Category: समाचार

  • रूसी जेलमा पछिल्लो पाँच बर्षमा कैदीको सङ्ख्या करिब दुई लाख घट्यो

    रूसी जेलमा पछिल्लो पाँच बर्षमा कैदीको सङ्ख्या करिब दुई लाख घट्यो

    मस्को, १ जेठ । रुसमा पाँच वर्षमा कैदीहरूको सङ्ख्या एक लाख ८० हजारभन्दा बढीले घटेको रुसी जेल प्रमुखले बिहीबार दिएको तथ्याङ्कमा उल्लेख छ ।
    मस्कोले युक्रेनमा लडाइँ लड्न कैदीहरूलाई पठाएको कारण कैदीबन्दीको सङ्ख्या घटेको हो । चार वर्षको युद्धमा रूसले कैदीहरूलाई युक्रेनमा लड्न र उनीहरूको सजायको अवधि मिनाह गर्न सेनासँग करार प्रस्ताव गरेको छ। सोभियत श्रम शिविरबाट विरासतमा प्राप्त विशाल जेल नेटवर्क भएको रुस विश्वको सबैभन्दा धेरै कैदीबन्दी रहेको मुलुकमध्ये एक हो। विगत २० वर्षमा यो सङ्ख्या घट्दै गएको छ।

    “सन् २०२१ को अन्त्यमा त्यहाँ चार लाख ६५ हजार कैदीहरू थिए भने अहिले यो सङ्ख्या दुई लाख ८२ हजार कायम भएको छ,” रूसी प्रायश्चित सेवा (सुधार केन्द्र) का प्रमुख अर्काडी गोस्टेभले भने । यसले लगभग ४० प्रतिशतको गिरावटलाई प्रतिनिधित्व गर्दछ। हालको जेलमा रहेका कैदीको सङ्ख्याको लगभग ८५ हजार जनालाई सुनुवाई पूर्व हिरासतमा राखिएको उनले बताए ।

    गोस्टेभले भने, “गिरावटको कारण आंशिक रूपमा सेनाको भर्ती अभियानको कारण हो, तर अधिक निलम्बित सजाय र अन्य प्रकारका सजायका कारण पनि यो सङ्ख्या घटेको हो । युक्रेनको मोर्चाबाट फर्केका कैदीहरूले रूसमा अपराध र सामाजिक तनावमा वृद्धि गरेका बताउने गरिएको छ। गोस्टेभले भने, “हजारौँ कैदीहरू सेनाको सहयोगका लागि हतियार तथा अन्य सामानको उत्पादनस्थलहरूमा काम गरिरहेका छन्, जसले देशको युद्धकालीन अर्थव्यवस्थामा योगदान पुर्याइरहेका छन्।”

    रूसी कैदीहरूलाई प्रायः सोभियत गुलागबाट विरासतका रूपमा प्राप्त प्रणालीका आधारमा काममा लगाउने प्रचलन रहेको छ। “विशेष गरी उत्पादनका लागि गत एक वर्षको अवधिमा सैनिक उद्देश्यका लागि थप १६ हजार कैदीहरू हामीले खटाएका थियौँ,” रूसी समाचार संस्था तासले गोस्टेभलाई उद्धृत गर्दै लेखेको छ। “हामीले युक्रेनमा भएको विशेष सैन्य अपरेशनको लागि लगभग ५.५ अर्ब रूबल (सात करोड ५० लाख डलर) को सामान उत्पादन गरेका र्छौं,” उनले भने ।

  • पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, १ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली तथा पहाडी भागका केही तथा तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

    बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

    बेइजिङ, ३१ वैशाख (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता, कूटनीतिक सङ्केत र गहिरिँदो रणनीतिक अविश्वासबीच सुरु भएको छ । ट्रम्पले सीसँगको सम्बन्धलाई ‘सम्मानको विषय’ भनेर प्रस्तुत गर्न खोजिरहँदा सीले भने विश्वका दुई शक्तिशाली राष्ट्रबीच सम्भावित टकरावको जोखिमबारे चेतावनी दिएका छन् ।

    “तपाईं एक महान नेता हुनुहुन्छ । कहिलेकाहीँ मानिसहरूले मैले यस्तो भनेको मन पराउँदैनन्, तर म सत्य कुरा नै भन्छु”, ग्रेट हल अफ द पिपुलमा आयोजित औपचारिक भेटअघि ट्रम्पले सीको खुलेर प्रशंसा गर्दै भने, “तपाईंसँग हुनु सम्मानको कुरा हो । तपाईंको साथी हुनु पनि सम्मानको कुरा हो ।” ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

    तर सीको सन्देश भने बढी सतर्क र रणनीतिक थियो । उनले विश्व समुदायले अमेरिका र चीन ‘थुसिडाइड्स ट्र्याप’ बाट जोगिन सक्छन् कि सक्दैनन् भनेर हेरिरहेको बताए । विदेश नीति अध्ययनमा प्रयोग हुने उक्त अवधारणाले उदाउँदो शक्ति र स्थापित शक्तिबीच प्रतिस्पर्धा अन्ततः युद्धमा परिणत हुनसक्ने खतरा औँल्याउँछ ।

    सीले भने, “सहकार्यले दुवै पक्षलाई फाइदा पुर्‍याउँछ, जबकि द्वन्द्वले दुवैलाई हानि पुर्‍याउँछ । दुई देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । साझा समृद्धिका लागि सहकार्य गर्दै नयाँ युगअनुसार प्रमुख राष्ट्रबीच सम्बन्धको सही बाटो तय गर्नुपर्छ ।” सीले यसअघि पनि सन् २०१४ देखि विभिन्न अवसरमा यही अवधारणा उठाउँदै आएका थिए । उनले ट्रम्पका पूर्ववर्ती राष्ट्रपति जो बाइडेनसँगका भेटवार्तामा समेत यो विषय दोहोर्‍याए । तर ट्रम्पले भ्रमणलाई सकारात्मक र मैत्रीपूर्ण बनाउने प्रयास गरिरहँदा सीले फेरि यही चेतावनी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    बेइजिङस्थित तियानानमेन स्क्वायरमा रहेको ग्रेट हल अफ द पिपुलमा ट्रम्पको स्वागत अत्यन्त भव्य रूपमा गरिएको थियो । क्यानन सलामी, सैनिक परेड, अमेरिकी र चिनियाँ राष्ट्रिय गान तथा विशाल रातो गलैँचाबीच दुवै नेताले एकअर्कासँग हात मिलाउनुभएको थियो । स्कुलका बालबालिकाले दुवै देशका झण्डा फहराउँदै स्वागत गरेका थिए । ट्रम्पले भ्रमणका क्रममा ‘टेम्पल अफ हेभन’ को अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । १५ औँ शताब्दीको उक्त धार्मिक परिसरलाई चीनमा स्वर्ग र पृथ्वीबीचको सम्बन्धको प्रतीक मानिन्छ । दुवै नेता बिहीबार राजकीय भोजमा पनि सहभागी हुने कार्यक्रम छ ।

    यद्यपि भ्रमणको मुख्य केन्द्र व्यापार, इरान र विश्व अर्थतन्त्रसँग जोडिएका जटिल विषय बनेका छन् । ह्वाइट हाउसले ट्रम्प कुनै ठोस उपलब्धिविना चीन नजाने स्पष्ट पारेको छ । अमेरिकी प्रशासन चीनबाट अमेरिकी सोयाबिन, गोमांस र विमान खरिदबारे प्रतिबद्धता खोजिरहेको छ । साथै व्यापार विवाद समाधानका लागि संयुक्त व्यापार बोर्ड गठन गर्ने प्रस्तावमा पनि छलफल भइरहेको जनाइएको छ ।

    तर इरानसँग चीनको निकट आर्थिक सम्बन्धले परिस्थितिलाई थप संवेदनशील बनाएको छ । इरान र इजरायलबीचको युद्ध तथा अमेरिकाको प्रत्यक्ष संलग्नताले विश्व बजारमा ऊर्जा सङ्कट निम्त्याएको छ । हर्मुज जलघाँटी प्रभावकारी रूपमा बन्द हुँदा तेल र प्राकृतिक ग्यास ढुवानीमा अवरोध पुगेको छ, जसले विश्वव्यापी आर्थिक वृद्धिमा दबाब बढाएको छ ।

    यही पृष्ठभूमिमा ट्रम्प र सीबीच इरानमाथि चीनले कस्तो भूमिका खेल्ने भन्ने विषय महत्त्वपूर्ण बनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनलाई इरानमाथि प्रभाव प्रयोग गर्न आग्रह गरिने बताए । उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भन्नुभयो, “यो सङ्कटका कारण विश्व अर्थतन्त्र कमजोर भइरहेको छ । उपभोक्ताहरूले कम चिनियाँ वस्तु खरिद गरिरहेका छन् । त्यसैले यो समस्या समाधान हुनु चीनकै हितमा पनि छ ।”

    रुबियोले चीनलाई पर्सियन खाडीमा इरानको गतिविधि नियन्त्रण गर्न सक्रिय भूमिका खेल्न आग्रह गरिने बताए । उनले चीनले इरानलाई तनावबाट पछि हट्न प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरे । तर ट्रम्पले भने अमेरिकी अर्थतन्त्रमा परेको दबाबले इरानप्रतिको आफ्नो अडान परिवर्तन नहुने स्पष्ट पारे । ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा उनले भने, “म अमेरिकीहरूको आर्थिक अवस्थाबारे सोचिरहेको छैन । म एउटा मात्र कुरामा केन्द्रित छु – इरानलाई आणविक हतियार बनाउन दिन सकिँदैन ।” उहाँले हरेक अमेरिकीले यो अवस्था बुझ्ने दाबी पनि गरे ।


    ट्रम्पको यही भनाइपछि उपराष्ट्रपति जेडी भान्सले भने राष्ट्रपतिका भनाइलाई फरक ढङ्गले व्याख्या गरिएको प्रतिक्रिया दिए । उनले ट्रम्पले अर्थतन्त्रलाई महत्त्व नदिएको अर्थ नलाग्ने दाबी गरे । भ्रमण टोलीमा प्रविधि, रक्षा, कृषि र वित्त क्षेत्रका उच्च अधिकारी तथा व्यवसायीहरूको ठूलो समूह सहभागी छ । यसले भ्रमण केवल राजनीतिक मात्र नभई आर्थिक र रणनीतिक महत्त्वको रहेको सङ्केत दिएको छ ।

    अमेरिका र चीन गत वर्ष व्यापार युद्धविराममा पुगेका थिए, जसले एकअर्कामाथि थप शुल्क लगाउने चेतावनीलाई केही समयका लागि रोकिएको थियो । ह्वाइट हाउसका अनुसार उक्त सहमति विस्तार गर्ने विषयमा अझै छलफल भइरहेको छ । तर ट्रम्पको यो भ्रमणका क्रममा त्यसबारे कुनै ठोस घोषणा हुने वा नहुने अझै स्पष्ट भइसकेको छैन ।

  • चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

    चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

    वासिङ्टन, ३१ वैशाख (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्ता ‘अत्यन्त सकारात्मक’ भएको बताएका छन् । ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले भने, “हामीले चिनियाँ प्रतिनिधिमण्डलसँग आज अत्यन्त सकारात्मक र फलदायी कुराकानी गरेका छौँ । भेटका अबसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गरेका छन् ।


    अमेरिकी राष्ट्रपति र प्रतिनिधिमण्डलको सम्मानमा आयोजित रात्रिभोज समारोहमा राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भने, “सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी र प्रथम महिला पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो ।”

    सहकार्यले अमेरिकालाई सहयोग पुर्‍याउने छ : नेता सी

    यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान् बनाउन सक्ने बताएका छन् ।

    ट्रम्पको एमएजीए अभियानलाई सङ्केत गर्दै नेता सीले भने, “चिनियाँ राष्ट्रको महान पुनरुत्थान हासिल गर्ने कार्य र अमेरिकालाई फेरि महान बनाउने काम पूर्ण रूपमा सँगसँगै चल्न सक्छ। यसले एक अर्कालाई सफल हुन मद्दत गर्न सक्छ र सम्पूर्ण विश्वको भलाइलाई अगाडि बढाउन सक्छ। बेइजिङमा भएको वार्तापछि आयोजित एक भोजमा राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ’सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा हामीलाई भेट्न आएकोमा म्याडम पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो ।

  • मन्त्रालय घटाएपछि कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

    मन्त्रालय घटाएपछि कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

    काठमाडौँ, ३१ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्यसम्पादन नियमावलीबमोजिम मौजुदा मन्त्रिपरिषद्मा रहेका नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनः गठन गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम विसं २०८२ चैत १३ गते गठित प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन गरेका हुन् ।

    कार्यविभाजनअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिएका छन् । त्यसैगरी अर्थमन्त्रीमा डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्रीमा सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्रीमा सीता वादी रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    त्यस्तै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्रीमा सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चारमन्त्रीमा डा विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरमन्त्रीमा गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरी कुमारी र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    काठमाडौँ, ३१ वैशाख । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन् । नेपालको संविधान, लोकतान्त्रिक मूल्य, मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने सङ्कल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढेको उल्लेख गर्दै अर्थमन्त्री वाग्ले उक्त प्राथमिकता प्रस्तुत गरेका छन् ।


    सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा रहेको उनको कथन छ । अर्थमन्त्रीले विनियोजन विधेयकका पाँचवटा मार्गदर्शक सिद्धान्त रहेको उल्लेख गरे । त्यसमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण रहेका छन् ।

    सुशासनको लाभांश

    सुशासनलाई नागरिकले प्रत्यक्ष अनुभूत गर्ने राज्यको नैतिक वैधता, सेवा दक्षता र आर्थिक सामथ्र्यका रूपमा स्थापित गर्नेगरी आगामी आवको बजेट प्रस्तुत हुने अर्थमन्त्रीले उल्लेख गरेका छन् । यस्तै उनले विधिको विवेकसम्मत शासन, संस्थागत कुशलता र सार्वजनिक सदाचारको सर्वोपरिता सुशासन प्रत्याभूतिको प्रस्थानविन्दु हुनेछ भने राज्यलाई उत्तरदायी र प्रविधिमैत्री बनाउँदै सुशासनको प्रत्यक्ष लाभ नागरिकको दैनिक जीवनमा अनुभूत हुनेगरी शासकीय सुधारको शृङ्खला कार्यान्वयन गर्ने स्पष्ट पारे ।


    उनका अनुसार आगामी बजेट नागरिकको समय, श्रम र लागत बचत हुनेगरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनेछ । एकीकृत डिजिटल सुशासनमा आधारित प्रशासनिक सुधारमार्फत सेवा प्रवाहमा हुने ढिलाइ, झन्झट र अवाञ्छित मध्यस्थताको अन्त्य गरिनेछ ।

    सार्वजनिक संस्थाहरूलाई अवैध कब्जा र दोहनकारी प्रवृत्तिबाट मुक्त गरी राज्यका नीति, कानुन र नियामकीय व्यवस्थाको व्यापक पुनरावलोकन गर्ने अर्थमन्त्रीको कथन छ । सम्पत्ति शुद्धीकरण, राजस्व चुहावट, सार्वजनिक स्रोतको दुरूपयोग तथा सङ्गठित अपराधविरुद्धको अनुसन्धान र अभियोजन प्रणालीलाई भ्रष्टाचारविरुद्धको परिणाममुखी अभियान बनाइनेछ ।

    अर्थतन्त्रको पुनःसरचना

    उच्च, फराकिलो र तीव्र आर्थिक वृद्धि हासिल गर्दै पर्याप्त रोजगारी सृजना गर्नु अर्थतन्त्र पुनःसंरचनाको मूल लक्ष्य हुने अर्थमन्त्रीले जानकारी दिए । त्यस्तै, आगामी बजेटले उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नेछ । आर्थिक अवसरको विस्तार, उद्यमशीलताको प्रवर्द्धन, प्रतिस्पर्धात्मक वातावरणको सुनिश्चितता र वित्तीय साधनको उत्पादनशील परिचालनका आधारमा नयाँ चरणको आर्थिक सुधार अघि बढाइने सदनलाई उनले अवगत गराए ।

    सन्तुलित सार्वजनिक वित्त व्यवस्थापनमार्फत लगानीमैत्री आर्थिक वातावरण सुदृढ गर्ने, निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै उद्यम–व्यवसायमा रहेका अवरोधहरू हटाइने अर्थमन्त्रीले उल्लेख गरे । “अस्वस्थ प्रतिस्पर्धा, सिन्डिकेट, कार्टेलिङ र एकाधिकारको अन्त्य गर्दै समताउन्मुख सामाजिक बजार अर्थतन्त्र सुदृढ गर्नेछौँ । कर प्रणालीलाई सरल र न्यायोचित बनाउँदै उत्पादन र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछौँ । डिजिटल अर्थतन्त्र, सेवा निर्यात, स्वच्छ ऊर्जा र उच्च मूल्य अभिवृद्धियुक्त कृषि क्षेत्रलाई आर्थिक रूपान्तरणको संवाहकका रूपमा अघि बढाउनेछौँ”, अर्थमन्त्रीले भने ।


    नेपालको भूपरिवेष्टित प्रतिकूलतामा अन्तर्निहित संरचनागत आर्थिक भार कम गर्न अन्तरराष्ट्रियस्तरको हवाई सेवा, दूरसञ्चार तथा लजिस्टिक्स पूर्वाधारमा आमूल सुधार गर्ने, आयात प्रतिस्थापन गर्ने उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन अस्थायी संरक्षणात्मक उपाय अवलम्बन गर्ने र निजी सम्पत्तिको सुरक्षा राज्यको दायित्व हुने अर्थमन्त्री डा वाग्लेले स्पष्ट पारे ।


    सन्निकटताका लागि एकीकृत पूर्वाधार

    सन्निकटताले भूगोल र बस्तीबीच मात्र होइन, उत्पादन, बजार, सेवा र अवसरबीचको दूरी न्यूनीकरण गर्दै आर्थिक–सामाजिक अन्तरसम्बन्ध सुदृढ गर्दछ । बृहत् पूर्वाधार निर्माणमार्फत सन्निकटता विस्तार गरी आर्थिक गतिशीलता र सामाजिक एकीकरणमा टेवा पुर्याउने अर्थमन्त्री वाग्लेले सदनलाई जानकारी दिए । उनका अनुसार सडक, हवाई, ऊर्जा, सहरी तथा डिजिटल पूर्वाधारलाई एकीकृत दृष्टिकोणका साथ विकास गर्ने, पूर्वाधारलाई समय, लागत र गुणस्तरको अनुशासनभित्र राख्न संस्थागत समन्वय सुदृढ गर्ने बजेटको प्राथमिकता हुनेछ ।

    देशका सबै क्षेत्र र सम्प्रदायसम्म प्रतिफल पुग्नेगरी सन्तुलित विकासका लागि पुँजी, प्रविधि र व्यवस्थापकीय क्षमताको समुचित परिचालन गर्ने, आर्थिक गतिविधि, सेवा प्रवाह र राष्ट्रिय सन्निकटतालाई नयाँ स्तरमा पुर्याउनेगरी डिजिटल सार्वजनिक पूर्वाधार विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ । यस्तै, जलवायु परिवर्तन, पर्यावरणीय सन्तुलन र विपद् जोखिमलाई मध्यनजर गर्दै उत्थानशील पूर्वाधार विकासको अवधारणा अवलम्बन गर्ने र प्राकृतिक स्रोतको संरक्षण, उपयोग र भविष्य–सुरक्षित अर्थतन्त्रबीचको सम्बन्ध सन्तुलित हुने उनको भनाइ छ ।

    सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार

    गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण र सीपमा समान पहुँच सुनिश्चित गर्दै सक्षम मानव पुँजी विकास गर्ने, राज्यको संरक्षण आवश्यक पर्ने व्यक्तिका लागि सामाजिक सुरक्षाको भरपर्दो आधार निर्माण गर्ने आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता रहने अर्थमन्त्रीको भनाइ छ । यस्तै, आर्थिक गतिशीलता र सामाजिक सुरक्षा प्रत्याभूत गरी मध्यम वर्गको विस्तार गर्ने, कृषि एवं लघु, साना तथा मझौला उद्योगको प्रवर्द्धन तथा प्रायोगिक र रोजगारमूलक शिक्षा उपलब्ध गराई सीपयुक्त जनशक्तिको विकास गर्ने सरकारको प्राथमिकता रहने अर्थमन्त्रीको कथन छ । त्यस्तै, नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई उत्पादन र रोजगारीसँग आबद्ध गर्न उपयुक्त वित्तीय साधन परिचालन गरिनेछ ।

    शिक्षा प्रणालीलाई उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र श्रम बजारसँग आबद्ध गर्नेछौँ । प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको लगानी बढाई रोजगार केन्द्रित शिक्षामा जोड दिने, स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनःसंरचनामार्फत स्वास्थ्य सेवामा नागरिकको पहुँच र वित्तीय सुरक्षा सुदृढ गरिनेछ ।

    त्यसैगरी, सबै नेपालीको जीवनस्तर उकास्ने वास्तविक सामाजिक गतिशीलताका लागि कदम चाल्ने र समावेशीकरणलाई प्रतिनिधित्वमा मात्र सीमित नराखी आर्थिक अवसर र सम्मानजनक सहभागितासँग आबद्ध गर्ने अर्थमन्त्री डा वाग्लेले उल्लेख गरे ।

    सौम्य शक्तिको सुदृढीकरण

    सरकारले पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति (सफ्ट पावर) परिचालन गरिनेछ । आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोगमार्फत नेपालको अन्तरराष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्ने, छिमेकी तथा मित्रराष्ट्रहरू र अन्तरराष्ट्रिय संस्थाहरूसँग परिपक्व सम्बन्ध विकास गर्दै आर्थिक लाभ वृद्धि गरिने अर्थमन्त्रीको भनाइ छ ।

    यस्तै, स्वदेशी पुँजी, प्रविधि र उद्यमशीलतासँगै विदेशमा रहेका नेपाली समुदायको सञ्जाल, सीप र पुँजीलाई राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा परिचालन गर्ने, गैरआवासीय नेपालीको विशेषज्ञतालाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्न सहजीकरण गर्ने तथा आर्थिक कूटनीतिलाई लगानी, प्रविधि हस्तान्तरण, निर्यात विस्तार र अन्तरराष्ट्रिय पुँजी परिचालनसँग आबद्ध गर्न कानुनी सुधार गर्ने आगामी बजेटको मार्गदर्शक सिद्धान्त रहनेछ ।

  • पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

    पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

    काठमाडौँ, ३१ वैशाखः सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहनेगरी समिति गठन गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका गुरुङका सम्बन्धमा सार्वजनिक रुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानविन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

  • नीति तथा कार्यक्रमको जवाफ दिन गएनन् बालेन, प्रतिनिधिसभामा विपक्षीलाई पेल्दै अर्थमन्त्रीले दिए जवाफ

    नीति तथा कार्यक्रमको जवाफ दिन गएनन् बालेन, प्रतिनिधिसभामा विपक्षीलाई पेल्दै अर्थमन्त्रीले दिए जवाफ

    काठमाडौँ, ३१ वैशाखः प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णीम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।

    सो कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताए । उनले सरकारले सय बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई ध्यान दिएर आगामी बजेट प्रस्तुत गरिने जानकारी गराए ।


    सभाको पहिलो बैठकमा विपक्षी दलले प्रधानमन्त्री शाह नै उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगन भएको थियो । दोस्रो बैठकमा विपक्षी दलका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जारी राखे पनि सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन समय दिए । विपक्षीलाई पेल्दै आज सदन चलाइएको छ ।

  • विपक्षीको विरोधका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

    विपक्षीको विरोधका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

    काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो ।

    अर्थमन्त्री वाग्लेको जवाफपछि उहाँसँग थप स्पष्टीकरण माग गर्न सभामुख डोलप्रसाद अर्यालले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाहेनन् । विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाफ दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने माग गर्दै विरोधमा उभिएकाले कुनै पनि सदस्यले स्पष्टीकरणको समयको उपयोग गरेनन् । कतिपय विपक्षीका सदस्यले बैठक बाहिर निष्किए ।

    सभामुख अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता नभएको जनाउँ दिँदै ती संशोधनहरू निर्णयार्थ प्रस्तुत गरे । सभामुख अर्यालले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तत गर्दा बहुमतले संशोधनहरू अस्वीकृत भएको घोषणा गरे । उक्त नीति तथा कार्यक्रममाथि ३५ विपक्षी सांसदले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । यही वैशाख २८ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

  • राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

    राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

    लन्डन, ३१ वैशाख (रासस–एपी) । बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी तथा नीतिगत कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारीसँगै प्रधानमन्त्री कीर स्टार्मरको राजनीतिक भविष्यबारे पनि चासो बढेको छ । परम्परा, धुमधाम र ऐतिहासिक विधि–विधानसँगै हुने संसद्को औपचारिक उद्घाटन यसपटक सरकारको स्थायित्व र नेतृत्व क्षमताको परीक्षणका रूपमा समेत हेरिएको छ ।

    राजा चार्ल्स तृतीयले आगामी संसदीय सत्रका लागि सरकारको नीति तथा कानून बनाउने कार्यक्रम औपचारिक रूपमा सांसदहरूलाई प्रस्तुत गर्नुहुनेछ । यो प्रक्रिया बेलायती लोकतन्त्रको ऐतिहासिक परम्परा अनुसार हुने भए पनि यसपटकको राजनीतिक वातावरण निकै संवेदनशील बनेको छ ।

    प्रधानमन्त्री स्टार्मरले उक्त कार्यक्रम कार्यान्वयन गर्न संसद्मा पर्याप्त समर्थन जुटाउन सक्ने कि नसक्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ । यदि उनले हालै देखिएको राजनीतिक अस्थिरता पार गर्न नसकेमा सरकारको दीर्घकालीन योजनामाथि नै प्रश्न उठ्ने अवस्था देखिएको छ । गत साता सम्पन्न स्थानीय र क्षेत्रीय चुनावमा लेबर पार्टीले ठूलो क्षति बेहोरेपछि प्रधानमन्त्री स्टार्मरमाथि पार्टीभित्रैबाट दबाब बढेको छ । सत्तामा उहाँको नेतृत्व क्षमतामाथि प्रश्न उठ्दै जाँदा पार्टीभित्र केही नेताहरूले नेतृत्व परिवर्तनको मागसमेत अघि सारेका छन् ।

    हालै पार्टी समर्थकहरूलाई सम्बोधन गर्दै उहाँले दिएको भाषणलाई ‘लडाइँको सुरुआत’ का रूपमा प्रस्तुत गरिएको थियो । तर उक्त भाषणलाई आलोचकहरूले अपेक्षित स्पष्टता र निर्णायक नीतिको अभाव भएको भन्दै कमजोर ठानेका छन् । पूर्व सुरक्षामन्त्री जेस फिलिप्सले समेत सरकारबाट राजीनामा दिँदै वर्तमान नेतृत्वले विवाद समाधान गर्नुभन्दा पनि आन्तरिक असन्तोष व्यवस्थापनमै केन्द्रित रहेको टिप्पणी गरेका छन् ।

    राजाको भाषण हुने यो अवसर बेलायतको संवैधानिक परम्पराको महत्त्वपूर्ण हिस्सा हो, जहाँ राजतन्त्रको औपचारिकता र आधुनिक संसदीय लोकतन्त्र एउटै मञ्चमा प्रस्तुत हुन्छन् । वास्तविक राजनीतिक शक्ति भने निर्वाचित हाउस अफ कमन्समा केन्द्रित रहन्छ । प्रधानमन्त्री स्टार्मरको राजनीतिक स्थिति अझै अनिश्चित रहेकाले यस वर्षको कार्यक्रमलाई विशेष रूपमा नजिकबाट हेरिएको छ ।

    सरकारले प्रस्तुत गर्न सक्ने कानूनसँग सम्बन्धित प्रस्तावहरूमा जीवनयापन लागत सङ्कट समाधान, सार्वजनिक पूर्वाधारमा निजी लगानी आकर्षित गर्न राष्ट्रिय सम्पत्ति कोष गठन र शरणार्थी नीतिमा कडाइ गर्ने योजना समावेश हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै, केही कानूनी प्रक्रियामा जूरी ट्रायल हटाउने, मतदानको उमेर १६ वर्षमा झार्ने र सार्वजनिक अधिकारीहरूलाई सत्यनिष्ठा र जवाफदेहिताबारे कडा मापदण्ड लागू गर्ने विवादास्पद प्रस्ताव पनि अघि सारिन सक्ने चर्चा छ ।

    तर आलोचकहरूको भनाइमा सम्बोधनमा आउने अधिकांश प्रस्तावहरू पहिले नै सार्वजनिक भइसकेका छन्, जसले सरकारको नयाँ दृष्टिकोणबारे प्रश्न उठाएको छ । राजाको सम्बोधनपछि संसद्का दुवै सदनमा यसका विषयमा बहस सुरु हुने परम्परा रहँदै आएको छ, जुन कार्यक्रम सन् १८५२ देखि निरन्तर चल्दै आएको भए पनि यसको ऐतिहासिक जरा १६ औँ शताब्दीसम्म पुग्छ ।

    राजा चार्ल्स तृतीय बकिङ्घम दरबारबाट संसद् भवनसम्म घोडागाडीमा पुग्छन् । त्यसपछि उनी इम्पेरियल स्टेट क्राउन र राज्य पोशाकसहित हाउस अफ लर्ड्समा प्रवेश गर्छन् । त्यहाँबाट ‘ब्ल्याक रड’ नामक अधिकारी हाउस अफ कमन्समा सांसदहरूलाई बोलाउन जान्छन् । परम्पराअनुसार कमन्सका ढोका राजतन्त्रबाट संसदीय स्वतन्त्रताको प्रतीकस्वरूप केही क्षणका लागि बन्द गरिन्छ र ब्ल्याक रडले ढोका ढकढक्याएपछि मात्र खोलिन्छ ।

    त्यसपछि कमन्सका सदस्यहरू लर्ड्स च्याम्बरमा उपस्थित हुन्छन्, जहाँ राजाले सरकारद्वारा लेखिएको भाषण पढ्दै आगामी संसदीय सत्रको कानुन बनाउने कार्यक्रम प्रस्तुत गर्छन। सम्बोधनपछि राजा प्रस्थान गरेसँगै संसद्का दुवै सदनले उक्त नीतिमाथि बहस सुरु गर्छन्, जसले आगामी राजनीतिक दिशाबारे महत्त्वपूर्ण सङ्केत दिने अपेक्षा गरिएको छ ।

  • चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

    चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

    चितवन, ३१ वैशाख । मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ । यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक किसानलाई सहुलियत मूल्यमा वितरण थालनी गरेको हो । कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार अहिलेसम्म ९५किसानलाई ५१२ रानो वितरण गरी सकिएको छ । यसमध्ये १३९ रानो कार्यालयमा उत्पादन गरिएको हो भने ३७३ रानो विभिन्न मौरी फार्मबाट ल्याइएको हो । हरेक वर्ष कार्यालयले किसानहरुलाई उन्नत जातको रानो उत्पादन गरेर वितरण गर्दै आएको छ ।

    सोहीअनुसार यसवर्ष वितरण गरिएको उनले बताए । उनले भने, “उन्नत जातको रानोको प्रयोगले मह उत्पादनमा वृद्धि हुने गर्दछ ।” उन्नत जातको मौरीको रानो प्रयोग गर्दा नश्ल सुधार भई मह उत्पादनमा वृद्धि हुने उनले बताए । विभिन्न कारणले रानो बुढो हुने, मर्ने, रोगी हुने, काम गर्ने क्षमता कमी भएर घार धान्न नसक्ने गर्दछ । सामान्य तय रानोको आयु तीनदेखि पाँच वर्ष भनिए पनि यहाँका किसानहरुले हरेक वर्ष रानो प्रतिस्थापन गर्ने गरेको उनले बताए ।


    यससँगै ‘ग्राफ्टिङ’ प्रविधिबाट उन्नत जातको रानो उत्पादनसम्बन्धी तालिमसमेत दिँदै आएको उनले जानकारी दिए । अहिले जिल्लाका १६ किसानलाई रानो उत्पादनसम्बन्धी तालिम दिइ रहेको छ । किसानलाई रानो उत्पादनसम्बन्धी तालिम दिएपछि आफ्नै घरमा यो प्रविधिको प्रयोग गरेर उन्नत जातको रानो उत्पादन गर्न सक्ने भएकाले मह उत्पादनमा वृद्धि हुने उनले बताए ।

    यसवर्ष कृतिम प्रविधिबाट मौरीका १० रानो उत्पादन गरिएको छ । यस प्रविधिबाट उत्पादन गरिएका रानोमध्ये चार मात्रै बाँच्न सफल भएको उनले बताए । उनका अनुसार यसवर्ष सो प्रविधिबाट उत्पादित रानोमध्ये १० बचाउन सक्ने गरी उत्पादन थालिएको छ ।

  • ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

    काठमाडौँ, ३१ वैशाख । बितेका २४ घण्टामा दुई हजार ३६५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ७७ हजार ५०४ राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७४ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२३, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने १६३ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको हो ।

  • मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    गोरखा, ३१ वैशाख । मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ । विश्वको आठौँ र नेपालको सातौँ यो हिमाल यस अवधिमा तीन हजार ६४३ आरोहिले आरोहण गरेका छन् । प्रथम पटक सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १६३ मिटर अग्लो मनास्लुमा मानवस्पर्श गर्न सफल भएका थिए । सन् १९७३ अप्रिल २२ मा पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ ।

    मनास्लु हिमाल आरोहण गर्न थालेको ७० वर्ष पुगेको अवसरमा हालै गोरखा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्वतारोहण सङ्घ, मनास्लु संरक्षण क्षेत्र आयोजनासँगको सहकार्यमा चुमनुब्री गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरियो ।

    सो अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गाउँपालिकाका प्रमुख निमा लामालगायतले प्रथम आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी र नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गर्नुभयो । साथै मनास्लुको काखमा अवस्थित चुमनुब्री–१ सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा र अन्य आरोहीहरु नाङ्स्याल छेदेन र डिकी लामालाई सम्मान गरियो । पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको थ्री डी फोटो लोकार्पण गरियो ।

  • पशुपालनमा रमाइरहेका सापकोटा

    पशुपालनमा रमाइरहेका सापकोटा

    गलकोट (बागलुङ), ३१ वैशाखः कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आएका बलराम सापकोटाले व्यवसाय बन्द गर्नुप¥यो । यद्यपि, उनले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै कृषि तथा पशुपालन व्यवसाय सुरु गरे । त्यस बेलादेखि उनी निरन्तर यसैमा रमाइरहेका छन् ।


    कोरोना महामारीका बेला बजारको व्यवसाय बन्द भएपछि गाउँ गएर पशुपालन र फलफूल खेती गर्न थालेको र हाल त्यसबाट राम्रो आम्दानीकमा साथै सन्तुष् िपनि मिलिरहेको सापकोटाले बताए । हाल आफूले मासिक रु दुई लाख बचत गर्दै आएको सुनाए । सापकोटाले विसं २०७६ देखि व्यावसायिक कृषि र पशुपालनमा लगानी सुरु गरेका थिए । उनले पशुपालन र सुन्तला खेतीमा गरी करिब रु एक करोड लगानी गरेको सुनाए ।


    “उत्पादनमा नजोडिएसम्म हुँदैन भन्ने कुरा कोरोनाले सिकायो, पाँच वटा ट्याक्सी थिए सबै छोडेर गाउँ फर्केर ३६ रोपनी जग्गालाई हराभरा बनाउन थाले”, सापकोटाले भने, “यहीबीचमा बागलुङ नगरपालिका–५ मालिकाको वडा सदस्य भएर जनताको सेवासँगै कृषि र पशुपालन गरेर अरूलाई पनि प्रेरणा दिन खोजिरहेको छु ।”

    हाल सापकोटाले ११ वटा गाई र १३ वटा भैँसी पालिरहेका छन् । दैनिक करिब एक सय ५० लिटर दूध उत्पादन भइरहेको र उक्त दूध बागलुङ दुग्ध उत्पादन संस्थामार्फत बिक्री हुँदै आएको उनले बताए । “पशुपालनसँगै पशुवस्तु खरिद–बिक्रीको काम पनि गर्दै आएको छु । मासिक चार लाख ५० हजारको दूध बिक्री हुने गरेको छ भने दाना र कर्मचारीलगायतको खर्च कटाएर दुई लाख बचत हुन्छ ।

    बचत रकमले फलफूल बगँैचा विस्तार गरिरहेको छु”, सापकोटाले भने ।
    सापकोटाले आफ्नो २७ रोपनी र भाडाको नौ रोपनी जग्गामा एक हजार सुन्तलाका बिरुवा, एक सय १० वटा कागती र ५० वटा ओखरका बिरुवा लगाउनुभएको छ । सुन्तलाबाट अझै आम्दानी सुरु नभए पनि आगामी वर्षदेखि राम्रो उत्पादन हुने उनले बताए ।


    मल्चिङ प्रविधिबाट उनले सुन्तला खेती गरेका छन् । धनकुटे जातको सुन्तला लगाएर झार नियन्त्रण, चिस्यान संरक्षण र माटोमा पोषण कायम राख्ने काम गरिएको सापकोटाले बताए । कृषिका लागि आवश्यक पानी व्यवस्थापन गर्न गहुँत तथा पानी लिफ्टिङ गरेर करिब दुई सय मिटर माथिसम्म पु¥याएको उनले बताए ।

    हाल सापकोटाको कृषि तथा पशुपालन फार्ममा चार जनाले रोजगारी पाएका छन् । उहाँले सुन्तला पकेट क्षेत्र बनाउने लक्ष्यसहित काम गरिरहेको जानकारी दिए । “कोरोनाले एउटा व्यवसाय बन्द गर्नुप¥यो, तर त्यसले अर्को अवसरको ढोका खोल्यो । त्यसैले केही समस्या भएका आत्तिनु हुँदैन । गाउँमा बसेर मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ । यही उदाहरण दिन पनि मैले काम गरिरहेको छु”, उनले भने ।

  • प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

    प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

    काठमाडौँ, ३१ वैशाखः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।

    सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ । त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

  • पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौँ, ३१ वैशाखः हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी र बागमती प्रदेशका केही तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । कोशी प्रदेशका केही स्थानसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान, बाँकी हिमाली तथा पहाडी भागका एकदुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी र मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग तथा कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले विभागले जनाएको छ । रासस

  • बिपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द

    बिपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द

    काठमाडौँ, ३१ वैशाखः सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी प्रधानकार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार मिति २०८३ वैशाख २१ गते साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।

    यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ । च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।

  • पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

    रासस
    पाँचथर, ३१ वैशाखः हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य आएको छ । एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन् । फिदिमको कालिका मावि साम्दिनबाट आठ जना विद्यार्थी एसइई परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड नभएको फिदिम नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । गत वर्ष पनि यस विद्यालयले कुनै विद्यार्थीलाई उत्तीर्ण गराउन सकेको थिएन ।

    यस्तै, फाल्गुनन्द गाउँपालिका–३ स्थित सारताप मनरत्न माविबाट २६ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि उत्तीर्ण भएनन् । मिक्लाजुङ गाउँपालिकाका दुई सामुदायिक र एउटा संस्थागत विद्यालयले कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन सकेनन् । यहाँको खान्द्रोङ मावि मिक्लाजुङ–१ बाट छ, चन्द्रोदय मावि मिक्लाजुङ–७ बाट १० र माउण्ट कञ्चन बोर्डिङ स्कुल मिक्लाजुङ–४ बाट १० जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड हुन नसकेको पाइएको छ ।

    यस्तै, फालेलुङ गाउँपालिका–३ स्थित सरस्वती मावि ताङलेपा समेत कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन असफल भएको छ । यस विद्यालयबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार जिल्लामा नियमित साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक हजार ३४ जना ग्रेडेड भएका छन । जुन कुल सङ्ख्याको ४९ प्रतिशत हो ।

    यस्तै, प्राविधिक धारतर्फ एक सय २२ जना परीक्षामा सामेल भएकामा ६२ जना ग्रेडेड भएका छन । पाँचथरमा दुई जना विद्यार्थी चार जिपिएसहित ग्रेडेड भएका छन् । यहाँको हिलिहाङ गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयबाट दुई सय ४८ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय ३४ जना ग्रेडेड भएका छन्, जुन ५४ प्रतिशत हो । यहाँको सिद्ध मावि पञ्चमीबाट सबैभन्दा बढी ३८ र सबैभन्दा कम सिद्धकाली मावि किवाबाट १० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । हिलिहाङको नीलगिरि माविले सबैभन्दा बढी १७ जना विद्यार्थीमध्ये १६ जनालाई उत्तिर्ण गराउन सफल भएको हिलिहाङ गाउँपालिका शिक्षा शाखाका प्रमुख राजन आचार्यले जानकारी दिए ।


    यस्तै, कुम्मायक गाउँपालिकाका पाँच वटा माध्यमिक विद्यालयबाट एक सय ६० जना परीक्षामा सामेल भएकामा ६३ जना ग्रेडेड भएका छन्, जुन ३९ प्रतिशत हो । यहाँको पृथ्वी मावि यासोकबाट सबैभन्दा बढी ६६ र खाल्डे मावि खाल्डेबाट सबैभन्दा कम नौ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । खाल्डे माविले नौमध्ये आठ जना विद्यार्थीलाई उत्तीर्ण गराएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङले जानकारी दिए ।

    जिल्लाको याङवरक गाउँपालिका नतिजामा निकै कमजोर देखिएको छ । यहाँका सात वटा विद्यालयबाट दुई सय ४३ जना विद्यार्थी परीक्षामा सामेल भएकामा केवल ६५ जना ग्रेडेड भएका छन्, जुन २६ प्रतिशत हो । यहाँको थर्पू माविबाट सबैभन्दा बढी ६८ र नारायणी माविबाट सबैभन्दा कम १४ जना विद्यार्थी परीक्षामा सामेल थिए ।

    तुम्बेवा गाउँपालिकाले सन्तोषजनक नतिजा निकालेको छ । यहाँका छ वटा विद्यालयबाट एक सय ५४ जना परीक्षामा सामेल भएकामा ८६ जना ग्रेडेड भएका छन्, जुन ६२ प्रतिशत हो । यहाँका इन्द्राणी माविबाट सबैभन्दा बढी ६३ जना र वुद्धेश्वरी माविबाट सबैभन्दा कम छ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । यहाँको इन्द्रावती माविले २८ मध्ये २६ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ ।

    फिदिमको कालिका मावि फिदिम–२ साम्दिनबाट आठ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड भएनन् । यस्तै, ४१ जना विद्यार्थी परीक्षामा सामेल भएको सरस्वती मावि चोकमागूबाट जम्मा एक जना मात्र ग्रेडेड भएका छन् । फिदिमकै रानीटार माविबाट २८ जना परीक्षामा सामेल भएकामा २६ जना ग्रेडेड भएका छन् । फिदिममा सबैभन्दा बढी फिदिम माविबाट एक सय ९७ र सबैभन्दा कम सिंहसिद्ध मावि लुङरुपाबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । फिदिमका २० वटा सामुदायिक माध्यमिक विद्यालयबाट छ सय विद्यार्थी परीक्षामा सामेल भएकामा दुई सय ६९ जना ग्रेडेड भएका छन्, जुन करिब ४५ प्रतिशत हो ।

    यस्तै, फिदिमका पाँच वटा संस्थागत विद्यालयबाट एक सय २९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय छ जना उत्तीर्ण भएका छन् । ब्लुमिङ फ्लावर्स इङ्ग्लिस स्कुल फिदिम–८ बाट परीक्षामा सामेल भएका सबै नौ जना विद्यार्थी उत्तीर्ण भएका छन् । फाल्गुनन्द गाउँपालिकाबाट दुई संस्थागतसहित १३ वटा विद्यालयबाट तीन सय चार जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय ७१ जना ग्रेडेड भएका छन् । यहाँको सारताप मनरत्न माविबाट २६ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि उत्तीर्ण भएनन् ।

    फाल्गुनन्दको सिद्धदेवी मावि नवमीडाँडाबाट ३२ जना विद्यार्थी परीक्षामा सामेल भएका २९ जना उत्तीर्ण भएका छन् भने सिद्धेश्वरी माविबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएकामा सबै जना उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेदनी प्रसाईंले जानकारी दिनुभयो । फाल्गुनन्दकै संस्थागत विद्यालय पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुलबाट सहभागी भएका सबै १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यस्तै, मिक्लाजुङ गाउँपालिकाका १० सामुदायिक र चार संस्थागत गरी १४ विद्यालयबाट एक सय ९९ जना परीक्षामा सामेल भएकामा एक सय २० जना ग्रेडेड भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश जेठाराले जानकारी दिनुभयो, जुन ६० प्रतिशत हो । मिक्लाजुङका दुई सामुदायिक र एक संस्थागत विद्यालयबाट सहभागी भएका कुनै विद्यार्थी उत्तीर्ण भएनन् । यहाँको खान्द्रोङ मावि मिक्लाजुङ–१ बाट छ जना, चन्द्रोदय मावि मिक्लाजुङ–७ बाट १० जना र माउण्ट कञ्चन बोर्डिङ स्कुल मिक्लाजुङ–४ बाट १० जना विद्यार्थी परीक्षामा सामेल भएका थिइ । यहाँको सिंहदेवी मावि मिक्लाजुङ–५ बाट परीक्षामा सामेल भएका पाँचै जना विद्यार्थी ग्रेडेड भएका छन् ।

    यस्तै, फालेलुङ गाउँपालिकाका १३ वटा विद्यालयबाट एक सय ५४ जना परीक्षामा सामेल भएकामा ७८ जना ग्रेडेड भएका छन्, जुन ५० प्रतिशत हो । यहाँको सरस्वती मावि ताङलेपाबाट परीक्षामा सहभागी भएका चार जना विद्यार्थी नै उत्तीर्ण भएनन् । फालेलुङका छ वटा विद्यालयबाट १० जनाभन्दा कम विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

    वडा नं २ को मोतिराम माविबाट तीन, पञ्चमुखी माविबाट चार, सिद्धेश्वरी माविबाट तीन र वडा नं ३ को सरस्वती मावि मच्छेबुङबाट छ, विद्याप्रचार माविबाट सात र सरस्वती मावि ताङलेपाबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । यहाँको कालिका माविबाट सबैभन्दा बढी ३६ जना विद्यार्थी परीक्षामा सामेल थिए । यहाँको सरस्वती मावि खुङ्गाबाट परीक्षामा सामेल १५ मध्ये १४ जना विद्यार्थी ग्रेडेड भएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण रिमालले जानकारी दिए ।

  • जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    सिरहा, ३१ वैशाखः सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्दा जनमानसमा गलत सन्देश गएकाले जनशक्ति व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।


    “आमनागरिकले सस्तो र सुलभ मूल्यमा विशेषज्ञ सेवा पाऊन् भन्ने पवित्र उद्देश्यले धेरै पहल गरेर मेसिन त ल्यायौँ, तर सञ्चालन गर्ने प्राविधिक जनशक्ति नहुँदा अप्ठेरोमा परेका छौँ”, उनले भने । अस्पताल प्रशासनका अनुसार यो सेवा पूर्ण रूपमा सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक र अर्को एक जना सहयोगी गरी तीन जना कर्मचारीको तत्काल आवश्यकता छ । हालै (जेठ २४ गते) कार्यभार सम्हाएकी अस्पताल प्रमुख डा वर्षा प्रकाशले जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारको विषयगत मन्त्रालयमा पहल भइरहेको बताइन् ।

    उनले भने, “हामीले आवश्यक जनशक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालयमा निरन्तर समन्वय र ताकेता गरिरहेका छौँ, तर यस विषयका दक्ष जनशक्ति ९रेडियोलोजिस्ट० प्रदेशभरि नै अभाव रहेकाले मन्त्रालयले कहिलेसम्म कर्मचारी पठाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन ।”

    मधेस प्रदेशमा कर्मचारी समायोजनबाट आएका एक्ला वरिष्ठ रेडियोलोजिस्ट डा बृजेन्द्रकुमार साह यसअघि यही अस्पतालमा निमित्त मेसुका रूपमा कार्यरत थिए । प्रदेश सरकारले डा साहकै विज्ञतालाई हेरेर लहानमा सिटी स्क्यान मेसिन पठाएको थियो, तर गत माघ २ गते मन्त्रालयले डा साहलाई सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेपछि समस्या भएको जानकारहरू बताउँछन् ।

    यहाँ मधेस प्रदेशका तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा आर्थिक वर्ष २०८१÷८२ मा रु १२ करोड लागतमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो । तीमध्ये एउटा मेसिन जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्को लहान अस्पतालमा पठाइएको तत्कालीन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ३१ वैशाखः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ११ पैसा र बिक्रीदर १२० रुपैयाँ ५८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २६ पैसा र बिक्रीदर १० रुपैयाँ ३० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९६ पैसा र बिक्रीदर २४ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ५०० रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५४ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

    काठमाडौँ, ३१ वैशाखः उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको छ । यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै बुधबारदेखि नियमित रूपमा छड्के निरीक्षण थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सिसीक्यामेरा, ड्यासबोर्ड क्यामेरालगायत सुरक्षा उपकरण जडान गरिएका छन् वा छैन भन्ने विषयमा विशेष ध्यान दिएर अनुगमन सुरु गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिउ । सार्वजनिक सवारीसाधनको सरसफाइ, चालक तथा सहचालकको व्यवहार, क्षमताभन्दा बढी यात्रु बोकिएको अवस्था र ट्राफिक नियमको पालनासम्बन्धी विषयमा समेत निगरानी गरिएको उनले बताए ।


    प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले भने, “उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन यो अभियान सुरु गरिएको हो । सरकारले तोकेको मापदण्डअनुसार सिसीक्यामेरा, ड्यासबोर्ड जडान गर्नाका साथै सवारीसाधन सफा र व्यवस्थित राख्नुपर्ने व्यवस्था छ । कार्यान्वयन नगर्ने सवारीसाधनमाथि आवश्यक कारबाही गरिनेछ ।”

    अनुगमनका क्रममा ट्राफिक प्रहरी प्रमुख अधिकारीसहितको टोलीले सार्वजनिक बसमा यात्रा गर्दै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । टोलीले चालकहरूले लेन अनुशासन पालना गरे–नगरेको, यात्रु चढाउने तथा ओराल्ने स्थानको उचित प्रयोग भए–नभएको, मोबाइल प्रयोग गरेर सवारी चलाइएको तथा गति नियन्त्रणबारे समेत निगरानी गरेको जनाइएको छ ।

    पछिल्लो समय सार्वजनिक यातायातमा यात्रुको गुनासो बढ्दै गएको, सवारीसाधनको लापरबाहीका कारण दुर्घटनाको जोखिम उच्च रहेको तथा सुरक्षा उपकरणको प्रयोग प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै यस्तो अभियान सञ्चालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए । आगामी दिनमा पनि उपत्यकाका मुख्य रुटहरूमा निरन्तर अनुगमन जारी रहने उनले जानकारी दिए ।

  • वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

    वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

    काठमाडौँ, ३० वैशाखः कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिस गरेको हो । किसानको जमिनको उत्पादन लागत, प्रति एकाइ धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको स्थलगत सर्वेक्षण गरेको विभागले सोही तथ्याङ्कका आधारमा वैज्ञानिक मूल्य निर्धारण गरी अनुमोदनका लागि विभागीय मन्त्रालय पठाएको हो । मन्त्रालयले उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर प्रतिक्विन्टल मूल्य प्रस्ताव गर्ने बताइएको छ ।

    विभागले देशका विभिन्न २२ जिल्लामा प्रतिहेक्टर धानको प्रतिएकाइ उत्पादन लागतका आधार तथा गत वर्ष कायम गरिएको न्यूनतम समर्थन मूल्यमा केही एकाइ थप गरी नयाँ मूल्य निर्धारण गरिने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए । विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने छ । करिब १८ लाख हेक्टर क्षेत्रफल जमिन खेतीका लागि उपयुक्त रहेको भए पनि गत वर्ष बर्खे धान करिब १२ लाख हेक्टर क्षेत्रफलमा लगाइएको थियो ।

    विभागको उक्त सिफारिस कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेपछि मन्त्रिपरिषद्बाट निर्णय गरेर सार्वजनिक गरिनेछ । सबै प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् बैठकले मूल्य तोक्नेछ । यसरी तोकिएको मूल्य आधिकारिक रूपमा सार्वजनिक गरिनेछ । सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद हुने जनाएको छ ।

  • प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

    प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

    काठमाडौँ, ३० वैशाखः प्रतिनिधिसभाको तेस्रो बैठकमा पनि विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बिहीबार बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’ को माग गरेका थिए । पटकपटक बैठक बसे पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि अर्को बैठक बिहीबार बिहान ११ः०० बजे बस्नेगरी स्थगित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो ।

  • ‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

    ‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

    काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि गरेको र वाचापत्रअनुसार नीति तथा कार्यक्रम संसद्मा पेस भएको बताउँदै त्यसअनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिए । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको कान्तिपुर ‘इकोनमिक समिट’लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्रीले सुशासनलाई पहिलो कार्यसूचीमा राखिएको तथा आर्थिक उन्नयनलाई पनि उत्तिकै महत्त्वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । जनतालाई सुशासनको लाभांश दिने प्रयासमा सरकार रहेको उनको कथन थियो ।

    मन्त्री वाग्लेले आगामी बजेट ‘इ–गभर्नेन्स, डिजिटल डेलिभरी’ र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुने जानकारी दिँदै डिजिटलमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए । सूचना तथा प्रविधि क्षेत्रसँग सम्बन्धित सबै काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुने जानकारी दिँदै उनले आयातमा आधारित अर्थतन्त्रको पुनर्संरचना गरिने बताए । मितव्ययितालाई पनि सरकारले प्राथमिकतामा राखको तथा आवश्यकताका आधारमा विदेशमा नेपाली नियोग सञ्चालन गरिने उनको कथन थियो ।

    त्यसअघि अर्थ सचिव घनश्याम उपाध्यायले सरकारको पहिलो प्राथमिकता सुशासन नै भएको बताए । निजी क्षेत्रको आत्मबल बढाउन जरुरी भएको विचार व्यक्त गर्दै उनले नीतिगत व्यवस्थाबाट त्यसो गरिने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति गराउनेतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

  • सङ्घीय मन्त्रालयको सङ्ख्या १८ कायम

    सङ्घीय मन्त्रालयको सङ्ख्या १८ कायम

    काठमाडौँ, ३० वैशाखः प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पु¥याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ ।

    त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत रहेका छन् । सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्य हेर्नेगरी छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ ।

    अन्य मन्त्रालयको कार्यविभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ । जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानवसंसाधन मन्त्रालय रहनेछन् । त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ । साविकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधिसम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ ।

    नयाँ सरकार गठन भएलगत्तै जारी गरिएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको सङ्ख्या पुनरावलोकन गर्ने योजना अघि सारिएको थियो । सोही योजना कार्यान्वयन गर्न सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा ‘गठित पुनःसंरचना व्यवस्थापन सचिवालय’ले बुझाएको प्रतिवेदनकै आधारमा मन्त्रालयको कार्यविभाजन, नाम परिवर्तन र एकीकरण गरिएको विज्ञ दाहालले जानकारी दिए । मन्त्रालयको सङ्ख्या आवश्यकताभन्दा बढी भई चालु खर्च बढेको समस्या समाधान गर्न र राज्य संयन्त्रलाई चुस्त बनाउन यो कदम चालिएको बताइएको छ ।

  • आइसिसी टि–ट्वान्टी विश्व वरियताः दीपेन्द्र चौथो स्थानमा

    आइसिसी टि–ट्वान्टी विश्व वरियताः दीपेन्द्र चौथो स्थानमा

    काठमाडौँ, ३० वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टि–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियताअनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ । उक्त विश्व वरियतामा जिम्बाबेका सिकन्दर रजा ३२८ अङ्कसहित शीर्ष स्थानमा रहेका छन् । त्यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा छन् । अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा रहेका छन् ।

    त्यस्तै एकदिवसीय वरियताको अलराउन्डरतर्फ भने दीपेन्द्र तीन स्थान सुधार गर्दै २८औँ स्थानमा उक्लिएका छन् । उनको रेटिङ अङ्क १५३ छ । त्यस्तै नेपालका अर्का खेलाडी करण केसी तीन स्थान तल झर्दै ८४औँ स्थानमा पुगेका छन् । एकदिवसीय वरियताको ब्याटिङतर्फ भने दीपेन्द्र दुई स्थान सुधार गर्दै ९९औँ स्थानमा पुगेका छन् । त्यस्तै आसिफ शेख १३ स्थान सुधार गर्दै ९३औँ स्थानमा छन् ।

  • घरको छतसहित खसेर दुई जनाको मृत्यु

    घरको छतसहित खसेर दुई जनाको मृत्यु

    बरहथवा (सर्लाही), ३० वैशाखः सर्लाहीको मलङ्गवामा घरको छतसहित खसेर दुई जनाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१० स्थित रञ्जित यादवको चार तले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर दुई मिस्त्रीको ज्यान गएको हो । पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तला माथिबाट खस्दा मलङ्गवा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

    छतसहित खसेर गम्भिर घाइते भएका दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नुवाकोटमा दुई दाजुभाइ हत्या गरिएको अवस्थामा शव फेला

    नुवाकोटमा दुई दाजुभाइ हत्या गरिएको अवस्थामा शव फेला

    त्रिशूली (नुवाकोट), ३० वैशाख । यहाँको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाएको अवस्थामा आज शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको हत्या गरेर किम्ताङ खोलामा लुकाएको अवस्थामा शव फेला परेको हो ।

    एक व्यक्तिले गएराति प्रहरीलाई फोनमार्फत उक्त अपराध आफूले गरेको भन्दै घटनास्थलसम्बन्धी दिएको जानकारीका आधारमा खोजतलास गर्दा उनीहरुको हत्या गरेर खोलामा ढुङ्गाले थिचेर लुकाएको अवस्थामा शव भेटिएको हो । “आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको खोजी भइरहेको छ । उनी पक्राउ परेपछि विस्तृतमा खुल्नेछ ।”

    आफूले हत्या गरेको स्वीकारसहित घटनास्थलको जानकारी दिने व्यक्तिले गोली प्रहार गरेर ज्यान लिएको उल्लेख गरे पनि घटनास्थलबाट प्रहरीले एकथान खुकुरी बरामद गरेको छ । परिवारका सदस्यका अनुसार हत्या गरिएका दाजुभाइ मङ्गलबार बिहान कुलो निर्माण गर्न जाने भनेर हिँडेदेखि सम्पर्कविहीन भएका थिए । घटनास्थल सडकदेखि करीब पाँचघण्टा पैदल दूरीमा छ । शव परीक्षणका लागि आज साँझ घटनास्थलदेखि त्रिशूली अस्पतालतर्फ ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

  • जलस्रोत सम्बन्धी छाता कानून ल्याउँदै सरकार

    जलस्रोत सम्बन्धी छाता कानून ल्याउँदै सरकार

    २९ वैशाख, काठमाडौं । सरकारले जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरूप व्यवस्थित गर्न नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक, २०८३’ को मस्यौदा परिमार्जन कार्य पूरा गर्दै स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो । हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबिचको अधिकार बाँडफाँटलाई कानुनी आधार दिने छ । नयाँ ऐन जारी भएपछि प्रदेश तथा स्थानीय तहले पनि आफ्नो अधिकार क्षेत्रअनुसार छुट्टै कानुन निर्माण गर्न सक्ने छन् ।

    मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो । यसका साथै जल उत्पन्न विपद् न्यूनीकरण, जलस्रोतको दिगो उपयोग तथा एकीकृत व्यवस्थापनलाई पनि विधेयकले प्राथमिकतामा राखेको छ । विधेयकमार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकारसम्पन्न बनाउने प्रस्ताव गरिएको छ । सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी मन्त्रालयले गरेको छ । आयोगको विद्यमान कार्यक्षेत्रलाई विस्तार गर्दै थप जिम्मेवारी दिइएको छ ।

    मन्त्रालयले ऐनसँगै आवश्यक नियमावली तर्जुमाको काम पनि समानान्तर रूपमा अघि बढाएको छ, ताकि कानुन पारित भएसँगै कार्यान्वयनमा लैजान सहज होस् । सरकारले चालु संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने लक्ष्य राखेको छ । त्यसका लागि मस्यौदालाई जेठ पहिलो साताभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस गर्ने तयारी भइरहेको छ ।

    सङ्घीय संरचनाअनुसार जलस्रोत व्यवस्थापनको स्पष्ट कानुनी आधार नहुँदा विभिन्न तहका सरकारबिच अधिकार क्षेत्र, आयोजना स्वीकृति तथा स्रोत उपयोगमा अन्योल देखिँदै आएको थियो । नयाँ विधेयकले त्यस्ता अस्पष्टता हटाउँदै जलस्रोतको विकासलाई संस्थागत र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

  • विद्यालय बाहिर रहेका सात लाख बालबालिकालाई समेट्न सांसदको माग

    विद्यालय बाहिर रहेका सात लाख बालबालिकालाई समेट्न सांसदको माग

    काठमाडौँ, वैशाख २९ गते । प्रतिनिधि सभाका सदस्यले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन् । मङ्गलवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदले अझै पनि लाखौँ बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेको भन्दै उनीहरूलाई कक्षाकोठामा ल्याउन सरकारको प्रभावकारी कदम आवश्यक रहेको बताएका हुन् ।

    बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले माध्यमिक तहका १३ प्रतिशत विद्यार्थी अझै पनि विद्यालय बाहिर रहेको तथ्य प्रस्तुत गरिन् । उनले भर्ना अभियानमा ती बालबालिकालाई कसरी समेट्ने भन्ने स्पष्ट खाका माग गरिन् । सांसद कार्कीले भनिन्, “होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी बालबालिकाको शिक्षाको अवस्था अन्योलपूर्ण छ, यसबारे सरकारले स्पष्ट जानकारी दिनुपर्छ ।”

    उनले त्रिभुवन विश्वविद्यालयका ४०० भन्दा बढी प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरी विदेशमा बस्दा देशलाई अर्बौँको क्षति पुगेको दाबी गर्दै कडा निगरानीका लागि मन्त्रालयको योजना माग गरिन् । साथै, चितवन मेडिकल कलेजले आवासीय चिकित्सकलाई निर्वाह भत्ता नदिएको भन्दै सरकारको हस्तक्षेप आवश्यक रहेको उनको भनाइ थियो ।

    नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । मध्यपहाडी ३१ जिल्लाको सर्वेक्षणमा कतिपय स्थानमा विज्ञान पढ्ने विद्यार्थी शून्य रहेको उल्लेख गर्दै उहाँले कक्षा ८ देखि नै विज्ञान, अङ्ग्रेजी र गणितमा विशेष जोड दिनुपर्ने धारणा राखे । उनले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूको शुल्क र गुणस्तरमाथि राज्यले प्रभावकारी अनुगमन गर्नुपर्ने बताए ।

    नेकपा (माओवादी केन्द्र) का सांसद रमेशकुमार मल्लले हाल करिब सात लाख ७० हजार बालबालिका विद्यालय बाहिर रहेको उल्लेख गर्दै एक वर्षभित्र उनीलाई विद्यालय ल्याउने योजना माग गरे । उनले विद्यालय गाभ्ने (मर्ज गर्ने) नीतिले ग्रामीण र विपन्न बालबालिका शिक्षाबाट वञ्चित हुने जोखिम रहेको औँल्याए । हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा कम्तीमा एउटा आवासीय विद्यालय सञ्चालन गर्न उनले सुझाव दिए । बैठकमा अन्य सांसदहरूले निजी विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्ति पारदर्शी नभएको र हप्तामा दुई दिन बिदा दिँदा पठनपाठनमा असर परेको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराए ।