Category: समाचार

  • कांग्रेसले आयोजना गर्यो चियापान, मूख्य नेता सहभागी

    कांग्रेसले आयोजना गर्यो चियापान, मूख्य नेता सहभागी

    काठमाडौं । नेपाली कांग्रेसले आइतबार दशैं तिहार तथा छठपर्वको उपलक्ष्यमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

    कार्यक्रममा मूख्य दलका अधिकांश नेता सहभागी भए । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्डसहित मूख्य नेता कांग्रेसको चियापानमा सहभागी भएका हुन् ।

    उक्त अवसरमा बोल्दै सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताए ।

    चीन नेपालको पुरानो मित्र भएको भन्दै उक्त मुलुकबाट भइरहेको सहयोगको निरन्तरताको अपेक्षा कांग्रेसले गरेको उल्लेख गरे ।

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको चियापानमा सहभागी हुँदा सहयात्रीको घरमा आएजस्तै लागेको बताए ।

    कांग्रेसमा समेत उत्साह आएको भन्दै उनले राजनीति एक अनिश्चितताको खेल भएको तर्फ समेत संकेत गरे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ४५ वर्ष भन्दा पुरा सम्बन्ध रहेको भन्दै चियापानको परम्पराले राजनीतिक भाइचारमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

    कांग्रेसले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।

  • दरबारमार्गको आगलागी ३ घण्टापछि नियन्त्रणमा

    दरबारमार्गको आगलागी ३ घण्टापछि नियन्त्रणमा

    २६ असोज, काठमाडौं

    काठमाडौं दरबारमार्गस्थित क्लब भिक्टोरीमा लागेको आगलागी करिब ३ घन्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।

    प्रहरी कार्यालय टेकुका डीएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको पछिल्लो जानकारी गराएको हो । बोगटीका अनुसार “विद्युत् सर्किट् सर्ट भएका कारण आगोलागी शुरु भएको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।”

    आइतबार साँझ करिव ६ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकल खटिएको थियो । जेनेरेटरसम्म झिल्को पुगेपछि भीषण आगलागी भएको थियो ।

    आगलागी निक्कै भिषण भएकोले क्लब भिक्टोरीपूर्ण रुपमा जलेको छ भने अग्नी नियन्त्रणका लागि खटिएका एक फायरफाइटर घाइते भएका छन् । उनको परिचय खुलिहकेको छैन । उनलाई उपचारका लागि वीर हस्पिटलको ट्रमा सेन्टर पुर्याइएको छ ।

  • नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत रहने प्रक्षेपण

    नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत रहने प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले सन् २०१९ का लागि नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

    विश्व वैंकले आइतबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार सन् २०१८ को तुलनामा यस वर्ष आर्थिक वृद्धिदर सकारात्मक रहने भएको हो ।

    सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर रहेको विश्व बैंकले उल्लेख गरेको छ । आइतबार नेपालसहित सार्क क्षेत्रका मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरिएको हो ।

    दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा धेरै आर्थिक वृद्धि बंगलादेश र त्यसपछि नेपालले गर्ने भएका छन् ।

    विवरण अनुसार सन् २०१९ पछिका वर्षहरुमा भने क्रमशः आर्थिक वृद्धिदर कम हुन थाल्नेछ । सन् २०२० मा ६.४ प्रतिशत र सन् २०२१ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ ।

    दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा कम आर्थिक वृद्धि अफगानिस्तान, श्रीलंका र पाकिस्तानमा हुने भएको छ ।

    अफगानिस्तानमा २.५, श्रीलंकामा २.७ र पाकिस्तानमा ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरिएको हो ।

    दक्षिण एसियामा समग्रमा ५.९ प्रतिशतको आर्थिक वृद्धिदर हुनेछ । नेपालमा निर्माण र सेवा क्षेत्रमा भएको सकारात्मक विकासको प्रभाव अर्थतन्त्रमा परेको विश्वबैंकले उल्लेख गरेको छ ।

  • नेपाली मुलकी युवतीको भारतमा हत्या

    नेपाली मुलकी युवतीको भारतमा हत्या

    २६ असोज, विराटनगर

    विराटनगर सहरको पञ्चमुखी चोंक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनीको भातरको जोगबनीमा हत्या भएको छ ।

    उनको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव भेटिएको हो । नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा भारतको जोगवनीमा भेटिनुले माईतीपक्ष न्यायको लागि ठुलो अन्यौलमा परेका छन् ।

    स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा भारतीय नागरिक भीम बहरदारसँग गत वर्ष विवाह भएको थियो । विवाहमा मागेजती दाइजो नल्याएको भन्दै घरपक्षबाट मानसिक यातना भोगिरहेकी रञ्जनाकोे शव सिमावर्ती क्षेत्र जोगवनीदेखि करिब १० किलोमिटर दक्षिण अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै भेटिएको हो ।

    आइतबार शव भेटिएपछि प्रहरीले मृतकका श्रीमानसहित चारजनालाई पक्राउ गरेको छ । माइती पक्षको उजुरीपछि भारतीय प्रहरीले मृतकका श्रीमान भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई पक्राउ गरेको हो ।

    स्थानीय उमालाल सहनीका अनुसार रञ्जनाको गत फागुनमा अररिया जिल्ला तकिया निवासी २५ वर्षिय भिम बहरदार मागी विवाह भएको थियो । विवाहपछि दाइजोमा मोटरसाइकल मागेपछि सहनी परिवारले ९० हजार भारतीय रुपैयाँमा मोटरसाइकल किनिदिएको थियो । तर दाइजो नपुगेको युवतीलाई परिवारले मानसिक यातना दिइरहको सहनीले बताए । पछिल्लो समय बहरदार परिवारले पसल राख्न भन्दै युवतीको माइती पक्षसँग दुईलाख मागिरहेको थियो ।

    केही दिन अघि माइत आएकी युवतीलाई श्रीमानले आएर लगेपछि हत्या गरेको माइती सहनीले बताए । सहनीका अनुसार खोलामा युवतीको शव भेटिदा हातखुट्टा बाँधेको अवस्थामा थियो । बिहिबार वा शुक्रबार हत्या गरी खोलामा फालेको शव आइतबार बिहान शौच गर्न जानेहरुले देखेको उनले बताए ।

  • दरबारमार्गको क्लब भिक्टोरीमा आगलागी

    दरबारमार्गको क्लब भिक्टोरीमा आगलागी

    २६ असोज, काठमाडौं 

    काठमाडौंको एलिट वर्गहरुको जमघट हुने स्थानको रुपमा परिचय बनाउँदै आएको दरबारमार्गस्थित क्लब भिक्टोरीमा आईतबार साँझ ६ बजेबाट आगलागी भएको छ ।

    आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्रको जवानहरु तथा काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिरहेको छ । यद्यपी आगलागी नियन्त्रणमा लिन नसक्दा आगो झन दन्किदै आसपासको घरहरुमा समेत क्षति पुर्याउने खतरा बढिरहेको छ ।

    काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार “आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन “। 

    उपत्यकामा दमकलको अभाव सधै महसुस गरिएपनि आपत बिपत नपर्दासम्म सम्वन्धित पक्षलाई चटारो नपर्ने अवस्था अहिले पनि देखिएको छ । ४ मिलियन जनसँख्या भएको शहरको लागि औंलामा गन्न सकिने दमकल असाध्यै कम हो ।

  • टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी

    टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी

    न्यूयोर्क, 

    शुक्रबार, ११ अक्टोबर, १९

    जापानको राजधानी टोकियो र आसपासको क्षेत्रमा आज शुक्रबार शक्तिशाली आँधी “टाईफुन हागिबिस” आउने चेतावनी जापानी मौसम बिभागले गरेको छ । 

    अनुमानित आँधी यो सिजनमा आएको १९औं आँधी हो । यो टाईफुन शक्तिशाली हुने र बिध्वंस मच्चाउने चेतावनी दिएकोले सर्वसाधारनमा छाएको छ । प्रतिघण्टा २०० किमी प्रतिघण्टाको गतिमा जापानको मुख्य भुभाग तर्फ अघि बढिरहेको टाईफुन हागिबिसले बुधबार साँझ ओगासावारा द्वीपमा असर पारेको थियो । 

    यतिबेला टोकियोमा तिब्र गतिमा हावाहुरी र मुसलधारे वर्षा भईरहेको छ । समुन्द्र आसपासका क्षेत्रमा बढी असर हुने भएको र ठुला पानीको छालको खतरा बढेकोले सम्भावित क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा राखिएको छ । 

    जापानको मध्य भागमा समेत शनिबार बिहानबाट सोमबार साँझसम्म असर पार्ने जनाईएको छ । 

  • न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्

    न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्

    अभिभावक चनाखो नहुँदा बुधबार बिहान ब्यस्त म्यानहाटनको ट्रेन स्टेसनबाट एक ४ वर्षीया बालिका छलिएर हराएकी छिन् ।  संगै रहेको आफ्नी आमाबाट अकस्मात छलिन पुग्दा बालिका हराएकी हुन् ।

    क्याट्लिन ब्राउन नामकी ती बालिका अन्तिम पटक म्यानह्याटनस्थित ५९ स्ट्रिट एण्ड लेग्जिङ्टन एभेन्यूको ट्रेन स्टेसनमा देखिएकी थिईन । सेतो रङको पातलो ज्याकेट, निलो रङको जिन्स र निलै रङको स्निकर (जुत्ता) लगाएकी बालिका बुधबार बिहान साँढे आठ बजेबाट हराई रहेकी छिन्  । 

    तत्काल प्रहरीले आवश्य खोजी कार्य गरेता पनि बालिका नभेटिएकोले कसैले बालिकलाई देखेमा प्रहरीलाई खबर गरिदिनु हुन अनुरोध गरिएको छ ।  

    श्रोत :न् युज ४ न्यूयोर्क

  • अमेरिकामा धुमधामले दशैं मनाइँदै

    अमेरिकामा धुमधामले दशैं मनाइँदै

    कल्पना घिमिरे / न्यूयोर्क, अमेरिका

    सधै काममा ब्यस्त हुने नेपालीहरु आज दशैं मनाउने तरखरमा छन् । नवरात्रको अन्तिम दिन नवमीमा नजिकैको मन्दिरमा गइ दर्शन गर्ने, घरघरमा राखेका जमरा शक्तीपीठहरुमा चढाउने, आफ्ना सवारी साधनको पूजा गर्ने लगायतका काममा उनीहरु ब्यस्त थिए । नेपालीको बाक्लो बस्ती वरपरका हिन्दु मन्दिरहरुमा दर्शन गर्नेहरु बाक्लै थिए । अस्टमीको दिन ज्याक्सन हाइटको सत्य नारायण मन्दिरमा साना नानीहरुको ठूलो भेला लागेको थियो । कन्या पूजामा इन्डियन र नेपालीहरुले साना नानीहरुलाई टिका लगाएर पूजा गरेर खानेकुरा र बिभिन्न उपहारहरु दान गरेका थिए ।

    एक सातासम्म बिदा लिएर नेपालमै जसरी धुमधामले दशै मनाउने योजना भएको सुनाउँदै थिइन् वुडसाइडस्थित दिब्यधाम मन्दिरमा दर्शन गर्न आएकी रीता श्रेष्ठ प्रधान । ‘अस्टमीको दिन देवीलाई चुनरी चढाएर दर्शन गर्न छोरा, छोरी, श्रीमान सबै मन्दिर आएका हौं’ उनले भनिन्, ‘मेरो ठूलो छोरी नर्थ क्यारोलिनामा बस्ने भएकाले यसपाली उतै गएर दशैँ मनाउँछौं ।’ आजैदेखि घरमा बिभिन्न नेवारी परिकार बनाएर परिवारसंगै रमाइलो गर्नेर्छौ । नवमीको दिन बिहानै आफ्नो गाडी पुजा गरेर, मन्दिरमा जमरा चढाएर दर्शन गर्छौ र दशैंको दिन टिका लगाएर नर्थ क्यारोलिना जान्छौं ।

    उनी मात्र होइन अमेरिकामा बस्ने नेपालीहरुले समय ब्यवस्थापन गरेर दशैँको दिन छुट्टि मिलाएरै दशैँ मनाउँदै आएका छन् । पेन्सिलभेनियाबाट दशैं मनाउनका लागि न्यूयोर्क आइपुगेका विष्णु छन्त्याल भन्छन्, परदेशमा भए पनि वर्ष दिनको चाड त मनाउनु प¥यो नि । दुई दिनको छुट्टि मिलाएर आफन्त भेट्न आँए । भोली टिका लगाएर दिनभर तास खेल्ने, खाने प्लान छ ।’

    दशैमा खसीको मासु र चिउरा खान मन पर्ने भएकाले फार्ममै गएर खसी किनेर ल्याउनेहरु पनि भेटिए । परदेशमै भएपनि नेपालीहरुले आ–आफ्नो तरिकाले दशैं मनाइरहेका छन् । नेपालमा सोमबार बिजया दशमी मनाइसकिए पनि अमेरिकामा यसपाली मंगलबार दशैँ मनाइदैँछ । अमेरिकामा मंगलबार बिहान ११ बजेर १५ मिनेटको समयलाई टिकाको उत्तम साइत मानिएको छ । नेपालीको महान् चाड दशैँ र नवरात्रमा विशेषगरी दुर्गा शक्तिको आह्वान र उपासना गरिन्छ । नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरेपछि दशौं दिन देवीको प्रसाद र आर्शिवाद स्वरुप टीका र जमरा लगाइन्छ । नकारात्मक शक्तिहरुलाई परास्त गरेर सकारात्मक उर्जा प्राप्त गर्ने अवसरका रुपमा यो पर्वलाई लिइन्छ । 

  • थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान

    थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान

    थाईल्यान्डस्थित एक झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित ६ वटा जङ्गली हात्तीको मृत्यु भएको छ।

    काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो । त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै हात्तीहरू तल झरनाको खोँचमा ओर्लिएका र त्यहीँ फसेका थिए ।

    ती मध्ये अधिकांशको मृत्यु भयो भने नजिकैबाट दुईवटा हात्तीलाई जीवितै उद्धार गरिएको छ।

    हाएउ नारोक वा ‘हेल्स फल’ भनेर चिनिने त्यो झरनामा पहिला पनि त्यस्ता दु:खद घटना भएका थिए । सन् १९९२ मा त्यही स्थानमा आठवटा हात्ती मरेका थिए । त्यो घटनाको देशका सञ्चार माध्यमहरूले ठूलो चर्चा गरेका थिए।

    झरनातिर जाने बाटो हात्तीको बथानले अवरुद्ध भएको देखिएपछि शनिवार स्थानीय समयानुसार ३ बजे अधिकारीहरूलाई बोलाइएको थियो ।

    तीनवर्षे छावाको मृत शरीर तीन घण्टा पछि फेला पर्‍यो। लगत्तै पाँचवटा हात्तीका शव पनि फेला परे।

    उद्धार गरिएका अन्य दुईवटा हात्तीको स्थिति आफूहरूले हेरिरहेको अधिकारिहरुले संचार माध्यमहरुलाई बताएका छन् ।  

    वाइल्ड लाइफ फ्रेन्ड्स फाउन्डेशन थाईल्यान्डका संस्थापक एड्विन विएकका अनुसार हात्तीको सुरक्षा र आहार खोज्नका लागि ठुलो बथानको आवश्यकता पर्ने हुँदा ती दुई हात्तीलाई पछि जीवित रहन कठिन हुन सक्छ।

    उक्त घटनाले ती हात्तीमा भावनात्मक असर पनि पर्न सक् । हात्तीहरू आफ्नो बथानका सदस्यको मृत्यु हुँदा शोकमग्न हुने गर्छन्।

    थाईल्यान्डमा झन्डै सात हजार वटा एशियाली हात्तीहरु छन् । ती मध्ये आधा हात्तीलाई मानिसले पालेका छन्।

    श्रोत : बिबिसि नेपाली

  • काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न

    काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न

    काठमाडौं

    काठमाडौं उपत्यकाको सुन्दर गाउँ कपनको जगडोलस्थित झण्डा पार्कमा बडा दशैंको उपलक्ष्यमा चङ्गा चेट प्रतियोगिता तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।यज्ञडोल जगडोल युवा क्लबको आयोजनामा आयोजित चङ्गा चेट प्रतियोगितामा कपन, बौद्ध, जोरपाटी, गोकर्ण, आरुबारी, तिनचुले, चुनिखेल लगायतका गाउँका स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । स्थानीय गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाका मेयरद्वय सन्तोष चालिसे र उद्धब खरेलले चङ्गा चेट प्रतियोगिताका प्रतियोगीहरुलाई उडाईने चङ्गा हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

    पछिल्लो समय लोप हुँदै गएको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिने र उपत्यका भित्रैको मनमोहक गाउँको परिचयलाई उजागर गर्ने उदेश्यले चाडवाडको समय पारेर कार्यक्रम गरिएको संस्थाका उपाध्यक्ष जनजित केसीले बताए। कार्यक्रममा काठमाडौंमा नाम चलेका ६ वटा रेस्टुरेण्टहरुले फुड स्टल समेत राखेका थिए भने स्वतन्त्र ,सट्कोण ,ग्रिन फरेस्ट र नवयुग लगायतका साँगितिक समुहहरुले प्रस्तुती दिएका थिए। कार्यक्रममा स्थानिय असोक केसि र सेरे भाईको प्रहसन केन्द्र बिन्दुमा थियो ।

    चंगा चेट प्रतियोगीतामा आरुबारी स्थित आनन्दपुर निवासी रविन लामा प्रथम भए भने आरुबारी आनन्दपुर कै उमेश न्योउपाने द्वितिय भए र प्रकाश भण्डारी त्रितिय भएका थिए ।मनोरन्जनात्मक कार्यक्रमको संचालन ईकुचाले गरेका थिए ।

  • सभामुख पद खाली, महिलाले बोली फेरेपनि बचेन महराको पद

    सभामुख पद खाली, महिलाले बोली फेरेपनि बचेन महराको पद

    काठमाडौं । सभामुख कृष्ण बहादुर महरामाथि यौन दूव्र्यवहारको आरोप लगाएकी रोशनी शाहीले आफ्नो बयान फेर्दै महराबाट आफूमाथि कुनै दूव्र्यवहार नभएको बताएकी छिन् ।

    तर, उनको फेरिएको बयान आउनु अगाडी नै सभामुख कृष्ण बहादुर महराले पदबाट राजिनामा गरेका कारण उनको पद भने गएको छ ।

    उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले महराको राजिनामा स्वीकृत गरेकी छिन् । यससँगै अब सभामुखको पद खाली भएको छ ।

    महरासँग करीव साढे दुई दशकदेखि चिनजान रहेकी रोशनीले आइतबार सभामुखले बलात्कार गरेको भन्दै संचारमाध्यम गुहारेकी थिइन् ।

    तर, मंगलबार नै उनले बोली फेर्दै बुबा जस्तो मानिसले आफूमाथि त्यस्तो गर्न नसक्ने भन्दै बयान फेरेकी छिन् । उनले प्रहरीका महराविरुद्ध कुनै उजुरी दर्ता गरेकी छैनन् ।

    उल्टो आफु मानसिक बिरामी भएको भन्दै प्रहरीलाई जानकारी गराएकी छिन् । उनले यसअघि पनि पटक पटक मानसिक रोगको औषधि खाएकी थिइन् ।

  • कार्यकर्तालाई देउवाको आह्वान, अहिंसाको बाटोमा हिड्नुहोस

    कार्यकर्तालाई देउवाको आह्वान, अहिंसाको बाटोमा हिड्नुहोस

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यक्रतालाई अहिंसाको बाटोमा लाग्न सुझाव दिएका छन् ।

    महात्मा गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरी अघि बढ्नु पर्ने उनको भनाई रहेको छ ।

    महात्मा गान्धीको १५० औं जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले गान्धीले देखाएको अहिंसाको बाटो नै अनुसरण गर्नुपर्ने उनको भनाई थियो ।

    उनले गान्धी एक विश्वकै दूरदर्शी नेता भएको उल्लेख गर्दै उनले देखाएको बाटो अंगाल्दा मात्र मुलुकको विकास हुने उल्लेख गरे ।

    उनले गान्धीले अहिंत्सामक आन्दोलनका भरमा अंग्रेज शासन ढालेको स्मरण समेत गरे । नेता रामचन्द्र पौडेलले गान्धीवादको प्रभाव विश्व राजनीति मै बढी परेको उल्लेख गरे ।

  • दशैं मान्न एक सातामा १२ लाखले छाडे काठमाडौं

    दशैं मान्न एक सातामा १२ लाखले छाडे काठमाडौं

    काठमाडौं । दशैँ मनाउने गरी काठमाडौँ उपत्यका छाड्ने यात्रुको सख्या १२ लाख पुगेको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार पछिल्लो एक साता (५ असोजयता) मात्र ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट दशैं मनाउन बाहिर गइसकेका छन् ।

    काठमाडौंबाट सबैभन्दा धेरै मानिस षष्ठी र सप्तमीको दिन बाहिरिन्छन् । यस अवधिमा राजधानी भित्रने यात्रु भने करीव आधाले कम भइसकेको छन् ।

    तथ्यांक अनुसार एक सातामा सात लाख ६९ हजार यात्रु राजधानी छिरेका छन् । । सवारी साधन अनुसार गरिएको गणनामा यस अवधि भित्र एक लाख ३७ हजार सवारी साधन बाहिरिएको र एक लाख १७ हजार भित्रिएको तथ्यांक रहेको छ ।

    प्रहरीका अनुसार दशैँमा घर जाने प्रयोजनका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।

    त्यसो त धेरैजसो यात्रु रिजर्भ सवारीमा जाने भएकाले पनि अग्रिम बुक गर्ने मानिसहरु अब क्रमशः घट्दै गएका छन् ।

    राजधानीबाट बाहिरिने यात्रुको व्यवस्थापनका लागि मात्र प्रहरीले १ हजार जनशक्ति खटाएको छ । मापसेलाई कडाईकासाथ चेक गरिएको प्रहरीको भनाई छ ।

    लामो दुरीका सवारीमा दुई जना चालक नराख्ने, यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गर्ने र दुख दिने नियत राख्नेहरुमाथि कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

  • विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार

    विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार

    प्रेम लामिछाने
    फ्रान्स
    नेपाली रक्तदाता संघ, फ्रान्सको उद्घाटन तथा शपथ ग्रहण समारोह फ्रान्सको कुर्कुरोनमा सम्पन्न भएको छ । फ्रान्ससँगै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ विश्वको २३ वटा देशमा बिस्तार भएको छ । गैरआवासीय नेपालीहरुबीच रक्तदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले विश्वका विभिन्न देशहरुमा बिस्तार भएसँगै यो संस्थाको स्थापनाले रक्तदानको क्षेत्रमा युरोपमा विशेष भूमिका खेल्ने विश्वास गरिएको छ ।
    नेपाली रक्तदाता संघ, फ्रान्सका अध्यक्ष अनिस त्रिपाठीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै रक्तदान जस्तो मानवीय कामले कसैलाई विभेद नगरी सबैलाई जोड्ने बताए ।
    कार्यक्रममा एनआरएन फ्रान्सको अध्यक्ष नरेन्द्र शाही, विशिष्ट अतिथि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्याल, उपाध्यक्ष एभरेष्ट गौतम, संस्थापक सदस्य तथा नेपाली रक्तदाता संघ, फ्रान्सको संरक्षक प्रशान्त उप्रेतीद्वारा संस्थाको उद्देश्य, गतिविधि र रक्तदानको विषयमा आफ्नो अनुभव साट्दै रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्न आह्वान गरेका थिए ।
    त्यसैगरी अन्य अतिथिका रुपमा फ्रान्स–नेपाल मैत्री संघका अध्यक्ष विनोद खकुरेल, एनआरएन फ्रान्सका पूर्वअध्यक्ष तथा प्रवासी नेपाली एकता मञ्च फ्रान्सको संयोजक भक्तबहादुर वाग्ले, एनआरएन फ्रान्सका उपाध्यक्ष अमर भण्डारी, पूर्वउपाध्यक्ष हरि सापकोटा, नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापति सुधिर राना, नेपाली एकता समाज फ्रान्सका अध्यक्ष प्रमोद पाण्डे, इनास फ्रान्स अध्यक्ष प्रविन सापकोटा, तामाङ घेदुङ फ्रान्सका प्रतिनिधि सुरेश लामा तामाङद्वारा नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
    केही समयअघि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले नेपालमा रक्तदानको क्षेत्रमा विशेष योगदान पु¥याउने २१ व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको थियो । सो अवसरमा सम्मानित भएका प्रशान्त उप्रेतीलाई संस्थाका अध्यक्ष अजय सत्यालले रक्तदानको क्षेत्रमा विदेशमा रहेर पनि निरन्तर सहयोग र योगदान गरेबापत सम्मानपत्रले सम्मानित गरिएको बताए ।
    नेपाली रक्तदाता संघ फ्रान्सको पहिलो रक्तदान कार्यक्रम सेप्टेम्बर १७ का दिन फ्रान्सको इभ्री कोर्कोरनामा करिब ५२ जनाको सहभागितामध्ये ३० जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
    ‘रगतले जोड्छ’ भन्ने मूल नारासहित स्थापना भएको नेपाली रक्तदाता संघ फ्रान्सले आयोजना गरेको उक्त कार्यक्रममा नेपालीबाहेक अन्य देशका व्यक्तिहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमलाई फ्रान्सको रक्तदान केन्द्र इएफले पूर्ण सहयोग गरेको थियो भने आगामी दिनमा प्रशिक्षण दिने तथा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
    कार्यक्रममा युवा चित्रकार विश्रान्त सेन्चुरीले रक्तदानसम्बन्धी लाइभ पेन्टिङ गरेका थिए । नेपाल रक्तदाता संघ फ्रान्सका युवा संयोजक महेश शर्मालाई परेको पितृ शोकको स्मरणमा मृत आत्माको चिरशान्तिका लागि १ मिनेट मौन धारणा गरिएको थियो ।

  • अमेरिकी रास्ट्रपति महाअभियोग- यता टाल्यो उता भत्किने अवस्थामा ट्रम्प प्रशासन

    अमेरिकी रास्ट्रपति महाअभियोग- यता टाल्यो उता भत्किने अवस्थामा ट्रम्प प्रशासन

    प्रभात भट्टराई
    अमेरिका
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध हाउस डेमोक्र्याटले महाअभियोग प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै सरकार र यसका निकट व्यक्तिबारे एकपछि अर्को पोल खुल्न थालेका छन् । यसले ट्रम्प प्रशासनलाई थप अप्ठ्यारोमा धकेल्न थालेको छ ।
    ट्रम्प लोकप्रिय रहेका राज्यमा २०२० मा पुनर्निर्वाचित हुन चुनाव लड्न लागेका केही सिनेटरबाहेक अरु रिपब्लिकन सिनेटरले ट्रम्पको बचाउ गरेका छैनन् । रिपब्लिकन स्रोत उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार आफ्नै दलका अधिकांश प्रभावशाली नेताहरु ट्रम्प र युक्रेन प्रकरणमा थप प्रमाणको प्रतीक्षामा छन् ।
    अर्कोतिर ट्रम्प विरोधीहरु थप गोलबद्ध हुन थालेका छन् । उनकै प्रशासनमा काम गरेका पूर्व कर्मचारीले पनि पूर्व राष्ट्रपति रिचार्ड निक्सनको अवस्थाभन्दा अहिले ट्रम्प थप अप्ठ्यारोमा रहेको भन्दै टिप्पणी गर्न थालेका छन् ।
    सप्ताहन्तमा केही सुनसान रहेको नयाँ घटना र मोडले सोमबार देखि फेरि तीव्रता पाएको छ । सोमबारको सबैभन्दा ठूलो स्कूपका रुपमा ट्रम्पले युक्रेनी समकक्षीलाई फोन गर्दाको साक्षी विदेशमन्त्री माइक पोम्पेओ पनि रहेको तथ्य वालस्ट्रिट जर्नलले प्रकाशित गरेको छ । पोम्पेओले गत साता मात्र एबीसी टेलिभिजनलाई दिएको अन्तरवार्तामा ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्ताबारे आफूलाई केही थाहा नभएको र सञ्चारमाध्यमबाट जानकारी पाएको बताएका थिए । टेलिफोनको साक्षी पोम्पेओ रहेको तथ्य वालस्ट्रिट जर्नलले प्रकाशित गरेसँगै सीएनएनले समेत आफ्नो स्रोतबाट पुष्टि गरेको छ ।
    यति मात्र होइन ट्रम्पले अष्ट्रेलियन नेतालाई मुलर अनुसन्धानको आधार खोजीमा आफ्ना महान्यायधिवक्ता विलियम बारलाई सघाउन अनुरोध गरेको अर्को स्टोरी पनि सोमबार नै न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो । एकपछि अर्को यस्ता भ्वाङ खुल्दै जाँदा ट्रम्प प्रशासन भने एकपछि अर्को ‘कन्स्पिरेसी थ्योरी’ अनुसारका प्रतिप्रचारमा व्यस्त छ । यतिसम्मकी आफूलाई महाअभियोग लगाएर हटाए अमेरिकामा गृहयुद्ध हुनेसम्मका ट्विट ट्रम्पले रिट्विट गरेका छन् । यस्तै आफू पदबाट हट्नुपर्ने कहिले सेयर बजार क्र्यास हुने त कहिले अर्थतन्त्र रसातलमा जाने जस्ता ट्विट गरेर ट्रम्पले अमेरिकी जनतालाई ‘ब्ल्याकमेलिङ’ पनि गरिरहेका छन् ।
    ट्रम्पले युक्रेनी समकक्षीलाई अमेरिकाले दिने सैन्य सहयोगको बदलामा पूर्व उपराष्ट्रपति एवम् डेमोक्रेटिक नेता जो बाइडेनलाई अनुसन्धान गर्नुपर्ने शर्त राखेका थिए । ट्रम्प पक्षले भ्रष्टाचार निवारणका लागि उक्त प्रस्ताव राखेको र युक्रेनलाई कुनै दबाब नदिएको बताउँदै आएका छन् । तर, ह्वाइट हाउसले नै सार्वजनिक गरेको उनीहरुको संवादको विवरणमा ट्रम्पले प्रष्टरुपमा आफूलाई ‘सहयोग’ गर्न भनेका छन् । र, उक्त सहयोगस्वरुप बायडेनको छवि धमिल्याउने गरी अनुसन्धान थाल्नुपर्ने उल्लेख छ ।
    युक्रेनका एक सरकारी अधिकारीलाई बाइडेनले उपराष्ट्रपति हुँदा भ्रष्टाचारको आरोपमा विश्व बैंक, युरोपेनी युनियन लगायत सबै दाताहरुले पदबाट हटाउन भनेका थिए । पश्चिमा आवाजको प्रतिनिधित्व गर्दै युक्रेनी सरकारलाई उक्त सूचना बाइडेनले दिएका थिए । ट्रम्प पक्षधरले बाइडेनको यही कदमलाई भ्रष्टाचारको आरोप लगाउँदै आएका छन् । तर, यसमा बाइडेनले गल्ती गरेको कुनै कानूनी आधार फेला परेको छैन ।
    बाइडेन अहिले डेमोक्रेटिक राष्ट्रपतीय प्रत्यासीमा अग्रस्थानमा छन् । र, उनको लोकप्रियता ट्रम्पको भन्दा उच्च देखिएको छ । सोही कारण ट्रम्पले राजनीतिक प्रतिस्पर्धीलाई विदेशी गुहारेर तह लगाउने खोजेको मुख्य आरोप संसद्ले लगाएको छ । महाअभियोगका लागि उनीमाथिको सबैभन्दा बलियो आरोप यही हुनेछ किनभने अमेरिकामा आफ्नो राजनीतिक फाइदाका लागि विदेशी गुहार्नु गैरकानूनी हो ।
    ट्रम्पविरुद्धको महाअभियोग हाउसबाट पारित भए सिनेटमा आफूले प्रस्तुत गर्नुको विकल्प नहुने मेजोरिटी नेता एवम् रिपब्लिकन सिनेटर मिच म्याकोनेलले आइतबार बताएका छन् । हाउसबाट पारित महाअभियोग प्रस्ताव सिनेटमा छिर्न दिने–नदिने अधिकार मेजोरिटी नेताको हातमा रहने गरेको छ । सिनेटमा यो प्रस्ताव छिरेमा त्यहाँ विस्तृत अनुसन्धान हुन्छ र अन्त्यमा दुई तिहाई सिनेटरले प्रस्तावको पक्षमा मतदान गरे राष्ट्रपति पदमुक्त हुन्छन् ।
    निवर्तमान रिपब्लिकन सिनेटर जेफ फ्लेकले सोमबार नै आफ्ना पूर्व सहकर्मीहरुलाई सम्बोधन गर्दै यस पटक अन्तरआत्माको आवाज नमार्न सुझाव दिएका छन् । उनले ट्रम्पलाई पदच्यूत गर्न ३५ बढी रिपब्लिकन सिनेटरले भोट हाल्ने भविष्यवाणीसमेत गरेका छन् । अहिले सिनेटमा डेमोक्र्याटसँग ४७ भोट छ । २० जना रिपब्लिकन सिनेटरले भोट दिएमा ट्रम्प पदमुक्त हुनेछन् ।
    युक्रेन प्रकरण सतहमा आएसँगै महाअभियोगलाई समर्थन गर्ने सर्वसाधारणको संख्या ह्वात्तै बढेको छ । सीबीएस न्यूजको सोमबार प्रकाशित सर्वेक्षणअनुसार ५५ प्रतिशत अमेरिकी ट्रम्पविरुद्ध सुरु भएको महाअभियोग अनुसन्धान अघि बढाउनु पर्ने बताएका छन् भने ४५ विपक्षमा छन् । यस्तै सीएनएनको सर्वेक्षणमा ४७ प्रतिशत अमेरिकीले ट्रम्पलाई पदच्यूत गर्नुपर्ने बताएका छन् । रसियन अनुसन्धान चर्र्किएको मौसम गत मेमा यो संख्या ४१ प्रतिशत मात्र थियो ।

  • जिम्बावेसँग फेरी हार्यो नेपाल, आज सिंगापुरसँग भिड्दै

    जिम्बावेसँग फेरी हार्यो नेपाल, आज सिंगापुरसँग भिड्दै

    काठमाडौं । नेपाल र सिंगापुरबीच आज प्रतिस्पर्धा हुँदैछ । सिंगापुरमा जारी टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरण अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ ।

    यसअघि मंगलबार भएको खेलमा नेपाललाई जिम्बाब्वेले ४० रनको फराकिलो अन्तरले हरायो । यसअघि सिरिजको पहिलो खेलमा समेत नेपाल सोही मुलुकसँग ५ विकेटले हारेको थियो ।

    यता, सिंगापुरलाई भने नेपालले पहिलो खेलमा पराजित गरेको थियो । दोस्रो खेलमा सिंगापुरलाई हराउन सके नेपालको फाइनल पुग्ने सम्भावना जिवित रहने छ ।

    पराजित भएमा भने त्यो सम्भावना समेत टर्नेछ । किनकी सिंगापुरले नेपाललाई पराजित गर्न सके दुबै मुलुकले दुई दुई जीत हात पारी नेपाल भन्दा अगाडी रहने छन् ।

    सिंगापुरविरुद्ध भने नेपाल केही आत्मविश्वासी दिेखिनेछ । पहिलो खेलमा कप्तान पारस खड्काको कीर्तिमानी शतकको योगदानमा सिंगापुरमाथि रवाफिलो जीत हात पारेको थियो ।

  • यौन दुर्व्यवहारको आरोपपछि सभामुख महराको राजिनामा

    यौन दुर्व्यवहारको आरोपपछि सभामुख महराको राजिनामा

    काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीले आफूमाथि बलत्कार गरेको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा गरेका छन् ।

    उनले मंगलबार उपसभामुखसमक्ष राजीनामा पत्र बुझाए । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराको राजिनामा पत्रमा उल्लेख छ ।

    उनको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भनी उल्लेख गरिएको छ ।

    यसअघि मंगलबार नै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले महरालाई सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट पनि राजीनामा दिई अनुसन्धानमा सघाउन सुझाव दिएको थियो ।

    सोमबार एकाएक उनीमाथि बलत्कारको आरोप लागेपछि निकै हतास देखिएका महराले पनि मंगलबार राजिनामा गरेका हुन् ।

    उनी दाङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । संसद सचिवालको स्वास्थ्य विभागमा काजमा खटिएकी एक कर्मचारीले उनीमाथि यौन दूव्यवहारको आरोप लगाएकी छिन् ।

    ती कर्मचारीसँग महराको विगत २०४७ साल देखि नै चिनजान रहेको समेत महिलाले स्वयमः स्वीकार गरेकी छिन् । महरा आइतबार राति आफ्नो कोठामा आएर बलात्कार गरेको उनको आरोप छ ।

    यद्दपी उनले अझै प्रहरीमा भने उजुरी दिएकी छैनन् । तर, तिब्र सामाजिक दवाव झेल्न नसकेपछि महराले भने राजिनामा गरेका छन् ।

    करीव ५० वर्षदेखि निरन्तर राजनीतिमा अडिग यी नेतामाथिको आरोप धेरैले भने अझै पनि कुनै चलचित्रको एक कथा जस्तै मानिरहेका छन् ।

    महरा यौनकाण्डमा परी पदमा रहेकै अवस्थामा राजिनामा गर्ने पहिलो सबैभन्दा उच्च पदका व्यक्ति हुन् ।

  • सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा

    सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा

    कल्पना घिमिरे

    न्युयोर्क/अमेरिका
    साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ पुस्तकमाथि परिचर्चा गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा सोमबार न्युयोर्कको ज्याक्सन हाइटमा भएको पुस्तक परिचर्चा कार्यक्रममा लेखक ज्ञवाली आँफै उपस्थित भएकी थिइन् । संयुक्त राष्ट्रसंघको ७४ औं महासभालाई संबोधन गर्न आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगै उनीपनि अमेरिका भ्रमणमा आएकी हन् । उनी परराष्ट्रमन्त्री ज्ञवालीकी श्रीमती हुन् ।
    उनी अमेरिका आएको मौका पारेर अनेसासले साहित्यकार ज्ञवालीसंग साक्षात्कार गर्दै, उनको कृतिमा छलफल गरेको थियो । अनेसासले साहित्यकार ज्ञवालीलाई कदरपत्रले सम्मान गरेको छ । साहित्यकार ज्ञवालीले आफ्ना जीवनका पीडा ब्यथा र भोगाइहरुलाई जस्ताको तस्तै पुस्तकमा उतारेकी छिन् । आफुले जन्मदै देखि विभेदको सामना गर्नुपरेको, छोरालाई स्कुल पठाउने तर छोरी नपढाउने हाम्रो त्यतिबेलाको समाजमा पढ्नका लागि आफुले गरेको बिद्रोह र संघर्ष, १४ वर्षको उमेरमा स्कुल भर्ना हुँदाको अफ्ठेरो समाजले हेर्ने दृष्ट्रिकोण सबै अनुभव पुस्तकमा समेटिएको छ । राजनीतिमा सक्रिय छँदा भोगेका पीडा र पछि सन्तानको लागि सबै छोडेर घर सम्हाल्नु पर्दाको छटपटि पुस्तकले समेटेको छ ।
    ‘मेरो मात्र होइन आम नेपाली महिलाले यहाँसम्म आइपुग्नका लागि गरेको संघर्षको कथा हो’ पुस्तकको छलफलका क्रममा उनले भनिन्, ‘यो मेरो ‘रियल’ भोगाइ हो यो पढेर कसै न कसैलाई प्रेरणा मिल्न सक्छ भन्ने उदेश्य राखेर लेखेकी हुँ । एउटा आमालाई राजनीति भन्दा धेरै ठूलो सन्तान हुने रहेछ । त्यो आमाको ममता म मा पनि जाग्यो र सबै छोडेर घर सम्हाले । ३० वर्षे अपा¨ता भएकी छोरीले अहिले सम्म ‘आमा’ नभनेको पीडा र तिनै अनुभवलाई पुस्तकमा समेटेकी हुँ । बिवाह गरेको ३५ वर्ष भयो तर, हामी कुनैपनि सार्वजनिक कार्यक्रममा यसरी एउटै मञ्चमा बसेका थिएनौं । आज हामीलाई बेहुला बेहुली जस्तो बनाएर यसरी एउटै मञ्चमा राखिदिनु भएकोले अतिकति भावुक पनि भएँ ।’
    कार्यक्रमका बिशेष अथिति रहेका परराष्ट्र मन्त्री ज्ञवालीले लालटिनको उज्यालोले हाम्रो त्याग, हामीले भोगेका अफ्ठ्यारा र असहज परिस्थितिको जस्ताको तस्तै चित्रण गरेको बताए । ‘पुस्तकको बारेमा म धेरै केही भन्न सक्दिन । आफ्नै श्रीमतीले लेखेको पुस्तकबारे बोल्दा बिराचात्मक भन्दा पनि बढि भावनात्मक भइन्छ कि । लामो समयदेखि अफ्ठेरो र असहज कालखण्ड गुजार्दै यहाँ सम्म आइपुगेका छौं । यो सरस्वती ज्ञवालीको मात्रै कथा होइन आम नेपाली महिलाको कथा हो । जसले बिभेद र अन्यायका निम्ती लड्यो, स्वतन्त्रता र समानताका लागि बिद्रोह ग¥यो । उनले पुस्तकमा आफ्ना भोगाइ लेखेकी छिन् । सबैलाई पुस्तक एक पटक पढिदिन आग्रह गर्दछु ।’
    आत्मकथामा नेपाली राजनीति, क्रान्तिका बेला महिलाले भोगेका पीडालाई समावेश गरिएकोले एउटा इतिहासलाई उजागर गरेको समालोचक रस्मी भट्टले बताइन् । ‘अत्यन्त सरल र शिष्ट भाषामा लखिएको यो कृतिले नेपाली साहित्यमा दरिलो इटा थप्ने मात्र काम गरेको छैन । यो एउटा उत्कृष्ट साहित्यिक कृतिका साथै राजनीतिक दस्तावेज पनि बनेको छ’ उनले भनिन् ।
    कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष सकुन ज्ञवाली लगायत नेपाली समुदायको बिभिन्न संघ संस्थाका प्रतिनिधिको उलेख्य सहभागिता थियो ।

     

  • टाइम्स स्क्वायरमा ‘भिजिट नेपाल ‘२०२०’

    टाइम्स स्क्वायरमा ‘भिजिट नेपाल ‘२०२०’

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    सन् २०२० मा धेरै भन्दा धेरै बिदेशी पर्यटक नेपाल भित्र्याउने उदेश्यले ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रचारात्मक अभियान सुरु गरिएको छ । ४० औं विश्व पर्यटन दिवसको अवसर पारेर विश्वकै चर्चित व्यावसायिक पर्यटन गन्तव्य न्यूयोर्कको टाइम्स स्क्वायरबाट नेपाल भ्रमण वर्ष २०२० ‘भिजिट नेपाल २०२०’ को प्रचारात्मक अभियान शुरु गरिएको हो । यस अभियानलाई अमेरिका लगायत बिश्वभर फैलाउँन प्रसार प्रचारलाई तिब्र पारिएको आयोजकले जनाएको छ ।
    नेपाली महावाण्ज्यि दूतावास न्युयोर्क, ट्राभल ब्यूरो अफ नेपाल युएसए, र नेपाल अदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को संयुक्त आयोजनामा गत शुक्रबार एक सांस्कृतिक कार्यक्रम गर्दै टाइम्स स्क्वायरमा भेला गरिएको थियो । कार्यक्रममा नेवारी संस्कृति झल्कने लाखेनाँच, कुमारी नृत्य, मन्जुश्री नृत्य, लगायतका मौलिक नेपाली नृत्य प्रस्तुत गरिएको थियो । जसलाई हेर्न टायम्स स्क्वायर क्षेत्रमा घुम्न आएका पर्यटकको घुँइचो लागेको ट्राभल ब्यूरो अफ नेपाल युएसएका सिइओ प्रदिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाम्रा मौलिक संस्कृति झल्कने यस्ता किसिमका कार्यक्रमले नेपाल आउने अमेरिकी पर्यटकको संख्यामा सुधार आउनेछ ।
    विगत वर्षहरु भन्दा यस वर्ष नेपाल भित्रिने पर्यटकको संख्या बढिरहेको पाइएको छ । अमेरिकी दूतावासका अनुसार सन् २०१९ को पहिलो ८ महिनामा नेपाल आउने अमेरिकी पर्यटकको संख्यामा ६ प्रतिशतले बृद्धि भएको छ । दूतावासले आठ महिनामा ५८ हजार ६२१ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिएको छ ।
    टाइम्स स्क्वायरको बिच सडकमा कविना महर्जनले कुमारी नृत्य, सरिना महर्जनले मन्जुश्री नृत्य, प्रेम गोपाल महर्जनले निकै उत्कृत्ट ढंगले लाखे चान प्रस्तुत गरेका थिए । न्हुच्छे ढंगोलले ढोलक बजाएर लाखेनाँचमा साथ दिएका थिए । भने सन्जिता कोइरालाको नेपाली लोक नृत्य प्रस्तुतीले कार्यक्रमको निकै शोभा बढाएको थियो । पर्यटन प्रवद्र्धन बढाउन र बिदेशी पर्यटक भित्र्याउने उदेश्य बोकेर ट्राभल ब्यूरो अफ नेपाल युएसएले यस्ता बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
    कार्यक्रममा भिजिट नेपाल २०२० लेखेको सेतो टिसर्ट लगाएका न्यूयोर्क र न्यूजर्सी राज्यमा बसोबास गर्ने नेपालीको उल्लेख्य सहभागिता थियो । हातमा नेपालको झण्डा बोकेर गरिएको प्रचारात्मक कार्यक्रमले विश्वभरबाट घुम्नका लागि टाइम्स स्वायर आइपुगेका पर्यटकको ध्यान तानेको थियो ।
    कार्यक्रममा न्यूयोर्कस्थित महावाणिज्यदूत पुष्पराज भट्टराई, फिप्नाका अध्यक्ष मानबहादुर रानामगर, फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट, मिस नेपाल युएसए २०१९ श्रेया गजुरेल, मिस नेपाल युनिभर्स २०१७ नग्मा श्रेष्ठ लगायत नेपाली समुदायका बिभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

  • भैसेपाटीमा बन्ने भयो नयाँ मन्त्री निवास, प्रधानमन्त्रीले गरे शिलान्यास

    भैसेपाटीमा बन्ने भयो नयाँ मन्त्री निवास, प्रधानमन्त्रीले गरे शिलान्यास

    काठमाडौं । ललितपुरको भैसेपाटीमा मन्त्री निवास बन्ने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री निवासको शिलान्यास गरे ।

    यो निवासमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म बस्न सक्ने स्थानको प्रवन्ध हुने भएको छ ।

    अहिले पुल्चोकमा रहेको मन्त्री निवासलाई विदेशी पाहुना आउँदा राख्ने लक्जरी लजको रुपमा रुपान्तरण गर्ने र नयाँ स्थानमा मन्त्री निवास बनाउने घोषणा यसअघि सरकारले गरेको थियो ।

    सोहीअनुसार सोमबार शिलान्यास भएको हो । मन्त्री निवास एक सय २५ रोपनी क्षेत्रफलमा बन्ने भएको छ ।

    करिब ९७ करोड ११ लाख लगानी यस आवासका लागि छुट्याइएको छ । यो आयोजनाको निर्माणको जिम्मा केसी समानान्तर जेभीले पाएको छ ।

  • कति व्यवहारिक छ  दिसामुक्त देश घोषणा ?

    कति व्यवहारिक छ दिसामुक्त देश घोषणा ?

    काठमाडौं । सोमबार एक भब्य कार्यक्रमको आयोजना गरी सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्यो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरे र भने, अब फूटपाथबाट माग्न बसेका मानिसहरु समेत नदेखिने गरी सडक मानवमुक्त राष्ट्र घोषणा गर्छौं ।

    उनको यो घोषणा जति गौरवपूर्ण छ, व्यवहारमा निकै आलोचित पनि । किनकी खुलादिसा मुक्त घोषणालाई काठमाडौं भित्र कै सडक गल्लीमा देखिने मानव मल मुत्रले पुष्टी गर्छ ।

    सडक बालकदेखि सार्वजनिक शौचालयको अभावले जथाभावी शौच गर्न बाध्य बटुवाका लागि पनि सरकारले विकल्प दिन सकेको छैन ।

    अझ कतिपय ठूला चोक र शहरका गल्लीमा एउटा पनि सार्वजनिक शौचालय बनिसकेको छनै । यस अवस्थामा सरकारको तामझाम केवल एक नाटक सावित नहोस, यो अपेक्षा गर्न सकिन्छ ।

    खानेपानी मन्त्रालयका अधिकारीहरु यो घोषणाबाट निकै सतुष्ट छन् । उनीहरु घोषणा हुनु नै महत्वपूर्ण विषय ठान्छन् ।

    मन्त्रालयका सचिव माधव बेलबासेले विश्व मै नेपालले यो उपलब्धी हाँसिल गरेको भन्दै गौरव गर्न भ्याए ।

    तर, नेपालभन्दा निकै सफा र व्यवस्थित मुलुक घोषणाबीना पनि सफा छन्, यो भने उनले त्यति हेक्का राखेको पाइएन ।

    दक्षिण एसियाली देशहरु खुलामुक्त देश घोषणाको तयारीमा छन् । यसमध्ये भने नेपाल पहिलो भएको छ ।

    आगामी दिनमा पर्याप्त पूर्वाधार निर्माण गरी सहजिकरण नगरे सरकारको घोषणा केवल नारामै सिमित हुन सक्छ ।

    यसतर्फ भने सरकारको आगामी कार्यदिशाले निर्धारित गर्छ । खानेपानी मन्त्रालयका अनुसार देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् ।

    प्रदेश १ मा ९ लाख ६५ हजार २७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६४९ र प्रदेश ३ मा १६ लाख २२ हजार १९३ घरधुरीमा शौचालय बनेका छन् ।

    गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा चार लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।

  • नेपाल अब खुला दिसामुक्त देश

    नेपाल अब खुला दिसामुक्त देश

    काठमाडौं । काठमाडौं । सरकारले नेपाललाई आज खुला दिसामुक्त देश घोषणा गर्दैछ । सरसफाईमा अन्तरराष्ट्रिय सूचक पार गरेसँगै नेपालले उक्त उपलब्धी हाँसिल गरेको हो ।

    खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार नेपालमा सबै घरमा शौचालय निर्माणको अभियानले सार्थकता पाएकाले खुला दिसामुक्त देश घोषणा गर्न लागिएको हो ।

    त्यससँगै अहिले सार्वजनिक शौचालय निर्माणले समेत गति लिएको छ । यस्तो उपलब्ध दक्षिण एसियाका अन्य मुलुकले पाउन सकेका छैनन् ।

    सरकारले घर घरमा शौचालय निर्माणका लागि अनुदान नै उपलब्ध गराएर अभियान थालेको थियो । खासगरी सरसफाई र स्वास्थ्यका विभिन्न मानकलाई सरकारी सूचकमा निकै उपलब्धीपूर्ण देखिएका छन् ।

    सरकारले चालु आव २०७६ ७७ को नीति तथा कार्यक्रमबाटै चालु आवमा खुला दिसामुक्त देश घोषणा गर्ने बताएको थियो ।

    सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजित विशेष समारोहमा देशलाई खुला दिसामुक्त घोषणा गर्नेछन् ।

  • काठमाडौं आए दशैंका खसी-बोका

    काठमाडौं आए दशैंका खसी-बोका

    काठमाडौं । सरकारले दशैंमा बिक्रि गर्न किनेका खसी-बोका काठमाडौं ल्याएको छ । काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारको तर्फबाट खसी बोका बिक्रि गर्ने भएको छ ।

    आइतबार काठमाडौं ल्याइएका खसी र च्यांग्राको बिक्रि भने सोमबारबाट मात्र शुरु हुने भएको छ ।

    सोमबार मूल्य निर्धारण गरेपछि उपभोक्ताका लागि बिक्रि शुरु गरिने भएको छ ।

    दशैंको समयमा निजी क्षेत्रबाट बजारमा अनाधिकृत मूल्य नराखियोस भनी बजार हस्तक्षेपका लागि सरकारले खसी बोका ल्याएर बिक्रि गर्ने गर्छ ।

    सरकारले देशका विभिन्न स्थानबाट खरीद गरेका खसी बोका तथा च्यांग्रा काठमाडौं ल्याउँदैछ ।

    यस पटक भारतबाट खसी बोका खरीद नगरिइका कारण स्वदेशी उत्पादनबाटै दशैं मनाउने तयारी रहेको छ ।

    सरकारले काठमाडौंमा ३ सय खसी बोका बिक्रि गर्ने भएको छ । निजी क्षेत्रका व्यवसायी भने काठमाडौंमा बिक्रि शुरु गरिसकेका छन् ।

  • आज घटस्थापना, शुरु भयो दशैं

    आज घटस्थापना, शुरु भयो दशैं

    काठमाडौं । हिन्दु धर्मावलम्बीको महान पर्व दशैं आजदेखि शुरु भएको छ । हिन्दु धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्वमा आज प्रतिपदाका दिन घटस्थापना मनाइन्छ ।

    बडादशैंको पहिलो दिन घटस्थापनामा घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौं रोपिन्छ ।

    नेपाल पंचांग निर्णायक समितिले घटस्थापनाको शुभ साइत बिहान १०ः३५ तोकेको छ ।

    गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा र दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।

    आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडा दशैं धुमधामसहित मनाइन्छ । विजयादशमीको दिन ठूलाबडाको हातबाट टिका लगाउने र आर्शिवाद लिने प्रचलन छ ।

    यो चाडलाई मिठो खाने र राम्रो लगाउने चाडका रुपमा लिने गरिन्छ । जौको टुसा दुर्गा देविको प्रिय वस्तु मानिन्छ । आजदेखी हरेक दिन भगवतीको पूजा आरधना शुरु हुन्छ । यस वर्षको विजयादशमी २१ असोजमा परेको छ ।

  • पर्यटन वर्ष २०२० को सन्देश प्रवाहमा सरकार जुटेको छ : मन्त्री भट्टराई

    पर्यटन वर्ष २०२० को सन्देश प्रवाहमा सरकार जुटेको छ : मन्त्री भट्टराई

    विश्व न्यूज संवाददाता
    अमेरिका ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन बर्ष २०२० को सन्देश प्रवाहको कार्यमा सरकार जुटिरहेको बताएका छन् । इन्टरनेशनल सिभिल एभियसन अर्गनाइजेशन(आइकाओ)को वैठकमा सहभागि हुने क्रममा हाल क्यानडामा रहेका पर्यटनमन्त्री भट्टराईले नेपाल भ्रमणको निम्ति राम्रो गन्तव्य भएको प्रचारमा सरकारको ध्यान केन्द्रीत रहेको बताए ।
    विभिन्न देशका झण्डैं २ हजार बढीको सहभागिता रहेको आइकाओको वैठकमा आफ्नो सहभागिता र आफूले त्यहाँ राखेको धारणाले पर्यटन वर्ष २०२० को प्रचार र अन्तराष्ट्रिय क्षेत्रमा हाम्रो उपस्थिति देखाउन सहयोगी भूमिका निभाएको टेलिफोन संवादमा मन्त्री भट्टराईले जनाए ।
    उनले भ्रमण वर्ष सफल पार्न हाम्रो सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिदैं पछिल्लो केही समययतादेखि गरिएको कार्यक्रम फलदायी बनेको बताए ।
    भ्रमण वर्षको प्रवद्र्दनका लागि भ्रमण वर्ष सुरुवात कार्यक्रममा नेपालमा विभिन्न देशका राष्ट्रप्रमुख तथा नेपालमा रहेका विभिन्न कुटनितिक नियोगका अधिकारीहरुलाई बेलाईने जानकारी दिदैं उनले विश्वका विभिन्न राष्ट्रमा रहेका नेपाली दुतावास तथा नियोगहरुमार्फत ती देशका राष्ट्रप्रमुख तथा अधिकारीहरुलाई बोलाएर विभिन्न देशमा समेत कार्यक्रम गरिने जानकारी मन्त्री भट्टराईले गराए ।
    उनले विभिन्न राष्ट्र तथा शहरहरुमा रहेका पर्यटन दुतहरुलाई समेत यसमा परिचालन गरिने बताउँदैं देश वाहिर गैर आवासीय नेपालीको समेत भ्रमण वर्ष सफल पार्न विशेष योगदान र उनीहरुको सहयोग र सहभागिता आवश्यक रहेको बताए ।

  • नेपाल र युएईका बीचमा हवाई सम्झौता

    नेपाल र युएईका बीचमा हवाई सम्झौता

    विश्व न्यूज संवाददाता
    अमेरिका ।
    नेपाल र संयुक्त अरब इमिरेट्स(युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । इन्टरनेशनल सिभिल एभियसन अर्गनाइजेशनको वैठकमा सहभागि हुनका लागि क्यानडामा रहेका नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएईका अर्थमन्त्री सुल्तान बीन साइद अल्मान्सोरीले हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
    दुई देशका बीचमा भएको हवाई सम्झौताले दुई देश बीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासीलो बनाउन मद्दत पुगेको पर्यटनमन्त्री भट्टराईले टेलिफोन संवादमा बताए ।
    दुवै देशले अन्तराष्ट्रिय नियम तथा अनुबन्धनहरुको नियमलाई पालना गर्दै एक अर्कालाई सहयोग गर्ने वातावरण निर्माण भएको भन्दैं पर्यटनमन्त्रीले भ्रमण वर्ष २०२० लाई समेत यसले सहयोग पुगेको जनाए ।

  • ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताको आक्रमण

    ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताको आक्रमण

    चितवन । चितवनमा नेकपा समर्थक कार्यक्रताले ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेका छन् ।

    भ्रष्टाचारको विरोध भन्दै ‘नेपालका लागि नेपाली’ अभियान चलाइरहेका शाहीमाथि चितवनमा नेकपा कार्यक्रताले अन्धाधुन्ध आक्रामण गरेका हुन् ।

    शाही उनै व्यक्ति हुन, जसले केही साता अगाडी नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईलाई अपमान गरेका थिए ।

    त्यसपछि नेकपा कार्यक्रताले उनलाई निसाना बनाइरहेका छन् । उक्त अभियानद्वारा शनिबार भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ नामक सभा राखेको थियो ।

    सभामा उनले सम्बोधन गर्ने कार्यक्रम थियो । कार्यक्रम विथोल्न पुगेका नेकपा कार्यक्रताले राजावादीको कार्यक्रम भन्दै आक्रमण गरेका थिए ।

    उनी चढेको गाढीमाथि नै आक्रमण भएपछि शाही घाइते भएका छन् । उनलाई प्रहरीले उद्दार गरेको थियो ।

    प्रहरीले शाहीलाई काठमाडौं पठाएको छ । त्यसअगाडी उनलाई चितवन मेडिकल कलेजमा प्राथमिक उपचार गरिएको थियो । नेकपा कार्यक्रताले कतिपय जिल्लामा शाहीलाई प्रवेश निषेध नै घोषणा गरेका छन् ।

  • राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’

    राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’

    न्यूयोर्क । संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सम्बोधन गरेका छन् । उनले खासगरी जलवायु परिवर्तनका मुद्दालाई जोडदार रुपमा विश्वसामू राखेका छन् ।

    गरिब देशले जलवायु परिवर्तनका अन्यायपूर्ण र औचित्यहिन असर भोग्नु परिरहेको भन्दै उनले नगण्य उत्सर्जनले पनि नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको असर भोग्नु परेको उल्लेख गरे ।

    हिमनदीहरु पग्लिएर भइरहेको क्षयीकरणलाई नेपालल यस महासभामा उठाएको छ ।

    जलवायु परिवर्तनका असर न्यूनिकरणमा तत्काल आवश्यक कदम चाल्नु पर्ने भन्दै उनले गल्ती नगर्दा नगर्दै पनि जलवायु परिवर्तनका कारण आउने प्राकृतिक विपत्तिका कारण बर्सेनि थुप्रै नेपाली नागरिकले ज्यान गुमाउनु परेको उनले उल्लेख गरे ।

    उनले यसै वर्ष आएको आँधि र बाढी पहिराको सन्दर्भ समेत उठान गरेका छन । सगरमाथाको देश नेपाल जलवायु परिवर्तनको केन्द्रमा रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरसँग जुध्न संयुक्त राष्ट्र संघले प्रयास गर्नुपर्ने उनको माग छ ।

    नेपालले इजरायल र प्यालेस्टाइनबीचको समस्या समाधानमा जोड दिएको छ । अमेरिका र उत्तर कोरियाबीचको संवादको स्वागत गर्दै नेपालले कोरियाली प्रायद्वीपमा स्थायी शान्तिको समेत कामना गरेको छ ।

    नेपालले आप्रवासी कामदारका हक अधिकार र सुरक्षाको प्रत्याभूति नेपालको प्राथमिकता भएको उल्लेख गरे ।

    महासभालाई भारतीय र पाकिस्तानी प्रधानमन्त्रीले पनि सम्बोधन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई गौतमबुद्ध दिएको भन्दै युद्ध नचाहेको उल्लेख गरे ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले युद्ध चाहे आफ्नो देश पनि पछि नपर्ने सन्देश दिए । आणविक शक्ति सम्पन्न मुलुक युद्धमा होमिनुको मतलव त्यसको असर सीमाना भन्दा धेरै परसम्म पुग्ने चेतावनी पाकिस्तानी प्रधानमन्त्रीले दिएका छन् ।

  • विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना

    विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना

    काठमाडौं । सरकारले विपन्न वर्गका नागरिकलाई खाना पकाउने ग्यासमा सहुलियत दिने योजना सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार उक्त जानकारी गराएका हुन् ।

    उनका अनुसार अब विपन्न र सम्पन्न वर्गका नागरिकलाई ग्यासको छुट्टाछुट्टै मूल्य कायम गरिने भएको छ ।

    त्यसका लागि सिलिन्डरसमेत छुट्टै ल्याउन तयारी भइरहेको छ । उनका अनुसार अब सिलिण्डरलाई व्यवसायिक र घरायसी प्रयोजनमा छुट्टाछुट्टै रंगमा ल्याइनेछ ।

    घरासयी भित्र पनि विपन्न वर्गका लागि छुट्टै मूल्य कायम गरी बिक्रि गर्ने योजना रहेको मन्त्री यादवले जानकारी दिए ।

    उनले सबैको आर्थिक हैसियत बराबर नहुने भन्दै खाना पकाउने ग्यासमा सहुलियत आवश्यक रहेको समेत उल्लेख गरे ।

    धेरै मुलुकमा रासन कार्डका आधारमा ग्यास तथा खाद्यान्नमा छूट दिने प्रचलन भएपनि नेपालमा भने त्यसो गरिदैन ।

    यसैबीच, मन्त्रालयले खसी भेडा बेच्ने दिन समेत सार्वजनिक गरेको छ । काठमाडौंमा दशैंका लागि ल्याइएका खसी च्यांग्राको बिक्रि द्धितियाबाट शुरु गरिने भएको छ ।

  • जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या

    जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या

    काठमाडौं । ब्याट्सम्यान चुक्दा नेपाल जिम्बाब्वेविरुद्ध ऐतिहासिक जीत हाँसिल गर्नबाट चुक्यो ।

    शुक्रबार देखि सिंगापुरमा शुरु त्रिदेशिय टी २० सिरिजमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १ सय ३२ रन जोड्यो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मात्र राम्रो प्रदर्शन गरे । ऐरिले ३३ बलमा ४० रन बनाए । सोमपालले १४ बलमा २५ रन बनाउँदै अविजित रहे ।

    कप्तान पारस खड्काले १८ र सन्दिप जोराले १७ रन जोडेपनि बल धेरै खर्च गरे । लगातार विकेट गुमाएपछि नेपालको पारी समस्यामा परिरहेको थियो ।

    जवाफी ब्याटिङमा उत्रिएको जम्बिाब्वेले ११ बल बाँकि छँदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

    नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा मात्र १५ रन दिएर ३ विकेट लिएपनि जिम्बाब्वेको ब्याटिङ लाइनअपलाई रोक्न भने सकेनन् ।

    सन्दिप बाहेक अन्य बलरले विपक्षीलाई टक्कर दिन सकेनन् । अब नेपालले शनिबार सिंगापुरसँग दोस्रो खेल खेल्नेछ ।