Category: समाचार

  • यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

    यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

    ८ वैशाख, काठमाडौं । यूएईसँगको दोस्रो टी–२० आईमा नेपाल ८ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । दुई खेलको टी–२०आई सिरिज एकएकको बराबरीमा टुंगिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल ५७ बलमा ८४ रन बनाएर अविजित रहे । उनले १२ चौका र २ छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरी १७ बलमा २३ रन बनाएर अविजित रहे । ओपनर कुशल मल्ल १९ बल र सन्तोष यादव १ रन जोडेर आउट भए । बलिङमा युएईका मोहम्मद अरफान र निलंश केसवानीले एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । युएईका लागि अक्षदीप नाथले अर्धशतक प्रहार गरे । ४८ रन जोड्दा ६ विकेट गुमाएर संकटमा पुगेको यूएईको ब्याटिङ अक्षदीप र मोहम्मद अरफानको साझेदारीले उकासेको थियो ।

    नाथ र अरफानले सातौं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । नाथ ५३ रनमा अविजित रहँदा अरफान ३२ रनमा आउट भए । कप्तान मोहम्मद वासिम ०, अदीब उसमानी ३०, अलीशान शराफू १, हरप्रीत सिंह भाटिया १, शोएब खान ०, निलंश केसवानी ० र खुजाइमा तनभीर ० रनमा आउट भए । बलिङमा नेपालका सन्दीप लामिछानेले ३, हेमन्त धामीले २, नन्दन यादव र शाहव आलमले एकएक विकेट लिएका थिए ।

  • सरकारी वेबसाइटहरू अब अपाङ्गतामैत्री : किबोर्डबाटै चलाउन सकिने

    सरकारी वेबसाइटहरू अब अपाङ्गतामैत्री : किबोर्डबाटै चलाउन सकिने

    ८ वैशाख, काठमाडौं । सूचना प्रविधि विभागले सरकारी वेबसाइटलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहलले विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको छ ।

    विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार अब सरकारी वेबसाइटहरू किबोर्डको प्रयोगबाट मात्र पनि सहजरूपमा सञ्चालन गर्न सकिने छ । यस व्यवस्था अन्तर्गत प्रयोगकर्ताले माउस प्रयोग नगरीकनै वेबसाइटको सम्पूर्ण भागमा पहुँच पाउने छन् । साथै वेबसाइटमा ‘स्किप नेभिगेसन’ लिङ्कको व्यवस्था गरिएकाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोग गर्ने व्यक्तिहरूले अनावश्यक नेभिगेसन सामग्री छोडेर सिधै मुख्य विषयवस्तुमा जान सक्ने सुविधा प्राप्त गर्ने छन् ।

    विभागले वेबसाइटमा राखिएका सबै महत्त्वपूर्ण तस्बिर, लोगो, चिह्न तथा सेवासम्बन्धी तस्बिरहरूमा ‘अल्ट टेक्स्ट’ समावेश गरेको छ । यसले गर्दा स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्रीको प्रकृति बुझ्न सहज हुने छ । त्यस्तै फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू पनि अब सजिलै सुन्न र बुझ्न सकिने गरी परिमार्जन गरिएको छ । सर्च र सम्पर्क फारामजस्ता सबै इनपुट क्षेत्रमा स्पष्ट नाम र चिह्न राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई थप सहजता हुने विभागले जनाएको छ ।

    किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्र आफू कुन स्थानमा छु भन्ने कुरा स्पष्ट देखिने गरी दृश्य सङ्केतहरू पनि समावेश गरिएको छ । फाराम पेस गरेपछि प्राप्त हुने सन्देशहरू समेत स्क्रिन रिडरले सजिलै पहिचान गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि प्रत्यक्ष रूपमा धेरै नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि भने अत्यन्त उपयोगी हुने छन् ।

    महानिर्देशक साहले यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्‍याउने लक्ष्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । यस कदमले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

  • कन्चनपुरमा विवाहमा झगडा, एक किशोरको हत्या

    कन्चनपुरमा विवाहमा झगडा, एक किशोरको हत्या

    ८ वैशाख, काठमाडौं । कञ्चनपुरमा विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्वल सायरको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार गएराति साढे १ बजेतिर भानुबस्तीमै विवाहमा गएका बेला झगडा हुँदा उज्वलमाथि धारिलो हतियार प्रहार भएको थियो ।

    उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए । उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरुको परिचय गोप्य राखिएको छ ।

  • नेपाल र यूएईबीच दोस्रो खेल आज

    नेपाल र यूएईबीच दोस्रो खेल आज

    ८ वैशाख, काडमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो इनिङ सकिन लाग्दा वर्षा भएपछि खेल रोकिएको थियो ।

    त्यसपछि खेल १० ओभरमा घटाइएको थियो भने यूएईलाई ७८ रनको लक्ष्य प्राप्त भएको थियो । यूएईले ७ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि हिजोको खेलमा पेस बलर हेमन्त धामीले टी–२०आई डेब्यू गरे । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाएपछिको नयाँ स्वरुपको टोली पहिलो खेलमा भने सफल हुन सकेन । यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएका छन् ।

  • सरकारले खुलायो पुनः श्रम स्वीकृति

    सरकारले खुलायो पुनः श्रम स्वीकृति

    ८ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

    सरकारले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राखी गएको फागुन १७ देखि लागु हुने गरी साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल देशमा सबै प्रकारका श्रम स्वीकृति स्थगन गरेको थियो । ती देशका लागि दुई चरणमा पुनः श्रम स्वीकृति खुला गरेको विभागले नयाँका लागि भने एकै पटक खुला गएको छ ।

    विभागका अनुसार पुनः श्रम स्वीकृति गएको चैत ५ देखि पश्चिम एसियाका सात देश साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा खुला गरेको हो भने इजरायल, कुवेत, बहराइन र लेबनानका लागि भने चैत ३० देखि दिन थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८२ फागुन १७ को मन्त्रीस्तरीय निर्णय अनुसार सम्बन्धित सबैलाई जानकारी गराउँदै यो व्यवस्था लागु गरिएको विभागका महानिर्देशक मीरा आचार्यले जानकारी दिइन् ।


    यसै गरी इराकका हकमा भने नेपाल सरकार मन्त्रीपरिषद्को २०८२ पुस ११ को निर्णयबमोजिम श्रम स्वीकृति प्रदान गरिने जनाइएको छ । यसअघिको निर्णय अनुसार विभागले वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने व्यवस्था गर्दै आएका थिए । विभागका अनुसार विभिन्न माध्यमबाट इराक गएर इराकको आधिकारिक भिसामा काम गरिरहेका र घर बिदामा आएर पुनः जान चाहनेलाई सरकारले श्रम स्वीकृति दिने निर्णयको कार्यान्वयन गर्दै श्रम स्वीकृति व्यवस्था गरेको थियो ।

  • तराईमा तातो हावा चल्ने सम्भावना, सचेत रहन आह्वान

    तराईमा तातो हावा चल्ने सम्भावना, सचेत रहन आह्वान

    काठमाडौँ, वैशाख ८ गते । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ ।

    साथै मधेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । महाशाखाका अनुसार आज राति हिमाली भू–भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाहिमपातको सम्भावना रहेको छ । रासस

  • भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

    भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

    झापा, वैशाख ८ गते । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।


    भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो । ‘बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिने भए पनि उपचारका लागि बिरामी र अतिजरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए । नेपाल र बङ्गलादेशका पर्यटकको हकमा आफ्नो मुलुक जानका लागि भारतीय प्रशासनले परिचय खुल्ने कागजपत्र देखाएमा आवतजावतमा सहजीकरण गरिदिने भएको उनले बताए । रासस

  • यस्तो छ आज निर्धारित विदेशी विनिमय दर

    यस्तो छ आज निर्धारित विदेशी विनिमय दर

    ८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुुसार आज अमेरिकी डलर, युके पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ बढेको छ । अष्ट्रेलियन डलरको भाउ भने हिजोको तुलनामा केही घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको थियो । आज युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा थियो ।

    आज युके पाउण्ड स्ट्रलिङको भाउ हिजोको तुलनामा केही बढेको छ । आज पाउण्ड एकको खरिददर २०१ रुपैयाँ ८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा छ । हिजो पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा थियो । आज स्वीस फ्रयांकको पनि भाउ बढेको छ । आज स्वीस फ्रयांक एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ १५ पैसा कायम गरिएको छ । हिजो स्विस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५६ पैसा कायम गरिएको थियो ।

    आज अष्ट्रेलियन डलरको भाउ भने आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा थियो । क्यानेडियन डलरको भाउ भने आज बढेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ नौ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा थियो । आज सिंगापुर डलरको भाउ बढेको छ । आज सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ र बिक्रीदर ११७ रुपैयाँ ४७ पैसा तोकिएको छ । हिजो सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३० पैसा तोकिएको थियो ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४३ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ सात पैसा, कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक कपिलवस्तुबाट पक्राउ

    सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक कपिलवस्तुबाट पक्राउ

    ८ वैशाख, काठमाडौं । सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
    वैशाख ५ गते पक्राउ परेका उनीहरुको साथबाट १७ हजार १३६ अमेरिकी डलर, साउदी रियाल, बंगलादेशी टाका, युएई दिराम, मलेसियन रिंगेट र दुई थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

    केही स्थानीय तथा सुनचाँदी व्यवसायीहरुलाई अपिरिचित व्यक्तिहरुले अल्मल्याउने र सुन चोरेर भाग्ने गरेको सूचनाको आधारमा कपिलवस्तु प्रहरी अनुसन्धानमा खटिएको थियो । त्यसक्रममा गत चैत ३० गते नै २० वर्षीया बिबी कालसुम र ४१ वर्षीया शबानालाई पक्राउ प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट पाएको सूचना समेतको आधारमा यही वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई जना पुरुषलाई पनि पक्राउ गरिएको हो ।

    उनीहरुलाई कपिलवस्तु पुर्‍याई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका यी व्यक्तिहरुमाथि सुनसरीको इटहरी, मोरङको विराटनगर, रुपन्देहीको बुटवल र चितवनमा समेत सुनका गरगहना चोरीको जाहेरी दरखास्त परेको प्रहरीले जनाएको छ ।

  • उदयपुरमा आगलागी, २ जनाको मृत्यु

    उदयपुरमा आगलागी, २ जनाको मृत्यु

    ८ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता खड्का घाइते छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ । आज बिहान करिब पौने ३ बजेबाट लक्ष्मीनारायणको घरबाट आगलागी सुरु भएको थियो । आगोले लक्ष्मीनारायणसहित रबिन कुमार दास र सकलदेवको घर समेत जलेको छ । त्यतिबेला उनीहरु सुतिरहेका थिए ।

    सुतिरहेको अवस्थामा आगलागीमा परी लक्ष्मीनारायण र पवन खड्का खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए । त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा मंगलबार बिहान आगो नियन्त्रणमा लिइएको छ । विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

  • नवनियुक्त चार राजदूतद्वारा प्रमाणपत्र पेस

    नवनियुक्त चार राजदूतद्वारा प्रमाणपत्र पेस

    ८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त चार गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यका अनुसार सोमबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि गैर आवासीय राजदूतहरू गाम्बियाका मुस्तफा जवारा, क्यानडाका क्रिस्टोफर कुटर, स्लोभेनियाका टोमाज मेन्सिन् र अल्जेरियाका एब्डेनर खेरिफीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको उनको भनाइ छ।

  • घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

    घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

    ७ वैशाख, काठमाडौं । यूएईसँगको टी–२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो । युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए । अलीशान शराफूले १८ रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछाने ३ र कुशल मल्लले एक विकेट लिए ।

    त्यसअघि नेपालले १८ ओभर ५ बलको खेल सकिदा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ३२ र सन्दीप लामिछाने २ रनमा अविजित रहेका थिए । कुशल भुर्तेल १६, अर्जुन साउद १३, सन्दीप जोरा ६, कुशल मल्ल १७, बसिर अहमद १४, गुल्सन झा १, नन्दन यादव १३ र शेर मल्ल ० रनमा आउट भए । बलिङमा युएईका मुहम्मद जुहेबले ३, जुनैद सिद्दिकीले २, साएद हैदर र मुहम्मद अरफानले एकएक विकेट लिएका थिए । नेपाल र युएईबिचको दोस्रो टी–२०आई खेल मंगलबार हुनेछ ।

  • चौतर्फी आलोचनाका बीच गृहमन्त्रीको चेतावनी : कारवाही रोकिन्न

    चौतर्फी आलोचनाका बीच गृहमन्त्रीको चेतावनी : कारवाही रोकिन्न

    ७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरू अहिले डराएको टिप्पणी गरेका छन् ।
    सञ्जालबाट आफूमाथि उठेका प्रश्नको लामो जवाफ दिएका गुरुङले सोमबार राति पुनः अर्को स्टाटस लेखेका छन् । जहाँ उनले आफूविरुद्धका हल्लालाई छटपटिको संज्ञा दिएका छन् ।

    ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्,’ गृहमन्त्री गुरुङले लेखेका छन्, ‘मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो । कारबाही रोकिँदैन, डगमगाइँदैन ।’ दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुस्ख गरेर लागेको आफूले नदेखेको उनको भनाइ छ ।

  • प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर

    प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर

    ७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने बताएको छ । ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउने छ ।’

    पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको कांग्रेसको धारणा छ । कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरेको थियो ।

    गृहमन्त्री गुरूङसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासोमात्र नभएर राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको कांग्रेसले जनाएको छ । ‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।’

  • जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी

    जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी

    ७ वैशाख, काठमाडौं । जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। सुरुवाती रिपोर्टमा ७.३ म्याग्निच्युड मापन गरिएको यस भूकम्पलाई पछि जापानले ७.५ म्याग्निच्युडमा संशोधन गरेको छ। भूकम्पको केन्द्रविन्दु देशको पूर्वी भागमा पर्ने सान्रिकु तटमा १० किलोमिटर गहिराइमा रहेको थियो। जापानको आफ्नै भूकम्पीय मापन स्केल (० देखि ७ सम्म) मा यसलाई ‘५ं’ रेकर्ड गरिएको छ।

    भूकम्पलगत्तै देशको उत्तरपूर्वी तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ, जुन जापानको चेतावनी प्रणालीअनुसार दोस्रो उच्च स्तरको सतर्कता हो। मौसम विज्ञान एजेन्सीले ३० मिनेटभन्दा कम समयमै तटीय क्षेत्रहरूमा ३ मिटरसम्म अग्ला सुनामीका छालहरू ठोक्किन सक्ने अनुमान गरेको छ। एनएचके न्युजका अनुसार जापानको समुद्री तटमा सुनामीका छालहरू देखिन थालिसकेका छन्। अधिकारीहरूले प्रभावित क्षेत्रका मानिसहरूलाई कुनै ढिलाइ नगरी तत्काल उच्च भूभागतर्फ जान कडा निर्देशन दिएका छन्।

    सुनामीबाट मध्य प्रशान्त होक्काइडो तट, आओमोरी प्रिफेक्चर तट र इवाते प्रिफेक्चर तट सबैभन्दा बढी प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । शक्तिशाली भूकम्पका कारण सार्वजनिक यातायातमा पनि प्रत्यक्ष असर परेको छ। जापानको क्योडो न्युजका अनुसार, राजधानी टोकियो र उत्तरी सहर आओमोरीबीच चल्ने बुलेट ट्रेन सेवा हाललाई पूर्ण रूपमा रोकिएको छ। अधिकारीहरूले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् भने प्रभावित क्षेत्रमा निरन्तर उच्च सतर्कता अपनाइएको छ।

  • अर्थमन्त्रीले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

    अर्थमन्त्रीले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

    ७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवबीच आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तयारी सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष तथा सदस्य र प्रधानमन्त्रीका प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल समेत सहभागी थिए ।

    अर्थ सचिव डा. घनश्याम उपाध्यायले अर्थ मन्त्रालयले रकमान्तरमा विषयगत मन्त्रालयबाटै हुने गरी सहजीकरणका लागि निर्णय गरेको, बहुवर्षीय ठेक्काको स्रोत सहमतिको समयसीमा परिवर्तन लगायत विषयमा जानकारी गराए । बजेट तथा कार्यक्रम महाशाखा सहसचिव डा। सुमन दाहालले आगामी आवको बजेट तयारीको हालसम्मको अवस्थाबारे जानकारी गराए ।

    विषयगत मन्त्रालयका मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको बजेट तथा कार्यक्रमसँग सम्बन्धित स्थिति र समस्याबारे जानकारी गराएका थिए । कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालको सार्वजनिक वित्त संकटको अवस्थामा रहेको सन्दर्भमा आगामी बजेटमा सबैको सामूहिक परीक्षण हुने बताए । राज्यको अनिवार्य दायित्व १ हजार ३ सय ३० अर्ब र राजस्व १ हजार १ सय ८० अर्ब रहेको अवस्थामा नागरिकका आकांक्षा सम्बोधन हुने गरी बजेट निर्माण गर्नु चुनौतीपूर्ण रहेको समेत उनले बताए ।

    बजेटका लागि सिद्धान्तका रूपमा सुशासन तथा संस्थागत सबलीकरण, सदाचारिता नीति अवलम्बन, फराकिलो आर्थिक वृद्धिसहित आर्थिक विकास, निजी लगानी, सूचना प्रविधि विस्तार, पूँजी निर्माणका लागि पूर्वाधार विकास, मध्यमस्तरीय वर्ग विकास, विपन्न वर्ग उत्थान र सौम्यशक्ति विस्तारजस्ता सैद्धान्तिक आधार मध्यनजर गर्दै बजेट तथा कार्यक्रम छनोट गर्नुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयको बाध्यता र सीमा सबै मन्त्रालयलाई जानकारी भएको र सोही बमोजिम आफ्ना मन्त्रालयको प्राथमिकता निर्धारण गरी बजेट निर्माण कार्यमा लाग्न अनुरोध गरे ।

  • भूपदेव शाह बने रास्वपा महामन्त्री

    भूपदेव शाह बने रास्वपा महामन्त्री

    ७ वैशाख, काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए । प्रमुख स्वकीय सचिव भएर काम गरेका उनी बालेनका निकट पात्र मानिन्छन् । पछिल्लोपटक फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि उनी निर्वाचनमा भने पराजित भएका थिए ।

  • आज तराई भेगमा अधिक तातो, यस्तो छ प्रक्षेपण

    आज तराई भेगमा अधिक तातो, यस्तो छ प्रक्षेपण

    ७ वैशाख, काठमाडौं । अधिकतम र न्यूनतम तापक्रमको वृद्धिसँगै केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । आज तराई मधेशका जिल्ला, उपत्यका र खोँचहरुमा तातो हावा चल्ने प्रक्षेपण छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा लेखिएको छ, ‘मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा तातो दिन हुने सम्भावना रहेको छ ।’ विभागका मौसमविदहरुका अनुसार आज कैलालीको धनगढी, डोटीको दिपायल र बाँकेको नेपालगञ्जमा तातो हावाको लहर चल्ने प्रक्षेपण छ । साथै दाङको घोराही र रुपन्देहीको भैरहवामा पनि तातो दिन हुने सम्भावना छ ।

    आज दिउँसो धनगढी, दिपायल र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण छ । यसैगरी घोराही र भैरहवामा ३६ देखि ३८ डिग्री सेल्सियस पुग्ने अनुमान छ । केन्द्रीय राजधानी काठमाडौंमा भने आज दिउँसोको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस पुग्ने मौसम विज्ञान विभागको अनुमान छ । मौसमविद सन्जिव अधिकारीका अनुसार अन्य ठाउँहरुमा पनि गर्मी बढ्ने सम्भावना देखिएको छ ।

    मंगलबार पनि कोशी बाहेकका प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान छ । त्यसैले गर्मीको बेला अनावश्यक रुपमा घरबाहिर ननिस्किन, प्रशस्त पानी पिउन र शरीर छोपिने खालका कपडा लगाउन विज्ञहरुले सुझाव दिएका छन् ।

  • फ्लडलाइटमा नेपालले पहिलो अन्तर्राष्ट्रिय सिरिज खेल्दै

    फ्लडलाइटमा नेपालले पहिलो अन्तर्राष्ट्रिय सिरिज खेल्दै

    ७ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज पहिलो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाइएका छन् । नयाँ कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् । यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएको चर्चा छ । कप्तान भने मुहम्मद वासीम नै रहेका छन् ।

    नेपाल र यूएई हालसम्म टी २०आईमा ११ पटक भिडेका छन् जहाँ नेपाल ६ अनि यूएई ५ पटक विजयी भएका छन् । कीर्तिपुरमा भने एकमात्र खेल भएको छ जुन् यूएईले जितेको थियो । नेपाल र यूएईबीच साढे दुई वर्षपछि कीर्तिपुरमा खेल हुन लागेको हो । पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा यहाँ भिडेका थिए । यस्तै नेपाली क्रिकेट टोलीले दुई वर्षपछि घरेलु मैदानमा खेल्दैछ । पछिल्लोिटक सन् २०२४ मार्चमा भएको टी–२०आई शृंखला खेलेको थियो ।

  • सरकारले कर्मचारीको तलव १५\१५ दिनमा दिने

    सरकारले कर्मचारीको तलव १५\१५ दिनमा दिने

    ७ वैशाख, काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५–१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनेको हो । महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार यस्तो परिपत्र मन्त्रालयबाट आएको छ । अब उक्त निर्णय चाँडै कार्यान्वयन हुने उनले बताए ।

    मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो । हाल सरकारी कर्मचारीहरुले मासिक रुपमा तलबभत्ता पाउँदै आएका छन् । हरेक महिनाको अन्तिम सातामै सम्बन्धित कर्मचारीको बैंक खातामा तलबभत्ता पठाउने गरिन्छ ।

    तर अब १५ दिनमै तलबभत्ता खुवाउने निर्णय कार्यान्वयन गर्न संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्नुपर्ने हुन्छ ।‘साविकको ऐनमा निजामती कर्मचारीले प्रत्येक महिना भुक्तान भएपछि तलब र भत्ता पाउने भए भत्ता समेत पाउनेछ भन्ने व्यवस्था छ । वर्तमान सरकार संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा छ । त्यसमै १५–१५ दिनमा तलबभत्ता खुवाउने व्यवस्था राख्ने तयारी छ ।

  • प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    ७ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । यो छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुने बताइएको छ । साथै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ ।

    बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरु पनि उपस्थित हुनेछन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने उनको सचिवालयले जनाएको छ ।

    यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि छलफलको कार्यक्रम राखिएको छ ।

  • विराट गोल्डकपको उपाधि झापा–११ लाई

    विराट गोल्डकपको उपाधि झापा–११ लाई

    मोरङ, ६ वैशाख । विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करणको उपाधि झापा–११ ले जितेको छ । आज भएको फाइनलमा सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई २–१ गोलको अन्तरले पराजित गरी झापाले उपाधि हात पारेको हो । उपाधिसँगै झापाले ११ लाख रूपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले पाँच लाख रूपैयाँ प्राप्त गरेको छ ।

    फाइनल खेलका ‘प्लेयर अफ दी म्याच’ झापाका राजेश दाहाल भए । उनले नगद ११ हजार रूपैयाँ प्राप्त गरे । त्यसैगरी सम्राटका अशोक खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भई ५१ हजार रूपैयाँ, उत्कृष्ट गोलरक्षक झापाका विशाल सुनार र उत्कृष्ट प्रशिक्षकमा सन्तोष बस्नेत घोषित भई १५ हजार रूपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे ।

    विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा खेल सञ्चालन हुँदै आएको थियो । कोशी प्रदेशका सभामुख अम्बरवहादुर विष्ट, प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, विराटनगर महानगर प्रमुख नागेश कोइराला र ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीलगायतले विजेता एवं उपविजेतालाई ट्रफी एवं नगद पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता थियो ।

  • रोबोटले तोड्यो मानव कीर्तिमान

    रोबोटले तोड्यो मानव कीर्तिमान

    बेइजिङ, ६ वैशाख (रासस–एपी) । चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ–म्याराथनमा एक मानवाकृति रोबोटले मानव विश्व कीर्तिमान नै उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यस उपलब्धिले खेलकुद र कृत्रिम बौद्धिकताको सङ्गममा नयाँ युग सुरु भएको सङ्केत दिएको छ ।

    बेइजिङ इकोनोमिक–टेक्नोलोजिकल डेभलपमेन्ट एरिया (बेइजिङ ई–टाउन) बाट सुरु भएको २१ किलोमिटरको दौड चिनियाँ स्मार्टफोन निर्माता अनरद्वारा विकसित रोबोटले ५० मिनेट २६ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गर्न सफल भयो । यो समय मानव हाफ–म्याराथन विश्व कीर्तिमानधारी युगान्डाका धावक ज्याकोब किप्लिमोले मार्चमा बनाएको करिब ५७ मिनेटको समयभन्दा उल्लेखनीय रूपमा छिटो हो ।

    गत वर्ष पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा विजेता रोबोटले २ घण्टा ४० मिनेट ४२ सेकेन्डमा दूरी पार गरेको थियो । त्यसको तुलनामा यस वर्षको प्रदर्शनले रोबोट प्रविधिमा भएको तीव्र प्रगति प्रस्ट पारेको छ । प्रतियोगिताको आकार पनि यसपटक उल्लेखनीय रूपमा बढ्दै १०० भन्दा बढी टोलीहरूको सहभागिता रहेको थियो, जसमा पाँच विदेशी टोली समेत समावेश थिए ।

    दौड पूर्ण रूपमा सहज भने रहेन । केही रोबोटहरू प्रारम्भमै लड्न पुगे भने केही अवरोधमा ठोक्किएका थिए । यद्यपि, आयोजकका अनुसार करिब ४० प्रतिशत रोबोटहरूले कुनै मानवीय हस्तक्षेप बिना स्वायत्त रूपमा पूरा मार्ग तय गर्न सफल भए, बाँकी भने रिमोट कन्ट्रोलमार्फत सञ्चालन गरिएका थिए ।

    प्रतियोगितामा एउटा रोबोटले ट्राफिक प्रहरीको भूमिका निर्वाह गर्दै सहभागीहरूलाई हातको सङ्केत र आवाजमार्फत निर्देशन दिएको दृश्यले दर्शकहरूको ध्यान खिचेको थियो, जसले रोबोटको बहुआयामिक प्रयोगको सम्भावना झल्काएको छ । चीनमा प्रविधिको विकास केवल औद्योगिक प्रगतिको विषय मात्र नभई रणनीतिक प्रतिस्पर्धासँग पनि जोडिएको छ ।

    विशेषगरी संयुक्त राज्य अमेरिकासँगको प्रतिस्पर्धालाई मध्यनजर गर्दै बेइजिङले आफ्नो पछिल्लो पञ्चवर्षीय योजनामा ‘विज्ञान र प्रविधिको सीमालाई लक्षित गर्ने’ प्रतिबद्धता व्यक्त गरेको छ । सन् २०२६ देखि २०३० सम्मको योजनाअन्तर्गत मानवाकृति रोबोटजस्ता उन्नत प्रविधिको विकासलाई प्राथमिकतामा राखिएको छ ।

    लन्डनस्थित प्रविधि अनुसन्धान संस्था ओमडियाको हालैको प्रतिवेदनअनुसार एजिबोट, युनिट्री रोबोटिक्स र युबीटेक रोबोटिक्स कर्पजस्ता चिनियाँ कम्पनीहरू विश्व बजारमा सामान्य प्रयोजनका मूर्त बौद्धिक रोबोट उत्पादन र आपूर्तिमा अग्रपङ्क्तिमा उभिएका छन् ।

    ती कम्पनीहरूले गत वर्ष मात्र हजारौँ युनिट रोबोट विश्वभर पठाएका थिए, जसले चीनको यस क्षेत्रमा बढ्दो प्रभावलाई पुष्टि गर्दछ । यस घटनाले केवल एउटा दौड जित्ने उपलब्धि मात्र नभई, मानव क्षमतासँग प्रतिस्पर्धा गर्न सक्षम कृत्रिम प्रविधिको तीव्र विकासको सङ्केत दिएको छ, जसले आगामी दिनमा खेलकुददेखि उद्योगसम्म व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

  • होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

    होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

    तेहरान, ६ वैशाख (रासस–एएफपी) । इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ । केही समयका लागि खुलेको जलमार्ग फेरि अनिश्चित बनेपछि विश्व ऊर्जा बजारमा पनि पुनः चासो र चिन्ता बढेको छ ।

    इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले टेलिभिजनमार्फत् सम्बोधन गर्दै अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भए पनि आधारभूत विषयहरूमा अझै गहिरो मतभेद रहेको बताए । उनका अनुसार अन्तिम शान्ति सम्झौता तत्काल सम्भव देखिँदैन र वार्ता अझै निर्णायक चरणमा पुगेको छैन । इजरायल र अमेरिकासँगको युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको संवादमा धेरै जटिल पक्षहरू बाँकी रहेको उनको भनाइ थियो ।

    दुई साताका लागि गरिएको युद्धविराम बुधबार समाप्त हुने तयारीमा छ, जसले आगामी अवस्था थप अन्योलपूर्ण बनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘राम्रो वार्ता’ भइरहेको दाबी गर्दै तेहरानलाई दबाबमूलक रणनीति नअपनाउन चेतावनी दिए । उनले इरानले होर्मुजमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप समेत लगाए ।


    शुक्रबार इरानले लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहसँग इजरायलबीच सहमति भएपछि होर्मुज जल डमरूमध्य खुला गरिएको घोषणा गरेको थियो । विश्वको करिब पाँचौँ भाग तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यस निर्णयले विश्व बजारमा राहत दिएको थियो र तेलको मूल्य घटेको थियो । तर अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्ने अडान लिएपछि तेहरानले पुनः जलमार्ग सीमित गर्ने सङ्केत दिएको हो ।

    “यदि अमेरिकाले नाकाबन्दी हटाएन भने होर्मुजमा आवागमन निश्चित रूपमा सीमित हुनेछ”, गालिबफले चेतावनी दिए । यसैबीच इरानका सर्वोच्च नेता मोजताबा खमेनीले लिखित सन्देशमार्फत् इरानी नौसेना अमेरिकाविरुद्ध लड्न पूर्ण रूपमा तयार रहेको उल्लेख गरेका छन् । तनावबीच इरानको रिभोलुसनरी गार्ड्सले अनुमति बिना जल डमरूमध्य पार गर्ने जहाजहरूलाई शत्रुसँगको सहकार्य मानिने र आवश्यक परे ‘लक्षित’ गरिने चेतावनी दिएको छ । छोटो समयका लागि खुल्दा केही तेल र ग्यास ट्याङ्करहरू पार भए पनि धेरै जहाजहरू पछि हटेका छन् र शनिबार दिउँसोसम्म जलमार्ग प्रायः सुनसान देखिएको ट्र्याकिङ तथ्याङ्कले देखाएको छ ।

    समुद्री सुरक्षासम्बन्धी बेलायती एजेन्सीले एक ट्याङ्करमाथि गोली प्रहार भएको जानकारी दिएको छ भने भ्यानगार्ड टेक नामक सुरक्षा फर्मका अनुसार इरानी सेनाले खाडी क्षेत्रबाट बाहिरिँदै गरेको एक खाली क्रूज जहाजलाई नष्ट गर्ने धम्की दिएको छ । अर्को घटनामा अज्ञात प्रक्षेप्यले एक जहाजमा प्रहार गर्दा कन्टेनरहरू क्षतिग्रस्त भएका छन्, यद्यपि आगलागी भएको छैन । यसै क्रममा भारतले जल डमरूमध्यमा आफ्ना झण्डा बोकेका दुई जहाजमाथि भएको गोलीकाण्डप्रति कडा आपत्ति जनाउँदै नयाँदिल्लीस्थित इरानी राजदूतलाई बोलाएर विरोध दर्ता गराएको छ ।

    कूटनीतिक पहलहरू पनि जारी छन् । पाकिस्तानसँगको मध्यस्थतामा संलग्न इजिप्टले चाँडै नै अन्तिम सम्झौता सम्भव हुने आशा व्यक्त गरेको छ । वार्ताका प्रमुख अवरोधका रूपमा इरानको उच्च स्तरसम्म समृद्ध गरिएको युरेनियमको भण्डार र होर्मुज जल डमरूमध्यको नियन्त्रणलाई लिइएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले ४४० किलोग्राम समृद्ध युरेनियम हस्तान्तरण गर्न सहमति जनाएको दाबी गर्नुभएको छ, तर इरानले त्यसलाई अस्वीकार गर्दै यस्तो प्रस्ताव कहिल्यै वार्तामा नआएको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका अनुसार उक्त भण्डार सुरक्षित स्थानमा रहेको छ र कुनै पनि हालतमा अमेरिकालाई सुम्पिने योजना छैन ।

    फेब्रुअरी २८ मा सुरु भएको मध्यपूर्वीय द्वन्द्वले व्यापक रूप लिँदै इरान, खाडी देशहरू, इजरायल र लेबनानलाई समेटेको छ । लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्तिरक्षकमाथि भएको आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाका लागि हिजबुल्लाहलाई दोष दिनुभएको छ, तर उक्त समूहले आरोप अस्वीकार गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाको निन्दा गर्दै प्रारम्भिक मूल्याङ्कनअनुसार आक्रमण हिजबुल्लाहबाट भएको देखिएको बताएका छन् । यस घटनाले क्षेत्रीय तनावलाई थप जटिल बनाएको छ र शान्ति प्रयासहरूमा चुनौती थपिएको छ ।

  • कोरलानाका जोड्ने कागबेनी–छुसाङ सडक स्तरोन्नति गरिँदै

    कोरलानाका जोड्ने कागबेनी–छुसाङ सडक स्तरोन्नति गरिँदै

    मुस्ताङ, ६ वैशाखः छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी–छुसाङ खण्डको तीव्रगतिमा कालोपत्र तथा स्तरोन्नति गरिरहेको छ । हिउँदयामको अत्यधिक चिसो, हिमपात र गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको हो ।

    नौ दशमलव आठ किलोमिटर रहेको उक्त खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजना कार्यालयले मुस्ताङको थासाङ-४ घाँसाबाट कोरला नाका र मुक्तिनाथ जोड्ने गरी कागबेनीसम्मको करिब ९८ प्रतिशत सडक कालोपत्र सम्पन्न गरिसकेको छ ।

    नेपाल–चीन उत्तरी कोरला नाकासम्मको सडकलाई आवश्यक स्तरोन्नतिसहित कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ । सोही लक्ष्यलाई अघि बढाउनका लागि गत वर्ष सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो । मुस्ताङको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको कालोपत्रसहित सडक विस्तार गर्न आयोजनाले गत वर्षको २६ असारमा टक्सार इफ्फाटारबुद्ध जेभी कन्ट्रक्सनसँग रु २८ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता गरेको आयोजना कार्यालयले जनाएको छ । उक्त सडकलाई कालोपत्रसहित थप स्तरोन्नति गर्ने गरी दुई वर्षको सम्पन्न गरिसक्नुपर्ने अवधि तोकिएको छ ।

    ठेक्का सम्झौताअनुसार कागबेनी–छुसाङ सडक विसं २०८४ असार २४ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने समय तोकिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । गत असारको अन्तिममा ठेक्का सम्झौता भएको उक्त सडकको स्तरोन्नति कार्य चालु आवको साउनदेखि सुरु गरिए पनि प्रतिकूल मौसम र निर्वाचनका कारण पाँच महिना रोकिएको उनले बताए ।


    आयोजना प्रमुख शर्माले हिउँदयाम सकिएर गर्मीयाम सुरु भएसँगै निर्माण कम्पनी सडक निर्माणको कार्यस्थलमा फर्किएको बताए । उनका अनुसार निर्माणाधीन कागबेनी–छुसाङ खण्डको हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ । करिब ११ मिटर चौडा सडक रहने गरी आठ मिटर चौडा कालोपत्र सडक निर्माण गरिने उनले जानकारी दिए ।


    कोरला नाका जोड्ने कागबेनी–छुसाङ सडकखण्डको बारागुङ मुक्तिक्षेत्र(३ ताङ्वे क्षेत्रमा कालोपत्र सडक स्टक्चरको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सागर श्रेष्ठले जानकारी दिए । सडक स्तरोन्नतिका लागि उक्त खण्डमा पाँच हजार घनमिटर ग्याबिनवाल र दुई हजार घनमिटर रिटेर्निङ वाल लगाउने कार्य सकिएको उनले बताए । सडकको ग्रेड मिलाउने, आवश्यक स्थानमा ड्रेन निर्माण, ग्याबिनवाल र रेटेर्निङ वाललगायत काम भइरहेको छ ।

    इन्धनको मूल्य घटेर आपूर्तिमा सहज भएमा पाँच महिनाभित्र कागबेनी-तोङ्वेसम्मको सडकमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिए । उनका अनुसार कागबेनी-छुसाङ सडकको कामलाई तोकिएको समयमा सम्पन्न गर्न दैनिक ८० जनाभन्दा बढी जनशक्ति परिचालन भइसकेको छ । “सडकको स्टक्चर निर्माण तथा कालोपत्र गर्न आवश्यक उपकरण र क्रसरको व्यवस्था गरिसकेका छौँ, जतिसक्दो छिटो निर्माणलाई तीव्रता दिइनेछ”, प्रतिनिधि श्रेष्ठले भने, “हिउँदयाममा चिसोका कारण काम गर्न सकिँदैन, यहाँ काम गर्ने भनेको सात महिना मात्रै हो ।”

    यहाँको बारागुङ मुक्तिक्षेत्र–३ स्थित कागबेनी-छुसाङ सडकखण्डमा गत असार र साउन महिनाको बाढीपहिरोले आशिंक क्षति पुर्‍याएको थियो । बाढीपहिरोले उक्त सडकको केही स्थान भाँसिएको छ भने केही स्थानमा सडकको बेसमा क्षति पुगेको छ । नेपाल(चीन बहुचर्चित उत्तरी कोरला नाकासम्मको सडकलाई थप स्तरोन्नतिसहित कालोपत्र गर्ने लक्ष्यसहित छुसाङ-घमी र घमी-कोरला खण्डलाई दुई चरणमा गरी प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कनसमेत सम्पन्न भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत अर्थ मन्त्रालयले कोरला नाकासम्मको सडकमा कालोपत्रका लागि बजेट विनियोजन हुन सकेमा उपल्लो मुस्ताङको सडकमार्ग निकै सहज हुने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे । आयोजनाले छुसाङ–कोरला सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न करिब रु पाँच अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरेको छ ।

  • राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

    राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

    काठमाडौँ, ६ वैशाखः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेट भएको छ । टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका सङ्घको १५२औँ महासभामा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँहरुबीच भेट भएको हो । भेटमा उनीहरुबीच नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

    अष्ट्रेलियाले नेपालको विकास र समृद्धिका लागि विगतदेखि नै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ थप सहयोग र सहकार्यका लागि आग्रह गरेका थिए । सो क्रममा अष्ट्रेलियाका सभामुख मिल्टनले अष्ट्रेलिया र नेपालको सम्बन्ध विगतदेखि नै निकै सौहार्द्रपूर्ण रहेको चर्चा गर्दै संसदीय सहकार्यले दुई देशको सम्बन्ध अझ प्रगाढ र मजबुत बन्ने बताए । भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका तर्फबाट राष्ट्रियसभाका सदस्यहरु कृष्णबहादुर रोकाया र डा अञ्जान शाक्य तथा राष्ट्रियसभा सचिव तुलबहादुर कँडेललगायत सहभागी थिए ।

  • वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

    वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

    वीरगन्ज (पर्सा), ६ वैशाखः सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ । त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारका लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सुरु गरिएको हो । सडक डिभिजन हेटौँडा कार्यालयले अब बिहान पाँच बजेदेखि करिब एक दर्जन एक्जाभेटर लगाएर अतिक्रमित संरचना हटाउन थालेको र समग्रमा करिब एक हजार २०० घरटहरा भत्काइने जनाइएको छ ।

    कार्यालयका इन्जिनियर भोला साहले सर्वोच्च अदालतको फैसला र सङ्घीय सरकारको निर्देशनअनुसार नै अतिक्रमित संरचना भत्काउन सुरु गरिएको जानकारी दिए । “मापदण्ड विपरितका घर टहरा भत्काउन पटक–पटक सूचना जारी गरेको थियौँ, तर अटेर गरेपछि एक्जाभेटर लगाएर भत्काउन थालेका हौँ”, उनले भने, “यसले सडक विस्तार अभियानलाई अघि बढाउन सहज हुनेछ ।”

    वीरगञ्जको मुख्य सडकमा घरटहरा रहेका घरधनी, व्यापारी तथा व्यवसायीले भने स्थानीय प्रशासनले १२ घण्टाभन्दा छोटो सूचना दिएर घरखाली गर्न निर्देशन दिँदा समस्या भएको गुनासो गरेका छन् । यहाँको घण्टाघरमा घर रहेका घरधनी कन्हैयालाल केशरीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नका लागि भत्काउने विषयमा कुनै पनि गुनासो नभए पनि पर्याप्त समय नदिएकाले समस्या भएको गुनासो गरे । “घर तथा पसल खाली गर्नका लागि कम्तीमा एक साताको समय दिएको भए आफूहरूले स्वस्फूर्त सरसमान हटाउने मौका पाउने थियौँ”, उनले भने ।


    वीरगञ्ज महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले आइतबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको कडा सुरक्षा निगरानीमा अतिक्रमित संरचना भत्काइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साझ सूचना जारी गर्दै आज बिहान ४ः३० बजेभित्र गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन निर्देशन दिएको थियो । बिहानैदेखि मुख्य सडक खण्डमा संरचना भत्काइएपछि आज दिउँसो १२ः३० बजेसम्म यहाँ बिजुली तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

  • क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    काठमाडौँ, ६ वैशाख । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । क्रुड आयलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक रहेको निगमले जनाएको छ । नेपालसँग आफ्नै ‘रिफाइनरी’ नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

    “क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वभाविक रूपमा बढी हुन्छ, त्यसैले मूल्य तुलना गर्दा क्रुड होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तरराष्ट्रिय मूल्य हेर्नुपर्छ”, निगमका प्रवक्ता मनोज ठाकुरले रासससँग भने । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । आइओसीबाट प्राप्त प्रशोधित पेट्रोल र डिजेलको खरिद मूल्यका आधारमा नेपालमा प्रत्येक १५÷१५ दिनमा मूल्य समायोजन हुँदै आएको छ ।

    निगमले उपलब्ध गराएको तथ्याङ्कअनुसार १६ अप्रिल २०२६ मा क्रुड आयलको मूल्य प्रतिब्यारेल ९९.६ अमेरिकी डलर, पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो । यस अवधिमा सबैभन्दा उच्च मूल्य २ अप्रिल २०२६ मा पुगेको थियो, जहाँ क्रुड आयल ११८.३ डलर, पेट्रोल २६२.० डलर र डिजेल ३३४.४ डलर प्रति ब्यारेल पुगेको देखिन्छ ।

    सामान्य अवस्थामा क्रुड आयल र पेट्रोलबीच करिब १० डलर तथा क्रुड आयल र डिजेलबीच करिब २० डलरको अन्तर रहने भए पनि पछिल्लो अन्तरराष्ट्रिय परिस्थितिमा यो अन्तर क्रमशः करिब १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ । यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढाएको छ । निगमका अनुसार भन्सार, कर, ढुवानी, बीमा, भण्डारण र सेवा शुल्कजस्ता पक्षहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्नेछ ।

    निगमले यही वैशाख ३ गतेदेखि नेपालमा डिजेल÷मट्टितेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरेको थियो । निगमले डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु २३६ र तेस्रो वर्गका लागि रु २३७ तोकेको छ । मूल्य वृद्धिपश्चात् पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा भइरहेको निगमले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा दैनिक बढोत्तरी आउँदा १५ दिनमा करिब रु पाँच अर्ब ७५ करोड घाटा हुने प्रवक्ता ठाकुरले जानकारी दिए ।

  • हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    सिरहा, ६ वैशाखः जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हुरीका कारण मञ्जर र टिकुला (चिचिला) झरेपछि किसानहरू चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा लगाइएको आँपमा यस वर्ष मञ्जर निकै राम्रो लागेको थियो, तर रोगको जोखिमले गर्दा अहिले रुखहरूमा करिब १० प्रतिशत मात्र फल बाँकी रहेको छ ।

    केन्द्रका सूचना अधिकृत सुदीप खनालले भने, “सिरहाको करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा गरिएको आँपखेतीबाट यसपटक उल्लेख्य उत्पादनको अपेक्षा थियो । तर रोगका कारण मञ्जर र टिकुला झर्ने क्रम नरोकिँदा उत्पादनमा ठूलो ह्रास आउने देखिएको छ ।” उनका अनुसार गत वर्ष जिल्लामा ५९ हजार ८८६ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ ।

    लहान नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइका अनुसार किसानले ‘इमिडाक्लोप्रिड’जस्ता विषादी प्रयोग गरे तापनि प्रकोप नियन्त्रण बाहिर गएको थियो । मञ्जर लाग्ने समयमा भएको वर्षा र अत्यधिक हावाहुरीले समस्या झनै बल्झाएको प्राविधिकहरूको ठहर छ । आँपखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका किसानहरू यतिबेला निकै निराश छन् । लहान–२४ का किसान प्रमोद यादवले भने, “हामीलाई रोग नियन्त्रणका लागि आवश्यक ज्ञान र सीपको अभाव छ । सरकारले समयमै सचेतनामूलक कार्यक्रम र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ ।”

    त्यस्तै, गए रातिको हावाहुरीले बाँकी रहेका टिकुलाहरू पनि झारिदिएपछि लगानी नै नउठ्ने अवस्था आएको लहान–२२ का किसान रामवृक्ष यादवले बताए । उनले दुखेसो पोख्दै भने, “विषादी र मलजलमा निकै खर्च भयो, तर अहिले रुखमा टिकुला नै छैनन् । आम्दानी हुने बेला रोगको प्रकोप त एकातिर छँदैछ, अर्कोतर्फ बेस्सरी आएको हावाहुरीले आँपका अडिएका चिचिला नै झरेपछि यसपालि लगानी पनि नउठ्ने डर भयो ।” रोगको क्षतिलाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्रले आगामी वर्षहरूमा मञ्जर लाग्नुअगावै सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

  • यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    वासुदेव पौडेल / रासस

    गण्डकी, ६ वैशाखः अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै अहोरात्र एकसाथ विभिन्न काम गरिरहेको छ ।

    विभागमा महानिर्देशक महानिर्देशक ई मित्र बरालले जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रुपाताल संरक्षणमा गुरुयोजना कार्यान्वयन गरिराखेको जानकारी दिए । उनले भने, “पर्यावणीय संरक्षण, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले काम भइराखेको छ ।”

    अहिले जारी काम सम्पन्न भएसँगै दिनमा पटकपटक रुप फेरिनै भएका कारण रुपाताल नामकरण गरिएको रुपातालको समग्र रुप नै फेरिने लागेको छ ।
    सात तालको बगैँचा सिमसार सूचीमा सूचीकृत तालहरूमध्येको एक रुपातालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको सफलतासँगै यसको समग्र रुप फेरिने अवस्थामा पुगेको हो । यसअघि रुपाताल संरक्षण एकीकृत विकास परियोजना नाममा रहेको यो परियोजना अहिले भने सिँचाइ तथा जलस्रोत व्यस्थापन आयोजनाअन्तर्गत छ ।

    रुपाकोट, हंसपुरको सिरान र माझठाना साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ को केही भागले छोएको यो ताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा पर्न थालेपछि गुरुयोजनासहित संरक्षणका कामहरू थालिएको हो । आयोजनाका लागि विस्तृत योजना प्रतिवेदन तयार गरी त्यसअनुरुप काम निरन्तर अघि बढिरहेको जलस्रोत तथा सिँचाइ विभाग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।


    उनले अनुुसार परियोजना सम्पन्न भएसँगै रुपा तालको स्वरुप नै परिवर्तन हुनेछ । २०७५÷०७६ देखि काम थालिएको थियो । चरणबद्ध अघि बढ्ने आयोजनाको रु चार अर्ब ५२ करोड लागत रहेकामा हालसम्म दुई अर्ब ७० करोडको काम गरिएको छ । स्वीकृत गुरुयोजनाअनुुसार यो आयोजना २०८५\०८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल १२२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हालको निर्माणाधीन बाँध सम्पन्न भएसँगै क्षेत्रफल बढेर १८३ हेक्टर क्षेत्रफल हुनेछ । परियोजनाअन्तर्गत बाँध निर्माण ठेक्का सम्झौता भएर काम अघि बढिसकेको छ । बाँध निर्माणका लागि कूल रु २९ करोडको ठेक्का सम्झौता भएकोमा कालिका नयाँ बाटो जेभिले निर्माण गरिरहेको छ ।

    बाँध निर्माण कार्य २०८३ भदौ २३ सम्म सक्ने समयावधि निर्धारण गरिएको छ । निर्माण सम्झौता अनुसार तालमा ५९० मिटर माटाको बाँध रहनेछ भने ४५ मिटर कङ्क्रिट बाँध रहनेछ । बाँध निर्माणको काम ७० प्रतिशत सकिएको आयोजना प्रमुले श्रेष्ठले जानकारी दिए । बाँध निर्माण कार्य सकिएसँगै हाल रहेको तालको गहिराइ तीन मिटरबाट बढेर सात मिटर हुनेछ । यस आयोजनाअन्तर्गत रुपातालको बायाँतर्फ ७.८ किलोमिटर पक्की सडक गत आर्थिक वर्षमा नै सम्पन्न भइसकेको छ ।

    त्यस्तै परियोजनाअन्तर्गत नै हालको लम्बाइ दुई किलोमिटर रहेको ताल फैलिएर ३.६ किलोमिटर हुनेछ । तालमा रहेको आठ लाख घनमिटर माटो निकालेर त्यसलाई व्यवस्थित गर्नै काम भइरहेको छ । यसका लागि रु ४० करोड विनियोजन भई काम भइरहेको र सम्झौताअनुसार आगामी फागुन २० सम्म सक्ने लक्ष्य राखिएको छ । यसको निर्माण कार्य उमा एण्ड कम्पनीमार्फत भइरहेको छ । आयोजनाअन्तर्गत नै तालको बीचमा टापु बनाएर त्यहाँ मन्दिर बनाउने योजना छ । एक सय ४० मिटर लम्बाइ र ९५ मिटर चौडाइमा रहने उक्त टापुमा आकर्षक मन्दिर बनाउन लागिएको हो । त्यस्तै तालको दायाँ किनारामा पाँच किलोमिटर दूरीको इको ट्रेल निर्माण गरिनेछ ।

    बाँकी काम गर्नका लागि ३१७ रुख काट्नुपर्नेछ । यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन पनि भइसकेको छ । त्यस्तै भोगाधिकारका लागि एक हेक्टर जग्गा लिन बाँकी छ । वातावारणीय प्रभाव मूल्याङ्कन (इआइए) अनुुसार ३१७ रुख काट्न स्वीकृति भए पनि फिल्ड भेरिफिकेशन गर्दा १२८ वटा मात्रै रुख हटाउनुुपर्ने देखिएको जानकारी दिँदै श्रेष्ठले १० प्रतिशत तलमाथि भएमा पुनः पुरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकोले त्यसका लागि वनबाट स्वीकृति आउनुुपर्ने प्रावधान रहेको उनले जानकारी दिए ।

    आयोजनाकै लागि एक हजार २०० रोपनी अधिग्रहण गर्नुुपर्नेमा यसअघि ९११ रोपनी अधिग्रहण भइसकेको छ । त्यसका लागि रु एक अर्ब रुपमा मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ । बाँकी थप १२६ रोपनी अधिग्रहण गर्नुपनेर््मा त्यसका लागि नयाँ दररेट कायम हुनुपर्ने भए पनि जिल्ला दररेट कायम भइनसकेको कारण उक्त कार्य पनि प्रभावित बनेको छ । यी सबै काम सम्पन्न भएसँगै तालको क्षेत्रफलसँगै थप चार मिटर गहिराइ पनि बढ्ने जनाइएको छ ।

    रुपातालको एकीकृत विकास आयोजनासँगै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले गण्डकी प्रदेश भित्रका विभिन्न ५० भन्दा बढी आयोजना हेदै आएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । हालै सिँचाइ दिवस एवं ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजनाबाट सम्पादित कार्यप्रगति एवं समुदायमा पु¥याएको समग्र प्रभाव मूल्याङ्कनका आधारमा उत्कृष्ट आयोजनाका रुपमा पुरस्कृत समेत भएको उनले बताए ।


    सूर्यको किरणसँगै रुपातालमा पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको यहाँका बूढापाकाको तर्क छ । पछिल्ला वर्षमा सौन्दर्य ह्रासका अतिरिक्त बढ्दो अतिक्रमणले तालको आकार पनि खुम्चँदै गएका अवस्थामा परियोजना सम्पन्न भएसँगै यसले तालको संरक्षण हुने विश्वास लिइएको छ ।

    विगतमा अतिक्रमणमा पर्दै आएको ताललाई संरक्षण गर्न रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका तर्फबाट सम्बन्धित निकायहरूमा निरन्तर ध्यान आकृष्ट गर्दै आइएको सहकारीका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए । रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक सयौँ पर्यटक रुपाताल पुग्ने गरेका छन् ।

    सार्वजनिक बिदाका दिनका साथै अधिकांश शनिबारका दिन रुपाताल किनारमा माछा खान जानेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । प्रेमी–पे्रमिकाको भेटघाटका लागि पनि पछिल्लो समयमा आकर्षणको केन्द्र बन्दै गएको यो तालमा स्विमिङ र फिसिङका लागि पनि पर्यटक पुग्ने गरेका छन् । आयोजनाका लक्षित कामहरूले समग्र तालको रुपमा परिवर्तन आउने उनले बताए ।

    मोती उत्पादनको परीक्षण

    रुपा तालमा मोती उत्पादनको परीक्षण पनि थालिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोती उत्पादनका लागि परीक्षण बढाइएको सहकारीका अध्यक्ष थापाले जानकारी द्रिए । मोती उत्पादन परीक्षण समफल भएमा यस ताललाई मोती उत्पादनका माध्यमबाट पनि उपयोग गर्न सकिने उनको भनाइ छ ।

    तालमाथि झोलुुङ्गे पुल

    रुपाताल किनारका जङ्गललाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो । प्राणी उद्यान केन्द्र पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ ढकालले जानकारी दिए । आयोजना अन्तर्गत ताल किनारमा बनाउने भनिएको फुट ट्रयाकले यहाँको सौन्दर्यतालाई अझै उजागर गर्ने उनको भनाइ छ । केन्द्रमा अवलोकन गर्न आउने पर्यटकले रुपातालको मनोरम दृश्यसँगै यहाँ राखिएका चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।

    उहाँका अनुुसार रुपाताल आसपासका क्षेत्रको जङ्गलमा ३६१ प्रजातिका वनस्पति, १७५ प्रजातिका जडीबुटी पाइनुका साथै बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् । यस क्षेत्रमा एकसय ३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छ ।

    रुपामाथि राखिएको झोलुङ्गे पुल यहाँको अर्को आकर्षण हो । दुई सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि यो पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पोखरा महानगरपालिका–३१ र रुपा गाउँपालिका–६ जोड्ने गरी पुल निर्माण गरिएको हो । पछिल्ला समयमा तालमाथिको झोलुङ्गे पुल हेर्न र टिकटक तथा भिडियो बनाउन आउने क्रम पनि बढीरहेको छ ।

    रुपातालमा सञ्चालत आयोजनाका काम सबै सम्पन्न भएसँगै यसको रुपमा नै आमूल परिवर्तन आउने ढकालले बताए । तालको रुपमा परिवर्तनसँगै रुपाताल यस क्षेत्रकै विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुने उनले बताए ।

    चरा पर्यटन गन्तव्य

    रुपाताल चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । यस तालमा धेरै प्रजातिका विदेशी चरा चीन, साइबेरियालगायतका देशबाट आउने गरेका छन् । विशेषगरी हिउँदको समयमा साइबेरियालगायत स्थानबाट विभिन्न प्रजातिका चराहरु रुपातालमा आउने गरेको पोखरा पन्छी समाजका निवर्तमान अध्यक्ष मनशान्त घिमिरेले बताए । रुपातालसहित लेखनाथका तालहरू चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्यका रुपमा रहेको उनको भनाइ छ ।