Category: समाचार

  • अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    काठमाडौँ, वैशाख १३ गते । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको हो । सन् २०१७ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो । चेर्नोबिल आणविक दुर्घटना भएको यो ४० औँ वर्ष हो । युक्रेनस्थित चेर्नोबिल आणविक विद्युत् केन्द्रमा भएको विस्फोटपछि रेडियोधर्मी बादल सोभियत सङ्घका विशाल भू–भागमा फैलिएको थियो । ती हाल बेलारुस, युक्रेन र रुसी महासङ्घका क्षेत्रहरूमा पर्दछन् । उक्त दुर्घटनाबाट ती तीन देशका ८४ लाख मानिस विकिरणको प्रभावमा परेका थिए ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार चेर्नोबिल दुर्घटनापछि तीन दशक बितिसक्दा पनि दीर्घकालीन गम्भीर असर रहेको र प्रभावित समुदायले अझै सहयोगको आवश्यकता महसुस गरिरहेको छ । चेर्नोबिल दुर्घटनापछि संयुक्त राष्ट्रसङ्घ, बेलारुस, रुसी महासंघ र युक्रेन सरकारहरूले प्रभावित क्षेत्रको पुनःस्थापना तथा विकासका प्रयासहरू अघि बढाउँदै आएका छन् । प्रारम्भिक मानवीय सहयोगपछि प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, विकिरणको जोखिम घटाउने, प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य असरबारे निरन्तर अध्ययन हुँदै आएका छन् । रासस

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    काठमाडौँ, वैशाख १३ गते । आइतबार बिहानैदेखि काठमाडौँसहित देशभरको आकाश बादलले ढाकिएको छ र वातावरण धुम्मिएको देखिएको छ ।
    आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    यसैगरी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज तातो दिन हुने सम्भावना रहेको छ । आज राति देशका हिमाली भू–भागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विभागले मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ ।

  • ट्रम्प सहभागी डिनर कार्यक्रममा गोली चल्यो, राष्ट्रपति सुरक्षित

    ट्रम्प सहभागी डिनर कार्यक्रममा गोली चल्यो, राष्ट्रपति सुरक्षित

    १३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुका लागि आयोजना गरेको एक डिनर कार्यक्रममा गोली चलेको आवाज सुनिएको छ । ह्वाइटहाउसमा भएको सो घटनापछि ट्रम्प र प्रथम महिला मेलानियालाई सुरक्षित स्थानमा सारिएको बीबीसीले लेखेको छ ।

    एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको जानकारी दिएका छन् । तर घाइतेको विवरण आएको छैन । संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । तर उनको पनि परिचय खुलेको छैन । ह्वाइट हाउसले पत्रकारहरूका लागि डिनर कार्यक्रम आयोजना गरेको थियो । ट्रम्प बोलिरहेका मानिसहरुको हलचल सुरु भएपछि उनी बोल्दाबोल्दै रोकिएका थिए । त्यसपछि केही पड्किएको आवाज सुनिएको थियो ।

    लगत्तै सिक्रेट सर्भिसका सदस्यहरूले ‘तल बस्नुहोस्, तल बस्नुहोस्,’ भन्दै राष्ट्रपति ट्रम्पलाई कार्यक्रमस्थलबाट बाहिर लगेका थिए । ट्रम्पका शीर्ष सल्लाहकार स्टिफन मिलरलाई पनि सुरक्षाकर्मीहरुले हतार हतार भीडबाट बाहिर निकालिएको देखिएको थियो । कार्यक्रममा सहभागीहरु भुईंमा निहुरिएर बसेका थिए ।


    बीबीसीका अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएसका अनुसार सिक्रेट सर्भिसले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई मञ्चबाट सुरक्षित स्थानमा लगेपछि काउन्टर असल्ट टिम ९सीएटी०का हतियारधारी सुरक्षाकर्मीहरू मञ्चमा उभिएर कोठाको पछाडितर्फ लामो बन्दुक तेर्स्याएको देखिएको थियो ।

    सीबीएसका अनुसार केही समयपछि सुरक्षाकर्मीहरूले अर्को एक अतिथिलाई पनि हतार हतार अर्को कोठातिर लगेका थिए । त्यसक्रममा उनीहरू टेबल र ढलेका खाली कुर्सीहरू नाघ्दै अघि बढेका थिए । यस घटनाको केही समयपछि एक वक्ता मञ्चमा आएर डिनर कार्यक्रम पुनः सुरु हुने घोषणा गरेका थिए ।

  • बिपी राजमार्ग बन्द : यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

    बिपी राजमार्ग बन्द : यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

    बनेपा, वैशाख १२ गते । काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बिपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रवीन विष्टले रोशी खोलाको माथिल्लो क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि राजमार्ग बन्द गरिएको जानकारी दिए ।

    उनले मौसममा सुधार नभएसम्म र प्रहरीले अर्को सूचना जारी नगरेसम्म राजमार्ग बन्द रहने बताए । प्रहरीले राजमार्गको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। गत वर्ष असोज दोस्रो साताको बाढीका कारण बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक खण्डमा ठुलो क्षति पुगेको थियो।

    बाढीले क्षति पुर्‍याएको उक्त सडकको पुनर्निर्माण कार्य जारी रहे पनि तत्कालका लागि रोशी खोलाको किनारबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ। वर्षा हुनेबित्तिकै खोलामा पानीको सतह बढ्ने र डाइभर्सन बगाउने जोखिम रहने भएकाले सुरक्षाका लागि राजमार्ग बन्द गरिँदै आइएको छ।

  • थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा : वास्तविक सुकुम्बासीलाई नागार्जुन पठाइने

    थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा : वास्तविक सुकुम्बासीलाई नागार्जुन पठाइने

    काठमाडौँ, वैशाख १२ गते । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत थापाथली क्षेत्रको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार स्थानीय बासिन्दाको सहयोग र समन्वयका कारण थापाथलीमा सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको हो ।

    काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् । ती क्षेत्रमा बसोबास गरिरहेका नागरिकले सरकारको कदमलाई समर्थन गर्दै बस्ती छाड्न सहयोग पुर्‍याएको सल्लाहकार शाहले जानकारी दिए ।

    शनिबार थापाथलीबाट विस्थापित भएका ६८ परिवार सरकारी सम्पर्कमा आइसकेका छन् भने अन्य स्थानका बासिन्दा पनि सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारलाई तत्कालका लागि दशरथ रङ्गशाला पुर्‍याई विवरण सङ्कलन गरिएको छ । उनीहरूलाई उचित व्यवस्थापन नहुन्जेल काठमाडौँका विभिन्न होटलमा राख्ने तयारी सरकारले गरेको छ ।

    होटलमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने विषयमा आइतबारदेखि नै पहिचान तथा छानबिन प्रक्रिया सुरु गरिने सल्लाहकार शाहले बताउनुभयो । छानबिनका क्रममा वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई आगामी दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि थप कार्य अघि बढाइने सरकारको योजना रहेको छ ।

  • काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा

    काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा

    काठमाडौँ, वैशाख १२ गते । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ । प्राप्त विवरणमा सबैभन्न्द बढी लमजुङमा ८७.४ मिलिमिटर भारी वर्षा भएको छ भने रोल्पामा ६५.२, प्यूठानमा ७४.६ र काभ्रेमा ६३.६ मिलिमिटर वर्षा भएको छ ।

    यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशका धेरै क्षेत्रमा वर्ष हुने भएकाले तातो लहर कम हुने बताए । आजदेखि वर्षा बढेको र यो क्रम अझै केही बढ्ने विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । विभागका अनुसार भोलि आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।

    यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको जनाइएको छ । यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना कायम रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ ।

  • आइसिसी विश्वकप लिग–२ : नेपालको रोमान्चक जित

    आइसिसी विश्वकप लिग–२ : नेपालको रोमान्चक जित

    काठमाडौँ, वैशाख १२ गते । बलर चम्किएपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि ३७ रनको रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार जितका लागि दुई सय एक रनको लक्ष्य पछ्याएको युएई ४८.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६३ रनमा समेटियो ।

    युएईका लागि हरप्रित सिंहले सर्वाधिक ३९ रन बनाए । यस्तै कप्तान मोहम्मद वासिमले ३४, आकाशदीप नाथले ३०, ओपनर आर्यान्स शर्मा र निलांश केसवानीले समान १८\१८ रन बनाए । बलिङमा नेपालका करण केसीले चार विकेट लिए । उनले ९.२ ओभर बलिङ गर्दै जम्मा १९ रन खर्चिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी एक एक विकेट लिए ।
    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रन बनाएको थियो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दीपेन्द्रले ७५ रन बनाए । उनले ९० बलमा पाँच चौका र दुई छक्का हाने । ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले १समान १५–१५ तथा भीम सार्कीले १० रन बनाए । आशिफ शेख सात रनमा आउट हुँदा कप्तान रोहित पौडेल र सन्दीप लामिछाने दुई दुई रन जोड्दै पेभेलियन फर्किए । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले तीनतीन विकेट लिए ।

    खुजैमा तनवीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक एक विकेट लिए । जितसँगै २१ खेलबाट १४ अङ्क बनाएको नेपाल सातौँ स्थानमा यथावत छ । समान खेलबाट १० अङ्क बनाएको युएई अन्तिम तथा आठौँ स्थानमा छ । नेपाललाई एक दिवसीय मान्यता जोगाउन अबका हरेक खेल जित्नै पर्ने बाध्यता छ । नेपालले घरेलु मैदानमा वैशाख १२ देखि २२ गतेसम्म ओमान र युएई तथा वैशाख २९ देखि ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ को सिरिज खेल्ने छ ।

    सन् २०२७ मा आयोजना हुने एक दिवसीय विश्वकप छनोटका लागि सन् २०२४ बाट आठ टोलीले प्रस्पिर्धा गरिरहेका छन् । हाल २४ खेलमा १८ खेल जितेको अमेरिका ३६ अङ्कसहित शीर्षस्थानमा छ । यस्तै २८ खेलबाट ३४ अङ्क बनाएको स्कटल्यानन्ड दोस्रो, २४ खेलबाट २९ अङ्क बनाएको ओमान तेस्रो, २४ खेलबाट २८ अङ्क बनाएको नेदरल्यान्ड्स चौथो स्थानमा छ ।

    २८ खेलबाट २२ अङ्क बनाएको नामिबिया पाँचौँ र २४ खेलबाट २१ अङ्क बनाएको क्यानडा छैटौँ स्थानमा छ । हरेक टोलीले ३६ खेल खेलेपछि शीर्ष चारमा रहने टोली विश्वकपमा सोझै छनोट हुने छन् । बाँकी चार टोलीले छनोटका लागि प्लेअफ खेल्ने मौका पाउने छन् ।

  • थापाथलीका विस्थापित सरकारी सम्पर्कमा : रङ्गशालामा डेस्क स्थापना गरी तथ्याङ्क सङ्कलन

    थापाथलीका विस्थापित सरकारी सम्पर्कमा : रङ्गशालामा डेस्क स्थापना गरी तथ्याङ्क सङ्कलन

    १२ वैशाख, काठमाडौं । काठमाडौँ, वैशाख १२ गते । सरकारले काठमाडौँ उपत्यकाभित्रका मुख्य सुकुम्बासी बस्ती खाली गराउने अभियान सुरु गरेको छ । शनिबार बिहानैदेखि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती हटाउन थालिएको हो । अभियानअन्तर्गत प्रभावित क्षेत्रका बासिन्दा धमाधम सरकारी सम्पर्कमा आउन थालेका छन् । सरकारी तथ्याङ्कअनुसार शनिबार दिउँसो २ बजेसम्म २३ परिवार सरकारी निकायको सम्पर्कमा आएका छन् । ती परिवारले आफ्नो विस्तृत विवरण सरकारी टोलीलाई बुझाएका छन् ।

    यसै गरी प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाको वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला गरिएका छन् । होल्डिङ सेन्टरमा आएका सुकुम्बासीका लागिसमेत प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । सरकारले विवरण सङ्कलन र उनीहरूको ‘स्क्रिनिङ’ का लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विशेष व्यवस्था गरेको छ ।

    विभिन्न स्थानका सुकुम्बासीका लागि फरक(फरक डेस्क स्थापना गरी विवरण सङ्कलन भइरहेको छ । सरकारी टोलीका अनुसार रङ्गशालामा विवरण सङ्कलन कार्य सम्पन्न भएपछि ती परिवारलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

    उनीहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारी संयन्त्रले कामलाई तीव्रता दिएको छ । उपत्यकाको सौन्दर्यीकरण र नदी किनारको अतिक्रमण हटाउने उद्देश्यसहित केही समययता सरकारले सुकुम्बासी बस्ती हटाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

  • गैरीगाउँको सुकुमबासी बस्तीमा समेत आजै चल्यो डोजर

    गैरीगाउँको सुकुमबासी बस्तीमा समेत आजै चल्यो डोजर

    १२ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–९, गैरीगाउँको सुकुमवासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशन अनुसार भत्काउने अभियान सुरु गरिएको हो । आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए । उनले भने, “यहाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । बिहान थापाथली क्षेत्रमा रहेको बस्ती खाली गराएपछि हाल गैरीगाउँ क्षेत्रमा भत्काउने अभियान सञ्चालन भइरहेको छ ।”

    अभियानका क्रममा सुरक्षाकर्मीलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिए पनि हालसम्म बस्ती हटाउने क्रममा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ। रासस

  • थापाथली सुकुमबासी बस्ती खाली गराइयो

    थापाथली सुकुमबासी बस्ती खाली गराइयो

    १२ वैशाख, काठमाडौं । नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने अभियानलाई सरकारले तीव्र पारेको छ । सोही क्रममा शनिबार बिहानैदेखि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाएको छ ।

    महानगरपालिकाका अनुसार नदी किनारका अव्यवस्थित संरचना हटाउने अभियान दुई चरणमा सञ्चालन हुने छ । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामङ्गल र गैरीगाउँका सुकुमवासी बस्ती हटाइने छ भने दोस्रो चरणमा अन्य क्षेत्रका बाँकी बस्ती हटाउने योजना रहेको महानगरले जनाएको छ ।

    बस्तीबाट हटाइएका नागरिकको व्यवस्थापनका लागि महानगरले विशेष प्रक्रिया अपनाउने भएको छ । विस्थापित नागरिकलाई सुरुमा विभिन्न ‘होल्डिङ सेन्टर’ मा लगिने छ । त्यहाँ उनीहरूको वास्तविक अवस्थाको पहिचान अर्थात् वर्गीकरण (सेग्रिगेसन) गरिने छ । विस्थापितलाई राख्न सरकारले नागार्जुन नगरपालिका (साविक इचङ्गुनारायण गाविस)मा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरेको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला विक्रम संवत् २०६९ मा ती भवन निर्माणका लागि सरकारले १२ करोड रुपियाँ लगानी गरेको थियो ।

    नागार्जुनका दुई स्थानमा निर्मित भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ गरी जम्मा २२४ ब्लक (एकाइ) उपलब्ध छन् । वि.सं. २०६९ मा निर्माण सम्पन्न भए तापनि स्थानीयको अवरोधका कारण अहिलेसम्म ती भवन प्रयोगमा ल्याउन सकिएको थिएन । अब भने महानगरले ती भवनको उपयोग गरी वास्तविक सुकुमवासीको उचित व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।

  • स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु

    स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु

    १२ वैशाख, काठमाडौं । स्याङ्जाको बिरुवा गाउँपालिका–२, श्रीडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङको झड्काले घाइते भएका स्थानीय २० वर्षीय मिलन विकको पुतलीबजारस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    विक आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । त्यसैगरी, हरिनास गाउँपालिका–४, सारुथरमा चट्याङ पर्दा ५८ वर्षीय खिमबहादुर थापा घाइते भएका छन् । चट्याङको झड्काले घाइते भएका थापाको सेतीगंगा अस्पताल, तनहुँमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै, सोही चट्याङका कारण सारुथरका ५० वर्षीय तेजबहादुर थापाले सञ्चालन गरेको कुखुरा फार्ममा रहेका साना–ठूला गरी ५५० वटा कुखुरा मरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

  • भूकम्प जोखिम न्यूनीकरणका उपाय आवश्यक : राष्ट्रपति

    भूकम्प जोखिम न्यूनीकरणका उपाय आवश्यक : राष्ट्रपति

    काठमाडौँ, वैशाख १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याएका छन् । दसौँ भूकम्प स्मृति दिवसको सन्देश जारी गर्दै उनले भनेका छन्, “हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्व तयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।”

    राष्ट्रपति पौडेलले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी ज्यान गुमाउनु हुने सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन पनि अर्पण गरेका छन् । सन्देशमा भनिएको छ, ‘‘भूकम्प एक प्राकृतिक विपत् हो । प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ, भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ ।’’

    नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागि रहनुपर्ने उनको भनाइ छ । नवनिर्मित एवम् पुननिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनु पर्ने उल्लेख गर्दै उहाँले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई सन्देशमा धन्यवाद दिएका छन् । रासस

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    १२ वैशाख, काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराई भेगमा भने मौसम मुख्यतया सफा रहेको छ ।

    ती प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने तथा तराई भेगमा आंशिक बदली रहनेछ । कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशका हिमाली भागमा सामान्यतया बदली रहने तथा पहाडी र तराई भागमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । साथै देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचमा तापक्रम बढ्ने महाशाखाको पूर्वानुमान छ । ती भेगका सर्वसाधारणलाई महाशखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । रासस

  • काठमाडौंका सुकुमबासी बस्तीमा चल्यो डोजर, अवस्था शान्तीपूर्ण

    काठमाडौंका सुकुमबासी बस्तीमा चल्यो डोजर, अवस्था शान्तीपूर्ण

    १२ वैशाख, काठमाडौं । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्तीमा डोजर चलाइएको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचना खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर चलाइएको हो । बस्ती हटाउन बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

    तर, अवस्था शान्त छ । बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्। विगतमा यसै क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो। यसपटक प्रशासनले सहयोगात्मक रूपमा बस्ती खाली गराउने रणनीति अपनाएको देखिन्छ।

    घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामानहरू नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरिरहेका छन् । सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएका थिए। नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको हो।

  • पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए

    पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए

    काठमाडौँ, वैशाख ११ गते ।पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक सो क्षेत्रबाट स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धले सो क्षेत्रमा तनाव उत्पन्न भएपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा बढी नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

    मन्त्रालयका अनुसार ती नागरिकहरू तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्कनुभएको हो ।त्यसमध्ये २१ हजार नेपाली नागरिक कतारबाट फर्किएका मन्त्रालयको मध्येएसिया, पश्चिमएसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए । यसैगरी उक्त द्वन्द्वपछि मन्त्रालयको कन्सुलर सेवा विभागले सुरु गरेको अनलाइन पोर्टलमा हालसम्म सोक्षेत्रका ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाका बारेमा दर्ता गराउनुभएको उनले बताए ।


    द्वन्द्वका क्रममा इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाईको पहल भइरहेको महाशाखाका प्रमुख खड्काले जानकारी दिए । उनी छिट्टै रिहाइ हुने मन्त्रालयले जनाएको छ ।

    यसैगरी कामको सिलसिलामा इरानमा रहेका १० नेपाली नागरिकमध्ये दुई जना स्वदेश फर्कने तयारीमा रहेको बताउँदै बाँकी आठ जना हाल सुरक्षित महसुस गरी इरानमा रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । मन्त्रालयले सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको जनाएको छ ।

    पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि भारत सरकारबाट निमन्त्रणा प्राप्त भएको जनाउँदै भ्रमणको प्रारम्भिक तयारी भइरहेको उल्लेख गरे । उनले हाल राहदानी वितरणको कार्य सहज रूपमा भइरहेको उल्लेख गर्दै जनतालाई घरमै गएर राहदानी पुर्‍याउने व्यवस्थाका लागि हुलाक विभागसँग समन्वय भइरहेको बताए ।

  • राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, यस्तो छ कारण

    राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, यस्तो छ कारण

    ११ वैशाख, काठमाडौं । राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनले सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोपमा पक्राउ गरिएको बताए ।

    पाण्डेसँगै भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठलाई पनि सोही कसुरमा पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनीहरुमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।

    सोही कसुरमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी हाल परिवर्तन भएको सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए । उक्त मुद्दामा हालसम्म जम्मा नौजना शङ्कास्पद व्यक्तिहरूलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए । रासस

  • शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप

    शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप

    ११ वैशाख, काठमाडौं । उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ । गोल्छालाई प्रहरीले बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ परेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ परेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् ।

    नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा ९१० र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।

    गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।

  • नेपाली सेनाको चेतावनी : उच्छृङ्खल तथा अराजक गतिविधिको निगरानी भइरहेको छ

    नेपाली सेनाको चेतावनी : उच्छृङ्खल तथा अराजक गतिविधिको निगरानी भइरहेको छ

    ११ चैत, काठमाडौं । नेपाली सेनाले सेनाले संगठन र आफ्नो नेतृत्वलाई विभिन्न आरोप लगाउँदै अभिव्यक्ति दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस नोट जारी गर्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रशारण भएका तथ्यहीन सूचना एवम् अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सेनाले यस्ता सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गरेको भन्दै यसो नगर्न सचेत पनि गराएको छ ।

    ‘नेपाली सेना र सम्बन्धित निकायहरूले यस किसिमका उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने बेहोरासमेत स्मरण गरिन्छ,’ सेनाको चेतावनी छ । सेनाले आधारहीन र द्वेषपूर्ण समाचार तथा टिकाटिप्पणीहरूलाई विश्वास नगर्न पनि भनेको छ ।

  • त्रसित सुकुमवासीलाई आश्वासन दिँदै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे स्पष्टीकरण

    त्रसित सुकुमवासीलाई आश्वासन दिँदै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे स्पष्टीकरण

    ११ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर लाखौं सुकुमवासी भएको भन्दै अतिक्रमणकारी र सुकुमवासी छुट्याइने बताएका छन् । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउँदैछ । भोलिबाट खाली गराउन तयारी अघि बढिरहँदा यसबारे विभिन्न प्रश्न पनि उठेका छन् । उता, सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका छन् ।

    यसैबीच प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भनेका छन्, ‘देशभरका वास्तविक सुकुमवासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ ।’ काठमाडौंका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित रहेको पनि उनले उल्लेख गरेका छन् । हरेक वर्षको बाढीका कारण काठमाडौंका नदीकिनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य बिर्सिएको हो ? भन्दै उनले प्रश्न पनि गरेका छन् ।

    ‘यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु,’ उनले भनेका छन् । दुर्घटना आउनुभन्दा अघि नै त्यसबारे सोच्न उपयुक्त ठानेर सरकारले काम अघि बढाएको प्रधानमन्त्री शाहको भनाइ थियो ।

  • सुकुमवासी बस्ती खाली गर्ने र त्यसपछिको सरकारको योजना यस्तो

    सुकुमवासी बस्ती खाली गर्ने र त्यसपछिको सरकारको योजना यस्तो

    ११ वैशाख, काठमाडौं । सरकारले उपत्यका भित्रका अव्यवस्थित बस्ती हटाउनका लागि सबै सरोकारवाला निकायहरूलाई जोडेर विस्तृत कार्ययोजना तयार गरेको छ । बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षमा शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले ११ बुँदे निर्णय गरेको छ ।

    उक्त निर्णय अनुसार बस्तीबाट हटाएर सुरक्षित स्थलमा लैजाने, खानपानको व्यवस्था गर्ने र भेरिफिकेसन क्याम्पमार्फत सुकुम्बासी पहिचान गरिने छ । बस्तीका मानिसहरू सार्नका लागि सरकारी गाडी प्रयोग गरेर लगायतका निर्णय छन् ।

    यस्तो छ सरकारको योजना

    १. जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको सूचना बमोजिम प्रचार प्रसारका कार्यहरू गर्ने, बस्ती खाली गर्ने सन्दर्भमा माइकिङ गर्दै पूर्वसूचना दिँदै संरचनाहरू भत्काउनु पूर्व नै उक्त स्थानहरू खाली गर्ने तर्फ जोड दिने ।

    २. जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको सूचना एवम् माइकिङ बमोजिम २०८३ बैशाख १२ र १३ गते बस्ती संरचनाहरू हटाउने, भत्काउने र खाली गर्ने कार्यका लागि आवश्यक पर्ने मेसिनरी उपकरण तथा अन्य सर सामानका लागि विभिन्न कार्यालयबाट पत्राचार भए बमोजिमका निकायहरूबाट आवश्यक प्रबन्ध तत्काल गर्ने ।

    ३. बस्ती खाली गराउने सिलसिलामा माइकिङ गरिसकेपछि सुरक्षित आश्रयस्थलसम्म लैजाने सन्दर्भमा मानवीय मद्दत उपलब्ध गराउँदै सामानको ढुवानी, अशक्त, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध-वृद्धा र दीर्घरोगीहरूलाई प्राथमिकता दिई उद्धार गरी सुरक्षित तवरबाट तोकिएको पहिलो आश्रयस्थलसम्म वा आवश्यकतानुसार अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाउने ।

    यस कार्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक एम्बुलेन्स, मेडिकल टिमसमेतको व्यवस्था गर्ने । सामान ढुवानीका लागि आवश्यक पर्ने सवारी साधन र मानिसहरूलाई सुरक्षित स्थलसम्म लिएर जानका लागि आवश्यक पर्ने सवारी साधनको समेत बन्दोबस्त गृह मन्त्रालयको समन्वयमा गर्ने ।

    ४. बस्तीहरूबाट मानिसहरूलाई पहिलो आश्रयस्थलमा ‌ओसारपसार गरेपछि उक्त स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने र मेडिकल टिमसहितको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने ।

    ५. पहिलो आश्रयस्थलबाट तोकिएका विभिन्न स्थलहरूमा लगी अल्पकालीन रूपमा बसोबासको प्रबन्ध मिलाउने । उक्त स्थानमा आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री र पानी लगायतका अत्यावश्यक आपूर्ति व्यवस्थाहरू मिलाउने कार्य शहरी विकास मन्त्रालयले गर्ने ।

    ६. यसरी व्यवस्थापन गरिएका बसोबासका क्षेत्रहरूमा प्रत्येक परिवारको भेरिफिकेशन क्याम्प खडा गर्ने र निजहरूलाई फोटो सहितको परिचयपत्र वितरण गर्ने । भेरिफिकेशन हुन नसकेका व्यक्तिहरूलाई क्रमशः उक्त स्थानबाट समेत बिदा गर्दै जाने कार्य शहरी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गर्ने ।

    ७. बस्ती खाली भइसकेपछि उक्त स्थानहरूको भत्केका संरचनाहरू हटाउने, ट्र्याक खोल्ने र अन्य आवश्यक पूर्वाधार तयारीका कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले तत्काल सुरु गर्ने ।

    ८. अग्रपङ्क्तिमा रही माइकिङ गर्ने, सूचना दिने, बस्ती खाली गराउने तथा मानवीय सहायताका लागि आवश्यक पर्ने व्यक्तिहरूको पहिचान गर्ने समेतका कार्यहरू काठमाडौं महानगरपालिकाले गर्ने । यस कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध जिल्ला सुरक्षा समितिले मिलाउने ।

    ९. यी माथिका निर्णयहरू बमोजिमका कार्यहरू गर्न केन्द्रीय समन्वय समितिको रूपमा देहायबमोजिमको समिति गठन गर्ने । उक्त समितिले समन्वय, निर्देशन, आवश्यक नीतिगत निर्णय र साधन स्रोतको व्यवस्थासमेतका विषयलाई तत्काल सम्बोधन गर्ने ।

    देहाय

    १. माननीय शहरी विकास मन्त्री – संयोजक

    २. काठमाडौं महानगरपालिका प्रमुख – सदस्य

    ३. गृह मन्त्रालयका सचिव – सदस्य

    ४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव – सदस्य

    ५. शहरी विकास मन्त्रालयका सचिव – सदस्य

    ६. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव – सदस्य

    ७. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बन्धित विषय हेर्ने सचिव – सदस्य

    १०. माथि निर्णय नम्बर ९ बमोजिम गठन भएको केन्द्रीय समन्वय समितिको अधीनमा रही सम्बन्धित मन्त्रालय, निकायहरूबाट आ आफ्ना क्षेत्रगत विषयहरूलाई तत्काल कार्यान्वयनमा लैजान कार्यान्वयन समिति एक्सन टिम बनाई तोकिए बमोजिमका कार्यहरू गर्ने र सोको नियमित रिपोर्टिङको कार्य केन्द्रीय समन्वय समितिलाई गर्ने ।

    ११. बस्तीहरू खाली गर्ने, सुरक्षाकर्मीहरू परिचालन एवम् आश्रयस्थलहरूमा व्यवस्थापन र पुनर्वाससमेतका कार्यहरू गर्दा प्रत्येक चरणमा क्षेत्र स्तरमा आउनसक्ने सम्भावित समस्याहरू र आवश्यक पर्ने साधन स्रोतको माग जिल्ला प्रशासन कार्यालय, काठमाडौं मार्फत भएको खण्डमा तत्काल सम्बन्धित निकायहरूबाट उपलब्ध गराउने ।

  • सुकुमबासी बस्ती हटाउँदा बल प्रयोग नहुने सरकारको स्पष्टोक्ति

    सुकुमबासी बस्ती हटाउँदा बल प्रयोग नहुने सरकारको स्पष्टोक्ति

    ११ वैशाख, काठमाडौं । सरकारले नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई हटाउन बल प्रयोग नगर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा एवं युवा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरीको बल प्रयोग गरेर सुकुमवासी बस्ती खाली नगर्ने बताएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन् । ‘जबरजस्ती प्रहरीको बल प्रयोग गरे डोजर लगाउने योजना सरकारको छैन । हामीले उहाँहरूलाई सेफ ठाउँमा त्यताबाट सार्न सरकारले काम अघि बढाएको हो,’ उनले भने ।

    पार्टीको वाचापत्रमा भएका कुरा, कार्ययोजनामा भएको कुरा र निर्णयमा प्रतिबद्ध रहेको पनि उनले बताए । ‘वास्तवमा तीनवटा सुकुमवासी बस्ती जहाँ विगतमा बाढी आउँथ्यो,’ पोखरेलले भने, ‘बाढी आएपछि ज्यान बचाउन भाग्नुपर्ने अवस्था यसअघि विभिन्न वर्षमा आएका थिए । देशका सबै ठाउँका सुकुमवासीको दीर्घकालीन समाधान गरिने भन्दै उनले सुकुमवासीमाथि विगतमा हुने गरेको राजनीति अब नहुने धारणा उनले राखे । पोखरेलले प्रारम्भिक चरणमा बाढीको जोखिम रहेका उपत्काका तीन वटा सुकुमवासी बस्ती हटाइने र सुरक्षित स्थानमा राखिने पनि बताए ।

  • तनहुँमा बस दुर्घटना, २ जनाको मृत्यु

    तनहुँमा बस दुर्घटना, २ जनाको मृत्यु

    ११ वैशाख, पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ शेराटारमा भएको बस दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने घाइते २७ जनालाई पोखरा रिफर गरिएको छ । पोखरादेखि भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस शेरामा दुर्घटना भएको हो । दुर्घटनामा परेका ३१ जना उपचारका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र बेलचौतारा लगिएको थियो । बसमा ३२ जना सवार थिए ।

    दुर्घटनामा घाइतेको उपचारकै क्रममा २ जनाको ज्यान गएको र उनीहरुको थप परिचय संकलनकै क्रममा रहेको उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए । घाइते २७ जनालाई अस्पताल र आसपासमा उपलब्ध एम्बुलेन्स, शवबहान, ट्याक्सी, माइक्रो लगायतमा गरेर थप उपचारका लागि मणिपाल पु¥याइएको थियो । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

  • चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

    चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

    कर्णाली, वैशाख ११ गते । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ । सुर्खेत वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्रको माध्यमबाट नेपाली चलचित्रको प्रवर्द्धन र विकाससँगै कर्णालीमा चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने एवं जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०८३ आयोजना गर्न लागिएको जानकारी दिए ।


    उनले भने, “तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०८३ मार्फत नेपालको कर्णाली क्षेत्रलाई केन्द्रविन्दु बनाई सहरदेखि गाउँसम्म चलचित्र र पर्यटन जोड्न विविध गतिविधि सञ्चालन गर्छौँ । यहाँ प्रचुर सम्भावना भए पनि पर्यटन विकास र चलचित्रसँग सम्बन्धित गतविधिहरू प्रायः शून्य छन् ।”

    कर्णालीका अनगिन्ती कथा, जीवनशैली, भाषा, वेशभूषा, कला, संस्कृति, साहित्य, परम्परा र रीतिरिवाजलाई संरक्षण र प्रवर्द्धनका लागि राज्यको भूमिका प्रायः शून्य रहेको स्थितिलाई मध्यनजर गर्दै जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र भन्ने अभियानका साथ कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियानको थालनी गरिएको निर्देशक चन्दले बताए ।

    साहित्यकार, लेखक तथा महोत्सवका सल्लाहकार महेन्द्र मल्लले कर्णालीका लुकेका कथालाई उजागर गर्ने उद्देश्यले चलचित्र कथा प्रतियोगिताको घोषणा गरी विज्ञहरूबाट कथा छनोट कार्य भइरहेको बताए । उनले कर्णालीको मौलिकता झल्कने, कल्पनामा नभई यथार्थतामा आधारित कथाहरूलाई प्राथमिकतामा राखेर छनोट गरिने र उत्कृष्ट कथा लेखन लागि रु एक लाख राशि प्रदान गरिने जनाए ।


    खासगरी पर्यटन प्रवर्द्धन, सांस्कृतिक उजागर, सामाजिक रुपान्तरण, आर्थिक समृद्धि, अन्तरराष्टिय पहिचान, सिनेमाको पहुँच वृद्धि गर्न र कर्णालीलाई चलचित्र पर्यटन तथा छायाङ्कनको हब बनाउन चलचित्र छायाङ्कन गर्न आउने स्थिति निर्माण गर्न यो महोत्सवले ठूलो योगदान दिने अपेक्षा गरिएको छ । सुर्खेतबाट शुभारम्भ गरिएको महोत्सव सल्यानको कुपिण्डे ताल, रुकुमपश्चिम, जाजरकोट, दैलेख, कालीकोट हुँदै जुम्लामा पुगेर समापन गरिने आयोजकले जनाएको छ ।

    मप विश्वविद्यालयमा ‘बहुविषयमा अन्तरराष्ट्रिय सम्मेलन’ हुँदै

    कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयमा आजदेखि ‘बहुविषयमा अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ हुने भएको छ । भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयले वैशाख ११–१३ गतेसम्म सम्मेलनको आयोजना गर्ने भएको हो ।

    ‘इन्टरडिस्प्लिनियरी सिनर्जिज फर अ सस्टेनेबल फ्युचर इन द एज अफ एआइ एन्ड डिजिटल ट्रान्सफरमेसन’ भन्ने मूल नारामा आधारित रहेर नेपालको उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तरराष्ट्रिय सहकार्य, क्षेत्रीय विकास र नीति संवादलाई एउटै साझा मञ्च जोड्ने प्रयासअनुरुप सम्मेलनको आयोजना गरिएकोबारे बिहीबार पत्रकार सम्मेलनमार्फत विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा यदुप्रसाद ज्ञावलीले जानकारी दिए ।

    कृत्रिम बुद्धिमत्ता, डिजिटल रुपान्तरण र दिगोपनासम्बन्धी नयाँ अवधारणा विकास, शिक्षा, प्रविधि, शासन, अर्थतन्त्र र समाजका जटिल समस्यालाई अन्तरविषयगत दृष्टिकोणबाट विश्लेषण, अन्तरराष्ट्रिय अनुसन्धान सहकार्य तथा साझेदारी विस्तार र प्रमाण आधारित नीति निर्माणका लागि सिफारिसहरू गर्ने लक्ष्यसहितको उद्देश्य प्राप्तिका लागि तीन दिनसम्म सम्मेलन सञ्चालन हुने उनले बताए ।


    उनले भने, “सम्मेलन सात प्रमुख विषयमा केन्द्रित हुनेछ । कृषि, वातावरण तथा खाद्य सुरक्षा, शिक्षा तथा मानव विकास, कानुन, नीति तथा सुशासन, व्यवस्थापन, अर्थशास्त्र तथा उद्यमशीलता, स्वास्थ्य तथा जनसङ्ख्या, विज्ञान, प्रविधि तथा इन्जिनियरिङ र सामाजिक विज्ञान तथा मानविकीलगायत विषयअन्तर्गत ३४४ भन्दा बढी अनुसन्धानपत्रहरू प्रस्तुत गरिनेछ ।

    कार्यकारी निर्देशक डा ज्ञावलीका अनुसार सम्मेलनमा २१ देशको प्रतिनिधित्व, पाँच सयभन्दा बढी सहभागी, ३४४ भन्दा बढी अनुसन्धानपत्र प्रस्तुति, विश्वस्तरीय वक्ता, उपकुलपतिहरूको राउन्ड टेबल, डायोस्परासम्बन्धी आर्थिक उद्यमशीलताको छलफल हुनेछन् । रासस

  • आज बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

    आज बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

    काठमाडौँ, वैशाख ११ गते । बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस सन् २०१९ देखि मनाउन प्रारम्भ भएको हो । बहुपक्षीयता कम्तीमा तीन वा सोभन्दा बढी राष्ट्रबीचको सहकार्यलाई जनाउने भए पनि यसको सार केवल सङख्यात्मक नभई साझा मूल्य, मान्यता र नियममा आधारित सामूहिक राजनीतिक प्रतिबद्धतामा निहित रहेको मानिन्छ ।

    राष्ट्रसङ्घका अनुसा। परामर्श, समावेशिता र ऐक्यबद्धता यसका आधारभूत सिद्धान्त हुन् । यसले समान अधिकार र दायित्वका आधारमा दिगो तथा प्रभावकारी सहकार्य सुनिश्चित गर्छ । बहुपक्षीयता अन्तरराष्ट्रिय प्रणालीको सङ्गठन र सहकार्यको विधि दुवै भएकाले वर्तमान आजको परस्पर निर्भर विश्वमा यसको महत्व अझ बढेको छ ।

    एक सय ९३ राष्ट्र सदस्य तथा एक हजारभन्दा बढी गैरसरकारी संस्था र अन्तरराष्ट्रिय सङ्गठन पर्यवेक्षक रहेको संयुक्त राष्ट्रसङ्घ बहुपक्षीयताको प्रमुख मञ्चका रूपमा परिचित छ । सन् १९४५ मा स्थापना भएको यो विश्व संस्थाको मुख्य उद्देश्य अन्तरराष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु हो । यसको बडापत्रले विवादलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने र भावी पुस्तालाई युद्धको भयबाट जोगाउने प्रतिबद्धता व्यक्त गरेको छ । कूटनीतिक प्रयासमार्फत द्वन्द्व रोकथाम र समाधानमा जोड दिइँदै आएको छ ।

    सन् २०२४ सेप्टेम्बरमा आयोजित ‘समिट अफ द फ्युचर’मा विश्व नेताहरूले ‘प्याक्ट फर द फ्युचर’ पारित गर्दै शान्ति, दिगो विकास र मानवअधिकार संरक्षणप्रति पुनः प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

  • नयाँ नियमावलीमा गरियो सांसदको विशेषाधिकार प्रस्ताव

    नयाँ नियमावलीमा गरियो सांसदको विशेषाधिकार प्रस्ताव

    नारायण न्यौपाने–अशोक घिमिरे\रासस
    ११ वैशाख २०८३ । प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारका रूपमा अघि बढाउन प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावमा सभा, समिति र सदस्यको हकमा नियमावली सङ्घीय कानुनका रूपमा विशेष कानुनसरह लागू हुने उल्लेख छ ।
    नियमावली मस्यौदामा प्रस्तावना, परिभाषा, अधिवेशन र बैठक सञ्चालन, अध्यक्षता, सदस्यको उपस्थिति, संविधान संशोधन विधेयक, महाअभियोग प्रस्ताव, प्रत्यायोजित विधायनलगागत विषयमा सुधार र थप स्पष्ट पार्ने प्रयास भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    संसद् र समितिमा हुने छलफल र बहसमा सांसदबाट बेलाबखत प्रयोग हुने शब्दका विषयमा उठ्दै आएका प्रश्नलाई नियमावलीमार्फत नै सम्बोधन गर्ने प्रसास गरिएको छ । मस्यौदामा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने, भेदभाव गर्ने, मर्यादा घटाउने, अप्रमाणित आरोप लगाउने, भौगोलिक भेदभाव झल्कने गरी बोलेको शब्दलाई ‘असंसदीय शब्द’ भनी किटान गरिएको छ । मस्यौदामा ‘प्रत्यायोजित विधायन’ स्पष्ट गर्दै नियमावली, आदेश, गठन आदेश, विनियमावली, निर्देशिका, कार्यविधि वा मापदण्डलाई समेटिएको छ ।

    बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधिसभामा रहेको दलीय प्रतिनिधित्वको आधारमा पदेन सदस्यबाहेक बढीमा पन्ध्र सदस्य रहेको कार्यव्यवस्था परामर्श समिति गठन गर्ने व्यवस्था गरिएको छ । यसअघि सो समिति २१ सदस्यीय रहेको थियो ।

    नियमावलीको नियम १५ मा संसद्को आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । यसअघि जवाफका लागि समय किटान गरिएको थिएन । सांसदले बैठक कक्षमा रहँदा फोन ‘साइलेन्स’ अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने नियमावली मस्यौदामा प्रस्ताव गरिएको छ ।

    संविधान संशोधन विधेयकको कार्यविधिबारे पनि नियमावलीमा स्पष्ट पारिएको छ । संविधानको धारा २७४ को उपधारा (४) र अनुसूची–६ मा उल्लिखित विषयका हकमा सोही उपधारा र अनुसूचीमा लेखिएको अवधिभित्र सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने प्रस्ताव गरिएको छ । संविधानको उक्त धारामा ‘कुनै प्रदेशको सिमाना परिवर्तन वा अनुसूची–६ मा उल्लिखित विषयसँग सम्बन्धित भएमा त्यस्तो विधेयक सङ्घीय संसद्मा प्रस्तुत भएको ३० दिनभित्र सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्नेछ’ भन्ने उल्लेख छ ।

    प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएको संविधान संशोधनसम्बन्धी विधेयक सन्देशसहित प्राप्त भएपछि प्रस्तावको पक्षमा प्राप्त भएको जम्मा मत दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुईतिहाइ पुगेको भए संविधान संशोधनको विधेयक सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था मस्यौदामा गरिएको छ । यसअघि प्रतिनिसभा नियमावली, २०७९ मा सो व्यवस्था ‘कानुनबमोजिम हुने’ भन्ने मात्रै उल्लेख थियो ।

    नियम १५७ मा राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्ध पेस गरिने महाअभियोगको प्रस्तावमा प्रस्ताव पेस गर्नुपरेको आधार र कारण खुलाई सोको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने व्यवस्था गरिएको छ । नियम १६२ मा द्रुत प्रक्रियाबाट समेत टुङ्गो लाग्न नसकेको महाभियोगको प्रस्ताव निर्वाचनपश्चात् गठन हुने प्रतिनिधिसभाको लागि अभिलेखको रूपमा रहने र यसबारे निर्वाचनपश्चात् सभा गठन भएको पाँच महिनाभित्र त्यस्तो अभिलेख ग्रहण गरी अर्को पाँच महिनाभित्र आवश्यक निर्णय गरिसक्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    कार्यपालिका र व्यवस्थापिकाबीचमा शक्ति सन्तुलन कायम गर्ने सन्दर्भमा विषयगत समितिले दिएका निर्देशन, राय, सल्लाह र सुझाव सम्बन्धित निकायले ३० दिनभित्र कार्यान्वयन गरेको प्रगति विवरण प्राप्त पाउने विषय नियमावलीमा राखिएको छ । समितिले दिएका त्यस्ता निर्देशन कार्यान्वयन भए÷नभएका बारेमा ३० दिनभित्र पुनरावलोकन गरिनेछ । सभापतिलाई जानकारी नदिई लगातार पाँचवटा बैठकमा अनुपस्थित रहने सदस्यलाई सभापतिको सिफारिसमा सभामुखले समितिबाट हटाउन सक्नेछ व्यवस्था गरिएको छ ।

    नियमावलीमा प्रतिनिधिसभा गठन हुने विशेषाधिकार समितिको आकार घटाइ १५ सदस्यमा सीमित गरिएको छ । यसअघि सो समिति २१ सदस्यीय रहने व्यवस्था थियो । विशेषाधिकार समितिले आवश्यक ठहर्याएमा अभियोग लागेको व्यक्तिलाई बढीमा तीन महिनासम्म थुनामा राखी कारबाही गर्न सक्ने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । यसअघि तीन महिनाको समय किटान गरिएको थिएन ।

    प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले यही वैशाख ८ गते आफ्नो प्रतिवेदन सभामुख डोलप्रसाद अर्यालसमक्ष बुझाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको संयोजकत्वमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न छ राजनीतिक दलका तर्फबाट १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन भएको थियो । नियमावलीको मस्यौदालाई यही वैशाख १७ गतेदेखि सुरु हुने प्रतिनिधिसभाको अधिवेशनमा पेस हुने संसद् सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए ।


    समितिले नियमित रूपमा १४ वटा बैठक बसी मस्यौदा प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । समितिमा सांसदहरू ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला शमीम मिकरानी, तपेसवर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधुकुमार चौलागाईँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल थिए ।

  • अरनिको राजमार्ग विस्तार : निर्माण सामग्रीमा मूल्यवृद्धिले प्रगति सुस्त

    अरनिको राजमार्ग विस्तार : निर्माण सामग्रीमा मूल्यवृद्धिले प्रगति सुस्त

    रासस

    अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।

    अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको निर्माणकार्य डेढ महिनादेखि सुस्त छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेको जनाएका छन् ।

    १५ दशमलव ८ किलोमिटर सडक विस्तारको महत्वाकांक्षी योजना अहिले ‘सामग्री अभाव’ देखाउँदै प्रभावित बनाइएको छ । निर्माण कम्पनीका प्रतिनिधिले सडक विस्तारको काम निर्धारित लक्ष्यअनुसार अघि बढिरहे पनि थपिएको समयमा नसक्ने बताएका छन् ।

    साँगा–धुलिखेल सडकखण्डअन्तर्गत करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । यसअघि चालु आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत कामसक्ने लक्ष्यसहित तीव्रगतिमा निर्माण भइरहेको थियो ।

    जिम्मा पाएको लामा कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले कामको गति सुस्त भएको जानकारी दिए । उनका अनुसार आवश्यक सामग्रीको अभावमा काम पूर्ण रूपमा बन्द भने नभएको तर पहिलेको जस्तो तीव्रता कायम राख्न कठिन भएको छ ।

    श्रेष्ठले सरकारले तत्काल निर्माण क्षेत्रको समस्या समाधानका लागि ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने र मूल्यवृद्धि समायोजनको निर्णय गर्नुपर्ने माग गरे ।

    निर्माण व्यवसायीले भारतबाट सडक पक्की गर्ने कच्चा पदार्थ ‘बिटुमिन’ तथा अन्य अत्यावश्यक सामग्री ल्याउने प्रयास गरे पनि सफल हुन नसकेको उनको भनाइ छ ।

    सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले हालको परिस्थितिमा निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न कठिन अवस्था सृजना भएको स्वीकार गरे ।
    विस्तारित राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक– काभ्रेपलाञ्चोकको साँगा खण्डमा भने कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशतमात्रै काम सम्पन्न भएको जनाइएको छ ।

    अनुगमनका क्रममा विहीबार जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले वर्षायाम सुरु भइसकेकाले अब निर्माणस्थलमा थप जोखिम बढ्नसक्ने भन्दै पूर्वतयारीमा निर्माण कम्पनीले जोड दिनुपर्ने बताए । उनले यात्रीलाई सहज आवागमन सुनिश्चित गर्न, सडक अवरोध कम गर्न र सम्भावित क्षति न्यून गर्न निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई सचेत रहन आग्रह गरे ।

    त्यसैगरी, काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले पानी नपर्दा धुलो र पानी परेपछि हिलो तथा चिप्लोपनले यात्री तथा स्थानीयलाई ठूलो समस्या पारेकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

    सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले हालको परिस्थितिमा निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न कठिन अवस्था सृजना भएको स्वीकार गर्दै निर्माण क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारी निकायमार्फत पहल भइरहेको र भारतबाट आउने बिटुमिनको आपूर्ति सहज बनाउन प्रक्रिया अघि बढाइएको बताए ।

    यसैबीच, आयोजनाले थपिएको समयमा विस्तारकार्य सम्पन्न गर्नेसमेत जनाएको छ । २ लेन रहेको उक्त राजमार्गको यस खण्डलाई ६ लेनका लागि विस्तार कार्य भइरहेको छ । सडक दायाँबायाँ दुई सर्भिस लेन तथा २।५ मिटरको फुटपाथ निर्माण भइरहेको छ ।

    आयोजनाको समयावधि सकिएपछि गत मंसिर अन्तिम साता पुनस् एक वर्ष थपेर स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको हो ।

    आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ साल मंसिर २७ गते सम्झौता भई २०८२ मंसिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशतमात्र काम सम्पन्न भएको थियो ।

    साँगा क्षेत्रमा भइरहेको निर्माण कार्य
    हाल पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाइ ८०० मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ । बनेपाबाट साँगातर्फ दुवै लेनमा कालोपत्रको तयारी भइरहेको छ । यस्तै हाल बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ ।

    बनेपाको चाँदनी चोकमा कर्ल्भट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको छ । साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको आयोजनाले जनाएको छ ।

    सूर्यविनायक–धुलिखेल सडक विस्तारकार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा ७।५ किलोमिटर विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो ।

    उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि म्याद थपिएको हो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती तथा तल ठूलो भिर भएकाले काम गर्न केही अफ्ठ्यारो परेको जनाइएको छ ।

    हाल साँगामा ‘अन्डरपास’ निर्माणकार्य भइरहेको छ । भक्तपुर–धुलिखेल सडक आयोजनामध्ये पर्ने तीनवटा पुलको निर्माण प्रक्रिया आयोजनाको योजनाअनुसार अघि बढिरहेको जनाइएको छ । यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

  • आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम सहित मनाइदैं

    आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम सहित मनाइदैं

    ११ वैशाख, काठमाडौं । आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

    सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२\६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

    २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

    विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजा ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदैरहटाउँदै गरे ।

    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ९माओवादी०बीच १२ बुँदे समझदारी भयो । तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।

    २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काठमाडौं केन्द्रित निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । काठमाडौंको चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए ।

    आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । उनले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे । यसैले यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।

    विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

    यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

    विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

    संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

    यद्यपि जनताका अपेक्षा पूरा नहुँदा जनतामा निराशा कायम छ । सरकार गठन र विघटनका श्रृंखला तथा भ्रष्टाचारका काण्डले जनतामा शासन व्यवस्थाप्रति बेला बेला असन्तुष्टि सुनिने गरेको छ । जनतामा देखिएका असन्तुसष्टिलाई बेलैमा सम्बोधन गरेर लोकतन्त्रको पारिलो घाम ताप्ने अवसर सबैलाई प्रदान गर्न सकिएको सन्दर्भमा लोकतन्त्र दिवस खास अर्थमा सार्थक बन्न सक्छ ।

  • कांग्रेसले आज निर्वाचनमार्फत संसदीय दलको नेता छान्दै

    कांग्रेसले आज निर्वाचनमार्फत संसदीय दलको नेता छान्दै

    ११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ । सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयनको प्रक्रिया अघि बढाइएको छ । पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दिने कार्यक्रम छ । दाबी विरोध, जाँचबुझ, दोस्रो नामावली प्रकाशन, नाम फिर्ता लगायतका प्रक्रिया पूरा गरेपछि दिउँसो साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

    त्यसपछि अपराह्न चार बजेदेखि पाँच बजेसम्म मतदानको कार्यक्रम राखिएको निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले दाबी गरेका छन् । गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी जम्मा ३८ सिट जितेको थियो ।

    प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झन्डै दुई महिना पुग्नै लाग्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । कांग्रेसका एक शीर्ष नेताका अनुसार सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको चाहना बाझिँदा दलको नेता चयनमा ढिलाइ भएको हो ।

    सभापति थापाले प्रत्यक्षतर्फका सांसद मोहन आचार्य र उपसभापति शर्माले समानुपातिकतर्फका सांसद भीष्मराज आङ्देम्बेलाई दलको नेता बनाउन चाहिरहेका छन् । आचार्य रसुवाबाट प्रत्यक्ष र आङ्देम्बे पाँचथरबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । आङ्देम्बे १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका थिए ।

  • मतदाता सूची विवादबिच पश्चिम बङ्गालमा मतदान सुरु

    मतदाता सूची विवादबिच पश्चिम बङ्गालमा मतदान सुरु

    कोलकाता, वैशाख ११ गते । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबिच भारतको पश्चिम बङ्गालमा बिहीबार मतदान सुरु भएको छ, जसले चुनावी निष्पक्षता र मताधिकारबारे गम्भीर बहसलाई थप तीव्र बनाएको छ । राष्ट्रिय महत्त्व बोकेको यस निर्वाचनले राजनीतिक शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)ले लामो समयदेखि क्षेत्रीय दलको प्रभाव रहेको यस राज्यमा आफ्नो उपस्थिति विस्तार गर्ने प्रयास गरिरहेको छ । अर्कोतर्फ, मुख्यमन्त्री ममता बनर्जीको पुनः जितले उनको राष्ट्रिय विपक्षी नेतृको छवि अझ बलियो बन्ने आँकलन गरिएको छ ।

    निर्वाचन बहुचरणीय रूपमा भइरहेका छन्, जसअन्तर्गत दोस्रो चरण आगामी हप्तामा तय गरिएको छ । यसै दिन दक्षिणी राज्य तमिलनाडुमा पनि मतदान भइरहेको छ । समग्रमा यी निर्वाचनलाई विपक्षी प्रभाव क्षेत्रमा सत्तारूढ दलको पहुँच परीक्षणका रूपमा हेरिएको छ, जसको अन्तिम नतिजा मे ४ मा आउने अपेक्षा गरिएको छ ।

    यस पटकको मतदान विशेषरूपमा मतदाता सूची संशोधनका कारण विवादित बनेको छ । भारतको निर्वाचन आयोगले मृतक, दोहोरो वा अयोग्य मतदातालाई हटाउने उद्देश्यले व्यापक अद्यावधिक गर्दा करिब ९० लाख नाम हटाइएको जनाएको छ । यसमध्ये ६३ लाखलाई मृत वा अनुपस्थित र २७ लाखलाई ‘सन्दिग्ध’ भन्दै प्रमाणीकरण बाँकी राखिएको छ ।

    तर धेरै मतदाताले आफूसँग वैध कागजात हुँदाहुँदै पनि स्पष्ट कारण बिना नाम हटाइएको गुनासो गरेका छन् । अर्धसैनिक बलमा कार्यरत ५३ वर्षीय शेख नजरुल इस्लामले आफूले सन् २०२१ मा मतदान गरेको र सबै कागजात हुँदाहुँदै पनि यस पटक नाम सूचीमा नभेटिएको बताए । उनले ‘निर्वाचनमा खटाइएको व्यक्तिलाई नै नागरिकका रूपमा मान्यता नदिएको अनुभूति भएको’ प्रतिक्रिया दिए ।


    यस्तै, ६२ वर्षीया निवृत्त विद्यालय प्रशासक ताइबुनेसा बेगमले पासपोर्ट, पेन्सन रेकर्डजस्ता प्रमाण हुँदाहुँदै पनि नाम हटाइएको देख्दा आफू स्तब्ध भएको बताए । उनका अनुसार ‘यो केवल मतदानको विषय नभई आफ्नो अस्तित्वमाथि नै प्रश्न उठाइएको जस्तो’ लागेको छ । विपक्षी दलले भने यस प्रक्रियाले मुस्लिम तथा सीमान्तकृत समुदायलाई असमान रूपमा प्रभावित गरेको आरोप लगाएका छन् ।

    तर निर्वाचन आयोगले आरोप अस्वीकार गर्दै सूची शुद्धीकरण नियमित प्रशासनिक प्रक्रिया भएको दाबी गरेको छ । सत्तारूढ दलले पनि यसलाई आवश्यक सुधार भन्दै समर्थन गरेको छ र कागजातविहीन आप्रवासीहरूको उपस्थिति यसका कारण हुन सक्ने तर्क गरेको छ । यद्यपि आलोचकले यस कदमलाई व्यापक राजनीतिक सन्देशसँग जोड्दै आएका छन् । विशेषगरी छिमेकी बङ्गलादेशबाट अवैध आप्रवासनको विषय उठाउँदै आएका अभिव्यक्तिले अल्पसङ्ख्यक समुदायमा भय बढाएको उनीहरूको भनाइ छ । तृणमूल काङ्ग्रेसका नेता डेरेक ओ’ब्रायन ले यस प्रक्रियालाई ‘अदृश्य धाँधली’ को संज्ञा दिँदै मतदातालाई अधिकारबाट वञ्चित गर्ने प्रयास भएको आरोप लगाए ।


    राजनीतिक विश्लेषक इमान कल्याण लाहिरीका अनुसार मतदाता सूचीबाट नाम हराउनु केवल प्राविधिक त्रुटि नभई नागरिक पहिचान र गरिमासँग जोडिएको गम्भिर विषय हो । उनले यसले दीर्घकालीन रूपमा लोकतान्त्रिक विश्वासमा असर पार्न सक्ने चेतावनी दिए । धेरै प्रभावित नागरिकका लागि भने यो बहसभन्दा पनि व्यक्तिगत पहिचानको प्रश्न बनेको छ । बेगमले भने, “यो राजनीति मात्र होइन, हामी यो देशका नागरिक हौँ कि होइन भन्ने आधारभूत प्रश्न हो ।”रासस-एपी

  • होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

    होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

    तेहरान, वैशाख ११ गते । अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ । युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज जफत गरेको जनाएको छ ।

    यसैबिच क्षेत्रीय तनाव चर्किंदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युद्धविरामलाई केही समय कायम राख्ने घोषणा गर्दै पाकिस्तानको मध्यस्थतामा शान्ति वार्तालाई अवसर दिन चाहेको बताउनुभएको छ । इरानले भने पाकिस्तानको पहललाई स्वागत गरे पनि अमेरिकी घोषणाबारे थप प्रतिक्रिया दिएको छैन ।

    इस्लामाबादमा भएको प्रारम्भिक वार्तामा इरानी टोलीको नेतृत्व गर्नुभएका संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफले नौसैनिक नाकाबन्दी कायम रहँदा युद्धविरामको अर्थ नरहने स्पष्ट पार्नुभयो । उहाँका अनुसार युद्धविरामको स्पष्ट उल्लङ्घन भइरहेकाले होर्मुज जल डमरूमध्य खोल्ने अवस्था छैन ।

    फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि तेल बजारमा अस्थिरता बढेको छ । युद्ध फेरि भड्किने आशङ्काले मूल्य उकालो लाग्दै आएको छ, यद्यपि अमेरिकी सेयर बजारले केही स्थिरता देखाएको छ । ट्रम्पले इरानको नेतृत्वलाई प्रस्ताव ल्याउन समय दिन खोजेको बताउनुभएको छ, जसलाई कतिपयले नयाँ युद्ध टार्ने कूटनीतिक प्रयासका रूपमा हेरेका छन् ।

    इरानले वार्तामा औपचारिक सहभागिता पुष्टि नगरेको अवस्थामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको इस्लामाबाद भ्रमण स्थगित भएको छ । तथापि, ट्रम्पले केही दिनभित्रै वार्ता पुनः सुरु हुन सक्ने बताउनुभएको छ । यसैक्रममा ट्रम्पले इरानले मृत्युदण्ड दिन लागेको भनिएका आठ महिलाको सजाय रोकिएको दाबी गरे पनि इरानी न्यायपालिकाले त्यसलाई ‘गलत सूचना’ भन्दै खारेज गरेको छ ।

    उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले होर्मुज हुँदै जाने दुई जहाज नियन्त्रणमा लिएको जनाएको छ । तीमध्ये पनामा झण्डा बोकेको ‘एमएससी फ्रान्सेस्का’ र लाइबेरियाको ‘एपामिनोन्डास’ रहेको बताइएको छ । पनामाले यस घटनालाई समुद्री सुरक्षामाथिको गम्भीर आक्रमण भनेको छ भने बेलायतस्थित समुद्री निगरानी संस्थाहरूले पनि जल डमरूमध्यमा सैन्य गतिविधि बढेको पुष्टि गरेका छन् ।

    ओमान नजिकै एक कन्टेनर जहाजमाथि गोली प्रहार हुँदा संरचनात्मक क्षति पुगे पनि मानवीय क्षति नभएको रिपोर्ट सार्वजनिक भएको छ । उता, अमेरिकी सेनाले इरानी बन्दरगाहसँग सम्बन्धित जहाज रोक्ने प्रयास जारी राखेको छ, जसले पूर्ण युद्ध बिना नै इरानमाथि आर्थिक दबाब बढाउने रणनीति देखिन्छ । यसैबिच पेन्टागनले अमेरिकी नौसेनाका सचिव जोन फेलानले तत्काल पद छोड्ने घोषणा गरेको छ, तर यसको कारण खुलाइएको छैन । रक्षामन्त्री पीट हेग्सेथको नेतृत्वमा उच्च तहमा फेरबदल भइरहेको सङ्केत देखिएको छ ।

    इरानले अब होर्मुज हुँदै आवतजावत गर्ने जहाजले अनुमति लिनुपर्ने व्यवस्था लागु गरेको छ । यसअघि युद्धविरामका बेला स्वतन्त्र आवागमन दिने बताएको इरानले अमेरिकी नाकाबन्दीपछि नीति कडा बनाएको हो । दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै आएका छन् ।

    यता इरानसँगको तनावबीच लेबनान र इजरायलबिचको अवस्था पनि तनावपूर्ण नै रहेको छ । युद्धविराम घोषणा भए पनि इजरायली आक्रमणमा थप पाँच जनाको ज्यान गएको लेबनानी सञ्चारमाध्यमले जनाएका छन् । सीमा क्षेत्रमा भएको हमलामा पत्रकार अमल खलिलको मृत्यु भएको र अर्की पत्रकार जीनाब फराज घाइते भएकी छन् ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकमाथि भएको आक्रमणमा घाइते भएका दोस्रो फ्रान्सेली सैनिकको पनि मृत्यु भएको जानकारी दिनुभयो । उक्त घटनाको जिम्मेवारी हिजबुल्लाहले अस्वीकार गरेको छ । इजरायल र लेबनानबिच वासिङ्टनमा हुने दोस्रो चरणको वार्तामा युद्धविराम एक महिना थप गर्न आग्रह गरिने बताइएको छ । लेबनानले इजरायली आक्रमण रोक्न र युद्धविरामको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न दबाब दिने तयारी गरेको छ । रासस\एएफपी