Category: समाचार

  • अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

    अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

    जेद्दाह, साउदी अरब, (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित दोस्रो चरणको सम्भावनाअघि चार दिने भ्रमणको शुरुवातमा बुधबार साउदी अरब पुगेका छन् । गत साता इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि भएको उच्चस्तरीय वार्तापछि सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ। उनी साउदी अरबपछि कतार र टर्कीको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ । पाकिस्तानी नेताले ‘क्षेत्रीय अवस्था’ बारे साउदी राजकुमार मोहम्मद बिन सलमानसँग छलफल गर्ने उनको कार्यालयले जनाएको छ ।

    पाकिस्तानको विदेश मन्त्रालयले यसअघि साउदी अरब र कतारको भ्रमण ‘द्विपक्षीय परिवेश’लाई ध्यानमा राख्दै हुन लागेको बताएको थियो । साउदी अरब र कतारपछि सरिफले अन्टाल्या कूटनीति मञ्चमा भाग लिर्ने पनि बताइएको छ। शरीफले अन्टाल्या फोरमको छेउछाउमा राष्ट्रपति रेसेप तैयप एर्दोगान र अन्य नेताहरूसँग द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम रहेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासमा इस्लामाबाद वार्ता एक कदम अगाडिको प्रगति हो । वार्ताबाट कुनै उपलब्धी नभएपनि दुई पक्षलाई संवादमा ल्याउन वार्ता पहल सफल भएको छ ।

    इरानले अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणको बदलामा साउदी अरब र कतारलगायत खाडीमा रहेका अमेरिकी सहयोगीलाई निशाना बनायो र उक्त क्षेत्रबाट ऊर्जा निर्यातमा अवरोध गर्यो, जसका कारण तेलको मूल्य अत्यधिक बढेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि कुनै सहमति नभए पनि वार्ता यसै हप्ता पाकिस्तानी राजधानीमा पुनः सुरु हुन सक्ने बताएका छन् । संयुक्त राज्य अमेरिकाले इरानको नौसैनिक नाकाबन्दीको आदेश दिए पनि अर्को हप्ता समाप्त हुने युद्धविराम जारी छ ।

    सरिफसँगै अमेरिका–इरान वार्ताका क्रममा मध्यस्थकर्ता रहेका विदेशमन्त्री इशाक दार र अन्य वरिष्ठ अधिकारीहरु पनि छलफलमा सहभागी हुने उहाँको कार्यालयले जनाएको छ । पाकिस्तान र साउदी अरबबीच घनिष्ठ सम्बन्ध छ र इस्लामाबादको अर्थ मन्त्रालयले बुधबार रियादले पाकिस्तानलाई आफ्नो विदेशी मुद्रा भण्डार बढाउन तीन अर्ब डलर उपलब्ध गराउने घोषणा गरेको छ । पाकिस्तानले रियादको सहयोगी बनेको संयुक्त अरब इमिरेट्सलाई अर्बौं ऋण फिर्ता गर्ने बताएको केही दिनपछि यो सहयोग आएको हो।

    साउदी अरबको विद्यमान पाँच अर्ब अमेरिकी डलर बराबरको निक्षेप पनि अनिर्दिष्ट अवधिका लागि विस्तार गरिने अर्थ मन्त्रालयले जनाएको छ । यसैबीच, सेना प्रमुख असिम मुनिरको नेतृत्वमा पाकिस्तानी प्रतिनिधिमण्डल इरान पुगेको छ भने उहाँलाई इरानी विदेशमन्त्री अब्बास अराघचीले स्वागत गरेका छन् ।
    इरानको सरकारी टेलिभिजनले यसअघि नै प्रतिनिधिमण्डलले वासिङ्टनको नयाँ सन्देश ल्याउने र दोस्रो चरणको वार्ताबारे छलफल गर्ने बताएको थियो।

  • एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन

    एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ, ३ वैशाखः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ । खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण गर्ने फर्म, पसल तथा व्यावसायिक प्रतिष्ठानमा विभागले स्थलगत अनुगमन गरी कारबाहीको दायरामा ल्याइएको जनाएको हो ।

    विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बुधबार एकैदिन ५६ वटा व्यावसायिक फर्ममा अनुमगन गरी सुधारात्मक निर्देशन दिइएको छ । दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री बिक्री–वितरण गर्ने व्यावसायिक फर्म, पसलले बिल बीजक दिए–नदिएको, उपभोक्ताले देख्ने गरी मूल्यसूची राखेनरराखेको, कानुनअनुसार तिर्नुपर्ने कर तथा अन्य क्रियाकलाप गरे–नगरेको विषयमा जानकारी लिएको छ ।” उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको उपस्थितिमा अनुगमन गरिएको विभागले जनाएको छ ।

  • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    गोरखा, ३ वैशाखः तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छिन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनले बताइन् । श्रेष्ठ यसअघि विसं २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । दुई हप्ताको छोटो अवधिमा तीनपटक सगरमाथा आरोहण गरेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा उनको नामअङ्कित भएको थियो ।

    तेह्र दिनभित्रै तीनपटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा आफ्नो नाम अङ्कित गरिएको उनले जानकारी दिइन् । “पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी थिए, त्यसपछि २०८२ जेठ ४ गते पाँचौँ पटक आरोहण गरेँ”, श्रेष्ठले भनिन् । उनले आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण १, धौलागिरि र मनास्लु हिमाल पटक पटक गरी १४ पटक आरोहण गरेर विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिसकेकी छिन् । आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका–९ आरुटार निवासी हुन् ।

  • सरकारले मध्यराती बढायो डिजेलको मूल्य, प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    सरकारले मध्यराती बढायो डिजेलको मूल्य, प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    काठमाडौँ, ३ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति अर्थात् अहिले १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल÷मट्टीतेलको प्रतिलिटर रु २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ पुगेको छ ।

    अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ । पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

  • कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

    कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

    कर्णाली, ३ वैशाखः प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत गरे ।

    योग विज्ञानदेव संस्कृति विश्वविद्यालय हरिद्वारका पिएचडी शोधार्थी हरि उपाध्यायले आफ्नो प्रस्तुति राख्दै कर्णाली प्राकृतिक तथा आध्यात्मिक हिसाबले आरोग्य हबका रूपमा विकास गर्न सकिने आधार बलियो रहेको बता्ए । उनले भने, “जडीबुटी अर्थात् प्राकृतिक स्रोत, लोक चिकित्सा, योग ध्यान, सामुदायिक जीवन, पर्यावरणीय पक्ष, वैदिक पद्धति, आयुर्वेदक\प्राकृतिक चिकित्सा (सोवा रिग्पा) र खानपान तथा जीवनशैली आरोग्य हब बनाउन सकिने बलिया आठ आधार हुन् । यसका लागि कर्णालीलाई योग ध्यान आरोग्य केन्द्रित गन्तव्य बनाउने, परम्परागत र आधुनिक प्रणालीको समन्वय, स्थानीय स्रोत, संस्कृति र प्रकृतिमा आधारित विकास, दिगो पर्यटन र समग्र आरोग्यतामा योगदान पुर्याउनुपर्दछ ।”

    युवा वैज्ञानिक राजेन्द्र विष्टले जडीबुटी र लोक उपचार पद्धतिमार्फत समृद्धिको आधार तयार गरी कर्णालीलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने कार्यपत्र प्रस्तुत गरे । जडीबुटी केवल उपचार मात्र नभई मानिसलाई प्रकृतिसँग जोड्ने जीवन दर्शन भएको बताउँदै उनले योग ध्यान, जडीबुटी उपचार, अध्यात्मिक अभ्यास, स्वच्छ हावा, शान्त वातावरण, जैविक खानपानले पर्यटकलाई अद्वितीय अनुभव प्रदान गर्न सक्ने भएकाले यसलाई आरोग्य पर्यटनका रूपमा विकास गर्नुपर्ने सुझाव दिए ।


    वैज्ञानिक विष्टले भने, “कर्णालीका जडीबुटी, लोक उपचार र सोवा–रिक्पा भविष्यका सम्भावनाका स्रोत हुन् । परम्परागत ज्ञान र आधुनिक प्रविधिको समन्वयबाट दिगो विकास गर्न सकिन्छ । तसर्थ, कर्णाली केवल जडीबुटीको भण्डार मात्र होइन, नेपालको हरित अर्थतन्त्र (ग्रिन इकोनोमी) निर्माण गर्ने आधार भूमि हो । यसमा तीनै तहका सरकार र सम्बन्धित सरोकार भएकाहरूको समन्वय र सहकार्य दुवै आवश्यक छ ।”

    कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कार्यक्रममा प्रस्तुत सुझावका आधारमा नीति, योजना र कार्यक्रम निर्माण गरेर अगाडि बढ्ने बताए । उनले लुम्बिनी, सुदूरपश्चिम र कर्णालीको धार्मिक पर्यटकीय सडक निर्माणमा पहल गरिने जनाए ।

    मन्त्रालयका सचिव धोलकराज ढकालले आरोग्यताका सन्दर्भमा धेरै कुराको जानकारी भएको र प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नीतिसहित कार्यक्रम तथा बजेट तर्जुमा गर्न ध्यान दिने बताए । कर्णालीलाई ‘अग्र्यानिक’ प्रदेश बनाउने गरी यसअघि पनि नीति तथा कार्यक्रम ल्याइएको बताउँदै उनले अब आरोग्यको केन्द्र बनाउने गरी थप नीति अगाडि सारिने धारणा राखे ।


    अन्तरक्रिया कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राजयोग प्रतिष्ठान केन्द्र सुर्खेतका ब्रह्माकुमारी विष्णु, विश्व हिन्दू महासङ्घका परमानन्द रेग्मी, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सस्नेस (स्कुन)का शक्ति विक, सत्य साई केन्द्रका कृष्णमाया पोखरेल र महायोगी शिद्धबाबा अध्यात्मिक प्रतिष्ठानका केन्द्रीय सदस्य ललित भट्टराईले प्रकृति, अध्यात्म, पुरातत्व, संस्कृति, सभ्यता र धर्मको जननी कर्णालीमा सबैलाई आकर्षण गर्ने नीति र कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिए ।

  • अब जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

    अब जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

    काठमाडौँ, २ वैशाखः राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए ।
    अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ । तथ्याङ्क एकीकरणपछि जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुनेछन् ।

    पछिल्लो समय सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिइरहेको छ । जसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फतै प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । त्यस्तै, नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी परिषद्बाट जारी हुने व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपबाटै उपलब्ध हुने प्रक्रियासमेत अघि बढाइएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपमा थप सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने र ४५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । तर सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले तोकिएको अवधिभन्दाअगावै यी कामहरू सकिसक्न विभागलाई निर्देशन दिनुभएको छ । यस पहललाई अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाले विशेष चासो देखाउँदै नागरिक एपमा थप सेवा एकीकृत गर्नसमेत निर्देशन दिनुभएको छ । सोही निर्देशनअनुसार विभागले विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकास तथा परिमार्जनको काम भइरहेको जनाएको छ ।

    सार्वजनिक सेवामा पारदर्शिता, सहजता र डिजिटल पहुँच विस्तार गर्ने लक्ष्यसहित मन्त्रिपरिषद्को बैठकबाट यहि चैत १३ गते स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३५ मा पनि यो विषय उल्लेख भएको थियो । नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र ९पुलिस क्लियरेन्स रिपोर्ट० डाउनलोड गर्न सकिने सुविधा भने हाल सञ्चालनमा आइसकेको छ । नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको उद्देश्य अझ सशक्त हुने अपेक्षा गरिएको छ ।

    डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने यस कदमले सेवाग्राहीलाई समय, लागत र प्रक्रियागत झन्झटबाट राहत दिने विश्वास गरिएको छ भने सरकारी सेवा प्रवाहलाई पनि थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

  • इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

    इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

    काठमाडौँ, २ वैशाखः पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन् । गत चैतको पहिलो साता इरानको होर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा परेका उनी आज रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा इरानमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा छन् । नेपाली अधिकारीको टोली उहाँलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको मन्त्री खनालले उल्लेख गरेका छन् ।

  • १० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

    १० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

    रासस
    काठमाडौँ, २ वैशाख । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो । “सबैजसो इन्टरनेट सेवा प्रदायकले हालसम्म १० हजारभन्दा बढी यस्ता एप र वेबसाइट बन्द गरिसकेको जानकारी गराएका छन् । नेपाल टेलिकमले सबैभन्दा धेरै २१ हजारभन्दा बढीको सङ्ख्यामा बन्द गरेको छ, यस्ता एप र वेभसाइट निरन्तर पहिचान गर्ने र बन्द गर्ने क्रम चलिरहेको छ”, लामिछानेले रासससँग भने ।


    सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा यस्तो कदम चालेको हो । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ ।

    सोही निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते मन्त्रीस्तरबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो । उक्त निर्देशनपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको जनाएको छ ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा ९४० अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन नपाइने व्यवस्था छ । उक्त प्रावधान उल्लङ्घन गरेमा सोही दफाको उपदफा ९६० अनुसार प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

    त्यसैगरी, विज्ञापन ९नियमन गर्ने० ऐन, २०६६ ले समेत जुवा खेल्न वा खेलाउन तथा अनुमति नलिएको चिठ्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने किसिमका विज्ञापन गर्न निषेध गरेको छ । सो विपरीत कसुर गरेमा प्रचलित कानुनअनुसार सजाय हुने र अन्यथा एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

    सरकारले नेपालभर सञ्चालनमा रहेका सट्टेबाजी एप तथा वेबसाइट प्रयोग नगर्न तथा सञ्चालन नगर्न आग्रह गरेको छ । साथै, कसैले अनधिकृत रूपमा यस्ता गतिविधि सञ्चालन वा प्रयोग गरेको पाइएमा सम्बन्धित निकायबाट कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ । प्राधिकरणले नागरिकलाई सचेत रहन, यस्ता अवैध डिजिटल गतिविधिबाट टाढा रहन तथा कुनै पनि शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरेको छ ।

  • सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    काठमाडौँ, २ वैशाख । सरकारले २०६२–६३ सालदेखि २०८२–८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ–छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो ।

    आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन् । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औँ बुदाँमा यसबारे उल्लेख गरिएको छ ।

    उक्त बुँदामा देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्र्तगत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख छ । छानबिन प्रक्रियालाई कानूनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा आयोगले पेस गरेको प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

  • परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

    काठमाडौँ, २ वैशाखः परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा मन्त्री खनाललाई शुभकामना व्यक्त गरेको अवगत गराएका थिए ।

  • कांग्रेसले पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण

    कांग्रेसले पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण

    काठमाडौँ, २ वैशाख : नेपाली कांग्रेसले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटरप्याडमार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले गत चैत ३० गते विधान विपरित काम गरेको भन्दै सो कारबाही गरेको जनाएको छ ।

    समितिले नेता खड्काले यसअघि चैत १४ गते पनि पार्टीको लेटरप्याडमार्फत वक्तव्य जारी गरेको भन्दै सचेत गराउने निर्णय गरेको थियो । यसैगरी समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको विधानविपरित अनुशासन उल्लङ्घन गरेका व्यक्ति उपर उजुरी दिने अवधि थप गरी यही वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

  • राष्ट्रिय आर्थिक गणना सुरु

    राष्ट्रिय आर्थिक गणना सुरु

    काठमाडौँ, २ वैशाखः देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण सङ्कलनका निम्ति दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेर तथ्याङ्क सङ्कलन थालेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । उक्त कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरेर चार हजार ४३३ जना तालिमप्राप्त गणक तथा सुपरीवेक्षक आगामी असार ७ गतेसम्म तथ्याङ्क सङ्कलनमा परिचालन हुने जानकारी दिएको हो ।

    उक्त कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार उद्योग, व्यापार, सेवा, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको सङ्ख्या, वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने छ । अन्तररराष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार अर्थतन्त्रका २१ मध्ये १८ क्षेत्रमा आधारित आर्थिक क्रियाकलापलाई गणनामा समेटिएको छ । गणनामा दर्ता भएका तथा नभएका साना–ठूला व्यवसाय, गैरसरकारी संस्था, विद्यालय, अस्पताललगायत आर्थिक गतिविधिमा संलग्न एकाइहरूमा समावेश छन् भने कूटनीतिक नियोग, सुरक्षा निकाय तथा घरायसी क्रियाकलापलाई गणनामा समावेश गरिएको छैन ।

    “गणनालाई सफल बनाउन केन्द्रदेखि स्थानीय तहसम्म समन्वय समितिहरू गठन गरिएका छन् । साथै, स्थानीय तह र वडा कार्यालयसँग सहकार्य, उद्योग व्यवसायसँग सम्झौता तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरिएको कार्यालयले जनाएको छ ।

    रेडियो, टेलिभिजन तथा डिजिटल माध्यमबाट जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालनमा छन्”, प्रवक्ता लामिछानेले भने, “प्राविधिक रूपमा गणनालाई सुदृढ बनाउन अनलाइन ‘इ–सेन्सस’ प्लेटफर्म सञ्चालनमा ल्याइएको छ भने भौगोलिक सूचना प्रणाली (जिआइएस)मार्फत गणना क्षेत्र पहिचान गरिएको छ ।” साथै उनले उद्यमी, व्यवसायी, सेवा प्रदायक तथा सङ्घसंस्थालाई सत्य, पूर्ण र विश्वसनीय विवरण उपलब्ध गराउन आग्रह गरे । सङ्कलित सबै विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने छ ।

  • सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

    सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

    काठमाडौँ, २ वैशाखः सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार कर्मचारीलाई सुम्पिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न यो व्यवस्थाले जवाफदेही बनाउनेछ ।

    नयाँ नीतिअनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकेको कारण भएमा सम्बन्धित कर्मचारीले तत्काल आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्नेछ । यो व्यवस्थालाई प्रभावकारी बनाउन सबै कर्मचारीसँग प्रतिवद्धतापत्रमा हस्ताक्षर गराई सोको सुनिश्चितता गराउने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्रोतसाधनको प्रयोगमा मितव्ययीता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

  • सुडानमा जनवरी देखि भएका ड्रोन आक्रमणमा सात सय जनाको मृत्यु : राष्ट्रसङ्घ

    सुडानमा जनवरी देखि भएका ड्रोन आक्रमणमा सात सय जनाको मृत्यु : राष्ट्रसङ्घ

    जेनेभा, २ वैशाख (रासस–एएफपी) । यस वर्षको जनवरी देखि हाल सम्म सुडानमा भएका ड्रोन आक्रमणमा करिब ७०० जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख टम फ्लेचरले बताएका छन् । उनले तीन वर्ष लामो गृहयुद्धले सुडानमा विश्वको सबै भन्दा ठूलो मानवीय सङ्कट सिर्जना गरेको बताए ।
    लामो समय चलेको सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको युद्धले दशौं हजार मानिसहरूको ज्यान लिएको छ भने एक करोड १० लाख भन्दा बढी विस्थापित भएको जनाइएको छ ।

    सुडानमा पछिल्लो समयमा, दैनिक जसो हुँदै आएका ड्रोन आक्रमणले सुडानको डार्फुरसहित विभिन्न क्षेत्रमा, जन–जीवन अस्तव्यस्त पारेको जनाइएको छ । युद्धले लाखौँ सुडानीहरुलाई आफ्नो घर छोड्न बाध्य पार्नुका साथै क्षेत्रीय अस्थिरताको जोखिम उच्च भएको फ्लेचरले बताए ।


    उहाँले तीन वर्षको युद्धले लगभग तीन करोड ४० लाख मानिसलाई मानवीय सहयोगको आवश्यकता रहेको बताए । उनले परिस्थिती असहज हुँदै जाँदा भोकमरी बढ्दै गएको उल्लेख गर्दैै लाखौँ बालबालिका कुपोषित हुनुका साथै शिक्षाबाट वञ्चित रहेको बताए । यसै बीच महिला तथा बालिकाहरूले क्रूर यौनजन्य हिंसाको सामना गरिरहेको बताउदै उनले मानवतावादीहरू यस वर्ष दुई करोडलाई सहयोग गर्ने प्रयास गरेको बताए ।


    सुडानमा संयुक्त राष्ट्रसङ्घको आवासीय संयोजक डेनिस ब्राउनले यस वर्ष सुडानका लागि सहयोग जुटाउन संयुक्त राष्ट्रसङ्घले गरेको अपिल सदस्य राष्ट्रहरूबाट अन्तर्राष्ट्रिय सहायता योगदानमा कमी आएको कारण असहज भएको बताए । सङ्कटग्रस्त शान्ति वार्तालाई पुन: र्जवित गरी मानवीय सहायता परिचालन गर्ने उद्देश्यले बुधबार बर्लिनमा आयोजित सम्मेलनमा सहभागी हुन दाताहरू भेला हुने जनाइएको छ ।

  • भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

    भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

    काबुल, २ वैशाख (रासस–सिन्ह्वा) । अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र २५३ जना घाइते भएको अफगानिस्तानका सञ्चर माध्यामहरुले प्रवक्ता हम्मादलाई उद्धृत गर्दै जनाएका छन् ।

    अधिकारीका अनुसार आँधीबेहरी र बाढीका कारण कुल अफगानीस्तानमा एक हजार ३०३ घरहरू पूर्ण क्षतिग्रस्त भएका छन् भने पाँच हजार ८०० भन्दा बढी घरहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । अफगानिस्तानका विभिन्न भागहरूमा मार्च–२५ देखि भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढी आएको छ भने मौसम विभागले देशको १४ प्रान्तमा मङ्गलबार थप वर्षाको पूर्वानुमान गरेको छ ।

  • स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

    स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

    काठमाडौँ, २ वैशाखः आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।

    हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको हो । सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजाति र स्थानीय समुदायका संस्कृतिहरू तथा परम्परागत ज्ञानको महत्त्वलाई स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन र समग्र स्वास्थ्य प्रवद्र्धनमा योगदान पु¥याउने उल्लेख गरेको छ । राष्ट्रसङ्घका अनुसार यो दिवसले विश्वभर जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र ज्ञान साझेदारीका लागि मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।

    राष्ट्रसङ्घले हरेक व्यक्तिको स्वास्थ्य, खुशी र समग्र कल्याणलाई विशेष महत्व दिँदै यसअघि घोषणा गरिएका अन्तरराष्ट्रिय खुशी दिवस (मार्च २०), अन्तरराष्ट्रिय योग दिवस (जुन २१) र विश्व ध्यान दिवस (डिसेम्बर २१) जस्ता दिवसले पनि समग्र आरोग्य प्रवद्र्धनमा पूरक भूमिका निर्वाह गर्ने जनाएको छ । दिगो विकास लक्ष्यको तेस्रो बुँदामा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

    सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने यसको लक्ष्य छ । मातृ तथा शिशु स्वास्थ्य, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवद्र्धन र स्वास्थ्य असमानता न्यूनीकरण यस लक्ष्यका प्रमुख प्राथमिकता हुन् ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

    मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

    बेइजिङ, २ वैशाख (रासस–एएफपी) । रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने उदेश्यले चिनियाँ राजधानी पुगेको रूसी विदेश मन्त्रालयले जनाएको छ । चीनले मङ्गलबार भियतनामको टो लाम र अबु धाबीका राजकुमार मोहम्मद बिन जायद अल नाह्यानसहित युद्धको कारण प्रभावित भएका देशका नेताहरूलाई छलफलका लागि आमन्त्रण गरेको जनाएको छ । लाभ्रोभले चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ्ग यीसँग वार्ता गर्ने जनाइएको छ जसमा द्विपक्षीय सम्बन्धको विकास, विभिन्न क्षेत्रमा सहयोग, र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरुमा छलफल र स्थिति समन्वय गर्ने चिनियाँ विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    रूसी विदेश मन्त्रालयले युक्रेनको युद्ध र मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने पनि बताएको छ । बेइजिङ र मस्को घनिष्ठ आर्थिक र राजनीतिक साझेदार हुन्, भने सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरे पछि सम्बन्ध अझ मझभुत भएको जनाइएको छ । मध्यपूर्वमा तनाव कम गर्न बेइजिङ र मस्कोले मिलेर काम गर्ने विषयमा सहमति भएपछि वाङले गत अप्रिल – ५ मा लाभ्रोभसँग फोन वार्ता समेत गरेका जनाइएको छ । यसैबीच चिनियाँ प्रधानमन्त्री ली किआङले संयुक्त अरब इमिरेट्सका नेतालाई बेइजिङ “थप रचनात्मक भूमिका खेल्न र खाडी क्षेत्रमा शान्ति पुनः स्नाथापमा योगदान गर्न तयार रहेका बताएका छन् ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, २ वैशाखः हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ

    महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    काठमाडौँ, २ वैशाख । आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो । व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ ।

    यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् । त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ । विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह गरिसकेको छ ।

  • आजदेखि देशभर आर्थिक गणना हुँदै

    आजदेखि देशभर आर्थिक गणना हुँदै

    काठमाडौँ, २ वैशाख । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् ।

    अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ ।

    त्यसक्रममा देशभर दर्ता भए÷नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।

    आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०३ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८८ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ६० पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २८ पैसा र बिक्रीदर १६ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २३ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता

    पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता

    काठमाडौँ, २ वैशाखः सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा विसं २०८८ सम्म आठ प्रतिशत पु¥याइने प्रतिबद्धता जनाएको छ । सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पुर्याउने उल्लेख गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ ।

    प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय तथा प्रत्येक नागरिकको पहुँच पुग्ने गरी विस्तार गरिने उल्लेख छ । ‘एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनाका साथै छरिएर रहेका स्वास्थ्यसम्बन्धी सुविधा र सहुलितयलाई सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उल्लेख गरिएको छ ।

    यसैगरी प्रत्येक प्रदेशमा एक अत्याधुनिक अपाङ्गता पुनःस्थापना विशिष्टीकृत स्रोत केन्द्र स्थापना गरी एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने उल्लेख छ ।

    जलन पीडितलाई निःशुल्क उपचार

    सरकारले जलन पीडितलाई निःशुल्क र गुणस्तरीय उपचार तथा मानसिक स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याइने जनाइएको छ । प्रतिबद्धतामा ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको घरदैलोमा आधारभूत स्वास्थ्य सेवा पुर्याइने, समग्र स्वास्थ्य प्रणाली सुधारका लागि आधारभूत स्वास्थ्यमा न्यूनतम मापदण्ड तयार गरी एकीकृत मोडल लागू गरिने, सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संरचनाको पुनःसंरचना गरी स्वास्थ्यकर्मी, उपकरण, भवन तथा सेवाको वर्गीकरण गुणस्तर निर्धारण गरिने उल्लेख छ । ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ सञ्चालन गरिने छ ।

    प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक

    प्रतिबद्धतामा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तीमा एक जना चिकित्सा शिक्षामा स्नातकोत्तर तह उत्तीर्ण गरेका एमडिपिजी चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराइने बताइएको छ । यस्तै, गरिब, मजदुर, किसान, अपाङ्गता भएका व्यक्तिको बिमा वा निःशुल्क उपचार तथा अनिवार्य श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिने प्रतिबद्धतामा उल्लेख छ । रोग लागेपछि उपचार होइन रोग नै लाग्न नदिने अवस्था सृजना, स्वस्थ हावापानी, वातावरण र सक्रिय जीवनशैली प्रोत्साहन गरी ‘म स्वस्थ मेरो परिवार स्वस्थ्य’ भन्ने महाअभियान सञ्चालन गरिने प्रतिबद्धतामा उल्लेख छ ।

    स्वास्थ्य सेवामा आयुर्वेद, प्राकृतिक उपचार र योगध्यानलाई जोडी प्रमुख पर्यटकीय क्षेत्रहरूमा ‘वेलनेस जोन’ र योग प्रयोगशाला निर्माण गरिनाका साथै पाठ्यक्रममा योग, ध्यान र आयोग्य पर्यटन समावेश गरिने प्रतिबद्धतामा उल्लेख छ । उक्त प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३\८४ को र त्यसपछिका वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधार ‘एजेन्डा’मा आबद्ध गरिने जनाइएको छ ।

  • अरनिको राजमार्ग : दुईतर्फी आवागमन सूचारु

    अरनिको राजमार्ग : दुईतर्फी आवागमन सूचारु

    काभ्रेपलाञ्चोक, १ वैशाख । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर्न २३ दिनदेखि पटकपटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गर्दै आइएको थियो । उक्त सडकखण्डमा गत चैत २२ गतेदेखि मात्रै कालोपत्रे (पीच)को काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी हाल धुलिखेल चोकबाट २.५ किलोमिटर सडक एकतर्फी पक्की बनाइएको हो ।

    आजदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार स्तरोन्नती भइरहेको चार किमीमध्ये बाँकी दुरी (दुवैतर्फीसम्मको)पक्की गर्नेकार्य यो साताको अन्तिमबाट सुरु गरिनेछ ।

    “त्यसबेला आगावमन कुन प्रकारले रोक्नेबारे छलफल भइरहेको छ, त्यसबारे केही दिनपछि सूचीत गर्नेछौँ”, योगेशले भने । उनका अनुसार पहिलोपटक गत चैत ७ गतेदेखि २० गतेसम्म र दोस्रोपटक २१ गतेदेखि ३० गतेसम्म रातको समयमा आवागमन रोकेर काम गरिएको थियो । सो अवधिमा टिपरलगायत मालवहाक सवारीलाई भने पूर्णतः निधेष गरिएको थियो । उक्त खडकखण्डको बाँकी १.५ कमी दोस्रो चरणमा पक्की बनाइन लागिएको हो ।

    ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्रे गर्ने काम भएको जनाइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौताकार्य गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएको हो ।

    कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । उक्त सडकखण्डमा कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाईको बन्ने उक्त सडकखण्को सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने जनाइएको छ ।

    उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो ।

    उक्त निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो । उक्त सडकखण्ड अरनिको राजमार्गहुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ ।

  • मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

    मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

    रासस
    झापा, २ वैशाख । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित सशस्त्र प्रहरी बलको बीओपीमा कार्यरत सहायक प्रहरी हवल्दार ३५ वर्षीय सचिन तामाङको मोटरसाइकल दुर्घटनामा आज साँझ मृत्यु भएको छ । पाँचथरको फिदिम–१२ घर भएका तामाङ सवार मे७प ९६५ नंं को मोटरसाइकल आज अपराह्न ५ः३० बजेतिर मेचीनगर–२ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।


    उनका अनुसार मोटरसाइकलको पछाडि सवार सप्रह तामाङ दुर्घटनामा गम्भीर घाइते भएका थिए । उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा उनको आज साँझ ६ः४५ बजे मृत्यु भएको हो । मोटरसाइकलको चालक अर्जुनधारा नगरपालिका वडा नं १ घर भई बाहुनडाँगी बीओपीमा कार्यरत ४० वर्षीय डिल्लीराम सुबेदीको हाल बीएन्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाइकल हाल नेपाल प्रहरीको भृकुटी अस्थायी पोस्टको नियन्त्रणमा रहेको र तामाङको शव हस्पिटलमै रहेको जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

  • नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

    नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

    राजविराज (सप्तरी), १ वैशाखः हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहा बस्ने दिपेन्द्र यादवका १७ वर्षीय छोरा रिपेशकुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

    प्रहरी निरीक्षक कार्कीका अनुसार रिपेश साथीहरूसँग कोशी ब्यारेजको गोलघर नजिक कोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएको खबर इलाका प्रहरी कार्यालय भारदहबाट जानकारी पाएपछि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कोशी नदीको ब्यारेजमा खोजी गरेको उनले बताए । खेजीका क्रममा गम्भीर घाइते अवस्थामा फेला परेका रिपेशलाई भारदह अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

  • नयाँ वर्षमा मस्त झुम्यो पोखरा

    नयाँ वर्षमा मस्त झुम्यो पोखरा

    गण्डकी, १ वैशाखः नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ । नयाँ वर्षको छेको पारेर लेकसाइडमा आयोजना गरिएको फेवा नयाँवर्ष महोत्सवले बेग्लै रौनक ल्याएको छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँवर्ष मनाउन पोखरा आएका पर्यटकले यहाँका होटल भरिभराउ छन् ।

    लेकसाइड क्षेत्री पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरू ओहोरदोहोर गरिरहेका देखिन्छन् । सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ । मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन् । आइतबारदेखि सुरु भएको महोत्सव आज मधयरातसम्म चल्नेछ । आयोजक होटल सङ्घ पोखरामा अध्यक्ष लक्ष्मण सुवेदीले २१औँ संस्करणको महोत्सव आयोजना भइरहेको बताए ।


    तीन दिनसम्म दसौँ हजार पर्यटकले महोत्सव अवलोकन गर्ने उनको भनाइ छ । नयाँ वर्ष मनाउने गन्तव्यका रूपमा फेवा महोत्सव स्थापित भइरहेको अध्यक्ष सुवेदीले बताए । महोत्सवमा संस्कृति संरक्षण, मनोरञ्जनसँगै व्यवसाय प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ । लेकसाइडको हलनचोकदेखि ड्यामसाइडसम्म करिब तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना भइरहेको हो । ‘पर्यटन, संस्कृति र खाना’ नारा दिइएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनीलगायत सडकमै राखिएको छ ।

    सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी विविध मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको छ । पर्यटकीय याम पनि चलिरहेकाले यतिबेला पोखरामा विदेशी पर्यटकहरूको पनि चहलपहल बढेको छ । महोत्सवस्थलमा नेपाली पञ्चेबाजा र गीतसङ्गीतमा विदेशीहरू पनि नाच्दै, रमाउँदै गरेका देखिन्छन् । विश्व पर्यटन बजारमा चिनिएको पोखरा पछिल्लो समय नयाँ वर्षको गन्तव्यका रूपमा स्थापित भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यस्ता मेलामहोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउने बताए ।

    उनले स्थानीय अर्थतन्त्र उकास्न र व्यवसायीहरूको मनोबल बढाउन पनि मेला–महोत्सव आयोजना भइरहनुपर्ने धारणा राखे । पोखरामा हुने यस्ता गतिविधिले यहाँको पर्यटनलाई प्रवद्र्धन गर्ने, आर्थिक अवसर सिर्जना हुने विश्वास लिइएको छ ।

    नयाँ वर्षका दिन फेवातालमा रहेको ताल बाराही मन्दिरमा पनि भक्तजन र पर्यटकको भीड लागेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम शर्मा पहारीले बताए । ‘नयाँ वर्षमा देवी भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुन् र वर्षभरि कुनै दुःखकष्ट नपर्ने जनविश्वास रहेको छ”, उनले भने, “आज बिहान ६ः०० बजेदेखि नै ताल बाराहीमा भक्तजनको घुइँचो लागेको छ ।”

  • पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न

    पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न

    भादगाउँ, १ वैशाखः भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचौँ दिन आज साँझ भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँ (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिङ्गो आज तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ५ः४९ मिनेटमा ढालिएको हो । भैरवनाथको प्रतीक मानिने लिङ्गोमा बाँडिएको अष्टमातृकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गर्छ ।

    लिङ्गो ढाल्नु पनि बिस्का जात्राको प्रमुख जात्राका रूपमा लिइन्छ । यो जात्रा पछि तलेजुभित्र दुमाजुको विशेष पूजाआजा गरी यसीँख्योमा रहेको भैरव र भद्रकालीको रथलाई गःहिटि पुर्‍याई रथ जुधाउने जात्रा गरिन्छ । यो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रुहरू नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।

  • कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु

    कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु

    काठमाडौँ, १ वैशाखः नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ आजदेखि सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरे । अभियानको सुरुआत गर्दै उनले सक्नेले यस अभियानमा सहयोग गर्न र नसक्नेले असहयोग नगर्न आग्रह गरे ।

    “मैले पार्टी सभापतिका रूपमा भनेँ, एउटा सोचका साथ म आएको छु, यो काम सम्पन्न गर्ने हो, सक्नेले मलाई सहयोग गर्नुहोला, नसक्नेले कृपया मलाई असहज अवस्था सृजना नगरिदिनुहोला । कोही साथीहरू विशेष कारणले गर्दा आफ्नो ठाउँमा जान नसक्ने हुनुहोला, कोही नेपालबाहिर हुनुहुन्छ होला, कोही अशक्त हुनुहुन्छ, पार्टीले यो परिस्थिति बुझेको छ, त्यस्ता साथीहरूका लागि हामी विशेष व्यवस्था गर्छौं”, सभापति थापाले भने ।

    क्रियाशील सदस्यताका सम्पूर्ण विषयका लागि ‘डिजिटलाइज’ गरिएको जानकारी दिँदै उनले सदस्यता अद्यावधिकरणका काममा सम्पूर्ण साथीहरूको सहयोग आवश्यक पर्ने बताए । सभापति थापाले पार्टीका जिम्मेवार व्यक्तिहरूले नबुझेका विषयका बारेमा पार्टी कार्यालय आएर महामन्त्रीसँग बुझ्न आग्रह गर्दै बाहिर अनावश्यक चर्चा नगर्न आग्रह गरे । “जिम्मेवार साथीहरू कुरा बुझ्नुभएको छैन भने पार्टीको केन्द्रीय कार्यालय आई दिनुहोला, बाहिर कुरा काट्ने, हाम्रो क्रियाशील सदस्यता खाइदियो भनेर अनावश्यक ढङ्गले कोलाहल मच्चाइदिने काम नगर्नुहोला”, उनले भने ।


    क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीलाई पुनःर्सगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानका रूपमा घोषणा गरेको छ । सङ्गठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिए । यस अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न पार्टी सभापति थापाले आग्रह गरे । पार्टीको सदस्यता अद्यावधिक गर्न आफ्नो वडामा आफैँ जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

    विगतमा अरूले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेस पार्टी सभापति थापाले जानकारी दिए । पार्टीले यसलाई सङ्गठन सुदृढीकरण र अनुशासन मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।

    ‘एकमहिने जरामा जाऊँ अभियान’ मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आइडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ । कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागू गर्ने तयारी गरेको छ । सबै क्रियाशील सदस्यहरूको वयक्तिक विवरण सङ्कलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको हो ।

    कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढङ्गले लागू गर्ने, नयाँ सदस्यता ‘अनलाइन’ माध्यमबाट खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ । कांग्रेसले उक्त अभियानका क्रममा क्रियाशील सदस्यता अद्यावधिक गर्न जाँदा ‘ओटिपी’ नम्बर अनिवार्य लिन र अनिवार्य फोटो खिचाउन सबैमा आग्रह गरेको छ ।

  • नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

    नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

    मुस्ताङ, १ वैशाखः नयाँ वर्ष २०८३ सालको पहिलोदिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिरसमृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।
    हिउँदयामपछि चलायनमा भएको मुक्तिनाथ मन्दिरमा औसत दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरिएकामा आज मुक्तिनाथ मन्दिरमा साविकभन्दा दोब्बर धार्मिक तीर्थालुले दर्शन गरेको समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । नयाँ वर्ष भएकाले दिउँसो २ बजेपछि पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीडले परिसर खचाखच भरिएको उनको भनाइ छ ।

    यसैगरी नयाँ वर्षको उपलक्ष्यमा उल्लेख्य सङ्ख्यामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र स्थानीय नागरिक पनि मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए । मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थको समस्या देखिए पनि टाढाटाढाबाट दर्शनार्थी झत्तजन मुक्तिनाथको दर्शन गर्न आइपुगेको व्यवस्थापक भुसालको भनाइ छ । योसमय मुक्तिनाथ दर्शन गर्ने अनुकुल मौसम भएकाले मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको हो । आज बिहान ६ बजेदेखि मुक्तिनाथमा दर्शनार्थी ब्यापक चहलपहल देखिएको हो । दर्शनार्थीको ब्यापक उपस्थितीले मन्दिर परिसर र १०८ धारालगायतका स्थान पुरै दर्शनार्थीले भरिएको थियो । नयाँ वर्षको पहिलो दिन मुक्तिनाथको दर्शन गर्नाले वर्षभरीनै राम्रो हुने भएकाले भक्तजन मुक्तिनाथ मन्दिरको दर्शन गर्न ओइरिएका हुन् ।

    मन्दिरमा ब्यापक मात्रामा दर्शनार्थीले भरिएपछि समितिले भक्तजनलाई लाईनबद्ध हुने गरी मन्दिरको दर्शनकार्यमा सहजीकरण गरेको थियो । नयांँ वर्षमा मुक्तिनाथ दर्शन गर्न आएका सवारी साधनले मुक्तिनाथस्थित रानीपौवाका दुई वटा बसपार्क पुरै सवारी साधनले भरिएर सवारी पार्किङमा समस्या भएको थियो । योसँगै मुक्तिनाथ दर्शन गर्ना आएका पर्यटकका कारण मुस्ताङको जोमसोम, मार्फालगायत पर्यटकीय गाउँमा दर्शनार्थीको चहलपहल बाक्लिएको हो ।

  • वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्

    वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्

    प्रगति ढकाल–रासस
    काठमाडौँ, १ वैशाख । विक्रम संवत् २०८१ मा जलवायुजन्य विपद्ले निम्ताएका घटनाले चिन्ता बढाएको थियो, यस वर्ष पनि यस्ता घटना रोकिएनन् । २०८१ साउन ३२ गतेको दिउँसो साढे १ः०० बजे सोलुखुम्बु जिल्लास्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहित आएको बाढीले गाउँ नै बगरमा परिणत गराएको थियो । खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासील्हामु शेर्पाका लागि फेरि पनि कुन दिन हिमपहिरोको जोखिममा पर्नुपर्ने हो भन्ने चिन्ताले सताउन छाडेको छैन । २०८१ को जलवायुजन्य घटनाको आलो घाउ बाँकी छँदा नै गत असार २४ गते रसुवाको ल्हेन्दे खोलामा अर्को हिउँ पहिरोले एक्कासि ल्याएको बाढीले सबैलाई झस्कायो ।

    बिहान–बेलुकाको सामान्य जीवन बिताइरहेका स्थानीयका लागि त्यो दिन अचानक भय र पीडामा बदलियो । केही घण्टामै पानीको बहाव यति तीव्र भयो कि कसैले भाग्ने, कसैले बच्ने मौका नै पाएनन् । उक्त घटनाका कारण १९ जना बेपत्ता छन् भने सात जनाले ज्यान गुमाइसकेका छन् । जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीका अनुसार ‘सुप्राग्लेशियर’ ताल फुटेर अचानक बाढी आएपछि धनजनको क्षति भएको हो ।

    “यो क्षति टार्न सकिन्थ्यो । यदि समयमै पूर्वसूचना पुगेको भए मानिसहरूले ज्यान गुमाउनुपर्ने अवस्था आउँदैनथ्यो होला । अहिले नदीहरूमा पानीको सतह नाप्ने सेन्सरहरू जडान गरिएका हुन्छन्, जसले पानी बढेको जानकारी तुरुन्तै प्रणालीमा पठाउँछ,” उनी भन्छन्, “त्यसको आधारमा जोखिमको अनुमान गरेर सम्बन्धित निकाय र स्थानीय तहसम्म सूचना पुर्‍याइन्छ ।”

    उनका अनुसार हिमाली क्षेत्रमा रहेका यस्ता तालहरू पछिल्ला वर्षहरूमा झन् जोखिमपूर्ण बन्दै गएका छन् । “जलवायु परिवर्तनका कारण हिउँ पग्लिने दर बढ्दै जाँदा, यस्ता तालहरू कमजोर बन्छन् र सानो कारणले पनि फुट्न सक्छन्,” पराजुली भन्छन् । त्यसैले रसुवामा भएको घटना आकस्मिक विपद् मात्र होइन, बदलिँदो वातावरणको सङ्केत रहेको भन्दै विज्ञहरूले चिन्ता जनाउँदै आइरहेका छन् ।

    यदि त्यस दिन कुनै भारी वर्षा भएको भए मानिसहरू सतर्क हुन सक्थे । सरकारले पनि उच्च सतर्कता अपनाउन भन्दै सूचना दिन सक्थ्यो । सरकारी निकायले आवश्यक मात्रामा पूर्वतयारीहरू गर्न सक्थे । तर त्यस दिनको पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको बताउँछन्, विभागका मौसमविद् सञ्जीव अधिकारी । “त्यो दिन त्यति ठूलो बाढी नै जाने गरी दुवैतर्फ ठूलो वर्षा भएकै थिएन । न्यूनचापीय रेखा पनि सरदर आसपासमा थियो, पहिला त कारण पनि थाहा थिएन । पछि मात्रै थाहा भयो हिमताल फुटेको रहेछ,” उनी भन्छन् ।

    खडेरी बढ्यो धान उत्पादन घट्यो
    बर्खे धान रोप्ने समयमा खडेरी परेपछि यसपटक धान उत्पादनमा पनि कमी आएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विशेषगरी कोशी र मधेस प्रदेशमा परेको खडेरीका कारण उत्पादनमा कमी आएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा जानुका पण्डितका अनुसार आर्थिक वर्ष २०८१–८२ मा धान बाली भित्र्याइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल रहेको थियो । चालु आव मा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफल कायम रहेको मन्त्रालयको अनुमान छ ।

    यसैगरी, आव २०८१–८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएकामा चालु आवमा ४.२० प्रतिशतले कमी भई ५७ लाख पाँच हजार १२६ मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, उत्पादकत्व गत आवमा ४.१९ मेट्रिक टनप्रति हेक्टर रहेकोमा आव २०८२–८३ मा उत्पादकत्व १.१६ प्रतिशतले घट्ने देखिएको छ ।

    “यसैगरी, मधेस प्रदेशमा विशेषगरी धान लगाउने समयमा परेको खडेरीका कारण धान लगाएको क्षेत्रफलमा कमी आई धानको क्षेत्रफल घटेको हुँदा समग्रमा धान बालीको क्षेत्रफलमा कमी आएको हो,” उनले भने, “यस आर्थिक वर्षमा उन्नत बीउबिजन र मलखादको पर्याप्त उपलब्धता हुँदाहुँदै पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको छ । धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी भएका कारण चालु आवमा समग्र धान उत्पादनमा कमी आएको छ ।”

    प्रवक्ता पण्डितका अनुसार धान बालीको क्षेत्रफलमा कमी आउनुमा मुख्यगरी पहाडी क्षेत्रमा देखिएको बसाइँसराइ, युवाहरूको विदेशप्रतिको आकर्षण एवं फलफूल तथा नगदेबालीको क्षेत्रफलमा भएको वृद्धि छन् भने तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रफलमा केही कमी आएको छ ।

    सरकारको पूर्वसूचना र पूर्वतयारी भने प्रशंसनीय

    विसं २०८२ को वर्ष समीक्षा गर्दै गर्दा ०८१ लाई पनि तुलना गरेर हेरौँ । वर्ष ०८१ को असोजमा झ्याप्ले खोलामा आएको पहिरोका कारण यात्रुवाहक बस नै पुरिँदा ३५ भन्दा बढीको ज्यान गएको थियो । रातिको समयमा पहिरो खस्दा बुटवलबाट काठमाडौँका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रोबस, गोरखाबाट काठमाडौँका लागि हिँडेको ना४ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँका लागि हिँडेको बा३ज १३४५ नम्बरको माइक्रोबस पहिरोले पुरिएको अवस्थामा भेटिएको थियो ।

    गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षा हुने र सकेसम्म यात्रा गर्न नहुने भन्दै पूर्वसूचना जारी गरेर सचेत गराएको थियो । विभागको सूचनालाई अन्य सरकारी संयन्त्रले नै विश्वास गरेन । सूचनाको बेवास्ता ग¥यो । न यात्रुहरूले पत्याए, न सवारीधनीहरूले सूचनाको विश्वास गरेर केही दिन सवारीसाधन बन्द गर्न सके । यस वर्षजस्तो न त कडाइका साथ सवारीसाधन आवागमनमा रोक लगाइयो । गत वर्ष सरकार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीमा चुकेकै थियो ।

    सो वर्ष काठमाडौँ उपत्यकालाई नै बाढीले डुबायो । काठमाडौँवासीले नसोचेको विपद् बेहोर्नुपर्‍यो । काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले अझै पनि कैयौँलाई तर्साइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनको अवधिमा २५० जनाले ज्यान गुमाए । १८ जना अझै बेपत्ता छन् भने १७८ जना घाइते भएका छन् । राम्रो पूर्वतयारी भएको भए यो अप्रिय घटना हामीले सामना गर्नुपर्ने थिएन कि भन्ने प्रश्न उठेको थियो ।

    वर्ष ०८१ मा सरकारको आलोचना बढिरहेको समयमा वर्ष ०८२ मा भने सरकारले प्रशंसा पायो । वर्ष ०८२ मा नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी हुँदा सर्वसाधारणहरूको ओहोरदोहोर गर्ने क्रम जारी नै थियो । चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम सर्वसाधारणहरूलाई झस्कायो । जल तथा मौसम विज्ञान विभागले गत असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, बाढी–पहिरोको जोखिम रहेको भन्दै जो जहाँ छ, उही सुरक्षित रहन सन्देश जारी ग¥यो ।

    त्यसपछि अन्य अन्तरसरकारी निकायहरूले विभागको सूचनालाई अनुसरण गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीका लागि जुट्न थाले । भारी वर्षा हुने सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधन आवागमन आगामी तीन दिनसम्म रोक्ने निर्णय भयो । उक्त निर्णयले यस पटक बाढी–पहिरोका कारण सडक यात्रीहरूको ज्यान जान पाएन । भौतिक पूर्वाधारमा क्षति भए पनि विगतमा जस्तो सडकमा यात्रा गरिरहेका यात्रुहरूको धनजनको क्षति हुन पाएन ।

    पहिरोको पूर्वसूचनाको अभावले मानवीय क्षति

    वर्ष ०८२ मा पनि जल तथा मौसम विज्ञान विभागले बाढीको प्रभाव पर्ने सम्भावित क्षेत्रहरूमा पूर्वसूचना दिएर सर्वसाधारणहरूलाई सुरक्षित स्थानमा बस्न सहयोग गर्‍यो । तर बाढीको जस्तै पहिरोको पनि पूर्वसूचना प्रणालीको विकास नभएकै कारण पछिल्ला वर्षहरूमा पहिरोबाट हुने धनजनको क्षति बढ्दै गएको बताउँछन्, पहिरोविद् डा सुवोध ढकाल ।

    इलाम जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पहिरोका कारण ०८२ को असोज १७ देखि २० गतेसम्मको अवधिमा इलाममा ३७ जनाले ज्यान गुमाए । सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच जना, इलाम नगरपालिका–६ घोसमा छ जना, माङ्सेवुङ गाउँपालिका–१ मा तीन जना, देउमाई नगरपालिका–५ मा आठ जना, जोगमाई गाउँपालिकामा आठ जना, सन्दकपुर गाउँपालिकामा ६ जना र फाकफोकथुम गाउँपालिकामा एक जनाको ज्यान गएको कार्यालयको तथ्याङ्क छ ।

    “नेपालजस्तो भौगोलिक मुलुकमा पहिरोको बर्सेनि जोखिम छ । कतिपय स्थानमा पुराना पहिरोमा बस्ती बसेका छन् । पुराना पहिरो दोहोरिएर जाने सम्भावना हुन्छ । त्यसर्थ, पहिरोको जोखिम भएको बस्ती तत्काल सुरक्षित स्थानमा सार्नुपर्छ,” ढकाल भन्छन्, “नभए आगामी वर्षहरूमा पनि जोखिम बढ्ने छ ।”

    झन्डै पाँच सयले गुमाए ज्यान

    चालु आर्थिक वर्ष २०८२ वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको समग्र तथ्याङ्कले विपद् जोखिमको भयावह चित्र प्रस्तुत गरेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा देशभर सात हजार ७१६ वटा विपद् घटना दर्ता भएका छन् । ती घटनामा ४९६ जनाको मृत्यु, ३८ जना बेपत्ता तथा एक हजार ९९१ जना घाइते भएका छन् भने एक लाख ३६ हजार ९३ परिवार प्रभावित भएका छन् ।

    विपद्का प्रकारअनुसार आगलागी सबैभन्दा धेरै तीन हजार ७३८ घटनासहित अग्रस्थानमा रहेको छ, जसबाट १०६ जनाको मृत्यु भएको छ । पहिरोका ६२४ घटनामा ७६ जनाको ज्यान गएको छ भने पाँच जना बेपत्ता र ९२ जना घाइते भएका छन् । बाढीका २२९ घटनामा ३९ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

    यसैगरी, हावाहुरी, भारी वर्षा, लेक लाग्ने, हिमपहिरो, डुबान, शीतलहर, महामारीलगायत अन्य विपद्ले पनि जनधनमा क्षति पु¥याएका छन् । हिमपहिरोका कारण ६ जनाको मृत्यु भयो भने पाँच जना बेपत्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्राधिरकणका अनुसार हावाहुरीका कारण १३ जनाले ज्यान गुमाएका छन् । लेक लागेर ४१ जनाको मृत्यु भएको छ ।

    त्यस्तै, चट्याङका ४२६ घटनामा ४८ जनाको मृत्यु भएको छ भने ३१२ जना घाइते भएका छन् । सर्पदंशका ६२७ घटनामा १०१ जनाले ज्यान गुमाएका छन् । जनावर आक्रमणका ५१६ घटनामा ५७ जनाको मृत्यु भएको देखिन्छ । विशेषगरी आगलागी, सर्पदंश र चट्याङजस्ता घटनाले मानवीय क्षतिमा उल्लेख्य योगदान पुर्‍याएको प्राधिकरणको विश्लेषण छ । यस्ता घटनामा जनचेतना, पूर्वतयारी र स्थानीय तहको सक्रियता अझै कमजोर देखिएको सङ्केत गरिएको छ ।

    प्रदूषण र वन डढेलो नियन्त्रणमा सुधार

    जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले वर्ष २०८२ लाई जलवायु दृष्टिकोणले सकारात्मक र नकारात्मक दुवै पक्ष समेटिएको वर्षका रूपमा व्याख्या गर्नुहुन्छ । “खडेरी, बाढी, पहिरो, हिमपहिरोजस्ता केही विपद्का घटनाहरू भए । तर यस वर्ष प्रि–मनसुन अवधिमा राम्रो वर्षा भएकाले वर्ष ०८१ को तुलनामा यस वर्ष वन डढेलो जस्ता घटनामा कमी भएको छ । प्रदूषण पनि कम भएको छ ।”

    संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसिसिसी० का पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलनले अन्तरराष्ट्रिय मञ्चमार्फत नेपालको जलवायुसम्बन्धी धारणा सशक्त रूपमा प्रस्तुत हुनुलाई पनि वर्ष ०८२ को सकरात्मक पाटोका रूपमा टिप्पणी गरे ।

    सगरमाथा संवादले दिएको सन्देश

    वर्ष ०८२ मा नै नेपालले नेतृत्व गर्दै आयोजना गरेको सगरमाथा संवादले विश्वव्यापी रूपमा सकारात्मक सन्देश दिन सफल भयो । जहाँ ५० भन्दा बढी देश तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाहरूको सहभागिता रहेको थियो । नेपालले उठाइरहेको पर्वतीय क्षेत्रका जलवायुजन्य सङ्कटहरूको सन्दर्भमा विश्व समुदायको ध्यान खिच्न सफल भएको वर्षका रूपमा लिन सकिन्छ । संवादमा ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र सार्वजनिक भएको थियो ।

    उक्त घोषणापत्रमा १.५ डिग्री सेल्सियसको तापक्रम सीमा कायम राख्न आवश्यक उपायहरू प्रस्तुत भए । हिमाललाई विश्वमा चिनाउन सफल भएको भन्दै संवादको प्रशंसा भएको थियो । संवादले धनी राष्ट्रहरूले वित्तीय, प्रविधि र क्षमता विकासमा सहयोग गर्नुपर्छ भन्ने सन्देश दियो । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका (युएनएफसिसिसी) का पक्ष मुलुकहरूको २१औँ जलवायु शिखर सम्मेलन (कोप–२१) अन्तर्गत पेरिस सम्झौतामा आधारित भई तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) स्वीकृत पनि यसै वर्ष भयो ।

    हिमतालका जोखिम पाँच अर्ब अनुदान

    वर्ष ०८२ मा नै नेपालले जलवायु वित्त अनुदान पाउने सुनिश्चित भएको छ । केही जलवायुजन्य चुनौती भोगे पनि केही अवसरहरू पनि मिल्नु सकारात्मक पक्षबाट हेर्न सकिन्छ । नेपालले जोखिममा रहेका चार वटा हिमतालको सतह घटाउनका लागि करिब पाँच अर्बको अनुदान पाउने निश्चित भएको हो । गत असार १७ मा हरित जलवायु कोष (जिसिएफ) को पपुआ न्यू गिनीको राजधानी पोर्ट मोरेस्बीमा बसेको ४२औँ बोर्ड बैठकले नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विस्फोटको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत गरेको थियो ।

    नेपाल सरकार, युएनडिपी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घले एक करोड ३८ लाख अमेरिकी डलर अर्थात् करिब रु दुई अर्ब सहलगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

    जलवायु परिवर्तन दृष्टिले चिन्ताजनक वर्ष

    विश्व मौसम सङ्गठनले सन् २०२५ जलवायु परिवर्तनका दृष्टिले अत्यन्तै चिन्ताजनक वर्षका रूपमा लिएको छ । सङ्गठनका अनुसार विश्वव्यापी रूपमा तापक्रम वृद्धि, चरम मौसमीय घटना र वातावरणीय असन्तुलनले मानव जीवन, कृषि र पारिस्थितिक प्रणालीमा गम्भीर प्रभाव पारेका छन् । सन् २०२५ इतिहासकै सबैभन्दा तातो वर्षमध्ये शीर्ष तीनमा परेको सङ्गठनको तथ्याङ्क जनाउँछ ।

    पछिल्लो दशकभरि लगातार नयाँ तापक्रम रेकर्ड कायम भइरहेको भन्दै विश्वका वैज्ञानिकहरूले चिन्ता जनाएका छन् । यस वर्ष नै अफ्रिका, एसिया र युरोपका विभिन्न क्षेत्रमा व्यापक गर्मीको लहर (हिटवेभ) देखियो, जसले कृषि उत्पादनमा गिरावट ल्यायो । बढ्दो तापक्रमसँगै मानव स्वास्थ्यमा गम्भीर असर पारेको र खाद्य सुरक्षामा चुनौती बढ्दै गएको तथा जोखिममा रहेका समुदायहरू थप प्रभावित भएको भन्दै वैज्ञानिकहरूले चिन्ता जनाएका छन् । यस वर्ष पनि जलवायुजन्य सङ्कट बेहोर्नुपर्‍यो । अवसर र चुनौती दुवै समान गर्नुपर्‍यो । नयाँवर्षसँगै नयाँ सरकारले विपद् व्यवस्थापन तथा जलवायु अनुकूलको क्षेत्रमा प्रभावकारी काम गर्ने अपेक्षा छ ।