Category: समाचार

  • कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज

    कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज

    काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले घरघरमा कुश भित्राएर आज कुशे औंसी मनाउँदैछन् । हरेक वर्ष भाद्र औंशीका दिन यो पर्व मनाइन्छ ।

    ब्राह्मणले विशेष पूजाआजा गरी भित्राएको कुशलाई आआफ्ना जजमानका घरमा पुरयाउने र त्यसवापत जजमानले दान दक्षिणा गर्ने प्रचलन रही आएको छ ।

    कुश केवल धार्मिक अनुष्ठानमा प्रयोग हुने वनस्पति मात्र होइन, यसको बहुआयामिक महत्व रहेको छ । वैज्ञानिक दृष्टिकोणबाट पनि कुशको विशेष महत्व रहेको छ ।

    देव तथा पितृ कार्यमा कुश अनिवार्य हुन्छ । कुश भगवान विण्णुको प्रतिक समेत मानिन्छ । त्यसकारण विण्णु विराजमान नभएको धार्मिक अनुष्ठान पुरा नहुने विश्वास रहेको छ ।

    आज बुबाको मुख हेर्ने दिन पनि हो । यस दिन काठमाडौंको गोकर्णमा ठूलो मेला लाग्छ । बुबा नहुनेहरुले यस स्थानमा पुगी स्वर्गीय पिताको नाममा श्राद्ध गर्छन् ।

    बुबा हुनेहरुले भने आफ्ना बुबालाई मिठो मसिनो खुवाएर यो चाड मनाउने प्रचलन छ । दुई दिन पछि तीजको दरखाने दिन ।

    सोहीकारण चेलीहरु माइतिबाट आफ्नो बुबालाई उपहार बोकेर आजै माइतितर्फ लाग्ने र तीज सकाएर घर फर्कने परम्परागत प्रचलन हो ।

  • कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, के के एजेण्डामा भयो छलफल ?

    कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, के के एजेण्डामा भयो छलफल ?

    काठमाडौं । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा सरकारविरुद्ध कडा रवैया अपनाउने सम्बन्धमा बहस शुरु भएको छ ।

    बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले बैठकमा राजनीतिक प्रस्ताव पेश गरे ।

    जहाँ भ्रष्टाचारका विभिन्न काण्डदेखि सरकारी सम्पत्तिको दूरुपयोग, विकास निर्माणमा भइरहेको ढिलासुस्ती, शान्ती सुरक्षा र सरकारले चालिरहेका कदमबारे आलोचना गरिएको छ ।

    संघदेखि प्रदेश र स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको भन्दै कांग्रेसले त्यसविरुद्ध कडा रणनीति अपनाउने सम्बन्धमा छलफल अगाडी बढेको बताएको छ ।

    कांग्रेसले वाइडबडी जहाज खरीद, सुन, चिनी, बालुवाटार र मेलम्ची काण्डका सम्बन्धमा सरकारले कमजोरी देखाइरहेको निष्कर्ष निकालेको छ ।

    संस्थागत भ्रष्टाचारका माध्यमबाट वित्तीय अनुशासन उल्लंघनका घटना बढिरहेको कांग्रेसको निष्कर्ष रहेको छ । लोकतान्त्रिक मूल्य मान्यतालाई मिच्दै सरकारले निरकुंशता देखाइरहेको समेत कांग्रेसले बताएको छ ।

    सिंगापुरमा रहेका प्रधानमन्त्रीले नेपालमा मन्त्रीपरिषदका सदस्यसँग गरेको भिडियो कन्फ्रेन्सका विषयमा पनि कांग्रेसले आपत्ति जनाएको छ ।

    बैठकमा नेताहरुले भ्रष्टाचारका मुद्दामा कांग्रेस समेत रक्षात्मक बन्दा जनताले आंशका गर्ने भन्दै त्यसविरुद्ध कडा रुपमा उत्रनु पर्ने बताएका थिए ।

  • बेलायती संसद निलम्बन, विपक्षीको विरोध

    बेलायती संसद निलम्बन, विपक्षीको विरोध

    लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई महारानी एलिजावेथ द्वितीयले अनुमति दिएसँगै अब बेलायतको संसद निलम्बन हुने भएको छ ।

    केही दिन मै औपचारिक रुपमा संसद विघटन प्रक्रिया शुरु हुने बेलायती संचारमाध्यमले उल्लेख गरेका छन् ।

    बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनका अनुसार संसद् निलम्बन भएपछि १४ अक्टोबरमा महारानीबाट देशका नाममा सम्बोधनको कार्यक्रम तय भएको छ ।

    संसद् भंग गर्ने सरकारको निर्णयविरुद्ध विपक्षी दलले भने कडा आलोचना गरिरहेका छन् । बेलायतमा विरोध प्रदर्शन गरिएको छ भने लाखौं हस्ताक्षर संकलन गरी सरकारलाई पठाइएको छ ।

    प्रधानमन्त्रीले भने यस कदमबाट अवरोध चिर्दै देश अगाडी बढ्ने उल्लेख गरेका छन् । बेलायत यूरोपेली यूनियनको सदस्यताबाट बाहिर निस्कने क्रममा छ ।

    सोही मौकामा संसद विघटन गर्न लागिएको हो । आगामी अक्टोबरमा बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिदैछ ।

    एजेन्सी

  • संविधान दिवसमा नेपाल नआउने भए मोदी, अमेरिका भ्रमणमा निस्कने

    संविधान दिवसमा नेपाल नआउने भए मोदी, अमेरिका भ्रमणमा निस्कने

    काठमाडौं । नेपालको संविधान दिवसमा नेपालको निम्ता स्वीकार गरी नेपाल आउन नसक्ने सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका छन् ।

    नेपालले भारतीय प्रधानमन्त्रीलाई ३ असोजका दिन मूख्य अतिथिका रुपमा आमन्त्रण गरेको थियो । एक साता अगाडी नेपाल आएका भारतीय विदेश मन्त्री डा. एस जयशंकरका साथमा नेपालले निम्ता पठाएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओली स्वयमःले भेट गरी निम्ता दिएका थिए । तर, भारत सरकारले भारतीय दूतावासमार्फत प्रधानमन्त्री कार्यालयमा मोदी आउन नसक्ने जानकारी पठाएको कार्यालय स्रोतको भनाई छ ।

    यस समय भारतीय प्रधानमन्त्रीको अमेरिका भ्रमण तय भएका कारण नेपाल आउन नसक्ने जानकारी भारत सरकारले गराएको बताइएको छ ।

    मोदी भारतीय समाजको सम्मेलनमा भाग लिन २ असोजमा अमेरिका पुग्ने भएका छन् । ७ असोजसम्म उनको अमेरिका भ्रमण तय भइसकेको छ ।

    वर्तमान नेपालको संविधानको कडा आलोचक भारत सरकारका मूख्य पात्रलाई संविधान दिवसकै दिन नेपाल ल्याएर सबैलाई चकित पार्ने सरकारको योजना भने यस पटकका लागि असफल भएको छ ।

  • खोकनाको मन्दिर जोगाएर बन्ने भयो द्रुतमार्ग

    खोकनाको मन्दिर जोगाएर बन्ने भयो द्रुतमार्ग

    काठमाडौं । खोकनास्थित सिकाली मन्दिर र प्राचिन सम्पदा कोदेश क्षेत्रको संरक्षण गर्दै काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण हुने भएको छ ।

    काठमाडौंका लागि प्रस्थानविन्दु ललितपुरको खोकना हो । तर, खोकनास्थित सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ डिजाइनमा द्रुतमार्ग बन्ने भएको छ ।

    यसअघिको डिजाइनमा मन्दिर र खोकनाको उर्वर जमिन मासिने भन्दै स्थानीयले विरोध जनाएका थिए । नया विस्तृत परियोजना प्रतिवेदनमा भने मन्दिर र जमिन संरक्षण गर्दै नयाँ डिजाइन तयार पारिएको हो ।

    नेपाली सेनाले सार्वजनिक गरेको डिजाइन अनुसार अब खोकना, महादेवटारदेखि लेनडाँडा क्षेत्रसम्मको रेखांकन परिवर्तन गरिएको छ ।

    नयाँ डिजाइन अनुसार खोकनामा ७८ रोपनी र फर्सिडोलमा ३० रोपनी जग्गा अधिग्रहण गरी दु्रतमार्गको संरचना बन्ने भएको छ ।

    नेपालको आर्थिक भविश्यसँग जोडिएका दुई आयोजना निजगढ विमानस्थल र द्रुतमार्ग हुन् । यी दुबै आयोजनालाई प्राथमिकता दिइएपनि विमानस्थलमा भने अपेक्षित प्रगति हुन सकेको छैन ।

    द्रुतमार्गको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । यसको लम्बाई ७२.५ किलोमिटर रहेको छ । आयोजना सम्पन्न गर्न १ खर्ब ७५ अर्ब लाग्ने सेनाको भनाई छ ।

    डीपीआरअनुसार द्रुतमार्गको कुल लम्बाइमध्ये ६.४१ किमी सुरुङमार्ग हुनेछ । १०.५५ किमी पुल र ५५.५ किमी सडक हुने छ ।

  • नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडियो

    नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडियो

    काठमाडौं । नेपाल र क्यारेवियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडिएको छ । यो देश भूगोलका हिसावले विश्वकै सानोमध्ये एक हो ।

    नेपाल र सेन्ट लुसियाबीच द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएसँगै अब नेपालको कुटनीतिक सम्बन्ध १६७ देशसँग जोडिनु पुगेको छ ।

    संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सेन्ट लुसियाका समकक्षी कोसमोस रिचार्डसनले बुधबार एक संयुक्त दस्तावेजमा हस्ताक्षर गरे ।

    जसले गर्दा सेन्ट लुसिया नेपालसँग कुटनीतिक सम्बन्ध राख्ने कान्छो देश बन्न सफल भएको छ ।

    करीव १ लाख ७० हजार मात्र जनसंख्या रहेको यो देशको क्षेत्रफल पनि ६१७ वर्ग किलोमिटर मात्र रहेको छ ।

    विश्वका सर्वाधिक साना मुलुकको सूचिमा १८ औं स्थानमा यो देश अटाएको छ । मूख्य आम्दानी पर्यटन रहेको यो देश ज्यालामुखी विस्फोटबाट उत्पन्न भएको टापुमा रहेको छ ।

    यहाँ लक्जरी रिर्सोट, आरामदायी र आकर्षक समुन्द्री किनारा रहेका कारण पनि विश्वका धेरै मानिस यो मुलुकको भ्रमण गर्न लालायीत हुन्छन् ।

  • नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?

    नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?

    काठमाडौं । नेपाल ओलम्पिक कमिटिको अध्यक्ष पदका लागि नेकपाका दुई नेताबीच भिडन्त हुने भएको छ ।

    कमिटीका तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र व्यवसायी नेता उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

    दुबै नेकपा निकट मानिन्छन् । २० भदौमा हुने निर्वाचनले नेतृत्वको टुंगो लगाउने भएको छ । मंगलबार उमेदवारी दर्ताको समयसम्म दुई जनाको मात्र उमेदवारी परेपछि भिडन्त श्रेष्ठद्धयबीच हुने भएको हो ।

    कमिटीमा पाँच जना उपाध्यक्ष रहने प्रावधान रहेको छ । यसका लागि भने आठ जनाले उम्मेदवारी दिएको कमिटीले जानकारी दिएको छ ।

    उपाध्यक्षमा ज्योति राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्रचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।

    महासचिवमा दुई जनाबीच भिडन्त हुने भएको छ । उक्त पदका लागि पुरेन्द्रविक्रम लाखे र निलेन्द्रराज श्रेष्ठको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा रतनकुमार टण्डन निर्विरोध भएका छन् ।

    उता, उपमहासचिवमा पनि पिताम्बर तिम्सिना निर्विरोध भए । सचिवमा भने ४ जनाको उमेदवारी परेको छ ।

    विधान अनुसार कमिटीमा तीन जना सचिव रहन्छन् । सात सदस्यका लागि हुने निर्वाचनमा ८ जनाको उमेदवारी दर्ता भएको छ ।

  • कांग्रेस केन्द्रिय समिति बैठक आज, के छन् एजेण्डा ?

    कांग्रेस केन्द्रिय समिति बैठक आज, के छन् एजेण्डा ?

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बुधबारका लागि आह्वान गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो २ बजेका लागि केन्द्रिय समिति बैठक बोलाइएको छ ।

    बैठकले भातृ संस्थाहरुलाई सक्रिय बनाउने सन्दर्भमा ठोस निर्णय हुने बताइएको छ । धेरैजसो भातृसंगठनको नियमित कार्यकाल समाप्त भइसकेको छ ।

    त्यसकारण भातृ संगठन सक्रिय छैनन् । यस अवस्थामा तीन संगठनको समय थप हुने या के गर्ने भन्ने सम्बन्धमा छलफल हुने एजेण्डा तय गरिएको छ ।

    महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको केन्द्रिय समिति बैठकमा बुधबारको एजण्डा पेश गरेका थिए । सोहीअनुसार बैठक बस्न लागेको प्रवक्ता शर्माको भनाई रहेको छ ।

  • सालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ लाख धरौटी

    सालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ लाख धरौटी

    काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टिभि प्रस्तोता रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले  आदेश दिएको छ ।

    अदालतले लामिछानेलाई ५ लाख, पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

    आत्महत्या प्रकरणमा मुछिएकी अर्की अभियुक्त रुकु कार्कीलाई भने साधारण तारेखमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो ।

    सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटीमा छाड्न आदेश दिएको हो ।

    आदेश लगत्तै उनीहरु अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भए । उनीहरु धरौटीमा छूटे पनि कानूनि प्रक्रियाका थप कदममा भने उनीहरु सहभागी हुनुपर्छ ।

    प्रहरीले १० दिनसम्म अनुसन्धान गरी पत्रकार पुडासैनीको आत्महत्या तीन जनालाई दोषि दावि गरिएको थियो ।

    अनुसन्धान सम्पन्न गरी प्रहरीले आइतबार जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहन गरेको मुद्दा दर्ता गरेको थियो । पत्रकार पुडासैनी २० साउनमा चितवनस्थित एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

    आत्महत्यापूर्व पुडासैनीले भिडियो बनाएर लामिछाने, कँडेल र कार्कीले दिएको टर्चर सहन नसकेर आफूले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

    भिडियो सार्वजनिक भएसँगै प्रहरीले ३० साउनमा उनीहरुलाई पक्राउ गरेको थियो । रवि लामिछाने पक्राउ भएसँगै हरेक दिन उनको समर्थनमा चर्को आन्दोलन भइरहेको थियो ।

    रवि धरौटीमा छूटे पनि उनी यस मुद्दाका सम्बन्धमा केही बोल्न र लेख्न भने नपाउने भएका छन् । उनको बैंक खाता रोक्का गर्ने प्रक्रियासमेत शुरु भइसकेको छ ।

  • जी-७ सम्मेलनका दौरान मोदी र ट्रम्प भेट्दै

    जी-७ सम्मेलनका दौरान मोदी र ट्रम्प भेट्दै

    फ्रान्स । जी-७ सम्मेलनका दौरान फ्रान्स पुगेका विश्वका दुई शक्तिशाली नेता नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता हुने भएको छ ।

    संचारमाध्यमहरुका अनुसार यस भेटवार्तामा मूख्यगरी कश्मीर मामलालाई लिएर कुराकानी हुने अनुमान गरिएको छ ।

    भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच जम्मु कश्मीर मुद्दापछि पहिलोपटक औपचारिक भेट हुन लागेको हो ।

    भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटलाई भारतमा पनि निकै महत्वका साथ हेरिएको छ ।

    यसबाट भारतले अमेरिकाको समर्थन प्राप्त गर्ने र पाकिस्तानलाई एक्लाउन सकिने भारतको विश्वास रहेको छ ।

    समाचार स्रोतका अनुसार राष्ट्रपति ट्रम्पले यस घटनापछि मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरिसकेका छन् ।

    एजेन्सी

  • चितवनमा निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन रोक

    चितवनमा निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन रोक

    चितवन । चितवनमा अराजक बन्दै गएको प्रदर्शन निरुत्साहित गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त जानकारी गराएको हो ।

    निषेधाज्ञा सोमबार बिहान ६ बजेबाट शुरु भएको छ । जिल्ला अदालत आसपास निषेधाज्ञा क्षेत्र तोकिएको हो ।

    पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्दा टिभी प्रस्तोता रवि लामिछानेको नाम लिएको भिडियो सार्वजनिक भएपछि उनी प्रहरीको अनुसन्धानमा तानिएका छन् ।

    प्रहरीले १० दिन लामो अनुसन्धानबाट आत्महत्या दुरुत्साहनमा लामिछानेको संलग्नता पुष्टी गर्दै आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता समेत गरेको छ ।

    सोमबारदेखि शुरु हुने रवीको बयान र थुनछेक वहसका दौरान भीडले अराजकता प्रदर्शन गर्न सक्ने भन्दै स्थानीय प्रशासनले कडाई थालेको हो ।

    प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिसकेको छ । यी तीनै जनाको नाम पुडासैनीको भिडियोमा लिइएको छ ।

    कार्यालयका अनुसार भरतपुरको पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

    जहाँ ५ जना भन्दा बढी मानिस भेला हुन पाइने छैन । पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

    उत्तरमा बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म तोकिएको छ ।

    दक्षिणको बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म पनि कुनै प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ ।

  • प्रचण्डको एकल नेतृत्वमा नेकपा सचिवालय बैठक बस्ने

    प्रचण्डको एकल नेतृत्वमा नेकपा सचिवालय बैठक बस्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका सिलसिलामा सिंगापुर रहेको मौकामै नेकपा अध्यक्ष प्रचण्डले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आह्वान गरेका छन् ।

    बैठक प्रचण्डको एकल नेतृत्वमा बस्ने भएको छ । यसअघि दुबै अध्यक्षले बैठकको अध्यक्षता गर्दै आएका थिए ।

    नेकपाको शक्तिशाली अध्यक्षका रुपमा प्रचण्डले पहिलो पटक एकल नेतृत्वमा बैठक आह्वान गरेका हुन् ।

    अर्का अध्यक्ष तथा प्रधानमन्त्री सिंगापुर उड्नु अगाडी बसेको बैठकले सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएको थियो ।

    सोमबार १ बजे बोलाइएको बैठकमा महानगरका पार्टी अध्यक्ष, सचिव तथा प्रवास कमिटीको परिपूर्तिका सम्बन्धमा छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ ।

  • रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

    रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

    काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा टिभि रवि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।

    उनीहरुविरुद्ध आइतबार आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोग लिएर प्रहरीले १० दिनसम्म यस घटनाको सुक्ष्म अध्ययन गरेको थियो ।

    आइतबार चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन गरेको मुद्दा दर्ता गरेको हो ।

    गत वर्षदेखि आत्महत्याको घटनामा दुरुत्साहतको मुद्दा आकर्षित हुने कानून कार्यान्वयनमा छ । त्यसकारण अब आत्महत्यालाई पनि हत्याको केशसँग जोडेर हेर्न थालिएको छ ।

    दुरुत्साहन प्रमाणित भए अधिकतम ५ वर्ष जेल र ५० हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ । चितवन प्रहरीका अनुसार मुद्दा दर्ता भएपछि आइतबार अभियुक्त कार्कसँग अदालतले वयान लिएको छ ।

    लामिछाने र कँडेलको वयान भने आइतबार हुन सकेन । त्यसकारण सोमबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः प्रहरी हिरासतमै राखिएको छ ।

    जिल्ला अदालतमा अभियोग लागेका तीन जनाकै वयान हुनेछ । त्यसपछि मात्र थुनछेक बहस प्रारम्भ हुने कानूनि प्रावधान रहेको छ ।

    पुडासैनीले चितवन पुगेर एक होटेलमा आत्महत्या गरेपछि अनुसन्धानका क्रममा उनको मोवाइलमा भिडियो रेकर्ड भेटिएको थियो ।

    जसमा उनले यी तीन जनालाई आफ्नो आत्महत्याको मूख्य कारण भएको बताएका थिए । त्यसपछि प्रहरीले तीनै जनालाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको थियो ।

    प्रहरीले टिभी प्रस्तोता लामिछानेलाई पक्राउ गर्नासाथ उनको समर्थनमा चितवनमा प्रदर्शन भइरहेको छ ।

    प्रहरी, राजनीतिक दल र प्रशासनले भने प्रहरीलाई निष्पक्ष छानविनमा असर पुग्ने गरी कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई सचेत समेत गराएको छ ।

    प्रहरीका अनुसार बरामद भिडियो अडिट भएको छैन । भिडियो बाहेक अन्य अनुसन्धानबाट पनि लामिछानेको संलग्नता पुष्टी हुने आधार फेला परेको प्रहरीले उल्लेख गरेको छ ।

    खासगरी कार्की र लामिछानेले पक्राउ अघि सार्वजनिक गरेको धारणा र पक्राउ पछिको धारणा फरक फरक पाइएपछि प्रहरीलाई थप प्रमाण मिलाउन बल पुगेको बताइएको छ ।

    पत्रकार पुडासैनी लामिछानेको कार्यक्रम सिधा कुरा जनतासँग जोडिएका थिए । नर्स कार्की भने पुडासैनीको केटीसाथी रहेको र उनीसँग राम्रो सम्बन्ध रहेको थियो । पुडासैनी भने विवाहित हुन् ।

  • प्रचण्डको चिन्ता पार्टी अनुशासनमा

    प्रचण्डको चिन्ता पार्टी अनुशासनमा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अनुशासनहिनता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीचको चर्काचर्कीको समाचार बाहिर सार्वजनिक भएपछि प्रचण्डले पार्टीमा अनुशासनको विषय उठाएका हुन् ।

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेताहरु जे मन लाग्यो, त्यही बाृल्दै हिड्ने गरेको बताए ।

    सामुहिक निर्णय उल्टाएर एकल निर्णय लिने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता पनि व्यक्त गरेका छन् ।

    उक्त प्रवृत्ति सच्याउनु पर्ने प्रचण्डको प्रस्ताव रहेको छ ।

    प्रधानमन्त्री स्वास्थोपचारका लागि सिंगापुर जानु अगाडी बसेको नेकपा सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री र नेता नेपालबीच भनाभन भएको थियो ।

    वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्दैगर्दा प्रधानमन्त्रीले तपाईको शुभकामना चाहिँदैन भन्ने सम्मको अभिव्यक्ति दिएका थिए ।

    त्यसपछि दुई नेताबीच चर्काचर्कीले उग्ररुप लिएको थियो । अर्कोतर्फ केही नेता सामाजिक सञ्जालबाट पनि भिडिरहेका छन् ।

    खासगरी नेकपा भित्र पुरानो पार्टी निकट शीर्ष नेताको निकट रहेर अर्को नेताविरुद्ध टिकाटिप्पणी गर्ने प्रवृत्ति मौलाएको हो ।

    उता, वरिष्ठ नेता नेपालले भने ओली र आफूबीचको भनाभनलाई श्रीमान श्रीमतीको झगडाको संज्ञा दिएका छन् ।

    नेकपा नेता देवेन्द्र पौडेल सुनिलले पनि माधव नेपालको फरक मत नेकपाका लागि सम्पत्ति भएको उनले बताएका छन् ।

  • सम्पत्ति सुद्धिकरण मामलामा भारतका पूर्व अर्थमन्त्री चिदम्बरम पक्राउ

    सम्पत्ति सुद्धिकरण मामलामा भारतका पूर्व अर्थमन्त्री चिदम्बरम पक्राउ

    नयाँ दिल्ली । सम्पत्ति सुद्धिकरणका माध्यमबाट भ्रष्टाचार गरेको अभियोगमा भारतका पूर्वअर्थमन्त्री पी. चिदम्बरम पक्राउ परेका छन् ।

    भारतीय केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले बुधबार मध्यरातमा उनलाई घरबाटै पक्राउ गरेको थियो ।

    पक्राउ गर्ने समयमा ठूलो संख्यामा समर्थक उनको घरबाहिर भेला भएका थिए । प्रधानमन्त्री मनमहोन सिंहको पालामा अर्थमन्त्री बनेका उनी भारतका चर्चित अर्थमन्त्री पनि हुन् ।

    उनलाई बिहीबार अदालतमा उपस्थित गराउने तयारी छ । १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी ब्यूरोले गरिरहेको छ ।

    उनले अग्रीम जमानतको याचिका दिल्ली उच्च अदालतमा गरेको भएपनि अदालतले उनको याचिक अस्वीकार गर्यो ।

    त्यसपछि उनी पक्राउ परेका हुन । मिडिया प्रविधि कम्पनी आईएनएक्स काण्डमा उनी मुछिएका छन । उक्त कम्पनीमा विदेशी लगानी स्वीकृत गर्ने विषयमा आर्थिक अनियमितताको आरोप उनीमाथि लागेको छ ।

    करीव २४ घण्टा सम्पर्क विहिन अवस्थामा रहेका पी चिदम्बरम बुधबार अकस्मात कांग्रस मूख्यालय पुगी पत्रकार सम्मेलन गरेका थिए ।

    उनले आफूमाथि लागेको आरोपको खण्डन गरेका थिए । पत्रकार सम्मेलन गरी घर फर्कना साथ ब्यूरोले उनलाई पक्राउ गर्यो ।

    भारतमा पछिल्लो समय भ्रष्टाचार आरोपमा मुद्दा चलाइएको उनी हाइप्रोफाइल व्यक्ति हुन् ।

    यस घटनाले आगामी दिनमा ठूलो राजनीतिक तरंग समेत ल्याउने आंशक विश्लेषकहरुले गरेका छन् ।

    नरेन्द्र मोेदीको दोस्रो कार्यकालमा केही ठूला काण्डहरुको फर्दाफास हुने अनुमान यसअघि नै गरिएको थियो ।

    एजेन्सी

  • भारतीय विदेशमन्त्री पशुपति दर्शनमा, आजै स्वदेश फर्कने

    भारतीय विदेशमन्त्री पशुपति दर्शनमा, आजै स्वदेश फर्कने

    काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा. एस जयशंकरले पशुपतिनाथ भगवानको दर्शन गरेका छन् । त्यहा उनले पारिजातको विरुवा समेत रोपेका छन् ।

    बिहावार बिहान पशुपतिनाथ दर्शन गरी अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    उनी बुधबार बिहान नेपाल आइपुगको हुन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकर बुधबार पनि उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।

    बुधबार करीव १ घण्टा प्रधानमन्त्री केपी शर्मा ओली र जयशंकरबीच छलफल भएको थियो ।

    छलफलमा द्धिपक्षीय सम्बन्धका धेरै विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ ।

    जयशंकर बिहीबार ३ बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ । यसअघि बुधबार उनले नेपाललाई निकै लामो समयदेखि थाती रहेका प्रतिवद्धताको रकम हस्तान्तरण गरी फकाउने प्रयास गरेका छन् ।

    भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि दिने भनेको १ खर्ब रुपैयाँमध्ये बुधबार करीव साढे दुई अर्ब रुपैयाँको चेक हस्तान्तरण गर्यो ।

    भारतीय राजदूत संजिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवालीलाई रकम हस्तान्तरण गरेका थिए ।

    उता, भारतले हुलाकी सडकका लागि सवा १ अर्बको चेक समेत बुधबार नै भौतिक सचिव देवेन्द्र कार्कीलाई हस्तान्तरण गरेको छ ।

    यी दुबै कार्यक्रम परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र समकक्षी जयशंकरको उपस्थितिमा भएको थियो ।

    नेपालमा भूकम्पपछि भारतले नाकाबन्दी लगाउँदा त्यसको मूख्य जिम्मेवारी जयशंकरलाई मानिएको थियो ।

    त्यसबेला उनी भारतीय विदेश सचिवको जिम्मेवारीमा थिए । त्यसपछि पहिलो पटक नेपाल आएका उनले सम्बन्ध सुधारको प्रयास थालेका हुन् ।

  • घरेलु कामदारलाई पुनः श्रम स्वीकृति खुला

    घरेलु कामदारलाई पुनः श्रम स्वीकृति खुला

    काठमाडौं । विदेशमा घरेलु कामदारका रुपमा काम गरी नेपाल फर्किएका कामदारले पुनः श्रम स्वीकृति पाउने बाटो खुलेको छ ।

    प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारमा काम गरी स्वदेश फर्किएको व्यक्ति पुनः वैदेशिक रोजगारीमा जान चाहे तोकिएका शर्त पूरा गरी जान सक्ने गरी खुला गरेको छ ।

    यसअघि समितिले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिने काम रोक्न निर्देशन दिएको थियो ।

    अब पुनः श्रम स्वीकृतिमा जान चाहे कामदारले काम, तलब र अन्य सेवा सुविधा संतोषजनक रहेको अवस्थामा पुनः विदेश जान चाहेको स्वःघोषणा गरे पुनः श्रम स्वीकृति दिन सकिने निर्णय गरेको हो ।

    यो निर्णय एक पटक गएर फर्किएपछि पुनः जान चाहने कामदारका लागि मात्र हो । नयाँ घरेलु कामदार पठाउने सम्बन्धमा रहेको रोक भने जारी नै रहनेछ ।

    नेपालबाट महिलाहरु बढीजसो घरले कामदारका रुपमा जाने गरेका छन् ।

    काम गरेको स्थानमा कामदारलाई राम्रो सेवा सुविधा र इज्यतिलो काम प्राप्त हुँदाहुँदै पनि रोक्दा धेरै कामदार समस्यामा परेको भन्दै खुला गर्नुपर्ने श्रममन्त्री गोकर्ण विष्टको भनाई छ ।

    वैधानिक बाटोबाट जान चाहे पुनः श्रम स्वीकृति दिनुपर्ने उनको भनाई छ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित देशमा घरेलु कामदारसम्बन्धी कानून नबनेसम्म र नेपालले ती मुलुसँग श्रम सम्झौता नगरेसम्म घरेलु कामदार पठाउन बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।

    सोही अनुसार नेपालबाट घरेलु कामदार जान बन्द भएको छ ।

    बुधबारको बैठकमा समितिले सरोकारवाला निकाय सबैलाई बैठकमा डाकेको थियो । सबै निकायले पुनः श्रम स्वीकृतिका लागि अनुमति दिनुपर्ने धारणा राखेका थिए ।

  • फेरी बिबाहित जोडी होटेलमा भेटिए मृत

    फेरी बिबाहित जोडी होटेलमा भेटिए मृत

    काठमाडौं । सामाजिक विकृति र विसंगतिको अर्को भयाभह अवस्था बुधबार पुनः अर्को एक घटना सार्वजनिक भएको छ ।

    काठमाडौंको नयाँ बसपार्कमा बुधबार एक जोडी मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

    बसपार्कस्थित एक गेस्ट हाउसको कोठामा चितवन घर भएका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिना बजगाईं मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले पुष्टी गरेको छ ।

    घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीको भनाई रहेको छ । प्रहरीका अनुसार नग्न अवस्थामा उनीहरुको शव फेला परेको छ । खाटमुनी यूवति र खाटमाथि यूवकको शव भेटिएको प्रहरीको भनाइ छ ।

    कोठामा उडुस मार्न प्रयोग हुने विषादी फेला परेको र मदिराका बोत्तलसमेत बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    प्रहरीले शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाएको छ। प्रहरीका अनुसार दुबै विवाहित थिए । महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

    प्रहरीका अनुसार, मंगलबार राती ११ बजे होटल छिरेका यी जोडीले विहान खाना खाने समयमा ढोका नखोलेपछि होटेलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले ढोका खोलेर हेर्दा नग्न अवस्थामा उनीहरुको शव फेला परेको हो ।

    केही साता अगाडी मात्र काठमाडौंमै एक विवाहित महिला परपुरुषसँगको प्रेमका कारण दुबै जनाले आत्महत्या गरेको अवस्थामा भेटिएका थिए ।

  • सुदूरपश्चिममा गौराको बिदा

    सुदूरपश्चिममा गौराको बिदा

    धनगढी । प्रदेश सरकारले सुदूरपश्चिममा गौरा पर्वका दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

    ६ भदौ, शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिदा दिने निर्णय भएको सार्वजनिक गरेको छ ।

    सरकारको उक्त निर्णयसँगै शुक्रबार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा हुने भएको छ ।

    यस भेगमा गौरालाई दशैंभन्दा पनि महत्वपूर्ण चाडका रुपमा मान्ने प्रचलन रहेको छ । शिव र पार्वतीको विशेष पूजा आरधना गरी यो पर्व मनाउने प्रचलन रहेको छ ।

  • आजदेखि नेपाल-भारत संयुक्त आयोगको बैठक

    आजदेखि नेपाल-भारत संयुक्त आयोगको बैठक

    काठमाडौं। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आजबाट काठमाडौंमा शुरु हुँदैछ ।

    अपरान्ह तीन बजेबाट बैठक प्रारम्भ हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    यस बैठकमा भाग लिन भारतीय विदेशमन्त्री डा. यस जयशंकर आज काठमाडौं आउने कार्यक्रम रहेको छ । बैठक बिहीबार सकिने भएको छ ।

    जय शंकरले नेपालमा रहँदा उच्चस्तरीय भेटवार्ता समेत गर्ने भएका छन् । उनले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक भेटवार्ता गर्नेछन् ।

    भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकाल सम्हालेपछि भारत सरकारका शक्तिशाली मन्त्री नेपाल आउन लागेका हुन ।

    उनको भ्रमण कश्मीर मुद्दामा नेपालको समर्थन प्राप्तीमा समेत भूमिका खेल्ने बताइएको छ । यस मामलामा नेपालले अहिलेसम्म मूख खालेको छैन । नेपाल पर्ख र हेरको रणनीतिमा रहेको छ ।

    संयुक्त बैठकको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी जयशंकरले संयुक्त अध्यक्षता गर्ने कार्यक्रम रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

    बैठकमा नेपाल र भारतबीच राजनीतिक सम्बन्ध, सीमा सुरक्षा, भौतिक विकास र पूर्वाधारका धेरै आयाममा छलफल हुने मन्त्रालयको भनाई रहेको छ ।

  • रवि लामिछाने अझै ५ दिन प्रहरी हिरासतमा

    रवि लामिछाने अझै ५ दिन प्रहरी हिरासतमा

    चितवन । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका टिभि प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई जिल्ला अदालत चितवनले थप पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।

    जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    बयान नसकिएका कारण उनीहरुलाई हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

    न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो।

    उनीहरुलाई ३० साउनमा पक्राउ गरिएको थियो । त्यसपछि अदालतले ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    त्यसको म्याद सोमबार सकिएको थियो । त्यसपछि मंगलबार तीनै जनालाई म्याद थपका लागि अदालत लगिएको थियो ।

    उनीहरुविरुद्ध आत्महत्यका लागि दुरुत्साहनको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    पत्रकार पुडासैनीले चितवन पुगेर आत्महत्या गर्नुअघि बनाएको भिडियोमा यी तीन जनालाई आत्महत्याको मूख्य कारण मानेका छन् ।

    त्यसपछि पुडासैनीको परिवारले तीनै जना विरुद्ध किटानी जाहेरी समेत दिइसकेको छ । टीभी प्रस्तोता लामिछाने सिधा कुरा जनतासँग नामक कार्यक्रमका संचालक हुन ।

  • सिंहदरवार भित्रै कर्मचारीद्धारा विष सेवन गरी आत्महत्या

    सिंहदरवार भित्रै कर्मचारीद्धारा विष सेवन गरी आत्महत्या

    काठमाडौं । देशको सबैभन्दा ठूलो तथा मुख्य प्रशासनिक केन्द्र मै कर्मचारीले विष सेवन गरी आत्महत्या गरेका छन् ।

    राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी आफनो कार्यकक्षमै मृत अवस्थामा भेटिएको प्रहरीले पुष्टी गरेको छ ।

    उनले विष सेवन गरेको र साथबाट सुसाइड नोट समेत फेला परेको प्रहरीको भनाई छ ।

    केसीले सुसाइट नोटमा अंशबन्डाको विषय उल्लेख गरेको प्रहरीले जनाएको छ ।

    श्रीमतीको नाम सम्बोधन गरेर लेखिएको नोटमा थोरै अंश पाइयो भनेर चिन्ता नगर्न सुझाव दिएको नोट प्रहरीले फेला पारेको छ ।

    घरायसी विवादका कारण तनावमा आइ आत्महत्या गरेको हुन सक्ने आंशका छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    उनले आफुुले कसैका कारण पनि आत्महत्या नगरेको भन्दै अर्को अर्थ नलगाउन समेत नोटमा लेखेको प्रहरीले बताएको छ ।

    उनको शव भेटिएको स्थान नजिकै कृषि बालीमा प्रयोग किटनाशक औषधिको खोल र केराको बोक्रा भेटिएको थियो ।

    उनले केरासँगै विष सेवन गरेको आंशका प्रहरीको छ । उनी कीर्तिपुरका स्थायी बासिन्दा रहेको बताइएको छ ।

    सिंहदरवार परिसर भित्रै आत्महत्याको यो भने पहिलो घटना हो ।

    पछिल्लो समय श्रृंखलावद्ध रुपमा बढेको आत्महत्याको खबरले समाजलाई चिन्तित बनाइरहेको छ ।

  • मेलम्चीको नयाँ ठेक्का लाग्यो, कहिले आउँछ काठमाडौंमा पानी ?

    मेलम्चीको नयाँ ठेक्का लाग्यो, कहिले आउँछ काठमाडौंमा पानी ?

    काठमाडौं । इटालियन ठेकदार सीएमसी पुरै काम सम्पन्न नगरी भागेपछि बन्द रहको गौरवको आयोजना मेलम्ची खानेपानीको सम्पन्न हुन बाँकि कामका लागि ठेक्काको टुंगो लागेको छ ।

    आयोजनाका अनुसार अब यो काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गर्ने भएको छ । माथिल्लो तामाकोशीको काम फटाफट गरेर नाम कमाएको यो कम्पनीले अन्य धेरै जलविद्युत आयोजनाको पनि ठेक्का पाएको छ ।

    मेलम्ची खानेपानी आयोजनाले दुई वटा प्याकेज विभाजन गरी ठेक्का लगाएकोमा तर, दुबै ठेक्का सिनोकै पोल्टामा परेको हो ।

    त्यसो त मेलम्चीको शुरुमै ठेक्का लगाउँदा सीएमसीभन्दा पछाडी सिनो थियो । सबैभन्दा कम मूल्य कबोल गरेका कम्पनीमध्ये सिनो छनोट भएको हो ।
    आयोजनाको मूख्य काममा सीनो आएपनि अन्य ससाना काम भने स्थानीय पुरानै ठेकेदारबाट काम भएरहेको छ ।

    ठूलो काम अन्तर्गत पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्ग, कफर ड्याम डिजाइन र निर्माण, पहुँचमार्गमा स्टिल ब्रीज निर्माणजस्ता काम गर्नुपर्छ ।

    सुरुङमार्गमा भने सुरुङको अन्तिमको काम र संरचना, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङको काम सकाउन बाँकि छ ।

    सबै तयारीको काम सक्न पनि अझै डेढ वर्ष कम्तिमा लाग्ने देखिएको छ । किनकी आयोजनाले बोलपत्र माग्दा नै हेडवर्कको काम १५ महिना र सुरुङको काम १२ महिनामा सक्ने गरी मागेको थियो ।

    सरकारले चालु आवमा ७ अर्ब ३९ करोड बजेट मेलम्चीका लागि छुट्याएको छ । त्यसकारण पनि काठमाडौंमा अझै डेढ वर्ष मेलम्चीको पानी पिउन पाउने सम्भवना देखिदैन ।

  • सुदूरपश्चिमको दशैं गौरा शुरु

    सुदूरपश्चिमको दशैं गौरा शुरु

    काठमाडौं । सुदूरपश्चिमेलीका लागि दशैं जत्तिकै महत्वपूर्ण पर्व गौरा मंगलवारबाट सुरु भएको छ।

    माता पार्वतीको सम्झानामा यो पर्व मनाउने प्रचलन रहेको छ । पौराणिक कालमा भगवान शिव महेश्वरलाई पाउन गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरेको किंवदन्ती रहेको छ ।

    उनको तपश्याबाट शिवसँग विवाह भएको मान्यता अनुसार सोही समयदेखि शिव पार्वर्तीको पूजा आरधना गर्ने प्रचलन रहको छ ।

    यो पर्व सुदूरपश्चिम भर पुरै र भारतका केही क्षेत्रमा समेत मनाउने गरिन्छ । उत्तराखण्डको, कुमाउँ प्रदेशमा गौरा विशेष महत्वका साथ मनाउने प्रचलन रहेको छ ।

    भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न गतिविधिका साथ यो पर्व मनाउने प्रचलन रहेको छ ।

    पहिलो दिन महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर घरघरमा पर्व थालनी हुने गरेको छ । महिला निराहार बस्छन् ।

    गहुँ, केराउ, गहत, मास र गुरुसलाई बिरुडा भन्ने मान्यता रहेको छ । दोस्रो दिन सामूहिक रुपमा बिरुडालाई धुने गरिन्छ ।

    त्यसका लागि नजिकको पानीको स्रोतमा पुग्ने गरिन्छ । सप्तमीमा भने गौरा देवी स्थापना गरि पुजा–अर्चना गरिन्छ ।

    अष्टमीका दिन व्रतालु महिलाले खास विधिविधानपूर्व पूजा गर्छन् ।

    बिरुडालाई यसै दिन प्रसादका रुपमा ग्रहण गरिन्छ र घर परिवारका सदस्यको टाउकोमा पुजने प्रचलन रहेको छ । यस पर्वका लागि देश विदेशमा रहेका आफन्त घर फर्कने प्रचलन हुन्छ ।

  • उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक

    उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका सिलसिलामा पुनः सिंगापुर जाने भएका छन् ।

    उनी आगामी बिहीबार सिंगापुरतर्फ जाने तय भएको हो । त्यसअगाडी प्रधानमन्त्रीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक आह्वान गरेका छन् ।

    बालुवाटार स्रोतका अनुसार उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आह्वान गरेका छन् ।

    पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर चासो बढिरहको छ । उनले पनि सार्वजनिक कार्यक्रमहरुमा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा खुलेर बोलिरहेका छैनन् ।

    संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दलको प्रतिनिधित्व रहेको छ ।

    प्रधानमन्त्री दुई साता अगाडी मात्र करीव ९ दिन सिंगापुर मै बसेर उपचार गरी घर फर्किएका थिए ।

    तर, स्वास्थ्यमा लगातार समस्या देखिएपछि उनी पुनः विदेश जाने तयारीमा छने ।

    नजिकिएको उपनिर्वाचन, सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा पदाधिकारीको नियुक्तिजस्ता विषय पनि सर्वदलिय बैठकको एजेन्ण्डा बन्न सक्ने बताइएको छ ।

    यसबाहेक प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था बारे दलहरुलाई जानकाररी समेत गराउन सक्छन् ।

  • बढ्दैछ दूधको भाउ

    बढ्दैछ दूधको भाउ

    काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । मूल्य बढाउने या नबढाउने भन्ने सम्बन्धमा सिफारिस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक कार्यदल गठन गरेको थियो ।

    कार्यदलले आफ्नो प्रतिवेदन कृषि मन्त्री चक्रपाणी खनाललाई बुझाएको छ । कार्यदलले सोमबार मन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

    मन्त्रालय स्रोतका अनुसार कार्यदलले दूघको मूल्य वृद्धि गर्न सिफारिस गरेको छ । यस कार्यदलको संयोजक दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तलाई तोकिएको थियो ।

    कार्यदलले गरेको सिफारिस अनुसार वृद्धि हुने मूल्यको ६९ प्रतिशत दूघ उत्पादन गर्ने कृषक र ३१ प्रतिशत प्रशोधन गर्ने व्यवसायीले पाउने भएका छन् ।

    सोहीकारण पनि उपभोक्ताबाट त्यति धेरै आलोचना भइरहेको छैन । आगामी दिनमा धेरै दूध उत्पादन हुने समयमा कम मूल्य र धेरै उत्पादन हुने समयमा बढी मूल्य कायम हुने गरी मूल्य निर्धारणको सिफारिस गरिएको छ ।

    दूग्ध विकास संस्थानले मूल्य बढाउने सम्बन्धमा औपचारिक निर्णय लिनुपर्छ ।

    तर, त्यसका लागि नियामक निकायका रुपमा कृषि मन्त्रालयको सिफारिस अनिवार्य हुन्छ ।

    सोहीकारण मन्त्रालयले कार्यदल गठन गरी मूल्य समायोजनबारे अध्ययन गरेको हो ।

  • माधव नेपालभन्दा झलनाथ अगाडी

    माधव नेपालभन्दा झलनाथ अगाडी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको तेस्रो वरियतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई चयन गरेको छ ।

    यसअघि माधव कुमार नेपाल तेस्रो वरियतामा थिए । आइतबार बसेको नेकपा सचिवालय बैठकले बरिष्ठ नेताहरूको मर्यादा टुग्याएको हो ।

    यसक्रममा अध्यक्षद्धय केपि शर्मा ओली र प्रचण्डपछि पहिलो नम्बरमा खनाल र दोस्रो नम्बरमा नेपाल रहने निर्णय
    भएको छ ।

    दुबै नेतालाई पार्टीभित्र वरिष्ठ नेताको दर्जा प्राप्त रहेको छ । नेकपाको विधानमै दुई बरिष्ठ नेताको व्यवस्था गरिएको छ। नेकपाको उक्त निर्णयमा नेता नेपालको भने ससहमति रहेको छ ।

  • एसिया प्रशान्त हवाई नियामक निकायका प्रमुख नेपालमा भेला

    एसिया प्रशान्त हवाई नियामक निकायका प्रमुख नेपालमा भेला

    काठमाडौं । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका प्रमुखहरुको भेला सोमबारबाट काठमाडौंमा शुरु हुँदैछ ।

    सम्मेलनको तयारी पुरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

    यो महानिर्देशकहरुको ५६ औं सम्मेलन हो । यस सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यू समेत नेपाल आएका छन् ।

    यस भेलामा ४ सय भन्दा बढी उच्च पदस्थ विदेशी पाहुना सहभागी हुने प्राधिकरणले जानकारी गराएको छ । सम्मेलनको प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

    यस्तो सम्मेलन नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । यसअघि सने १९७८ र १९९८ मा समेत नेपालले यो सम्मेलन आयोजनाको मौका पाएको थियो ।

    करीव ६ करोड रुपैयाँ खर्च हुने सम्मेलनको आयोजक भने आइकाओ हुने गर्छ । सम्मेलन ५ दिनसम्म चल्ने भएको छ ।

    सम्मेलनमा हवाई उद्योगमा एसिया प्रशान्त क्षेत्रका साझा समस्याका विषयमा छलफल हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

    सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशक, युरोपियन युनियनको नियामक निकायका प्रमुख, अमेरिका, ब्रिटेन, फ्रान्सका नियामक निकायका प्रतिनिधि, जहाज निर्माता कम्पनी बोइङका प्रतिनिधिसमेत सम्मेलनमा सहभागी हुने प्राधिकरणले जानकारी दिएको छ ।

    सम्मेलनमा ४३ देशमा प्रतिनिधि सहभागी हुने प्राधिकरणले जानकारी दिएको छ ।

  • भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर विदेशमन्त्रीका रुपमा पहिलो पटक काठमाडौं आउने भएका छन् ।

    आगामी बुधबारदेखि काठमाडौंमा शुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    उनी भारतीय विदेश सचिव भएका बेला भने काठमाडौं आइसकेका छन् । खासगरी संविधान निर्माणका बेला भारतीय सरकारको दूतका रुपमा नेपाल आएका उनको त्यसबेला ठूलो आलोचना भएको थियो ।

    त्यसपछि भारतले नेपालमाथि नाकाबन्दी शुरु भएको थियो । नेपाल भारत संयुक्त आयोगको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले गर्ने बताइएको छ ।

    बैठकमा नेपाल र भारतको द्वीपक्षीय सम्बन्धसहित आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षाजस्ता क्षेत्रको सहकार्यका विषयमा छलफल हुने मन्त्रालयले उल्लेख गरेको छ ।

    नेपालमा रहँदा विदेशमन्त्री जयशंकरले उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्ने भएका छन् ।

    नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालमा नेपाल भ्रमण गर्ने जयशंकर सबैभन्दा उच्च तहका भारतीय नेता हुनेछन् ।

  • विवाह समारोह मै आत्मघाती बम विस्फोट

    विवाह समारोह मै आत्मघाती बम विस्फोट

    काबुल । अफगानिस्तानमा विवाह समारोह भइरहेको हल भित्रै आत्मघाती बम विस्फोट भएको छ ।

    विस्फोटबाट भएको मानवीय हताहतीको विवरण सार्वजनिक नभइसकेको संचारमाध्यमले उल्लेख गरेका छन् ।

    करीव १ हजार पाहुना बोलाइएको पार्टी हल भित्रै गराइएको बम विस्फोटबाट दर्जनौं मारिएको हुन सक्ने संचारमाध्यमले स्थानीय प्रशासन स्रोतलाई उदृत गर्दै लेखेका छन् ।

    राजधानी काबुलको एक व्यस्त शहरमा हल भित्रै शनिबार राती विस्फोट भएको हो । स्थानीय समय अनुसार पौने ११ बजे राती घटना भएको संचारमाध्यमले लेखेका छन् ।

    कैंयौं घाइतेलाई नजिकैको अस्पताल लैजादै गरेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा लासहरु देखिएपनि सरकारी अधिकारीहरुले त्यसको विवरण सार्वजनिक गरेका छैनन् ।

    अफगानिस्तानमा यस्तो भेला तथा समारोह हुँदा महिला र पुरुषका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था गरिएको हुन्छ ।

    आत्मघाती विस्फोटक पुरुषतर्फको लाइनमा गएर गरिएको प्रत्यक्षदर्शीले संचारमाध्यमसँग बताएका छन् ।

    बीबीसीका अनुसार यो विस्फोटको जिम्मेवारी भने कसैले पनि लिइसकेको छैन । अफगानिस्तानमा हुने यस प्रकारका घटनाले विश्व शान्तीलाई नै चूनौति दिइरहेको छ ।

    एजेन्सी