Category: समाचार

  • विश्वमा नै सबैभन्दा धेरै खोजी गरिएका आतंकबादी नेता बग्दादी मारिएको ट्रम्पको दाबी

    विश्वमा नै सबैभन्दा धेरै खोजी गरिएका आतंकबादी नेता बग्दादी मारिएको ट्रम्पको दाबी

    राष्ट्रपति डोनल्ड ट्रम्पले तथाकथित इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आईतबार बिहान बोल्दै ट्रम्पले भागेर एउटा सुरुङसम्म पुगेका अल-बग्दादीलाई अमेरिकी सेनाका कुकुरले लखेटेको बताए ।

    इराक र सिरिया क्षेत्रमा ‘क्यालिफेट’ अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए।

    इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाएका छन् ।

    उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि एउटा क्रूर शासन लादेको थियो।

    विश्वका विभिन्न स्थानमा गराइएका आक्रमणहरूमा सो समूहको हात रहेको बताइन्छ ।

    इराकी र सिरियाली क्षेत्रका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय हुँदा हुँदै संयुक्त राज्य अमेरिकाले यसै महिनाको शुरूतिर ‘क्यालिफेट’ परास्त भएको घोषणा गरेको थियो।

    यसै महिनाको शुरूतिर उत्तर सिरियाबाट अमेरिकी फौजलाई फिर्ता बोलाउने निर्णय गरेका कारण व्यापक आलोचना खेप्दै आएका ट्रम्पका लागि अल-बग्दादीको मृत्यु एउटा ठूलो जित हो ।

    सिरियाको इड्लिब क्षेत्र जहाँ अमेरिकी फौजले कारबाही गरेको हो

    डेमोक्र्याटहरूले ट्रम्पमाथि महाभियोग लगाउने विषयमा छानबिन अघि बढाएका बेला पनि आएको यो खबर उनका लागि अर्थपूर्ण छ ।

    स्थानीय समय अनुसार आइतवार बिहान एउटा अस्वाभाविक वक्तव्य दिँदै ट्रम्पले सिरियाको इड्लिब प्रान्तस्थित एउटा सुरुङमा अल-बग्दादी ‘चिच्याउँदै र रुदै मरेको’ बताएका छन् ।

    आईएसका नेता अल-बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्छन् । सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो ।

    सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो । विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए ।

    कतिपयका अनुसार सद्दाम हुसैनको शासनताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए ।

    अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए ।

    सो शिविरमा कैयौँ अल कायदा कमाण्डरहरूलाई राखिएको थियो।

    सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताको रूपमा उदाए ।

    आइएसमा पछि सो समूह समाहित भएको थियो । सिरियाको अल नुसरा गुटसँग जोडिने प्रयास भइरहेका बेला बग्दादी सङ्गठनको उच्च नेतृत्वमा उदाए ।

    यसै वर्षको शुरूमा आईएसले बग्दादी भनेर चिनाउँदै एउटा भिडिओ सार्वजनिक गरेको थियो।

    त्योभन्दा अगाडि सन् २०१४ देखि नै बग्दादीलाई यसरी सार्वजनिक देखिएको थिएन।

    त्यतिखेर बग्दादीले मोसुलमा बोल्दै सिरिया र इराकका भूभाग समेटेर ‘केलिफेट’ निर्माणको घोषणा गरेका थिए।

    सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएपछि सन् २०१४ मा यो चरमपन्थी इस्लामवादी समूह अन्तर्राष्ट्रिय चर्चामा आयो।

    आईएसले आफ्नो बर्बर शासन झन्डै ८० लाख मानिसमाथि लादिरह्यो । अनेकौँ हत्या गर्‍यो, सांस्कृतिक धरोहरहरू नष्ट पार्‍यो र तेल बिक्री, चन्दा असुली, लुटपाट एवम् फिरौतीबापत अर्बौँ डलर आर्जन गर्‍यो ।

    पाँच वर्षदेखि भएको भीषण एवम् रक्तपातपूर्ण लडाइँपछि एकताका आफूले नियन्त्रण कायम गरेको सबै भूभागबाट आईएस धपाइएको छ।

    अमेरिकी नेतृत्वमा सन् २००३ मा इराकमा गरिएको अतिक्रमणपछि सुन्नी मुस्लिमहरूले बनाएको अल-कायदाबाट आईएस बनेको हो।

    सन् २०११ ताका इस्लामिक स्टेट इन इराक आईएसआई नामले परिचित उक्त समूह सिरियामा राष्ट्रपति बशर अल-असादविरुद्धको विद्रोहमा सामेल भयो । त्यहाँ उसले आफ्नो सुरक्षा स्थान बनायो ।

    उसले इराकबाट अमेरिकी फौजको फिर्ती तथा शिया नेतृत्वको इराकी सरकारको साम्प्रदायिक नीतिप्रति सुन्नीहरूको आक्रोशको फाइदा पनि उठायो।

    सन् २०१३ मा आईएसआईले सिरियाली भूभागमाथि कब्जा जमाउन थाल्यो र आफ्नो नाम परिवर्तन गरी इस्लामिक स्टेट इन इराक एन्ड द लेभान्ट अर्थात् आईसिस/आईसिल राख्यो।

    अर्को वर्ष उसले इराकको ठूलो भूभागमा नियन्त्रण कायम गर्‍यो र आफ्ना नेता अबु बकर अल-बग्दादीलाई ईश्वरका प्रतिनिधि घोषणा गर्दै इस्लामिक स्टेटको रूपमा परिचित भयो।

    आफ्नो पकडको उत्कर्षमा आईएसले इराकदेखि सिरियासम्मको करिब ८८ हजार वर्गकिलोमिटर क्षेत्रमा शासन गर्‍यो।

    करिब ८० लाख मानिसहरूले शरियाको व्याख्याबमोजिम जीवन गुजारा गरे।

    महिलालाई पूरै जीउ ढाक्ने नकाब लगाउन बाध्य पारियो, दिनहुँजसो सार्वजनिक रूपमा मान्छेको टाउको छिनाइन्थ्यो, बालबालिकालाई विद्यालयमा निर्देशित गरिन्थ्यो र इसाईहरूले कर तिर्ने, धर्म परिवर्तन गर्ने अथवा मृत्युवरण गर्नेमध्ये एउटा विकल्प रोज्नुपर्थ्यो।

    प्रभावशाली मुस्लिम नेताहरूले आईएसको ‘क्यालिफेट’लाई अस्वीकार गरे। तर दशौँ हजार विदेशीहरू सो समूहमा सामेल हुन पुगे।

    प्रत्येक महिना तेल तस्करी, चन्दा असुली, लुटपाट र फिरौती बापत आईएसले दशौँ लाख डलर आर्जन गर्थ्यो।

    प्राचीन स्थलहरू र मूर्तिहरू नष्ट गरेर पनि सो समूहले व्यापक आक्रोश निम्त्यायो।

    समाचार सभार : बि बि सि नेपाली

  • अाईतबार बिहान राष्ट्रपती ट्रम्पले राष्ट्रका नाममा बिशेष सम्बोधन गर्दै

    अाईतबार बिहान राष्ट्रपती ट्रम्पले राष्ट्रका नाममा बिशेष सम्बोधन गर्दै

    शनिबार  राती राष्ट्रपती डोनाल्ड ट्रम्पले एकदम ठुलो घटना घटेको जनाउदै ट्विट गरेका छँन् ।सामान्यतया दिनमा १० देखी १५ ,१६ पटक सम्म ट्विट गर्ने राष्ट्रपती ट्रम्पको उक्त ट्विटले निकै ठुलो राजनीतिक घटनाको संकेत गेरेको छ । शनिबार  राती ९ बजेर २० मिनेटमा ट्विट गर्दै ट्रम्पले लेखेका छँन् ” समथिङ भेरी बिग ह्याज जस्ट ह्यापेन्ड ” ।  

    राष्ट्रपती  ट्रम्पको ट्विट लगतै ह्वाईट हाऊसले अाईतबार पुर्बिय समय अनुसार बिहान ९ बजे ट्रम्पले राष्ट्रको नाममा बिशेष सम्बोधन  गर्ने सुचना जारी गरेको छ । ट्रम्पको उक्त ट्विटको एक घण्टा पछी ह्वाईट हाऊसले राष्ट्रपतीको भोली बिशेष सम्बोधन हुने सुचना जारी गरेको हो ।  राष्ट्रपतीले भोली बिहान के त्यस्तो बिशेष सम्बोधन गर्दै छँन् त्यो भने खुलाईएको छैन ।  

    एजेन्सी 

  • काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ

    काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौं महाराजगञ्जस्थित एक ठूलो जुवाखालमा छापा मारेको छ । जुवाखालबाट २५ जना पक्राउ परेको महानगरीय प्रहरी परिसर स्रोतले जनाएको छ ।

    २५ जना पक्राउ परेपनि नाम भने अझै सार्वजनिक गरिएको छैन । जुवाखालबाट २ करोड भन्दा बढी बरारबरको चेक तथा नगद रकम बरामद भएको प्रहरीले जनाएको छ ।

    महाराजगञ्जस्थित होटल साम्बालापछाडि एक घरमा विशेष सुराकीका आधारमा प्रहरीले छापा मारेको थियो ।

  • यस्तो छ लक्ष्मी पुजाको साईत

    यस्तो छ लक्ष्मी पुजाको साईत

    काठमाडौं

    संसारभर रहेका हिन्दू धर्मावलम्बीहरुको महान पर्व तिहारलाई दीपहरुको पर्व भएकोले दीपावली पनि भनिन्छ ।

    आफ्नो घर, पसल आदिमा झिलिमिली बत्ती, फुल, ध्वजापतंगाले सजाएर हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीपावली शरद ऋतुमा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू चाड हो । दीवाली भारतको सबैभन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक अवधारणा अनुसार अन्धकार माथि उज्यालोको जीत भन्ने प्रतीकात्मक अर्थ राख्दछ ।

    यो दिन लक्ष्मीमाताको पूजाको विशेष दिन हो । यस दिन लक्ष्मी पूजालाई महत्वपूर्ण पूजाको रुपमा लिने गरिन्छ । दीपावलीका दिन बत्तीको उज्यालोमा लक्ष्मी घरमा आउने मान्यता रही आएकोले दीपले घर सजाउने गरिन्छ ।

    श्री रामको अयोध्याका वरपर रहेका मानिसले उनको स्वागतमा घ्यूको दियो बालेर औंसीको कालो रातलाई उज्यालो बनाएको धार्मिक परम्परा रहीआएको छ ।

    लक्ष्मी पुजाको साइत

    • साँझ ६:४२ देखि ८:११ बजेसम्म
    • प्रदोष काल साँझ ५:३६ देखि ८:११ बजेसम्म
    • वृषभ काल साँझ ६:४२ देखि ८:३७ बजेसम्म
    • अमावस्या तिथि आरम्भ रातको १२:२३ बजेसम्म

    अमावस्या तिथि भोलिपल्ट विहान  ९:०८ बजे समाप्त हुनेछ । यसअनुसार गरे रिती पुग्ने बताईएको छ ।

  • अजरवैजानमा प्रधानमन्त्रीको व्यस्तता

    अजरवैजानमा प्रधानमन्त्रीको व्यस्तता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यति बेला अजरवैजानमा छ । उनी अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न आन्दोलनको १८औँ शिखर सम्मेलनमा भाग लिन अजरवैजान आएका हुन् ।

    सोही अवसरमा प्रधानमन्त्री ओलीले भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरोसँग भेटवार्ता गरे । उनीहरुबीच शुक्रबार बाकु कन्भेन्सन सेण्टरमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा प्रधानमन्त्री

    ओलीले तीन वर्षसम्म नामको सफलतापूर्वक नेतृत्वका लागि बधाई ज्ञापन गरेका थिए । सम्मेलनकै दौरान भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि भेटवार्ता भएको सचिवालयले जनाएको छ ।

    असंलग्न आन्दोलनमा सहभागी पाहुनाको सम्मानमा अजरवैजानले रात्रिभोज आयोजना गरेको छ । सम्मेलन शुक्रबारबाट शुरु भएको हो । प्रधानमन्त्री ओली भने आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

  • महरा जेल जान सक्ने : प्रहरीले मुद्दा चलाउनु पर्ने प्रतिबेदन बुझायो

    महरा जेल जान सक्ने : प्रहरीले मुद्दा चलाउनु पर्ने प्रतिबेदन बुझायो

    काठमाडौं 

    जबर्जस्ती करणीको उद्योग गरेकोले सो सम्वन्धि मुद्दा चलाउनु पर्ने राय सहित निवर्तमान सभामुख कृष्णबहादुर महरा बिरुद्ध प्रहरीले अनुसन्धान प्रतिबेदन सरकारी वकिलको कार्यलयमा बुझाएको छ । प्रहरीले २० दिनको गहन अनुसन्धान पश्चात उक्त प्रतिबेदन बुझाएको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरिक्षक होबिन्द्र बोगटीका अनुसार महरा र अंकरक्षकको बयान सकिएपछि शुक्रबार नै अनुसन्धानको मिसिल बुझाईएको हो । 

    बयानमा महराले रोशनी माथि बलात्कारको प्रयास नगरेको भनेका छन् । “म रोशनी शाहीको निवासस्थानमा गएको हुँ, तर कोठामा प्रवेश गरिन । फोन गरें, उनले उठाईनन् । त्यसपछि फर्किएँ ।” तँपाईसँगै गएका अंगरक्षकले तपाईले त्यहाँ डेढ घण्टा बिताएको भनेका छन्, खुलाईदिनुस् ? भन्ने प्रश्नको जवाफमा महराले २०/२५ मिनेट कुरेर बसेको बताएका छन् । रोशनीले ‘चस्माको टुक्रा र जुत्ताको तलुवा’ तँपाईकै हो भनेका छन् भन्ने सवालमा आफुलाई फसाउने षडयन्त्र भनें । अंगरक्षकले आफ्नो बयानमा “महरासाप जाँदा चस्मा लाएर गएको र फर्किदा बिना चस्मा फर्किएको र मदिराले लट्ठ थिए” भनेका थिए ।

    प्रहरी प्रतिबेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने नचलाउने निर्णय गर्नेछ । प्रहरीले प्रतिबेदनमा जबकको प्रयासको यथेष्ठ प्रमाण पुगेकोले कारवाही गरिपाउन निबेदन गरेकोले मुद्दा चल्ने सम्भावना प्रवल छ ।

    निवर्तमान सभामुख महरा सार्वजनिक पदमा रहँदा यस्तो हर्कत गरेकोले प्रहरीले फौजदारी अपराध संहिता अनुसार अझ थप सजायको मागदाबी समेत गरेको छ । संसारको कुनैपनि देशमा सार्वजनिक पदमा बहाल रहेको अवस्थामा सरकार बादी हुने अपराध गरेमा थप सजाय समेत हुने व्यवस्था छ ।

     

  • कास्की २ मा रविन्द्र पत्नी विद्या उठ्ने

    कास्की २ मा रविन्द्र पत्नी विद्या उठ्ने

    पोखरा । आगामी उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की २ का लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

    नेकपा कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावमा विद्या भट्टराईलाई उठाउने निर्णय गरेको हो । उनी स्वर्गीय नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेकै समयमा पाथिभरामा हेलिकोप्टर दूर्घटना हुँदा रवीन्द्रको निधन भएको थियो । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उनको मात्र नाम सिफारिस गरेको हो ।

    मन्त्री अधिकारीको निधन भएपछि कास्की २ को सांसद पद खाली थियो । कास्कीका लोकप्रिय तथा विकासप्रेमी नेता अधिकारीको निधनपछि धेरैले पत्नी भट्टराईलाई राजनीतिमा आउन आग्रह गरेका थिए ।

    त्यसो त पत्नी विद्याको पृष्ठभूमी पनि राजनीति नै हो । तर, श्रीमान राजनीतिमा सक्रिय भएपछि उनले आफ्नो करियर शैक्षिक पेशामार्फत अगाडी बढाएकी थिइन् ।

  • प्रधानमन्त्री बाकुमा

    प्रधानमन्त्री बाकुमा

    बाकु । असंलग्न आन्दोलनमा सहभागी देशहरुको समूहमा आवद्ध राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकु पुगेका छन् ।

    बिहीबार बिहान अपरान्ह नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री राती बाकु पुगेका हुन् । सम्मेलन शुक्रबारदेखि प्रारम्भ हुँदैछ ।

    बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभले स्वागत गरे ।

    उक्त अवसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित अन्य उच्च अधिकारीसमेत उपस्थित थिए । सम्मेलनमा सहभागीका लागि स्वागत गर्दै अजरबैजान सरकारले शुक्रबार रात्रीभोगको आयोजना गरेको छ ।

    प्रधानमन्त्रीले यसबीच विभिन्न मुलुकका सरकार तथा राष्ट्रध्याक्षसँग भेटवार्ता गर्दैछन् ।

  • आजबाट शुरु भयो निर्वाचन आचारसंहिता

    आजबाट शुरु भयो निर्वाचन आचारसंहिता

    काठमाडौं । आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको तयारीमा निर्वाचन आयोगदेखि राजनीतिक दलसम्म होमिएका छन् । सोही निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आचार संहिता लागु लागेको छ ।

    उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू भएको आयोगले जानकारी दिएको छ ।

    आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम लगायतले यो आचार संहिता पालना गर्नुपर्ने उल्लेख गर्दै सूचना जारी गरेको हो ।

    आयोगका अनुसार निर्वाचन नसकिएसम्मै अब केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले निर्वाचन प्रचार प्रसारका कार्यक्रम गर्न पाउने छैन ।
    चुनावका लागि भवन, सवारी साधन, अन्य सामग्रीको प्रयोग गर्न नपाउनृ गरी तोकिएको छ । सरकारी कार्यालयमा नयाँ पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नपाइने छैन ।

    सरुवा बढुवा गर्न र काज खटाउन नपाइने, विदेश भ्रमणमा जान नहुने समेत आयोगको आचार संहितामा उल्लेख छ । उमेदवारले निर्वाचन आयोगले तोकेको मापदण्ड भित्र रहेरै प्रपार प्रसार गर्नुपर्छ ।

    त्यसको पनि अन्तिम समय आयोगले तोक्छ । त्यसपछि भने प्रचार प्रसारको काम पनि गर्न पाइदैन । करीव ५० तहमा आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदैछ ।

    विभिन्न समयमा खाली भएको पदहरुमा निर्वाचन हुन लागेको हो । संघमा पूर्वपर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्थानमा उपनिर्वाचन हुनेछ ।

  • वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी

    वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी

    काठमाडौं

    इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकमा विदेशी लगानी भित्रिएको छ । कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याएको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

    यस कम्पनीमा बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपले लगानी गर्न लागेको हो । उक्त कम्पनीले सो रकम बराबरको वर्ल्डलिंकको १० प्रतिशत सेयर किन्ने भएको हो ।

    सिडिसी बेलायत सरकारको पूर्ण स्वामित्वको संस्था हो । वर्ल्डलिंकमा लगानी गर्ने सम्वन्धी दुवै पक्षबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    नेपालमा सिडिसीको सेयर लगानी पहिलो पटक भित्रिएको कार्यक्रममा बताइयो । ग्रामिण भेगसम्म इन्टरनेट सेवा बिस्तार गर्न यो साझेदारी महत्वपूर्ण सावित हुने वर्ल्डलिंकका प्रवन्ध निर्देशक दिलिप अग्रवालले बताए ।

  • राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने

    राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि वैदेशिक भमणमा सिलसिलामा अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकुतर्फ जान लागेका हुन् ।

    उनी बिहान ११ बजे कतार एयरवेजमार्फत उक्त मुलुक प्रस्थान गर्नेछन् । यससँगै प्रधानमन्त्रीले आफ्नो पछिल्लो कार्यकालमा करीव १ दर्जन मुलुकको भ्रमण पुरा गरेका छन् ।

    प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीसहितको टोली सहभागी छ ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बाकुमा पुथिसकेका छन् । प्रधानमन्त्री आइतबार स्वदेश फर्कने भएका छन् । उता, म्यानमार र जापान भ्रमण सकेर राष्ट्रपति विद्यादेवि भण्डारी स्वदेश फर्किएकी छिन् । उनी जापानबाट चीन हुँदै नेपाल आएकी हुन् ।

  • युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ

    युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ

    काठमाडौं । भनिन्छ, अपराधी पानी मुनी गएपनि लुक्न सक्दैन । तर, त्यसका लागि प्रहरीको इच्छाशक्ति पनि उत्तिकै आवश्यक छ । नेपाल प्रहरीले बुधबार एक यस्तो उदाहरण प्रस्तुत गर्न सफल भयो ।

    बुधबार बिहान टर्कीस एयरलाइन्सको जहाजबाट आएका एक युवकलाई त्रिभुवन विमानस्थलमा ओर्लनासाथ पक्रियो । उनी अमेरिकाबाट आएका थिए । प्रहरीका अनुसार उनलाई अमेरिका मै प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि जहाजबाट नेपाल ल्याएर हिरासतमा राखिएको हो ।

    उनीमाथि झापामा आजभन्दा २० वर्ष अगाडी एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ । उनी एक दशकदेखि अमेरिकामा मै बस्ने गर्थे । प्रहरीका अनुसार उनी झापा चन्द्रगढी ३ का ४२ वर्षीय लीलाराज गौतम हुन् । इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरिएको थियो ।

    उनलाई त्यसयता अमेरिकाकै हिरासतमा राखिएको थियो । नेपाल प्रहरीले बुधबार मात्र उनलाई नेपाल ल्याउन सफल भएको हो । झापाको चन्द्रगढी ३ बस्ने सन्ध्या राजबंशीलाई ०५७ साल असोज २९ गते राति चारआली जंगल छेऊको रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

    उनको सामूहिक बलत्कारपछि हत्या गरिएको प्रहरीले जनाएको छ । उनको सामुहिक बलात्कार पछि घाँटी थिची हत्या गरी रुखमा झुण्ड्याइएको अभियोगमा प्रहरीले लीलाराज गौतम, मनोज खड्का र सीताराम बस्नेतलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

    घटनाको भोलिपल्ट ३० असोजमा असोज ३० गते मृतकका बुवा राजकुमार राजबंशीले जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएका थिए ।

    तर, झापा जिल्ला अदालतले ०५८ कात्तिक २१ गते लीलाराज गौतमलाई मुद्दाबाट सफाइ दिएको थियो । उक्त वर्ष नै २८ चैतमा पुनरावेदन अदालत इलामले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।

    हत्याको ९ वर्षपछि सर्वोच्च अदालतले भने तल्ला अदालतहरुको निर्णय उल्टायो । २९ भदौ ०६६ मा सर्वोच्चले तल्ला अदालतको फैसलालाई उल्ट्याउँदै लीलाराज गौतम समेतलाई जन्मकैदको सजायँ सुनाएको हो ।

    त्यतिन्जेल गौतम नेपालबाट भागेर अमेरिका पुगिसकेका थिए । उनी अमेरिका रहेको खबर प्रहरीले सन् २०१८ मा मात्र फेला पारेको थियो । त्यसपछि इन्टपोलमार्फत प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

  • प्रचण्डको स्पष्टोक्ति, प्रधानमन्त्री र आफूबीच विवाद छैन

    प्रचण्डको स्पष्टोक्ति, प्रधानमन्त्री र आफूबीच विवाद छैन

    पाँचथर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच विवाद नरहेको बताएका छन् ।

    पछिल्लो एक सातायता प्रधानमन्त्री र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री पद चलाउने सहमतिको विषयलाई लिएर विवाद रहेको सार्वजनिक भएको थियो ।

    प्रधानमन्त्रीले यसबीचमा दुई वटा पत्रिकामा अन्तर्वार्ता समेत दिएर प्रधानमन्त्री पद कसैले माग्दैमा नपाउने आशय समेत व्यक्त गरेका थिए ।

    यससम्बन्धमा बाहिर टिकाटिप्पणी बढेसँगै प्रचण्डले स्पष्टिकरण दिएका हुन् । उनले मिडियामा हल्ला भएजस्तो दुई अध्यक्षबीच कुनै विवाद नरहेको बताएका हुन् ।

    मंगलबार पार्टीको प्रशिक्षण कार्यक्रम सकाएर पाँचथरमा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन् । पार्टी एकताका क्रममा भएका सहमती क्रमशः कार्यान्वयनको चरणमा रहेको उनको भनाई छ ।

    उनका अनुसार सोमबार मात्र ओली र प्रचण्डबीच दुई घण्टा छलफल भएको थियो । छलफलमा विवाद नभई मिलाउन बाँकि विषयवस्तुका सन्दर्भमा कुरा भएको उनले उल्लेख गरे ।

  • आङ सान सू ची नेपाल आउने

    आङ सान सू ची नेपाल आउने

    काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सू ची नेपाल भ्रमणमा आउने भएकी छिन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन् ।

    उनका अनुसार सरकारले सू चीको नेपाल भ्रमणको तयारी समेत थालिसकेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार भ्रमणका दौरान सू चीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धनका सिलसिलामा नेपाल आउन चाहेको बताएकी थिइन् ।

    लगत्तै सरकारले भ्रमणको तयारी थालेको उनले जानकारी दिए । राष्ट्रपतिसँगै गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार स्वदेश फर्किएका छन् ।

    उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालको पर्यटन प्रवद्र्धनकै लागि सू ची नेपाल आउने बताए । राष्ट्रपति भने म्यानमारबाटै जापान भ्रमणमा व्यस्त छिन् ।

  • महरालाई ५ दिन हिरासतमै राख्न आदेश, महिलाले भने प्रहरीले करकापमा उजुरी दिन लगाएको बयान

    महरालाई ५ दिन हिरासतमै राख्न आदेश, महिलाले भने प्रहरीले करकापमा उजुरी दिन लगाएको बयान

    काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामूख कृष्णबहादुर महरालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले २ कात्तिकबाट लागु हुने गरी ५ दिन थुनामा राख्न आदेश दिएको हो । अब प्रहरीले थप अनुसन्धानका लागि उनलाई थुनामै राख्न सक्नेछ । म्याद थपका लागि अदालत पेश भन्दा अघि उनको सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।

    बयानमा महराले आफूमाथिको अभियोग अस्वीकार गरेको बताइएको छ । पीडित भनी सार्वजनिक भएकी महिलासँग पारिवारिक सम्बन्ध रहेपनि उक्त दिन भने आफू नगएको र जाँदै नगएपछि बलत्कारको प्रयास हुने कुरै नभएको उनको दावि रहेको छ ।

    पीडित भनिएकी महिलाबाटै आफूमाथि बलात्कार प्रयास नभएको भनी वयान आइसकेको अवस्थामा आफूले थप स्पष्टिकरण दिनु नपर्ने उनको बयान छ । त्यसो त आरोप लगाउने महिलाले पनि प्रहरीले करकापमा आफूलाई उजुरी दिन लगाएको भन्दै महराबाट आफूमाथि बलत्कारको प्रयास नभएको बताएकी छिन् ।

    महरामाथि संसद सचिवालयमा कार्यरत रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनले एक अनलाइनमा भिडियो अन्तर्वार्ता दिँदै उक्त आरोप लगाएकी थिइन् ।

    तर, उक्त वयान फेर्दै उनले महरा आफ्नो बुबाजस्तो भएकाले कुनै बलत्कारको प्रयास नभएको उल्टो आफ्नो मानसिक अवस्थाको फाइदा उठाउँदै यस्तो आरोपबारे बोल्न लगाइएको उनको भनाई थियो । अदालतमा समेत उनले सोही प्रकृतिको बयान दिएकी छिन् । महरा १९ असोजमा पक्राउ परेका हुन् ।

  • चितवन मेडिकल कलेज तोडफोड : डाक्टरको लापर्वाहीले बिरामी मरेको आरोप

    चितवन मेडिकल कलेज तोडफोड : डाक्टरको लापर्वाहीले बिरामी मरेको आरोप

    चितवन

    उपचारार्थ बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले चितवन मेडिकल कलेज तोडफोड गरेका छन् । चिकित्सकको लापरबाहीले उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु उत्तेजित भएको हो । आइतबार साँझ ठुलै समुहले चितवन मेडिकल कलेजमा प्रदर्शन एबम् तोडफोड गर्न थालेपछि व्यापक प्रहरी परिचालन गरेको थियो ।

    प्रहरीले पहरा दिएर स्थिती सामान्य पार्न खोज्दा स्थिति थप तनावग्रस्त भएपछि प्रहरीले ४० सेल अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो ।

    घटना;

    गत असोज २६ गते नाकको उपचार गराउन भनी ल्याइएकी नवलपुर मध्यविन्दु ९ की ३२ बर्षीय आशा ज्ञावालीको शनिबार उपचारको क्रममा मृत्य भएको थियो । चिकित्सकले उपचारलाई गम्भिर रुपमा नलिएको, शल्यक्रियामा गडबड गरी चिकित्सकको लापरबाहीकै कारण उनको मृत्यू भएको भन्दै आफन्तहरूले मेडिकल कलेजमा तोडफोड  गरेका हुन् ।

    अस्पताल प्रसासनका अनुसार “विरामीको मृत्यू हुनुमा अस्पतालको कुनै कमजोरी नभएको र बचाउने प्रयास गरेपनि नसकिएको” अस्पतालका निर्देशक डा. दयाराम लम्साल बताउँछन् ।

    दोहोरो झडप सहित अस्पताल परिसर तनावग्रस्त भएपछि शवलाइ पोष्टमार्टमको लागी भरतपुरस्थित सरकारी अस्पतालमा पठाइएको छ भने तोडफोडमा संलग्न ६ जनालाई प्रहरीले हिरासतमा लिएका छन् ।

  • राष्ट्रपति आइतबार जापान प्रस्थान गर्दै

    राष्ट्रपति आइतबार जापान प्रस्थान गर्दै

    काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका सिलसिलामा जापान प्रस्थान गर्ने भएकी छिन् । अहिले म्यानमारमा रहेकी राष्ट्रपति सोही मुलुकबाट आइतबार जापान जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    उनी जापानी नरेशको राज्याभिषेक कार्यक्रममा सरिक हुन जापान जान लागेकी हुन् । कार्यक्रममा विश्वभरबाट नेताहरुलाई आमन्त्रण गरिएको छ । राष्ट्रपतिको ५ दिने राजकीय भ्रमण पूरा भएको छ ।

    उनी २९ असोजमा म्यानमार पुगेकी थिइन् । आइतबारदेखि ५ कात्तिकसम्म जापान भ्रमण हुने मन्त्तालयले जानकारी दिएको छ ।

    राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत सहभागी छन् ।

  • आलमबारे देउवाले आफ्नै अभिव्यक्ति सच्याए

    आलमबारे देउवाले आफ्नै अभिव्यक्ति सच्याए

    काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले क्रुर अपराधमा पक्राउ परेका सांसद मोहम्मद आलमबारे आफैले दिएको अभिव्यक्ति सच्याएका छन् ।

    मानिसलाई जिँउदै जलाउने सम्मको क्रुर अपराध गरेको अभियोगमा पक्राउ परेका सांसदको रक्षा गर्दै देउवाले शुक्रबार यो काम नेपाली कांग्रेस विरुद्धको षडयन्त्र भएको बताएका थियो ।

    उनको यो अभिव्यक्तिको अहिले व्यापक अलोचना भइरहेको छ ।

    सभापति देउवाले शनिबार भने पार्टीबाट रौतहट २ मा विजयी भएका सांसद मोहम्मद अफताब आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने स्पष्ट पारेका छन् ।

    आफ्नो अभिव्यक्तिको चर्को आलोचना भएपछि सभापति देउवाले शनिबार विज्ञप्ति नै निकाल्नु पर्यो ।

    देउवाले प्रष्टिकरण दिँदै कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ उल्लेख गर्दै १२ वर्ष पूरानो मुद्दामा आफूले सोही संकेत गरेको उल्लेख गरेका छन् ।

    उनले आफ्ना धारणाले उत्पन्न गरेको अन्यौल र अष्प्रष्टता चिर्न विज्ञप्ति निकालेको बताएका छन् । कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरूरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने भन्दै आफ्नो अभिव्यक्तिको बचाउ गर्न खोजेका छन् ।

    देउवाले आलममाथिको मुद्दामा दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने भन्दै निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने मान्यता रहेको बताएका छन् ।
    आलमविरूद्ध २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका मानिसलाई ज्युँदै इँटाभट्टामा पोलेर मारेको आरोप लागेको छ ।

    सोही मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । आफ्नो विरोध गर्ने सबैलाई मार्दै गाउँमा आतंक मच्चाएको भन्द्र उनलाई एक क्रुर अपराधीका रुपमा पिडितहरुले चित्रण गरिरहेका छन् ।

  • नौबिसे नागढुंगा सडक एकतर्फी चलाइयो

    नौबिसे नागढुंगा सडक एकतर्फी चलाइयो

    काठमाडौं । दशैंको चाप सकिएसँगै नौबिसे नागढुंगा सडक खण्डको मर्मत शुरु भएको छ । सोही प्रयोजनका लागि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धुनिवेशी नगरपालिका ९ पिपलामोडभन्दा तल भूत घर, याक घर र टायल घरस्थित सडक खण्डमा कालोपत्रे गर्ने काम जारी छ ।

    सोही कारण एकतर्फी सवारी संचालनमा ल्याई काम जारी रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एकतर्फी सडक चलाइएको छ ।

    यस दिन अन्य दिनको तुलनामा कम सवारी चाप हुन्छ । यस सडकखण्डमा साँघुरो संरचनाका कारण सवारी साधनको ठूलो चाप लाग्ने गरेको छ । एकतर्फी सवारीका कारण केही समय भने सास्ती हुने छ ।

  • न्युयोर्कमा तल्लो तलाको छिमेकीले माथिल्लो तल्लामा बस्ने दम्म्पत्तीलाई गोली हानी हत्या

    न्युयोर्कमा तल्लो तलाको छिमेकीले माथिल्लो तल्लामा बस्ने दम्म्पत्तीलाई गोली हानी हत्या

    न्युयोर्कको हार्लममा गोली चल्दा ३ जनाको मृत्‍यु भएको छ । हार्लमको लेनोक्स र फिप्थ एभेन्यू बीच १३१ स्ट्रिटस्थित ५ तल्ले घरको तल्लो तलामा बस्ने छिमेकीले माथिल्लो तलामा बस्नेलाई गोली प्रहार गरेको प्रहरीले बताएको छ । ७८ वर्षीय रिटायर्ड बिल्डिङ सुपरटेन्डेण्ट र ६२ वर्षीय उनको पत्नीलाई तल्लो तलामा बसोबास गर्दै आएका ५९ वर्षीय एक छिमेकीले गोली प्रहार गरी हत्या गरेका हुन् ।

    बृद्धबृद्धा दम्पत्तीलाई गोली प्रहार गर्ने ती ब्यक्तीलाई उक्त भवनको तल्लो तलामा आफूले आँफैलाई टाउकोमा गोली प्रहार गरी लडिरहेको अवस्थामा भेटेका थिए ।

    घटना शुक्रबार अपरान्ह ३ बज्नु अगाडि घटेको थियो । गोली प्रहारको कारण उक्त भवनमा आगलागी समेत भएको थियो । १०० जना भन्दा धेरै अग्नी नियन्त्रक र दमकलको प्रयासमा आगो नियन्त्रणमा लिईएको थियो ।  

    श्रोत : ए बि सि ७, न्युयोर्क

  • स्थानीय तहका पदाधिकारीले अब तलब नपाउने

    स्थानीय तहका पदाधिकारीले अब तलब नपाउने

    काठमाडौं

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संबैधानिक ईजलासले स्थानीय तहका पदाधिकारीलाई प्रदान गर्दै आएको मासिक पारिश्रमिक तथा सुविधा सम्वन्धि कानून बदर गरेको छ ।

    प्रदेश सभाले निर्माण गरेको कानून अनुसारको सेवा सुविधा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की समेतको ईजलासले “सेवा सुविधा सम्वन्धि दफा र सम्बद्ध अनुसूची” मात्र बदर गरेको हो ।

    सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार निवेदकको मागअनुसार रिट जारी भएको बताए । उनले भने, “मागअनुसार रिट जारी भएको छ ।”

    अदालतले सबै प्रदेश सभाले बनाएको ऐनको दफा ३ र सो सम्बद्ध अनुसूची बदर गरेको हो । यस्तै प्रदेश २ र ५ को स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनको दफा १० को पारिश्रमिक शब्द पनि अदालतले बदर गरेको छ । उक्त दफाहरू संविधानको धारा २२० (८) र २२७ विपरीत हुने अदालतको ठहर छ ।

    यद्यपी सविधानको धारा २२० को उपधारा ८ मा जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभासम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ, भन्ने उल्लेख छ । फैसलाको पूर्णपाठ आउँन भने बाँकी छ ।

  • प्याजको संकट टर्यो : भित्रियो रसुवागढीबाट

    प्याजको संकट टर्यो : भित्रियो रसुवागढीबाट

    कार्तिक १, बेत्रावती, रसुवा

    पछिल्लो समय अत्यन्त व्यस्त रहेको रसुवागढी नाकाबाट चिनियाँ प्याज नेपाल भित्रिन थालेको छ । भारत सरकारले भारतमा प्याजको मुल्य उच्च बिन्दुमा पुगेको ठहर गरी भारतबाट अन्य देशमा निर्यात हुने प्याजलाई प्रतिबन्ध गरेको थियो ।

    भारतको प्याज नेपाल भित्रिन नपाएपछि नेपालमा प्याजको मुल्य आकासिएको हो । गत असोज महिनामा मात्र रसुवागढी नाकाबाट अढाई लाख किलो प्याज नेपाल आएको छ । यो प्याज नेपाली बजारमा पुगेपछि मुल्य समेत सामान्य हुने बताईएको छ । गत असोज १२ देखि नेपालमा प्याज भित्रिएको थिएन ।

    रसुवागढी भन्सार कार्यालयका अधिकृत पुण्य बिक्रम खड्का बताउँछन् “यस नाकाबाट एक महिनामा २ लाख ३८ हजार ५ सय ८० किलो प्याज आयात भएको छ” । खड्काका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा रसुवागढी नाका भएर नेपालमा प्याज आयात भएको थिएन ।

    नेपाली व्यावसायीले प्रस्तुत गरेको भन्सार बिजक अनुसार असोज महिनामा आयात भएको प्याज १ करोड २२ लाख ५१ हजार रुपैयाँ भन्दा धेरैको हो । व्यापारीद्वय ताराबहादुर बस्नेत र लाक्पा छिरिङ्गले चीनबाट प्याज भित्र्याएको रसुवागढी भन्सारको अभिलेखमा छ । आर्थिक वर्ष ०७५/०७६ मा नेपालले भारतबाट १६ करोड ७९ लाख केजी प्याज आयात गरेको थियो ।

  • गैर  आवासीय  नेपाली संघको नयाँ नेत्रित्वमा कुमार पन्त

    गैर आवासीय नेपाली संघको नयाँ नेत्रित्वमा कुमार पन्त

    काठमाडौ ।  

    गैर आवासीय  नेपाली संघको आगामी दुई बर्षको लागि नयाँ नेत्रित्वमा कुमार पन्त बिजयी भएका छँन् । नेकपा समर्थन पाएको भनिएका पन्त ले १२१७ मत पाएका थिए भने उनका प्रतिद्वन्दी नेपाली काङ्रेस समर्थक उमेद्वार कुल आचार्यले १०७० प्राप्त गरे ।  त्यसैगरी उपाध्यक्षमा बद्री केसी -११६३ अर्जुन कुमार श्रेष्ठ-१०२६  मन केसी -९६१ र सोनाम लामा – ८९८ मत प्राप्त गरी बिजयी भएका छँन् ।  महिला उपाध्यक्षमा रबिना थापा बिजयी भएकी छिन्  । थापाले ११३२ मत प्राप्त गरिन भने उनको प्रतिद्वन्दी सपिला राज भण्डारीले ८६३ मतमा चित्त बुझाउनु परेको छ । महासचिबमा डा हेम राज शर्मा बिजयी भएका छंन् । सचिबमा गौरी जोशी र आर के शर्मा बिजयी भएका छन ।कोषाध्यक्षमा महेश श्रेष्ठ र  सह कोषाध्यक्षमा लोक दाहाल बिजयी भएका छँन् । संघको अन्तरराष्ट्रिय समन्वय परिषदको नेत्रित्वमा ३ जना निर्वाचित भएर यस पटक अमेरिकाले नयाँ किर्तिमान समेत राखेको छ ।  

    केही झडप केही हल्ला बिच सम्पन्न निर्वाचन सुरुमा बिद्युतिय  प्रणाली मार्फत सम्पन्न गर्न कोसिस गरिए पनि सिस्टममा समस्या आएको भन्दै कागजी मत पत्र मार्फत नै निर्वाचन गरिएको थियो भने मतगणना  परिणाम समेत  केही ढिलो गरी आएको थियो ।  

    दुई हजार ५७० प्रतिनिधिहरुले निर्वाचनमा भाग लिन नाम दर्ता गराएका थिए । निर्वाचन प्रक्रिया ढिला हुदा २ हजार ३४० मतमात्रै खसेको थियो ।

    को हुँन् कुमार पन्त ? 

    सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रका संयोजक भए ।सन् २००९–२०११ मा अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भएसँगै युरोप क्षेत्रको संयोजकको जिम्मेवारी वहन गर्न पुगे ।

    सन् २०१३–२०१५ मा महासचिव भए र २०१५ यता दुई कार्यकाल आईसीसी उपाध्यक्षको जिम्मेवारीमा छन । सन् १९७६ मा गोर्खाको फुजेलमा जन्मिएका उनी विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी गएका थिए । समाजशास्त्रमा स्नातक पन्त जर्मनीको फ्र्यांकफर्टमा बस्छन ।उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष हुन । उपाध्यक्षमा यो उनको दोस्रो कार्यकाल हो ।

    उनको जर्मनी लगायत युरोपका विभिन्न देशमा होटलहरुमा लगानी छ । नेपालमा जलविद्युत परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योग लगायतमा लगानी छ ।

  • द्वन्द्वपिडित शर्मालाई १० लाख दिने सरकारको निर्णय (मन्त्रीपरिषद् बैठकका निर्णय सूचिसहित)

    द्वन्द्वपिडित शर्मालाई १० लाख दिने सरकारको निर्णय (मन्त्रीपरिषद् बैठकका निर्णय सूचिसहित)

    काठमाडौं । सरकारले द्वन्द्वपिडित बाँकेका जयलाल शर्मालाई दस लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उनका छोरा द्वन्द्वकालमा मारिएका थिए ।

    यसबाहेक काभ्रेकी सानुमाया लामालाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । उनी जनआन्दोलनकी घाइते हुन् ।

    बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यस्तो जानकारी दिएका हुन् ।

    मन्त्रीपरिषद्का ११ निर्णय
    १. व्यवसाय सञ्चालनमा सहज वातावरण निर्माणका लागि संस्थागत संरचना स्वीकृत

    २. कात्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल(बंगलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौंथो बैठकमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय वार्ता टोली गठन गरिएको छ।

    ३. बाँके जिल्ला साविक नेपालगञ्ज नगरपालिका वडा न. २ का मृतक अधिराजकुमार शर्माका पिता जयलाल शर्मालाई दस लाख रुपैयाँ र काभ्रे जिल्ला पॉचखाल नगरपालिका वडा न. ४ बस्ने सानुमाया लामालाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय (एक जना द्वन्द्वकालमा मारिएको र एक जना जनआन्दोलन घाइते)

    ४. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको लागि उपयुक्त उम्मेदवार सिफारिस गर्न गृह मन्त्रालयका सचिव श्री प्रेम कमार राईको संयोजकत्वमा गठित सिफारिस समितिको म्याद थप गरिएको छ।

    ५. सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरीको छानबिन समितिको म्याद २०७६ मंसिर २८ सम्म थप गरिएको छ।

    ६‌. नेपाल र फ्रान्सका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाइ हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति

    ७. ‘चाइना प्रोभिजन अफ मिलिटरी एसिसटेन्स’मा नेपालको तर्फबार हस्ताक्षर गर्न माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री ईश्वर पोखरेललाई स्वीकृति

    ८. निम्न प्रयोजनका लागि वनक्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ

    • तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाका लागि भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१ स्थित राष्ट्रिय वन क्षेत्रको १.३७ हेक्टर जग्गा
    • मर्स्याङ्दी कोरिडोर २२० के.भी. प्रसारणलाइन आयोजनाका लागि बेशीसहर नगरपालिका लगायतमा रहेको सामुदायिक र राष्ट्रिय वन क्षेत्रको १६।२८००० हेक्टर जग्गा
    • भेरीगंगा नगरपालिकामा बस पार्क निर्माण र सञ्चालनका लागि वडा नं १२ मा रहेको राष्ट्रिय वन क्षेत्रको २.१५ हेक्टर जग्गा
    • माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाका लागि लम्जुङ जिल्ला दोर्दी गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको १.३१७ हेक्टर जग्गा
    • चुनढुंगा उत्खननका लागि बाराही क्वेरिज प्रा.लि.लाई तनहुँ जिल्लाको व्यास नगरपालिकाअन्तर्गतको सामुदायिक र राष्ट्रिय वन क्षेत्रको ४.८५ हेक्टर जग्गा
    • चुनढुंगा उत्खननका लागि कसमस सिमेण्ट प्रा।लि।लाई उदयपुर जिल्लाको उदयपुरगढी गाऊँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ४.९९ हेक्टर जग्गा
    • चुनढुंगा उत्खननका लागि ललितपुर जिल्लाको गोदावारी नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ४.२० हेक्टर जग्गा

    ९.रेडियो नेपालको नाममा रहेको खुमलटारस्थित जग्गा रेडियो नेपालबाट माग भएबमोजिम प्रतिआना रू. ४० लाखका दरले हुन आउने रकम नेपाल दूरसञ्चार प्राधिकरणले रेडियो नेपाललाई उपलब्ध गराउने निर्णय गरिएको छ।

    १०. तुलसीपुर नगर विकास समिति, दाङको नाममा रहेको तुलसीपुर उपमहागरपालिका वडा नं ९ मा पर्ने जम्मा ९०१३.३६ वर्ग मिटर जग्गा तुलसीपुर नगर विकास समितिको निर्णयानुसार उच्च अदालत, तुलसीपुरलाई उपलब्ध गराउन स्वीकृति दिइएको छ।

    ११. नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई (संशोधन र एकीकरण) गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ।

  • विप्लवका दाजुसहित २१ नेता प्रहरी कब्जामा

    विप्लवका दाजुसहित २१ नेता प्रहरी कब्जामा

    दाङ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय प्रभावकारी प्रहरी कारवाही तिब्र बनाएका छन् ।

    खासगरी जनतामा सरकार रहेको र सुशासनको अनुभूति हुने गरी प्रहरी अपरेशन तिब्र बनाइरहेको समयमा प्रहरीले भूमिगत अवस्थामा रहेको विप्लव समूहका नेता दुई दर्जन नेता कार्यक्रता पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नेत्र विक्रम चन्द्र विप्लवका दाजु चन्द्रबहादुर चन्दसमेत रहेका छन् । प्रहरीले दाङबाट उनीहरुलाई पक्रेको हो ।

    प्रहरी स्रोतका अनुसार विप्लव नै दाङमा रहेको सूचनाका आधारमा घेरा हालिएको थियो । तर, उनी भने पक्राउ परेनन् ।

    दाजु र अन्य केन्द्रदेखि जिल्लास्तरीय नेताहरु भने पक्राउ परेका छन् । प्रहरी करीव ५ घण्टाको पैदल दूरी पार गरेर उनीसम्म पुगेको थियो ।

    प्रदेश प्रहरी ब्युरो तुलसीपुर, जिल्ला ब्युरो घोराही, गढवा प्रहरीको टोलीले घेरा हालेर उनीहरूलाई पक्राउ गरेको हो ।

    एक घरमा बैठक बसिरहेको समयमा प्रहरी पुगेको थियो । राती १ बजे प्रहरीले उक्त सफलता प्राप्त गरेको हो । पक्राउ पर्नेमा नेकपा नेता झक्कुप्रसाद सुवेदीका छोरा समेत रहेको बताइएको छ ।

  • साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्‍यु

    साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्‍यु

     साउदी अरेबियाको धार्मिक शहर मदिनामा एक बस दुर्घटना हुँदा ३५ जना पर्यटकको मृत्‍यु र ४ जना घाईते भएका छन् । साउदी सरकारद्वारा संचालित समाचार संस्था एस पि एका अनुसार दुर्घटना बुधबार साँझ भएको हो ।

    दुर्घटनामा परेको बस पर्यटकहरुले रिजर्ब गरेका थिए । बस अर्को ठुलो मालबाहक सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मृतक तथा घाईतेहरु अन्य अरेबियन तथा एसियन मुलुकबाट गएका पर्यटक भएको साउदी प्रहरीले जनाएको छ । समाचार संस्था एस पि एका अनुसार घाईतेहरुलाई उपचारको लागि एल हम्न अस्पतालमा लगिएको छ भने अधिकारिहरुले दुर्घटनाको छानबिन गरी रहेका छन् ।  

    एजेन्सी

  • एनआरएनएको निर्वाचन स्थगित

    एनआरएनएको निर्वाचन स्थगित

    काठमाडौं

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि आज बुधबार हुने भनिएको मतदान भोलि विहान १० बजेसम्मका लागि स्थगित भएको छ ।

    मतदाताहरुले लामो समय प्रतिक्षा गरिसकेपछि यस्तो निर्णय आउँदा ठुलो होहल्ला मच्चिएको थियो । गुटबन्दी र मिलेमतोको भद्दा वातावरण देखिएको पर्यवेक्षकको दाबी छ ।

    मतदानको लागि तयार पारिएको मेसिनमा समस्या देखिएपछि मतदान बिहीबार विहानसम्मका लागि स्थगित गरिएको हो।

    यस निर्वाचनमा एनआरएनएको अध्यक्षमा संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन् । दुबै पक्ष बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

  • आज नेकपा सचिवालय बैठक बस्दै, फेरिएलान मन्त्री ?

    आज नेकपा सचिवालय बैठक बस्दै, फेरिएलान मन्त्री ?

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दैछ।

    प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीपरिषद्का केही सदस्यको कार्यशैलीप्रति असहमति जनाउँदै मन्त्रीपरिषद् फेरबदल गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डसँग राखिसकेका छन् ।

    मन्त्रीहरु अदलबदल तथा पार्टी एकताको अन्तिम टुंगो लगाउने सम्बन्धमा बुधबार छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ ।

    करीव आधा दर्जन मन्त्रीहरुको कार्यशैलीप्रति प्रधानमन्त्री संतुष्ट छैनन् । त्यसमध्ये मातृका यादव, लालबाबु पण्डित, रघुविर महासेठ, बीना मगरलगायत रहेको बताइएको छ ।

    यद्दपी कुन मन्त्रीको बारे के निर्णय गर्ने भन्नेबारे टुंगो भने सचिवालय बैठकबाटै हुने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको छ ।

    मंगलबार समेत बैठक बेको थियो । तर, कुनै निर्णय भने लिन सकेन । बैठकमा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणबारे पनि समिक्षा छलफल हुने तयारी छ ।

  • ५ किलो सुन समातियो

    ५ किलो सुन समातियो

    खाँदबारी, संखुवासभा

    प्रहरीले संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एक युवकलाई पक्राउ गरेको छ।

    प्रहरीटोलीले भोटखोला गाउँपालिका–२ लिङ्गमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षका तोप्चेन भोटेलाई पक्राउ गरेको हो ।

    स्थानीय चेपुवा प्रहरी चेकपोष्टको टोलीले चेकजाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सुन र नगद भेटिएपछि पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट पाँच किलोग्राम सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रा समेत बरामद गरेको जनाएको छ। उनी पक्राउ परेकाे स्थान भोटेखोला –२ लिङ्गम सदरमुकाम खाँदबारीबाट तीन दिनको पैदल दूरीमा पर्छ।

    पक्राउ परेका भोटेलाई सदरमुकाम खाँदबारी ल्याउदै ल्याइएको छ। बरामद भएको सुन चीन, भारत वा नेपाली बजार कता लैजान लागिएको हो भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मिनबहादुर लामाले बताएका छन् । उनलाई सदरमुकाम ल्याइएपछि थप अनुसन्धान गरिने प्रहरी स्रोतले जानकारी दिएको छ।

  • नेपाली काँग्रेसका सांसद आलम पक्राऊ

    नेपाली काँग्रेसका सांसद आलम पक्राऊ

    काठमाडौं

    १२ बर्षमा खोलो फर्कियो । आइतबार बिहान १२ वर्ष अघिको बमकाण्डको आरोपितमध्ये एक वहालवाला सांसद् मोहम्मद अफताब अलाम पक्राउ परेका छन् । उनी नेपाली काँग्रेसको तर्फबाट रौतहट २ का प्रतिनिधि सभा सदस्य हुन् ।

    आलक किन पक्राउ परे ?

    पहिलो संविधानसभा निर्वाचन अघिको धेरैले बिर्सिसकेको एउटा अत्याशलाग्दो बम विस्फोट प्रकरणको आरोपित मध्य एक भएको आरोपमा उनी पक्राउ परेका हुन् ।प्रहरीको अनुसन्धान फाइल थन्किएको अवस्थामा थियो । अभियोजनकर्ता निकायले प्रहरी प्रतिवेदन थन्क्याएको थियो ।

    घटना यस्तो थियो ।

    २०६४ चैत्र २७ गते भएको बमकाण्डको घटना धेरैले बिर्सिसकेको छ । रौतहटको तत्कालीन राजपुरफरहदवास्थित शेख सदिकको छोरा मोहम्मद अफताब आलमको काकाको घरमा बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो । उक्त घटना नियोजित रहेको परिवारको दाबी भने कायमै थियो ।

    परिवारको दाबी थियो कि बुथ कब्जाका लागि बम विस्फोट गराई तर्साउने योजना अनुसार बम बीचमै पड्किएको थियो । घाइते भएका सिंह र अख्तरलाई घटना चुहिने डरले इँटा भट्टामा जलाएर हत्या गरिएको थियो ।

    उक्त घटनापछि पीडित परिवारले प्रहरीमा जाहेरी दियो। तर, दर्ता भएन । जाहेरी दर्ता नभएपछि हुलाकमार्फत जाहेरी पेस भयो। जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पार्‍यो । प्रतिवेदन सरकारी वकिललाई बुझाईयो । यद्यपी जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन प्रमाण नपुगेको निर्णय गर्‍यो। जिल्लाको निर्णय तत्कालीन पुनरावेदन सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयले २०६५ असारमा सदर गर्‍यो ।

    सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेपछि पीडित परिवारले सर्वोच्चमा रिट दायर गरेको थियो। सर्वोच्चले ०६९ सालमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्दै घटना अनुसन्धानका लागि आदेश गरेको थियो । आदेश पाएको सात वर्ष बितिसक्दा पनि प्रहरीले सांसद आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न हिम्मत गरेको थिएन।

    तर गत असार ६ गते सर्वोच्च अदालतले एउटा आदेश जारी गर्‍यो। जुन आदेशले प्रहरीमा तरङ्ग पैदा गरिदियो। अदालतले ३० दिनभित्र घटना अनुसन्धानबारे जानकारी गराउन आदेश दिएको थियो। साथै मासिक रूपमा प्रगति विवरण माग गरेको थियो। उक्त आदेशमा अदालतले अपहेलनामा कारबाहीको चेतावनी पनि दियो। आदेशपछि प्रहरीले अनुसन्धान अघि नबढाई सुखै पाएन।

    प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीले अदालतको आदेश अनुसार नै अलामलाई पक्राउ गरिएको बताए । कार्कीले भने ‘अदालतको आदेश अनुसार हामीले नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ।’

    पूर्वमन्त्री समेत रहेका आलम प्रहरीले खोजी सूचीमा थिए। २०६४ चैत २७ गते राजपुरमा भएको विस्फोटमा २३ जनाको ज्यान गएको थियो। तर, घटनाको लामो समयसम्म राजनीतिक शक्तिको आडमा अलाम अनुसन्धानको दायरामा आएका थिएनन् ।

    आलमको पक्राउ पछि धेरैले ढिलै भएपनि राज्यले न्यायको बाटो समातेको प्रतिकृया गरेका छन् भने कतिले अब राजनीति कारण दिएर दबाईएका पुरानो अपराधिक मुद्दाहरु पनि पुनराबृत्ति हुने बताएका छन् ।