थिईन ।

    चिनियां राजदूतले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपाललाई समेत भेट्ने तयारी गरेकी छन् । त्यसैगरी पुर्व उर्जामन्त्री वर्षमान पुनलाई समेत उनले भेट्ने कार्यक्रम छ ।

  • बैतडीमा जीप दुर्घटना, १ जनाको मृत्यु

    बैतडीमा जीप दुर्घटना, १ जनाको मृत्यु

    बैतडी । बैतडीमा जिप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते रहेको प्रहरीले जनाएको छ । धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटनाग्रस्त भएको हो । घटनामा जीप चालक बझाङ, बुङ्गल नगरपालिका –११ बस्ने २६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको हो।

    बिहीबार बिहान भएको दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये पनि दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

  • नवलपरासीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    नवलपरासीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    गैँडाकोट । नवलपरासीको गैँडाकोटमा आज भएको ट्रक दुर्घटना तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ना ३ ख ५३३९ नम्बरको लहरे प्लेटफर्म टेलर कालिगण्डकी करीडोरको भित्री सडक खण्डमा दुर्घटनामा पर्दा तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

    दुर्घटनामा परी टेलर चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका—१७ हटियाका ४५ वर्षीय सुरेश भुजेल, सोही ठाउँका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्सा जिल्लाको ठोरी गौतमनगर बस्ने ५० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले पुष्टी गरेको छ ।

    सिमेन्टसहित निर्माण सामग्री बोक्ने टेलर बिहान बुलिनटार गाउँपालिकाबाट गैँडाकोटतर्फ आउँदा गैँडाकोट नगरपालिका—३ को सेतिभीरबाट अन्दाजी १ सय मिटर तल खसेको हो ।

  • नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि, ९५२ जना संक्रमण मुक्त

    नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि, ९५२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको पुगेको छ ।

    थप ९५२ जना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४६हजार ६ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म संक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ रहेको छ ।

  • प्रचण्ड–माधव समूह: संसदीय दलको नेतामा प्रचण्ड चयन

    प्रचण्ड–माधव समूह: संसदीय दलको नेतामा प्रचण्ड चयन

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएका छन् ।

    मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको हो । यसअघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए।

    बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।

  • प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा, सर्वोच्चले अन्तरिम आदेश दिएन

    प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा, सर्वोच्चले अन्तरिम आदेश दिएन

    काठमाडौं । संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    बुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो ।

    बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।

    विघटनसम्बन्धी रिटमाथिको सुनुवाईमा कानुन व्यवसायी र संवैधानिक कानुनका जानकारहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै उनीहरुले गरेकाे काम असंवैधानिक भएको जिकिर गरेका थिए ।

  • ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    ललितपुर । ललितपुर, धोवीघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
    एकान्तकुनाबाट बल्खुतर्फ लागेको बा ०२० प २३६१ नम्बरको मोटरसाइकलले काभ्रेका २७ वर्षिय गोपीकृष्ण खनाललाई ठक्कर दिएको थियो ।

    उनको उपचारका क्रममा गतराती स्टार हस्पिटलमा ज्यान गएको हो । चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उपत्यकामा बढ्दो सवारी चापका कारण पैदल यात्रा समेत असुरक्षित बनेको छ ।

  • नेकपा ओली पक्षले आज प्रदेश भेला गर्दै

    नेकपा ओली पक्षले आज प्रदेश भेला गर्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूह आज प्रदेशस्तरीय कार्यकर्ता भेलाको तयारीमा छ । उक्त समूहको मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आज सातै प्रदेशमा भेला गर्ने निर्णय गरे अनुसार नेताहरुलाई प्रदेशमा खटाइएको छ । पार्टी विभाजनको काम निकै तिब्र गतिमा गरेको यो समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

    दुईदिन भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत रहेको नेताहरुले बताएका छन् । बागमती प्रदेशअन्तर्गत आज काठमाडौंमा प्रदेश कमिटीको दुई दिने प्रशिक्षण भेला आयोजना गरिने भएको छ । यो भेलालाई पार्टीका नेता ईश्वर पोखरेलले सम्बोधन गर्दैछन् ।

    प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शंकर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश २ मा शंकर पोखरेल र सत्यनारायण मण्डललाई नेता तोकि खटाइएको छ ।

  • नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड

    नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड

    काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेकपाले आज संसदीय दलको नेतामा प्रचण्डलाई छनोट गर्दैछ । त्यसका लागि आज १ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरी दोस्रो अध्यक्षमा माधव कुमार नेपाललाई छानिएको थियो । आज संसदीय दलको बैठकले नेता छान्ने छ ।

    आज १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठक बोलाइएको छ । यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएका कारण उनी संसदीय दलको नेता बन्ने पक्का भएको हो ।

    प्रचण्ड, नेपाल समुहमा प्रतिनिधि सभा सदस्यमध्ये ९० जना सांसद उपस्थित छन् । यो बहुमत संख्या हो । यसअघि मंगलबार नै नेकपाको ओली समुहले आफ्नो समूह आधिकारिक भएको भन्दै पार्टी विभाजनका कामहरु फटाफट गरेको थियो । जसमा नयाँ केन्द्रिय सदस्य थपेर आफ्नो बहुमत देखाइएको छ । यसबारे अब निर्वाचन आयोगले दिने फैसलाबाट औपचारिक रुपमा पार्टी विभाजन हुनेछ ।

  • प्रधानमन्त्रीको कदमबारे कांग्रेस अझै अनिर्णित, आज पनि जारी रहने केन्द्रिय समिति बैठक

    प्रधानमन्त्रीको कदमबारे कांग्रेस अझै अनिर्णित, आज पनि जारी रहने केन्द्रिय समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद विघटन गर्ने गरी चालेको असंवैधानिक कदमको औपचारिक धारणा बनाउन अझै सकेको छैन । यसले कांग्रेस भित्र समेत असन्तुष्टी तिब्र बन्दै गएको छ । खासगरी सभापति शेर बहादुर देउवाको मौन समर्थनमै प्रधानमन्त्रीबाट पछिल्ला कदम चालेको आशंका कांग्रेस भित्रै गर्न थालिएको छ ।

    मंगलबार पार्टीका तर्फबाट धारणा बनाउन बसेको केन्द्रीय समिति बैठक विना निष्कर्ष सकियो । बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज पनि निरन्तर जारी रहने भएको हो ।

    बुधबार दिउँसो १ बजेदेखि बैठक सुरू हुने पार्टी सचिवालयले जनाएको छ । सडक आन्दोलन गर्ने वा प्रधानमन्त्रीको कदमलाई स्वीकार गर्दै पार्टीलाई चुनावमा लैजाने भन्ने निचोडमा पुग्न कांग्रेसलाई मुस्किल परेको छ ।

    यद्दपी मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम निरंकुश र असंवैधानिक भएकोले साथ दिन नसकिने बताए । वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टमा भर पर्न नहुने भन्दै ओली कदमविरूद्ध प्रतिरोधमा जानु पर्ने बताए ।

    कांग्रेसले ११७ जना केन्द्रीय सदस्यकै धारणाबाट निर्णयमा पुग्ने बताएको छ । कांग्रेसले निर्णय ढिला दिने र त्यतिन्जेल प्रधानमन्त्री ओलीको कदमविरूद्ध सर्वोच्चमा परेको रिटको समेत आदेश आउने भएकाले सोही रणनीति अपनाउन लागेको बताइएको छ ।

  • नेकपाको अध्यक्षबाट केपी ओलीलाई हटाइयो, माधवकुमार नेपाल दोस्रो अध्यक्षमा चयन

    नेकपाको अध्यक्षबाट केपी ओलीलाई हटाइयो, माधवकुमार नेपाल दोस्रो अध्यक्षमा चयन

    काठमाडौं । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय गरेको छ।

    मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको हो ।

    उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ भन्दा बढी सदस्य सहभागी थिए । ३१५ जना केन्द्रीय कमिटीका सदस्यले ओलीलाई हटाउने निर्णय सर्वसम्मतरुपमा गरेका थिए ।

    ओलीले निरन्तर पार्टीका कार्यक्रम, नीति, सिद्धान्त, जनताका अपेक्षाको अवज्ञा गर्दै आएको पारित प्रस्तावमा उल्लेख छ । माधवकुमार नेपाल नेकपा प्रचण्ड–नेपाल समूहको अध्यक्षमा चयन गरिएको छ । पार्टी बैठकमा नेता झलनाथ खनालले नेपाललाई अध्यक्षमा चयनका लागि प्रस्ताव गरेका थिए ।

  • नेपालमा ७२२ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु

    नेपालमा ७२२ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ।

    थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय १३ जना क्वारेन्टाइनमा छन्।

    पछिल्लो २४ घण्टामा ९६६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ।

  • बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल

    बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल

    काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले सामाजिक विकास समिति संयोजकको जिम्मेवारी नगर कार्यपालिका सदस्य शान्ता ढकाललाई दिएको छ। बुढानिलकण्ठ नगर कार्यपालिकाको पुस १ गते बसेको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो।

    करिव २ दशक नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेकी ढकाल स्थानीय निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट लोकप्रिय मत सहित विजयी बनेकी थिइन्।

    नगरपालिकाको स्वास्थ्य ,शिक्षा ,धर्म संस्कृति ,बालबालिका ,महिला तथा जेष्ठ नागरिकहरुका विभन्न मुद्दा तथा सरोकारका विषयहरुमा नीति निर्माण ,योजना तथा कार्यक्रम निर्माण तथा कार्यान्वयन जस्ता महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने सो समितिमा संयोजक ढकाल संगै वडा नं ४ का अध्यक्ष राजु खड्का ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,नगर कार्यपालिका सदस्य तारा रोक्का र नगरको सार्वजनिक लेखा समितिका संयोजक पुरुषोत्तम नेपाल सदस्य रहेका छन।

    केवल भौतिक विकासले मात्र सम्पूर्ण विकासको मापन नहुने र यसमा सामाजिक विकासको निकै महत्वपूर्ण भूमिका रहने बताउदै ढकालले नगरपालिकाले दिएको जिम्मेवारीलाई नगरवासीको हितमा केन्द्रित राखेर पुरा गर्ने प्रतिवदत्ता व्यक्त गरेकी छन।

    सामाजिक विकास समितिको क्षेत्र र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा निकै फराकिलो र गहन भएकोले यस संग सम्बन्धित सबै सरोकारवाला पक्षहरुको सहभागिता र सुझाव समेट्दै ठोस कार्ययोजना निर्माण गरेर अगाडी बढ्ने बताउदै उनले रचनात्मक सुझाव र सल्लाहका लागि सबैमा अनुरोध गरेकी छन।

  • संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

    संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

    काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गरेका हुन् ।

    रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्‍निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

    उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै संसद विघटनको बदर गर्न माग गरेका छन्।

  • ओली समूहले विस्तारित केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा दर्ता

    ओली समूहले विस्तारित केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा दर्ता

    काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले विस्तार गरेको पार्टी केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता भएको छ ।

    प्रमुख निर्वाचन आयुक्तको तोक लगाएपछि दर्ता शाखामा पुगेको हो ।

    केन्द्रीय समिति बिस्तार भएको उल्लेख छ र सँगै विस्तारित केन्द्रीय समितिमा रहेका सदस्यहरुको सूची संलग्‍न रहेको पत्रमा पार्टी अध्यक्ष ओलीको हस्ताक्षर रहेको आयोग स्रोतले जनाएको छ ।

    मंगलबार बालुवाटारमा बसेको बैठकले आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् ।

    हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहनेछ ।

  • ओली समूहको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने बालुवाटार भेलाको निर्णय

    ओली समूहको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने बालुवाटार भेलाको निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा छ । प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

    विवाद विभाजनसम्म पुगेको छ । बालुवाटारमा भेला भएको ओली समूहको बैठकले केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेको छ ।

    हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहने निर्णय गरेको छ ।

    महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने पुस ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।

    नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ।

  • नारायणकाजी श्रेष्ठ ओली समूहको कारबाहीमा, प्रवक्ता जिम्मेवारी प्रदीप ज्ञवालीलाई

    नारायणकाजी श्रेष्ठ ओली समूहको कारबाहीमा, प्रवक्ता जिम्मेवारी प्रदीप ज्ञवालीलाई

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ ।

    बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको सहभागी एक नेताले जानकारी दिए। श्रेष्ठलाई पार्टी हित विपरित गतिविधि गरेको आरोप लगाएको छ । श्रेष्ठको भूमिकाप्रति ओली पक्ष केही समययता असन्तुष्ट देखिँदै आएको थियो।

  • ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

    ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

    काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

    बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् ।

    हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहनेछ ।

  • जनमोर्चा र मसालले सरकारलाई दिएको समर्थन फिर्ता लिए

    जनमोर्चा र मसालले सरकारलाई दिएको समर्थन फिर्ता लिए

    काठमाडौं । राष्ट्रिय जनमोर्चा र मसालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । जनमोर्चाको सोमबार बसेको पार्टी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका अनुसार पार्टीले सरकारलाई दिएको नैतिक समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी कदम चालेका कारण समर्थन फिर्ता दिनु परेको जनाएको छ । विगतमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेकाु समेत जनमोर्चाको भनाई छ ।

    ‘प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल परिस्थिथितिका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीको भनाई छ । उता नेपाल कम्यूनिष्ट पार्टी मसालले समेत वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।

    सोमबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको बताइएको छ । महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ती जारी गर्दै संसद विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएको बताएका छन् । उनले विघटित संसदको पुनर्स्थापना माग गर्ने र त्यसका लागि संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएको बताएको छ ।

    संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा काम हुन नसक्ने समेत मसालले उल्लेख गरेको छ । तर, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता जस्ता प्राप्त सीमित अधिकारसमेत बचाउन वर्तमान संसदीय व्यवस्थाको रक्षा गर्नुपर्ने मसालको भनाई छ ।

  • सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै

    सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै

    काठमाडौं । आज तीन ठूला दल सरकारको कदमको प्रतिरोध गर्ने सम्बन्धमा आगामी रणनीति तय गर्न जुट्दैछन् । त्यसका लागि ती दलको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ । सत्तारुढ नेकपाका दुई गूटको बैठक छुट्टाछुट्टै समयमा बस्दैछ । यद्दपी प्रचण्ड समुहले सरकारको कदमबारे आफ्नो आगामी रणनीति बनाउने छ ।

    नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक समेत आजै बेग्लाबेग्लै समयमा बोलाइएको छ । यी दुई दलले समेत पार्टीको आगामी रणनीति तय गर्नेछन् । त्यसपछि संयुक्त रुपमा सरकारको कदमको प्रतिसोध गर्ने तयारी तीन दलको रहेको छ ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको समूहबाहेक मुलुक भित्रका हरेक पक्षबाट त्यसको व्यापक विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले समेत प्रधानमन्त्रीको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

    सोमबार नेकपा प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र जसपाका अध्यक्ष महन्थ ठाकुरसहित नेपाली कांग्रेसले बैठक गरेको थियो । यो बैठकमा तीन वटै पार्टीको आज बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति भएको थियो ।

    कांग्रेसले आज दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक राखेको छ। जनता समाजवादीले थप कार्यक्रमबारे आज मध्यान्ह १२ बजे बस्ने केन्द्रीय कार्यकारिणी बैठकबाट घोषणा गर्ने तयारी गरेको छ ।

  • के आज नेकपा फूटको औपचारिक दिन हो ? दुबै गूटका छुट्टाछुट्टै केन्द्रिय समिति बैठक आह्वान

    के आज नेकपा फूटको औपचारिक दिन हो ? दुबै गूटका छुट्टाछुट्टै केन्द्रिय समिति बैठक आह्वान

    काठमाडौं । सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले आज छुट्टाछुट्टै केन्द्रिय समिति बैठक बोलाएका छन् । यसलाई नेकपा फूटको औपचारिक विन्दुका रुपमा हेरिएको छ । किनकी आजको बैठकमा प्रधानमन्त्री ओली पक्षले अध्यक्ष प्रचण्डलाई कारवाहीको निर्णय गर्ने बताएको छ ।

    प्रचण्डले नेतृत्व गरेको समूहको स्थायी समिति बैठकले भने यसअघि नै ओलीलाई कारवाही गर्नेै निर्णय गरी निर्वाचन आयोगमा समेत पठाइसकेको छ । यसको औपचारिकताका लागि आज केन्द्रिय कमिति बैठक बोलाइएको हो ।

    नेताहरु भने आज बोलाइएको दुई समानान्तर बैठक नेकपा फूटका लागि औपचारिक प्रस्थानविन्दु भएको बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि उनीसँग पार्टी भित्रको ठूलो पंक्ति रुष्ट छ ।

    प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल समूह एकातर्फी र ओली एकातर्फ रहेका छन् । दुबै समूहले सोमबार आआफ्नो पक्षका संघीय सांसदहरुको भेला गरेका थिए । कुल ४४१ सदस्यीय केन्द्रीय समितिमा दुईतिहाई बहुमत रहेको दाबी प्रचण्ड, माधव नेपाल समूहको छ ।

    यो समुहले मंगलबार दिउँसो १ बजे कार्की बैंङ्क्वेटमा केन्द्रीय समिति बैठक डाकेको छ । यसै बैठकबाट केपी ओलीलाई अनुशासनको कारवाही गर्नेछ । प्रधानमन्त्रीले असंवैधानिक तरिकाबाट प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्ततः फूटको संघारमा आएको हो ।

    माधव नेपाल र प्रचण्ड समूहले केन्द्रीय कमिटीको बैठक राखेकै दिन हतार हतार ओली पक्षले मंगलबार नै बिहान ९ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक डाकेको छ ।

  • टिकटिक बनाउन पुलमा झुन्डिदा झरेका युवाको मृत्यु

    टिकटिक बनाउन पुलमा झुन्डिदा झरेका युवाको मृत्यु

    कोहलपुर । टिकटकका लागि मानिस के सम्म गर्न सक्ला ? हामीले टिकटकका लागि अनेक शाहसिक पोज देख्ने गर्छौं । तर, नेपालमा एक युवाले ज्यानै गुमाएका छन् । टिकटक बनाउन झोलुङ्गे पुलको तारमा झुन्डिदा त्यहाँबाट खसेर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ज्यान गएको छ ।

    प्रहरीका अनुसार उनको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको हो । गत शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट उनी खसेका थिए ।

    गम्भीर घाइते भएका उनको उपचार कोहलपुरमा भइरहेको थियो । उनीसँगै युवाहरुको एक टोली गाडी लिएर उनी पुरन्धारा झरनामा पिकनिक गएको थियो । थापा टिकटक बनाउन बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए।

    झुन्डिएपछि उनले त्यहाँबाट माथि उक्लन निकै प्रयास गरेका थिए । तर, सकेका थिएनन् । त्यसपछि उनको हात गल्यो । जले गर्दा उनी २० मिटर तल रहेको बगरमा पछारिन पुगेका थिए ।

    प्रहरीका अनुसार पिकनिकमा उनले मदिरा सेवन गरेका थिए । पुलबाट खसेपछि गम्भीर घाइते उनलाई साथीहरूले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएका थिए। त्यहाँबाट उनलाई कोहलपुर रिफर भएको थियो ।

  • कृषि परियोजनामा विश्व बैंकले दियो साढे ९ अर्ब

    कृषि परियोजनामा विश्व बैंकले दियो साढे ९ अर्ब

    काठमाडौं । कृषि परियोजनामा खर्च गर्ने गरी विश्व बैंकबाट करीव साढे ९ अर्ब (८ करोड डलर) बराबरको वित्तीय सम्झौता भएको छ । नेपाल सरकार र विश्व बैंकबीच आज अर्थ मन्त्रालयमा आयोजना भएको कार्यक्रममा हस्ताक्षर भएको हो ।

    ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने गरी आयोजना कार्यान्वयन गर्न लागेको विश्व बैंकको भनाई छ ।

    नेपालमा ‘ग्रामीण उद्यम र आर्थिक विकास’ नाममा आयोजना संचालन हुने भएको छ । वित्तीय सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

    आयोजनाले ग्रामिण उद्यम र साना उत्पादक समूहलाई बजार र संस्थागत खरिदकर्तासम्म जोड्ने विश्वास अर्थसचिव शिशिरकुमार ढुंगानाको भनाई छ ।

    विश्व बैंकका अनुसार आयोजनाले ग्रामिण उत्पादक समूह र निजी क्षेत्रका क्रेताहरू बीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारीको सिर्जना गन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    आयोजना प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन हुनेछ । यसअन्तर्गत आयोजनाले ग्रामीण उद्यमीका लागि पर्याप्त बजारका अवसर स्थापित गर्ने विश्व बैंकले उल्लेख गरेको छ ।

    आयोजनाले प्रदेश र स्थानीय सरकार, मध्यस्थकर्ता संस्था, तथा साना र मझौला कृषि उद्यमीहरूसँग सहकार्य गर्दै कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्न र उद्यमशीलता सुदृढीकरणमा काम गर्ने उल्लेख छ ।

  • नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना डिस्चार्ज

    नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ भने अहिलेसम्म २ लाख ४३ हजार ७४३ जना संक्रमणमुक्त भएका छन्।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७९५ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १०७९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

  • प्रधानमन्त्री सम्बोधन:असहयोग, विरोध र घेराबन्दी गरेपछि जनतासामू जानुको विकल्प रहेन (पूर्णपाठ)

    प्रधानमन्त्री सम्बोधन:असहयोग, विरोध र घेराबन्दी गरेपछि जनतासामू जानुको विकल्प रहेन (पूर्णपाठ)

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटनको घटना अप्रत्यासित र आकस्मिक नभएको बताएका छन् ।

    जनादेश र जनभावना विपरीत सरकारलाई घेराबन्दीमा पारेपछि जनतासामू जानुको विकल्प आफूसँग नरहेपछि संसद विघटन गरिएको उनको दाबी थियो ।

    उनले संसद विघटन र निर्वाचन आफ्नो रुची र छनौटको विषय नरहेको पनि बताए। ‘संसदलाई केही नेताको स्वार्थको केन्द्रमात्रै बनाउनु जनताको भावना विपरीत हुन्थ्यो। त्यसैले सार्वभौम जनतासामू जाने विकल्पमा म गएको हुँ,’ उनले भने,‘अझै पनि एकताबद्ध भएर निर्वाचनमा जान कमरेडहरुलाई आग्रह गर्दछु। चुनावले साथीहरुको क्षमताको मापन गर्ने अवसर दिनेछ। ’

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधन (पूर्णपाठ)

    ६ पुस २०७७
    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

    १. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानु पर्ने अवस्था सिर्जना होला भन्ने अनुमान हामी कसैलाई पनि थिएन । २०७४ साल मङ्सिरमा सम्पन्न आम निर्वाचनको जनादेश राजनीतिक स्थायित्वको पक्षमा थियो । तर जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि, संसदलाई अर्थहीन तुल्याइएपछि र जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दीमा पु¥याइएपछि मेरा सामु सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन । त्यसैले जनता समक्ष प्रस्तुत गर्ने निष्कर्ष अनुरुप हिजो २०७७ साल पुस ५ गते प्रतिनिधिसभाको विघटन गरेर आगामी २०७८ साल बैशाखमा नयाँ निर्वाचन गर्ने निर्णय गरिएको व्यहोरा म निवेदन गर्न चाहन्छु ।

    २. सतहमा हेर्दा हिजो विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिक जस्तो देखिएता पनि यो परिस्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मूलतः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरुका असङ्गत, विकृत र जनअपेक्षा विपरीतका गतिविधिहरुद्वारा सिर्जना भएको हो । २०७४ साल असोज १७ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बीच वाम गठबन्धन बनाएर निर्वाचन लड्ने र निर्वाचन लगत्तै पार्टी एकता गर्ने उद्घोष गरिएको थियो । यो निर्णय आम निर्वाचनमार्फत् आम जनताद्वारा स्पष्ट रुपमा अनुमोदन भएको थियो । तर निर्वाचनपश्चात् राष्ट्रिय राजनीतिलाई जनअपेक्षा अनुरुप अगाडि बढ्न नदिने विभिन्न विसङ्गत गतिविधि सुरु भए । सुरुमा सरकार गठनमा विलम्ब गराउने र जनादेश विपरीत अन्त्यहीन बार्गेनिङ र दबाबमा राष्ट्रिय राजनीतिलाई अल्झाउने त्यतिबेलाका गतिविधिहरु तपाईँहरुको सम्झनामा ताजै छन् भन्ने ठान्दछु ।

    ३. वाधाहरु पञ्छाउँदै सरकार गठन भयो र सरकारले जनअपेक्षा अनुरुप काम गर्न पनि सुरु ग¥यो । त्यसपछि केही नेताहरुद्वारा निरन्तर रुपमा अस्थिरताका सन्देश र प्रयाश जारी रहे । सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश छर्नुभयो भने कुनै नेताले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बँचाउन माझी गुहार्न थाल्नुभयो । सरकार संविधानको कार्यान्वयनका लागि नयाँ कानुन निर्माण, सङ्घीयताको कार्यान्वयन र मुलुकको सामाजिक–आर्थिक रुपान्तरणमा केन्द्रित थियो । तर कतिपय साथीहरुका आँखा निरन्तर पद, प्रतिष्ठा र पद–सोपानमा मात्रै केन्द्रित भए । आफ्नो काँधमा आएको ऐतिहासिक अभिभारा पूरा गर्ने गरी नीति निर्माण, राज्यसञ्चालन र जनपरिचालनमा केन्द्रित हुनु पर्ने नेकपालाई केही नेताहरुले आफ्ना असन्तुष्टि, कुण्ठा र आत्मकेन्द्रित सोचहरुको बन्धक बनाउने र निष्प्रभावी तुल्याउने प्रयाश गर्नुभयो ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    ४. समस्या समाधानका लागि दुई अध्यक्षहरुका बीचमा कार्यविभाजन गरेर एकजना सरकार र अर्कोले पार्टी सञ्चालनमा केन्द्रित हुने निर्णय भएपछि समस्या समाधान हुने अपेक्षा गरिएको थियो । मैले सोही अनुरुप आफूलाई पूर्ण रुपमा सरकारमा केन्द्रित गरेँ । यसबीचमा पार्टी काम कति अगाडि बढ्यो, एकीकरणका बाँकी काम कति पूरा भए, महाधिवेशनको तयारी कति अगाडि बढ्यो र जनतालाई समस्या परेको बेला विशाल पार्टी पङ्क्तिलाई कति परिचालन गरियो– मैले केही भन्नु पर्दैन । तथ्यहरु आफै बोल्छन् । तर सरकारलाई भने राम्रोसँग चल्नै दिइएन ।

    पार्टी घोषणापत्रको मर्म र समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई हाँक्न सक्ने गरी योेग्यता – क्षमताका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्न खोज्यो भने आफ्नो र पराइका कित्ताकाट गरेर टुङ्गोमा पुग्न दिइएन । महत्वपूर्ण संवैधानिक अङ्गहरुमा रिक्तता सिर्जना हुन थाल्यो– पूर्ति गर्न पाइएन । पछाडि परेका सामाजिक समुदायको हितका लागि विभिन्न संवैधानिक आयोगहरुको व्यवस्था छ, तर साढे दुई वर्षसम्म पनि त्यहाँ नियुक्ति हुन पाएन ।

    सरकारले दूरगामी महत्वका काम गरेको छ, प्रतिकूलताका बीचमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको छ, युगान्तकारी काम सुरु भएका छन्– तर विपक्षी दलहरुलाई पनि उछिनेर केही नेताहरु सरकारको अनन्त विरोध र नकारात्मक मनोविज्ञान सिर्जना गर्न उद्यत् भइरहनु भयो । सरकारले प्रस्तुत गरेका कतिपय प्रस्तावमाथि सार्वभौम संसदलाई छलफल पनि गर्न नदिइकन जबर्जस्ती रोकेर राखियो । विगत केही महिना यता सरकार कस्तो कठिनाइबीच काम गर्न वाध्य भयो र कस्तो घेराबन्दीको शिकार भयो भन्ने बारेमा यहाँहरु अनभिज्ञ हुनुहुन्न भन्ने म ठान्दछु ।

    ५. मैले राज्यप्रणालीमा पनि र पार्टी संरचनामा पनि नेतृत्व हस्तान्तरणको एउटा वैधानिक प्रणाली बसाल्ने प्रयाश गरेँ । प्रधानमन्त्री चयन ताजा जनादेशका आधारमा बन्ने संसदले गरोस् र पार्टी नेतृत्वको चयन महाधिवेशनबाट होस् भन्ने विधि स्थापित गर्न खोजेँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति अगुवाइ गरेको पहिलो पुस्ताले संरक्षक र उत्प्रेरकको सम्मानजनक भूमिकामा रहोस् र मुलुकको नेतृत्व सामाजिक–आर्थिक रुपान्तरण र समृद्धिको ‘मिशन’ पूरा गर्न सक्षम र सक्रिय नयाँ पुस्तामा हस्तान्तरण होस् भन्ने मार्गचित्र प्रस्तुत गरेँ । यसै मान्यताका आधारमा पाँच वर्षको सरकारको नेतृत्वपछि सुयोग्य नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने र महाधिवेशनद्वारा पार्टीको कार्यकारी जिम्मेवारीबाट अवकाश लिने घोषणासमेत गरेँ ।

    मुलुकको जटिल अवस्थामा नियमित महाधिवेशन हुन नसक्ने हो भने पनि विशेष महाधिवेशन गरेर अध्यक्ष पद हस्तान्तरण गर्न इच्छा गरेँ र योजना प्रस्तुत गरेँ । तर महाधिवेशनका लागि साथीहरुले ४ महिना पनि कुर्न सक्नुभएन । उल्टै मेरो राजनीतिक चरित्र हत्या गर्ने गरी अत्यन्त लाञ्छित र अपमानित गर्दै आरोप–पत्र पेश गर्नुभयो । त्यसलाई पार्टीको लोगो र कार्यालयको दुरुपयोग गर्दै राष्ट्रव्यापी रुपमा वितरण गर्नुभयो र वस्तुतः पार्टी विभाजनको अप्रत्यक्ष घोषणा गर्नुभयो । अर्कातिर भित्रभित्रै प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावको तयारीलाई अगाडि बढाउनु भयो । पार्टी अध्यक्ष एवं संसदीय दलका नेतालाई थाहै नदिई संसद अधिवेशन बोलाउन हस्ताक्षर सङ्कलन गरेर साथीहरुले संविधान विपरित पार्टी, प्रणाली र पद्धतिमाथि यस अघि नै गंभीर आघात पु¥याउनु भयो । यसपछि नै पार्टीभित्रको अवस्था निकै गंभीर र सङ्कटपूर्ण बन्न पुगेको हो ।

    ६. अस्ति पुस ४ गते मात्रै पनि मैले पुष्पकमल दहालजीको निवासमै पुगेर उक्त विग्रहकारी आरोप–पत्र फिर्ता लिन, पार्टीमा सहज र स्वस्थ वातावरण सिर्जना गर्न र विशेष महाधिवेशन आयोजना गरेर नेतृत्व हस्तान्तरणका लागि पटक–पटक आग्रह गरेँ । पार्टी एकीकरणको सङ्क्रमणकालीन प्रयोजनका लागि मनोनयनद्वारा गठन भएका र महाधिवेशन सम्पन्न गर्ने मुख्य दायित्व भएका पार्टीका नेतृत्वदायी कमिटीहरुलाई पार्टी विधान र एकीकरणको भावना विपरीत पार्टीलाई मतदानको अवस्थातिर नधकेल्न र कर्तव्यको लिकबाट बाहिर नजान बारम्बार आग्रह गरेँ । तर यस प्रयाशलाई मेरो कमजोरी ठानियो । केही भएको छैन, केही गरिने छैन भन्ने कुरामा अल्मलाउँदै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी अगाडि बढाइयो ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    ७. सरकार विरुद्ध यसरी घेराबन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो र ? सरकारले यस बीचमा राष्ट्यितालाई सुदृढ गर्ने सन्दर्भमा ऐतिहासिक कामहरु गरेको छ । नेपालको वास्तविक भूभाग समेटेको नयाँ नक्सा प्रकाशन गरिएको छ । तदनुरुप सर्वसम्मतिका आधारमा संविधान संशोधन गरिएको छ । समस्या समाधानका लागि मित्र राष्ट्र भारतसँग वार्ताको तयारी भइरहेको छ । चीनसँग पारवहन यातायात प्रोटोकलमा हस्ताक्षर भएको छ । नेपालको अन्तर्राष्ट्रिय छवि, भूमिका र आकर्षण बढेको छ । यसलाई सुदृढ गर्न सबैले सहयोग गर्नु पर्ने बेलामा सरकारलाई असहयोग र असफल पार्न भइरहेका यी गतिविधिका पछाडि गंभीर षडयन्त्र लुकेको स्पष्ट छैन र ?

    यी घटनाक्रम हेर्दा म आजभन्दा चार वर्ष अगाडिका परिदृश्यहरुलाई सम्झिरहेको छु । नाकाबन्दीको साहसका साथ सामना गर्दै त्यसलाई अन्त्य गरे वापत्, नेपालको पारवहन सुविधा विस्तार गरेर फेरि कहिल्यै नाकाबन्दी नहुने कुराको सुनिश्चित गरेबापत् त्यतिबेलाको सरकारलाई यसै गरी षडयन्त्रपूर्ण ढंगले अपदस्थ गरिएको थियो । परिस्थिति र समयसन्दर्भ फरक भए पनि पात्रहरु उनै हुनुुहुन्थ्यो । के यसले हाम्रा कतिपय नेताहरु नेपाललाई अनन्त अस्थिरतामा फँसाउने योजनामा सहभागी भएको स्पष्ट रुपमै देखिनु हुन्न र ?

    ८. थुप्रै प्रतिकूलताका बाबजुद नेपालले गएको तीन वर्षमा उल्लेख्य उपलव्धि हासिल गरेको कुरा माथि पनि उल्लेख भइसकेको छ । प्रायः सबै जसो विकास सूचकांकहरुमा नेपालले प्रगति गरेको छ । कतिपय क्षेत्रमा फड्को नै मारेको छ । शान्ति सुरक्षाको स्थितिलाई सुदृढ तुल्याइएको छ । पृथकतावादी गतिविधिलाई समाधान गरिएको छ । मुलुकले विकास, सुशासन, समृद्धि र स्थायित्वतिर सकारात्मक कदम चालिरहेको यस स्थितिबाट पार्टी खुशी हुनु पर्ने होइन ? सबै मिलेर यसलाई थप गति दिनु पर्ने होइन र ?
    तर कतिपय नेताहरुबाट यसको उल्टो काम भइरहेको छ । सरकारलाई पाँच वर्ष काम गर्न दिने र उसका कामको परिक्षण जनताबाट निर्वाचनका क्रममा हुने लोकतान्त्रिक बाटो छाडेर सधैभरि सत्ता, सधैभरि सरकार र सधैभरि पदीय भागबण्डाको चक्रव्यूहमा राजनीतिलाई बन्दी बनाउने काम भयो ।

    लोकतन्त्रमा सत्तापक्षले जनताको आदेश अनुसार काम गर्छ, प्रतिपक्षले नियन्त्रण र सन्तुलनको भूमिका खेल्छ । तर हामीकहाँ सत्तापक्षका कतिपय साथीहरु नै प्रतिपक्ष भन्दा बढी आक्रामक, असहयोगी र षडयन्त्रपूर्ण गतिविधिमा संलग्न हुने विडम्बनापूर्ण अवस्था सिर्जना भयो । आजको स्थिति विकसित हुनुमा कतिपय नेताहरुको गतिविधिको मुख्य जिम्मेवारी रहेको तथ्यलाई हेक्का राख्नु पर्छ । यस्तो काम कुनै पनि अर्थमा लोकतान्त्रिक हुन सक्दैन ।
    दिदीबहिनी तथा दाजुभाइहरु,
    ९. पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाउने, नेतृत्व हस्तान्तरणको विधि र प्रणाली बसाउने र पार्टी, सरकार र संसदलाई जनताको हितमा केन्द्रित गर्ने मेरा प्रयाशहरुमा यसरी निरन्तर वाधा सिर्जना गरिए । यसपछि नै म यस निर्णयमा पुग्न बाध्य भएको हुँ । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मेरो रुचि या छनोटको विषय थिएन । तर मुलुकलाई अकर्मण्य अवस्थामा राखिराख्नु उचित हुँदैनथ्यो ।

    संसदलाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जान्थ्यो । जनताको भावना अनुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिनै पथ्र्यो । जनअनुमोदित नेकपाको यस सरकारलाई आफ्नै दलका नेताहरुले काम गर्न नदिने र दलभित्रको कचिंगलले प्रतिनिधिसभालाई पनि शिकार बनाउने अवस्था अन्त्य गर्नै पथ्र्यो । यसै पृष्ठभूमिमा म नयाँ जनादेशका लागि सार्वभौम जनतासमक्ष जाने निष्कर्षमा पुगेको हुँ ।

    १०. म अझै पनि विगतका सबै तिता–पिराहरुलाई बिर्सेर एकतावद्ध भई निर्वाचनमा सहभागी हुन कमरेडहरुलाई आग्रह गर्न चाहन्छु । निर्वाचनको घोषणाले पार्टी एकतालाई बलियो बनाउने अपेक्षा गरेको छु । पार्टी पहिलो शक्ति बन्नुमा, पार्टी एकता हुनुमा र पार्टीले विशाल जनसमर्थन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौँ भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर दिने छ । प्रधानमन्त्री बन्न ब्यग्र प्रतिक्षामा वा प्रयासमा रहनुभएका नेताहरुलाई पनि ताजा जनादेशले विकल्प दिने छ ।

    प्रतिपक्षी दललाई पनि आफ्ना एजेण्डा जनताबीच लैजाने अवसर प्रदान गर्ने छ ।
    ११. निर्वाचन लोकतन्त्रको आत्मा हो । यो सबैभन्दा उन्नत लोकतान्त्रिक अभ्यास तथा विधि पनि हो । जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतासमक्ष नै हो । मैले यही बाटो अवलम्बन गरेको छु । पार्टीले मेरो नेतृत्वमा विगत आम निर्वाचन लडेको थियो । म पार्टी संसदीय दलबाट सर्वसम्मत रुपमा नेता चयन भएको थिएँ र त्यसै हैसियतमा प्रधानमन्त्री निर्वाचित भएको थिएँ । बहुमत प्राप्त दलको सर्वसम्मत नेतालाई काम गर्न नदिइएपछि बन्द कोठामा अनुचित र सिद्धान्तहीन सम्झौतामा अल्झिएर जनअपेक्षामा आँच पु¥याउनु मैले उपयुक्त ठानिनँ । जनतालाई फैसला गर्न दिनु नै सबैभन्दा लोकतान्त्रिक विकल्प हो भन्ने मैले ठानेँ । त्यसै पनि जस्केलाबाट सरकारमा छिर्ने र जनमतको उपहास गर्ने अलोकतान्त्रिक चरित्रप्रति मैले सधै विमति राख्दै आएको छ ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    १२. नेपालको संविधानले नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित रहने व्यवस्था गरेको छ । राज्य सञ्चालनको अन्तिम निर्णयकर्ता जनता हुन् । जनताको यो सार्वभौमसत्ता, राजकीयसत्ता र निर्णय निर्वाचनमार्फत् व्यक्त हुन्छ । जनताको अभिमत व्यक्त हुने निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ । हाम्रो लोकतान्त्रिक प्रणाली नयाँ छ, तर कमजोर छैन । मुलुक जनप्रतिनिधिविहीन अवस्थामा छैन । राष्ट्यि सभा क्रियाशील छ । प्रदेश सरकार र प्रदेश सभा एवं स्थानीय सरकारहरु मुलुकको संविधान र कानुन अनुरुप आफ्नो तहमा राजनीतिक नेतृत्व प्रदान गरिरहेका छन् । राष्ट्रपति र न्यायालय लगायतका संस्थाहरु र राज्यका निजामति एवं सुरक्षा अंगहरु सबै आफ्नो कत्र्तव्य निर्वाहमा दृढ छन् । साढे चार महिनापछि नयाँ प्रतिनिधिसभा स्थापित भइहाल्ने नै छ । एक्काइसौं शताव्दीको नेतृत्व गर्न तयार भएर बसेको हाम्रो युवा पुस्ता लोकतन्त्रप्रति प्रतिवद्ध छ । यो पुस्ता नै लोकतन्त्रको सबैभन्दा ठूलो पहरेदार हो । यस परिस्थितिमा म सम्पूर्ण युवाहरुलाई लोकतन्त्रको रक्षाका निम्ति एकजुट भएर सक्रिय हुन आह्वान गर्दछु । त्यसैले निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतान्त्रिक गणतन्त्र सङ्कटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार या आशङ्का निराधार छन् । राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो ।

    तसर्थ कुनै पनि कुरामा नअल्मलिइकन आम निर्वाचनको तयारीमा केन्द्रित हुन म सबैमा हार्दिक आह्वान गर्दछु ।
    धन्यवाद ।

  • ओलीको दाबी: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन

    ओलीको दाबी: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन् । आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले प्रतिनिधिसभा पुनर्बहाली हुन नसक्ने बताएका हुन् ।

    उनले ६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको निर्णय अदालतले उल्ट्याउन नसक्ने दाबी भेलामा गरेका हुन् । प्रधानमन्त्री ओलीले नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् ।

    आफूलाई अनुशासनको कारवाही गर्ने भन्ने हल्ला सुनेको भन्दै त्यस्ता निर्णय मनको चित्त बुझाउनलाई मात्र काम लाग्ने उनले आफु निकटका नेतालाई बताए । सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले अहिलेको अवस्था आएको उनको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले विभिन्न बहानामा सरकारलाई झुलाउने काम भएकाले ताजा जनादेश प्राप्त गर्न नयाँ निर्वाचनमा जानु परेको प्रष्टिकरण पनि दिएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपालले सरकारलाई असहयोग गरेको, सबै नियुक्तिमा भागवण्डा खोजेको,पार्टीभित्रै प्रतिपक्षको भूमिका खेलेको आरोप पनि लगाएका छन् ।

    दाहालले पार्टी एकतामा तत्परता नदेखाएका कारण पनि अहिलेको अवस्थामा जानु परेको आरोप उनको छ । ओलीले पार्टीभित्रैबाट भएको असहयोग र सरकारले गरेका राम्रा कामहरुलाई लिएर जनतामाझ जान सांसदहरुलाई निर्देशन समेत दिएका छन् । भेलालाई महासचिव विष्णु पौडेल र पूर्व माओवादी खेमामा लेखराज भट्टले पनि सम्बोधन गरेका छन् ।

  • पुल्चोकमा गृहमन्त्री बादल समूहको छुट्टै भेला, को- को भए सहभागी ?

    पुल्चोकमा गृहमन्त्री बादल समूहको छुट्टै भेला, को- को भए सहभागी ?

    काठमाडौं । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुको छुट्टै भेला गरेका छन् । पुल्चोकस्थित सरकारी निवासमा उनले सोमबार बिहान आफू निकट सांसद र नेताहरुलाई भेलामा बोलाएका हुन् ।

    पुर्व माओवादीमा बादल समुहका ३५ जना केन्द्रिय सदस्य छन् । त्यसैगरी उनको पक्षमा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव गुरुङ समेत छन् । उनिहरु दुवै जना कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा छन् ।

    भेलामा हितमान शाक्य, मनोज थापा, यशोधा सुवेदी, सूर्यप्रकाश सुवेदी, लेखनाथ न्यौपाने, सावित्रीकुमार काप्ले, अमृता थापा,श्रीराम ढकाल, मायाप्रसाद शर्मा, दिलिपकुमार प्रजापति,सुरेश आलेमगर, रामदीप आचार्य, महेश्वर दाहाल र युवराज भट्टराई सहभागी छन् ।

    गृहमन्त्री बादल पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसंग निकट छन् । उनको पक्षमा पुर्व माओवादीका नेताहरु टोपबहादुर रायामाझी,हरिवोल गजुरेल,लेखराज भट्ट र मणी थापा समेत छन् ।

  • ‘पार्टी एकतावद्ध छ, केपी ओलीको गतिविधिले कुनै असर पर्दैन-‘प्रचण्ड’

    ‘पार्टी एकतावद्ध छ, केपी ओलीको गतिविधिले कुनै असर पर्दैन-‘प्रचण्ड’

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका गतिविधिले पार्टी एकतालाई असर नपार्ने बताएका छन् ।

    सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन अपील समेत गरेका छन्।

    ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन’, उनले सोमबार विज्ञप्तिमार्फत भनेका छन् ।

    अध्यक्ष प्रचण्डले नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको बताएका छन् ।

    ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु’, उनले भनेका छन् ।

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको बिषय पनि स्मरण गरेका छन् ।

    ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो,’ दाहालको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरूका विरूद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु।’ दाहालले विज्ञप्तिमा भनेका छन् ।

  • विप्लव समुहले भन्यो : वर्तमान राज्य व्यवस्थाकै विकल्प खोजिनुपर्छ

    विप्लव समुहले भन्यो : वर्तमान राज्य व्यवस्थाकै विकल्प खोजिनुपर्छ

    काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीले समेत चर्को आलोचना गरेको छ । पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अपनाएको फाँसिवादी चरित्रका कारण वर्तमान राज्य व्यवस्थाको नै विकल्प खोजिनुपर्ने तर्क गरेका छन् ।

    आफु संकटमा पर्दा संसारभरका शासकले अपनाउने उपाय केपी ओलीले अपनाएको भन्दै उनले फाँसीवादको सहारा लिँदै संसद विघटन गरेको बताएका छन् ।

    ‘नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो‚’ विप्लवले भनेका छन्, ‘जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्‌वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप पर्ने केपी ओलीले यो कदम चालेका छन्।’

    विप्लवले लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न तयार रहेको समेत बताएका हुन् ।