Category: समाचार

  • नेपाल एयरलाइन्समा अग्रिम बुकिंग खुल्यो, भाडामा जेष्ठ नागरिकलाई छूट

    नेपाल एयरलाइन्समा अग्रिम बुकिंग खुल्यो, भाडामा जेष्ठ नागरिकलाई छूट

    काठमाडौं । नेपाल एयरलाइन्सले दशैंलाई लक्षित गरी अग्रिम बुकिंग खुलाएको छ । १ असोजबाट लागु हुने गरी अग्रिम बुकिंग खुला गरेको नेपाल एयरलाइन्सले जनाएको हो ।

    निगमको केन्द्य्रिय कार्यालयस्थित काउन्टरबाट टिकट बुक गर्न सकिने निगममो उल्लेख गरेको छ ।

    निगमसँग आन्तरिक उडानमा ९ वटा जहाज रहेको भएपनि तीन वटा मात्र उड्ने गर्छन् । ती जहाजबाट निगमले करीव १ दर्जन गन्तब्यमा उडान गर्छ ।

    यसैबीच, निगमले मंगलबार बाटै लागू हुने गरी ७० वर्ष कटेका जेष्ठ नागरिकका लागि ५० प्रतिशत छूटको घोषणा गरेको छ ।

    निगमको आन्तरिक उडानमा यो योजना लागु हुने भएको छ । यो छूट पाउन समेत केन्द्रिय कार्यालयमै पुग्नु पर्छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको घोषणा बमोजिम निगमले छूट दिने योजना कार्यान्वयन गरेको हो ।

    त्यसो त निगम सुधारका लागि गठन भएको कार्यदलले समेत बुधबार नै आफ्नो प्रतिवेदन मन्त्री भट्टराई समक्ष पेश गरेको छ ।

    उक्त कार्यदलले निगमलाई कम्पनीमा परिणत गरी संचालन गर्न सकिने सुझाव दिएको छ ।

    वर्तमान व्यवस्थापकीय संरचनामा आमूल परिवर्तन गरी नयाँ चुस्त व्यवस्थापनको आवश्यकता समेत औल्याइएको छ ।

    निगममा व्यापारिक स्वार्थ बाझिने गरी व्यक्तिहरु नियुक्ति गर्दा निगमको विरुद्धमा काम हुने गरेको समेत कार्यदलको निष्कर्ष रहेको छ ।

  • संघीय संसद भवन सिंहदरबारमा बन्ने, ८ अर्ब लागत

    संघीय संसद भवन सिंहदरबारमा बन्ने, ८ अर्ब लागत

    काठमाडौं । संघीय संसद भवनको बुधबार शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको शिलान्यास गर्दैछन् ।

    सिंहदरबारस्थित पुतली बगैचामा करीव ८ अर्ब रुपैयाँ लागतमा यो भवन बन्न लागेको हो । सहरी विकास मन्त्रालयका अनुसार भवनको पूर्वतयारीको काम सकिएको छ ।

    अब निर्माणले गति लिने छ । सरकारले पुनः एकपटक सरकारी भवनलाई सिंहदरबार भित्रै खुम्च्याइदिएको छ ।

    यस भवन भित्र विभिन्न राजनीतिक दलको संसदीय दलको कार्यालय रहने छन् ।

    प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि दुई ठूला अत्याधुनिक हल निर्माण गरिनेछन् ।

    अतिविशिष्ट व्यक्ति र अन्य व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेशद्धारको व्यवस्था गर्न लागिएको छ । यो भवन आगामी तीन वर्ष भित्र निर्माण सम्पन्न हुने भएको छ ।

    संसदको आफ्नो भवन नहुँदा अहिले नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्र भाडामा लिएर काम चलाउनु परेको छ ।

    अब संसद मातहतका समितिको हल र कार्यालयसमेत यसै भवन परिसरमा निर्माण हुने भएका छन् ।

    वगैचा, चौर र वाटर फाउन्टेनसहित आकर्षक भवन निर्माणको योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

  • भट्टराई र यादवको पार्टीले रोज्यो चुनाव चिन्ह ‘पञ्जा’

    भट्टराई र यादवको पार्टीले रोज्यो चुनाव चिन्ह ‘पञ्जा’

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पार्टी समाजवादीले पञ्जालाई चुनावचिन्ह रोजेको छ ।

    उक्त पार्टीले पञ्जालाई चुनाव चिन्ह तय गरी निर्वाचनमा आयोगमा मंगलबार दर्ता गरेको हो ।

    आयोगले यस विषयमा निर्णय लिन भने बाँकि रहेको छ । संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीको एकताबाट नयाँ पार्टीको जन्म भएको थियो ।

    यी दुई पार्टीको एकताका दौरान दुबै पार्टीको पुरानो चिन्हलाई चुनाव चिन्ह नबनाउने सहमति भएको थियो ।

    उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरु त्यसको तयारीमा तिब्रताका साथ लागिपरेका छन् ।

  • गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान

    गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान

    काठमाडौं । एक व्यक्तिका लागि जिन्दगीमा अवार्ड र सम्मानको ठूलो महत्व हुन्छ । एक एक अवार्डले मानिसलाई काम गर्ने हौसला र प्रेरणा प्रदान गर्छ ।

    त्यसमा पनि सर्जकहरुलाई यसको अझै बढी महत्व हुन्छ । यीनै बहुमूल्य अवार्ड र सम्मानका प्रमाणपत्रहरु लोकप्रिय गायक राजेशपायल राईले गुमाउनु परेको छ ।

    सोमबार दिउँसो उनको काठमाडौं, शान्तीनगरस्थित घरमा आगलागी भएको छ ।

    उक्त दूर्घटनामा मानवीय क्षति त भएन, तर राजेश पायल राईले जिन्दगीभरको मिहेनतबाट कमाएमा महत्वपूर्ण अवार्ड जलेका छन् ।

    प्रहरीका अनुसार बिजुली सर्ट भएर घरमा घरमा आगलागी भएको पाइएको छ । उनले जुन कोठामा सम्मान र अवार्ड राखेका थिए, सोही कोठाबाट सल्किएको आगोले अवार्डहरु नष्ट गरिदिएको छ ।

    उनका छरछिमेकी, प्रहरी र दमकलको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

    कार्यक्रमको सिलसिलामा विदेशमा रहेका राईले फेसबुकमा स्टाटस लेख्दै आज भगवानबाट पनि गल्ती भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘गल्ती, कमजोरी मान्छेबाट हुन्छ भन्थे, भगवानबाट पनि हुँदो रहेछ । उनैले दिए, उनैले लगे, उनैले दिनेछन्, एक दिन गल्ती नगरिकन । यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँ परदेशी भूमिबाट हार्दिक नमन ।’

  • लुक्लामा ३ सय पर्यटक अलपत्र, पर्यटक बोकेका ९ हेलिकोप्टर बाटोमै रोकिए

    लुक्लामा ३ सय पर्यटक अलपत्र, पर्यटक बोकेका ९ हेलिकोप्टर बाटोमै रोकिए

    काठमाडौं । मौसम प्रतिकूल बनेर जहाज उड्न नपाएपछि सोलुखुम्बुको लुक्लामा ३ सय भन्दा बढी पर्यटक अलपत्र परेका छन् ।

    वायुसेवा संचालक संघ नेपाल (आयोन)का प्रवक्ता योगराज कँडेल शर्माका अनुसार मंगलबार पर्यटक लिएर लुक्लाबाट काठमाडौं उडेका हेलिकोप्टरसमेत काठमाडौंको मौसम प्रतिकुल बनेपछि बाटोमै अलपत्र परेका छन् ।

    मंगलबार बिहानै लुक्लाको मौसम केही खुलेपछि ११ हेलिकोप्टरले काठमाडौंका लागि उडान भरेका थिए । त्यसमध्ये २ वटा मात्र काठमाडौं आउन सकेका छन् ।

    अरु भने सोलुखुम्बुको बासा, सिन्धुली र काभ्रेमा आइ आकस्मिक अवतरण गरी बसेका छन् । काभ्रेको धान खेत मै हेलिकोप्टरहरु अवतरण गर्नु परेको थियो ।

    आयोनका अनुसार सिम्रिक एयरका तीन हेलिकोप्टरमध्ये काभ्रेको खरिखोलामा १ र बनेपामा २ हेलिकोप्टर रोकिएका छन् । अल्टिच्यूड एयरको एक हेलिकोप्टर काभ्रेकै रोसीखोलामा रोकिएको छ ।

    कैलाश होलिकोप्टरकोएउटा हेलिकोप्टर धुलिखेलमा रोकिएको छ भने श्री एयरको एक हेलिकोप्टर रामेछापमा आएपछि रोकिएको थियो ।

    मनाङ एयरको एक हेलिकोप्टर सोलुको बासामा रोकिएको छ । फिस्टेल एयरको जहाज पनि बासा मै रोकिएको छ ।

    यी हेलिकोप्टरले लुक्लामा अलपत्र बोकेका पर्यटक बोकेर ल्याएका थिए । मौसम नखुलेपछि लुक्लामा करीव एक सातादेखि पर्यटक अलपत्र परेका छन् । अब क्रमशः पर्यटक मौसम शुरु भएको छ ।

    यस मौसममा सगरमाथा आधार शिविरको पदयात्रामा हजारौं पर्यटक पुग्ने गर्छन । लुक्ला सगरमाथा पदयात्रामा जानेहरुको पहिलो ढोका हो ।

    मंगलबारको अविरल वर्षाले हवाई सेवा नराम्रोसँग प्रभावित भयो । दिनभरजसो नै काठमाडौं विमानस्थलमा अवतरण प्रभावित भइरह्यो । आन्तरिक उडानमा पनि दिनभर समस्या थियो ।

    कम भिजिविलिटीका कारण जहाजहरु अवतरणमा समस्या भएको काठमाडौं विमानस्थलले जानकारी गराएको छ ।

  • अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको  तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा  वृद्धि

    अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा वृद्धि

    अमेरिका । अमेरिकामा सार्वजनिक विद्यालयमा भर्ना हुने अश्वेत बालबालिकाको संख्या पछिल्लो साढे दुई दशकमा दोब्बर बनेको छ । यसले मुलुकको नयाँ जनसांख्यिक बनौटको चित्र प्रस्तुत गर्न थालेको वासिङ्टन पोष्टको विश्लेषणले देखाएको छ ।
    त्यति हुँदा पनि ठूला सहर एवं सहरी इलाकाका बालबालिका तुलनात्मक रुपमा विभाजित स्कुल डिष्ट्रिक्टहरुमा भर्ना हुने गरेका छन् । विशेषगरी काला जातिका बालबालिका हिस्पानिक या गोरा केटाकेटीको तुलनामा छुट्टै स्कुल जाने गरेका छन् ।
    तर, यो नै अमेरिकी समाजको अन्तिम चित्र भने होइन । सन् २०१७ मा सबै वर्णका बालबालिका पढ्ने समावेशी स्कुलमा एक करोड आठ लाख विद्यार्थी भर्ना भएका थिए । यो संख्या सन् १९९५ मा ५९ लाख मात्र थियो । पछिल्लो साढे दुई दशकमा समावेशी स्कुलमा पढ्ने बालबालिकाको संख्या ८३ प्रतिशतले बढेको हो ।
    यो तथ्यले अमेरिकी समाजको नयाँ बनौट पनि देखाएको छ । विगतमा गोरा जातिका मान्छे मात्र बस्ने साना गाउँ एवं शहरी क्षेत्रमा हिस्पानिक अमेरिकीहरुको बाक्लो उपस्थिति यो तथ्यले पुष्टि गरेको छ । ठूला सहरलाई भन्दा यस्ता क्षेत्रलाई अमेरिकी जनसांख्यिक बनौटको नयाँ ऐनाको रुपमा बुझ्नु बढी अर्थपूर्ण हुने पोष्टको ठम्याइ छ । किनभने ठूला सहरहरु यसअघि नै तुलनात्मक रुपमा समावेशी स्वरुपको भए पनि त्यहाँको स्कुल डिष्ट्रिक्ट भने एकल जातीय स्वरुपमा छन् ।
    समग्रमा एक वर्णको स्कुलमा पढ्ने बालबालिका संख्या भने अल्पमतमा परिसकेको छ । सन् २०१७ को तथ्यांकअनुसार कुल ४ करोड ६४ लाख बालबालिका सार्वजनिक विद्यालय जान्छन् । उनीहरुमध्ये ५८ लाख भने एकै वर्णका विद्यार्थी मात्र भर्ना भएको स्कुलमा छन् ।
    पोष्टले गरेको विश्लेषणअनुसार सन् १९९५ मा पूर्ण समावेशी सार्वजनिक स्कुलमा भर्ना हुने विद्यार्थी संख्या १४ प्रतिशत मात्र थियो । २०१७ मा यो २३ प्रतिशत पुगेको छ । यस्तै १९९५ मा न्यून समावेशी स्कुलमा १४ प्रतिशत एवं सामान्य समावेशी स्कुलमा ५९ प्रतिशत विद्यार्थी भर्ना भएका थिए । त्यसबेला समावेशिता शून्य स्कुलमा १३ प्रतिशत विद्यार्थी पढ्ने गर्थे । अहिले पनि समावेशितारहित विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या १३ प्रतिशत नै रहेको छ । तर, न्यून समावेशी विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या २२ प्रतिशतमा उक्लिएको छ भने सामान्य समावेशी स्कुलमा पढ्ने विद्यार्थीको संख्या पनि ४२ प्रतिशतमा झरेको छ ।
    उदाहरणको रुपमा कोलोराडोस्थित रोरीङ फोर्क भ्यालीलाई लिन सकिन्छ । २५ वर्ष अघि भ्यालीअन्तर्गतको स्कुल डिष्ट्रिक्टमा १२ प्रतिशत ल्याटिनो विद्यार्थी थिए । अहिले उनीहरुको संख्या ५० प्रतिशत नाघेको छ । जबकी राज्यको ठूलो सहर डेनभरका सार्वजनिक स्कुलमा यस्तो दृश्य देखिन्न । रोरीङ फोर्कका हरेक कक्षामा समावेशी अनुहारका विद्यार्थीले त्यहाँको स्थानीयताकै प्रतिविम्बित गर्छन् ।
    ‘हामी होसियारीपूर्वक यो अवस्थालाई कायम राख्ने प्रयासमा छौँ, रोरीङ फोर्क स्कुल डिष्ट्रिक्टका सुपरिटेन्डेन्ट रोब स्टेनले पोष्टसँग भनेका छन्– ‘हामी हाम्रो विद्यालय आफ्नो समुदाय जस्तै देखियोस् भन्नेमा सचेत छौँ ।’
    बढ्दो समावेशी स्वरुपसँगै अमेरिकाको समग्र सार्वजनिक विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या भने छ प्रतिशतले बढेको छ । पोष्टले देशभरका १३ हजार १८४ पुराना सार्वजनिक विद्यालयहरुको तथ्यांक विश्लेषण गरेको हो । यसमा निजी या धार्मिक विद्यालयमा पढ्ने ५८ लाख विद्यार्थी समावेश छैनन् । साथै सार्वजनिक चार्टर स्कुलमा अध्ययनरत तीन लाख विद्यार्थी पनि यसमा समावेश छैनन् ।
    पोष्टले राष्ट्रपतिका लागि डेमोक्रेटिक प्रत्यासीहरुको शिक्षाप्रति चासो बढिरहेका बेला यो तथ्य विश्लेषण गरेको छ । राष्ट्रपतिका प्रत्यासीहरुले असमावेशी स्वरुपको विद्यालय संरचनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सन् २०१७ को तथ्यांकअनुसार समावेशी स्कुल डिष्ट्रिक्टको संख्या राम्रै वृद्धि भएको छ । करिब ४० प्रतिशत स्कुल डिष्ट्रिक्टले दुई तिहाई हाराहारी समावेशी विद्यार्थी भर्ना गराएका छन् ।
    (वासिङ्टन पोष्टको सहयोगमा)

  • संविधान दिवस पारी सरकारी अस्पतालमा निःशुल्क ओपीडी

    संविधान दिवस पारी सरकारी अस्पतालमा निःशुल्क ओपीडी

    काठमाडौं । २ असोजमा देशभरका सरकारी अस्पतालमा निःशूल्क ओपीडी सेवा उपलब्ध हुने भएको छ । ३ असोजमा भव्यताका साथ संविधान दिवस मनाउने तयारी सरकारको छ ।

    सोही क्रममा अस्पतालहरुमा एक दिनका लागि ओपीडी निःशूल्क गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयले मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकट निःशुल्क वितरण हुने जानकारी दिएको छ ।

    अन्य सेवा भने साविककै अनुसार संचालन हुने मन्त्रालयले जनाएको छ ।

    सरकारले यस दिन भब्य रुपमा मनाउने गरी हरेक मन्त्रालयबाट कार्यक्रम माग गरेको थियो । त्यसअनुसार स्वास्थ्य मन्त्रालयले निःशूल्क ओपीडीको घोषणा गरेको छ ।

  • ५ महिनामा विपद्ले लियो २७१ को ज्यान

    ५ महिनामा विपद्ले लियो २७१ को ज्यान

    काठमाडौं । प्राकृतिक विपत्तिमा परी ५ महिनाको अवधिमा २ सय ७१ जना मानिसले ज्यान गुमाउन बाध्य भएका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार वैशाख २०७६ यता प्राकृतिक विपत्तका कारण ति मानिसको ज्यान गएको हो । यसबीचमा ६ सय ४६ जना मानिस घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    सबैभन्दा धेरै बाढी पहिरोले नेपालीको ज्यान लिएको छ । बैशाखयता बाही पहिरो, चट्टयांगबाट बढी मानिसले ज्यान गुमाउनु परेको हो ।

    यी घटनाका कारण ७ सय ६७ जनाले आफ्नो थातथलो छाडी विस्थापित हुनु परेको छ ।

    गुल्मी, काठमाडौं, रोल्पा, रुकुमसहित पहाडी इलाका र पूर्वी तराइका धेरै जिल्ला प्राकृतिक प्रकोपबाट प्रभावित भए ।

    प्राकृतिक विपत्तिका कारण १ हजार ६३ चौपाया मरेका छन् । ४ हजार ६०७ घर डुबानमा परेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।

    यसअवधिमा १५ पुल क्षतिग्रस्त भएका छन् । विपदले दुई अर्ब ४२ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको आंकलन प्रहरीले गरेको छ ।

    यद्दपी यसवर्ष अझै मनसुन सकिएको छैन । पश्चिमी वायुको प्रभावले पुनः सक्रिय भएको मनसुनका कारण पछिल्लो तीन चार दिन यता देशभर लगातार वर्षा भइरहेको छ ।

  • शेर्पा किदुगको खेलकूद प्रतियोगिता सम्पन्न

    शेर्पा किदुगको खेलकूद प्रतियोगिता सम्पन्न

    न्यूयोर्क/अमेरिका
    शेर्पा किदुगको २३ औं खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । युनाइटेड शेर्पा एसोसिएशनले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । त्यसै अन्तरगत दुई साता अघि ग्रीष्मकालीन खेलकूद प्रतियोगिता सम्पन्न भएको हो ।
    बिभिन्न खेलमा भएको प्रतियोगितामा यस वर्षको भलिबल उपाधि सिन्धु समाजले हात पारेको थियो । भने तमु समाज न्युयोर्क दोश्रो भएको थियो । फुटबल तर्फ एन वाई एन एफ सि ले प्रथम पुरस्कार लिएको थियो भने युनाइटेड शेर्पा फुटबल क्लब दोश्रो स्थान ओगट्न सफल भएको थियो । ३५ वर्ष भन्दा माथि उमेर समुहको फुटबलमा प्रथम पुरस्कार एन वाई जि एफ सि (गुरुङ समाज) ले हात पारेको थियो । दोस्रो पुरस्कार घ्याल्सुम्दो सेवा संस्थाले लियो ।
    फुटबलको फेयर प्ले अवार्ड एन वाई जि एफ सी ले प्राप्त गरे भने ३५ वर्ष माथिको समुहको फेयर प्ले अवार्ड तामाङ् सोसाइटीले पाएको थियो । विजयी खेलाडीलाई नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, किदुगका अध्यक्ष उर्गेन शेर्पा, किदुगका ट्रस्टी संयोजक पेम्बा ग्याल्जेन शेर्पा, उपाध्यक्ष तथा खेलकूद संयोजक फुर्वा शेर्पा र युनाइटेड शेर्पा फुटबल क्लबका जेनेरल म्यानेजर छिरिङ् ग्याल्जेनले शील्ड, प्रमाणपत्र, ट्रफी र मेडल वितरण गरेका थिए ।
    न्युयोर्क शहरको दुईटा बेग्ला बेग्लै पार्कमा एकै साथ शुरु भएको प्रतियोगितामा फुटबल, भलिबल, १०० मिटर दौड, छेलो, पुरुष टग् अफ वार, महिला टग् अफ वार, स्पून रेस, स्याक् रेस, म्युजिकल चेयर लगायत थुप्रै खेलहरु खेलाइएको थियो । किदुगको गल्फ प्रतियोगिता एक महिना अघि नै सम्पन्न भएको थियो । खेलाडीको अत्यधिक चापका कारण बास्केटबल खेल दुई महिना पछि सारिएको छ ।
    ‘मिनी ओलम्पिक’ उपनामले चिनिने उक्त प्रतियोगितामा न्युयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कन्स्टेन्टटिनिडिसको प्रमुख आतिथ्यमा उदघाटन गरिएको थियो । कार्यक्रममा काउन्सिल मेम्बर कोस्टाले किदुगले आफ्नो मौलिक संस्कृति संरक्षणका लागि बिभिन्न कार्यक्रमहरु, शेर्पा भाषा, नेपाली भाषा, मौलिक नाचगानका कक्षाहरु, थुप्रै खेलकुद कार्यक्रमहरु संचालन गर्दै आएको बताएका थिए । किदुगले न्युयोर्क शहरमा उदाहरणीय काम गरेको भन्दै कोष्टाले खुलेर प्रसंसा गरेका थिए । कोष्टाले समाज सेवामा विशिष्ट योगदान पु¥याउने शेर्पा किदुगका पदाधिकारीलाई सिटी काउन्सिलका तर्फबाट कदर पत्र समेत प्रदान गरेका थिए । शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले काउन्सिल् मेम्बरलाई मायाको चिनो स्वरुप बुद्ध स्तुप प्रदान गरेका थिए ।
    महावाणिज्यदूत भट्टराईले खेलकूद लगायत विभिन्न कार्यक्रमहरु आयोजना गरी शेर्पा किदुगले नेपाली डायस्पोरामा एकता र सद्भाव बढाउन अग्रणी भूमिका निर्वाह गरिरहेको बताएका थिए ।

  • शेर्पा किदुगको पहलमा ज्याक्सन हाईट्स सफाई

    शेर्पा किदुगको पहलमा ज्याक्सन हाईट्स सफाई

    न्यूयोर्क/अमेरिका
    शेर्पा किदुगको आयोजनामा ज्याक्सन हाइट वरपर सरसफाई गरिएको छ । नेपालीे लगायत दक्षिण एसियाली मुलकका आप्रवासीहरुको बाक्लो बस्ती रहेको ज्याक्सन हाइट वरपरका सडक असाध्यै फोहोर भएकाले गत वर्षदेखि किदुगले सरसफाई कार्यक्रम गर्दै आएको हो ।
    गत शनिबार गरिएको सरसफाई कार्यक्रममा क्विन्स बोरोका डिस्ट्रिक २५ का काउन्सिलम्यान ड्यानियल ड्रोम, क्विन्सबोरोका काउन्सिलमेम्बर कोष्टा कन्स्ट्यानटिनिडिस र न्यूयोर्क राज्यको एसेम्लीवुमन क्याटलिना क्रुजको सहभागिता थियो ।
    वुडसाइड एभिन्युदेखि ३७ एभिन्यु सम्म ज्याक्सन हाइटको ६९ स्ट्रिटदेखि ७७ स्ट्रिट सम्मको सडक सरसफाई गरिएको हो । स्थानीय जनप्रतिनिध र नेपाली संघसंस्थाको प्रतिनिधिको उपस्थितिमा फोहोर नगरौं भन्ने चेतना समुदायमा फैलाउँदै सरसफाई कार्यक्रम गरिएको किदुगका अध्यक्ष उर्गेन शेर्पाले बताए । ‘ज्याक्सन हाइट वरपर सारै फोहोर भयो भनेर काउन्सिलमेम्बरहरु संग छलफल गर्दै सबै मिलेर सरसफाई गरेका हौं’ किदुगका अध्यक्ष शेर्पाले भने, ‘अमेरिकी जनप्रतिनिधिहरु पनि हामी संगै सहभागी भएका हुन् ।’
    गत वर्ष घरघरबाट निस्केको फोहोर ब्यवस्थापन आफैले गर्न सकिन्छ । रिसाइकल गर्न सकिने फोहोरहरु रिसाइकल लेखिएको बक्समा, कुहिने फोहोरलाई छुट्टै बक्समा फालौं भन्ने सन्देश लेखिएका पर्चा र पोस्टरहरु समेत बाँडिएको थियो । ‘तिनै पोस्टरहरु बाटोभरी फालेर फोहोर देखिएको पाएपछि यसपाली पर्चा, पम्लेटहरु बाँडेनौं’ उनले भने’ ‘ज्याक्सन हाइट वरपरका सडकमा यतिधेरै फोहोर भेटियो थियो कि अमेरिकी जनप्रतिनिधि हरु नै छक्क परे । त्यो पनि पोहोरको तुलनामा त अतिकति कम नै थियो ।’
    सडकमा चुरोटका ठूटा, खानाका प्लेट, फास्टफुटका बट्टाहरु, प्लाटिकका प्याकेट लगायत कतिपय ठाउँमा कुहिएर गन्हाएका फोहोरहरु पनि पाइएको उनले जनाकारी दिए ।
    काउन्सिल मेम्बर ड्रोमले किदुग र नेपालीहरुसंग लामो समयदेखि सहकार्य गर्दै आएको बताउँदै सुमदायमा जनचेतना जगाउने यस्ता कार्यक्रमहरुमा सहभागी हुन पाउँदा खुसी ब्यक्त गरे । एसेम्बली वुमन क्रुजले पहिलो पटक सहभागी हुन पाएकोमा खुसी लागेको बताइन् ।

  • भवन भट्टलाई जहाजबाहिर निकाल्दा ज्ञानेन्द्र शाहीलाई किन छूट ?

    भवन भट्टलाई जहाजबाहिर निकाल्दा ज्ञानेन्द्र शाहीलाई किन छूट ?

    काठमाडौं । भदौं पहिलो साता सिल्क एयरको जहाज चढेर त्रिभुवन विमानस्थलबाट सिंगापुर उड्ने क्रममा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई असामान्य व्यवहार देखाएको भन्दै पाइलटले जहाजबाट पठाए ।

    उक्त दिन भट्ट र उनका एक सहयोगीले मात्र जहाजमा असामान्य व्यवहार देखाएका थिए, दुबैजनालाई जहाज बाहिर निकालियो र प्लेन उड्यो ।

    शनिबार एक भीड नेपालगन्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई माथि आइलाग्यो । जहाज चढ्ने क्रममै उनीमाथि हातपातको प्रयास भएको थियो ।

    जहाज चढिसकेपछि भिडियो खिच्दै तथानाम भनिएको छ । यसको मूख्य कारण मन्त्रीले कुराएको थियो । यो भीडको नेतृत्व ज्ञानेन्द्र शाही नामक व्यक्तिले गरेका थिए ।

    उनी सामाजिक संजालमा खुलेआम राजतन्त्रको वकालत गर्ने र वर्तमान व्यवस्थापति वितृष्णा फैलाउने काम गर्छन् । सोही काण्डमा यस अगाडी समेत उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    नेपालगन्ज विमानस्थलका अनुसार बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण गरेको थियो । ६ः४८ मिनेटसम्म यात्रु झर्न, इन्धन भर्न, ब्यागेज निकाल्न, ब्यागेज राख्न, सरसफाई गर्न र नेपालगन्जमा यात्रु चढ्नसमेय लागेको थियो ।

    मन्त्री भट्टराई ६ः५८ मिनेट जाँदा जहाज भित्र छिरिसकेका थिए । करीव १० मिनेट यात्रुले अतिरिक्त समय कुर्नुपरेको थियो ।

    तर, मन्त्रीले मिल्ने भए रोक्नुस, नभए म नेपालगन्जमै बस्छु भनेर विमानस्थलका कर्मचारी तथा एयरलाइन्सलाई भनेका थिए ।

    अन्तिम उडान भएका कारण बुद्धले मन्त्रीका लागि १० मिनेट जहाज कुरेको थियो । मन्त्री चढिसकेपछि लफडा भयो र करीव १५ मिनेट ढिला गरी ७ः०६ मिनेट जाँदा जहाज उडेको थियो ।

    हवाई विज्ञहरु भवन भट्टभन्दा हवाई सुरक्षाका दृष्किोणबाट अराजक भीडको नेतृत्व गर्ने व्यक्तिलाई खतरनाक मान्छन् । यस्तो बेला पाइलटले आफ्नो अधिकार प्रयोग गरी अराजक भीडलाई जहाजबाट बाहिर निकाल्न समेत सक्छन् ।

    नेपाल सरकारका एक पूर्वसचिव भन्छन्, बरु जहाज रित्तो आउन सक्छ, तर जोखिम मोलेर उड्न पाइदैन ।

    यसो गरेको पाइए अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले जवाफ दिनु पर्छ । यो उडान सुरक्षा विपरितको काम हो ।

    त्यसो वायुसेवा संचालक संघ (आयोन) ले नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारलाई दुखद भनेको छ ।

    वायुयानभित्र शान्ति सुव्यवस्था र अनुशासन कायम राख्नु उडान सुरक्षा र हवाई सुरक्षा पक्षका लागि अपरिहार्य हुने भन्दै आयोनले शान्ती सुरक्षा र अनुशासन कायम राख्नु यात्रुको दायित्व हुने उल्लेख गरेको छ ।

    अन्तर्राष्ट्रिय मूल्य–मान्यता तथा मुलुक भित्रकै नागरिक उड्डयन सुरक्षा नियमावलीले समेत समेटेको विषय र यसको प्रतिकुल हुने व्यवहार नियन्त्रण गर्न कानूनी व्यवस्था समेत रहेको समेत रहेको भन्दै आयोगले कानूनी कारवाहीतर्फत पनि इंगित गरेको छ ।

    पाइलटलाई कुनै पनि यात्रुको व्यवहार असामान्य लागेमा जहाजबाट निकाल्न सक्ने अधिकार अन्तर्राष्ट्रिय कानूनहरुले दिएका छन् ।

    उता, मन्त्री भट्टराईको सचिवालयले समेत आइतबार साँझ विज्ञप्ती जारी गर्दै नियोजित रुपमा घटाइएको यो घटनाबाट विचलित नहुने उल्लेख गरेको छ ।

    आइतबार नै मन्त्रीले नेपालगन्ज घटनाबारे झूट बोलेको भन्दै पत्रकार सम्मेलन राखेका ज्ञानेन्द्र शाहीमाथि पत्रकार सम्मेलनकै दौरान हातपात भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । केही समयपछि उनलाई रिहा गरियो ।

  • दिल्लीमा दोहोरिने भो जोर बिजोर

    दिल्लीमा दोहोरिने भो जोर बिजोर

    भारतीय राजधानी नयाँ दिल्लीमा प्रदुषण  नियन्त्रण गर्ने हेतुले निजी सवारी साधनहरुलाई जोर बिजोर प्रणालीमा मात्र  सडकमा चलाउन दिईने भएको छ । गत शुक्रबार मुख्य मन्त्री अरबिन्द केजरिवाला सहितका अधिकारी सम्मिलित पत्रकार सम्मेलनमा आगामी नोभेम्बर महिनामा ११ दिनका लागि नयाँ दिल्लीका सडकमा जोर बिजोर प्रणालीमा फरक फरक दिन गाडी चलाउन दिईने बताईको हो । पत्रकार सम्मेलनमा यो नियमलाई निक्कै कडाईका साथ लागू गरिने जानकारी दिईयो । उक्त निर्णयले नयाँ डिल्लीको वायुको शुद्धतामा बृद्धी हुने विश्वास राज्य सरकारले लिएको छ ।   

    दिल्लीमा पहिलो पटक जोर बिजोर प्रणाली सन २०१६ मा शुरु गरिएको थियो । नयाँ दिल्ली संसारकै सबैभन्दा प्रदुषित शहर मध्येमा पर्दछ । प्रारम्भमा आगामी नोभेम्बर ४ देखि १५ सम्म लागू गरिने यो जोर बिजोर प्रणाली नियम प्रचारमा आए पछी भारतमा सामाजिक संजालमा ट्रोल बनाएर बिरोध गरिएको छ ।  

    एजेन्सी

  • म्याग्दीमा निर्माण उपकरणमा आगजनी, दोषीलाई कारवाही गर्न महासंघको माग

    म्याग्दीमा निर्माण उपकरणमा आगजनी, दोषीलाई कारवाही गर्न महासंघको माग

    भदौ २९, काठमाडौं 

    म्याग्दीस्थित बेनी नगरपालिका वडा नं. ५ स्थित बगुवाखोला नजिक अज्ञात समुहबाट तीनवटा स्काभेटरमा आगजनी गरिएको घटनाको नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ । महासंघका अनुसार निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा बीएन कन्स्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक नारायणघर्ती क्षेत्रीको स्वामित्वमा रहेका ती स्काभेटरमा भदौ २६ गते आगजनी गरिएको थियो । देश निर्माणमा होमिएका व्यवसायीहरुलाई आतंकित पारी पेशाबाटै पलायन गर्ने कुचेष्टाका साथ भएको आगजनीको घटनामा संलग्न दोषीलाई तत्काल कानूनी कठघरामा ल्याई आवश्यक कार्वाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन महासंघले जोडदार माग गरेको छ । “व्यवसायी र तिनका उपकरणको सुरक्षाको सवालमा महासंघले राज्यका सरोकारवाला निकाय सबैको पटकपटक ध्यानाकर्षण गराइरहेको सन्दर्भमा त्यस्ता घटनामा कमी नआउनु ठूलो चिन्ताको विषय हो” महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देशभरका निर्माण व्यवसायीहरु वर्तमान सरकारले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” को नारालाई साकार रुप दिन विभिन्न प्रतिकूलताका बीच अहोरात्र विकास निर्माणको लागि आफ्नो कार्य क्षेत्रमा खटिएको विज्ञप्तिमा उल्लेख छ । पूर्ण व्यवसायी मैत्री कानून तथा निर्माण सामाग्रीको अभाव, महंगी, चन्दा आतंक, सरकारी निकायबीचको समन्वयमा कठिनाई लगायतका समस्यासँग जुध्दै देशभरका व्यवसायीहरु कार्य क्षेत्रमा खटिएको अवस्थामा व्यवसायी र उनीहरुको उपकरणको सुरक्षामा चरम लापरवाही देखिएको महासंघले जनाएको छ ।  घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कार्वाही नगरिएमा महासंघ देशव्यापी रुपमा शशक्त आन्दोलन सुरु गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । भविष्यमा यस्तो अपराधिक घटना दोहोरिन नदिन र सामाजिक शान्ति सुरक्षा कायम राख्न आवश्यक पहलका लागि महासंघले सरकार समक्ष अनुरोध गरेको छ ।

  • दशैंको मुखमै फेरी शुरु भयो वर्षा

    दशैंको मुखमै फेरी शुरु भयो वर्षा

    काठमाडौं । नेपालको अधिकांश भूभागमा वर्षा शुरु भएको छ । यसपटक छिटो दशैं परेका कारण वर्षातले बाटो अझै बढी नराम्रोसँग प्रभावित हुने देखिएको छ ।

    बंगालको खाडीबाट आएको जलवाष्प युक्त वायुको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसले गर्दा केही देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ ।

    अहिले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य क्षेत्रका पहाडी भेग र पूर्व तथा पश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख गरिएको छ ।

    काठमाडौँ उपत्यकामा समेत वर्षा जारी रहेको छ ।

    आइतबार दिनभर देशका अधिकांश स्थानमा आंशिकदेखि समान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।

    रातमा सामान्य बदली हुनेछ। केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखाइएको छ ।

    राति पूर्वी तथा मध्य भूभागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ।

    यस पटक ११ असोजमै घटस्थापना रहेको छ । दशैंका लागि ५ असोजबाट अग्रिम टिकट बुकिंग खुल्दैछ ।

  • नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्रीको अपमान

    नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्रीको अपमान

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगन्ज विमानस्थलमा अभद्र व्यवहार भएको छ ।

    जहाजमा ढिला आएको भन्दै केही व्यक्तिले उनीमाथि गालिगलौज गर्दै भिडियो खिचेर सामाजिक संजालमा भाइरल बनाएका छन् ।

    उनीहरुको दावि मन्त्रीले १ घण्टा विमान कुराएको रहेको छ । यूट्यूवमा आफू राजवादी भएको भन्दै चर्चा कमाएका ज्ञानेन्द्र शाहीले मन्त्री भट्टराई माथि तथानाम बोल्दै उनलाई थर्काएका छन् ।

    तर, विमानभित्र बसेका मन्त्री भट्टराई भने एक शब्द पनि बोलेका छैनन् ।

    शनिबार राती काठमाडौं आइसकेपछि भने मन्त्री भट्टराईले अन्य यात्रु जहाजमा छिरिसकेपछि १५ मिनेट ढिला आफ्नो टोली विमानस्थल छिरेको स्वीकार गरेका छन् ।

    उनले जहाज भित्र आफूलाई पारस विरुद्ध ७ लाख हस्ताक्षर बुझाउने तै होइनस् भन्दै अपमानित गरेको समेत बताएका छन् ।

    डल्फिन महोत्सव सकेर आउँदा केही ढिला भएको र आइतबार संसदमा जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं फर्कनै पर्ने अवस्था रहेको उनले बताएका छन् १५ मिनेट यात्रुलाई कुराएकोमा मन्त्रीले माफीसमेत मागेका छन ।

  • तरुण दलको विवाद छताछुल्ल, अध्यक्ष र महासचिवले गरे एक अर्कालाई कारवाही

    तरुण दलको विवाद छताछुल्ल, अध्यक्ष र महासचिवले गरे एक अर्कालाई कारवाही

    काठमाडौं । नेपाल तरुण दलको विवाद छताछुल्ल भएको छ । शनिबार अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एक अर्कालाई कारवाही गरेको विज्ञप्ती सार्वजनिक गरेसँगै तरुण दल भित्रको विवाद सतहमा आएको हो ।

    दुबै नेताले शनिबार एकले अर्कालाई पदबाट बर्खास्त गरेको वक्तव्य सार्वजनिक गरेका छन् । अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाएका थिए ।

    उनले उक्त पत्रको बोधार्थ कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत पठाएको छन् । उक्त पत्रमा शाहीमाथि अनशासनको कारवाही गरेको उल्लेख छ ।

    शाहीले अनुशासनहिन कारम गरेका कारण हटाइएको अध्यक्ष बस्नेतको दावि रहेको छ । उक्त पत्र सार्वजनिक भएलगत्तै शाहीले महासचिवको हैसियतमा वक्तव्य जारी गरे ।

    उनले वक्तब्यमा अध्यक्ष बस्नेतलाई तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको उल्लेख गरे ।

    उनले बस्नेतमाथि अख्तियार घेराउ कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार नगरेको, बाढी पीडितको नाममा संकलन गरेको राहतमा घोटाला गरेको जस्ता संघीन आरोप समेत लगाएका छन् ।

    दुई नेताबीचको वक्तब्य बाजीसँगै अब तरुण दलको विवाद कांग्रेसले कसरी मिलाउँछ, त्यो भने महत्वपूर्ण विषय हो ।

  • आजबाट सोह्र श्राद्ध शुरु

    आजबाट सोह्र श्राद्ध शुरु

    काठमाडौं । शनिबारबाट हिन्दु धर्मावलम्बीहरुले पितृको सेवामा सोह्र श्राद्ध मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र श्राद्ध गरिन्छ ।

    शनिबार पहिलो दिन प्रतिपदा तिथिमा पर्ने श्राद्ध गरिन्छ । आज बिहान ९ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने पञ्चांक निर्णायक समितिले जानकारी दिएको छ ।

    सोहीकारण शनिबार बाटै सोह्रश्राद्धको काम प्रारम्भ भएको छ । सोह्र श्राद्धभर दिवङ्गत पितृलाई सम्मान गर्ने, तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस मासलाई सोह्र श्राद्ध भनिएको जानकारहरु बताउँछन् ।

    चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा रहेको छ ।

    नेपालीहरुको महान चाड बडादशैं र तिहार के मूखमा सोह्रश्राद्ध गरी पितृलाई खुसी बनाउने तथा सम्मान व्यक्त गर्न यो प्रचलन प्रारम्भ भएको हो ।

    सोह्रश्राद्धबाट पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने मान्यता रहेको छ ।

    सोह्रश्राद्धका अवसरमा काठमाडौँको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धाभावकासाथ श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ।

    सोह्र श्राद्ध सकिएकै भोलीपल्टबाट नवदूर्गा प्रारम्भ हुन्छ ।

  • संविधान दिवसको उपलक्ष्यमा ३४ हजारलाई अमेरिकी नागरिकता बितरण गरिंदै

    संविधान दिवसको उपलक्ष्यमा ३४ हजारलाई अमेरिकी नागरिकता बितरण गरिंदै

    न्युयोर्क   

    अमेरिकी सरकारले संबिधान दिवसको उपलक्ष्यमा ३४ हजार ३ सय जनालाई अमेरिकी नगरिकता बितरण गर्ने भएको छ ।  उक्त जानकारी आज शुक्रबार युएससिअाईएसद्वारा जारी सुचनामा जनाईएको छ । आगामी सेप्टेम्बर १३ तारिखदेखि २३ तारिख भित्र ३४ हजार ३ सय जनालाई देशभर आयोजित हुने ३१६ सपथ कार्यक्रम स्थलबाट नागरिकता बितरण गरिन लागिएको हो ।  

    अमेरिकाको संबिधान दिवस आगामी सेप्टेम्बर १७ तारिख मंगलवार हो । संबिधान दिवसको अवसर पारेर ३४ हजार गैह्र नागरिकलाई अमेरिकी नागरिक बनाउने निर्णयको प्रसंगमा युएससिअाईएसका कार्यकारी निर्देशक केन कुसिनिली भन्छन्; “२ सय ३२ बर्ष पहिले यो महान देशले संयुक्त राज्य अमेरिकाको संबिधानलाई आत्मसात गर्‍यो । यही समारोहलाई हामी संबिधान दिवस सप्ताह मनाउँछौ । मलाई लाग्छ हजारौं मानिस जो यो देशप्रति प्रतिबद्द र संबिधानप्रति बफादार छन, उनिहरुलाई अमेरिकामा स्वागत गर्दै संबिधान दिवस मनाउनु जत्तिको राम्रो कुरा अरु के होला र ?” 

    अमेरिकाले प्रत्येक बर्ष देशभर आयोजित गरिने सपथ कार्यक्रम मार्फत ६ लाख ५० हजारदेखि ७ लाख योग्य मानिसलाई अमेरिकी नागरिकता बितरण गर्दै आएको छ भने सन् २०१८ मा ५ बर्ष कै सबैभन्दा धेरै ७ लाख ५६ हजारलाई अमेरिकी नागरिकता बितरण गरेको थियो ।

  • बसन्त चौधरीको ‘बिश्व काब्य यात्रा’

    बसन्त चौधरीको ‘बिश्व काब्य यात्रा’

    न्यूयोर्क/अमेरिका
    प्रतिष्ठित ब्यवसायी तथा साहित्यकार बसन्त चौधरीको ‘विश्व काब्य यात्रा’ अन्तरगत १९ औं श्रृंखला न्यूयोर्कमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)न्यूयोर्क च्याप्टरको आयोजनामा गरिएको कार्यक्रममा गत बुधबार साँझ चौधरीले आफ्ना काब्यकृति बाचन गरेर सुनाएका थिए ।
    कार्यक्रममा नेपाली, नेवारी, तामाङ, हिन्दी, अंग्रेजी, बंगाली, मैथिली, भोजपुरी, मारवाडी भाषामा लेखिएकोे कबिता संग्रह ‘बसन्त’ को लार्कापर्ण गरिएको थियो । चौधरीको कृतिको लोकार्पण न्यूयोर्क राज्यका सिनेटर जोन सि लिउ, अनेसासका अध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसासकी पूर्व अध्यक्ष गीता खत्री र चौधरीले गरेका थिए ।
    चौधरीले बिश्व काब्य अन्तरगत बिभिन्न देश र मुलुक भित्रै पनि बिभिन्न ठाउँहरुमा आफ्ना काब्यकृति बाचन गर्दै आएका छन् । उनका शब्द रचनामा गाइएका गीतहरु निर्कै चर्चित बनेका छन् । राष्ट्रभक्ती र मायाको भाव बोकेका गीतका शब्दहरु युवा पुस्ताको ढुकढुकीमा बसेका छन् ।
    कार्यक्रममा चौधरीको जीबनबारे बनाइएको बृतचित्र प्रस्तुत गरिएको थियो । ब्यापारिक घरानासंग जोडिएका चौधरीको शोख ब्यापार भन्दा साहित्यमा बढी पाइन्छ । शिक्षाले नै समाज र देशलाई समृद्ध बनाउन सक्छ भन्ने मान्यता राख्ने चौधरीले दुई सय भन्दा बढी बिद्यार्थीलाई छात्रबृति प्रदान गरेर सफलताको शिखरमा पु¥याइसकेका छन् । चौधरीकै अध्यक्षतामा २०५१ मा स्थापित लुनकरणदास गंगादेबी चौधरी साहित्य कला मन्दिरले साहित्य र कलाका क्षेत्रमा योगदान पु¥याउने श्रष्ठाहरुलाई सम्मान गर्दै आएको छ । उनका मेगा र मेरा कबिताहरु नामक दुई वटा कबिता संग्रह प्रकाशित भएका छन् । भने नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी आठ वटा गीति एल्बम प्रकाशित भइसकेको छन् ।

  • गुण्डानाइके बस्न्यातका सहयोगी गुरुङलाई गोली हानेर समातियो

    गुण्डानाइके बस्न्यातका सहयोगी गुरुङलाई गोली हानेर समातियो

    काठमाडौं । प्रहरीले गुण्डानाइके समिरमान सिंह बस्न्यातका सहयोगी साजन गुरुङलाई गोली प्रहार गरी पक्राउ गरेको छ ।

    शुक्रबार काठमाडौंको गोलढुंगामा प्रहरीले गोली हानेर गुरुङलाई पक्राउ गरेको हो । नकोज भनिने गुरुङले जेल भित्र रहेका नाइके बस्न्यातका लागि काम गर्ने गरेको प्रहरीको दावि रहेको छ ।

    बस्न्यातसँगको साँठगाँठ रहेको आरोपमा गृहमन्त्री राम बहादुर थापा बादलका भाई नै प्रहरीबाट समातिएपछि उक्त समूहविरुद्ध प्रहरी आक्रामक भएको छ ।

    यसबीचमा प्रहरीले बस्न्यातका तीन जना सहयोगीलाई पक्राउ गरिसकेको छ ।

    बस्न्यात तिनै अपराधी हुन, जसले मोटो रकम मागेपछि नपाउँदा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेका थिए ।

    उनी अहिले केन्द्रीय कारागार सुन्धारामा कैद जीवन बिताइरहका छन् । तर, उनले जेल भित्रैबाट अपराध कर्म संचालन गरिरहेको प्रहरीको भनाई रहेको छ ।

    उक्त हत्याको मूख्य योजनाकारका रुपमा उनलाई प्रहरीले दोषि सावित गरी पक्राउ गरेको हो । घटनापछि भारतमा भागेका उनलाई प्रहरीले गत मंसिरमा पक्राउ गरेको थियो ।

    प्रहरीका अनुसार शुक्रबार गोली प्रहार गरी पक्राउ परेका गुरुङ तिनै समरमाका लागि काम गर्ने सहयोगी हुन ।

    उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले खुट्टामा गोली हानेको बताइएको छ ।

    उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले पुष्टी गरेको छ ।

    गुरुङले विभिन्न व्यवसायीलाई ज्यान मार्ने धम्की दिने गरेको थिए । प्रहरीका अनुसार उनले प्रहरीका उच्च अधिकारीहरुलाई समेत मार्ने धम्की दिने गरेका थिए ।

  • आज विदेशी पाहुनाका अगाडी देखाइदैछ इन्द्रजात्रा

    आज विदेशी पाहुनाका अगाडी देखाइदैछ इन्द्रजात्रा

    काठमाडौं । काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्रा । आज धुमधामका साथ मनाइदैछ ।

    उपत्यकाको विशेष सांस्कृतिक पर्वका रुपमा चिनियो यो पर्वका अवसरमा काठमाडौँ महानगरपालिकाले विदेशी पाहुनालाई नेपाल बोलाएको छ ।

    सरकारले उपत्यकामा सार्वजनिक विदा समेत दिने गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका सहरका प्रमुखसहित ४८ विशिष्ट विदेशी पाहुना जात्रा अवलोकनमा सहभागी हुने बताएको छ ।

    यसबाट काठमाडौंको प्रचार प्रसार हुनुका साथै भ्रमण वर्ष २०२० का लागि समेत महत्वपूर्ण सावित हुने विश्वास लिएको छ ।

    महानगरपालिकाका अनुसार जात्रा हेर्न चीन, भारत, बङ्गलादेश, भुटान र जापानका महानगरपालिकासँग भगिनी सम्बन्ध भएका १६ सहरका प्रमुख काठमाडौं आएका छन् ।

    विदेशी पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा दिइएको हो ।

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार कुमारी, गणेश, भैरवलाई रथमा राखी सहर परिक्रमा गराउने, लाखेनाच, पुुलुकिसि, दीप्याखँ, महाकाली नाच, श्रीहरिचोक आकाश भैरव नाचलगायत अन्य थुप्रै सांस्कृतिक र धार्मिक परम्परा प्रस्तुत गरिने इन्द्रजात्रा विश्वमा अन्यत्र कही पनि नमनाइने भएकाले विदेशी पाहुनालाई यो पर्व आकर्षक हुने बताए ।

    इन्द्रजात्रामा सहभागी पाहुनालाई विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य, स्वयम्भूमै रहेको प्राकृतिक सङ्ग्रहालय, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, चन्द्रागिरिलगायत महत्वपूर्ण स्थानको भ्रमण गराइने समेत तालिका रहेको छ ।

    वसन्तपुरस्थित कुमारीघरको वार्षिक पूजा र शान्तिस्वस्ति कार्य गरेर मङ्गलबारबाट इन्द्रजात्रा सुरु भएको छ ।

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी इन्द्रजात्रा पर्व मनाउने प्रचलन रहेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा निकै धुमधाम सहित मनाइन्छ ।

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।

    शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

    आज इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।

  • फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो

    फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो

    काठमाडौं । बलियो टोली उज्वेकिस्तानसँग ३-२ को गोल अन्तरमा नतिजामा सुम्पिएसँगै नेपाली महिला टोलीले ऐतिहासिक उपाधी जित्ने एक सूनौलो मौका गुमाएको छ ।

    यदी यो उपाधी जितेको भए नेपाली महिला फूटबलका लागि त्यो पहिलो अन्तर्राष्ट्रिय उपाधी हुने थियो । बिहीबार बिहीबार किर्गिस्तानमा भएको नाडेज्दा कपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो ।

    नेपाल विभिन्न अन्तर्राष्ट्रिय फूटबलको आठौं फाइनल खेलेको थियो । तर, आठौं फाइनलमा पनि उपाधीबाट परै रहनु पर्यो ।

    उज्वेकिस्तान नेपालभन्दा फिफा वरीयतामा ५७ स्थान माथि रहेको छ । यद्दपी महिला टोलीले बिहीबार उज्वेकिस्तानविरुद्ध उत्कृष्ट खेल पस्कदै दर्शक तथा समर्थकको मन भने जित्न सफल भएको छ ।

    नेपालले पहिलो हाफमा १ र दोस्रो हाफको प्रारम्भ मै दुई गोल खान पुग्यो । तीन गोलले पछाडी परेको नेपालका लागि सावित्रा भण्डारीले ६५ मिनेटमा उत्कृष्ट गोल गरेकी थिइन ।

    उनले ९० औं मिनेटमा पेनाल्टीबाट नेपालका लागि दो्रो गोल थपेपनि त्यतिन्जेल खेलमा फर्कन नेपाललाई ढिला भइसकेको थियो ।

    यस प्रतियोगितामा सावित्राले ७ गोल गर्न सफल भईन् । यससँगै उनकले देशका लागि ३३ अन्तर्राष्ट्रिय खेलमा ३५ औं गोलको कीर्तिमान पुरा गरेकी छिन् ।

    जससँगै उनले नेपालका लागि बढी अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरी समेत गरिन् । यसअघि अनु लामाले मात्र नेपालका लागि ३५ गोल गरेकी थिइन् ।

    यो प्रतियोगिता आगामी मंसिरमा नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा नेपालले लिएको छ । नेपाललाई समूह चरणमा पनि उज्वेकिस्तानले नै हराएको थियो ।

    समूह चरणमा नेपालले भने आयोजक किर्गिस्तानलाई ८-२ र ताजकिस्तानलाई १-० ले हराएर फाइनलमा पुगेको हो ।

  • कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण

    कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण

    काठमाडौं । बाँकेमा नेपाली कांग्रेसको जागरण अभियानमा नेकपा कार्यक्रताले आक्रमण गरेका छन् ।

    बाँकेको सीतापुरमा प्रतिपक्षी नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेको नेपाली कांग्रेस बाँकेले जानकारी दिएको छ ।

    घटनामा बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको बताइएको छ । अन्य कार्यक्रतासमेत घाइते भएका छन् । नेपाली कांग्रेसले विपि जयन्तीको अवसर पारेर देशव्यापी जागरण अभियान शुरु गरेको थियो ।

    राष्ट्रिय जागरण अभियानका दौरान खजुरा गाउँपालिका–२ सितापुरस्थित नेपाल रेडक्रसको हलमा भइरहेको कार्यक्रममा नेकपा कार्यक्रताले आक्रमण गरेको बताइएको छ ।

    उक्त कार्यक्रममा केही स्थानीय युवा कांग्रेसमा प्रवेश समेत गरेका थिए । सोही विषयलाई लिएर स्थानीय नेकपाका कार्यक्रताले आक्रमण गरेको बताइएको छ ।

    नेकपाको क्षेत्रमा कोही पनि कांग्रेस प्रवेश गर्न पाउँदैन भन्दै युवाहरुले कार्यक्रम विथाल्ने र तोडफोड गरेको बाँके कांग्रेसले बताएको छ ।

    कांग्रेसले घटनाको सत्य तथ्य पत्ता लगाएर कारवाही गर्न समेत आग्रह गरेको छ । पार्टीले उक्त घटनाको भत्सर्ना पनि गरेको छ ।

  • जोशीले गरे १ करोड सहयोग

    जोशीले गरे १ करोड सहयोग

    विश्व न्यूज संवाददाता
    अमेरिका ।
    गैर आवासीय नेपाली संघका अमेरिकाज क्षेत्रका संयोजक गौरी राज जोशीले गैर आवासीय नेपाली संघलाई १ करोड सहयोग गरेका छन् ।
    संघका अध्यक्ष भवन भट्टले संस्थालाई सहयोग गर्न सार्वजनिक आह्वान गरेका हुन् । उनको सो आह्वान सँगैं क्षेत्रीय संयोजक जोशीले सहयोग गरेका हुन् ।
    उनी आउँदो सम्मेलनमा सचिव पदका आंकाक्षी समेत हुन् । यसअघि हालका उपाध्यक्ष तथा अध्यक्ष पदका आंकाक्षी कुमार पन्तले समेत १ करोड सहयोग गरेका थिए ।

  • त्रिदेशिय ट्राभल शो नेपालमा

    त्रिदेशिय ट्राभल शो नेपालमा

    काठमाडौं । नेपाल इण्डिया चाइना एक्स्पो (नाइस) नेपालमा आयोजना हुने भएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो आयोजना गर्न लागिएको बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।

    भारत, चीन र नेपालका पर्यटनसँग सम्बन्धित व्यवसायी तथा सरोकारवालाको सहभागितामा हुने यस शोले भ्रमण वर्ष सफल बनाउन ठूलो भूमिका खेल्ने पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।

    यो मेला पाटाको आयोजनामा हुने छ । यसलाई भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डले सहयोग गरेका छन् ।

    मार्टका करीव १ हजार विदेशी पाहुना सहभागी हुने बताइएको छ । नेपालका लागि भारत र चीन सबैभन्दा ठूलो स्रोत बजार हुन् ।

    यी दुई मुलुकबाट मात्र नेपालले झण्डै ४ लाख पर्यटक वार्षिक भित्राइरहेको छ । उनीहरुका लागि नेपाल गन्तब्यमा पार्न यो मार्ट सफल हुने अपेक्षा गरिएको भ्रमण वर्ष संयोजक सुरज वैद्यले बताए ।

    उनले सकारात्मक समाचार प्रवाहले मात्र नेपालको ब्राण्डमा राम्रो प्रभाव पर्ने उनको भनाई छ । ट्राभल शो २१ देखि २४ फेब्रुअरीमा आयोजना हुने भएको छ ।

    शोमा २ सय भन्दा बढी क्रेता, १ सय बिक्रेता, चीन र भारतका ५० भन्दा बढी संचारकर्मी, १५ जना विज्ञ वक्तालाई आमन्त्रण गरिएको छ ।

    शोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटेल÷रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीहरुको सहभागिता हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिए ।

  • एउटै व्यक्ति बैंकर र व्यवसायी बन्न नपाउने, विधेयक दर्ता

    एउटै व्यक्ति बैंकर र व्यवसायी बन्न नपाउने, विधेयक दर्ता

    काठमाडौं । अब व्यवसायी र बैंकर एउटै व्यक्ति बन्न नपाउने प्रावधान ल्याउन लागिएको छ । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संसदमा दर्ता गरेको छ ।

    यो विधेयक पारित भए एउटै व्यक्ति अब बैंकर र व्यवसायी एउटै भूमिकामा रहन पाउने छैन ।

    विधेयकले बैंकर र व्यवसायी छुट्ट्याउने मात्र छैन, सञ्चालक र प्रमुख कार्यकारीको उमेर, सञ्चालकको योग्यता, सुशासनजस्ता विषयमा पनि स्पष्ट प्रावधान समेटिएको छ ।

    यो विधेयक पारित भए वित्तीय सुशासनमा निकै ठूलो उपलब्धी हुने बताइएको छ । किनकी एउटै व्यक्तिको बैंक र उसैको व्यवसायसमेत हुँदा ठूलो कर्जा स्वयम आफ्नै उद्योगमा लैजाने जोखिम धेरै हुने गरेको छ ।

    एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ समेत बाँझिने गर्छ । बैंकिङ क्षेत्रमा बैंकर र व्यवसायी छुट्टयाउन यस अघि नै पहल भएपनि विभिन्न स्वार्थ समूहको चलखेलका कारण सफल हुन सकेन ।

    संसदले नै यसअघि बाफियामा राखेको व्यवस्था झिकेको थियो । सांसदहरु स्वयमः व्यवसायीको एजेन्टका रुपमा प्रस्तुत हुने समस्या नेपालमा रहेको छ ।

    पहिलो पटक बाफियामा यो विषय नपरेपछि पहिलो संशोधनमा फेरी सोही विषय समेटिएको हो । भारतलगायत धेरै मुलुकमा एउटै व्यक्तिले बैंक र व्यवसाय संचालन गर्न नपाउने प्रावधान रहेको छ ।

    अब संचालकको समेत योग्यता तोकिदैछ । योग्यता अनुसार अब स्नातकोत्तर अनिवार्य गरिएको छ भने यस अघि कुनै न कुनै रुपमा वित्तीय संघसंस्थामा आवद्ध भई काम गरेको अनुभव भएको हुनुपर्छ ।

    विगतमा आफैं बैंक चलाउने र आफ्नै व्यवसायका लागि त्यसबाटै ऋण लिने गलत प्रवृत्तिका कारण धेरै बैंकहरु डुबेका थिए ।

  • ठूलो कारोबार गर्ने व्यक्ति अब सरकारको निगरानीमा

    ठूलो कारोबार गर्ने व्यक्ति अब सरकारको निगरानीमा

    काठमाडौं । ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थामाथि अब सरकारले निगरानी बढाउने भएको छ ।

    सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिका २०७६ ल्याउन लागेको सरकारले अब एक पटकमा २५ लाख र सो भन्दा माथिको कारोवार गर्ने व्यक्ति तथा संस्थामाथि निगरानी बढाउने भएको हो ।

    ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थाले तीन पुस्ते विवरण भरेपछि मात्र कारोकार गर्न पाइने गरी निर्देशिका ल्याउन लागेको कम्पनी रजिष्ट्रार कार्यालयको भनाई छ ।

    खासगरी जोखिमपूर्ण अवस्थाका व्यक्ति र उनीहरुको परिवारमा विशेष निगरानीमा राख्दै अब कम्पनीहरुले ठूलो कारोबारीको कारोबारमा कडाई गर्नु पर्ने भएको छ ।

    सरकारले कम्पनीहरुलाई जिम्मेवार बनाएर व्यक्ति तथा संस्थाको कारोबारमाथि निगरानी बढाउन लागेको हो ।

    वार्षिक १ करोडभन्दा बढीको र एक पटकमा २५ लाखसम्मको कारोबार गर्ने व्यक्ति तथा संस्थालाई ठूला कारोवारीको परिभाषामा राखिएको छ ।

    कारोबार गर्ने व्यक्ति वा संस्था वास्तविक धनी वा हिताधिकारी भए–नभएको पहिचानका लागि यस्तो नियम लागु गर्न लागिएको कार्यालयले उल्लेख गरेको छ ।

    अब कारोबारमा व्यक्तिको नाम, ठेगाना, जन्ममितिदेखि तीनपुस्ते विवरण अनिवार्य लिनु पर्ने र नलिए सम्बन्धित कम्पनीमाथि कारवाही हुने भएको छ ।

    पेशागत विवरण, परिवारको सदस्य उच्च पदीय हैसियतमा रहे–नरहेको समेत उल्लेख गरेपछि मात्र कारोबार गर्र्ने गरी निर्देशिका आउँदैछ ।

    यो निर्देशिका १ असोजबाट कार्यान्वयन गर्ने तयारी सरकारको रहेको छ । व्यक्ति तथा संस्थासँग उल्लेखित विवरण माग नगरी कारोबार गरे त्यसमा सजायको भागिदार सम्बन्धित कम्पनी हुने गरी कानून बताइएको छ ।

    सम्पत्ति शुद्धिकरणसम्बन्धी कानूनहरुले उच्च पदस्थ व्यक्तिहरुलाई जोखिमपूर्ण सूचीमा राखेका हुन्छन् । त्यसकारण उनीहरुको कारोबार बढी निगरानी गर्ने गरिन्छ ।

    अब कम्पनीहरुले उच्च पदस्थ व्यक्तिको पहिचान गरी उनीहरुको व्यक्तिगत विवरण नियमित रुपले अद्यावधिक गर्नुपर्ने कानून बन्दैछ ।

  • जेष्ठ नागरिकलाई हवाई भाडामा छूटबारे सुझाव दिन समिति गठन

    जेष्ठ नागरिकलाई हवाई भाडामा छूटबारे सुझाव दिन समिति गठन

    काठमाडौं । सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा छुट दिन गरेको घोषणा कार्यान्वयनका सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ ।

    पूर्वसचिव सूरेशमान श्रेष्ठको अध्यक्षतामा गठन भएको यस समितिले आन्तरिक उडानका सन्दर्भमा उठेका समग्र विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिने जिम्मेवारी पाएको छ ।

    खासगरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकको हवाई भाडामा ५० प्रतिशत छूट, हवाई भाडामा विदेशी र नेपालीलाई रहेको विभेद, नेपालमा हपाई इन्धन महंगो हुँदा वायुसेवा कम्पनीलाई परेको मर्काका विषयमा पनि सुझाव दिन समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

    समितिले सरोकारवाला निकायसँग छलफल गरी कार्यान्वयनको आधारसहित सुझाव दिने छ ।

    समितिमा अर्थ मन्त्रालयका सहसचिव, उद्योग मन्त्रालयका सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक, नेपाल वायुसेवा निगमका निर्देशकस्तरका प्रतिनिधि, लेखा विज्ञ सौरभ रिजाल र वायुसेवा संचालक संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।

    पर्यटन मन्त्रालय, हवाई उद्योग व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव सदस्य सचिव रहने गरी समिति बनाइएको हो । समितिले ३० दिनको समयावधि पाएकोछ ।

  • नेपाल–भारत पेट्रोलियम पाइपलाइन यसकारण नेपालको लाइफलाइन

    नेपाल–भारत पेट्रोलियम पाइपलाइन यसकारण नेपालको लाइफलाइन

    काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइन औपचारिक रुपमा सुरुवात भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले मंगलबार औपचारिक रुपमा सुरुवात गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीले आ–आफ्नो ठाउँबाट स्वीच थिचेर पाइपलाइनको सुरुवात गरेका हुन् ।
    नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गाइनले दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको बताए । अमलेखगञ्ज मोतिहारी पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री ओलीले सिंहदरबार र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीमा रहेको कार्यालयबाट संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गरे । दुवै प्रधानमन्त्रीले नेपालको बिकासमा यो पाइपलाइन लाइफलाइनको रुपमा परिणत भएको बताएका छन् ।
    भिडियो कन्फरेन्सिङ प्रविधिमार्फत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको मंगलबार दिउँसो उद्घाटन भएसँगै नेपालमा पेट्रोलियम पदार्थ आउन सुरु भएको छ । नेपालको अमलेखगञ्ज र भारतको मोतिहारी डिपोमा स्क्रिनको व्यवस्था गरेर दुवै देशका प्रधानमन्त्रीले गरेको उद्घाटनको दृश्य हेर्ने व्यवस्था मिलाइएको थियो । २०६१ सालमा नेपाल–भारतबीच भएको सम्झौताअनुसार पाइपलाइन निर्माण गरिएको हो । पाइपलाइनको ओली र मोदीले २०७४ सालमा संयुक्त रुपमा स्वीच थिचेरै शिलान्यास गरेका थिए ।
    पाइपलाइन ७० किलोमिटर लामो छ । नेपालतर्फ पाइपलाइनको लम्बाई ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको निगमका प्रवक्ता गोइतले जानकारी दिए । पाइपलाइनका लागि भारतले २ अर्ब २५ करोड भारतीय रुपैयाँ लगानी गरेको छ । नेपालले ७५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भए पनि लगानी भएन । पाइपलाइनबाट प्रतिघन्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउने निगमका प्रवक्ता गोइतले बताए ।
    निगमले मंगलबारदेखि नै दैनिक ४८ लाख लिटरसम्म डिजल पाइपलाइनबाटै आउने जानकारी दिएको छ । पाइपलाइनका कारण नेपालमा पेट्रोलियम पदार्थको भाउ सस्तो हुने अनुमान गरिएको छ । उद्घाटन कार्यक्रममा भारतीय आयल कर्पोरेसनका कार्यकारी निर्देशक अभिजित चौधरी र नेपालको तर्फबाट निगमका अधिकारीहरु दुई दिनअघि नै अमलेखगञ्ज पुगेका थिए । मंगलबारदेखि डिजल मात्र आउन थालेको छ । नेपालमा डिजलको माग धेरै भएकाले पाइपलाइनबाट सुरुमा डिजल मात्रै आउने भएको छ । अमलेखगञ्जबाट अहिले दैनिक २० लाख लिटर डिजल भित्रिने भएकाले अन्य क्षेत्रमा पनि यहीबाट डिजेल लैजान सकिने छ ।
    अमलेखगञ्जमा तेल भण्डारणका लागि ४१ लाख लिटरका दुई, ३९ लाख लिटरका २ समेतको १ करोड ६० लाख लिटर भण्डारण गर्नसक्ने ट्यांकीको व्यवस्था गरिएको छ । सुरक्षाका लागि पनि सबै प्रकारको व्यवस्थापन गरिएको छ । नापजाँच, तेल कन्ट्रोललगायतका लागि आवश्यक प्रविधि जडान गरेर काम थालिएको हो । नेपालमा डिजेलको मुल्य केहीदिनमा घट्ने अनुमान गरिएको छ । डिजेलको मुल्य घट्दा त्यसको सकरात्मक असर अनेक क्षेत्रमा पर्ने गर्छ ।
    पेट्रोलियम पाइपलाइनलाई नेपाली अर्थतन्त्रको हिसाबले निकै महत्वपूर्ण मानिएको छ । पटक–पटकको अवरोधलाई पन्छाउँदै आउने तेल नै ऊर्जाको मुख्य स्रोतको रुपमा रहेको थियो । तर मंगलबारदेखि नेपाली अर्थतन्त्रमा नयाँ अध्याय सुरु भएको छ । विकासको गतिले बिस्तारै भए पनि आफ्नो स्थान ओगटेको सम्बद्ध क्षेत्रका जानकारहरुले बताएका छन् । अर्थशास्त्री डा. चन्द्रमणी अधिकारीले नेपालको विकासमा दलहरु नै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
    भारतबाट आउने भनिएको रेलको चर्चा पाइपलाइनसँगै सुरु भएको छ । समयमा नै काम सम्पन्न भएकाले अहिले रेल सेवा पनि समयमै हुनेमा आशावादी देखिएको अर्थशास्त्रीहरुको भनाइ छ । चिनियाँ रेलको सपना देखेका आम नागरिकले भारतीय रेल सेवा काठमाडौँसम्म बिस्तार भएमा ठूलो राहत महसुस गर्ने थिए । त्यसले देशको आर्थिक विकासका लागि कोसेढुंगाकै रुपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ । निकट भविष्यमा हुने भनिएको भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणका बेला रेलका विषयमा ठोस सहमति हुने अपेक्षा गरिएको छ ।

  • सेनापतिको ऐतिहासिक निर्णय, पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक

    सेनापतिको ऐतिहासिक निर्णय, पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलो पटक सेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने परिपाटी थालेका छन् ।

    मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

    त्यस अवसरमा उनले आफ्नो १ वर्षे कार्यकालको प्रगति विवरण समेत सार्वजनिक गरे । पारदर्शीता कायम गर्न सम्पत्ति विवरण सार्वजनिक गरेको उनले उल्लेख गरे ।

    सेनाको वेवसाइटबाट प्रधानसेनापतिको सम्पत्ति विरण हेर्न सकिन भएको छ । सेनाभित्रको आर्थिक अनियमिततालाई क्रमशः छानविनको दायरामा ल्याउने प्रतिवद्धता समेत सेनापतिले गरे ।

    गलत प्रवृत्ति भए त्यसलाई सच्याउन ढिला गर्नु नहुने उनको भनाई थियो । तर, राम्रा संस्कारलाई भने जोगाउनु पर्ने उनले बताए ।

    विवरण अनुसार प्रधानसेनापतिको काठमाडौंमा तीन स्थानमा जग्गा रहेको छ । लमजुंग र नवलपरासीमा पनि उनले जग्गा रहेको उल्लेख गरेका छन् ।

    ५५ तोला सुन र ५ सय ९० तोला चाँदी उनीसँग रहेको विवरणमा उल्लेख छ । यसबाहेक हिराको हार र औठीसमेत रहेको छ । विभिन्न बैंकमा नगद तथा शेयर विवरणसमेत उनले आफ्नो सम्पत्ति विवरणमा भरेका छन् ।