Category: समाचार

  • रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

    रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

    बुटवल, बैशाख १६ गते । रुपन्देहीको देवदहमा बुधबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २७ जना यात्रु घाइते भएका छन् । बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत देवदहको गणेशनगरस्थित प्रतीक्षालयनजिक माइक्रो बस र ईभी माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    बुटवलबाट बर्दघाटतर्फ जाँदैगरेको लु. १ ख. ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ०० ख ८९२८ नम्बरको ईभी माइक्रो एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । देवदह प्रहरी चौकीका अनुसार दुर्घटनामा परेर मृत्यु भएकाको नाम ठेगाना खुल्न बाँकी छ ।

  • सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी दिन सुरु

    सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी दिन सुरु

    १६ वैशाख, काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरे ।

    महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब दिने कार्यको सुरुआत गरेका हुन् । सो आदेशसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो अर्धमासिक (१५ दिन)को तलब प्राप्त गरेका थिए ।

    १५ दिनमै तलब भुक्तानी कार्यको शुभारम्भ गदै अर्थमन्त्री वाग्लेले अर्थतन्त्र चलायमान बनाउन सरकारले यस्तो निर्णय गरेको बताए । ‘१५ दिनमा तलब दिँदा बजार चलायमान हुन्छ । उपभोग र माग दुवै बढ्छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘यो पाइलट परियोजनाको रुपमा संघीय निजामती कर्मचारीमा लागु गरिएको हो । विस्तारै सरकारी वेतनधारी सबैले यो सुविधा पाउनेछन् ।’

    उनले मन्त्रालयले निर्णय गरेको ११ दिनमै प्राविधिक तयारी पूरा गरेर १५ दिनमै तलब दिन मेहनत गरेको भन्दै महालेखा नियन्त्रक कार्यालयलाई धन्यवाद दिए । सो अवसरमा बोल्दै महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अब विस्तारै प्रदेश तथा अन्य सेवाका सरकारी कर्मचारीले पनि १५ दिनमा तलब पाउने बताए । १५ दिनमा तलब दिन आफ्नो कार्यालय प्राविधिक रुपमा तयार रहेको भन्दै उनले यसलाई क्रमैसँग अघि बढाउने बताए । उनका अनुसार अहिले रहेको प्रणालीबाट १५ दिन वा एक महिना जुन समयमा कर्मचारीले तलबको माग गर्छन, सोही समयमा तलब दिन सकिन्छ ।

    अर्धमासिक रुपमा कर्मचारीलाई तलब भुक्तानी गर्दा बजारमा नियमित माग सिर्जना हुने र अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ । यस्तै, यसले उपभोग खर्चको वितरण समान रुपमा फैलिने, साना व्यवसायीहरूको नगद प्रवाहमा वृद्धि हुने महालेखा नियन्त्रक पौडेलले बताए । १५ दिनमा तलब दिँदा सेवा व्यवसायमा सकारात्मक प्रभाव पर्ने र डिजिटल अर्थतन्त्र वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

    गत वैशाख ४ गते अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले सरकारी कर्मचारीलाई हरेक १५ दिनमा तलब खुवाउने कार्य पाइलट परियोजनाका रुपमा अघि बढाउने निर्णय गरेका थिए ।

  • विकल पौडेल दम्पतीविरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर

    विकल पौडेल दम्पतीविरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर

    १६ वैशाख, काठमाडौं । राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ । विभागले बुधबार काठमाडौं जिल्ला अदालत बबरमहलमा अभियोगपत्र दर्ता गरेको निर्देशक सचितकुमार वाइवाले जानकारी दिए । पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

    विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को खण्ड ‘क’, ‘ख’ र ‘ग’ मा उल्लेखित कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ । विभागका अनुसार उनीहरूले विदेशी विनिमय अपचलन गरी कारोबार गरेको सम्बन्धमा ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ बिगो कायम गरी १४ असोज २०८१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दा सम्बद्ध कसुरबाट आर्जित सम्पत्ति सम्बन्धमा अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर समेत गरेको अनुसन्धानबाट स्थापित हुन आएको विभागले आफ्नो सूचनामा जनाएको छ ।

  • काठमाडौंका सबै सुकुमवासी बस्तीमा शुक्रबारबाट डोजर चल्ने, यस्तो छ आदेश

    काठमाडौंका सबै सुकुमवासी बस्तीमा शुक्रबारबाट डोजर चल्ने, यस्तो छ आदेश

    १६ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुमवासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गर्दै यही वैशाख १८ बिहान ७ बजेबाट एकै पटक खाली गराउने काम सुरु हुने जनाएको छ ।

    ‘काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदि किनाराका बस्ती एंव सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट बर्षौदेखि वसोवास भै आएका बस्तीहरू मानवीय रुपमा उद्वार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौं जिल्ला भरी मिति २०८३ वैशाख १८ गते विहानबजे देखि एकै पटक विभिन्न स्थानहरुबाट सुरु हुनेछ,’ प्रशासनले भनेको छ ।

    यसअघि काठमाडौंको थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहराका बस्ती खाली गराइएको थियो । बस्ती खाली हुने क्षेत्रका बासिन्दालाई प्रशासनले विभिन्न १३ विभिन्न कार्य तत्काल गर्न भनेको छ ।

    यी हुन् प्रशासनले अनुरोध गरेका कार्य–

    १. जोखिमपूर्ण वस्तीमा निर्माण भएका घरटहराहरू तत्काल खाली गर्नुहोला ।

    २. तपाईंको परिवारमा विरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालबालिका छन् भने उनीहरूलाई सर्वप्रथम सुरक्षित तवरबाट अन्यत्र स्थानमा सार्ने कार्य गर्नुहोला ।

    ३. बिरामी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकलाई उद्वार गर्नुपर्ने भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहायता लिनुहोला। अस्पतालसम्म लैजानुपर्ने व्यक्तिलाई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । तपाईंको आवश्यकता अनुसार मद्दत लिनुहोला ।

    ४. तपाईको व्यक्तिगत मालसामानहरू, लत्ताकपडा, पशुपंक्षी चौपाया, समेत बाहिर निकाल्नु होला । उक्त बस्तुहरूको ढुवानी गरी अन्यत्र लैजानु पर्ने अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी काठमाडौं महानगरपालिका प्रहरी र स्थानीय प्रहरी समेतको मद्दत लिनुहोला ।

    ५. २०८३ वैशाख १७ गते साँझ सम्म पूर्ण रुपमा घर टहरा खाली गर्नु होला ।

    ६. वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई नेपाल सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था गर्नेछ ।

    ७. वास्तविक भूमिहिन व्यक्ति एवम् परिवारको पहिचान गरी दिगो रुपमा समस्याको समाधान नेपाल सरकारका सम्बन्धित निकायबाट यथासक्य छिटो हुनेछ ।

    ८. तपाईंलाई मानवीय सहायता प्रदान गर्दै, उद्धार गर्ने कार्य हुनेछ । कोही कसैको गलत हल्ला, दवाव, प्रभाव वा अफवाहका पछाडी नलाग्नुहोला ।

    ९. नक्कली एवं अवास्तविक भूमिहिन भनिएका व्यक्ति एवं परिवारको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याइने छ ।

    १०. तपाईंको सुरक्षा, जिउ ज्यानको रक्षा र संविधान प्रदत्त तपाईको हक अधिकार सुरक्षित रहनेछ ।

    ११. सरकारको यस अभियानमा सहयोग गर्ने कार्य तपाईको समेत कर्तव्य र जिम्मेवारी हो ।

    १२.सरकारले तपाईलाई सहयोग र मद्दत गर्न आएको छ । तपाईका वालवालिकाको शिक्षाको प्रबन्ध अवश्य सरकारको तर्फबाट हुनेछ ।

    १३.कसैले यो सूचनालाई अटेर गरी बस्दा घर टहरा भत्किई थप क्षति हुन पुगेमा त्यसको जिम्मेवार तपाई स्वयम् हुने व्यहोरा समेत यसै सूचनाबाट सूचित गरिन्छ ।

  • खानेपानी डिभिजनका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

    खानेपानी डिभिजनका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

    १६ वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । यादवको सुरू नियुक्ति मिति २०४७ असार ३१ गतेदेखि २०८० पुस ९ सम्मको अवधि जाँच गर्दा सम्पत्तिको स्रोत नखुलेको दाबीसहित बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।


    यादवको वैधानिक आम्दानीतर्फ पारिश्रमिक आय, भत्ता आय, घरग्गा बिक्री आय, ऋण सापटी लिएको रकम, ब्याज आय रकम, कृषि आय रकम, छोरा तथा श्रीमतीको आय गरी जम्मा तीन करोड ४६ लाख २१ हजार रुपैयाँ बराबर आय देखिएको अख्तियारको दाबी छ ।

    उक्त जाँच अवधिमा निज तथा निजको एकासंगोल परिवारका सदस्यहरूको व्ययतर्फका शीर्षकहरू जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारीसाधन खरिद रकम, अध्ययन खर्च, ऋण सापटी तिरेको रकम, विद्युतीय उपकरण खरिदबापतको रकम, आन्तरिक सजावट खर्च र अन्तिम बैंक मौज्दात गरी जम्मा चार करोड ९३ लाख दुई हजार ६२६ रूपैयाँ ९९ पैसा खर्च भएको अख्तियारको भनाइ छ ।

    कुल आयभन्दा कुल व्यय एक करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ ९० पैसा बढी भई स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ । यसरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती निर्मला कुमारीको नाममा समेत रहेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप बिगो जफत, त्यति नै जरिवाना र जेल सजायको माग अख्तियारले गरेको छ । यादवकी श्रीमती निर्मला कुमारीको नाममा रहेको सम्पत्ति समेत जफत गर्न अख्तियारले अदालत समक्ष माग गरेको छ । उनीहरूमाथि अन्य विषयमा अनुसन्धान जारी रहेको बताइएको छ ।

  • काङ्ग्रेसले एक साताका लागि खुलायो सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्री

    काङ्ग्रेसले एक साताका लागि खुलायो सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्री

    १६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि अनलाइन फारम एक हप्ता खुला गरेको छ । आज सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यतामा बसेको बैठकले यसबारे निर्णय गरेको हो ।

    ‘१५ औं महाधिवेशनकालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नविकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिष्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्‌याउने, नविकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क सहित केन्द्रीय कार्यालयको सिष्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा वैशाख १६ गतेदेखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो,’ निर्णयमा उल्लेख छ ।

    यस्ता छन् कांग्रेस बैठकका निर्णयहरू

    १. १५ औं महाधिवेशनकालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नविकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिष्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्‌याउने, नविकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क सहित केन्द्रीय कार्यालयको सिष्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा मिति २०८३-१-१६ गते देखि १ हप्ताका लागि नविकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो ।

    २. १५ औं महाधिवेशनकालागि क्रियाशील नविकरण गरी अधिवेशन सम्पन्न गरेका जनसम्पर्क समिति र अधिवेशन हुन नसकेका जनसम्पर्क समितिहरुलाई वर्गिकरण गरी सम्वन्धित जनसम्पर्क समितिको समस्या पहिचान गरी समाधान गर्ने र अधिवेशन भइसकेका जनसम्पर्क समितिका क्रियाशील सदस्यहरुको हकमा नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संसोधन सहित) बमोजिम अद्यावधिक गर्ने । केन्द्रीय कार्यालयको डिजिटल सिष्टममा इन्ट्री नभएका जनसम्पर्क समिति मार्फत दिइएका क्रियाशील सदस्यहरुको हकमा मिति २०८३ वैशाख १६ गते देखि १ हप्ताका लागि नविकरण र नयाँ क्रियाशील इन्ट्री गर्ने समय दिने निर्णय भयो । यसकालागि सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको मितिदेखि डिजिटल प्रणाली खुला गरिनेछ ।

    ३. जनसम्पर्क समितिको हकमा यो भन्दा अगाडिको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गरेको व्यवस्था बमोजिम अनलाइन क्रियशील सदस्यता भर्ने व्यवस्थालाइ निरन्तरता दिने । यसरी भरेको क्रियाशील अनलाइन फारम सम्वन्धित देशको जनसम्पर्क समिति अध्यक्षलाइ जानकारी गराइनेछ । अनलाइन सदस्यता खुला गरेको जानकारी नेपाली कांग्रेसको वेवसाइटमा राखिनेछ ।

    ४. नेपाली नागरिकता भएका व्यक्तिकालागि जनसम्पर्क समिति सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने साथै अन्यको हकमा नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संसोधन सहित) बमोजिम व्यवस्था गरिएको छ ।

    ५. नवीकरण प्रविष्ट भइसकेका जिल्लामा विविध कारणले क्रियशील सदस्यता नविकरण छुट भइ सो को लागि केन्द्रमा निवेदन परेकोमा नेपाली कांग्रेसको नियमावली अनुसार विधानमा व्यवस्था भए बमोजिमको शुल्क लिइ २०८३ वैशाख १६ गते देखि लागु हुने गरि १ हप्ताकालागि केन्द्रबाटै नविकरण गर्ने व्यवस्था गर्ने । सो को विवरण सम्वन्धित जिल्लामा जानकारी गराइनेछ ।

    ६. विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरुको हकमा नेपाली कांग्रेसको डिजिटल प्रणालीमा क्रियाशील सदस्यता अद्यावधिक गर्नकालागि जिल्लारक्षेत्ररकेन्द्रीय प्रतिनिधिर वडा कार्यसमितले आफूमध्येबाट तोकेको व्यक्तिमार्फत अद्यावधिक गराउन सकिनेछ ।

  • काठमाडौंका थप दुई दर्जन बस्तीमा डोजर चलाउने सरकारको योजना

    काठमाडौंका थप दुई दर्जन बस्तीमा डोजर चलाउने सरकारको योजना

    १६ वैशाख, काठमाडौं । सरकारले काठमाडौंका दुई दर्जन बस्तीमा डोजर लगाउने भएको छ । काठमाडौं महानगरपालिकाको वडानम्बर ३ अन्तर्गतको खाडीपाखा, नारायणटोल र रानीबारी, वडा नम्बर ४ को बालुवाटार र धुम्बाराहीको बस्ती हटाउन लागेको हो ।

    त्यस्तै, काठमाडौं महानगरकै वडा नम्बर १० देवीनगर, शान्तिविनायक र शंखमुल, वडा नम्बर ११ को वंशीघाट, १४ को जागरणमार्ग, बल्खु, १५ को स्वयम्भु, १६ को बुद्धज्योति र जागृति मार्ग, २६ को संगम टोल, २९ को अनामनगर र ३२ को जडीबुटी मिलनचोकमा डोजर लगाउने भएको छ ।

    ती अधिकारका अनुसार कागेश्वरी मनोहराको गोठाटार बुद्धचोक र मनोहरा टोल, बुढानीलकण्ठको पाथिभरा र कपनका बस्ती हटाउन लागिएको हो । डोजर चलाउन लागिएका केही स्थानमा हिजोबाटै माइकिङ पनि सुरू भइसकेको छ ।

    काठमाडौंका नदी किनारका अनधिकृत सबै बस्तीहरू वैशाख १७ गते साँझसम्म खाली गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । वैशाख १८ गते बिहान ७ बजेदेखि बस्ती हटाइने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

  • नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

    नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

    १६ वैशाख, काठमाडौं । पछिल्लो समय पश्‍चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ । सोही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।

    नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) ले नयाँ दिल्लीमा भारतका लागि नेपाली राजदूतावाससँगको सहकार्यमा ‘नेपाल डेस्टिनेशन वेडिङ एन्ड ओटीएज कनेक्ट’ कार्यक्रम आयोजना गरेको हो । वैशाख १५ र १६ मा आयोजित दुईदिने कार्यक्रममा नेपाल र भारतका पर्यटन तथा वेडिङ इन्डस्ट्रीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    यस कार्यक्रममार्फत नेपाललाई सांस्कृतिक समृद्धि, प्राकृतिक सौन्दर्य र परम्परागत वैवाहिक संस्कारको अद्वितीय संयोजन भएको ‘ड्रिम वेडिङ डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने प्रयास गरिएको छ । कार्यक्रममा २१ नेपाली प्रतिष्ठित कम्पनीहरू र ४५ वटा भारतीय वेडिङ प्लानरहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा सहभागी बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले जानकारी दिएका छन् ।

    वरिष्ठ अधिकृत रेग्मीका अनुसार नेपाली प्रतिनिधिहरुले नेपालमा वैवाहिक समारोहका लागि आवश्यक उच्चस्तरीय होटल, रिसोर्ट तथा सेवाहरूबारे प्रस्तुती र प्रचारप्रसार गरेका छन् । त् बी–टु–बी बैठक, प्रस्तुति, नेटवर्किङ र छलफलमार्फत नेपाल–भारतबीच वैवाहिक पर्यटन सहकार्य विस्तार गर्ने आधार तयार गरेको उनले जनाएका छन् ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक राज जोशीले वैवाहिक पर्यटन नेपालको लागि उच्च सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै भने, “नेपालमा वैवाहिक पर्यटनको अपार सम्भावना छ, जहाँ विलासी रिसोर्टदेखि प्राकृतिक तथा सांस्कृतिक सम्पदासम्मका विविध गन्तव्य उपलब्ध छन् ।” पर्यटन बोर्डका यस किसिमका प्रयासहरूले पर्यटक संख्या वृद्धि मात्र होइन, उच्च मूल्य ९हाइ–भ्यालु० पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनुका साथै समग्र अर्थतन्त्र र अन्य सहायक क्षेत्रहरूमा सकारात्मक प्रभाव पार्ने सीईओ जोशीको विश्‍वास छ ।

    कार्यक्रममा होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले नेपाल र भारतबीचको सहकार्यले वैवाहिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी इन्डियन वेडिङ प्लानर एसोसिएसनका अध्यक्ष निरज धवनले भारतीय बजारमा डेस्टिनेशन वेडिङप्रतिको बढ्दो आकर्षणले नेपालका लागि ठूलो अवसर सिर्जना गरेको धारणा व्यक्त गरेका छन् । त्यसैगरी नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा। सुरेन्द्र थापाले नेपाल–भारतबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै यस्तो कार्यक्रमले द्विपक्षीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतम र वरिष्ठ अधिकृत रोविन रेग्मीको सहभागिता रहेको थियो । जसमा बोर्डको तर्फबाट निर्देशक गौतमले बढ्दो वैवाहिक पर्यटन क्षेत्र उल्लेख गर्दै पूर्वीय सभ्यतामा विवाहको दर्शनले बोकेको सांस्कृतिक महत्वबारे जानकारी गराएका छन् । उनले नेपालले भारतजस्तो सांस्कृतिक रूपमा समृद्ध बजारका लागि उत्कृष्ट वैवाहिक गन्तव्य सिर्जना गर्न सक्ने क्षमता रहेकोसमेत उल्लेख गरेका छन् । “हाम्रा आकर्षक गन्तव्यहरू, आतिथ्य सत्कार र जीवन्त संस्कृतिसहित हामी भारतीय वेडिङ प्लानर तथा उनीहरूका ग्राहकहरूलाई नेपालको अद्भुत अनुभव दिलाउन तयार छौं,” उनले भने ।

    नेपाल पर्यटन बोर्डको पछिल्ला तथ्यांक हेर्ने हो भने पनि भारत नेपालको प्रमुख पर्यटन स्रोत बजारको रूपमा रहेको छ । सन् २०२५ को पर्यटक आगमनको तथ्यांक अनुसार नेपाल आउने कुल पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् २ लाख ९२ हजार ४३८ भारतीय रहेका छन् । सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५१ पर्यटक नेपाल भित्रिएका थिए ।

    भारतीय बजारलाई लक्षित गरी वैवाहिक पर्यटन प्रवर्द्धन गर्न सके उच्च खर्च गर्ने पर्यटक भित्र्याउने तथा वर्षभरि पर्यटन गतिविधि सन्तुलित बनाउने विश्वास गरिएको बोर्डका वरिष्ठ अधिकृत रेग्मीको विश्‍वास छ । कार्यक्रमले नेपाललाई केवल पर्यटन गन्तव्य मात्र नभई सांस्कृतिक अनुभव, विलासी सेवा र अविस्मरणीय वैवाहिक अनुभव प्रदान गर्ने केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

  • सन् २०३० सम्म २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउँदै अफगानिस्तान

    सन् २०३० सम्म २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउँदै अफगानिस्तान

    काबुल, वैशाख १६ गते । पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र बढ्दो अभावको सामना गरिरहेको जनाइएको छ । बालिका तथा केटीको शिक्षा र महिलाको रोजगारीमा प्रतिबन्धका कारण सन् २०३० सम्ममा २५ हजार भन्दा बढी महिला शिक्षक र स्वास्थ्य कार्यकर्ता गुमाउने संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युनिसेफले चेतावनी दिएको छ ।

    युनिसेफले अफगानीस्तानको पछिल्लो परिस्थितिलाई दोहोरो सङ्कटको रूपमा वर्णन गर्दै महिलालाई उच्च शिक्षामा बहिष्कारको विरुद्धमा कार्य गर्दै उनीहरूलाई शैक्षिक पहुँच विहिन हुनुबाट रोकेको जनाएको छ । प्रतिवेदनका अनुसार चालु दशकको अन्त्य सम्ममा देशले २० हजार महिला शिक्षक र पाँच हजार चार सय स्वास्थ्यकर्मी गुमाउन सक्ने अनुमान गरिएको छ ।

    सन् २०२१ सेप्टेम्बरबाट अफगान सरकारले बालिकालाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएपछि, १० लाख भन्दा बढी बालिका आफ्नो सिकाइ अधिकारबाट बञ्चित भएको युनिसेफले जनाएको छ । यदि यो प्रतिबन्ध सन् २०३० सम्म कायम रह्यो भने २० लाख भन्दा बढी बालिका प्राथमिक तहकै विद्यालय पहुँचभन्दा बाहिर रहने चेतावनी युनिसेफले जनाएको छ ।

    अफगानिस्तानमा केटीलाई हाल कक्षा–छ भन्दा माथिको शिक्षाका लागि प्रतिबन्ध लगाइएको भने महिलालाई अर्को सूचना नआएसम्म विश्वविद्यालयमा उपस्थित हुन निषेध गरिएको छ । प्रतिवेदनले अफगान सरकारलाई केटीको माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्ध तुरुन्तै हटाउन आग्रह गरेको छ , भने अन्तर्राष्ट्रिय समुदायलाई अफगान बालिकाको शिक्षाको मौलिक अधिकारको संरक्षणमा सहयोग गर्न आह्वान गरेको छ । रासस-सिन्ह्वा

  • सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ 

    सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ 

    १६ वैशाख, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराई र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

    मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ। एक सूचना जारी गर्दै मन्त्रालयले कर्मचारीलाई समेत ३ दिनभित्र अनिवार्य रूपमा हाजिर हुन तथा रमाना लिन निर्देशन दिएको छ। मन्त्रालयले विभिन्न स्थानमा खटाइएका कर्मचारीहरू हालसम्म कार्यस्थलमा नपुगेको गुनासो आएपछि सूचना निकालेको हो। सुचनामा तोकिएको समयभित्र हाजिर नभए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने भनिएको छ।

  • काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’

    काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’

    काठमाडौँ, वैशाख १६ गते । यस वर्ष २५७० औँ बुद्ध जयन्तीका अवसरमा काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ सुरु गरिएको छ । महासिद्ध स्यान्चुरी फर युनिभर्सल पिसले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूबाट आजदेखि सुरु गरिएको यात्रा यही वैशाख १८ गते बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा पुगेर सम्पन्न हुनेछ । नेपाल पर्यटन बोर्डले समन्वयमा विश्व शान्तिको पवित्र भूमि लुम्बिनीबाट शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यसहित सुरु भएको यात्रामा १०८ जना साइकल यात्री सहभागी छन् ।

    सहभागीरू बुद्ध जयन्तीको दिन लुम्बिनीमा हुने विशेष समारोहमा मायादेवी मन्दिरमा पूजा, बोधिवृक्ष अगाडि ध्यान, विश्वशान्तिका लागि विशेष प्रार्थना तथा दीप प्रज्वलनमा सहभागी हुनेछन् । यात्रामा सहभागीले विश्वशान्ति तथा मानव कल्याणका लागि प्रार्थना, शान्ति, करुणा र चेतनाको सन्देश प्रवाह गर्ने आयोजक संस्थाका संरक्षक एवं बौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेले जानकारी दिनुभयो ।

    त्यस अवसरमा विगत चार दशकदेखि विश्वभर शान्ति र बौद्ध शिक्षाको प्रचार–प्रसारमा सक्रिय रिन्पोछेद्वारा लिखित पुस्तक ‘टू पाथ टू पर्फेक्ट फ्रिडम’को सार्वजनिकीकरण गरिने जनाइएको छ । यात्रा अवधिभर ‘गोइङ ग्रिन’ अवधारणाअनुसार कार्बन उत्सर्जन घटाउने तथा पर्यावरण संरक्षणबारे जनचेतना फैलाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । रासस

  • धानखोला–लमही सडक स्तरोन्नति आजदेखि सुरु

    धानखोला–लमही सडक स्तरोन्नति आजदेखि सुरु

    घोराही, वैशाख १६ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोला–लमही सडकखण्डको स्तरोन्नति गर्ने काम आज (बुधबार)देखि सुरु हुने भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को लगानीमा आजदेखि सडकको स्तरोन्नति गर्ने काम सुरु हुन थालेको हो । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजनाअन्तर्गत धानखोला–लमही सडकखण्डको ४० किलोमिटर स्तरोन्नति हुन लागेको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले उक्त परियोजनाको अनुगमन गर्नेछ ।

    एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्नेगरी २०८२ पुस ७ गते शर्मा–कुमार जेभीसँग (शर्मा कन्स्ट्रक्सन–कुमार निर्माण सेवा प्राली) भ्याटबाहेक करिब दुई करोड आठ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र कपिलवस्तु जिल्लाको सिमाना धानखोलादेखि लमही लमही नगरपालिका–५ को रातोडाडासम्म सडक स्तरोन्नतिको काम निर्माण कम्पनीले २४ महिनाभित्र काम गरि सक्ने गरी ठेक्का सम्झौता भएको छ ।

    एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले संस्थाले विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनकारी दिए । सम्झौता अनुसार धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने जनाइएको छ ।

    उनले अनुसार धानखोला–लमही ४० किलोमिटर सडक खण्डमा आधुनिक प्रविधि प्रयोग गरी स्तरोन्नति कार्य अगाडि बढाइने छ । एमसिए–नेपालका अनुसार उक्त सडक खण्डको विस्तृत सर्वेक्षण कार्य सम्पन्न भइसकेको छ भने निर्माण कम्पनीलाई कार्यस्थलमा परिचालन गरिसकिएको छ । धानखोला–लमही सडक स्तरोन्नति कार्यको औपचारिक शुभारम्भ आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ ।

  • रास्वपा सांसद कार्की भन्छन् : अध्यादेश ल्याउनु बहादूरी होइन

    रास्वपा सांसद कार्की भन्छन् : अध्यादेश ल्याउनु बहादूरी होइन

    १६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारको आलोचना गरेका छन् । संसद छलेर अध्यादेश ल्याएपछि कार्कीले आफ्नै दलकै सरकारको आलोचना गरेका हुन् । झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुर नभएको उनको टिप्पणी छ ।


    ‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन’, उनले भनेका छन् । अध्यादेश सधैं संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै आउने बताउँदै उनले संविधानको मर्मको भने पालना नभएको बताएका छन् ।

    ‘यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन’, उनले भनेका छन्, ‘संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’ उनले हालका विपक्षी दलले यसअघि अध्यादेश ल्याउँदा आफूले प्रश्न उठाएको स्मरण गर्दै अहिले आफ्नै सरकार हुँदा पनि ती प्रश्नहरु उठाइरहेको बताएका छन् ।

  • बैङ्कको नाफा उनन्चास अर्बमाथि

    बैङ्कको नाफा उनन्चास अर्बमाथि

    काठमाडौँ, वैशाख १६ गते । चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका २० वाणिज्य बैङ्कको खुद नाफा ४९ अर्ब २१ करोड रुपियाँ नाघेको छ । अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतको वृद्धि देखिँदा बैङ्किङ क्षेत्र क्रमशः सुधारको दिशामा अघि बढेको सङ्केत देखिएको छ ।

    चालु आवको चैत मसान्तसम्म आइपुग्दा वाणिज्य बैङ्कले ४९ अर्ब २१ करोड रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरेका हुन्, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १९।३० प्रतिशतले बढी हो । सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १३ बैङ्कको नाफा बढेको छ भने सात वटा बैङ्कको नाफा घटेको देखिएको छ ।

    नाफाका आधारमा नबिल बैङ्कले छ अर्ब ७६ करोड रुपियाँ कमाउँदै शीर्ष स्थान कायम राखेको छ । बैङ्कको नाफा गत वर्षको तुलनामा करिब ३३।९ प्रतिशतले वृद्धि भएको हो । त्यसै गरी ग्लोबल आइएमई बैङ्क चार अर्ब ४० करोड रुपियाँसहित दोस्रो स्थानमा रहँदा कुमारी बैङ्क चार अर्ब १७ करोड रुपियाँसहित तेस्रो स्थानमा रहेको छ ।

    नाफा वृद्धिदरका आधारले कुमारी बैङ्क सबैभन्दा अगाडि देखिएको छ । बैङ्कको नाफा अघिल्लो वर्षको तुलनामा १३६१।७६ प्रतिशतले बढेको हो । गत वर्ष २८ करोड रुपियाँमा सीमित नाफा यस वर्ष चार अर्ब नाघेको हो । यस्तै राष्ट्रिय वाणिज्य बैङ्कले पनि १२९.३४ प्रतिशत नाफा वृद्धि गर्दै उल्लेखनीय सुधार गरेको छ ।

    समीक्षा अवधिमा प्रभु बैङ्कको नाफा सबैभन्दा धेरै ५४.६१ प्रतिशतले घटेको छ । त्यसपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (३०.६९ प्रतिशत), कृषि विकास बैङ्क (२४.४२ प्रतिशत) र एनआइसी एसिया बैङ्क (१०.९ प्रतिशत) को नाफा घटेको देखिएको छ । नाफाका आधारमा एनआइसी एसिया बैङ्क करिब १४ करोड रुपियाँमा सीमित रहँदै सबैभन्दा तल देखिएको छ । प्रभु बैङ्क र सिटिजन्स बैङ्कको नाफा पनि तुलनात्मक रूपमा कम रहेको छ ।

  • नारायणगढ–बुटवल सडकमा सुरक्षा चिन्ह राख्न सुरु

    नारायणगढ–बुटवल सडकमा सुरक्षा चिन्ह राख्न सुरु

    १६ वैशाख, त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ ।

    सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । साथै, सडक छेउमा रेलिङ लगाउने, डब्लु–बिम राख्ने र डेलिनेटर पोल जडान गर्ने काम पनि जारी छ ।
    सडक निर्माणको काम अन्तिम चरणमा पुग्दैगर्दा सडक सुरक्षाका कामलाई पनि प्राथमिकता दिइएको सूचना अधिकारी खनालले बताए ।

    उनले भने, ‘सडक निर्माणका धेरैजसो काम अन्तिम चरणतर्फ बढेका छन्, हामीले सोहीअनुसार सडक सुरक्षाका काम अघि बढाएका छौँ ।’ सूचना अधिकारी खनालका अनुसार नवलपरासी पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात किलोमिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था छ । अन्य सबै क्षेत्रमा कालोपत्र तथा पक्की सडक सञ्चालनमा आइसकेको छ । पूर्वी खण्डमा हालको भौतिक प्रगति ८१ प्रतिशत पुगेको उनले जानकारी दिए ।

    पूर्वी खण्डमा अहिले दाउन्ने क्षेत्रमा बाहेक अन्य स्थानमा यात्रा सहज भएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सुरु गरेको थियो । कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ ।

    निर्धारित समयमा काम सम्पन्न नभएपछि हाल चौथोपटक म्याद थप गरी आउँदो साउनसम्मका लागि अवधि बढाइएको छ । एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सञ्चालित यस सडक विस्तार आयोजनाको दुवै खण्डको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ ।

    कुल ११३ किलोमिटरमध्ये ७० किलोमिटरमा चार लेन, २९ किमीमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरका सर्भिस लेन निर्माण गरिनेछ । दाउन्ने क्षेत्रको १४ किमी खण्डमा तीन लेनको सडक निर्माण हुनेछ ।

  • ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ

    ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ

    १६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको र सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले अमेरिकालाई आफू ‘ध्वस्त हुने अवस्था’ (स्टेट अफ कोल्याप्स) मा पुगेको जानकारी दिएको बताएका हुन् । उनले भनेका छन्– समुद्री आवागमन सामान्य बनाउन इरान छिट्टै स्ट्रेट अफ होर्मुज खुलाउन चाहन्छ । अहिले इरान आफ्नो नेतृत्व अवस्था सम्हाल्ने प्रयासमा रहेको र हालको अवस्थाबाट बाहिरिन चाहेको ट्रम्पको भनाइ छ ।

    यता इरानले भने ट्रम्पको दबाब नस्वीकार्ने स्पष्ट पारेको छ । रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाएई–निकले अमेरिका अब अरू देशलाई के गर्नुपर्छ भनेर निर्देशन दिने अवस्थामा नरहेको बताए । साथै, अमेरिकाले आफ्ना गलत मागहरू त्याग्नुपर्ने पनि उनले बताएका छन् । अमेरिका, इरान र इजरायलबीच हाल युद्धविराम लागू भए पनि द्वन्द्व अन्त्यका लागि भइरहेको वार्ताले अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

    स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट इन्धन ढुवानी अझै पनि सहज हुन सकेको छैन । स्ट्रेट अफ होर्मुज विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो । यहाँबाट ठूलो मात्रामा तेल र ग्यास आपूर्ति हुने भएकाले यस क्षेत्रमा तनाव बढ्दा विश्व बजारमा असर पर्छ ।

    इरानले अमेरिकासँग राख्यो तीन सर्त, ट्रम्पले गरे अस्वीकार

    इरानले अमेरिकासँग वार्ताका लागि तीन सर्त अघि सार्दै स्ट्रेट अफ होर्मुजमा अमेरिकाले गरेको नाकाबन्दी हटाउन आग्रह गरेको छ । द न्यूयोर्क टाइम्स का अनुसार तीन इरानी अधिकारीहरूको भनाइ उद्धृत गर्दै यो जानकारी दिइएको हो । रिपोर्टअनुसार, इरानले आइतबार अमेरिकालाई वार्ताका लागि नयाँ प्रस्ताव दिएको थियो ।

    यस प्रस्तावमा मुख्य रूपमा तीन सर्तहरू समावेश थिए

    १. अमेरिका–इजरायलसँग चलिरहेको युद्ध अन्त्य होस् र भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी दिइयोस्

    २. त्यसपछि अमेरिकाले समुद्री नाकाबन्दी हटाओस्, होर्मुज खुलोस् र जहाजहरूको आवागमन पुनस् सुरु होस्

    ३. अन्त्यमा मात्र परमाणु कार्यक्रम र युरेनियम समृद्धीकरणजस्ता विवादित विषयमा वार्ता होस् ।

    तर ट्रम्प यो प्रस्ताव स्वीकार गर्न तयार छैनन् । सीएनएनका अनुसार परमाणु कार्यक्रमको मुद्दा समाधान नगरी होर्मुज खोल्दा वार्तामा अमेरिकी पक्ष कमजोर हुन सक्ने ट्रम्प प्रशासनको धारणा छ । त्यसैले यी दुवै विषयको समाधान एकैपटक हुनुपर्ने उनीहरूको अडान छ ।

    इरानको परमाणु कार्यक्रममा अड्किएको वार्ता

    ट्रम्पले दुई दिनमै दोस्रोपटक इरानको प्रस्ताव अस्वीकार गरेका छन् । पछिल्ला केही हप्तादेखि इरान र अमेरिकाबीच पाकिस्तानमार्फत प्रस्ताव आदान–प्रदान भइरहेको भए पनि परमाणु कार्यक्रमसँग सम्बन्धित महत्वपूर्ण विषयमा सहमति बन्न सकेको छैन ।

    इरानले २० वर्षसम्म आफ्नो परमाणु कार्यक्रम स्थगित गरोस् र आफूसँग रहेको ४४० किलो समृद्ध युरेनियम हस्तान्तरण गरोस् भन्ने अमेरिकाको माग छ । इरानले यी मागहरू अत्यधिक र अनुचित भन्दै अस्वीकार गरिसकेको छ ।

  • आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र ओमान खेल्दै

    आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र ओमान खेल्दै

    १६ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ ।
    नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ । लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।

  • आज देशका धेरैजसो स्थानमा हावाहुरीसहित वर्षा, सतर्क रहन आह्वान

    आज देशका धेरैजसो स्थानमा हावाहुरीसहित वर्षा, सतर्क रहन आह्वान

    १६ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५ः४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७ः४५ बजे समाप्त हुने सम्भावना रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

    विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी सहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची सहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा सहित आसपासका जिल्ला र कोशी प्रदेशको मोरङ सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ । सोही सूचनाका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बेलुकी सूचना जारी गरेर सावधानी अपनाउन आह्वान गरेको छ ।

    सकेसम्म घरबाहिर हिँडडुल नगर्न, झ्यालढोका राम्रोसँग बन्द गर्न, जस्तालगायतबाट बनेको छाने कमजोर छ भने बन्धन बलियो बनाउन, घरबाहिर आगो नबाल्न प्राधिकरणले सुझाव दिएको छ । यसैगरी लड्नसक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन पनि सुझाइएको छ । यसैगरी जल तथा मौसम विज्ञान विभागले आज पनि मेघगर्जन, चट्याङ्ग, असिना सहित पानी पर्ने प्रणालीले देशका धेरै ठाउँहरूमा प्रभाव पार्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरेको छ ।

  • बुटवलमा स्कुटर दुर्घटना, २ को मृत्यु, एक घाइते

    बुटवलमा स्कुटर दुर्घटना, २ को मृत्यु, एक घाइते

    १६ वैशाख, बुटवल । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो । मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा घाइते दुवै युवतीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    बुटवल वडा नं १३ मा पर्ने भ्यूटावर नजिकको ओरालोमा स्कुटर सडकबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक थमन बिसीले जानकारी दिए ।

    नुवाकोटबाट फर्कने क्रममा ओभरलोडका कारण नियन्त्रण गर्न नसकी स्कुटर दुर्घटना भएको उनले बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नुवाकोट–बुटवल सडकको यही स्थानमा पटट पटक दुर्घटना हुँदा दुई वर्षमा ६ जनाको मृत्यु भइसकेको छ । यो सडक खण्डमा ट्राफिक प्रहरीको चेकजाँच नहुने भएकाले दुर्घटना दोहोरिएर मानवीय क्षति भइरहेको हो ।

  • चीनको ल्हासास्थित महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण

    चीनको ल्हासास्थित महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण

    ल्हासा, वैशाख १६ । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । प्रतिमाको अनावरण हालै गरिएको हो । उक्त प्रतिमा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको विशेष पहल र सक्रियतामा जेभी फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त भएको हो । प्रतिमाको हस्तान्तरण यसअघि नै काठमाडौंमा जेभी फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष जगदीश बैद्यले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई गरेका थिए । अनावरण कार्यक्रममा ल्हासास्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो ।

    कार्यक्रममा प्रतिमा उपलब्ध गराउने जेभी फाउण्डेशन नेपालका पदाधिकारी, प्रतिमा ल्हासासम्म ल्याउन र महावाणिज्यदूतावासमा स्थापना गर्न सहयोग गर्ने नेपाली दुःख निवारण कल्याण कोष लगायत सबैलाई महावाणिज्यदूत निरौलाले प्रशंसापत्र प्रदान गरे ।

    महावाणिज्यदूत निरौलाले प्रतिमा अनावरण गर्दै सातौं शताब्दीमा तात्कालीन तिब्बती राजा स्रङ्चङ् गम्पोसँग विवाह भएकी नेपाली राजकुमारी भृकुटीको नेपाल चीन सम्बन्ध स्थापना र सुदृढीकरणमा उल्लेखनीय योगदान रहेको, उनले चीनमा बौद्ध धर्म स्थापना र प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी, ल्हासाको योजनाबद्ध विकासमा पनि उनको योगदान रहेको र उनको प्रतिमा महावाणिज्यदूतावासमा स्थापना गरी अनावरण गर्न पाउनु खुशीको कुरा भएको बताए ।

    अनावरण कार्यक्रमलाई नेपाली दुःख निवारण कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपाली एवम् जेभी फाउण्डेसन नेपालका पदाधिकारीहरूले समेत सम्बोधन गरेका थिए ।

  • अमेरिकी डलरको मूल्य बढ्दा यस वर्ष प्रतिव्यक्ति आयमा भएन सुधार

    अमेरिकी डलरको मूल्य बढ्दा यस वर्ष प्रतिव्यक्ति आयमा भएन सुधार

    १५ वैशाख, काठमाडौँ । यस वर्ष अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार जारी गरेको आर्थिक वर्ष २०८२–८३ को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ खर्बले विस्तार हुने अनुमान गरेको हो । आर्थिक वर्ष २०८१–८२ मा जीडीपीको आकार ६१ खर्ब ९९ अर्ब रहने संशोधित अनुमान र आर्थिक वर्ष २०८०–८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको कार्यालयले जनाएको छ ।

    यस्तै, चालु आिर्थक वर्ष नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ मा यस्तो प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर हुने संशोधित अनुमान छ । यस्तै, आर्थिक वर्ष २०८०–८१ मा नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय ८० अमेरिकी डलर कायम भएको छ । यस वर्ष डलरको सटही दरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल राष्ट्रिय आय आर्थिक वर्ष २०८१–८२ मा र आर्थिक वर्ष २०८२–८३ मा बराबर रहन गएको कार्यालयले जनाको छ ।

  • यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

    यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

    १५ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार उपभोक्ता मूल्यमा सो बराबरको आर्थिक वृद्धिदर प्राप्त हुनेछ । आधारभूत मूल्यमा भने ३.६५ प्रतिशत बराबरको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ । यो यस वर्ष सरकारले तोकेको आर्थिक वृद्धिको लक्ष्यभन्दा कम हो ।

    चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तोकेको छ । चालु आर्थिक वर्षको ९ महिना (गत चैत) सम्मको वास्तविक तथ्यांक र आगामी तीन महिना (वैशाखदेखि असारसम्म)को अनुमानित तथ्यांकका आधारमा कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो  । यस वर्ष अर्थतन्त्रको आधार ६६ खर्ब बराबर पुगेको छ । यस वर्ष सबैभन्दा धेरै वृद्धि विद्युत, बैंक बीमा क्षेत्रको भएको देखिन्छ ।

  • सरकारले अध्यादेश ल्याउन सिफारिस गरेपछि कांग्रेसको आपत्ति

    सरकारले अध्यादेश ल्याउन सिफारिस गरेपछि कांग्रेसको आपत्ति

    १५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले आज वक्तव्य जारी गर्दै सरकार शक्ति केन्द्रीकरणतर्फ लागेको आरोप लगाएका हुन्। ‘सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ,’ प्रवक्ता चालिसेले जारी गरेको वक्तव्यमा उल्लेख छ।

    अहिले रास्वपाको एकल सरकार छ। सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदसम्बन्धी र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ।

    यस्तो छ कांग्रेसको वक्तव्य :

    नेपाल सरकारद्वारा संसद् स्थगित गरी अध्यादेशमार्फत् कानुन निर्माण गर्ने कदमप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ। यो केबल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो।

    यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको छ। सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ।

    विशेषतः संवैधानिक परिषद् जस्तो संवेदनशील निकायमा प्रस्तावित संरचनागत परिवर्तनप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति छ। यसले निर्णय प्रक्रियालाई सीमित व्यक्तिहरूमा केन्द्रित गरी ‘अजभअपक बलम दबबिलअभक’ प्रणालीलाई कमजोर बनाउने, विपक्षी सहभागिताबिना एकतर्फी नियुक्तिको सम्भावना बढाउने तथा संवैधानिक निकायहरूको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयतामाथि प्रतिकूल प्रभाव पार्ने देखिन्छ।

    त्यसैगरी सहकारी क्षेत्रमा सुधार आवश्यक भए तापनि प्रस्तुत अध्यादेशले अत्यधिक केन्द्रीकरणमार्फत स्थानीय तह तथा सहकारी संस्थाहरूको स्वायत्ततालाई सीमित गर्ने र नियमनको नाममा राज्यको नियन्त्रण विस्तार गर्ने प्रवृत्ति देखाएको छ, जुन संघीयता र स्थानीय स्वशासनको मर्मविपरीत छ।

    अतः नेपाली कांग्रेस सरकारलाई लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहन, संसद्को भूमिका र गरिमाको सम्मान गर्न तथा यस्ता कदमहरू तत्काल पुनर्विचार गर्न जोडदार आग्रह गर्दछ।

    देवराज चालिसे, प्रवक्ता

  • नेकपाद्वारा वाम एकताको आह्वान

    नेकपाद्वारा वाम एकताको आह्वान

    १५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकतामार्फत् कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आह्वान गरेको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण देशभक्त शक्तिहरूलाई एकजुट हुन र वाम एकतामार्फत कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न आह्वान गरेको हो ।

    कम्यनिस्ट पार्टीहरू निकै साँघुरो गरी खुम्चिएको अवस्थामा नेकपाले कम्युनिस्ट एकताको प्रस्ताव अघि बढाएको हो । बैठकले देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि एकजुट भएर अगाडि बढ्न पनि नेकपाले सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई आह्वान गरेको छ ।

  • संसद बन्द गरी अध्यादेश ल्याउन सिफारिस, चौतर्फी आलोचना

    संसद बन्द गरी अध्यादेश ल्याउन सिफारिस, चौतर्फी आलोचना

    १५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

    मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए ।

    तर, सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए । प्रतिनिधिसभा आह्वान गरेर पनि स्थगित गरेर सरकारले संवैधानिक परिषद्‌मा नियुक्तिका लागि सरकारले अध्यादेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्‌मा ६ जना सदस्य हुने व्यवस्था छ ।

    प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायधीश, विपक्षी दलका नेता रहन्छन् । हिजो सोमबारमात्रै कांग्रेसले प्रतिनिधिसभामा दलको नेता चयन गरेको छ । कांग्रेसले दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ । सरकारको यो कदमको अहिले चौतर्फी आलोचना भइरहेको छ । विगतमा सरकारले यस्तै प्रवृत्ति गर्दा रास्वपाले चर्को विरोध जनाउने गरेको थियो ।

  • ज्यूँदो मान्छेको मृत्यु दर्ता गरेको अभियोगमा चार पक्राउ

    ज्यूँदो मान्छेको मृत्यु दर्ता गरेको अभियोगमा चार पक्राउ

    पश्चिम नवलपरासी, वैशाख १५ गते । जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउपुर्जी जारी गरेपछि प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।

    मृत्यु दर्ता गर्न झुटा विवरण पेस गर्ने नारायणी पारीको सुस्तागाउँ बस्ने ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका छन् । मियाँले वडा नम्बर ५ मा आफ्नो पिताको मृत्यु भएको भन्दै भाइ पर्ने अर्का ६६ वर्षीय व्यक्तिको गत वर्षको मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए ।

    मियाँको पिताको भने २०६० सालमै मृत्यु भइसकेको थियो । मृत्यु दर्ता भएको थाहा पाएपछि गत वर्षको चैत महिनामा मृत्यु दर्तामा नाम उल्लेख भएका वृद्धका छोराले प्रहरीमा जाहेरी दिएका थिए । त्यसलगत्तै अदालतमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । मृत्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने वर्ष ५५ का छोटे खाँ पनि पक्राउ परेका छन् ।

    साक्षीमा हस्ताक्षर गर्ने बाँकी ७ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण ऐन, २०७६ को परिच्छेद ६ को ४१ (ग) र (च) बमोजिम झुट्टा विवरण पेस गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा पक्राउ परेको र आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

  • संविधान संशोधनका लागि वरिष्ठ अधिवक्तासँग छलफल

    संविधान संशोधनका लागि वरिष्ठ अधिवक्तासँग छलफल

    काठमाडौँ, वैशाख १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले आज वरिष्ठ अधिवक्ता र अधिवक्तासँग विशेष छलफल गरेको छ । संविधान कार्यान्वयनको एक दशकका अनुभव, चुनौती र जनचाहना समेटेर ठोस बहसपत्र तयार गर्ने उद्देश्यले कार्यदलले विज्ञहरूको राय सङ्कलनलाई तीव्रता दिएको हो ।

    छलफलका क्रममा सहभागीले संविधानका सबल पक्षको रक्षा गर्दै देखिएका व्यावहारिक जटिलता अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सङ्घीयतालाई प्रभावकारी बनाउन प्रदेशलाई अधिकारसम्पन्न र बलियो बनाउनुपर्ने धारणा राखे । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले शासकीय स्वरूपमा कार्यकारी अधिकारको सन्तुलित बाँडफाँटबारे सुझाव दिए ।


    वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले संवैधानिक निकायमा हुने राजनीतिक नियुक्ति पूर्ण रूपमा बन्द गर्ने गरी संशोधन गर्नुपर्ने प्रस्ताव गरे । वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले मन्त्री पदमा विज्ञ व्यक्तिलाई मात्र नियुक्त गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । प्रा.डा. ज्ञानेश्वर पराजुलीले प्रदेशको सबलीकरणमा जोड दिए भने अधिवक्ता मोहना अन्सारीले संवैधानिक आयोगको कार्यक्षमता बढाउन ‘छाता आयोग’ को नयाँ अवधारणा अघि सारे । उनले मौलिक अधिकारमा थप अधिकार थप्न जरुरी रहेको बताए ।


    यसै गरी वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधान संशोधनको अपरिहार्यता स्पष्ट पार्नुभयो भने अधिवक्ता अन्जिता खनालले न्याय सेवा आयोग र न्याय परिषद्को नेतृत्व एवं समानुपातिक निर्वाचन प्रणालीमा सुधारको आवश्यकता औँल्याए । वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेलले भने संशोधन गर्दा संविधानका आधारभूत संरचनामा असर पर्न नहुनेतर्फ कार्यदललाई सचेत गराए ।

    कार्यदलका संयोजक असिम शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिइएको र यसले बहसपत्रलाई वस्तुनिष्ठ र व्यावहारिक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले कार्यदलले सबै सरोकारवालाबाट लिखित सुझावसमेत सङ्कलन गरिरहेको जानकारी दिए ।

  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु

    आजदेखि नयाँ शैक्षिकसत्र सुरु

    काठमाडौँ, वैशाख १५ गते । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख १५ गतेअगावै विद्यार्थी भर्ना भइसकेको छ ।

    सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो ।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुनविपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण माापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारितबाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित सबै स्थानीय तहहरुलाई अनुरोध गरेको थियो ।

    विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली, २०५९ को नियम ७८९१० ९ग० बमोजिम लब्धाङ्कपत्रलगायत आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा विद्यालयहरूले भर्नाको सूचना प्रकाशन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिइएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सुरु भएपछि विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने आदेश दिएको थियो । यसअघि हरेक वैशाख २ गतेदेखि शैक्षिकसत्र सञ्चालन हुँदै आएको थियो ।

    आदेशमा परीक्षा नतिजा, शैक्षिक सत्र र आवश्यक प्रमाणपत्रबीच समन्वय कायम गर्नुपर्ने उल्लेख गरिएको छ । अदालतले सम्बन्धित निकायलाई प्रचलित कानुनअनुसार कार्य गर्न निर्देशन दिँदै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरद्वारा गत चैत ५ गते प्रकाशित सूचनामा वार्षिक परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनपश्चात् नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको थियो । रासस

  • पर्यटन विभागले सगरमाथा आधार शिविरमा खोल्यो फिल्ड कार्यालय

    पर्यटन विभागले सगरमाथा आधार शिविरमा खोल्यो फिल्ड कार्यालय

    १५ वैशाख, काठमाडौं । पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । जारी ऋतुको आरोहण नियमन, सहजीकरण र समन्वयका लागि विभागले यस्तो कार्यालय हरेक वर्ष खोल्ने गर्छ । अहिले सगरमाथा आधार शिविरमा ६ सय हाराहारी आरोही पुगेका छन् । साथै उनीहरुका शेर्पा गाइड, सहयोगी कर्मचारी र नियमनकारी निकायका कर्मचारीसहित ठूलो संख्यामा आधार शिविर पुगेका छन् ।

  • काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

    काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

    काठमाडौँ, वैशाख १५ गते । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका २६ वर्षीय विमल तामाङ, सोही ठाउँकै २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।


    उनले गत चैत १२ गते, १९ गते र वैशाख ६ गते विभिन्न ठाउँमा पुगेर सुन लुटपाटसम्बन्धी घटनाको अनुसन्धानका आधारमा निजहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार प्रहरीले पक्राउ परेकासँग १२ दशमलव ९० ग्राम सुन, पेचकस एक थान, ठूलो रेन्ची एक थान, सानो रेन्ची आठ थान, मोबाइल एक थान, खुकुरी एक थान, हुडी, ट्राउजर, ज्याकेटलगायत सामग्री बरामद गरेको छ ।

    काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ४ पैँयुटारबाट पक्राउ परेको उक्त गिरोहलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।