Category: समाचार

  • संसदमा कांग्रेसको माग : राष्ट्रपतिको स्वास्थ्य परीक्षण गराई जानकारी देउ

    संसदमा कांग्रेसको माग : राष्ट्रपतिको स्वास्थ्य परीक्षण गराई जानकारी देउ

    २९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला सोमबार संसद बैठक छाडेर बीचैमा हिँडेका प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्था परीक्षण गरी जानकारी गराइयोस् भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको छ। कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर व्यंग्यात्मक शैलीमा प्रश्न उठाए । राष्ट्रपतिले बोल्दा बोल्दै संसदीय मर्यादा विपरीत प्रधानमन्त्री बालेन बीचैमा उठेर बाहिरिएको घटनामा सरकारले संसदलाई जबाफ दिनुपर्ने अवस्था आएको आङ्देम्बेले टिप्पणी गरे।

    सोमबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह अचानक उठेर हिँडेको दृश्य सार्वजनिक भएपछि त्यसले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। यही घटनालाई पृष्ठभूमि बनाएर मंगलबार प्रतिनिधिसभामा बोल्दै आङ्देम्बेले प्रधानमन्त्रीको व्यवहारमाथि कटाक्ष गरेका हुन्।

    उनले प्रधानमन्त्रीको नाम इतिहासमै अनौठो रेकर्डका रूपमा लेखिन सक्ने टिप्पणी गर्दै भने, ‘आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेस भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ।’ त्यसपछि उनले व्यंग्य मिसिएको शैलीमा थपे, ‘यस्तो रेकर्ड राख्न लागेकामा म उहाँलाई बधाई दिऊँ कि दुःख व्यक्त गरौं, सभामुख महोदय ?’

    प्रधानमन्त्रीको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेका बेला आङ्देम्बेले आफू सीधै अमर्यादित बन्न नचाहेको उल्लेख गरे। सँगसँगै, उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा प्रश्न उठाउँदै सरकारसँग औपचारिक जानकारी दिन माग पनि गरे। ‘सामाजिक सञ्जालमा लाखौंले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनुभयो भनेर म सोझै भन्न चाहन्न, उनले भने, ‘यस्तो पनि हुन सक्छ, अचानक उहाँको स्वास्थ स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नुभएको होला।’

    त्यसपछि उनले सरकारसँग आग्रह गर्दै भने, ‘उहाँको स्वास्थमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने, भएको के हो अविलम्ब स्वास्थ परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्।’ प्रधानमन्त्री अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मात्र नभई सबैको सम्पत्ति भएको उनको भनाइ थियो। प्रधानमन्त्री माथिको टिप्पणीमा उनले मानसिक दबाबको प्रसंगसमेत जोडेका थिए।

    ुहुनसक्छ, सत्ताको भारी अपेक्षा गरेभन्दा धेरै ठूलो भएर होला, हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको, आङ्देम्बेले प्रधानमन्त्रीको व्यवहारलाई ुअहंकार र मर्यादाहीन शैलीको संज्ञा दिँदै भने। आङ्देम्बेले संसदमा प्रधानमन्त्रीको उक्त व्यवहारले जनताको मन दुखेको पनि बताए। ‘हिजोको उहाँको व्यवहरले जनताको मन कुँडिएको छ। देशको शिर झुकेको छ। यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ,’ उनले भने।

    त्यस्तै, कांग्रेस प्रमुख सचेतक बास्ना थापाले पनि यो घटनामा प्रधानमन्त्री बालेन शाहले जबाफ दिनुपर्ने माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन्, ‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने दृश्य हिजो देखियो। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसदबाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन।’

  • आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता

    आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता

    काठमाडौँ, वैशाख २९ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थसमितिको आजको बैठकमा उनले आगामी आवको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने विश्वास दिलाए ।

    उनले राजस्व चुहावट नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गरे । स्वदेशी उत्पादनलाई समस्यामा पार्नेगरी अवैध तस्करी नियन्त्रणमा लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्दै आम जनताको दैनिक जीविकोपार्जनका लागि हदैसम्मको लचक हुने बताए । अर्थमन्त्रीले सरकारको नियमित दायित्व मात्रै करिब रु १३ खर्ब ३० अर्ब रहेको, करिब रु सात खर्ब अपुग हुने तथ्य पेस गरे ।

    उनले सिर्जनशील कार्यक्रमका लागि आफूले स्रोत जुटाउने विश्वास दिलाउँदै चुनौतीलाई अवसरका रूपमा बदल्ने बताए । अर्थ मन्त्रालयले यसअघि नै मन्त्रालयहरूलाई बजेटको ‘सिलिङ’ तोकेर पठाइसकेको जानकारी दिँदै उनले त्यस आधारमा नै सम्बन्धित मन्त्रालयमार्फत समावेश गर्न सकिने विषय भए मन्त्रालयले सम्बोधन गर्ने स्पष्ट पारे ।

    अर्थमन्त्रीले नियमित स्रोतबाट मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसकिने भएकाले सरकारले ‘वैकल्पिक वित्तसम्बन्धी विधेयक’ तत्काल अगाडि बढाउन लागिएको जानकारी दिए । उनले सो विधेयकलाई थप समृद्ध बनाउन सबैको सार्थक सहयोग जरुरी रहेको आवश्यकता औँल्याए ।

    अर्थमन्त्री वाग्लेले पाँच वटा ‘थिम’मा आगामी आर्थिक वर्षको बजेट आउने जानकारी दिए । उनले वर्तमान सरकार गठन भएपछि अगाडि बढाइएको सुशासनको लाभांश वितरण गर्ने तरिकाले बजेट विनियोजन गर्ने विश्वास दिलाए । उनले अर्थतन्त्रको पुनः संरचना गर्नेगरी बजेट आउने उल्लेख गरे । सम्पर्क सञ्जालको विस्तार एवम् सहरी विकास, भौतिक पूर्वाधार, ऊर्जा, सिँचाइ, खानेपानी सडकजस्ता ‘डिजिटल’ नेटवर्कका लागि ठूलो लगानी गरिने जानकारी गराए ।


    अर्थमन्त्रीले निजी क्षेत्रलाई पनि सडक पूर्वाधार निर्माणमा सहभागी गराउने योजना सरकारको रहेको उल्लेख गरे । नेपालको सौम्य शक्तिको विस्तारमार्फत संस्कृति, पर्यटन र परराष्ट्र सम्बन्धको थप प्रवर्द्धन गर्ने, डायोस्परालाई आर्थिक विकासमा सहभागी गराउने गरी उक्त स्रोतको परिचालन गर्ने उनको भनाई छ । उनले आगामी आवको बजेटमा सरकारको नीति तथा कार्यक्रम, शासकीय सुधार र सरकारको वाचापत्रलाई समेटिने दोहोर्‍याए । बजेटका प्राथमिकता तथा सिद्धान्तमार्फत सुधारमुखी ‘एजेन्डा’ अघि सारिने अर्थमन्त्रीको भनाइ छ ।

    त्यस्तै, विप्रेषणमा आधारित अर्थतन्त्रलाई क्रमशः उत्पादनमा आधारित बनाउने र सामाजिक उन्नयन तथा मध्यम वर्गको विस्तारमा जोड दिइने उनले बताए । उनले आफूले अर्थमन्त्रालय सम्हालेदेखि साना–ठूला गरी ३०० भन्दा बढी काम भइसकेको समितिलाई जानकारी दिए । उनले यही वैशाख ३१ गते संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने जानकारी गराए । सांसदहरूले संसद्मा दिनुहुने सुझावलाई समेत बजेटमा समावेश गरिने उल्लेख गरे ।

    सीमा क्षेत्रमा हुने तस्करी निर्मम भएर नियन्त्रण गरिने अर्थमन्त्री डा वाग्लेको भनाइ छ । सीमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकलाई दैनिक उपभोगका सामग्री खरिदमा सहजीकरण गर्ने तर सङ्गठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा भने कडा रूपमा प्रस्तुत हुने उनले बताए ।


    एक सय रुपियाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था वर्तमान सरकारले ल्याएको नभई दशकौँदेखि कायम रहेको नीति भएको र चालु आवको बजेटमा सो व्यवस्था रहेको जानकारी दिए । एकै दिनमा पटक–पटक सीमा वारपार गरेर नेपाली बजार र गोदाममा सामान भित्र्याई स्वदेशी उत्पादनलाई क्षति गर्ने गिरोहविरुद्ध विशेष अभियान सञ्चालन गरिने उनको भनाइ छ । सीमा सुरक्षालाई प्रविधिमैत्री बनाउन सरकारले सीमा क्षेत्रमा क्यामेरा, अनुहार पहिचान गर्ने यन्त्र, नाइट भिजन उपकरण र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित निगरानी प्रणाली प्रयोग गर्ने योजना अघि सारिएको उनको कथन छ ।

    अर्थमन्त्री डा वाग्लेले धितोपत्र बजारको विकासका लागि सरकारले उदार नीति अगाडि सारेको जानकारी दिए । उनले राष्ट्रपतिले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्टक मार्केट, पुँजी बजारबारे एकदमै उदार नीतिहरू घोषणा गरिएको उल्लेख गरे । उनले त्यसलाई बजेटमा थप आकार दिइने स्पष्ट पारे । अर्थमन्त्री डा वाग्लेले केही सीमित समूहले पुँजी बजारमा चलखेल गरेर ‘इन्साइडर ट्रेडिङ’ गरी जनताको ठूलो रकम दुरूपयोग गरिएको यथार्थता पेस गरे ।

    उनले त्यस्ता समूहले आर्थिक लाभ मात्र नभई राजनीतिक संस्थामाथि समेत प्रभाव जमाएको दाबी गरे । अर्थमन्त्री वाग्लेले स्टक एक्सचेन्जको पुनः संरचनाका लागि गठन गरिएको एउटा समितिले प्रतिवेदन दिएको जानकारी दिँदै त्यसलाई क्रमशः कार्यान्वयनमा लगिने बताए । उनले जेनजी आन्दोलनले मुलुकलाई गलत दिशामा जानबाट जोगाएको र हाल सुशासनलाई ठूलो प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख गरे । सांसदहरू ध्रुव्र राई, परशुराम तामाङ, भरत गिरीलगायतले आगामी आर्थिक वर्षको बजेटका बारेमा सुझाव दिएका थिए । रासस

  • हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त

    हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त

    काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन् । सभामुख डोल प्रसाद अर्यालको वैशाख २८ गतेको सिफारिसमा राष्ट्रपतिले राईलाई पदमुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई प्रतिनिधिसभाको सचिवको पदबाट हटाइएको हो । यो निर्णय वैशाख २९ गतेदेखि लागु हुने विज्ञप्तिमा उल्लेख छ ।

  • अर्घाखाँचीमा बस दुर्घटना : चार जनाको मृत्यु

    अर्घाखाँचीमा बस दुर्घटना : चार जनाको मृत्यु

    अर्घाखाँची, वैशाख २९ गते । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुडुलेमा मङ्गलवार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
    सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीले बताए ।

    घटनामा मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१९ बस्ने ७८ वर्षीया राममाया बस्नेत, ७८ वर्षीया विन्दु कुँवर, पर्वत जिल्लाको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र मोदी गाउँपालिका–५ का बसचालक ४५ वर्षीय रमेश जिसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिए ।


    घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अर्घाखाँची अस्पतालका घाइते पनि उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ । घटनामा अधिकांश मोदी गाउँपालिका पर्वतका मानिसहरू परेको प्रहरीको भनाइ छ । सुपा देउराली दर्शन गरी पर्वत फर्किदै गरेको पर्वतको ध१ख ५०४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले जानकारी दिए ।

    प्रारम्भिक जानकारीअनुसार गाडीको ‘ब्रेक फेल’ भएर दुर्घटना भएको र बस सडकबाट जङ्गलमा लगभग १०० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रमुख जिसीको कमान्डमा खटिएको प्रहरीको टोली र स्थानीयले उद्धार गरेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए ।

  • विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

    विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

    काठमाडौँ, वैशाख २९ गते । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो । वर्षाले प्रभावित खेलमा जितका लागि दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ३९ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो । पहिलो इनिङ्स सकिएसँगै पानी परेपछि ओभर घटाएर नेपालले ३९ ओभरमा दुई सय २१ रनको लक्ष्य पाएको थियो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले अर्धशतकीय पारी खेले । गुल्शनले अविजित सर्वाधिक ६१ रन बनाए । उनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । दीपेन्द्रले ५५ रन बनाए । अर्धशतक बनाउने क्रममा उनले ४९ बलमा पाँच चौका र एक छक्का हाने । कप्तान रोहितकुमार पौडेलले ३२, ओपनर आशिफ शेखले २१, करण केसीले १८, भेट्रान विनोद भण्डारीले १० र नन्दन यादवले अविजित आठ रन बनाए ।


    बलिङमा स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए । यस्तै मार्क वाटले दुई दुई तथा ज्याक जार्भिस र ओलिभर डेभिडसनले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४३ रन बनाएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतक बनाए । ६२ रनको सामना गर्दा १२ चौका र दुई छक्काको मद्दतमा ७५ रन बनाए । अर्का ओपनर फिनले म्याकक्रियाथले ६२ बल खेल्दै ३५ रन बनाए । पाँचौँ क्रममा ब्याटिङ गरेका मिचेल इङ्ग्लिसले नटआउट ३४ रन बनाए ।


    २० ओभरसम्म विकेटबिहीन बनेको नेपालका लागि लेग स्पिन सन्दीप लामिछानेले चार विकेट दिलाए । सन्दीपले १० ओभर बलिङ गर्दा एक मेडनसहित ४१ रन खर्चिएर चार विकेट हात पारे । यस्तै करण केसीले आठ ओभर बलिङ गर्दा ५१ रन खर्चिएर दुई विकेट हात पारे आठ ओभर बलिङ गर्दा ३३ रन खर्चिएर नन्दन यादवले दुई विकेट लिए । नेपालका लागि १० ओभर बलिङ गरेका ललित राजवंशी ३३ रन खर्चिएर विकेटबिहीन बने । दिपेन्द्रसिंह ऐरी, गुल्सन झा र रोहित पौडेलसमेत विकेटबिहीन बने ।


    जितसँगै दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २९ खेलबाट ३६ अङ्क बनायो । पराजित नेपाल २५ खेलबाट १८ अङ्क जोड्दै सातौँ स्थानमा छ । यस सिरिजको अर्को टोली अमेरिका २४ खेलबाट ३६ अङ्क जोड्दै शीर्षस्थानमा छ । आठ देश सहभागी लिग–२ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई मात्र पछि पारेको छ । आठौँ स्थानमा रहेको युएईको २४ खेलबाट १४ अङ्क छ । अब नेपालले जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ ।

  • अमेरिकी राष्ट्रपति ट्रम्प यसै साता चीन भ्रमणमा जाँदै

    अमेरिकी राष्ट्रपति ट्रम्प यसै साता चीन भ्रमणमा जाँदै

    बेइजिङ, वैशाख २८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेइजिङले सोमबार पुष्टि गरेको छ । वासिङ्टन र बेइजिङबिच भन्सार महशुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दाबी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद छ । राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रिलको शुरुमा भ्रमण गर्ने कार्यक्रम तय भएको पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उनले यसअघि आफ्नो भ्रमण स्थगित गरेका थिए ।


    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण गर्न लागेका छन् । अमेरिकी अधिकारीहरुका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिएको छ ।

    चीन इरानी तेलको लागि एक प्रमुख ग्राहक हो । मुख्यतया, उसले इरानबाट विशेष सहुलियत दरमा ठूलो पैमानामा कच्चा तेल आयात गर्ने गर्दछ । “यो भ्रमण निकै साङ्केतिक महत्वको हुनेछ,” अमेरिकी प्रमुख सहायक प्रेस सेक्रेटरी अन्ना केलीले संवाददाताहरूसँग भने । उनले भने, “अवश्य पनि, राष्ट्रपति ट्रम्प कहिल्यै पनि प्रतीकवादको लागि मात्र यात्रा गर्नुहुन्न । अमेरिकी जनताले राष्ट्रपतिबाट हाम्रो देशको तर्फबाट थप राम्रो सम्झौता गर्ने आशा गर्न सक्छन्।”

    ह्वाइट हाउसका अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमणमा बेइजिङस्थित ‘टेम्पल अफ हेभन’को भ्रमण र भव्य राजकीय भोजसहित भव्य समारोहहरू हुनेछन् । सन् २०१७ पछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो । रासस-एएफपी

  • नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

    नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

    टेक्सास (अमेरिका), वैशाख २८ गते । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियालगायत नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता थियो । लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबिचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए ।

    सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो । परेड अवधिभर सहरको मुख्य क्षेत्र मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदलयात्रुका लागि खुला गरिएको थियो । विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली वेशभूषा तथा सांस्कृतिक कार्यक्रमले सान फ्रान्सिस्कोको सडकलाई ‘नेपालमय’ बनाएको थियो । कार्यक्रममा प्रदर्शन गरिएका नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले समेत रुचिपूर्वक अवलोकन गरेका थिए ।

    नेपाली समुदायलाई हौसला प्रदान गर्न अमेरिकाका विभिन्न स्थानीय जनप्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको आकर्षण पञ्चकन्या, पञ्चेबाजा, शङ्खध्वनि, कुमारी, धिमे तथा लाखे नाच रहेका थिए । उत्सवमा सान फ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारी, बे एरियाका मेयर तथा सिटी काउन्सिल सदस्यहरूको समेत सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिए । रासस

  • ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु

    ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु

    काठमाडौँ, वैशाख २९ । बेलायतमा बस्दै आएका नेपाली समुदायबिच लोकप्रिय ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बिजिसिएल) को छैटौँ संस्करण सुरु भएको छ । नेपाली मूलका खेलाडीलाई व्यावसायिक क्रिकेट मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको बिजिसिएलमा बेलायतभर रहेका विभिन्न नेपाली क्रिकेट क्लबको सहभागिता रहेको छ ।

    प्रतियोगिताका खेल हरेक आइतबार सञ्चालन हुने आयोजकले जनाएको छ । आइतबार सम्पन्न पहिलो साताको खेल तालिका अनुसार खुकुरी सिसी र रमाइलो सिसी, त्यसैगरी माया सिसी र नेपालीज रोयल्स सिसी, नया युवा सिसी र हिमालयन सिसी तथा एभरेस्ट राइनोज सिसी र साथी सिसीबिचको खेल समपन्न भयो ।

    बिजिसिएल बेलायतमा नेपाली समुदायलाई लक्षित गरी ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो तथा एकमात्र क्रिकेट लिग हो । हालसम्म पाँच सफल संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको लिग ह्याम्पशायर क्रिकेट बोर्ड, नेसनल एसियन क्रिकेट काउन्सिल र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध छ ।

    आयोजकका अनुसार प्रतियोगिताले बेलायतमा रहेका नेपाली युवालाई क्रिकेटमार्फत एकताबद्ध गर्नुका साथै नेपाली क्रिकेटको विकास र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यस वर्षको संस्करण पनि प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ । ब्रिज इन्टरनेसनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगिता मे १० देखि अगस्टसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

  • आर्थिक वृद्धिदर औसत सात प्रतिशत

    आर्थिक वृद्धिदर औसत सात प्रतिशत

    काठमाडौँ, वैशाख २९ गते । सुशासन र नीतिगत सुधारमा केन्द्रित रहँदै सरकारले नयाँ चरणको आर्थिक सुधार शृङ्खलालाई प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रममा आगामी दशकमा औसत सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आधारभूत पुनर्संरचनामा नीति तथा कार्यक्रमलाई केन्द्रित गरिएको छ ।

    स्थिर पूर्वानुमान योग्य आर्थिक नीति निर्माण गर्ने गरी कर प्रशासन, लगानी तथा आयोजना विकासदेखि उद्यमशीलता प्रवर्धन जस्ता पक्षबाट आर्थिक सुधारको नतिजा प्राप्त गर्ने नीतिगत रूपान्तरणमा जोड दिइएको छ ।

    प्रविधिमैत्री राजस्व प्रशासनदेखि दोहोरो करमुक्त अवस्था सिर्जना गर्ने नीति सरकारको रहने छ । स्वदेशी निजी क्षेत्रदेखि वैदेशिक लगानी प्रवर्धन गर्ने गरी नीतिगत स्थिरताप्रति वचनबद्ध रहेको नीति तथा कार्यक्रममा एकीकृत कर प्रणालीदेखि एकद्वार प्रणालीको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । वैदेशिक सहायता ऋण तथा निजी क्षेत्रको लगानीलाई प्रतिफलमुखी बनाउने तथा सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा स्वीकार गरिएको छ ।

    मुआब्जाको विकल्प सेयर

    नीति तथा कार्यक्रममा ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्दै विद्युत्को आन्तरिक खपत उल्लेख्य रूपमा बढाउने वाचा गरिएको छ । विद्युत् उत्पादन, प्रसारण वितरण र व्यापारमा निजी क्षेत्रका सहभागिता सुनिश्चित गर्ने घोषणा गरिएकोे छ ।

    साथै अन्तरदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौतामार्फत दीर्घकालीन लगानी आकर्षित गर्ने सरकारको योजना छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा लघु जलविद्युत् आयोजना, सौर्य तथा वायु ऊर्जाको विस्तारलाई प्राथमिकतामा राखिने पनि योजना छ ।

    नीति तथा कार्यक्रममा जलविद्युत् आयोजना निर्माणका क्रममा प्रभावित हुने स्थानीय समुदायलाई परम्परागत नगद मुआब्जाको विकल्पस्वरूप आयोजनामा स्वामित्व सुनिश्चित गर्ने गरी सेयर उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको छ । सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महìवाकाङ्क्षी लक्ष्य अघि सारेको छ । उक्त लक्ष्य हासिल गर्न वातावरण तथा वनसम्बन्धी कानुनमा आवश्यक संशोधन गर्ने नीति सरकारको छ ।

    नीति तथा कार्यक्रममा जलविद्युत् तथा ऊर्जा पूर्वाधार विकासलाई तीव्रता दिन कानुनी, प्रशासनिक तथा प्रक्रियागत अवरोध हटाइने उल्लेख छ ।

    सरकारले आयोजना विकासमा देखिने गरेको अवरोध तथा ढिलासुस्ती सम्बोधन गर्ने गरी ‘कडा समयसीमा’ सहित रूपान्तरणकारी आयोजना निर्माण अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । “रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा समयसीमासहित अघि बढाइने छ,” राष्ट्रपतिले पौडेलले भन्नुभयो, “आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता, डिजिटल प्रगति ट्र्याकिङ, जग्गा प्राप्ति र वनसम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नहुने व्यवस्था गरिने छ ।”

    पुँजी जुटाउन नयाँ उपकरण

    सरकारले पुँजी निर्माणका लागि नयाँ बजार उपकरणसमेतको प्रचलन विस्तार गर्न खोजेको छ । ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरण विकास गर्ने योजना यसमा समेटिएको छ । त्यस्तै वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागु गरिने राष्ट्रपति पौडेलले बताउनुभयो ।

    उद्यम प्रवर्धन गर्न ‘लगानी एक्सप्रेस’

    सरकारले व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्न ‘लगानी एक्सप्रेस’ नीति लागु गर्ने भएको छ । विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरी तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराइने भएको छ । यस्तै विशेष आर्थिक क्षेत्रको विस्तार तथा साझा पूर्वाधारसहित ‘औद्योगिक ग्राम’ स्थापना गरिने भएको छ ।

    ग्रिन गार्मेन्ट भिलेज, सूचना प्रविधि पार्क, कृषि उत्पादन केन्द्रलगायत उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रको विकास गर्दै त्यस्ता क्षेत्रलाई औद्योगिक पर्यटनसँग आबद्ध गरिने नीति तथा कार्यक्रम छ । ‘स्टार्टअप नेपाल पोर्टल’ मार्फत एकैदिनमा कम्पनी दर्ता, कर छुट, बिउ पुँजीलगायतका सेवा प्रदान गरिने भएको छ ।

    यस्तै सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण, सरकारी सहलगानीसहित अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

  • ‘रोजगार प्रवर्धन दशक’ घोषणा

    ‘रोजगार प्रवर्धन दशक’ घोषणा

    काठमाडौँ, वैशाख २९ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ देखि २०९२–९३ सम्मलाई ‘रोजगार प्रवर्धन दशक’ का रूपमा घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको आगामी आव २०८३–८४ को नीति तथा कार्यक्रममा सो घोषणा गरेका हुन् ।

    वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने र आन्तरिक बजारमा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्य सरकारको छ । नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिने सरकारको योजना छ ।

    ‘कमाउँदै सिक्दै अवधारणा’ मा आधारित राष्ट्रिय अप्रेन्टिससिप कार्यक्रम सञ्चालन गरिने र नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने ‘रिमोट वर्क नीति’ को कानुनी अवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वैदेशिक रोजगारीबाट फर्केका युवाको सिपलाई डिजिटल ‘सिप पासपोर्ट’ मार्फत अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराइने पनि नीति तथा कार्यक्रम छ ।

    यस्तै श्रमिकका लागि कानुनी सहायता र न्यायमा सहज पहुँच सुनश्चित गरिने, डिजिटल श्रम निरीक्षण प्रणाली लागु गरी न्यूनतम पारिश्रमिक सुनिश्चित, कार्यस्थलमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूति गरिनेस सरकार, रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्ध विकास गर्दै राष्ट्रियस्तरको कल्याणकारी कोष प्रभावकारी रूपमा परिचालन विषय समेटिएको छ ।

    श्रमिकको सुरक्षा र न्यूनतम पारिश्रमिकको प्रत्याभूति सरकारले श्रमिकको कानुनी सहायता र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने, डिजिटल श्रम निरीक्षण प्रणाली लागु गरी न्यूनतम पारिश्रमिकको सुनिश्चित, कार्यस्थलमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्यको ग्यारेन्टी गरिने तथा बालश्रम निवारणका लागि गरिएका प्रतिबद्धतालाई कडाइसाथ कार्यान्वयन गरिने र राष्ट्रियस्तरको कल्याणकारी कोषलाई प्रभावकारी रूपमा परिचालन गरिने नीति सरकारको छ ।

    वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र प्रतिफलमुखी बनाउन सरकारले उच्च प्राथमिकता दिएको छ । अत्यधिक सेवा शुल्क लिने र श्रम शोषण गर्नेविरुद्ध कडा कारबाही गरिने व्यवस्था गरिएको छ । विदेशमा कार्यरत श्रमिकका लागि छुट्टै ‘कल सेन्टर’ सेवा उपलब्ध गराइने र श्रम कूटनीतिमार्फत उच्च पारिश्रमिक पाइने गन्तव्य मुलुकको विविधीकरण गरिने छ ।

    विप्रेषणलाई उपभोगबाट उत्पादनशील लगानीमा रूपान्तरण गर्न ‘विप्रेषण–लगानी मिलान कोष’ सञ्चालनमा ल्याइने, विदेशमा मृत्यु वा अङ्गभङ्ग भएका श्रमिकका परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रमलाई सुदृढ बनाइने र स्वदेश फर्केकाका लागि एकीकृत प्रोत्साहन प्याकेज ल्याइने योजना सरकारको छ ।

    अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गर्ने कार्यलाई तीव्रता दिइने र श्रमिकलाई अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराउने व्यवस्थासमेत मिलाइने नीति र कार्यक्रममा उल्लेख छ ।

  • चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौँ, वैशाख २९ गते । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ । कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैगरी, कोशी तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्म वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ । रासस

  • बेनी–जोमसोम सडक अवरुद्ध

    बेनी–जोमसोम सडक अवरुद्ध

    २९ वैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सिनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए । महभिरमा सडकदेखि करिब ५०० मिटरमाथिको भिरबाट पहिरो खस्ने गरेको छ । सामान्य वर्षा हुँदाबित्तिकै लेदोसहित खस्ने पहिरोले सडक अवरुद्ध गराउनुका साथै अन्य समयमा दुर्घटनाको जोखिम बढाएको छ ।

  • नीति तथा कार्यक्रममाथि संसदमा आजबाट छलफल

    नीति तथा कार्यक्रममाथि संसदमा आजबाट छलफल

    २९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–०८४ नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममा छलफल सकिएपछि जेठ १५ गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ ।

  • ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

    ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

    काठमाडौँ, वैशाख २८ गते । सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि नियन्त्रण गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रममा सीमा नाकामा अनुहार पहिचान प्रणाली स्थापना गरिने उल्लेख छ । यस्तै, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिने नीति तथा कार्यक्रममा समावेश छ ।

    साथै, सशस्त्र प्रहरी बल नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधारसहित विशिष्टकृत सुरक्षा बलका रूपमा विकास गरिने सरकारको सङ्कल्प छ । यस्तै, सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक–सुरक्षा सम्बन्ध सुदृढ बनाइने र सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने उल्लेख गरिएको छ । बृहत् राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षासम्बन्धी नीति तथा कानुनको व्यावसायिक परिमार्जन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिने

    यसैगरी, सरकारले सुरक्षा क्षेत्रमा हुँदै आइरहेको बाह्य निर्भरता कम गर्ने सङ्कल्प लिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा नेपाली सेनालगायत सुरक्षा निकायको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

    “सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकासमार्फत व्यावसायिकता अभिवृद्धि गरिने छ । राष्ट्रिय सेवा दललाई सुदृढ गरिनेछ”, सम्बोधनमा राष्ट्रपति पौडेलले भने । ठुला विकास आयोजनाको विस्तृत परियोजना अध्ययन गर्दा राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावको समेत मूल्याङ्कनलाई अनिवार्य गरिने नीति कार्यक्रममा जनाइएको छ । रासस

  • एसईई परीक्षाको नतिजा सार्वजनिक

    एसईई परीक्षाको नतिजा सार्वजनिक

    भक्तपुर, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन्।

    ग्रेडगत विवरण

    नतिजाको विश्लेषण गर्दा सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ। त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना रहेका छन्।

    अन्य ग्रेड समूहको विवरण निम्नुअनुसार छ

    २.८० देखि ३.२० जीपीए ः ९४,२२२ जना

    २.४० देखि २.८० जीपीएः ५५,९७७ जना

    २.०० देखि २.४० जीपीए ः ५,१९० जना

    १.६० देखि २.०० जीपीए ः ७ जना

    १ लाख ४६ हजारको (एनजी) यस वर्षको नतिजामा १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थीले एनजी प्राप्त गरेका छन्। एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ। बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ भने सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको नतिजा विगतका वर्षहरूको तुलनामा सन्तोषजनक रहेको र शिक्षाको गुणस्तर सुधारोन्मुख देखिएको दाबी गरेको छ।

  • एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

    एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

    काठमाडौँ, वैशाख २८ गते । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने बताए । साथै पाठ्यक्रमलाई समयसापेक्ष बनाउँदै विद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र रोजगारमुखी बनाइने बताए ।

    उनले सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्ने तथा तथा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थालाई सेवामुखी र गुणस्तरकेन्द्रित बनाउन आवश्यकताअनुसार नियमन गरिने बताए । नयाँ शिक्षा योजनाअन्तर्गत इलर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सिकाइ प्रणाली विस्तार गरिने भएको बताए ।

    उच्च शिक्षालाई श्रम बजारसँग जोड्ने रणनीतिअनुसार विश्वविद्यालयहरूको प्राज्ञिक तथा शासकीय पुनर्संरचना सरकारको नीति रहेको समेत उनले बताए । उनले विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरबन्दी मिलान, पुस्तकालय र प्रयोगशाला सुधारलाई एकीकृत योजनामार्फत कार्यान्वयन गरिने बताए ।

  • पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

    पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

    काठमाडौँ, वैशाख २८ गते । सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रममा माध्यमिक तहसम्मको शिक्षालाई सहज पहुँचयोग्य बनाउने सङ्कल्प गरिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारीमुखी शिक्षाको विस्तार, सार्वजनिक शिक्षामा लगानी वृद्धि गरी शिक्षाको नियमन, कृत्रिम बुद्धिमता र सूचना प्रविधिको प्रयोग विस्तारका विषय पनि समावेश गरिएका छन् ।

    यस्तै, विश्वविद्यालयको पुनःसंरचना, शिक्षक नियुक्ति र बढुवालाई पारदर्शी बनाउँदै शिक्षकको पारिश्रमिक बढाइने र १० हजार सामुदायिक विद्यालयमा उच्च गतिमा इन्टरनेट विस्तार गर्ने प्रतिबद्धता पनि गरिएको छ । रासस

  • गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने

    गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने

    काठमाडौँ, वैशाख २८ गते ।सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तरराष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका आगामी आवको नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको हो ।

    सरकारले धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनःसंरचना गर्दै धितोपत्र बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ। ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरणको प्रयोग गरी दीर्घकालीन पुँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

  • राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री उठेर हिँडेको प्रति एमालेको आपत्ति

    राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री उठेर हिँडेको प्रति एमालेको आपत्ति

    २८ वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बालेन शाहले बैठक छोडेर हिंडेकोप्रति आपत्ति जनाएको छ । आजै बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री शाह बीचमै उठेर हिंडेका थिए । उनले बीचमै छाडेर हिंड्नुप्रति आपत्ति जनाउँदै एमालेका सांसद गुरु बरालले नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको स्वामित्व के हुने भन्दै प्रश्न गरे ।

    ‘राष्ट्रपतिज्यूले नीति र कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । देशको प्रधानमन्त्रीज्यू जसले यो टेबुल गर्ने प्रक्रियामा हुनुहुन्थ्यो । उहाँले बीचैमा बहिष्कार गरेर हिंड्नुभएको हामीले देख्यौं,’ सांसद बरालले भने, ‘यसले यो नीति र कार्यक्रमप्रतिको उहाँको अनरसिप (स्वामित्व) के हो ? यो संसद्ले बुझ्न चाहन्छ ।’

    साथै, बैठक चलेको सुरुको १५ मिनेटसम्म प्रधानमन्त्री बालेनले के गरिरहेको ? भन्दै उनले प्रश्न पनि गरे । उनले सुरुको १५ मिनेट रेकर्डबाट हटाउन पनि सभामुखसमक्ष माग गरे । ‘बैठक चलिरहेको छ । बैठकमा निश्चित मर्यादा हुन्छन् । राष्ट्रपतिज्यूलेका सम्बोधनको करिब १५ मिनेट फ्रन्ट लाइनमा बसेर के संवाद र छलफल गरिरहनुभएको थियो ?,’ उनले भने, ‘यो संसदीय मर्यादाले नसुहाउने कुरा भएकाले त्यो रेकर्डबाट डिलिट गरियो भने पछिका लागि नजिर बस्नेछ ।’

  • आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

    आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

    काठमाडौँ, वैशाख २८ गते । सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने भएको छ । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थासमेत समेट्ने गरी यो अभियान सञ्चालन गरिने प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशनसमेत दिएको छ ।

    यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन सोमबार बिहान ८स्३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ । यस अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ मा उल्लेख छ । त्यसै गरी सरकारी निकायमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक रहेको सो मार्गदर्शनमा जनाइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो । मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरू स्पष्ट र व्यवस्थित हुनुपर्ने छ । चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङरोगन गरिने छ । मुख्य सेवा क्षेत्र र प्रवेशद्वार आकर्षक र सफा राखिने छ ।

    त्यसै गरी शौचालय दुर्गन्धरहित बनाइने छ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने छ । हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्ने छ । शौचालय महिलामैत्री, सेनेटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्ने, कार्यालयले कम्तीमा दुई प्रकारका फोहोरदानी ९डस्टबिन० राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने जारी सूचनामा उल्लेख छ । मार्गदर्शनमा पुराना काम नलाग्ने सामानको उचित व्यवस्थापन गर्न आग्रह गरिए पनि खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

    त्यसै गरी कार्यालयपरिसरको एक सय मिटरवरिपरि, नाली र ढल सफा हुनुपर्ने, पार्किङ क्षेत्र सुधार गरी अव्यवस्थित तार वा पोस्टर हटाउनुपर्ने, कार्यालयमा सहायता कक्ष ९हेल्प डेस्क० व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाउने गरी सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन मार्गदर्शनमा निर्देश गरिएको छ ।

    ​दिगोपन र अनुगमनको संयन्त्र

    यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने छ । प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्वमूल्याङ्कन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छस जसले यसको नियमित अभिलेख राख्नुपर्ने छ ।

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    २८ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ ।

    अहिले कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल तथा देशका बाँकी भू–भागहरूमा आंशिक बादल लागिरहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

    विभागका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

    साथै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस

  • बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने

    बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने

    २८ वैशाख, काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको उनले बताए ।

    उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ । राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३स्४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि अपराह्न २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन् ।

    संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ । त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ ।

    यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुनेछन् ।

  • काठमाडौं अवतरणका क्रममा टर्किस एयरमा देखियो आगो

    काठमाडौं अवतरणका क्रममा टर्किस एयरमा देखियो आगो

    २८ वैशाख, काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो देखिएको छ । आगो दमकल प्रयोग गरी निभाइएको छ ।
    विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको छ ।

    सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । इस्तानबुलबाट काठमाडौं आएको जहाजमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो । उक्त विमान धावनमार्गमै रोकिएपछि अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ।

  • ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

    २७ वैशाख, काठमाडौं । स्पेनको क्यानरी टापुतर्फ गइरहेको ‘हान्टाभाइरस’ प्रभावित पानीजहाजका विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गरेका छन् । उनले वर्तमान अवस्था ‘अर्को कोरोना महामारीजस्तो नभएको’ स्पष्ट पार्दै जनस्वास्थ्य जोखिम हाल न्यून रहेको बताएका छन्।

    नेदरल्यान्ड्सको झण्डा बोकेको ‘एमभी होन्डियस’ नामक पानीजहाजमा १४० भन्दा बढी यात्रु तथा चालकदलका सदस्य रहेका छन् । उक्त जहाज पश्चिम अफ्रिकाको तट नजिक रहेको स्पेनको क्यानरी टापु समूहअन्तर्गत टेनेरिफे टापुमा आइतबार बिहान पुग्ने अपेक्षा गरिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस, स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सिया तथा गृहमन्त्री फर्नान्डो ग्रान्दे–मार्लास्का शनिबार टेनेरिफे पुगेर यात्रु तथा चालकदललाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकाल्ने कार्यको समन्वय गर्ने तयारीमा रहेका छन् । स्थानीय बासिन्दालाई सम्बोधन गर्दै टेड्रोसले विगतको कोरोना महामारीको पीडा अझै ताजा रहेकाले मानिसहरूमा चिन्ता हुनु स्वाभाविक भएको बताए । तर उनले हाल देखिएको हान्टाभाइरसको अवस्था कोरोना महामारीसरह नभएको र जोखिम नियन्त्रणमै रहेकोमा जोड दिए ।

    विश्व स्वास्थ्य संगठन, स्पेनी अधिकारीहरू तथा जहाज सञ्चालन कम्पनीका अनुसार हाल जहाजमा रहेका कसैमा पनि भाइरसको लक्षण देखिएको छैन । सम्बन्धित निकायहरूले यात्रुहरूको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिरहेका छन् । हान्टाभाइरस प्रायः मुसा तथा अन्य कृन्तक जनावरबाट सर्ने भाइरस हो । यसको सङ्क्रमणले ज्वरो, थकान, श्वासप्रश्वासमा समस्या लगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यद्यपि विशेषज्ञहरूले हालको अवस्थालाई नियन्त्रणयोग्य रहेको बताएका छन् ।

    रासस-एपी

  • रास्वपा सचिवालय बैठकले के गर्यो निर्णय ?

    रास्वपा सचिवालय बैठकले के गर्यो निर्णय ?

    २८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारको केन्द्रीय सचिवालय बैठकबाट भेला तथा अधिवेशनको विशेष कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले आगामी वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबारको बैठकले वडा, पालिका र जिल्ला तहसम्मका भेला तथा अधिवेशनको तालिका स्वीकृत गरेको छ। निर्णय अनुसार जेठ २ गते समिति गठन नभएका वडाहरूमा वडा भेला हुनेछ।

    वैशाख २० अगावै समिति गठन भएका वडाहरूमा जेठ ३ गते वडा अधिवेशन गरिनेछ। यस्तै, समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते पालिका भेला तथा वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा जेठ १० गते पालिका अधिवेशन गर्ने निर्णय गरिएको छ। बैठकले जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूमा जेठ १६ गते वडा अधिवेशन र जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिकाहरूमा जेठ १७ गते पालिका अधिवेशन गर्ने कार्यतालिका पनि तय गरेको छ। जिल्ला अधिवेशन भने जेठ २३ र २४ गते हुने जनाइएको छ।

    त्यस्तै बैठकले विभिन्न तह र विभागबाट प्राप्त सिफारिसका आधारमा विभिन्न पदमा मनोनयन पनि गरेको छ। निर्णय अनुसार ‘र्‍याट’ समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा एपिएफका पूर्वडिआइजी बिदुर खड्का मनोनीत भएका छन्। स्टार्टअप विभाग प्रमुखमा डा. प्रभात अधिकारी र सचिवमा हरि जोशी, शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे, कर्णाली प्रदेश सहमहामन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदी तथा केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेल मनोनीत भएका छन्।

    कञ्चनपुर जिल्ला सभापतिको जिम्मेवारी पदम बिष्टलाई दिइएको छ। बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने तथा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय पनि गरेको छ। यस्तै, पार्टी हितविपरीत काम गरेको भन्दै विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।

  • जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २७ पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २७ पक्राउ

    २७ वैशाख, काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ। प्रहरीले दाङ, कास्की र ललितपुरमा जाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका-५ का ७२ वर्षीय काशिराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा काशिरामसहित १० जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    कास्कीको पोखरा महानगरपालिका १७ का ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्मदत्तसहित नौ जनालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका(१ का ५० वर्षीय श्यामकुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा श्यामकुमारसहित आठ जनालाई प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

  • मङ्गलबारसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान

    मङ्गलबारसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान

    काठमाडौँ, वैशाख २७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले आगामी मङ्गलबारसम्म देशका विभिन्न भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।

    आज आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
    यसैगरी, भोलि सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । पर्सी मङ्गलबार कोशी, मधेश, बागमती प्रदेशका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • मधेश सरकारलाई निरन्तरता दिने सत्तारुढ दलको निर्णय

    मधेश सरकारलाई निरन्तरता दिने सत्तारुढ दलको निर्णय

    २७ वैशाख, काठमाडौं । मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार चार दलका नेताले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको सत्ता साझेदार दलहरूको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई यथाशीघ्र विश्वासको मत लिन आग्रह गर्ने निर्णयसमेत गरेको हो। नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री यादवको नेतृत्वमा रहेको सरकारलाई समर्थन जारी राख्ने र संविधानअनुसार छिट्टै विश्वासको मत लिने समझदारी बैठकमा भएको छ।

    बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका नेता जयनुल राइनका तर्फबाट रानी शर्मा तिवारी सहभागी थिए ।


    यसअघि जनमत पार्टीले वैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मधेश प्रदेश सभामा १२ सदस्य रहेको जनमत पार्टीले समर्थन फिर्ता लिए पनि सरकारबाट भने बाहिरिएको छैन। सो पार्टीबाट महेश यादव अर्थमन्त्री र वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीका रूपमा सरकारमा सहभागी छन् ।


    हाल १०२ सदस्यीय कायम रहेको मधेश प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुर्‍याउन ५२ जना सदस्य आवश्यक पर्छ। वर्तमान मुख्यमन्त्री यादवलाई सरकारमा सहभागी नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, नेकपाका १५ र लोसपा नेपालका ८ गरी ६३ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।

  • सोमबारदेखि संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    सोमबारदेखि संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    काठमाडौँ, वैशाख २७ गते । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए ।
    नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उनले जानकारी दिए । उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।

    राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ स्४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक हुने छन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रीपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

    त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ । यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि_ पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुने छन् । रासस

  • नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जना जिहादी लडाकूको मृत्यु

    नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जना जिहादी लडाकूको मृत्यु

    मैदुगुरी, नाइजेरिया, वैशाख २७ । नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा यसै हप्ता भएको झडपमा कम्तीमा ५० जिहादी विद्रोहीको मृत्यु भएको जनाएको छ । सन् २००९ देखि देशले बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको छ ।

    उनीहरूले यस क्षेत्रमा इस्लामिक खलिफा स्थापना गर्ने बताउँदै आएका छन् । सेनाले बिहीबार बुनी गारी शहरमा रहेको आफ्नो २७ औँ ब्रिगेडको मुख्यालय र योबे राज्यको नजिकैको सुरक्षा जाँच स्थलमा आइएसडब्ल्युएपीसँगको झडपका क्रममा जिहादी लडाकू मारिएका बताइएको छ । “धेरै दिशाबाट ठूलो सङ्ख्यामा आतङ्ककारीले अँध्यारोको फाइदा उठाउँदै स्थानीय समयअनुसार राति करिब २ः०० बजे सुरु गरेको आक्रमणलाई विनाशकारी सशस्त्र आक्रमणलाई रणनीतिक प्रतिभा र सैनिकको दृढ विश्वासले विफल पारिदिएको छ,” आर्मले शुक्रबारको बयानमा भन्नुभयो ।

    झडपमा कम्तीमा ५० जना आतङ्ककारीको मृत्यु भएको र ठूलो परिमाणमा हातहतियार र गोलाबारुद बरामद गरिएको छ भने दुई सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । सेनाले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तस्बिरमा बरामद हातहतियार र गोलीगठ्ठासहित मृत शरीर देखाइएको छ । नाम नबताउने सर्तमा एक खुफिया स्रोतले आक्रमण र सेनाको प्रत्याक्रमणको पुष्टि गरेको छ ।

    यद्यपि उक्त स्रोतले सेनातर्फ पनि क्षति भएको जनाएको छ । अर्को गुप्तचर स्रोतका अनुसार मारिएका र घाइते भएका सैनिकलाई छ वटा एम्बुलेन्समा छिमेकी बोर्नो राज्यको राजधानी मैदुगुरी लगिएको छ । बोको हराम र आइएसडब्ल्यएपीले हालैका महिनामा तुलनात्मकरूपमा शान्तिको अवधिपछि आक्रमण बढाएका छन् ।

    सन् २०१९ देखि सेनाले साना चौकी बन्द गरेको छ र आक्रमणलाई राम्रोसँग सामना गर्न डिजाइन गरिएको ‘सुपर क्याम्प’ भनेर चिनिने ठूला, भारी सुदृढ शिविरमा आफ्नो सेनालाई पुनः सङ्गठित गरेको छ । केही विश्लेषक भन्छन्, “यो रणनीतिले सशस्त्र समूहलाई कम सैन्य उपस्थिति भएका ग्रामीण क्षेत्रमा बढी स्वतन्त्ररूपमा आवतजावत गर्न अनुमति दिएको छ ।”

    संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तरपूर्वी नाइजेरियामा जिहादी विद्रोहले ४० हजारभन्दा बढीको ज्यान लिएको छ र करिब २० लाख विस्थापित भएको छ र हालैका वर्षमा छिमेकी नाइजर, क्यामरुन र चाडका केही भागमा फैलिएको छ । रासस-एएफपी